शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७६६२ - मोही हक कायम

भाग: ४८ साल: २०६३ महिना: असार अंक:

निर्णय नं.७६६२      ने.का.प.२०६३ अङ्क ३

 

सर्वोच्च अदालत संयुक्त इजलास

माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी

माननीय न्यायाधीश श्री बलराम के.सी.

संबत् २०५९ सालको दे.पु.नं. ..८२८८

फैसला मितिः २०६२।९।१।६

 

मुद्दाः मोही हककायम ।

 

            पुनरावेदक

            वादी झापा जिल्ला, शनिश्चरे गा.वि.स. वा.नं. ८ वस्ने मधुसुधन लिम्वु

बिरुद्ध

            प्रत्यर्थी

            प्रतिवादीः ऐ.ऐ. वस्ने सूर्यनाथ वास्तोला

 

§  कवुलियत जग्गाधनी र मोहीका वीचमा मात्र हुन सक्दछ भने कूत भूमिसम्वन्धी ऐनमा उल्लेख भए अनुसार कवुलियत अनुसार जग्गावालाको प्रतिनिधि भै अर्को व्यक्तिले बुझिलिन सक्दछ । सो व्यवस्था अनुसार जग्गावालाको कवूलियत वेगर अन्य व्यक्तिले गरिदिएको कूत वुझेको भरपाईलाई मान्यता दिन नमिल्ने ।

§  प्रस्तुत मुद्दामा जग्गावाला र मोही वीच जग्गा जोत भोग गर्ने कुराको कानून वमोजिमको कवुलियतको अभाव देखिंदा प्रतिवादीको जग्गा वादीले कमाएको भन्ने गाऊँ सर्जमिन तथा भरपाई समेतको आधारमा प्रतिवादीका नाममा रहेको जग्गामा वादीको मोही हककायम गर्न मिल्ने कानूनी व्यवस्था एवं सिद्धान्त समेतबाट देखिन नआउने ।

§  वादीले ऐनको दफा ३४(१) अनुसार प्रतिवादीको जग्गा कमाउनका लागि कवूलियत भएको भन्ने कुरा स्थापित गर्न नसकेको स्थितिमा प्रतिवादीका नामको जग्गामा वादीको मोहियानी हककायम गरि दिन मिल्ने अवस्था नदेखिंदा कवूलियतको अभावमा मोहियानी हककायम हुन नसक्ने ।

(प्रकरण नं.१५)

 

पुनरावेदक वादी तर्फवाटः विद्वान अधिवक्ता श्री नरेन्द्रप्रसाद गौतम

विपक्षी तर्फवाटः विद्वान अधिवक्ता श्री हरिहर दाहाल

अवलम्वित नजीरः

 

फैसला

            न्या.वलराम के.सी.: पुनरावेदन अदालत, इलामको २०५६।९।२६ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) (ख) वमोजिम मुद्दा दोहर्‍याई पाउँ भनी वादीको यस अदालतमा निवेदन परी यस अदालत संयुक्त इजलासबाट मिति २०५९।६।१ मा मुद्दा दोहर्‍याई हेर्ने निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ।

            २.    सुर्यनाथ वास्तोलाका नाउँ दर्ताको शनिश्चरे ८ को कि.नं. ०२१ को ज.वि. ०.१०.० जग्गा २०४१ सालमा जग्गाधनिको दाम काम गर्ने चन्द्रमणी ढकालसंग कुत कवुलियत गरी साल सालै जग्गा जोती चन्द्रमणी ढकाललाई वाली वुझाई आएको हुँदा मोही हककायम गरिपाऊँ भन्ने समेत वादी दावी ।

            ३.    २०५२ सालको हिऊँदे वाली लगाउन  अधिया शर्तमा मैले वादीलाई जग्गा जोत्न दिएको हुँ । २०५२ साल पौष देखि जग्गा म आफैले जोतेको छु । मैले निजलाई कुत कवुलियत गरेको पनि छैन र कुनै सालको वाली पनि मैले नवुझेको हुँदा अन्य व्यक्तिले गरी दिएको कुत कवुलियत तथा भरपाईका आधारमा मोही कायम गरी दिन मन्जुर छैन भन्ने प्रतिवादी जिकिर ।

            ४.    जोत भोग सम्बन्धमा सर्जमिन बुझिएको चन्द्रमणी ढकालसंग कुत कवुलियत भएका अवस्था देखि आजसम्म वादीले नै जग्गा जोती चन्द्रमणी ढकाललाइ वाली बुझाइ आएका छन् भन्ने व्यहोरा उल्लेख भएको रहेछ ।

            ५.    चन्द्रमणी ढकालले अधिकृत व्यक्ति भै कुत कवुलियत गरी दिएका हुन्  वा अनधिकृत व्यक्तिको हैसियतल कवुलियत तथा भरपाई गरेका हुन् भनि प्रतिवादीलाई कागज गराउँदा चन्द्रमणी ढकाललाइ जग्गाको रेखदेख गर्न सम्म लाएको हो कवुलियत तथा भरपाई गर्न अधिकार दिएको छैन भनी गरेको कागज ।

            ६.    जग्गाधनी र मोहीका विचमा भु.सं. ऐन, २०२१ को दफा ३४ अनुसार दोहोरो कुत कवुलियत नभए मोही हककायम हुन नसक्ने भनी सम्मानित सर्वोच्च अदालतबाट बिभिन्न मुद्दामा नजिर कायम समेत भएको र प्रस्तुत मुद्दामा जग्गाधनी स्वयं र मोही विच दोहोरो कुत कवुलियतनामा भएको नदेखिंदा मोही हककायम गर्न मिलेन, दावी खारेज हुने ठहर्छ भन्ने भूमिसुधार कार्यालय झापाबाट २०५५।६।४ मा भएको फैसला ।

            ७.    सर्जमिनको कुरा समेतलाई ध्यानै नदिई शुरु भूमिसुधार कार्यालयबाट भएको त्रुटीपूर्ण फैसला वदर गरी  दावी अनुसार विवादको जग्गाको मोही हककायम हुने ठहराई पाउँ भन्ने समेत व्यहोराको वादीको पुनरावेदन अदालत, इलाममा परेको पुनरावेदन पत्र ।

            ८.    भूमि सम्बन्धि ऐन, २०२१ को दफा ३४(१) अनुसार कवुलियत रहे भएको कुरा वादी पुनरावेदकले प्रमाणित गर्न सकेको देखिदैन । कवूलियत नभएको अवस्थामा मोही कायम हुन सक्ने अवस्था रहेको नदेखिंदा शुरु भूमिसुधार कार्यालय, झापाले मुद्दा खारेज गर्ने गरी गरेको निर्णय मिलेकै देखिंदा सदर हुने ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने २०५६।९।२६ को पुनरावेदन अदालत, इलामबाट भएको फैसला ।

            ९.    निवेदकलाई विपक्षी सूर्यनाथ वास्तोलाको दाम काम गर्ने चन्द्रमणी ढकालले रितपूर्वक कुत कवुलियत गरी दिई मैले २०३८ साल देखि जग्गा कमाई निजैलाई साल सालको वाली समेत वुझाएको छु । निवेदकले जग्गावालाको तर्फबाट चन्द्रमणीबाट गरिदिएको कवुलियतनामा बदर गराउन सकेको पनि छैन । वुहारीको नामको जग्गामा जेठाजुले कवुलियत गरि दिए पनि मोही कायम हुने भनि सिद्धान्त समेत प्रतिपादन भएको अवस्थामा मोही कायम हुन नसक्ने ठहर्‍याई गरेको पुनरावेदन अदालत, इलामको फैसलामा भूमि सम्बन्धी ऐन, २०२१ को दफा ३४(१), प्रमाण ऐन, २०३१ को दफा ५४, अ.वं. १३९ तथा ७८ नं. समेतको गम्भिर त्रुटी भएको हुँदा मुद्दा दोहर्‍याई पाउँ भन्ने समेत व्यहोराको वादीको यस अदालतमा पर्न आएको निवेदन पत्र ।

            १०.    यसमा सम्बन्धित शुरु, रेकर्ड र भए प्रमाण मिसिल समेत झिकाइ आएपछि पेश गर्नु भन्ने २०५७।३।२२ को यस अदालतको आदेश ।

            ११.    यसमा निवेदक मधुसुदन लिम्वुले विपक्ष सूर्यनाथत बास्तोलाको दाम काम गर्ने चन्द्रमणी ढकालसंग गरेको कवुलियत बमोजिम जग्गा कमाई आएको जिकिर लिई चन्द्रमणी संग गरेको कवुलियत समेत पेश गरेको देखिन्छ । विपक्षी सूर्यनाथले निज चन्द्रमणीलाई आफ्नो जग्गा जमिन सम्बन्धमा बिभिन्न काम गर्ने र जग्गाको मोही कायम गरी दिने समेतका अधिकार दिएको व्यहोरा पञ्चायतको रोहवरमा गरिदिएको कागज समेतबाट देखिएकोमा अधिकार प्राप्त व्यक्ति चन्द्रमणीलाई नवुझी निवेदक तर्फबाट पेश भएका प्रमाणको कुनै मूल्याङ्कन नगरी दावी नपुग्ने भनी भूमिसुधार कार्यालय, झापाले गरेको निर्णय सदर गरेको पुनरावेदन अदालत, इलामको निर्णयमा मुलुकी ऐन अदालती बन्दोवस्तको १३९ नं., प्रमाण ऐन, २०३१ को दफा ५४ र भूमि सम्बन्धि ऐन, २०२१ को दफा ३४ को ब्याख्याको त्रुटी भएको र ने.का.प. २०५० नि.नं. ४८२६ पृष्ठ ६७१ मा प्रतिपादित सिद्धान्त विपरीत भएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) खण्ड (क) र (ख) बमोजिम दोहराउने निस्सा प्रदान गरि दिएको छ । विपक्षी समेत झिकाइ नियमानुसार पेश गर्नु भन्ने २०५९।६।१ को यस अदालतको आदेश ।

            १२.   नियम वमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फका विद्वान अधिवक्ता श्री नरेन्द्रप्रसाद गौतमले जग्गावालाको तर्फबाट कवुलियत गर्न र कूत बुझिलिई भरपाई गर्न अर्को व्यक्तिले नसक्ने भन्ने हुँदैन । कवुलियत र भरपाई गर्ने चन्द्रमणीलाई बुझ्ने कार्य भएको छैन । भूमि सम्बन्धि ऐनको दफा ३४(१) मा उल्लेखित जग्गावाला भन्ने शव्द भित्र अख्तियारवाला व्यक्तिलाई मान्यता नदिने भन्न मिल्दैन । वादीलाई चन्द्रमणीले जग्गावालाका हैसियतले गरिदिएको कवूलियत प्रतिवादीले बदर गराएको स्थिति पनि छैन । जग्गाधनीले चन्द्रमणीबाट गरेका फाइदा हुने कार्यको समर्थन र वेफाइदा हुने कार्यको इन्कार गर्न पाउने हुँदैन। साथै चन्द्रमणीलाई अख्तियारी दिएको होइन भन्ने विपक्षीको दावी पनि नभएकोले पुनरावेदन अदालतको ईन्साफ बदर गरी फिराद दावी वमोजिम हुनु पर्दछ भनी वहस गर्नु भयो ।

            १३.   विपक्षी तर्फका विद्वान अधिवक्ता श्री हरिहर दाहालले प्रस्तुत मुद्दामा चन्द्रमणीको हकमा असर नपर्ने भएकाले निजलाई बुझ्नु पर्ने आवश्यकता नै छैन । पुनरावेदन अदालतले भूमि सम्बन्धि ऐन, २०२१ मा मोही र जग्गाधनीका सम्बन्धमा उल्लेखित कानूनी व्यवस्थाको विश्लेषण गरेको छ । प्रतिवादी सूर्यनाथ वास्तोलाले उल्लेखित मञ्जुरीनामा तत्कालिन शनिश्चरे गाऊँ पन्चायतका लागि गरेको हो । उक्त कागज अधिकृतनामा पनि होईन । अख्तियारनामालाई अ.वं. ७८ नं. वमोजिम सुनाइएको पनि छैन । अधिकृत कागजको सक्कल फेला परेको छैन । तारानाथ सम्बन्धि प्रसंगको जिकिर हाल आएर लिन र मैले सो कुराका सम्बन्धमा ऐले खण्डन गर्ने कुरा पनि हुँदैन । तसर्थः त्यस्तो प्रमाणलाई ग्रहण गर्न नमिल्ने हुँदा पुनरावेदन अदालतको इन्साफ सदर कायम होस् भनी गर्नु भएको वहस जिकिर समेत सुनी प्रस्तुत मुद्दामा पु.वे.अ. इलामबाट भएको इन्साफ मिले, नमिलेको के रहेछ ? सो सम्बन्धमा निर्णय दिनु पर्ने हुन आयो ।

            १४.   यसमा जग्गाधनी सूर्यनाथ वास्तोलाको नाम दर्ताको जि. झापा शनिश्चरे गा.वि.स. वडा नं. ८ को कि.नं. ०२१ को ज.वि. ०.१०.० जग्गा जग्गाधनीको दाम काम गर्ने व्यक्ति चन्द्रमणी ढकालसंग कवुलियत गरी सालसालै जग्गा जोती कूतवाली समेत चन्द्रमणीलाई बुझाई आएको हुँदा उल्लेखित जग्गामा मोही हककायम गरिपाऊँ भन्ने समेत वादीको मुख्य फिराद जिकिर र वादीलाई २०५२ सालको हिऊँदे वाली अधियामा लगाउने शर्तमा दिएको सम्म हो । २०५२ सालको पौष देखि सो जग्गा म आफैले जोत भोग गरेको हुँदा र सो जग्गाका सम्बन्धमा मैले कुनै कवूलियत तथा कूत बुझेको भरपाई नगरेको र अन्य व्यक्तिले गरिदिएको कवूलियत तथा कुत बुझिलिएको भरपाईको आधारमा मोही कायम गरिनु पर्ने नहुँदा मोही कायम गरि दिन मन्जुर छैन भन्ने समेत प्रतिउत्तर जिकिर भएकोमा शुरु भूमिसुधार कार्यालयले वादी दावी खारेज हुने ठहर गरी फैसला गरेकोमा सो उपर वादीको पुनरावेदन अदालतमा पुनरावेदन परेकोमा पु.वे.अ.ले शुरु भूमिसुधार कार्यालयको निर्णय सदर गरे उपर मुद्दा दोहर्‍याई हेरी पाउनका लागि वादीले यस अदालतमा निवेदन दिई मिति २०५९।६।१ मा यस अदालतबाट निस्सा प्रदान भै पुनरावेदनको लगतमा दायर भै पेश हुन आएको रहेछ ।

            १५.   निर्णय तर्फ बिचार गर्दा पुनरावेदक वादीले प्रतिवादीको दाम काम गर्ने व्यक्ति चन्द्रमणीसंग गरेको कवूलियत र वाली वुझाएको भरपाईको आधारमा मोही हककायम हुनु पर्ने हो, होईन ? भन्ने सम्बन्धमा विचार गर्दा सर्वप्रथम सो सम्बन्धमा भएको कानूनी व्यवस्था भूमि सम्बन्धि ऐन, २०२१ को दफा २५(१) र ३४(१) हेर्न आवश्यक हुन आउँछ । ऐ.  ऐनको दफा २५(१) मा ...यो दफा प्रारम्भ भएको मितिसम्म कुनै जग्गावालाको जग्गा मोहीको हैसियतले कमाई आएको व्यक्तिलाई सो जग्गामा यो परिच्छेद वमोजिम मोहीको हक प्राप्त हुनेछभन्ने र सोहि ऐनको तत्कालिन दफा ३४(१) मा ...जग्गा कमाउन लिंदा मोही र जग्गावालाको बीचमा तोकिए बमोजिमको लिखित कवूलियत गर्नुपर्छ र त्यसको दोहोरो दुवै पक्षले लिइ दिइ राख्नु पर्छ । दुवैको सहिछाप भएको कवुलियतको अर्को एक प्रतिलिपि जग्गावालाले गाउँ विकास समिति वा नगरपालिकामा दाखिल गर्नु पर्छभन्ने व्यवस्था रहेको पाइन्छ । दफा ३४(१) मा रहेको कानूनी व्यवस्थाबाट एकाको जग्गाको कवूलियत अर्कोले गरिदिन सक्ने भन्ने  स्पष्ट उल्लेख छैन । कवूलियत गर्ने कुरा र कूत वुझाउने प्रक्रिया पनि विलकुल फरक हुन् । कवुलियत जग्गाधनी र मोहीका वीचमा मात्र हुन सक्दछ भने कूत ऐ. ऐनको दफा ३६(२) मा उल्लेख भए अनुसार कवुलियत अनुसार जग्गावालाको प्रतिनिधि भै अर्को व्यक्तिले बुझिलिन सक्दछ । सो व्यवस्था अनुसार जग्गावालाको कवूलियत वेगर अन्य व्यक्तिले गरिदिएको कूत वुझेको भरपाईलाई भने मान्यता दिन मिल्दैन । प्रस्तुत मुद्दामा जग्गावाला र मोही वीच जग्गा जोत भोग गर्ने कुराको कानून वमोजिमको कवुलियतको अभाव देखिंदा प्रतिवादीको जग्गा वादीले कमाएको भन्ने

 

गाऊँ सर्जमिन तथा भरपाई समेतको आधारमा प्रतिवादीका नाममा रहेको जग्गामा वादीको मोही हककायम गर्न मिल्ने कानूनी व्यवस्था एवं सिद्धान्त समेतबाट देखिन आएन । वादीले ऐनको दफा ३४(१) अनुसार प्रतिवादीको जग्गा कमाउनका लागि कवूलियत भएको भन्ने कुरा स्थापित गर्न नसकेको स्थितिमा प्रतिवादीका नामको जग्गामा वादीको मोहियानी हककायम गरि दिन मिल्ने अवस्था नदेखिंदा कवूलियतको अभावमा मोहियानी हककायम हुन नसक्ने भनी फिराद खारेज गर्ने ठहर गरेको शुरु ईन्साफ सदर गरेको पुनरावेदन अदालत, इलामको फैसला मिलेकै देखिंदा मनासिव ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.केदारप्रसार गिरी

 

इति संबत् २०६२ साल पौष १ गते रोज ६ शुभम .....

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु