निर्णय नं. ८२४४ - उत्प्रेषणयुक्त परमादेश ।

निर्णय नं. ८२४४ माघ, २०६६ अङ्क १०
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा
माननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल
संवत् २०६२ सालको रिट नं. २७६३
आदेश मितिः २०६६।५।१६।३
विषय :–उत्प्रेषणयुक्त परमादेश ।
निवेदकः स्याङ्जा जिल्ला, करेन्डाँडा वडा नं.६ हाल पुतलीबजार नगरपालिको वडा नं.१३ घर भई काठमाडौ जिल्ला महाँकाल गा.वि.स.वडा नं.९ सुकेधारा बस्ने वर्ष ५८ की बिष्णुमाया पौडेल
विरुद्ध
विपक्षीः शिक्षा मन्त्रालय, विद्यालय शिक्षक किताबखाना काठमाडौँ समेत
§ प्रचलित नेपाल कानून शिक्षा ऐन नियमावली, मुलुकी ऐन अंशबण्डाको महल, अपुतालीको महलसमेतले पतिको मृत्युपछि नजिकको हकवालाको रुपमा निजको श्रीमतीलाई स्वीकार गरेको अवस्थामा श्रीमतीहरू एकभन्दा वढी भएकोमा कुनै एकलाई मात्र हकवालाको रुपमा ग्रहण नगरी सवैलाई समान हकवालाको रुपमा स्वीकार गरेकोबाट पतिको मृत्युपछि नजिकको हकवालाको रुपमा निजका श्रीमतीहरू समान अस्तित्व रही प्रचलित नेपाल कानूनले समान हकवालाको रुपमा स्वीकार गरेको अवस्थामा निवृत्तभरण पाउने हकलाई समान हकवालामा शुरुमा कारवाही चलाएको आधारमा विस्थापित वा हकबाट बञ्चित गर्ने भन्न नमिल्ने ।
§ शिक्षा नियमावली २०५९, को नियम १२७क. अनुसार गठन हुने परामर्श समितिले शिक्षकहरूलाई दिइने निवृत्तभरण, पारिवारिक निवृत्तभरण शैक्षिक भत्ता सन्तति बृत्तिसमेतका विषयमा व्यवस्थित गर्न शिक्षक कितावखानालाई आवश्यक सहयोग गर्न परामर्श दिन सक्ने अधिकार प्रदान गरेको अवस्थामा निवेदन परी कारवाही प्रक्रिया प्रारम्भ भएको विषयमा नियमावलीले निर्देशित गरेका विषयमा आवश्यक परामर्श दिन अधिकार परामर्श समितिलाई रहने ।
(प्रकरण नं.७)
§ निवृत्तभरणको अख्तियार पट्टामा शिक्षकको तह नि.मा.वि. श्रेणी द्वितीय कायम रहेको, पेन्सन सुविधा प्रदान गरिरहेकोमा उचित र पर्याप्त कारणबिना श्रेणी घटुवा गरी पेन्सन कम गर्ने निर्णय न्यायसंगत देखिन नआउने ।
§ अख्तियार प्राप्त निकायको पेन्सनपट्टाबमोजिम प्राप्त गरेको पेन्सन रकम श्रेणी घटुवा गरी वढी गएको भनी गरिएको पत्राचारको आधारमा फिर्ता गर्नु नपर्ने ।
(प्रकरण नं.९)
निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री नरहरि आचार्य
विपक्षी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री कृष्णप्रसाद पौडेल, विद्वान अधिवक्ता श्री हिरा रेग्मी
अवलम्वित नजीरः नेकाप २०६३ अङ्क ६ नि.नं. ७७१८ पृ. ७८२
सम्बद्ध काननूः
§ शिक्षा नियमावली, २०५९ को नियम ११५, ११६, ११७, १२६ र १२७ क,
§ शिक्षा नियमावली, २०२८ को नियम ४८घ, ४८ट
आदेश
न्या.दामोदरप्रसाद शर्माः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३, अनुसार दर्ता हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त टिपोट एवं ठहर निर्णय यस प्रकार रहेको छ :–
मेरा पति तेजनारायण पौडेल स्याङजा जिल्ला अन्र्तगतको कालिका निम्न माध्यमिक विद्यालाय झापाकोट नि.मा.वि.तहको शिक्षक पदमा मिति २०३०।९।१ देखि स्थायी शिक्षकमा स्थायी नियुक्ति पाई पठन पाठनको काम गर्दै आइरहेकोमा विद्यालयको कामको सिलसिलामा उहाँको मिति २०३९।५।२२ मा मृत्यु भयो । तत्पश्चात क्षेत्रीय शिक्षा निर्देशनालय पोखराको मिति २०४०।२।९ को पत्रअनुसार साविक शिक्षा नियमावली २०२८ को नियम ४८च को उपनियम (१)(२) बमोजिम २०३९।५।२३ देखि असाधारण निवृत्तिभरण, शैक्षिक भत्ता तथा सन्ततीवृत्ति पाउने गरी स्वीकृत भई आएअनुसार आजीवन पाउने निवृत्तिभरण २०६०।१२।३० सम्मको जिल्ला शिक्षा कार्यालय स्याङ्जाबाट र मेरो ठेगाना परिवर्तन भएका कारण २०६०।१।१ देखि जिल्ला शिक्षा कार्यालय काठमाडौँबाट पाउने निर्णय विद्यालय शिक्षक कितावखानाबाट भई २०६२ असार मसान्तसम्मको निवृत्तिभरण पाइसकेकी छु ।
म निवेदकले अविछिन्न एवं निर्विवाद रुपमा खाईपाइ आएको असाधारण पारिवारिक निवृत्तिभरणको रकम २०६२ साल श्रावण महिनाको बुझ्न जाँदा तपाइको पतिको जेठी श्रीमती हरिकला पौडेललाई आधा दिने निर्णय भएको छ भनी मौखिक जानकारी पाई २०६२।५।१६ मा नक्कल सारी हेर्दा विद्यालय शिक्षक कितावखाना परामर्श समितिको वैठकको सिफारिश निर्णयबमोजिम भनी २२ वर्षपछि आएर बिना कानूनी आधार प्रमाण मलाई बुझदै नबुझी गैरकानूनी एवं प्राकृतिक न्यायको सिद्धान्त विपरीत मैले खाईपाइ आएको निवृत्तभरण श्रीमती हरिकला पौडेल समेतले दामासाहीले पाउने निर्णय भएको रहेछ । विद्यालय शिक्षक कितावखानाको च.नं.२७४ मिति २०६२।४।३० को पत्रबाट बढी रकम भुक्तानी भनी पत्र पठाएको छ भनी बुभन गै पत्रसारी लिंदा प्रति महिना रु.५७४।– का ६५ महिनाको रु.३७३१०।– बढी भुक्तानी देखिन गएकोले बढी रकम बेरुजू खातामा दाखिल गर्नु भनी मेरा नाउँमा पत्राचार भएकोले विपक्षीहरूको असंवैधानिक एवं गैरकानूनी काम कारवाही बदर गराउन वैकल्पिक उपचारको अभावमा अदालतको असाधारण अधिकारक्षेत्र गुहार्न आएको छु ।
साविक शिक्षा नियमावली, २०२८ को नियम ४८ट अनुसार निवृत्तभरणसम्बन्धी कारवाही चलाई नियम ४८घ बमोजिम म निवेदकलाई इच्छाइएकोमा निवृत्तिभरण पाउँदै आएकोले विपक्षी हरिकला पौडेलको यस अघि पनि निवृत्तभरण पाऊँ भनी परेको निवेदनमा विपक्षी विद्यालय शिक्षक कितावखानाले २०६१।२।२८ मा जिल्ला शिक्षा कार्यालय स्याङ्जालाई लेखेको पत्रमा पुनः अर्को इच्छाइएको व्यक्ति थप गर्न नमिल्ने व्यहोरा पत्र पठाई निर्णय गरिसकेको अवस्थामा पुनः विद्यालय परामर्श समितिको सिफारिशको. आधार लिई खाईपाई आएको निवृत्तिभरण बाड्न घटाउन मिल्दैन र सो सिफारिश गर्ने अधिकार समितिलाई पनि छैन । मेरो नाउँमा जारी भएको निवृत्तिभरण अधिकार पत्रमा स्व.पतिको तह द्वितिय श्रेणी भई सिटरोलमा समेत इच्छाई शेषपछि इच्छाएको व्यक्तिमा म निवेदक विष्णुमाया पौडेलको नाम प्रष्ट रुपमा उल्लेख भएपछि साविक शिक्षा नियमावली, २०२८ को दफा ४८ट को उपनियम (२) र हालको शिक्षा नियमावली २०५९ को नियम ११७ को उपनियम (३) बमोजिम फारम भरी पेश गर्ने काम मैले गरी सकेकोमा सो नियमावलीको व्यवस्थाविपरीत विपक्षी हरिकला पौडेलको नाम थप गर्न मिल्दैन ।
मेरो स्व.पति तेजनारायण पौडेल नि.मा.वि. द्वितीय तहको शिक्षक भएको र सोही अनुरूप कारवाही चली मैले शुरुमा पाएको निवृत्तभरण पट्टामा समेत पतिको तह र श्रेणी प्रष्ट रुपमा उल्लेख गरिएको हुँदा हाल विपक्षी कार्यालयले मनोमानी ढंगबाट तह घटाई बढी रकम खाएकोले दाखिला गर्नु भनी मलाई पत्राचार गर्न मिल्ने होइन र यो गर्ने अधिकार कानूनले विपक्षी कार्यालयलाई प्रदान गरेको छैन ।
अतः विपक्षीहरूको उल्लिखित गैरकानूनी काम कारवाही र प्रत्यर्थी विद्यालय शिक्षक किताबखाना परामर्श समितिको २०६२।४।१७ को सिफारिश निर्णय विपक्षी विद्यालय शिक्षक कितावखानाको च.नं.२७४ मिति २०६२।४।३० को बढी रकम दाखिल गर्ने पत्र र मेरो पट्टामा रहेको शिक्षक तहलाई द्वितीय श्रेणी काटी तृतीय बनाइदिने गरेको गैरकानूनी एवं असंवैधानिक कार्यबाट मलाई नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १७ द्वारा प्रदत्त सम्पतिसम्बन्धी मौलिक हकमा साविक शिक्षा नियमावली, २०२८ को नियम ४८ट, ४८ङ, ४८च हालको शिक्षा नियमावली, २०५९ को नियम ११५, ११६, ११७, १२६ र १२७ क ले प्राप्त हकका साथै विपक्षीको कार्य प्राकृतिक न्यायको सिद्धान्तबिपरीत हुँदा विपक्षीहरूबाट भए गरेका उल्लिखित निर्णय पत्र एवं सोका आधारमा भएका काम कारवाही उत्प्रेषणको आदेशद्वारा बदर गरी पूर्ववत् एकलौटी रुपमा साविकदेखि खाइपाई आएको निवृत्तभरण मलाई दिनु भनी विपक्षीका नाउँमा परमादेश जारी गरिपाऊँ र निवेदकको अन्तिम किनारा नलागेसम्म विपक्षीहरूबाट भएका निर्णय एवं पत्रहरूको कार्यान्वयन नगर्नु भनी अन्तरिम आदेशसमेत जारी गरिपाऊँ भन्ने निवेदकको मिति २०६२।६।१३ को रिट निवेदन ।
यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? बाटाका म्याद बाहेक १५ दिनभित्र लिखित जवाफ पेश गर्नु भनी विपक्षीहरूका नाउँमा म्याद सूचना जारी गर्नु । अन्तरिम आदेशका सम्बन्धमा विचार गर्दा निवेदकले इच्छाएको व्यक्तिको रुपमा निवृत्तिभरण पाइरहेको भनी प्रमाण पेश गरिरहेको देखिंदा निवेदकको हकमा विद्यालय शिक्षक कितावखाना परामर्श समितिको मिति २०६२।४।१७ को सिफारिश र निवेदकले पेश गरेको विद्यालय शिक्षक कितावखानाको २०६२।४।३० को पत्र बमोजिमको कारवाही लिखित जवाफ परेपछि पुनः विचार गर्ने गरी हाल यथास्थितिमा राख्नु भनी अन्तरिम आदेश जारी गरी दिएको छ भन्ने यस अदालतको मिति २०६२।७।६ को आदेश ।
बस् सम्बन्धित शिक्षक तेजनारायण पौडेलबाट निज जीवित छँदै निवेदक कान्छी श्रीमतीलाई मात्र इच्छाएको प्रमाण नरहेको आफू बाहेक हरिकला पौडेल पनि तेजनारायण पौडेलको श्रीमती भएको व्यहोरा रिट निवेदक स्वयंले स्वीकार गरेको अवस्था छ । लोग्नेको मृत्युपछि निवृत्तिभरण लगायतका सम्पूर्ण सम्पत्तिमा मुलुकी ऐन अंशबण्डाको महल, अपुतालीको महल र शिक्षा नियमावलीबाट समेत दुवै श्रीमतीको बराबर हक लाग्ने अवस्था रहेकोले शिक्षा नियमावली, २०५९ को नियम १२७ क बमोजिम गठन भएको विद्यालय कितावखाना परामर्श समितिको २०६२।४।१७ को सिफारिश समेतका आधारमा मृतक शिक्षकका श्रीमतीहरू हरिकला पौडेल र विष्णुमाया पौडेल दुवैले दामासाहीले बराबर असाधारण पारिवारिक वृत्ति पाउने गरी भएको काम कारवाही ऐन, नियम र व्यवहारसम्मत रहेको छ । शिक्षक तेजनारायण मृत्यु हुँदाको मिति २०३९।५।२२ मा प्रचलित शिक्षा नियमावली र तलव स्केलहरूमा नि.मा.वि. तहको शिक्षकको श्रेणी विभाजन नभई एउटै मात्र रहेको कारणले तत्काल प्रचलित नि.मा.वि. को एक मात्र तह (हाल नि.मा.वि. तृतीय श्रेणी सरहको) पद कायम गरिएकोले निवेदकले वढी भुक्तानी लिएको वढी रकम फिर्ता बारे पत्राचार गरिएको हो । यस कितावखानाको कार्य नियम कानूनसम्मत भएकोले बढी रकम खाने उद्धेश्यले प्रेरित भई दिएको रिट निवेदन खारेज गरिपाऊँ भन्ने विद्यालय शिक्षक कितावखानाको तर्फबाट २०६२।८।१२ मा पर्नआएको लिखित जवाफ ।
शिक्षकले प्राप्त गर्ने निवृत्तभरणको रकम निजको मृत्युपछि निजहरूका श्रीमतीलाई बराबरी बाँड्ने निर्णयसम्म समितिले गरेको हो । श्रीमानले प्राप्त गर्ने निवृत्तिभरण निजको मृत्युपछि श्रीमतीले प्राप्त गर्नुलाई सामाजिक न्यायका सिद्धान्तबाट समेत उपयुक्त हुने देखिँदा समितिको मिति २०६२।४।१७ को निर्णयले निवृत्तिभरणको रकमलाई बराबरी बाड्ने सिफारिशबाट निवेदकको हकमा कुनै आघात पर्न नगएकोले निवेदन खारेज गरिपाऊँ भन्ने विद्यालय शिक्षक कितावखाना परामर्श समितिको तर्फबाट मिति २०६२।८।२९ को लिखित जवाफको व्यहोरा ।
२०४८ सालसम्म हामी दुई मृत तेजनारायण पौडेलका श्रीमतीहरू छुट्टिभिन्न भएको थिएनौं । संगोलमा रहदाँ जसले निवृतिभरण बुझे पनि संगोलमा खर्च गर्ने हुँदा मलाई कुनै असर परेको थिएन वास्तवमा पतिले आफ्नो जीवनकालसम्म कसैलाई पनि इच्छाउनु भएको थिएन भन्ने कुरा विद्यालय शिक्षक कितावखानाको रेकर्डबाट समेत प्रष्ट भएको छ । साविक शिक्षा नियमावली, २०२८ को नियम ४८घ मा कुनै शिक्षकको नोकरीमा बहाल छँदै मृत्यु भएमा मृत शिक्षकले आफ्नो परिवारका सदस्यमध्ये कसैलाई निवृत्तिभरण पाउन इच्छाएको नभएमा निजको हकवालले पाउने स्पष्ट व्यवस्था गरेकोले सोही व्यवस्थालाई नयाँ शिक्षा नियमावली २०५९ को नियम ११५ ले दिएको छ । पतिको निवृत्तभरण निजको मृत्यु पश्चात् मैले पनि खान पाउने हकदार भएकाले एकलौटी रुपमा आफूले मात्र निवृत्तिभरण खान पाऊँ भन्ने विपक्षी निवेदकको दावी न्याय एवं कानूनसम्मत नरहेको हुँदा रिट निवेदन खारेज गरिपाऊँ भन्ने हरिकला पौडेलको लिखित जवाफको व्यहोरा ।
मिति २०६२।४।१७ मा शिक्षक कितावखाना परामर्श समितिको परामर्शबमोजिम एउटै शिक्षकका दुईवटा श्रीमतीहरू भएका कारण दुईवटालाई आधा–आधा निवृत्तिभरण प्रदान गर्ने गरी भएको कार्य शिक्षा नियमावली, २०५९ को नियम १२७,(क) को व्यवस्था मुताविक कानूनसम्मत नै रहेको र सामाजिक न्यायका दृष्टिले पनि अन्यथा मान्न मिल्ने नदेखिंदा एकलौटी रुपमा आफूले मात्र निवृत्तिभरण पाउनु पर्छ भन्ने निवेदन जिकीर कानूनसम्मत नहुँदा रिट निवेदन खारेज गरिपाऊँ भन्ने नेपाल सरकार, शिक्षा मन्त्रालय, विद्यालय शिक्षक किताबखाना परामर्श समितिका सदस्यहरूसमेतका तर्फबाट परेको लिखित जवाफ ।
नियमबमोजिम पेसी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दामा रिट निवेदन सहितको मिसिल अध्ययन गरियो । यसमा निवेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता नरहरि आचार्यले निवेदकलाई साविक शिक्षा नियमावली, २०२८ को नियम ४८घ अनुसार मृत पतिले इच्छाएकाले नियम ४८ट अनुसार कारवाही चलाई अधिकार पत्र बनाई २०३९ सालदेखि निरन्तर निवृत्तिभरण रकम बुझी लिएको अवस्था छ । यस्तोमा पछि २०६२ सालमा आएर विद्यालय किताबखाना परामर्श समितिको निर्णय भनी निवेदक र विपक्षी हरिकला पौडेललाई आधा–आधा निवृत्तभरणको रकम बाँड्ने गरी भएको विपक्षीहरूको कार्य साबिक शिक्षा नियमावली, २०२८ एवं अहिलेको शिक्षा नियमावली, २०५९ विपरीत छ, साथै पेन्सनपट्टा जारी भएको अवस्थामा नि.मा.वि. द्वितिय श्रेणी भै खाइपाई सकेको रकमलाई अहिले आएर नि.मा.वि. तृतीय कायम गरी बढी रकम फिर्ता गर्ने भनी भएको कारवाही समेत त्रुटि रहेकाले उत्प्रेषणको आदेशद्वारा बदर गरिपाऊँ भनी बहस गर्नुभयो । बिभिन्न सरकारी कार्यालयहरूको तर्फबाट उपस्थित महान्यायाधिवक्ताको कार्यालयका विद्वान उपन्यायाधिवक्ता श्री कृष्णप्रसाद पौडेलले मृतक तेजनारायण पौडेलका दुई श्रीमती रहेकोमा विवाद छैन । निवेदकले मृतक पतिले आफूलाई मात्र इच्छाएको भनी प्रमाण पेशगर्न सक्नुभएको छैन । कसैलाई पनि इच्छाएको नदेखिएको अवस्थामा हकवालाले पाउनेमा मृतकका दुई श्रीमतीहरूले दामासाहीले बराबर पाउने गरी विद्यालय शिक्षक किताब खाना परामर्श समितिको सिफारिशबमोजिम निवेदक र विपक्षी हरिकला पौडेललाई आधा–आधा दिने गरी भएको विद्यालय शिक्षक किताबखानाको निर्णय न्यायपूर्ण रहेकाले रिट निवेदन खारेज गरिपाऊँ भनी बहस गर्नुभयो । त्यस्तै विपक्षी हरिकला पौडेलको तर्फबाट उपस्थित विद्वान अधिवक्ता हिरा रेग्मीले मृतक तेजनारायण पौडेलको दुई श्रीमतीहरू निवेदक र विपक्षी हरिकलाले आधा–आधा निवृत्तिभरण पाउने गरी भएको निर्णय कानूनी रुपमा न्यायपूर्ण र सामाजिक एवं व्यवहारिकसमेत भएकाले रिट निवेदन खारेज गरिपाऊँ भनी बहस गर्नुभयो ।
निवेदक र विपक्षीहरूतर्फबाट उपस्थित विद्वान कानून व्यवसायीहरूले गर्नु भएको वहससमेत सुनी प्रस्तुत मुद्दामा निवेदकको मागबमोजिमको आदेश जारी हुनुपर्ने हो होइन ? भन्ने प्रश्नका सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. अब इन्साफतर्फ विचारगर्दा, पति तेजनारायण पौडेलको २०३९।५।२२ मा मृत्यु भएपछि निजले मलाई इच्छाएको कारण असाधारण पारिवारिक निवृत्तभरण मैले नै पाइरहेकोमा २२ वर्ष पछि आएर विपक्षी हरिकला पौडेलको निवेदन परेको आधार लिई विद्यालय शिक्षक कितावखाना परामर्श समितिको सिफारिशअनुसार मलाई र विपक्षी हरिकला पौडेललाई २०६२।४।१ देखि दामासाहीले आधा–आधा निवृत्तभरण पाउने गरी गरिएको निर्णय साविक शिक्षा नियमावली, २०२८ को नियम ४८ट, च, ङ हालको शिक्षा नियमावली, २०५९ को नियम ११५, ११६, ११७, १२६ समेतका प्रतिकूल भै त्रुटिपूर्ण छ । पति तेजनारायण पौडेलको शिक्षक तहपछि घटुवा गरी मैले शुरुबाटै खाईपाइ आएको रकम रु.३७,३१०।– बढी भुक्तानी भएकाले दाखिल गर्नु भनी विद्यालय शिक्षक किताबखानाबाट मिति २०६२।४।३० मा मलाई गरिएको पत्राचार गैरकानूनी एवं त्रुटिपूर्ण भै मेरो संविधान र कानूनद्वारा प्रदत्त हकमा आघात पर्न गएकाले उत्प्रेषणको आदेशद्वारा बदर गरी एकलौटी रुपमा साविकदेखि खाईपाई आएको निवृत्तभरण दिनु भनी परमादेशको आदेश जारी गरिपाऊँ भन्ने निवेदन र मृतक शिक्षक तेजनारायण पौडेलका दुईवटा श्रीमतीहरू रहेको कारण हकवाला दुई जनाले निवृत्तभरण दामासाहीले आधा पाउने गरी विद्यालय शिक्षक किताबखाना परामर्श समितिको सिफारिशअनुसार निर्णय गरिएको हो । यसबाट निवेदकको हकमा कुनै आघात पर्न नगएको हुँदा निवेदन खारेज गरिपाऊँ भन्ने विद्यालय शिक्षक कितावखाना समेतका विपक्षीहरूको र म पनि मृतक शिक्षक तेजनारायणको जेठी श्रीमती रहेकोमा विवाद छैन । पतिले कसैलाई पनि नइच्छाएको अवस्थामा निवृत्तभरणमा मेरो पनि हक लाग्ने हुँदा दामासाहीले पाउने गरी विद्यालय शिक्षक कितावखानाबाट भएको निर्णय न्यायपूर्ण रहेकाले निवेदन खारेज गरिपाऊँ भन्ने हरिकला पौडेलको लिखित जवाफ रहेको देखिन्छ ।
३. निवेदन, लिखित जवाफ र मिसिल अध्ययन गरी हेर्दा प्रस्तुत मुद्दामा साविक शिक्षा नियमावली २०२८ को नियम ४८घ., ४८ट र वर्तमान शिक्षा नियमावली, २०५९ को नियम ११५ र १२७ क उल्लेख भएको देखिंदा उल्लिखित नियममा के व्यवस्था रहेछ यहाँ उल्लेख गर्न सान्दर्भिक देखिन्छ ।
४. साविक शिक्षा नियमावली, २०२८ को नियम ४८घ. : पारिवारिक निवृत्तभरण : कुनै शिक्षक नोकरीमा बहाल छदै वा निवृत्तभरण पाउन थालेको ७ वर्ष नपुग्दै मृत्यु भएमा त्यस्ता मृत शिक्षकले आफ्नो परिवारको सदस्यमध्ये कसैलाई इच्छाइएको भए त्यस्ता व्यक्तिले र इच्छाइएका व्यक्तिको पनि मृत्यु भएमा वा त्यसरी कसैलाई नईच्छाइएको भए निजको एकाघरको नजिकको हकवालाले निवृत्तभरण पाउनेछ । तर यस्तो निवृत्तभरण ७ वर्षभन्दा बढी समयसम्म प्राप्त हुने छैन तथा निवृत्तभरण पाउन थालेको ७ वर्ष नपुग्दैमा मृत्यु भएको शिक्षकको परिवारलाई ७ वर्ष पुगेपछि निवृत्तभरण प्राप्त हुने छैन ।
५. साविक शिक्षा नियमावली, २०२८ नियम ४८ट. : निवृत्तभरणसम्बन्धी कारवाहीः (१) उमेरको कारणबाट अनिवार्य अवकाश पाउने शिक्षकले अवकाश लिने मितिभन्दा ६ महिना अगावै अनुसूची –२ बमोजिमको ढाँचामा चारप्रति फारम भरी आफू बहाल रहेको सम्बन्धित विद्यालयमा दिनु पर्दछ ।
(२) उपनियम (१) बमोजिमको फारम भर्न नपाउँदै कुनै शिक्षकको मृत्यु भएमा त्यस्तो शिक्षकले आफ्नो परिवारको सदस्यमध्ये इच्छाएको व्यक्तिले, र इच्छाइएको व्यक्तिको पनि मृत्यु भएमा, वा त्यसरी नइच्छाएकोमा, नियम ४८घ. बमोजिम निवृत्तभरण पाउने निजको परिवारको सदस्यले शिक्षकको मृत्यु भएको ६ महिनाभित्र सम्बधित विद्यालय समक्ष अनुसूची– २ बमोजिमको ढाँचामा चारप्रति फारमहरू भरी पठाउनु पर्नेछ ।
(३) .................
वर्तमान शिक्षा नियमावली, २०५९ को नियम ११५.:
(१) कुनै शिक्षकको नोकरीमा बहाल छँदै वा निवृत्तभरण पाउन थालेको सात वर्ष नपुग्दै मृत्यु भएमा त्यस्तो मृतक शिक्षकले आफ्नो परिवारको सदस्यमध्ये कसैलाई इच्छाएको भए त्यस्ता व्यक्तिले र इच्छाएको व्यक्तिको पनि मृत्यु भएमा वा त्यसरी कसैलाई पनि इच्छाएको नभएमा निजको एकाघरको नजिकका हकवालाले निवृत्तभरण पाउनेछ ।
तर, यस्तो निवृत्तभरण सात वर्षभन्दा बढी समयसम्म प्राप्त हुनेछैन । र कुनै शिक्षकको निवृत्तिभरण पाउन थालेको सात वर्ष नपुग्दै मृत्यु भएमा निजको परिवारलाई सात वर्ष पुगेपछि निवृत्तभरण प्राप्त हुनेछैन ।
(२) ..................
वर्तमान शिक्षा नियमावली, २०५९ को नियम १२७ क.: परामर्श समिति रहनेः (१) शिक्षकहरूलाई दिइने निवृत्तभरण, पारिवारिक निवृत्तभरण, शैक्षिक भत्ता, सन्तति बृद्धि उपदान बीमा वा औषधि उपचार सम्बन्धमा देखिएका समस्या समाधान गर्ने सदस्यहरू रहेको एक परामर्श समिति रहनेछ :–
क) मन्त्रालयले तोकेको सो मन्त्रालयको सहसचिव, – अध्यक्ष
ख) कार्यालय प्रमुख, कौषी तोषाखाना – सदस्य
ग) प्रतिनिधि (बजेट तथा कार्यक्रम शाखा) अर्थ मन्त्रालय – सदस्य
घ) उपसचिव, (विद्यालय शिक्षा शाखा) – सदस्य
ङ) उपसचिव (ऐन नियम परामर्श शाखा) मन्त्रालय – सदस्य
च) प्रतिनिधि, निजामती कितावखाना – सदस्य
छ) कार्यालय प्रमुख शिक्षक कितावखाना – सदस्य सचिव
२) परामर्श समितिको सचिवालयको काम शिक्षक कितावखानाले गर्नेछ ।
३) परामर्श समितिको वैठकसम्बन्धी कार्यविधि सो समितिले आफैले निर्धारण गरेबमोजिम हुनेछ ।
४) परामर्श समितिका सदस्यले सो समितिको बैठकमा भाग लिएबापत अर्थ मन्त्रालयबाट स्वीकृत भएबमोजिमको बैठक भत्ता पाउन सक्नेछन् ।
६. उल्लिखित साविक र वर्तमान शिक्षा नियमावलीमा रहेको व्यवस्था हेर्दा, कुनै शिक्षकको नोकरीमा वहाल छदै वा निवृत्तभरण पाउन थालेको ७ वर्ष नपुग्दै मृत्यु भएमा त्यस्तो मृतक शिक्षकले आफ्ना परिवारका सदस्यमध्ये कसैलाई इच्छाएको व्यक्ति भएमा यस्तो व्यक्तिले र इच्छाएको व्यक्तिको पनि मृत्यु भएमा वा यसरी कसैलाई नइच्छाएको भए निजको एकाघरको नजिकको हकवालले निवृत्तभरण पाउने देखिन्छ । प्रस्तुत मुद्दामा मृतक शिक्षक तेजनारायण पौडेलका दुईवटा श्रीमतीहरूमा जेठी विपक्षी हरिकला पौडेल र कान्छी निवेदक विष्णुमाया पौडेल रहेका कुरा निवेदक स्वंय, लिखत जवाफकर्ता र मिसिल संलग्न कागजातहरूबाट स्वीकार एवं सर्मथित रहेकामा विवाद छैन । मृतक शिक्षकले आफू जिवित रहँदाको अवस्थामा निवृत्तभरणका लागि आफूलाई इच्छाएको भन्ने निवेदकको जिकीर रहे तापनि इच्छाएको कुनै प्रमाण पेश गरी पुष्टि गर्नसकेको देखिदैन । निवृत्तिभरणसम्बन्धी अधिकार पत्र बनाउने सरकारी निकाय विद्यालय शिक्षक किताबखानाले आफ्नो लिखित जवाफमा समेत शिक्षक तेजनारायण पौडेलले जीवित छँदै रिट निवेदकलाई इच्छाएको कुनै प्रमाण रेकर्डबाट नरहेको भन्ने उल्लेख भएकोबाट तेजनारायण पौडेल जीवित रहँदाको अवस्थामा मृत्युपछि पाउने निवृत्तभरणका लागि आफ्ना दुई श्रीमतीहरू मध्ये कसैलाई पनि इच्छाएको भन्ने देखिन आएन । शिक्षक तेजनारायण पौडेलले आफ्नो परिवारका सदस्यमध्ये कसैलाई नइच्छाएको अवस्थामा निजको एकाघरको नजिकको हकवालाले साविक शिक्षा नियमावली, २०२८ को नियम ४८घ र सोही व्यवस्थालाई निरन्तरता प्रदान गर्दै आएको वर्तमान शिक्षा नियमावली, २०५९ को नियम ११५(१) आर्कर्षित भै नियमावलीमा उल्लिखित व्यवस्थाबमोजिम जेठी श्रीमती विपक्षी हरिकला पौडेल र कान्छी श्रीमती रिट निवेदक विष्णुमाया पौडेल निवृत्तभरणको प्रयोजनार्थ नजिकको हकवालाको रुपमा रहेको देखियो ।
७. साविक शिक्षा नियमावली, २०२८ को दफा ४८ट. मा व्यवस्था भएअनुरूप २०३९ सालमा निवृत्तभरणसम्बन्धी कारवाही सम्पूर्ण मैले नै गरी निवृत्तभरण अधिकार पत्र प्राप्त गरेको र विपक्षी हरिकला पौडेल सो समयमा चुप लागी बसी अहिले आएर दावी गरेकोमा सो उपर विद्यालय शिक्षक किताबखानाले दामासाहीले पाउने गरी निर्णय गर्न पनि मिल्दैन भन्ने निवेदन जिकीर सम्बन्धमा, हेर्दा निश्चित रुपमा आफ्नो हकमा निवृत्तिभरण अधिकार पत्र तयार गर्नमा निवेदक शुरुमा सक्रिय रही तयार पारेको देखिन्छ । शिक्षक तेजनारायणले कसैलाई पनि नइच्छाएको अवस्थामा विपक्षी हरिकला पौडेलसमेत निवृत्तभरण पाउने हकवाला देखिँदा शुरुमा निवृत्तभरण अधिकार पत्र नबनाएकै कारणले विपक्षी निवृत्तभरणको शिक्षा नियमावलीको उल्लिखित व्यवस्थाअनुसार हकबाट बञ्चित रहने र निवेदकले एकलौटी रुपमा उपभोग गर्न उल्लिखित कानून एवं नियमको व्यवस्थाका साथै कानूनका मान्य सिद्धान्तबाट समेत न्यायोचित र उपयुक्त देखिँदैन । निवेदक र विपक्षी हरिकला पौडेल तेजनारायण पौडेलको मृत्यु हुँदाको अवस्थामा सगोलमा रहे वसेको देखिन्छ । माथि विवेचना गरिएअनुसार मृतक शिक्षकको निवृत्तभरणको लागि कसैलाई पनि इच्छाएको नदेखिँदा प्रचलित नेपाल कानून शिक्षा ऐन नियमावली, मुलुकी ऐन अंशबण्डाको महल, अपुतालीको महलसमेतले पतिको मृत्यु पछि नजिकको हकवालाको रुपमा निजको श्रीमतीलाई स्वीकार गरेको देखिन्छ । श्रीमतीहरू एक भन्दा वढी भएकोमा कुनै एकलाई मात्र हकवालाको रुपमा ग्रहण नगरी सवैलाई समान हकवालाको रुपमा स्वीकार गरेकोबाट प्रस्तुत मुद्दामा तेजनारायण पौडेलको मृत्युुपछि नजिकको हकवालाको रुपमा निजका श्रीमतीहरू जेठी विपक्षी हरिकला पौडेल र कान्छी निवेदक विष्णुमाया पौडेलको समान अस्तित्व रहि प्रचलित नेपाल कानूनले समान हकवालाको रुपमा स्वीकार गरेको देखिन्छ । विपक्षी हरिकला पौडेलको निवृत्तभरण पाउने हकलाई समान हकवाला निवेदकले शुरुमा कारवाही चलाएको आधारमा विस्थापित वा हकबाट बञ्चित गर्ने भन्न मिल्दैन । मैले २०३९ सालदेखि नै एकलौटी निवृत्तभरण पाइसकेको विषयमा पछि शिक्षा नियामावली, २०५९ बमोजिम व्यवस्था भएको विद्यालय शिक्षक किताबखाना, परामर्श समितिलाई विपक्षी हरिकला पौडेलको नाम थप गर्न सिफारिश गर्न अधिकारसमेत नरहेकाले २०६२।४।१७ को परामर्श समितिको सिफारिश निर्णय त्रुटिपूर्ण छ भन्ने निवेदन जिकीर सम्बन्धमा विचार गर्दा, विपक्षी हरिकला पौडेलको २०६२।३।२९ मा शिक्षा मन्त्रालयमा पेन्सन दिलाई पाऊँ भनी निवेदन परी कारवाही प्रक्रियाको प्रारम्भ भएको देखिन्छ । शिक्षा नियमावली २०५९, को नियम १२७क. अनुसार गठन हुने परामर्श समितिले शिक्षकहरूलाई दिइने निवृत्तभरण, पारिवारिक निवृत्तभरण शैक्षिक भत्ता सन्तती बृत्तिसमेतका विषयमा व्यवस्थित गर्न शिक्षक कितावखानालाई आवश्यक सहयोग गर्न परामर्श दिन सक्ने अधिकार प्रदान गरेको अवस्थामा २०६२।३।२९ मा विपक्षी हरिकलाको निवेदन परी कारवाही प्रक्रिया प्रारम्भ भएको विषयमा नियमावलीले निर्देशित गरेका विषयमा आवश्यक परामर्श दिन अधिकार परामर्श समितिलाई नरहेको भन्ने निवेदन जिकीर सान्दर्भिक देखिन आउँदैन ।
८. माथि बिवेचना गरिएका आधार प्रमाणहरूबाट विपक्षी हरिकला पौडेलसमेत मृतक शिक्षक तेजनारायण पौडेलको श्रीमती रही निवेदकसरह समान पारिवारिक निवृत्तभरणका लागि हकवाला रहेको देखिएको, निवेदकलाई मात्र मृतक शिक्षकले इच्छाएको नदेखिँदा विपक्षी विद्यालय शिक्षक कितावखाना परामर्श समितिको २०६२।४।१७ को सिफारिश निर्णयबमोजिम रिट निवेदक र विपक्षी हरिकला पौडेललाई २०६२।४।१ देखि दामासाहीले बराबर निवृत्तभरण पाउने गरी विद्यालय शिक्षक कितावखानाबाट मिति २०६२।४।३० मा भएको निर्णयमा कुनै कानूनी त्रुटि रहेको देखिँदैन । विद्यालय शिक्षक कितावखानाको उक्त निर्णयबाट निवेदकको संविधान र कानूनद्वारा प्रदत्त हकमा आघात पर्न गएको नदेखिंदा निवेदन माग बमोजिमको आदेश जारी गर्न मिलेन । सो हदसम्म निवेदन खारेज हुने ठहर्छ ।
९. मैले खाई पाई आएको निवृत्तीभरण २०५७।४।१ देखि नि.मा.वि. तृतीय तहको मासिक रु.१२२५।– का दरले भुक्तानी पाउनेमा १७९९ का दरले भुक्तानी लेखिन गएकोले ६५ महिनाको प्रति महिना रु.५७४ का दरले रु.३७,३१०।– बढी भुक्तानी गएकोले वेरुजु खातामा दाखील गर्नु भनी विद्यालय शिक्षक कितावखानाको च.नं.२७४, मिति २०६२।४।३० को पत्रबाट रकम माग गरेको कार्य त्रुटिपूर्ण रहेको भन्ने निवेदन जिकीर रहेको देखिन्छ । सो सम्बन्धमा विचार गदार्, निवेदकले प्राप्त गरेको निवृत्तभरण पत्रमा अख्तियार प्राप्त निकायले २०३९ सालदेखिनै मृतक तेज नारायण पौडेलको तह नि.मा.वि.श्रेणी द्वितीय कायम गरी सो मुताविकको निवृत्तभरण प्रदान गर्दै आइरहेको देखिन्छ । के कुन आधारबाट २०६२ सालमा आएर २०५७।४।१ देखि मृतक शिक्षकको श्रेणी नि.मा.वि.तृतीय कायम भई सो मितिदेखि २०६२ असारसम्म वडा दशैँ खर्च समेत गरी रु.३७,३१०।– वढी भुक्तानी गएको भनी निवेदकबाट सो रकम दाखिला गर्नुपर्ने हुन गयो विद्यालय शिक्षक किताबखानाले कुनै स्पष्ट उचित एवं मनासिव आधार रकम फिर्ता दाखिला गर्ने पत्रमा खुलाएको देखिँदैन । निवेदकलाई प्रदान गरिएको निवृत्तभरणको अख्तियार पट्टामा निजका पति शिक्षक तेजनारायणको तह नि.मा.वि. श्रेणी द्धितीय कायम रहेकोमा २०३९ सालदेखि २०६२ सालसम्म खाइरहेको पेन्सन सुविधा निवेदकलाई प्रदान गरिरहेकोमा उचित र पर्याप्त कारणविना श्रेणी घटुवा गरी पेन्सन कम गर्ने निर्णय न्यायसंगत पनि देखिन आएन । निवेदकबाट वढी गएको रकम दाखिला गर्ने भन्ने विद्यालय शिक्षक कितावखानाको च.न.२७४ मिति २०६२।४।३० को पत्र र सो सम्बन्धी निर्णयसमेत त्रुिटपूर्ण रहेको देखिन आयो । अख्तियार प्राप्त निकायको निर्णय मुताविक खाइपाई आएको वा भोगी सकेको सुविधापछि फिर्ता गर्न पर्दैन भनी निवेदक महानन्द दाहाल विरुद्व नेपाल सरकार, कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रालय काठमाडौँसमेत भएको उत्प्रेषणयुक्त परमादेश मुद्दामा (ने.का.प.२०६३ अंक ६ नि.नं ७७१८ पृ.७८२) यस अदालतबाट प्रतिपादित सिद्धान्तसमेत प्रस्तुत मुद्दाको विषयमा आकर्षित हुने देखिन्छ । निवेदकले अख्तियार प्राप्त निकायको पेन्सनपट्टाबमोजिम प्राप्त गरेको पेन्सन रकम श्रेणी घटुवा गरि वढी गएको भन्ने विपक्षीको पत्राचारको आधारमा फिर्ता गर्नुपर्ने देखिँदैन ।
१०. यसर्थ निवेदकबाट वढी भुक्तानी हुन गएको भनी रु.३७,३१०।–(अक्षेरुपी सैतिस हजार तीन सय दश) बेरुजु खातामा दाखिल गर्ने गरी विद्यालय शिक्षक किताबखानाबाट च.नं.२७४ मिति २०६२।४।३० को पत्र तथा तत्सम्बन्धी निर्णय त्रुटिपूर्ण रहेकाले उत्प्रेषणको आदेशद्वारा बदर गरी दिएको छ । उल्लिखित रकम निवेदकबाट दाखिला नगर्नु नगराउनु भनी विद्यालय शिक्षक कितावखानासमेतका नाउँमा परमादेशको आदेश जारी हुने ठहर्छ । निवेदनको निर्णय भैसकेको अवस्थामा यस अदालतबाट जारी भएको अन्तरिम आदेशका सम्बन्धमा केहि बोलिरहन परेन । विपक्षीहरूलाई यो आदेशको जानकारी महान्यायाधिवक्ताको कार्यालय मार्फत् दिनु । मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।
उक्त रायमा मेरो सहमति छ ।
न्या. गिरीशचन्द्र लाल
इति संवत् २०६६ साल भदौ १६ गते रोज ३ शुभम्–
इजलास अधिकृत : गायत्रीप्रसाद रेग्मी