शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७६९१ - परमादेश मिश्रीत निषेधाज्ञा

भाग: ४८ साल: २०६३ महिना: श्रावण अंक:

निर्णय नं.७६९१      ने.का.प.२०६३ अङ्क ४

 

सर्बोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा

माननीय न्यायाधीश श्री गौरी ढकाल

संवत २०५७ सालको दे.पु.नं....७२९०

फैसला मितिः २०६३।२।१५।२

 

मुद्दाः परमादेश मिश्रीत निषेधाज्ञा ।

 

            पुनरावेदक

            विपक्षीः कृषि विकास वैंक, सुपरिवेक्षण तथा नियन्त्रण कार्यालय, नेपालगन्ज समेत

विरुद्ध

            प्रत्यर्थी

            निवेदकः वांके जिल्ला नेपालगन्ज न.पा.वडा नं. १ वस्ने जगदम्वाप्रसाद गुप्ता

 

§  वैंकसंग राखेको धितो लिलाम बिक्री गरी असुल उपर गर्दा त्यस्तो धितोवाट वैंकको सांवा र व्याजको पुरा रकम असुल उपर हुन नसकेमा असुल उपर हुन नसकेको जति रकम सो व्यक्तिको अन्य जायजेथावाट समेत वैंकले लिलाम बिक्री गरी असुल उपर गरी लिन सक्ने ।

(प्रकरण नं.१२)

§  निवेदकले विपक्षी वैंकसग लिएको सम्पूर्ण ऋृण रकम नवुझाएकोले लिलाम प्रकृया चली कसैले सकार नगरेको अवस्थामा वैंक आफैले सकारेको र निवेदक स्वयंले वैंकमा धितो राखेको सम्पत्ति लिलाम बिक्री गरी सोवाट पनि नपुगे मेरो अन्य चल, अचल जायजेथावाट समेत बिक्री गरी सांवा व्याज कानून वमोजिम असुल उपर गरी लिनु भनी मन्जुरी दिई निवेदन दिएको अवस्थामा विपक्षी वैंकले लिलाम बिक्री गर्न लागेको कार्य कानून वमोजिम नै देखिने।

(प्रकरण नं.१३)

 

पुनरावेदक विपक्षी तर्फवाटः विद्धान अधिवक्ता श्री कोमल प्रकाश घिमिरे

प्रत्यर्थी निवेदक तर्फवाटः विद्धान अधिवक्ताद्वय श्री उषा मल्ल पाठक र श्री वद्री पाठक

अवलम्वित नजीरः

 

न्या.दामोदरप्रसाद शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ वमोजिम यस अदालत पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :-

            २.    मेरो नाउंमा दर्ता रहेको जि.वांके नेपालगन्ज नगरपालिका वडा नं. १ कि.नं. ३१७ को वेलगती ज.वि. ०० जग्गामा बनेको घर समेतवाट मिल स्थाना गरी सन्चालन गर्न २,७३,०००। कृषि विकास वैंक शाखा कार्यालयवाट कर्जा लिएको थिएं । उक्त ऋृणको सांवा व्याज असुल गर्ने क्रममा म निवेदकले धितो राखेको जग्गा र नेपालगन्ज नगरपालिका वडा नं. १ पूर्व वच्चु तेली पश्चिम राम गोपाल, उत्तर मुल सडक, दक्षिण मिल यति चार किल्ला भित्र उत्तर मुखा नं. २२ को ज.वि. ।१।।।। पौने सातधुर र सो मा बनेको दुई तले १६ कोठा घर समेतलाई मिति २०५१।१२।९ मा लिलाम गर्ने भनी सूचना प्रकाशित गरेकोमा सो उपर चित्त नवुझी यसै अदालतमा परमादेश मिश्रीत निषेधाज्ञाको आदेश जारी गरी पाऊं भनी रिट निवेदन दिई विपक्षीको नाउंमा मिति २०५२।३।२९ गते धितो नराखेको घर जग्गालाई लिलाम नगर्नु नगराउनु भनी विपक्षीहरुको नाउंमा निषेधाज्ञाको आदेश समेत जारी भएको थियो । तत्पश्चात विपक्षी कृषि विकास वैंकले ऋृण असुल उपर गर्ने प्रकृया अपनाई १०,४३,१००। (दशलाख त्रिचालिस हजार एकसय) रुपैयामा उक्त वेलगती जग्गामा बनेको घर उक्त वैंक शाखा कार्यालय नेपालगन्जले आफ्नै नाउंमा सकार गरेको हुंदा सो को जानकारी च.नं. २५३० मिति २०५५।३।२१ को पत्रद्धारा म निवदकलाई भएकोमा मलाइ चित्त वुझी चुप लागी वसेको थिएं । विपक्षीले ऋृण असुल उपर गरी सकेको व्यहोरा समेत दिई ऋृण मुक्त भई वसेको अवस्थामा २०५६ साल माघ २१ गतेको गोरखापत्रद्धारा मिति २०५६।१२।३ गते म निवेदकले धितो सुरक्षण नदिएको घर जग्गा साथै विपक्षीहरुको नाउंमा यसै अदालतवाट लिलाम नगर्नु नगराउनु भनी निषेधाज्ञाको आदेश समेत जारी भइसकेको घर जग्गालाई पूनः रु. २,२९,३३८। दुई लाख उन्तिस हजार तिनसय अडतिस रुपैयामा लिलाम गर्ने सूचना प्रकाशित भएकोमा त्यस सम्वन्धी म निवेदकलाई यति रकम नपुग छ नपुग रकम वुझाउन ल्याउनु होला भन्ने सम्म जानकारी नदिई कानूनी प्रकृया वमोजिम विपक्षीहरुले ऋृण असुल उपर गर्नु पर्नेमा सो नगरी धितो सुरक्षण नदिएको घर जग्गालाई विपक्षीले च.नं.९८३ मिति २०५६।९।१८ को पत्रद्धारा रु. ८१,०००। मा हचुवा रुपमा लिलाम बिक्रीको सूचना दिई मिति २०५६।१०।२१ को गोरखापत्रद्धारा मिति २०५६।१२।३ गते रु. २,२९,३३८। मा लिलाम बिक्री गर्ने सूचना प्रकाशित गरेको हुंदा विपक्षीहरुले म निवेदकको नागरिक अधिकार ऐन,। २०१२ को दफा ६ (६) ९,१० एवं १७(१) १७(२) द्धारा प्रदत्त हक अधिकारमा हनन गर्ने पूर्ण आशंका भएकोले अन्तरिम आदेश सहितको निषेधाज्ञाको आदेश जारी गरी पाउं । साथै कानून विपरीत विपक्षीहरुले जग्गा समेत रोक्का राखेको हुंदा फुकुवा गरी दिनु भनी सम्वन्धित कार्यालयका नाउंमा परमादेशको आदेश समेत जारी गरी पाउं भन्ने समेत व्यहोराको जगदम्वाप्रसाद गुप्ताको तर्फवाट परेको रिट निवेदन ।

            ३.    यसमा निवेदकको माग वमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? यो सूचना पाएका मितिले १५ दिन भित्र लिखित जवाफ पेश गर्नु र लिखित जवाफ परेपछि पुर्नविचार गर्ने गरी निवेदन जिकिरको घर लिलामको कार्य हाल नगर्नु भनी अन्तरिम आदेश जारी गरी दिएको छ भन्ने पुनरावेदन अदालतको आदेश ।

            ४.    निवेदकले मिल परियोजना स्थापनार्थ नेपालगन्ज नगरपालिका वडा नं. १ को वेलगती ज.वि. ०० जग्गा र सो मा बनेको मिल घर गोदाम धितो स्वरुप राखेका थिए । निजले वै.कवाट लिएको कर्जा समयमा चुक्ता नगरेकोले उल्लेखित घर जग्गालाई मिति २०५५।३।१८ मा वैंकको नियमानुसार लिलाम गर्दा रितपूर्वक वैंकले सांवा रु. ३,०५,२८१। र व्याज ७,३७,८१९। समेत जम्मा रु. १०,४३,१००। मा सकार गरेपछि पनि सांवा, व्याज लिलामी खर्च तथा कर कार्यालय नेपालगन्जलाई विपक्षीले वुझाउनु पर्ने वांकी आयकर समेत रु. ३२१८३२।३१ वांकी रहन गएको हुंदा निवेदकको नाम दर्ताको वहाल विटौरी नं. २२ को घर समेत यस वैंकको मिति २०५१।१।२५ को पत्रवाट रोक्का राखिएकै अवस्थामा निवेदकले २०५१ सालको नं. १९३ को निषेधाज्ञा र परमादेश मुद्दा सम्मानित पुनरावेदन अदालतमा दिई कानूनको समुचित प्रकृया पुरा नगरी ऋृणीले लिएको कर्जा वापतको नं. २२ को घर लिलाम नगर्नु भनी रिट जारी गराउंदा मालपोत कार्यालयलाई विपक्षी वनाएको नदेखिएकोले त्यस तर्फ परमादेश जारी गर्न मिलेन भनी मिति २०५२।३।२९ मा पुनरावेदन अदालत नेपालगन्जवाट फैसला भएको थियो । सो फैसलाको विरुद्ध निवेदकले सम्मानित सर्बोच्च अदालतमा पुनरावेदन नगरी स्वीकार गरी वसेका छन । निवेदकले एक पटक मुद्दा दायर गरेपछि सोही विषयमा पुन नं. २२ को घर फुकुवा गरी पाउं भनी माग गरी परमादेश समेतको निवेदन दायर गरेको हुंदा कानूनको प्राङ न्यायको सिद्धान्त समेत तथा अ.वं. ८५ नं. र ७३ नं. समेतको आधारमा विपक्षीले दायर गरेको प्रस्तुत निवेदन खारेज भागी छ । वैंकसंग रिट निवेदकले ऋण चुक्ता गरेर सो घर जग्गा समेत यस वैंकको धितोमा समावेश गर्ने छु भनी यो कवुलियतको कागज लेखि दिएको छु भनी कृषि विकास वैंक शाखा कार्यालय नेपालगन्जमा द.नं. ३९३ मिति २०४९।५।१७ मा कवुलियत कागज विपक्षी स्वयंले दर्ता गराएको हुंदा प्रमाण ऐन, २०३१ को दफा ३४ ले पनि सो कवुलियत प्रमाणको लागी ग्राह्य छ । यस वैंकवाट परियोजना तथा धितो जांचवुझ सम्वन्धी विवरण मिति २०५६।९।११ मा तयार गर्दा विपक्षीले निवेदनमा उल्लेख गरेको नं. २२ को घर सो विवरणमा उल्लेखित भएको हुंदा कृषि विकास वैंक ऐन, २०२४ को दफा २० (क) को उपदफा १ मा भएको कानून प्रावधान वमोजिम नै वैंकले वाध्य भै विपक्षीले धितो राखेको वेलगती घर जग्गा लिलाम गरी असुल उपर हुन नसकेको जति रकम सो व्यक्तिको अरु जायजेथावाट समेत वैंकले लिलाम बिक्री गरी असुल उपर गरी लिन सक्ने व्यवस्था कृषि विकास वैंक ऐन, २०२४ को दफा २ (क) को उपदफा १ मा रहेको व्यवस्था वमोजिम नै निवेदकको नाउं  दर्ताको नं. २२ को घर जग्गा लिलाम गर्न कारवाही चलाएको हुंदा निवेदकको माग वमोजिम निषेधाज्ञा र परमादेश समेत जारी हुनु पर्ने होईन । विपक्षीको निवेदन र अन्तरिम आदेश समेत खारेज गरी पाउं भन्ने समेत व्यहोराको कृषि विकास वैंक शाखा कार्यालय नेपालगन्जको तर्फवाट पेश भएको लिखित जवाफ ।

            ५.    विपक्षीले आफ्नो निवेदन पत्रमा उल्लेख गरेको सम्पूर्ण दावी झुठ्ठा तथा वेवुनियाद छ रिट निवेदकको नाउं दर्ताको उल्लेखित नं. २२ को घर जग्गा यस वैंकले कानूनद्धारा निर्धारित प्रकृया अनुसार लिलाम गर्न लागेको हो । रिट निवेदकको माग वमोजिमको अदोश जारी हुनु पर्ने होईन र विपक्षीको नाम दर्ताको नं. २२ को घर जग्गा फुकुवा गर्नु पर्ने परमादेश समेत जारी हुनु पर्ने होईन । यस सम्वन्धमा कृषि विकास वैंक शाखा कार्यालय नेपालगन्जको तर्फवाट विस्तृत व्यहोराको लिखित जवाफ दर्ता भई सकेकोले सो लिखित जवाफलाई यस लिखत जवाफको अभिन्न अंग सम्झी न्याय निरोपण गरी पाउं भन्ने व्यहोराको कृषि विकास वैंक सुरक्षण तथा नि.का.नेपालगन्जको तर्फवाट पेश भएको लिखित जवाफ ।

            ६.    वैंकले निवेदकलाई सूचना दिई कानूनद्धारा निर्धारित प्रकृयाको अवलम्वन नगरी सोझै निवेदकको हकको विवादको कि.नं. २२ को घर जग्गालाई लिलाम गर्न र रोक्का राख्न लगाउनु इत्यादी कार्य कानून सम्मत नहुंदा निवेदन माग अनुसार विवादको नेपालगन्ज न.पा.वडा नं. १ को कि.नं. २२ को वहाल विटौरी नं. २२ को पौने सात धुर जग्गा र सो मा बनेको २ तले घर समेत लिलाम नगर्नु नगराउनु र रोक्का रहेको जग्गा समेत फुकुवा गर्नु भनी विपक्षीहरुको नाउंमा निषेधाज्ञा मिश्रीत परमादेशको आदेश जारी हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, नेपालगन्जको मिति २०५७।७।३ को आदेश ।

            ७.    विपक्षीले वैंकसंग ऋृण लिई धितो लेखि दिनु भएको कि.नं. ३१७ को ०० घर जग्गावाट असुल उपर हुन नसकी विपक्षीको नाउंमा रहेको घर जग्गावाट नं. २२ को घर जग्गा समेत कृषि विकास वैंक ऐन, २०२४ को दफा २० (क) को उपदफा (२) र (३) एवं विपक्षीले वैंकवाट ऋण लिंदा गरी दिएको तमसुक अनुसार असुल उपर गर्न लागिएको धितो लिलामी कार्यलाई रोक्ने गरी भएको पुनरावेदन अदालत नेपालगन्जको आदेश त्रुटिपूर्ण हुंदा वदर गरिपाऊँ भन्ने समेत व्यहोराको कृषि विकास वैंक, सुपरिवेक्षण तथा नियन्त्रण कार्यालय, नेपालगन्ज समेतको तर्फवाट यस अदालतमा परेको पुनरावेदन ।

            ८.    यसमा धितो लेखिएको सम्पत्तिवाट पुनरावेदक प्रत्यर्थीको ऋृण असुल उपर हुन नसकेमा अरु जेथावाट लिलाम गरी लिन पाउने भनी यिनै विपक्षीले वैंकलाई शर्त उल्लेख गरी तमसुक गरेको देखिंदा र कृषि विकास वैंक ऐन, २०२४ (संशोधन सहित) को दफा २०(क) को उपदफा (३) ले धितो लेखिएको सम्पत्तिवाट लिलाम बिक्री सकार गरी असुल हुन नसकेमा वैंकको वांकी ऋृण जतिमा प्रत्यर्थी निवेदकले अरु जेथावाट लिलाम बिक्री गरी असुल उपर गर्नु भनी उल्लेख भएको स्थितिमा सो वमोजिम वैंकले सांवा व्याज असूल उपर गर्न पाउने नै देखिएकोले त्यसप्रकार विपक्षी (निवेदक) जगदम्वाप्रसाद गुप्तालाई ऋृण लिंदा लेखि दिएको धितोवाट असुल उपर हुन नसकेको जति ऋृण रकम निजको अन्य अचल सम्पत्तिवाट असुल उपर गर्न सक्ने नै हुंदा सो नगरी गरेको पुनरावेदन अदालत नेपालगन्जको फैसला मिलेको नदेखिँदा अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने व्यहोराको यस अदालतको मिति २०६२।३।३१ को आदेश ।

            ९.    नियम वमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फवाट उपस्थित विद्धान अधिवक्ता श्री कोमल प्रकाश घिमिरेले विपक्षीले वैंकसंग ऋृण लिई लेखि दिएको धितो तमसुकमा धितो राखेको जग्गाले नपुगे मेरो अन्य अचल सम्पत्तिवाट असुल गर्नु भनी भनेकोका हुंदा कृषि विकास वैंकवाट लिलाम गर्ने गरेको कार्य कानून वमोजिम भएकोले पुनरावेदन अदालतको फैसला वदर हुनुपर्छ भन्ने व्यहोराको वहस प्रस्तुत गर्नु भयो । प्रत्यर्थीको तर्फवाट उपस्थित विद्धान अधिवक्ताद्वय श्री उषा मल्ल पाठक र श्री वद्री पाठकले विपक्षी कृषि विकास वैंकले निवेदकलाई नपुग रकममा थप सुरक्षण राख्न माग नगरी सुचना समेत नदिई धितो नै नराखेको जग्गा लिलाम गर्न लागेको कार्य गैरकानूनी भएकोले पुनरावेदन अदालत नेपालगंजको आदेश सदर हुनु पर्दछ भन्ने समेत व्यहोरको वहस प्रस्तुत गर्नु भयो ।

            १०.    उपरोक्त वमोजिम कानून व्यवसायीहरुले गर्नु भएको वहस जिकिर समेत सुनी पुनरावेदन सहितको मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालत, नेपालगन्जको फैसला मिलेको छ , छैन ? पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन ? भन्ने सम्वन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

            ११.    निर्णयतर्फ विचार गर्दा मैले विपक्षी वैंकसंग ऋृण लिई धितो सुरक्षण लेखि नदिएको घर जग्गालाई लिलाम बिक्री गर्ने सूचना प्रकाशित गरेकोले मेरो नागरिक अधिकार ऐन, २०१२ द्धारा प्रदत्त हकाधिकार हनन गर्ने पूर्ण आशंका भएकोले अन्तरिम आदेश सहितको निषेधाज्ञा जारी गरी कानून विपरीत विपक्षीहरुले जग्गा समेत रोक्का राखेको हुंदा फुकुवा गरी दिनु भनी सम्वन्धित कार्यालयको नाउंमा परमादेशको आदेश समेत जारी गरी पाउं भन्ने समेत व्यहोराको निवेदन माग दावी रहेको देखिन्छ । विपक्षी निवेदकले कृषि विकास वैंक, शाखा कार्यालय नेपालगन्जवाट विभिन्न मितिमा मिल सन्चालन गर्न भनी जम्मा रु. ७,९३,०००। ऋृण लिई वांके नेपालगन्ज न.पा.वडा नं. १ को कि.नं. ३१७ को वेलगती ज.वि. ०० र सो जग्गामा बनेको मिल घर गोदाम धितो स्वरुप राखेकोमा निजले समयमा उक्त ऋृण नवुझाएको र विपक्षीले राखेको धितो भन्दा सांवा व्याज रकम वढी हुन गएकोले विपक्षीको नाउंमा दर्ता रहेको वहाल विटौरी नं. २२ को घर जग्गा समेत यस वैंकको मिति २०५१।१।२५ को पत्रद्धारा रोक्का राखिएको कार्य कृषि विकास वैंक ऐन, २०२४ को दफा २० (क) को उपदफा ३ वमोजिम नै लिलाम गर्न लागेकोले निवेदन खारेज गरी पाउं भन्ने समेत व्यहोराको कृषि विकास वैंक शाखा कार्यालय, नेपालगन्ज समेतको लिखित जवाफ पाईन्छ । निवेदन माग वमोजिम वहाल विटौरी नं. २२ को घर जग्गा लिलाम नगर्नु , नगराउनु र रोक्का रहेको जग्गा समेत फुकुवा गर्नु भनी विपक्षीहरुका नाउंमा निषेधाज्ञा मिश्रीत परमादेशको आदेश जारी हुने ठहरी भएको पुनरावेदन अदालत, नेपालगन्जको आदेश उपर कृषि विकास वैंक शाखा कार्यालय नेपालगन्ज समेतको तर्फवाट यस अदालतमा पुनरावेदन पर्न आएको पाईयो ।

            १२.   निवेदक जगदम्वाप्रसाद गुप्ताले विपक्षी कृषि विकास वैंक शाखा कार्यालय, नेपालगन्ज वाट मिल सन्चालन गर्न भनी आफ्नो नाउंमा दर्ता रहेको वांके जिल्ला, नेपालगन्ज न.पा.वडा नं. १ को कि.नं. ३१७ को वेलगती ज.वि. ०० र सो जग्गामा बनेको मिल घर गोदाम समेत धितो राखी मिति २०४४।३।२८ मा रु.१,००,०००।, २०४४।८।६ मा रु.३,५०,०००।, २०४५।९।११ मा रु.१,९३,०००। र मिति २०४६।३।५ मा रु.१,५०,०००। समेत जम्मा रु.७,९३,०००। ऋृण लिएको मिसिल संलग्न तमसुकको प्रतिलिपिवाट देखिन्छ । उक्त तमसुकको व्यहोरा हेर्दा धितो सुरक्षण वापत उपरोक्त वमोजिम लेखि दिएको घर जग्गाले नपुगे मेरो अन्य अचल जाय जेथावाट कानून वमोजिमको सांवा व्याज असुल उपर गरी लिनु भनी मन्जुरी दिएको पाईन्छ । साथै विपक्षी वैंकले धितो सुरक्षण लेखी नदिएको घर जग्गा समेत लिलाम विक्री गर्ने सुचना प्रकाशित गरेको भन्ने सम्वन्धमा निवेदक जगदम्वाप्रसाद गुप्ताले कृषि विकास वैंक समक्ष द.नं. ३९३ मिति २०४९।५।१७ मा वैंक समक्ष लिएको ऋृण वापत राखेको धितो घर जग्गाले नपुगे उक्त धितो जग्गा घरको अगाडि उत्तर पट्टी रहेको कि.नं. २२ को घर जग्गा समेत धितोमा समावेश गर्न मन्जुर छ भनी स्वयंले निवेदन दिएको मिसिल संलग्न उक्त निवेदनको प्रतिलिपिवाट देखिन्छ। कृषि विकास वैंक ऐन, २०२४ को दफा २०(क) (३) वमोजिम वैंकसंग राखेको धितो लिलाम बिक्री गरी असुल उपर गर्दा त्यस्तो धितोवाट वैंकको सांवा र व्याजको पुरा रकम असुल उपर हुन नसकेमा असुल उपर हुन नसकेको जति रकम सो व्यक्तिको अन्य जायजेथावाट समेत वैंकले लिलाम बिक्री गरी असुल उपर गरी लिन सक्नेछ भन्ने कानूनी व्यवस्था देखिन्छ ।

            १३.   निवेदक जगदम्वाप्रसाद गुप्ताले विपक्षी वैंकसग लिएको सम्पूर्ण ऋृण रकम नवुझाएकोले लिलाम प्रकृया चली कसैले सकार नगरेको अवस्थामा वैंक आफैले सकारेको र निवेदक स्वयंले वैंकमा धितो राखेको सम्पत्ति लिलाम बिक्री गरी सोवाट पनि नपुगे मेरो अन्य चल, अचल जाय जेथावाट समेत बिक्री गरी सांवा व्याज कानून वमोजिम असुल उपर गरी लिनु भनी मन्जुरी दिई निवेदन दिएको मिसिलवाट देखिएको अवस्थामा विपक्षी वैंकले मिति २०५६।१२।३ मा लिलाम बिक्री गर्न लागेको कार्य कानून वमोजिम नै देखिएको हुंदा निवेदन माग वमोजिम विपक्षीहरुको नाउंमा निषेधाज्ञा मिश्रीत परमादेशको आदेश जारी हुने ठहर्याई भएको पुनरावेदन अदालत नेपालगन्जको मिति २०५७।७।३ को आदेश नमिलेकाले उल्टी भै निवेदन खारेज हुने ठहर्छ । मिसिल नियमानुसार गरी वुझाई दिनु ।

 

उक्त रायमा सहमत छु ।

 

न्या.गौरी ढकाल

 

इति सम्वत् २०६३ साल जेष्ठ १५ गते रोज २ शुभम.्¬¬¬¬¬––––––

 

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु