शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७६६३ - कर्तव्यज्यान

भाग: ४८ साल: २०६३ महिना: असार अंक:

निर्णय नं.७६६३      ने.का.प.२०६३ अङ्क ३

 

सर्वोच्च अदालत, संयुक्त ईजलाश

माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी

माननीय न्यायाधीश श्री गौरी ढकाल

सम्बत् २०६० सालको फौ.पु.नं. ३५९७

फैसला मितिः २०६३।२।२४।४

 

मुद्दा :कर्तव्यज्यान ।

 

            पुनरावेदक

            प्रतिवादीः वांके जिल्ला, इन्द्रपुर गा.वि.स. वडा नं. ३ घर भई हालथुनामा रहेकी वित्ति       भन्ने कलावती यादव  

विरुद्ध

            प्रत्यर्थी

            वादीः वरसाती कहारको जाहेरीले श्री ५ को सरकार

 

§  यस्तो व्यक्तिको रोहवरमा यस्तो अधिकारी समक्ष व्यक्त गरेको कुरा प्रमाणमा लिन हुने भनेको अवस्था नभएपछि मरेको व्यक्तिले होस छंदै व्यक्त गरेको हो, हैन ? सो तथ्य पर्याप्त प्रमाणवाट पुष्टि हुन्छ,    हुंदैन ? सो कुरा महत्वपूर्ण हुन आउने ।

§  अस्पतालमा डाक्टर वा नर्स समक्ष व्यक्त गरेको कुरा मात्र प्रमाणमा लिन हुने भन्ने स्पष्ट कानूनको अभावमा डक्टर वा नर्स समक्ष भएको मृत्युकालिन घोषणालाई मात्र प्रमाणमा लिन मिल्ने भन्ने विद्वान अधिवक्ताको वहस जिकिर कानून सम्मत नदेखिने ।

§  मृतकले अस्पतालमा आफ्नो होस खुले पछि दिएको वयान (मृत्युकालिन घोषणा) को रोहवरमा वस्ने मृतकका दाजुले अदालतमा उपस्थित भै मृत्युकालिन घोषणाको तथ्यलाई समर्थित हुने गरी वकपत्र गरेको र निजको वकपत्रलाई शंका गरी रहनु पर्ने अवस्था विद्यमान नहुंदा मृतकले आफ्नो होस छंदै आफ्नो मृत्युको कारण सम्वन्धमा व्यक्त गरेको कुरालाई प्रमाणमा लिन मिल्ने ।

(प्रकरण नं.३४)

§  विद्वान अधिवक्ताले जिकिर लिनु भएवमोजिम मृत्युकालिन घोषणा (Dying Declaration) उपचार गर्ने डाक्टर, नर्स वा यस्तै अस्पतालका जिम्मेवार पदाधिकारीको रोहवरमा भएमा यस्ता विवाद कम हुने, मृत्युकालिन घोषणामा उपचार गर्ने डाक्टर, नर्सलाई रोहवरमा राख्न कानूनले वाधा नगरेको सन्दर्भमा महान्यायाधीवक्ताले आफ्नो मातहतका कार्यालयलाई निर्देशन दिए मृत्युकालिन घोषणामा उपचार गर्ने डाक्टर, नर्स रोहवरमा राख्न सकिने अवस्था विद्यमान हुंदा सो तर्फ महान्यायाधिवक्ताको ध्यान आकर्षित गराउने ।

(प्रकरण नं.३६)

 

पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री यमुना भट्टराई

प्रत्यर्थी वादी तर्फवाटः विद्वान उपन्यायाधीवक्ता श्री विश्वराज कोईराला

अवलम्वित नजीरः

 

फैसला

न्या.मीनवहादुर रायमाझीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ वमोजिम यस अदालतमा पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एवं ठहर यस प्रकार छ :-

२.    मिति २०५७।११।१४ गते म घरमा थिईन । आमाले वहिनीले वान्ता गरेकी छ भन्दा म र आमा घरमा पुग्दा वहिनी वेहोस अवस्थामा देखि तुरुन्त उपचारार्थ भेरी अन्चल अस्पतालमा ल्याई उपचार गराउंदा साँझ करिव ६.३० वजेको समयमा होस आउंदा वहिनीसंग सोध्दा मलाई मन्ता यादवको श्रीमतीले भेली (गुड) मा विष हाली खान दिएको थियो सोही कारणले यस्तो भएको हो भनी त्यहां उपस्थित व्यक्तिहरु र प्रहरी समेतको अगाडि भनेकी र उपचार हुंदा हुंदै मिति २०५७।११।१५ गते विहान ३.०० वजेको समयमा मृत्यु भएको हुंदा निज प्रतिवादी मन्ते यादवको श्रीमतीलाई पक्राउ गरी कानून वमोजिम सजाँय गरिपाऊँ भन्ने वरसाती कहारको मिति २०५८।११।१५ को जाहेरी   दर्खास्त ।

३.    मिति २०५७।११।१४ गते अं. १७.०० वजेको समयमा मेरो घर देखि नजिकै सटेको मन्ते अहिरको स्वास्नी वित्ती अहिरले मलाई आफ्नो घरमा वोलाई कच्ची मिठाई (भेली) खान दिएकी थिईन । सो भेली खाई सकेपछि मलाई पेट पोल्ने, पानी प्यास लाग्ने, वमिट हुने गरेको हो । पछि वेहोस भएर मलाई उपचारार्थ भेरी अन्चल अस्पतालमा ल्याएका रहेछन । मेरो स्वास्थ्य स्थिति गम्भिर छ भन्ने समेत व्यहोराको मृतक गिता कहारले भेरी अन्चल अस्पताल नेपालगन्जमा गरेको मौकाको घटना विवरण कागज ।

४.    उपचारको अवस्था सामान्य देखिएको , वायां हातमा औषधीको सुई लगाएको, घाउ खत भएको भन्ने समेत व्यहोराको मिति २०५७।११।१५ को लास जाँच तथा घटनास्थल मुचुल्का।

५.    जिल्ला वांके, ईन्द्रपुर गा.वि.स.वडा नं. ३ स्थित पूर्व चेतरामको घर, पश्चिम जगराम यादवको घर उत्तर धु्रव सुनारको घर, दक्षिण सेव नाउको घर यति ४ किल्ला विचमा पूर्व मोहडा भएको कच्ची खपडाको छाना भएको मन्ते यादवको घर, सो घरमा जाहेरवालाको वहिनी गिता कहारलाई प्रतिवादी वित्ती यादव अहिरले भेलीमा विष मिलाई खान दिएको घटनास्थल विवरण कागज ।

६.    भिषेराको केमिकल एनालाईसिस पश्चात् मृत्युको कारण खुल्ने भन्ने व्यहोराको सि.सि.सि.भिषेरा सहित प्राप्त भेरी अन्चल अस्पताको शव परिक्षण प्रतिवेदन ।

७.    मृतक गिता कहारको भिषेरा नमूनामा आल्मुनियम फोस्फराईड मुसा मार्ने विषादी पाईयो भन्ने व्यहोराको राष्ट्रिय विधि विज्ञान प्रयोगशालको भिषेरा परिक्षण प्रतिवेदन ।

८.    मैले दिएको जाहेरीमा आमा र दाजु वुझी पाउं भनिएकोमा आमा भनेको मेरो नै आमा तुलसा कहार हुन । दाजु भनेकोमा सवै भन्दा जेठा म नै हुं मैले जाहेरी लेखाउंदा मृतकको दाजु मेरो भाई भनेकोमा लेख्दा दाजु भन्ने उल्लेख भएछ भन्ने जाहेरवाला वरसाती कहारको मिति २०५८।५।२० को कागज ।

९.    वित्ति अहिर (यादव) ले नै कर्तव्य गरी विष खुवाई कर्तव्य गरी मारेकोमा विश्वास लाग्छ कारवाही गरिपाऊँ भन्ने मिति २०५८।५।२२ को लालजित कहारको कागज ।

१०.    छोरीले वान्ता गरेको देखि के भएको हो भनी सोधपुछ गर्दा मन्ते यादवको श्रीमतीले मलाई पानीमा भेली र विषादी खान दिएकोले यस्तो हैरानी भएको भनी जानकारी दिएकोले तत्काल अस्पताल ल्याई उपचार गर्दा गर्दै मृत्यु भएको हो, वारदात पछि निज फरार पनि छन निजले नै विषादी खुवाएको हुन भन्ने मिति २०५८।५।२५ को तुलसा कहारको कागज ।

११.    जाहेरवाला वरसाती कहारले कलावती यादवलाई चिनी सनाखत गरेको मिति २०५८।८।६ को कागज ।

१२.   मैले जाहेरवालाको वहिनीलाई भेली (गुड) खान दिएको छैन । मृत्यु हुनु भन्दा १० दिन अगाडि देखि नै म आफ्नो माईती घर गुरुवा गाउंमा काकाको छोराको विवाह भएकोले विवाहमा गएको थिएं । उक्त समयमा म इन्द्रपुरमा थिईन, मैले विष सेवन गराई मारेको होईन भन्ने प्रतिवादी कलावती यादवको मिति २०५८।८।१० को कागज ।

१३.   गिता कहारलाई कर्तव्य गरी मारेको भन्ने सम्वन्धमा मलाई थाहा छैन भन्ने वुझिएका राम सुकल यादव र सन्तोष कुमार सोनीको एकै मिलानको छुट्टा छुट्टै कागज ।

१४.   वारदातको समय भन्दा २।४ दिन अगाडि नै कलावती यादव आफ्नो माईती घर गएकी थिईन । गिता कहारलाई विष खान दिई मारेकोमा विश्वास लाग्दैन भन्ने इन्द्र प्रसाद यादव र मोतीलाव कांदुको एकै मिलानको मिति २०५८।८।१३ को छुट्टा छुट्टै कागज ।

१५.   प्रतिवादी वित्ति भन्ने कलावती यादवले मृतक गिता कहारलाई भेलीमा आल्मुनियम फोस्फराईड नामक विषादी मिसाई खुवाएको कारणवाट निजको मृत्यु भएको पुष्टि हुन आएको हुंदा प्रतिवादी वित्ति भन्ने कलावती यादवले मुलुकी ऐन ज्यान सम्वन्धीको महलको १ नं. विपरीत कसूर गरेको हुंदा प्रतिवादी वित्ति भन्ने कलावती यादवलाई ऐ महलको १३(२) नं. अनुसार सजाँय हुन पक्राउ परेकी प्रतिवादी वित्ति भन्ने कलावती यादव र मिसिल यसै अभियोगपत्र साथ प्रस्तुत गरिएको व्यहोरा सादर अनुरोध छ भन्ने अभियोग माग दावी ।

१६.    मैले मृतक गिता कहारलाई चिन्दीन । मिति २०५७।११।१४ गतेका दिन मेरो माईती घर गुरुवा गाउंमा मेरो काकाको विवाह भएको सो विवाहमा छु । १४ गते भन्दा १० दिन पहिल्यै देखि माईतीमा छु । नचिनेको हुनाले मृतक गिता मेरो घरमा आए नआएको भन्न सक्दिन, मैले अभियोग दावी वमोजिमको कसूर नगरेको हुनाले सजाँय हुनु पर्ने होईन, म निर्दोष छु भन्ने समेत व्यहोराको प्रतिवादी वित्ति भन्ने कलावतीले अदालतमा गरेको वयान ।

१७.   मेरो घर र प्रतिवादीको घरको दुरी अं. ५० हातको दुरीमा छ । प्रतिवादी र मृतकको सम्वन्ध राम्रो थियो । प्रतिवादी र मृतकको मैले थाहा पाए अनुसार राम्रो सम्वन्ध थियो। झै झगडा कहिलै भएको थिएन र प्रतिवादीले मृतकलाई विष खुवाई मार्नु पर्ने खासै कारण मलाई थाहा छैन भन्ने समेत व्यहोराको जाहेरवाला वरसाती कहारले अदालतमा गरेको वकपत्र ।

१८.   प्रतिवादी आफ्नो माईतीमा मिति २०५७।११।४ गते गई मिति २०५८।११।७ गते तिर ससुराली आएको व्यक्तिले मिति २०५७।११।१४ मा विष खुवाउने घटना भएको भन्ने कुरा पत्यार लायक छैन । अभियोग माग दावी अनुसार निजले कसूर गरेको हुंदा सफाई पाउनु पर्ने हो भन्ने समेत व्यहोराको प्रतिवादीको साक्षी गनी लोहारले गरेको वकपत्र ।

१९.    प्रतिवादीको चाल चलन राम्रो छ । प्रतिवादी कलावती मिति २०५७।११।४ गते देखि निज आफ्नो माईती घर जिल्ला वांके वेलहरी गा.वि.स.मा थिईन । निज प्रतिवादीले मृतकलाई विष खुवाएको होईन, जाहेरी झुठ्ठा हो भन्ने समेत व्यहोराको प्रतिवादीको साक्षी फेरन कांदुले गरेको वकपत्र ।

२०.   अस्पतालमा उपचारमा आएको गिता कहारलाई मैले देखिन । प्रहरीले मलाई सही गराउंदा अन्य व्यक्ति कोही पनि थिएनन । अस्पतालको इमरजेन्सी वार्डको अगाडि सही गराएका हुन सो समयमा म डाक्टर वस्ने रेष्टममा थिए । सोही ठाउंवाट वोलाई प्रहरीले सही गराएका हुन भन्ने समेत व्यहोराको अ.वं. ११५ नं. वमोजिम वुझिएका भुपाल श्रेष्ठले गरेको वकपत्र ।

२१.   मृतक गिता कहारले वताए मुताविक मिठाईमा मन्तेको श्रीमतीले जहर दिएकाले वान्ता भै रहेको थियो । मृतकले मलाई अस्पताल लैजानुस भनी भनेकी थिईन । कलावती भनी नाम सुनेको हुं अरु मान्छेले भनेर सुनेको हुं मेरो परिवार र कलावतीको परिवार संग राम्रो सम्वन्ध थियो । मृतकसंग प्रतिवादी कलावतीसंग पनि राम्रो सम्वन्ध थियो, झगडा लडाई आज सम्म मैले देखेको थिईन । रिसईवि पनि केही थिएन भन्ने समेत व्यहोराको तुलसा कहाले अदालतमा गरेको वकपत्र ।

२२.   भेरी अन्चल अस्पताल नेपालगन्जको मिति २०६०।३।११ को च.नं. ४२९ को मृत्युको कारण खुलाई पठाइएको पत्र मिसिल संलग्न रहेको ।

२३.   प्रतिवादीको वयानमा वारदात मिति भन्दा १० दिन अघि देखि माईती घरमा रहेकोले विष सेवान गराई मारेको होईन भनी अन्य स्थितिको जिकिर लिए पनि सो कुरालाई निजका साक्षीवाट समर्थन नभएको, जाहेरवाला र तुलसा कहारको वकपत्र तथा ई.प्र.का खजुराको पत्रवाट प्रतिवादी वारदातको दिन आफ्नै गाउं घरमा रहेको प्रमाणित भएको, मौकामा भएको मृतकको वयानमा यि प्रतिवादीले घरमा वोलाई कच्ची मिठाई खान दिएकी थिईन सो खाएपछि पेट पोल्ने, प्यास लाग्ने, वमिट हुने गरेको थियो भनी मृतकले भनेकी थिइन भन्ने कुरा हेल्पर भुपाल श्रेष्ठ र जाहेरवालाको वकपत्र गरेको, विष सेवनको कारणले गिता कहारको मृत्यु भएको भन्ने पोष्टमार्टम रिपोर्ट र डाक्टरको राय हुंदा वादी दावी अनुसार प्रतिवादीले कसूर गरेको देखिएकोले ज्यान सम्वन्धीको १३ (२) नं. अनुसार सर्वस्व सहित जन्मकैद हुने ठहर्छ भन्ने समेत व्यहोराको मिति २०६०।३।३० को वांके जिल्ला अदालतको फैसला ।

२४.   अधिकार प्राप्त अधिकारी र अदालत समक्ष समेत म प्रतिवादी दावी अनुसार कसूर गरेमा इन्कार भै वारदातको समयमा अन्यत्र रहेको कुरालाई साक्षीवाट प्रमाणित भएको, ईलाका प्रहरी कार्यालयको पत्र मेरो विरुद्ध प्रमाण लाग्न नसक्ने, मृतक गिता कहारसंग मेरो रिसइवि नभएको, निजको भारत रुपडियामा विवाह भएको, विगत ५ वर्ष देखि घर नगै माईती वसेको तथा निजको विरामी अवस्था र मरे पछि पनि घर तर्फका कोही नआई माईतीले जाहेरी दिनुवाट मृतकको मृत्यु रहस्यमय वन्न पुगेको छ । भुपाल श्रेष्ठले प्रहरीले के कागजमा सही गराए याद छैन भनेका र मृतककी आमा तुलसा र जाहेरवालको वकपत्र पनि प्रमाणमा ग्रहण गर्न योग्य नहुंदा मृतकको आत्म हत्या हुन सक्ने हुंदा सर्वस्व सहित जन्मकैदको सजाँय ठहर्‍याई २ वर्ष कैद गर्ने राय व्यक्त गरेको शुरु फैसला गैरकानूनी हुंदा वदर उल्टी गरिपाऊँ भन्ने समेत व्यहोराको पुनरावेदक जिकिर।

२५.   यसमा मार्नु पर्ने कारणको अभाव र मृत्यु पूर्व मृतकको कथनको प्रमाणितको अभावमा पुनरावेदक प्रतिवादीलाई कसूरदार ठहर्‍याएको शुरु फैसलामा प्रमाणको मुल्याँकन हुन नसकी फरक पर्न सक्ने देखिँदा अ.वं. २०२ नं. वमोजिम छलफलको निमित्त पेशीको सूचना दिई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालतको मिति २०६०।८।२२ को  आदेश ।

            २६.   प्रतिवादी कलावती अहिरले भेलीमा विष मिसाई खुवाएको कारण गिता कहारको मृत्यु हुन गएको हुंदा वादी दावी वमोजिम प्रतिवादीले कर्तव्य गरी ज्यान मारेको कसूर प्रमाणित हुन आएकोले ज्यान सम्वनधीको १३(२) नं. वमोजिम प्रतिवादी कलावती यादव अहिरलाई सर्वस्व सहित जन्मकैद हुने ठहरी भएको शुरु वांके जिल्ला अदालतको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत नेपालगन्जको मिति २०६०।९।२८ को फैसला ।

            २७.   मृत्युकालिन घोषणा भनिएको कागजमा लेख्नेको सहिछाप छैन । मृतकको उपचारमा खटिएका डाक्टर नर्स कोही कसैलाई रोहवर साक्षी राख्न सकेको छैन, केवल एक जना हेल्परको उक्त कागजमा सहिछाप गराइएको छ । निज हेल्पर भुपाल श्रेष्ठ अदालत समक्ष आई वकपत्र गर्दा समेत जाहेरवाला लगायत उपचारमा आएकी गिता कहारलाई मैले देखिन भनी भनेवाट मृत्युकालिन घोषणा भनिएको कागज नै शंकास्पद छ । शंकाको सुविधा अभियुक्तले पाउने फौजदारी न्यायको सर्वमान्य सिद्धान्त समेत भएकोले पुनरावेदन अदालत नेपालगन्जको फैसला वदर गरी झुठ्ठा अभियोगवाट सफाई पाउं भन्ने समेत व्यहोराको प्रतिवादीको यस अदालतमा परेको पुनरावेदन पत्र ।

            २८.   यसमा २०५७।६।१४ को मृत्यु भन्दा पूर्व अवस्थामा भएको कागजमा प्रहरी अधिकृत समक्ष गरेको कागज भन्ने उल्लेख भएको, उक्त लिखत तयार गर्ने व्यक्तिको अदालतमा वकपत्र भएको अवस्था नदेखिनुका साथै उक्त लिखत हुंदाका अवस्थामा साक्षी वस्ने भुपाल श्रेष्ठको पनि अदालतमा भएको वकपत्रमा मृतकलाई अस्पताल ल्याएको र राखेको थाहा छैन, लिखतमा प्रहरीले सही गर भनेको हुनाले सही गरी दिएको भन्ने उल्लेख भएको र उक्त कागजमा प्रतिवादीले भेली खान दिएको भनेको भेलीमा पानी मिसाएर खाएको भन्ने नभै मेली मात्र खाएको भन्ने समेत देखिँदा र प्रतिवादी इन्कार रहेको अवस्थामा प्रतिवादीले विष सेवन गराई मृतकको मृत्यु भएको भन्ने कुरा विरोधाभाष भै पुनरावेदन अदालत नेपालगन्जको फैसला फरक पर्न सक्ने देखिँदा अ.वं. २०२ नं. वमोजिम छलफलको लागी महान्यायाधिवक्ताको कार्यालयलाई पेशीको सूचना दिई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०६२।८।१५ को आदेश ।

            २९.   नियम वमोजिम पेशी सूचीमा चढी ईजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकको तर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री यमुना भट्टराईले मृत्युकालिन घोषणामा उपचार गर्ने डाक्टर वा नर्सको रोहवरमा सही नभई हेल्परको सही भएको र निजले अदालतमा आई वकपत्र गर्दा प्रहरीले सही गर भनेकोले सही गरेको हुं भनी भनेको अवस्थामा सोही मृत्युकालिन घोषणालाई आधार लिई भएको पुनरावेदन अदालत नेपालगन्जको फैसला त्रुटिपूर्ण हुंदा वदर गरी अभियोग दावीवाट सफाई पाउनु पर्छ भन्ने व्यहोराको वहस प्रस्तुत गर्नु भयो । प्रत्यर्थी श्री ५ को सरकारको तर्फवाट उपस्थित विद्वान उप न्यायाधीवक्ता श्री विश्वराज कोईरालाले मृतकको मृत्यु मुसा मार्ने विषको कारणवाट मृत्यु भएको भन्ने कुरामा विवाद देखिँदैन । मृत्युकालिन घोषणाको समयमा जाहेरवाला रोहवरमा रहेको र निजको अदालतमा भएको वयान समेतवाट समर्थित भएको अवस्थामा पुनरावेदन अदालतवाट भएको फैसला सदर गरियोस् भन्ने व्यहोराको वहस प्रस्तुत गर्नु  भयो ।

            ३०.   उपरोक्त वमोजिम कानून व्यवसायहीहरुले गर्नु भएको वहस समेत सुनि पुनरावेदन सहितको मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालत नेपालगन्जको फैसला मिलेको छ , छैन ? पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होईन ? भन्ने सम्वन्धमा निर्णय दिनु पर्ने देखियो।

            ३१.   निर्णय तर्फ विचार गर्दा वहिनी गिता कहारले २०५७।११।१४ गते सांझ पख वान्ता गरी वेहोस भएकोले उपचारको लागी भेरी अन्चल अस्पतालमा लगी उपचारको क्रममा होसमा आई सोध्दा मन्ते यादवकी श्रीमतीले मलाई भेली (गुड) मा विष हाली खान दिएकी र सोही कारणले मलाई यस्तो भयो भनी भनेकी र वहिनीको उपचार हुंदा हुंदै २०५७।११।१५ मा मृत्यु भएकोले मन्ते यादवकी श्रीमतीलाई कानून वमोजिम सजाँय गरिपाऊँ भनी जिल्ला प्रहरी कार्यालय, वांकेमा वरसाती कहारको किटानी जाहेरी परेको आधारवाट अनुसन्धानको कारवाही अगाडि वढेको पाईन्छ ।

            ३२.   २०५७।११।१४ गतेका दिन भेरी अन्चल अस्पतालमा जाहेरवाला वरसाती कहार र हस्पिटलका हेल्पर भुपाल श्रेष्ठको रोहवरमा मृतक गिता कहारको होस खुलेको समयमा निजले वयान गरेको देखिन्छ । उक्त घटना विवरण कागजमा मृतक गिता कहारले मन्ते अहिरको स्वास्नी वित्ती अहिरले मलाई आफ्नो घरमा वोलाई कच्ची मिठाई (भेली) खान दिएकी थिईन । सो भेली खाएपछि मलाई पेट पोल्ने, पानी प्यास लाग्ने, वमिट हुने गरेकाले पछि म वेहोस भई केही छिनपछि मलाई उपचारका लागी अस्पतालमा ल्याएका रहेछन् , पछि मात्र मलाई थाहा  भयो, अहिले मेरो स्थिति गम्भिर छ, अरु खुलाउन सक्दिन, पछि खुलांउला भनी मृतकले आफ्नो होस छंदै आफ्नो मृत्युको कारण सम्वन्धमा व्यक्त गरेको देखिन्छ ।

            ३३.   मृतकको शव परिक्षण प्रतिवेदनमा Chemical Analysis वाट मृत्युको कारण खुल्ने भनी उल्लेख भएको पाईन्छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको भिषेरा परिक्षण गर्दा आल्मुनियम फोस्फराईड मुसा मार्ने विषादी पाईएको भन्ने चिकित्सक वोर्डको मिति २०६०।२।११ को राय सहितको प्रतिवेदनमा उल्लेख भएको मिसिलवाट देखिन्छ । अभियोग दावी अनुसार मृतकलाई विष खुवाई मारेकोमा प्रतिवादी कलावती यादवले अधिकार प्राप्त अधिकारी एवं अदालत समक्ष इन्कारी वयान गरी अन्यत्र रहे भएको भनेता पनि सो कुरालाई निजका साक्षी गनी लोहार र फरन कांइ समेतको वकपत्रवाट पुष्टि हुन सकेको पाईदैन । वारदातको समयमा प्रतिवादी आफ्नै गाउंm घरमा रहेको भन्ने कुरा जाहेरवाला वरसाती कहार र मौकामा वुझिएका मृतककी आमा तुलसा कहारले अदालतमा आई वकेको वकपत्रवाट खुल्न आएको पाईन्छ । मृतककको मृत्यु कर्तव्यवाट भएको भनी किटानी जाहेरी दिएको, मृतकको भिषेरा परिक्षण प्रतिवेदनमा मुसा मार्ने औषधी प्रयोग भएको, मृतकलाई अस्पतालमा उपचार गराउन ल्याउंदाका वखत निजको होस खुलेको अवस्थामा केही तथ्य उल्लेख गरेको (मृत्युकालिन घोषणा) साथै मृत्युकालिन घोषणापत्रको रोहवरमा वस्ने मृतकका दाजु जाहेरवाला वरसाती कहारले अदालतमा समेत उपस्थित भै मृत्युकालिन घोषणालाई समर्थित हुने गरी वकपत्र गरेको, भिषेरा परिक्षणवाट अल्मोनियम फोस्फराईड विषादी रहेको तथ्य पुष्टि हुन आएको पाईयो ।

            ३४.   पुनरावेदक तर्फवाट उपस्थित विद्वान अधिवक्ताले वहसको क्रममा मृत्युकालिन घोषणा   (Dying Declaration) उपचार गर्ने डाक्टर वा नर्सको उपस्थितमा हुनु पर्दछ तर प्रस्तुत मुद्दामा उपचार गर्ने डाक्टर वा नर्सको उपस्थितिमा नभएको भनी जिकिर लिनु भएको छ । प्रमाण ऐन, २०३१ को दफा ११ ले कुनै मरेको व्यक्तिले आफु मर्न लागेको अवस्थामा होस छंदै आफ्नो मृत्युको कारणका सम्वन्धमा व्यक्त गरेको कुरा प्रमाणमा लिन हुन्छभन्ने कानूनी व्यवस्था गरेको देखिन्छ । उक्त कानूनी व्यवस्थाले मरेको व्यक्तिले होस छंदै व्यक्त गरेको कुराका सम्वन्धमा कानूनले यो यस अवस्थमा प्रमाणयोग्य हुने भनी कुनै कुरा तोकेको अवस्था छैन । अर्थात यस्तो व्यक्तिको रोहवरमा यस्तो अधिकारी समक्ष व्यक्त गरेको कुरा प्रमाणमा लिन हुने भनेको अवस्था नभएपछि मरेको व्यक्तिले होस छंदै व्यक्त गरेको हो, हैन ? सो तथ्य पर्याप्त प्रमाणवाट पुष्टि हुन्छ , हुंदैन ? सो कुरा महत्वपूर्ण हुन आउंदछ । अस्पतालमा डाक्टर वा नर्सको समक्ष व्यक्त गरेको कुरा मात्र प्रमाणमा लिन हुने भन्ने स्पष्ट कानूनको अभावमा डक्टर वा नर्स समक्ष भएको मृत्युकालिन घोषणालाई मात्र प्रमाणमा लिन मिल्ने भन्ने विद्वान अधिवक्ताको वहस जिकिर कानून सम्मत देखिँदेन । मृतक गिता कहारले अस्पतालमा आफ्नो होस खुले पछि दिएको वयान (मृत्युकालिन घोषणा) को रोहवरमा वस्ने मृतकका दाजु जाहेरवाला वरसाती कहारले अदालतमा उपस्थित भै मृत्युकालिन घोषणाको तथ्यलाई समर्थित हुने गरी वकपत्र गरेको र निजको वकपत्रलाई शंका गरी रहनु पर्ने अवस्था विद्यमान नहुंदा मृतकले आफ्नो होस छंदै आफ्नो मृत्युको कारण सम्वन्धमा व्यक्त गरेको कुरालाई प्रमाणमा लिन नमिल्ने देखिँदैन ।

            ३५.   तसर्थ, प्रतिवादी कलावती अहिरले भेलीमा विष मिसाई गिता कहारलाई खुवाएको कारण निजको मृत्यु भएको हुंदा अभियोग माग दावी वमोजिम प्रतिवादीले कर्तव्य गरी ज्यान मारेको कसूर प्रमाणित हुन आएकोले ज्यान सम्वन्धीको १३(२) नं. वमोजिम प्रतिवादी कलावती यादव अहिरलाई सर्वस्व सहित जन्मकैद हुने ठहरी भएको वांके जिल्ला अदालतको फैसला सदर हुने ठहर्‍याई भएको पुनरावेदन अदालत नेपालगन्जको मिति २०६०।९।२८ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन ।

            ३६.   विद्वान अधिवक्ताले जिकिर लिनु भएवमोजिम मृत्युकालिन घोषणा (Dying Declaration) उपचार गर्ने डाक्टर, नर्स वा यस्तै अस्पतालका जिम्मेवार पदाधिकारीको रोहवरमा भएमा यस्ता विवाद कम हुने, मृत्युकालिन घोषणामा उपचार गर्ने डाक्टर, नर्सलाई रोहवरमा राख्न कानूनले वाधा नगरेको सन्दर्भमा महान्यायाधीवक्ताले आफ्नो मातहतका कार्यालयलाई निर्देशन दिए मृत्युकालिन घोषणामा उपचार गर्ने डाक्टर, नर्स रोहवरमा राख्न सकिने अवस्था विद्यमान हुंदा सो तर्फ महान्यायाधीवक्ताको ध्यान यही निर्णयवाट आकर्षित गरिएको छ । मिसिल नियमानुसार गरी वुझाई दिनु ।

 

उक्त रायमा म सहमत छुं ।

 

न्या.गौरी ढकाल

 

इति सम्वत् २०६३ साल जेष्ठ २४ गते रोज ४ शुभम् ...................

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु