शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८२२२ - जालसाजी ।

भाग: ५१ साल: २०६६ महिना: पौस अंक:

निर्णय नं. ८२२२     २०६६ पुस,अङ्क ९

 

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ

माननीय न्यायाधीश श्री प्रकाश वस्ती

संम्वत् २०६० सालको फौ.पु.नं .............३५४१

फैसला मितिः २०६६।३।८।२

 

मुद्दाः जालसाजी ।

 

 

      पुनरावेदक वादीः जि.रुपन्देही गोनाहा गा.वि.स.वडा नं. ८ बस्ने बबुन्ना तेली

विरुद्ध

      प्रत्यर्थी प्रतिवादीः जिल्ला, रुपन्देही, गोनाहा गा.वि.स.वडा नं ८ बस्ने पुदन तेली समेत

     

शुरु फैसला गर्नेः

जि.न्या.श्री देवेन्द्रगोपाल श्रेष्ठ

पुनरावेदन फैसला गर्ने :

मा.न्या.श्री दीपकराज जोशी

मा.न्या.श्री बुद्धिप्रसाद रेग्मी

 

§  पैतृक सम्पत्ति आफ्नो नाममा एकलौटी नामसारी गराउँदा आधार लिएको गा.पं.को सिफारिश नै जालसाज घोषित भइसकेको अवस्थामा त्यस्तो दूषित सिफारिशका आधारमा भएको नामसारी निर्णयले कानूनी मान्यता प्राप्त गर्न नसक्ने ।

§  कानूनी मान्यताविहीन नामसारी दर्ताका आधारमा प्राप्त भएको जग्गा अन्य व्यक्तिलाई हस्तान्तरण गर्दैमा त्यसले समेत कानूनी मान्यता प्राप्त गर्न नसक्ने ।

(प्रकरण नं. ५)

§  संयुक्त दर्तावाल विदेशमा रहेको जिउँदो व्यक्तिलाई मरेको भनी सिफारिश गराई सोही आधारमा कारवाही चलाई आफ्नो नाममा जग्गा दर्ता गराई विक्री गरिएको कार्यलाई हदम्याद नाघेको भनी त्यस्तो कपटपूर्ण व्यवहारमा अदालतले औचित्यको छाप लगाई दिनु कदापि न्यायसंगत नहुने ।

§  दम्याद न्यायको प्रयोजनका लागि हो, नियोजनका लागि होइन । शत प्रतिशत झुठ्ठो कार्यलाई दूषित मान्नुपर्ने हुन्छ । दूषित व्यवहार सदर हुन नसक्ने ।

(प्रकरण नं. ६)

§  कार्य जालसाजी हुने परिणाम जालसाजी नहुने अर्थ गर्नु न्यायसंगत नहुने ।

§  जालसाजी क्रिया हरअवस्था र हररुपमा जालसाजी नै हुन्छ । जालसाजी भनिनु त्यस कार्यलाई निष्क्रिय र निरर्थक घोषित गरिनु हो । जालसाजी क्रियाको लाभ जालसाजी गर्नेले प्राप्त गर्न सक्दैन । जालसाजी ठहरेको कार्यबाट कसैको हकाधिकार सिर्जना हुन नसक्ने ।

(प्रकरण नं. ७)

§  नामसारी निर्णय नै दूषित एवं कानूनी मान्यताशून्य भइरहेको अवस्थामा त्यस्तो दूषित नामसारी निर्णयका आधारमा प्राप्त गरेको जग्गा अर्को कुनै व्यक्तिलाई हस्तान्तरण गरेकोमा त्यसबाट असर पर्ने व्यक्तिले भएगरेको मितिबाटै हदम्यादभित्र नालिस गर्नु पर्दछ भनी व्याख्या गर्नु न्यायसंगत नहुने ।

(प्रकरण नं. ८)

 

पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ता श्री गणेशप्रसाद खरेल

प्रत्यर्थी प्रतिवादीतर्फबाटःविद्वान अधिवक्ता श्री शरदप्रसाद कोइराला

अवलम्वित नजीरः सअ वुलेटिन, २०५८, पूणाङ्क २३४, पृष्ठ ७

सम्बद्ध कानूनः

§  मुलकी ऐन लेनदेन व्यवहारको ४० नं.

§  अ.वं. ३६ नं.

§  कीर्ते कागजको ३ र १० नं.

 

फैसला

      न्या.प्रकाश वस्तीः पुनरावेदन अदालत, बुटवलको मिति २०५९।२।१५ को फैसलाउपर वादीको तर्फबाट दोहोर्‍याई पाऊँ भनी दर्ता भएको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को (क) र (ख) बमोजिम निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको तथ्य एवं निर्णय यसप्रकार छ :

      वसालत तेलीको जेठा छोरा पुदन तेली, माहिलो म वादी बबुन्ना तेली कान्छो मुख्तार तेली हौं । हामी सगोलमा थियौं । २०४३।२।२५ गते मुख्तार तेलीको परलोक भएपछि म भारत रहेको अवस्थामा जालसाजबाट मृत्यु दर्ता प्रमाणपत्र बनाई सँयुक्त दर्ता रहेको जग्गा आफ्नो नाममा एकलौटी नामसारी दर्ता गरी मिति २०४६।३।२१ मा काशीराम मल्लाहलाई राजीनामा पारित गरेकाले जालसाज गरेमा सजाय गरिपाऊँ भन्ने वादी बबुन्ना तेलीको फिरादपत्र ।

      वादी दावी सम्पूर्ण झुठा हो । जालसाज गरेको होइन । वादीको फिराद हदम्यादभित्रको नहुँदा खारेज हुनुपर्छ भन्ने काशीरामको प्रतिउत्तर पत्र ।

      प्र. पुदन तेलीको नाउँमा जारी भै गएको म्यादमा प्रतिवाद नगरी शुरु म्यादै गुजारी   बसेको ।

      वादीको समेत सँयुक्त नामको जग्गा प्र. पुदनले आफ्नो नाममा नामसारी गराएको निर्णय यथावत् रहेको अवस्थामा आफने नाउँमा दर्ता रहेको जग्गा प्र. पुदनले प्र. काशीराम मल्लाहलाई राजीनामा गरी दिएको देखिँदा जालसाजी भन्ने वादी दावी पुग्न सक्दैन भन्ने समेत शुरु रुपन्देही जिल्ला अदालतको मिति २०५५।२।१९ को   फैसला ।

      प्रतिवादी पुदन तेलीले जिउँदा भाइलाई मृतक बनाई सो बमोजिम एकलौटी नामसारी दर्ता गराई विक्री व्यवहार गरेको कार्य जालसाजीपूर्ण हुँदा वादी दावी नपुग्ने ठहर्‍याएको शुरु जिल्ला अदालतको फैसला त्रुटिपूर्ण भएकोले सो फैसला बदर गरी न्याय पाऊँ भन्ने समेत पुनरावेदक वादीको पुनरावेदन पत्र ।

      यसै लगाउको दे.पु.नं. १५१५ को मुद्दामा विपक्षी झिकाउने आदेश भएकाले यसमा पनि शुरुको फैसला फरक पर्न सक्ने हुँदा छलफलको लागि अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालतको आदेश ।

      हदम्याद नघाई दायर भएको मुद्दामा वादीदावी खारेज गर्नुपर्नेमा शुरुले इन्साफमा वोलेको देखिन्छ तापनि वादीदावी नपुग्ने भनी फैसलामा वोल्दा र वादीदावी खारेज गर्दा इन्साफमा तात्विक भिन्नता नपर्ने हुँदा वादीदावी नपुग्ने ठहर्‍याएको शुरु रुपन्देही जिल्ला अदालतको मिति २०५२।२।१९ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत बुटवलको मिति २०५९।२।१५ को फैसला ।

      पुनरावेदन अदालतको फैसलामा चित्त बुझेन । मालपोत कार्यालयको मिति २०४३।५।६ को निर्णय यथावत् रहिरहेकोले सो निर्णयका आधारमा पुदन तेलीले प्राप्त गरेको जग्गा निजले हस्तान्तरण गरेकोलाई जालसाजी भन्न नमिल्ने भनी पुनरावेदन अदालतले लिएको आधार त्रुटिपूर्ण छ । मालपोत कार्यालयको उक्त निर्णय गराउन पुदन तेलीले गा.वि.स.बाट दूषित सिफारिश बनाई पेश गरेको पुष्टि भइरहेको छ । म पुनरावेदक जीवितै रहेको अबस्थामा मलाई मरेको भनी गराएको सिफारिशका आधारमा निज पुदनले मेरो समेत अंश हक लाग्ने जग्गा एकलौटी नामसारी गराई विक्री गरेको कार्य स्वतः जालसाजीपूर्ण छ । यसरी अंश हकै समाप्त पार्ने उद्देश्यले गरिएको नामसारी र विक्री व्यवहारका सम्बन्धमा थाहा पाएको मितिबाटै जालसाजीमा फिराद गर्ने हदम्याद शुरु हुने कुरामा कुनै द्विविधा छैन । तसर्थ हदम्याद नाघी फिराद दायर भएको भन्ने गलत अर्थ लगाई वादी दावी खारेज गरेको पुनरावेदन अदालतको फैसलामा कीर्ते कागजको १८ नं. को व्याख्यात्मक त्रुटि हुनुका साथै सर्बोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको त्रुटि रहेको हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) को खण्ड (क) र(ख) बमोजिम प्रस्तुत मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिपाऊँ भन्ने समेत व्यहोराको वादीको मिति २०६०।१।२४ को  निवेदन ।

      यसमा दो.नि.नं. ४८८४ को जालसाजी मुद्दामा दोहोर्‍याउने निस्सा प्रदान भएकोले प्रस्तुत मुद्दामा पनि सोही आधारमा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने यस अदालतको मिति २०६०।१।२५ को आदेश ।

      नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीको तर्फबाट विद्वान अधिवक्ता गणेशप्रसाद खरेलले मेरो पक्षको समेत नाममा सँयुक्त दर्ता रहेको जग्गालाई निज बबुन्ना मरिसकेको भन्ने गा.वि.स.बाट सिफारिश लिई मिति २०४३।५।६ मा विपक्षी पुदन तेलीले आफ्नो नाममा मालपोत कार्यालयबाट एकलौटी नामसारी गराएको र पछि विभिन्न व्यक्तिहरूलाई बेचेको हो । २०५० सालमा वादी बबुन्ना भारतबाट आफ्नो गाउँमा आई थाहा पाएपछि मिति २०५०।५।२८ मा फिराद दायर भएको छ । वादी बबुन्नाले निज पुदन तेलीउपर अंश मुद्दा दायर गरी गा.वि.स.बाट लिएको सिफारिश समेत जालसाज घोषित भई अन्तिम फैसला भएर रहेको छ । यसरी जीवित रहेको अंशियारलाई मरिसकेको भनी गा.वि.स.बाट लिएको सिफारिशका आधारमा नामसारी गरी अरु व्यक्तिलाई विक्री गरेको कार्य कानूनअनुरूप हुनै सक्तैन । थाहा पाएको मितिबाट म्यादै भित्र परेको फिराद दावीलाई कीर्ते कागजको १८ नं. को हदम्यादभित्र नपरेको भन्दै खारेज गरेको इन्साफ त्रुटिपूर्ण छ । तसर्थ पुनरावेदन अदालतबाट फिराद दावी खारेज गर्ने गरी भएको इन्साफ उल्टी गरी वादी दावी बमोजिम जालसाज ठहर गरिपाऊँ भन्ने समेत बहस गर्नुभयो ।

      प्रत्यर्थी प्रतिवादी काशीरामको तर्फबाट विद्वान अधिवक्ता शरदप्रसाद कोइरालाले वादीको फिराद दावीमा कुन मितिको लिखत जालसाज घोषित गरी लिखत बदर गरी मागेको हो ? प्रष्ट छैन । मेरो पक्षले धेरै वर्ष अगाडि राजीनामा पारित गरी लिएको जग्गामा कीर्ते कागजको १८ नं. को हदम्याद नघाई जालसाजीमा दिएको फिराद पुग्न सक्तैन । मिति २०४३।५।६ मा नामसारी भएको मालपोत कार्यालयको निर्णयलाई फिरादमा केही भनिएको छैन । मेरो पक्षको दाता पुदन र वादी बबुन्ना अंशियार भन्नेमा विवाद नभएपछि एउटा अंशियारले पैतृक सम्पत्ति विक्री गरेकोमा लेनदेन व्यवहारको १० नं. को हदम्यादभित्र वादी आउन सक्नु पर्दछ । कीर्ते कागजको १८ नं. मा मिति २०५९।५।२७ मा भएको संशोधनबाट मात्रै भए गरेको थाहा पाएको मितिले नालेस गर्ने हदम्याद प्रारम्भ हुने हो । सो भन्दा अगाडि प्रचलित उक्त १८ नं. बमोजिम भए गरेको मितिबाटै हदम्याद प्रारम्भ हुनेमा यस अदालतबाट प्रस्तुत मुद्दा दोहोर्‍याई हेर्ने गरी दिइएको निस्सामा लिइएको आधार नै त्रुटिपूर्ण   छ । तसर्थ वादी दावी खारेज गर्ने गरेको पुनरावेदन अदालतको फैसला मनासिव हुँदा सदर हुनुपर्छ भनी बहस गर्नुभयो ।

      दुबै पक्षका विद्वान अधिवक्ताहरूले गर्नु भएको बहस जिकीर समेतलाई दृष्टिगत गरी पुनरावेदन अदालतबाट भएको फैसला मिले नमिलेको के रहेछ ? सोही विषयमा निर्णय दिनुपर्ने देखियो ।

      २.    निर्णयतर्फ विचार गर्दा म भारत गएको बेलामा जालसाज गरी गा.वि.स.बाट मृत्युदर्ता प्रमाणपत्र बनाई मेरो समेत सँयुक्त नाममा दर्ता भएको जग्गा विपक्षी पुदनले एकलौटी नामसारी गराई विपक्षी काशीरामलाई विक्री गरेको कार्य जालसाज घोषित गरी सजाँय गरिपाऊँ भन्ने मुख्य फिराद दावी भएको प्रस्तुत मुद्दामा शुरुले वादी दावी पुग्न नसक्ने ठहर गरेको फैसलाउपर परेको पुनरावेदनमा पुनरावेदन अदालतबाट हदम्याद नघाई परेको फिराद दावी खारेज हुने ठहर्‍याई फैसला भएकोमा सो फैसलाउपर वादीले चित्त नवुझाई दर्ता भएको प्रस्तुत पुनरावेदन पत्र निर्णयार्थ पेश भएको देखियो ।

      ३.    पुनरावेदक वादी समेतको सँयुक्त नाममा दर्ता रहेको तत्कालीन गा.पं.वरसौली वडा नं. ३(ग) कि.नं. ३५, ऐ वडा नं. २(ग) कि.नं. ७७ , ऐ वडा नं. २(क) को कि.नं. २७, २९, १४०, १४१, १७५, २५५, २७५, ३५५, ३७८, १८८, ऐ. वडा नं. २(ख) कि.नं. ३०१, ३०२, ३५१, ३५२, ३५६ र ५३३ समेतका जग्गाहरू मालपोत कार्यालय, रुपन्देहीको मिति २०४३।६।६ को निर्णयबाट प्रत्यर्थी प्रतिवादी पुदन तेलीका नाउँमा एकलौटी नामसारी भएको  देखिन्छ । सो नामसारी निर्णयमा यी पुनरावेदक वादीलाई मिति २०४३।२।२५ मा मृत्यु भएको देखाइएको   छ । मिसिल संलग्न तत्कालीन वर्सौली गाउँ पञ्चायतको द.नं. १।०४३ मिति २०४३।४।८ को मृत्यु दर्ता प्रमाणपत्रका आधारमा वादी बबुन्ना तेलीको मृत्यु भएको भन्दै प्रत्यर्थी प्रतिवादी पुदनले एकलौटी नामसारीका लागि मालपोत कार्यालयमा निवेदन दिई सोही आधारमा उक्त नामसारी निर्णय भएको देखिन्छ ।

      ४.    प्रत्यर्थी प्रतिवादी पुदन तेलीले शुरु म्यादै गुजारी प्रतिउत्तर पत्र नै नफिराई वादी दावीलाई कुनै खण्डन नगरी बसेको देखिन्छ । यी प्रत्यर्थी प्रतिवादी समेतले यी वादीलाई पुदन तेलीको एकासगोलको अंशियार भाइ होइन भन्न सक्ने अवस्था छैन । प्रतिवादी पुदनले आफ्नो जुन अंशियार भाइ मरिसकेको भनी मृत्युदर्ताको प्रमाणपत्र बनाई पैतृक जग्गाजमीन आफ्नो नाममा मात्र एकलौटी नामसारी निर्णय गराएको हो, त्यसरी मरेको भनिएको अंशियार वादी जीवितै रहेको अवस्थामा वादीलाई मरेको देखाई भएगरेका यावत् कार्यहरू स्वतः दूषित देखिन्छन् ।

      ५.    यिनै वादीले प्रतिवादी पुदन तेलीउपर दायर गरेको संवत् २०५० सालको दे.नं. १७५७ नि.नं. ४७२ को अंश नामसारी मुद्दामा यी वादीले प्रतिवादी पुदनबाट ३ भागको १ भाग अंश पाउने ठहरी रुपन्देही जिल्ला अदालतबाट मिति २०५२।२।१९ मा भएको फैसला अन्तिम भएर बसेको देखिन्छ । सो अंश मुद्दासँगै दायर भएको यिनै वादी प्रतिवादीबीचको जालसाजी मुद्दामा समेत तत्कालीन गा.पं.वर्सौलीबाट मिति २०४३।४।८ मा जारी भएको यी वादी बबुन्नाको मृत्यु दर्ता प्रमाणपत्र सिफारिश समेत जालसाज ठहर भइरहेको देखिन्छ । प्रतिवादी पुदन तेलीले पैतृक सम्पत्ति आफ्नो नाममा एकलौटी नामसारी गराउँदा आधार लिएको गा.पं.को सिफारिश नै जालसाज घोषित भइसकेको अवस्थामा त्यस्तो दूषित सिफारिशका आधारमा भएको नामसारी निर्णयले कानूनी मान्यता प्राप्त गर्न सक्तैन । त्यसैले पुदन तेलीले यी वादी समेतको सँयुक्त नाममा दर्ता रहेको जग्गाहरू एकलौटी नामसारी गरेको निर्णय स्वतः प्रभावहीन भै शून्य स्थितिको देखिन आउँछ । त्यस्तो कानूनी मान्यताविहीन नामसारी दर्ताका आधारमा प्राप्त भएको जग्गा अन्य व्यक्तिलाई हस्तान्तरण गर्दैमा त्यसले समेत कानूनी मान्यता प्राप्त गर्न सक्तैन ।

      ६.    संयुक्त दर्तावाल विदेशमा रहेको जिउदो व्यक्तिलाई मरेको भनी सिफारिश गराई सोही आधारमा कारवाही चलाई आफ्नो नाममा जग्गा दर्ता गराई विक्री गरिएको कार्यलाई हदम्याद नाघेको भनी त्यस्तो कपटपूर्ण व्यवहारमा अदालतले औचित्यको छाप लगाई दिनु कदापि न्यायसंगत हुँदैन । हदम्याद न्यायको प्रयोजनका लागि हो, नियोजनका लागि होईन । शत प्रतिशत झुठ्ठो कार्यलाई दूषित मान्नुपर्ने हुन्छ । दूषित व्यवहार सदर हुन सक्दैन् । सदर नहुने प्रकृतिको व्यवहारका हकमा हदम्याद नलाग्ने व्यवस्था लेनदेन व्यवहारको ४० नं. ले गरेको छ । अ.वं. ३६ को प्रवन्ध पनि यस्तै परिस्थितिको लागि भएको हो ।

      ७.    २०४३।५।६ को प्रतिवादी पुदन तेलीका नाममा एकलौटी नामसारी गरिदिने मालपोत कार्यालयको निर्णयलाई चुनौती नदिएबाट वादी दावीबमोजिम गर्न नमिल्ने भन्ने तर्क विचारणीय छ । यस सन्दर्भमा २०४३।५।६ को निर्णय कुन पृष्ठभूमि र प्रमाणका आधारमा भयो भन्ने कुरा हेरिनु पर्दछ । सो निर्णय तत्कालीन गा.पं.ले वादी बबुन्ना तेलीको मृत्यु भएको भनी गरिदिएको सिफारिश र मृत्यु दर्ता प्रमाणपत्रमा आधारित छ । यी कागजातलाई लिएर बादीले दायर गरेको जालसाजी मुद्दामा रुपन्देही जिल्ला अदालतबाट मिति २०५२।२।१९ मा जालसाजी ठहरी अन्तिम भई बसेको छ । सो मुद्दाको फिराद अध्ययन गर्दा सो निर्णयलाई चुनौती दिइएको पाइन्छ । कार्य जालसाजी हुने परिणाम जालसाजी नहुने अर्थ गर्नु न्यायसंगत हुँदैन । जालसाजी क्रिया हरअवस्था र हररुपमा जालसाजी नै हुन्छ । जालसाजी भनिनु त्यस कार्यलाई निष्क्रिय र निरर्थक घोषित गरिनु हो । जालसाजी क्रियाको लाभ जालसाजी गर्नेले प्राप्त गर्न सक्दैन् । जालसाजी ठहरेको कार्यबाट कसैको हकाधिकार सिर्जना हुन सक्दैन ।

      ८.    तसर्थ प्रत्यर्थी प्रतिवादी पुदन तेलीले मिति २०४३।५।६ मा नामसारी गराएका विभिन्न कित्ता जग्गाहरू मध्ये कि.नं. ६२९ र ६३४ को जग्गा र.नं. ९२८० बाट मिति २०४६।३।२१ मा राजीनामा गरी प्रत्यर्थी प्रतिवादी काशीरामलाई दिएको देखिएकोमा मिसिल संलग्न तथ्य एवं प्रमाणहरूबाटै यी वादी भारतमा रहिरहेको अवस्थामा जीवित व्यक्तिलाई मरेको भन्ने सिफारिश गराई प्रत्यर्थी प्रतिवादी पुदन तेलीले पैतृक जग्गा एकलौटी नामसारी गराइसकेपछि अर्का प्रतिवादीलाई विक्री गरेको कार्यमा वादीले भएगरेको मितिबाटै हदम्यादभित्र नालेस दिनुपर्ने भनी अर्थ गर्न समेत मिल्दैन । नामसारी निर्णय नै दूषित एवं कानूनी मान्यताशून्य भइरहेको अवस्थामा त्यस्तो दूषित नामसारी निर्णयका आधारमा प्राप्त गरेको जग्गा अर्को कुनै व्यक्तिलाई हस्तान्तरण गरेकोमा त्यसबाट असर पर्ने व्यक्तिले भएगरेको मितिबाटै हदम्यादभित्र नालिस गर्नु पर्दछ भनी व्याख्या गर्नु न्यायसंगत समेत हुँदैन । तसर्थ प्रस्तुत विवादमा यी पुनरावेदक वादीले दायर गरेको फिरादपत्र हदम्यादविहीन भन्ने देखिन आएन ।

      ९.    जीवित रहेका वादीलाई मरेको भनी गाउँ पञ्चायतबाट गराएको सिफारिश             समेत जालसाज घोषित भइसकेको अवस्थामा त्यस्तो जालसाजपूर्ण सिफारिश एवं मृत्युदर्ता प्रमाणपत्रको आधारमा प्रतिवादी पुदन तेलीले वादीको समेत संयुक्त नाममा दर्ता भएको जग्गाहरू एकलौटी नामसारी निर्णय गरेको कार्य स्वतः दूषित देखिन आएको छ । कानूनी मान्यताशून्य दूषित दर्ता बदरतर्फ परेको फिरादमा हदम्यादको प्रश्न उठाई फिराद खारेज गर्न नमिल्ने भनी विन्दुमायां श्रेष्ठ भन्ने विन्दुवासिनी हाडा विरुद्ध गणेशकुमारी जोन्छे भएको मुद्दामा यस अदालतबाट (स.अ.बुलेटिन २०५८, पूर्णाङ्क २३४ पृष्ठ ७मा) सिद्धान्त समेत प्रतिपादित भइरहेको देखिन्छ । सो सिद्धान्त समेतबाट यी वादीलाई मरेको भन्ने जालसाजपूर्ण सिफारिश समेत बनाई प्रतिवादी पुदन तेलीले आफ्ना नाममा नामसारी दर्ता गरी प्राप्त गरेको जग्गा प्रतिवादी काशीरामलाई राजीनामा पारित गरी दिएको देखिँदा उक्त कार्य कीर्ते कागजको ३ नं. बमोजिम वादीको हकसम्म जालसाजपूर्ण देखिन आयो ।

      १०.    जहाँसम्म प्रत्यर्थी प्रतिवादी काशीराम समेतले जालसाजी गरे भन्ने वादी दावी छ , सोतर्फ विचार गर्दा निज काशीरामले प्रतिवादी पुदनबाट राजीनामा पारित गरी जग्गा खरीद गरेको देखिएको, त्यसरी जग्गा खरीद गर्ने व्यक्तिलाई आफन दाताले के कुन व्यहोराले जग्गा नामसारी गरे भन्ने कुराको जानकारी हुने अवस्था समेत नदेखिएको हुँदा प्रतिवादी काशीरामको हकमा केही गरिरहनु परेन । उक्त जग्गामा दाता पुदन तेलीकोसमेत हक रहेबाट सो हदसम्म लिखत बदर नहुने गरी लगाउको लिखत बदर मुद्दामा निर्णय भएबाट सोतर्फसमेत केही बोलिरहनु परेन ।

      ११.    तसर्थ शुरुले वादी दावी नपुग्ने गरी गरेको फैसला र पुनरावेदन अदालत, बुटवलबाट फिराद दावी खारेज हुने ठहरी मिति २०५९।२।१५ मा भएको फैसला मिलेको नदेखिँदा केही उल्टी भई वादी दावीबमोजिम प्रतिवादी पुदन तेलीले र.नं. ९२८० मिति २०४६।३।२१ मा पारित गरिदिएको लिखतमध्ये ३ भागको १ भाग जालसाजीपूर्ण भै निज प्रतिवादी पुदन तेलीलाई कीर्ते कागजको १० नं. बमोजिम विगो रु.७,०००। को ३ भागको १ भाग अर्थात रु.२३३३। को २५ प्रतिशतका दरले रु.५८३। जरीवाना समेत हुने ठहर्छ । अरुमा तपसील बमोजिम गर्नू ।

 

तपसील

माथि लेखिएबमोजिम पुनरावेदन अदालत, बुटवलको मिति २०५९।२।१५ को फैसला उल्टी भई प्रत्यर्थी प्रतिवादी पुदन तेलीलाई रु.५८३। जरीवाना हुने ठहरी फैसला भएकोले सो जरीवाना असूल गर्न लगत राखी कानूनबमोजिम असूल गर्नु भनी शुरु रुपन्देही जिल्ला अदालतमा लगत दिनू–––

दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू––––

 

उक्त रायमा सहमत छु ।

 

न्या.रामप्रसाद श्रेष्ठ

 

इति संवत् २०६६ साल असार ८ गते रोज २ शुभम्

 

इजलास अधिकृतः विदुर कोइराला

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु