शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८२२३ - कर्तव्य ज्यान ।

भाग: ५१ साल: २०६६ महिना: पौस अंक:

निर्णय नं. ८२२३     २०६६ पुस,अङ्क ९

 

सर्वोच्च अदालत संयुक्त इजलास

माननीय न्यायाधीश श्री खिलराज रेग्मी

माननीय न्यायाधीश श्री अवधेशकुमार यादव

संवत्  २०६४ सालको फौ.सा.नं. ००१८

संवत्  २०६४ सालको फौ.पु.नं. ००२७

फैसला मितिः २०६६।२।६।४

 

मुद्दा : कर्तव्य ज्यान ।

 

      पुनरावेदक वादीः वाग्लुङ जिल्ला नरेठाँटी गा.वि.स.वडा नं ४ वस्ने थमनबहादुर कार्कीको जाहेरीले  नेपाल सरकार

विरुद्ध

    प्रत्यर्थी प्रतिवादीः वाग्लुङ जिल्ला नरेठाँटी गा.वि.स. वडा नं ४ वस्ने जोककुमारी कार्की

एवं

      पुनरावेदक प्रतिवादीः वाग्लुङ जिल्ला नरेठाँटी गा.वि.स. वडा नं  ४ घर भई हाल कारागार  शाखा वाग्लुङमा थुनामा रहेकी  जोककुमारी कार्की

विरुद्ध

      प्रत्यर्थी वादीः वाग्लुङ जिल्ला नरेठाँटी गा.वि.स.वडा नं ४ वस्ने थमनबहादुर कार्कीको    जाहेरीले  नेपाल सरकार

 

शुरु फैसला गर्नेः

मा.जि.न्या. श्री भोलानाथ चौलागाई .

पुनरावेदन फैसला गर्नेः

मा.न्या. श्री विश्वम्भरप्रसाद श्रेष्ठ

मा.न्या. श्री इश्वरप्रसाद खतिवडा

 

§  वञ्चरोले मान्छेको टाउकोमा प्रहार गर्दा मान्छे मर्न सक्छ भन्ने कुराको ज्ञान यी प्रतिवादीलाई थिएन भनी अनुमान गर्न सक्ने अवस्था नदेखिने ।

§  रिसको झोकमा मरोस् भनेर नै दाउराले प्रतिकार गरिसके पछि पनि बञ्चरो ल्याई मृतकउपर प्रहार गरेको कुरा सहजै अनुमान गर्न सकिने  ।

§  नियत सफा थियो, मार्ने मनसाय थिएन, केवल प्रतिकार गर्दा दुर्घटना हुन पुगेको थियो भने वञ्चरोले प्रहार गर्दा भूँईमा ढलेपछि छिमेकीहरूसँग हार गुहार मागी जीवित छन् कि  भनी उपचार गर्नतर्फ लाग्नु पर्ने, दुर्घटनाको कारण समाजमा उजागर गर्नुपर्ने र आफैले प्रहरीलाई खवर गर्नुपर्नेमा वारदातको १० दिनपछि दवाएको लाश कुकुरले वाहिर निकालेको अवस्थामा फेला पारी जाहेरी गरेको अवस्थामा  ज्यान सम्बन्धीको १३(१) नं वमोजिम सजाय हुने ।

(प्रकरण नं.४)

 

पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री शान्ता सेढाँई

प्रत्यर्थी प्रतिवादी तर्फबाटः

अवलम्वित नजीरः

सम्बद्ध कानूनः

§  ज्यान सम्बन्धी महलको १३(१)

§  अ.वं. १८८

 

फैसला

      न्या. खिलराज रेग्मीः पुनरावेदन अदालत वाग्लुङको मिति२०६४।९।२३ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत प्रतिवादीको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको तथ्य एवं ठहर यसप्रकार छ :- 

      मलखादमा अम्मरबहादुर कार्कीको लाश, उक्त लाशको निधारमा गम्भीर निलडाम, दाँया कानको केही तल खोस्रिएको किरा परेको भन्ने समेतको घटनास्थल लाश जाँच मुचुल्का । 

      अम्मरबहादुर कार्कीको घर, सो घरको उत्तर तर्फमूल ढोकाबाट भित्र पसी हेर्दा भित्ताको केही भाग कोट्याई हेर्दा रगत जस्तो रातो देखिएको र सो स्थानमा सडेको दुर्गन्ध भएको भन्ने समेतको घटनास्थल मुचुल्का ।

      मेरो भाइ अम्मरबहादुर कार्कीलाई निजकै श्रीमती जोककुमारी कार्कीले मिति २०६३।११।१३ गते राति टाउकोमा बञ्चरोले हानी मारी मलखादमा गाडेकी रहिछन् । सो कुरा २०६३।११।२३ गते मात्र मलखादमा लाश फेला परेकोले निज जोककुमारीलाई पक्री कानूनबमोजिम गरिपाऊँ भन्ने समेतको थमनबहादुर कार्कीको जाहेरी दरखास्त ।

      मृतक पतिले मादक पदार्थ सेवन गरी आई मलाई गाली गलौज गरी पिर्काले हानेकाले मैले रिस थाम्न नसकी बञ्चरोले टाउकोमा हान्दा पतिको मृत्यु भएको हो । त्यसपछि मलखादमा गई मान्छे अट्ने खाल्डो खनी आई मृतक लोग्नेलाई नाम्लोले बाँधी ताने, ठूलो छोरा सागरलाई खुट्टा समाई उचाली देउ म अगाडि समात्छु भनी लतारी घिसारी मलखादमा लगी पुरी घरभित्रको रगत सफा गरी सोही मलखादमा लगी पुरी दिएकी हुँ भन्ने समेतको प्रतिवादी जोककुमारी कार्कीले अधिकार प्राप्त अधिकारीसमक्ष गरेको वयान ।

      जोककुमारीले आफ्नो श्रीमान्लाई कर्तव्य गरी मारेको कुरा गाउँ समाजमा स्वीकारेकीले निजै जोककुमारीले मृतकलाई मारेकी हुन् । मार्नेमा अन्य कोही होइनन् भन्ने समेतको भक्तबहादुर खत्री, डिलबहादुर कार्की, चन्द्रबहादुर कार्की, विरबहादुर कार्की, सुरथबहादुर कार्की समेतले अनुसन्धानमा गरेको कागज ।

      २०६३।११।१३ गते वेलुका अन्दाजी ५ वजे मेरा बाबा अम्मरबहादुर रक्सी खाई आई बाबाले ममीलाई पिर्काले हान्नु भयो । ममीले बाबालाई पहिला घचेट्नु भयो । त्यसपछि बञ्चरो ल्याई बाबाको टाउकोमा हान्नुभयो । बाबाको मृत्यु भईसक्यो भनेपछि बाबालाई नाम्लाले बाँध्नुभयो । मलखादमा लैजाने क्रममा खुट्टा फुकाई दिएको हुँ भन्ने समेतको मृतकका छोरा सागर कार्कीले अनुसन्धानमा गरिदिएको कागज ।

      मृतकको श्रीमती जोककुमारीले पतिले मलाई पिर्काले हान्नु भएकोले मैले बञ्चरोले हानी मारेकी हुँ भनी भनेकीले निज जोककुमारीले नै मारेकोमा विश्वास लाग्छ भन्ने समेतको मुक्तबहादुर खत्री, यमबहादुर खत्री, रत्ना भण्डारी समेतले गरिदिएको वस्तुस्थिति मुचुल्का ।

      The Cause of death is severe head injury भन्ने समेतको शव परीक्षण प्रतिवेदन ।

      मृतकलाई घरायसी  कल झगडाको रिसइवीले जोककुमारी कार्कीले आफ्नो घरभित्र बञ्चरो जस्तो जोखिमी हतियारले टाउको जस्तो संवेदनशील अंगमा प्रहार गरी कर्तव्यबाट मारेकोले ज्यानसम्बन्धीको १ र १३(१) नं बमोजिमको कसूर अपराधमा सोही महलको १३(१) नं अनुसार सजाय गरिपाउँ भन्ने माग दावी लिई अभियोग पत्र दायर भएको रहेछ ।

      अनुसन्धानमा भएको बयान, व्यहोरा र सो मा भएको सहिछाप मेरो हो । मृतक पतिलाई मार्ने नियत नभई एक्कासी रिस उठी बञ्चरोले हान्दा पतिको मृत्यु भएको हो । कानूनले जो ठहर्छ भन्ने समेतको प्रतिवादी जोककुमारी कार्कीले शुरु अदालतमा गरेको वयान ।

      जाहेरीमा भएको व्यहोरा र सहिछाप मेरो हो भनी जाहेरवाला थमनबहादुर कार्कीले र प्रहरीमा भएको कागज मैले भनेबमोजिम लेखिएको हो भनी प्रहरीमा कागज गर्ने सागर कार्की, चन्द्रबहादुर कार्की र रत्ना भण्डारीले शुरु अदालतमा गरेको वकपत्र मिसिल संलग्न रहेछ ।

      प्रतिवादी जोककुमारीले बञ्चरोले अम्बरबहादुरको टाउकोमा हिर्काई मारी मलखादमा लगी गाडेकी हुँ भनी आरोपित कसूरमा सावित भई अनुसन्धान र यस अदालतमा समेत वयान गरेको पाइन्छ । मृतकका जेठो छोरा नावालक सागर कार्कीले मृतक बाबालाई ममीले बञ्चरोले टाउकोमा हानी मारी मलखादमा लगी गाड्नु भएको हो भनी गरी दिएको वकपत्र एवं जोहरवाला थमनबहादुर कार्की र प्रहरीमा कागज गर्ने चन्द्रबहादुर कार्की र रत्ना भण्डारीले यिनै प्रतिवादीले मृतकलाई कर्तव्य गरी मारेको कुरा उल्लेख गरी गरी दिएको वकपत्र समेतबाट प्रतिवादी जोककुमारी कार्कीले आरोपित कसूर गरेको ठहर्छ र निज प्रतिवादीलाई मुलुकी ऐन ज्यान सम्बन्धीको १३(१) नं अनुसार सर्वस्व सहित जन्मकैदको सजाय हुन्छ भन्ने समेत व्यहोराको शुरु वाग्लुङ जिल्ला अदालतको मिति २०६४।३।१८।२ को फैसला ।

प्रतिवादी जोककुमारी कार्कीले मृतक पतिसँग २०२५ सालमा मेरो विवाह भएको हो । विवाहको १३ महिना पछि पति र मेराबीच सम्बन्ध विग्रदै गयो । पतिले रक्सी सेवन गरी घरमा आई कुटपीट गर्ने गर्नु हुन्थ्यो । मैले सम्बन्धविच्छेद् गर्छु भनी गा.वि.स.मा समेत छलफल भएको र गा.वि.स.बाट सम्बन्धविच्छेद् नभएपछि अड्डा अदालतमा मुद्दा दर्ता गर्दछु भन्दा मुद्दा दर्ता गर्न नदिई घरमा वसेकी हुँ । जेठो छोरा वर्ष ८ र कान्छो छोरा वर्ष ५ को छ । छोरा समेतलाई कुटपीट गर्नु हुन्थ्यो भनी वयान गरेकी वारदातको घटना, गवाह प्रतिवादीका जेठा छोरा वर्ष ८ का सागर कार्कीले यस अदालतमा वकपत्र गर्दा बाबाले रक्सी सेवन गरी आई ममीलाई पिर्काले हानेपछि ममीले बाबालाई वञ्चरोले हान्नु भएको हो भनी वकपत्र गरिदिएको देखिन्छ । यसप्रकार प्रतिवादीको मृतकलाई मार्नु पर्ने सम्मको पुर्व रिसईवी नभएको, मृतकले रक्सी सेवन गरी प्रतिवादीलाई कुटपीट गर्ने गरेको कारण सम्बन्धविच्छेद् गर्ने अवस्था सम्ममा पुगेका, उक्त वारदातको दिनमा समेत मृतकले प्रतिवादीलाई पिर्काले हानेको बाट घटना घट्न गएको हुँदा प्रतिवादीलाई कानूनबमोजिम सजाय गर्दा चर्को पर्ने जाने देखिएबाट अ.वं.१८८ नं. बमोजिम १० (दश) वर्ष कैदको सजाय हुनुपर्ने भन्ने समेत वाग्लुङ जिल्ला अदालतको छुट्टै राय । 

      उक्त फैसलामा व्यक्त गरेको रायमा  चित्त वुझेन  । किटानी जाहेरी, लास प्रकृति मुचुल्का, पोष्टमार्टम प्रतिवेदन, प्रतिवादीको साविती वयान एव मार्नमा प्रयोग भएको बञ्चरो नामको हतियार एवं लाश छिपाउन गरेको असफल प्रयास समेतबाट अदालतको सजाय चर्को पर्ने भनाई तथ्य विवरण प्रतिकूल देखिन आएको र प्रतिवादीको खुट्टामा वा शरीरमा कुनै घाउचोट पनि भएको नदेखिदा दोहोरो भिड्न्त वा संघर्ष भएको पनि देखिदैन । माथि उल्लिखित आधारबाट वाग्लुङ जिल्ला अदालतको उक्त फैसला राय व्यक्त गरेको हदसम्म बदर गरी अभियोग माग दावीबमोजिम नै सजाय कायम गरिपाऊँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन सरकारी वकील कार्यालय वाग्लुङले पुनरावेदन अदालतमा पेश गरेको पुनरावेदन पत्र ।

      उक्त फैसलामा चित्त वुझेन । मेरो श्रीमान्ले रक्सी खाई घरमा आई मलाई एकपटक पिर्काले हिर्काई पुनः हिर्काउन लाग्दा मलाई पनि रिस उठी रिस थाम्न नसकी आवेशमा आई आफूलाई नियन्त्रणमा राख्न नसकी बञ्चरो भेट्टाई बञ्चरोको धारले नहानी पासोले प्रहार गर्दा निजको मृत्यु हुन गएको हो । आवेशमा आई रिसको झोकमा रिस थाम्न नसकी हिर्काउदा लाग्न गई मृतक पतिको मृत्यु भएको अवस्थामा ज्यानसम्बन्धी महलको १३(१) नं लगाई सजाय गर्नु न्यायिक मनको अभाव हुँदा एकपक्षीय रुपमा गरिएको फैसला बदर गरी न्याय इन्साफ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी जोककुमारी कार्कीकोतर्फबाट दर्ता हुन आएको पुनरावेदनपत्र ।

      पुनरावेदक प्रतिवादी जोककुमारीलाई ज्यानसम्बन्धी महलको १३(१) नं बमोजिम सर्वस्व सहित जन्मकैदको सजाय हुने ठहराएको शुरु वाग्लुङ जिल्ला अदालतको मिति २०६४।३।१८।२ को फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । पुनरावेदक जोककुमारी कार्कीको पुनरावेदन जिकीर पुग्न सक्दैन । धरेलु हिंसाबाट सताइएकी महिलाको मनोदशा (Bettered Woman Syndrome) लाई विचार गर्दा र प्रतिवादी जोककुमारीको नावालक २ वटा छोराहरू रहेको भन्ने तथ्य समेतलाई विचार गर्दा प्रतिवादी जोककुमारी कार्कीलाई ऐनबमोजिम सजाय दिंदा चर्को पर्ने हामीहरूको चित्तमा लागेको छ । यस परिप्रेक्ष्यमा प्रतिवादी जोककुमारी कार्कीलाई अ.व. १८८ नं बमोजिम १५ वर्ष कैदको सजाय हुनुपर्ने छुट्टै रायसहितको जाहेरी फैसला गरिदिएका छौ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत वाग्लुङको मिति २०६४।९।२३ को फैसला ।

      छोरा सागरको कागज तथा वकपत्रबाट पनि मृतकले पहिला मलाई नै कुटपीट गरेको भन्ने देखिएको छ । कही कतै मैले षड्यन्त्र वा मनशायबाट त्यो घटना घटाएको भन्ने छैन । मैले अनुसन्धान तथा अदालतमा नै सवै कुरा भनेकी नै छु । यस्तोमा मलाई उपरोक्त बमोजिम सजाय गर्न मिल्ने होइन । मैले मृतकलाई प्रहार नगरेको भए मेरो नै ज्यान खतरामा थियो । घटनाको परिस्थितिलाई नै नहेरी केवल एकपक्षीय आरोप लगाई मलाई उल्लिखित सजाय गर्न मिल्ने   होइन । मैले सत्य  तथ्य कुरा भनी अनुसन्धान र न्यायमा सहयोग गरेकोमा र मैले मार्ने उद्देश्य नै नभई मृतक पतिको प्रहारलाई रोक्न खोज्दा तत्काल आवेशमा आई उक्त घटना हुन पुगेकोमा मलाई उल्लिखित सजाय गर्न मिल्ने होइन । मुद्दाको परिस्थितिको समग्र रुपमा व्याख्या नगरी केवल मेरो कार्यलाई मात्र जोड दिई अन्य घटना हुनुका कारणलाई नै वास्ता तथा मूल्याङ्कन नगरी भएको फैसलामा न्यायिक मनको प्रयोग भएको छैन । मैले कुनै षड्यन्त्र मनसायबाट त्यस्तो कार्य गरेकी होइन । अकस्मातको परिस्थितिबाट रिसको आवेश थाम्न नसकी त्यस्तो घटना भएको हो । त्यस्तोमा शुरु बाग्लुङ्ग जिल्ला अदालतबाट भएको सर्वस्वसहित जन्मकैद गर्ने गरी भएको फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालत वाग्लुङको फैसला त्रुटिपूर्ण भै बदर उल्टिभागी छ भन्ने समेत व्यहोराको प्रीतवादी जोगकुमारी कार्कीको मिति २०६५।४।२३ को पुनरावेदन पत्र ।

      नियमबमोजिम इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट विद्वान वैतनिक अधिवक्ता शान्ता सेढाईले पुनरावेदकलाई मृतक पतिले विवाह भएको केही समय पछि देखि नै हररात जस्तो मादक पदार्थ सेवन गरी रातको समयमा कुटपीट गर्दै आएका र वारदात भएको रात पनि मृतकले मादक पदार्थ सेवन गरी रातको समयमा घरमा आई यी पुनरावेदकलाई गालिगलौज गरी पिर्काले हिर्काए पछि घरेलु हिंसाबाट पीडित हुदै आएकी पुनरावेदकले प्रतिकार गर्दै नजिकै वञ्चरो भेटाएकिले मृतकउपर सोही बञ्चरोको घार पट्टिबाट प्रहार नगरी पासोपट्टिबाट प्रहार गर्दा उक्त दुर्धटना हुन गएको हो । घटनाको परिस्थिति, पुनरावेदकका दुई नावालक छोरा समेतलाई विचार गरी शुरु जिल्ला अदालतले १० वर्ष कैदको सजाय गर्ने व्यक्त गरेको राय उपयुक्त हुँदा सोही राय सदर हुनुपर्छ भन्ने समेत व्यहोराका बहस गर्नुभयो ।

      पेश हुन आएको मिसिल कागजात अध्ययन गरी विद्वान वैतनिक अधिवक्ताका बहस समेत सुनी पुनरावेदन अदालतको फैसला मिलेको छ, छैन सोही विषयमा निर्णय दिनु परेको छ ।

      प्रतिवादीको तर्फबाट पुनरावेदन पर्न आएकोले साधक सदरका लागि पेश हुन आएको फौ.सा.नं. ००१८ को मिसिल दायरीको लगतबाट कट्टा गरी मिसिल नियमानुसार वुझाई दिनू ।

      २.    निर्णयतर्फ विचार गर्दा मेरो भाई अम्वरबहादुर कार्कीलाई निजकै श्रीमती जोककुमारी कार्कीले मिति २०६३।११।१३ गते राति टाउकोमा वञ्चरोले हानी मारी मल खादमा गाडेको कुरा मिति २०६३।११।२३ मा मलखादमा लाश फेलापरेकोले थाहा पाएको हुँदा कानूनबमोजिम गरिपाऊँ भनी मृतकका दाजु  थमनबहादुर कार्कीको जाहेरीबाट उठान भएको प्रस्तुत मुद्दामा मृतकलाई घरायसी कल झगडाको रीसइवीले जोककुमारी कार्कीले वञ्चरो जस्तो जोखिमी हतियारले टाउको जस्तो संवेदनशील अंगमा प्रहार गरी कर्तव्यबाट मारेकीले ज्यानसम्बन्धी महलको १ नं को कसूर अपराधमा ऐ १३(१) नं बमोजिम सजाय गरिपाऊँ भन्ने अभियोग दावी रहेकोमा शुरुले प्रतिवादीलाई अभियोग दावीबमोजिम सर्वस्वसहित जन्मकैदको सजाय गरी अ.वं. १८८ नं. बमोजिम १० वर्ष मात्र कैदको सजाय गर्न छुट्टै राय व्यक्त गरेको पाइन्छ । शुरुको फैसलाउपर पुनरावदेन परी पुनरावेदन अदालतबाट शुरु जिल्ला अदालतको फैसला सदर गर्दै अ.व. १८८ नं बमोजिम १५ वर्ष कैदको सजाय हुने राय व्यक्त गरेको पुनरावदेन अदालतको फैसलाउपर प्रस्तुत पुनरावेदन पर्न आएको पाइयो ।

      ३.    यसमा मूलतः विवाह भएपछि मृतक पतिले पिट्ने गरेकाले घरेलु हिंसाबाट पीडित भएकी थिएँ । घटना घटेको दिन पनि रातको समयमा मादकपदार्थ सेवन गरी मलाई पिर्काले हानेको र पुनः हिर्काउन खोज्दा रिसउठी रिस थाम्न नसकी नजिकै रहेको वञ्चरोले प्रहार गर्दा निजको मृत्यु भएको हो । पतिलाई मार्ने मेरो मनसाय नहुँदा ज्यानसम्बन्धी महलको १३(१) नं बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्‍याएको शुरुको फैसला नै कायम हुने ठहर्‍याएको पुनरावेदन अदालतको फैसलाबाट अन्याय परेको हुँदा सो फैसला उल्टी गरी न्याय इन्साफ पाऊँ भन्ने नै पुनरावेदन जिकीर रहेको पाइयो  । प्रतिवादी जोककुमारी कार्कीले आफूले प्रहार गरेको बञ्चरोको चोटबाट मृतक पतिको मृत्यु भएको भनी अनुसन्धानको क्रममा अधिकारप्राप्त अधिकारीसँग व्यक्त गरेको वयानलाई नै समर्थन गर्दै अदालतमा पनि वयान गरेको पाइन्छ । प्रत्यक्षदर्शीको रुपमा रहेका मृतकका नाबालक छोरा सागर कार्कीले आमाले बाबालाई बञ्चरोले टाउकोमा हान्नु भयो । बाबाको मृत्यु भईसक्यो भनेपछि बाबालाई नाम्लाले वाधेर मलखादमा लैजानु भयो भनी अनुसन्धानको क्रममा कागज गरिदिएको र सोही कागजलाई समर्थन गरी अदालतमा समेत वकपत्र गरिदिएको पाइन्छ । यसको अलावा जोककुमारीले आफ्नो श्रीमानलाई कर्तव्य गरी मारेको कुरा स्वीकारेकीले निजले नै मृतकलाई मारेकी हुन् । मार्नेमा अन्य कोही होइनन् भन्ने समेतको भक्तबहादुर कार्की, चन्द्रबहादुर कार्की, वीरबहादुर कार्की, सुरथबहादुर कार्की र रत्ना भण्डारी समेतले अनुसन्धानमा कागज गरिदिएको देखिन्छ । अनुसन्धानमा कागज गरिदिने चन्द्रबहादुर कार्की र रत्ना भण्डारीले अदालतमा समेत उपस्थित भई सो कागजलाई समर्थन गरी वकपत्र गरेको पाइन्छ । प्रतिवादी स्वयंले अनुसन्धानको क्रममा र अदालतमा समेत मृतक पतिबाट आपूm माथि गरिदै आएका घरेलु सिंहका घटना सिलसिलेवार रुपमा वर्णन गरी लेखाएको र वारदात घटेको रात पनि पतिले आपूmमाथि हिसां शुरु गरेकोले प्रतिहिंसामा पतिको मृत्यु भएको हो भनी स्वीकारेको हुँदा निज प्रतिवादीकै कर्तव्यबाट मृतक अम्वर बहादुर कार्कीको मृत्यु भएको पाइयो । निजको मृत्यु गराउने कार्यमा अन्य कसैको सहयोग तथा सहमति रहेको पाइएन।

      ४.    अव पुनरावेदक जोककुमारी कार्कीले मैले मार्ने मनसायबाट मृतक पतिलाई हानेकी होइन । वञ्चरोको धारतर्फबाट पनि हानेकी होइन । रक्सी खाई घरमा आएर पिर्काले हिर्काइ पुनः हिर्काउन लाग्दा रिसउठी रिसको झोकमा आवेशमा आई प्रहार गर्दा उक्त दुःखद घटना हुन पुगेको हुँदा ज्यानसम्बन्धी महलको  १३(१) नं लगाई सजाय गर्दा अन्याय परेकोले सो फैसला बदर गरी न्याय पाऊँ भन्ने पुनरावेदन जिकीर लिएको सन्दर्भमा विचार गर्दा वारदात भएको मिति २०६३।११।१३ को राति मृतकले रक्सी सेवन गरी घर आएर प्रतिवादीलाई पीर्काले हिर्काएको प्रतिकारमा श्रीमतीले दाउराले मृतकको निधारमा हिर्काएपछि पुनः वञ्चरो जस्तो घातक हतियारले शरिरको संवेदनशील अंग टाउकोमा हिर्काएको कारणबाट नै मृत्यु भएको पुष्टि भएको छ । Autopsy Report मा Depressed feature of Rt.temporal bone 10 cm समेतका टाउकोमा घा चोट परेको भन्दै The cause of death is severe head injury भन्ने उल्लेख भएको  पाइन्छ । आफू माथि एकपटक पिर्काले हिर्काउदा प्रतिकारमा यी पुनरावेदक प्रतिवादीले पहिले मृतकलाई दाउराले निधार समेतमा प्रहार गरेको भन्ने देखिन्छ । एक पटक दाउराले प्रतिकार गरिसकेपछि पुनः वञ्चरो जस्तो घातक हतियार लिई शरिरको सवेदनशील अंग टाउकोमा प्रहार गरेको देखिन्छ । वञ्चरोले मान्छेको टाउकोमा प्रहार गर्दा मान्छे मर्न सक्छ भन्ने कुराको ज्ञान यी प्रतिवादीलाई थिएन भनी अनुमान गर्न सक्ने अवस्था देखिदैन । रिसको झोकमा मरोस भनेर नै दाउराले प्रतिकार गरिसके पछि पनि बञ्चरो ल्याई मृतक उपर प्रहार गरेको कुरा सहजै अनुमान गर्न सकिन्छ । पुनरावेदकको नियत सफा थियो, पतिलाई मार्ने मनसाय थिएन, केवल प्रतिकार गर्दा दुर्घटना हुन पुगेको थियो भने वञ्चरोले प्रहार गर्दा पति भूँईमा ढलेपछि छिमेकीहरूसँग हार गुहार मागी पति जीवित छन् की भनी उपचार गर्न तर्फ लाग्नुपर्थ्यो । दुर्घटनाको कारण समाजमा उजागर गर्नुपथ्यो । आँफैले प्रहरीलाई खवर गर्नुपर्थ्यो । यी पुनरावेदकले त्यसो नगरी आफ्नो अपराध लुकाउन पतिको मृत्यु भइसकेपछि एक्लैले नाम्लोले बाँधेर वोकी नजिकैको मलखादमा खाडल खनी लाशलाई दवाए छिपाएको पाइन्छ । मिति २०६३।११।१३ मा भएको वारदात १० दिन पछि मिति २०६३।११।२३ मा दवाएको लाश कुकुरले वाहिर निकालेको अवस्थामा फेला पारी मृतकका दाइ थमनबहादुरले जाहेरी गरेको अवस्था हुँदा ज्यान सम्बन्धीको १३(१) नं वमोजिम सजाय हुने होइन भन्ने पुनरावेदन जिकीर कानूनसम्मत देखिएन ।

      ५.    तसर्थ माथि विवेचित आधार प्रमाणबाट पुनरावेदक प्रतिवादी जोककुमारी कार्कीले आफ्ना पति मृतक अम्वरबहादुर कार्कीको बञ्चरोले प्रहार गरी हत्या गरेको देखिंदा ज्यान सम्बन्धी महलको १३(१) नं बमोजिम सर्वस्व सहित जन्मकैदको सजाय हुने ठहर्‍याएको शुरु वाग्लुङ जिल्ला अदालतको फैसला सदर हुने ठहर्‍याएको पुनरावदेन अदालत वाग्लुङको मिति २०६४।९।२३ को फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ ।

      ६.    अब पुनरावेदन अदालतले अ.व. १८८ नं बमोजिम प्रतिवादी जोगकुमारी कार्कीलाई १५ वर्ष कैदको सजाय हुनुपर्ने भनी व्यक्त गरेको रायको सम्बन्धमा विचार गर्दा प्रतिवादीको मृतक अम्वरबहादुरसँग २०५२ सालमा विवाह भएको र विवाह भएको करिव १ वर्ष देखि नै मृतक पतिले दिनहुँ जसो मादकपदार्थ सेवन गरी प्रतिवादीलाई अपशब्द प्रयोग गरी गालिगलौज गर्ने कुटपीट झै झगडा गरी मानसिक तथा शारीरिक रुपबाट पीडा पुर्‍याउदै आएको भन्ने देखिन आउँछ । प्रतिवादी जोगकुमारीले मृत पतिबाट पाएको शारिरीक एवं मानसिक प्रताडना सहँदै दुईवटा छोरालाई जन्म दिएको देखिन्छ । मृतकले यी प्रतिवादीलाई मात्र नभई नावालक छोराहरूलाई समेत गालि गलौज गर्ने कुटपीट गरी नावालक माथि समेत हिंसा गर्ने गरेको पाइयो । यसरी यी प्रतिवादी जोगकुमारी कार्की लामो समयदेखि आफ्नै लोग्ने मृतक अम्वरबहादुरको घरेलु हिंसाबाट प्रताडित महिलाको मनोदशाको Bettered Women Syndrome स्थिति हुँदै आएको कुरा निज प्रतिवादीले गरेको वयान कागज एवं नावालक छोरा सागर कार्कीको वयान कागजबाट समेत स्पष्ट हुन आएको छ । वारदातको रातमा पनि मृतकले मादक पदार्थ सेवन गरी घर आएको र जोगकुमारीलाई पिर्काले हानेको भन्ने कुरा प्रत्यक्षदर्शी छोरा सागर कार्कीको वकपत्रबाट समेत देखिन आएको छ । यी सवै तथ्यगत परिस्थिति र आफ्नै लोग्नेबाट हुने गरेको घरेलु हिंसाबाट प्रताडित भई घरको पारिवारिक वातावरण नै कलहमय भएको हुँदा आजित अवस्थामा पुगी आफ्नै लोग्नेलाई मार्नु पर्ने अवस्थामा प्रतिवादी जोगकुमारी कार्की पुग्न गएको अवस्था निजको दुई वटा नावालक छोराहरू समेत रहेको, निज नावालकहरूको पालनपोषण रेखदेख सरक्षण  गर्नुपर्ने  तथ्यलाई समेत  विचार गर्दा अ.व. १८८ नं. बमोजिम १० वर्ष कैद हुनु पर्याप्त देखिएकोले प्रतिवादी जोगकुमारी कार्कीलाई १० वर्ष मात्र कैद सजाय हुने ठहर्छ । अन्य कुरामा तपसिल बमोजिम गर्नु ।

 

तपसिल

 

माथि इन्साफ खण्डमा लेखिएबमोजिम प्रतिवादीलाई ज्यानसम्बन्धी महलको १३(१) बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्‍याएको पुनरावेदन अदालत वाग्लुङको फैसला सदर गरी अ.व. १८८ नं बमोजिम १० वर्ष मात्र कैदको सजाय हुने ठहर्‍याई फैसला भएकोले १० वर्ष कैदको लगत कसी प्रतिवादी जोगकुमारी कार्कीबाट कैद सजाय असूल गर्नु भनी शुरुमा लेखी पठाउनू ....१

दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार वुझाई दिनू .....२

 

उक्त रायमा म सहमत छु ।

 

न्या. अवधेशकुमार यादव

 

इति संवत्  २०६६ साल जेठ ६ गते रोज ४ शुभम्

 

इजलास अधिकृत : माधवप्रसाद अधिकारी

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु