निर्णय नं. ८२२० - कर्तव्य ज्यान ।

निर्णय नं. ८२२० २०६६ पुस,अङ्क ९
सर्वोच्च अदालत संयुक्त इजलास
माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ
माननीय न्यायाधीश श्री बलराम के.सी.
संवत् २०६१ सालको फौ.पु.नं. ३२७०
संवत् २०६१ सालको साधक नं. २९२
फैसला मितिः २०६२।९।६।४
मुद्दा :– कर्तव्य ज्यान ।
पुनरावेदक प्रतिवादीः नुवाकोट जिल्ला, खानीगाउँ गा.वि.स. वडा नं. ४ घर भै कारागार शाखा जगन्नाथ देवल काठमाडौँमा थुनामा रहेकी राममाया राई
विरुद्व
प्रत्यर्थी वादीः प्र.स.नि. हरिवोल के.सी. को प्रतिवेदनले श्री ५ को सरकार
विरुद्व
प्रतिवादीः राममाया राई
शुरु फैसला गर्नेः
मा.जि.न्या. श्री बलरामप्रसाद अधिकारी
पुनरावेदन फैसला गर्नेः
मा.न्या. श्री ज्ञानेन्द्रबहादुर कार्की
मा.न्या. श्री लक्ष्मणमणी रिसाल
§ प्रमाणको आधारमा दोषी Guilty ठहर भएपछि सजाय तोक्दा विभिन्न कुराहरू लगायत कति कैद तोक्दा न्यायसंगत हुन्छ भन्ने कुरा पनि विचार गर्नुपर्ने ।
(प्रकरण नं.३)
§ अपराध गर्नेले अपराध माफिकको सजाय पाउनु पर्छ । अ.वं. १८८ नं. को प्रयोग भनेको Exception र प्रयोग नगर्ने चाहि Rule को रुपमा लिनुपर्ने ।
(प्रकरण नं.५)
§ निर्दोष नावालक बच्चाहरू हेरचाहविहीन अवस्थामा Orphan सरह रहेको कारणले गर्दा सजाय घटाई जेलमुक्त गर्दा नावालक बच्चाहरूको हेरचाह संरक्षण लालनपालन शिक्षादिक्षा हुने कारणले गर्दा प्रतिवादीलाई अ.वं. १८८ नं. को आधारमा सजाय घटाउदा न्याय पर्न जाने ।
(प्रकरण नं.६)
पुनरावेदक प्रतिवादी तर्फबाटःविद्वान अधिवक्ता श्री मोहनबहादुर बञ्जारा क्षेत्री
प्रत्यर्थी वादी तर्फवाटः
अवलम्वित नजीरः
सम्बद्ध कानूनः
अ.वं. १८८ नं.
फैसला
न्या. बलराम के.सी.: पुनरावेदन अदालत पाटनको मिति २०६१।५।१० को फैसलाउपर न्याय प्रशासन ऐन ०४८ को दफा ९(१)(ख) बमोजिम प्रतिवादीको तर्फबाट पुनरावेदन परेको प्रस्तुत मुद्दाको तथ्य एवं ठहर यसप्रकार छः-
मिति २०५९।११।२७ गते यस जिल्लाको विभिन्न ठाउँमा वस्तुस्थिति बुझ्दै जाने क्रममा नु.जि.खानीगाउँ गा.वि.स. वडा नं. ४ स्थित सालनाल सहितको नवजात शिशु मृतक अवस्थामा फेला परेको । बुझ्दै जाँदा उक्त शिशु उल्लिखित गा.वि.स. मा बस्ने राममाया राईले जन्माई फालेको भन्ने बुझिन आएको हुँदा निजलाई पक्राउ गरी मृतक नवजात शिशुको लास कानूनबमोजिम गरिपाऊँ भन्ने प्र.स.नि. हरिवोल के.सी. ले मिति २०५९।११।२७ मा दिएको प्रतिवेदन ।
पूर्वमा चन्द्रप्रसाद ढकालको खेत, पश्चिममा पानीको कुलो उत्तरमा चन्द्रप्रसाद ढकाल र माधव जोशीका खेत र दक्षिणमा चन्द्रप्रकाश ढकालको खेती ४ किल्लाभित्र १ फीट ५ ईञ्च लामा भएको भर्खरै जन्मिएको बच्ची (स्त्री लिङ्ग) मतवाली जस्तो देखिने बच्चाको लास रहेको कपाल सजिलैसँग उखेल्दा नउखेलीने दुवै आँखा बन्द रहेको, नाकको दुवै प्वालबाट रगत तथा फिज निस्किएको, मुख बन्द रहेको पेटको अवस्था सामान्य रहेको नाल नकाटिएको अवस्थामा रहेको दुवै खुट्टाको तिघ्रा तथा पिडुलाको भाग पानीले भिजी ढाडिएको जस्तो देखिएको, घाँटीमा छाला खोस्रिएको जस्तो देखिएको लास देखि १ फीट दक्षिणमा नाभीमा जोडिएको साल रहेको मलद्वारमा कालो लेउजस्तो पदार्थ जस्तो जमेको भन्ने समेत व्यहोराको घटनास्थल एवं लाशको विवरण ।
मिति २०५९।११।२७ गते बच्चा नवजात शिशु जन्माई बच्चाको घाँटी थिचि मारेको हुँ । बच्चा मरेपछि कोपरामा बच्चालाई हाली म सुत्ने खाटमुनी लुकाई राखेँ । भुईमा लागेका रगतलाई लिपपोत गरिदिएँ । त्यसपछि स्कूल गएका छोरा छोरी घरमा आएपछि खाना खाई छोराछोरी सुतेपछि मैले कोपरामा हाली राखेको बच्चालाई नु.जि.खानीगाउँ गा.वि.स. वडा नं. ४ स्थित चन्द्रप्रसाद ढकालको वित नजिकको कुलोमा लगी फालेको हुँ भन्ने प्रतिवादी राममाया राईले प्रहरीमा गरेको वयान कागज ।
प्रतिवादी राममाया राईलाई हामीहरूले राम्रोसँग चिन्दछौँ । प्रतिवादी राममाया राईले मिति २०५९।११।२६ गते बच्चा जन्माई मारेकोमा विश्वास लाग्छ । नवजात शिशु जन्माई मार्ने कार्यमा को कसको संलग्नता थियो सो कुरा हामीहरूलाई थाहा भएन भन्ने होमप्रसाद ढकाल समेतले गरिदिएको वस्तुस्थिति मुचुल्का ।
संकलित प्रमाणबाट नवजात शिशुको मृत्यु कर्तव्यबाट भएको सिद्ध हुन आएकोले प्रतिवादी राममाया राईलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) बमोजिम सजाय गरिपाऊँ भन्ने अभियोग दावी ।
२०५९ साल फागुन २५ गतेका दिन म बारीमा काम गर्न जाँदा कान्लाबाट खसी भुँडी थिचिन गयो । त्यसको भोली पल्ट २६ गते मरेको बच्चाको जन्मभयो । त्यस बच्चालाई कुलामा लगी फाली दिएको हुँ । प्रहरीमा पनि मरेको बच्चा जन्मिएको भनेको थिएँ । के के लेखियो थाहा छैन । जन्मेको बच्चा मेरो पतिसँगको सहवासबाट पाएको हो । मेरो श्रीमान २०५९ साल जेठ २५ गते कतार जानु भएको छ । बच्चा मेरो पेटमा ९ महिना रह्यो । बच्चा जन्मदा कोही पनि थिएन र कसैलाई पनि भनिन । मरेको बच्चा कोपरामा राखी फाली दिएको हो । कुलोमा फालेको हुँदा काठ दाउराहरूले काटिएको हुनुपर्छ भन्ने प्रतिवादी राममाया राईले अदालतमा मिति २०५९।१२।२३ गते गरेको वयान ।
२०५९ साल फागुन २७ गते पानीमा बच्चा वगिरहेको देखिएकोले राममाया राईले मारी फालेको वा मरेको फालेको हो हामीलाई शंका लागेको मात्र हो । मरेको बच्चा फालेको भए किन फालिन त्यसैले शंका गरेको मात्र हो भन्ने बुझिएका कृष्णलाल श्रेष्ठ र होमप्रसाद ढकालका एकै मिलानको अदालतमा गरेको बकपत्र ।
२०५९ साल फागुन २६ गतेसम्म ढिकुर आएको थिएँ । प्रतिवादी साली नाता परेकोले प्रतिवादीको घरमा पसेर जान्छ भनी प्रतिवादीका घरमा जाँदा प्रतिवादीलाई सुत्केरी वेथा लागेका रहेछ । त्यहाँ बस्दा बस्दै प्रतिवादीले बच्चा जन्मायो । मैले पनि हेर्दा बच्चा नचलेकोले सो बच्चा मरेको जन्माएको हो । त्यसपछि प्रतिवादीले अब के गर्ने भन्दा जे गर्नुपर्छ गर भनी म घरतिर हिडे भन्ने प्रतिवादीका साक्षी रामराईले अदालतमा गरेको बकपत्र ।
प्रतिवादी राममाया राईले निजबाट जन्मिएको बच्चाको घाँटीमा थिची मारी कुलोमा लगी फालेको अभियोग पत्र दावी बमोजिमको आरोपित कसूर गरेको प्रमाणित भएकाले प्रतिवादीले ज्यान सम्बन्धी महलको १ नं. प्रतिकूल कसूर अपराध गरेको ठहर्छ । निज प्रतिवादी राममाया राईलाई ऐ.महलको १३(३) नं. बमोजिम सर्वश्वसहितको जन्म कैदको सजाय हुने ठहर्छ । लोग्ने विदेश गएको अवस्थामा बच्चा जन्मेकोले सामाजिक बदनामीको लोक लाजको कारण निजबाट घटित भएको बारदातको प्रकृति अवस्था परिस्थितिलाई दृष्टिगत गर्दा प्रतिवादीलाई कानूनबमोजिम पूरा सजाय गर्दा चर्को पर्ने चित्तमा लागेकोले अ.वं. १८८ नं. बमोजिम प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राखेको मितिले पाँच वर्ष सम्म कैदको सजाय गर्न मनासिव हुने मैले आफ्नो राय अभिव्यक्त गरेको छु भन्ने समेत व्यहोराको शुरु नुवाकोट जिल्ला अदालतको मिति २०६०।७।२०।५ मा गर्नु भएको फैसला ।
शुरु नुवाकोट जिल्ला अदालतले प्रतिवादी राममाया राईलाई सर्वश्वसहित जन्मकैद हुने ठहराई गरेको मिति २०६०।७।२० को फैसला सदर भै अ.वं.१८८ नं. बमोजिम ५ वर्ष कैद हुन व्यक्त गरेको राय समेत मनासिव ठहर्छ भन्ने पुनरावेदन अदालत पाटनको मिति २०६१।५।१० को फैसला ।
उक्त फैसला साधक जाहेरका लागि प्राप्त भै यस अदालतको साधक नं. २९२ मा दर्ता भएको ।
पुनरावेदन अदालतको फैसलामा चित्त बुझेन । प्रहरीमा भएको वयान मेरो स्वैच्छाले नभई जवर्जस्ती सहिछाप गराएको हो । प्रहरीमा भएको वयानमा मैले आफ्नै पतिको गर्भ हो, खेतवारीमा काम गर्न जाँदा कान्लाबाट लडेकी थिएँ, मृतक बच्चा जन्मिएको हो भनी वयान गरेकोमा मेरो व्यहोरा नलेखाई जवर्जस्ती सहिछाप गराएको भनी अदालतको वयानमा मैले भनेको कुराको वेवास्ता गरी पुनरावेदन अदालतबाट भएको फैसला त्रुटिपूर्ण भएकोले उल्टी गरी इन्साफ पाऊँ भन्ने प्रतिवादीको यस अदालतमा परेको पुनरावेदन पत्र ।
नियमबमोजिम दैनिक मुद्दा पेसी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल अध्ययन गरियो । पुनरावेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री मोहनबहादुर बञ्जारा क्षेत्रीले प्रतिवादी राममाया राई आफ्नो पतिको गर्भ बोकी खेतमा काम गर्दा लडेकोले मृतक बच्चा जन्मेको भनी अदालतको वयानमा उल्लेख गरेको कुरालाई पुनरावेदन अदालतले प्रमाणमा ग्रहण गरेको छैन । प्रहरीमा भएको वयान स्वैच्छाले गरेको होइन भनी अदालतको वयानमा उल्लेख गरेको कुरालाई समेत वेवास्ता गरी भएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण भएकोले उल्टी हुनु पर्छ भनी वहस गर्नुभयो ।
विद्वान अधिवक्ताका बहस जिकीर समेतलाई दृष्टिगत गरी प्रस्तुत मुद्दामा प्रतिवादी राममाया राईलाई आफूले जन्माएको नवजात शिशुलाई कर्तव्य गरी मारेकोले ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वश्व सहित जन्मकैद हुने शुरु फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ छैन ? र प्रतिवादीको पुनरावेदन जिकीर पुग्ने हो होइन भन्ने निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादी राममाया राईको हकमा पुनरावेदन अदालत पाटनको फैसला साधक जाहेर भएकोमा प्रतिवादीको यस अदालतमा पुनरावेदन परी सकेको हुँदा साधक तर्फको लगत कट्टा गरी दिनु । अब प्रतिवादीको पुनरावेदन जिकीरतर्फ हेर्दा प्रतिवादीले आफूले प्रहरीसमक्षको वयान स्वैच्छाले दिएको नभै जवर्जस्ती सहिछाप गराइएको र बच्चा मरेकै जन्मिएको भनी अदालतमा गरेको वयान प्रमाणमा नलिएको भन्ने पुनरावेदन पत्रमा लिएको जिकीर तर्फ हेर्दा नवजात शिशुलाई यिनै प्रतिवादीले जन्म दिएको भन्ने कुरा प्रतिवादीले अनुसन्धानको क्रममा अधिकार प्राप्त अधिकारीसमक्ष र अदालतमा समेत वयानमा स्वीकार गरेको देखिएकोले नवजात शिशुलाई यिनै प्रतिवादीले जन्म दिएको कुरामा विवाद भएन । प्रतिवादीले अदालतमा वयान गर्दा खेतवारीमा काम गर्न जाँदा कान्लाबाट खसी भुँडी थिचिन गयो । त्यसका भोलिपल्ट मरेको बच्चा जन्मिएको र बच्चालाई कलोमा लगी फाली दिएको भन्ने कुरा उल्लेख गरेको देखिन्छ । निज प्रतिवादी अदालतको वयानमा कसूरमा इन्कार रहेको भएपनि अनुसन्धानको क्रममा नवजात शिशुलाई जन्माई बच्चाको घाँटीमा थिची मारेको र बच्चा मेरो लोग्नेको नभएकोले गाउँ समाजको डरले कुलोमा लगी फाली दिएको भन्ने उल्लेख गरेको देखिन्छ। मृतक नवजात शिशुको पोष्टमार्टम रिपोर्टमा मृत्युको कारण बारे बच्चाको मृत्यु घाँटीमा दवाव दिएकोले Central Vertebra Dislocation भई Death Due to Asphaxia ले भएको फोक्सो पानीमा तैरिएकोले बच्चा जीउँदो नै जन्मिएको प्रमाणित गरिन्छ किनभने जिउँदो बच्चाले मात्र सास फेर्ने हुनाले फोक्सो पानीमा तैरिएकोले बच्चा जिउँदो नै जन्मिएको प्रमाणित गरिन्छ किनभने जिउँदो बच्चाले मात्र सास फेर्ने हुनाले फोक्सो हावाले भरिएकोले तैरिन्छ भन्ने राय उल्लेख भएको देखिन्छ । प्रतिवादीले अदालत र अधिकार प्राप्त अधिकारीसमक्षको वयानमा बच्चालाई कुलोमा फालिदिएको कुरामा सावित भएको र पोष्टमार्टम रिपोर्टबाट पनि बच्चा जीउदै जन्मिएको भन्ने देखिएन । पर पुरुससँगको अनैतिक यौन सम्बन्धको कारण जन्मिएको तर कर्तव्यबाट मारेको भन्ने Autopsy Report बाट प्रतिवादी निर्दोष रहेको मान्न मिलेन । निजको कर्तव्यबाट नवजात शिशुको हत्या भएको भन्ने प्रमाणित भएको पाइयो । यस अवस्थामा प्रतिवादीलाई कसूरदार ठहराई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहराएको शुरु फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेकोले उक्त फैसला सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्तैन ।
३. अब शुरु अदालतले प्रतिवादीलाई अ.वं. १८८ नं. बमोजिम ५ वर्ष कैद गर्ने राय व्यक्त गरी पुनरावेदन अदालतले त्यसलाई सदर गरेको सम्बन्धमा विचार गर्दा, प्रस्तुत मुद्दा ज्यान मुद्दा भएको र प्रतिवादीको अपराधको गाम्भीर्यतालाई विचार गर्दा हाम्रो कानूनले पुनरावेदिका प्रतिवादीलाई सर्वश्वसहित जन्मकैदको सजाय हुने व्यवस्था गरेको छ । पुनरावेदन अदालतले जिल्ला अदालतबाट सर्वश्वसहित जन्मकैद हुने ठहराएको फैसला सदर गरेको देखिन्छ । प्रमाणको आधारमा दोषी Guilty ठहर भएपछि सजाय तोक्दा विभिन्न कुराहरू विचार गर्नुको अतिरिक्त कति कैद तोक्दा न्यायसंगत हुन्छ भन्ने कुरा पनि विचार गर्नुपर्छ । कति कैद तोक्ने भन्ने कुरामा वेलायतको सन् १९०९ को R.vs smith, R.vs Stratton, R.vs Nuttal, १९६५ को R.vs Wilson, १९०९ को R.vs osconnel को र १९५५ को R.vs Granthom का मुद्दाहरूमा In fixing the punishment for any particular offence the court will take into consideration its nature and the circumstances in which it was commtted, the degree of deliberation shown by the offender in the fact the crime was a highly organised one in which a number of offenders took part, the provocation which the offender has received if the crime is one of violence the antecedents of the offender up to the time of sentence his age and character, the fact that he is a danger to the public and whether such danger is due to mental disturbance or immaturity and may decrease or disappear and any recommendation to mercy which the jury may have made. भनिएको देखिन्छ । प्रस्तुत मुद्दामा प्रतिवादी विवाहित महिला भन्ने देखियो । प्रतिवादीको तर्फबाट रहेका विद्वान अधिवक्ताबाट प्रतिवादीको पति एक वर्ष अगाडिदेखि बैदेशिक रोजगारको सिलसिलामा विदेश कतारमा रहेको र प्रतिवादीको पतिबाट १ छोरा र २ छोरीहरूको जन्मभै सवै नावालक छन भन्ने वहसमा उल्लेख गरेको पाइयो । परपुरुष रामकुमार श्रेष्ठसँग भएको यौन सम्बन्धको कारण पुनरावेदिका प्रतिवादीले गर्भधारण गरी बच्चाको जन्म भएको र विवाहित महिलाले लोग्नेको अनुपस्थितिमा परपुरुषसँगको सम्बन्धबाट बच्चा जन्मिएको कारण सामाजिक लाजबाट बच्नको लागि जन्मिएको बच्चालाई मारेको भन्ने देखियो । जन्मेको उक्त बच्चा जन्मनासाथ हाम्रो नेपाल कानून र नेपालले अनुमोदन गरेको Convention on Right of the child १९८९ ले बाँच्न पाउने अधिकार प्राप्त गर्दछ । उक्त Convention को धारा ६ मा State shall ensure to the minimum extent possible the survival and development of the child भनिएको छ । प्रतिवादीको कार्यले नवजात बच्चाले आफ्नो Right to life बाट वञ्चित भएको देखियो । प्रतिवादीको त्यस्तो अपराधलाई क्षमा गर्ने शायद शब्द नहोला तर यस मुद्दामा प्रतिवादीलाई ज्यान सम्बन्धी महलको १३ नं. लगाई हदैसम्मको कैदसजाय गरेर भन्दा अ.वं. १८८ नं. को यस अदालतको तजविजी अधिकारअनुरूप सजाय घटाउदा न्याय पर्न जाने देखिन्छ । प्रतिवादीका तीनजना नावालक बच्चाहरू भएको भन्ने देखियो । प्रतिवादीको पति हाल नेपालमा नभई कामको खोजीमा विदेश गएको भन्ने बहसमा कानून व्यवसायीबाट जानकारी हुन आयो । नावालक, बालबालिकाले माया पाउने आमाबाबुबाटै नै हो बाबु आमाबाट माया पाउने नावालक बच्चाको हकनै हो । नावालक भएको कारण प्रतिवादीका बच्चाहरूले अर्थात पुनरावेदिकाको नावालक छोराछोरी नेपालले हस्ताक्षर गरी नेपाल कानूनसरह लागू भएको Convention on the right of the child १९८९ को सम्पूर्ण हक सुविधा एवं सहुलियतहरू भोग गर्न पाउनु पर्ने बालबालिका हुन । बाबु विदेश गएको आमा जेलमा कैद सजाय भोगीरहेको हुँदा ती नावालक बच्चाहरूको पालनपोषण शिक्षादिक्षा माया प्रेम हेरचाह Convention मा मात्र सीमित रहन पुगेको देखिन्छ । बाबु आमा दुवै जिवीत रहदारहदै पनि प्रतिवादीका ती बच्चाहरूले orphan को जिन्दगी विताउनु परेको देखिन्छ । उमेर हेर्दा ती बच्चाहरूले ती बच्चाहरूले बाबु आमाको संरक्षकत्वमा राम्रो शिक्षा पाउने उमेर देखिन्छ । दुर्भाग्यबस प्रतिवादीका ती बच्चाहरूले आमालाई भेटनपनि जेलमा जानुपर्ने अवस्था देखियो । यस्तो अवस्थामा प्रतिवादीलाई हदैसम्म ज्यानसम्बन्धीको १३(३) को सजाय गर्नु भनेको प्रतिवादीका ती तीन बच्चाहरूलाई State imposed orphan बनाउनु हुन जाने देखिन्छ । विकल्प छ भने state ले आफ्नो बालबालिकाको संरक्षण गर्नुको बदला त्यसरी Orphan बनाउन उचित हुदैन । सकभर Orphan हुनबाट बचाउनु पर्छ । प्रस्तुत मुद्दामा वारदात हुनुको कारण प्रतिवादीको पति हुँदाहुँदै पर पुरुषसँग करणी गरे गराएको कारण बच्चा जन्मिएकोले पर पुरुषसँग गरेको करणी ढाकछोप गरी लुकाउनको लागी मात्र नवजात बच्चा मारिएको देखिन्छ । बच्चा मार्नु नै मुख्य कारण भन्ने देखिदैन । परपुरुषसँग करणी लुकाउनु मुख्य कारणले गर्दा नै नवजात शिशु मारिएको देखिन्छ ।
४. नेपालको कानून अनुसार विवाहित महिलाले लोग्ने बाहेक अरुसँग करणी नगराएर पनि करणी गराएको छु भनी महिलाको Declaration बाट नै बैबाहिक सम्बन्धविच्छेद् हुन सक्छ। हाम्रो पारिवारिक कानूनले Extra Marital Intercourse लाई महिलाका सम्बन्धमा बढी गम्भीरताका साथ लिएको छ भने हाम्रो सामाजिक संरचना एवं मान्यताले पनि विवाहित महिलाको पुरुषसँगको सम्बन्धलाई गम्भीरताकासाथ लिने मात्र होइन परपुरुषसँग सम्बन्ध राख्ने महिलालाई खराव चरित्रको महिला भन्ने छाप लाग्छ । प्रतिवादीलाई आफ्नो पति हुँदाहुदै अरु मानिससँग करणी गरेको भनी लागेको Social Stigma हदैसम्मको कैद सजाय भन्दा पनि बढी चर्को र बढी असरदायी हुन जान्छ । यसले गर्दा पुनरावेदिकाको मनमा मानसिक यातना सायद जीवनभर रहिरहन्छ । अर्को महत्वपूर्ण कुरा केछ भने यस्तो अपराध बारबार दोहरिने र पुनः दोहोरिने अपराधपनि नभएको र प्रतिवादी लागू औषध मुद्दाको जस्तो Organized Gang को सदस्य पनि नभएको र Professional अपराधी पनि नभएको हुँदा पुनरावेदीका समाज या प्रतिवादीको Locality को लागि Security Threat भएको समेत पनि देखिएन ।
५. हुनत अ.वं. १८८ नं. को व्यवस्था र उद्देश्य भनेको सबै ज्यानसम्बन्धी अपराधहरूमा ठहर चाहिँ १३(३) नं. अनुसार गरी सबैमा सजाय घटाउदै जाने होइन । अपराध गर्नेले अपराध माफिकको सजाय पाउनु पर्छ । अ.वं. १८८ नं. को प्रयोग भनेको Exception र प्रयोग नगर्ने चाहि Rule को रुपमा लिनु पर्छ । अ.वं. १८८ नं. प्रयोग गरी सजाय घटाउने भनेको Rarest of the rare case मा प्रयोग गर्ने व्यवस्था हो । विवाहिता नारीले आफ्नो पति विदेश गएको अवस्थामा परपुरुषसँग करणी गरी गराई गर्भधारण गरी बच्चा जन्माएको घटनाहरू धेरै छन् । तर पति विदेश गएको कारण नावालक बच्चाहरू अभिभावक विहीन भई बच्चाहरू अलपत्र परि बाबुआमा दुवै जीवित हुँदाहुँदै पनि एक प्रकारले Orphan सरह भएको चाहि यो मुद्दा देखियो, सायद यसप्रकारको यो पहिलो मुद्दा हुन सक्छ । तसर्थ यो मुद्दा अरुभन्दा भिन्न खालको देखिएकोले यो मुद्दालाई Rarest of the rare case मानि ती नावालक बच्चाहरूको लागि अ.वं.१८८ नं. प्रयोग गरी सजाय घटाउनु नै उचित र न्यायपूर्ण देखिन आयो ।
६. प्रतिवादीको तीन नावालक बच्चाहरू भएको र बाबु विदेश गएको कारण निर्दोष नावालक बच्चाहरू हेरचाह विहीन अवस्थामा Orphan सरह रहेको कारणले गर्दा प्रतिवादीलाई सजाय घटाई जेलमुक्त गर्दा ती तीन नावालक बच्चाहरूको हेरचाह संरक्षण लालन पालन शिक्षा दिक्षा हुने कारणले गर्दा प्रतिवादीलाई अ.वं. १८८ नं. को आधारमा सजाय घटाउदा न्याय पर्नजाने देखिएकोले अ.वं. १८८ नं. बमोजिम प्रतिवादीलाई आज सम्म कैद बसेको दुई वर्ष आठ महिना चौविसदिन मात्र कैदको सजाय हुने ठहर्छ । निज प्रतिवादी मिति २०५९।१२।११ देखि प्रहरी हिरासतमा रही हालसम्म कैदमा रहेको देखिँदा उक्त कैद अवधि भुक्तान भै सकेको देखिएकोले अन्य मुद्दामा थुनामा राख्न नपर्ने भए निज प्रतिवादी राममाया राईलाई आजै थुनाबाट मुक्त गरिदिनु भनी निज कैदमा रहेको कारागार शाखा काठमाडौँमा लेखी पठाउनु भनी आज छुट्टै आदेश भएकोले अव अरु केही गरिरहन परेन । निजको कैदको लगत यसै फैसला बमोजिम संसोधन गर्नु भनी शुरुमा लेखी पठाई मिसिल नियमानुसार बुझाई दिनु ।
पुनरावेदिकालाई निजको तीन वटा नावालक बच्चाहरू भएको र निज बच्चाहरूको लालनपालन हेरचाह गर्ने अभिभावक नभएको कारण अ.वं. १८८ बमोजिम पुनरावेदिकालाई कैद सजाय घटाइएकोले कैदमुक्त भएपछि आफ्नो नावालक बच्चाहरूको आमाको हैशियतले गर्नुपर्ने हेरचाह लालनपालनको कर्तव्यहरू गर्नु भनी सुनाई दिनु भनी पुनरावेदिकाको कानून व्यवसायीलाई पनि जानकारी गराउने ।
उक्त रायमा मेरो सहमति छ ।
न्या. रामप्रसाद श्रेष्ठ
इति संवत् २०६२ साल पुस ६ गते रोज ४ शुभम् ।