शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७६७३ - करार बमोजिम क्षतिपर्ति रकम भराई पाउँ

भाग: ४८ साल: २०६३ महिना: असार अंक:

निर्णय नं.७६७३     ने.का.प.२०६३ अङ्क ३

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित

माननीय न्यायाधीश श्री बलराम के.सी.

सम्बत २०६२ सालको दे.पु.नं.९७४५

फैसला मितिः २०६२।१२।१३।१

 

मुद्दाःकरार वमोजिम क्षतिपूर्ति रकम भराई पाउँ ।

 

            पुनरावेदक

            प्रतिवादीःजिल्ला दोलखा भि.न.पा. वडा न.२ घर भई हाल का.जि.का.म.न.पा.वडा नं.४               बस्ने बीरशंकर कसाई

बिरुद्ध

            प्रत्यर्थी

            वादीः का.प.जि.मच्छेपौवा गा.बि.स. वडा नं.४ घर भई हाल का.जि.का.म. न.पा.वडा नं.४            बस्ने अनिता लामा

 

§  वादी प्रतिवादी बीचमा जग्गा पारित गरी लिने दिने बिषयमा करार भै बैना लिनुदिनु गरेको सम्बन्धी कानूनी व्यवस्था हेर्दा करार ऐन, २०५६ को दफा ४०(१) ले कुनै बिक्रेताले मुल्य लिई कुनै बस्तु क्रेतालाई तत्काल हस्तान्तरण गर्न वा भविष्यमा हस्तान्तरण गर्न मन्जुर गरेकोमा बस्तु बिक्रि सम्बन्धी करार भएको मानिने ।

§  बस्तु भन्नाले खरिद बिक्रि हुन सक्ने कुनैपनि चल सम्पति सम्झनु पर्ने ।

§  प्रस्तुत मुद्दामा जग्गा खरिद बिक्रि सम्बन्धमा करार भएको र जग्गा चल सम्पति भित्र नपर्ने हुँदा त्यस्तो करारीय दायित्व अदालतबाट पुरा गराउन कानूनतः नमिल्ने ।

§  करार ऐन, २०५६ मा करारमा दुईपक्ष बीच कुनै काम तोकिएको समयमा गर्न अथवा नगर्नको लागि सम्झौता भएको हुनुपर्ने, करार गर्ने पक्षहरु बीच करारीय दायित्व पुरा नगरे वापत क्षतिपूर्तिमा दावी गर्नुपर्ने भन्ने व्यवस्था भएकोमा वैना रकम लिनुदिनुलाई करारको परिभाषा भित्र राख्न नमिल्ने ।

§  वादीबाट प्रतिवादीले वैना स्वरुप पेश्की लिएको तथ्यलाई प्रतिवादीले स्वीकार गरेको हुँदा उक्त रकम वादीले प्रतिवादीबाट भराई लिने पाउने ।

(प्रकरण नं.१४)

 

पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री बालकृष्ण नेउपाने

प्रत्यर्थी वादी तर्फवाटः विद्वान अधिवक्ता श्री शम्भु थापा

अवलम्वित नजीरः

 

 

फैसला

न्या. शारदाप्रसाद पण्डितः न्याय प्रशासन ऐन, २०४८ को दफा १२ वमोजिम पुनरावेदन अदालत, पाटनको फैसला उपर पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :-

२.    बीरशंकर कसाईका नाउँमा हकभोग रहेको का.जि.का.म.न.पा.वडा नं.४ बालुवाटारको कि.नं.८४८ को क्षेत्रफल ०० जग्गाको पूर्व तर्फबाट क्षेत्रफल ०० जग्गाको प्रति आनाको रु.७०,००।को दरमा २०५७।७।९ गते भित्र पारित गरी दिन्छु भनि बैना रु.६०,०००। मिति २०५७।६।१३ गतेका दिन करारनामा गरेकै दिन बुझि लिई करारनामा सही छाप गरेको थियो । बिपक्षी र राम कुमार पाण्डेसंग लेनदेन मुद्दा परि सम्मानित पुनरावेदन अदालत, पाटनको मिति २०५७।३।१ गते फैसला भई बिपक्षीबाट साँवा व्याज समेत असुल हुने ठहराई फैसला भएको थियो। म फिरादीसंग करार वमोजिमको बाँकी रकम लिएर जग्गा पारित गराई दिनु पर्नेमा हालसम्म नगराई दिएको हुँदा निजलाई मिति २०५७।१२।२१ गते घरमै तपाईको जग्गा फुकुवा गर्नु होस र उक्त जग्गा मेरो नाउँमा रजिष्ट्रेशन पारित गरी दिनु होस भनि पटक पटक भन्दा पनि बिपक्षीले कुनै वास्ता नै नगरी करारपत्रको म्याद व्यतित गराउनु भएकोले सम्मानित अदालतमा आएको छु । प्रतिवादीले करार वमोजिमको दायित्व पुरा नगरी बैना वापत रु.६०,०००। पचाउने मनसाय गरेको हुँदा यो फिराद गर्न आएको छु । म र प्रतिवादी विच २०५७।६।१३ गते करार वमोजिमको जग्गा रजिष्ट्रेशन पारित गरी लिने दिने शर्त भएकोमा उक्त शर्त पुरा नगरेकोमा करारपत्रको दफा ७ वमोजिम क्षतिपूर्ति वापत रु.१,२०,०००। करार ऐन, २०५६ को दफा ५५(ग) वमोजिम बिपक्षीबाट दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको वादी अनिता लामाको मिति २०५७।१२।२९ गतेको फिराद दावी ।

३.    म र बिपक्षी विच मिति २०५७।६।१३ मा करार भएको कुरामा कुनै बिवाद छैन । मैले बिपक्षीलाई आफ्नो हक स्वामित्वको कि.नं.८४८ का क्षेत्रफल ०० जग्गा मध्ये ०० जग्गा बिक्रि गर्न सहमत भै रु.६०,०००। बैना लिएको कुरामा पनि बिवाद छैन । तर बिपक्षीलाई म्याद भित्र मैले जग्गा पास गरी नदिएको भन्ने जुन दोषारोपण म उपर लगाई बैना तथा क्षतिपूर्ति समेत रु.१,२०,०००।को माग दावी गर्नु भएकोछ सो बिलकुल गैरकानूनी र निराधारपूर्ण छ । मैले बिपक्षीलाई हक छाडी दिन इनकार गरेको होइन । बिपक्षीसंग भेट भएको पनि छैन, देखेको पनि छैन । उक्त करारनामा मैले गरेको हो, होइन मैले अ.बं.७८ नं.अन्तर्गत देख्न र सुन्न पाउनु पर्दछ । उक्त करारनामा मैले देखे सुनेको बखत नामकरण गर्ने नै छु । अदालतको आदेश वमोजिम रोक्का रहेको जग्गा फुकुवा नभएको कारणले गर्दा मैले बिपक्षीलाई जग्गा हक छोडी दिन सक्ने स्थिति छैन । मैले क्षतिपूर्ति बहन गर्नको लागि करार ऐन, २०५६ को दफा २ अन्तर्गत करार भंग गरेको प्रमाणित हुनु पर्दछ । बिपक्षीले सो जग्गा मेरै स्वामित्वमा छ वा अरु कसैलाई हक छोडी दिई सकेको छ भन्ने बारे फिराद पत्रमा कुनै व्यहोरा उल्लेख गरेको छैन । बास्तविक व्यहोरा उल्लेख नगरी निराधार तथ्यको आडमा म उपर प्रस्तुत गरिएको फिराद दावी झुठा हकदैया बिहिन ठहर्‍याई म उपर दावी गरेको रकम भराई दिन नपर्ने ठहर गरी बिपक्षीको फिराद खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी बीरशंकर कसाइको मिति २०५८।४।१२ को प्रतिउत्तर जिकिर ।

४.    यसमा प्रतिवादी बिरशंकर कसाइले मिति २०५७।६।१३ गते हामी विच भएको बैना बट्टाको कागजमा लागेको सही छाप मेरो हो र उक्त लिखत कागज सद्दे साँचो हो भनी यस अदालतमा मिति २०५८।५।२९ गते प्रतिवादी बिरशंकर कसाइले गरेको ७८ नं.वमोजिमको बयान कागज ।

५.    करारनामामा उल्लेखित जग्गा पारित भै वादीलाइ हक हस्तान्तरण नभएको अवस्थामा वादीको उक्त साँवा रु.६०,०००। पाउन नसक्ने भन्न सकिएन । तसर्थ वादीले प्रतिवादीबाट करार वमोजिमको रकम रु.६०,०००। भराई लिन पाउने ठहर्छ भन्ने समेत शुरु काठमाडौं जिल्ला अदालतबाट मिति ०५८।८।१४ गते भएको फैसला ।

६.    शुरु जिल्ला अदालतको मेरो फिराद दावी वमोजिम करार वमोजिमको रकम मात्र भरि पाउने क्षतिपूर्ति तर्फ दावी नपुग्ने ठहर्‍याई गरेको फैसलामा चित्त बुझेन । मेरो शुरु फिराद दावी वमोजिम क्षतिपूर्ति दिलाई भराई न्याय इन्साफ पाउँ भन्ने समेत व्यहोराको वादीको पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदन पत्र ।

७.    शुरु काठमाडौं जिल्ला अदालतबाट भएको फैसला बदर गरी मेरो शुरु प्रतिउत्तर जिकिर वमोजिम वैना लिएको रु.६०,०००। फिर्ता गर्नु नपर्ने भन्ने ठहर गरी बिपक्षीको फिराद दावी खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीको पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदन पत्र ।

८.    अचल सम्पति जग्गाको सम्बन्धमा दिने लिने करारको दायित्व अदालतबाट पूरा गराई दिन नमिल्ने भएबाट बैनाको रकम सम्म भराई लिन पाउने ठहर्‍याएको शुरु काठमाडौं जिल्ला अदालतको मिति २०५८।८।१४ को फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । वादी र प्रतिवादी दुर्व पषका पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, पाटनको फैसला।

९.    पुनरावेदन अदालत, पाटनले फैसला गर्दा २०५७।६।१३ को करार अचल सम्पतिको करार भएकोले करार ऐन विपरीत हुँदा यस्तो करारलाई मान्यता दिन नमिल्ने भन्दै यस्तो कानून विपरीत भएको करारलाई स्वतः बदरको श्रेणीमा राखेको तर सो करारको आधारमा म प्रतिवादीबाट वैनाको रकम भराई लिन पाउने ठहराएको पुनरावेदन अदालत, पाटनको फैसला त्रुटिपूर्ण हुँदा मुद्दा दोहोर्‍याई हेरी पाउँ भन्ने समेत व्यहोराको निवेदन ।

१०.    यसमा दुवै पक्ष विच का.जि.का.म.न.पा.वडा नं.४ साविक वडा नं.२२ को कि.नं.४४८ को ०० जग्गा मध्ये पूर्व पट्टिबाट ज.रो.०० जग्गा रजिष्ट्रेशन पारित गरी दिने भनि मिति २०५७।६।१३ मा करारनामाको लिखत तयार भै बैना वापत रु.६०,०००।दिई मिति २०५७।७।९ मा रजिष्ट्रेशन गराई लिनु दिने गर्नुपर्ने, सो अवधि भित्र रजिष्ट्रेशन पारित नगराएमा बैनाको रकम फिर्ता गर्न नपर्ने भन्ने व्यहोरा करारनामामा उल्लेख भएको देखियो । प्रस्तुत मुद्दाको फिराद पत्र करार ऐन, २०५६ को दफा ७ र ५५ (ग) अनुसार दायर भएको देखिन्छ । करार ऐन, २०५६ को दफा २ (ग) मा करार भन्नाले  दुई वा दुई भन्दा बढी पक्ष विच कुनै काम गर्न वा नगर्नका लागि भएको कानून वमोजिम कार्यान्वयन गर्न सकिने सम्झौता सम्झनु पर्छ भन्ने उल्लेख भएको देखियो । सोही ऐनको दफा ४० (१) मा कुनै बिक्रेताले मुल्य लिई कुनै बस्तु क्रेतालाई तत्काल हस्तान्तरण गर्न वा भविष्यमा हस्तान्तरण गर्न मन्जुर गरेकोमा बस्तु बिक्रि सम्बन्धमा करार भएको मानिने छ भन्ने उल्लेख भै सोही दफाको स्पष्टिकरणमा बस्तु भन्नाले खरिद बिक्रि हुन सक्ने कुनै पनि चल सम्पति सम्झनु पर्छ भन्ने उल्लेख भएको देखिन्छ । बस्तु बिक्रि सम्बन्धी करार भई सके पछि बिक्रेताले करार वमोजिम क्रेतालाई बस्तु नबुझाएमा वा बुझाउन इन्कार गरेमा बस्तु नबुझाए वापत क्रेताले बिक्रेता बिरुद्ध क्षतिपुर्ति दावी गर्न सक्ने छ भन्ने सोही ऐनको दफा ५५ (ग) मा उल्लेख भएको देखिंदा वादीको दावी करार ऐन, २०५६ अन्तर्गत पर्दैन भनि पुनरावेदन अदालतले फैसलामा उल्लेख गरेपनि बैना वापत दिएको रकम रु.६०,०००।भराई लिनु पर्ने ठहर्छ भनि भएको फैसलाबाट वादी दावी नै परिवर्तन गर्ने गरी निर्णय भएको देखियो । अचल सम्पति बिक्रि गर्ने उद्देश्यले करारनामा करार ऐन, २०५६को दफा २ (ग) र ४० (१) मा उल्लेख भएको व्यवस्थाको विपरीत देखिन्छ । उल्लेखित परिप्रेक्ष्यमा अचल सम्पति बिक्रि गर्ने उद्देश्यले भएको करारनामा भएको देखिंदा पुनरावेदन अदालतको फैसलामा करार ऐन, २०५६ को दफा २ (क), ४० (१) दफा ५५ (ग) र ने.का.प. २०५०, पृष्ठ ५५४, ने.का.प.२०४७, पृष्ठ ३३४, ने.का.प. २०४५, पृष्ठ ३२३ मा प्रतिपादित सिद्धान्त समेतको त्रुटि विद्यमान रहेकोले न्याय प्रशासन ऐन, २०४८ को दफा    १२(१) खण्ड (क) र (ख) अनुसार मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने समेत यस अदालतको आदेश ।

११.    नियमवमोजिम मुद्दा पेशी सूचिमा चढी निर्णयार्थ इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फका विद्वान अधिवक्ता श्री बालकृष्ण नेउपानेले करार ऐन, २०५६ को दफा ४० ले बस्तु बिक्रि सम्बन्धी करार हुन सक्ने र बस्तुभन्नाले चल सम्पति मात्र हुन सक्ने भन्ने व्यवस्था गरेको तर प्रस्तुत मुद्दामा जग्गा खरिद बिक्रि सम्बन्धमा करार भएको हो । यसरी जग्गा खरिद बिक्रि सम्बन्धमा उक्त ऐन आकर्षित हुन नसक्ने भएकोले वादी दावी खारेज हुनु पर्नेमा वैनाको रकम भराई दिने ठहराएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर  हुनु पर्छ भनि र प्रत्यर्थी तर्फका विद्वान अधिवक्ता श्री शम्भु थापाले बिपक्षीले जग्गा बिक्रि गर्न सहमत भै रु.६०,०००।वैना लिएको भन्ने स्वीकार गरि रहेको छ, तर उक्त जग्गा बिक्रि गरी नदिएको अवस्थामा उक्त बैना रकम वादीले प्रतिवादीबाट भरी पाउने नै हुन्छ । अतः सो बैनाको रकम भरि पाउने ठहराएको पुनरावेदन अदालतको निर्णय मिलेकै हुँदा सदर हुनु पर्छ भनी बहस प्रस्तुत गर्नु भयो ।

१२.   उपर्युक्त विद्वान कानून व्यवसायीहरुको बहस जिकिरलाई दृष्टिगत गरी हेर्दा पुनरावेदन अदालतले गरेको फैसला मिले वा नमिलेको के रहेछ भन्ने सम्बन्धमा निर्णय दिनु पर्ने देखियो ।

१३.   निर्णय तर्फ विचार गर्दा बिपक्षीले कि.नं.८४८ को जग्गा मध्ये ज.रो.०० पारित गरी दिने करार गरी रु.६०,०००।वैना लिएको तर सो जग्गा पारित गरि नदिएकोले क्षतिपूर्ति वापत रु.१,२०,०००। दिलाई भराई पाउँ भन्ने वादी दावी भएकोमा बिवादको जग्गा रोक्का रहेकोले बिपक्षीलाई पारित गरी दिन सक्ने स्थिति नहुँदा फिराद खारेज गरिपाऊँ भन्ने प्रतिउत्तर जिकिर भै बिवाद उत्पन्न भएको पाईन्छ । वादीले प्रतिवादीबाट साँवा रु.६०,०००। भरि पाउने ठहराएको शुरु काठमाडौं जिल्ला अदालतको फैसला उपर वादी प्रतिवादी दुवै पक्षको तर्फबाट पुनरावेदन अदालत, पाटनमा पुनरावेदन परेकोमा शुरुको फैसला सदर हुने ठहराएको पुनरावेदन अदालत, पाटनको फैसलामा चित्त बुझेन मुद्दा दोहोर्‍याइ हेरी पाउँ भन्ने निवेदन परी निस्सा प्राप्त भै प्रस्तुत पुनरावेदन पेश हुन आएको देखिन्छ ।

१४.   यस बिवादित तथ्यको परिप्रेक्ष्यमा हेर्दा वादी प्रतिवादी विचमा जग्गा पारित गरी लिने दिने बिषयमा करार भै रु.६०,०००। बैना लिनु दिनु गरेको देखिन्छ । यस्ता करार सम्बन्धमा भै रहेको कानूनी व्यवस्था हेर्दा करार ऐन, २०५६ को दफा ४० (१) ले कुनै बिक्रेताले मुल्य लिई कुनै बस्तु त्रेतालाई तत्काल हस्तान्तरण गर्न वा भविष्यमा हस्तान्तरण गर्न मन्जुर गरेकोमा बस्तु बिक्रि सम्बन्धी करार भएको मानिने, बस्तु भन्नाले खरिद बिक्रि हुन सक्ने कुनै पनि चल सम्पति सम्झनु पर्ने भन्ने उल्लेख भैरहेको देखिन्छ । प्रस्तुत मुद्दामा जग्गा खरिद बिक्रि सम्बन्धमा करार भएको र जग्गा चल सम्पति भित्र नपर्ने हुँदा त्यस्तो करारीय दायित्व अदालतबाट पुरा गराउन कानूनतः मिल्ने देखिदैन । करार ऐन, २०५६ मा करारमा दुईपक्ष विच कुनै काम तोकिएको समयमा गर्न अथवा नगर्नको लागि सम्झौता भएको हुनु पर्ने करार गर्ने पक्षहरु विच करारीय दायित्व पुरा नगरे वापत क्षतिपूर्तिमा दावी गर्नुपर्ने भन्ने व्यवस्था भएकोमा वैना रकम लिनु दिनुलाई करारको परिभाषा भित्र राख्न मिल्ने देखिदैन । वादीबाट प्रतिवादीले वैना स्वरुप पेश्की रु.६०,०००। लिएको तथ्यलाई प्रतिवादीले स्वीकार गरेको हुँदा उक्त रकम वादीले प्रतिवादीबाट भराई लिने पाउने नै देखिन्छ । तसर्थ अचल सम्पति जग्गा लिने दिने सम्बन्धमा गरेको करारको दायित्व अदालतबाट पुरा गराई दिन नमिल्ने भएको तर वैनाको रकम सम्म भराई लिन पाउने ठहराएको शुरुको फैसला सदर हुने ठहराएको पुनरावेदन अदालत, पाटनको फैसला मिलेकै देखिंदा मनासिब ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा सहमत छु ।

 

न्या. वलराम के.सी.

 

इति सम्बत् २०६२ साल चैत्र १३ गते रोज १ शुभमः–––––––––––––––––––––

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु