शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८२२९ - निर्णय बदर नामसारी ।

भाग: ५१ साल: २०६६ महिना: पौस अंक:

निर्णय नं. ८२२९     २०६६ पुस,अङ्क ९

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह

माननीय न्यायाधीश श्री सुशीला कार्की

संवत् २०६१ सालको दे.पु.नं. ––– ८८९०

फैसला मितिः २०६६।५।२।३

 

मुद्दाः निर्णय बदर नामसारी ।

 

      पुनरावेदक वादीः जिल्ला रुपन्देही, भैरहवा नं पा. को परिवर्तित ऐ. सिद्धार्थनगर न.पा. वार्ड     नं. ६ मैत्रीपथ बस्ने  शंकरप्रसाद उपाध्याय नेपाल

विरुद्ध

      प्रत्यर्थी प्रतिवादीः हाल जिल्ला रुपन्देही, दयानगर गा.वि.स. वार्ड नं. १ को परिवर्तित वार्ड       नं. ९ वेदौली बस्ने कृष्णप्रसाद उपाध्याय  समेत

 

शुरु फैसला गर्नेः

मा.जि.न्या.  श्री शिवनारायण यादव

पुनरावेदन फैसला गर्नेः

मा.न्या.  श्री राजेन्द्रकुमार भण्डारी

मा.न्या.श्री रामप्रसाद खनाल

 

§  जग्गा खरीद गर्नेले ससीम कित्ताको जग्गा नै खरीद नगरी कुनै कित्ताबाट आंशिक मात्र खरीद गरेको र सोअनुसारको जग्गा आफ्नो नाममा दर्ता गराई भोगचलन समेत गरी आएकोमा पछि सो राजीनामा भित्रको आफ्नो जग्गा बाँकी छ भन्न र आफ्नो हकको स्रोत उक्त राजीनामामा लेखिएभन्दा बढी जग्गामा दावी गर्न नमिल्ने ।

§  जग्गा खरीद गर्दा चार किल्ला मात्र उल्लेख गरी लिएको भए त्यसको अवस्था एउटा हुन सक्छ तर चार किल्ला उल्लेख गरी त्यसभित्रको निश्चित क्षेत्रफल समेत उल्लेख गरी जग्गा लिएको भए उक्त चार किल्लाभित्रको सोही क्षेत्रफलमा मात्र खरिदकर्ता सीमित हुनुपर्ने ।

(प्रकरण नं. २)

 

पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ता श्री शम्भु थापा

प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री श्यामप्रसाद खरेल र विद्वान अधिवक्ता श्री कमलेशकुमार द्विवेदी र श्री दीपकप्रसाद खरेल

अवलम्वित नजीरः नेकाप २०५२, निर्णय नं. ५०४९, पृष्ठ १२७

सम्बद्ध कानूनः

 

फैसला

      न्या. रामकुमारप्रसाद शाहः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भए अनुसार पुनरावेदन दायरीमा दर्ता भै यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :

      जिल्ला रुपन्देही तप्पेहारी नगर पञ्चायत भैरहवा बडा नं. ३ मौजाना खजाना अन्तर्गत सुनौली पोखरा राजमार्गको केन्द्रबिन्दुदेखि ७५ फीट कटाई सो देखि पूर्व कूलोदेखि पश्चिम उमाकान्त उपाध्यायबाट क्रमशः हरिप्रसाद उपाध्याय पराजुली, हरि बहादुर गोदार, हिरण्य बहादुर बस्नेत, कविराज खड्का तथा सौरभ शर्मा हुँदै ओमप्रकाश बुढा मगरमा आएको २०२७ सालको सर्भे नापीमा कायम कि.नं. २६ वि. ०३ फोड भई सिद्धार्थ राजमार्गमा परेको कि.नं. ५२९ वि. ०/४ कटाउँदा बाँकी बँचेको कि.नं. ५३० वि. ०२.१/४ जग्गा एवं सोमा रहेको घरदेखि उत्तर कृष्णप्रसाद उपाध्यायले सावित्रीदेवी उपाध्याय नेपाललाई बेचेको १३ धुर जग्गादेखि दक्षिण यतिचार किल्ला भित्रको जग्गा मिति २०२९।५।२० का दिन सर्भे नापीको दर्ता स्रेस्ता लागू हुनुअघि नै कृष्णप्रसाद उपाध्यायबाट र.नं. ४२८ मिति २०२७।७।११ मा राजीनामा पारित गराई भोगचलन गरी आएको थिएँ । मैले राजीनामा पारित गराई लिएमध्ये दक्षिण तर्फको केही जग्गा जिल्ला रुपन्देही भैरहवा न.पा. बडा नं. ३ ख कि.नं. २५ ज.वि. ०१० मा र उत्तरतर्फको  केही जग्गा सावित्रीदेवीले किनेको पूरै जग्गा विपक्षी दाता कृष्णप्रसादका नाउँमा बचेको जग्गा समेत ऐ. ऐ. कि.नं. २४ ज. वि. ०१० मा परिणत भएर कि.नं. २५ कसैको नाउँमा दर्ता नभई खाली भएको कि.नं. २४ विपक्षी कृष्णप्रसादकै नाउँमा नापी दर्ता भएको थियो । उक्त कि.नं. २४ मा परे जतिको  जग्गा फोड भएर दक्षिण तर्फबाट कि.नं. ३५८ को जग्गा म शंकरले तथा बीचबाट कायम कि.नं. ३५९ को जग्गा सावित्री देवीले आफ्नो नाउमा दर्ता नामसारी गराई सकेको, बचेको कि.नं. ३६० को जग्गा दाता कृष्णप्रसाद हुँदै विभिन्न व्यक्तिहरूको नाउँमा हस्तान्तरण भइसकेको हुँदा विपक्षी कृष्णप्रसादको हक भोगको जग्गा बचेको छैन । राजमार्ग चौडा बनाउँदा मेरो कि.नं. ३५८ फोड भएर कि.नं. १०७० को जग्गा राजमार्गमा गई बाँकी बचेको जग्गा कि.नं. १०७१ मा र कि.नं. २५ फोड भएर कायम कि.नं. ५२७ ज. वि.०१.१/२ जग्गा सिद्धार्थ राजमार्गमा गई बाँकी रहेको  जग्गा कि.नं. ५२८ ज.वि. ०८.१/२ परिवर्तित भएको छ । कि.नं. ५२८ को जग्गा मेरो नाउँमा दर्ता हुन छुट भए तापनि मैले नै भोगचलन गरी रहेको हुँदा उक्त कि.नं. ५२८ को जग्गा छुट दर्ता गराउन श्री मालपोत कार्यालयमा निवेदन दिंदा निवेदन लिइएन । उक्त जग्गा मालपोत कार्यालय रुपन्देहीबाट मिति २०५६।१।१३ को निर्णयअनुसार विपक्षी कृष्ण्प्रसादको नाउमा छुट दर्ता गराएर निजबाट रमेशकुमार उपाध्याय र निजबाट विपक्षी पद्मकुमारी क्षेत्रीको नाउँमा राजीनामा पारित गराएको थाहा हुन आयो । निज विपक्षीहरूलाई मेरो जग्गा वापस गरिदिनुहोस् भन्दा इन्कार गर्नुभयो । सिफारिश लिने क्रममा लेखेको चौहदी एकदमै फरक छ । अतः उपरोक्त कि.नं. ५२८ ज.वि. ०८.१/२ जग्गामा मेरै हक यथावत कायम राखी मालपोत कार्यालय रुपन्देहीको मिति २०५६।१।१३ को निर्णय पर्चा, ऐ बाट मिति २०५६।२।२७ एवं २०५६।८।३ का दिन पारित राजीनामा तथा ती निर्णय एवं राजीनामाहरूका आधारमा भएका सबै दर्ताहरू बदर गरेर सो जग्गा मेरो नाममा दर्ता नामसारी गरी विपक्षीहरूको खिचोला मेटाई चलन चलाई पाऊँ भन्ने समेत व्यहोराको वादी शंकरप्रसाद उपाध्याय नेपालको मुख्य फिराद दावी ।

      वादीले दावी लिएका सम्पूर्ण आधारहरू मनगढन्ते एवं झूठा हुन । आफ्नो हक हुन आएको आधार प्रमाण मुताबिकको जग्गा प्राप्त गरी आएका वादीलाई अनर्थ गरी दावी गर्ने हकदैया नै नहुँदा दावी खारेजभागी छ । वादीले राजीनामाबमोजिमको जग्गा प्राप्त गरी सकेपछि निजको अन्य जग्गा छ भन्नलाई मिल्ने देखिदैन । कृष्णप्रसादका नाम दर्ता हुनका लागि मालपोत ऐन र नियमावलीअनुसार जग्गा दर्ता समितिले मिति २०५६।१।९ मा सिफारिश गरेको व्यहोरा पनि मैले प्राप्त गरेको जग्गाको सशक्त आधार  हो । सो मा वादीको कुनै जिकीर असहमति छैन । वादीले देखाएका जग्गाहरूको सर्भे नापी मिति २०२७।३।१४ मा हुँदाका बखत नै निजका दाता कृष्णप्रसाद उपाध्यायका नाममा नै कायम रहेको मूल कित्ता २४ को ज.वि. ०१० कै थियो । सोही कि.नं. २४ बाट वादीले आफ्नो २०२७।७।११ को राजीनामाबमोजिमको जग्गा छुट्टाई कि.नं. ३५८ कायम भएको हो । त्यसरी कि.नं. २४ भित्रकै जग्गा भई त्यसबाट दिइसकेपछि सर्भे नापीको  कि.नं. २५ कायम भएको जग्गालाई दावी गर्ने हकदैया वादीलाई  छैन । वादीको कि.नं. ५२८ को जग्गामा कुनै हक भोगचलन छैन । अतः मेरो राजीनामा लिखत दर्ता समेतका कारवाही सदर कायम गरी सम्पूर्ण वादी दावी खारेज गरी इन्साफ गरिपाऊँ भन्ने समेत व्यहोराको वादी पदमकुमारी क्षेत्रीले यस अदालतमा दिएको प्रतिउत्तर जिकीर ।

      आफ्नो हक हुन आएका आधार प्रमाण मुताबिकको जग्गा प्राप्त गरी आएको वादीलाई अनर्थ गरी दावी गर्ने हकदैया नै नहुँदा दावी खारेजभागी छ । वादीले राजीनामाबमोजिमको जग्गा प्राप्त गरी सकेपछि निजको अन्य जग्गा छ भन्नलाई मिल्ने देखिदैन । कृष्णप्रसादका नाउँमा दर्ता हुनको लागि मालपोत ऐन र नियमावलीअनुसार गठित जग्गा दर्ता समितिले मिति २०५६।१।९ मा सिफारिश गरेको व्यहोरा पनि मैले प्राप्त गरेको जग्गाको सशक्त आधार  हो । वादीले देखाएका जग्गाको सर्भे नापी मिति २०२७।३।१४ मा हुँदाका बखत नै निजका दाता कृष्णप्रसाद उपाध्यायका नाममा नै कायम रहेको कित्ता २४ को ज.वि. ०१० थियो । सोही कि.नं. २४ बाट वादीले आफ्नो २०२७।७।११ को राजीनामाबमोजिमको जग्गा छुट्टाई कि.नं. ३५८ कायम भएको हो । त्यसरी कि.नं. २४ भित्रकै जग्गा भई त्यसैबाट लिई सकेपछि सर्भे नापीको कि.नं. २५ कायम भएको जग्गालाई दावी गर्ने हकदैया वादीलाई छैन । कि.नं. ३५८ को जग्गा शंकर नेपालको नाउँमा दर्ता भइसकेपछि अन्य जग्गामा अर्थात कि.नं. २५ को जग्गा विपक्षी शंकर नेपालको होइन । अतः विपक्षीको झूठा दावीबाट अलग गरी फुर्सद दिलाई पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी रमेशकुमार उपाध्यायको प्रतिउत्तर जिकीर ।

      वादी कै कथनबाट विवादित जग्गा पैतृक जग्गा नभई पछि खरीद गरेको जग्गा हो भन्ने सिद्ध छ । वादीले आफूले राजीनामाबाट जग्गा प्राप्त गरी भोगिरहेकै अवस्थामा अन्य जग्गालाई दावी गर्ने वादीलाई कुनै हकदैया छैन । मैले विवादित जग्गा साविक २०२७ सालभन्दा अगावै देखि नै हालसम्म अविरल रुपमा भोगचलन गर्दै आएको छु । पछि सो कित्ता फोड भई हालको कि.नं. ५२८ कायम भएको छ । म प्रतिवादी कृष्णप्रसाद उपाध्यायका नाउँमा विवादित जग्गा दर्ता गर्नका लागि मालपोत ऐन तथा मालपोत नियमावलीबमोजिम गठित जग्गा दर्ता समितिले सिफारिश गरेपछि मात्र मेरा नाउँमा दर्ता भएको छ । हामी विपक्षीउपर छुट्टाछुट्टै दावी गर्नु भएको छैन । अतः विपक्षी वादीको झुट्टा एवं बनावटी फिराद दावीबाट फुर्सद दिलाई पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी कृष्णप्रसाद उपाध्यायको प्रतिउत्तर जिकीर ।

      आदेशानुसार वादी प्रतिवादीका साक्षीको बकपत्र भई मिसिल सामेल रहेको ।

      मिति २०५७।१२।२६ को आदेशानुसार मालपोत कार्यालयको २०५६।१।१३ र २०३०।५।२४ को निर्णय मिसिल संलग्न रहेको एवं नक्सा भई नक्सा मुचुल्का समेत मिसिल सामेल रहेको ।

      यसमा कि.नं. २४ को जग्गा तत्काल दाता प्रतिवादी कृष्णप्रसादका नाउँमा दर्ता भएको र कि.नं. २५ बाँकी रहेको देखिन्छ । कि.नं. २४ मध्येबाट वादी शंकरप्रसादले आफ्नो २०२७।७।११ को राजीनामा जतिको जग्गा फोड गराई लिएको देखिन्छ । कि.नं. २५ कित्ता फोड भई कि.नं. ५२८ कायम भई ०/२ को हक भोगसम्बन्धी प्रमाणहरू बुझी मालपोत ऐन, २०३४ को दफा ७(२) अनुसार साविक दर्ता तिरो भोगसम्बन्धी छानबीन गरी समितिको सिफारिशमा दर्ता भएको देखियो । वादीले राजीनामामा तोकिएको चौहदी भित्रको जग्गा भएकोले कि.नं. ५२८ को जग्गाको दर्ता बदर गरी लिखत बदर सम्बन्धमा हेर्दा उक्त २०२७।७।११ को राजीनामामा विक्री गरिएको जग्गाको क्षेत्रफल अर्ध ५ तुल २ भै क्षेत्रफल ०१० रहेकोमा वादीको नाममा जग्गा सर्भे नापी नभै प्रतिवादी कृष्णप्रसाद कै नाउँमा सर्भे नापी भई जग्गा दर्ता भइसकेपछि वादीको निवेदनअनुसार नै निजले रोजेबमोजिम वादीको नाउमा दा.खा. दर्ता भई केही जग्गा राजमार्गमा गई बाँकी कि.नं. १०७१ को ०९.१/४ वादीकै नाउमा दर्ता रहेको प्रतिवादी कृष्णप्रसाद उपाध्यायकै नाउमा सर्भे नापी भएपछि कि.नं. २५ को र हाल कि.नं. ५२८ को जग्गा वादीको भए सोही समयमा दा.खा. नामसारी हुन दिएको निवेदनमा खुलाउन पर्नेमा सो खुलाएको नदेखिंदा सर्भे नापीमा बढेको जग्गा दाताकै हुने भएकोले यसमा निर्णय समेत बदर गरी राजीनामा लिखत हक बदर गरिपाऊँ भन्ने वादी दावी नपुग्ने ठहर्छ भन्ने शुरु रुपन्देही जिल्ला अदालतको मिति २०५८।६।१७ को फैसला ।

      विपक्षी कृष्णप्रसादसँग मैले २०२७।७।११ मा विवादित जग्गा राजीनामा गराई लिएको, सो राजीनामामा अर्ध ५ तुल २ वि. ०१० लेखिएको भएपनि सो अनुमानित

हो । सो राजीनामामा उमाकान्त से उत्तर र सावित्री देवी से दक्षिण भनी साँध उल्लेख गरेबाट विपक्षी दाताको जग्गा बाँकी रहेको अवस्था नभएकोमा पनि वाँकी छ भनी छुट कित्ता दर्ता गराएको स्थिति देखिन्छ । २०२७।७।११ मा मैले उक्त राजीनामा पारित गराई लिएपछि जिमीदारी पटवारीको स्रेस्तामा दर्ता नामसारी गराई भोग तिरो गरी आएको कुरालाई विपक्षले अन्यथा भन्न नसकेको, साविक कि.नं. २४ को दक्षिण तर्फबाट फोड भई कायम कि.नं. ३५८ काटिएर बनेको कि.नं. १०७१ मात्र हो । मैले २०२७।७।११ मा राजीनामा गर्नु अघि नै मिति २०२७।३।१४ मा नै कि.नं. २४, २५ कायम भई सर्भे नापी भएको भए तापनि मिति २०२९।५।२० देखि मात्र यस जिल्लामा सर्भे नापीको दर्ता स्रेस्ता लागू भएको हुँदा तत्काल जानकारीको अभावमा कि.नं. नलेखिएको हो । विपक्षले मलाई राजीनामा दिंदा दक्षिण किल्ला उमाकान्त भनेकोमा हाल निजबाट हक हस्तान्तरण हुदै ओमप्रसाद लाङपाली बुढाको घर भनी नक्सामा उल्लेख भएको वादीको राजीनामा १० धुर लेखिएको हुँदा त्यतिमै सीमित हुनपर्ने भन्ने प्रतिवादी जिकीर भएतापनि राजीनामाको चौहदीले समेटि रहेको विवादित कि.नं. ५२८ मलाई नबेची कि.नं. १०७१ मात्र बेचेको भए सम्म ४ किल्ला भित्र यतिमध्ये यति वा उक्त तर्फबाट यति वा आफ्नै जग्गा सो उत्तर भन्नु पर्ने सो नभनीएको र सावित्री देवीलाई दिएको राजीनामामा बाँकी जग्गा इङ्गित गरी मेरै जग्गा सो दक्षिण भनिएको यस मा केही नभनिएकोबाट पनि विपक्षले पूरै जग्गा बेचेको छुट हुन आएका जग्गा मेरो नै हुने कुरा स्वतःसिद्ध हुँदा शुरुको त्रुटिपूर्ण फैसला बदर गरी वादी दावीअनुसार गरिपाऊँ भन्ने समेत वादीको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।

      यसमा पुनरावेदक वादीले २०२७ सालमा प्रतिवादी कृष्णप्रसादबाट लिएको राजीनामाको ४ किल्ला भित्र विवादित जग्गा पर्ने देखिएकाले वादी दावी नपुग्ने ठहराई भएको शुरुको फैसला फरक पर्न सक्ने देखिएकोले अ.वं. २०२ नं. अनुसार प्रत्यर्थीलाई झिकाई आए वा अवधि नाघे पछि नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालतको मिति २०६०।१।२३ को आदेश ।

      दावीको जग्गामा दावी पुग्न नसक्ने ठहर गरेको शुरु रुपन्देही जिल्ला अदालतको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ भनी पुनरावेदन अदालत बुटवलबाट मिति २०६०।५।१६।३ मा भएको फैसला ।

      मेरो राजीनामामा उल्लिखित चार किल्लाले नं. नं. २ कि.नं. १०७१ एवं विवादित नं. नं. १ कि.नं. ५२८ समेतका दुवै कित्तालाई समेट्ने कुरा निर्विवाद देखिएको र विवादित जग्गालाई वादीको राजीनामाको चौहद्दीले समेट्दैन भन्ने प्रतिवाद जिकीर समेत नभएको अवस्थामा वादी दावी पुग्न नसक्ने भनी शुरु तथा पुनरावेदन अदालतबाट भएको फैसलामा मिसिल संलग्न प्रमाणहरूको उपेक्षा र अ.वं. ८२, ८६,१८४क, १८५ नं.लेनदेन व्यवहारको ४० नं. जग्गा पजनीको १४, १७ नं., जग्गा मिच्नेको १,१४,१८ नं. तथा प्रमाण ऐन २०३१ को दफा ५४ समेतको व्याख्यामा गम्भीर त्रुटिभएको हुँदा उक्त फैसला उल्ट्याएर मेरो फिराद दावीअनुसार इन्साफ दिलाई पाऊँ भनी वादीका तर्फबाट यस अदालतसमक्ष पर्न आएको दोहोर्‍याई पाऊँ  निवेदन ।      

      यसमा निवेदकले २०२७ साल कार्तिक १० गते राजीनामा गरिलिएको जग्गाको चार किल्लामा सुनौली पोखरा राजमार्ग सेन्टरदेखि ७५ फीट कटाई सो देखि पूर्व, कुलोदेखि पश्चिम, पं उमाकान्त सो उत्तर, सावित्रीदेवी देखि दक्षिण भन्ने उल्लेख भएकोमा जिल्ला अदालतबाट भै आएको नापनक्सा विवरणबाट नं. नं. ५ साविक उमाकान्त उपाध्याय भै सोबाट उत्तर नं. नं. १ विवादित जग्गा देखिएकोबाट उक्त राजीनामाको किल्लासँग मिल्न भिड्न आएको अवस्थामा वादी दावी पुग्न नसक्ने ठहर्‍याएको शुरु जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत बुटवलको मिति २०६०।५।१६ को फैसला प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ विपरीत देखिंदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिएको छ भनी यस अदालतबाट भएको आदेश ।

      नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकको तर्फबाट विद्वान अधिवक्ता श्री शम्भु थापाले विवादित जग्गा पुनरावेदकले २०२७।७।११ मा दाता कृष्णप्रसाद राजीनामा गरी लिंदाको चार किल्लाभित्रको जग्गा भएकोमा कुनै विवाद नभएकोले सो लाई आधार नलिई अन्य आधारमा भएको शुरु तथा पुनरावेदन अदालतको फैसला नमिलेको हुँदा सो फैसला उल्टी गरी वादी दावीबमोजिम गरिपाऊँ भनी र प्रत्यर्थी तर्फबाट विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल तथा अधिवक्ताहरू श्री कमलेशकुमार द्विवेदी एवं श्री दीपकप्रसाद खरेलले पुनरावेदकले जग्गा राजीनामा गरिलिंदा चार किल्ला मात्र उल्लेख गरिएको छैन । जग्गाको क्षेत्रफल अर्ध र तुल लेखी १० धुर जग्गामात्र खरीद गरेको स्पष्ट लेखिएको छ । पुनरावेदकले दाताबाट ससीम कित्ता नै खरीद गरेको पनि नदेखिएको र लिखतअनुसारको जग्गा निजले दर्ता गराई लिई सकेको अवस्थामा आफ्नो हकको स्रोतभन्दा बढी जग्गामा निजले दावी गर्न नसक्ने हुँदा पुनरावेदन अदालतको फैसला मिलेकै हुँदा सदर हुनु पर्दछ भनी बहस गर्नुभयो ।

      माथि उल्लिखित विद्वान कानून व्यवसायीहरूको बहस सुनी पुनरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदन अदालत बुटवलको फैसला मिलेको छ छैन ? वादीको पुनरावेदन जिकीर पुग्न सक्ने हो, होइन ? सो सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

       कि.नं. ५२८ को ०८.१/२ को जग्गा मेरो राजीनामा लिखतको चार किल्ला भित्रको हकभोगको जग्गा भएकोमा आफ्नो दाता प्रतिवादी कृष्णप्रसादले छुट जग्गा दर्ता गराएर निजबाट रमेशकुमार र निजबाट पनि पदमकुमारीले राजीनामा पारित गराई लिएको हुँदा छुट जग्गा दर्ता गर्ने गरेको मालपोत कार्यालय रुपन्देहीको मिति २०५६।१।१३ को निर्णय पर्चा र तह तह राजीनामा पारित भएका मिति २०५६।२।२७ एवं २०५६।८।३ का राजीनामा तथा दर्ता बदर गरी मेरा नाममा नामसारी गरिपाऊँ भन्ने फिराद दावी भएकोमा, वादीले आफ्नो राजीनामा बमोजिमको जग्गाको क्षेत्रफल दर्ता गराई लिइ सकेको हुँदा झूठा फिराद दावी खारेज गरिपाऊँ भन्ने प्रतिउत्तर जिकीर देखिन्छ । शुरु तथा पुनरावेदन अदालत समेतबाट वादी दावी पुग्न नसक्ने गरी फैसला भएकोमा विवादित जग्गा वादीले राजीनामा गरिलिएको जग्गाको चार किल्लासँग मिल्न भिड्न आएको भन्ने आधारमा यस अदालतबाट मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई पेश भएको रहेछ।

      २.    निर्णयतर्फ विचार गर्दा पुनरावेदक वादी शंकरप्रसाद उपाध्यायले प्रत्यर्थी प्रतिवादीमध्येका दाता कृष्णप्रसाद उपाध्यायबाट मिति २०२७।७।११ मा लिखतमा उल्लेख भएको चार किल्ला भित्रको १० धुर जग्गा राजीनामा गरिलिएको तथ्यलाई दुवै पक्षले स्वीकार गरेको पाइन्छ । उक्त राजीनामा गरी लिंदा नापी भइसके पनि स्रेस्ता कायम भइनसकेकोले निज पुनरावेदक वादीले दाता प्रत्यर्थी कृष्णप्रसाद उपाध्यायबाट सो जग्गा राजीनामा गरी लिंदा जग्गाको चार किल्ला खोल्नुको अतिरिक्त जग्गाको लम्बाई चौडाई र क्षेत्रफल समेत खुलाएको राजीनामा लिखतबाट देखिन्छ । जसअनुसार उक्त चार किल्ला भित्रको अर्ध ५ तुल २ को जग्गा क्षेत्रफल ०१० धुर भनी स्पष्ट लेखिएको छ । यसबाट पुनरावेदक वादीले ससीम कित्ता जग्गा राजीनामा पारित गरी लिएको नभै कित्ताकाट गरी ०१० धुर जग्गा मात्र खरीद गरेको भन्ने देखिएको छ । सो राजीनामाबमोजिमको जग्गा यी पुनरावेदक वादीले मिति २०२९।९।२० मा दर्ता गरिपाऊँ भनी निवेदन दिई सोही अवस्थामा दाता प्रत्यर्थी प्रतिवादी कृष्णप्रसादको नाममा स्रेस्ता कायम रहेको कि.नं. २४ बाट राजीनामाको चार किल्ला भित्रको ०१० धुर जग्गा कि.नं.३५८ मा दर्ता गराई लिएको देखिन आउँछ । सो जग्गा दर्ता गराई लिंदा निज पुनरावेदक वादीले सो राजीनामा चार किल्ला भित्रको आफ्नो जग्गा दर्ता गराउन बाँकी छ भनी कहिकतै उल्लेख गरेको देखिदैन । त्यसरी आफ्नो श्रोत बमोजिमको जग्गा दर्ता गराई लिई भोगचलन गरे पछि किल्लामा देखाइएको राजमार्ग चौडा गरिएको र सो गर्दा निज वादीको सोही कि.नं. ३५८ को जग्गा समेत बाट कित्ताकाट भई कि.नं. १०७० मा ०/४ धुर राजमार्गमा परी बाँकी कि.नं. १०७१ मा ०९.१/२ धुर निजको नाममा दर्ता भई सोही बमोजिम निजले भोग गरी आएको समेत   देखिन्छ । जग्गा खरीद गर्नेले ससीम कित्ताको जग्गा नै खरीद नगरी कुनै कित्ताबाट आंशिक मात्र खरीद गरेको र सो अनुसारको जग्गा आफ्नो नाममा दर्ता गराई भोगचलन समेत गरी आएकोमा पछि सो राजीनामा भित्रको आफ्नो जग्गा बाँकी छ भन्न र आफ्नो हकको श्रोत उक्त राजीनामामा लेखिए भन्दा बढी जग्गामा दावी गर्न मिल्ने हुँदैन । जग्गा खरीद गर्दा चार किल्ला मात्र उल्लेख गरी लिएको भए त्यसको अवस्था एउटा हुन सक्छ तर चार किल्ला उल्लेख गरी त्यस भित्रको निश्चित क्षेत्रफल समेत उल्लेख गरी जग्गा लिएको भए उक्त चार किल्ला भित्रको सोही क्षेत्रफलमा मात्र खरिदकर्ता सीमित हुनुपर्ने हुन्छ । राजीनामामा उल्लिखित क्षेत्रफलभन्दा बढी जग्गा क्षेत्रमा दावी गर्न मिल्दैन । यस अदालतको पूर्ण इजलासले (नेकाप २०५२ अङ्क २ नि.नं. ५०४९ पृ. १२७) वादीले राजीनामामा नै २ विगाहा जग्गा भनी प्रष्ट रुपमा उल्लेख हुँदा २ विगाहा भन्दा बढी जग्गा दावी गर्न पाउने पनि होइनभनी नजीर सिद्धान्त प्रतिपादन भएको पाइन्छ । यी पुनरावेदक वादीका दाता प्रत्यर्थी प्रतिवादी कृष्णप्रसाद उपाध्यायले यी वादीलाई चार किल्ला भित्रको १० धुर जग्गा विक्री गरी राजीनामा गरी दिएको र सो जग्गा वादीले आफ्नो नाममा दर्ता गराई लिइसके पछि दाताले आफ्नो कि.नं. २५ को बाँकी जग्गा मिति २०५६।१।१३ मा दर्ता गराई लिएको र सो जग्गा निजले विक्री गरेपछि अन्य प्रत्यर्थी प्रतिवादीहरूमा तह तह हुँदै राजीनामामार्फत् हक हस्तान्तरण भै गएको पाइएको छ । पुनरावेदक वादीले एक पटक आफ्नो हकको स्रोतअनुसारको ०१० धुर जग्गा दर्ता गराई लिएपछि मात्र दाताले दर्ता गराएकोले सो कि.नं. २५ मा पनि आफ्नो जग्गा बाँकी छ भनी निजले राजीनामामा लेखिएको १० धुर भन्दा बढी जग्गामा दावी गर्न मिल्ने हुँदैन । यसरी पुनरावेदक वादीले आफ्नो राजीनामाको लिखत अनुसारको जग्गाको क्षेत्रफल दर्ता गराई भोग गरी बसेको देखिएको अवस्था हुँदा विवादित जग्गा पुनरावेदक वादीको राजीनामा लिखत अनुसारको चार किल्ला भित्रको देखिएको भनी पूर्व इजलासबाट मुद्दा दोहोर्‍याई हेर्ने निस्सा दिंदा व्यक्त गरेको रायसँग सहमत हुन सकिएन ।

      ३.    अतः माथि गरिएको विवेचनाबमोजिम वादी दावीको राजीनामा लिखतको चार किल्ला भित्रको निज वादीले खरीद गरी लिएको १० धुर जग्गा निजले दर्ता गराई भोगचलन समेत गरी आएको देखिंदा दाताको बाँकी रहेको जग्गामा वादी दावी नपुग्ने ठहराएको पुनरावेदन अदालत बुटवलको मिति २०६०।५।१६।३ को फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । वादीको पुनरावेदन जिकीर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

 

उक्त रायमा सहमत छु ।

 

न्या. सुशीला कार्की

 

इति संवत् २०६६ साल भाद्र २ गते रोज ३ शुभम्––

 

उपरजिष्ट्रार : पुष्पराज थपलिया

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु