शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७६८६ - सरकारी कागज किर्ते

भाग: ४८ साल: २०६३ महिना: श्रावण अंक:

निर्णय नं.७६८६      ने.का.प.२०६३ अङ्क ४

 

सर्वोच्च अदालत संयुक्त इजलास

माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ

माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह

सम्वत् २०५५ सालको दे.पु.नं. १९९९

फैसला मितिः २०६३।२।१५।२

 

मुद्दाःसरकारी कागज किर्ते ।

 

            पुनरावेदक

            प्रतिवादीः गोरखा जिल्ला गोरखकाली गा.वि.स. वडा नं. १ पोखरीथोक वस्ने रामबाबु शर्मा            अधिकारी

विरुद्ध

            प्रत्यर्थी

            वादीः ईश्वरबहादुर थापाको जाहेरीले नेपाल सरकार

 

§  प्रमाण ऐन, २०३१ को दफा २३(७) र दफा ५२ बमोजिम साक्षीसरह वकपत्र गराई पक्षलाई जिरह गर्ने मौका दिएपछि मात्र रेखा विशेषज्ञको रायलाई प्रमाणमा लिनुपर्ने ।

§  अदालतबाट विशेषज्ञलाई झिकाई बकपत्र गराउनु भन्ने आदेश भएकोमा पटक पटक म्याद सूचना पठाउंदा पनि विशेषज्ञको वतन नै फेला नपरेको भनी विशेषज्ञले उपस्थित भई बकपत्र गर्न र पक्षले निजसंग जिरह गर्न पाएको अवस्था नदेखिने ।

§  विशेषज्ञको बकपत्र हुन नसकी र पक्षले जिरह गर्न नपाएको यस्तो रायलाई उक्त कानूनी व्यवस्था बमोजिम प्रमाणको रुपमा ग्रहण गर्न र सोही रायको आधारमा थपिएका भनिएका अक्षरहरु यी पुनरावेदककै हुन् भन्न मान्न नमिल्ने ।

(प्रकरण नं.३९)

§  लिखतमा थपिएको अंश लिखत भइसके पश्चात थपिएको र सो थप्दा यी पुनरावेदकको हस्ताक्षर रहेको देखिने स्पष्ट, कानूनसंगत एवं विवादरहित प्रमाण मिसिलमा संलग्न रहेको नदेखिएकाले पुनरावेदकलाई कसूरदार ठहर्याई सजाय गरेको जिल्ला अदालतको फैसला तथा त्यसलाई सदर गरेको पुनरावेदन अदालतको फैसला उल्टी हुने ।

(प्रकरण नं.४०)

 

पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता महादेव यादव

प्रत्यर्थी वादी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री जनकबहादुर अधिकारी

अवलम्वित नजीरःने.का.प. ०४३, नि.नं २६८८, पृष्ठ ३३, ने.का.प. २०५१ नि.नं. ४८५६, पृष्ठ ५७

 

फैसला

न्या.रामकुमारप्रसाद शाहः पुनरावेदन अदालत पोखराको मिति ०४९।११।१४ को फैसलाउपर न्याय प्रशासन ऐन, ०४८ को दफा १२(१) को खण्ड (क) र (ख)  बमोजिम प्रतिवादी रामवावु शर्मा अधिकारीको मुद्दा दोहोर्याई पाउं भन्ने निवेदनमा यस अदालतबाट दोहोर्याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रुपमा दायर हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार  छ ।

२.    लेखक तुल्सीभक्त, साहु भैरबहादुर बस्नेत र आसामी दलबहादुर थापा मगर भएको गोरखा माल कार्यालयबाट मिति ०३३//४ मा पारित राजिनामाको तेस्रो कित्ताको पश्चिम किल्लामा भनेको निउरेनीभन्ने सात अक्षरहरु गोरखा पोखरीथोक बस्ने रामबाबुले थपी किर्ते गरेकोले किर्ते कागजको ९ र १३ नं. बमोजिम कानूनी कारवाही गरिपाऊँ भन्ने ईश्वरबहादुर थापाले दिएको जाहेरी दरखास्त ।   

३.    उल्लिखित राजीनामाको तेस्रो कित्तामा भनेको निउरेनीभन्ने सात अक्षर मेरो हस्ताक्षरले थपेको होइन भन्ने रामबाबु शर्माले अधिकार प्राप्त अधिकारीसमक्ष गरेको  वयान ।

४.    गोरखा मालमा मेरो जिम्मा रहेको नं. ४९/५० को राजीनामा तमसुक रामबाबु शर्माले झुक्काई, छक्काई भोरमा पारी थपी किर्ते गरेका हुन् , उक्त अक्षर थपाउनमा मेरो कुनै हात छैन भन्ने ईश्वरबहादुरले अधिकार प्राप्त अधिकारीसमक्ष गरेको वयान ।

५.    उक्त तमसुक मैले लेख्दा भनेको निउरेनीभन्ने शब्द थपिएको थिएन । मैले थपेको होइन भनी तुल्सीभक्तले अधिकार प्राप्त अधिकारीसमक्ष गरेको वयान ।

६.    उक्त शब्द सोही अवस्थामा थपेको हो वा पछि थपेको हो थाहा छैन भन्ने किनाराका साक्षी दिपबहादुर थापाले अधिकार प्राप्त अधिकारीसमक्ष गरेको वयान ।

७.    भैरवबहादुर बस्नेत समेतको मिलेमतोबाट उल्लिखित शब्द थप भएको हो भन्ने लालबहादुर दार्जीले प्रहरीमा गरेको वयान कागज ।

८.    उल्लिखित सात अक्षर पछि थपिएको हो भन्ने किनाराका साक्षी डम्बरबहादुर थापाले प्रहरीमा गरेको वयान ।

९.    मालबाट पारित भै आएको राजीनामाको नक्कल राख्ने फाँट मैले जिम्मा लिइआएको हो । सो तमसुक मुठा पारी खुला प्याकमा राखिएको थियो । उक्त अक्षर कसले थपे मैले थपेको होइन भन्ने भु.सु.शाखा गोरखाका ख. शेरबहादुर भुजेलले अधिकार प्राप्त अधिकारीसमक्ष गरेको वयान ।

१०.    उक्त पारित लिखतमा पारित गर्दाकै अवस्थामा भनेको निउरेनीभन्ने अक्षरहरु लेख्ने तुल्सीभक्त श्रेष्ठ नै हो । अरु कोही कसैले थपेको होइन भन्ने भैरवबहादुर बस्नेतले अधिकार प्राप्त अधिकारीसमक्ष गरेको वयान ।      

११.    मिति ०३३//४ मा पारित भएको साहु भैरवबहादुर असामी दलबहादुर भएको रु. ४,०००/को पारित राजीनामामा भनेको निउरेनीभन्ने सात अक्षर मिति ०३५//६ पछि मात्र थपेको हो । कसले कसरी थपे थाहा छैन । भैरवबहादुरलाई सो थपाईबाट रु. ९,०००/फाईदा हुन्छ। दलबहादुरसमेत भै जालसाजी गरी थपेका हुन् भन्ने समेत व्यहोराको मिति ०३७//७ को सर्जमिन मुचुल्का ।

१२.   किर्ते कागजको १ नं. बमोजिमको अपराध गरेकाले किर्ते कागजको ९ र १२ नं.बमोजिम प्र.रामबाबु शर्मा र प्र. दलबहादुर थापालाई  सजाय हुन र प्र.भैरवबहादुरलाई किर्ते कागजको ११ नं बमोजिम साथै भु.सु.का.का ख.शेरबहादुर भुजेल र माल कार्यालयका ब. ईश्वरबहादुर थापालाई किर्ते कागजको ११ नं. बमोजिम अरुलाई हुने सजायको आधा सजाय गरिपाऊँ भन्नेसमेत व्यहोराको प्रहरी प्रतिवेदन माग दावी ।    

१३. मिति ०३३//४ को लिखतमा भनेको निउरेनीभन्ने अक्षर लेखनदास काम गरि हिड्ने रामबाबुले थपेको हो भन्ने ईश्वरबहादुर थापाको अदालतमा भएको वयान ।  

१४.   उक्त राजीनामा माल कार्यालय गोरखाबाट पठाउँदैको अवस्था थपिएको हो वा पछि थपिएको हो । सो फाँटमा ०३५ श्रावण देखि साविक मु. मंगलबाबुबाट वर बुझारथ गरिलिएको हुँदा प्रत्येक महिनाको थान थानै बुझी लिएको हो । थप्ने थपाउने कार्यमा मेरो हात छैन भन्ने शेरबहादुर भुजेलेको वयान ।               

१५.   उल्लिखित राजीनामामा मैले अक्षर थपेको होइन को कसको सहायता लिई मेरा हस्ताक्षर हेरी मिलाई कसले थपे मलाई थाहा छैन । म निर्दोष छु भन्ने रामबाबु शर्मा अधिकारीको वयान ।

१६.    पारित राजीनामामा थपिएको भन्ने भनेको निउरेनीभन्ने अक्षर पारित भएकै अवस्थामा थपिएको हो । पछि थपिएको होइन । लेखक तुल्सीभक्त नै हुन् । मौकैमा थपिएकोले मेरो र अरु कसैको मिलोमतो छैन भन्ने भैरवबहादुर बस्नेतले गरेको वयान ।

१७.   माल अड्डामा रहेको सक्कल तमसुकमा किर्ते गरी सहिछाप गरेको होइन । पारित हुनुभन्दा अघि नै थपिएको हो र सहिछाप गरेको हौं । उक्त भनेको निउरेनीशब्द थप्नमा प्र. ईश्वरबहादुर र प्र. शेरबहादुरको कुनै सहमती छैन । उक्त थपिएको हस्ताक्षर प्र. रामबाबु या अरु कसको हो मैले नदेखेको हुँदा केही भन्न सक्तिन । म निर्दोष छु भन्ने प्र. दलबहादुर थापा मगरले गरेको वयान ।

१८.   प्रतिवादीहरुले किर्ते गरि अक्षर थपेको होइन भन्ने सर्जमिनका भ्वानसिंह बस्नेतको बकपत्र । भनिएका अक्षरहरु दुवै थरीको मञ्जुरीले पारित गर्नुभन्दा अगाडि थपिएको हो भन्ने सर्जमिनका पे्रमनिधी कोइरालाको बकपत्र । राजीनामामा पछि अक्षर थप्ने थपाउने गरेको होइनन् भन्ने सर्जमिनका रणबहादुर दानीको बकपत्र । राजीनामा पारित हुनुभन्दा अगावै अक्षर लेखिएको हो भन्ने सर्जमिनका चन्द्रबहादुर थापाको बकपत्र । उक्त अक्षरहरु पछि थपिएका होइनन् भन्ने सर्जमिनका बलराम बस्नेतको बकपत्र । उक्त अक्षर पारित हुनुभन्दा अगावै थपिएको हो भन्ने सर्जमिनका खिलबहादुर बस्नेतको बकपत्र । उक्त अक्षरहरु साहु आसामीको मञ्जुरीबाट थपिएको हो भन्ने सर्जमिनका टिकाराम बस्नेतको बकपत्र । अक्षरहरु साहु आसामिकै सहमतीमा पारित नहुँदै लेख्ने व्यक्तिले थपेको हो भन्ने सर्जमिनका पदमबहादुर थापाको बकपत्र । उक्त अक्षर पारित भएपछि थपेको भन्ने कुरा झुठ्ठा हो भन्ने सर्जमिनका बुद्धिबहादुर बस्नेतको बकपत्र ।              

१९.    प्र. ईश्वरबहादुर थापाको साक्षी शम्भुप्रसाद श्रेष्ठले ईश्वरबहादुरको चाल चलन राम्रो थियो । अक्षर थपि किर्ते गरे नगरेको मलाई थाहा छैन भनी गरेको बकपत्र । 

२०.   प्र.रामबाबु शर्माका साक्षी पूर्णप्रसाद श्रेष्ठले रामबाबु किर्ते गर्ने खालका व्यक्ति होइनन् भनि र निजकै साक्षी विष्णुहरि अर्यालले राजीनामामा थपिएका अक्षर रामबाबुले लेखेका होइनन् भनि गरेको बकपत्र ।

२१.   प्र.शेरबहादुरको साक्षी तुल्सीप्रसाद बरालले उक्त अक्षर शेरबहादुरले थपी किर्ते गरेका होइन भनि र निजकै साक्षी ईश्वरभक्त श्रेष्ठले शेरबहादुरले उक्त अक्षर थपे थपाएको होइन भनि गरेको बकपत्र ।            

२२.   प्र.भैरवबहादुर बस्नेतको साक्षी खिलबहादुरले उक्त अक्षर भैरवबहादुरले थपाएका होइनन् भनि, बसन्तराज शाहले उक्त अक्षर पारित गर्नु अघिनै थपिएको हो पछि थपिएको होइन भनि र निजकै साक्षी रत्नबहादुर बोगटीले राजीनामा पारित नहुँदै थपेको हो भनि गरेको बकपत्र । प्र. दलबहादुरको साक्षी चन्द्रबहादुर थापाले उक्त अक्षर रजिष्ट्रेशन पारित नहुँदैं थपेको हो भनि गरेको बकपत्र ।          

२३.   असामी दलबहादुर थापा मगर साहु भैरवबहादुर बस्नेत भएको मिति ०३३//४ को रु. ४,०००/को पारित राजीनामाको तेश्रो कित्तामा भनेको निउरेनी७ अक्षर रामबाबु अधिकारीको र थपेको ठाउँमा लागेको ल्याप्चे छाप दलबहादुरको हो भन्ने मिति ०३७//८ को अपराध अनुसन्धान कार्यालय रेखा संग्राहलय शाखाको पत्र ।

२४.   प्रतिवादी मध्येका दलबहादुर थापाको मिति ०३८÷१०÷१४ मा मृत्यु भएको भनि मृत्यु दर्ताको प्रमाणपत्रसहित निजको छोरा डम्बरबहादुरले दिएको ०३९//१० को निवेदनपत्र ।

२५.   थपिएको अक्षर प्र. रामबाबुको हस्ताक्षर भएको मिति ०३३//२४ को रु. २५००÷– को लिखतसंग मिल्छ भन्ने विशेषज्ञको राय भएको, जाहेरवाला ईश्वरबहादुरले राजीनामा किर्ते गरेको भनि प्रष्ट लेखाएको, पारित हुनुभन्दा अगावै अक्षर थपे भनिएता पनि लोकबहादुरले सारेको नक्कलमा सो साँध भएको उल्लेख भएको नदेखिंदा प्रतिवादीमध्येका रामबाबु अधिकारी, दलबहादुर थापा र भैरवबहादुरले किर्ते गरेको ठहर्छ । दलबहादुरको मृत्यु भैसकेकोले कानूनबमोजिम गर्नु । उक्त प्रतिवादीलाई जनही रु. २,२५०/जरिवाना र १ वर्ष कैद हुन्छ । प्रतिवादीमध्येका ईश्वरबहादुर थापाको हकमा निज जिम्माको कागज निजको सहमतीविना अरुले किर्ते गर्न सक्छन् भन्न नमिल्नाले निज किर्तेको मितयारा  ठहर्छ । निजलाई रु. ११२५/जरिवाना र ६ महिना कैद हुन्छ। प्रतिवादी मध्येका शेरबहादुर भूजेल उपर यो यसप्रकारले किर्तेमा संलग्न भएको भनि वादीले भन्न नसकी केवल कागज जिम्मा रहेको कारणबाट माग दावी लिएको देखिंदा निजले वादी दावीबाट सफाई पाउने ठहर्याएको गोरखा जिल्ला अदालतको फैसला । 

२६.   फैसलामा आधार लिएको विशेषज्ञको राय नै विश्वासयोग्य छैन । उक्त राय दिने व्यक्ति हस्ताक्षर विशेषज्ञ हो होइन भन्ने यकिन नगरी र निजलाई प्रमाण ऐन, २०३१ को दफा २३(७) बमोजिम परिक्षण नगरी निजको राय प्रमाणमा लिन मिल्दैन । थपिएका अक्षरबाट कसैलाई लाभ र कसैलाई हानी हुन सक्दैन । हामीहरुले लाभ फाईदा लिएको भन्ने समेत केही नदेखिएको अवस्थामा किर्ते ठहर गरेको शुरु फैसला उल्टी गरिपाऊँ भनि प्रतिवादी भैरवबहादुर बस्नेत र रामबाबु अधिकारीको गण्डकी अञ्चल अदालतमा परेको पुनरावेदन ।         

२७.   उक्त मुद्दाको जाहेरवाला म नै रहे भएको अवस्थामा किर्ते गरि मलाई फाइदा पुग्ने प्रश्नै आउँदैन । समान प्रतिवादी शेरबहादुरको हकमा लगाइएको बुँदा मेरोमा समेत लाग्नुपर्नेमा सो गरिएन । जसको लागि मैले अपराध गरेको भनिएको छ निज स्वयं कसूरमा ईन्कार छन् । मिसिलबाट मलाई कोही कसैले अपराधी भन्न नसकेको स्थितिमा अपराधी ठहर गरेको शुरुको फैसला उल्टी गरि सफाई पाउँ भनि गण्डकी अञ्चल अदालतमा परेको प्रतिवादी ईश्वरबहादुर थापाको पुनरावेदन ।        

२८.   माल कार्यालयबाट भुमिसुधार शाखामा पठाइएको लिखतमा अक्षर थपेको देखिएपछि तमसुकको जिम्मा लिने फाँटवाला शेरबहादुर नै भएपछि निजको सहमती वेगर बाहिरी व्यक्तिले थपेको भन्ने कुरा कल्पना पनि गर्न नसकिने स्थितीमा निज शेरबहादुर भुजेललाई सफाई दिने ठहर गरेको शुरु फैसला उल्टी गरि निजलाई शुरु अभियोग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने वादी श्री ५ को सरकारको तर्फबाट गण्डकी अञ्चल अदालतमा दायर भएको पुनरावेदन पत्र ।    

२९.   प्रतिवादी भैरवबहादुरको दाता दलबहादुरले ०२७//१८ मा मानबहादुरबाट लिएको पारित राजिनामामा पश्चिम किल्ला खोलो भन्ने उल्लेख भएको छ भनि वयानमा उल्लेख गरेकोले शुरुको ईन्साफ विचारणीय हुँदा विपक्षी झिकाउनुका साथै उक्त मितिको राजीनामाको सक्कलप्रतिसमेत गोरखा मा.पो.का. बाट झिकाउनु भन्ने आदेश । 

३०.   लिखत पास भैसकेपछि उक्त वाक्यांश थपिएको भन्ने कुराको सवुद प्रमाण वादी पक्षले पुर्याउन नसकेको र उक्त वाक्यांश थपिएर ल्याएको लिखत पास भएको हो भनि प्रतिवादीहरुका साक्षीहरु तथा सर्जमिनका मानिसको बकपत्र हुँदा पारित भै सकेपछि भनेको निउरेनीभन्ने शब्द थपि किर्ते गरेको नदेखिंदा पुनरावेदक प्रतिवादी भैरवबहादुर बस्नेत, रामबाबु शर्मा, ईश्वरबहादुर थापा र  मृतक दलबहादुर समेतले सफाई पाउने ठहर्छ । प्र. मध्येका शेरबहादुरलाई सफाई दिएको ईन्साफ मुनासिव र अन्य प्रतिवादीहरुलाई किर्ते गरेको ठहर शुरुको फैसला उल्टी हुने ठहर्याएको गण्डकी अन्चल अदालतको फैसला ।

३१.   जाहेरवाला ईश्वरबहादुरले शुरुमा जोहेरी दिंदा किर्ते भएको भनि जाहेर गरेको र प्रतिवादी कायम भै अदालतमा वयान गर्दा किर्ते भएको हो, रामबाबुले थपेको भनि वयान गरेको, विशेषज्ञबाट जाँच हुँदा थपिएको अक्षर रामबाबुका र ल्याप्चे दलबहादुरको हो भनि राय प्राप्त भएको छ । उक्त भनेको निउरेनीशब्द थप्दा भैरवबहादुरको जग्गाको किल्ला बढ्न गै पानीघाट गौचर खर्कको रुपमा रहेको जग्गा निजको हुने भएकोले प्रतिवादीलाई प्रत्यक्ष फाईदा पुग्नेहुन्छ । लालबहादुर दानीले मालपोतबाट लिएको उक्त लिखतको नक्कलमा भनेको निउरेनीभन्ने शब्द नभएको प्रतिवादीको वयान परस्पर बाझिएको उक्त लिखत लेख्ने तुल्सीभक्तले भनेको निउरेनीभन्ने शब्द आफुले नलेखेको भनि वयान गरेको समेतबाट प्रतिवादीहरु कसूरदार हुन भन्ने प्रमाणीत भैरहेकोमा सफाई दिनेगरी भएको गण्डकी अञ्चल अदालतको फैसला वदर गरी शुरु माग दावीबमोजिम प्रतिवादीहरुलाई सजाय गरिपाऊँ भन्ने व्यहोराको पुनरावेदन अदालत , पोखरामा पर्नआएको पुनरावेदन पत्र ।         

३२.   यसमा विवादित २०३३///२ मा पारित रु. ४,०००/को राजिनामा लिखतको ४ किल्ला भन्ने महलमा तेश्रा कित्ता भनि थपी लेखिएको भनेको निउरेनीभन्ने लिपिहरुसंग मिति २०३३//२४ को रु. २५००÷– को लिखतको कलमी लेखकका लिपिहरु जाँच गरिंदा अक्षरका लिपिहरु मिलेको भन्ने समेतको रेखा तथा लेखा विशेषज्ञको राय हुँदाहुँदै गण्डकी अञ्चल अदालतले प्रतिवादीलाई आरोपित कसूरबाट सफाई दिने गरेको फैसला केही फरक पर्नगएको देखिएबाट छलफलका निमित्त विपक्षी झिकाउनु भन्ने आदेश ।

३३.   वादी लोकबहादुर दानी प्रतिवादी भैरवबहादुर बस्नेत भएको प्रमाणको जालसाजी मुद्दामा संलग्न साहु भैरवबहादुर असामी दलबहादुर भएको ०३३//४ मा पारित भएको राजिनामाको नक्कल हेर्दा नक्कलमा भनेको निउरेनीभन्ने वाक्यांश रहेको देखिएन, तर राजीनामा कागजमा सो वाक्यांश रहे भएको देखिएको हुनाले सो थप्ने काम ०३५//६ पछि मात्र भएको हुनुपर्छ भन्ने र प्रमाणको सन्धी सर्पन कायम गरिपाऊँ भन्ने मुद्दामा भएको ०३६/१०/१२ को नक्सा हेर्दा निउरेनी खोला र सोबीचमा भएको वन बुट्यान क्षेत्र समेतलाई समावेश गर्नेगरी सच्याउन खोजेको भन्ने देखिएकोले सो ७ अक्षर थपेबाट प्रत्यक्ष फाईदा भैरवबहादुरलाई पुग्ने देखिन्छ । रेखा विशेषज्ञबाट जाँच गराउँदा प्र. रामबाबुको हस्ताक्षर र दलबहादुरको सहिछाप भिंडेको भन्ने राय भएको हुँदा पहिले तयार पारिएको लिखतमा सन्धी सर्पनको जग्गासमेत पर्नेगरि किल्ला हाली अक्षर थप गरि भैरवबहादुर बस्नेत, दलबहादुर थापा र रामबाबु शर्मा अधिकारी भै किर्ते गरेको देखिनआएबाट प्र. भैरवबहादुर र प्र. दलबहादुर थापालाई किर्ते कागजको ९ नं. बमोजिम र सो लिखतमा अक्षर थप गर्ने रामबाबुलाई किर्ते कागजको ११ नं. बमोजिम सजाय हुने ठहर गर्नुपर्नेमा सफाई दिएको गण्डकी अञ्चल अदालतको फैसला मिलेको नदेखिंदा सो हदसम्म उल्टी हुने र अन्य प्रतिवादीहरुलाई सफाई दिने गरेको फैसला मनासिव हुँदा सदर हुने ठहर्याएको पुनरावेदन अदालतको फैसला ।      

            ३४.   म उपर किर्ते कागजको १२ नं. को सजाय माग भएकोमा अदालतले वादी दावीलाई स्वयम परिवर्तन गरि फैसला भएको छ । म प्रहरी एवं अदालतमा इन्कार रहेको र सो कुरा मेरा साक्षी प्रमाण समेतबाट पुष्टी भएकोमा त्यसतर्फ नजर नै भएन । सरकारी कार्यालयको संरक्षणमा रहेको कागजमा मैले किर्ते गरेको ठहराई गरेको फैसला प्रमाण ऐन , ०३१ को दफा ५२ द्वारा निर्दिष्ट प्रक्रिया पुरा नगरी मेरो विरुद्ध प्रमाणमा लिन मिल्दैन । मुलुकी ऐन अ.वं. १८४ र १८५ नं. र प्रमाण ऐनको दफा ३, ५४, २५, ५२, ७(ग) समेतको व्याख्यात्मक त्रूटि एवं ने.का.प. २०३० पृ. २९ ने.का.प. २०३१ पृ. ४६ ने.का.प. ०४७ पृ. ३७८ ने.का.प. २०४३ पृ. ३३६ समेतलाई पालना नगरिएको पुनरावेदन अदालतको फैसलामा न्याय प्रशासन ऐन, ०४८ को दफा १२(क) र (ख) को त्रूटि रहेकोले दोहोराई हेरी पाउँ भन्ने रामबाबु शर्माको निवेदन ।         

३५.   लिखतमा थपि किर्ते गरेको सम्वन्धमा विशेषज्ञको रायलाई प्रमाण ऐन, २०३१ को दफा ५२ को विपरीत प्रमाण ग्रहण गर्ने र किर्ते कागजको १२ नं. को दावी नपुग्ने ठहर गरेको अवस्थामा प्रस्तुत श्री ५ को सरकार वादी भएको मुद्दाबाट प्रतिवादीहरुलाई किर्ते कागजको ९ र ११ नं. बमोजिम सजाय गर्ने गरेको पुनरावेदन अदालतको फैसलामा प्रमाण ऐन,२०३१ को दफा ५२ र वादी दावीभन्दा बाहिर गै ईन्साफ गर्न नहुने प्रतिपादित सिद्धान्तसमेतको विपरीत भै कानूनको व्याख्यात्मक त्रूटिसमेत रहेकोले नयाय प्रशासन ऐन २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) (ख) अन्तर्गत दोहोराई हेर्ने निस्सा प्रदान गरिएको यस अदालतको मिति २०५५।५।३१ को आदेश । 

३६.   नियमबमोजिम दैनिक पेशी सूचीमा चढी निर्णयार्थ इजलास समक्ष पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता महादेव यादवले भनेको निउरेनीसात अक्षर थपिई किर्ते गरेको भन्ने दावी भएको प्रस्तुत मुद्दामा उक्त थपिएको ठाउंमा आसामी दलबहादुरको सहीछाप परेको छ र लिखत पारित हुनुपूर्व नै त्यो थपिएको कुरामा साहु आसामीको मुख मिलेको हुनाले रेखा विशेषज्ञद्वारा दिएको रायमा रामबाबु अधिकारीको हस्ताक्षर भएको भनी राय व्यक्त गरिएको छ । पारित भैसकेपछिको लिखतमा उक्त अक्षरहरु थपिएका हुन भने कागज जसको जिम्मा हो त्यस्तो जिम्मेवार व्यक्तिलाई किन सजाय गरिएन ? थपिएको भनिएको अक्षरबाट जसलाई असर पर्ने हो सम्वन्धित व्यक्तिबाट उजूर परेको छैन भने अर्कोतर्फ दावी किर्ते कागजको १२ नं. अनुसार किर्ते गर्ने मुख्य अभियुक्त भनी दावी लिइएको छ तर सजाय गर्दा उक्त किर्ते कागजको ११ नं. बमोजिम मतियार ठहर्याई सजाय गरिएको दावीबमोजिम कसूर गर्ने व्यक्तिको ठहर नभएपछि गराउने व्यक्ति जिम्मेवार भई त्यस्तो व्यक्तिलाई कसूरदार ठहर्याउनु पर्ने अवस्थामा दावी लिएको व्यक्तिलाई मुख्य कसूरदार ठहर्याउन नसकी मतियारमात्र ठहर्याएको देखिंदा कि माग दावी गलत कि सजाय गलत भएको छ । रामबाबु लेखक, साक्षी केही होइनन, कसैले पोलेको आधारमा अभियोग लगाइएको हो, साहु आसामी दुवैले आरोप लगाएका छैनन्, रामवाबुले थपेको प्रमाणित भएको अवस्थामा फांटवाला कसरी उम्कन्छ ? तसर्थ वादी दावीभन्दा वाहिर गएर भएको फैसला त्रूटिपूर्ण भएकाले मेरो पक्षले सफाई पाउनुपर्छ भनी वहस गर्नुभयो ।

३७.   यसैगरी प्रत्यर्थी वादीको तर्फबाट उपस्थित विद्वान उपन्यायाधिवक्ता श्री जनकबहादुर अधिकारीले लिखत पारित भइसकेपछि लिएको नक्कलमा थपिएको व्यहोरा नभएकोले लिखत पारित हुनुपूर्व नै थपिएको भन्न सकिने अवस्था छैन । सम्बन्धित फांटवालाले दुवै प्रतिवादीलाई पोल गरेको अवस्था विद्यमान छ , रेखा विशेषज्ञले यी पुनरावेदकको हस्ताक्षर भएको भनी राय दिएको तर विशेषज्ञको अदालतमा भएको अनुपस्थितिले मात्रै यी पुनरावेदकलाई सजायबाट सफाइ दिनु उचित नहुने हुंदा पुनरावेदन अदालतले गरेको फैसला सदर हुनुपर्दछ भनी वहस प्रस्तुत गर्नुभयो ।

३८.   उपर्युक्त दुवै पक्षको तर्फबाट प्रस्तुत भएको बहससमेतलाई दृष्टिगत गरी वादी दावीबमोजिम हुनुपर्ने हो होइन ? पुनरावेदकको जिकिरबमोजिम निजले अभियोग दावीबाट सफाई पाउनुपर्ने हो होइन भन्ने विषयमा नै निर्णय दिनुपर्ने देखियो ।

३९.   निर्णयतर्फ विचार गर्दा २०३३।६।४ मा पारित  राजिनामा लिखतमा साहू आसामी तथा यी पुनरावेदक रामबाबुसमेत मिली पछिबाट भनेको निउरेनीभन्ने अक्षरहरु थपी किर्ते गरेको भन्ने वादी नेपाल सरकारको मुख्य दावी रहेको छ । तर यी प्रतिवादीहरुले उक्त अक्षरहरु राजिनामा पारित भएपश्चात थपेको नभई लिखत हुँदैको अवस्थामा थपी आसामीको तत्काल सही भएको भन्नेसमेत वयान रहेको छ । जिल्ला अदालत र पुनरावेदन अदालतसमेतले उक्त लिखतमा थपिएको अंशका ल्याप्चे तथा अक्षरहरु विशेषज्ञलाई जांच गर्न पठाएको र रेखा विशेषज्ञले थपिएका अक्षरहरु पु.वे. रामवावु शर्मा अधिकारीको निजले ०३३।६।२४ को रु. २५००।लिखतमा रहेको अक्षरहरुसंग मिलेको भनी राय दिएको र सोही रायको आधारमा यी पुनरावेदक रामबाबु शर्मा अधिकारीलाई किर्ते कागजको ११ नं. बमोजिम किर्ते कार्यको मतियार ठहर्याई सजाय गरेको पाइन्छ । तर रेखा विशेषज्ञको उक्त रायलाई प्रमाणमा लिनका लागि अदालतले प्रमाण ऐन, २०३१ को दफा २३(७) र दफा ५२ बमोजिम साक्षीसरह वकपत्र गराई पक्षलाई जिरह गर्ने मौकासमेत दिएपछिमात्र सो रायलाई प्रमाणमा लिनुपर्ने हुन्छ । तर अदालतले सोबमोजिम जांच गरी राय दिने विशेषज्ञलाई बकपत्र गराएकोसमेत देखिएन । यस अदालतबाट निज विशेषज्ञलाई झिकाई बकपत्र गराउनु भन्ने आदेश भएकोमा पटक पटक म्याद सूचना पठाउंदा पनि विशेषज्ञको वतन नै फेला नपरेको भनी विशेषज्ञले उपस्थित भई बकपत्र गर्न र पक्षले निजसंग जिरह गर्न पाएको अवस्थासमेत देखिदैन । विशेषज्ञको बकपत्र हुन नसकी र पक्षले जिरह गर्न नपाएको यस्तो रायलाई उक्त कानूनी व्यवस्थाबमोजिम प्रमाणको रुपमा ग्रहण गर्न र सोही रायको आधारमा उक्त थपिएका भनिएका अक्षरहरु यी पुनरावेदककै हुन् भन्न मान्न मिल्ने हुँदैन । यस सम्बन्धमा पुनरावेदक वादी बेचु साहू तेली विरुद्ध प्र.रामप्रसाद साहू तेलीसमेत भएको ०४१ सालको फौ.पु.नं. ६६४५ को किर्ते जालसाज मुद्दामा विशेषज्ञको रायलाई प्रमाणमा लिनको लागि राय दिने विशेषज्ञलाई साक्षीसरह बकपत्र गराई  उक्त रायलाई समर्थन गराउन आवश्यक पर्ने (ने.का.प. ०४३ नि.नं २६८८ पृष्ठ ३३६) र २०४६ सालको दे.पु.नं. ५४९ को बकसपत्र पारित मुद्दामा रेखा विशेषज्ञको रायमा हस्ताक्षरको  सही नमिल्ने  कारण खुलेको  र आफ्नो रायको सम्बन्धमा अदालतमा आई  बयान गरेको समेत पाइदैन । त्यस्तो रायलाई प्रमाण ऐन , २०३१ को दफा १८ ले प्रमाणको रुपमा ग्रहण गर्न नमिल्ने (ने.का.प. २०५१ निर्णय नं. ४८५६ पृष्ठ ५७ ) भनी सिद्धान्तसमेत प्रतिपादन भएको अवस्थामा बकपत्रै नगराई उक्त रायलाई प्रमाणमा लिएको पुनरावेदन अदालत , पोखराको फैसलामा प्रमाण ऐन, ०३१ को दफा १८, २३(७) र ५२ को कानूनी व्यवस्थाको उल्लंघन भएको देखिने र यस अदालतबाट प्रतिपादित उल्लिखित नजीरसमेतको विपरीत हुने अवस्था छ ।

४०.   तसर्थ लिखतमा थपिएको अंश लिखत भइसके पश्चात थपिएको र सो थप्दा यी पुनरावेदकको हस्ताक्षर रहेको देखिने स्पष्ट, कानूनसंगत एवं विवादरहित प्रमाण मिसिलमा संलग्न रहेको नदेखिएकाले यी पुनरावेदकलाई कसूरदार ठहर्याई सजाय गरेको गोरखा जिल्ला अदालतको फैसला तथा त्यसलाई सदर गरेको पुनरावेदन अदालत, पोखराको फैसला निज पुनरावेदकको हकमा उल्टी हुने र यी पुनरावेदकले अभियोग दावीबाट सफाई समेत पाउने ठहर्छ । अरु तपसिल खण्ड अनुसार गर्नु । मिसिल नियमानुसार वुझाई दिनु ।

तपसिल

 

माथि इन्साफ खण्डमा उल्लेख भए अनुसार पुनरावेदन अदालत पोखराको फैसला उल्टी भई पुनरावेदक प्रतिवादी रामवावु शर्मा अधिकारीले अभियोग दावीवाट सफाई पाउने ठहरेकाले पुनरावेदन अदालत पोखराले गरेको कैद र जरिवाना पुनरावेदक प्रतिवादी रामवावु शर्मा अधिकारीलाई नलाग्ने हुँदा सोको लगत कटृा गरी उक्त जरिवाना असूल भइसकेको भए फिर्ता दिनु र पुनरावेदन गर्दा निजले राखेको जेथाजमानी फुकुवा गरी दिनु भनी गोर्खा जिल्ला अदालतमा लेखी पठाउनु ।

 

उक्त रायमा सहमत छु ।

                                    

न्या.रामप्रसाद श्रेष्ठ

 

ईति सम्वत् २०६३ साल जेष्ठ १५ गते रोज २ . शुभम्........

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु