शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८२१८ - मोही लगत कट्टा ।

भाग: ५१ साल: २०६६ महिना: पौस अंक:

निर्णय नं. ८२१८  २०६६ पुस,अङ्क ९

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री अनूपराज शर्मा

माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला

संवत् २०६४ सालको दे.पु.नं. ०४१८

फैसला मितिः २०६६।४।१६।६

 

मुद्दाः मोही लगत कट्टा ।

 

      पुनरावेदक प्रतिवादीः जिल्ला वाँके कम्दी गा.वि.स. वडा नं. २ बस्ने बदलु तेली

विरुद्ध

      प्रत्यर्थी वादीः बाँके नेपालगञ्ज नगरपालिका वडा नं. १५ बस्ने रामलली बाहुनी

 

शुरु निर्णय गर्नेः

अमृतकुमार कर्माचार्य

पुनरावेदन फैसला गर्नेः

मा.मु.न्या.कृष्णप्रसाद उपाध्याय

मा.न्या.श्री जागेश्वर सुवेदी

 

§  गैरनेपाली व्यक्तिलाई जुन मितिदेखि नागरिकता प्राप्त हुन्छ सोही मितिदेखि नेपाली नागरिकको हैसियत प्राप्त हुने अधिकार पनि सोही मितिबाट प्रारम्भ हुने ।

§  प्राप्त गरेको नेपाली नागरिकताको प्रमाणपत्र अंगीकृत भएकोले निजले जन्मसिद्ध वा वंशजको नाताले पाउने नागरिकसरह कानूनी हक जन्मदेखि नै थियो भनी मान्न नमिल्ने ।

§  कानूनी अधिकारको उपभोग गर्न पाउने अधिकारको जन्म निजले अंगीकृत नेपाली नागरिकता प्राप्त गरेको मितिदेखि प्रारम्भ हुने भएकोले नागरिकता प्राप्त हुनु अगावै भएका कारवाही र फैसलाहरू अन्यथा मान्न  नमिल्ने ।

(प्रकरण नं.५)

 

पुनरावेदक प्रतिवादी तर्फबाटःविद्वान अधिवक्ता श्री गोपाल पाण्डे

प्रत्यर्थी वादी तर्फबाटः विद्वान अधिवक्ता श्री शिवराज अधिकारी

अवलम्वित नजीरः

सम्बद्ध कानूनः

§  भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(५)(१)

 

फैसला

न्या. अनूपराज शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम पर्न आएको निवेदन यसै अदालतको क्षेत्राधिकार भित्रको रही मुद्दा दोहोर्‍याई हेरी पाउने निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यसप्रकार छः

जग्गाधनी म रामलली बाहुनीका नाउँमा दर्ता रहेको जिल्ला बाँके, कम्दी गा.वि.स. वडा नं. २ कि.नं. २०५ को ज.वि. ११७३ जग्गामा कम्दी गा.वि.स. वडा  नं. २ बस्ने सागर तेली  नाउँमा मोही महलमा दर्ता छ । निजको मृत्युपश्चात् नेपाली  नागरिक मोहीका हकवाला कोही नभएकोले मोही लगत कट्टा गरिपाऊँ भन्ने समेत व्यहोराको वादीको दावी ।

वादीको दावी झूठा हो । उक्त जग्गाको मोही हामी प्रतिवादीहरूको बाबु रामसागर तेली हुन । निजको परलोक को र आमा रामरती तेलीको समेत मृत्यु भै सकेकोले हकवाला छोरा हामी दुई भाई वदलु तेली र ननकउ तेली हौं । जग्गा जोतकोड गरी बाली बुझाउँदै आएका छौं । मोहीले गर्नुपर्ने दायित्व पूरा गरी आएका छौं । बाबु रामसागर तेलीले प्राप्त गरेको अंगीकृत नागरिकता भएको हुँदा कार्यवाही चलिरहेकोले नामसारीको कारवाही चलाउँदा नागरिकता प्रमाण पेश गर्ने छौं भन्ने समेत व्यहोराको प्रतिवादी बदलु तेलीको प्रतिउत्तर पत्र ।

वादीले प्रतिवादी अनागरिक भएकोले मोही लगत कट्टा गरिपाऊँ भन्ने माग गरेको हुँदा स्व. सागर तेलीको हकवाला यी प्रतिवादीलाई नेपाली नागरिकताको प्रमाणपत्र पेश गराउनु भन्ने मिति २०६०।५।२८ मा नागरिकता प्राप्त गरेको सोको फोटोकपी पेश गरेका छौं । हामीहरूले  हालसम्म नागरिकता प्रमाणपत्र प्राप्त गर्न नसकेकोले पेश गर्न असमर्थ छौं भन्ने समेत व्यहोराको मिति २०६०।६।१३ को निवेदन रहेछ । साथै जिल्ला प्रशासन कार्यालय, बाँकेको पत्रानुसार कम्दी गा.वि.स. वडा नं. २ बस्ने मृतक रामसागर तेलीको छोरा वदलु तेली र ननकहु तेली समेत रहेको भन्ने जिल्ला प्रशासन कार्यालय बाँकेको च.नं. १७६१ मिति २०६०।६।२९ को पत्रबाट लेखी आएको रहेछ ।

हामीहरूले नागरिकता प्रमाणपत्र पेश गर्न सकेका छैनौं । नागरिकता प्रमाणपत्र नगराएकोले पेश गर्न असमर्थ छौं भनी प्रतिवादीहरूले निवेदन दिएको देखिएको र यी प्रतिवादीहरूको नाबालक रकेर्ड दर्ता नभएको भनी जिल्ला प्रशासन कार्यालय, बाँकेबाट लेखी आएको समेतबाट भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ को ५(ख) मा भएको व्यवस्थाबमोजिम मोही सागर तेलीको मृत्यु पश्चात नेपाली नागरिकता प्राप्त गरेको मोहीको हकवाला नहुँदा कि.नं. २०५ जग्गामा सागर तेलीको नामबाट मोही लगत कट्टा हुने ठहर्छ भन्ने समेत व्यहोराको शुरु भूमिसुधार कार्यालय, बाँकेको निर्णय ।

मेरो बाबु मृतक रामसागर तेली २०३८।१०।२७ गते नेपालको अंगीकृत नागरिकता प्राप्त गरी नेपालमा नियमित रुपमा बसोवास गरी कृषि कार्यमा जीवन यापन गर्दै आएको र म निवेदकको नेपालमै जन्म भएको, वादी  दावीको जग्गा बाबुले मोही जोतकोड गरेको, निजको मृत्युपश्चात् उक्त जग्गा मैले जोतगोड गरेको छु । म पुनरावेदक नेपाली नागरिक भएकोमा नागरिकता बनाउन प्रयासरत छु । केवल नेपाली नागरिकता पेश गर्न नसकेको आधारमा मात्रै गैरनेपाली ठहर गर्न मिल्दैन । म पुनरावेदकको नेपाली नागरिकको हैसियतले मतदाता नामावलीमा नाम समेत छ । मेरो जन्म दर्ता प्रमाणबाट नेपाली नागरिक भएको स्वयंसिद्ध छ । मैले नागरिकता नलिएकै आधारमा गैरनेपाली नागरिक घोषित गरी मोहीबाट वञ्चित गरेको भूमिसुधार कार्यालय बाँकेको फैसला न्यायसंगत नहुँदा निर्णय बदर गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीको पुनरावेदन अदालत नेपालगञ्जमा परेको पुनरावेदन पत्र ।

प्रतिवादीको बाबु रामसागर तेलीले २०३८।१०।२७ मा नेपालको अंगीकृत नागरिकताको प्रमाणपत्र प्राप्त गरेको, निजको मृत्यु पश्चात जग्गाधनी रामलली बाहुनीले दिएको प्रस्तुत मुद्दाको प्रतिवाद गर्दा नेपाली नागरिकताको प्रमाणपत्र पेश दाखिला नगरी नेपाली नागरिकता हालसम्म लिएको छैन लिने प्रयासमा छु भनी जिकीर लिएको देखिदा यी पुनरावेदकले नेपाली  नागरिकताको प्रमाणपत्र ल्याउने मौका प्रदान गर्नुपर्ने नै अवस्था हुँदा हाल कारवाहीमा रहेको सो नागरिकता प्राप्त गर्ने प्रक्रियाअनुरूप हालसम्म नागरिकता प्राप्त हुने नहुने यकीन नभएको भनी पुनरावेदकले भनेको र नागरिकता विषयमा असर पर्ने गरी यो मुद्दा निर्णय गर्न नमिल्ने हुँदा सो पाउने नपाउने यकीन भई आएपछि प्रस्तुत मुद्दा जगाउने गरी मिति २०६०।९।१३ मा मुल्तबीमा रहेको रहेछ ।

यस अदालतबाट मिति २०६०।९।१३ मा नागरिकतासम्बन्धी निर्णय भई आएपछि प्रस्तुत मुद्दा मुल्तवीबाट जगाउने गरी मुल्तवी रहेकोमा जिल्ला प्रशासन कार्यालय, बाँकेको च.नं. ७०९ मिति २०६१।४।२९ मा बदलु तेलीले नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गर्ने सम्बन्धमा कुनै प्रक्रिया अपनाइएको यस कार्यालयको रेकर्डबाट नदेखिएको व्यहोरा उल्लेख गरी प्राप्त पत्रानुसार मुल्तवी जगाएको देखिन्छ ।

यसमा पुनरावेदकका बाबु रामसागर तेलीले दावीको जग्गा मोहीमा कमाई नेपालको अंगीकृत नागरिकता प्राप्त गरी नेपाली नागरिक भई बसी आएकोमा निजको छोरा पुनरावेदकले  नेपालको नागरिकता पेश नगरेकोबाट मोही लगत कट्टा गर्ने गरेको शुरु भूमिसुधार कार्यालय, बाँकेको मिति २०६०।६।२९ को निर्णय फरक पर्न सक्ने देखिदा अ.वं. २०२ नं. बमोजिम र पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम छलफलका लागि प्रत्यर्थी झिकाई पेश गर्नु भन्ने पुनरावेदन अदालत नेपालगञ्जको मिति २०६१।११।२७ को आदेश ।

यसमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ को ५(ख) बमोजिम मोही हुनलाई मोहीले नेपाली नागरिकता प्राप्त गरेको हुनुपर्ने यी पुनरावेदकका बाबु रामसागर तेलीले २०३८।१०।२७ मा अंगीकृत नेपाली नागरिकता प्राप्त गरी मोही भएको देखिन्छ भने यी पुनरावेदकले नागरिकता प्रमाणपत्र लिन प्रयास गरिरहेको भन्ने उल्लेख गरे तापनि हालसम्म नागरिकता सम्बन्धमा अरु कुनै कारवाही नभएको भनी जिल्ला प्रशासन कार्यालय, बाँकेबाट जवाफ प्राप्त भएको देखिन्छ । यसरी यी पुनरावेदकले नागरिकता लिने प्रयास गरी रहेको भने पनि सो सम्बन्धमा जिल्ला प्रशासन कार्यालय, बाँकेमा बुझ्दा हालसम्म कुनै कारवाही भएको भन्ने नदेखिदा यी पुनरावेदकलाई नेपाली नागरिकता प्राप्त नभएको कारण देखाई मोही हक कायम नहुने र अन्य नेपाली नागरिकता प्राप्त मोही हकवाला कोही नहुँदा मोही सागर तेलीको मोही लगत कट्टा गरिदिने ठहराएको शुरु भूमिसुधार कार्यालय, बाँकेको मिति २०६०।६।२९ को फैसला कानूनतः मिलेकै देखिदा उक्त फैसला परिवर्तन गरी रहन नपरी सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत नेपालगञ्जको फैसला ।

यसमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१)(ग) अनुसारको प्रक्रिया समेत विपक्षीले पूरा गरेको नदेखिदा कानूनी व्यवस्थाको अभावमा मेरो बाबुको शेषपछि मोही हकको नामसारी गर्ने कानूनी हदम्यादको वाध्यात्मक व्यवस्था नहुँदा नहुँदै मेरो बाबुको शेषपछि मोही हक नामसारी गराउन सक्ने कानूनी सुविधामा र नागरिकता प्राप्तिको कारवाहीमा प्रत्यक्ष असर पर्ने गरी म पुनरावेददकलाई गैरनेपाली नागरिक भनी भएको फैसलालाई सदर गर्ने गरेको फैसलाबाट मैले प्राप्त गरेको नागरिकतामा समेत असर पर्न गएको अवस्था विद्यमान देखिदा उक्त फैसला नेकाप २०५७, अङ्क ७, पृष्ठ ३४६, निर्णय नं. ६८९३ मा प्रतिपादित सिद्धान्त, भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१), २६(१)(ग), २५ को उपदफा ५(ख) समेतको गम्भीर कानूनी र नजीर सिद्धान्तको त्रुटि हुँदा मेरो बाबु रामसागर तेलीको शेषपछि मलाई मोही हक प्राप्त हुन सक्ने भनी बाबुको नाम मोही लगतबाट कट्टा गर्ने गरी भूमिसुधार कार्यालय बाँकेले मिति २०६०।६।२९ को शुरु फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालत नेपालगञ्जबाट मिति २०६३।७।२७ मा भएको फैसला न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा १ को देहाय (क) र (ख) को आधारमा दोहोर्‍याई हेरी शुरु फैसला उल्टी गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीको यस अदालतमा परेको निवेदन ।

यसमा निवेदकले नेपाली नागरिकता प्राप्त गरेको भनी सोको प्रतिलिपि निजतर्फका कानून व्यवसायीले पेश गरेको अवस्था हुँदा मोही लगतकट्टा हुने ठहराएको शुरु फैसला सदर गरेको पुनरावेदन अदालतको फैसलामा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(५)(ख) को व्याख्यात्मक त्रुटि देखिदा न्याय प्रशासन ऐन, २०४८ को दफा   १२(१)(क) बमोजिम दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने व्यहोराको यस अदालतको मिति २०६४।७।२७ को आदेश ।

यसमा मुद्दा फैसला हुँदासम्म विपक्षी नेपाली नागरिक भै नसकेको अवस्थामा मोहीको हकवाला हुनु नै मोही हक पाउनका लागि पर्याप्त हुँदैन । बाली बुझाएको भन्ने जिकीर समेत प्रमाणित गर्न सकेको छैन । निज नेपालमा जन्मेको होइन सो तथ्य निजले अंगीकृत नागरिकता पाउन गरेको आवेदनले प्रष्ट गर्दछ ।  भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(५) ले गैरनेपालीलाई मोही हुनबाट रोक लगाएको छ । मोहीको नेपाली नागरिकता प्राप्त हकवाला नभएको अवस्थामा हकवालाले नेपाली नागरिकता पाउँछ नै भनी सोचाई राखी फैसला गर्न मिल्दैन । तसर्थ मोहीको हकवाला नेपाली नागरिक नभएको अवस्था भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(५)(ख) को आधारमा ऐ. ऐनको दफा २६(१) बमोजिम मोहीको लगत कट्टा गरी स्रेस्ता सच्चाउने भनी भएको शुरुको फैसला र सोलाई सदर गर्ने गरी पुनरावेदन अदालत नेपालगञ्जबाट भएको फैसला न्यायोचित हुँदा सदर कायम गरिपाऊँ भन्ने व्यहोराको प्रत्यर्थी वादीको लिखित प्रतिवाद ।

नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेश हुन आएको प्रस्तुत पुनरावेदन सहितको मिसिल संलग्न कागजातहरू अध्ययन मनन् गरी पुनरावेदक तर्फबाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री गोपाल पाण्डेले प्रतिवादीको बाबुको शेषपछि मोही हकको नामसारी गराउन सक्ने कानूनी सुविधामा र नागरिकता प्राप्तिको कारवाहीमा प्रत्यक्ष असर पर्ने गरी पुनरावेदक प्रतिवादीलाई गैरनेपाली नागरिक भनी मोही लगत कट्टा हुने ठहराएको शुरु फैसला सदर गरेको पुनरावेदन अदालतको फैसलामा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(५)  (ख) को व्याख्यात्मक त्रुटि भएकोले उक्त फैसला बदर गरिपाऊँ भनी तथा प्रत्यर्थी वादी तर्फबाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री शिवराज अधिकारीले भूमिसम्बन्धी ऐन, २०२१ ले मोही हुनको लागि नेपाली नागरिक भएको हुनु पर्दछ । मुद्दा फैसला हुँदासम्म विपक्षी नेपाली नागरिक भै नसकेको अवस्थामा मोहीको हकवाला हुनु नै मोही हक पाउनका लागि पर्याप्य प्रमाण हुँदैन । तसर्थ पुनरावेदन अदालत नेपालगञ्जले गरेको इन्साफ मिलेकै हुँदा सदर कायम गरिपाऊँ भनी गर्नु भएका बहस समेत सुनियो।

२.    प्रस्तुत मुद्दामा जग्गाधनी रामलली बाहुनीका नाउँमा दर्तामा रहेको जिल्ला बाँके कम्दी गा.वि.स. वडा नं. २ कि.नं. २०५ को ज.वि. ११७३ जग्गाको मोही सागर तेलीको मृत्यु भई निजको शेष पछि नेपाली नागरिक हकवाला कोही नभएकोले मोही लगत कट्टा गरिपाऊँ भन्ने वादी दावी तथा वादी दावी बमोजिम मोही तथा मोहीका हकवालाका नाउँमा सूचना प्रकाशित गर्दा उक्त सूचना बदलु तेली र ननकउ तेलीले बुझी लिई ननकउ तेलीले कुनै प्रतिवाद नगरेको र बदलु तेलीले मेरो बाबु सागर तेली र  आमा रामरती तेलीको मृत्यु भइसकेकोमा निजहरूको शेष पछि हामी हकवाला दुई छोरा भएकोले मोही लगत कट्टा हुनुपर्ने होइन भन्ने प्रतिउत्तर जिकीर भएकोमा शुरु भूमिसुधार कार्यालय बाँकेले मोही लगत कट्टा हुने ठहर गरी गरेको निर्णयमा प्रतिवादीको चित्त नबुझी पुनरावेदन अदालत नेपालगञ्जमा पुनरावेदन परेकोमा उक्त अदालतले शुरुको निर्णय सदर हुने ठहर गरी गरेको फैसलाउपरमा प्रतिवादीको चित्त नुबझी न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम मुद्दा दोहोर्‍याई हेरी पाऊँ भन्ने निवेदन परेकोमा यस अदालतबाट निस्सा प्रदान भएको अवस्था देखिन्छ ।

३.    अव पुनरावेदन अदालत नेपालगञ्जले गरेको फैसला मिले नमिलेको के  हो ? र पुनरावेदकको पुनरावेदन जिकीर पुग्न सक्छ सक्दैन भन्ने सम्बन्धमै निर्णय दिनु पर्ने भई त्यसतर्फ विचार गर्दा यी पुनरावेदकका बाबु सागर तेली विवादित कि.नं. २०५ को जग्गाको मोही रहेको मोहीयानी हकको प्रमाणपत्रबाट देखिएको र उक्त तथ्यलाई वादीले पनि स्वीकारै गरेको अवस्था देखिन्छ । विवादको मुख्य विषयवस्तु सागर तेलीको मृत्युपश्चात् नेपाली नागरिकता भएको निजको हकवाला नभएको भन्ने वादी दावी भएकोमा बाबुका नाउँको मोहीयानी हक छोरामा कायम हुनुपर्ने भन्ने मूख्य प्रतिउत्तर जिकीर रहेको देखिन्छ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ को ५(ख) अनुसार मोही हुनलाई मोहीले नेपाली नागरिकता प्राप्त गरेको हुनुपर्ने कानूनी व्यवस्था रहेको पाइन्छ । उक्त जग्गाको मोही पुनरावेदक प्रतिवादीका बाबु सागर तेलीले मिति २०३८।१०।२७ मा अंगीकृत नेपाली नागरिकता प्राप्त गरी मोही भएको देखिन्छ । यी पुनरावेदकले नागरिकता प्रमाणपत्र लिन प्रयास गरिरहेको भन्ने व्यहोरा उल्लेख गरे तापनि हालसम्म नागरिकता सम्बन्धमा अरु कुनै कारवाही नभएको भनी जिल्ला प्रशासन कार्यालय बाँकेबाट जवाफ प्राप्त हुन आएको देखिन्छ । विपक्षी वादीले मोही लगतकट्टा गरिपाऊँ भनी भूमिसुधार कार्यालय बाँकेमा मिति २०५९।८।५ मा निवेदन गरी उक्त कार्यालयबाट मिति २०६०।६।२९ मा निर्णय भएको र सोउपरमा यी पुनरावेदक प्रतिवादीको पुनरावेदन अदालत नेपालगञ्जमा मिति २०६०।७।१९ मा पुनरावेदन परी उक्त अदालतबाट मिति २०६३।७।२९ मा फैसला भएकोमा सो पश्चात् मात्र यी पुनरावेदक प्रतिवादीले जिल्ला प्रशासन कार्यालय बाँकेबाट मिति २०६३।११।२४ मा मात्र अंगीकृत नागरिकता प्राप्त गरेको अवस्था देखिएबाट उल्लिखित जग्गाको मोही लगत कट्टासम्बन्धी पुनरावेदन अदालतको फैसलापश्चात् मात्र निजले नागरिकता प्राप्त गरेको देखिएकोले उल्लिखित कारवाहीको दौरानमा निज पुनरावेदक नेपाली नागरिक भइसकेको अवस्था देखिन आएन ।

४.    यस स्थितिमा मोही हक कानूनद्वारा सृजित भएकोले कानूनले निर्धारण गरेको योग्यता र मापदण्ड मोहीले पूरा गर्नुपर्ने हुन आउँदछ । मोही हक अंश जस्तो नैसर्गिक हक नभएको र मोही हक पाउन मोहीको हकवाला मात्र हुनु पर्याप्त नभई भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(५)(ख) ले नेपाली नागरिक हुनुपर्ने बाध्यात्मक व्यवस्था गरेकोले अंगीकृत नागरिकता प्राप्त नगर्दासम्म नेपाली नागरिक भई नसक्ने हुँदा प्रस्तुत मुद्दामा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(५)(ख) को प्रयोग भएकोमा सोको व्याख्यामा त्रुटि भयो भनी न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम मुद्दा दोहोर्‍याई हेरी दिने निस्सा प्रदान गर्दा लिइएको आधारसँग सहमत हुन सकिएन ।

५.    गैरनेपाली व्यक्तिलाई जुन मितिदेखि नागरिकता प्राप्त हुन्छ सोही मितिदेखि नेपाली नागरिकको हैसियत प्राप्त हुने अधिकार पनि सोही मितिबाट प्रारम्भ हुने हुन्छ । पुनरावेदक प्रतिवादीले प्राप्त गरेको नेपाली नागरिकताको प्रमाणपत्र अंगीकृत भएकोले निजले जन्मसिद्ध वा वंशजको नाताले पाउने नागरिक सरह निजको कानूनी हक जन्म देखि नै थियो भनी मान्न मिल्ने देखिएन । पुनरावेदकले कानूनी अधिकारको उपभोग गर्न पाउने अधिकारको जन्म निजले अंगीकृत नेपाली नागरिकता प्राप्त गरेको मितिदेखि प्रारम्भ हुने भएकोले नागरिकता प्राप्त हुनु अगावै भएका कारवाही र फैसलाहरू अन्यथा मान्न मिल्ने अवस्था देखिन आएन । तसर्थ शुरु भूमिसुधार कार्यालय बाँकेले मोही लगत कट्टा हुने ठहर गरेको निर्णयलाई पुनरावेदन अदालतल नेपालगञ्जले सदर गर्ने गरी गरेको मिति २०६३।७।२७ को फैसला मनासिव देखिदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनु ।

     

उक्त रायमा सहमत छु ।

 

न्या. राजेन्द्रप्रसाद कोइराला

 

इति संवत् २०६६ साल साउन १६ गते रोज ६ शुभम

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु