निर्णय नं. ७६९० - अंश

निर्णय नं.७६९० ने.का.प.२०६३ अङ्क ४
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री बलराम के.सी.
माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी
सम्वत २०५९ सालको दै.पु.नं.– ९४४८
फैसला मितिः २०६१।४।१६।३
मुद्दा– अंश ।
पुनरावेदक
वादीः जिल्ला ताप्लेजुङ हाङदेवा गा.वि.स. वार्ड नं.६ बस्ने अम्बिका भटृराई
विरुद्ध
प्रत्यर्थी
प्रतिवादीः जिल्ला ताप्लेजुङ्ग हाङदेवा गा.वि.स. वार्ड नं.४ बस्ने उद्धवप्रसाद भटृराई समेत
§ वादीले मुख्य प्रमाणको रुपमा पेश गरेका प्रेम पत्रमा लागेको सहिछाप र नागरिकता लिदा पेश गरेको निवेदनमा लागेको प्रतिवादीको सहिछाप भिड्ने नभिड्ने सम्बन्धमा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट प्राप्त विशेषज्ञको रायमा विवादीत लिखतका हस्ताक्षर र नमूनाका हस्ताक्षर फरक फरक Pattern बाट गरिएको, दस्तखतहरुको तुलनात्मक परिक्षण गरिएको एकै व्यक्तिबाट गरिएका हुन होइनन किटान गर्न नसकिने भनी उल्लेख भएको देखिएबाट वादीले पेश गरेका पत्रहरु प्रतिवादीले नै लेखेका रहेछन भनि किटान गर्न नसकिने ।
§ वादी र प्रतिवादी बीच आदान प्रदान भएको भनिएको समग्र पत्रको अध्ययन गरी हेर्दा ती पत्रहरुमा प्रतिवादीले वादीलाई पत्नि भनि स्वीकार गरेको पाइदैन । पत्रमा प्यारी बहिनी, My Dear, यादे यादकी खानी, शुभाशिष आदी शव्द प्रयोग भएको पाइन्छ । उल्लिखित पत्रको आधारमा एक प्रेमीले आफ्नो प्रेमीलाई संवोधन गरी पत्र लेखेको आशय झल्किएतापनि विवादास्पद पत्रहरुकै आधारमा वादी र प्रतिवादी बीच पति पत्निको सम्बन्ध कायम भएको भनि किटान गर्न नसकिने ।
§ कुनै दुई प्रेमी प्रेमिकाका रुपमा बस्नु र लोग्ने स्वास्नी भै बस्नु दुई अलग अलग स्थिती र अवस्था हुन्छ । प्रेम हुदैमा विवाह हुनै पर्ने बाध्यता नहुने ।
§ उल्लिखित आधार कारणबाट वादी र प्रतिवादीको बीच लोग्नेस्वास्नीको नाता कायम हुन सक्ने अवस्था नहुँदा वादी र प्रतिवादी बीच नाता कायम हुन नसक्ने, अंश तर्फ वादी दावी पुग्न नसक्ने र निष्प्रयोजनिक पत्रहरुलाई आधार लिई वादीलाई जालसाजीमा सजाय गरेको शुरुको फैसला सो हदसम्म उल्टी गरी वादीलाई जालसाजीमा सजाय नहुने ठहर्याएको पुनरावेदन अदालतको फैसला मिलेकै देखिने ।
(प्रकरण नं.१७)
पुनरावेदक वादी तर्फवाटः
प्रत्यर्थी प्रतिवादी तर्फवाटः
अवलम्वित नजीरः
फैसला
न्या.ताहिरअलि अन्सारीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) बमोजिम पुनरावेदन अदालत इलामको मिति ०५८।२।४ को फैसला उपर वादीको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ ।
२. प्र. मध्ये उद्धवकुमार भटृराईसंग २०४६ साल भाद्र महिनादेखि हाम्रा बीच माया प्रिती गरी जेठी पत्नीसंग मेरो जिवन निर्वाह नहुने भएको छ भने विष्णुमाया दर्जीको घरमा कपडा सिलाउन आउनु भएको अवस्था म एक्लै थिए, तपाईले मेरो मन चोर्नु भएको हो कि साच्चै हो भनि कुरा कानी गरि विपक्षी जानु भयो । त्यस पश्चात चिठी आदान प्रदान चली रहेको र २०४६ सालको विजय दशमीको तेश्रो रात त्रयादशमीको दिन समेत पटक पटक हामी बिच करणी लिनु दिनु भै विपक्षीले डेरामा राखी खान लाउन समेत दिई आउनु भएकोमा म कतिन्जेल सानी आमाकोमा बस्नु र मलाई तपाईको घरमा लानुहोस भन्दा मैले खान लाउन दिएकै छु, भनेकाले २०५०।८।२३ गते प्रमाणका मानिस समेत लि गई प्रमाणका मानिसले तपाईले घरमा लानु पर्छ भनि भन्दा घरमा लान इन्कार गरेकोले विपक्षीहरुबाट अंशवण्डाको २०,२१,२२,२३ र २४ नं. अनुसार तायदाती लि ५ वण्डाको १ वण्डा अंश छुटृयाई चलन समेत चलाई पाउँ भन्ने समेत व्यहोराको मिति २०५०।१०।२२ को फिराद पत्र ।
३. यि वादीको सानी आमा विष्णुमायालाई हामीले अगाडि देखि लुगा सिलाए वापत गाउँका चलन अनुसार साल १ को १४ पाथी बाली दिने गरेका थियौं । यि वादी समेत हाम्रो घरमा आउने जाने गर्थीन त्यस्तैमा निजले बाली उठाउने कुरा गर्दा हामी प्र.हरुले इन्कार गरि लुगा सिलाउन छाडी अन्यत्रै सिलाउन थालेपछि रिसाएकी थिइन सोही रिस इवी लिई म प्र. उद्धवप्रसादलाई उद्धव कुमार भनि आफै नाम राखी विभिन्न किसिमका चिठी खडा गरि पति बनाउन खोजेको मात्र हो यी वादीलाई पत्नी भनि स्वीकारी त्यसरी पत्रहरु लेखेको छुइन मैले प्र. शकुन्तलालाई पहिलेनै हाम्रो जातको रिती रिवाज अनुसार विवाह गरि हाम्रा बीच तिन वटा छोरा छोरीको जाय जन्म भएपछि पतिले परिवार नियोजन समेत गरेको हुँदा यी वादीलाई प्र.उद्धवप्रसादले श्रीमती तुल्याई राख्न कुनै आवश्यकता नपरेको ती सबै चिठीहरु जालसाजी कृते मात्र हुन सो हुँदा अंश दिनुपर्ने समेत होइन भन्ने समेत प्र.उद्धवप्रसाद, प्र.शकुन्तला भटृराई समेतको संयुक्त प्रतिउत्तर पत्र ।
४. यि प्रतिवादी उद्धवप्रसाद भटृराई र मेरो बीच २०४६ साल भाद्र महिनादेखि शारिरिक सम्बन्ध माया प्रिति कायम भएको र व्यवहार पनि गरि आएकोमा पछिबाट मलाई खान लाउन र हेरचाह समेत केही नगरेकाले यि प्रतिवादी समेतबाट ५ भागको १ भाग अंश पाउ भनि उजूर गरेको हुँ भन्ने समेत व्यहोराको वादी अम्बिका भटृराईको ०५१।५।३१ को बयान ।
५. मेरा पतिले नागरिकता प्रमाण पत्रमा उद्धव कुमार भन्ने नाम लेखेको छैन, उद्धवप्रसाद भटृराई भन्ने नाम उल्लेख छ सो पत्रहरुमा भएको नाम मेरा पतिको नभई सम्पूर्ण जालसाजी हुन् । त्यसो हुँदा अंश पाउँ भन्ने वादी दावीबाट अलग फार्सा गराई सो पत्रहरु निष्कृय गरिपाऊँ भन्ने समेत व्यहोराको प्र.शकुन्तला भटृराईले २०५१।५।३१ मा गरेको बयान ।
६. प्र. उद्धवप्रसादको जेठी श्रीमती छोरा छोरी भएतापनि निज प्र.ले वादीसंग नाता कायम गरेको हुँदा अंश दिनुपर्ने नै हो भन्ने वादीका साक्षी नर्वदा कार्की समेतको बकपत्र र यी वादी प्रतिवादी बीच चिठी आदान प्रदान केही नचलेको र नाता पनि केही छैन भए विवाह दर्ता हुन पर्ने सो समेत नहुँदा प्र.हरुले अंश दिनु पर्ने होइन भन्ने समेत प्र.का साक्षी मित्रलाल पौडेल समेतले २०५१।११।२१ मा गरेको बकपत्र ।
७. यसमा पेश भएको चिठी र वादीको साक्षीहरुको बकपत्र समेतबाट वादी प्रतिवादीको पति पत्नीको नाता कायम नै हुन नसकेको अवस्थामा अंश पाउँ भन्ने तर्फको वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने मिति २०५३।१०।१४ गतेको ताप्लेजुङ्ग जिल्ला अदालतको फैसला ।
८. उक्त इन्साफमा चित्त बुझेन पति पत्नीको नाता कायम हुन नसक्ने र अंशमा वादी दावी पुग्न नसक्ने गरि भएको शुरु ताप्लेजुङ्ग जिल्ला अदालतको फैसला बदर गरी प्रतिवादी उद्धवप्रसाद र म पुनरावेदक बीचको पति पत्नीको नाता कायम गरि ५ भागमा १ भाग अंश दिलाई पाउँ भन्ने अम्बिका भटृराईको पुनरावेदन जिकिर ।
९. मुल प्रमाण पेश भएको लिखतलाई नबोली भएको शुरुको मिति २०५३।१०।१४ गतेको फैसला अ.वं.१९२ नं. समेतको त्रूटि हुँदा बदर गरि दिएको छ । पुनः फैसला गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत इलामको मिति ०५५।२।२१ को फैसला ।
१०. यसमा प्रतिवादी मध्येका उद्धवप्रसाद भटृराईसंग विवाह भएको प्रमाण वादीबाट पेश हुन आएको छैन । वादीले प्रमाण दिएको चिठीहरु हेर्दा कस्ले कसलाई लेखेको हो सो कुरा पुष्टी नभएको र उक्त चिठी प्रतिवादीले जालसाजी भनि बयान गरेबाट उल्लेखित चिठी जालसाजी ठहर्छ। यि वादी प्रतिवादीको बिच लोग्ने स्वास्नीको नाता कायम नभएको हुँदा वादीले प्रतिवादीबाट अंश पाउँ भन्ने वादी दावी पुग्न सक्तैन भन्ने मिति २०५५।९।३० गतेको ताप्लेजुङ्ग जिल्ला अदालतको फैसला ।
११. उक्त इन्साफमा चित्त बुझेन मैले पेश गरेको चिठीहरु प्रतिवादी उद्धवप्रसादलाई सुनाई जालसाज ठहरी भएको फैसला प्रमाण ऐन, २०३१ को दफा ३, ९, ५२, ५३ र ५४ अ.वं. १८४क, १८५, १८९ नं. को गम्भीर त्रूटि फैसला बदर गरि नाता कायम गराई अंश दिलाई पाउँ भन्ने समेत व्यहोराको वादीको पुनरावेदन अदालत इलाममा गरेको पुनरावेदन पत्र ।
१२. यसमा प्र.उद्धवप्रसाद भटृराईलाई वादी पक्षले प्रस्तुत गरेको चिठीहरु अ.वं. ७८ नं. बमोजिम सनाखत नगराएकोमा प्र. सकुन्तलाले मात्र जालसाजी भनि नामाकरण गरेको आधारमा जालसाजी ठहर गरि अंश नातामा वादी दावी पुग्न नसक्ने ठहर गरेको फैसला फरक पर्न सक्ने देखिंदा अ.वं.२०२ नं. समेत बमोजिम प्रत्यर्थी झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत इलामको मिति २०५६।६।४ को आदेश ।
१३. यस अदालतको मिति २०५६।६।४ को आदेश अनुसार विवादीत चिठीहरु परिक्षण भै राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको मिति २०५७।५।१ को पत्रसाथ प्राप्त भएको रहेछ ।
१४. यसमा पुनरावेदिकाबाट प्रमाणको रुपमा पेश भएका सामान्य प्रेमसंग सम्बन्धित पत्रहरुका आधारमा मात्र वादी र प्रतिवादी मध्येका उद्धवप्रसाद भटृराई बीच लोग्ने स्वास्नीको नाता कायम हुन सक्ने अवस्था नहुँदा वादी र प्रतिवादी बिच नाता कायम हुन नसक्ने ठहराई अंश तर्फ वादीको दावी समेत नपुग्ने ठहराएको शुरुको फैसला मिलेकै देखिंदा सदर हुने ठहरी प्रमाणित मुल्यविहीन निष्प्रयोजनिक पत्रहरुलाई आधार लिई शुरुले बादीलाई जालसाजीमा सजाय गरेको मिलेको नदेखिंदा सो हदसम्म उल्टी भै वादीलाई जालसाजीमा सजाय नहुने ठहर्छ भन्ने पुनरावेदन अदालत इलामको फैसला ।
१५. कुनै पनि कानूनमा लोग्ने स्वास्नी कायम हुन वा गर्न जातकको अनिवार्यता हुदैन। जातक विहीन लोग्ने स्वास्नी पनि समाजमा प्रशस्त पाइन्छन । तसर्थ जातककै अभावमा लोग्ने स्वास्नी कायम गर्न मिल्दैन भनि गरिएको पुनरावेदन अदालतको त्रूटिपूर्ण फैसला बदर गरी फिराद दावी बमोजिम अंश दिलाई पाउँ भनि वादीको यस अदालतमा परेको पुनरावेदन ।
१६. नियमबमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको मिसिल अध्ययन गरी हेर्दा वादी र प्रतिवादी बीच नाता कायम हुन नसक्ने, अंश तर्फ दावी पुग्न नसक्ने र जालसाजीमा वादीलाई सजाय नहुने ठहर्याएको पुनरावेदन अदालत इलामको फैसला मिलेको छ छैन र वादीको पुनरावेदन जिकिर पुग्ने हो होइन सो को निर्णय दिनुपर्ने देखिन आयो ।
१७. निर्णय तर्फ विचार गर्दा मेरो विपक्षी उद्धवप्रसाद भटृराईसंग २०४६ साल देखिनै करणी लिनुदिनु भै लोग्नेस्वास्नी भएकोमा डेरामा राखी खान लाउन समेत दिई आउनु भएकोमा अहिले आएर खान लाउन नदिई घरमा लान इन्कार गरेकोले ५ भागको १ भाग अंश दिलाई पाउँ भन्ने वादी दावी भएकोमा, वादीसंग करणी लिनु दिनु गरी स्वास्नी बनाई राखेको होइन रिसइवीबाट वादीले झुठा फिराद गरेका हुन भन्ने प्रतिवादी जिकिर रहेको देखिन्छ । यसमा वादीले मुख्य प्रमाणको रुपमा पेश गरेका प्रेम पत्रमा लागेको सहिछाप र नागरिकता लिदा पेश गरेको निवेदनमा लागेको प्रतिवादी उद्धवप्रसाद भटृराईको सहिछाप भिड्ने नभिड्ने सम्बन्धमा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट प्राप्त विशेषज्ञको रायमा विवादीत लिखतका हस्ताक्षर र नमूनाका हस्ताक्षर फरक फरक Pattern बाट गरिएको, दस्तखतहरुको तुलनात्मक परिक्षण गरिएको एकै व्यक्तिबाट गरिएका हुन् होइनन् किटान गर्न नसकिने भनी उल्लेख भएको देखिएबाट वादीले पेश गरेका पत्रहरु प्रतिवादी उद्धवप्रसादले नै लेखेका रहेछन भनि किटान गर्न सकिने अवस्था रहेन । यिनै पत्रहरुलाई आधार देखाउदै वादीले प्रतिवादी उद्धवप्रसाद भटृराईलाई लोग्नेको रुपमा देखाइ अंशमा दावी गरेको पाइन्छ । वादी र प्रतिवादी बीच आदान प्रदान भएको भनिएको समग्र पत्रको अध्ययन गरी हेर्दा ती पत्रहरुमा प्रतिवादीले वादीलाई पत्नि भनि स्वीकार गरेको पाइदैन । पत्रमा प्यारी बहिनी, My Dear, यादे यादकी खानी, शुभाशिष आदी शव्द प्रयोग भएको पाइन्छ । उल्लिखित पत्रको आधारमा एक प्रेमीले आफ्नो प्रेमीलाई संवोधन गरी पत्र लेखेको आशय झल्किएतापनि उक्त विवादस्पद पत्रहरुकै आधारमा वादी र प्रतिवादी बीच पति पत्निको सम्बन्ध कायम भएको भनि किटान गर्न सकिने अवस्था पाइदैन । कुनै दुई प्रेमी प्रेमिकाका रुपमा बस्नु र लोग्ने स्वास्नी भै बस्नु दुई अलग अलग स्थिती र अवस्था हुन्छ । प्रेम हुदैमा विवाह हुनै पर्ने बाध्यता हुदैन । वादीसंग करणी भएकोमा प्रतिवादीले इन्कार गरी अदालतमा बयान गरेको पाइन्छ । वादीले प्रतिवादीसंगको करणी लेनदेनका कारण आफूमा गर्भ रहेको वा जातक जन्म भएको भन्न सकेको पनि पाइदैन । उल्लिखित आधार कारणबाट वादी र प्रतिवादी उद्धवप्रसाद भटृराइको बीच लोग्ने स्वास्नीको नाता कायम हुन सक्ने अवस्था नहुँदा वादी र प्रतिवादी बीच नाता कायम हुन नसक्ने, अंश तर्फ वादी दावी पुग्न नसक्ने र निष्प्रयोजनिक पत्रहरुलाई आधार लिई वादीलाई जालसाजीमा सजाय गरेको शुरुको फैसला सो हदसम्म उल्टी गरी वादीलाई जालसाजीमा सजाय नहुने ठहर्याएको पुनरावेदन अदालत इलामको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । धरौटी पुनरावेदकलाई फैसलाको जानकारी दिई दायरीको लगत कटृा गरी मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.वलराम के.सी.
ईती सम्वत २०६१ साल श्रावण महिना १६ गते रोज ३ शुभम् ।..............