शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८२२७ - अंश चलन ।

भाग: ५१ साल: २०६६ महिना: पौस अंक:

निर्णय नं. ८२२७     २०६६ पुस,अङ्क ९

 

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा

माननीय न्यायाधीश श्री प्रकाश वस्ती

संवत् २०६४ सालको दे.पु.नं.०६३CI१२०२

फैसला मितिः २०६६।३।१७।४

 

मुद्दा : अंश चलन ।

 

      पुनरावेदक वादीः काठमाडौं महानगरपालिका वडा नं.५ घर भई हाल ऐ.ऐ.वडा नं.३४ बस्ने      पुष्करप्रसाद वाग्ले

बिरुद्ध

      प्रत्यर्थी प्रतिवादीः ऐ.ऐ.वडा नं.५ बस्ने राधादेवी वाग्ले उपाध्याय समेत

 

§  अंशबण्डाको ३० नं.को प्रयोग र प्रयोजनका लागि विवादको स्वरुप, सम्पत्तिको प्रकृति एवं वादी प्रतिवादीहरूको व्यवहार नै निर्धारक तत्व हुन् । यस कानूनले व्यवहार प्रमाणबाट बण्डा भएको मानिने सुनिश्चित आधार नदिई केवल केही निर्णायक तत्वहरूको परिधि तोकिदिएको छ । यही परिधिको सीमाभित्र रही प्रत्येक मुद्दाको वस्तुस्थिति र सबूद प्रमाणको मूल्याङ्कन गर्दै न्यायकर्ताले एउटा न्यायिक निष्कर्ष निकाल्नु पर्ने ।

§  परिवारको कुनै सदस्य उद्यमशील तथा परिश्रमी र कुनै सदस्य निष्क्रिय तथा उडन्ते भएको अवस्थामा उद्यमशील र परिश्रमी सदस्यको हित संरक्षण गर्दै समाजमा न्यायोचित वातावरणको स्थापना गर्नमा अंशबण्डाको ३० नं. को उद्देश्य परिलक्षित  छ । त्यसबेलाको बण्डा हुनपर्ने सम्पत्तिको न्यायोचित्त विभाजन भएको र यसलाई आफ्नो आचरणद्वारा अहिले अंश माग गर्ने पक्षसमेतले स्वीकारेको देखिनु नै व्यवहार प्रमाणबाट अंशबण्डा भइसकेको न्यायिक निचोड निकाल्न पर्याप्त आधार हुने ।

§  आचरणबाट बण्डा भएको कुरा अंशियारले स्वीकार्ने माध्यम लिखत, आपसी व्यवहार, आपसी कारोवार, अलगअलग वासस्थान र समयको अस्वाभाविक अन्तराल हुन् । यी तत्वमध्ये एक वा एकभन्दा बढी अवस्थाको विद्यमानताले अंशबण्डाको ३० नं.को आवश्यकता पूरा गर्दछ । यस कसीमा जति बढी तत्वलाई प्रमाणले अंगीकार गर्दछ त्यति बढी व्यवहार प्रमाणबाट अंशबण्डा भइसकेको कुरामा अदालत विश्वस्थ हुने ।

(प्रकरण नं. ५)

§  बण्डा भएको भनिएको लिखत कार्यान्वयन भएको रहेनछ भने त्यसले अंशबण्डाको ३० नं. को प्रयोजनका लागि कुनै अर्थ राख्दैन । यदि यो लिखत कार्यान्वयन भएको सबूद प्रमाणले देखाउँछन् र सोअनुसार सम्पत्ति प्राप्त भई आआफ्नो व्यवहार भइआएको छ भने त्यसले निश्चित प्रामाणिक महत्व राख्ने ।

(प्रकरण नं. ६)

§  अ.वं.७८ अन्तर्गत हुने बयानमा कुनै पक्षका विरुद्ध पेश भएको लिखत प्रमाणको हकमा प्रतिक्रियाका साथ माग दावी राख्ने अवसर उक्त पक्षलाई दिइएको हुन्छ । पक्षले माग नै नगरेको कुरामा अदालत प्रवेश नगर्ने ।

(प्रकरण नं. ७)

§  सगोलका जग्गाहरूको दर्ता फुटेको र आफ्नो नाममा नापी दर्ता गराएका जग्गाहरू स्वतन्त्र रुपबाट बिक्री वितरण भोगचलन गरेको समेत तथ्यलाई अंशबण्डाको ३० नं.को प्रयोजनका लागि व्यवहार प्रमाणबाट अलग भिन्न भएको मान्नुपर्ने ।

(प्रकरण नं. ९)

§  लामो समयदेखि आआफ्नो व्यवहार गरी बसी सम्पत्ति भोगचलन गरिआएको स्थितिले बण्डा भएको पुष्टि गरी अंशबण्डाको ३० नं.को आवश्यकता पूरा गर्दछ । सम्पत्ति विभाजनमा नरम गरम मिलेको पाइनु अंशबण्डाको ३० नं.को मूल शर्त हो । नरम गरम कुनै लिखत छ भने सो लिखत भएकै समयको सन्दर्भमा निरुपण गरिनु पर्ने ।

(प्रकरण नं. ११)

 

अवलम्वित नजीरः

§  नेकाप २०३१, निर्णय नं. ८२९, पृष्ठ १६९

§  नेकाप २०३७/८८/१३७५

§  नेकाप २०३८//१४३८

§  नेकाप २०३९/१२/१५८६

§     नेकाप २०३९/२०/१५८१

§     नेकाप २०४०/२३७/वि.५४

§     नेकाप २०४१/४७७/२००५

§     नेकाप २०४२/६४०/२४२२

§     नेकाप २०४५/१०५२/३६१४

§     नेकाप २०४८/६३३/४३८८

§     नेकाप २०४९/७३७/४५९९

§     नेकाप २०५४/१२९/६३२९

सम्बद्ध कानूनः

§     अंशबण्डाको ३० नं.

§     अ.वं.७८, १३९ नं.

§     कीर्ते कागजको १ नं.

 

फैसला

      न्या. प्रकाश वस्तीः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई दायर हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :-

      स्व.पदमनिधिकी पत्नी स्व.होमकुमारीबाट ३ छोराहरूको जायजन्म भएकोमा जेठो स्व.रामप्रसाद, माहिला स्व.कृष्णप्रसाद र कान्छा स्व.विष्णुप्रसाद हुन् । स्व.रामप्रसादका दुई श्रीमतीमा जेठी स्व.गणेशकुमारी र कान्छी प्रतिवादी सीतादेवी हुनुहुन्छ । गणेशकुमारीको तर्फबाट जेठो गोपालप्रसाद र कान्छो प्रतिवादी श्यामप्रसाद हुनुहुन्छ । स्व.गोपालप्रसादकी श्रीमती प्रतिवादी राधादेवीका ४ छोराहरूमा जेठो प्रतिवादी भुपेन्द्रप्रसाद माहिलो प्रतिवादी उपेन्द्रप्रसाद साहिँलो प्रतिवादी नरेन्द्रप्रसाद र कान्छो प्रतिवादी राजेन्द्रप्रसाद र गणेशकुमारीतर्फको कान्छो छोरा श्यामप्रसादकी पत्नी सुशीलादेवीका दुई छोराहरूमा जेठो सुनिलकुमार कान्छो सुमनकुमार छन् । रामप्रसादकी कान्छी पत्नी प्रतिवादी सीतादेवीका तर्फबाट छोराहरूमा जेठो प्रतिवादी लवप्रसाद माहिला प्रतिवादी सुरेन्द्रप्रसाद साहिलो प्रतिवादी मोहनप्रसाद र कान्छो प्रतिवादी रविन्द्रप्रसाद हुन्। स्व.पदमनिधिको माहिलो छोरा स्व.कृष्णप्रसाद, जेठी श्रीमती धेरै पहिला परलोक हुनु भएको हुँदा नाम थाहा भएन । निजकी कान्छी पत्नी सावित्रीदेवी र कृष्णप्रसादकी जेठी पत्नीबाट २ छोरामा जेठो नारायणप्रसाद कान्छो रामजीप्रसाद र कान्छी श्रीमती सावित्रीबाट २ छोराहरूमा जेठो प्रद्युम्नप्रसाद र कान्छो मनप्रसाद हुन् । स्व. कृष्णप्रसाद दाजु रामप्रसाद र भाई विष्णुप्रसादसँग घरसारमा नै २००० सालतिर अंश छुट्याई अलग बस्नु भएकोमा पिता विष्णुप्रसादका दुई श्रीमतीमा जेठी स्व.पार्वतीदेवीको धेरै पहिला नै स्वर्गवास भएको र निजबाट कुनै सन्तान नभएको र पिता विष्णुप्रसादको दोस्रो विवाह प्रेमकुमारीसँग भएकोमा निजबाट मेरो अर्थात् म वादी पुष्करप्रसादको र भाई केशवप्रसादको जायजन्म भएकोमा पिताको हामी नावालक छँदै स्वर्गवास भएको र आमा प्रेमकुमारीको २०३४ सालमा स्वर्गवास भएको हो । विपक्षी प्रतिवादीहरूसँग मेरो पिताको अंश २ भागको १ भाग छुट्याइपाऊँ भनी पटकपटक अनुरोध गर्दा आजभोलि भनी आलटाल गरिआएकोमा मिति २०५९।९।१ मा तिम्रो बाबुको अंश छैन जे गर्न मन लाग्छ गर भनी जवाफ दिएको हुँदा मेरो पिताको २ भागमध्ये १ भाग अंश छुट्याई अड्डैबाट चलनसमेत चलाई दर्तासमेत गराई पाऊँ भन्ने समेत व्यहोराको पुष्करप्रसाद वाग्लेको फिराद दावी ।  

      बाजे पदमनिधि १९७५ सालमा देहावसान भएपछि कान्छा बाजे जीवनाथले आफ्नो बाबु वीरभद्रको पालादेखिको अंशबण्डा गर्नुपर्ने चल अचल श्रीसम्पत्तिमध्ये आफ्नो भागमा पर्ने आधा जग्गा आफ्नो १ भाग परसारी आधा बाजे पदमनिधिको भागमा परेको चल अचल जायजेथा पदमनिधिका ३ छोराहरूमा रोखपोख मिलाई भाग लगाई बुझी लिई दिई उक्त जग्गा नाउँसारी समेत गरी दिई सकेको कुरा विपक्षी फिरादीकी आमा प्रेमकुमारीले मिति २०१५।३।३ मा गरिदिएको दोहरी कागजले प्रष्ट हुन्छ । यसरी एक पटक बाबु बाबुका बीचमा बण्डा भै आफ्नो भाग लिई भोग गरिआएको अवस्थामा विपक्षीले अंश मुद्दा दायर गरी अंश माग गर्दैमा अंशबण्डा हुने होइन । पदमनिधिको अंश भागमा परेका गुण्डुस्थित ११ नं.गुण्डु मौजाका लगतका जगाहरूमध्ये सि.नं.३२ न.नं. १३१३ कि.नं.१ सि.नं.५३ न.नं.१३१४ कि.नं.१ जग्गा र सि.नं.९६ न.नं.११२१ कि.नं.१ समेत कित्ता ३ जग्गा विपक्षीलाई र हाम्रो पिता भ.पु.माल अड्डामा गै मिति २०१६।७।४ मा निवेदन दिई सनाखत गरी दर्ता फोड गर्दा सि.नं.३२ न.नं.१३१३ को कित्ता १ र सि.नं.५३ न.नं.१३१४ को कित्ता १ जग्गा २ कित्ता जग्गा विपक्षीका नाउँमा समेत दर्ता हुने गरी दर्ता फोड भएको थियो । साथै ती जग्गाहरू साविक सि.नं.३२ न.नं.१३१३ र सि.नं.५३ न.नं.१३१४ सँग भिड्ने कुरा सर्भे डोरबाट सनाखत गरी दिँदा साबिक न.नं.लगतको हाल न.नं.७।२१।, ८।२२, ९।२३, १०।४६ कायम भएको कुरा सर्भे डोरबाट सनाखत गरिदिएको थियो । २०२१ सालतिर नापी हुँदा भक्तपुर जिल्ला, गुण्डु गा.वि.स.वडा नं.३(क) २ बाट नक्सा भै क्षेत्रीय किताव तयार हुँदा विपक्षी फिरादीका नाउँमा क्रमशः कि.नं.१९२ को क्षेत्रफल २, कि.नं.१९३ को क्षेत्रफल १, कि.नं.१९७ को क्षेत्रफल २१०, कि.नं.१९८ को क्षेत्रफल ०, कि.नं.२०१ को क्षेत्रफल ०२ समेत ५ कित्ता जग्गा विपक्षी फिरादीका नाउँमा नाप नक्सा भई जग्गाधनी प्रमाण पुर्जासमेत प्राप्त गरिसकेका छन् । हाल उक्त जग्गालाई आफूआफू अंशियार तथा अन्य व्यक्तिहरूलाई बिक्री व्यवहारसमेत गरी सकेपछि आफ्नो पैतृक सम्पत्तिहरूलाई मासी खाई सकेपछि हाल आएर विपक्षीहरूले एकासगोलमा बसी आएको भन्ने कुरा बिलकुल झूठा हो । विपक्षी फिरादीहरू हाम्रा अंशियार होइनन् । त्यसकारणले विपक्षी फिरादीहरूलाई हामीले अंश दिनुपर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी श्यामप्रसाद   वाग्लेभुपेन्द्रप्रसाद वाग्ले, उपेन्द्रप्रसाद वाग्ले, नरेन्द्रप्रसाद वाग्ले, राजेन्द्रप्रसाद वाग्ले र राधादेवी वाग्लेको संयुक्त प्रतिउत्तर जिकीर ।

      हामीहरूको पैतृक थलो भक्तपुर गुण्डु गा.वि.स.हो । २००७ सालमा हाम्रा पिता तथा पतिको देहावसान भयो । हाम्रो परिवार ठूलो भएको हुँदा हामीहरूलाई दाजुहरूले पढाई लेखाई आफ्नो खुट्टामा आफैं उभिन सक्ने भएपछि दाजुहरूले आफ्नो नाउँमा दर्ता तिरो रहेको घरजग्गा आफू तथा हामी ७ जना अंशियार सबैलाई बराबर गरी बाँडी मिति २०४०।३।२० मा र.नं.१११९५ को लिखत मार्फत् अंशबण्डा गरिदिनु भएको हो, जुन जग्गा हाम्रो पैतृक जग्गा होइन, हाम्रो पैतृक जग्गा भक्तपुर जिल्ला गुण्डु गा.वि.स.वडा नं.३(क) २ स्थित कि.नं.१९४, १९५, १९६ र २७१ का जग्गाहरू पिताजीकै नाउँमा यथावत् कायम छ । निज वादीहरूलाई हामीले अंश दिनुपर्ने होइन । तसर्थ वादी दावी खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीहरू सीतादेवी वाग्लेसमेत जना ५ को संयुक्त प्रतिउत्तर जिकीर ।

      वादीका बाजेका ३ छोरामा कान्छो छोरा विष्णुप्रसादका २ छोरामा वादी पुष्करप्रसाद हुन् । विष्णुप्रसाद र निजको दाजु रामप्रसादबीच अंशबण्डा भएको छैन । वादीले अंश पाउनु पर्ने हो भन्ने समेत व्यहोराको वादीका साक्षी वलनाथ आचार्यले गरेको बकपत्र ।

      वादी प्रतिवादीहरूबीच आआफ्नो भाग जग्गा दर्ता तिरो आदि विधि व्यवहार गरी बिक्रीसमेत गरिसकेका छन् । यसैले प्रतिवादीहरूबाट वादीले अंश पाउने होइन भन्ने समेत व्यहोराको प्रतिवादीका साक्षी हरीराम दाहालले गरेको बकपत्र । 

      मिति २०१५।३।३ को मञ्जूरनामाको लिखत प्रतिवादीहरूले मिलोमतो गरी कीर्ते लिखत गरी प्रमाण स्वरुप पेश गरेको कागज हो । उक्त मञ्जूरनामाको कागज कीर्ते हो भनी वादीका वारेस महादेव पण्डितले गरेको अ.वं.७८ नं.बमोजिमको बयान ।

      मिति २०१५।३।३ गतेको मञ्जूरनामाको लिखत सद्दे साँचो हो, कीर्ते होइन भन्ने समेत व्यहोराको प्रतिवादीका वारेस केशवप्रसाद पौडेलले गरेको सनाखत बयान ।

      म वादी पुष्करप्रसादको भाइ हुँ । मैले पनि अंश पाउनु पर्ने हो । मैले अंश लिएको छैन । यी वादीले १ भाग अंश पाए भने मैले पनि १ भाग अंश पाउनु पर्छ भन्ने समेत व्यहोराको अ.वं.१३९ नं.बमोजिम बुझिएका व्यक्ति केशवप्रसाद वाग्लेले अदालतमा गरेको बयान ।

      बण्डा भएको छैन भन्ने फिराद दावी पुग्ने देखिएन । साथै मिति २०१५।३।३ मा यी वादीकी आमाले गरेको भनेको कागज कीर्ते भनी ठहर गर्न अन्य मिसिल संलग्न कागजबाट समेत ठहर हुन सक्दैन भन्ने काठमाडौं जिल्ला अदालतको मिति २०६०।८।२४ को फैसला ।

      शुरु इन्साफमा चित्त बुझेन । प्रस्तुत मुद्दामा ठहर गर्नुपर्ने विवादको विषय नै पैतृक घरजग्गामा अंश हक ठहर गर्नुपर्नेमा सो तर्फ कुनै अन्वेषण नगरी तायदातीसमेत नलिई वादी दावीको विषय नै नरहेको गुण्डुको जग्गासम्बन्धी प्रश्नलाई अगाडि सारी विवादको मूल विषयमा प्रवेशै नगरी अ.वं.१८४क, १८५, १८९ नं., अंशबण्डाको १ नं., प्रमाण ऐन, २०३१ को दफा ६(क), ५४ समेतको प्रतिबन्धात्मक वाक्याँश तथा प्रतिपादित सिद्धान्त विपरीत भएको शुरु फैसला बदर गरी मेरो फिराद दावीअनुसार पैतृक घरजग्गाको प्रतिवादीहरूबाट तायदाती लिई दुई भागको एक भाग अंश छुट्याई नामसारी दर्तासमेत गराई अड्डैबाट चलन पाऊँ भन्ने वादीको पुनरावेदन जिकीर ।

      वादी प्रतिवादीबीच सम्पूर्ण पैतृक सम्पत्ति घरसारमा बराबर किसिमले बण्डा गरेको भन्ने आधिकारिक सबूद प्रमाणको अभावमा वादी दावी पुग्न नसक्ने ठहर्‍याएको शुरु फैसला प्रमाण मूल्याङ्कनको परिप्रेक्ष्यमा फरक पर्न सक्ने हुँदा छलफलको लागि अ.वं.२०२ नं. बमोजिम प्रत्यर्थी झिकाई पेश गर्नु भन्ने पुनरावेदन अदालत पाटनको आदेश ।

      पदमनिधिका ३ छोरामध्ये स्व.कृष्णप्रसादले वि.सं. २००० मा नै बण्डा लिई छुट्टी भिन्न भएको भनी वादी आफैंले फिरादपत्रमा उल्लेख गरेको पाइयो । २०१५।३।३ मा वादीकी आमा प्रेमकुमारीले गरिदिएको कागजमा पनि अंशियारको विवाह खर्च सम्बन्धमा उल्लेख भएको देखिएकोमा वादीले सो कागजलाई जालसाजी भनी अ.वं.७८ नं.अनुसार बयान गरे पनि सो लिखतमा वादीका बाबुसमेत रोहवरमा बसेको अवस्थाका साथै सो कागजलाई जालसाजी भनी वादीले पुष्टि गर्नसकेको नपाईंदा उक्त लिखत जालसाजी हो भन्ने वादीको कथनसँग सहमत हुन सकिएन । अंशियारमध्येको व्यक्तिलाई विवाह खर्च पर सार्नुले पनि वादी प्रतिवादीका पूर्खाबीच छुट्टी भिन्न भएको हुन सक्नेतर्फ संकेत गरेको देखिन्छ । अर्कोतर्फ प्रतिवादीहरू बीच २०४० सालमा भएको बण्डापत्रले वादीको हकमा समेत असर पर्नेमा सगोलमा रहेको भन्ने जिकीर लिने वादीले सो बण्डापत्र भए गरेको थाहा छैन भन्ने जिकीर लिए पनि सो थाहा जानकारी हुन नसकेको वस्तुनिष्ठ आधार प्रस्तुत गर्नसकेको पाइँदैन । सर्भे नापीमा वादीसमेतका नाममा जग्गा दर्ता गरिनुका अतिरिक्त वादी प्रतिवादीले समय समयमा आआफ्नो नाममा दर्ता रहेको जग्गा रजिष्ट्रेशन गरी बिक्री व्यवहार गरेबाट पनि यी वादी प्रतिवादीका पिताहरू सगोलकै रहेछन् भनी मान्न मिलेन । अंशबण्डाको ३० नं.को कानूनी व्यवस्था अनुसार मिति २०३४।९।२७ अघिको घरसारको अंशबण्डाले पनि कानूनी मान्यता पाउने र उक्त मिति अघि छुट्टि भिन्न भएकोमा बण्डापत्रको कागज नभए पनि व्यवहार प्रमाणबाट छुट्टी भिन्न भएको देखिएमा बण्डा भएको मान्नु पर्ने भएकोले बण्डापत्रको विधिवत् कागज नभएकोले वादी प्रतिवादीबीच अंशबण्डा भएको छैन भन्ने वादीको दावी र पुनरावेदन जिकीरसँग सहमत हुन सकिएन । अतः मिति २०३४।९।२७ को अंशबण्डाको महलको ३० नं.को कानूनी व्यवस्था लागू हुनु पूर्व नै यी वादी र प्रतिवादीका पिताहरूबीच व्यवहार प्रमाणबाट अंश भइसकेको देखिँदा सो अंशबण्डाको ३० नं.को कानूनी व्यवस्था आकर्षित हुन नसक्ने भन्ने वादीको पुनरावेदन जिकीरसँग सहमत हुन सकिएन । तसर्थ पिता विष्णुप्रसादको भागबाट २ भागको १ भाग अंश छुट्याई चलनसमेत पाऊँ भन्ने वादी दावी पुग्न नसक्ने ठहर्‍याएको काठमाडौं जिल्ला अदालतको मिति २०६०।८।२४ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत पाटनको मिति २०६२।१।२० को फैसला ।

      पैतृक घरजग्गा अंशबण्डा नभएकोले बण्डा गरिपाऊँ भन्ने मेरो फिराद दावी भएको र हाँडीगाउँको पुख्र्यौली घरजग्गा प्रतिवादीहरूले एकलौटी रुपमा भोगचलन गरिआएको भनी स्वीकार गरेको अवस्थामा पैतृक सम्पत्ति बण्डा गर्न बाँकी नै रहेको भन्ने देखिँदादेखिँदै त्यसतर्फ विचारै नगरी वादी दावी पुग्न नसक्ने ठहर्‍याएको शुरु फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसलामा अंशबण्डाको ३० नं., अ.वं.१८४(क), १८५, १८९ नं. तथा प्रमाण ऐन, २०३१ को दफा ५४ समतेको व्याख्यात्मक त्रुटि विद्यमान भएकोले मुद्दा दोहोर्‍याई हेरिपाऊँ भन्ने समेत व्यहोराको वादीको यस अदालतमा परेको निवेदनपत्र ।

      काठमाडौं जिल्ला अदालत र पुनरावेदन अदालत पाटनबाट फैसला गर्दा निवेदक वादीकी आमा प्रेमकुमारी उपाध्यायले मिति २०१५।३।१ मा विपक्षी प्रतिवादीका पिता र ससुरा रामप्रसाद उपाध्यायलाई गरिदिएको भरपाईलाई मूल प्रमाणको रुपमा ग्रहण गरेको देखिन्छ । यदि वादी प्रतिवादीबीच २०१५ सालमा नै छुट्टि भिन्न भइसकेका भए मिति २०१६।१२।२ को सर्भे डोरबाट कि.नं.२१ सि.नं.७, कि.नं.२२ सि.नं.८, कि.नं.२३ सि.नं.९, कि.नं.४६ सि.नं.१० को जग्गाका हकदार रामप्रसाद पाध्या र पुष्कर पाध्या का.ई.हाँडीगाउँ भनी संयुक्त दर्ता रहेको पुर्जा दिनुपर्ने कुनै प्रयोजन नदेखिँदा अंश पाऊँ भन्ने वादी दावी पुग्न नसक्ने भनी काठमाडौं जिल्ला अदालतले गरेको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ६(क), ५४, अंशबण्डाको ३० नं. र अ.वं.१८४(क) नं.को व्याख्यात्मक त्रुटि देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने यस अदालतको मिति २०६४।२।३० को आदेश ।

      नियमबमोजिम दैनिक मुद्दा पेसी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दाको पुनरावेदनसहितको सम्पूर्ण मिसिल अध्ययन  गरियो ।

      पुनरावेदक वादीका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री कमलनारायण दास तथा विद्वान् अधिवक्ता श्री सतिश झाले पैतृक घरजग्गा अंशबण्डा भएको छैन । हाडीगाउँको पुख्र्यौली घरजग्गा प्रत्यर्थीहरूले एकलौटी भोग गरिआएको देखिएको अवस्थामा समेत पहिले नै अंशबण्डा भइसकेको भन्ने ठहर्‍याएको शुरु फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण छ भनी बहस गर्नुभयो । प्रत्यर्थी प्रतिवादीका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री श्यामप्रसाद खरेल तथा विद्वान् अधिवक्ता श्री प्रभात अधिकारीले २०१५ सालको लिखतलाई वादीले कीर्ते भने पनि प्रमाणित गराउन सकेको अवस्था छैन । गुण्डुको जग्गाको दर्ता फुटेको छ, अलगअलग नापी दर्ता भएको छ । अंशबण्डाको ३० नं.को प्रयोजनका लागि यो भन्दा राम्रो प्रमाण हुन सक्तैन । तसर्थ पुनरावेदन अदालत पाटनको फैसला सदर हुनुपर्छ भनी बहस गर्नुभयो ।

      उल्लिखित बहससमेत सुनी पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ छैन भन्ने विषयमा निर्णय दिनु परेको छ ।

      २.    निर्णयतर्फ विचार गर्दा, अंशबण्डाको ३० नं.को परिप्रेक्ष्यमा व्यवहार प्रमाणबाट वादी प्रतिवादीबीच बण्डा भइसकेको हो होइन भन्ने नै यस मुद्दामा निर्णायक प्रश्न रहेको पाइयो । बण्डापत्र पारित नै हुनुपर्ने अन्यथा घरायसी लिखत दर्ता किनबेचसमेतका जे जस्तासुकै व्यवहार प्रमाणले बण्डा भइसकेको देखिए पनि बण्डा नभएको मानिने अंशबण्डाको साबिक ३० नं. र सोको नेकाप २०३१ पृष्ठ संख्या १६९ निर्णय नम्बर ८२९ ले उब्जाएको असमाञ्जस्यतालाई निराकरण गर्न मिति २०३४।९।२७ को मुलुकी ऐन सातौँ संशोधनद्वारा अंशबण्डाको ३० नं.लाई संशोधन गरी हालको कानूनी स्वरुप दिइयो । संशोधित यस कानूनले संशोधन अघिका हकमा व्यवहार प्रमाणद्वारा बण्डा भएको देखिए सोलाई पनि स्वीकार गर्ने मान्यता स्थापित ग¥यो । व्यवहार प्रमाणको निर्क्योल गर्न सम्पत्ति विभाजनमा नरम गरम मिलेको, आफ्नो भाग लिई दाखिल खारेज गरेको, आफ्नो भागको सम्पत्ति भोग बिक्री व्यवहार गरेको जस्ता तत्वलाई मापदण्ड मानियो ।

      ३.    उपरोक्त अंशबण्डाको संशोधित ३० नं.लाई आधार मानी यस अदालतले आफ्ना विभिन्न निर्णयहरूमा विभिन्न अवस्थालाई व्यवहार प्रमाणबाट अंशबण्डा भएको मानेको  छ । यस्ता नीति निर्देशक नजीरहरूमध्ये अलगअलग दर्ता तथा सोअनुसारको भोग गरेको (नेकाप २०३७/८८/१३७५), अलगअलग भोग बिक्री भएको (नेकाप २०३९/१२/१५८६), वारेसनामा दिँदा भिन्न भएको जनिएको (नेकाप २०३८//१४३८), आफ्नो नाममा नामसारी गराएको (नेकाप २०३९/२०/१५८१) आपसमा विभिन्न लिखत भएको (नेकाप २०४०/२३७/वि.५४), घरसारको लिखतअनुसारको सम्पत्ति आआफ्नो किसिमबाट धितोबन्धक राखी व्यवहार गरेको (नेकाप २०४१/४७७/२००५), ७ नं.फाँटवारी अलगअलग भरी बिक्री व्यवहार आआफ्नो तरिकाले गरेको नेकाप २०४२/६४०/२४२२), आपसमै लेनदेन कारोवार भएको (नेकाप २०४५/१०५२/३६१४) पारित राजीनामामा भिन्न भएको जनिएको (नेकाप २०५४/१२९/६३२९), अंशियार  आआफैं बीच बिक्री व्यवहार भएको (नेकाप २०४८/६३३/४३८८) र अंशियार आफैं बीच लेनदन भई मुद्दासमेत परेको (नेकाप २०४९/७३७/४५९९) भन्ने आधारलाई केही प्रतिनिधिमूलक मान्यताका रुपमा औंल्याउन सकिन्छ ।

      ४.    तर, माथि उल्लिखित आधार व्यवहार प्रमाणबाट बण्डा भएकै मानिने एक मात्र निरपेक्ष आधार भने होइनन् । प्रत्येक अंश मुद्दाका आआफ्ना प्रकृति हुन्छन् र तिनमा तथ्यको आफ्नै सृंखला हुन्छ । मुद्दाको तथ्य र प्रमाणभित्र प्रवेश गरेर १ र ७ नं.फाँटवारी अलगअलग भर्दैमा बण्डा भएको नमानिने भनी नेकाप २०६०/९३/७१७२ मा, लिखत भए पनि बण्डा भइसकेको तथ्ययुक्त आधार सबूद प्रमाणको अभाव भनी बण्डा भएको नमानिने भनी नेकाप २०४१/५४५/२०२८ मा र बेगल भोगकै आधारमा बण्डा भइसकेको मान्न नमिल्ने भनी नेकाप २०४४/१२२०/३२८५ मा यसै अदालतले आफ्नो निर्णय पनि दिएको छ ।

      ५.    वास्तवमा अंशबण्डाको ३० नं.को प्रयोग र प्रयोजनका लागि विवादको स्वरुप, सम्पत्तिको प्रकृति एवं वादी प्रतिवादीहरूको व्यवहार नै निर्धारक तत्व हुन् । यस कानूनले व्यवहार प्रमाणबाट बण्डा भएको मानिने सुनिश्चित आधार नदिई केवल केही निर्णायक तत्वहरूको परिधि तोकिदिएको छ । यही परिधिको सीमाभित्र रही प्रत्येक मुद्दाको वस्तुस्थिति र सबूद प्रमाणको मूल्याङ्कन गर्दै न्यायकर्ताले एउटा न्यायिक निष्कर्ष निकाल्नु पर्ने हुन्छ । अंशबण्डाको ३० नं.को संशोधनको ऐतिहासिकता केलाउने हो भने यो पारिवारिक व्यवहारको संरक्षणतर्फ केन्द्रित छ । परिवारको कुनै सदस्य उद्यमशील तथा परिश्रमी र कुनै सदस्य निष्क्रिय तथा उडन्ते भएको अवस्थामा उद्यमशील र परिश्रमी सदस्यको हित संरक्षण गर्दै समाजमा न्यायोचित वातावरणको स्थापना गर्नमा अंशबण्डाको ३० नं. को उद्देश्य परिलक्षित छ । त्यसबेलाको बण्डा हुनपर्ने सम्पत्तिको न्यायोचित्त विभाजन भएको र यसलाई आफ्नो आचरणद्वारा अहिले अंश माग गर्ने पक्षसमेतले स्वीकारेको देखिनु नै व्यवहार प्रमाणबाट अंशबण्डा भइसकेको न्यायिक निचोड निकाल्ने पर्याप्त आधार हो । आचरणबाट बण्डा भएको कुरा अंशियारले स्वीकार्ने माध्यम लिखत, आपसी व्यवहार, आपसी कारोवार, अलगअलग वासस्थान र समयको अस्वाभाविक अन्तराल हुन। यी तत्वमध्ये एक वा एकभन्दा बढी अवस्थाको विद्यमानताले अंशबण्डाको ३० नं.को आवश्यकता पूरा गर्दछ । यस कसीमा जति बढी तत्वलाई प्रमाणले अंगीकार गर्दछ त्यति बढी व्यवहार प्रमाणबाट अंशबण्डा भइसकेको कुरामा विश्वस्थ हुन अदालत सक्षम हुन पुग्दछ ।

      ६.    उपरोक्त कसीमा प्रस्तुत विवादलाई अध्ययन गर्दा व्यवहार प्रमाणबाट अंशबण्डा भइसकेको भनी यहाँ मिति २०१५।३।३ को एउटा लिखत प्रतिवादी पक्षबाट पेश भएको  छ । त्यसैले सर्वप्रथम २०१५ सालको लिखत सद्दे साँचो हो होइन भन्ने विषयमा निरुपण गरिनु पर्दछ । यदि यो लिखत प्रमाणयोग्य हो भने सो लिखत कार्यान्वयन भयो भएन हेरिनुपर्ने दोस्रो पक्ष हो । बण्डा भएको भनिएको लिखत कार्यान्वयन भएको रहेनछ भने त्यसले अंशबण्डाको ३० नं.को प्रयोजनका लागि कुनै अर्थ राख्दैन । यदि यो लिखत कार्यान्वयन भएको सबूद प्रमाणले देखाउँछन् र सोअनुसार सम्पत्ति प्राप्त भई आआफ्नो व्यवहार भइआएको छ भने त्यसले निश्चित प्रामाणिक महत्व राख्दछ । यस परिप्रेक्ष्यमा प्रतिवादी पक्षले बण्डा भइसकेको प्रमाणका रुपमा पेश गरेको सो लिखत अध्ययन गर्दा वादीकी आमा प्रेमकुमारीले मिति २०१५।३।३ मा मञ्जूरनामाको लिखत गरिदिएको देखिन्छ । यसमा ससुरा पदमनिधि ७५ सालमा परलोक भएपछि ७७ सालमा कान्छा ससुरा जीवनाथ उपाध्याय वाग्लेले बूढा ससुराका पालादेखिको अंशबण्डा गर्नुपर्ने चल अचल श्रीसम्पत्तिमा आधा कान्छा ससुरा जीवनाथको भाग पर सारी आधा ससुरा पदमनिधिको भागको श्रीसम्पत्ति जायजेथा जेठा जेठाजु रामप्रसाद, कृष्णप्रसाद र लोग्ने विष्णुप्रसादसमेत तीन जनालाई चल सम्पत्तिमा रोखपोख मिलाई जो भएको भाँडा वर्तन जति तीन बण्डा गरी आफ्नो आफ्नो भाग बुझिलिएपछि अचलको आफ्नो पुरानो वासस्थल भएको गुण्डुको घरजग्गामा जग्गा जति तीन वण्डा भई आफ्नोआफ्नो भागको जग्गाको आफूआफूले आफ्नो अंशका जग्गाको आयस्ता लिने खाने गरिआएको व्यहोरा उल्लेख छ । साथै नामसारीसमेत गरी दिइसकेकोले सोबाहेकको घरको हकमा पनि निजहरूले घरको मोल रुपैयाँ नै बुझिलिएको भन्दै वादीकी आमाले मेरा भागको घरको मोल मो.रु.एकहजार रुपैयाँ आएकोमा पनि मेरो छोरी शारदादेवीको विवाह गर्न खर्च भएको मो.रु.१३००।रुपैयाँमा सो घरको आएको मोलको मो.रु.१०००।रुपैयाँ मात्र मैले पाई जेठाजुलाई कट्टा गरी सोधभर्ना मिलाई दिई बाँकी मो.रु.३०० बुझाउन नसकेकोमा तपाईंसँग माफी माग्दा तपाईं जेठाजु रामप्रसाद पाध्याले माफी दिनु भएको र अरु बण्डापत्रको चलको भाँडा वर्तनसमेत जो भएको मालसामान म विधवा बुहारी र नावालक भतिजा भएबाट तपाईंकै जिम्मामा राखी तपाईंकै रेखदेखमा बसी जीवन निर्वाह गरी आएकोमा तपाईं जेठाजुको पनि दुई गुणतर्फको जहान छोराहरू सगोलमा बस्न मञ्जूर नगरेबाट अंशवण्डा गर्नुपरेकोले तिमी बुहारीले मसँग नासो राखेको चलको मालसामान भाँडावर्तन तिमी बुहारीले बुझी लिनु मेरो जो भएको श्रीसम्पत्ति मेरा छोराहरूमा बण्डा गरी दिन्छु भनी तपाईं जेठाजु रामप्रसादले मलाई भन्नु हुँदा मेरो चित्त बुझ्यो भनी लेखिएको पाइन्छ । यस लिखतमा हाम्रो अंशबण्डा अघि मेरो विवाह नहुँदै ७७ सालमै अंशबण्डा भै आफ्नोआफ्नो भागको चल अचलको सम्पत्ति बण्डा गरी जग्गाको आयस्ता खाइआएकै र घरको मोल लिई छोरीको विवाहमा खर्चसमेत गरी सकेको र अरु चलको धनमालका हकमा मेरा नासो रहेको जति छुट्याई अरु मेरो हक भोग नलाग्ने तपाईंको श्रीसम्पत्ति चल अचल तपाईंको दुई गुणका छोराहरूमा बण्डा गरी दिनुभएमा मेरो मञ्जूर छ भनी लेखिएको पनि छ । यसमा मैले दावी गरी बखेडाको उजूर गरे यसै मञ्जूरनामाको कागजले बदर गरिदिनू मेरो नासो राखेका मालसामान मैले खोज्न आएका बखतमा मलाई बुझाइदिनु होला भनी मेरा मनोमान खुसीराजीसँग मञ्जूरनामाको कागज लेखी तपाईं जेठाजु रामप्रसाद पाध्यालाई दिएँ भन्ने व्यहोरा उक्त कागजमा उल्लेख भएको छ ।

      ७.    मिति २०१५।३।३ को उक्त लिखतलाई वादीले कीर्ते भनी बयान गरेको भए तापनि कीर्ते हो भन्ने सम्बन्धमा वादीले सद्दे कीर्तेतर्फ अ.वं.७८ नं. अन्तर्गत गरिएको बयानमा के कुन रुपमा कीर्ते भयो सो भन्न र सोका सम्बन्धमा ठोस सबूद प्रमाण पेश दाखिल गर्नसकेको पाइँदैन । वादीबाट जालसाजी भन्न नसकिएको यो लिखतलाई कीर्ते नामाकरण गरिएबाट कीर्ते कागजको १ नं.को कुन तत्वका कारणबाट यो कीर्ते हो भनी वादीले सो  अ.वं.७८ नं. बमोजिम गराइएको बयानमा केही खोल्न सकेको पाइँदैन । कीर्ते र जालसाजीका आधारभूत अन्तरका सन्दर्भमा यस लिखतलाई कीर्ते मान्न नसकिएपछि यसलाई सद्दे लिखतकै रुपमा ग्रहण गर्नुपर्ने भयो । अ.वं.७८ नं. अन्तर्गत हुने बयानमा कुनै पक्षका विरुद्ध पेश भएको लिखत प्रमाणको हकमा प्रतिक्रियाका साथ माग दावी राख्ने अवसर उक्त पक्षलाई दिइएको हुन्छ । पक्षले माग नै नगरेको कुरामा अदालत प्रवेश   गर्दैन् । यस लिखतलाई जालसाजी नभनिएबाट सो पक्षतर्फ अदालतले प्रवेश गर्न न्यायसंगत हुँदैन । तसर्थ कीर्ते कागजको १ नं.मा वर्णित तत्वहरू विद्यमान नरहेको यस लिखतको प्रामाणिकतामा अविश्वास गर्नु न्यायोचित हुँदैन ।

      ८.    उक्त लिखतको व्यहोराबाट पदमनिधिका भागको श्रीसम्पत्ति जायजेथासमेत रामप्रसाद, कृष्णप्रसाद र वादीका पिता विष्णुप्रसादका बीच १९७७ सालमा बण्डा भइसकेको भन्ने देखिन्छ । सोअनुसार उक्त लिखतअनुरूपको व्यवहार भई सो लिखत कार्यान्वयन भएको छ छैन भन्नेतर्फ हेर्दा, साबिक रैकरतर्फको ११ नं.गुण्डु मौजाको लगत उतारमा सि.नं.३२ न.नं.१३१३ र सि.नं.५३ न.नं.१३१४ का जग्गा जीवनाथ पाध्या, रामप्रसाद पाध्या र पुष्कर पाध्याको संयुक्त नाममा रहेको देखिन्छ । सो सि.नं.३२ न.नं.१३१३ र सि.नं.५३ न.नं.१३१४ का जग्गा रामप्रसाद पाध्या र यी वादी पुष्कर पाध्याको नाममा अलगअलग दर्ता हुने गरी दर्ता फोड भएको भक्तपुर माल अड्डाको रसीदको प्रतिलिपिबाट देखिएको छ । सो जग्गाहरू भ.पु.सर्भे डोर नं.२ बाट सर्भे हुँदा मिति २०१६।१२।२।३ मा रैतीलाई दिइएको पूर्जामा रामप्रसाद पाध्या र वादी पुष्कर पाध्याको नाम उल्लेख गरी कि.नं.२१ सि.नं.७ क्षेत्रफल २ रोपनी १० पैसा, कि.नं.२२ सि.नं.८ क्षेत्रफल १ रोपनी १५ आना १ पैसा, कि.नं.२३ सि.नं.९ क्षेत्रफल २ रोपनी ९ आना र कि.नं.४६ सि.नं.१० क्षेत्रफल १३ आना कायम भएको देखिन्छ । पछि सो जग्गा नयाँ नापी हुँदा गुण्डु गा.वि.स.वडा नं.३क बाट कि.नं.१९२, १९३, १९७, १९८ र २०१ कायम भै उल्लिखित ११ नं.गुण्डुको साबिक लगतबाट भिड्ने भनी वादी पुष्कर उपाध्याय वाग्लेका नाममा नापी दर्ता भएको देखिन्छ । त्यस्तै कि.नं.१९४, १९५ र १९६ का जग्गा प्रतिवादीहरूका बाबु रामप्रसाद वाग्लेका नाउँमा नापी दर्ता हुँदा कि.नं.१९४ को जग्गा ११ नं.गुण्डु सा.न.नं.१३१३, १३१४ समेतबाट भिडी दर्ता भएको भन्ने उल्लेख भई अलगअलग नापी दर्ता भएको देखिन्छ । यसबाट वादीका जेठा, माहिला र निजकै बाबुसमेतका बीच अंशबण्डा भइसकेको भन्ने मिति २०१५।३।३ को उक्त लिखतमा उल्लिखित व्यहोरा कार्यान्वयन भएको देखिन आएको छ ।

      ९.    उल्लिखित जग्गामध्ये कि.नं.१९७, १९३ तथा १९२ का जग्गाहरू वादी पुष्करप्रसाद वाग्लेले अन्य व्यक्तिहरूलाई हक हस्तान्तरणसमेत गरेको देखिन्छ । यसै गरी प्रतिवादी पक्षले पनि सम्पत्ति हस्तान्तरण गरेका कागजात मिसिल संलग्न छन् । यी दुबै पक्षका व्यवहार स्वतन्त्र रुपले भइआएका छन् । एउटा पक्षको व्यवहारमा अर्को पक्षले न कहिल्यै अवरोध गरेको छ, न चुनौती दिएको छ न त सहमतिको आवश्यकता महसूस नै गरिएको छ । यसरी सगोलका जग्गाहरूको दर्ता फुटेको र वादीले आफ्नो नाममा नापी दर्ता गराएका जग्गाहरू स्वतन्त्र रुपबाट बिक्री वितरण भोगचलन गरेको समेत तथ्यलाई अंशबण्डाको ३० नं.को प्रयोजनका लागि व्यवहार प्रमाणबाट अलग भिन्न भएको मान्नुपर्ने नै हुन्छ ।

      १०.    फिराद गर्दा ५७ वर्षका देखिएका फिरादीले आफ्नो फिरादमा आफू नावालक छँदै पिता परलोक हुनु भएको र आमाको २०३४ सालमा परलोक भएको भनी मिति २०५९।९।४ मा प्रस्तुत अंश मुद्दा दायर गर्नुभएको छ । अंशबण्डामा कुनै हदम्यादको व्यवस्था नभए तापनि समयको यो लामो अन्तरालले बण्डा भई आआफ्नो व्यवहार सञ्चालित भइआएको कुरालाई इंगित गर्दछ । वादीकै भाइ केशवप्रसादका तर्फबाट अंश माग भएको छैन । अ.वं.१३९ नं.बमोजिम पेटबोलीबाट बुझिँदा, “यी वादीले एक भाग अंश पाए भने मैले पनि एक भाग पाउनु पर्छभनी अनिश्चयात्मक अभिव्यक्ति दिएको पाइन्छ । वादी सरहकै हैसियत राख्ने निजका भाइलाई अंशबण्डा नभएको र अंश पाउनु पर्ने भन्ने कुरामा विश्वास नभएको निजकै अभिव्यक्तिले देखाएको छ ।

      ११.    लामो समयदेखि आआफ्नो व्यवहार गरी बसी सम्पत्ति भोगचलन गरिआएको स्थितिले बण्डा भएको पुष्टि गरी अंशबण्डाको ३० नं.को आवश्यकता पूरा गर्दछ । सम्पत्ति विभाजनमा नरम गरम मिलेको पाइनु अंशबण्डाको ३० नं.को मूल शर्त हो । नरम गरम कुनै लिखत छ भने सो लिखत भएकै समयको सन्दर्भमा निरुपण गरिनु पर्दछ । प्रस्तुत विवादमा २०१५ सालमा वादी प्रतिवादीको पारिवारिक सम्पत्ति र तिनको सोही बेलाको मूल्याङ्कनका आधारमा न्यायिक निष्कर्ष निकाल्नु पर्दछ । सो अवस्थामा सम्पत्ति विभाजनमा नरम गरम मिलेको थिएन भन्ने कुरा अदालतमा प्रस्तुत गर्ने दायित्व वादी पक्षको हो । प्रस्तुत मुद्दामा वादी पक्षले प्रमाण पुर्‍याउने दायित्व पूरा गर्नसकेको पाइँदैन । तायदाती लिएर हेरिएमा नरम गरम नमिलेको देखिनेछ भन्ने अनुमानित मागका आधारमा कुनै न्यायिक धारणा बनाउन मिल्दैन । पदमनिधिका माहिला छोरा वादीका ठूलाबाबु कृष्णप्रसादले जेठा रामप्रसाद र आफ्ना पितासँग २००० सालतिर नै अंश छुट्याई अलग बसेको तथ्य फिरादीले आफ्नो फिरादमा नै स्वीकार गरेको पाइन्छ । कृष्णप्रसाद छुट्टिदाको कुनै बण्डापत्र भएको भए त्यो स्वाभाविक रुपमा वादीका पितासँग पनि छुट्टिएकाले वादीसँग रहनुपर्ने हुन्छ । यसो नहुनुबाटै यो परिवारले व्यवहार प्रमाणकै आधारमा अलग भिन्न हुने गरेको रहेछ भन्ने स्वाभाविक अनुमान गर्नुपर्ने हुन्छ । व्यवहार प्रमाणबाट बण्डा भए नभएको यकीन प्रमाणहरूको मालाका आधारमा गर्नुपर्ने अवस्थामा यो व्यवहारले पनि निश्चित भार राख्दछ ।  

      १२.   यसका अतिरिक्त प्रतिवादी पक्षका बीचमा मिति २०४०।३।२० मा बण्डापत्र भएको प्रतिउत्तरमा उल्लेख गरिएको छ । सो लिखतउपर वादीको कुनै चुनौती छैन । प्रतिवादी पक्षले आपसमा बण्डापत्र खडा गर्दैमा वादीले अंश पाएको मानिन सक्ने होइन । तर, प्रमाणहरूको सृंखलामा अन्य प्रमाणले बण्डा भएको देखिएको अवस्थामा यस चुनौतीरहित बण्डापत्रले पनि एउटा प्रमाणको रुप ग्रहण गर्दछ । पुनरावेदन पत्र तथा मुद्दा दोहोर्‍याई हेर्ने निस्सा पाउन यस अदालतमा दिएको निवेदनमा वादीले पैतृक सम्पत्तिबाट बण्डा पाउनुपर्ने जिकीर लिनु भएबाट प्रतिवादी पक्षको स्वआर्जन रहेको तथ्य स्वीकारिएको छ । वादी प्रतिवादीहरूको बसोवास अलगअलग रहेको वतनबाटै देखिएको छ । दुबै पक्षले बिक्री व्यवहार गरेको तथ्य मिसिल संलग्न लिखतहरूले देखाएका छन् । पैतृक सम्पत्ति विभाजनमा नरम गरम नमिलेको स्थिति पुनरावेदन पत्र तथा मुद्दा दोहोर्‍याई हेर्ने निस्सा पाउन यस अदालतमा चढाएको निवेदनमा समेत वादीले देखाउन सक्नु भएको छैन । सबूद प्रमाणको उपरोक्तानुसारको स्थितिमा वादी प्रतिवादीहरूबीच बण्डा भएको छैन भन्ने कुरा मान्न सकिने आधार फेला परेन । घरसारमा नरम गरम मिलाई सम्पत्ति विभाजन गरी हिसाव भाग शान्तिबमोजिम लिई पाई दर्तासमेत फोडी नापी दर्ता गराई भोग बिक्री व्यवहार गरिआएबाट व्यवहार प्रमाणबाट वादी प्रतिवादीबीच फिराद दावीबमोजिम बण्डा हुन बाँकी देखिएन ।

      १३.   तसर्थ अघि व्यवहार प्रमाणबाट अंशबण्डा भइसकेको तथ्य अन्यथा हुन नसक्ने हुँदा मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गर्दा ग्रहण गरिएको आधारसँग सहमत हुन सकिएन । अतः पिता विष्णुप्रसादको हकको दुई भागको एक भाग अंश छुट्याई पाऊँ भन्ने वादी दावी पुग्न नसक्ने ठहर्‍याएको काठमाडौं जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको इन्साफ मनासिव देखिँदा सदर हुने ठहर्छ । वादीको पुनरावेदन जिकीर पुग्न सक्दैन । मिसिल नियमानुसार बुझाइदिनू ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. दामोदरप्रसाद शर्मा

 

इति संवत् २०६६ साल असार १७ गते रोज ४ शुभम्

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु