निर्णय नं. ८२५० - अंश नामसारी ।

निर्णय नं. ८२५० माघ, २०६६ अङ्क १०
सर्वोच्च अदालत संयुक्त इजलास
माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला
माननीय न्यायाधीश श्री प्रकाश वस्ती
संवत् २०६० सालको दे.पु.नं. –– ८६६८
फैसला मिति : २०६६।८।२।६
मुद्दाः अंश नामसारी ।
पुनरावेदक प्रतिवादीः जिल्ला रुपन्देही, गा.वि.स. सूर्यपुरा वार्ड नं. ९ बस्ने अक्षेवर अहिरको मु.स गर्ने बुद्धु अहिर समेत
विरुद्ध
प्रत्यर्थी वादीः जिल्ला रुपन्देही, गा.वि.स. सूर्यपुरा वार्ड नं. ९ भनी फिरादमा लेखेपनि ऐ. गा.वि.स. करौता वार्ड नं. ८ बस्ने कुल्लुर अहिर भन्ने जंगबहादुर अहिर
पुनरावेदन फैसला गर्नेः
मा.न्या.श्री राजेन्द्रकुमार भण्डारी
मा.न्या.श्री धिरेन्द्रबहादुर विष्ट
§ प्रमाणहरूको सृंखलामा एउटा प्रमाण डी.एन.ए.परीक्षण पनि हुन सक्छ । तर अन्य प्रमाणहरूकै आधारमा पितृत्वको विषय यकीन गर्न सकिन्छ भने यो परीक्षण गराउन पर्ने बाध्यता अदालतलाई नहुन पनि सक्ने ।
§ पक्षले माग गर्दैमा डी.एन.ए.परीक्षण गराउने आदेश दिन अदालत बाध्य हुँदैन । यो परीक्षण माग गर्ने पक्षको भनाई प्रतिकूल राय आयो भने पनि उसले दण्ड जरीवाना समेतका कुनै दायित्व व्यहोर्न नपर्ने हुनाले नाता होइन भन्ने पक्षले मनोविनोद गर्न वा कसैप्रतिको इवी साध्न वा महिलाको मानमर्दन गर्न वा सामाजिक तथा पारिवारिक संरचना खलबल्याउनका लागि डी.एन.ए.परीक्षण गर्ने आदेश सहायक नहोस् भन्ने कुरामा अदालत सधै सर्तक रहनु पर्ने ।
(प्रकरण नं.५)
§ विशेषज्ञको रायको महत्व राख्ने डी.एन.ए. परीक्षण प्रतिवेदनले निश्चयात्मक सबूद (Conclusive Proof) को स्थान ग्रहण गर्न भने नसक्ने पनि हुन सक्तछ । विशेषज्ञको राय न्यायकर्तालाई न्यायिक निष्कर्ष निकाल्न सघाउ पुर्याउने एउटा माध्यम मात्र हो । अन्य प्रत्यक्ष तथा विश्वास गर्न लायक प्रमाणहरूको सृंखलाले डी.एन.ए.परीक्षण प्रतिवेदनको प्रतिकूल निष्कर्ष निकाल्दछन् भने न्यायकर्ताले यी प्रमाणहरूको सृंखलाका आधारमा उपयुक्त अवधारणा बनाउन सक्ने ।
(प्रकरण नं.६)
§ संसारमा कुनै पनि कुरा निरपेक्ष हुँदैन भने डी.एन.ए.परीक्षण प्रतिवेदन शत प्रतिशत सत्य हुन्छ भनेर मान्न नसकिने पनि हुन सक्तछ । परीक्षण गर्ने संयन्त्र, वातावरण, समय र साधनले सो परीक्षणलाई प्रभाव पार्दै पार्दैन भन्ने ठान्नु पनि उचित नहुने ।
(प्रकरण नं.७)
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री बालकृष्ण नेउपाने
प्रत्यर्थी वादी तर्फबाटः विद्वान अधिवक्ता श्री दुर्गाप्रसाद पाण्डे
अवलम्वित नजीरः
सम्बद्ध कानूनः
फैसला
न्या. राजेन्द्रप्रसाद कोइरालाः पुनरावेदन अदालत बुटवलको मिति २०५९।१२।३ गतेको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अनुसार यस अदालतमा पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :–
बाजे रामहरषका ३ छोरामध्ये जेठा अक्षेवर, माहिला मेरो बुवा मुसे र कान्छा आध्याप्रसाद हुन् । मुसेको छोरा म फिरादीलाई बुवाहरू समेत भै खान लाउन नदिई घरमा समेत बस्न दिन्न भनेकोले अंश दिनुहोस् भन्दा अंश समेत दिन्न भनी घरबाट निकाला समेत गरिदिएकोले फिराद परेको अघिल्लो दिनसम्मको अंशको तायदाती फाँटवारी दिई ३ भाग गरी १ भाग मुसेको परसारी बाँकी १ भाग अंश मलाई दिलाई भराई पाऊँ भन्ने व्यहोराको जंगबहादुर अहिरले रुपन्देही जिल्ला अदालतमा मिति २०५६।४।२५ मा पेश गरेको फिराद पत्र ।
म मुसेको कुनै छोरा नहुँदा सो बाहेक वादीले देखाएको नाता वंशावली सबै ठीकै छ । मुसेको श्रीमती बुधनीबाट जन्मेको छोराको नाम जंगबहादुर थियो, जसको मृत्यु २०३५ सालमै ५/६ वर्षको उमेरमा भै सकेको थियो । वादी जिल्ला रुपन्देही, करौता गा.वि.स. वार्ड नं. ८ का भुलई र चिनकीबाट जन्मेका हुन् । वादी दावी झूठा हो भन्ने समेत व्यहोराको प्रतिवादीहरू अक्षेवर अहिर र मुसे अहिरले मिति २०५६।१०।७ मा पेश गरेको संयुक्त प्रतिउत्तर पत्र ।
वादीले देखाएको पुस्तावलीमा विवाद छैन । विपक्षी र म समेत एकासँगोलकै अंशियार हौं । विपक्षी वादी मेरो माहिलो दाजु मुसे आहिरको एकमात्र छोरा हुनाले मुसेकै अंशबाट निजले अंश पाउने हो । सगोलमै भएकोले मैले समेत अंशमा छुट्टै दावी गरेको छु भन्ने समेत व्यहोराको प्रतिवादी आध्याप्रसाद अहिरले मिति २०५६।११।१ मा पेश गरेको प्रतिउत्तर ।
रामहरषको ३ छोरामध्ये जेठा अक्षेवर, माहिला मेरो बुवा मुसे र कान्छा आध्याप्रसाद हुन । अंशबण्डा भएको छैन । म यिनै बाबु मुसेबाट जन्मेको हुँ । म १२/१३ वर्षको हुँदा आमा करौता गा.वि.स को भुलईसँग पोइल गएकी हुन् । म मरेको नभै जीवितै भएकोले मलाई मुसेको छोरा, अक्षेवर र आध्याप्रसादको भतिजा नाता कायम गरिपाऊँ भन्ने समेत व्यहोराको वादी जंगबहादुर अहिरले शुरु अदालतमा मिति २०५७।४।१७ मा गरेको नातातर्फको बयान ।
रामहरषका ३ छोरामध्ये जेठो मेरो बुवा अक्षेवर, माहिलो मुसे अहिर र कान्छा आध्याप्रसाद हुन् । मुसेको १ छोरा थियो जो ५/६ वर्षको उमेरमा २०३५ साल वैशाखमा परलोक भएको हो । वादी जंगबहादुर मुसेको छोरा नभई जिल्ला रुपन्देही, करौता गा.वि.स. वार्ड नं. ८ बस्ने भुलई र चिनकीबाट जन्मेको छोरा हुन् । त्यसैले हाम्रो नाता कायम हुने होइन । मुसेको विवाह बुधनीसँग भएको हो । झूठ्ठा बोल्ने वादीलाई सजाय समेत गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीका वारेस बुद्धु अहिरले शुरु अदालतमा मिति २०५७।४।१७ मा गरेको नाता तर्फको बयान ।
वादी जंगबहादुर मुसे र चिनकीका छोरा हुन । चिनकी पोइल गैसकेकी छन् । वादीले अंश नपाएकोले अंश पाउनु पर्छ भन्ने समेत व्यहोराको वादी जंगबहादुरका साक्षी मुन्नर कुर्मीले शुरु अदालतमा मिति २०५७।२।३० मा गरेको बकपत्र ।
मुसे, अक्षेवर र आध्या तीनैजना दाजु भाई हुन् । मुसेको छोरा जंगबहादुर हुँदा मुसेबाट अंश पाउनु पर्छ । वादी प्रतिवादीहरू सगोलमै बसेका हुन् । अंशबण्डा भएको छैन भन्ने समेत व्यहोराको प्रतिवादी आध्याप्रसाद अहिरका साक्षी चरणदेव अहिरले शुरु अदालतमा मिति २०५७।२।३० मा गरेको बकपत्र ।
मुसे, अक्षेवर र आध्या तीनैजना दाजुभाई हुन् । मुसेको श्रीमती बुधनी हो । जंगबहादुर मुसेको छोरा नभएकोले अंश पाउनु पर्ने होइन । मुसे र बुधनीबाट जन्मेको छोरा जंगबहादुरको २१/२२ वर्ष अगाडि नै मृत्यु भै सकेकोले वादी दावी झूठा हो । यी वादी करौता गा.वि.स.का भुलई र चिनकीका छोरा कल्लुर हुन् । प्रतिवादीहरूसँग यी वादीको कुनै नाता सम्बन्ध नभएको भन्ने समेत व्यहोराको प्रतिवादी अक्षेवर समेतका साक्षी भण्डारी अहिरले शुरु अदालतमा मिति २०५७।२।३० मा गरेको बकपत्र ।
शुरु अदालतको मितl २०५७।५।१२ को आदेशानुसार गाउँ सर्जमिन बुझ्दा सर्जमिनका अधिकांश साक्षीले वादी जंगबहादुर मुसेका छोरा हुन् भनी लेखाई दिएको मिति २०५७।८।१४ को सर्जमिन मुचुल्का ।
प्रतिवादीले नातामा विवाद देखाएकोले नातातर्फ अ.वं. ८० नं. अनुसार वादी प्रतिवादीको बयान गरी पेश गर्नु भन्ने मिति २०५७।३।५ को आदेश ।
वादी प्रतिवादीबीच नातामा विवाद देखिएकोले नाता सम्बन्धमा पुस्तावली समेत खोली सम्बन्धित गाउँ सर्जमिन गरी पेश गर्नु भन्ने मिति २०५७।५।१२ को आदेश ।
बाबु मुसे र चिनकी लोग्ने स्वास्नी थिए भनी फिरादमा लेख्न सकेको पाइदैन । चिनकी मुसे अहिरसँग छँदा आफू जन्मिएको कुरा पुष्टि गर्न वादीले नसकेको साथै मुसेको पारिवारिक लगतमा वादीको नाउँ उल्लेख भएको पाइदैन । वादीले मुसेलाई बाबु देखाई नागरिकता लिए पनि उक्त नागरिकता बाबु मुसेको सहमतिबाट लिएको देखिदैन । उसमा पनि उक्त नागरिकता अदालतमा अंश मुद्दा दायर भएपछि प्राप्त गरेको र उक्त नागरिकतामा बाबु, बाजे तीनपुस्ते नाम लेखाउन सकेको पाइदैन । यस अवस्थामा नागरिकतालाई प्रमाणमा ग्रहण गर्न मिलेन । सर्जमिनमा छोरा हो, छोरा होइन भनी लेखाए पनि के कति कारणबाट छोरा हो वा छोरा होइन तथ्ययुक्त विशेष ज्ञान प्राप्त गरिसकेका व्यक्तिले सर्जमिनमा लेखाएको देखिन्न । मुसे अहिर जसका कुनै सन्तान छैनन्, त्यस्तो व्यक्तिले छोरालाई छोरा होइन भनी इन्कार गर्नुपर्ने मनासिब कारण मिसिलबाट देखिन नआएकोले वादी जंगबहादुर मुसेको बाबु छोरा नाता कायम नहुने हुँदा वादीले प्रतिवादीबाट अंश पाऊँ भन्ने वादी दावी नपुग्ने ठहर्छ भन्ने व्यहोराको रुपन्देही जिल्ला अदालतको मिति २०५७।९।१३ को फैसला ।
शुरु फैसलामा उल्लेख गरिएका तर्कहरू मनगढन्ते मात्र हुन् । मैले नातातर्फ बयान गर्दा नै चिनकी र मुसेबाट आफू जन्मेको बयान गरेको तथा मुसेको छोरा भएको कारण सोही व्यहोराको नेपाली नागरिकताको प्रमाण पत्र प्राप्त गरेको छु । जिल्ला प्रशासन कार्यालयबाट प्राप्त नागरिकता बदर नभएको अवस्थामा अदालत आफै वादी भई मेरो नागरिकता प्रमाणमा लिन नमिल्ने तर्क कानूनसंगत छैन । गाउँ सर्जमिनका अधिकांश मानिसहरूले पनि मलाई मुसेको छोरा हो भनी बकी लेखाई दिएको कागजलाई कारण उल्लेख नभएको भन्ने तर्क गरी सो प्रमाणमा नलिने गरी भएको फैसला त्रुटिपूर्ण छ । यदि केही कुरा खुलाउनै पर्ने भए पुनः सर्जमिन गर्न सकिनेमा प्रमाणमा नै नलिने भनी व्याख्या गरियो । त्यसमा पनि सगोलका अंशियार कान्छा काका आध्याप्रसादले मलाई मुसेको छोरा हो. भनी नातामा स्वीकार गरी प्रतिवाद गरेकोमा सो कुरालाई प्रमाण लिइएन । तसर्थ, शुरुको त्रुटिपूर्ण फैसला उल्टी गरी फिराद दावीअनुसार प्रतिवादीबाट अंश दिलाइ पाऊँ भन्ने समेत व्यहोराको वादी जंगबहादुर अहिरले मिति २०५८।२।२ मा पुनरावेदन अदालत बुटवलमा पेश गरेको पुनरावेदन पत्र ।
यसमा २०४४।०४५ सालको नागरिकता टोलीको रेकर्डमा समेत जंगबहादुर मुसे अहिरकै छोरा हुन् भन्ने देखिन आएको आधारमा पुनरावेदक जंगबहादुरले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकोमा सो प्रमाणको मूल्याङ्कन नगरी जंगबहादुर प्रतिवादी मुसेको छोरा नाताकायम नहुने र अंश समेत नपाउने गरी भएको शुरुको फैसला फरक पर्नसक्ने देखिंदा अ.वं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई आएपछि पेशगर्नु भन्ने पुनरावेदन अदालत बुटवलको मिति २०५८।७।२२ को आदेश ।
वादीले नातातर्फ बयान गर्दा आफ्नो आमा चिनकी भुलईसँग पोइल गएको भनेको देखिंदा निज चिनकी अहिरनी हाल जीवित छ, छैन ? जीवित भए निजको पूरा वतन पुनरावेदक वादी पक्षबाटै खुलाई निज चिनकी अहिरनीलाई अ.वं. १३९ नं. बमोजिम बुझी नियमानुसार पेश गर्नु भन्ने मिति २०५९।२।८ को आदेश ।
वादी दावीलाई प्रतिवादीहरू अक्षेवर र मुसे अहिरले अस्वीकार गरेपनि अर्का प्रतिवादी आध्या अहिरले वादी हाम्रो वंशका हुन साथै निजले मुसेबाट अंश पाउने भनी वादी दावीलाई स्वीकार गरी प्रतिउत्तर फिराएको देखिन्छ । सर्जमिनका अधिकांश व्यक्ति र अ.वं. १३९ नं. बमोजिम बुझिएकी वादीको आमा चिनकी अहिरनीले समेत मुसेसँग रहदा निजकै करणी वीर्यबाट जन्मेका यी वादी मुसेको छोरा हुन् भनी लेखाई दिएको देखिन्छ । वादीले पेश गरेको नेपाली नागरिकताको प्रमाण पत्रलाई प्रतिवादी मुसे अहिरले अन्यथा भनी आधिकारिक रुपमा खण्डन गरी बदर गराउन नसकेबाट समेत यी वादी जंगबहादुर प्रतिवादी मुसे अहिरका छोरा, प्रतिवादीहरू अक्षेवर अहिर र आध्या अहिरका एकासगोलका भतिजा नाताका देखिन आएका र वादीले यसभन्दा अघि अंश लिइसकेको भन्ने प्रतिवादी पक्षको जिकीर समेत नहुँदा वादीले प्रतिवादीबाट अंश पाउने नै देखिएकोले फिराद परेको मितिलाई मानो छुट्टिएको मिति कायम गरी सोको अघिल्लो दिनसम्मको वादी प्रतिवादी जिम्मा रहेको सम्पूर्ण चल अचल सम्पत्तिको अंश बण्डाको महलको २०, २१, २२ र २३ नं. बमोजिम अंश तायदाती फाँटवारी लिई पेश भएको फाँटवारी एक अर्कालाई सुनाई नपुग हुन आएको कोर्टफी वापतको रकम समेत वादी पक्षबाट दाखेल गराई नियमानुसार पेश गर्नु भन्ने मिति २०५९।४।२२ को आदेशानुसार वादी प्रतिवादीबाट तायदाती फाँटवारी पेश भएको रहेछ ।
निवेदक जंगबहादुरको कुनै आयस्रोत नभएको भन्ने गा.वि.स.को कार्यालय सूर्यपुरा रुपन्देहीको पत्र समेतबाट देखिएकोले मुद्दा फैसला हुँदाका बखत कानूनअनुसार निवेदकबाट लिनुपर्ने कोर्टफी लिने गरी हाल कोर्ट फी दाखेल नगरे पनि मुद्दामा पुर्पक्ष गर्न पाउने गरी कोर्ट फी ऐन, २०१७ को दफा २३ अनुसारको सुविधा प्रदान गरिदिएको छ । अरुमा कानूनबमोजिम गर्नु भन्ने मिति २०५९।७।१२ को आदेश ।
वादी जंगबहादुरको आमा म र बाबु मेरो पहिलो पति मुसे अहिर हो । जंगबहादुर ५ वर्षको हुँदा मुसेले मलाई हेला गरेकोले जिल्ला रुपन्देही करौता गा.वि.स. वार्ड नं. ८ बस्ने भुलई यादवसँग दोस्रो विवाह गरेको हुँ । जंगबहादुरलाई मुसेले हेला गरेकोले अंश मागेको हो । मेरो र मुसेको करणीबाट जन्मेको छोरा यही जंगबहादुर हो, मरेको छैन । अंश दिनुपर्छ भनी झूठ्ठा प्रतिउत्तर दिएका हुन् । मेरो पछिल्लो पतिबाट जन्मेको छोरा कुल्लुर हो । जंगबहादुर र कुल्लुर भन्ने व्यक्ति एकै होइन भन्ने समेत व्यहोराको अ.वं. १३९ नं. बमोजिम बुझिएकी चिनकी अहिरनीले पुनरावेदन अदालत बुटवलमा मिति २०५९।३।४ मा गरेको बयान ।
यसमा वादी जंगबहादुर हाम्रै वंशजका दाजु मुसे अहिरको छोरा र मेरो भतिजा भएकोले मुसेको अंशबाट निजले अंश पाउने हुन् भनी प्रतिवादीमध्येका अयोध्या अहिरले वादी दावीलाई स्वीकार गरेको साथै सर्जमिनका अधिकांश व्यक्तिले समेत वादी जंगबहादुर प्रतिवादी मुसेकै छोरा हो भनी लेखाई दिएको पाइन्छ । अ.वं. १३९ नं. बमोजिम बुझिएकी चिनकी अहिरनीले समेत आफू र मुसेको करणी वीर्यबाट जन्मेका यी वादी मुसेकै छोरा हो भनी बयान गरिदिएको र जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट प्राप्त नागरिकतामा समेत वादीको बुवाको नाम मुसे उल्लेख भएकोमा सो तथ्यलाई प्रतिवादी मुसेले आधिकारिक रुपमा खण्डन गर्न समेत नसकेको र कुल्लुर अहिरले भुलई यादवको छोरा भै नागरिकता प्राप्त गरेको अवस्थामा कुल्लुर र जंगबहादुर एकै व्यक्ति हो भनी मान्न समेत मिलेन ।
यसर्थ, पुनरावेदक वादी जंगबहादुर अहिर प्रतिवादीमध्येका मुसे अहिरको छोरा प्रतिवादीहरू अक्षेवर अहिर, आध्याप्रसाद अहिरको एकासगोलको भतिजा नाताको अंशियार कायम हुने ठहर्छ । निजले अंश पाइसकेको प्रतिवादीको जिकीर नभएको र विधिवत अंश पाएको नदेखिंदा प्राप्त तायदाती फाँटवारीमा उल्लिखित सम्पत्तिको ३ भागको १ भाग लगाई सोबाट २ भागको १ भाग अंश पाउने ठहर्छ । नाता कायम गरी अंश पाउने ठहर्याउनु पर्नेमा नाता कायम नहुने र अंश नपाउने ठहर्याएको शुरु रुपन्देही जिल्ला अदालतको मिति २०५७।९।१३ को फैसला त्रुटिपूर्ण हुँदा उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत बुटवलको मिति २०५९।१२।३ को फैसला ।
प्रतिवादी मध्येका आध्याप्रसाद अहिर हाम्रो झगडिया विपक्ष भएको तथ्य निज वादी र हामी प्रतिवादी भै चलेको २०५६ सालको दे.नं. २०६१ को अंश मुद्दामा मिति २०५७।८।१३ मा भएको फैसला सहितको मिसिल झिकाई हेरिएमा प्रमाणित हुन्छ । सो मुद्दामा अक्षेवरको छोरी भएको र निजको विवाह भै सकेको उल्लेख गरे पनि मुसेको छोरा जंगबहादुर भनी देखाउन सकेका छैनन् । हाल आएर जंगबहादुरलाई भतिजा स्वीकार गरी दिएको प्रतिउत्तर प्रमाण ऐन, २०३१ को दफा २३(४) को प्रयोजनार्थ प्रमाणमा लिन मिल्दैन ।
मुसेको श्रीमती बुधनी हो र वादीले आफू मुसे र बुधनीबाट जन्मेको हो भनी भन्न सकेका छैनन् । चिनकी मुसेको श्रीमती हो भन्ने प्रमाणित नै नभइकन जंगबहादुरलाई मुसेको छोरा ठहर गर्न मिल्दैन । भूलईका अर्को छोरा लोरिकले कुल्लुरका नामबाट नागरिकता लिएका हुन । लोरिकको छुट्टै नागरिकता पेश गर्न नसकेको अवस्थामा कुल्लरको नागरिकता हाम्रो विरुद्ध प्रमाणमा लाग्ने होइन । विपक्षी वादीको नागरिकता रोक्का सम्बन्धमा मिति २०५६।१०।७ मा मैले निवेदन दिए पनि मिति २०५६।१०।१३मा मात्र वादीले नागरिकता पाएको र प्रस्तुत फिराद नातामा विवाद देखाई मिति २०५६।४।२५ मा दायर गरेको छ । म मुसेको निवेदन समेत परिसकेपछि प्रस्तुत अंश मुद्दालाई प्रभाव पार्ने गरी जिल्ला प्रशासन कार्यालयले दिएको नागरिकता नेकाप २०४७, भाग ३२, अङ्क १, नि.नं. ४०४०, पृष्ठ २१ मा प्रतिपादित सिद्धान्त समेतको विपरीत छ ।
२०२२ सालमा रामहर्षले भरेको भु.सु १ नं. फारममा एकाघर सँग सगोलमा रहेको पारिवारिक विवरणमा चिनकी नाम कहिकतै उल्लेख छैन । चिनकी र मुसेको विवाह कहिले भयो, चिनकी कहिले पोइल गइन भन्ने कहि कतै खुलाउन सकेको देखिदैन साथै चिनकी मुसेकै स्वास्नी हो भन्ने समेत कुनै प्रमाण नदेखिएको अवस्थामा नाता कायम गरी अंश समेत पाउने ठहर्याएको पुनरावेदन अदालत बुटवलको मिति २०५९।१२।३ को फैसला त्रुटिपूर्ण हुँदा बदर गरी शुरु रुपन्देही जिल्ला अदालतको फैसला सदर गरिपाऊँ भनी प्रतिवादीहरू अक्षेवर अहिर र मुसे अहिरले मिति २०६०।७।१४ मा यस अदालतमा पेश गरेको पुनरावेदन पत्र ।
यसमा विपक्षी वादी जंगबहादुर अहिर मुसे अहिरको छोरा हो होइन भन्ने तर्फ डी.एन.ए. (D.N.A.)परीक्षण गरी एकीन गर्ने प्रविधि अपनाउन सकिने अवस्था भएको र पुनरावेदन अदालतबाट निर्णय गरिदा सो प्रविधि नअपनाई जंगबहादुरलाई मुसे अहिरको छोरा हो भनी कायम गरेको फैसला प्रमाणको मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिंदा छलफलका निमित्त अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाउनु साथै जंगबहादुर अहिर, मुसे अहिर र चिनकी अहिरबाट जन्मेको हो होइन ? भन्ने तर्फ यकीन गर्न जंगबहादुर अहिर मुसे अहिरको विर्यबाट जन्मिएको भनी बयान गर्ने चिनकी अहिरलाई पनि डी.एन.ए. परीक्षण प्रयोजनका लागि झिकाई निजहरू उपस्थित भएपछि लाग्ने दस्तूर पुनरावेदक प्रतिवादीहरूबाट लिई जंगबहादुर अहिर, मुसे अहिर र चिनकीबाट जन्मेको हो होइन ? भनी एकीन गर्न रोनाष्ट (RONAST) बाट तीनै जनाको डी.एन.ए. (D.N.A.) परीक्षण गराई पुनरावेदनको प्रकरण नं. ३ क मा उल्लेख भएको वादी अयोध्याप्रसाद अहिर र विपक्षी मुसे अहिर समेत भएको अंश मुद्दाको मिसिल झिकाई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०६३।११।२३ को आदेश ।
यस अदालतबाट मिति २०६३।११।२३ मा भएको आदेशानुसार मुसे अहिर, चिनकी र जंगबहादुर जना ३ को एक आपसमा डी.एन.ए.(D.N.A.) परीक्षण गरी प्राप्त प्रतिवेदन मिसिल सामेल रहेको देखिन्छ ।
नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपानेले D.N.A. परीक्षणबाट मुसेको छोरा जंगबहादुर होइन भनी प्रमाणित भै सकेको अवस्थामा वादीले प्रतिवादीबाट अंश पाउँने ठहरी भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी नाता कायम नहुने गरी भएको शुरु रुपन्देही जिल्ला अदालतको फैसला सदर गरियोस् भन्ने व्यहोराको बहस प्रस्तुत गर्नुभयो ।
प्रत्यर्थी जंगबहादुर अहिरको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री दुर्गाप्रसाद पाण्डेले आमाले छोरा जंगबहादुरलाई मुसेको छोरा भनी चिनाएको हुँदा आमाले देखाएको व्यक्तिलाई बाबु मानी नागरिकता समेत बनाएको छ । विपक्षी बाबुसँग अंश माग गर्न थालेपछि छोरा होइन भनी विवाद उठाएका हुन् । D.N.A. परीक्षण प्राविधिक विषय भएकोले आमाले चिनाएको व्यक्तिलाई बाबु कायम गरी पुनरावेदन अदालतको फैसला सदर होस् भन्ने व्यहोराको बहस प्रस्तुत गर्नुभयो ।
विद्वान कानून व्यवसायीहरूले गर्नु भएको बहस समेत सुनी पुनरावेदनसहितको मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालत, बुटवलको फैसला मिलेको छ, छैन ? प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्छ, सक्दैन ? सो सम्बन्धमा निर्णय दिनु पर्ने देखिंन आयो ।
२. निर्णयतर्फ विचार गर्दा वादीले आफ्नो फिराद दावीमा प्रतिवादीमध्येका मुसे अहिर आफ्नो बाबु भएको र बाबु तथा काका समेतले अंश माग गर्दा नदिएकाले सम्पूर्ण सम्पत्तिलाई ३ खण्ड गरी १ खण्ड प्रतिवादी मुसेको भागबाट २ भागको १ भाग अंश पाऊँ भनी दावी गरेको र प्रतिवादीमध्येको अक्षेवर अहिर र मुसे अहिरले वादी जंगबहादुर छोरा नाताको र अंशियार समेत केही होइन भनी नातातर्फ विवाद देखाएको पाइन्छ ।
३. नातातर्फ बयान हुँदा प्रतिवादी मुसे अहिरको वारेस बुद्धु अहिरले वादी जंगबहादुर करौता गा.वि.स.वडा नं. ८ बस्ने भुलई र चिनकीबाट जन्मेको हो । मुसेबाट जन्मेको होइन, मुसेको श्रीमती बुधनी हो भनी लेखाएको र वादी जंगबहादुर अहिरले बाबु मुसे अहिर र आमा चिनकीबाट आफू जन्मी १२।१३ वर्षको हुँदा आमा चिनकी भुलईसँग पोइला गएकी हुन् भनी लेखाएको देखिन्छ । मिसिल संलग्न निर्वाचन आयोगद्वारा प्रकाशित २०४९ सालको नामावली हेर्दा करौता गा.वि.स.वडा नं. ८ मा भुलई अहिर र चिनकी अहिरको नाम समावेश भएको देखिन्छ । मुसे अहिरको पारिवारिक लगतमा वादीले आफ्नो नाम देखाउन सकेको देखिंदैन । वादीले ना.प्र.नं ९९८७ मिति २०५६।१०।२३ मा जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट प्राप्त गरेको नागरिकताको प्रमाणपत्र पेश गरेको र उक्त नागरिकताको प्रमाणपत्रमा बाबुको नाम मुसे अहिर भनी लेखाएको भए तापनि प्रतिवादी मुसे अहिरको सहमतीबाट नागरिकता लिएको भन्ने देखिंदैन । साथै वादीले प्रस्तुत फिराद मिति २०५६।४।२५ मा दायर गरेपछि मात्र मिति २०५६।१०।२३ मा नागरिकताको प्रमाणपत्र लिएको देखिंएको र बाबु बाजे समेत तीन पुस्ते नाम समेत लेखाउन देखाउन नसकेको अवस्थामा उक्त नागरिकताको प्रमाण पत्रलाई आधार मान्न सकिने अवस्था देखिंएन ।
४. यस अदालतको आदेशानुसार राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा D.N.A. परीक्षण गर्न पठाइएकोमा “विवादित छोरा जंगबहादुर अहिर (नमूना C को रक्तदाता), आमा चिनकी अहिरिन (नमूना A को रक्तदाता) र दावी गरिएको बाबु मुसे अहिर (नमूना B को रक्तदाता) को D.N.A. प्रोफाइल तुलना गरी हेर्दा आमा चिनकी अहिरीनबाट जन्मेको बच्चा (नमूना C को रक्तदाता) को जैविक बाबु मुसे अहिर (नमूना B को रक्तदाता) होइन भन्ने पाइयो” भनी राष्ट्रिय विधि, विज्ञान प्रयोगशालाको च.नं. ९६७, मिति २०६४।११।३० को पत्रद्वारा विशेषज्ञको रायसहितको परीक्षण प्रतिवेदन प्राप्त भई उक्त परीक्षण प्रतिवेदन प्रस्तुतकर्ता विशेषज्ञ बैज्ञानिक जीवनप्रसाद रिजाललाई यस अदालतको मिति २०६३।११।२३ को आदेशानुसार बुझ्दा पनि सो प्रतिवेदन शत प्रतिशत सत्य तथ्यमा आधारित रहेको भन्ने बकपत्र भई उक्त वैज्ञानिक परीक्षणबाट समेत वादी जंगबहादुर मुसे अहिरको छोरा होइन भन्ने तथ्य स्थापित हुनसक्ने अवस्था देखिन आएको छ ।
५. प्रस्तुत विवादमा निष्कर्षमा पुग्नुभन्दा पहिले प्रमाणहरूको उपरोक्त कडीहरूको प्रामाणिक मूल्याङ्कन हुन आवश्यक छ । सर्वप्रथम प्रमाणहरूको सृंखलामा सबैभन्दा पछि नेपालमा नै सुविधा उपलब्ध भई परीक्षण आरम्भ भएको डी.एन.ए. परीक्षणको चर्चा गर्न जरुरी छ । यो परीक्षणबाट प्राप्त प्रतिवेदनको प्रस्तुत मुद्दामा के कति र कस्तो स्थान हुने भन्ने कुराको निर्धारण प्रमाण ऐन, २०३१ को दफा २३(१) ले गर्दछ । यो दफाअनुसार अदालतले विज्ञान समेतका सम्बन्धमा राय यकीन गर्नु परेमा सो सम्बन्धित विशेषज्ञको राय प्रमाणमा लिन हुने व्यवस्था गरेको छ । डी.एन.ए.परीक्षण कुनै व्यक्तिको जैविक बाबु आमा स् यकीन गर्ने बैज्ञानिक उपाय हो भन्ने कुरामा विवाद छैन । पितृत्वको ठहर गर्ने एक मात्र उपाय भने डी.एन.ए.परीक्षणको प्रतिवेदन हुन सक्ने हुँदैन । प्रमाणहरूको सृंखलामा एउटा प्रमाण डी.एन.ए.परीक्षण पनि हुन सक्छ । तर अन्य प्रमाणहरूकै आधारमा पितृत्वको विषय यकीन गर्न सकिन्छ भने यो परीक्षण गराउन पर्ने बाध्यता अदालतलाई नहुन पनि सक्छ । विशेषज्ञको रायको आवश्यकता छ वा छैन, अदालतले महसूस गर्ने कुरा भएको प्रमाण ऐन, २०३१ को दफा २३(१) को बनोटले नै प्रष्ट गरेको छ । पक्षले माग गर्दैमा डी.एन.ए.परीक्षण गराउने आदेश दिन अदालत बाध्य हुँदैन । यो परीक्षण माग गर्ने पक्षको भनाई प्रतिकूल राय आयो भने पनि उसले दण्ड जरीवाना समेतका कुनै दायित्व व्यहोर्न नपर्ने हुनाले नाता होइन भन्ने पक्षले मनोविनोद गर्न वा कसैप्रतिको इवी साध्न वा महिलाको मानमर्दन गर्न वा सामाजिक तथा पारिवारिक संरचना खलबल्याउनका लागि डी.एन.ए.परीक्षण गर्ने आदेश सहायक नहोस् भन्ने कुरामा अदालत सधै सर्तक रहनै पर्दछ ।
६. प्रस्तुत विवादमा पितृत्वको ठेगान गर्न प्रत्यक्ष प्रमाणको अभावले गर्दा डी.एन.ए.परीक्षण गर्ने आदेश दिइएको पाइन्छ । तर विशेषज्ञको रायको महत्व राख्ने डी.एन.ए. परीक्षण प्रतिवेदनले निश्चयात्मक सबूद (Conclusive Proof) को स्थान ग्रहण गर्न भने नसक्ने पनि हुन सक्तछ । विशेषज्ञको राय न्यायकर्तालाई न्यायिक निष्कर्ष निकाल्न सघाउ पुर्याउने एउटा माध्यम मात्र हो । अन्य प्रत्यक्ष तथा विश्वास गर्न लायक प्रमाणहरूको सृंखलाले डी.एन.ए.परीक्षण प्रतिवेदनको प्रतिकूल निष्कर्ष निकाल्दछन् भने न्यायकर्ताले यी प्रमाणहरूको सृंखलाका आधारमा उपयुक्त अवधारणा बनाउन नसकिने हुँदैन ।
७. संसारमा कुनै पनि कुरा निरपेक्ष हुँदैन भने डी.एन.ए.परीक्षण प्रतिवेदन शत प्रतिशत सत्य हुन्छ भनेर मान्न नसकिने पनि हुन सक्तछ । परीक्षण गर्ने संयन्त्र, वातावरण, समय र साधनले सो परीक्षणलाई प्रभाव पार्दै पार्दैन भन्ने ठान्नु पनि उचित हुँदैन । हाम्रो सामाजिक, आर्थिक र पारिवारिक वस्तुस्थितिबाट हामी निरपेक्ष रहन सकौंला नै भन्ने मान्नु पनि उचित हुँदैन । मानवीय कार्यमा कुनै कमी कमजोरी वा त्रुटि हुनै सक्दैन भन्ने ठोकुवा गर्नु पनि न्यायसंगत हुँदैन । डि .एन.ए.परीक्षण प्रविधि उच्च वैज्ञानिक उपाय भए पनि हामी कहाँ यस्तो परीक्षण हुने हालसम्म एक मात्र स्थान हुनु र सीमित बैज्ञानिक हुनुबाट यो उपायको भरपुर फाइदा लिन सक्ने स्थितिमा हामी पुगी सकेका पनि छैनौं ।
८. प्रस्तुत विवादमा डि.एन.ए परीक्षणको प्राप्त प्रतिवेदन र मिसिल संलग्न अन्य प्रमाणहरूको समग्रमा मूल्याङ्कन गरी न्यायिक निष्कर्षमा पुग्नु पर्दछ । प्रमाणको भार वादीमा रहने मान्य सिद्धान्तको परिप्रेक्षमा वादीले मुसे अहिरलाई बाबु देखाएको मिति २०५६।१०।२३ मा लिएको नागरिकताको प्रमाणपत्रलाई अघि सारेको छ । तर वादीको तर्फबाट मिति २०५६।४।२५ मा फिराद परी नातामा विवाद देखाई मिति २०५६।१०।७ मा प्रतिउत्तर परिसकेपछि लिइएको नागरिकताको प्रमाणपत्रलाई आधारभूत प्रमाणका रुपमा ग्रहण गर्न सकिएन । राम हरषकै कान्छा छोरा आध्याप्रसादले वादीलाई दाजु मुसेको छोरा कायम गराउन सक्रियता अपनाएको आभाष हुन्छ । तर निज आध्याप्रसाद आफूले दायर गरेको अंश मुद्दामा जेठो अक्षेवरको छोरी रहेको समेत लेख्न सक्नेले मुसेका छोरा पनि रहेको भन्ने लेख्न सकेको पाइएन । वादीकी आमा चिनकीको मुसेसँग रहँदा बुधनी नाम रहेको, मुसेको एक मात्र छोरा जंगबहादुरको देहान्त भइ सकेको भन्ने समेत साक्षीहरूको कथनबाट देखिन्छ । अन्य प्रमाणले वादी दावी शंकाको घेरामा रहेको अवस्थामा भइ आएको डी.एन.ए.परीक्षणले वादीलाई मुसेको छोरा हुनै नसक्ने स्थिति देखाएको छ । यसरी डी.एन.ए.परीक्षण प्रतिवेदनमा अभिव्यक्त राय मिसिल संलग्न उल्लिखित अन्य प्रमाणहरूद्वारा समर्थित भइरहेको छ ।
९. अतः उपरोक्त आधार प्रमाण एवं कारण समेतबाट वादी जंगबहादुर अहिर प्रतिवादी मुसे अहिरको छोरा देखिंन नआएको अवस्थामा वादी दावीबमोजिम नाता कायम गरी प्रतिवादीबाट अंश पाउने ठहरी भएको पुनरावेदन अदालत, बुटवलको मिति २०५९।१२।३ गतेको फैसला मिलेको नदेखिँदा उल्टी भै वादी दावी पुग्न नसक्ने ठहर्छ । अरुमा तपसील बमोजिम गर्नू ।
तपसील
माथि इन्साफ खण्डमा उल्लेख भएबमोजिम पुनरावेदन अदालत, बुटवलको फैसला उल्टी भै वादी दावी पुग्न नसक्ने ठहर्याएको शुरु जिल्ला अदालतको फैसला सदर हुने ठहरेकोले पुनरावेदन अदालत, बुटवलको फैसलाको तपसील खण्डमा उल्लेख भएबमोजिम कायम रहेको लगत कट्टा गरी दिनु भनी शुरु जिल्ला अदालतमा लेखी पठाई दिनू ..१
दायरकिो लगत कट्टा गरी मिसिल नियमानुसार अनुसार गरी बुझाई दिनू .... २
उक्त रायमा सहमत छु ।
न्या. प्रकाश वस्ती
इति संवत् २०६६ साल मंसिर २ गते रोज ६ शुभम्
इजलास अधिकृतः हरिप्रसाद कोइराला