निर्णय नं. ८२४१ - अंश चलन ।

निर्णय नं. ८२४१ माघ, २०६६ अङ्क १०
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री खिलराज रेग्मी
माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला
२०५९ सालको दे.पु.नं. ८९६५, ८९९८, ८९९०
फैसला मितिः २०६६।७।४।४
मुद्दा : अंश चलन ।
काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं २८ बस्ने भक्तध्वज प्रधान
विरुद्ध
प्रत्यर्थी/वादीः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं ३१ बागवजार बस्ने प्रेमध्वज प्रधान
एवं
पुनरावेदक/प्रतिवादीः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालीका वडा नं २८ नघल वांगेमुढा बस्ने भक्तध्वज प्रधानको श्रीमती लक्ष्मी प्रधान समेत
विरुद्ध
प्रत्यर्थी/वादीः ऐ. ऐ.वडा नं ३१ वागवजार बस्ने प्रेमध्वज प्रधान
र
पुनरावेदक/प्रतिवादीः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं २३ नघल बस्ने अमिरध्वज प्रधान
विरुद्ध
प्रत्यर्थी/वादीः ऐ.ऐ. वडा नं ३१ बागबजारबस्ने गंगादेवी प्रधानको मु.स. गरी आफ्नो हकमा समेत ऐ.ऐ बस्ने प्रेमध्वज प्रधान
शुरु फैसला गर्ने :
मा.न्या. श्री दीपककुमार कार्की
पुनरावेदन फैसला गर्नेः
मा.न्या. श्री दामोदरप्रसाद प्रजापति
मा.न्या. श्री राजेन्द्रराज पन्त
§ सामान्य अर्थमा कुनै पनि व्यक्तिलाई हेरचाह र सेवा सुश्रुषा गर्ने सवैभन्दा नजिकको हकवाला नै संरक्षक हुने हुन्छ । यस्तो संरक्षकको क्षेत्रभित्र मुख्य रुपमा पत्नी, छोरा, छोरी जस्ता नजिकका नातेदारहरू प्राथमिकताको क्रमअनुसार पर्ने ।
(प्रकरण नं.२)
§ सौतेनी छोरा र भतिजाबीच हकवाला एवं संरक्षकत्वको प्राथमिकता निर्धारण गर्ने सम्बन्धी विद्यमान कानूनी व्यवस्थाबमोजिम सौतेनी छोराले प्राथमिकता नपाउने भन्न नमिल्ने ।
§ आफ्नो उदरको छोरा, छोरी नभएको अवस्थामा सौतेनी छोरा पनि सौतेनी आमाको प्राकृतिक संरक्षक हुनसक्ने र उसको सरक्षकत्वले भतिजोको संरक्षकत्वभन्दा प्राथमिकता पाउने ।
(प्रकरण नं.४)
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल, विद्वान अधिवक्ताहरू श्री रवीन्द्र आचार्य, विश्वप्र्रकाश सिग्देल एवं शम्भु थापा
प्रत्यर्थी वादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री श्यामप्रसाद खरेल एवं विद्वान अधिवक्ता श्री बालकृष्ण नेउपाने र पिताम्वरप्रसाद सिलवाल
अवलम्वित नजीरः संवत् २०५० सालको रिट नं. ४२
सम्बद्ध कानूनः
§ अंशबण्डाको १८ नं.
आदेश
न्या. खिलराज रेग्मीः पुनरावेदन अदालत पाटनको मिति २०५८।११।२३ को फैसलाउपर प्रतिवादीहरूका तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार रहेको छ :-
मुल पुरुष उत्तरध्वज प्रधानका २ छोरा जेठा रत्नध्वज प्रधान र कान्छा भक्तध्वज प्रधान, जेठा रत्नध्वज प्रधानका दुई श्रीमती जेठी स्व. प्राणदेवी र कान्छी गंगादेवी प्रधान हुन् । जेठी प्राणदेवीका १ छोरा वादी प्रेमध्वज प्रधान र कान्छी गंगादेवी निःसन्तान रहेकी छन् । विपक्षी प्रतिवादीहरू कान्छा भक्तध्वज प्रधानका छोराहरूमा अमिरध्वज प्रधान, दिनेशध्वज प्रधान, राजेशध्वज प्रधान र भक्तध्वजका श्रीमतीहरूमा लक्ष्मीप्रधान र सानीमैया प्रधान हुन् ।
उत्तरध्वजका दुई छोराहरू रत्नध्वज र भक्तध्वजबीच अंशबण्डा भएको छैन । रत्नध्वजको हकबालाहरूमा हाल हामी वादीहरू गंगादेवी र म प्रेमध्वज मात्र छौं । रत्नध्वजकी जेठी श्रीमती प्राणदेवी २००१।४।२८ मा पारित अंश छोडपत्रको कागजबाट अलग भइसकेकी र रत्नध्वजको २०४७ सालमा मृत्यु भइसकेकोले वुवा रत्नध्वजको अंश हकखाने हामी दुई जना मात्र अंशियार छौं । विपक्षी भक्तध्वज आफैं हुनुहुन्छ । आमा गंगादेवीको मानसिक अवस्था ठीक नभएको र पक्षघातको रोग लागी अशक्त अवस्थामा हुनुहुन्छ । निज गंगादेवीको सवैभन्दा नजिकको संरक्षक म वाहेक कोही पनि छैन । औषधोपचार र स्याहारसुसार मैले नै गर्दै आएको छु । गंगादेवीको आमा जुलुमको पनि कोही सन्तान नहुँदा निज जुलुमले शेषपछिको वकसपत्र गरिदिनुभएको र निज जुलुमको २०४३ सालमा मृत्यु भएकोले आमा जुलुमको सम्पत्ति र प्रेमध्वजको कमाईबाट गुजारा चलाउदै आएकी छु । विपक्षीहरूले हाम्रो अंश हक दिनुको साटो हामी वादी आमा छोराहरूलाई एक अर्कादेखि अलग गराउन अपहरण गर्ने जस्ता कार्य समेत गर्ने गरेको हुँदा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी सम्पूर्ण पैत्रिक सम्पत्तिको फाँटवारी लिई रत्नध्वज र भक्तध्वजको दुई भाग लगाई रत्नध्वजको १ भाग अंश हामी फिरादीलाई दिलाई पाऊँ भन्ने समेत व्यहोराको गंगादेवीको हकमा अ.वं. ८३ नं. बमोजिम अनुमति लिई आफ्नो हकमा समेत प्रेमध्वज प्रधानको तर्फबाट पर्न आएको फिराद दावी ।
विपक्षी प्रेमध्वज भाउजू गंगादेवीको संरक्षक हकबाला होइनन् । भाउजू प्राणदेवी २००१ सालमा हामीहरूसँग अंश बुझेको लिखत पारित गरी छुट्टिएपछि निज प्रेमध्वज आमाका साथमा वागवजारमा बस्दै आएको कुरा काठमाडौं जिल्ला का.न.पा. वडा नं ३१ को मतदाता नामावली र प्रेमध्वजले आफ्ना वाजे र वावुलाई २०३१ सालमा लेखेको पत्रले पनि पुष्टि गर्दछ । विपक्षी प्रेमध्वज अलग भिन्न भएको र गंगादेवी निसन्तान भएकाले मेरो छोरा अमिरध्वजलाई छोराको रुपमा माया ममता गर्नुभएको र अमिरले पनि दाजु भाउजूको स्याहार सुसार र हेरविचार गर्दै आएको हो । स्याहार सुसार गरेको कारण २०४५।२।६ मा स्व. दाजु रत्नध्वज साक्षी वसी गंगादेवीले अमिरध्वजलाई शेषपछिको वकसपत्र गरिदिनुभएको छ । त्यसैगरी रिझाए वापत गंगादेवीले मेरी श्रीमतीलाई पनि वकसपत्र गरिदिनुभएकोले विपक्षी प्रेमध्वज, भाउजू गंगादेवीसँग एकासगोलमा वसेको संरक्षक हकबाला हुन सक्दैनन् । भाउजू गंगादेवीलाई स्नायूसम्बन्धी रोग लागेकोमा मानसिक रोग लागेको भनी रोग समेत नचिन्ने यी विपक्षीले भाउजूको औषधोपचार गरे होलान् भनी अनुमान समेत गर्न सकिँदैन । सौतेनी छोराले आमालाई माया ममता गर्न नसक्ने पनि स्वाभाविकै हो । एकासगोलमा नभएको भन्ने कुरा गंगादेवीले पारित गरिदिएको बकसपत्रमा आफ्नो वतन नघल लेखाएबाट पनि पुष्टि हुन्छ । भाउजुको जीवन गुजारा प्रेमध्वजको कमाईबाट नभई आफ्नी आमाको अपुताली र हाम्रा संयुक्त सम्पत्तिबाटै चलेको छ । दाजुको जीवनकालमा कुनै पनि सम्पत्तिलाई तेरो मेरो भनेनौं । भाउजूले आफ्नी आमाबाट प्राप्त गरेको का.न.पा वडा नं २२(घ) को कि.नं ५१ को घरहरू भाउजूको नाममा भएपनि वनाउँदा संयुक्त सम्पत्तिबाट वनाइएको हो । भाउजूको नाममा रहेका आफूखुस गर्न पाउने सम्पत्ति कति वकसपत्र दिइसक्नु भएको छ । अन्य सम्पत्ति कोही दाजुको नाममा छन् भने कोही मेरो नाममा छन् । गंगादेवीको नामको कि.नं ७४० को घरजग्गा स्व. दाजु समेतको सल्लाहबाट गंगा पराजुलीलाई विक्री गर्ने करार गरी रु.२,५०,०००।– प्राप्त गरिसक्नु भएको थियो । लिखत पारित गरिदिन बाँकी छ । अतः विपक्षीको हकदैयाविहीन फिराद दावीबाट फुर्सद पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी भक्तध्वज प्रधानको प्रतिउत्तरपत्र ।
विपक्षीलाई गंगादेवीको तर्फबाट अंश मुद्दा गर्ने हकदैया नै छैन । अ.वं. ८३ नं को आधारमा अमिरध्वजले नै अंश मुद्दामा विपक्षी प्रेमध्वज विरुद्ध गंगादेवीको तर्फबाट नालिस गरिसकेका छन् । गंगादेवीको एकमात्र हकबाला संरक्षक अमिरध्वज हुन् भन्ने कुरा भक्तध्वजको प्रतिउत्तर जिकीरबाट समेत पुष्टि भएकोले झूठ्ठा फिराद दावी खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको सानुमैया प्रधान, लक्ष्मी प्रधान, दिनेशध्वज र राजेशध्वज प्रधानको संयुक्त प्रतिउत्तरपत्र ।
वादी प्रेमध्वज गंगादेवीका सौतेनी छोरा हुन् । सौतेनी छोराबाट आमाको सँधै अहित हुने कार्य गरेको कुरा विपक्षीले २०१५, २०३१ सालमा लेखेका पत्रबाट पुष्टि हुन्छ । यी वादीलाई गंगादेवीको तथाकथित संरक्षक वन्ने अधिकार छैन । गंगादेवीको संरक्षक यी वादीबाट नहुने देखी वादीका वावु रत्नध्वजले आफू अन्तर साक्षीमा वसी र.नं. ६४०८ (ख) को लिखत २०४५ सालमा पारित गरिदिनु भएको कारण गंगादेवीको हेरचाह र संरक्षक एवं परलोक पछि पिण्डपानी गर्ने केवल मेरो कर्तव्य हो । विपक्षीले स्नायूसम्बन्धी रोग लागेकी गंगादेवीलाई मानसिक रोग लागेको भनेका छन् । रोगसम्म नचिनेका विपक्षीले हेरचाह गरेको र उपचार गरेको भन्ने कुरा झूठ्ठा हो । विपक्षीको आमा प्राणदेवी २००१ सालमा नै छुट्टिभिन्न अलग वसेकी र यी विपक्षी समेत आमासँगै वसेकाले गंगादेवी र रत्नध्वजको औषधी उपचार र स्याहारसुसार मैले गर्दै आएको छु । आमा गंगादेवी स्नायू रोगको कारण हिडडुल र बोल्न समेत सक्नु हुँदैन । विपक्षीले अंश मुद्दा गर्दैमा गंगादेवीको अंश समेत निजको सगोलमा हुन सक्दैन । गंगादेवीको अंश हक प्राप्तिका लागि म हकबाला संरक्षक बनी विपक्षी समेतलाई प्रतिवादी बनाई यसै अदालतको अनुमतिबाट अंशमुद्दा दायर गरेको र उक्त अनुमतिपत्र रीतपूर्वक छ भनी पुनरावेदन अदालत पाटनले समेत आदेश जारी गरेबाट प्रस्तुत जिकीर गंगोदेवीको हकमा समेत मानी कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको अमिरध्वज प्रधानको प्रतिउत्तरपत्र ।
गंगादेवी प्रधानको मिति २०५१।३।१८ मा आफ्नो कालगतिले परलोक भएकीले निजको हकमा मुद्दा सकार गरिपाऊँ भनी वादी प्रेमध्वज प्रधानको निवेदन मिति २०५१।४।३१ मा परी मुद्दा सकार भई कारवाहीयुक्त अवस्थामा रहेको ।
गंगादेवी प्रधान प्रेमध्वज प्रधानको बुबासँग लाजिम्पाटमा वस्नुहुन्थ्यो, विरामी हुँदा प्रेमध्वज प्रधान र निजका बुबाले हेरचाह गर्नुहुन्थ्यो । गंगादेवीको अवस्था अचेत थियो भन्ने समेत व्यहोराको वादीका साक्षी गौतमकुमार श्रेष्ठले गरेको वकपत्र ।
रत्नध्वजको एकमात्र छोरा प्रेमध्वज हुन् । गंगादेवीको हेरचाह रत्नध्वज छँदासम्म उनैले र रत्नध्वज मरेपछि छोरा प्रेमध्वजले गर्दै आएका थिए । यी तीनै जना आफ्नै घर लाजिम्पाटमा वस्दै आएका थिए भने भक्तध्वजका सन्तान छुट्टै नघलमा वस्दै आएका थिए । करिव १० वर्षदेखि गंगादेवी अस्वस्थ रहेकी र निजको स्याहारसुसार, औषधोपचार सबै प्रेमध्वज र निजको श्रीमती किरणबाट समेत हुँदै आएको थियो भन्ने सम्मको वादीका साक्षी अर्जुनबहादुर श्रेष्ठको बकपत्र ।
रत्नध्वजको मृत्यु हुँदा अन्तिम दाहसंस्कारमा लाजिम्पाटबाट आर्यघाटमा जाँदा गंगादेवीलाई पनि लगिएको र त्यसै समयमा गंगादेवीलाई अपहरण गरेको हल्लाभयो । पछि अमिरध्वज समेतका मान्छेले लगेको कुरा पत्रपत्रिकामा पनि आएको थियो । पछि गंगादेवीको मृत्युपश्चात् काजकिरिया प्रेमध्वजले गर्नुभएको हो भन्ने समेत व्यहोराको वादीका साक्षी श्याम शाहीले गरेको बकपत्र ।
स्व. गंगादेवी प्रधानको पति रत्नध्वज प्रधानको मृत्यु हुनुअघि र पछि गंगादेवी प्रधनको पालनपोषण रेखदेख, औषधी उपचार लगायत संरक्षणसम्मका काम अमिरध्वजबाट भएको हो । गंगादेवी वाङ्गेमुढामा बस्नुहुन्छ । गंगादेवीको भेलोरमा औषधी उपचार रत्नध्वजबाट भएको हो । मृत्यु हुनु अगाडि गंगादेवी कोसँग हुनुहुन्थ्यो थाहा छैन, भन्ने समेत व्यहोराको प्रतिवादीका साक्षी गौरी जोशीले गरेको वकपत्र ।
गंगादेवीको हेरचाह स्याहारसुसार र मृत्यु पछि काजकिरिया अमिरध्वजले गरेका हुन् र संरक्षक पनि अमिरध्वज नै हुन् । सर्वोच्च अदालतको निर्णयअनुसार गंगादेवीलाई प्रेमध्वजको जिम्मामा लगाईएको थियो, उपचार र रेखदेखको कमीले मृत्यु भएको हो भन्ने समेत व्यहोराको प्रतिवादीका साक्षी कमलदास श्रेष्ठले गरेको वकपत्र ।
सौता भएको कारण लोग्नेसँग नमिली प्रेमध्वजकी आमा प्राणदेवी छुट्टिभिन्न भई अलग वसेकाले गंगादेवीको औषधी उपचार भक्तध्वज र अमिरध्वजले गरेका हुन् । काजकिरिया भक्तध्वजले र सामान जुटाउने कार्य अमिरध्वजले गरेको थाहा छ । प्रेमध्वजले काजकिरिया गरेको थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादीका साक्षी वमबहादुर कार्कीले गरेको वकपत्र ।
आर्यघाटमा रत्नध्वजको संस्कार भएपछि गंगादेवीलाई पहिलेदेखि स्याहार गर्दै आउनुभएका अमिरध्वजले नघलमा लानु भएको हो । अदालतले प्रेमध्वजको जिम्मा लगाएको तीन महिनापछि गंगादेवीको मृत्यु भएको हो । रत्नध्वज र गंगादेवी वेला मौकामा चौतारा, लाजिम्पाट आदि गाउँमा जाने गरेपनि प्रायसः नघलमै बस्नुहुन्थ्यो भन्ने समेत व्यहोराको प्रतिवादीका साक्षी ईश्वरलाल श्रेष्ठले गरेको बकपत्र ।
प्राणदेवी २००१ सालदेखि र प्रेमध्वज २०१५ सालदेखि छुटिृएर बस्ने गरेका हुन् । रत्नध्वज र गंगादेवीको हेरचाह, स्याहारसुसार अमिरध्वजले गरेका कारण २०४५ सालमा वकसपत्र पाएका हुन् । प्रेमध्वजसँग मनमुटावको कारण अमिरध्वज गंगादेवीको नजिकको हकदार भए भन्ने समेत व्यहोराको प्रतिवादीका साक्षी रत्नध्वजले गरेको वकपत्र ।
रत्नध्वज र भक्तध्वजबीच अंशबण्डा भएको छैन । रत्नध्वज कहिले चौतारा, कहिले लाजिम्पाट कहिले नघल बस्नुहुन्थ्यो । गंगादेवीको उपचार अमिरध्वजबाट भएको र काजकिरिया पनि अमिरध्वजबाट नै भएको हो भन्ने समेत व्यहोराको प्रतिवादीका साक्षी मुकुन्द शर्माले गरेको बकपत्र ।
वादी प्रतिवादीहरू अंशियार हुन् भन्ने कुरामा विवाद नभएकाले फिराद परेको अघिल्लो दिन मिति २०४९।५।२ गतेलाई मानो छुट्टिएको मिति कायम गरी दुवैपक्षसँग रहेको पैत्रिक सम्पत्तिको तायदाती फाँटवारी दाखेल गर्न लगाउनु भन्ने समेत व्यहोराको मिति २०५१।११।२ मा शुरु काठमाडौं जिल्ला अदालतबाट भएको आदेश अनुसार तायदाती फाँटवारी पेश भएको ।
वादी प्रतिवादीबीच अंशबण्डा भैसकेको अवस्था पनि नदेखिँदा वादीले अंश पाउने नै देखियो । २०५१।११।२ को आदेशबमोजिम फिराद परेको अघिल्लो दिन २०४९।५।२ लाई मानो छुटिृएको मिति कायम गरी पेश हुन आएको तायदाती फाँटवारीमा गंगादेवीको आमा जुलुम श्रेष्ठले गंगादेवीलाई २००५।१२।२९ गतेको पारित शेषपछिको वकसपत्रबमोजिम पाएको घरजग्गा बण्डा नलाग्ने भन्ने वादिको तायदातीमा उल्लेख भएको देखियो । गंगादेवीको हकमा समेत भनी वादीले प्रस्तुत फिराद दायर गरेको भए पनि निजको मृत्यु भैसकेको देखिँदा वादी प्रेमध्वज प्रधान र भक्तध्वज प्रधान दुई मात्र अंशियार कायम हुन आएको देखियो । गंगादेवी समेत अंशियार भएकोमा निजको मृत्युपश्चात् बाँकी अंशियारमा सो सम्पत्ति आउने हुन्छ भने तत्काल अवस्थामा वकसपत्रबाट प्राप्त गरेको भन्ने आधारमा अंशबण्डा नलाग्ने भन्ने पनि नभएको समेतका आधारमा गंगादेवीको नाउँमा जुनसुकै व्यहोराबाट प्राप्त सम्पत्ति समेत बण्डालाग्ने नै देखियो । सो सम्पत्ति बण्डा नलाग्ने कानूनी आधार समेत सो तायदाती पेशगर्दा उल्लेख हुन सकेको पनि पाइएन । अष्टमान र काजीमानबाट पाएको जग्गा बण्डा नलाग्ने भन्ने हकमा दाइजो पेवाबाट खरीद गरेको प्रमाण नभएकोले प्रमाण नै नभएको अवस्थामा सो बमोजिमको सम्पत्ति हो भनी यकीन गर्न मिलेन । दाइजो पेवाको रकमबाट खरीद गरेको भन्ने नै नदेखिएकोले त्यसबाट बढे बढाएको भन्न नसकिने र निज गंगादेवी प्रधानको सगोलकै अवस्थामा मृत्यु भएकाले कुनै अंशियारको मात्र हक लाग्ने भनी निष्कर्ष निकाल्नु न्यायोचित देखिएन । तायदातीमा पेश हुन आएका अन्य सम्पत्ति समेत बण्डा नलाग्ने अवस्था देखिएन । वादी प्रतिवादीबाट पेश हुन आएको तायदाती फाँटवारीमा उल्लेख भएको सम्पूर्ण सम्पत्तिबाट बण्डा लाग्नसक्ने देखियो । वादीले गंगादेवीको हकमा र आफ्नो हकमा समेत अंशमा दावी गरेको भएपनि गंगादेवीको मृत्यु भैसकेको र बाँकी अंशियार वादी प्रेमध्वज प्रधान र प्रतिवादी भक्तध्वज प्रधान मात्र देखिँदा पेश भएको तायदाती फाँटवारीमा उल्लेख भएको सम्पूर्ण सम्पत्तिबाट वादी प्रेमध्वजले २ भागको १ भाग अर्थात् आधा अंश पाउने र चलन समेत चलाई दिने ठहर्छ भन्ने समेत व्यहोराको शुरु काठमाडौं जिल्ला अदालतको मिति २०५६।७।१६ को फैसला ।
वादी दावीबमोजिम अंश पाएकोमा मलाई चित्त बुझेको, तर आमा गंगादेवीको नाममा दर्ता भएको म पुनरावेदक वादीले पेश गरेको तायदाती फाँटवारीमा बण्डा गर्नुनपर्ने महलमा उल्लेख भएको काठमाडौं जिल्ला का.म.न.पा. वडा नं २३ को कि.नं ७४०, ५१, १९, १०९, ९९, ११ को घरजग्गा गंगादेवीको आमा जुलुम श्रेष्ठले गंगादेवीलाई २००५।१२।१९ मा शेषपछिको वकसपत्र पारित गरी दिएको र जुलुम श्रेष्ठ २०४३।१।२० मा परलोक हुनुभएपछि उक्त सम्पत्ति गंगादेवीको नाममा आएको र उक्त सम्पत्ति अंशबण्डाको १८ नं. र स्त्री अंशधनको ५ नं. ले बण्डा नलाग्ने सम्पत्ति हो । विपक्षी अमिरध्वजले पुनरावेदन अदालत पाटनमा दर्ता गरेको निषेधाज्ञा मुद्दामा गंगादेवीका नाममा दर्ता भएका सवै सम्पत्ति दाइजो पेवाको बण्डा नलाग्ने भनी उल्लेख गरेबाट समेत उल्लिखित सम्पत्ति बण्डा नलाग्ने सम्पति हुन् भन्नेमा वादी प्रतिवादीको मुख मिलेकै देखिन्छ । प्रस्तुत मुद्दामा २०४९।५।२ लाई मानो छुट्टिएको मिति कायम भएको र गंगादेवीको मृत्यु २०५१।३।२८ मा भएको हो । मानो छुट्टिएको मिति सम्ममा गंगा देवी जीवित भएकाले गंगादेवीको उल्लिखित सम्पति बण्डा हुने सम्पति होइन । काठमाडौं जिल्ला का.म.न.पा. वार्ड नं. २४(क) को अष्टमान काजीमानबाट खरीद गरेको कि.नं. ९१ र ४ समेतका घरजग्गा दाईजो पेवा र शेषपछिको बकसपत्रबाट प्राप्त जग्गाबाट बढेबढाएको जग्गासमेत बण्डा नलाग्ने जग्गा हुन् । उल्लिखित जग्गाहरू समेत बण्डा लाग्नेगरी भएको काठमाडौं जिल्ला अदालतको मिति २०५६।७।१६ को फैसला अंशबण्डाको १८ नं. र स्त्री अंशधनको ५ नं. विपरीत हुदाँ वदर गरी गंगादेवीको सम्पति बण्डा नहुने गरिपाऊँ भन्ने समेत व्यहोराको वादी प्रेमध्वज प्रधानको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदनपत्र ।
