निर्णय नं. ७६७९ - कर्तव्य ज्यान

निर्णय नं.७६७९ ने.का.प.२०६३ अङ्क ४
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी
माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ
संबत् २०६१ सालको फौ.पु.नं. ..३५४३
संबत् २०६२ सालको साधक नं. ...३१५
फैसला मितिः २०६३।२।२८।१
मुद्दाः कर्तव्य ज्यान ।
पुनरावेदक
वादीः भिमबहादुर राउतको जाहेरीले नेपाल सरकार
बिरुद्ध
प्रत्यर्थी
प्रतिवादीः ज्ञानबहादुर चौहान समेत
वादीः भिमबहादुर राउतको जाहेरीले नेपाल सरकार
विरुद्ध
प्रतिवादीः वझाङ जिल्ला गडराय गा.वि.स. वडा नं. ४ बस्ने ज्ञानबहादुर चौहान
§ मुलुकी ऐन अ.वं. १८८ नं. बमोजिम मातहत अदालतबाट व्यक्त हुने राय अन्तिम जाँच नभएसम्म त्यस्तो रायले वैधानिक मान्यता (Validity) ग्रहण नगर्ने हुँदा कार्यान्वयन (Operative) गर्न नसकिने ।
§ अ.वं. १८८ नं. को कानूनी व्यवस्था न्यायाधीशलाई चित्तमा लागेको कुरा रायका रुपमा व्यक्त गर्न पाउनेसम्मको व्यवस्था भएको र त्यो प्रावधानको अन्तिम परिक्षण सर्वोच्च अदालतबाट हुनैपर्ने वाध्यात्मक व्यवस्था हुँदा फैसला वा डिक्रिका रुपमा नरहेको त्यस्तो राय (Opinion) का सम्वन्धमा पुनरावेदन गर्न पाउने अवस्था समेत नरहने ।
(प्रकरण नं.३१, ३२)
§ जाहेरवालाले अदालत समक्ष गरेको वकपत्रमा यी प्रतिवादीहरु निर्दोष रहेको भनी व्यहोरा लेखाएको अवस्थामा आगो लागेको घरमा परी लास डढी नष्ट भएको हो वा खोलाले वगाएर वेपत्ता भएको हो भन्ने कुरा नै एकिन नभै प्रतिवादीहरु उपर लगाइएको प्रमाणित नै हुन नसकेको आरोपमा दोषि ठहर गर्न नमिल्ने ।
(प्रकरण नं.३४)
पुनरावेदक वादी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री अमृतबहादुर वस्नेत
प्रत्यर्थी प्रतिवादी तर्फवाटः
अवलम्वित नजीरः
फैसला
न्या.कल्याण श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ख) र १० अन्तर्गत पुनरावेदन अदालत दिपायलको मिति २०६१।९।१८ को फैसला उपर वादी श्री ५ को सरकारको यस अदालतमा पुनरावेदन पर्न आएको र साधक निकासा समेतका लागि पेश हुन आएको मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः–
२. मेरो दाजु केश रावलको २०५३ साल माघ महिनामा आफ्नै कालगतीबाट मृत्यु भई घरमा भाउजु वेलुदेवी राउत र भतिजी भुमेश्वरा, मात्र थिईन, मिति २०५६।४।१८ गते विहान अ. १०/११ वजे तिर म खेतमा काम गरी घरमा आउँदा भाउजु वेलु देवी राउतको घरमा ज्वाई नातापर्र्ने ज्ञानबहादुर चौहान र भाउजुको गाई किन्न आएकी विषा राउतलाई देखेको थिए । गाईको मोलमा कुराकानी नमीली सोही दिन अं. १२ बजे तिर विषा राउत आफ्नो घरमा फर्कि गएकी थिइन । ज्ञानबहादुर चौहान भाउजुको घरमा वसेको देखेको थिए । सोही दिनको दिउसो अं. १ वजे तिर म भैसि चराउन जंगल तर्फ गई साँझ ६ वजे तिर घरमा फर्किदा भाउजु वेलु देवी राउत खेतमा गोलमेल गरी राखेकी थिइन । मिति २०५६।४।१८ गतेको राती अं.९ वजे तिर म भैसी बिक्री गर्ने कुरा गर्न खड्क बहादर खड्काको घरमा गएको हुँ । सोही राती अं. १२।१ वजे तिर छोरी वुदी रावतलाई दिसा लाग्न गई श्रीमती कलादेवी राउतले घर वाहिर ल्याउँदा वेलु देवी राउतको घरमा आगो लागेको देखि गाउँ घरमा हो–हल्ला गरी उक्त हो–हल्ला सुनी म तत्काल उक्त ठाउँमा गई हेर्दा घर ढोका खुला भएको बोलाउँदा कराउँदा समेत कोही नबोलेको हुँदा गोठमा रहेका गाई वाच्छा वाहिर निकालेका हौं । ज्ञानबहादुर चौहान भाउजु वेलु देवी रावतको घरमा आई राख्ने, पैसा दिनु पर्यो भनी झै झगडा गर्ने र मिति २०५६।४।१८ गतेका दिन भाउजु वेलुदेवी रावतको घरमा वसेको र सोही राती आगलागी भई ज्ञानबहादुर चौहान उक्त ठाउँमा नआई मिति २०५६।४।२० गतेबाट नै भागी गएका र भाउजु वेलुदेवी राउत र भतिजी भूमेश्वरा रावतको लाश समेत फेला नपरेको हुँदा निज ज्ञानबहादुर चौहानले कर्तव्य गरी मारी घरमा आगो समेत लगाएकोले पक्राउ गरी कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको जाहेरी दर्खास्त ।
३. जिल्ला वझाङ गडराय गा.वि.स. वडा नं. ९ स्थित गडतोला पूर्व अं. ३०० मिटर टाढा दलबहादुर राउतको घर पश्चिम अं. १५ मिटर टाढा पोरखाली गाउँ तिर जाने मूलबाटो उत्तर वेलु देवी राउतको मकैवारी दक्षिण अं. ५० मिटर टाढा भिमबहादुर राउतको घर यत चार किल्ला भित्र रहेको २२ फिट लम्बाई १६ फिट चौडाई भएको दुईतले जलेको अवस्थामा रहेको वेलु देवी राउतको घर उक्त घरको काठपात जलेको फुसको छाना जली खरानी भएको अन्य भाडाकुडा जली कालो अवस्थामा रहेको पूर्व पश्चिमतिरको दिवा भत्की १० फिट सम्म उचाई रहेको उक्त घटनास्थलमा लाश फेला नपरेको भन्ने समेत व्यहोराको घटनास्थल प्रकृति मुचुल्का ।
४. मिति २०५६।४।१८ गतेको विहान अं. ६ वजे तिर म वेलु देवी रावतको घरमा आफ्नो घर खर्चको लागि पैसा माग्न र पाल्न दिएको गाई विषा राउतलाई बिक्री गर्न विषा रावत समेतलाई लिई गएको थिए । गाईको मोलमा कुरा नमिली विषा राउत आफ्नो घर तिर आइन र म त्यही वसी साँझ खाना खाई अं. ९ वजे तिर गाई पनि वेचेन मलाई पैसा पनि दिदैनौ भनी भन्दा सासु वेलु देवी राउतले मलाई एक झापट हिर्काउँदा रिस उठी सोही घर भित्र रहेको फलामके पन्युले वेलु देवी राउतको कन्चटमा हिर्काउँदा मृत्यु भएको र भूमेश्वरा राउतलाई घर भित्र दिवालमा पछारी मारेको हुँ । यसपछि म तत्काल घरमा गई वुवा धनबहादुर चौहानलाई भेटी मारेको कुरा सुनाएपछि लाश नदिमा फाल्नु पर्छ भनी सोही राती मेरो घरमा वास वसेको जितबहादुर चौहानलाई साथमा लिई दलबहादुर राउत, केशबहादुर खड्का समेतको सहयोग लिई नानीगाड र घट्टेखोला नदी मिल्ने स्थानमा उक्त दुवै लाशलाई फाली वगाई आ–आफ्नो घर तिर गएका हौ । घरमा आगो मैल लगाएको हुँ र वेलु देवी राउतलाई मारेपछि नाकको मुन्द्री निकाली दिलबहादुर चौहानसँग बिक्री गरेको हुँ भन्ने समेत व्यहोराको ज्ञानबहादुर चौहानको बयान ।
५. मिति २०५६।४।१८ गते म आफ्नै घर पसलमा थिए । प्रतिवादी ज्ञानबहादुर चौहान घरमा थिएन । कहाँ गएका रहेछ थाहा भएन । मिति २०५६।४।२९ गतेको विहान म आफ्नै घर पसलमा वसी राखेको अवस्था ज्ञानबहादुर चौहान एक्लै म भएकी ठाउँमा आई मेरो सासु वेलु देवी राउतले जमिन किनेको हुँदा जमिनको पैसा बुझाउन रु. १०००।– (एकहजार) को कमी परेको छ मलाई आधा तोला सुन मुन्द्री दिएको छ । पटि फिर्ता बुझाउने गरी मष्टालघु जल विद्युत उर्जा व्यवस्थापन समितिको कोषबाट रु. १०००।– (एकहजार) दिई सुनको मुन्द्री राख्नुहोस भन्दा उक्त व्यवस्थापन समितिको अध्यक्ष समेत निज प्रतिवादी ज्ञानबहादुर चौहान नै भएको हुँदा सुनको मुन्द्री पछि फिर्ता बुझाउने गरी रु. १०००।– दिएको हुँ । भूमेश्वरा राउतको र वेलु देवी राउतको घरमा आगलागी भएको कुरा मिति २०५६।४।१९ गते साँझ अं. ४:५ वजे तिर थाहा पाएको हुँ , वेलु देवी राउत र भूमेश्वरा राउतलाई कर्तव्य गरी मारी घरमा आगो समेत ज्ञानबहादुर चौहानले प्रहरीमाच गरेको बयान कागज ।
६. यसमा उक्त मलाई देखाएको फलामको पन्यु थान १(एक) र सुनको मुन्द्री १ देखि चिने फलामको पन्यु मेरो भाउजु वेलु देवी राउतको हो । घटनास्थलमा फेला परेको हो र सुनको मुन्द्री १ मेरो भाउजु वेलु देवी राउतले नाकमा लगाउने गरेको थियो भन्ने समेत व्यहोराको भिमबहादुर राउतको सनाखत कागज ।
७. मृतक वेलु देवी राउत र मेरो घर ५० मिटरको दुरीमा पर्दछ । मिति २०५६।४।१८ गते अं. ८ वजे तिर म मेरै गाउँको खड्कबहादुर खड्काको घरमा गएकी हुँ राती अं. १ वजेको समयमा आगलागी भएको हो हल्ला सुनी आगलागी भएको ठाउँमा आएको हु । वेलु देवी राउत र भूमेश्वरा राउत रोए कराएको केही आवाज सुनेन भन्ने व्यहोराको जाहेरवाला भिमबहादुर राउतको कागज ।
८. मिति २०५६।४।१८ गते दिन म आफ्नै घरमा थिए । साँझ अं. ६–७ वजे तिर धनबहादुर चौहानको घरमा गई उक्त राती म त्यहीवास वसेको थिए । सोही राती अर्थात मिति २०५६।४।१८ गते अं. १० वजे तिर ज्ञानबहादुर चौहान हामी भएको घर अर्थात धनबहादुर चौहान र म सुतेको कोठामा गई हामीहरुलाई मैले सासु वेलु देवी राउतसँग पैसा माग्दा गाली गरी हिर्काएको रिट उठी दुवैजना वेलु देवी राउत र भूमेश्वरा राउतलाई मारेको हुँ । लाश घर भित्र नै छ भन्दा निज ज्ञानबहादुर चौहानका बाबु धनबहादुर चौहानले लाशलाई खोला नदीमा फाल्नु पर्दछ । वर्षादले नदी पढेको छ भनी मलाई समेत घटनास्थलमा जाउँ हिड भन्दा हामी तिनै जना तत्काल उक्त ठाउँमा गई सोही राती अं. १ वजे तिर गडराय गा.वि.स. वडा नं. ९ स्थित वेलु देवी राउतको घर घटनास्थलमा पगी सोही गाउँका दलबहादुर राउत र केशबहादुर खड्का समेतलाई बोलाई मृतक भूमेश्वरा राउत र वेलुदेवी लाश सो घरबाट अं. १ कि.मी. तल पर्ने घट्टे खोला नदी र नानी गाड नदी मिल्ने स्थान दोमरा भन्ने ठाउँको नदीमा फाली वगाएको हो । यसपछि म धनबहादुर चौहान, ज्ञानबहादुर चौहान आ–आफ्नो घरमा आएको र दलबहादुर राउत र केशबहादुर खड्का पनि आ–आफ्नो घरमा गएका हौ भन्ने समेत व्यहोराको जितबहादुर चौहानले प्रहरीमा गरेको बयान कागज ।
९. मिति २०५६।४।१८ गतेको राती म आफ्नै घरमा थिए । राती अं. १ वजेको समयमा धनबहादुर चौहान म भएको घरमा आई छोरा ज्ञानबहादुर चौहानले आफ्नो सासु वेलु देवी राउत र साली भूमेश्वरा राउतलाई मारेको रहेछ । लाश नदीमा पाल्न बगाउन लानु पर्यो भनी भलाई भनेका हुँदा म पनि उक्त घटनास्थलमा गई हामी सवै जना मिलि उक्त दुवै लाशलाई बोकी घट्टे खोला र नानीगाड मिल्ने दोमरो भन्ने स्थानमा नदीमा फाली वगाएका हौं । वर्षादको कारणले नदीको पानी वढेको हुँदा लाश कहाँ पुग्यो थाहा भएन । वगाएको स्थल देखाउन सक्छु भन्ने समेत व्यहोराको केशे भन्ने केशबहादुर खड्काले प्रहरीमा गरेको बयान कागज ।
१०. मिति २०५६।४।१८ गतेको राती म आफ्नै घरमा थिए । राती अं. १ वजेको समयमा धनबहादुर चौहान म भएको घरमा आई छोरा ज्ञानबहादुर चौहानले आफ्नो सासु वेलु देवी राउत र साली भूमेश्वरालाई मारेको रहेछ लाश नदीमा फाल्न वगाउन लागु पर्यो भनी मलाई भनेको हुँदा म पनि उक्त घटनास्थलमा गई हामी सवैजना मिलि उक्त दुवै लाशलाई वोकी घट्टे खोला र नानीगाड मिल्ने दोमरो भन्ने स्थानको नदीमा फाली बगाएका हौं । वर्षादको कारण नदीको पानी वढेको हुँदा लाश कहाँ पुग्यो थाह भएन । वगाएको भन्ने देखाउन सक्छु भन्ने समेत व्यहोराको दलबहादुर राउतले प्रहरीमा गरेको बयान कागज ।
११. मिति २०५६।४।१८ गतेको राती अं. १० वजे तिर छोरा ज्ञानबहादुर चौहानले वेलु देवी राउत र भूमेश्वरा राउतलाई मारी घर भित्र नै राखेको छु भन्ने जानकारी मलाई दिए पनि तत्काल म जितबहादुर चौहान र ज्ञानबहादुर चौहान मेरो घरबाट हिडि लाश रहेको वेलु देवी राउतको घरमा गई अं. १ वजे तिर सोही गाउँको दलबहादुर राउत र केशबहादुर खड्कालाई लाश नदीमा फाल्न लाग्नु पर्यो भनी बोलाई वेलु देवी राउत र मूमेश्वरा राउतको लाशलाई अहामी दलबहादुर राउत, जितबहादुर चौहान, केशबहादुर खड्का, ज्ञानबहादुर चौहान मिली सो वारदात भएको स्थान भन्दा अं. १ कि.मि. टाढा दक्षिण तर्फ पर्ने नानी गाड र घट्टे खोला मिलेको स्थान दोमरा भन्ने ठाउँको नदीमा फाली वगाई आफ्नो घरतिर गएका हौ भन्ने समेत व्यहोराको धनबहादुर चौहानले प्रहरीमा गरेको बयान कागज ।
१२. पूर्वमा नानीगाड नदी, पश्चिम मंगलबहादुर सिंहको पाखो जमिन, उत्तर घट्टेखोला नदी, दक्षिण तिर वगी रहेको नदी भिरपाखो जंगल भएको जमिन यतिचार किल्ला भित्र नानीगाड नदी र घट्टेखोला नदी मिल्दे दोभानमा दोमरा भन्ने स्थान उक्त दुवै नदी मिलेको स्थान नदिमा प्रतिवादी ज्ञानबहादुर चौहानले वेलु देवी राउत र भूमेश्वरा राउतको लाशलाई नदीमा फाली बगाएको भन्ने स्थान वर्षादको कारण नदीमा पानी वढी भएको कारण लाश फेला नपरेको भन्ने समेत व्यहोराको घटनास्थल प्रकृति मुचुल्का ।
१३. मिति २०५६।४।१८ गते ज्ञानबहादुर चौहान बेलु देवी राउतको घरमा आएको थियो। वेलु देवी राउतको घरमा आगो लागेको कुरा ऐ. २९ गते थाह भै ज्ञानबहादुर चौहान वेलु देवी राउतको घरमा आवत जावत गरी राख्ने र पैसा चाहेमा पैसा माग्ने नदिएमा झैझगडा गर्ने हुँदा झगडा कै कारण वेलु देवी राउतलाई र भूमेश्वरा राउतलाई मारी घरमा आागे समेत लगाएको हुनु पर्दछ । मृतकको लाश खोलामा बगाएको हुनु पर्दछ सोमा को कसको संलग्नता थियो थाहा भएन भन्ने गुलाव खड्का समेतको मानिसहरुले गरी दिएको करिव एकै मिलानको वस्तु स्थिति मुचुल्का ।
१४. प्रस्तुत मुद्दामा जिल्ला प्रहरी कार्यालय वझाङबाट अनुसन्धान कार्य पूरा गरी राय ठहर सहित पेश हुन आएको सक्कल मिसिल संलग्न सम्पूर्ण कागजातहरु अध्ययन गरी हेर्दा किटानी जाहेरी घटनास्थल प्रकृति मुचुल्का प्रतिवादीहरुको बयान बुझिएका मानिसहरुको कागज लाश फालेको घटनास्थल प्रकृति विवरण वरामदी दशीको सनाखत कागज र वस्तू स्थिति मुचुल्का समेतबाट जाहेरवालको भाउजु वेलु देवी राउत रभतिजी भूमेश्वरा राउतको कर्तव्यबाट मृत्यु भएको भन्ने वारदात सिद्ध हुन आयो । अव मृतक वेलु देवी राउत र भूमेश्वरा राउतको को कसको के कुन प्रकारको कर्तव्यबाट मृत्यु भएको रहेछ र उक्त प्रतिवादीका उपर के कस्तो सजायको माग दावी लिने भन्ने सम्बन्धमा विचार गर्दा प्रतिवादी ज्ञानबहादुर चौहानले पैसा नदिएको रिसले आफ्नै सासु नाता पर्ने वेलु देवी राउत र साली भूमेश्वरा राउतलाई पन्युले कन्चटमा हिकाई दिवालमा पछारेर कर्तव्य गरी मारी सके पश्चात लाशलाई दवाउने छिपाउने कार्यको लागि धनबहादुर चौहान, जितबहादुर चौहान, दलबहादुर राउत र केशे भन्ने केशबहादुर खड्कालाई जानकारी दिई निजहरु समेत बारदात भएको स्थानमा गई दुवै लाशलाई त्यहाँबाट निकाली नदीमा दोभान लाश फाली बगाएको बारदात सिद्ध हुन आएकोले प्रतिवादी ज्ञानबहादुर चौहानलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नं. विपरीतको कसूरमा सोही महलको १३(३) नं. बमोजिम हदै सम्म सजाय हुन र प्रतिवादी धनबहादुर चौहान, जितबहादुर चौहान, दलबहादुर राउत, केशबहादुर खड्काले कर्तव्यबाट ज्यान मारेको थाहा जानकारी पाउँदा पाउँदै पनि लाश दवाउने छिपाउनका मतलवले लाश नदिमा बगाएको कसूरमा मु.ऐ. ज्यान सम्बन्धी महलको ४ नं. र २५ नं. बमोजिम सजाय गरी र प्रतिवादी ज्ञानबहादुर चौहानले मृतक वेलु देवी राउतको घरमा आगो लगाउने महलको १ नं. विपरीतको कसूरमा सोही महलको ५ नं. बमोजिम हदै सम्म सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको अभियोग मागदावी ।
१५. मिति २०५६।४।१८ गते विहान पाँच वजेको समयमा म आफ्नो घरबाट हिडेर ७ वजेको समयमा ससुरालीको घर घटनास्थलमा पुगको हुँ । मैले अघिल्लै दिन १७ गते सो घटना घटेको वार्डमा वस्ने विषा राउतलाई मैले आफ्नो गाई विक्री गर्ने कुरा गरेको थिए । सो कुरा मैले सासु वेलु देवी राउतलाई पनि वताउँदा उहाँले मलाई गाई नवेच, यो सुनको फुली छ वेचेर चामल किनी केटाकेटी पाल्नु भन्ने कुरा गरिन । त्यसपछि सोही दिनको दिउसो १२ वजे म आफ्नो घरमा फिर्ता भएको हुँ । म त्यहाँबाट आएर आफ्नै दोकानमा वसेकी हुँ । यो दिनको मैले अन्य प्रतिवादी देखेको छैन भेट भएन । वेलु देवी राउतको भूमेश्वरी रावतको मृत्यु बारेमा मलाई कुनै कुरा थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी ज्ञानबहादुर चौहानले अदालतमा गरेको बयान ।
१६. मिति २०५६।४।१८ गतेको दिउसो र साँझा राती पनि म आफ्नै घरमा थिए । अन्य प्रतिवादीहरु जहाँ हुँदा हुन मैले देखिन । सो दिन र राती पनि मेरो प्रतिवादीसँग भेटघाट भएको छैन, मैले मृतक भनिएका वेलु देवी र भूमेश्वाराको लाश देखिन भन्ने समेत व्यहोराको प्रतिवादी दलबहादुर राउतले अदालतमा गरेको बयान ।
१७. मिति २०५६।४।१८ गतेको दिउसो र राती म आफ्नै घरमा थिए । अन्य प्रतिवादीहरुको कहाँ थिए थाहा छैन । हामीले मृतक लाशलाई बोकी नानीगाड र घट्टे खोला भन्ने ठाउँमा फालेका होइनौ । निज प्रतिवादीहरुले त्यस्तो कुरा किन लेखाए थाहा छैन । म त्यहाँ गएको छैन । निज वेलु देवी र भूमेश्वरा हाल कहाँ छन मलाई थाह छैन । मरे वा जिउँदै छन थाहा छैन । मैले निजहरुको मृतक लाश पनि देखेको छैन भन्ने समेत व्यहोराको प्रतिवादी धनबहादुर चौहानले अदालतमा गरेको बयान ।
१८. मिति २०५६।४।१८ गतेको दिन म रात म आफ्नै घरमा छु । मेरो वृद्ध आमा विरामी भएको कारण सो दिन र राती घरमा रहेको थिए । अन्य प्रतिवादीहरुलाई मैले देखेन म घरबाट वाहिर गएको थिएन । अन्य प्रतिवादीहरु यो दिनमा को कहाँ थिए थाहा छैन । मेरो भेटघाट पनि भएन मैले मृतकलाश वोकी नानीगाड घट्टेखोला भन्ने ठाउँमा गई लाश बगाउने दवाउने भन्ने कुनै पनि काम गरेको छैन । मिति २०५६।४।१९ गतेको दिउसो १२ वजेको समयमा वेलु देवीको घरमा आगा लाग्यो । आगो वल्दै छ भन्ने कुरा सुनेको छु । यो यसले आगो लगायो भन्ने कुरा सुनिन भन्ने समेत व्यहोराको प्रतिवादी जितबहादुर चौहानले अदालतमा गरेको बयान।
१९. मिति २०५६।४।१८ गतेका दिन म वाजुरा जिल्लाको डोगडी भन्ने लेखमा थिए । श्रावण १७ गते विहान १०, ११ वजे तिर घरबाट हिडेको हुँ । भैसी खोज्न भनेर म त्यो ठाउँमा गएको हुँ । त्यसपछि १९ गते वेलुका ४।५ वजे तिर घरमा पुगेको हुँ । ३ दिन पछि मात्र फर्केको हुँ । सो दिनमा अन्य प्रतिवादीहरुसँग भेटघाट भएको छैन । वेलु देवी र भूमेश्वराको लाशलाई म समेत भै उक्त नानीगाड घट्टेखोलामा बोकी लगी फाले बगाएको भन्ने सो व्यहोरा झुठ्ठो हो सो दिनमा म त्यो ठाउँमा छैन भन्ने समेत व्यहोराको प्रतिवादी केशबहादुर खड्काले अदालतमा गरेको बयान ।
२०. मृतक वेलुदेवीको घरमा आगो लागेको कुरा मुचुल्काबाट देखिनुका साथै अभियुक्त घटना भएको रात आफ्नो घरमा नआएको भन्ने कुरा निजकै श्रीमतीको वकपत्रबाट देखिएको, घरबाट १०।१५ मिनेट टाढा निजको साक्षीको घरमा थिए भनि लिएको जिकिर एवं साक्षीको कथन विश्वासनीय नभएको, मृतकको फुलीर पन्यु बरामद हुनका साथै परिस्थीति जन्य प्रमाणहरुबाट अभियुक्तको अधिकार प्राप्त अधिकारी समक्षको बयान करकापबाट भएको भन्ने प्रमाणित हुन नसकेकोबाट यी अभियुक्तलाई अभियोग दावी बमोजिम सजाय हुने ठहर्छ । अन्य प्रतिवादीहरुका हकमा वादी दावी प्रमाणित हुन नसक्दा सफाई पाउने ठहर्छ भन्ने व्यहोराको वझाङ्ग जिल्ला अदालतको मिति २०५९।९।२४ को फैसला ।
२१. प्रतिवादी मध्येका ज्ञानबहादुर चौहानलाई सजाय गर्ने र अन्य प्रतिवादीहरुले अभियोग दावीबाट सफाई पाउने ठहराई भएको शुरु फैसला मिलेको छैन किन भने प्रतिवादी ज्ञानबहादुर चौहानले आफुले कसूर गरेको र सो खवर वुवा धनबहादुर र जीतबहादुरलाई सुनाएको हामी ३ जना घटनास्थलमा पुगी दलबहादुर राउत, केशवहादुर खड्का मिलि दुवै लाश खोलमा फालेका हौं भनी अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयानको आधारमा निजलाई कसूरदार ठहराएको छ । ज्ञानबहादुर चौहानको हकमा उक्त प्रमाण योग्य हुने र अन्य प्रतिवादीको हकमा प्रमाण सावित नलाग्ने भन्ने मिल्दैन । एकले अर्का प्रतिवादीलाई पोल गरी आफु सावित भएका छन । झुठ्ठा पोल गर्नुपर्ने रिसइवी कारण केही छैन ज्ञानबहादुर एक्लैले लाश फाल्ने कुरा पनि आउँदैन । अतः उल्लेखित प्रमाणबाट अन्य प्रतिवादीहरु पनि कसूरदार देखिदा निजहरुलाई समेत अभियोग दावी बमोजिम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको पुनरावेदन पत्र ।
२२. मलाई कसूरदार ठहराई भएको शुरु फैसला कानून विपरीत छ । किनभने फौजदारी मुद्दामा कसूर प्रमाणित हुन ठोस सवुद प्रमाण हुनु पर्छ । तर प्रमाण मुद्दामा किटान जाहेरी छैन । जाहेरवालाले पनि शंका लाग्छ भनेका छन । प्रहरीमा भएको मेरो साविती बयान डरधाक धम्कीबाट गराएको हो । म घटनास्थलबाट हिडेको १२ घण्टा पछि वारदात भएको छ । मेरो भनाई खण्डन हुने कुनै प्रमाण वादीले पेश गर्न नसकेको अवस्थामा वारदातको दिन वारदात स्थलमा उपस्थित भएको भन्ने आधारमा मलाई दोषि सावित गर्नु न्याय संगत होइन । ज्यान जस्तो अवराधमा लाश नै वरामत नभै मलाई सजाय गरिएको छ । यसरी परिस्थीती जन्य प्रमाणको आधारमा मलाई दोषि सावित गरेको शुरु फैसला त्रुटिपूर्ण भएकोले सो फैसला वदर गरी अभियोग दावीबाट सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी ज्ञानबहादुर चौहानको पुनरावेदन पत्र ।
२३. यसमा प्रतिवादी ज्ञानबहादुर चौहानले गरेको अधिकार प्राप्त अधिकारी समक्षको बयानको स.ज.नं. ४ मा सासु वेलु देवीले गालामा एक थप्पड हानेको कारणले तत्काल उठेको रिट थाम्न नसकी नजिक रहेको फलामको पन्युले हानी मारेको कुरा उल्लेख भएको कुरामा विचार नगरी कर्तव्य गरेका ज्यान सम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय गरेको शुरु वझाङ्ग जिल्ला अदालतको फैसला फरक पर्न सक्ने हुँदा अ.वं. २०२ नं. तथा पु.वे.अ. नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाउनु भन्ने समेत व्यहोराको मिति २०६०।४।२९ को पुनरावेदन अदालत दिपायलको आदेश ।
२४. प्रतिवादी ज्ञानबहादुर चौहान उपरको किटानी जाहेरी घरमा आगो लागेको भन्ने घटनास्थल प्रकृति मुचुल्का, निजले अधिकार प्राप्त अधिकारी समक्ष गरेको साविति बयान, सुनको फुलि समेत बरामद भएको अवस्था, वस्तुस्थिती मुचुल्कामा बस्ने मानिसहरु र मौकामा कागज गर्ने व्यक्तिहरुको भनाई समेतबाट यि प्रतिवादीले अदालत समक्ष गरेको इन्कारी बयान समर्थित हुन नआइृ अधिकार प्राप्त अधिकारी समक्षको साविती नै पुष्टि भई ग्रहण योग्य देखिदा निजलाई अभियोग दावी बमोजिम कसूरदार ठहराई सर्वस्व सहित जन्म कैद सजाय गर्ने गरेको शुरुको फैसला मिलेकै देखियो । अन्य प्रतिवादीहरु धनबहादुर चौहान, जितबहादुर चौहान, केशबहादुर खड्का र दलबहादुर रावललाई सफाई दिने गरी भएको शुरुको फैसला समेत मिलेकै देखिदा सदर हुने ठहर्छ । प्रतिवादी ज्ञानबहादुर चौहानलाई अ.वं. १८८ नं. बमोजिम १२ वर्ष कैद हुन मनासिव देखिदा राय व्यक्त गरिएको छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत दिपायलेको मिति २०६१।९।८ को फैसला ।
२५. प्रतिवादी ज्ञानबहादुर चौहानका हकमा अ.वं. १८८ नं. बमोजिम राय व्यक्त गरेको तथा अन्य प्रतिवादीहरुलाई सफाई दिएको शुरुको सदर गर्ने गरेको हद सम्मको पुनरावेदन अदालतको फैसला चित्त बुझेन । वारदातको अवस्था र परिस्थिति हेर्दा अ.वं. १८८ नं. बमोजिम राय लगाउनु पर्ने अवस्था छैन । प्रतिवादीले आफ्नै सासुलाई पन्युले हानी मारी सँगै रहेकी नावालिका भुमेश्वरालाई समेत दिवालमा पछारि मारेको र त्यस पछि घरमा समेत आगो लगाएको अवस्थामा सजाय कम गर्न मिल्दैन । सफाई पाएका प्रतिवादीहरुका हकमा प्रतिवादी ज्ञानबहादुरले मौकामा बयान गर्दा मृतकलाई कर्तव्य गरी मारी यी प्रतिवादीहरुले समेत सहयोगले लाश फालेकोमा आफु सावित हुँदै पोल गरेको अवस्था छ । निज प्रतिवादी ज्ञानबहादुरलाई सजाय गर्दा उक्त सावितिलाई प्रमाणमा लिए पछि सो बयानमा पोलिएका अन्य प्रतिवादीहरुलाई मात्र सफाई दिन मिल्दैन । सफाई पाएका प्रतिवादीहरु अदालतमा इन्कारी भए पनि मौकामा सावित रहेको र सो सावितीलाई सह अभियुक्तको पोलबाट पुष्टि भई रहेको हुँदा सफाई दिएको मिलेको छैन । अतः सो हद सम्मको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा प्रतिवादी ज्ञानबहादुरलाई शुरुको फैसला सदर गरी अन्य प्रतिवादीहरुलाई अभियोग वादी बमोजिम सजाय गरिपाऊँ भन्ने समेत वादी श्री ५ को सरकारका तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
२६. प्रतिवादी ज्ञानबहादुर चौहानका हकमा पुनरावेदन अदालतको फैसला साधक जाँचका लागि पेश हुन आई यस अदालतको साधकको दायरीमा दर्ता भएको रहेछ ।
२७. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकारका तर्फबाट उपस्थिति विद्वान उप न्यायाधिवक्ता श्री अमृतबहादुर वस्नेतले प्रतिवादी ज्ञानबहादुर चौहानलाई अ.वं. ११८ नं. प्रयोग हुने अवस्था छैन । आफ्नै सासुलाई कन्चटमा पन्युले हानी मारीसँगै रहेकी शालीलाई घरको दिवालमा पछारी न्रिसंश तवरले हत्या गरी घरमा आगो समेत लगाउने निज प्रतिवादीलाई सजाय घटी गर्नु पर्ने होइन । त्यसै गरी अन्य प्रतिवादीहरुको सहयोगले मृतक लाश खोलामा फालेको भनी मूख्य भनि मूख्य अभियुक्त ज्ञानबहादुरले आफू कसूरमा सावित हुँदै पोल गरेको अवस्था छ । जितबहादुर चौहान समेतका प्रतिवादीहरुले मौकामा साविती बयान गरेको र सो साविती सह अभियुक्तको पोलबाट समर्थित हुँदा हुँदै निजहरुलाई सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरी सवै प्रतिवादीहरुलाई अभियोग दावी बमोजिम सजाय गरिनु पर्दछ भनी गर्नु भएको वहस सुनी पुनरावेदन सहितको मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन सहितको मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालत दिपाएकोले फैसला मिलको छ, छैन ? पुनरावेदक वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ? र साधक सदर हुने नहुने के हो ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
२८. निर्णय तर्फ विचार गर्दा वेलदेवी रावत र भुमेश्वारा रावललाई कर्तव्य गरी मारेको अभियोगमा प्रतिवादी ज्ञानबहादुर चौहान उपर मुलुकी ऐन , ज्यान सम्बन्धीको १३(३) नं. र अन्य प्रतिवादीहरुका हकमा सोही महलका ४ र २५ नं. बमोजिमको सजाय माग दावी लिइएको प्रस्तुत मुद्दामा शुरु वझाङ जिल्ला अदालतले प्रतिवादी ज्ञानबहादुर चौहानलाई कसूरदार ठहराई सर्वस्व सहित जन्मकैदको सजाय ठहर गरी अन्य प्रतिवादीहरुलाई सफाई दिएको फैसला पुनरावेदन अदालतबाट सदर भई सजाय ठहर भएका प्रतिवादीको हकमा अ.वं. १८८ नं. बमोजिम घटी सजायको राय व्यक्त गरे तर्फ समेत चित्त नबुझाई वादी नेपाल सरकारको तर्फबाट प्रस्तुत पुनरावेदन पर्न आएको रहेछ । साथै सजाय ठहर भएका प्रतिवादीका हकमा साधक निकासाका लागि समेत पेश हुन आएको देखियो । वारदातको प्रकृतिबाट सजाय ठहर भएका प्रतिवादीलाई अ.वं. १८८ नं. बमोजिम घटी सजाय गर्नुपर्ने स्थिति नरहेको र लाश दवाउन सहयोगीको भूमिका निर्वाह गर्ने अन्य प्रतिवादीहरुको कसूर सह अभियुक्तको पोल समेतबाट समर्थित भई रहेको हुँदा सवै प्रतिवादीहरुलाई अभियोग दावी बमोजिम सजाय हुनुपर्ने भन्ने समेत पुनरावेदक वादीको मूख्य पुनरावेदन जिकिर रहेको पाइन्छ ।
२९. सर्वप्रथमः सजाय ठहर भएका प्रतिवादी ज्ञानबहादुर चौहानका हकमा साधकको रोहबाट विचार गर्दा निज प्रतिवादी ज्ञानबहादुर चौहानले पैसाको निहुँमा आफ्नै सासु वेलुदेवी रावत र शाली भूमेश्वरा रावतलाई कर्तव्य गरी मारी ससुराली घरमा आगो समेत लगाएकोले सजाय पाउँ भन्ने समेत भीमबहादुर रावतको किटानी जाहेरी दर्खास्त परेको देखिन्छ । सो जाहेरी दर्खास्त आफैंले दिएको र व्यहोरा ठिकै हो भनी जाहेरवालाले अदालत समक्ष वकपत्र गरेको समेत पाइन्छ । प्रतिवादीले मौकामा बयान गर्दा वारदात घटेको दिन विहान घर खर्चको लागि सासु वलदेवी रावतको घरमा गाई किन्ने मानिस विसा रावत समेतलाई लिई गएको । गाईको मोलमा कुरा नमिलेकोले विसा रावत घर फर्के म ससुराली घरमै वसे । वेलुकी खाना खाई सकेपछि गाई पनि वेचेनौ मलाई पैसा पनि दिएनौ भनी भन्दा सासु वेलु देवीले एक थप्पड हिर्काएकीले रिस उठी नजिकै रहेको फलामे पन्यूले कन्चटमा हिर्काउँदा निजको मृत्यु भयो । त्यसपछि साली भूमेश्वरा रावतलाई घरको दिवालमा पछारी मारी घरमा आगो समेत लगाएको हुँ । मृतकले लगाएको सुनको मुन्द्री दिलबहादुर चौहानलाई वेचेकी हुँ भनी घटनाक्रमको क्रमवद्ध र स्पष्ट चित्रण हुने गरी साविती बयान गरेको देखिन्छ । मृतक वेलुदेवीको घर आगलागीबाट नष्ट भएको भन्ने घटनास्थल प्रकृति मुचुल्का रहेको र प्रतिवादीसँग गाई किन्न जाने भनिएकी विषा देवीले मौकामा गरेको बयानको समर्थन गर्दै वारदात भएको दिन यी प्रतिवादीसँग मृतक वेलु देवीको घरमा गाई किन्न गएको र वेलु देवीले बिक्री नगरेकोले त्यसै फर्की आएको भनी अदालत समक्ष वकपत्र गरेको पाइन्छ । त्यसै गरी दिलबहादुर चौहानबाट प्रतिवादीले मौकाको बयानमा उल्लेख गरेको मृतक वेलुदेवीले लगाउने गरेको सुनको मुन्द्री बरामद भएको तथ्यलाई समर्थन गर्दै निज दिलबहादुरले अदालत समक्ष वकपत्र समेत गरेको देखिन्छ ।
३०. मृतककी श्रीमती नरमादेवी चौहानले मौकामा यी प्रतिवादी उपर गढाउ गरी लेखिएको व्यहोरालाई अदालत समक्ष प्रहरीले पढी वाँची नसुनाई सही गराएको हो भनी वकपत्र गरेको देखिए पनि वारदात घटेको रात निज प्रतिवादी घरमा नआएको तथ्यलाई समर्थन गर्दै वकपत्र गरेको देखिदा वारदात घटेको रात यी प्रतिवादी आफ्नो घरमा नरही घरबाट नजिकै रहेको घटनास्थल अर्थात वारदातको दिन गएको ससुराली घरमै वसेको भन्ने तथ्य समेत पुष्टि भएकै देखियो । घटनास्थल प्रकृति मुचुल्कामा बस्ने नरबहादुर खड्का समेत र मौकामा कागज गर्ने खडाबहादुर समेतका व्यक्तिले अदालत समक्ष गरेको बकपत्रबाट प्रतिवादी उपरको अभियोग समर्थित भएकै पाइन्छ । प्रतिवादीले अदालत समक्ष अभियोग दावीलाई इन्कार गरी बयान गरेको देखिएपनि वारदात घटेको मिति २०५६।४।१८ का दिन विषा देवीलाई गाई किनाउन ससुराली घर गएको, सासु वेलु देवीले गाई विक्री गर्न नमानेको तथा सुनको फुली दिएको भन्ने तथ्यलाई स्विकारै गरी बयान गरेको देखिन्छ । प्रतिवादीले उक्त इन्कारीको समर्थनमा साक्षी पेश गरेको देखिएपनि आफ्नो घर भन्दा १५ मिनेट दुरीमा रहेको साक्षी वीरबहादुर चौहानको घरमा वास वसेको भन्ने प्रतिवादीको जिकिर र साक्षीको वकपत्र समेत विश्वासनिय देखिन नआई मिसिल संलग्न विवेचित स्वतन्त्र प्रमाणहरुको समग्र मूल्याङ्कनबाट प्रतिवादी ज्ञानबहादुर चौहान उपरको अभियोग दावी पुष्टि भएकै देखियो । निजलाई कसूरदार ठहर गरी मुलुकी ऐन ज्यान सम्बन्धी १३(३) नं. बमोजिम सर्वस्व सहित जन्मकैद हुने ठहराएको शुरु सदर गरेको समेत पुनरावेदन अदालतको फैसला मिलेकै देखियो ।
३१. जहाँसम्म अ.वं. १८८ नं. बमोजिम १२ वर्ष कैद हुन व्यक्त गरेको पुनरावेदन अदालतको राय नमिलेको भन्ने वादी पक्षको पुनरावेदन जिकिर छ सो सम्बन्धमा विचार गर्दा मुलुकी ऐन अ.वं. १८८ नं. बमोजिम मातहत अदालतबाट व्यक्त हुने राय अन्तिम फैसला वा आदेश होइन ।
३२. सर्वोच्च अदालतबाट सदर वा अन्तिम जाँच नभएसम्म त्यस्तो रायको वैधानिक मान्याता (Vaildity) ग्रहण नगर्ने हुँदा कार्यान्वयन (Operative) गर्न सकिने हुदैन । अ.वं. १८८ नं. को कानूनी व्यवस्था न्यायाधीशलाई चित्तमा लागेको कुरा रायका रुपमा व्यक्त गर्न पाउने सम्मको व्यवस्था भएको र त्यो प्रावधानको अन्तिम परिक्षण सर्वोच्च अदालतबाट हुनै पर्ने अ.वं. १८८ नं. को वाध्यात्मक व्यवस्था हुँदा फैसला वा डिक्रिका रुपमा नरहेको त्यस्तो राय (Opinion) का सम्वन्धमा पुनरावेदन गर्न पाउने अवस्था समेत रहँदैन ।
३३. प्रस्तुत मुद्दामा पुनरावेदन अदालतबाट व्यक्त गरिएको सो रायका सम्बन्धमा पेश हुन आएको साधककै रोहबाट यस अदालतले विचार गर्न सक्ने भई घटनाको प्रकृति, प्रतिवादीको अपराधिक कार्य र मनशाय तथा निजले घटना घटाउँदा अपनाएको तौर तरिका समेतलाई विचार गर्दा ससुराली घरमा वसी रातको खाना आई सकेपछि खाना खुवाउने व्यक्ति आफ्नै सासुसँग पैसाको विषयमा निहुँ खोजी फलामे पन्यूले कन्चटमा प्रहार गरी मारी नजिकै सुतेकी नावालिग अवस्थाकी अवोध साली भूमेश्वरालाई घरको दिवालमा पछारी मारी घरमा आगो लगाई लाश समेत वेपत्ता पार्ने यी प्रतिवादी ज्ञानबहादुर चौहानको कार्य खतरनातक अपराधिक प्रकृतिको देखिएको र घोर अमानवीय शैलीमा कसूर गरेको देखिएकोले त्यस्तो कसूरदारलाई कानूनले हुने सजाय घटाउने भनेको यस्तो गम्भीर अपराधीप्रति फितलो दृष्टिकोण लिएको हुन जान्छ । मुद्दाको तथ्यले निजप्रति उदार दृष्टिकोण लिई सजायमा रिपायत दिनुपर्ने कुनै आधार विद्यमान नदेखिएकोले निजलाई अ.वं. १८८ नं. को प्रयोग गरी सजाय कम गर्नुपर्ने भनी व्यक्त भै आएको राय मनासिव देखिएन ।
३४. प्रतिवादीहरु धनबहादुर, जितबहादुर, केशबहादुर, दलबहादुरलाई सफाई दिएको नमिलेको भन्ने पुनरावेदन जिकिर सम्बन्धमा निज प्रतिवादीहरु उपर प्रतिवादी ज्ञानबहादुरले वेलु देवी र भूमेश्वरालाई मारी सकेपछि लाश खोलामा फाल्ने कार्यमा सघाउ पुर्याएको भन्ने समेत अभियोग लगाई ज्यान सम्बन्धीको ४ र २५ नं. को सजाय माग दावी लिइएको देखिन्छ । प्रतिवादीहरुले मौकामा गरेको साविति वयान अनुसार खोलाबाट लाश बरामद भएको अवस्था छैन। प्रहरीमा भएको बयान स्वेच्छापूर्वक नभएको भनी प्रतिवादीहरु अदालत समक्ष इन्कारी रही सो इन्कारीको समर्थनमा साक्षी वकपत्र समेत गराएको देखिन्छ । जाहेरवालाले अदालत समक्ष गरेको वकपत्रमा यी प्रतिवादीहरु निर्दोष रहेको भनी व्यहोरा लेखाएको पाइन्छ । आगो लागेको घरमा परी लास डढी नष्ट भएको हो वा खोलाले वगाएर वेपत्ता भएको हो भन्ने कुरा नै एकिन नभै प्रतिवादीहरु उपर लगाइएको लाश खोलामा फाली वेपत्ता पार्न सहयोग पुर्याएको भन्ने प्रमाणीत नै हुन नसकेको आरोपको दोषि ठहर गर्न मिल्ने नदेखिदा निजहरुलाई सफाई दिएको फैसला समेत अन्यथा देखिएन ।
३५. तसर्थ उल्लेखित आधार कारणबाट प्रतिवादी ज्ञानबहादुर चौहानले आरोपित कसूर गरेको ठहराई मुलुकी ऐन ज्यानसम्वन्धी महलको १३ नं. को देहाय (३) नं बमोजिम सर्वस्व सहित जन्मकैदको सजाय ठहर गरेको तथा अन्य प्रतिवादीहरुलाई सफाई दिएको समेत शुरु वझाङ्ग जिल्ला अदालतको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत दिपायलको मिति २०६१।९।१८ को फैसला मनासिव देखिदा साधक समेत सदर हुने ठहर्छ । अ.वं. १८८ नं. बमोजिम व्यक्त गरिएको राय मनासिव ठहर्दैन । अन्य प्रतिवादीलाई सजाय गरिपाऊँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या.केदारप्रसाद गिरी
ईति सम्वत् २०६३ साल जेष्ठ २८ गते रोज १ शुभम........