निर्णय नं. ७६६९ - अपुताली हक कायम दर्ता

निर्णय नं.७६६९ ने.का.प.२०६३ अङ्क ३
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ
माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला
सम्वत् २०५९ सालको दे.पु.नं. ९०११
फैसला मितिः २०६३।१।१३।४
lp
मुद्दाः– अपुताली हक कायम दर्ता ।
पुनरावेदक/प्रतिवादीः जिल्ला महोत्तरी जलेश्वर नगरपालिका वडा नं. १० वस्ने भोलाप्रसाद ठाकुर
विरुद्ध
प्रत्यर्थी/वादीः ऐ.ऐ. वस्ने विन्देश्वर ठाकुर समेत
§ घरसारमा भएको शर्तनामाको नाम दिइएको लिखतलाई आधार मानी नगरपालिकामा सिफारिसका लागि वादी र प्रतिवादीले संयुक्त निवेदन दिएको भएपनि उक्त शर्तनामाको कागजको कानूनी हैसियत शुन्य भएकाले कानूनले नै प्रमाणयोग्य नभएको लिखतको आधारमा कसैले त्यस्तो प्रमाण समाई कही कुनै कुरा उल्लेख गरेको वा व्यक्त गरेको भएपनि प्रमाण ऐन, २०३१ को दफा ३४ वमोजिम कानूनी प्रश्नमा विवन्धनको सिद्धान्त आकर्षित हुन नसक्ने ।
§ वादी प्रतिवादीले संयुक्त रुपमा नगरपालिकामा निवेदन दिएकै कारण प्रतिवादीले वादीलाई आधा अपुताली जग्गा दिनुपर्ने भन्न नमिल्ने ।
(प्रकरण नं.२३)
§ आफ्नो छोरा हुंदाहुदै अंश लिई छुट्टै वसेको सौतेनी छोरालाई आमाले गरिदिएको शर्तनामाको कागजको आधारमा आधा अपुताली वादीले पाउने भनी गरेको शुरु जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला अपुतालीको महलको १० नं. र रजिष्ट्रेशनको १ नं. विपरीत देखिंदा उल्टी हुने ।
(प्रकरण नं.२५)
पुनरावेदक प्रतिवादी तर्फवाटः विद्धान अधिवक्ताहरु हरिकृष्ण कार्की र जानकी प्रसाद गिरी
प्रत्यर्थी वादी तर्फवाटः विद्वान अधिवक्ताद्वय शंभु थापा र इन्द्र खरेल
अवलम्वित नजीरः
फैसला
न्या.राजेन्द्रप्रसाद कोइरालाः पुनरावेदन अदालत जनकपुरको मिति ०५७।२।९ को फैसला उपर न्याय प्रशासन ऐन ०४८ को दफा १२ वमोजिम मुद्दा दोहोराई पाउं भनी प्रतिवादीको निवेदन परी यस अदालतवाट दोहर्याउने निस्सा प्रदान भै पुनरावेदनको रुपमा दायर भएको प्रस्तुत मुद्दाको तथ्य एवं ठहर यस प्रकार छ :–
२. स्व. पिता अभिनन्दन ठाकुरको २ छोरा हामी वादी प्रतिवादी हौं । हामी विच कानूनी प्रकृया पुरा गर्न अंश वण्डा छुट्टाएको भए पनि मेरो अंश हकको संरक्षण वुवाले नै गर्नु भएको र वुवाको शेषपछि आमा र विपक्षी भाईले नै गरी आएका छन । वुवाको मृत्युपछि वुवाको नामको जग्गा आमाको नाममा नामसारी गरिएको हो । ०४२।७।२९ मा आमा उमेदीयावतीको मृत्यु भएकोले आमाको नामको दर्ता रहेको जग्गा जम्मा विगहा १५–९–७१/२ को आधी ७–१४–१३३र४ जग्गा हक कायम गरी मेरो नाममा दर्ता समेत गरी पाउं भन्ने समेत व्यहोराको मिति ०४३।१२।३० को फिराद पत्र ।
३. स्व. पिता अभिनन्दन ठाकुरको जेठी पत्नी गुलाव देवीवाट विपक्षी विन्देश्वर ठाकुरको जन्म भएको हो । गुलावदेवीको मृत्यु पश्चात मात्र वुवाले मेरो आमालाई विवाह गर्नु भएको हो । विपक्षी वेमातृक दाजु भएकोले मेरो स्व. आमा उमेदियावतीको अपुताली खान पाउने विपक्षीलाई हकदैया नै छैन । तसर्थ फिराद दावी खारेज गरी पाउं भन्ने समेत व्यहोराको मिति ०४४।६।११ को प्रतिउत्तर पत्र।
४. उमेदियाको अपुताली खाने हकदार वादी प्रतिवादी दुवैको भन्ने समेत व्यहोराको वादीका साक्षीहरु भविछन ठाकुर, महन्थ ठाकुर भूमिहारको एकै मिलानको वकपत्र ।
५. फिराद दावी झुठा हो । उमेदियाको हेरचाह समेत निजको छोरा प्रतिवादीले मात्र गरेको हुंदा वादीले अपुताली पाउने होइन भन्ने समेत व्यहोराको प्रतिवादीका साक्षीहरु शत्रुधन ठाकुर, पराउ पाण्डे, प्रदिप ठाकुर, जयकरण पाण्डेको एकै मिलानको वकपत्र ।
६. जलेश्वर न.पा.बाट प्राप्त हुन आएको निवेदनमा भावावेसमा सहि गरेको हुं भन्ने समेत व्यहोराको प्रतिवादीको वारेस जगत प्रसाद श्रेष्ठको मिति ०४५।२।३ को वयान ।
७. मिति ०४०।२।५ मा भएको शर्तनामाको कागजमा लागेको सहिछाप मेरो हो भन्ने समेत व्यहोराको प्र. भोला प्रसादको सनाखत वयान ।
८. शर्तनामामा के कसो भएको हो मलाई थाहा छैन तर मेरो वावुको सम्पतिमा मैले आधी पाउंनुपर्ने हो भन्ने समेत व्यहोराको वादी विन्देश्वर ठाकुरको वयान ।
९. आमा उमेदियावतीलाई वैमात्रीक भन्नु भएको छ सो विल्कुल गलत छ । आमा वैमात्रीक भएको भए आधीआधी गर्ने प्रश्न नै उठने थिएन भन्ने समेत व्यहोराको वादीको वयान ।
१०. मिति ०४०।२।५ को शर्तनामा कागज वमोजिम वादीलाई अपुताली हक कायम भई दर्ता हुने समेत ठहर्छ भन्ने समेत व्यहोराको मिति ०५०।१।३ को महोत्तरी जिल्ला अदालतको फैसला ।
११. अभिनन्दनको २ श्रीमती थियो थिएन । वादी प्रतिवादी उमेदियाको छोरा हो वा होइन सो नवुझी नठहराई गरेको शुरु फैसला वदर गरी दिएको छ । पुनः वुझी फैसला गर्नु भनी शुरुमा पठाई दिने ठहर्छ भन्ने समेत व्यहोराको मिति ०५१।१२।८ को पुनरावेदन अदालत जनकपुरको फैसला ।
१२. अंश लिई भिन्न भएका सौतिनी छोराले आधा अपुताली नपाउने व्यवस्था प्रष्ट देखिन आयो । वादी प्रतिवादी वीच आमाको जीवनकालमा गाउंका भलादमी समेतको उपस्थितिमा व्यावहारीक रुपले घरसारमा मिति ०४०।२।५ मा शर्तनामा तयार गरी सो अनुसार गर्न गराउन मन्जुर नै रहेकोले घरायसी कागजलाई मान्यता दिन नमिल्ने नदेखिंदा सो शर्तनामा अनुसारको जग्गाको अपुताली हक वादीले पाउने ठहर्छ । अन्य बढी कुरामा वादीको दावी पुग्न सक्तैन भन्ने समेत व्यहोराको मिति ०५४।७।१९ को महोत्तरी जिल्ला अदालतको फैसला ।
१३. मेरो नामको जग्गामा पनि अपुताली ठहर गरिएको फैसला गैर कानूनी हुंदा वदर गरी मेरो पुनरावेदन जिकिर वमोजिम इन्साफ पाउं भन्ने समेत व्यहोराको वादीको पुनरावेदन अदालत जनकपुरमा परेको पुनरावेदन पत्र ।
१४. शुरुले गरेको फैसलाको माथिल्लो र तल्लो प्रकरणमा ठहर गर्दा वोलेको कुरामा अन्तर विरोध देखिंदा दावीनै नभएको जग्गा समेत अपुताली पाउने ठहर गरेकोले फरक पर्न सक्ने देखिंदा प्रत्यर्थी झिकाउनु भन्ने पुनरावेदन अदालत जनकपुरको आदेश ।
१५. शुरु महोत्तरी जिल्ला अदालतले मिति ०४०।२।५ को शर्तनामा लिखत वमोजिम वादी पक्षले अपुतालीको हक पाउने ठहर गरी गरेको मिति ०५४।७।१९ को फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत जनकपुरवाट ०५७।२।९ मा भएको फैसला ।
१६. पुनरावेदन अदालतको फैसलामा चित्त वुझेन । प्रत्यर्थी वादी उमेदियावतीको हकवाला छोरा होइन भनी महोत्तरी जिल्ला अदालतको फैसलामा उल्लेख भएको कुरालाई पुनरावेदन अदालतको फैसलामा स्विकार गरिएको अवस्थामा वादीको दावी शर्तनामा अनुरुप गराई पाउं भन्ने नभै मृतकको अपुताली हक पाउं भन्ने भएपछि शर्तनामालाई आधार मानी गरिएको शुरु र पुनरावेदन अदालतको फैसला दावी भन्दा वाहिर गै भएकोले मुद्दा दोहोराई हेरी पाउं भन्ने प्रतिवादीको यस अदालतमा परेको निवेदन पत्र ।
१७. वादी विन्देश्वर ठाकुर गुलावदेवीको छोरा र प्रतिवादी भोला प्रसाद ठाकुर वादीको सौतेनी आमा उमेदियावतीको छोरा भएको ठहर भै सके पश्चात उमेदियावतीको अपुताली पाउं भन्ने वादीको दावी रहेको अवस्थामा वादी दावी वमोजिम उमेदियावतीको अपुताली वादी विन्देश्वर ठाकुर समेतले पाउने गरी ठहराएको शुरु इन्साफ सदर गरेको पुनरावेदन अदालत जनकपुरको फैसलामा अपुतालीको १० नं. को व्याख्यात्मक त्रुटी एवं ने.का.प. २०४२ पृ. १०७४ मा प्रतिपादित नजिर समेतको प्रतिकुल देखिदा न्याय प्रशासन ऐन ०४८ को दफा १२(१) (क)ख) वमोजिम प्रस्तुत मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने यस अदालतको आदेश ।
१८. नियम वमोजिम दैनिक मुद्दा पेशी सूचिमा चढी पेश भएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल अध्ययन गरियो । पुनरावेदक तर्फवाट उपस्थित विद्धान अधिवक्ताहरु हरिकृष्ण कार्की र जानकी प्रसाद गिरीले वादी विन्देश्वर ठाकुर उमेदियावतिको छोरा नभै गुलावतिको छोरा भएको भन्ने पुष्टि भई सकेको छ । वादीले सौतेनी आमा उमेदियावतीको जग्गामा दावी गरेको अवस्था छ । अपुतालीको १० नं. वमोजिम उमेदियावतीको आफ्नो छोरा भोला ठाकुर छँदा छँदै सौतेनी छोरा विन्देश्वरले अपुताली पाउने अवस्थै छैन । भोला र विन्देश्वर अंश वण्डा भै वसेका छन र आमा उमेदियावती पनि छुट्टी भिन्न भएकी हुन । वादीकै साक्षी महन्त ठाकुर समेतले उमेदियावतीको काजकृया प्रतिवादी भोला ठाकुरले गरेका हुन भनी वकपत्र गरेका छन । ०४९।५।२४ मा विन्देश्वरले जिल्ला अदालतमा कागज गर्दा विन्देश्वर र भोला अंशलिई छुट्टि वसेको भनी कागज गरेका छन । अर्कातर्फ प्रस्तुत मुद्दा शर्तनामा वमोजिम गरिपाउं भनी आएको होइन । अपुतालीको १० नं. र यस अदालतवाट स्थापित नजिर समेतको विपरित शुरु र पुनरावेदन अदालतवाट भएका फैसला त्रुटीपूर्ण भएकाले उल्टी हुनुपर्छ भनी वहस गर्नु भयो । प्रत्यर्थी तर्फबाट उपस्थित विद्वान अधिवक्ता द्वय शंभुथापा र इन्द्र खरेलले ०४०।२।५ को शर्तनामा वमोजिम हुने गरी पहिलो फैसलामा दावी पुग्छ भनी उल्लेख भएकोमा प्रतिवादीको पुनरावेदन परेको थिएन । सो कुरालाई निजले स्विकार गरी वसेका छन। न्याय प्रशासन ऐन ०४८ को दफा १९ मा अदालतको निर्णय अन्तिम भएपछि मुद्दाका पक्षलाई सो निर्णय मान्न कर लाग्छ । प्रतिवादीले फैसला वमोजिम शर्तनामाको कागज वमोजिमका जग्गा दिन मंजुर भै फैसला अन्तिम रहेकाले अव दिन इन्कार गर्न मिल्दैन । शर्तनामाको कुनै कागजै नहुंदा मात्र अपुतालीको १० नं. ले रोक लगाउन सक्छ तर सो नहुंदा उक्त १० नं. आकर्षित हुनै सक्तैन । शुरु र पुनरावेदन अदालतले गरेको इन्साफमा कुनै त्रुटि नभएकाले ती फैसला सदर हुनु पर्छ भनी वहस गर्नु भयो ।
१९. प्रस्तुत मुद्दामा विद्धान अधिवक्ताहरुको वहस जिकिर समेतलाई दृष्टिगत गर्दा निम्न लिखित प्रश्नहरु उपस्थित भएका देखिएकाले तिनै प्रश्नहरुमा केन्द्रित रहेर निर्णय गर्नु पर्ने देखियो ।
१. वादी विन्देश्वर ठाकुर गुलाववतीको छोराहुन वा उमेदियावतीको छोरा हुन ?
२. मिति २०४०।२।५ को उमेदियावतीले गरिदिएको शर्तनामाको कानूनी हैसियत के हो ? र सो शर्तनामा अनुसार वादी विन्देश्वर ठाकुरले अपुताली खान पाउने हो होइन ?
३. अपुताली परेको संपत्तीमा सौतेनी छोराको के कस्तो कानूनी अधिकार रहन्छ ?
४. शुरु फैसला उपर एउटा पक्षको पुनरावेदन परी पुनरावेदन अदालतवाट शुरु फैसला वदर भएको अवस्थामा पुनरावेदन नगर्ने अर्को पक्षका लागि उक्त शुरु फैसला वन्धनकारी हुने नहने के हो ?
२०. उल्लेखित पहिलो प्रश्न तर्फ विचार गर्दा वादी विन्देश्वर ठाकुरले फिराद पत्रमा आमा उमेदियावतीको नाउंमा रहेको जग्गा अपुतालीको महलको १ र २ नं. वमोजिम हक कायम गरी दर्ता गरी पाउं भनी दावी लिएको देखिन्छ । प्रतिवादी भोला ठाकुरले प्रतिउत्तर पत्रमा वादी विन्देश्वर ठाकुरको र मेरो वावु एउटै भएपनि वादीको आमा गुलाववती र मेरो आमा उमेदियावती भै वादी वेमातृक पट्टीका दाजु भएको भनी जिकिरलिई शुरु जिल्ला अदालतको मिति ०५४।७।१९ को फैसलामा वादीको आमा गुलाववती र प्रतिवादीकी आमा उमेदियावती भन्ने ठहर भएको देखिन्छ । शुरु जिल्ला अदालतको फैसलाको उक्त तथ्यलाई वादीले स्विकार गरी पुनरावेदन गरेको समेत नदेखिएको र वादी विन्देश्वर ठाकुर उमेदियावतीको छोरा भएको भन्ने देखिने कुनै ठोस प्रमाण वादीवाट पेश भएको नदेखिएको स्थितिमा यि प्रत्यर्थी वादी विन्देश्वर ठाकुर उमेदियवतीको छोरा नभै गुलाववतीको छोरा भै प्रतिवादीको वेमातृक पट्टीका दाजु भएको भन्ने कुरामा विवाद रहेन ।
२१. अव उल्लिखित दोश्रो प्रश्न तर्फ विचार गर्दा वादीले फिराद पत्रमा वावुको मृत्यु पश्चात सवै जग्गा जमिन उमेदियावतीको नाउंमा नामसारी भएको र उमेदियावतीले आफ्नो जीवन कालमा संपत्तिको विवाद सल्टाउन २०४०।२।५ मा आमाको नाउंमा दर्ता रहेको संपत्ति दुवै जना दाजु भाईले अपुताली खाने गरी शर्तनामाको कागज गरी दिएको भनी उल्लेख गरेको देखिन्छ । वादी विन्देश्वर ठाकुरको प्रतिवादीसंग अंशवण्डा भै छुटी सकेको भनी फिराद पत्रमा नै उल्लेख भएको देखिन्छ भने उमेदियावती संग आफु सगोलैमा रहेको भन्ने वादीको भनाई पनि छैन । यस अर्थमा प्रतिवादी भोला ठाकुरकी आमा उमेदियावती संग यि वादी पहिले नै छुट्टी सकेको देखियो । यसरी अंश लिई छुट्टी भिन्न भएको अंशियारलाई आफ्नो अंश हकको अचल संपत्तिमा हक छाडदा अथवा मृत्यु पर्यन्त हक प्राप्त गराउने व्यवस्थागर्न तत्कालिन स्त्री अंशधनको २ नं. को रीत पुर्याई रजिष्ट्रेशनको १ नं. वमोजिम लिखत पारित गराउनु पर्ने हुन्छ । यस मुद्दामा वादीलाई सौतेनी आमा उमेदियावतीले ०४०।२।५ मा आफ्नो शेषपछि अपुताली खान घरसारमा कागज गरी दिएको पाइन्छ । उक्त, घरसारको कागजमा कुनै विवाद रहेको नदेखिए पनि मृत्यु पर्यन्त कुनै अचल संपत्ति कसैको हकमा दिनु पर्ने भएमा शेषपछिको वकसपत्र गर्नु पर्ने अथवा अष्ठलौहा पारित गर्नु पर्ने कानूनी व्यवस्था रहेको पाइन्छ । यहां घरायसी कागज भनिएको मिति ०४०।२।५ को लिखतलाई शर्तनामा नामाकरण गरी कानूनले ग्राह्य प्रमाण हो की भन्ने स्थिति ल्याएको देखाईएपनि अपुताली संपत्ति हकवाला वाहेक अन्यलाई दिनु पर्ने स्थिति आएमा अथवा दिनेको इच्छा भएमा कानूनले वाध्यात्मक रुपमा पालन गर्नु पर्ने कार्यविधिहरुको पालना गर्नु पर्ने हुन्छ । घरसारमा गरेको र शर्तनामा नामाकरण गरी दिएको लिखतका आधारमा कानूनी प्रकृया नअपनाई अपुतालीको हक उल्लेखित अवस्थाको शर्तनामाको लिखतवाट कसैलाई हस्तान्तरण गर्न अपुतालीको महलको १० नं. को स्पष्ट विपरित हुन आउछ । अर्का तर्फ वादीले शर्तनामा वमोजिमको जग्गामा हक कायम गरी पाउं भनी फिराद दिएको नभई अपुतालीको महलको १ र २ नं. वमोजिम उमेदियावतीको अपुताली खाने आफु पनि भएकाले आधा जग्गा जमिन आफ्नो नाउंमा हक कायम गरी पाउं भनी दावी लिएको देखिएकाले प्रस्तुत मुद्दामा वादीले फिराद पत्रमा शर्तनामा भनी उल्लेख गरेको मिति ०४२।२।५ को लिखतलाई मात्र आधारलिई दावी गरेको नदेखिएको अवस्थामा सो लिखतको कुनै कानूनी हैसियत रहेको देखिएन र उक्त लिखतको आधारमा वादीले उमेदियावतीका कुनै संपत्तिमाथि हक प्राप्त गर्ने अवस्था समेत रहेन ।
२२. अव प्रश्न नं. ३ तर्फ विचार गर्दा, वादी विन्देश्वर ठाकुर प्रतिवादी भोला प्रसाद ठाकुरको सौतेनी दाजु भएको भन्ने कुरा माथि उल्लेख भै सकेको छ । त्यस्तै वादी आफ्ना अंशियाराहरु संग अघिनै छुट्टी सकेको भनी वादीले आफैं फिराद पत्रमा उल्लेख गरेको देखिन्छ । यसरी सौतेनी आमाको अपुताली त्यस्तो छोराले कुन अवस्थामा पाउने भन्ने प्रश्नमा अपुतालीको महलको १० नं. मा भएको व्यवस्थालाई हेर्दा एकै आमा पट्टिका छोरा मात्र छन र ऐन वमोजिम अंशवण्डा भएपछि वावु आमा मात्र वेग्लै वसेका रहेछन वा एक छोरा सित वसेका रहेछन भने लोग्ने मरेको भए लोग्नेको अंश जिउनी स्वास्नीको हुन्छ । स्वास्नी मरी भने लोग्नेको हुन्छ । अंश लिई छुट्टिएकी स्वास्नी मरी भने छोरा भए छोराले र छोरा नभए लोग्नेले पाउंछ । यि नभए सौतेनी छोराले पाउछू भन्ने उल्लेख भएको देखिन्छ । वादी विन्देशवर ठाकुर उमेदियावतीको सौतेनी छोरा भएको र छुट्टी भिन्न भैसकेको अवस्थामा उमेदियावतीको आफ्नो पट्टीको छोरा प्रतिविादी भोला ठाकुर हुंदा हुदै सौतेनी छोरा वादी विन्देश्वरले उमेदियावतीको अपुताली पाउने भन्ने कुरा उक्त अपुतालीको १० नं. को व्यवस्था विपरित हुन जान्छ । अर्को तर्फ प्रस्तुत मुद्दामा प्रतिवादी भोला ठाकुरले उमेदियावतीलाई पालन पोषण काजकृया समेत नगरेकाले म आँफैलेले त्यस्तो काम गरेकाले अपुतालीको ११ नं. वमोजिम उमेदियावतीको संपत्तिमा आफ्नो पनि हक हुनुपर्ने भनी उक्त ११ नं. को सहारा लिई वादीले दावी गर्न आएको पनि देखिएन । यस अवस्थामा अंश लिई छुट्टी भिन्न वसेको सौतेनी आमाको अपुताली आफुले पाउनु पर्ने भन्ने कुरालाई अपुताली संवन्धी कुनै पनि ऐनले स्पष्ट व्यवस्था गरेको नदेखिएकाले उमेदियाको अपुताली वादी विन्देश्वरले पाउने अवस्था भएन ।
२३. अर्को तर्फ घरसारमा भएको शर्तनामाको नाम दिइएको लिखतलाई आधार मानी ०४२ सालमा जलेश्वर नगरपालिकामा शिफारिशका लागि वादी र प्रतिवादीले संयुक्त निवेदन दिएको भएपनि उक्त शर्तनामाको कागजको कानूनी हैसियत शुन्य भएकाले कानूनले नै प्रमाण योग्य नभएको लिखतको आधारमा कसैले त्यस्तो प्रमाण समाई कही कुनै कुरा उल्लेख गरेको वा व्यक्त गरेको भएपनि प्रमाण ऐन ०३१ को दफा ३४ वमोजिम कानूनी प्रश्नमा विवन्धनको सिद्धान्त आकर्षित हुन सक्ने भएन । उल्लेखित अवस्थाले गर्दा वादी प्रतिवादीले संयुक्त रुपमा नगरपालिकामा निवेदन दिएकै कारण प्रतिवादीले वादीलाई आधा अपुताली जग्गा दिनु पर्ने भन्न मिल्ने हुदैन ।
२४. अव चौथो प्रश्न तर्फ विचार गर्दा वादीले अपुताली हक कायम गरी पाउं भनी शुरु महोत्तरी जिल्ला अदालतमा ०४३।१२।३० मा फिराद दिई प्रस्तुत मुद्दाको उठान भएको देखिन्छ । प्रस्तुत मुद्दामा महोत्तरी जिल्ला अदालतवाट मिति २०५०।१।३ मा भएको फैसलामा ०४०।२।५ को शर्तनामा कागज वमोजिम वादीलाई अपुताली हक कायम हुने ठहर भएको देखियो । सो फैसला उपर प्रतिवादीले पुनरावेदन नगरेको भएपनि वादीले नै आधा जग्गामा अपुताली हक कायम हुनुपर्नेमा जिल्ला अदालतले शर्तनामा वमोजिम हुने ठहराएको फैसला त्रुटीपूर्ण भएकाले वदर गरिपाउं भनी पुनरावेदन अदालत जनकपुरमा पुनरावेदन गरेकोमा सो अदालतले केवल शर्तनामाको कागजको आधार लिई वादीलाई अपुताली हक कायम गरेको त्रुटीपूर्ण फैसला वदर गरी दिएको छ । वावु अभिनन्दनको २ श्रीमति गुलाववती र उमेदियावती थिए थिएन । वादी प्रतिवादी उमेदियाका छोरा हुन वा सौतेनी छोरा हुन आमा उमेदिया र वावु अभिनन्दनको मृत्यु पश्चात कोसंग थिइन । सो समेतमा वोली अपुताली हक कसले पाउने हो एकिन फैसला गर्नु भनी मिसिल शुरुमा पठाई दिने ठहर्छ भनी मिति ०५१।१२।८ मा फैसला गरेको देखिन्छ । यसरी शुरु जिल्ला अदालतको मिति ०५०।१।३ को फैसला नै वदर भै सकेपछि सो फैसला प्रतिवादीले पुनरावेदन नगरेकै कारणले निजका हकमा अन्तिम भएको मान्न मिल्दैन । अर्का तर्फ पृनरावेदन अदालतले शुरु फैसला वदर गरे तर्फ वादीले पुनरावेदन गरी शुरु फैसला सदर कायम गराउन नसकेको अवस्थामा प्रतिवादीको हकमा उक्त शुरु फैसला अन्तिम भै मान्न कर लाग्ने भनी अर्थ गर्न मिल्दैन ।
२५. अतः माथि विवेचित आधार प्रमाणहरुवाट आफ्नो छोरा हुंदा हुदै अंश लिई छुट्टै वसेको सौतेनी छोरा विन्देश्वरलाई आमा उमेदियावतीले गरिदिएको शर्तनामाको कागजको आधारमा आधा अपुताली वादीले पाउने भनी गरेको शुरु महोत्तरी जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत जनकपुरको मिति ०५७।२।९ को फैसला अपुतालीको महलको १० नं. र रजिष्ट्रेशनको १ नं. विपरित देखिंदा उल्टी भै वादी दावी पुग्न नसक्ने ठहर्छ । अरुमा तपसिल वमोजिम गर्नु ।
तपसिल
१. शुरु फैसला सदर गरेको पुनरावेदन अदालत जनकपुरको फैसला उल्टी भै वादी दावी पुग्न नसक्ने ठहरेकाले शुरु फैसलाको तपसील खण्डको लगत कायम नरहने हुंदा उक्त लगत कट्टा गरिदिनु भनी शुरुमा लेखी पठाउनु ।
२. शुरु फैसला वमोजिम वादीले प्रतिवादीवाट भरी पाउने ठहरेको कोर्टफी रु.८३०।– प्रतिवादीले पुनरावेदन अदालत जनकपुरमा पुनरावेदन गर्दा र.नं. २५९ मिति २०५५।४।१० वाट धरौटी राखेको देखिंदा उक्त धरौटी फिर्ता पाउं भनी ऐनका म्याद भित्र प्रतिवादीको दर्खास्त परे फिर्ता दिनु भनी पुनरावेदन अदालतमा लेखी पठाउनु ।
३. प्रतिवादीले पुनरावेदन अदालत जनकपुरमा र यस अदालतमा पुनरावेदन गर्दा राखेको थप कोर्ट फि क्रमश रु.१२४।५० र रु.१२५।८५ गरी जम्मा कोर्टफी रु. २५०।३५ वादीवाट भरी पाउने हुंदा वादीको जेथा देखाई भराई पाउं भनी ऐनका म्यादभित्र प्रतिवादीको दर्खास्त परे नियमानुसार भराई दिनु भनी शुरुमा लेखी पठाउनु ।
४. मिसिल नियमानुसार बुझाई दिनु ।
उक्त रायमा मेरो सहमति छु ।
न्या.रामप्रसाद श्रेष्ठ
ईति सम्वत् २०६३ साल बैशाख १३ गते रोज ४ शुभम्.........