दाजु रत्नध्वजको दुई श्रीमतीहरूमा भाउजू प्राणदेवी २००१ सालमा छुट्टिभिन्न हुनु भएको र प्राणदेवीको मृत्यु दाजु रत्नध्वज भन्दा केही वर्ष पहिले २०४७।१०।६ मा भएको हो । निज प्राणदेवीको नाममा रहेको सम्पति समेत सगोलकै बण्डालाग्ने सम्पति भएको र प्राणदेवीको मृत्युपछि निज भाउजूको नाममा रहेको सम्पत्ति समेत वादी प्रेमध्वजको जिम्मा रहेको छ । उक्त सम्पत्ति तायदाती फाँटवारी पेश गर्दा मैले उल्लेख नगरेपनि २०५५ साल भाद्रमा निवेदन दिई उल्लेख गरेको छु । त्यसैगरी दाजु रत्नध्वज र भाउजू गंगादेवीका नाममा रहेका विभिन्न बैंकमा लकर र खाताहरू थिए, जुन लकर र खातामा रहेका धन सम्पत्ति समेत सगोलकै भएको र सो सम्बन्धमा संवद्ध प्रमाण वुझी यकीन हुन नसकेकाले उल्लिखित कुराहरूमा आवश्यक प्रमाण वुझी अंशहक सुरक्षित राखिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी रत्नध्वज प्रधानको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदनपत्र ।
रत्नध्वज र भक्तध्वज दुई अंशियार भएकोमा रत्नध्वजको मृत्युपछि रत्नध्वजको अंश हक खाने विपक्षी प्रेमध्वज र हाम्रा दाता गंगादेवी भएकाले सोहीअनुरूप दाताले प्रेमध्वज र भक्तध्वज समेत उपर फिराद दायर गर्दा रत्नध्वज र भक्तध्वज एक–एक भाग अंशखाने हुँदा रत्नध्वजको एक भाग छुट्याई त्यसबाट प्रेमध्वज र म गंगादेवीबीचमा बण्डा लगाई एकएक भाग अंशहक खाने भएकाले अंश भाग दिलाई पाऊँ भन्ने व्यहोराको फिराद गर्नुभएको र आफ्नो जिवनकालमै कानूनबमोजिम हामीलाई शेष पछिको वकसपत्रका लिखत पारित गरी दिनुभएकोमा मुद्दा किनारा नहुँदै दाताको मृत्यु भएकाले हामीले लगाउको अंश मुद्दा सकार गरेका हुँदा दाता गंगादेवीको अंश भाग र शेषपछिको बकसपत्रबाट गंगादेवीको हकमा आएका बण्डा नलाग्ने जग्गा समेत हामीहरूले पाउनुपर्ने हुँदा शुरुको फैसलाले रत्नध्वजको अंशहक खाने यी प्रेमध्वजको नाममा आएको सम्पत्तिबाट गंगादेवीको छुट्याउनु पर्ने अंश सम्पत्ति नछुट्याएको र गंगादेवीका नाममा रहेका बण्डा नलाग्ने सम्पत्ति समेत बण्डा गरेको शुरु फैसला नमिलेकोले वदर गरी गंगादेवीको अंशहक, दाइजोपेवा र आमाको अपुतालीबाट प्राप्त सम्पत्ति समेत छुट्याई उक्त सम्पत्ति हामीले मात्र पाउने ठहर्याई पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी लक्ष्मीप्रधान र सानुमैया प्रधानको पुनरावेदन अदालत पाटनमा परेको संयुक्त पुनरावेदनपत्र ।
मिति २०४५।२।६ को बकसपत्रबाट गंगादेवीको संरक्षकत्व म माथि परेकोमा विवाद छैन । उक्त संरक्षकत्व पारित लिखतबाटै आएको हो । शेष पछिको वकसपत्रको स्थिति दानवकसको २ नं को प्रक्रियाबमोजिम वदर हुने हुन्छ । उक्त २ नं को प्रक्रियाबमोजिम वदरको लागि प्रेमध्वज गएको अवस्थामा उक्त लिखत मालपोत कार्यालयबाट वदर हुन नसकेको अवस्थामा अदालतको क्षेत्राधिकार आकर्षित हुनसक्ने होइन । गंगादेवीको अशक्तताको अवस्था प्रमाणित भइसकेको र बोल्न हिड्न नसक्ने भएर नै निजको हकमा पति रत्नध्वजले अन्तरसाक्षीमा वसी मलाई शेषपछिको वकसपत्र पारित गराइदिएबाट गंगादेवीको संरक्षक हकदार म भएकोमा विवाद छैन । विपक्षी वादीले हुँदै नभएको कुरालाई आफू गंगादेवीको संरक्षक हकदार भएको कुरा रची दिएको नालेसबाट भएको शुरुको फैसला नमिलेकाले बदर गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी अमिरध्वज प्रधानको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदनपत्र ।
यसमा गंगादेवी प्रधानकी आमा जुलुम श्रेष्ठले गंगादेवीलाई मिति २००५।१२।२९ मा पारित गरिदिएको अचल सम्पत्ति समेत अंशबण्डा गर्ने गरी शुरु जिल्ला अदालतबाट भएको फैसला फरक पर्न सक्ने देखिँदा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ र अ.वं २०२ नं. बमोजिम छलफलको लागि प्रतिवादीमध्येका दिनेशध्वज प्रधानलाई यस अदालतमा उपस्थित हुन आउनु भनी म्याद जारी गरी लगाउका मुद्दा समेत साथै राखी नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनबाट भएको मिति २०५८।७।२४ को आदेश ।
गंगादेवी प्रधानले निजकी आमा जुलुम श्रेष्ठबाट २००५ सालको शेष पछिको बकसपत्र पाएको सो बकसपत्र दिने जुलुम श्रेष्ठको २०४३।१।२० मा देहवसान भएपछि गंगादेवी प्रधानको हक हुन आएको सो लिखतबमोजिमको सम्पत्ति र अष्टमान काजीमानबाट खरीद गरेको लिखतको कैफियत महलमा दाइजो पेवाबाट भनी उल्लेख भएको देखिँदा सो लिखतबाट प्राप्त सम्पत्ति समेत निज गंगादेवी प्रधानको स्त्री अंशधन अन्तर्गतको भै निजी मान्नुपर्ने देखियो । त्यस्तो स्त्री अंशधन अन्तर्गतको आफूखुस गर्न पाउने सम्पत्ति समेत बण्डा गर्ने गरी भएको शुरुको मिति २०५६।७।१६ को इन्साफ मिलेको देखिएन । अतः सो हदसम्मको शुरु इन्साफ केही उल्टी हुन्छ । सो बाहेक वादी प्रतिवादीबाट पेश भएको तायदाती फाँटवारीमा उल्लिखित सम्पत्तिबाट दुई खण्डको एक खण्ड अंश पाउने ठहर गरेको हदसम्मको इन्साफ मनासिव ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति २०५८।११।२३ को फैसला ।
स्त्री अंशधनको ५ नं. को बनोटले छोरा मानिनलाई आफ्नै कोखबाट जन्मेको हुनुपर्ने प्रष्ट छ । सौतेनी छोरा र छोरा अलग भएकाले अपुतालीको १० नं. समेतले अलग–अलग व्यवस्था गरेको छ । वादी गंगादेवीको सौतेनी छोरा भएको र अंशमुद्दाको फैसला हुनुभन्दा पहिले नै गंगादेवीको मृत्यु भएकाले गंगादेवीका नाममा जसरी जुनसुकै आएका सम्पत्ति बण्डा लाग्ने नै हुँदा शुरुले बण्डा लाग्ने गरेको फैसला पुनरावेदनबाट वदर गरी बण्डा नलाग्ने गरेको फैसला त्रुटिपूर्ण छ । भाउजू प्राणदेवी २००१ सालमा छुट्टिभिन्न हुनुभएको र २०४७ सालमा मृत्यु भएबाट निज प्राणदेवीको सम्पत्ति समेत सगोलकै बण्डा लाग्ने सम्पत्ति हो, सो सम्पत्तिका वारेमा पनि फैसला मौन छ । त्यसैगरी दाजु रत्नध्वज र भाउजू गंगादेवीका नाममा विभिन्न बैकहरूमा रहेका लकर र खातामा रहेको नगद सम्पत्ति सम्बन्धमा पनि फैसला मौन छ । गंगादेवीका नाममा शेषपछिको बकसपत्रबाट २००५ सालदेखि आएपनि उक्त सम्पत्तिको आयस्रोत केही नहुँदा उक्त जग्गाहरूमा बनेका घरहरू समेत सगोलकै लगानीबाट वढे वढाएकाले गंगादेवीका नामको घरजग्गा बण्डा नलाग्ने भनी र प्राणदेवीका नाममा भएको घरजग्गा र बैंकखाता लकर सम्बन्धमा केही नवोली भएको पुनरावेदन अदालत पाटनको फैसला बदर गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी भक्तध्वज प्रधानको यस अदालतमा परेको पुनरावेदन पत्र ।
सौतेनी छोरा कुनै पनि हालतमा संरक्षक र हकबाला हुन सक्दैन । वादी प्रेमध्वज र गंगादेवी एक आपसमा मिलेर सँगै नवसेको कुरा विगतका व्यवहारबाट पनि पुष्टि भइरहेको छ । ठूलोबुबा रत्नध्वज आफ्नो छोराले आमाबाबुप्रति पुर्याउनु पर्ने कर्तव्य निर्वाह नगरेकाले असन्तुष्टि प्रकट गरी जीवनभर मेरो संरक्षणमा बस्ने चाहना गरी मेरै संरक्षणमा मृत्यु पर्यन्तसम्म वसी आउनुभएकोले निजहरूकै इच्छाले दाता गंगादेवीले दिएको वकसपत्रबाट समेत म गंगादेवीको संरक्षक हकबाला हुँ । वास्तवमा गंगादेवीलाई आफ्ना आमाबाट वकस पाएको र २०१८ सालमा अष्टमानबाट दाइजोपेवाबाट राजीनामा पारित गरिलिएको सम्पत्ति गंगादेवीले आफूखुश गर्न पाउने सम्पत्ति हुन् । कथम्कदाचित आफूखुश गर्न पाउने होइन भन्ने मान्ने हो भने पनि प्रेमध्वजको एकलौटी हकलाग्ने नभई सगोलका सवै अंशियारमा बण्डालाग्ने स्पस्ट छ । म पुनरावेदक गंगादेवीको संरक्षकको हैसियतले गंगादेवीको इच्छाबमोजिम मिति २०४९।५।३ मा सम्पूर्ण श्रीसम्पत्ति अष्टलोह समेत सानुमैया प्रधान र लक्ष्मी प्रधानलाई शेषपछिको बकसपत्र गरी दिएबाट अंशमुद्दा चल्दाचल्दै गंगादेवीको मृत्यु भएपछि गंगादेवीको अंश भाग उक्त बकसपत्रको आधारमा सानुमैया र लक्ष्मी प्रधानले पाउने कुरा निर्विवाद छ । शेषपछिको वकसपत्रको आधारमा शेषपछिको वकसपत्र पाउनेले मुद्दा सकार गरी शेषपछिको बकसपत्र गरी दिनेको हक खान पाउने भन्ने सिद्धान्त समेत प्रतिपादन भएको छ । तसर्थ सम्पूर्ण सम्पत्तिबाट २ भाग गरी पुनः १ भागको पनि २ भाग गरी १ भाग प्रेमध्वजको र १ भाग सानुमाया र लक्ष्मी प्रधानको अंशहक कायम गर्नुपर्नेमा एकलौटी प्रेमध्वजको हुने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा वदर गरी पुनरावेदन जिकीर अनुसार गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी अमिरध्वज प्रधानको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
विपक्षी वादी प्रेमध्वज आफ्नी आमा प्राणदेवीसँग बागवजार मै वसेका र गंगादेवीको संरक्षण हकबाला प्रेमध्वज नभएर रत्नध्वज छँदासम्म रत्नध्वज र रत्नध्वजको मृत्युपछि हामीहरू सगोलमै रहेकाले अमिरध्वज र हामीहरूले स्याहार सुसार साथै संरक्षण गरेबाट अमिरध्वजलाई २०४५ सालमा उहाँकै इच्छाबमोजिम शेषपछिको वकसपत्र र हामी पुनरावेदकलाई २०४९ सालमा वहाँको सम्पूर्ण हकभोगको श्रीसम्पत्ति शेषपछिको वकस गरिदिनु भएकाले गंगादेवीको अंशहक र वहाँका निजी सम्पत्ति समेत हामी पुनरावेदकले पाउने गरी फैसला हुनुपर्नेमा गंगादेवीको सम्पूर्ण सम्पत्ति वादीले पाउने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा वदर गरी २०४९ मा स्व. गंगादेवीले दिनुभएको वकसपत्र बमोजिम न्याय पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी सानुमैया, लक्ष्मी प्रधान, दिनेशध्वज र राजेशध्वज प्रधानको संयुक्त पुनरावेदन ।
यसमा गंगादेवी प्रधानलाई अमिरध्वज प्रधानले थुनामा राखेकाले वन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाऊँ भनी प्रेमध्वज प्रधानले दायर गरेको रिट नं २४२ को वन्दीप्रत्यक्षीकरण मुद्दामा यस अदालतबाट २०५१।१।९ मा भएको फैसला सहितको रेकर्ड मिसिल र लगाउका अन्य मुद्दा साथै राखी पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतबाट मिति २०६२।१२।९ मा भएको आदेशबमोजिम मिसिल संलग्न रहेको ।
यसमा यिनै वादीउपर यिनै प्रतिवादीहरू समेतले दिएको आज यसै इजलासबाट मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भएको नि.नं.४४९४ ,४३८९, ४४७९ समेतका अंश मुद्दाहरूको विवेचित आधारबाट र फौ.पु.नं. ३३७८ समेतका जालसाजी मुद्दाहरूमा आज यसै इजलासबाट प्रमाणमा आएको रिट निवेदन नं. ४२ को बन्दीप्रत्यक्षीकरणको निवेदनमा भएको आदेश समेतबाट गंगादेवीको संरक्षक वादी हुन् वा होइनन् भन्ने कुरा नदेखिई केवल संरक्षकत्वको विवादको टुंगो नलागेसम्मको लागि गंगादेवी वादीको जिम्मामा रहने भन्नेसम्म व्यहोराको आदेश भएको र वादी प्रतिवादी एकासगोलका अंशियार हुन् भन्ने कुरा पुष्टि भइरहेको अवस्थामा गंगादेवीको सौतेनी छोराले मात्र अंश भाग पाउने गरी भएको पुनरावेदन अदालतको फैसला विचारणीय देखिन्छ । साथै गंगादेवीबाट अमिरध्वज प्रधान समेतले पाएको बकसपत्र बदर गर्ने गरेको पुनरावेदन अदालतको फैसलामा अ.वं. २०२ नं. बमोजिम आजै प्रत्यर्थी झिकाउने आदेश भएको र गंगादेवीको उल्लिखित सम्पत्ति सम्बन्धमा लगाउको अंश मुद्दाको अन्तिम ठहरले यस मुद्दालाई समेत असर पर्ने देखिँदा अ.वं. २०२ नं. बमोजिम प्रस्तुत मुद्दामा समेत प्रत्यर्थी झिकाई आएपछि नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतबाट मिति २०६५।९।२३ मा भएको आदेश ।
नियमबमोजिम पेसी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी भक्तध्वज प्रधानको तर्फबाट उपस्थित विद्वान अधिवक्ताद्धय श्री रवीन्द्र आचार्य तथा श्री विश्वप्रकाश सिग्देलले वादी प्रेमध्वज प्रधानको आमा प्राणदेवी २००१ सालमा भिन्न भएकोमा प्रेमध्वज पनि आमासगै वसेका थिए । प्रेमध्वज गंगादेवीको सौतेनी छोरा भएको, गंगादेवीको आमा जुलुमले निजलाई गरिदिएको शेषपछिको वकपत्रबमोजिमका जग्गामा घर वनाउदा सगोलको सम्पत्तिबाट लगानी भएको तथ्यबाट स्पष्ट देखिन्छ । स्त्री अंशधनको ५ नं र अपुतालीको १०, १२ नं ले छोरा र सौतेनी छोरावीच विभेद समेत गरेको अवस्था हुँदा गंगादेवीको नामको सम्पत्ति वादी प्रेमध्वजको हुन नसक्ने भएकोले पुनरावेदन अदालतको फैसला न्यायको दृष्टिले मनासिव नहुँदा वदर हुनुपर्छ भनी, पुनरावेदक प्रतिवादी लक्ष्मी प्रधान र सानीमैया प्रधानको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहालले २०४५। २।६ मा गंगादेवी प्रधानले अभिरध्वज प्रधानलाई गरिदिएको शेषपछिको वकसपत्रमा निजका पति रत्नध्वज प्रधान अन्तरसाक्षी वसेका छन् । यसरी निजको तत्कालीन संरक्षक पति लिखतमा साक्षी वसेपछि अ.व. २४ नं ले लिखत पक्का हुन्छ । यसरी रत्नध्वजले आफ्नै जीवनकालमा अमिरध्वजलाई गंगादेवीको भविष्यको संरक्षकत्व जिम्मा लगाएका छन् । सोहीबमोजिम रत्नध्वजको मृत्युपछि संरक्षकत्व ग्रहण गर्दै अमिरध्वजले गंगादेवीको इच्छाअनुसार २०४९ सालमा लक्ष्मी प्रधान र सानीमैया प्रधानलाई शेषपछिको वकसपत्र गरिदिएको लिखत कानूनबमोजिमको पक्का लिखत हुँदा सो लिखतबमोजिमका सम्पत्तिमा मेरो पक्षको एकलौटी हक कायम हुनुपर्नेमा सो सम्पत्ति वादी प्रेमध्वजकै हुने ठहर गरेको पुनरावेदन अदालतको फैसला मिलेको छैन भनी, पुनरावेदक प्रतिवादी अमिरध्वज प्रधानको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शम्भु थापाले २०४५।२।६ को लिखतमा अमिरध्वज प्रधानलाई छोरासरह मानिएको छ । सो वकसपत्रअनुसार अमिरध्वज गंगादेवीको संरक्षक भएको तथ्य स्थापित भएको अवस्थामा गंगादेवीको जीवनको अन्तिम अवस्थामा वादी प्रेमध्वज प्रधान गंगादेवीको संरक्षक हुन नसक्ने हुँदा पुनरावेदन अदालत पाटनको फैसला न्यायसंगत नभएको हुँदा उल्टी हुनुपर्छ भनी तथा विपक्षी वादी प्रेमध्वज प्रधानको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री बालकृष्ण नेउपानेले २०५१ सालमा काठमाडौँ जिल्ला अदालतमा चलेको वादी गंगादेवीको हकमा प्रेमध्वज प्रधान प्रतिवादी राजन वैद्य भएको लेनदेन मुद्दामा प्रेमध्वज प्रधान लाई संरक्षक मानिएको छ । उक्त मुद्दामा प्रतिवादी अमिरध्वजलाई अदालतबाट वोलाउदा निजले गंगादेवीको संरक्षकत्व दावी गरेका छैनन् । यसैगरी सर्वोच्च अदालतबाट मिति २०५१।१।९ मा फैसला भएको वन्दीप्रत्यक्षीकरण मुद्दामा पनि प्रेमध्वजलाई गंगादेवीको संरक्षक मानी निजकै जिम्मा लगाएकोमा गंगादेवीको मृत्यु प्रेमध्वजकै सँगसाथमा रहदा भएबाट पनि प्रेमध्वज प्रधान नै गंगादेवीको सरक्षक रहे भएको स्पष्ट हुँदा पुनरावेदन अदालतले गंगादेवीको नाममा वकसबाट आएको सम्पत्ति वादी प्रेमध्वजले पाउने ठहर्याएको फैसला मिलेको हुँदा सदर हुनुपर्छ भनी, प्रत्यर्थी तर्फबाटै उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री श्यामप्रसाद खरेलले मिति २०४५।२।६ को लिखतले अमिरध्वज प्रधान गंगादेवीको संरक्षक हुन सक्दैनन् । सोही मितिमा गगादेवीले यमुना पौडेललाई गरिदिएको कागजको व्यहोरा र अमिरध्वजलाई गरिदिएको कागजको व्यहोरा एकै हुँदा यमुना पौडेललाई पनि संरक्षक मान्नुपर्ने हुन्छ । जुन कानूनसम्मत एवं तर्कसंगत हुदैन । गंगादेवीको श्रीमान रत्नध्वज परलोक भएको अवस्थामा गंगादेवीको नामको सम्पत्ति दुरुपयोग गर्ने उद्देश्यले प्रतिवादी अमिरध्वजले गंगादेवीलाई अपहरण गरी सोही अपहरित अवस्थामा आफ्नी आमाहरूलाई शेषपछिको वकसपत्र अष्टलोह समेत गरिदिएको अवस्था देखिंदा अमिरध्वजको नियत सफा रहेको नहुँदा अपहरण गर्ने व्यक्तिलाई संरक्षक नठानी गंगादेवीको सम्पूर्ण सम्पत्ति उनका वास्तविक संरक्षक प्रेमध्वजले पाउने ठहर्याएको पुनरावेदन अदालत पाटनको फैसला मिलेको हुँदा सदर कायम हुनुपर्छ भनी तथा विपक्षी प्रेमध्वजकै तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री पिताम्वरप्रसाद सिलवालले विद्यमान कानूनी व्यवस्थाअनुसार भतिजोभन्दा अगाडिको हकबालाको स्थानमा छोरा नै आउछ चाहे त्यो छोरा जुनसुकै प्रकारको होस । अपुतालीको हिसावबाट हेर्दा छोरा हुञ्जेलसम्म भतिजाले, देवरले अपुताली नपाउने हुँदा पुनरावेदन अदालत पाटनले प्रेमध्वज प्रधानलाई नजिकको हकदार कायम गरेको फैसला मिलेको देखिंदा सदर कायम हुनुपर्छ भनी बहस जिकीर प्रस्तुत गर्नुभयो ।
उपरोक्त बहस जिकीर, विद्वान अधिवक्ताहरूबाट पेश भएको बहसनोट एवं मिसिल संलग्न कागजात अध्ययन गर्दा मूल पूर्खा उत्तरध्वज प्रधानका २ छोरामा जेठा रत्नध्वज र कान्छा भक्तध्वज भई रत्नध्वजको श्रीमती र छोरा क्रमश गंगादेवी र प्रेमध्वजले रत्नध्वजको मृत्युपछि भक्तध्वज प्रधानसँग रहेको सगोलको पैत्रिक सम्पत्ति माग गर्दा नदिएकाले फिराद गर्न आएका छौ । आमा गंगादेवी मानसिक रोगको कारणबाट अशक्त अवस्थामा रहनु भएको, सोही अवस्थामा आमालाई विपक्षीहरूले अपहरण गर्ने प्रयत्न समेत गरेउपर वन्दीप्रत्यक्षीकरण मुद्दा सर्वोच्च अदालतमा दर्ता समेत गरेको अवस्था हुँदा फिराद परेको अधिल्लो दिनलाई मानो छुटिएको मिति कायम गरी विपक्षीहरूबाट बण्डा लाग्ने सम्पत्तिको तायदाती फाँटवारी लिई सो सम्पत्ति २ भाग लगाई रत्नध्वजको हकको १ भाग सम्पत्ति हामी फिरादी आमा छोरालाई संयुक्त रुपमा दिलाई पाऊँ भन्ने समेत व्यहोराको मुख्य फिराद दावी भएकोमा फिराद दावी झूठ्ठा हो । गंगादेवी फिरादीको सौतेनी आमा भएकी र निजले सौतेनी आमाको पालनपोषण नगरी गंगादेवी हामीहरूकै संरक्षकत्वमा रहेको हुँदा फिराद दावीबाट फुर्सद गरिपाऊँ भन्ने समेतको प्रतिउत्तर जिकीर भएको प्रस्तुत मुद्दामा वादीले गंगादेवीको र आफ्नो हकमा समेत अंशमा दावी गरेकोमा गंगादेवीको मृत्यु भै सकेकाले तायदातीमा उल्लिखित सम्पत्तिबाट वादी प्रेमध्वज प्रधानले २ भागको एक भाग अंश पाउने ठहर्याएको शुरु काठमाडौँ जिल्ला अदालतको फैसला केही उल्टी गरी गंगादेवीको नाममा निजको आमा जुलुमले गरीदिएको शेषपछिको वकसपत्रमा उल्लिखित जग्गा र गंगादेवीले २०१८ सालमा अष्टमान र काजीमानबाट खरीद गरेको जग्गा निज गंगादेवीको स्त्री अंशधनको सम्पत्ति ठहर्याई सो सम्पत्ति बण्डागर्ने गरी भएको हदसम्म शुरु फैसला उल्टी गरेको पुनरावेदन अदालत पाटनको फैसलाउपर प्रतिवादीहरूको तर्फबाट छुट्टाछुट्टै रुपमा पुनरावेदन पर्न आएका प्रस्तुत मुद्दाहरू आज यस इजलाससमक्ष पेश हुन आएको देखियो ।
यसमा गंगादेवी प्रधानको संरक्षक वादी प्रेमध्वज प्रधान हुन् वा अमिरध्वज प्रधान हुन ? पुनरावेदन अदालतले गंगादेवी प्रधान नामदर्ताको जग्गा स्त्री अंशधन अन्तर्गतको सम्पत्ति ठहर्याई वादीको हक कायम हुने ठहर गरेको फैसला मिलेको छ, छैन ? भन्ने विषयमा नै निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा वादी प्रेमध्वज प्रधान तथा प्रतिवादीहरू भक्तध्वज प्रधान एकै हांगाका सन्तान भई वादी प्रतिवादीबीच अंशबण्डा नभएको भन्ने कुरामा विवाद नदेखिए तापनि वादीको सौतेनी आमा तथा प्रतिवादीहरूको भाउजू, ठुलीआमा तथा जेठानी गंगादेवीको संरक्षकत्वका सम्बन्धमा वादी प्रतिवादीहरू बीच मुख नमिली विवाद उत्पन्न भएको देखिंदा सर्वप्रथम गंगादेवीको संरक्षकत्वका सम्बन्धमा यकीन गर्नुपर्ने देखिन आयो । सामान्य अर्थमा कुनै पनि व्यक्तिलाई हेरचाह र सेवा सुश्रुसा गर्ने सवैभन्दा नजिकको हकवाला नै संरक्षक हुने हुन्छ । यस्तो संरक्षकको क्षेत्रभित्र मुख्य रुपमा पत्नी, छोरा, छोरी जस्ता नजिकका नातेदारहरू प्राथमिकताको क्रमअनुसार पर्ने देखिन्छन । सोही कुराको कल्पना गरी मुलुकी ऐनमा अपुताली खान पाउने हकदारहरको प्राथमिकता क्रम निर्धारण भएको छ । त्यस्ता कतिपय नजिकका हकवालालाई अंशको नैसर्गिक अधिकार पनि प्राप्त हुने हुँदा त्यससम्बन्धी व्यवस्था मुलुकी ऐन अंशबण्डाको महलमा गरिएको छ भने महिलाहरूको दाइजो पेवा जस्ता आफूखुसी गर्न पाउने सम्पत्तिलाई कानूनी संरक्षण प्रदान गर्दै उनीहरूको जीवनकाल मै वा मृत्युपछि सो सम्पत्तिको के कसरी व्यवस्थापन गर्ने भनी मुलुकी ऐन स्त्री अंशधनको महलमा छुट्टै व्यवस्था समेत भएको पाइन्छ । प्रस्तुत मुद्दामा वादी प्रतिवादीले संरक्षकत्वको दावी लिएका गंगादेवी प्रधानको संरक्षकत्वको विवादको विषयमा उपरोक्तानुसारको मान्यताअनुरूप नै यकीन गर्नुपर्ने देखिन आएको छ ।
३. मिसिल संलग्न कागजात हेर्दा प्रस्तुत मुद्दा दायर गरेको अवस्थामा गंगादेवी प्रधान रत्नध्वज प्रधानको श्रीमती भएको, रत्नध्वजकै अर्को श्रीमती प्राणदेवी प्रधान तर्फबाट वादी प्रेमध्वज प्रधानको जन्म भएको तर प्राणदेवी २००१ सालमा छुट्टि भिन्न भएको, रत्नध्वजको मिति २०४९।३।२१ मा मृत्यु भएको अवस्था हुँदा रत्नध्वज तर्फका अंशियारहरू गंगादेवी र प्रेमध्वज दुई जना मात्र कायम भएको देखिन्छ । रत्नध्वजको जीवनकालसम्म गंगादेवीको सरक्षकत्वमा विवाद नरही निजको मृत्युपश्चात् मात्र गंगादेवीको संरक्षकत्व सम्बन्धमा निजको सौतेनी छोरा प्रेमध्वज प्रधान र भतिजा अमिरध्वज प्रधानबीच विवाद चलेको अवस्था देखिन्छ । यसै सम्बन्धमा गंगादेवीलाई प्रतिवादी अमिरध्वज प्रधान समेतले अपहरण गरी राखेको हुँदा प्रतिवादीहरूको कव्जाबाट छुटाई पाऊँ भनी यस अदालतमा परेको संवत् २०५० सालको रिट नं ४२ को बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा यस अदालत पूर्ण इजलासबाट गंगादेवी प्रधानलाई प्रेमध्वज प्रधानको जिम्मा लगाई दिने भनी मिति २०५१।१।९ मा आदेश भएको अवस्था एकातर्फ देखिन्छ भने अर्कोतर्फ यिनै वादी प्रेमध्वज प्रधान र गंगादेवी प्रधान वादी र राजन वैद्य प्रतिवादी भै काठमाडौँ जिल्ला अदालतमा चलेको २०५१ सालको मि.न १३८३। २२५५ को लेनदेन मुद्दामा मिति २०५१।१०।२३ मा प्रतिवादी अमिरध्वज प्रधानलाई समेत वुझी फैसला हुँदा गंगादेवीको संरक्षक प्रेमध्वज प्रधानलाई मानी लेनदेनको विगो भरिपाउने ठहरी फैसला भएको र सो फैसला उपर परेको पुनरावेदनउपर सुनवाई हुँदा पुनरावेदन अदालत पाटनबाट समेत मिति २०५४।९।२८ मा शुरु फैसला सदर हुने गरी फैसला भई सो मुद्दा अन्तिम रही वसेको अवस्था देखिन्छ ।
४. वस्तुतः प्रस्तुत मुद्दामा वादी प्रेमध्वज प्रधान गंगादेवी प्रधानको सौतेनी छोरा भए पनि प्रस्तुत विवादमा सौतेनी छोरा र आफ्ना उदरको छोराबीचको संरक्षकको विवाद भने रहेको देखिदैन । सौतेनी छोरा र भतिजाबीच हकवाला एवं संरक्षकत्वको प्राथमिकता निर्धारण गर्ने सम्बन्धी विद्यमान कानूनी व्यवस्था अध्ययन गर्दा, सौतेनी छोराले भन्दा देवरको छोरा भतिजाले प्राथमिकता पाउने भन्न मिल्ने अवस्था देखिदैन । आफ्नो उदरको छोरा, छोरी नभएको अवस्थामा सौतेनी छोरा पनि सौतेनी आमाको प्राकृतिक संरक्षक हुन सक्ने र उसको सरक्षकत्वले भतिजोको संरक्षकत्व भन्दा प्राथमिकता पाउने समेतको अवस्था देखिंदा वादी प्रेमध्वज प्रधानलाई गंगादेवी प्रधानको संरक्षक मान्नु पर्ने देखिन्छ । माथि उल्लिखित मुद्दाहरूबाट पनि वादी प्रेमध्वज प्रधानले गंगादेवी प्रधानको संरक्षकको हैसियत प्रस्तुत मुद्दा दायर हुनुभन्दा पहिल्यै पाएको अवस्था समेत देखिँदा गंगादेवी प्रधानको संरक्षक भतिजा अमिरध्वज प्रधान नभै सतौनी छोरा प्रेमध्वज प्रधान नै कायम रहेको मान्नु कानूनसम्मत एवं विवेकसम्मत देखिन आउँछ । तसर्थ यस सम्बन्धमा पुनरावेदनतर्फका विद्वान कानून व्यवसायीको बहस जिकीरसँग सहमत हुन सकिने अवस्था देखिएन।
५. जहाँसम्म गंगादेवी प्रधान नाम दर्ताको जग्गा स्त्री अंशधन अन्तर्गत आफूखुस गर्न पाउने सम्पत्ति हुँदा सो सम्पत्ति हामीहरूलाई गंगादेवी प्रधानले आफ्नो इच्छाअनुसार वकसपत्र अष्टलोह समेत गरिदिएको अवस्थामा उक्त शेषपछिको वकसपत्र अष्टलोहको लिखतमा उल्लिखित सम्पत्तिमा हाम्रो हक हुनुपर्छ भन्ने प्रतिवादी सानुमैया र लक्ष्मी प्रधानको र गंगादेवी प्रधानको नाउँको जग्गामा बनेका घरहरू सगोलबाट बनेको हुँदा बण्डा हुनुपर्ने भन्ने समेतको अन्य प्रतिवादीहरूको पुनरावेदन जिकीर सम्बन्धमा हेर्दा वादी प्रतिवादीहरू अंशियार भएका र निजहरू बीच हालसम्म अंशबण्डा नभएको कुरामा विवाद देखिएन । गंगादेवी प्रधानको नामदर्ताको जग्गा सम्बन्धमा हेर्दा कि.नं ५१, १९, ९९, ११, ७४०, १०९ को जग्गा गंगादेवीले आफ्नी आमा जुलुमनानीबाट २००५ सालमा शेषपछिको वकस पत्र पाएकोमा निज जुलुमनानीको २०४३।१।२० मा परलोक भएपश्चात् मात्र उपरोक्त जग्गाहरूमा गंगादेवीको पूर्णरुपबाट हक हुन आएको अवस्था देखिन्छ । यसरी उक्त २००५ सालमा पाएको शेषपछिको वकसपत्रको लिखत वकसदाताको मृत्यु पश्चात् २०४३ सालमा आएर मात्र लिखत क्रियाशील भएको अवस्था देखिँदा सो लिखतको कानूनी स्थितिका सम्बन्धमा समेत हेर्नुपर्ने हुन्छ । सो सम्बन्धमा रहेको कानूनी व्यवस्था हेर्दा मुलुकी ऐनमा मिति २०३४।९।२७ मा भएको सातौ संशोधनले अंशबण्डाको महलको १८ नं मा निजी आर्जनको सम्पत्तिसम्बन्धी व्यवस्था गर्दै त्यस प्रकारको सम्पत्ति अंशियारहरू बीच बण्डा नहुने भन्ने व्यवस्था गरेको देखिन्छ । प्रस्तुत विवादमा गंगादेवी प्रधानको नाममा आमाबाट शेषपछिको वकसपत्रबाट पाएका जग्गाहरूमा २०४३ सालमा मात्र निजको पूर्ण हक स्थापित भएको स्पष्ट हुँदा कि.नं ५१, १९, ९९, ११, ७४०, १०९ को जग्गा निज गंगादेवीको निजी आर्जनभित्रको पर्ने स्पष्ट हुँदा ती जग्गाहरूमा अंशियारहरू बीच बण्डा लाग्ने अवस्था देखिदैन । यसैगरी प्रतिवादीहरूले एकासगोलको सम्पत्ति भनी जिकीर लिएको गंगादेवी प्रधानले २०१८।८।२५ र २०१८।९।३ मा काजीमान र अष्टमानबाट राजीनामाबाट खरीद गरिलिएको कि.न. ९१ र ४ को घर जग्गाको राजीनामा लिखतमा पनि स्पष्ट रुपमा गंगादेवी प्रधानको दाइजो पेवाबाट खरीद गरेको भन्ने समेतको व्यहोरा उल्लेख भएको र त्यस्तो सम्पत्ति तत्कालीन कानूनी व्यवस्थाअनुरूप पनि स्त्री अंशधन अन्तर्गतको निजी आर्जनको सम्पत्ति रहेको हुँदा सो जग्गाहरू पनि गंगादेवीकै निजी आर्जनभित्रको बण्डा नहुने प्रकृतिको सम्पत्ति रहे भएको स्पष्ट देखिन आउँछ । साथै ती जग्गाहरूमा रहेका घरहरू बन्दा सगोलको सम्पत्ति लगाइएको भन्ने ठोस प्रमाण प्रस्तुत हुन नसकेको, २०४३।१।२० मा जुलुमनानीको मृत्यु पूर्व नै घरहरू बनेको कुरा नक्सापास समेतबाट देखिन आएको छ । त्यसमा पनि स्वभावतः स्त्री अंशधनभित्र पर्ने सम्पत्तिमा अरुको लगानी हुन्छ भनी सामान्यतः अनुमान गर्ने कुरा पनि भएन । यसका अतिरिक्त गंगादेवीबाट २०४९।५।३ मा सानुमैया र लक्ष्मी प्रधानले अष्टलोह गैह्रसम्पत्ति समेतको शेषपछिको वकसपत्र पाएको हुँदा गंगादेवीको अंश भाग हामीहरूले पाउनु पर्ने भन्ने निजहरूको जिकीरतर्फ विचार गर्दा, उक्त लिखत सम्बन्धमा वादी प्रेमध्वज प्रधानले दायर गरेको दे.पु.नं. ८९९२ र ८९९९ को वकसपत्र बदर मुद्दामा आज यसै इजलासबाट उक्त लिखत वदर हुने ठहर्याएको पुनरावेदन अदालतको फैसला सदर हुने ठहरी फैसला भएको हुँदा यस स्थितिमा सानुमैया र लक्ष्मी प्रधानको उक्त जिकीर आधारहीन भै स्वतः निरर्थक देखिन आयो ।
६. तसर्थ, गंगादेवी प्रधानले आमा जुलुम श्रेष्ठबाट २००५ सालमा शेषपछिको वकसपत्रबाट पाएको जग्गामा २०४३।१।२० मा जुलुमको मृत्यु पश्चात् मात्र निज गंगादेवीको पूर्ण हक स्वामित्वमा आई निजी आर्जनको सम्पत्तिको रुपमा रहेको, वि.सं.२०१८ सालका लिखतहरूबाट प्राप्त जग्गा समेत दाइजो पेवाको रकमबाट खरीद गरेको र सो जग्गाहरू समेत स्त्री अंशधनभित्रकै निजी आर्जनकै प्रकृतिको सम्पत्ति रहेको अवस्थामा उल्लिखित जग्गाहरू समेत बण्डा लाग्ने ठहर गरेको शुरु काठमाडौँ जिल्ला अदालतको फैसला केही उल्टी गरि उल्लिखित कि.न. ५१, १९, ९९, ११, ७४०, १०९ र कि.न. ९१, ४ को घर जग्गासम्म गंगादेवी प्रधानको निजी आर्जनको सम्पत्ति ठहर्याई बण्डा नहुने ठहर गरी अन्य सम्पत्तिहरूमा वादी प्रतिवादीबाट पेश भएका तायदाती फाँटवारीमा उल्लिखित सम्पत्तिबाट दुई खण्डको एक खण्ड अंश वादीले पाउने ठहर गरेको पुनरावेदन अदालत पाटनको मिति २०५८।११।२३ को फैसला मिलेको देखिंदा सदर हुने ठहर्छ । प्रतिवादीहरूको पुनरावेदन जिकीर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार वुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.राजेन्द्रप्रसाद कोइराला
इति संवत् २०६६ साल कात्तिक ४ गते रोज ४.शुभम्
इजलास अधिकृत कृष्णप्रसाद सुवेदी