निर्णय नं. ७६६६ - जवर्जस्ती करणी

निर्णय नं.७६६६ ने.का.प.२०६३ अङ्क ३
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री अनूपराज शर्मा
माननीय न्यायाधीश श्री ताहिलअलि अन्सारी
संवत् २०६१ सालको फौ.पु नं. ३७०२
फैसला मिति २०६३।३।११।१
मुद्दाः– जवरजस्ती करणी ।
पुनरावेदक र प्रतिवादीः मोरङ जिल्ला केरोन गा.वि.स.वडा न. ४ वस्ने राजु वस्नेत
विरुद्ध
प्रत्यर्थी र वादीः चन्द्रबहादुरको भण्डारीको जाहेरीले नेपाल सरकार
§ पुनरावेदकले पीडितको योनीमा वीर्य फेला नपरेबाट वारदात प्रमाणित नभएको भन्ने जिकिर लिएको भएपनि सवै जवरजस्तीकरणीको कसूरमा पीडित महिलाको योनीमा वीर्य फेला पर्नुपर्छ भनी मान्न नमिल्ने ।
(प्रकरण नं.१९)
§ जवरजस्ती करणीको महलको ४ नं. मा जवरजस्ती करणी गर्ने भएको कुरा जानी थाहापाई छल गरी संग लागी जाने समाउने र सो काममा मद्दत दिनेलाई तीन वर्षसम्म कैद गर्नुपर्छ” भन्ने उल्लेख भएवाट सो नं. को प्रयोजनका लागि जवरजस्ती करणी गर्नु नपर्ने र वारदातस्थलमा गई मुख्य अभियुक्तलाई मद्दत गर्नु नै पर्याप्त हुने ।
(प्रकरण नं.२१)
§ अदालतले निर्णय गर्दा प्राप्त प्रमाणहरूको तर्कसंगत मूल्यांकनवाट अभियोग प्रमाणित हुने अवस्था छ छैन भनी निचोडमा पुग्नुपर्ने हुन्छ । अभियोग दावीनै नालिएको विषयमा वोल्न नमिल्ने ।
(प्रकरण नं.२३)
पुनरावेदक प्रतिवादी तर्फवाटः उपस्थित विद्वान अधिवक्ता श्री सहकुल खत्री
प्रत्यर्थी वादी तर्फवाटः
अवलम्वित नजीरः
फैसला
न्या.अनूपराज शर्माः पुनरावेदन अदालत विराटनगरबाट २०६०।५।११।५ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य ठहर यसप्रकार छ ।
२. मेरो छोरी वर्ष ३० को रनमाया भण्डारीलाई काम्ने रोगलागी गत आषाढ महिना देखि माममा उद्धव थापाको घर केरौन वडा नं. ४ मा गै नजिकै काली मन्दिरमा पुजाआजा गरी वस्दै आएकीमा २०५७।६।२३ गते राती १२ वजे पिसाव गर्न वाहिर निस्केको अवस्थामा जवरजस्त वोकी लगी स्कुलको चोरीमा जवरजस्ती करणी गरेको हुँदा करणी गर्ने केदार कार्की भागी फरार भएको र करणी गर्दा गर्दैको अवस्था राजु वस्नेतलाई पक्राउ गरी दाखिल गरेका छौ भन्ने समेत व्यहोराको २०५७।६।२४ को जाहेरी द्रखास्त ।
३. पूर्वमा खुल्ला चोरी पश्चिम उत्तर दक्षिणमा नि.मा.वि. भवन समेतको ४ किल्ला भित्र जवरजस्ती करणिको वारदात समेतको घटना स्थल ठीक छ भन्ने ०५७।६।२९ को मुचुल्का।
४. २०५७।६।२२ गते रातको समयमा केरौन वडा नं. ४ को नाम थाहा नभएको व्यक्तिको घरमा वसी अं. १० वजेको समयमा केदार कार्की निस्केर एकैछिन पछि मलाई बोलाएर सकुलमा जाउ भनि लगेपछि एउटी केटी पनि रहेछ । निजलाई केदार कार्कीले हातमा समाएपछि नवुझीने गरी कस्सी कस्सी रुख लागीन, केदार कार्कीले मुखमा कपडाले थुनी लडाई जवरजस्ती करणी गर्दा पीडित रनमाया चिच्याउदा पनि केदारले करणी गरि रह्यो । करणी गरी सकेपछि पनि पीडित रुदै थिइन केदारले मलाई पनि गर भनि भन्दै थिए । पीडित रोइ कराएको सुनि गाउलेहरू आउँदा केदारा कार्की फरार रहेको र मलाई तैले पनि जवरजस्ती करणी गरेको हो भनि पक्राउ गरेको हो । मैले पीडितलाई जवरजस्ती करणी गरेको होइन भन्ने प्रतिवादी राजु वस्नेतले गरेको २०५७।६।३० मा प्रहरीमा गरेको वयान ।
५. २०५७।६।२३ गते रातको १२ वजेको समयमा छिमेकी उद्धव थापाले ए भाई उठनुहोस भान्जीलाई केटाहरूले वोकेर स्कुलतिर लगे भनेकोले उठी जाँदा स्कुलको विच खाली ठाउँमा रनमायालाई उतानो पारी करणी गरी रहेको देखी पीडितका मामाले पछाडिवाट चाकमा २ लाठी प्रहार गरेपनि निजलाई म र उद्धव भै सर्टमा समाती मेरो घरमा लग्यो । गाउका मानिस जम्मा भै सोधपुछ गर्दा केदार कार्कीले पहिले करणी गरे अनि म पनि गर्दै थिए भनि राजु वस्नेतले भनेकाले रातभरी वसी भोलीपल्ट प्रहरीमा दाखिल गरेको हो भन्ने समेत जिवनाथ भट्टराईले प्रहरीमा गरेको कागज ।
६. हामी खानालाई सुतिरहेको अवस्था भान्जी रनमाया पिसाव गर्न निस्केकी धेरैवेर नआएपछि कता गइन भनि हेर्दा दुईजना केटाले अंगालोमारी स्कुलको चोरी तिर लादै गरेको देखि हल्ला गरी जाँदा राजु भन्नेले जवरजस्ती करणी गरी रहेको देखि डण्ठाले ३ डण्ठा मैले हाने र समात्यौ र जीवनाथको घरमा ल्याई राख्यौ, सोधपुछ गर्दा मैले मात्र कोइन केदार कार्की पनि छ भने। केदार कार्किलाई मैले देखिन भन्ने समेत उद्धवबहादुर थापाले प्रहरीमा गरेको कागज ।
७. पीडित रनमाया रातको अं. १२ वजेको समयमा पिसाव गर्नतल ओर्लिन धेरै बेर नआएपछि निज आइनन भनि हेर्दा २ जना केटाले काँधमा हात राखी स्कुलको चौरीतर्फ लादै गरेको देखि हल्ला गरी उद्धव थापा निस्की जिवनाथलाई पनि वोलाई जाँदा राजु वस्नेतलाई दुई लाठी हानी करणी गर्दा गर्दैको अवस्था पक्राउ गरी निज जिवनाथको घरमा ल्याई राखेको, सोधपुछ गर्दा निज राजु वस्नेत र केदार कार्कीले जवरजस्ती करणी गरेको हुन भन्ने समेत झारी देवीले प्रहरीमा गरेको कागज ।
८. २०५७।६।२३ गते रातको अं. १२ वजेको समयमा म पिसाव गर्न निस्कदा २ जना केटाहरू आई मलार्ई समाती मुखथुनी बोकेर अलिपर लगेर चौरीमानै जवरजस्ती करणी गरे, त्यसपछि अर्को जनाले करणी गर्दै गर्दा मामा उद्धव थापा लगायत छिमेकीहरू समेत आई करणी गर्ने मध्येका एकजनालाई पक्राउ गरे, एकजना भागी फरार भए, घरमा ल्याई हेर्दा मैले चिनेकै राजु वस्नेत रहेछन् भन्ने समेत पीडित रनमाया भण्डारीले प्रहरीमा गरेको कागज ।
९. पीडित रनमाया भण्डारीलाई केदार कार्की समेतले जवरजस्ती करणी गरे भन्ने सुनेको हो भन्ने समेत व्यहोराको ०५७।७।१४ गतेको बस्तुस्थिति मुचुल्का ।
१०. पीडित रनमाया भण्डारीलाई जवरजस्ती करणी गरेमा केदार कार्की भागी गएको स्वीकार गरी अभियुक्त राजु वस्नेतले स्वीकार गरेको, गाउलेले समाते भन्ने स्वीकार गरेको किटानी जाहेरी भएको, केदार कार्कीले जवरजस्ती करणी गरेमा विश्वास लाग्छ भन्ने समेत वस्तुस्थिति मुचुल्का भएको समेत हुंदा पीडित रनमायालाई जवरजस्ती करणी गरेमा जवरजस्ती करणीको १ नं. को कसूर गरेमा ऐ.को ३ नं. अनुसार सजाय गरी ऐ. १० नं. अनुसार अभियुक्त केदार कार्कीको आधा अंश सर्वस्व गरी पीडितलाई दिलाई भराई दिन तथा प्रतिवादी राजु वस्नेत ऐ. महलको ४ नं. को कसूरमा सोही नं. बमोजिम सजाय हुन समेतको माग भै पेश भएको ०५७।७।१८।६ को अभियोगपत्र।
११. म सुति रहेको अवस्था केदार कार्कीले तास खेल्न जाउ भनि बोलाई लगेकोले बाटामा एउटा घरमा धामी वसेकोले जोखाना हेराउन जौ भन्दा म जान्न भनि म दिशा गर्न गए निज सो ठाउँमा गए, दिशा गरी सकेपछि सो हल्ला भयो र मानिसहरू आईमलाई पक्राउ गरे केदार कार्की कहा गए थाहा भएन, जाहेरवालाकी छोरीलाई मैले जवरजस्ती करणी गरेको होइन पीडित र मौकामा कागज गर्नेले झुठा कुरा लेखाएका हुन भन्ने समेत प्रतिवादी राजु वस्नेतले २०५७।७।२० मा शुरु अदालतमा गरेको वयान ।
१२. म काठमाडौंमा व्यापार गरी वस्ने हुंदा सोधनी भएको मिति २०५७।६।२२ गते काठमाडौंमा थिए जाहेरी अनुसार रनमायालाई मैले जवरजस्ती करणी गरेको समेत छैन उद्धवबहादुर थापाले तथा वस्तुस्थिति मुचुल्का समेतमा किन झुठा व्यहोरा लेखाए थाहा छैन,m मैले जवरजस्ती करणी गरेको होइन भन्ने समेत मिति २०५७।१०।२६।५ मा प्र. केदार कार्कीले शुरु अदालतमा गरेको वयान ।
१३. पीडितको कन्याजाली विवाहीत र वालवच्चा समेत भइसकेको महिला हुंदा च्याती सकेको अभियोजन पक्षले पीडितलाई अदालत समक्ष उपस्थित गराउन नसकेको, जवरजस्ती करणी गर्न प्रयोग गर्दा योनी मुखमा रगत आउने हुँदा त्यस्तो ताजा वा सुख्खा रगतको टाटा नदेखिएको, योनी मुखमा चोट पटक, सुनिन्नु च्यातिनु पर्नेमा त्यस्तो नदेखिएको तथा योनी भित्र विर्य समेत नदेखिएको हुंदा प्रतिवादीहरूले आरोपित कसूरवाट सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु मोरङ जिल्ला अदालतको मिति ०५९।३।१३ गतेको फैसला ।
१४. शुरु फैसलामा चित्त वुझेन । पीडितको योनीको दाहिने र पछाडिपट्टि घस्रिएको (Lacerated) घाउ भएको देखिन्छ । घटनाका चश्मदित व्यक्तिहरू उद्धवबहादुर थापा, जीवनाथ भट्टराई, झारीदेवी राजवंशीले प्रतिवादीहरूले पीडित रनमाया भण्डारीलाई जवरजस्ती करणी गर्दा गर्दैको अवस्थामा देखेको हो भनी घटना विवरण खुलाई किटानी साथ मौकामा कागज गरी सोही व्यहोराको वकपत्र अदालतमा उपस्थित भई गरि दिएको पाइन्छ । पीडितको वकपत्र मानसीक अवस्था ठिक नभएको कारणबाट हुन नसक्दैमा शुरुले प्रतिवादीहरूलाई सफाई दिने गरी गरेको इन्साफ कानूनी त्रुटीपूर्ण भएकोले उल्टी भई अभियोगदावी बमोजिम सजाय होस भन्ने समेत व्यहोराको वाद िपक्षको पुनरावेदन जिकिर ।
१५. वारदात स्थलमानै प्रत्यक्षदर्शीहरूले पक्रेको भनी अदालतमा समेत वकपत्र गरेको देखिएको र पीडिताको योनीको दाहिने भागमा र पछाडिपट्टि घस्रिएको घाउ समेत देखिएको स्थितिमा अभियोग दावी पुग्न नसक्ने ठहर्याएको शुरु जिल्ला अदालतको फैसला फरक पर्ने देखिंदा अ.वं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालतको आदेश ।
१६. झारी देबीले दुवै जना भै पीडितलाई समाई लगेको देखेको वयान कागज समेतवाट निजको उपस्थिती सहयोगात्मक देखिएको पाइयो । पीडित कराई चिच्याएपछि प्रतिवादी केदार कार्की भागी प्रतिवाद राजु वस्नेत तत्काल पक्राउ परेबाट निजको सहयोगात्मक उपस्थितिलाई कुनै तरहले पनि अन्यथा मान्नु पर्ने स्थिति रहेन । निजको अधिकार प्राप्त अधिकारी समक्षको वयान र अदालतमा भएको वयान समेतवाट र अन्य तत्काल उपस्थित हुने व्यक्तिहरूको लेखाई भनाईवाट पनि निजले दावी बमोजिम जवरजस्ती करणीको ४ नं. को कसूर गरेकै पुष्टि हुन आयो तसर्थ प्रतिवादी केदार कार्कीले रनमायालाई निजको मन्जुरी बेगर जवरजस्ती करणी गरेको देखिन आएकोले निजले जवरजस्ती करणीको नं. को कसूर गरेको ठहर्छ । सो ठहर्नाले निजलाई सोही ऐनको तत्काल प्रचलित ३ नं. अनुसार ४ वर्ष कैद हुन्छ र निजको अंश मध्येवाट आधा अंश सर्वस्व गरी सो आधा अंश सोही ऐनको १० नं. अनुसार पीडित रनमायालाई दिलाई दिने समेत ठहर्छ । अर्को प्रतिवादी राजु वस्नेतले दावी बमोजिम जवरजस्ती करणीको ४ नं. बमोजिम कसूर गरेको देखिन आएकोले निजलाई सोही ऐन बमोजिम १ वर्ष कैद सजाय हुने ठहर्छ । त्यसो हुँदा आरोपित कसूर सजायवाट सफाई दिने गरी भएको शुरु मोरङ जिल्ला अदालतको मिति २०५९।३।३१ को फैसला नमिलेकोले उल्टी हुन्छ भन्ने समेत २०६०।५।११।५ मा पुनरावेदन अदालत विराटनगरवाट भएको फैसला ।
१७. २०४७।६।२३ गते राती रनमाया भण्डारीलाई करणी गरि रहदाका अवस्थामा मलाई पक्राउ गरेको भन जाहेरी दरखास्त र उद्धव थापा समेतका व्यक्तिले मौकामा गरेको कागाजमा उल्लेख छ भने अभियोगपत्रमा प्रतिवादी केदार कार्कीलाई जवरजस्ती करणी गर्नका लागि पीडितलाई समाएको भनी जवरजस्ती करणीको ४ नं. अनुसार माग दावी लिइएको छ । यसरी अभियोग दावी र चश्मदित भनिएका व्यक्तिहरूको भनाईमा विरोधाभाष भएकोले रनमायालाई मैले करणी गरेको पनि होइन र करणी गर्नेमा केदार कार्कीलाई सघाएको पनि होइन । सहयोग नगरेको अवस्थामा जवरजस्ती करणीको ४ नं. बमोजिम सजाय हुन पर्ने होइन रनमाया भण्डारीलाई जाँच गर्दा निजको गुप्ताङ्गमा वीर्य फेला नपरेको भन्ने प्रतिवेदन भएको निजलाई करणी भएको छ भन्ने ठोस र पर्याप्त प्रमाण नभएको र रनमाया भण्डारीले अदालतमा आई वकपत्र समेत नगरेको अवस्थामा मलाई सजाय गरेको पुनरावेदन अदालतको फैसला त्रुटीपूर्ण छ । तसर्थ मलाई १ वर्षकैद गर्ने गरी पुनरावेदन अदालतवाट भएको फैसला वदर गरी शुरु मोरङ जिल्ला अदालतको फैसला बमोजिम गरि पाउँ भन्ने समेत व्यहोराको पुनरावेदक राजु वस्नेतले यस अदालतमा गरेको पुनरावेदन ।
१८. नियमबमोजिम पेशीसूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन सहित सम्पूर्ण मिसिल अध्ययन गरी पुनरावेदक तर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री सहकूल खत्रीले गर्नु भएको वहस समेत सुनी विचार गर्दा पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्ने नसक्ने एवं पुनरावेदन अदालत विराटनगरको फैसला मिले नमिलेकोके हो सो सम्वन्धमा निर्णय दिनुपर्ने हुन आयो ।
१९. निर्णयतर्फ विचार गर्दा काम्नेरोगवाट पीडित भएको रनमाया पिसाव गर्न निस्केका वखत रातको समयमा प्रतिवादीहरूले जवरजस्ती वोकी स्कुलको चउरमा लगी जवरजस्ती करणी गरेका भन्ने जाहेरी दरखास्त भएकोमा पीडित रनमायाको शारीरीक जाँच गर्दा निजको योनीको दाहिने भागमा र पछाडिपट्टी घसारिएको (Lacerated) घाउ देखिएको भन्ने कोशी अंचल अस्पतालको २०५७।७।६ को पत्रवाट देखिन्छ । प्रतिवादी राजु वस्नेतले अनुसन्धानका क्रममा वयान गर्दा प्रतिवादी केदार कार्कीले रनमायालाई जवरजस्ती करणी गरी आफुलाई पनि गर भनेको र गाउंलेहरू आई हल्ला खल्ला भएपछि प्रतिवादी केदार कार्की भागी गएको भनी उल्लेख गरेको तथ्य पीडितको योनीमा घाउ भएको भन्ने उल्लेखित व्यहोरावाट समर्थित हुन आएको देखियो । यसवाट पीडित रनमाया उपर जवरजस्ती करणीको वारदात भएको भन्ने तथ्य प्रमाणित भएको देखिन्छ । पुनरावेदकले पीडितको योनीमा वीर्य फेला नपरेबाट वारदात प्रमाणित नभएको भन्ने जिकिर लिएको भएपनि सवै जवरजस्ती करणीको कसूरमा पीडित महिलाको योनीमा वीर्य फेला पर्नु पर्छ भनी मान्न मिल्ने हुदैन । अन्य प्रमाणवाट पनि कसूर कायम हुनसक्ने हुंदा वीर्यको अभावलाई मात्र वारदात नभएको भन्ने निश्चित प्रमाण मान्न मिलेन ।
२०. उल्लिखित वारदातमा प्रतिवादी केदार कार्की उपर मुलुकी ऐन जवरजस्ती करणीको महलको १ नं. विपरीत कसूर गरेकोमा ऐ. ३ नं. र १० नं बमोजिम कारवाही र सजाय हुन तथा प्रतिवादी राजु वस्नेतलाई ऐ. महलको दफा ४ अनुसार सजाय हुनका लागि अभियोगदावी भएकोमा सुरु जिल्ला अदालतले प्रतिवादीहरूले सफाई पाउने गरी भएको फैसला उपर वादी पक्षवाट परेको पुनरावेदनमा प्रतिवादीहरूलाई अभियोग दाविबमोजिम सजाय हुने गरी पुनरावेदन अदालत विराटनगरवाट फैसला भएकोमा सो फैसला उपर प्रतिवादी मध्येका राजु वस्नेतको मात्र यस अदालतमा पुनरावेदन पर्न आएकोले निजको हकमा विचार गर्नुपर्ने देखिन आयो ।
२१. प्रतिवादी राजु वस्नेत उपरको अभियोग हेर्दा प्रतिवादी केदार कार्कीलाई जवरजस्ती करणी गर्नका लागि पीडितलाई समाएको भन्ने अभियोग रहेको देखिन्छ । प्रतिवादी राजु वस्नेतले अदालत समक्ष वायान गर्दा आफू करणी भएको स्थानमा नगएको दिशा वस्न गएका वखतमा हल्ला खल्ला भएको र गाउँलेले आफुलाई पक्राउ गरी लगेको भन्ने कुरा व्यक्त गरेको भएपनि अनुसन्धान क्रममा वयान गर्दा प्र. केदार कार्कीले पीडितलाई चिच्याएर रुदा पनि मुख थुनेर जवरजस्ती करणी गरेको, केदार कार्कीले निजलाई पनि करणी गर भनेको र गाउँलेहरू आएपछि केदार कार्की भागेको र आफू पक्राउ परेको कुरा व्यक्त गरेको दोखिन्छ । यसरी व्यक्त गरेको कुरा सम्वन्धमा अदालतमा वयान गर्दा निजले मैले भने बमोजिम केही कुरा लेखिएको मैले नभनेको केही कुरा लेखिएको रहेछ भनी उल्लेख गरेको देखिन्छ । तर उक्त कुरा आफ्नो इच्छा विपरीत प्रहरीले लेखाएको हो भन्ने कुराको जिकिर लिन सकेको नदेखिंदा प्रतिवादी राजु वस्नेतले अनुसन्धानका क्रममा वारदातस्थलमा आफु मौजुद रहेको र सोही स्थानवाट गाउलेहरूले पक्राउ गरेको भनी व्यक्त गरेको कुरालाई प्रमाण ऐनको दफा ९ ले प्रमाणमा लिन वाधा पर्ने देखिदैन । अनुसन्धान क्रममा वयान गर्दा प्रतिवादी राजु वस्नेतले आफूले जवरजस्ती करणी गरेको छैन, केदार कार्की साथी भएको वचाउन प्रयास गरेको हो भनी व्यक्त गरेवाट आफूले जवरजस्तीकरणी गरेको नभएपनि सो वारदात घटाउन मद्दत गरेको कुरा स्वीकार गरेकै देखिन आयो । जवरजस्ती करणीको महलको ४ नं. मा जवरजस्ती करणी गर्ने भएको कुरा जानी थाहापाई संग लागी जाने समाउने र सो काममा मद्दत दिनेलाई तीन वर्ष सम्म कैद गर्नुपर्छ” भन्ने उल्लेख भएवाट सो नं. को प्रयोजनका लागि जवरजस्ती करणी गर्नु नपर्ने र वारदातस्थलमा गई मुख्य अभियुक्तलाई मद्दत गर्नु नै पर्याप्त हुन्छ ।
२२. अनुसन्धानका क्रममा कागज गर्ने मध्ये उद्धवबहादुर थापा, जीवनाथ भट्टराई समेतका साक्षीहरूले अदालत समक्ष गरेको वकपत्रवाट जवरजस्तीकरणीको वारदात मा संलग्न रहेकै वखत प्रतिवादी राजु वस्नेतलाई देखी उद्धव थापाले निजलाई पछाडिपटिृ लाठीले दुई पटक हिर्काएर समाती जीवनाथको घरमा लगी राखेको भन्ने देखिन आउछ । उल्लिखित साक्षीहरूको भनाईवाट पनि उद्धवबहादुर थापा समेतका व्यक्तिहरूले प्रतिवादी राजु वस्नेतलाई करणी गर्दाकै अवस्थामा फेला पारेको भन्ने उल्लेख गरेपनि त्यसतर्फ अभयोग दावी नभएवाट विचार गर्नु परेन । तर उल्लेखित साक्षीहरूले व्यक्त गरेको र प्रतिवादीकै वयानवाट प्रतिवादी राजु वस्नेत मुख्य प्रतिवादीको साथ वारदातस्थलमा गै जवरजस्ती करणीको कसूरवाट पीडित रनमाया भण्डारीलाई समातेको मुख्य अभियुक्तलाई मद्दत गरेको र त्यसैवखत पक्राउ परेको भन्ने कुरा प्रमाणित भएको देखिन आउँछ ।
२३. प्रतिवादीले पुनरावेदन जिकीरमा जाहेरी दरखास्तमा करणी गर्दा गर्दैको अवस्थामा पक्राउ गरेको भन उल्लेख भएकोमा अभियोग दावीमा पीडितलाई समातेको सम्मको दावी लिएको असामाञ्जश्यपूर्ण भएकोले सफाई पाउनुपर्छ भनी जिकिर लिएकोतर्फ विचार गर्दा अदालतले निर्णय गर्दा प्राप्त प्रमाणहरूको तर्कसंगत मूल्यांकनवाट अभियोग प्रमाणित हुने अवस्था छ छैन भनी निचोडमा पुग्नुपर्ने हुन्छ । अभियोग दावीनै नालिएको विषयमा वोल्न मिल्ने पनि हुँदैन । त्यसमा पनि साक्षीहरूले प्रतिवादी जवरजस्तीकरणी गर्दा गर्दैको अवस्थामा फेला परेको भनी व्यक्त गरेको कुरालाई नै मान्यता दिंदा पनि पुनरावेदक को कसूरको मात्रा कम हुने वा सफाई पाउने भन्ने स्थिति हुदैन वरु सो कुराले यी पुनरावेदक विरुद्धको अभियोगलाई पुष्टि नै गर्छ । त्यसैले सोही आधारमा मात्र सफाई पाउनु पर्छ भन्ने पुनरावेदकको जिकीर मान्य हुने देखिएन ।
२४. पीडित नरमायाको अदालतमा वकपत्र नभएकोले सफाई पाउनु पर्छ भन्ने पनि पुनरावेदन जिकीर रहेको पाईन्छ । जवरजस्तीकरणी मुद्दाका पीडित अदालतमा अई वकपत्र गर्नु कसूर प्रमाणित गर्ने अनिवार्य तथ्य होइन । अरु प्रमाणबाट कसूर स्थापित भएको अवस्थामा काम्ने रोगवाट पीडित रहेकी नरमायाको अदालतमा वकपत्र हुन नसकेको भन्ने मात्र कुरा प्रतिवादीको सफाईको आधार वन्न सक्ने देखिएन ।
२५. उल्लिखित विवेचनावाट पीडित नरमाया भण्डारी उपर जवरजस्ती करणीको वारदात भएको पुष्टि भएको, प्रतिवादी राजु वस्नेत वारदातस्थलवाटै गाउलेहरूवाट पक्राउ परेको र अनुसन्धान क्रममा वयान गर्दा निजले अर्का प्रतिवादीलाई सघाएको कुरा स्वीकार गरेको समेत देखिंदा प्रतिवादीहरूले सफाई पाउने ठहर्याएको शुरु जिल्ला अदालतको इन्साफ उल्टी गरी प्रतिवादी राजु वस्नेतलार्ई अभियोग दावी बमोजिम मुलुकी ऐन जवरजस्ती करणीको ४ नं. अनुसार कैद वर्ष एक (१) सजाय हुने ठहर्याएको पुनरावेदन अदालत विराटनगरको २०६०।५।११।५ को फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन। मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या.ताहिरअलि अन्सारी
इति सम्वत् २०६३ साल आषाढ ११ गते रोज १ शुभम––––––––