शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८७८४ - गैंडा मारी खाग बिक्री

भाग: ५४ साल: २०६९ महिना: असार अंक:

ने.का.प. २०६९,            अङ्क ३

निर्णय नं. ८७८४

 

 

सर्वोच्च अदालत, संयुक्त इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री खिलराज रेग्मी

माननीय न्यायाधीश श्री तर्कराज भट्ट

फौ.पु.नं. ०६५CR०७१८

फौ.पु.नं. ०६६CR००११ र ००१२

फैसला मितिः २०६८।११।३।४

 

मुद्दा :गैँडा मारी खाग बिक्री 

 

पुनरावेदक प्रतिवादीः जि.चितवन, वीरेन्द्रनगर गा.वि.स.वडा नं. ८ घर भै कारागार कार्यालय,         चितवनमा थुनामा रहेको सूर्यबहादुर पुन

विरुद्ध

प्रत्यर्थी वादीः नेपाल सरकार

 

पुनरावेदक प्रतिवादीः जि.चितवन, वीरेन्द्रनगर गा.वि.स.वडा नं. ८ घर भै कारागार कार्यालय,         पाल्पामा थुनामा रहेको कुमार भन्ने यमकुमार पुन

विरुद्ध

प्रत्यर्थी वादीः नेपाल सरकार

 

पुनरावेदक प्रतिवादीः जि.चितवन, सिद्धि गा.वि.स.वडा नं. ३ घर भई हाल कारागार कार्यालय,       भरतपुरमा थुनामा रहेको बमबहादुर प्रजा

विरुद्ध

प्रत्यर्थी वादीः नेपाल सरकार

 

शुरु फैसला गर्नेः

प्रमुख संरक्षण अधिकृत श्री मेघबहादुर पाण्डे

पुनरावेदन फैसला गर्नेः

मा.न्या.श्री राजेन्द्रप्रसाद राजभण्डारी

मा.न्या.श्री एकराज आचार्य

§  कुनै परीक्षण नगराएको अवस्थामा मुद्दा हेर्ने अधिकारीसमक्षको साविती बयान समेतका सबूद प्रमाणका आधारमा कसूर कायम भई दोषी करार भइसकेपछि पुनरावेदन तहमा शुरु मुद्दा हेर्ने अधिकारीसमक्षको साविती बयानको सत्यतामा प्रश्न उठाई सो साविती आफूले दिएको होइन भन्ने जिकीर लिएकै आधारमा मात्र अदालतले साविती बयानको सत्यताउपर अनावश्यक शंका गरी अन्यथा निष्कर्ष निकाल्नेतर्फ विचार गरिरहनु नपर्ने 

(प्रकरण नं.६)

§  अनुसन्धान अधिकृत र मुद्दा हेर्ने अधिकारीसमक्ष गरेको आफ्नो साविती बयानको तथ्यलाई स्वीकारै गरेको र सो साविती बयान लिँदाको अवस्थामा यातना दिएको भन्ने कुरालाई मात्र विशेष रुपमा उठाई सो साविती प्रमाण ग्राह्य छैन भनी जिकीर लिए तापनि त्यस्तो यातना वा कुटपीट प्रमाणबाट पुष्टि नभएसम्म मुद्दा हेर्ने स्वतन्त्र निकायसमक्ष भएको साविती बयान निज विरुद्धको बलियो प्रमाणको रुपमा रहिरहने 

(प्रकरण नं.७)

§  संगठित अपराधमा संलग्न प्रतिवादीहरूको कसूरलाई कुनै एउटा एक्लो वारदात वा घटनासँग मात्र जोडी निरपेक्ष ढंगबाट हेर्नु भन्दा सो वारदातबाट प्रतिवादीहरूले हासिल गर्न चाहेको निहीत उद्देश्य वा सो वारदातको दूरगामी असरलाई हेर्नु न्यायिक दृष्टिकोणबाट उपयुक्त वा वाञ्छनीय हुने 

§  वारदात घटाई खाग काटी त्यसलाई बिक्री गरी प्राप्त गरेको रकम बराबरी रुपमा बाँडी खाएको स्थितिमा प्रतिवादीहरूको समान प्रकृतिको संलग्नता रहेको मान्नुपर्ने 

§  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २७ को प्रतिबन्धात्मक वाक्यांशले गैंडा, बाघ, कस्तुरी मृग र हात्तीसित सम्बन्धित कसूर गर्ने व्यक्ति र सोको मतियारलाई समान सजाय हुने व्यवस्था गरेको अवस्थामा मुख्य अभियुक्त र अन्य अभियुक्तको हकमा बेग्लाबेग्लै सजाय हुने अवस्था नदेखिने 

(प्रकरण नं.१०)

 

पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताहरू रजितभक्त प्रधानाङ्ग, केदारप्रसाद दाहाल, जीतेन्द्र बज्राचार्य, निर्मला शाक्य र नरेन्द्रप्रसाद पाठक

प्रत्यर्थी वादी तर्फबाटः

अवलम्बित नजीरः

सम्बद्ध कानूनः

§  राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण ऐन, २०२९ को दफा ५ र १९(१) र २६(१)

 

फैसला

            प्र.न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत, हेटौंडाको मिति २०६६।१।२७ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१) (ग) बमोजिम प्रतिवादीहरूको तर्फबाट पुनरावेदन परी पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य एवं निर्णय यस प्रकार छ :

            चितवन राष्ट्रिय निकुञ्जको कुजौली पोष्टदेखि पश्चिम दक्षिणपट्टि राष्ट्रिय निकुञ्जभित्र कालीवन (सिक्रे टापु) एरियामा एक पोथी गैँडालाई चोरी शिकारीले गोली हानी मारी खाग बन्चरोले काटी लगेको घाउ देखिएको र मृत शरीरमा गोलीको टुक्रा समेत फेला परेको भन्ने मिति २०५९।१२।१३ को घटनास्थल प्रकृति लासजाँच मुचुल्का 

            संरक्षण अधिकृत कमलजंग कुँवर समेतको मिति २०६०।७।२४ को जाहेरी प्रतिवेदनअनुसार जि. चितवन, वीरेन्द्रनगर८ बस्ने कुमार पुन, सूर्यबहादुर पुन र छवीर पुनलाई पक्राउ गरी पेश गरिएको प्रतिवेदन 

            चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका रेञ्जर बेदबहादुर खड्कासमक्ष २०५९ सालको चैत्र महिनामा चितवन राष्ट्रिय निकुञ्ज कालीवन (सिक्रे टापु) मा प्रतिवादीहरू सूर्यबहादुर पुन र बमबहादुर प्रजा भएर गैँडा मारी खाग काटी बिक्री गरेपछि रु.४०,०००। का दरले रकम बाँडी लिएको भनी कुमार भन्ने यमकुमार पुनले गरेको बयान 

            २०५९ साल चैत महिनामा निकुञ्जको आइलैण्ड एरियामा पर्ने कालीवन (सिक्रे टापु) मा प्र. बमबहादुर प्रजाले लुकाई राखेको बन्दुकले गोली हानी गैँडा मारी खाग काटी बिक्री गरेपछि रु.४०,०००। का दरले मैले र प्र. कुमार भन्ने यमकुमार पुनले रकम लिएका हौं भनी प्र. सूर्यबहादुर पुनले गरेको बयान 

            गैँडा मारी खाग बिक्री गर्ने कार्यमा हालसम्म कसैसँग पनि कुनै ठाउँमा पनि हिँडडुल गरेको छैन । मेरो साइँली छोरी काली पुनलाई वीरमान प्रजाले भगाई लगेको हुँदा वीरमान प्रजाको कारणले गर्दा मलाई पक्राउ गरेको होला भनी रेन्जर बेदबहादुर खड्कासमक्ष प्र. छवीर पुनले गरेको बयान 

            शंकास्पद व्यक्तिहरू बमबहादुर प्रजा, सूर्यबहादुर पुन र कुमार भन्ने यमकुमार पुन समेतका मानिसहरू खानेकुरा पसलमा किनी झोलामा बोकी मिति २०५९।१२।११ गते बेलुकीपख निकुञ्जतिर गएको देखेको हुँ । त्यसको ३/४ दिनपछि सिक्रे टापुमा गैँडा मारेछन् भन्ने सुनेको हुँ भनी सर्जमीन मुचुल्कामा बस्ने कृष्णप्रसाद आचार्य समेतका मानिसहरूले मिति २०६०।८।११ मा गरेको सर्जमीन मुचुल्का 

            प्र. छवीर पुन गैँडा मार्ने कार्यमा संलग्न छैन भनी प्र. सूर्यबहादुर पुनले गरेको बयानको आधारमा स.मु.स. ऐन, २०४९ को दफा २१ बमोजिम मिति २०६०।८।१५ मा प्र. छवीर पुनलाई हाजीर जमानीमा छाडिएको भन्ने कागज 

            जिल्ला सरकारी वकील कार्यालय, भरतपुर, चितवनको च.नं. २७३ मिति २०६०।८।१६ को पत्रानुसार प्र. छवीर पुन समेतका मानिसहरू उपर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन, २०२९ को दफा ५(क) र १९(१) को कसूर अपराधमा सोही ऐनको दफा २६(१) बमोजिम सजायको माग दावी लिई मुद्दा चलाउनु भन्ने निर्णयको प्रतिलिपि 

            चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसराका अनुसन्धान अधिकारी रेन्जर बेदबहादुर खड्काले रा.नि.तथा व.ज.सं. ऐन, २०२९ को दफा ५(क) र १९(१) अनुसार प्रतिवादीहरूले कसूर अपराध गरेकोले सोही ऐनको दफा २६(१) बमोजिम हदैसम्मको सजायको माग दावी लिई ऐ.ऐनको दफा ३०(१) बमोजिम मिति २०६०।८।१७ मा दायर गरेको अभियोग पत्र 

            २०५९ सालको चैत्र महिनामा प्र. बमबहादुर प्रजा, कुमार भन्ने यामकुमार पुन र म समेत भएर राष्ट्रिय निकुञ्जभित्र पर्ने कालीवन एरियामा प्र. बमबहादुर प्रजाले लुकाएर राखेको बन्दूकले गोली हानी निज बमबहादुरले गैंडा मारेको हो । उक्त गैंडाको खाग बञ्चरोले काटी बिक्री गरी रु.४०,००० (चालीस हजार) दिएको हो भनी इजलाससमक्ष प्र. सूर्यबहादुर पुनले मिति २०६०।८।१८ मा गरेको साविती बयान 

            २०५९ सालको चैत्र महिनामा प्र. बमबहादुर प्रजा र म समेत भएर राष्ट्रिय निकुञ्जको आइलैण्डमा पर्ने कालीवन एरियामा प्र. बमबहादुर प्रजाले लुकाइ राखेको बन्दुकले गोली हानी निज बमबहादुर प्रजाले गैडा मारेको हो । उक्त गैडाको खाग बन्चरोले काटी झोलामा राखी लुकाइ छिपाइ मेरो घरमा ल्याएर उसिनेर छाला मासु छुट्टयाई प्र. बमबहादुर प्रजाले लगी बिक्री गरी मलाई रु.४०,०००। दिएको भनी प्र. कुमार भन्ने यमकुमार पुनले मिति २०६०।८।१८ मा गरेको साविती बयान 

            प्र. कुमार भन्ने यमकुमार पुन र प्र. सूर्यबहादुर पुनलाई राष्ट्रिय निकुन्ज तथा वन्य जन्तु संरक्षण ऐन, २०२९ को दफा ५(क) र १९(१) को कसूर गरेकोले सोही ऐनको दफा २६(१) बमोजिम हुने सजायलाई मध्यनजर राखी पुर्पक्षको लागि थुनामा राख्न पठाउनु भन्ने मिति २०६०।८।१८ को आदेश 

            गैडा मारी खाग बिक्री व्यवसाय गर्ने कार्य मैले गरेको छैन । मेरी साइली छोरी वीरमान प्रजासँग पोइल गएको हुँदा त्यही छोरीको कारणले मैले दुख पाइरहेको छु । वीरमान प्रजा कहिले काहीँ आउने गर्दछन् भनी प्र. छवीर पुनले गरेको बयान 

            २०५९ साल चैत्र महिनामा राष्ट्रिय निकुञ्जको आइलैण्ड जंगलको कालीवनमा मैले लुकाई राखेको बन्दुकले गोली हानी गैँडा मारी बन्चरोले खाग काटी झोलामा राखी लाहुरे भन्ने गादर वुर्जामगर मार्फत् बिक्री गरी मैले, प्र. कुमार भन्ने यमकुमार पुन र प्र. सूर्यबहादुर पुनले रु.४०,०००। का दरले बाँडी लिएका हौं । निकुञ्ज, मध्यवर्ती क्षेत्र र वन क्षेत्रमा गरी १७ वटा गैँडा मारी खाग बिक्री गरी पटक पटक गरी जम्मा रु.८,८५,०००। आर्थिक लाभ लिएको हुँ भनी प्र. बमबहादुर प्रजाले गरेको साविती बयान 

            सर्जमीन मुचुल्काको रोहबरमा बस्ने सिसवार उपभोक्ता समिति रजहर नवलपरासीको अध्यक्ष बिष्णुबहादुर सेन, प्र. यमकुमार पुनको साक्षी रेशम के.सी., हरि पुन, प्र. छवीर पुनका साक्षी होमबहादुर पुन, घटनास्थल प्रकृति लासजाँच मुचुल्कामा बस्ने रामसेवक यादवले गरेको बकपत्र 

 

            प्रतिवादीहरू यमकुमार पुन, सूर्यबहादुर पुन तथा प्रतिवादी बमबहादुर प्रजाले रा.नि. तथा व.ज.सं. ऐन, २०२९ को दफा ५ (क) र १९(१) को कसूर अपराध गरेको पुष्टि भएको हुँदा ऐ. ऐनको दफा २६(१) बमोजिम प्रत्येकलाई १५ (पन्ध्र) वर्ष कैद र रु.१,००,०००। (एक लाख) जरीवाना हुने र प्रतिवादी छवीर पुनले रा.नि.तथा ब.ज.सं. ऐनको दफा १९(१) को कसूर अपराध गरेको पुष्टि भएकोले सोही ऐनको दफा २६(१) बमोजिम ५ (पाँच) वर्ष कैद हुने ठहर्छ भन्ने शुरु चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको फैसला 

            रेन्जर र प्रमुख संरक्षण अधिकृतसमक्ष गराइएको बयान मेरो स्वेच्छापूर्वक गराइएको होइन । मलाई शारीरिक यातना दिई जवर्जस्ती सही गराइएको हो । सहअभियुक्तलाई पनि यातना दिई मलाई समेत पोल गर्ने गरी साविती गराएका हुन् । त्यसमा पनि सहअभियुक्तको पोललाई प्रमाणको रुपमा लिन मिल्ने होइन । साविती बयानलाई अन्य प्रमाणले पुष्टि गरेको अवस्था पनि छैन । यदि उक्त बयान मेरो स्वेच्छाले गरेको अवस्थामा पनि प्रमुख अभियुक्त मानिएका बमबहादुर प्रजालाई १७ वटा गैडा मारेकोमा सावित गराई १५ वर्ष कैद र रु.१,००,०००। जरीवाना हुनुले अपराधको प्रकृति र अवस्थालाई ख्यालै नगरिएको भन्ने पुष्टि हुन्छ । अतः म निर्दोष व्यक्तिलाई मेरो ईच्छा विरुद्ध जवर्जस्ती गराएको साविती बयानबाट दोषी करार गरेको फैसला गैरकानूनी हुँदा उक्त फैसला उल्टी गरी मैले सफाइ पाउने गरी इन्साफ गरिपाऊँ भन्ने व्यहोराको प्रतिवादी मध्येका कुमार भन्ने यमकुमार पुनको पुनरावेदन पत्र 

            मैले रेन्जर र प्रमुख संरक्षण अधिकृतसमक्ष गरेको भनेको साविती बयान मेरो स्वेच्छापूर्वक गरिएको होइन । जवरजस्ती सही गराइएको हो । साविती बयानको कुरालाई अन्य स्वतन्त्र प्रमाणले पुष्टि पनि गर्दैन । सहअभियुक्तको पोलको आधारमा मात्र अपराधी तुल्याई सजाय गर्नु पनि न्यायिक र युक्तिसंगत हुन सक्दैन । मुख्य अभियुक्त र मलाई हाम्रो कसूर भिन्नाभिन्दै हुँदाहुँदै पनि समान सजाय गर्नु पनि कानूनको मकशद विरुद्ध रहेको छ । अतः उक्त फैसला गैरकानूनी हुँदा उल्टी गरी मैले सफाइ पाउने गरी इन्साफ गरिपाऊँ भन्ने प्रतिवादीहरू मध्येका सूर्यबहादुर पुनको पुनरावेदन पत्र 

            म प्रतिवादीले मौका तथा इजलासमा बयान गर्दाको अवस्थामा मैले भनेबमोजिम तथा मलाई सोधेर समेत लेखिएको होइन र पढेर सुनाइएको समेत होइन । मलाई पहिले अरु मुद्दा लागेका कारणबाट यो मुद्दामा ठहर हुनुपर्ने पनि होइन । मुद्दामा कैद तथा जरीवाना गर्दा लिइएको आधार पनि मिलेको छैन । वादीले पेश गरेको मुचुल्काका मानिसहरू घटनाका प्रत्यक्षदर्शी समेत होइनन् । मलाई धेरै गैँडा मारेको जस्तो देखाएको छ, तर सो सम्बन्धमा अनुसन्धान नै नगरी ती कुरा मेरा विरुद्ध प्रमाणमा लिन मिल्ने पनि होइन । अतः शुरुको फैसला उल्टी गरी अभियोग दावीबाट सफाइ पाउने गरी अर्को फैसला गरिपाऊँ भन्ने प्रतिवादी बमबहादुर प्रजाको पुनरावेदन पत्र 

            शुरुको इन्साफ प्रमाणको मूल्याङ्कन र कानूनको व्याख्याको प्रश्नमा फरक पर्नसक्ने देखिएकोले छलफलको लागि प्रत्यर्थी झिकाई पेश गर्नु भन्ने पुनरावेदन अदालतको मिति २०६५।२।२०।२ को आदेश 

            प्रतिवादी छवीर पुनलाई पाँच वर्ष कैद गरी फैसला भएउपर निजले पुनरावेदन नगरी बसेकोले निजले उक्त फैसला स्वीकार गरेको हुनाले निजको हकमा कुनै विचार गर्नुपर्ने अवस्था आएन । प्रतिवादी बमबहादुर प्रजाले योजनाबद्ध ढंगले वारदातस्थल क्षेत्रमा गई दुई रात नदीको किनारामा नै बास बसी अगाडिदेखि नै लुकाई राखेको बन्दुक प्रहार गरेको, पुनरावेदक बमबहादुर प्रजाको साथमा लहैलहैमा लागी गैँडा मार्न गएको नभई योजनाबद्ध रुपमा खाग बेची तस्करी गरी रुपैयाँ कमाउने लालचमा कसूर गरेको तथा गैँडा मार्नको लागि नै सल्लाह गरी नारायणगढदेखि गई मार्नको लागि बन्दूक प्रहार गर्नेलाई मात्र बढी सजाय गर्नु न्यायोचित् नहुने हुँदा सो अपराध गर्न मत सल्लाहमा पसी योजना बनाई वारदातस्थलमा गई मार्ने कार्यमा सहयोग गर्ने, खाग बोकी हिँडी जाने र सो खाग बिक्री गरी रुपैयाँ बाँडी खाने समेतको कार्य संयुक्त रुपमा तीनैजना पुनरावेदक प्रतिवादीहरूले गरेकोले सबै पुनरावेदक प्रतिवादीहरूलाई समान सजाय भई अन्तिम हदको कैद सजाय तोक्दा मात्र कसूरको मात्राको अनुपातमा सजाय हुन सक्ने र गैँडा मारी खाग बेच्ने तस्करी मनोबृत्तिका व्यक्तिहरू हतोत्साहित हुनेसम्म हुन्छन् । न्यून सजाय गर्दा त्यसको असर नराम्रो पर्ने र गैँडा संरक्षणको कार्यमा चुनौती आउन सक्ने तथा कसूरको मात्राअनुसार शुरुले सजाय गरेको हुँदा न्यून हदको सजाय गरिपाऊँ भन्ने पुनरावेदन जिकीरसँग सहमत हुने अवस्था देखिएन । तसर्थ, पुनरावेदक प्रतिवादी यामबहादुर पुन, सूर्यबहादुर पुन र बमबहादुर प्रजाको कसूर निःशंक पुष्टि हुन आएकोले निजहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५(क) र १९(१) को कसूरमा ऐ. को दफा २६(१) ले जनही कैद पन्ध्र वर्ष र जरीवाना एकलाख रुपैयाँ गर्ने गरी शुरु चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, कसारा, चितवनका प्रमुख संरक्षण अधिकृतबाट भएको फैसला मिलेको हुँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, हेटौँडाको मिति २०६६।१।२७ को फैसला 

पुनरावेदन अदालतको फैसलामा चित्त बुझेन । मेरो साविती बयानलाई आधार लिई शुरुले कसूरदार ठहर्‍याएकोलाई पुनरावेदन अदालतले सदर गरेको छ । उक्त साविती बयान मलाई चरम यातना दिई पहिले नै लेखिएको बयानमा जवरजर्स्ती सहिछाप गराएको हो । त्यस्तो बयान प्रमाण ऐन, २०३१ को दफा ९ प्रतिकूल छ । अर्को बुँदामा सहअभियुक्तको पोलबाट अभियोग पुष्टि भएको भनिएको छ । तर सहअभियुक्त समेतको बयान निजको स्वतन्त्रतापूर्वक र स्वेच्छाले भएको होइन । सहअभियुक्तहरू बमबहादुर प्रजा र कुमार पुनको बयानमा भरुवा बन्दूकबाट गोली हानी गैँडा मारेको भन्ने व्यहोरा उल्लेख भएको छ । तर गैँडाको लास प्रकृति मुचुल्काबाट कञ्चटभित्र थ्री नट थ्री राइफलको गोलीको टुक्रा भेटिएको देखाइएको छ । यसबाट निज सहअभियुक्तहरूको बयान नै जवर्जस्ती रुपमा गराइएको पुष्टि हुन्छ । मेरो साविती बयान यातना दिई गराइएकोमा हिरासतमा कुटपीट गरिएको भए घाजाँच गराउनु पर्नेमा नगराएको भन्दै पुनरावेदन अदालतले उक्त साविती कुटपीट गरी गराइएको होइन भन्ने निष्कर्ष निकालेको छ । तर राष्ट्रिय निकुञ्जभित्र यातना दिइएकोमा उपचार वा घाजाँच गराउने अवस्था नै नहुने वास्तविकतातर्फ अदालतले न्यायिक मन लगाई मनन गर्न सकेको छैन । वारदात पुष्टि गर्ने आधारको रुपमा सिसवार उपभोक्ता समितिका अध्यक्ष बिष्णुबहादुर सेन र घटनास्थल लास प्रकृति मुचुल्कामा बस्ने गे.रामसेवक यादवको बकपत्रलाई पनि लिइएको छ । तर निजहरूको बकपत्रबाट यो यसले नै वारदात घटाएको भनी किटानी गरिएको छैन । यस्तो अवस्थामा म उपरको अभियोग दावी स्थापित हुनै नसक्नेमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ बमोजिम हदैसम्मको सजाय गरेको शुरुको फैसला सदर गर्ने गरी पुनरावेदन अदालतबाट भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दावीबाट सफाइ पाऊँ भन्ने प्रतिवादी सूर्यबहादुर पुनको पुनरावेदन पत्र 

            पुनरावेदन अदालतको फैसलामा चित्त बुझेन । मलाई सजाय गर्दा अनुसन्धान अधिकृतसमक्षको साविती बयानलाई मुख्य प्रमाण मानी ठहर गरिएको छ । सो साविती मेरो स्वेच्छाबाट भएको होइन । मलाई चरम यातना दिई लिएको साविती प्रमाण ऐन, २०३१ को दफा ९ प्रतिकूल छ । जसलाई खाग बिक्री गरेको भनी आरोप लगाईएको छ ती व्यक्तिहरू वीजय लामा र लाहुरे भन्ने गादर बुर्जा मगरलाई विपक्षी बनाई कारवाही गरिएकै छैन । मृतक गैँडाको कञ्चटभित्रबाट थ्री नट थ्री राइफलका गोलीका टुक्रा भेटिएको भन्ने लास प्रकृति मुचुल्कामा उल्लेख छ । तर मेरो साविती बयानमा बमबहादुर प्रजाले भरुवा बन्दूक प्रहार गरी मारेको भन्ने व्यहोरा उल्लेख गरी जवरजस्ती यातना दिई सहिछाप गराइएको छ । सहअभियुक्तले पोलेको आधारले मात्रै कसूर स्थापित भई सजाय हुन सक्तैन भन्ने अनेकन सिद्धान्तहरू रहेका छन् । साविती बयान गराउँदा यातना दिएकोमा त्यसको घाखत जाँच नगराएको भन्ने आधारमा मात्र सो साविती सही रुपमा स्वेच्छापूर्वक गराइएको भन्ने अर्थ गर्न मिल्दैन । राष्ट्रिय निकुञ्जभित्रको थुनामा यातना दिइएको यथार्थतालाई अदालतले गम्भीरतापूर्वक हेर्नुपर्दछ । वारदात पुष्टि गर्ने महत्वपूर्ण आधारको रुपमा सिसवार उपभोक्ता समितिका अध्यक्ष बिष्णुबहादुर सेन तथा घटनास्थल, लास प्रकृति मुचुल्कामा बस्ने मे. राम सेवक यादवको बकपत्रबाट वारदात पुष्टि भएको भनिएपनि ती दुबै व्यक्तिको बकपत्रबाट मैले समेत गोली हानेको भन्ने खुलेको छैन । यस्तो अवस्थामा बिना आधार प्रमाण राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ बमोजिम हदैसम्म सजाय गरेको त्रुटिपूर्ण छ । अपराधको प्रकृति र मात्राअनुरूप मात्रै सजाय हुनेमा हदैसम्मको सजाय गर्ने गरेको शुरुको इन्साफ सदर गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी कुमार भन्ने यमकुमार पुनको पुनरावेदन पत्र 

            पुनरावेदन अदालतको फैसलामा चित्त बुझेन । मेरो साविती बयानलाई आधार लिई शुरुले कसूरदार ठहर्‍याएकोलाई पुनरावेदन अदालतले सदर गरेको छ । उक्त साविती बयान मलाई चरम यातना दिई पहिले नै लेखिएको बयानमा जवरजस्ती सहिछाप गराएको हो । त्यस्तो बयान प्रमाण ऐन, २०३१ को दफा ९ प्रतिकूल छ । अर्को बुँदामा सहअभियुक्तको पोलबाट अभियोग पुष्टि भएको भनिएको छ । तर सहअभियुक्त समेतको बयान निजको स्वतन्त्रतापूर्वक र स्वेच्छाले भएको होइन । सहअभियुक्तहरू सूर्यबहादुर पुन र कुमार पुनको बयानमा भरुवा बन्दूकबाट गोली हानी गैँडा मारेको भन्ने व्यहोरा उल्लेख भएको छ । तर गैँडाको लास प्रकृति मुचुल्काबाट कञ्चटभित्र थ्री नट थ्री राइफलको गोलीका टुक्रा भेटिएको देखाइएको छ । यसबाट निज सहअभियुक्तहरूको बयान नै जवर्जस्ती रुपमा गराइएको पुष्टि हुन्छ । मेरो साविती बयान यातना दिई गराइएकोमा हिरासतमा कुटपीट गरिएको भए घाजाँच गराउनु पर्नेमा नगराएको भन्दै पुनरावेदन अदालतले उक्त साविती कुटपीट गरी गराइएको होइन भन्ने निष्कर्ष निकालेको छ । तर राष्ट्रिय निकुञ्जभित्र यातना दिइएकोमा उपचार वा घाजाँच गराउने अवस्था नै नहुने वास्तविकतातर्फ अदालतले न्यायिक मन लगाई मनन गर्न सकेको छैन । वारदात पुष्टि गर्ने आधारको रुपमा सिसवार उपभोक्ता समितिका अध्यक्ष बिष्णुबहादुर सेन र घटनास्थल लास प्रकृति मुचुल्कामा बस्ने गे. रामसेवक यादवको बकपत्रलाई पनि लिइएको छ । तर निजहरूको बकपत्रबाट यो यसले नै वारदात घटाएको भनी किटानी गरिएको छैन । यस्तो अवस्थामा म उपरको अभियोग दावी स्थापित हुनै नसक्नेमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ बमोजिम हदैसम्मको सजाय गरेको शुरुको फैसला सदर गर्ने गरी पुनरावेदन अदालतबाट भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दावीबाट सफाइ पाऊँ भन्ने प्रतिवादी बमबहादुर प्रजाको पुनरावेदन पत्र 

            नियमबमोजिम पेशी सूचीमा चढी निर्णयार्थ पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी सूर्यबहादुर पुन समेतको तर्फबाट विद्वान अधिवक्ताहरू श्री केदारप्रसाद दाहाल र श्री जीतेन्द्र बज्राचार्यले प्रस्तुत मुद्दामा प्रतिवादीहरू उपर अधिकतम सजाय गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६(१) को व्यवस्थाअनुसार पनि प्रस्तुत वारदातमा हदैसम्मको सजाय गर्नु मनासिव हुँदैन । कसूरको गाम्भीर्यता र प्रतिवादीहरूको संलग्नताको अवस्था समेतलाई विचार नगरी हचुवाको आधारमा हदैसम्मको सजाय गर्नुले न्यायिक मनको प्रयोग नभएको पुष्टि गर्दछ । एउटै निकायबाट मुद्दाको अनुसन्धान, अभियोजन र निर्णय गरिएको अवस्था हुँदा निष्पक्ष सनुवाईको सिद्धान्त समेत अनुशरण भएको छैन । तसर्थ कसूरको गम्भीरता र त्यसमा हाम्रो पक्षको संलग्नताको मात्रालाई हेरी न्यायपूर्ण रुपमा इन्साफ गर्नुपर्नेमा हचुवाको आधारमा हदैसम्मको सजाय गर्ने गरी शुरु राष्ट्रिय निकुञ्ज कार्यालयको निर्णय सदर गरेको पुनरावेदन अदालतको फैसला उल्टी हुनुपर्दछ भन्ने समेत बहस गर्नुभयो 

पुनरावेदक प्रतिवादी कुमार भन्ने यमकुमार पुनको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री रजितभक्त प्रधानाङ्ग र विद्वान अधिवक्ताहरू श्री निर्मला शाक्य र श्री नरेन्द्रप्रसाद पाठकले प्रस्तुत मुद्दामा मुख्य अभियुक्त र सहअभियुक्त समेतलाई बराबर सजाय गर्ने गरी शुरु तथा पुनरावेदन अदालत समेतबाट फैसला भएको छ । फौजदारी कसूर वारदातमा संलग्नताको मात्रा हेरी Principle of parity अनुसार अभियुक्तलाई सजाय गर्नु पर्दछ । तर समान हैसियतका अभियुक्त छवीर पुनलाई ५ वर्ष मात्रै कैद सजाय गरिएको र अरुलाई हदैसम्मको सजाय गरिएको शुरु र पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण छ । प्रस्तुत कसूरमा हाम्रो पक्षको आपराधिक मनसाय (Mens Rea) पुष्टि भएको छैन । यसका साथै मुख्य अभियुक्त र मतियारको कसूरमा संलग्नताको गम्भीरता एउटै हुनै सक्तैन । तर मुख्य अभियुक्त र मतियारलाई एउटै स्तरमा सजाय गरिएको हुँदा पुनरावेदन अदालतको फैसला उल्टि हुनुपर्दछ भन्ने समेत बहस गर्नुभयो 

विद्वान कानून व्यवसायीहरूले गर्नु भएको बहस जिकीर सुनी मिसिल संलग्न कागजातहरू अध्ययन गरियो । यसमा पुनरावेदन अदालतले पुनरावेदक प्रतिवादीहरूलाई कसूरदार कायम गरी सजाय गर्ने गरेको फैसला मिले, नमिलेको के रहेछ भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो 

२. निर्णयतर्फ विचार गर्दा प्रतिवादीहरू कुमार भन्ने यमकुमार पुन, बमबहादुर प्रजा, सूर्यबहादुर पुन र छबीर पुन उपर राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण ऐन, २०२९ को दफा ५ र १९(१) को कसूरमा ऐ दफा २६(१) बमोजिम हदैसम्मको सजायको माग गरी अभियोगपत्र पेश भएकोमा प्रतिवादीहरू यमकुमार पुन, बमबहादुर प्रजा र सूर्यबहादुर पुनलाई सोही दफा २६(१) बमोजिम जनही १५ बर्ष कैद र रु.१,००,०००। का दरले जरीवाना हुने र अर्को प्रतिवादी छवीर पुनलाई कैद बर्ष ५ हुने ठहर्‍याई शुरु राष्ट्रिय निकुञ्ज कार्यालयबाट भएको निर्णय सदर हुने ठहरी पुनरावेदन अदालतबाट फैसला भएको देखिन्छ । सो फैसलामा चित्त नवुझाई पुनरावेदक प्रतिवादीहरूको तर्फबाट छुट्टाछुट्टै पुनरावेदन परी निर्णयार्थ पेश भएको देखियो 

मिसिल अध्ययन गर्दा प्रतिवादीमध्येका छवीर पुनले शुरुको इन्साफमा चित्त बुझाई पुनरावेदन नगरी बसेबाट निजको हकमा शुरुको इन्साफ अन्तिम भै बसेको देखिँदा सो बारेमा यहाँ बोलिरहन आवश्यक भएन 

३. अब पुनरावेदक प्रतिवादीहरू कुमार भन्ने यमकुमार पुन, बमबहादुर प्रजा र सूर्यबहादुर पुनलाई अभियोग दावीबमोजिम हदैसम्मको सजाय गर्ने गरेको शुरु राष्ट्रिय निकुञ्ज कार्यालयको निर्णय र सोलाई सदर गरेको पुनरावेदन अदालतको फैसला मिले नमिलको सम्बन्धमा विचार गर्दा प्रतिवादीमध्येका बमबहादुर प्रजासँग २०५९ साल चैत्रमा नारायणगढमा फिल्म हेर्न जाँदा भेट भई निजले गैँडा मार्न जाऔँ, ३०।४० हजार रुपैयाँ दिन्छु भनी भनेको हुँदा पैसाको लोभमा परी गाडीमा चढी नवलपरासीको रजहरतर्फबाट नारायणी नदी किनारमा उत्रिई त्यहीँ सुतेको र भोलिपल्ट नदी तरी राष्ट्रिय निकुञ्ज क्षेत्रको जंगलभित्र प्रवेश गरी गैँडा खोज्दा नभेटिएकोले सो रात पनि जंलमै सुत्यौं, त्यसको भोलिपल्ट बगरमा हेर्दा गैँडा हिँडेको पाइला देखी सो पाइला पछ्याउँदै जाँदा गैँडा भेटियो । तत्पश्चात् हामीलाई रुखमा चढाएर बमबहादुर बन्दुक लिई गैँडा मार्न गयो, आधाघण्टा पछि बन्दुक पड्कियो, हामी जाँदा गैँडा मरेको थियो, बमबहादुरले बन्चरोले खाग काटी मलाई झोलामा बोक्न दिए । हामी नारायणघाट निस्केपछि बमबहादुरले रु.४०,०००। का दरले मलाई र सूर्यबहादुरलाई पैसा समेत दिएको हो भनी प्रतिवादी कुमार भन्ने यमकुमार पुनले अनुसन्धान अधिकारी र मुद्दा हेर्ने अधिकारीसमक्षको बयानमा कसूरमा सावित भै घटनाको पृष्ठभूमि, घटना वारदातको समयमा आफूले खेलेको भूमिकालगायत वारदातसँग सम्बन्धित सम्पूर्ण घटनाक्रमको वारेमा सबै तथ्यहरू सहज रुपमा र सविस्तार उल्लेख गरेको देखिन्छ 

४. अर्का पुनरावेदक प्रतिवादी सूर्यबहादुर पुन समेतले अनुसन्धान अधिकृत र मुद्दा हेर्ने अधिकारीसमक्षको बयानमा कसूरमा सावित भई यमकुमार पुनको बयानमा उल्लिखित व्यहोरालाई नै समर्थन गर्दै आफू समेत संलग्न भई गैँडा मार्न गएको र गैंडा मारी खाग ल्याएपछि प्रतिवादी बमबहादुर प्रजाले दिएको रु.४०,०००। लिई खाएको कुरा स्वीकार गरी घटनाको सविस्तार वर्णन गरेको देखिन्छ । त्यस्तै प्रतिवादी बमबहादुर प्रजा अर्को गैंडा मारेको कसूरमा थुनामा रहेको भै निजको प्रस्तुत मुद्दामा अनुसन्धान अधिकारीसमक्ष बयान नगराइएको भएपनि मुद्दा हेर्ने अधिकारीसमक्ष गरेको बयानमा आफूले पटक पटक गरी १७ वटा गैंडा मारी सकेको र प्रस्तुत वारदातमा समेत आफूले पूर्वयोजना बनाई सहअभियुक्त प्रतिवादीहरू यमकुमार पुन, सूर्यबहादुर पुन समेतलाई साथै लिई गई वारदात घटाई मारी खाग बिक्री गरेको र सो बापत प्राप्त रुपैयाँ रु.४०,०००। का दरले आफू स्वयं तथा प्रतिवादीहरू यमकुमार पुन र सूर्यबहादुर पुन समेतलाई दिई खाएको भन्ने कुरा स्वीकार गरी कसूर वारदात गरेकोमा पूर्ण साविती भएको पाइन्छ 

५. यसरी पुनरावेदक प्रतिवादीहरू कुमार भन्ने यमकुमार पुन, सूर्यबहादुर पुनको अनुसन्धान अधिकृतसमक्ष र मुद्दा हेर्ने अधिकारीसमक्षको बयान तथा बमबहादुर प्रजाको मुद्दा हेर्ने अधिकारी समक्षको बयान समेतबाट गैंडा मार्ने कार्यमा निजहरू सबैजना संलग्न रहेको देखाई एकले अर्कोउपर परस्पर पोलापोल गरी कसूर गरेको भन्नेमा पूर्णतः सावित रहेको स्थिति देखिन आयो 

६. प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीहरू कुमार भन्ने यमकुमार पुन, सूर्यबहादुर पुन र बमबहादुर प्रजा तीनैजनालाई सोही कानूनी व्यवस्थाअनुरूप जनही रु.१,००,०००। जरीवाना र १५ वर्ष कैद गर्ने गरी शुरु राष्ट्रिय निकुञ्ज कार्यालयबाट भएको निर्णय पुनरावेदन अदालतबाट समेत सदर भएको देखिन्छ । पुनरावेदक प्रतिवादीहरू यमकुमार पुन र सूर्यबहादुर पुनको पुनरावेदनमा मुख्य अभियुक्त बमबहादुर प्रजालाई र आफूहरूलाई एकै प्रकारले हदैसम्मको सजाय गरेको चर्को भएको भन्ने मुख्य जिकीर लिएको र पुनरावेदक प्रतिवादी बमबहादुर प्रजाको पुनरावेदनमा मुद्दा हेर्ने अधिकारीसमक्षको साविती बयान नै यातना दिई गराइएको हुँदा सो बयान प्रमाण ग्राह्य नहुने तथा सहअभियुक्तले पोलेको कुरालाई प्रमाणमा लिई कसूरदार कायम गर्न नमिल्ने भन्ने मुख्य जिकीर लिइएको देखिन्छ । समग्रमा तीनै जना पुनरावेदक प्रतिवादीले अनुसन्धान अधिकारीसमक्षको साविती बयानमा एक अर्कालाई पोल गरेको कुरासम्मलाई कसूरदार कायम गर्ने प्रमाणमा लिन नमिल्ने भनी पुनरावेदनमा जिकीर लिएको भएतापनि सो साविती बयान निजहरूको स्वेच्छाविपरीत वा कुटपीट गरी वा डर, त्रास वा यातना दिई गराइएको भन्ने कुराको विश्वसनीय आधार देखाउन सकेको पाइदैन । अनुसन्धान अधिकारीसमक्षको र मुद्दा हेर्ने अधिकारीसमक्षको साविती बयान यातना दिई गराइएको भन्नु मात्र कसूरबाट उन्मुक्तिको आधार बन्न सक्तैन । यदि अनुसन्धान अधिकारी समक्षको साविती बयान कुटपीट गरी वा यातना दिई गराइएको भएमा मुद्दा हेर्ने अधिकारीसमक्ष सोको तत्काल प्रतिवाद गरी प्रतिवादीहरूले शारीरिक परीक्षण गराउन सक्नुपर्ने हुन्छ । प्रतिवादी मध्येका बमबहादुर प्रजा अर्को मुद्दामा कारगारमा रहेको अवस्थामा कारागारबाट झिकाई यस मुद्दामा बयान गराउँदा मुद्दा हेर्ने अधिकारी समक्ष निज सावित रही अन्य प्रतिवादीहरू समेतलाई पोल गरेको देखिन्छ । यदि मुद्दा हेर्ने अधिकारीसमक्ष बयान गर्दा पनि निजउपर समेत यातना दिइएको भए कारागार कार्यालयमार्फत् शारीरिक परीक्षण गराउन निजलाई कुनै असहज अवस्था रहेको भन्ने पनि देखिँदैन । निज समेतले त्यस्तो कुनै परीक्षण पनि नगराएको अवस्थामा मुद्दा हेर्ने अधिकारीसमक्षको साविती बयान समेतका सबूद प्रमाणका आधारमा कसूर कायम भई दोषी करार भइसकेपछि पुनरावेदन तहमा शुरु मुद्दा हेर्ने अधिकारी समक्षको साविती बयानको सत्यतामा प्रश्न उठाई सो साविती आफूले दिएको होइन भन्ने जिकीर लिएकै आधारमा मात्र अदालतले प्रतिवादीहरूको साविती बयानको सत्यताउपर अनावश्यक शंका गरी अन्यथा निष्कर्ष निकाल्ने तर्फ विचार गर्नुपर्ने देखिँदैन 

७. यी पुनरावेदक प्रतिवादीहरूले आफ्नो साविती बयान र सोमा एक अर्कालाई पोल गरेको कुरा प्रमाणमा लिन मिल्दैन भन्ने जिकीर लिएको भएता पनि गैँडा मारी खाग बिक्री गर्ने र सोबाट प्राप्त रकम वाँडी खाएको तथ्यलाई खण्डन गर्ने आधार दिन वा आफूहरू वारदातमा संलग्न नरहेको भन्न सकेको अवस्था पनि छैन । प्रतिवादीहरूले अनुसन्धान अधिकृत र मुद्दा हेर्ने अधिकारीसमक्ष गरेको आफ्नो साविती बयानको तथ्यलाई स्वीकारै गरेको र सो साविती बयान लिँदाको अवस्थामा यातना दिएको भन्ने कुरालाई मात्र विशेष रुपमा उठाई सो साविती प्रमाण ग्राह्य छैन भनी जिकीर लिएता पनि त्यस्तो यातना वा कुटपीट प्रमाणबाट पुष्टि नभएसम्म मुद्दा हेर्ने स्वतन्त्र निकायसमक्ष भएको साविती बयान निज प्रतिवादीहरू विरुद्धको बलियो प्रमाणको रुपमा रहिरहन्छ 

८. जहाँसम्म प्रतिवादीहरूको साविती बयान अन्य प्रमाणहरूबाट समर्थित र पुष्टि नभएको भन्ने पुनरावेदन जिकीर छ, सो सम्बन्धमा विचार गर्दा, प्रस्तुत वारदात एकसिंगे दुर्लभ एवं लोपोन्मुख गैंडाको खाग तस्करी गर्ने निहीत उद्देश्यबाट घटाइएको र त्यसमा प्रतिवादीहरू प्रत्यक्षतः संलग्न भई गैंडा मारी त्यसको खाग बिक्री गरेको र सो बापतको पैसासमेत आपसमा बाँडी खाएको कुरालाई अन्यथा भन्न नसकेको अवस्था एवं मिति २०५९।१२।१३ को घटनास्थल प्रकृति र गैंडाको लास प्रकृति मुचुल्काबाट गोली हानी सो गैडा मारिएको र त्यसको खाग काटी लगेको देखिन्छ । प्रतिवादीहरूले सोही मुचुल्काहरूको व्यहोरालाई समर्थन हुने गरी सबै घटनाक्रमलाई सविस्तार उल्लेख गरेको देखिनुका साथै प्रतिवादीहरूले मिति २०५९।१२।११ मा पसलबाट खानेकुरा किनी झोलामा बोकी राष्ट्रिय निकुञ्जतर्फ गएको देखेको र ३।४ दिन पछि गैंडा मारेछन् भन्ने सुनेको हुँ भनी सर्जमीन मुचुल्काका मानिस कृष्णप्रसाद आचार्य समेतले लेखाई दिएको र सोही व्यहोरा उल्लेख गर्दै उक्त सर्जमीनमा सहिछाप गर्ने बिष्णुबहादुर सेन र रामसेवक यादव समेतले सर्जमीन व्यहोरा समर्थन हुने गरी बकपत्र समेत गरेको देखिन्छ । यी सबै प्रमाणहरूबाट प्रतिवादीहरूले एकापसमा पोल गरी कसूरमा साविती रही गरेको बयान निर्विवाद रुपमा समर्थित र पुष्टि भएको छ । यस्तो अवस्थामा पुनरावेदक प्रतिवादीहरू कुमार भन्ने यमकुमार पुन, सूर्यबहादुर पुन र बमबहादुर प्रजाले अभियोग दावी बमोजिमको कसूर गरेको भन्ने तथ्य स्थापित हुन पुगेको छ 

९. अब प्रतिवादीहरूलाई शुरु मुद्दा हेर्ने राष्ट्रिय निकुञ्ज कार्यालय र पुनरावेदन अदालतले समेत हदैसम्मको सजाय गरेको मिले, नमिलेको तर्फ विचार गर्दा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६(१) मा– “गैरकानूनी तरिकाले गैंडा, बाघ, हात्ती, कस्तुरी मृग, ध्वाँसे चितुवा, हिऊँ चितुवा वा गौरी गाई मार्ने, घाइते बनाउने, खरीद गर्ने बिक्री गर्ने वा हस्तान्तरण गरी लिने दिने तथा गैँडाको खाग वा कस्तुरीको बीना, हिऊँ चितुवाको छाला तथा त्यस्तै अन्य संरक्षित वन्य जन्तुको आखेटोपहार राख्ने, खरीद गर्ने वा बिक्री गर्ने व्यक्तिलाई ५०,०००। रुपैयाँदेखि १,००,०००। रुपैयाँसम्म जरीवाना वा ५ वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुनेछभन्ने व्यवस्था रहेको देखिन्छ । उक्त कानूनी व्यवस्थामा गैंडालाई संरक्षित वन्यजन्तुको श्रेणीमा राखी गैंडा मार्ने उद्देश्यले घाइते बनाउने वा मार्ने, खरीद बिक्री वा हस्तान्तरण गर्ने एवं गैंडाको खाग समेत राख्ने वा खरीद बिक्री गर्ने व्यक्तिलाई हुने सजाय उल्लेख भएको र त्यस्तो निषेधित कार्य वा अपराध गर्दाको परिस्थिति, अवस्था, वारदातको प्रकृति, अभियुक्तहरूको सामूहिक वा एक्लो संलग्नता, पूर्वयोजना, सहमति र सल्लाह, अपराध गर्दाको मनसाय एवं कसूरको गम्भीरता र मात्रा समेतलाई दृष्टिगत गरी कसूरदार ठहरिएको त्यस्तो व्यक्तिलाई मुद्दा हेर्ने अधिकारी वा अदालतले न्यूनतम् रु.५०,०००। देखि अधिकतम् रु.१,००,०००। सम्म जरीवाना वा न्यूनतम् ५ वर्षदेखि अधिकतम १५ वर्षसम्म कैद वा दुवै सजाय गर्न सक्ने गरी न्यायिक तजविजी अधिकार (Judicial discretion) प्रदान गरेको देखिन्छ 

१०. प्रस्तुत वारदातको प्रकृति र कसूरदारको प्रवृत्ति हेर्दा यो वारदात दुर्लभ एकसिंगे गैंडा मारी त्यसको खाग तस्करी गर्ने उद्देश्यले एकभन्दा बढी प्रतिवादीहरूले आपसमा सल्लाह गरी योजना बनाई नियोजित रुपमा घटाएको देखिन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५(क) र १९(१) द्वारा निषेधित अपराध अर्थात् दुर्लभ एवं संरक्षित वन्यजन्तुको रुपमा रहेको एकसिंगे गैंडा मार्ने र त्यसको खाग बिक्री गर्ने समेतको आपराधिक कार्यमा प्रतिवादीहरूको संगठित समूह संलग्न भएको देखिँदा प्रस्तुत वारदात संगठित अपराध Organized Crime को एउटा कडीको रुपमा देखिएको छ । यस्तो संगठित अपराधमा संलग्न प्रतिवादीहरूको कसूरलाई कुनै एउटा एक्लो वारदात वा घटनासँग मात्र जोडी निरपेक्ष ढंगबाट हेर्नु भन्दा सो वारदातबाट प्रतिवादीहरूले हासिल गर्न चाहेको निहीत उद्देश्य वा सो वारदातको दूरगामी असरलाई हेर्नु न्यायिक दृष्टिकोणबाट उपयुक्त वा वाञ्छनीय हुन्छ । पुनरावेदक प्रतिवादीहरूमध्येका बमबहादुर प्रजा स्वयंले मुद्दा हेर्ने अधिकारी समक्षको आफ्नो साविती बयानमा १७ वटा गैंडा मारी सकेको भन्दै प्रस्तुत वारदात समेत आफूले योजना बनार्ई सुझवुझपूर्ण तरीकाबाट अन्य प्रतिवादीलाई साथ लिई गई आफू समेत भै घटाएको भन्ने कुरा उल्लेख गरेकोबाट प्रस्तुत वारदातमा संगठित समूहको रुपमा यी पुनरावेदक प्रतिवादीहरू संलग्न रहेको भन्ने देखिएको छ । यसका अतिरिक्त एकसिंगे गैंडाको खागको तस्करी गर्ने र सोबाट प्राप्त नगदलाई प्रतिवादी बमबहादुर प्रजाले आफ्नो जीविकोपार्जनको माध्यम बनाउने गरेको भन्ने पनि निजको बयानबाट पुष्टि भइरहेको र त्यस प्रकारको गम्भीर कसूर अपराधमा प्रत्यक्ष रुपमा सहभागी बनेका पुनरावेदक प्रतिवादीहरू यमकुमार पुन र सूर्यबहादुर पुनको कसूरलाई समेत गम्भीरतापूर्वक लिनुपर्ने देखिन आउँछ । वारदात घटाई खाग काटी त्यसलाई बिक्री गरी प्राप्त गरेको रकम बराबरी रुपमा बाँडी खाएको भन्ने तथ्यमा पुनरावेदक प्रतिवादीहरूले अन्यथा भन्न नसकेको स्थितिमा निजहरूको प्रस्तुत वारदातमा समान प्रकृतिको संलग्नता रहेको मान्नुपर्ने हुन्छ । यसका अतिरिक्त राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २७ को प्रतिबन्धात्मक वाक्यांशले गैंडा, बाघ, कस्तुरी मृग र हात्तीसित सम्बन्धित कसूर गर्ने व्यक्ति र सोको मतियारलाई समान सजाय हुने व्यवस्था गरेको अवस्था समेत हुँदा प्रस्तुत कसूरमा मुख्य अभियुक्त र अन्य अभियुक्तको हकमा बेग्लाबेग्लै सजाय हुने अवस्था देखिँदैन । त्यसैले गैंडा मार्ने कार्यमा प्रयोग भएको बन्दूक प्रहार गर्ने कसूरदार र सो वारदातमा संलग्न अन्य कसूरदारलाई हुने सजायमा कसूरको मात्रात्मक भिन्नता वा अनुपातको आधारतर्फ थप विवेचना गरिरहनु पर्ने देखिँदैन । अतः पुनरावेदक प्रतिवादीहरूतर्फबाट बहस गर्नु हुने विद्वान कानून व्यवसायीहरूले सबै प्रतिवादीलाई समान रुपले सजाय गर्न मिल्दैन भनी गर्नु भएको तर्क यस विवादमा प्रासङ्गिक देखिएन 

११. यस प्रकार, प्रस्तुत वारदात दुर्लभ एवं संरक्षित एकसिंगे गैंडा मारी त्यसको अमूल्य खाग तस्करी गर्ने उद्देश्यले घटाइएको देखिएको र सो कार्यमा पुनरावेदक प्रतिवादीहरूले एकापसमा संगठित भई, सल्लाह सहमति गरी, योजना बनाई, राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रको निषेधित क्षेत्रमा प्रवेश गरी संरक्षित एकसिंगे गैंडा मार्ने र त्यसको खाग काटी लगी बिक्री गर्ने र रकम बाँडी खाने जस्तो आपराधिक कार्यमा प्रत्यक्ष संलग्न भई गैंडा चोरी शिकारीलाई आयआर्जनको माध्यमको रुपमा अबलम्बन गर्ने हदसम्मको कसूर अपराध गरेको देखिएको हुँदा निज प्रतिवादीहरू कुमार भन्ने यमकुमार पुन, सूर्यबहादुर पुन र बमबहादुर प्रजालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६(१) बमोजिम हदैसम्मको सजाय गर्दा सो दफाद्वारा प्रदत्त मुद्दा हेर्ने अधिकारी एवं अदालतको न्यायिक तजविजी अधिकारको अन्यथा प्रयोग भएको मान्नुपर्ने अवस्था देखिएन 

१२. अतः पुनरावेदक प्रतिवादीहरूलाई उक्त कानूनी व्यवस्थाअनुरूप हदैसम्मको जनही रु.१,००,०००। जरीवाना र १५ वर्ष कैद गर्ने गरेको शुरु राष्ट्रिय निकुञ्ज कार्यालयको निर्णय सदर गरेको पुनरावेदन अदालत, हेटौंडाको मिति २०६६।१।२७ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीहरूको पुनरावेदन जिकीर पुग्न सक्तैन । मिसिल नियमानुसार गरी बुझाई दिनू 

उक्त रायमा म सहमत छु 

न्या.तर्कराज भटृ

इति संवत् २०६८ साल फागुन ३ गते रोज ४ शुभम्

इजलास अधिकृतः विदुर कोइराला

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु