शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८२३१ - अंश ।

भाग: ५१ साल: २०६६ महिना: पौस अंक:

निर्णय नं. ८२३१     २०६६ पुस,अङ्क ९

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी

माननीय न्यायाधीश श्री रणबहादुर बम

संवत्  २०६४ सालको दे.पु.नं.६२०

फैसला मितिः २०६६।५।१०।४

 

मुद्दाःअंश  ।

 

      पुनरावेदक प्रतिवादीः जिल्ला मोरङ विराटनगर उपमहानगरपालिका वडा नं.१५ जनपथ   टोल बस्ने गंगाप्रसाद भगत समेत

विरुद्ध

      प्रत्यर्थी वादीः जिल्ला मोरङ विराटनगर उपमहानगरपालिका वडा नं. १५ केशलिया मार्ग बस्ने उमेशकुमार भगत

           

शुरु फैसला गर्नेः

मा.न्या. श्री महेशप्रसाद पुडासैनी

पुनरावेदन फैसला गर्नेः

मा.न्या.श्री विनोदप्रसाद ढुंगेल

मा.न्या.श्री दिपकुमार कार्की

 

§  बाबुले आफ्नो पालामा आर्जन गरेको कारणमात्र कुनै सम्पत्ति अंशबण्डाको १८ नं. को प्रयोजनको लागि बण्डा नलाग्ने सम्पत्तिको श्रेणीभित्र पर्न नसक्ने ।

§  बण्डा नलाग्ने सम्पत्तिको श्रेणीभित्र पर्नका लागि कुनै अंशियारले निजी तवरबाट आफ्नो निजी प्रयोगको लागि आर्जन गरेको वा दानबकस पाएको हुनुपर्ने ।

§  आफ्नो पालामा आर्जन गरेको सम्पत्ति र निजी तवरबाट आर्जन गरेको सम्पत्तिबीच आधारभूत अन्तरको विद्यामानता रहेको छ र निजी तवरबाट दानबकस पाएको सम्पत्तिबाट सो पाउनेसरहका अन्य अंशियारले अंश नपाउनेसम्म हो । बाबुको निजी सम्पत्ति निजले खुश गर्न पाउने हो तर बाँकी रहेकोमा त्यसबाट निजको अंशबाट मात्र अंश हक पाउने निजका श्रीमती छोरा, छोरीले अंश पाउने ।

(प्रकरण नं.४)

§  पुर्खाबाट हक सरी आई बाबुमा निहीत रहेको सम्पत्ति र बाबु आमाले आफ्नो जीवनकालमा निजी ज्ञान, सीप, प्रयास वा दानदातव्य वा कुनै व्यहोराबाट प्राप्त गरेको भएपनि खुश गर्न बाँकी रहेको सम्पत्ति छोराछोरीको हकमा पैतृक सम्पत्ति हुनजाने भएकाले सो सम्पत्ति छोरा छोरीहरूमा अंश भाग लाग्ने सम्पत्ति मान्नु पर्ने ।

(प्रकरण नं.५)

§  अंशको हक अंशियार भएका नाताले स्वतः प्राप्त गर्ने हक हो । स्वतः प्राप्त गर्ने अंश जस्तो नैसर्गिक कानूनी हकलाई निष्क्रिय वा संकुचित पार्ने गरी भएको कुनै शर्त वा बन्देजले कानूनी मान्यता प्राप्त गर्न नसक्ने ।

§  अंशियारहरूले पारस्परिक सहमतिबाट आफूहरूले आफ्नो अंश हक कुनै खास शर्त बन्देजमा रही प्रयोग गर्न सक्दछन् तर एउटा अंशियारको असहमति हुँदाहुँदै उसको अंश हकलाई सीमित वा संकुचित गर्ने गरी कुनै शर्त, बन्देज लगाउन नपाइने ।

§  शर्त बन्देज कुनै घरायसी लिखतमा भएपनि त्यसले कानूनी मान्यता प्राप्त गर्न नसक्ने ।

§  अंशमा दावी गरेपछि अंश हक जस्तो नैसर्गिक अधिकारलाई कुण्ठित हुने गरी खडा भएको शर्त वा बन्देज स्वतः बदरभागी हुने ।

(प्रकरण नं.६)

 

पुनरावेदक प्रतिवादी तर्फबाटःविद्वान अधिवक्ता श्री राजु आचार्य

प्रत्यर्थी वादी तर्फबाटः

अवलम्वित नजीरः

§  नेकाप २०६४, निर्णय नं. ७८१४, पृष्ठ १४०

सम्बद्ध कानूनः

§  अंशबण्डाको १९(१), (२), १ र १८ नं.

 

फैसला

न्या. ताहिर अली अन्सारीः न्याय प्रशासन ऐन,२०४८ को दफा ९ अन्तर्गत यसै अदालतको अधिकारक्षेत्रभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :-

प्रतिवादी पिता माता गंगाप्रसाद र शिवकुमारी भगतका म फिरादी सहित ५ छोरा, छोरीहरूमा प्रतिवादी राजेशकुमार भगत मेरो भाई नाताका मानिस हुन् । ३ दिदी बहिनीहरू क्रमशः आशा, विना र अमृताको बिवाह भैसकेको छ । हामी वादी प्रतिवादीहरू एउटै घरमा बसी आएका छौं । मेरो पत्नी मञ्जू भगतलाई विपक्षीहरूले अनावश्यक दुःख दिने गालीगलौज गर्ने गरेकोले घरमा बस्न नसकी भात भान्सा अलग गरी मानो छुट्टिएको मिति २०५१।१२।१५ गते देखि डेरा लिई अलग बसेकोमा पछि विपक्षी पिता माताले पानी बिजुली आफू आफू तिर्नु, ३ कोठा दिन्छु घरमै आइ बस भनेकोले सहमतिअनुरूप घरको तल्लो तलामा ३ कोठा प्रयोग गरी अलगै भात भान्सा गरे पनि हामीहरू सगोलमै छौं । सगोलको सम्पूर्ण सम्पत्तिहरू प्रतिवादीहरूकै जिम्मामा रहेकोले अंशबण्डा गरौं भनी विपक्षीहरूलाई भन्दा नमानी बिवाद बढे पछि मिति २०६०।१२।६ मा गाउँ समाजका ७ जना भलादमीहरू समेतको समिति बनाई सो समितिले गरेको निर्णय मान्य हुने भने पनि बिवाद मिल्न सकेन । फेरि पुनः अंश माग गर्दा अंश दिन्न जे गर्नुपर्छ गर भनेकोले यो फिराद गर्न आएको छु । सम्पूर्ण सम्पत्ति विपक्षीहरूकै जिम्मा र दर्तामा रहेकोले निजहरूबाट बण्डा लाग्ने सम्पत्तिको तायदाती फाँटवारी दाखिल गराई ४ अंशियार भएकोले ४ भागको १ भाग म फिरादीको अंश छुट्याई चलन समेत चलाई पाऊँ भन्ने समेत व्यहोराको वादी उमेश कुमार भगतको फिरादपत्र ।

हामी प्रतिवादीसँग कुनै पुर्खौली पैतृक सम्पत्ति र अंशबण्डा गर्नुपर्ने चल अचल सम्पत्ति समेत नहुँदा वादीको अंश पाऊँ भन्ने दावी अर्थहीन एवं निराधार छ । विपक्षीलाई म गंगाप्रसाद र शिवकुमारी देवीले निजी ज्ञान शिप प्रयास र आर्जन गरेको सम्पत्तिबाट अंश दिनुपर्ने होइन । अंशबण्डाको १८ नं., स्त्री अंशधनको १ नं.बमोजिम विपक्षीको अंश हक पनि लाग्दैन । तथापि हाम्रो शेषपछि विपक्षीले समेत सम्पत्ति लिने बाँड्ने गरी मिति २०५६।२।२४ मा कागज समेत गरी विपक्षीले समेत सहिछाप गरेको हुँदा निज विवन्धित छन् । अंशबण्डाको १० नं.बमोजिम अंश दिन हामी बाध्य छैनौ भन्ने समेत व्यहोराको प्रतिवादी गंगाप्रसाद भगत समेतको संयुक्त प्रतिउत्तर पत्र ।

वादी प्रतिवादीहरू सगोलका अंशियार भएको र निजहरू बीच अंशबण्डा नभएकोले वादीले प्रतिवादीबाट अंश पाउँनु पर्ने हो भन्ने समेत व्यहोराको वादीका साक्षी सूर्यनारायण जैसवालको बकपत्र ।

प्रतिवादीको नामको घर जग्गा प्रतिवादीले आफुले कमाई स्वआर्जन गरेको सम्पत्ति हो । अंश पाउने नपाउने कानूनबमोजिम हुने कुरा हो भन्ने समेत व्यहोराको प्रतिवादीका साक्षी विजयकुमार साहको बकपत्र ।

प्रस्तुत मुद्दामा पेश भएको तायदाती फाँटवारीमा उल्लिखित ऋण धन सम्पत्तिमध्ये घरसारको ऋणका हकमा साहुका उजूर परेका बखत ठहरेबमोजिम हुने अन्य सम्पत्तिमध्ये स्कूलको शेयर बण्डा नलाग्ने, प्रतिवादी, शिवकुमारीका नाम दर्ताको कि.नं.१६ को ०१०२ को जग्गा र सोमा बनेको घरमध्ये माथिल्लो तल्लाको घरबाट सम्म चार भागको एक भाग अंश पाउने सो वाहेक तायदाती फाँटवारीमा उल्लिखित अन्य जग्गा सम्पत्तिबाट चार भागको एक भाग अंश पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु मोरङ जिल्ला अदालतको मिति २०६३।२।२८ को फैसला ।

शुरु जिल्ला अदालतले गरेको फैसलामा चित्त बुझेन । धितोवापत राजीनामा लिएको कि.नं.५६१ को जग्गा बण्डा लाग्ने तर निजी आर्जनको स्पष्ट र बस्तुनिष्ठ प्रमाणको अभावमा स्कूलको शेयर र कि.नं.१६ को जग्गामा भएको घरको तल्लो तल्लामा अंश भाग नलाग्ने गरी शुरु जिल्ला अदालतबाट भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिवादीको सम्पूर्ण सम्पत्तिबाट अंश पाउने ठहर गरिपाऊँ भन्ने वादीको पुनरावेदन अदालत विराटनगरमा परेको पुनरावेदन पत्र ।

शुरु जिल्ला अदालतले गरेको फैसलामा चित्त बुझेन । ३० बर्षको नोकरीबाट रिटायर भै सञ्चित विदा, औषधि खर्च, सञ्चयकोषवापत प्राप्त एकमुष्ट रकमबाट बिवादित घरको माथिल्लो तल्ला निर्माण गरेको हुँदा सोमा वादीको अंश हक लाग्ने होइन । शुरुले अंशबण्डाको १० नं.र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेत विपरीत वादीलाई अंश दिने ठहर गरेको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी इन्साफ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीको पुनरावेदन अदालत, विराटनगरमा परेको पुनरावेदन पत्र ।

वादीको नामको कि.नं.५६१ को जग्गा समेत बण्डा लाग्ने र प्रतिवादीहरूको नामको तायदाती फाँटवारीबमोजिमका सम्पूर्ण घर जग्गा तथा शेयर समेतमा ४ भागको १ भाग वादीले अंश पाउने ठहर्छ । प्रतिवादी शिवकुमारी देवी भगतको पुनरावेदन र वादीले कि.नं.५६१ का जग्गाका हकमा सम्म लिएको पुनरावेदन जिकीर पुग्न सक्दैन । शुरु मोरङ जिल्ला अदालतको मिति २०६३।२।२८ को फैसला केही उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत विराटनगरको मिति २०६४।६।२।४ को फैसला ।

आफ्नो ज्ञान, श्रम, सीप, प्रयास एवं दाइजोको गरगहना बिक्री गरी आर्जेको सम्पत्ति हाम्रो जीवनकालमा छोराको पैतृक सम्पत्ति हुन सक्दैन । आफूखुश गर्न पाउँने सम्पत्तिलाई पैतृक ठहर गर्दै बण्डा गर्ने ठहर गरेको निर्णय त्रुटिपूर्ण  छ । दाइजोको गरगहना बिक्री गरी प्राप्त रकम रु.१३००। मा २०२८।३।१३ मा कि.नं.१६ को जग्गा खरीद गरी म गंगा भगतले कर्मचारी सञ्चयकोषबाट मिति २०३८।२।२५ मा २०,९००। कर्जा लिई पक्की घर बनाएको हुँदा सो समेत बण्डा लाग्ने ठहर गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला उल्टी गरी वादी दावीबाट फुर्सद दिलाई पाऊँ भन्ने प्रतिवादीहरूको यस अदालतमा परेको संयुक्त पुनरावेदन पत्र ।

नियमबमोजिम पेश भएको प्रस्तुत मुद्दाको पुनरावेदक प्रतिवादी तर्फबाट उपस्थित  विद्वान अधिवक्ता श्री राजु आचार्यले वादीका बाबुसँग कुनै पनि पैतृक सम्पत्ति रहेको छैन । आफ्नो जीवनकालमा निजी आर्जनबाट तथा सञ्चयकोषको ऋण रकमबाट जग्गा खरीद गरी सो जग्गामा बनाएको घर समेत बण्डा लाग्ने ठहर गरेको निर्णय मिलेको छैन । सम्पत्ति पैतृक हुन बाबुमा बाजेको नामबाट हक सरी आएको हुनु पर्दछ । जव बाबुमा पैतृक सम्पत्ति सरी आएको छैन भने निज बाबुका पालामा आर्जेको सम्पत्ति छोराको हकमा पैतृक हुन नसक्ने हुँदा सो सम्पत्ति समेत बण्डा लाग्ने ठहर गरेको पुनरावेदन अदालत, विराटनगरको फैसला बदर हुनु पर्दछ भन्ने समेत बहस गर्नुभयो ।

यसमा पुनरावेदक तर्फबाट प्रस्तुत भएको बहस जिकीर सुनी मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालत विराटनगरको फैसला मिलेको छ छैन ? प्रतिवादीको पुनरावेदन जिकीर पुग्ने हो होइन ? सोही सम्बन्धमा  निर्णय दिनुपर्ने देखियो ।

निर्णयतर्फ विचार गर्दा बाबु गंगाप्रसाद र आमा शिवकुमारी भगतका २ भाई छोरा र ३ दिदी बहिनीहरू भएकोमा दिदी बहिनीको बिवाह भइसकेको र बाबु आमासँग अंश माग गर्दा अंश दिन इन्कार गरेकोले ४ भागको १ भाग अंश दिलाई पाऊँ भन्ने फिराद दावी भएकोमा शुरु मोरङ जिल्ला अदालतको फैसला केही उल्टी गरी सम्पूर्ण सम्पत्तिबाट ४ भागको १ भाग अंश पाउने ठहराएको पुनरावेदन अदालत, विराटनगरको फैसलाउपर प्रतिवादीहरूको पुनरावेदन परी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा निम्न बिवादहरूको निरुपण गर्नुपर्ने देखियोः

 

(क)   बाबु आमाले आफ्नो जीवनकालमा आर्जन गरेको सम्पत्ति निजका सन्तानको                 हकमा पैतृक सम्पत्ति हो होइन ?

      (ख)   वादी दावीबमोजिम वादीले प्रतिवादीबाट अंश पाउने हो होइन ?

      (ग)   पुनरावेदन अदालत, विराटनगरको फैसला मिलेको छ छैन ?

 

२.    पहिलो प्रश्नतर्फ विचार गर्दा, वादी प्रतिवादीहरू बीचको पुस्तावली र नातामा बिवाद नदेखिई मुख मिलेको छ । मूलरुपमा अंशमा बिवाद रहेको देखिन्छ । अंशबण्डा नभएकोले अंश पाऊँ भन्ने वादीको दावीतर्फ विचार गर्दा गंगाप्रसाद भगतका एक पत्नी, २ भाई छोराहरू र ३ वटी छोरीहरू भएकोमा छोरीहरू सबैको बिवाह भइसकेकोले यी वादी प्रतिवादी गंगाप्रसाद भगतका जेठा छोरा तथा प्रतिवादीहरू गरी चार अंशियार भएको तथ्यमा समेत प्रतिवादीहरूले बिवाद देखाएका छैनन् । भएको सम्पत्ति पैतृक होइन भन्नेसम्म प्रतिवादीको मुख्य प्रतिवाद रहेको छ । त्यसमा पनि मुख्य विवाद रहेको कि.नं.१६ को जग्गा वादीकी आमा शिवकुमारी भगतले ल्याएको दाइजोबाट प्राप्त गहनाहरू बेची सोबाट खरीद गरिएको र सोही जग्गामा गंगाप्रसाद भगतले सञ्चयकोषबाट ऋण लिई घर बनाएको हुँदा निजी आर्जनको सम्पत्ति हो । त्यसबाट बण्डा नलाग्ने र बाबु आमाको स्वआर्जनको सम्पत्ति छोराको लागि पैतृक सम्पत्ति हुन नसक्ने भन्ने नै मुख्य पुनरावेदन जिकीर रहेको देखिन्छ ।

३.    अब बाबु आमाले आफ्नो जीवनकालमा आर्जन गरेको सम्पत्तिलाई निजका सन्तानहरूको लागि पैतृक सम्पत्ति मान्ने वा नमान्ने तथा पैतृक सम्पत्ति हुन बाबुको पुर्खाहरूबाट बाबुको नाममा हक सरी आएकै हुनुपर्ने हो कि भन्ने नै प्रस्तुत मुद्दाको मुख्य बिवादको बिषयवस्तु तर्फ विचार गर्नु परेको छ । पिता पुर्खाहरूको सम्पत्ति भए निजको शेषपछि क्रमशः हकवालाहरूमा सरी जाने कानूनी व्यवस्था रहेको छ । तर वादी, प्रतिवादीका आमा बाबुको नाममा निजका बाजे वा बाबु, आमाको नाममा पुर्खौली सम्पत्तिबाट त्यस्ता बाबु, आमाले अंश पाउने हो । पैतृक सम्पत्ति नामसारीबाट प्राप्त नभए पनि बाबु, आमाले आफ्नै प्रयासबाट सम्पत्ति आर्जन गर्न नसक्ने भन्ने होइन । त्यसरी आर्जन गरिएको सम्पत्ति आफ्नो पालामा आर्जन गरेको  स्वआर्जनको सम्पत्ति हुन्छ । अंशबण्डाको १९ नं. को देहाय १ ले पिता पुर्खाका पालाको चल अचल सम्पत्तिमध्ये चलमा सबै र अचलमा आधीसम्म घर ब्यवहार चलाउन स्वास्नी, छोरा, छोरी वा विधवा बुहारीको मन्जूरी लिन नपर्ने र सो भन्दा बढी आफूखुश गर्नु पर्दा उपरोक्त अंशियारहरूको मन्जूरी लिनु पर्ने ब्यवस्था गरेको छ । यसको विपरीत आफ्ना पालामा आर्जेको सबै चलअचल सम्पत्ति स्वास्नी, छोरामध्ये मन परेकालाई दिई भेदभावपूर्ण ब्यवहार गर्नु बाहेक आफूखुश गर्न पाउने ब्यवस्था सोही अंशबण्डाको १९(२) नं. ले गरेको पाइन्छ । यसरी पिता पुर्खाका पालाको सम्पत्ति र आफ्नो पालामा आफैले आर्जन गरेको सम्पत्ति बीच खुश गर्न पाउने कुरामा भिन्नाभिन्नै मापदण्ड ऐनले निर्धारित गरेको छ । तर खुश नगरी बाँकी रहेको सम्पत्ति पिता, पुर्खाका पालामा होस्, अथवा आफैले आफ्नो पालामा आर्जेको होस्, त्यस्तो सबै सम्पत्तिमा कायम रहेका सबै अंशियारले समान अंश पाउनेबाट ऐनले रोक लगाएको पाईंदैन । बाबुले आफ्नो पालामा आर्जेको सम्पत्ति निज र निजका स्वास्नी, छोरा, छोरीबीच अंशबण्डा गर्दा निजको एकलौटी मान्नुपर्ने ऐनको मनशाय कदापी होइन । आमा, बाबुले आफ्नै पालामा आर्जन गरेको सम्पत्तिबाट पनि आर्जन गर्ने आमा, बाबु र निजको सन्तान छोरा, छोरीहरूले अंश हक प्राप्त गर्ने नै हुन्छन् ।

४.    अंशबण्डाको १ नं. ले पनि अंशबण्डा गर्दा बाबु, आमा, स्वास्नी, छोरा, छोरीहरूको जीय जीयै अंश गर्नुपर्ने ब्यवस्था गरेको छ भने सोही महलको २ नं.ले अंश पाउने सबैको बराबर अंश गर्नुपर्छ भनेको छ । यसको आसय र उद्देश्य बाबुका नाममा रहेको सबै सम्पत्तिमा निजका श्रीमती र छोरा, छोरीहरूले अंश पाउने हो । सो बाहेक बाबुले आफ्नो पालामा आर्जन गरेको कारणमात्र कुनै सम्पत्ति अंशबण्डाको १८ नं. को प्रयोजनको लागि बण्डा नलाग्ने सम्पत्तिको श्रेणी भित्र पर्न सक्दैन । बण्डा नलाग्ने सम्पत्तिको श्रेणी भित्र पर्नका लागि कुनै अंशियारले निजी तवरबाट आफ्नो निजी प्रयोगको लागि आर्जन गरेको वा दानबकस पाएको हुनु पर्दछ । आफ्नो पालामा आर्जन गरेको सम्पत्ति र निजी तवरबाट आर्जन गरेको सम्पत्ति बीच आधारभूत अन्तरको विद्यामानता रहेको छ । त्यसै गरी निजी तवरबाट दानबकस पाएको सम्पत्तिबाट सो पाउने सरहका अन्य अंशियारले अंश नपाउनेसम्म हो । बाबुको निजी सम्पत्ति निजले खुश गर्न पाउने हो तर बाँकी रहेकोमा त्यसबाट निजको अंशबाट मात्र अंश हक पाउने निजका श्रीमती छोरा, छोरीले अंश पाउने हुन्छ । यसर्थ प्रस्तुत मुद्दामा विवादित सम्पत्ति प्रतिवादी गंगाप्रसाद भगतले आफ्नै पालामा आर्जन गरेको भए तापनि त्यस्तो सम्पत्ति निजका सन्तानहरूका लागि पैतृक भई गंगाप्रसादबाट अंश पाउने निजका श्रीमती, छोरा, छोरीहरूले अंश पाउने नै देखिन्छ ।

५.    यसै सन्दर्भमा बाबु आमाले जुनसुकै व्यहोराबाट प्राप्त गरेको सम्पत्ति छोरा छोरी र श्रीमतीको लागि पैतृक मान्नु पर्नेभनी नेकाप २०६४, नि.नं. ७८१४, पृ.१४०, पुनरावेदक सावित्री बिरुद्ध पार्वती थापा भएको दे.नं.८१०३ को अंश मुद्दामा कानूनी सिद्धान्त प्रतिपादन समेत भइसकेको छ । उक्त सिद्धान्तको आधारमा समेत पुर्खाबाट हक सरी आई बाबुमा निहीत रहेको सम्पत्ति र बाबु आमाले आफ्नो जीवनकालमा निजी ज्ञान, सीप, प्रयास वा दानदातव्य वा कुनै व्यहोराबाट प्राप्त गरेको भएपनि खुश गर्न बाँकी रहेको सम्पत्ति निजका छोराछोरीको हकमा पैतृक सम्पत्ति हुनजाने हुँदा सो सम्पत्ति छोरा छोरीहरूमा अंश भाग लाग्ने सम्पत्ति मान्नु पर्ने हुन्छ ।

६.    अव दोस्रो प्रश्नतर्फ विचार गर्दा, बाबु आमाको शेषपछि मात्र पाउने भनी कागज भएको हुँदा अंश दिनुपर्ने होइन भनी प्रतिउत्तर जिकीर रहेतर्फ विचार गर्दा, शेषपछि मात्र सम्पत्ति उपभोग गर्न पाउने भन्ने शर्त राखी मिति २०५६।२।२४ मा कागज भएको देखिन्छ । अंशको हक अंशियार भएका नाताले स्वतः प्राप्त गर्ने हक हो । स्वतः प्राप्त गर्ने अंश जस्तो नैसर्गिक कानूनी हकलाई निष्क्रिय वा संकुचित पार्ने गरी भएको कुनै शर्त वा बन्देजले कानूनी मान्यता प्राप्त गर्न सक्दैन । अंशियारहरूले पारस्परिक सहमतिबाट आफूहरूले आफ्नो अंश हक कुनै खास शर्त बन्देजमा रही प्रयोग गर्न सक्दछन तर एउटा अंशियारको असहमति हुँदा हुँदै उसको अंश हकलाई सीमित वा संकुचित गर्ने गरी कुनै शर्त, बन्देज लगाउन पाईंदैन । त्यस्तो शर्त बन्देज कुनै घरायसी लिखतमा भएपनि त्यसले कानूनी मान्यता प्राप्त गर्न सक्दैन । अंशमा दावी गरे पछि अंश हक जस्तो नैसर्गिक अधिकारलाई कुण्ठित हुने गरी खडा भएको त्यस्ता शर्त वा बन्देज स्वतः बदरभागी हुन्छन ।

७.    यी वादी उमेशकुमार भगत आफ्ना बाबु गंगाप्रसाद तथा आमा शिवकुमारी भगतका छोरा भएकोमा विवाद नरहेकोले निजले आफ्नो बाबुबाट अंश पाउने कुरामा पनि विवाद रहेन । श्रीमती र छोरा, छोरीहरूका लागि प्रतिवादी गंगाप्रसाद मूल अंशियार भएको र निजको अंश हकबाट श्रीमती र छोरा, छोरीले अंश पाउने हुनाले यी वादीले पनि प्रतिवादी गंगाप्रसादबाट अंश हक पाउने नै देखिन आयो । बाबुले आफ्नो पालामा आर्जन गरेको र निजी तवरबाट आर्जन गरेको सम्पत्तिमा समेत कानूनबमोजिम छोरा, छोरीको अंश हक लाग्ने कुराको माथिका प्रकरणहरूमा विस्तृत विवेचना गरिसकिएको छ । यस्तो अवस्थामा प्रतिवादीहरूबाट यी वादीले अंश नपाउने भन्न मिल्ने देखिएन ।

८.    तसर्थ, बिवेचित आधारबाट वादी प्रतिवादी सगोलमा रहेका र निजहरू बीच अंशबण्डा भइसकेको भन्ने नदेखिंदा तायदाती फाँटवारीबाट उल्लिखित शेयर लगायत सम्पूर्ण चलअचल सम्पत्तिबाट वादी दावीबमोजिम चार भागको एक भाग अंश वादीले छुट्याई लिन पाउने ठहर गरेको पुनरावेदन अदालत विराटनगरको मिति २०६४।६।२।४ को फैसला मनासिब हुँदा सदर हुने ठहर्छ । प्रतिवादीहरूको पुनरावेदन जिकीर पुग्न सक्दैंन ।  दायरीको लगत कटृा गरी मिसिल नियमानुसार बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.रणबहादुर बम

 

इति संवत् २०६६ साल भदौ १० गते रोज ४ शुभम

 

 

इजलास अधिकृतः दीपक ढकाल 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु