शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७६८१ - हालैको बकसपत्र बदर हककायमत्र

भाग: ४८ साल: २०६३ महिना: श्रावण अंक:

निर्णय नं.७६८१      ने.का.प.२०६३ अङ्क ४

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी

माननीय न्यायाधीश श्री पवनकुमार ओझा

संम्वत २०५७ सालको दे.पु.नं......७२९२

फैसला मितिः २०६२।१०।३।२

 

मुद्दा : हालैको बकसपत्र बदर   हककायम ।

 

            पुनरावेदक

            वादीः गण्डकी अंचल कास्की जिल्ला पोखरा उपमहानगरपालिका वडा नं. ४ बस्ने कृष्ण   प्रसाद कोइरालाको संरक्षक राधादेवी कोइराला समेत   

विरुद्ध

            प्रत्यर्थी

            प्रतिवादीः ऐ.स्याङजा जिल्ला गणेशपुर गा.वि.स.वडा नं. १ घर भै हाल कास्की जिल्ला     पोखरा उपमहानगरपालिका वार्ड नं. ४ बस्ने भगवती गौतम समेत

 

§  कानूनले कुनैपनि सम्पत्तिको चरित्र निर्धारणका लागि स्वामित्वलाई आधार मानेको हुन्छ। अचल सम्पत्ति निर्जिव बस्तु भएकाले यसको आफ्ना स्थिर अन्तरनिहित गुणहरु हुनेमा वाहेक छुट्टै चलायमान चरित्र नहुने ।

§  हरेक हस्तान्तरण पश्चात सम्पत्तिको स्वरुप वा चरित्र परिवर्तन हुने ।

§  निजी स्वरुप ग्रहण गरिसकेको सम्पत्तिलाई वादीहरुले कानून बमोजिम बदर गराई पूर्ववर्ती अंशबाट प्राप्त सम्पत्तिको रुपमा कायम गराउन नसकेपछि त्यो सम्पत्ति पूनः कानूनबमोजिम हस्तान्तरण भएकोलाई चुनौती  गर्ने हक नहुने ।

(प्रकरण न.११)

§  दावीको लिखतको विवादित सम्पत्ति प्रतिवादीहरुमा मात्र सिमित नरही तेस्रो व्यक्तिको हक स्वामित्वमा गैसकेको स्थितिमा प्रतिवादीहरु वीचको वैवाहिक सम्वन्धको कारणले मात्र तेस्रो व्यक्तीको हक जान नसक्ने ।

(प्रकरण नं.१३)

 

पुनरावेदक वादी तर्फवाटः शारदाप्रसाद कोइराला

प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री हरिहर दाहल र श्री विश्व प्रकाश सिग्देल

अवलम्वित नजीरः

 

फैसला

 

न्या.पवनकुमार ओझाः न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा १,(क)(ख) अन्तर्गत प्रस्तुत मुद्दा दोहोर्‍याई पाऊ भनी वादीको तर्फबाट निवेदन परेकोमा उक्त ऐनको दफा    १२(१)(क) बमोजिम मुद्दा दोहोराउने  निस्सा भै पेश हुन आएको प्रस्तुत   मुद्दाको संक्षिप्त तथ्थ एवं ठहर यस प्रकार छ :-

२.    विपक्षी वहिनी भगवतीले अंश वापत प्राप्त गरेको शिशुवा गा.वि.स. वडा नं. ३ को  कि.नं. २८१९ को क्षे.फ.४-०-०-० को जग्गा मध्ये कित्ता फोड भै कायमी कि.नं. २८६६ को क्षे.फ.२-०-०-० जग्गा विपक्षी मध्येका तिलकराम गौतमलाई २०५१।६।२४ मा हालको बकसपत्र पारित गरी लिनु दिनु गरेका हुंदा मुलुकी ऐन स्त्री अंश धनको महलको ७ नं. अनुसार दिए लिएको  सदर नहुने हुंदा  सोही ऐनको २ नं. को हदम्याद भित्र फिराद गर्न आएका छौ । अतः हामीहरुको आवश्यक साक्षी प्रमाण समेत वुझी विपक्षी भगवती गौतम दिने र विपक्षी तिलकराम गौतम लिने गरी शिशुवा गा.वि.स. वडा नं. ३ को कि.नं. २८१९ को क्षे.फ.४-०-०-० मध्ये कित्ता फोड भै कायमी कि.नं. २८६६ को क्षे.फ.२-०-०-० जग्गा को मिति २०५१।६।२४ को हालको बकसपत्र लिखत बदर गरी पाऊ भन्ने समेत व्यहोराको शारदाप्रसाद कोइराला समेत जना २ को फिराद पत्र ।

            ३.    विवादित जग्गा म भगवतीले मिलापत्रबाट पाएको निजी जग्गा हुंदा २०५०।९।१ मा नारायण प्रसाद अधिकारीलाई हालको बकसपत्र पारित गरी दिई पुनः २०५०।५।३१ मा नारायण प्रसादबाट म भगवतीले हा.व.पारित गरी लिएको भएपछि म भगवतिले  दिंदा र लिंदा दुवै अवस्थामा सो जग्गा निजी हो भन्ने कुरा देखिएकै छ । यस्तो चरणवद्ध हक हस्तान्तरणको सम्पुर्ण प्रकृयालाई बदर गराउन नसक्ने विपक्षीको विवसताको वावजुद पनि म भगवतिले म तिलकरामलाई २०५१।६।२४ मा पारित गरी दिएको हालको बसकपत्र म भगवतीले आफुखुस गर्न पाउने सम्पत्ति हुंदा हुदैपनि नालिस दिइएको  प्रतिवादी जुन छ बस्तुत खारेज योग्य छ जवकी म तिलकरामले पनि सो जग्गा २०५२।५।१६ मा कृष्ण बहादुर के.सी. लाई हा.व.पारितगरी दिई सकेको छु । यस्तो हामी मध्ये कसैको हकमा पनि हाल नभएको जग्गालाई लिएर हक हस्तान्तरणको विचको  कुनै एउटा मात्र लिखत २०५१।६।२४ को लिखतलाई बदर  गरी पाऊं भन्ने फिराद गर्ने हकदैया विपक्षीहरुलाई छैन र दावी खारेज योग्य छ । भगवतीले दिन पाउने र तिलकरामले लिन पाउने भै उक्त कि.नं. २८६६ को जग्गा २०५१।६।२४ मा  पारित गरि दिए लिएको हुंदा हकदैया सुन्य दावी खारेज गरिपाऊ र खारेज  नभै इन्साफ नै भएको खण्डमा पनि विपक्ष वादीको झुठा फिराद दावीबाट अलग फुर्सद गराई पाऊं भन्ने समेत व्यहोराको भगवती गौतम समेतको प्रतिउत्तर पत्र ।

            ४.    यसै लगाउको जालसाजी मुद्दामा आजै यसै वेन्चबाट वादी दावी पुग्न नसक्ने ठहरी फैसला भएको हुंदा सोही बुंदा प्रमाण समेतको आधारमा मिति २०५१।६।२४ को हालैको बकसपत्र लिखत बदर गर्न मिल्ने अवस्था विद्यमान नहुंदा वादी दावी नपुगने ठहर्छ भन्ने समेत व्यहोराको मिति २०५५।१।२० को कास्की जिल्ला अदालतको फैसला ।

            ५.    विवादित जग्गा विपक्षीको दाइजो पेवाको जग्गा होइन स्वास्नी मानिसले दाइजो पेवा वाहेक आफ्नो हक पुग्ने अरु सम्पत्ति अरु कसैलाई अघिबाट दान वकस विक्री समेत केहि व्यहोराले दिइछ र जसलाई दान बकस  विक्री गरी दिएको हो उसै सित करणीमा विग्रिछ भने सो दिए लिएको सदर हुंदैन हक पुग्नेले फिर्ता लिन पाउंछ भन्ने स्पष्ट कानूनी व्यवस्था हुंदा हुंदै कानुनी तथ्यलाई मनन नगरी शुरु कास्की जिल्ला अदालतबाट भएको फैसला बदर गरी फिराद दावी बमोजिम गरी न्याय इन्साफ पाऊ भन्ने समेत व्यहोराको शारदा प्रसाद कोइराला समेतको संयुक्त पुनरावेदन जिकिर ।

            ६.    यसमा दावीको लिखतको सम्वन्धमा प्रत्यर्थी प्रतिवादीहरुमा मात्र सिमित नरही निजहरुको  हक स्वामित्वबाट अर्का कृष्ण बहादुर क्षेत्रीको  हक स्वामित्वमा गैसकेको र सो जालसाज नठहर्ने फैसला भैसकेको हुंदा वादी दावी नपुग्ने  गरी कास्की जिल्ला अदालतले मिति २०५५।१।२० मा गरेको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ भन्ने पु.वे.अ. पोखराको मिति २०५६।६।१९।४ को फैसला ।

            ७.    स्त्री अंश धनको  ७ नं, अंश वण्डाको १६ नं., को त्रुटिपूर्ण व्याख्या  गरी भएको कास्की जिल्ला अदालतको फैसला सदर गरेको  पु.वे.अ. पोखराको फैसला त्रुटिपूर्ण हुंदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) को आधारमा मुद्दा दोहोराई हेरी उक्त फैसला बदर गरी वादी दावी बमोजिम बकसपत्र बदर गरी हक कायम गरी पाऊं भन्ने व्यहोराको वादीको निवेदन जिकिर ।

            ८.    यसमा वादी दावी नपूग्ने ठहराएको कास्की जि.अ.को फैसला सदर गरेको पु.वे.अ. पोखराको २०५६।६।१९ को फैसलामा स्त्री अंशधनको ७ नं.को व्याख्यात्मक गंभिर त्रूटि देखिंदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) को आधारमा प्रस्तुत मुद्दा दोहोराउने निस्सा प्रदान गरिएको छ भन्ने २०५७।१०।४ को यस अदालतको   आदेश ।

            ९.    नियमबमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी शारदा प्रसाद कोइरालाले र प्रत्यर्थी प्रतिवादी तर्फबाट उपस्थित विद्वान अधिवक्ताद्वय श्री हरिहर दाहल र श्री विश्व प्रकाश सिग्देलले गर्नु भएको बहस सुनी मिसिल संलग्न कागजातको अध्ययन गर्दा विवादित कि.नं. २८६६ को क्षे.फ.२-०-०-० जग्गा भगवती गौतमले २०५१।६।२४ मा तिलकराम गौतमलाई गरिदिएको लिखत बदर गरी पाऊ भन्ने वादी दावी नपुग्ने ठहराएको शुरु कास्की जिल्ला अदालतको फैसला सदर गरेको पु.वे.अ. पोखराको मिति २०५६।६।१९ को फैसला मिलेको छ छैन ? निर्णय दिनुपर्ने देखियो ।

            १०.    निर्णयतर्फ विचार गर्दा विवादित कि.नं. २८६६ को क्षे.फ.२-०-०-० जग्गा प्रतिवादी भगवती गौतमले अविवाहित छोरीको हैसियतमा अंश वापत प्राप्त गरेको जग्गा भन्नेमा कुनै विवाद देखिंदैन । उक्त जग्गा निज भगवतीले मिति२०५०।१।९ मा नारायण प्रसाद अधिकारीलाई लिखत पारित गरिदिएको र निज नारायण प्रसादले मिति २०५०।५।३१ मा भगवती गौतमलाई नै लिखत पारित गरी दिएपछि पुनः भगवती गौतमको हक हुन आएको भन्ने देखिन्छ । यसरी एकपटक नारायण प्रसाद अधिकारीलाई हा.व. गरिदिई निज नारायणप्रसाद अधिकारीबाट प्राप्त भै हक हुन आएको  विवादित कि.नं. २८६६ को क्षे.फ.२-०-०-० जग्गानै भगवती गौतमले मिति २०५१।६।२४ मा  तिलकराम गौतमलाई हालैको बकसपत्र लिखत गरि दिएकोमा सोही बकसपत्र लिखत बदर गरी पाऊ भन्ने वादीको दावी देखिन आउंछ । यसरी भगवती गौतमले अंश वापत प्राप्त गरेको विवादित सम्पत्ती नारायण प्रसादलाई हा.व. गरिदिएकोमा सो हा.व. लिखत बदर तर्फ कुनै उजुर नपरी उक्त लिखत यथावत रहेको देखिन्छ । सोही जग्गा निज भगवतीले नारायण प्रसादबाट लिखत पारित गरि आफूले लिए पश्चात मात्र तिलकराम गौतमलाई मिति २०५१।६।२४ मा हा.व. गरिदिएको देखिन्छ । यस स्थितिमा भगवतीले नारायण प्रसादबाट  हा.व. गरिलिएको जग्गालाई निज भगवतीले अंश वापत प्राप्त गरेको जग्गा हा.व. गरिदिएको भनी कानूनत मान्न मिल्ने देखिंदैन ।

११.    कुनै पनि सम्पत्तिको चरित्र कानूनद्वारा निर्धारण हुने विषय भएकोले कानूनी प्रश्न हुन्छ । कानूनले कुनैपनि सम्पत्तिको चरित्र निर्धारणका लागि स्वामित्वलाई आधार मानेको हुन्छ। अचल सम्पत्ति निर्जिव बस्तु भएकाले यसको आफ्ना स्थिर अन्तरनिहित गुणहरु हुनेमा वाहेक छुट्टै चलायमान चरित्र हुदैनन् । सम्पत्तिको चरित्र स्वामित्वमा निर्भर गर्दछ । स्वामित्व जस्तो छ त्यस्तै यसले चरित्र ग्रहण गर्दछ । निजी स्वामित्व छ भने सम्पत्ति निजी हुन्छ । सगोल या गोश्वारामा स्वामित्व छ भने सम्पत्ति सगोलको हुन्छ । स्वामित्व हस्तान्तरणबाट सम्पत्ति माथि फरक स्वामित्व स्थापित हुन्छ । कसैले निजी श्रम, शीप, प्रयासबाट कुनै सम्पत्ति प्राप्त गरेको रहेछ भने त्यो सम्पत्ति अगाडी जे जस्तो स्वरुपको भएपनि अव निजी स्वरुपको हुनजान्छ । त्यसैगरि कसैको निजी सम्पत्ति सगोलको सम्पत्तिबाट खरिद गरियो भने त्यो सगोलको सम्पत्ति हुन पुग्दछ। हरेक हस्तान्तरण पश्चात सम्पत्तिको स्वरुप वा चरित्र परिवर्तन हुन्छ । यसरी हेर्दा वादीहरुले दावी गरेको सम्पत्ति मिति २०५०।१।९ मा नारायण प्रसादले हा.व.बाट प्राप्त गरि पुनः नारायण प्रसादबाट प्र. भगवतीले मिति २०५०।५।३१ मा हा.व.बाट प्राप्त गर्दा नै स्वामीत्व हस्तान्तरणको कानूनी प्रकृयाबाट सो सम्पत्तिको चरित्र (स्वभाव) प्र. भगवतीको पैत्रीक स्वरुप समाप्त भै सकेको देखिन आएको छ । त्यसरी निजी स्वरुप ग्रहण गरिसकेको सम्पत्तिलाई वादीहरुले कानून बमोजिम बदर गराई पूर्ववर्ती अंशबाट प्राप्त सम्पत्तिको रुपमा कायम गराउन नसके पछि त्यो सम्पत्ति पूनः कानून बमोजिम हस्तान्तरण भएकोलाई चुनौती  गर्ने हक वादीहरुलाई हुने देखिदैन।

१२.   अर्कोतर्फ सो जग्गा हा.व. गरि लिने तिलकराम गौतमले पनि उक्त जग्गा मिति २०५२।५।१६ मा नै कृष्ण बहादुरलाई लिखत पारित गरिदिएको स्थितिमा उक्त जगाको स्वामित्व भगवती वा तिलक राममा नभएको अवस्थामा मिति २०५२।८।२८ मा निजहरुको विवाह भएको मिति २०५३।४।३२ को विवाह दर्ता प्रमाणपत्रबाट देखिएकोमा स्त्री अंश धनको ७ नं. आर्कर्षित हुने अवस्थै रहेन ।

            १३.   तसर्थ, माथी उल्लिखित आधार कारणबाट दावीको लिखतको विवादित सम्पत्ति प्रतिवादीहरुमा मात्र सिमित नरही तेस्रो व्यक्ति कृष्ण बहादुर क्षेत्रीको हक स्वामित्वमा गैसकेको स्थितिमा प्रतिवादीहरु वीचको वैवाहिक सम्वन्धको कारणले मात्र तेस्रो व्यक्तिको हक जान नसक्ने हुंदा वादी दावी नपुग्ने गरी शुरु कास्की जिल्ला अदालतले गरेको फैसला सदर गरेको पु.वे.अ. पोखराको मिति २०५६।६।१९।४ को फैसला मनासिव देखिंदा सदर हुने ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार बुझाई दिनु ।

 

उक्त रायमा सहमत छु ।

 

न्या.मीनवहादुर रायमाझी

 

इति सम्वत २०६२ साल माघ ३ गते रोज २ शुभ्म............।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु