शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७६७१ - अंश चलन

भाग: ४८ साल: २०६३ महिना: असार अंक:

निर्णय नं.७६७१     ने.का.प.२०६३ अङ्क ३

 

सर्वोच्च अदालत,संयुक्त इजलास

माननीय न्यायाधीश श्री खिलराज रेग्मी

माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला

संवत २०६० सालको दे.पु.न ९००९, ९०४१

फैसला मितिः २०६३।३।७।४

 

मुद्दा : अंश चलन ।

 

पुनरावेदक / वादीः का.जि.का.म.न.पा.वडा नं. २४ भोसीको टोल वस्ने जयराम तण्डुकार             को मु.स.गर्ने शान्ति तण्डुकार  समेत

विरुद्ध

            विपक्ष / प्रतिवादीः  ऐ ऐ वस्ने शान्ता तण्डुकार

 

            पुनरावेदक / प्रतिवादी का.जी.का.म.न.पा. वडा नं. २४ भोसीको टोलवस्ने सुश्री शान्ता     तण्डुकार 

विरुद्ध

            विपक्ष / वादीः ऐ ऐ.वस्ने जयराम तण्डुकारको मु.स.गर्ने शान्ती तुण्डुकार समेत

 

§  २०३५।७।६ मा फिराद दिदा वादीका वावु ओमकार राम र आफु विचमा मानो छुटृीएको र अंशवण्डा समेत भएको भनी सगोलमै रहेको तथ्यलाई स्विकारी उक्त लिखत आफ्नो भाग जति बदर गरि पाउ भन्ने दावी लिएको देखिदा हाल प्रतिवादी शान्ता तण्डुकारले वण्डा भैसकेको भनि जिकिर लिन निज प्रमाण ऐन २०३१ को दफा ३४ वमोजिम विवन्धित हुने ।

§  वादी प्रतिवादी विच विधिवत रुपमा अंशवण्डा भएको ठोस रुपमा प्रमाणीत नभएको अवस्थामा वादीहरुले प्रतिवादीवाट अंश पाउने ।

(प्रकरण नं.१४)

§  वादी प्रतिवादीहरु अंशियार भै यिनीहरु बीच विधिवत रुपमा वण्डा भएको अवस्था नभएको र वादीहरुका पीता अंश लिई छुटृी भिन्न भैसकेको भन्ने जिकिर लिने प्रतिवादीले अन्यथा प्रमाणीत गर्न नसकेवाट केवल प्रतिवादीले वादीका वावु अंश छुटृीई भिन्न भएको भनि लिएको प्रतिउत्तर जिकिर कै आधारले मात्रै अंश जस्तो नैसर्गिक अधिकारवाट वादीहरुलाई वन्चित गर्न नमिल्ने ।

(प्रकरण नं.१६)

 

पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री श्यामप्रसाद खरेल

विपक्ष वादी तर्फवाटः विद्वान अधिवक्ता श्री लोकभक्त राणा

अवलम्वित नजीरः

 

फैसला

न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत पाटनको मिति २०५९।८।१० को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ वमोजिम वादी प्रतिवादीहरुको छुट्टा छुट्टै पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :

२.    वाजे रामवहादुर तण्डुकार र वज्यै तरिनानी तण्डुकारवाट हाम्रो पिता ओमकार तण्डुकार नाउमा तण्डुकार र शान्तातण्डुकार समेत ३ छोरा छोरी जायजन्म भएकोमा उमा तण्डुकारको विवाह भै सकेको वाजे वज्यैको आफ्ना कालगतिले परलोक भएको विपक्षी शान्ता तण्डुकार विवाह नभै ३५ वर्ष नाघी मेरा पिता र विपक्षी २ छोरा हुनु हुन्छ । मेरो पिता ओमकार राम २०४० सालमा आफ्ना कालगतिले परलोक भएको र विपक्षी र हाम्रा वावुको विचमा अंशवण्डा नभएको हुंदा अंशवण्डाको ३५ नं वमोजिम यो फिराद गर्न आएको छौ । विपक्षीवाट अंशवण्डाको २०, २१, २२, २३, २४ नं .वमोजिम विपक्षीवाट श्री सम्पत्तिको तायदाति फांटवारी लिई फिराद परेको अघिल्लो दिनलाई मानो छुटिृएको मिति कायमगरी विपक्षी शान्ता तण्डुकार र हाम्रो पिता ओमकार राम तण्डुकारको २ अंश लगाई हाम्रो वावु ओमकाररामको भागमा पर्न आउने अंश छुट्याई अड्डवाट चलन समेत चलाई पाउं भन्ने वादीको फिराद दावी ।

३.    आमा तरिनानी तण्डुकारले मिति ०४१।६।३ मा मलाई शेषपछिको वकसपत्र पारीत गरी दिनु भएको छ । आमा तरिनानीको ०४६।७।२ मा परलोक हुनु भएपछि मेरो हुन आएको जग्गाहरु समेत र अंशवाट पाएको सम्पत्ति मात्र भोगी आएको छु आमा तरीनानी तण्डुकार र वादीको वावु ओमकारराम तण्डुकारको २०११ साल देखि नै अलग वसेको हुँदा वादी दावी झुठृा हो फिराद दावी खारेज गरी पाउं भन्ने प्रतिवादीको प्रतिउत्तर पत्र ।

४.    वादीले प्रतिवादीवाट अंश पाउनु पर्छ भन्ने वादीको साक्षी पुरुषोत्तम लाल श्रेष्ठले गरेको वकपत्र ।

५.    २०११ साल देखि वादीका पिता छुटृी भिन्न भई सकेको आधारमा लेखत बदर नहुने ठहरी ०३८।४।२१ मा फैसला भएको देखिदा वादीका पिताले सो मुद्दामा उल्लेख गरेको प्रतिवाद जिकिरले वादीहरुलाई हाल यस मुद्दामा विवन्धित गर्ने देखियो । यस अतिरिक्त यी वादी जयराम तण्डुकार समेतले यिनै प्रतिवादी शान्ता तण्डुकार उपर दायर गरेको कित्ताकाट नामसारी दर्ता मुद्दाको मिसिल हेर्दा प्रतिवादीकी आमा तरीनानी तण्डुकार ले ०४२।६।३ मा प्रतिवादीलाई आफ्नो अंश भागको जग्गा शेष पछिको वकसपत्र गरी दिएकोले विवादित कि.नं .११५६९ को घरजग्गा मध्येवाट शान्ता तण्डुकारले आफ्नो एकभाग र शेषपछिको लिखत वमोजिमको एकभाग गरी जम्मा दुई भाग घरजग्गा कित्ता काट गरी नामसारी दर्ता गर्न पाउने ठहरी पुनरावेदन अदालत पाटनवाट ०५२।९।२८ मा फैसला भएको देखियो । तसर्थ .वादीका पिताले माथि उल्लेखित लिखतबदर मुद्दामा लिएको प्रतिवाद जिकिर तथा पुनरावेदन अदालतवाट भएको उक्त मितिको फैसला समेतका व्यवहार प्रमाणवाट वादीका पिता ओमकार राम नै २०११ सालमा छुटृी भिन्न भै सकेका देखिदा प्रतिवादीवाट अंश दिलाई पाउ भन्नेवादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको शुरु काठमाण्डौं जिल्ला अदालतको फैसला ।

६.    शुरु जिल्ला अदालतले वादी दावी पुग्न नसक्ने ठहर्‍याएको शुरुको फैसलामा चित्त वुझेन प्रमाणको सो लिखत बदर मुद्दा ०३५।७।६ मा वज्यै तरीनानी समेतले फिराद दिदा अंशवण्डा भएको र नानी छुटृीएको छैन । तरीनानीले विपक्षी शान्तालाई शेषपछिको वकसपत्र पारीत गरी दिएको र सो अ.वं.को आधारमा ३ भागको २ भाग शान्ताले कित्ताकाट नामसारी दर्ता गराएकोवाट पनि अंश छुटिृसकेको नभै सगाल मै रहेको देखिएकै थियो । पुनरावेदन अदालत पाटनको ०५२।९।२८ को फैसलामा ०५५।९।१ मा निस्सा पाएको प्रमाण मिसिलमा पेश हुंदा हुदै पनि सो लाई वेवास्तागरी आत्मगत रुपमा आधार वनाई हाम्रो वादी दावी नपुग्ने ठहर्‍याएको कति पनि मिलेको छैन । शुरुको फैसला उल्टी गरी वादी दावीवमोजिम गरिपाउं भन्ने वादीको पुनरावेदन अदालतमा परेको पुनरावेदन ।

७.    वादी प्रतिवादीहरु विच रितपूर्वकको वण्डापत्र नभएको र अंशवण्डाको ३० नं .को अवस्था पनि यस्मा विद्यमान नदेखिदा शुरु काठमाण्डौं जिल्ला अदालतले मिति ०५७।१।२० मा गरेको फैसला फरक पर्न सक्ने देखिदा छलफलको लागि अ.वं . २०२ नं वमोजिम विपक्षी झिकाई आएपछि नियमानुसार पेश गर्नु भन्ने यस अदालतको आदेश ।

८.    वादी प्रतिवादीहरु एका सगोलका अंशियार देखिई वादीले प्रतिवादीवाट कानून वमोजिम अंश पाउनु पर्ने देखिदा मानो छुटिृएको मितिका सम्बन्धमा दुवै पक्षको मुख नमिलेको र त तत् सम्बन्धी लिखत प्रमाण समेत नदेखिएकोले फिराद परेको दिनलार्य मानो छुटिृएको मिति कायम गरी सो को अघिल्ले दिन सम्मको अंशवण्डा गर्नुपर्ने आआफ्नो जिम्माको चल अचल सम्पीित्त धन ऋण गैह«को अंशवण्डाको २०,२१,२२ र २३ नं .समेत वमोजिम १५ दिन भित्र फांटवारी दाखिल गर्नु भन्ने दुवै पक्षलाई सुनाई फांटवारी दाखिल गराई फांटवारी दाखिल भएपछि एक अर्कालाई सुनाई वादीले पाउने अंशको कानून वमोजिम कोर्टफी समेत निजवाट लिई पेश गर्नु भन्ने पुनरावेदन अदालतको आदेश ।

९.    यसमा प्रमाणको रुपमा रहेको वादी तरिनानी तण्डुकार समेत र प्रतिवादी ओमकार तण्डुकार समेत भएको लिखत बदर मुद्दा मिति ०३५।७।६ मा दायर हुंदा प्रतिवादी ओमकार तण्डुकारलाई एका सगोलको छोरा भनी दावी गरी ओमकार तण्डुकारले लिलाराम मानन्धरलाई मिति २०३४।९।६ मा गरि दिएको लिखत उपर लिखत बदरमा दावी गरेवाट आमा तरिनानी र छोरा ओमकार तण्डुकार भिन्न भएको भनि अर्थ गर्न मिलेन तसर्थ वादीहरु प्रतिवादीको अंशीयार कायम हुने नै देखियो । अव कति अंशीयार कायम हुने भन्ने तर्फ विचार गर्दा तरिनानी तण्डुकारले मिति २०४२।६।३ मा छोरी शान्ता तण्डुकारलाई शेष पछिको वकसपत्र दिदाका अवस्थामा निज तरिनानी निजकी छोरी शान्ता तण्डुकार र प्रस्तुत मुद्दाका वादीहरुका पीता ओमकार समेत गरि तीन अंशीयार देखिई तरिनानीले ०४२।६।३ मा छोरी शान्ता तण्डुकारलाई आफ्नो भाग हिस्सा पर्ने चल अचल अष्ट लहि समेतका श्री सम्पत्ति शेष पछिको वकसपत्र पारित गरि दिई सकेको र सो उपर वादीहरुको कुनै उजुर वाजुर नभै वकसपत्रको केहि सम्पत्ति शान्ता तण्डुकारका नाममा नामसारी समेत भैसकेको देखिएवाट तीन खण्डको एक खण्ड वादीले अंश पाउने ठहर्छ । २ खण्डको १ खण्ड अंश पाउ भन्ने दावी पुग्न सक्दैन । अंश पाउ भन्ने दावी पुग्न नसक्ने ठहराएको शुरु जिल्ला अदालतको फैसला उल्टी हुन्छ भन्ने समेत पुनरावेदन अदालत पाटनको फैसला ।

१०.    २०४२।६।३ को शे.व.हाम्रो पीताको अंश नहुदै खडा भएकोमा विवाद नभै सो शे.व.मा तरिनानीले भविष्यमा आफ्नो अंशहकमा आउन सक्ने सम्पत्ति समेत भनी हक छाडेको पनि छैन । दान वकसको १ नं .वमोजिम आफुखुस गर्न सकिने सम्पत्तिसम्म दिन सकिने मा सो लिखतवाट दाताले भविष्यमा प्राप्त गर्न सक्ने सम्पत्ति समेत दिन सक्ने भनी अर्थ गरि ३ भागको १ भाग अंश पाउने भनी गरेको पुनरावेदन अदालतको फैसला बदर गरि दावी वमोजिम २ भागको १ भाग अंश दिलाई पाउ भन्ने शालीग्राम तण्डुकार समेतको पुनरावेदन पत्र ।

११.    यसमा मैले विपक्ष मध्येका सालीग्राम तण्डुकार उपर दिएको वहाल भराई पाउ भन्नेमुद्दामा सो अदालतवाट मिति २०५४।३।१० मा भएको फैसला ले हामी अंशीयार विच अंशवण्डा भै सकेको पुष्टी गरेको साथै कि.नं . ११५९ को घर जग्गामा आमा मेरो र विपक्षीका पीता समेतको ३ भाग लाग्ने भै आमाको शेषपछि शे.व.वमोजिम आमाको भाग समेत गरी मेरो २ भाग र विपक्षीको पीताको १ भाग हुनेगरी २०४८।११।२३ मा नामसारी समेत हुने मालपोत कार्यालयको निर्णय समेत अन्तिम भएको छ । यस्तै कि.नं .२०७,२१५,१९७ जग्गा समेत २ भागको १ भाग मेरा ना ममा दर्ता हुने ०४८।१२।१४ को मालपोत कार्यालयको निर्णय विपक्षीहरुले स्विकारेको अवस्था   छ । तसर्थ विभिन्न प्रमाणका आधारमा विपक्षीहरु अलग छुटृी भिन्न वसी सकेको प्रमाणीत  भएको अवस्थामा सगोलको अंशीयार ठहराई गरेको पुनरावेदन अदालतको फैसला बदर गरिपाऊ भन्ने समेत व्यहोराको शान्ता तण्डुकारको पुनरावेदन पत्र ।

१२.   नियम वमोजिम दैनिक मुद्दा पेशीसूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी तर्फका विद्वान वरिष्ट अधिवक्ता श्री श्यामप्रसाद खरेलले वादी र प्रतिवादी विच विधिवत रुपमा अंशवण्डा भएको प्रमाणीत नभएवाट सगोलकै अंशीयार रहे भएकोमा विवाद नभएको साथै मुल अंशियार तरिनानी, शान्ता र ओमकारराम मध्ये तरीनानीको मृत्यु भै हाल अंशवण्डा हुनु पर्ने २ अंशियार मात्र कायम भएको र विपक्षी शान्ता लाई तरिनानीले दिएको शेषपछिको वकसपत्रमा पछि प्राप्त हुने सम्पत्ती दिने भन्ने उल्लेख नभएवाट सो सम्पत्ति पनि वण्डा हुनुपर्ने भएकोले सम्पूर्ण सम्पत्तिको २ भागको १ भाग अंश दिलाउनु पर्नेमा परलोक भैसकेकी तरिनानी समेतको १ अंश कायम गरि ३ अंशीयार देखाई ३ भागको १ भाग अंश पाउने ठहराएको पुनरावेदन अदालतको फैसला सो हद सम्म बदर गरि सम्पूर्ण सम्पत्तिको २ भागको १ भाग अंश पाउने निर्णय हुनु पर्दछ भन्ने र पुनरावेदक प्रतिवादी शान्ता तण्डुकारका तर्फका विद्वान अधिवक्ता श्री लोकभक्त राणाले वादी र प्रतिवादीहरु बीच मुद्दा पर्नु पहिलेनै २०११ सालमै वण्डा भै आआफ्नो भागको जग्गाको भोग दर्ता नामसारी समेत अलग अलग भै सकेको अवस्था भएको र प्रतिवादीले वादीहरु उपर दिएको वहाल मुद्दावाट समेत अलग छुटृी भिन्न भै सकेको प्रमाणीत भैसकेको अवस्थामा प्रमाणहरुको समुचीत मूल्यांकन नगरि वादीहरुले अंश पाउने ठहराएको पुनरावेदन अदालतको फैसला बदर हुनु पर्दछ भन्ने वहस जिकिर समेत सुनी मिसिल अध्ययन गरि हेर्दा पुनरावेदन अदालतको फैसला मिलेको छ छैन सोही सम्बन्धमा निर्णय दिनुपर्ने देखियो।

१३.   निर्णयतर्फ विचार गर्दा वाजे रामवहादुर तण्डुकार र वजै तरिनानी तण्डुकारका २ छोरीमा उमा र शान्ता छोरा हाम्रो वावु ओमकारराम तण्डुकार भएकोमा वाजे वजै परलोक हुनु भएकोले विपक्षी शान्ता तण्डुकार अविवाहीत ३५ वर्ष नाघेकीले निज शान्ता र हाम्रा वावु ओमकारराम तण्डुकार २ अंशीयार मात्र भएकोले फिराद परेको अघिल्लो दिनलाई मानो छुटिृएको मिति कायम गरि सम्पूर्ण सम्पत्तिको २ भागको १ भाग लगाई हाम्रो वावुको भागको अंश छुटृाई पाउ भन्ने वादीका आमा तरिनानीले मलाई उहाको सम्पत्ति ०४२।६।३ मा शेष पछिको वकसपत्र गरिदिनु भएकोले उहाको सम्पत्ति र मेरो अंश भागको सम्पत्ति मैले उपभोग गरि आएको छु । आमा तरिनानी र वादीका वावु २०११ साल देखिनै अलग वसी आएकोले दावी झुठृा हो भन्ने प्रतिवादी भै वादी दावी पुग्न नसक्ने ठहराएको शुरु जिल्ला अदालतको फैसला बदर गरी २ भागको १ भाग अंश पाउ भन्ने दावीमा ३ भागको १ भाग सम्म अंश पाउने ठहराएको पुनरावेदन अदालतको फैसला उपर २ भागको १ भाग अंश पाउन पर्ने भनी वादी र वादीहरुले दावी वमोजिम अंश पाउनुपर्ने होइन भनी प्रतिवादीको छुट्टा छुट्टै यस अदालतमा पुनरावेदन परेको देखियो ।

१४.   यसमा रामवहादुर तण्डुकारको श्रीमती तरिनानी, छोरी उमा र शान्ता,छोरा ओमकारराम तण्डुकार भएकोमा रामवहादुर,र नीजकी श्रीमती तरिनानी परलोक भएका, छोरी उमा विवाह भै गएको, पीता ओमकार राम २०४० सालमा परलोक हुनु भएकोले सम्पूर्ण सम्पत्तीको २ भाग लगाई १ भाग विवाह नगरी वसी ३५ वर्ष पुगेकी शान्ता तण्डुकारको र १ भाग पीता ओमकारको कायम गरी वावु ओमकारको नाउंमा पर्न आउने सम्पत्ति अड्डैवाट छुटृाई चलन समेत चलाई पाउ भन्ने मुख्य फिराद दावी देखियो । प्रतिवादीले आमा तरिनानी र वादीका वावु ओमकार राम २०११ सालमै छुटृी भिन्न वसेको भन्ने जिकिर लिए पनि वण्डाको लिखत पेश हुन सकेको स्थिति नहुनुका साथै जग्गाको भोग विक्री  व्यवहार समेतवाट वादी प्रतिवादी छुटृी भिन्न भएको अवस्था देखिदैन । प्रमाण निमित्त प्राप्त भएको वादी तरिनानी तण्डुकार समेत र प्रतिवादी ओमकार राम तण्डुकार समेत भएको ०३८ सालको दे.मी.नं .१४९ को लिखत दर्ता बदर मुद्दा हेर्दा सो मुद्दामा प्रस्तुत मुद्दाकी प्रतिवादी शान्ता तण्डुकारकी आमा तरिनानी समेतले का.जी.भोसीको टोलको तत्कालीन भु.सु.का.काठमाण्डौंवाट रजिष्ट्रेशन पास भएको राजीनामा तमसुकको ३।१०९ को घर ओमकारराम तण्डुकारले लिलाराम मानन्धरलाई २०३४।९।६।४ मा गरि दिएको राजीनामा तमसुक २ खण्डको १ खण्ड बदर गरि पाउ भनी वादीका वावु ओमकार राम र लिलाराम मानन्धर उपर २०३५।७।६ मा फिराद दिदा वादीका वावु ओमकार राम र आफु वीचमा मानो छुटृीएको र अंशवण्डा समेत नभएको भनी सगोलमै रहेको तथ्यलाई स्विकारी उक्त लिखत आफ्नो भाग जति बदर गरि पाउ भन्ने दावी लिएको देखिदा हाल प्रतिवादी शान्ता तण्डुकारले वण्डा भै सकेको भनि जिकिर लिन निज प्रमाण ऐन २०३१ को दफा ३४ वमोजिम विवन्धित हुने   देखिन्छ । यस अतिरिक्त वादी प्रतिवादी विच विधिवत रुपमा अंशवण्डा भएको ठोस रुपमा प्रमाणीत नभएको अवस्थामा वादीहरुले प्रतिवादीवाट अंश पाउने नै देखियो ।

१५.   अव वादीहरुले प्रतिवादी शान्ता तण्डुकार र आफ्ना वावु ओमकार राम तण्डुकारलाई मूल अंशीयार देखाई सम्पूर्ण सम्पत्तिको २ भाग लगाई वावु ओमकाररामको भागमा पर्ने १ भाग अंश दावी गरेकोमा पुनरावेदन अदालतले तरिनानी शान्ता र वादीका वावु ओमकार राम समेत ३ अंशीयार कायम गरि ३ भागको १ भाग अंश वादीहरुले पाउने निर्णय गरेको देखिन्छ । वादीहरुले यस अदालतमा पुनरावेदन गर्दा तरिनानीले विपक्षी शान्ता तण्डुकारलाई मिति ०४२।६।३ मा गरि दिएको शेष पछिको वकस पत्रको लिखतमा तरिनानीले प्राप्त गरि सकेको सम्पत्ति सम्म पाउने भन्ने उल्लेख भएको र तरीनानीको स्वर्गवास समेत भैसकेको अवस्था हुंदा हाल २ अंशीयार मात्र रहेकोले सम्पूर्ण सम्पत्ती २ भाग लगाई ओमकार रामको १ भाग वादीहरुले पाउनु पर्ने भन्ने जिकिर लिएको देखिन्छ । वादी प्रतिवादी विच अंशवण्डा नभएकोमा विवाद नभएवाट मुल पुर्खा रामवहादुर तण्डुकारको श्रीमती तरिनानी, तत्कालीन अंशवण्डाको महल वमोजिम ३५ वर्ष उमेर पुगेकी विपक्षी शान्ता तण्डुकार र वादीको वावु ओमकार राम तण्डुकार समेत ३ अंशीयार कायम हुने अवस्था भएको र तरिनानीले विपक्षी शान्ता तण्डुकारलाई हाल आफ्नो कायम भएको र पछि प्राप्त हुने चल अचल अष्टलोह गैहश्रीसम्पत्ति समेत ०४२।६।३ मा शेष पछिको वकसपत्र गरि दिएको भन्ने लिखत व्यहोरा वाटै देखिएकोमा हाल तरिनानीको मृत्यु भएवाट विपक्षी शान्ता र हाम्रा वावु ओमकारराम मात्र २ अंशीयार कायम हुनु पर्ने भन्ने दावी गर्ने वादीहरुले सो शेष पछिको वकसपत्र वदर गराउन सकेको अवस्था नदेखिएवाट तरिनानी पनि वादीका वावु विपक्षी शान्ता तण्डुकार सरह समान हैसियतको अंशीयार भै निजको भाग कायम रहेको मान्नुपर्ने देखिएवाट तरिनानीको भाग हिस्सालाई वाहेक गरी २ अंशीयार मात्र कायम हुनु पर्ने भन्ने वादीहरुको पुनरावेदन जिकिर मनासीव देखिएन ।

१६.    जहासम्म वादीहरुका वावु ओमकार राम आमा तरिनानी संग २०११ सालमै छुटृी भिन्न भै अंश वुझि लिएकोले पुनः अंश दिनुपर्ने नहुंदा अंश पाउने ठहराएको पुनरावेदन अदालतको फैसला बदर हुनु पर्ने भन्ने प्रतिवादीको पुनरावेदन जिकिर छ सो सम्बन्धमा विचार गर्दा यी वादी प्रतिवादीहरु अंशीयार भै यिनीहरु विच विधिवत रुपमा वण्डा भएको अवस्था नभएको र वादीहरुका पीता अंश लिई छुटृी भिन्न भै सकेको भन्ने जिकिर लिने प्रतिवादीले अन्यथा प्रमाणीत गर्न नसकेवाट केवल प्रतिवादीले वादीका वावु अंश छुटृीई भिन्न भएको भनि लिएको प्रतिउत्तर जिकिरकै आधारले मात्रै अंश जस्तो नैसर्गिक अधिकारवाट वादीहरुलाई वन्चीत गर्न मिल्ने नदेखिदो प्रतिवादीको पुनरावेदन जिकिरसंग समेत  सहमत हुन सकिएन ।

१७.   तसर्थ वादीहरुले प्रतिवादी शान्ता तण्डुकार र आफ्ना वावु ओमकारराम लाई मात्र २ अंशियार देखाई २ भागमा वावु ओमकाररामको अंशहक दिलाई पाउ भन्ने गरेको दावीमा तरिनानी समेत अंशीयार रहेको र निजले प्रतिवादी शान्त तण्डुकारलाई दिएको शेषपछिको वकसपत्र क्रियाशील रहेको अवस्था हुँदा ३ भागको १ भाग सम्म वादीहरुले प्रतिवादीवाट अंश पाउने ठहराएको पुनरावेदन अदालतको फैसला मिलेकै देखिदा सदर हुने ठहर्छ । मूल अंशीयार दुई कायम गरी २ भागको १ भाग अंश पाउ भन्ने वादीको र वादीलाई अंश दिनुपर्ने ठहराएको पुनरावेदन अदालतको फैसला बदर गरिपाऊँ भन्ने प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार वुझाई दिनु ।

 

उक्त रायमा सहमत छु ।

 

न्या.राजेन्दप्रसाद कोइराला

 

इति संवत २०६३ साल आषाढ ७ गते रोज ४  शुभम.........

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु