शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७६७७ - लिखत बदर हक कायम

भाग: ४८ साल: २०६३ महिना: श्रावण अंक:

निर्णय             नं.७६७७     ने.का.प.२०६३ अङ्क ४

 

सर्वोच्च अदालत, पूर्ण इजलास

माननीय न्यायाधीश श्री अनूपराज शर्मा

माननीय न्यायाधीश श्री बलराम के.सी.

माननीय न्यायाधीश श्री ताहिरअली अन्सारी

सम्वत् २०६२ सालको दे.पू.इ.नं.....२१

फैसला मितिः २०६३।३।१५।५

 

मुद्दा :लिखत वदर हक कायम ।

 

            पुनरावेदक र वादीः वांके जिल्ला साइगाउं गा.वि.स. वडा नं.४ वस्ने शत्रुधनप्रसाद वर्मा     (कुर्मि)

विरुद्ध

            प्रत्यर्थी र प्रतिवादी वांके जिल्ला खांस कारकांदो गा.वि.स .वडा नं.२ वस्ने मुमताज          जोलाहा समेत

 

§  लेनदेन व्यवहारको महल अन्तर्गत परेको फिरादबाट अंशवण्डाको महलबमोजिम अंशियारको अंश लाग्ने नलाग्ने भनी अदालतबाट निक्र्यौल गर्न कानूनसम्मत नहुने ।

§  आफ्नो इच्छा अनुकूल हक हस्तान्तरण गरी अरु कसैलाई दिन त्यस्तो हक हुने व्यक्ति स्वतन्त्र हुने ।

§  प्रस्तुत मुद्दामा दानपत्रबाट प्रतिवादी पुस्कर कुमार कुर्मीले पाएको जग्गा मध्येबाट प्रतिवादी मुमताज जोलाहालाई ०५४।७।२७ मा लिखत पारित गरिदिएको देखिन्छ । दानपत्रमा उल्लिखित व्यहोराबाट प्रतिवादी पुस्कर कुमार कुर्मी सो लिखत गरिदिन स्वतन्त्र भई अरु अंशियार कसैको सहमति लिन आवश्यक नपर्ने ।

(प्रकरण नं.१८)

 

पुनरावेदक वादी तर्फवाटः विद्वान अधिवक्ता श्री बाबुराम गिरी       

प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री राधेश्याम अधिकारी र विद्वान अधिवक्ता श्री सिताराम अग्रवाल

अवलम्वित नजीरः स.अ.नि.सा.सं.भाग १७ पृष्ठ २५०

 

आदेश

न्या.अनूपराज शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख)  वमोजिम मुद्दा  दोहर्‍याई हेर्ने निस्सा प्रदान भै संयुक्त इजलासमा पेश हुदा निर्णयमा एकमत हुन नसकी सर्बोच्च अदालत नियमावली,२०४९ को नियम ३(१) बमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ ।

            २.    स्व. रामराजी कुर्मिनीले दान गर्नुभएको वांके मनिकापुर गा.वि.स.व.नं. ६ क कि.नं. २९३, ऐ.व.नं. ६ ख कि.नं. १०७, १०९, ११६, १४७, १४८, १४९, १५०, १५२, १५३, १५४, १५५,१५७, १५८,१६०, १६४, १६५, १६६, १८५, १९१, १९५, १९७, २०३, २०९, २१६, २१८, २२९, २३५ र ऐ. व.नं. ७ ख कि.नं. २०३, २०९ र ऐ. व.नं. ८ क कि.नं. २४१ समेतका जग्गाहरु सो वखत ६ बर्ष उमेर भएको मेरो एकाघर सगोलको नावालक छोरा विपक्षी पुस्कर कुर्मि भन्ने पुस्करप्रसाद वर्माको नाममा मिति २०३३।३।१९ मा दानपत्र लिखत रजिष्ट्रेशन पारित गराई लिइ भोग चलन गरी आएकोमा निज प्रतिवादी पुस्कर कुर्मि, मेरो श्रीमति लिलादेवी, पुस्करको श्रीमति सुनिता देवी, निजको छोरा मुकुन्दप्रसाद र मेरो छोरा शिवचरण वर्मा समेत सवै परिवार मेरो सगोलका छन् । वांके वसुदेवपुर गा.वि.स. वा.नं. ५ वस्ने राम कुमार कलवारले कांचो इटा घाममा सुकाउने कामको लागि मनिकापुर गा.वि.स.वा.नं.६ ख कि.नं. १४७ को ज.वि. ०, ऐ. कि.नं. १४८ को ज.वि. ०२ जग्गा भाडाको लिखतमा म फिरादी साक्षी वसी सहमति प्रदान गरेको र सो लिखतमा विपक्षी मुमताज जोलाहको वावु शम्शेर जोलाह पनि साक्षी वस्नु भएको थियो । सो कुरा विपक्षीलाई थाहा जानकारी हुंदा हुदै मिलोमतो गरी मनिकापुर वा.नं. ६ ख कि.नं. १५० को ज.वि. ०१९ र ऐ. कि.नं. १५८ को ज.वि. ०० जग्गालाई मोल विगो रु. १,१५,०००।राखी मेरो सहमति नै नलिई विपक्षीहरुले मिति २०५४।७।२७ मा पारित गराई लिएका रहेछन् । सो जग्गाहरु भूमि सम्वन्धी ऐन, २०२१ को दफा २ ग र दफा ७, मुलुकी ऐन अंशवण्डाको संशोधित १८ नं. प्रारम्भ भएको मिति २०३४।९।२७ पूर्व लागू रहेको मुलुकी ऐन अंशवण्डाको १८ नं. ले भोगी आएको वस्तुमा असर नपर्ने कुरा नेपाल कानून व्याख्या सम्वन्धी ऐन, २०१० को दफा ४ मा प्रष्ट हुंदा उक्त लेखिएको जग्गा म फिरादीको स्वामित्व भएको जग्गा मध्ये विपक्षीको अंश भागमा पर्ने जति विपक्षी पुस्करप्रसाद वर्मालाई अंशवण्डा छुट्याई दिएका वखत आफुले वण्डामा पाएको जग्गा आफु खुसीगर्न पाउने अवस्था मुलुकी ऐन अंशवण्डाको १० नं. र लेनदेन व्यवहारको ८ नं. तथा ९ नं. समेतको विपरीत भै गैरकानूनी काम गरेको ठहर्ने हुंदा मैले मेरो एकाघर सगोलको छोरा पुस्करलाई अंश नदिएसम्म सो जग्गा अंशवण्डाको १० नं. ले पुस्करप्रसादको अधिकार नै नपुग्ने हुनाले सो लिखत वदर गरी म फिरादीलाई फिर्ता गराई मेरो हक कायम राखी पाउं भन्ने व्यहोराको वादी शत्रुधनप्रसाद वर्माको फिराद दावी ।

            ३.    मलाई विक्री गर्ने पुस्करप्रसाद वर्मालाई निजको मावली पट्टिको वज्यैले दानपत्रको लिखत लेखी पारित गरी दिएको सम्पतिमा वादीको कुनै हकै नलाग्ने हुंदा खारिजगरी पाउं । लेनदेनको १० नं. वमोजिम पुरै लिखत वदर गर्ने कानूनी व्यवस्था नभएकोमा गलत किसिमको दावी लिएको हुदा प्रस्तुत फिराद खारेज गरी पाउं भन्ने समेत व्यहोराको प्रतिवादी मुमताज जोलाहको प्रतिउत्तरपत्र ।

            ४.    वादीको सासु मेरो सहोदर आमाको आमा रामराजी कुर्मिले वादी दावीमा उल्लेख भएको जग्गा समेतलाई मिति २०३३।३।१ मा दानपत्रको कागज लेखी ऐ. १९ गते पारित समेत गरी दिएको थिइन । सो दानपत्रको लिखतमा नाती पुस्कर कुमार कुर्मिलाई अरु कसैको हक नलाग्ने गरी दानगरी दिएकी छु भन्ने व्यहोरा उल्लेख गरेकी छन् । सो लिखतमा समर्थन जनाई यिनै वादीले सहीछाप समेत गरी सकेको हुनाले सो जग्गामा मेरो मात्र अंश हक छ । सो जग्गाहरुमा यी वादीको हकदैया समेत नभएकाले दावी खारेज गरी पाउं । मेले प्रतिवादी राम कुमार कलवारलाई विक्री गरेको जग्गा निजी आर्जनको भई आफू खुस गर्न पाउने हुंदा कसैको मंजुरी लिनु नपर्ने जग्गा हो । तसर्थ वादी दावी अंशवण्डाको १९(२), १९(४) तथा लेनदेन व्यवहारको १० नं. को प्रतिकूल हुंदा वादी दावी खारेज गरी पाउं भन्ने समेत व्यहोराको प्रतिवादी पुस्करप्रसाद वर्माको प्रतिउत्तर जिकिर ।

            ५.    प्रतिवादीले मावली वज्यैवाट निजी तवरले दानपत्र पाएको सम्पत्ति भएकोले यस्तो सम्पत्तिमा अंशवण्डाको १८ नं. ले अंशियारहरुको वण्डा नलाग्ने र सोही महलको १९ नं. ले आफु खुसी गर्न पाउने सम्पत्ति हुनाले लेनदेन व्यवहारको १० नं. मा भएको व्यवस्थाले ऐनले आफु खुस गर्न पाउने सम्पत्तिलाई वाहेक गरी अरुमा एकासगोलका अंशियारहरुको मंजुरी लिन पर्ने नलिएमा अंशियारले आफ्नो हक जतिमा मात्रै वदर गराउनु पाउने स्पष्ट व्यवस्था भएकोमा आफ्नो मावली वज्यैवाट नावालक छंदाका अवस्थामा दानपत्र पाएको सम्पत्तिलाई उमेर पुगी सावालक भएपछि आफु खुस गर्न नपाउने भनी सो जग्गामा वादीको हक कायम गरी दा.खा. वदर गरी दिनु कानूनी एवम व्यवहारिक रुपले नमिल्ने हुंदा वादीको दावी पुग्न नसक्ने ठहर्छ भन्ने वांके जिल्ला अदालतको मिति २०५६।९।१२ को   फैसला ।

            ६.    मेरो एकाघर सगोलका छोरा पुस्कर कुमार वर्मा ६ बर्षको नावालक छंदा मेरो सासूले केही जग्गा दान गरेर दिने इच्छा व्यक्त गर्नु भएको र मेरो नाममा अन्य जग्गा समेत रहेको कारणले मेरो सहमतिले पुस्करको नाममा दानपत्रको आधारमा जग्गा पास भएको हो । तत्काल प्रचलित मुलुकी ऐन र भूमि सम्वन्धी ऐन, २०२१ को दफा २(ग) वमोजिम पुस्कर कुमार नावालक हुंदा निज मेरो परिवार भित्र गनिने र निजको नाममा रहेको जग्गा समेत ऐ दफा ७ को प्रयोजनको लागि मेरो कोटा भित्र पर्ने भएवाट निजको नाममा जुनसुकै श्रोतवाट दर्ता भएको सम्पत्तिमा मेरो हक हुदैन भन्नु न्याय संगत हुँदैन । पुस्कर कुमार वर्माले नावालक अवस्थामा पाएको दानपत्रको जग्गाको सम्वन्धमा नेपाल कानून व्याख्या सम्वन्धी ऐन, २०१० को दफा ४ वमोजिम अंशवण्डाको १८ नं. को व्याख्या गरिनु पर्छ । सो आधारमा मुलुकी ऐन सातौ संशोधन लागू हुन पुर्व दानपत्रवाट प्राप्त गरेको जग्गा स्वआर्जनको हुन नसक्ने कानूनी व्यवस्था भए अनुसार विभिन्न मुद्दाहरुमा सिद्धान्त प्रतिपादन समेत भई सकेको छ । यसै लगाउको मुद्दाका प्रतिवादी राम कुमारलाई १४७ र १४८ कि.नं. को जग्गा भाडामा दिंदा मलाई साक्षी राखी मेरो मंजुरी लिने र उक्त सम्पत्ति विक्री गर्दा मेरो मंजुरी नचाहिने भनी भन्न मिल्ने होइन । तसर्थ मेरो हक लाग्ने गोश्वारा सम्पत्तिवाट मेरो मंजुरी विना विक्री गरेको जग्गामा मेरो हक नलाग्ने गरी गरेको जिल्ला अदालत वांकेको फैसला त्रुटिपूर्ण भई सर्वोच्च अदालतवाट प्रतिपादित सिद्धान्त विपरीत भएकोले वदर गरी हक कायम गराई पाउं भन्ने वादीको पुनरावेदन   जिकिर ।

            ७.    अंशवण्डाको १८ नं. को विश्लेषणको परिप्रेक्ष्यमा शुरु फैसला फरक पर्न सक्ने देखिंदा अ.वं. २०२ नं. वमोजिम छलफलका लागी विपक्षीलाई झिकाई आएपछि पेश गर्नु भन्ने    आदेश ।

            ८.    विवादित मावली वज्यैले नातिलाई गरेको दानपत्रको अंतिम हरफमा लिखत साक्षी लगायत तीन साक्षीहरुको रोहवरमा लेखकको घर आंगनमा वसी आजको दानपत्र लेखी तिमी पुस्कर कुर्मिलाई दिए भनी लेखिएको देखिन्छ । प्रस्तुत दानपत्रको विरुद्ध सगोलमा रहेका कुनै अंशियारको उजुरी परेको समेत देखिन्न । विवादको विषय वस्तुमा हेर्दा मावली वज्यैले नातिलाई इच्छापत्र गरेको मरणोपरान्त पाउने सम्पत्ति सो जग्गा हो भन्ने स्पष्ट रुपले देखिएको, कुनै व्यापारिक वा अन्य प्रयोजनको लागि दिने मनसाय नदेखिएको, मृतक नाता पुनः जिवित भै सच्याउने स्थिति रहन नसक्ने हुनाले प्रस्तुत दानपत्र अन्यातिक्रमण स्थितिमा रहेको देखिन्छ । दानपत्रमा लेखिएको शव्द अरु कसैलाई हक नलाग्ने गरी दान दिएको छ भनी लेखिएवाट कुनै शंकाको स्थिति रहेन । तसर्थ प्रस्तुत दानपत्रको सम्वन्धमा असम्वद्ध ऐन कानून उल्लेख गरी भ्रम पार्ने गरी अन्यथा व्याख्या गर्न कदापि मिलेन । यस निमित्त शुरु वांके जिल्ला अदालतको वादीको दावी नपुग्ने ठहराई गरेको इन्साफ मिलेकै हुंदा मिति २०५६।९।१२ को फैसला सदर हुने ठहर्छ भन्ने समेतको पुनरावेदन अदालत नेपालगंजको मिति २०५६।१२।२५ को फैसला ।

            ९.    मेरो एकाघरको छोरा पुष्कर वर्मा ६ बर्षको नावालक छंदा मेरो ससुराले केही जग्गा दान गर्ने इच्छा व्यक्त गरेको मेरो समेत मन्जुरीले निज पुष्करको नाउंमा मिति २०३३।३।१९ को दानपत्रको आधारमा आएको जग्गा हो । तत्काल प्रचलित मुलुकी ऐन अंशवण्डाको १८ नं. र भूमि सम्वन्धी ऐन, २०२१ को दफा २(ग) वमोजिम पुष्कर वर्मा नावालक भई सोही ऐनको दफा ७ को प्रयोजनको मेरो हक भित्र पर्ने हुंदा जुनसुकै श्रोतवाट आएको भएपनि मेरो हक हुदैन भन्नु न्याय संगत हुदैन । तत्काल प्रचलित अंशवण्डाको १८ नं. ले २०३३ सालको दानपत्रवाट प्राप्त जग्गा वण्डा हुने स्पष्ट उल्लेख छ । मानो छुट्टीएको कुनै अंशीयार मानो छुट्टीए पछि आर्जन गरेको सम्पति सम्म वण्डा नलाग्ने गरेको छ । पुष्करको नाममा रहेको सम्पत्ति मानो छुट्टिएपछि आर्जन गरेको नभै म संगै रहेको अवस्थामा आर्जन गरेकोले प्रमाण ऐन, २०३१ को दफा ६क वमोजिम वण्डा लाग्ने कुरामा समेत विवाद नरहने भएकोले पुनरावेदन अदालतको फैसला कानूनको व्याख्या सम्वन्धी त्रूटि हुनुको साथै सम्मानित अदालतवाट विभिन्न मुद्दामा प्रतिपादित सिद्धान्त समेतको वेवास्ता गरेको त्रुटिपूर्ण हुंदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) वमोजिम मुद्दा दोहोर्याई मेरो फिराद दावी वमोजिम हक कायम गरी पाउं भन्ने समेतको वादीको यस अदालतमा परेको निवेदन पत्र ।

            १०.    विपक्षी मध्येका प्र. पुष्कर कुमार वर्मा ६ बर्षको नावालक छदैको अवस्थामा निजले मावली पट्टिकी वज्यै रामराजीवाट मिति २०३३।३।१९ को दानपत्रवाट पाएको जग्गा मुलुकी ऐन, सातौ संशोधन हुनु पूर्वको भै त्यस्तो दान पत्रको सम्पत्ति सगोलको मानिने हुंदा सो सम्पति निजी आर्जनको भनी आफुखुस गर्न पाउने भन्न मिल्ने अवस्थाको नहुंदा सो सम्पति वादीहरुको मन्जुरी वेगर प्रतिवादी पुष्कर कुमारले मिति २०५४।७।२७ मा हक हस्तान्तरण गरि दिएकोमा आफ्नो हक जतिको लिखत वदर गरी हक कायम गरी पाउं भन्ने वादी दावी नपुग्ने गरेको शुरुको सदर गरेको पुनरावेदन अदालत नेपालगंजको फैसलामा अंशवण्डाको १८ नं. को व्याख्यात्मक त्रूटि र नि.नं. ६६१८ ने.का.प. २०५५ पृष्ट ६०० मा प्रतिपादित सिद्धान्तको उल्लघन भएको देखिंदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) को आधारमा प्रस्तुत मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिदिएको छ भन्ने समेतको यस अदालतको आदेश ।

११.    मुलुकी ऐन सातौं संशोधन पूर्व अर्थात ०३४।९।२७ अघिको अंशवण्डाको १८ नं.मा मानो नछुट्टिई संगै बसेका अंशियार छन् भने अंशियारहरुले कमाएको धन र लगाएको ऋण सबै अंशियारमा माग लाग्छ, ऐन बमोजिम अंश लिनुदिनु पर्छ । अंश नभएपनि मानो छुट्टिई भिन्न बसेका वा खति उपति आफ्नो आफ्नो गरी आफ्नो हिस्सासंग माात्र राखी खानु पिउनु गरेकोमा एकै ठाउंमा भएपनि मानो छुट्टिई भिन्न भएको ठहर्छ । त्यस्तोमा कमाएको धन र लगाएको ऋण आफ्नो आफ्नो हुन्छ भन्ने कानूनी व्यवस्था रहेको देखिएको, ने.का.प. २०४३ अंक ९ पृष्ट १६१ मा यस अदालतको पूर्ण इजलासबाट तल्सीलाल गुरुवाचार्य विरुद्ध मनिकलाल गुरुवाचार्यको अंश मुद्दामा एका संगालेमा रहे बसेका अवस्थामा कुनै अंशियारले आर्जन गरेको सम्पत्तिमा (तत्कालीन) अंशवण्डाको १८ नं.ले सगोलको सम्पत्ति मान्नु पर्ने भनी सिद्धान्त प्रतिपादन भएको देखिएको, पुनरावेदन वादी र प्रत्यर्थी पुस्कर कुमार वर्मा समेत सगोलमै रहेको देखिएको अवस्थामा अंशियारको मंजूरी वेगर पुस्कर कुमारले प्रत्यर्थी मुमताज जोलाहालाई पारित गरिदिएको ०५४।७।२७ को लिखत मध्ये ४ भागको १ भाग लिखत बदर हुने ठहर गर्नु पर्नेमा वादी दावी नपुग्ने ठहराएको शुरु बांके जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत नेपालगंजबाट भएको फैसला मिलेको नदेखिंदा उल्टी भई विवादको लिखत मध्ये ४ खण्डको १ खण्ड बदर हुने ठहर्छ भन्ने व्यहोराको संयुक्त इजलासका माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझीको राय ।

१२.   विवादित लिखतको सम्पत्ति प्रत्यर्थी प्रतिवादी पुस्कर कुमार कुर्मीको आमा अर्थात दानपत्र गरिदिने रामराजी कुर्मीको छोरीको मृत्यु पश्चात छोरी  ज्वाईले अर्को विवाह गरेपछि दाताले आफ्नो सम्पत्ति ६ वर्षीय नातीलाई अरु कसैको हक नलाग्ने शर्त राखी ०३३।३।१९ मा दानपत्र पारित गरिदिएको, सो लिखतमा पुस्कर कुमार वर्माको पिता यिनै पुनरावेदक वादी शत्रुधनप्रसाद वर्मा संरक्षक भै लिखत साक्षी बसेको देखिएको र दाताले नै प्रत्यर्थी प्रतिवादी पुस्करप्रसाद वर्माले मात्र खान पाउने गरी व्यक्त गरेको इच्छा प्रतिकूल अरु अंशियारको पनि हक लाग्ने भन्न मनासीव नहुने हुंदा फिराद दावी पुग्न नसक्ने ठहराएको शुरु बांके जिल्ला अदालतको इन्साफ सदर गरेको पुनरावेदन अदालत नेपालगंजको फैसला मनासीव हुंदा सदर हुने ठहर्छ भन्ने व्यहोराको संयुक्त इजलासका अर्का माननीय न्यायाधीश श्री परमानन्द झाको राय ।

१३.   नियम बमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी तर्फबाट विद्वान अधिवक्ता श्री बाबुराम गिरीले दान पत्र पारित हुंदाको तत्कालीन अंशवण्डाको १८ नं. बमोजिम मानो नछुट्टिई सगोलमा रहेका अंशियार जो सुकैको नाउँमा रहेका भए पनि त्यस्तो सम्पत्ति सगोलकै मानिने कानूनी व्यवस्था  रहेको र ने.का.प. २०५५ अंक १० पृष्ठ ६०० तथा ने.का.प. २०४३ अंक ९ पृष्ठ १६१ मा प्रतिपादित सिद्धान्त अनुसार सगोलको सम्पत्ति वण्डा गर्नु पर्ने हुंदा वादी दावी बमोजिम विवादित लिखत बदरहुनु पर्नेमा वादी दावी नपुग्ने ठहर गरेको शुरुको फैसलालाई सदर गरेको पुनरावेदन अदालतको फैसला त्रूटिपूर्ण र न्याययोग्य नहुंदा सो फैसला उल्टी गरी ४ भागका १ भाग लिखत बदर हुने गरी व्यक्त गर्नु भएको माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझीको राय सदर हुनु पर्छ भनी वहश गर्नु भयो ।

१४.   प्रत्यर्थी प्रतिवादी तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री राधेश्याम अधिकारी र विद्वान अधिवक्ता श्री सिताराम अग्रवालले दानपत्र दिंदाका अवस्थामा पुनरावेदक वादी संरक्षक भई लिखत साक्षी बसेको, लेनदेन व्यवहारको ८ र ९ नं. अन्तर्गत परेको फिरादबाट अंशवण्डाको कुरा उठाई वण्डा लाग्ने नलाग्ने कुराको निर्णय गर्न  नमिल्ने र दाताले अरु कसैको हक नलाग्ने भनी इच्छा व्यक्त गरिदिएकोबाट त्यसमा अरु कसैको हक लाग्न नसक्ने हुंदा वादी दावी पुग्न नसक्ने ठहर गरेको वांके जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत नेपालगंजको फैसलालाई नै मनासीव ठहराउनु भएको संयुक्त इजलासका माननीय न्यायाधीश श्री परमानन्द झाको राय कानूनसम्मत हुंदा सोही राय सदर हुने गरी इन्साफ हुनु पर्छ भनी वहश गर्नुभयो ।

१५.   उपरोक्त वहश बुंदा, संयुक्त इजलासमा व्यक्त भएका राय एवं शुरु, रेकर्ड र प्रमाण मिसिल समेत अध्ययन गर्दा संयुक्त इजलासमा व्यक्त भएका राय मध्ये कुन चाहि राय सदर हुने हो, त्यस सम्बन्धमा निर्णय गर्नु पर्ने हुन आयो ।

१६.    निर्णय तर्फ बिचार गर्दा, यसमा स्व. रामराजी कुर्मीबाट पुस्कर कुर्मी भन्ने पुस्कर कुमार वर्माको नाउँमा २०३३।३।१९ को पारित दानपत्रको लिखत बमोजिम प्राप्त विभिन्न ३१ कित्ता जग्गाहरु मध्ये कि.नं. १५० र १५८ को जग्गा एकासगोलका वादी समेतको सहमति वेगर पुस्करप्रसादले मुमताज जोलाहालाई ०५४।७।२७ मा लिखत पारित गरी दिएकोले  सो लिखत बदर गरी वादीलाई फिर्ता गराई हक कायम समेत गरिपाऊँ भन्ने फिराद दावी र दाता रामराजी कुर्मीले आफ्नो नाति पुस्कर कुमार कुर्मीलाई अरु कसैको हक नलाग्ने गरी दान गरिदिएको छु भन्ने व्यहोरा पारी ०३३।३।१९ मा दानपत्रको लिखत पारित गरि दिएको कारणबाट पुस्कर कुमारले आफू खुशी गर्न पाउने हुंदा फिराद दावी खारेज गरिपाऊँ भन्ने प्रतिउत्तर जिकिर भएकोमा वादी दावी पुग्न नसक्ने गरी बांके जिल्ला अदालतबाट फैसला भई त्यस उपर वादीको पुनरावेदन पर्दा शुरुको इन्साफ सदर हुने गरी पुनरावेदन अदालतबाट फैसला भएको देखिन्छ । त्यस उपर वादीकै मुद्दा दोहोर्याउने निवेदन परी दोहोराई हेर्ने निस्सा प्रदान भई फैसला संयुक्त इजलासमा पेश हुंदा माननीय न्यायाधीश मीनबहादुर रायमाझीबाट पुनरावेदन अदालतको फैसला उल्टी गरी वादी दावी बमोजिम  ४ भागको १ भाग लिखत बदर हुने राय र माननीय न्यायाधीश परमानन्द झाबाट वादी दावी पुग्न नसक्ने ठहर भएको पुनरावेदन अदालतबाट भएको फैसलालाई नै सदर गर्ने राय व्यक्त भई रायवाझी भएकोले निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको देखियो ।

१७.   दाता रामराजी कुर्मीबाट ०३३।३।१९ मा दानपत्र लिखत गरी जि.बांके मनिकापुर गा.वि.स. वडा नं. १ स्थित कि.नं. १५० र १५८ समेतका ३१ कित्ता जग्गा पुस्करकुमार कुर्मीलाई दिएकोमा विवाद देखिंदैन । सो दानपत्रको लिखतमा नाती पुष्करकुमार कुर्मीलाई  अरु कसैको हक नलाग्ने गरी दान गरिदिएकी छु भन्ने व्यहोरा उल्लेख भएको देखिन्छ । सो लिखतमा प्रस्तुत मुद्दाका वादी शत्रुधनप्रसाद वर्मा (कुर्मी) साक्षी बसेको देखिन्छ । एकातिर दानपत्रमा उल्लिखित उपरोक्त व्यहोराबाट त्यसमा उल्लिखित सम्पत्तिमा पुस्करकुमार कुर्मी बाहेक अरु कसैको हक रहने अवस्था देखिंदैन भने अर्कातिर सो दानपत्रको लिखतमा वादी स्वयं नै साक्षी बसेकोबाट सो लिखत बदर गर्ने हक वादीलाई हुने देखिंदैन । लिखतमा साक्षी बसेको कारणबाट वादी प्रमााण ऐन, २०३४ को दफा ३४ बमोजिम विवन्धित भएको अवस्था स्पष्ट देखिन्छ ।

१८.   तत्कालीन अंशवण्डाको १८ नं. अनुसार मानो नछुट्टिई संगै बसेका सगोलका अंशियार जो सुकैको नाउंमा रहेको भएपनि त्यस्तो सम्पत्ति सगोलकै मानिने व्यवस्था भएपनि प्रस्तुत मुद्दा अंशवण्डा गरी पाऊँ भन्ने विवाद नभएको र कुन कुन सम्पत्ति वण्डा लाग्ने वा नलाग्ने भन्ने विवाद समेत नभएको अवस्था एकातिर छ भने दाताले अरु कसैको हक नलाग्ने भनी लिखतमै व्यहोरा उल्लेख गरी आफ्नो दृढ इच्छा व्यक्त गरेको अवस्था हुंदा त्यसलाई अन्यथा भन्न सकिने देखिंदैन । एकातिर प्रस्तुत मुद्दा अंशवण्डाको महलको साविक १८ नं. बमोजिम वण्डा लाग्ने, नलाग्ने भन्दा पनि लेनदेनको व्यवहार अन्तर्गत लिखत बदरसंग सम्बन्धित देखिन्छ। लेनदेन व्यवहारको महल अन्तर्गत परेको फिरादबाट अंशवण्डाको महल बमोजिम अंशियारको अंश लाग्ने नलाग्ने भनी अदालतबाट निक्र्यौल गर्न कानूनसम्मत हुंदैन भने अर्कोतर्फ यस सम्बन्धमा यस अदालतको पूर्ण इजलासबाट कुमारदास मानन्धर समेत विरुद्ध गणेशप्रसाद मानन्धर समेत भएको लिखत बदर मुद्दा (स.अ.नि.सा.सं.भाग १७ पृष्ठ २५०) मा आफूले आर्जेको सम्पत्ति आफूखुस गर्न पाउने, अंश नभै संगोलमा रहेको भन्ने आधारबाट लिखत बदर हुन नसक्ने भनी सिद्धान्त प्रतिपादन भएको देखिन्छ । यसरी आफ्नो एकलौटी हक भएको सम्पत्तिलाई आफ्नो इच्छा अनुकूल हक हस्तान्तरण गरी अरु कसैलाई दिन त्यस्तो हक हुने व्यक्ति स्वतन्त्र हुन्छ, प्रस्तुत मुद्दामा दानपत्रबाट प्रतिवादी पुस्कर कुमार कुर्मीले पाएको जग्गा मध्येबाट प्रतिवादी मुमताज जोलाहालाई ०५४।७।२७ मा लिखत पारित गरिदिएको देखिन्छ । दानपत्रमा उल्लिखित व्यहोराबाट प्रतिवादी पुस्कर कुमार कुर्मी सो लिखत गरिदिन स्वतन्त्र छन्, अरु अंशियार कसैको सहमति लिन आवश्यक छैन ।

१९.    अतः माथि विवेचना गरिए अनुसार दाताले नै अरु कसैको पनि हक नलाग्ने गरी लिखतमा व्यहोरा जनाई पारित गरी दिएको कि.नं.१५० र १५८ का जग्गा प्रत्यर्थी मुमताज जोलाहालाई लिखत पारीत गरिदिएको र आफ्नो निर्विवाद हक पुग्ने जग्गाको हक छोडी दिंदा अरु कसैको मंजूरी लिनु पर्ने नहुंदा सगोलका अन्य अंशियारको सहमति लिनु पर्ने भनी पुनरावेदन अदालतको फैसलालाई उल्टी गरी ४ भागको १ भाग लिखत बदर हुने भनी व्यक्त गर्नु भएको माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझीको रायसंग सहमत हुन सकिएन । वादी दावी पुग्न नसक्ने गरेको शुरु बांके जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत नेपालगंजको ०५७।६।८ को इन्साफलाई कायमै रहने ठहर गर्नु भएको माननीय न्यायाधीश श्री परमान्द झा को राय मिलेकै देखिंदा मनासीव  ठहर्छ । पुनरावेदन अदालत नेपालगंजको ०५७।६।८ को फैसला सदर हुने ठहरेकोले अरु केही गरिरहनु परेन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा हामी सहमत छौं ।

 

न्या.वलराम के.सी.

न्या.ताहिर अली अन्सारी

 

संवत् २०६३ साल असार १५ गते रोज ५ शुभम् ......

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु