शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७६८० - लिखत किर्ते जालसाजी

भाग: ४८ साल: २०६३ महिना: श्रावण अंक:

निर्णय नं.७६८०      ने.का.प.२०६३ अङ्क ४

 

सर्वोच्च अदालत,संयुक्त इजलास

माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी

माननीय न्यायाधीश श्री पवनकुमार ओझा

संवत २०५७ सालको फौ.पु.नं. २६२१

फैसला मितिः २०६३।२।४।५

 

मुद्दाःलिखत किर्ते जालसाजी  ।

 

            पुनरावेदक

            प्रतिवादीः जिल्ला मोरङ विराटनगर उपमहानगरपालिका वडा नं. २२ वस्ने यज्ञप्रसाद       पोखरेल                                                    

विरुद्ध

            प्रत्यथी

            वादीः जिल्ला मोरंग बनिगामा गा.वि.स.वडा नं. १ वस्ने गोगरी थरुनी समेत

 

§  धनीले ऋणी उपर फिराद दायर गर्दा लिखतमा लेखाएको वतनमा नै गर्नपर्ने ।

§  लिखत सद्दे ठहरिएपछि सो लिखतमा लेखाएको वादीको वतनलाई प्रतिवादीले किर्ते गरेको भनी भन्न नमिल्ने ।

§  म्याद तामेल गर्ने गराउने कार्य कर्मचारीको भएको र यदि वादीहरुले भने जस्तै प्रतिवादीहरु समेतसंग मिलोमतो गरी म्याद तामेल भए गराएको भए सो सम्बन्धमा कर्मचारीहरुलाई समेत प्रतिवादी बनाउन पर्नेमा सो गरेको नदेखिएको अवस्थामा फिरादमा उल्लेखित वतनमा म्याद तामेल गर्ने गराउने कार्यलाई जालसाजीको संज्ञा दिई प्रतिवादीहरुलाई सजाय गर्न  नमिल्ने ।

(प्रकरण नं.२४)

§  लिखत सद्दे ठहरी फैसला भएकोमा सो उपर पुनरावेदन परेको नदेखिएको र किर्ते भनिएको लिखत सद्दे भैसकेपछि उक्त लिखतमा उल्लेख भएको वतनमा म्याद तामेल गर्ने कार्य समेत जालसाजी पूर्वक भएको भन्न नमिल्ने हुँदा जालसाजी ठहराई सजाय गर्ने गरेको पुनरावेदन अदालतको फैसला मिलेको नदेखिदा उल्टी हुने ।

(प्रकरण नं.२५)

 

पुनरावेदक प्रतिवादी तर्फवाटिः

प्रत्यर्थी वादी तर्फवाटः

अवलम्वित नजीरः

 

फैसला

न्या.केदारप्रसाद गिरीः पुनरावेदन अदालत विराटनगरको मिति २०५५।२।१९ को फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा ९ वमोजिम प्रतिवादी पक्षको पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र  ठहर यसप्रकार छः

२.    विपक्षी मध्येको यज्ञप्रसादले हाम्रा उपर मोरङ जिल्ला अदालतमा लेनदेन मुद्दाको फिराद दायर गरि कार्यवाही चलाई सावा व्याज समेतको जम्मा रु ५०,०००।हामीवाट लिन पाउने गरी अदालतवाट फैसला गराएका रहेछन् । तिमीहरुले के कति रुपैया यज्ञप्रसाद वाट लिएको थियौ । तिमीहरुको घर वसोवास उठाउने भएछ भनि प्रमाण खण्डका मानिसहरुले हामीलाई भन्दा शंकालागि एकिन गर्न अदालतमा बुझ्दा प्र. यज्ञप्रसाद बादी भै हाम्रा उपर मिति ०४९।३।२६ गते फिराद दायर गरी ०४९।११।२१ मा फैसला समेत भएको पाई सोही दिन फैसला र तामेली म्यादको नक्कल २०५०।४।२८ गते सारी लिदा सोहि दिनमात्र हाम्रा नाउँको लिखत किर्ते गरी रु.२५,०००।को सांवा व्याज मा दावीगरी हाम्रो नाउँको जारी भएको ३० दिने म्याद समेत जालसाज वाट तामेल गराई सो म्यादको आधारमा मिति ०४९।११।२१ म अदालतवाट फैसला हुँदा विपक्षी मध्येका यज्ञप्रसादले हामीवाट सांवा रु.५०,०००।र कोर्टफी रु.१७६९।९७ भरि पाउने ठहरी एक तर्फी फैसला भएको थाहा जानकारी भयो । हामीले कुनै किसिमको लिखत पत्रगरि विपक्षी यज्ञप्रसादवाट लिदै नलिएको रु.२५,०००।के कस्तो लिखत पेश गरि नालेश गरेछन्, सो वुझ्दा यज्ञप्रसाद धनि हामी ऋणी भएको आषाढ महिना गते बेगरको रोज १ को रु. २५०००।को लिखत नक्कलफिराद साथ राखि १० वर्ष को म्याद कायम गरीफिराद पेश भएकोमा अदालतवाट कैफियत जनाउंदा लिखितम देखि बायां किनारामा र मिति पुछारमा समेत कारणीको रेखात्मक ल्याप्चे लागेको साक्षी महलमा जगुलाल माझी, देशीलाल माझीको रेखात्मक ल्याप्चेलागेको भिमप्रसाद कोइरालाको रेखात्मक सहि भएको जगुलाल र देशीलालको ल्याप्चे माथि नाम लेखिएको भिमप्रसाद कोइराला समेतको अक्षरको मसि भिन्न देखिएको लेखकको नाम नबुझीनेलेखतको ८औ हरफमा रु.२५,०००।को अंक र अक्षरमा पचिस हजारको मसि पछि बाट लेखिए जस्तोदेखिई मसि फरक परेको र मिति पुछारमा गते अंकमा प्वालपारी नबुझीने लेखतको सम्पूर्ण भाग मसीले खाई जिर्ण अवस्थामा रहेका, भिमप्रसाद कोइराला मुमनी ६ अंक सचिएको देखिने किर्ते लेखतलाई हामी फिरादीले रुपिया लिई गरिदिएको लिखत भनि विपक्षी यज्ञप्रसादले अदालतमा रु. २५,०००।को सांवा व्याजमा दावीलिई विपक्षी मध्येको यज्ञप्रसाद र प्र. देवीलाल समेतको मिलोमतोबाट मिति ०४९।३।२६ गतेका दिन बिहान ६ बजेको समयमा प्र. देशीलालको घरमा बसी लेखतको थैली अंक र अक्षर समेत किर्तेगरि सोहि दिन फिराद दिएको रहेछन् । हाम्रा नामको उक्त मुद्दाको ३० दिने म्याद जांदा, विपक्षी यज्ञप्रसाद, देशीलाल, भरत कुमार, मदनलाल र सो बीच गामा गा.वि.स.का. वार्ड नं.२ को वार्ड सदस्य लाई प्रत्यक्ष फाईदा गराई हाम्रो सम्पत्ति हरण गराउने सम्मको जाल प्रपन्च रची तामेलदारलाई विश्वासमा पारी हामी फेरादी मध्येकी पहरा थरुनीको नाउँको म्याद बुझ्न इन्कार गरेकोले घर दैलामा टांस गरेको व्यहोरा वोली विपक्षी भरत कुमार, मदनलाल, पुहूपराम, समेत तिनजना साक्षी वसी म्याद तामेल गरे गराएको र त्यस्तै म गोगरी देवी थरुनीको नामको ३० दिने तामेली म्यादमा पनि सोही व्यहोरा जनाई सोहि दिन निजै व्यक्तिहरु साक्षी बसी जालसाज गरी तामेल गराई पठाउने गरेको यसरी किर्ते लेखतका आधारमा विपक्षी मध्येको यज्ञप्रसादको वारेश विपक्षीहरु मध्ये कै देशी लालले हाम्रो उपर नालेश गरि सो मुद्दामा हामीलाई प्रतिवाद गर्ने मौका नदिई, सो मुद्दाको हाम्रो नामको म्याद जालसाजी बाट तामेल गरि गराई किर्ते कागजको २ नं.को अपराध गरी फिराद दायर गरेकोले सो यज्ञप्रसाद धनि हामी ऋणी भै उक्त लेनदेन भएको भनिएको मिति ०३९।३।२७।१ मा हामीले विपक्षीलाई कुनै किसिमको लेखत तमसुक गरि नदिएकोले निजबाट उक्त सक्कल लेखत झिकाई अ.वं.७८ नं.वमोजिम लेख सुन्न पाएको बखत नामाकरण गर्ने छु त्यस्तो काम गर्ने गराउने विपक्षीहरुलाई किर्ते कागजको ९ नं.१० नं. वमोजिम सजाय गरि लेनदेन मुद्दाको फिराद तथा २०४९।११।२१ को फैसला सहितको सम्पूर्ण कार्यवाही अमान्य घोषित गरीपाउँ भन्ने समेत व्यहोराको फिराद  ।

३.    प्रतिवादी मध्येको मदनलाल, पुहुपलाल, भरत कुमार तिनैजनाले उक्त फिराद दावी वमोजिम कुनै किसिमको मिलोमतो जालसाजी किर्ते गरेका छैनौ । हामीहरु वादीद्वय गोगरी थरुनी,पहरा थरुनीलाई राम्ररी चिन्दछौ । यस अघि रिसइवि झगडा समेत केहीछैन । यज्ञप्रसादको दे.नं.२०४० को लेनदेन मुद्दा सम्बन्धमा जानकारी छैन हामी सो सम्बन्धी कुनै कुरामा कागजमा साक्षी बसेको छैनौ । यज्ञप्रसादलाई हामी चिन्दैनौ । २०४९।५।२७ गते हामी गाउँ घरमा नै छैनौं। सो दिन विराटनगर आएको छौ । प्र. मध्येकी वडा सदस्य पुहुपरामले म्याद तामेल गर्न खटि गएको डोर कर्मचारीले साक्षी बसिदेउ भन्दा बसि दिनु पर्ने पदिय दाईत्व भएको भएता पनि म्याद तामेलीमा साक्षी बसेकै छैन । सो तामेली म्यादको दस्तखत संग हामीहरुको दस्तखत भिडाई यकिन गरी फिराद दावी वाट फुर्सद पाउँ भन्ने व्यहोराको प्र. पुहुपराम, प्र. मदन लाल, र प्र. भरत कुमार समेतको प्रतिउत्तर पत्र ।

४.    वादीहरुले लिखत किर्ते भनेको तमसुक लेखतको सिर मिति पुछारमा यि वादीहरुले दाया वायां हातको औठाको छाप मेरो सामुन्नेमा सहिछाप गरेको हुँदा यि वादीहरुका खास दाजु प्र.मध्येका देशीलाल माझीले तमसुकमा साक्षी बसी दिनुहोस भनेकोले लिखतमा साक्षी बसेको हुं । साक्षी वस्दा आफ्नै कलमवाट आफ्नो नाम वतन लेखेको थिए, तमसुकमा कति रकम लेखेको थियो, धेरै दिन भएकोले याद भएन । मैले साक्षी बस्दा अंक अक्षर सचिएको थिएन । सचिएको सम्बन्धमा यज्ञप्रसाद नै जानून । म्याद सम्बन्धमा मलाई थाहा छैन भन्ने व्यहोराको प्र. भिम प्र.कोइरालाको प्रतिउत्तर ।

५.    विपक्षीहरुले म यज्ञप्रसादकोमा आई घर व्यवहार चलाउन कठिन पर्यो, हामीलाई ऋण दिनुहोस भनि ०३९।३।२६ गते मेरो घरमा आई भन्दा तपाईको दाजु दशीलाललाई रोहवरमा राखेर ऋण दिन्छु, भोली दशीलालको घरमा आउनु त्यही लिखत गरि दिउंला भनि ०३९।३।२७ गते रुपैया लिई भिमप्रसाद कोईरालालाई साथ लिई जांदा विपक्षीहरु अघिनै दशीलालको घरमा आईपुग्नु भएकोले त्यहां विपक्षीहरुले कुमरलाल भगत थारुलाई डाकि ल्याई रु. २५,०००।को कपाली तमसुक लेख्न लगाई दशीलाल रोहवरमा वसी दुवै विपक्षीहरुले सहिछाप गरि दिएपछि मैले साक्षीको रोहवरमा रुपैया गनि दिएकोले पछि सहि व्यवहारवाट तमसुक गरि रुपैया लिएका हुन, सो रकम पचाउने नियत गरि यो नालेश गरेका हुन । मैले किर्ते जालसाज गरेको होइन, म जगुलाल र दशीलालको व्यहोरा के भने मिति ०३९।३।२७ गते विपक्षीहरु म दशीलालको घरमा आई यज्ञप्रसादबाट रुपैया लिई कुमरलालले लेखत लेखि सोमा दुवैले सहिछाप गरि सकेपछि म तथा जगुलाल लेखतमा साक्षी बसी दिई भिमप्रसाद कोइराला समेतले साक्षीमा सहि गरि तमसुक यज्ञप्रसादलाई दिई यज्ञप्रसादले रु. २५,०००।विपक्षीहरुलाई दिई निजहरु घर गए । विपक्षीहरुले साक्षी वसिदे भन्दा म दशीलाल साक्षी सम्म बसि दिएको हुं । उनीहरुको लिखतमा त्यस्तो किर्ते लेखत गर्नु कुनै नियत पनि छैन । लिखत सवै विपक्षीहरुले लेखाउने कार्य गरीसकि सहिछाप गरी लिखत मलाई दिएका हुन । किनारामा वसेको साक्षीहरुको सहिगरेको मसि र अक्षरको गति एउटै हुनुपर्दछ भन्ने छैन । साक्षी बस्नेले आफ्नै गोजीको कलम निकाली सही गर्न सक्दछ । सो नमिल्दैमा लेखत किर्ते हुने होइन । लेखत वमोजिम रुपिया नदिंदा नालेस गरेको हो । लिखतमा ऋणीले जुन वतन खुलाई लेखाई दिए सो लिखतको वतनमा म्याद गै सोही वमोजिम म्याद तामेल भै आएको हो । मिलोमतोबाट कर्मचारीलाई विश्वासमा पारे भन्ने सम्बन्धमा कानून वमोजिम खटिई गएको कर्मचारीलाई त्यस्तो गर्ने अवस्थानै छैन । तसर्थ विपक्षीहरुले दावी वमोजिम सजाय पाउनु पर्ने होईन भन्ने समेत व्यहोराको प्र. यज्ञप्रसाद पोखरेल, दशीलाल माझी र जुगलाल माझी समेतको संयुक्त प्रतिउत्तर पत्र ।

६.    दे.नं. २०४० को लेनदेन मुद्दामा पेश भएको धनि नाम नबुझिने, ऋणी गोगरी, पहरा थरुनी भएको थैलि रु २५,०००।मिति २०३९।३।२७ को सक्कल तमसुक देखे हेरे, सो तमसुकमा वादी यज्ञप्रसादको नाम समेत नभई अक्षर उडाएको थैलीको अंक अक्षर समेत सचिएको, धनिको उमेर वार्ड नं. सच्याएको, लेखक वाहेकको साक्षीहरु पछि थपिएको मितिमा गतेको अंक खुर्किएको हुँदा उक्त तमसुकमा लागेको सहिछाप हामीले गरेको होइन । सो मा लागेको सहिछाप किर्ते हो । जि.मोरंग बनिगामा बस्ने देशीलाल माझि थारुको घरमा बसी यज्ञप्रसाद पोखरेल जगुलाल माझी र प्र. भिमप्रसाद कोइराला समेतले किर्ते जालसाज गरेका हुन । किर्ते गरेकोमा सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको बादी वा.शालीराम चौधरीले गरेको बयान ।

७.    वादीको बयान सुनिपाए । बादीले दावी गरेको लिखत किर्ते होइन सद्दे हो भन्ने समेत प्र. यज्ञप्रसाद, दशिलाल समेतको वारेश विष्णुवहादुर राईको बयान ।

८.    वादीको बयान सुनिपाए, लिखतको सहिछाप वादीकै हो किर्ते होईन, भन्ने समेत व्यहोराको प्र. भिमप्रसाद कोईरालाले गरेको बयान ।

९.    वादीको साक्षी मंगलु सरदार र प्रे.पुहुपराम समेतको साक्षी उपेन्द्र कोइरालाको वकपत्र भै मिसिल सामेल रहेको ।

१०.    दे.नं. २०४० को लेनदेन मुद्दामा भएको विवादित सक्कल लिखत र बादीहरुको नमुना सहिछाप तथा सो मुद्दाका तामेली म्यादको साक्षी प्रतिनिधि समेतको नमुना सहिछाप र म्याद समेत विशेषज्ञद्वारा जांच भै प्रतिवेदन मिसिल सामेल रहेको ।

११.    विवादित तम सुकको लिखितम र मिति पुछारमा लागेको चौथो ल्याप्चे छापमा देखिएको रेखाको वहाव अनुसार दाया फर्केको शंख र आकृतिको जातमा उक्त छापहरुकोजात र गोगरी थरुनीको नमुनामा लागेको दा.जनिएको ल्याप्चे छापको जात दाया फर्केको शंख आकृतीमा भएको भन्ने र विवादित कपाली तमसुकको लिखितम र मिति पुछारमा लागेको कारणीको ल्याप्चे छापहरु मध्ये पहिलो र दोश्रो ल्याप्चे छापहरुमा देखिएको जात रेखाको वहाव र प्रष्ट देखिएको रेखाको गुणहरु संग अदालतको रोहवरमा पहरा थरुनीको नमुना ल्याप्चे छापहरु आपसमा आआफ्नो ठाउँमा भिडि मिलेको भन्ने रेखा विशेषज्ञको रायको आधारमा समेत दावीको लिखत किर्ते देखिएन । अक्षर उठाएको, अंक अक्षर सचिएको भन्ने वादी पक्षवाट बयान भएकोमा कानून वमोजिम म्याद तामेल भएपछि म्याद भित्र प्रतिउत्तर पत्र नदिई गुजारीबसेको अवस्थामा लिखतको विवाद उठाउन सक्ने वादीहरुलाई अधिकार भएको नदेखिदा कानून वमोजिम लेनदेन मुद्दामा यि वादीहरुको नाउँमा म्याद जारी भै अ.वं. ११० नं. को रित पुर्‍याई तामेल भै रहेको अवस्था देखिन आएको र तमसुक समेत यि वादीहरुले गरि दिएको भन्ने आशयको रेखा विशेषज्ञको रायको आधारवाट समेत म्याद तामेली जालसाज र लेखत किर्ते खडा गरेको नदेखिदा बादी दावी पुग्न नसक्ने ठहर्‍याएको शुरु मोरंग जिल्ला अदालतको मिति २०५३।२।१४ को फैसला ।

१२.   हाम्रो घर वार्ड नं.२ मा पर्दछ भन्ने कुराको प्रमाण कहि कतै नदेखिएको केवल एउटा अपराध छुपाउन अर्को अपराध अर्थात बिगो मुद्दाको जालसाजीनै भनिएको अर्को म्याद वार्ड नं. २ मा तामेल भएको भन्ने वाहेक अन्य ठोस आधार प्रमाण नभएको र अदालतवाट समेत सो विषयमा बुझ्ने आदेश भएको हामी वादीका साक्षीले फिरादमा उल्लेखित तथ्यलाई पुष्टि गरि अदालतमा समेत गरेको वकपत्रलाई खण्डन गर्ने प्रमाणको सुन्यतामा पनि यो प्रमाणवाट सो वकपत्र खण्डित हुने भन्न नसकि केवल वादी दावि नपुग्ने भनिएको पहिले भए गरेको अपराधिक कार्यको लागी पछि गरेको थप अपराअधिक कार्यको कागज विगो मुद्दाको तामेली म्याद ७८ नं. वमोजिम हामीलाई नसुनाई प्रमाणमा लिइएको वादी मध्येकी पहरा देवी थरुनीको लिखतमा लागेको छाप र नमुना ल्याप्चे छाप भिडेको भन्ने विशेषज्ञको राय भएपनि वादी मध्येकी गोगरी थरुनीको लिखतमा लागेको छाप नमुना ल्याप्चे छाप संग भिडदैनन् भन्ने विशेषज्ञको राय स्पष्ट हुदा हुदै त्यसतर्फ ध्यान नपुर्‍याइएको र वादी गोगरी थरुनीको लिखतमा लागेको ल्याप्चे छाप र नमुना ल्याप्चेछापको जात दाया फर्केको छ भनिएता पनि एकै तर्फ फर्किनु मात्र रेखा भिड्नु होईन रेखाको वहाव गुण र रेखाको संख्या सवै भिडेको मात्र रेखा भिडेको मान्नु पर्छ दुवैल्याप्चे छाप दाया नै फर्किएपनि आआफ्नो ठाउँमा भिड्दैनन् भन्ने विशेषज्ञको स्पष्ट राय हुँदा हुँदै पनि त्यस्तो लिखतलाई किर्ते भन्ने प्रश्ननै आएन भनि सद्दे ठहर्‍याइएको, कपाली तमसुकमा लागेको म वादी पहराको सहिछाप भिडे पनि लिखतमा लागेको ल्याप्चे छाप लिखत तयार भएपछि लागेको वा छाप लागेको कागज(लिफा) मा लेखत व्यहोरा लेखिएको हो सो विषयमा नत विशेषज्ञको राय नै छ, न त्यसतर्फ जांच गर्ने अदालतको आदेश नै छ । विवादको कपाली  तमसुकमा साहुको उमेरमा फरक भएको, साक्षी जगुलाल र दशीलालको ल्याप्चे माथिवाट नाम लेखिएको भिमप्रसाद कोइरालाको समेतको अक्षरको मसी भिन्न देखिएको, लेखतको नाम नबुझिने उक्त लेखतको आठौ हरफमा रु.२५,०००।को अंक र अक्षरमा मसि फरक देखिएको, साक्षी महलको भिमप्रसाद कोइरालाको मुनी ६ अंक सचिएको भनि लेनदेन मुद्दाको फिराद साथ दाखिला भएको तमसुकको नक्कलको पिठमा खालि आंखाले हेर्दा, फांटवालाले देखेको कैफियत जनाइएको कुरा प्रति न्यायकर्ताको ध्यान नपुगेको, वादीदावीको कुरालाईजांच गर्ने आदेश नगरि केवल ल्याप्चे छाप मात्र जांच गरेको प्रतिवेदनलाई मुल आधार प्रमाण बनाई सम्बन्धित म्याद तामेल भएको वार्डमा घरै नभएको हामी वादी हरुको नामको म्याद घर दैलामा टांस भएको कुरालाई अ.वं . ११० नं. को रित पुगेको भनि हामीले पेश गरेको मिसिल संलग्न प्रमाण तर्फकेही खण्डन नगरी पूर्ण रुपमा जांच नभएको विशेषज्ञको राय प्रमाणमा लिन नमिल्नेमा सो लाई मात्र मुल प्रमाणको रुपमा ग्रहणगरि शुरु जि.अ.ले गरेको ईन्साफ प्रत्यक्ष कानूनी त्रूटिपूर्ण हुँदा हामीले बयानमा दावी लिएको कुराहरुको पूर्ण जांच गरी मोरंग जिल्ला अदालतको मिति ०५३।२।१४।२ को त्रुटिपूर्ण फैसला बदर गरि न्याय ईन्साफ गरिपाऊँ भन्ने समेत व्यहोराको वादी गोगरी थरुनी र पहरा थरुनीको पुनरावेदन अदालतमा परेको पुनरावेदन ।

१३.   यस्मा प्रतिवादी मध्येको पुहुपराम खवास, मदनलाल खवास र भरत कुमार कोइरालाले वादी वार्ड नं. १ मा वस्दछन् भनि प्रतिवादी जिकिर लिएको छैन भने लेनदेन मुद्दाको म्याद तामेलीमा साक्षी वसेको भरत कोईराला र वार्ड सदस्य पुहुपरामको सहिछाप मिल्ने भिड्ने भनि रेखा विशेषज्ञको राय भएको तथा वादीको नागरिकता प्रमाण पत्रमा वादीको वार्ड नं.१ लेखिएको देखिदा यस स्थितिमा शुरुको फैसला विचारणीय देखिंदा छलफलकोलागि अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली २०४८ वमोजिम विपक्षी झिकाई आएपछि वा अवधि नाघेपछि पेशगर्नु भन्ने पुनरावेदन अदालतको आदेश ।

१४.   यसमा विवादित ०३९।३।२७ को लिखतको सम्बन्धमा रेखा तथा लेखा विशेषज्ञ श्री घनश्याम मुखियाले दिएको रायको सम्बन्धमा पुनरावेदकले चित्त नबुझाई पुनरावेदन जिकिर लिएको देखिदा निज विशेषज्ञ घनश्याम मुखियालाई प्रमाण ऐन ०३१ को दफा ५२ वमोजिम साक्षी सरह उपस्थित गराउने र निज उपस्थित भएपछि वकपत्र गराई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालतको आदेश ।

१५.   वादीको वतन उक्त गा.वि.स.को वार्ड नं. १ मा अध्यापी रहेछ भन्ने निष्कर्ष देखिन आयो । अव हुदै नभएको वतनमा घरद्धार भएको भनि घरदैलामा म्याद टाँस भएको भनि झुठो व्यहोरा लेखाई आफुलाई लाभ तथा यी बादीहरुलाई हानी नोक्सानी पु¥याउने स्पष्ट नियत गरेको देखिंदा मिति २०४९।५।२७ मा तामेल भएको म्याद यज्ञप्रसाद पोखरेलले जालसाजी व्यहोरा लेख्न लगाई तामेल गरेको ठहर्छ ।

१६.    अव लेनदेन मुद्दामा अदालतवाट फैसलानै किर्ते भनि ठहर्‍याउने अवस्था नहुने हुँदा र अदालतको फैसला बिधिवत भएको कायम रहे सम्म सोही फैसलाले मान्यता दिएको सक्कल लिखतलाई किर्ते ठहर्‍याई फैसला अमान्य गर्ने कानूनी प्रावधानको अभावमा शुरु निर्णय लाई अन्यथा गरि रहन पर्ने अवस्था नदेखिंदा केही उल्टी हुने ठहर्छ भन्ने पुनरावेदन अदालतको फैसला ।

१७.   मुलुकी ऐन अ.वं. ७२ नं. मा देवानी तथा फौजदारी मुद्दाको वेग्ला वेग्लै नालिस दिनु पर्दछ सो वाहेक एउटा फिरादपत्रवाट एउटै मानिसले एउटै मानिस उपर जतिसुकै विषयको नालिस दिन सक्दछ तर एउटै वा दुई व्यक्तिले एक भन्दा बढी व्यक्ति उपर दुई भिन्न प्रकृतिका विषयमा एउटै नालिस दिन सक्दैन भन्ने उल्लेख भएकोमा उक्त कानूनी व्यवस्थाको वेवास्ता गरी फैसला गरिएको छ । लेनदेन मुद्दामा किर्ते कागजको २ नं. अन्तरगतको कसूर भनी फिराद गरेको र म्याद तामेलीको उक्त विषय किर्ते कागजको २ नं. अन्तरगत नपर्नेमा किर्ते कागजको ३ नं. को अपराध कायम गरी फैसला गर्न मिल्ने होइन । लेनदेन मुद्दाको फैसला सदर कायम गरि फैसला भएपछि उही मुद्दाको तामेली म्याद जालसाजी ठहर्‍याउन र त्यसमा पनि भरि भराउको कार्य समेत सम्पन्न भै सो भरी भराउको सिलसिलामा उही वतनमा जारी भएको म्याद विपक्षीहरुले वुझ्नुवाट समेत मैले जालसाजी कार्य नगरेको प्रष्ट भै रहेको अवस्थामा भएको पुनरावेदन अदालतको फैसला त्रूटिपूर्ण हुँदा उल्टी गरी शुरु जिल्ला अदालतको फैसला सदर कायम गरी फैसला गरिपाऊँ भन्ने प्रतिवादी पक्षको यस अदालतमा परेको पुनरावेदन ।

१८.   यसमा वादीले लिखत किर्ते सम्बन्धमा समेत दावी लिएकोमा लिखत किर्ते नठहराएको पुनरावेदन अदालतको फैसला उपर वादीको पुनरावेदन परेको नदेखिएको र सो किर्ते नठहरिएको लिखतमा यि वादीहरुको वतन जिल्ला मोरंग वनिगामा वडा नं २ उल्लेख भएको देखिएको अवस्थामा यस मुद्दामा प्रतिवादीले लेनदेन मुद्दामा वादी भै फिराद दायर गर्दा सोही लिखतमा उल्लेख भएको वतन देखाएको स्थितिमा सोही वतनमा म्याद जारी भै तामेल भएकोलाई जालसाज ठहराई पुनरावेदन अदालत विराटनगरले गरेको फैसला फरक पर्ने देखिदा अ.वं. २०२ नं. वमोजिम प्रत्यर्थी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने यस अदालतको ०६१।५।३ को आदेश ।

१९.    ०६२।३।१३ को  तारेख पुनरावेदक वारेश राजन निरौलाले गुजारी वसेको ।

२०.   यसमा विगो तर्फको मुद्दामा प्रत्यर्थीहरुको वतन वनीगामा गा.वि.स.वडा नं.२ उल्लेख भई म्याद जारी भै तामेल भएको भन्ने समेतको आधार शुरु जिल्ला अदालतवाट लिएको देखिएकोले निवेदक यज्ञप्रसाद पोखरेल विपक्षी गोगरी थरुनी समेत भएको विगो तर्फको मिसिल मोरंग जिल्ला अदालतवाट झिकाई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको २०६२।९।७ को आदेश ।

२१.   नियम वमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा मिसिल संलग्न सम्पूर्ण कागज प्रमाणहरुको अध्ययन गरी पुनरावेदन अदालत विराटनगरवाट भएको फैसला मिले नमिलेको के हो ? सोही सम्बन्धमा निर्णय दिनु पर्ने देखियो ।

२२.   निर्णय तर्फ विचार गर्दा किर्ते लिखतको आधारमा हामी उपर नालिस दिई हाम्रो नाउंको म्याद जालसाजी तवरवाट तामेल गरि गराई किर्ते कागजको २ नं. को कार्य गरेकोले किर्ते कागजको ९,१० नं. वमोजिम सजाय गरी लेनदेन मुद्दाको फैसला सहितको सम्पूर्ण कारवाही अमान्य घोषित गरिपाऊँ भन्ने फिराद दावी र वादी लिखतमा ऋणीले जुन वतन खुलाई लेखाई दिए सो लिखतको वतनमा म्याद गै सोही वमोजिम म्याद तामेल भै आएको हो । वादीले भने वमोजिम मिलोमतो गरी जालसाजी गरेको छैन भन्ने समेत प्रतिउत्तर जिकिर भएको प्रस्तुत मुद्दामा वादी दावी नपुग्ने ठहराई भएको शुरु जिल्ला अदालतको फैसला पुनरावेदन अदालत विराटनगरवाट म्यादसम्म जालसाज गरेको ठहरी केही उल्टी भए उपर प्रतिवादी यज्ञप्रसाद पोखरेलको यस अदालतमा पुनरावेदन पर्न आएको देखियो ।

२३.   लेनदेन मुद्दाको निर्णय सदर कायम रहने गरी भएको शुरु फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला उपर वादीहरुको पुनरावेदन नपरी उक्त फैसलालाई स्वीकारै गरीवसेको देखिएको अवस्थामा सो सम्बन्धमा केही वोली रहनु परेन ।

२४.   प्रतिवादीहरुले म्याद जालसाज गरेको ठहरी सजाय गर्ने गरेको फैसला उपर यि प्रतिवादी यज्ञप्रसाद पोखरेलको पुनरावेदन परेकोमा सो सम्बन्धमा विचार गर्दा यि वादी प्रतिवादी विच चलेको सम्वत ०४९ सालको दे.नं. २०४० को लेनदेन मुद्दामा पेश भएको यि वादीले यिनै प्रतिवादीलाई गरी दिएको लिखतमा वनिगामा वार्ड नं. २ नै उल्लेख भएको देखिन्छ भने उक्त लेनदेन मुद्दाको फिरादमा वनिगामा वडा नं. २ नै उल्लेख भै सोही वमोजिम यि वादीहरुका नाममा म्याद जारी भै मू ऐ अ.वं .११० नं. वमोजिम रित पुर्‍याई तामेल समेत भएको पाइन्छ । धनीले ऋणी उपर फिराद दायर गर्दा लिखतमा लेखाएको वतनमा नै गर्न पर्ने हुन्छ । प्रस्तुत मुद्दामा लिखत किर्ते हो भनी फिराद गरेपनि सो कुरालाई जिल्ला अदालत तथा पुनरावेदन अदालतले समेत सद्दे ठहरी फैसला भए उपर वादीहरुको पुनरावेदन परेको देखिदैन । उक्त लिखत सद्दे ठहरीएपछि सो लिखत मा लेखाएको वादीको वतनलाई प्रतिवादीले किर्ते गरेको भनी भन्न मिल्ने देखिदैन । म्याद तामेल गर्ने गराउने कार्य कर्मचारीको भएको र यदि वादीहरुले भने जस्तै प्रतिवादीहरु समेतसंग मिलोमतो गरी म्याद तामेल भए गराएको भए सो सम्बन्धमा कर्मचारीहरुलाई समेत   प्रतिवादी बनाउन पर्नेमा सो गरेको नदेखिएको अवस्थामा फिरादमा उल्लेखित वतनमा म्याद तामेल गर्ने गराउने कार्यलाई जालसाजीको संज्ञा दिई प्रतिवादीहरुलाई सजाय गर्न मिलेन ।

२५.   तसर्थ माथी उल्लेखित आधार कारणवाट जुन लिखत किर्ते भनी फिराद गरेको हो सो लिखत सद्दे ठहरी फैसला भएकोमा सो उपर पुनरावेदन परेको नदेखिएको र उक्त किर्ते भनिएको लिखत सद्दे भै सकेपछि उक्त लिखतमा उल्लेख भएको वतनमा म्याद तामेल गर्ने कार्य समेत जालसाजी पूर्वक भएको भन्न नमिल्ने हुँदा जालसाजी ठहराई सजाय गर्ने गरेको पुनरावेदन अदालत विराटनगरको फैसला मिलेको नदेखिदा उल्टी हुन्छ । अरु तपसिल वमोजिम गर्नु ।

 

तपसिल

 

माथी इन्साफ खण्डमा लेखिए वमोजिम पुनरावेदन अदालतको फैसला उल्टी हुनेठहरी  फैसला भएकोले प्रतिवादीहरुले जालसाज गरेको भनी जरिवाना गर्ने गरेको लगत कट्टागरी शुरु जिल्ला अदालतको फैसला वमोजिम गर्नु भनी शुरु मोरंग जिल्ला अदालतमा लेखी पठाउनु ––––––

मिसिल नियमानुसार वुझाई दिनु ––

 

उक्त रायमा सहमत छु ।

 

न्या. पवनकुमार ओझा

 

ईति संवत २०६३ साल जेष्ठ ४ गते रोज ५ शुभम.––––––

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु