शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८२३३ - आयकर

भाग: ५१ साल: २०६६ महिना: पौस अंक:

निर्णय नं. ८२३३     २०६६ पुस,अङ्क ९

 

सर्बोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री प्रेम शर्मा

माननीय न्यायाधीश श्री भरतराज उप्रेती

संवत् २०५९ सालको फौ.पु.नं. : ३०३७

संवत् २०६१ सालको फौ.पु.नं. : ३८१५

फैसला मितिः २०६६।७।१०।३

 

मुद्दा : आयकर ।

 

      पुनरावेदक/वादीः आन्तरिक राजश्व कार्यालय, बिराटनगरको तर्फबाट निमित्त प्रमुख कर   प्रशासक देवीदास कोईराला

बिरुद्ध

      प्रत्यर्थी/प्रतिवादीः  पशुपति वायर प्रोडक्टस् बिराटनगरको तर्फबाट प्रोप्राइटर अशोककुमार       मुरारका

एवं

पुनरावेदक/प्रतिवादी पशुपति वायर प्रोडक्टस् बिराटनगरको तर्फबाट प्रोप्राइटर अशोककुमार      मुरारका

बिरुद्ध

      प्रत्यर्थी/वादीः आन्तरिक राजश्व कार्यालय, बिराटनगर

 

शुरु निर्णय गर्ने :

कर कार्यालय, विराटनगर

पुनरावेदन फैसला गर्ने :

मा.न्या.श्री तपबहादुर मगर

मा.न्या. कृष्णभक्त श्रेष्ठ

 

§  कतिपय बिबरणका सम्बन्धमा करदाता स्वयंले नै अलमल परेको वा टाइपको गल्तीले त्रुटि भएको भनी स्वीकार गरेको अवस्थामा त्यस्तो लेखा बिबरणलाई आयकर ऐन, २०३१ को दफा ५८ बमोजिम अमान्य हुने अवस्थाको नै मान्नुपर्ने ।

(प्रकरण नं. ३)

§  करदाताले पेश गरेको लेखालाई मान्यता दिई सोको आधारमा आयकर निर्धारण गर्दा करदाताले पेश गरेको बिल भरपाइअनुसार समर्थन गरेको सम्पूर्ण खर्चलाई मान्यता दिइने हुनाले मान्यता प्राप्त लेखाको आधारमा कर निर्धारण  हुने ।

§  लेखा अमान्य भएको अवस्थामा करदाताले पाउने सुविधाहरू नपाउने अवस्था हुन्छ । तर त्यसरी लेखा अमान्य भएको भन्ने मात्र आधारमा करदाताले पेश गरेको बिक्रीसम्बन्धी बिबरण लगायतका विश्वसनीय ठहरिने बिबरण वा कारोवारसँग सम्बन्धित कागजातहरूलाई आधार मानी कर निर्धारण गर्न सकिने ।

(प्रकरण नं. ४)

§  अन्य करदाताको कर निर्धारणको आधारलाई निरपेक्ष रुपमा अर्को करदाताको कर निर्धारणको आधार बनाउन सकिने हुँदैन, त्यसरी आधार बनाइएका विषयहरूलाई पनि निर्णयमा सविस्तार खुलाउन सक्नु पर्ने ।

§  अन्य करदाताको कर निर्धारणको विषयलाई आधार बनाइएको भन्ने मात्र आधारमा आयकर निर्धारण जस्तो विषयलाई छाडिदिने हो भने त्यसले निर्णयकर्तालाई स्वैच्छाचारी बनाउँछ र कर निर्धारणसम्बन्धी निर्णयको आधार सँधै नै अस्पष्ट, मनोगत र अपारदर्शी बन्न जाने ।

(प्रकरण नं. ६)

 

पुनरावेदक वादी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री महेश थापा

पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री सीताराम अग्रवाल

अवलम्वित नजीरः

सम्बद्ध कानूनः

§  आयकर ऐन, २०३१ को दफा ५६, ५६(२), ५८, ५८(ङ), ३३, ३३(२)(ग)(घ)(च)

 

फैसला

      न्या. भरतराज उप्रेतीः राजश्व न्यायाधीकरण विराटनगरको फैसलाउपर राजश्व न्यायाधीकरण ऐन, २०३१ को दफा ८ को खण्ड (ख) र (ग) बमोजिम यस अदालतबाट पुनरावेदनको अनुमति प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यसप्रकार छ :-

      वायर प्रोडक्टस् तर्फको आ.व.२०५३।०५४ को कारोवारमा रु.२४,७६,०५८।९६ नोक्सान भएको र स्टील क्रसरतर्फ रु.१,२७,६६३।५४ नाफा भएको देखाई पशुपति वायर प्रोडक्टस्ले कर कार्यालय, विराटनगरमा मिति २०५४।११।१५ मा पेश गरेको आ.व. २०५३।०५४ को आयव्ययको विवरण ।

      उद्योगलाई आवश्यक पर्ने वायर तथा सहायक कच्चा पदार्थ भारत तथा स्थानीय बजारमा उपलब्ध छ । यस उद्योगले यस आ.व.मा वेण्डिङ्ग वायर, आल्मुनियम वायर समेत उत्पादन गरेको, पूँजीको अभाव भएकोले प्रोप्राईटरको थप पूँजी लगाइएको हो भन्ने समेत व्यहोराको पशुपति वायर प्रोडक्सटस्का प्रोप्राइटरका वारेस मस्तराम प्रधानाङ्गले मिति २०५५।९।२४ मा कर कार्यालय विरानगरमा गरेको बयान ।

      पेश भएको आयव्ययको विवरण आयकर ऐन, २०३१ को दफा ५८ (ङ) बमोजिम अमान्य गरिएको छ । ऐनको दफा ३३(२) को खण्ड (क) (घ) (च) र (छ) को आधारमा यस आ.व.को वायर विक्री रु.१,६०,००,०००।बरावरको देखिँदा उचित र वास्तविक खर्च कट्टा गरी रु.१६,००,०००।मात्र खुद आय कायम गरिने भएकोले आफ्नो कुरा पेश गर्ने गरी ऐनको दफा ३३ (४) बमोजिम ७ दिनको समय दिईएको छ भन्ने समेत व्यहोराको कर कार्यालय विराटनगरले पशुपति वायर प्रोडक्टस् र पशुपति स्टोन क्रसरलाई लेखेको मिति २०५६।२।१३ को पत्र ।

      वायर विक्रीबाट रु.१६,००,०००। खुद आय कायम गर्ने निर्णयमा कुनै आधार कारण समेत स्पष्ट नभएको हुँदा त्यहाँ कार्यालयबाट झूठ्ठा तरीकाले आय कायम गर्न खोजिएको देखिन्छ । यस उद्योगले पेश गरेको आय विवरणलाई ऐनको दफा ५८(ङ) बमोजिम अमान्य गर्न खोजिएकोमा ऐनको दफा ५६(२) को (क) देखि (ङ) सम्म वर्णित अबस्था विद्यमान छैन । त्यसैले कर कार्यालयले आय विवरण अमान्य गर्न खोजेको कुरालाई रोकी पुनः कारवाही गरी कर निर्धारण गरिपाऊँ भनी पशुपति वायर प्रोडक्टस्ले कर कार्यालय विराटनगर तथा कर विभागका महानिर्देशक समक्ष पेश गरेको मिति २०५६।२।२० को निवेदन ।

      प्रस्तुत करदाताको आ.व. २०५३।२०५४ को कारोवारको खुद आय कायम गर्ने सम्बन्धमा निजबाट पेश हुन आएको लेखा एवं अन्य विवरणलाई आयकर ऐन, २०३१ को दफा ५८(ङ) बमोजिम अमान्य गरी सोही ऐनको दफा ३३(२) को खण्ड (क), (घ), (च) र (छ) को आधारमा पशुपति वायर प्रोडक्टस् तर्फको वायर रड खरीद उत्पादन एवं विक्री रु.१,६०,००,०००।कारोवारमा हुन सक्ने वास्तविक खर्चलाई कट्टा गरी रु.१६,००,०००।खुद आय कायम हुने ठहर्छ भन्ने कर कार्यालय विराटनगरको मिति २०५६।२।२७ को निर्णय पर्चा ।

      हिसावबमोजिम कायम भएको जम्मा कर रु.५,४०,०००।जरीवाना रु.१९,०००।समेत जम्मा रु.५,२३,०००।आदेश प्राप्त भएको मितिले ३५ दिनभित्र नेपाल राष्ट्र बैंक विराटनगरमा जम्मा गर्नू भन्ने समेत व्यहोराको कर कार्यालय, विराटनगरको मिति २०५६।२।२७ को आयकर निर्धारण आदेश ।

      कर कार्यालय विराटनगरले निर्णय गर्दा आधार लिएको आयकर ऐन, २०३१ को दफा ५८(ङ) को व्यवस्था ऐनको दफा ५६(२) को (क) देखि (ङ) सम्ममा वर्णित अवस्थाअन्तर्गत पर्न नसक्ने भएकोले ऐनको मनसाय र भावनाविपरीत पूर्वाग्रही भै कर कार्यालयले गरेको निर्णय त्रुटिपूर्ण छ । ऐनको दफा ४९ (५) बमोजिम तोकिएको तरिका र भाषामा राखिएको आयव्ययको विवरणलाई अमान्य गर्न मिल्दैन । दफा ३३(२) को विपरीत हचुवाको आधारमा बढी खुद आय कायम गरी ऐनको दफा ६१ बमोजिम जरीवाना समेत गर्ने गरेको उक्त निर्णय कानूनी त्रुटिपूर्ण हुँदा सो निर्णय पर्चा एवं कर निर्धारण आदेश बदर गरी यस उद्योगले पेश गरेको लेखाको आधारमा नै आयकर निर्धारण गरिपाऊँ भन्ने समेत व्यहोराको पशुपति वायर प्रोडक्टस्को तर्फबाट राजश्व न्यायाधीकरण, विराटगरमा दर्ता भएको मिति २०५६।४।२५ को पुनरावेदनपत्र ।

      लेखालाई अमान्य गरेको कर कार्यालयको निर्णय मिलेको छैन भन्ने पुनरावेदन जिकीर सम्बन्धमा छलफल गर्न अ.वं. २०२ नं. बमोजिम पुनरावेदन सरकारी वकील कार्यालयलाई पेसीको सूचना दिनु भन्ने समेत व्यहोराको राजश्व न्यायाधीकरणको मिति २०५८।२।९ को आदेश ।

      मिसिलसाथ संलग्न प्रमाणहरूको आधार मूल्याँकन गरी हेर्दा विक्री अङ्क रु.१,३७,६३,०२७।२१ देखिएकोले सोही कारोवारलाई विक्री अङ्क कायम गरी रु.१३,७६,३०२।७२ खुद आय कायम हुने ठहर्छ भन्ने समेत व्यहोराको राजश्व न्यायाधिकरण विराटनगरको मिति २०५८।६।१।२ को फैसला ।

      राजश्व न्यायाधिकरणको फैसलामा चित्त वुझेन । विपक्षीले आ.व. २०५३।०५४ को आय विवरण हिसावको आधारमा वासलात तथा नाफा नोक्सान सहित पेश गरेकोमा खरीद विक्री फरक गर्ने गरी फाँटवारी पेश गरेको, विना स्वीकृति पूँजी वृद्धि गरेका, खरीद खाता र विक्री खाता प्रष्ट नभएको आदि कारणले गर्दा विपक्षीले पेश गरेको लेखालाई आयकर ऐन, २०३१ संशोधन सहितको दफा ५८(ङ) बमोजिम अमान्य गरिएको कुरालाई राजश्व न्यायाधीकरणले सदरै गरेको छ । तर खुद आय कायम गर्दा भने अमान्य भैसकेको लेखाको हिसावकिताबलाई नै आधार बनाइएको हुँदा सो आधार त्रुटिपूर्ण छ । विपक्षीले देखाएको लेखा बमोजिमकै कारोवारलाई यथार्थ कारोवार मान्नु पर्ने कुनै प्रमाण पेश भएको छैन । तसर्थ, राजश्व न्यायाधीकरण विराटनगरको निर्णय त्रुटिपूर्ण भएकोले बदरभागी छ भन्ने समेत व्यहोराको आन्तरिक राजश्व कार्यालय विराटनगरको तर्फबाट मिति २०५९।२।१३ मा यस अदालतमा दर्ता हुन आएको पुनरावेदनको अनुमति पाऊँ भन्ने निवेदन पत्र ।

      शुरु कर कार्यालय, विराटनगरले पशुपति वायर प्रोडक्टस्को लेखा, आयकर ऐन, २०३१ को दफा ५८(ङ) बमोजिम झूठ्ठा विवरण दिएको भनी अमान्य गरेको निर्णयलाई राजश्व न्यायाधिकरण विराटनगरले सदर गरेको तर सोही अमान्य लेखा बमोजिमको रकमलाई नै मान्यता दिई शुरुको निर्णय केही उल्टी गरी खुद आय कायम गर्दा कुनै मनासिव आधार र कारण (Speaking Order) नदिई हचुवा रुपमा गरेको देखिएकोले राजश्व न्यायाधिकरण ऐन, २०३१ को दफा ८ को खण्ड (ख) र (ग) बमोजिम पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालतको मिति २०५९।४।३ को आदेश ।

      राजश्व न्यायाधिकरणको फैसलामा चित्त बुझेन । यस उद्योगले पेश गरेको आयव्ययको हिसाबलाई राजश्व न्यायाधिकरण ऐन, २०३१ को दफा ५८(ङ) बमोजिम अमान्य गर्दा त्यसमा उल्लिखित आधारहरू समेत विद्यमान हुनु पर्दछ । तर पेश भएको आयव्ययको हिसावमा सो मध्ये कुन त्रुटि रहेको थियो भनी शुरु कर कार्यालय र राजश्व न्यायाधिकरणको निर्णयमा समेत खुलेको छैन । ऐनको दफा ५६(२) को कुनै वा सबै अवस्थामा मात्र दफा ५८(ङ) बमोजिम लेखा अमान्य गर्न सकिने छ । कुनै उद्योगको आय विवरण झूठा देखिएमा दफा ५६ बमोजिम पुनः कर निर्धारण गर्नु  पर्दछ । तर विपक्षी कार्यालयले सो बमोजिम गरेको पनि छैन । दफा ५६(२) बमोजिम आय विवरण झूठा ठहरिएमा दफा ६० बमोजिम जरीवाना गर्नुपर्ने हुन्छ, तर त्यसरी जरीवाना गरिएको पनि छैन । तसर्थ यस उद्योगले पेश गरेको कारोवारको विवरणलाई ऐनको दफा ५६(२) अन्तर्गत झूठा विवरणको परिधिभित्र पार्न मिल्दैन । राजश्व न्यायाधिकरणको फैसलाले विक्री अङ्क रु.१,६०,००,०००।कायम गरेको शुरुको निर्णयलाई सो हदसम्म बदर गरेको छ, तर खुद आय कायम गर्दा स्वीकृत नलिएको भन्ने कर कार्यालयको जिकीर पनि न्यायसंगत छैन  । पूँजी थप गरिएको  विषयमा सम्बन्धित निकायबाट कुनै कारवाही नभएको र नगरिएको अवस्थामा कर कार्यालयले सो सम्बन्धमा प्रश्न गर्ने अधिकारक्षेत्र नै छैन । स्वीकृति नलिई पूँजी बृद्धि गरिएको भन्ने आधारमा दफा ५६(२) बमोजिम लेखा अमान्य गर्न मिल्दैन । तसर्थ शुरु कर कार्यालयले लेखा अमान्य गरी खुद आय रु.१,६०,००,०००।कायम गरी कर निर्धारण गरेको आदेशलाई केही उल्टी गरी लेखा बदर गरेकोलाई सम्म सदर गरेको र आयको हकमा रु.१३,७६,३०२।७२ कायम गरेको राजश्व न्यायाधिकरणको फैसलामा ऐनको दफा ८(क)(ख) र (ग) को त्रुटि विद्यमान रहेकोले पुनरावेदन गर्ने अनुमति पाऊँ भन्ने समेत व्यहोराको पशुपति वायर प्रोडक्ट्सको तर्फबाट मिति २०५९।६।१ मा दर्ता भएको निवेदन पत्र ।

      यिनै निवेदक र विपक्षी भएको संवत् २०५९ सालको नि.नं. २५४ को आयकर (आ.व.२०५३।०५४) मुद्दामा यस अदालतबाट मिति २०५९।४।३ मा राजश्व न्यायाधिकरण ऐन, २०३१ को दफा ८ को खण्ड (ख) र (ग) बमोजिम पुनरावेदनको अनुमति प्रदान भैसकेको समेतबाट प्रस्तुत मुद्दामा पनि राजश्व न्यायाधिकरण विराटनगरले पशुपति वायर प्रोडक्ट्सको लेखा अमान्य गरेको कर कार्यालय विराटनगरको निर्णयलाई सदर गरेको तर खुद आय कायम तर्फ शुरु निर्णय उल्टी गरेको देखिएकोले राजश्व न्यायाधिकरण ऐन, २०३१ को दफा ८ को खण्ड (ख) र (ग) बमोजिम पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालतको मिति २०६०।११।१३ को आदेश ।

      नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक/वादी नेपाल सरकारका तर्फबाट रहनु भएका विद्वान सहन्यायाधिवक्ता महेश थापाले निर्णय पर्चामा कारण खुलाइएको छ । उद्योगद्वारा पेश गरिएको खर्च विवरण विरोधाभाषपूर्ण रहेको हुँदा त्यसलाई अमान्य गरिएको हो, अमान्य मानिएको खर्च विवरणलाई मान्यता दिई राजश्व न्यायाधिकरण विराटनगरले विक्री अङ्क घटाउने गरी गरेको फैसला मिलेको छैन भनी र पुनरावेदक/प्रतिवादी पशुपति वायर प्रोडक्ट्सका तर्फबाट रहनु भएका विद्वान अधिवक्ता सीताराम अग्रवालले लेखा अमान्य गरेको हदसम्मको फैसला त्रुटिपूर्ण रहेको छ, लेखाको आधारमा खुद आय कायम गरी कर निर्धारण गर्नुपर्छ भनी वहस गर्नुभयो । प्रस्तुत मुद्दाको सम्पूर्ण मिसिल अध्ययन गरी विद्वान कानून व्यवसायीहरूका बहस जिकीर समेत सुनी हेर्दा प्रस्तुत मुद्दामा मूलतः देहायका प्रश्नहरूको निरुपण गरी राजश्व न्यायाधीकरणले गरेको फैसला मिले नमिलेको के छ ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो :

 

१.     उद्योगले पेश गरेको आयको बिबरण अमान्य गर्न सकिने अवस्थाको विद्यमानता                           रहेको छ वा छैन ?

२.    करदाताले पेश गरेको आयको बिबरण अमान्य गरेपछि सोही बिबरणमा उल्लिखित                      बिक्री अङ्कलाई आधार मानी खुद आय कायम गर्न मिल्ने हुन्छ वा हुँदैन ?

 

      २.    माथि निर्धारण गरिएका प्रश्नहरूमा प्रवेश गर्नु अघि प्रस्तुत मुद्दाको तथ्यको विश्लेषण गर्नु सान्दर्भिक हुन आउँछ । पशुपति वायर प्रोडक्ट्स र पशुपति स्टोन क्रसर उद्योगको आर्थिक वर्ष २०५३।०५४ को आय बिबरण नाफा नोक्सान वासलात कर कार्यालय विराटनगरमा पेश गरिएकोमा सो बिबरणको पुष्ट्याईंमा आवश्यक फाँटवारी पेश गर्न पत्राचार गरिएअनुसार उद्योगका तर्फबाट केही फाँटवारी पेश भएको र कैफियतका सम्बन्धमा वयान समेत गरिदिएको देखिन्छ । पशुपति वायर प्रोडक्ट्सतर्फका फाँटवारीमा मुख्य कच्चा पदार्थ एम.एस.रडको खपतको फरक फरक फाँटवारी पेश हुन आएको, तयारी पदार्थ जि.आई.वायरलाई समेत मुख्य कच्चा पदार्थ एम.एस.रड अन्तर्गत देखाई झूठा बिबरण पेश गरेको र वासलातमा स्वीकृत कूल पूँजीभन्दा बढी पूँजी देखाई प्रोप्राइटरसिप कम्पनीमा शेयर होल्डरहरूको कोष भनी गलत प्रस्तुतीकरण गरी झूठा र काल्पनिक हिसाब किताब (लेखा) को आधारमा नोक्सानी देखाई बिबरण पेश हुन आएको भन्ने आधारमा सो लेखालाई ऐनको दफा ५८ को खण्ड (ङ) बमोजिम अमान्य गरी दफा ३३(२) को खण्ड (ग)(घ)(च) र (छ) को आधारबाट कर निर्धारण गर्नुपर्ने भएकोले सबूद प्रमाण भए पेश गर्नु भनी मौका दिइएको देखिन्छ । कर कार्यालयबाट सोधिएका विषयहरूमा प्राप्त हुन आएका जवाफका आधारमा मूल्याङ्कन गरी एम.एस.रडको खपतको फाँटवारी, तयारी पदार्थ जि.आई.वायरलाई मुख्य कच्चा पदार्थ एम.एस.रड अन्तर्गत देखाइएको बिबरण, वासलातमा स्वीकृत कूल पूँजी भन्दा बढी पूँजी देखाई प्रोप्राइटरसिप कम्पनीमा शेयर होल्डरहरूको कोष भनी गरिएको प्रस्तुतीकरण र बिक्री बिबरण समेतका सम्बन्धमा निष्कर्षमा पुगेको देखिन्छ । त्यसरी कर कार्यालयले करदाताबाट आ.व.२०५३।०५४ मा पेश भएको बिबरणलाई ऐनको दफा ५८(ङ) बमोजिम अमान्य गरी ऐनको दफा ३३(२) को खण्ड (क)(घ)(च) र (छ) का आधारमा पशुपति वायर प्रोडक्ट्स तर्फको वायर रड खरीद उत्पादन एवं बिक्री रु.१,६०,०००।कारोबारमा हुनसक्ने वास्तविक खर्चलाई कटृा गरी रु.१६,००,०००।खुद आय कायम हुने ठहर्‍याएकोमा सो उपर पुनरावेदन सुनी राजश्व न्यायाधिकरण विराटनगरले आय बिबरण अमान्य गरेको हदसम्मको निर्णय सदर गरी खुद आय कायम गरेतर्फ बिक्री अङ्क रु.१,३७,६३,०२७।२१ लाई आधार मानी खुद आय रु.१३,७६,३०२।०२ कायम गरी फैसला भएको देखिन्छ । सो फैसलाउपर वादी प्रतिवादी दुबै पक्षको पुनरावेदन परेकोमा यस अदालतबाट करदाताले पेश गरेको विवरण अमान्य गरेको निर्णयलाई राजश्व न्यायाधिकरण विराटनगरले सदर गरेको तर सोही अमान्य लेखा बमोजिमको रकमलाई नै मान्यता दिई शुरुको निर्णय केही उल्टी गरी खुद आय कायम गर्दा कुनै मनासिव आधार र कारण नदिई हचुवा रुपमा गरेको भन्ने आधारमा पुनरावेदनको अनुमति प्रदान गरिएको देखिन्छ ।

      ३.    उल्लिखित तथ्य रहेको प्रस्तुत मुद्दामा अब माथि निर्धारण गरिएका प्रश्नहरूमध्ये पहिलो प्रश्नमा प्रवेश गरी न्याय निरुपण गरिनु पर्ने भएको छ । उद्योगले पेश गरेको आयको विवरण अमान्य गर्न सकिने अवस्थाको विद्यमानता रहेको छ वा छैन ? भन्ने पहिलो प्रश्नका सम्बन्धमा विचार गर्दा, आय बिबरण अमान्य गर्ने सम्बन्धमा ऐनको दफा ५८ मा ५ वटा आधारहरू तोकिएको देखिन्छ । त्यसमध्ये खण्ड (ङ) मा दफा ५६ को उपदफा (२) को कुनै वा सबै अवस्थामा समेत लेखा अमान्य हुने व्यवस्था गरिएको छ । दफा ५६ को उपदफा (२) मा झूठा बिबरण मानिने आधारहरू तोकिएको छ । प्रस्तुत मुद्दामा मुख्य विवादका विषय बनेका एम.एस.रडको खपतको फाँटवारीका सम्बन्धमा मूल्य अभिबृद्धि करको फाँटबारी र कर कार्यालयमा पेश भएको फाँटबारी बीचमा सामञ्जस्यता नदेखिएको, तयारी पदार्थका रुपमा रहेको जि.आई.वायरलाई मुख्य कच्चा पदार्थ एम.एस.रड अन्तर्गत देखाइएको बिबरणमा लेखा राख्न अलमल परी त्यसरी देखाइएको भनी करदाता स्वयंले नै स्वीकार गरेको र वासलातमा स्वीकृत कूल पूँजीभन्दा बढी पूँजी देखाई प्रोप्राइटरसिप कम्पनीमा शेयर होल्डरहरूको कोष भनी गरिएको प्रस्तुतीकरण टाइपको गल्तीले गर्दा हुन गएको भनी करदाताको जवाफ रहेको देखिँदा ती विषयमा झूठा बिबरण प्रस्तुत गरिएको भन्ने स्पष्ट भैरहेको छ । त्यसरी कतिपय बिबरणका सम्बन्धमा करदाता स्वयंले नै अलमल परेको वा टाइपको गल्तीले त्रुटि भएको भनी स्वीकार गरेको अवस्थामा त्यस्तो लेखा बिबरणलाई दफा ५८ बमोजिम अमान्य हुने अवस्थाको नै मान्नु पर्ने देखियो ।

      ४.    त्यसरी लेखा अमान्य भैसकेको अवस्थामा आयकर निर्धारण प्रयोजनका लागि के कुन आधारमा खुद आय कायम गर्ने भन्ने प्रश्न उठ्नु स्वाभाविक हुन्छ । खुद आय निर्धारणका सन्दर्भमा राजश्व न्यायाधिकरणबाट करदाताले पेश गरेको बिबरणलाई आधार बनाएको देखिन्छ । करदाताले पेश गरेको बिबरण अमान्य भैसकेको अवस्थामा सोही बिबरणलाई आधार मानी खुद आय कायम गर्न नमिल्ने भन्ने नै वादी पक्षको जिकीर रहेको छ भने यस अदालतबाट पुनरावेदनको अनुमति प्रदान गर्दा समेत अमान्य लेखा बमोजिमको रकमलाई नै मान्यता दिई खुद आय कायम गरिएको र सोको कुनै मनासिव आधार र कारण नखोलिएको भन्ने कुरालाई आधार बनाइएको देखिन्छ । शुरु कर कार्यालयबाट खुद आय कायम गर्दा करदाताको आय व्ययको स्रोत, यस्तै किसिमका अरु करदाताको यस्तै किसिमको कारोवारमा खुद आय निर्धारण गरिएको आधार र करदाताको विषयमा कार्यालयमा प्राप्त भएका तथ्याङ्कलाई आधार बनाइएको भन्ने देखिन्छ । करदाताले पेश गरेको बिबरणमध्ये बिक्री बिबरणलाई मात्र आधार बनाएर लेखा अमान्य गरिएको नभै अन्य विभिन्न आधारमा अमान्य गरिएको अवस्था रहेको सन्दर्भमा लेखा अमान्य गरिँदैमा सो लेखामा उल्लिखित बिबरणलाई पूरै इन्कार गर्नुपर्छ भन्ने हुँदैन । करदाताले राखेको लेखालाई मान्यता दिई सोको आधारमा कर निर्धारण गर्ने आधार र लेखालाई अमान्य गरेको अवस्थामा कर निर्धारण गर्ने प्रक्रिया फरक हुन्छ र यसको नतिजा वा परिणाम पनि फरक हुन्छ । करदाताले पेश गरेको लेखालाई मान्यता दिई सोको आधारमा आयकर निर्धारण गर्दा करदाताले पेश गरेको बिल भरपाई अनुसार समर्थन गरेको सम्पूर्ण खर्चलाई मान्यता दिइने हुनाले मान्यता प्राप्त लेखाको आधारमा कर निर्धारण हुन्छ । त्यस्तो अवस्थामा आयकर ऐन अनुसार करदाताले प्राप्त गर्ने सुविधाहरू पनि प्राप्त गर्न सक्दछ । तर लेखा अमान्य भएको अवस्थामा करदाताले त्यस्ता सुविधाहरू नपाउने अवस्था हुन्छ । तर त्यसरी लेखा अमान्य भएको भन्ने मात्र आधारमा करदाताले पेश गरेको बिक्रीसम्बन्धी बिबरण लगायतका विश्वसनीय ठहरिने बिबरण वा कारोवारसँग सम्बन्धित कागजातहरूलाई आधार मानी  कर निर्धारण गर्न नसकिने भन्ने हुँदैन।

      ५.    कुनै फर्मबाट बिक्री भएको सामानको बिबरणसम्बन्धी सूचनाको मुख्य स्रोत भनेको सोही फर्म नै हो । प्रस्तुत मुद्दामा पशुपति वायर इण्डष्ट्रिजबाट आफ्नो फर्मबाट बिक्री भएको भनी प्रस्तुत गरिएको बिक्री अङ्क समेतलाई झूठा बिबरण भनी अमान्य गरिएको भएतापनि खुद आय कायम गर्ने प्रयोजनका लागि कुनै न कुनै अङ्कलाई आधार बनाउनु पर्ने हुन्छ । उक्त इण्डष्ट्रिजले रु.१,३७,६३,०२७।२१ को बिबरण पेश गरेको अवस्थामा कर कार्यालयले रु.१,६०,००,०००।कायम गरेको कुराको स्पष्ट आधार र कारण खुलाउन नसकेको भन्ने  कुरा मिसिलबाट देखिएको छ । सम्बन्धित फर्मले पेश गरेको बिबरणलाई अन्यथा गर्न त्यसको आधार समेत प्रस्तुत गरिनु पर्छ । कर कार्यालयको निर्णय पर्चा अध्ययन गर्दा त्यसरी बढी बिक्री देखाउँदा केलाई आधार बनाइयो भन्ने खुल्दैन, केबल करदाताको आय व्ययको स्रोत, यस्तै किसिमका अरु करदाताको यस्तै किसिमको कारोवारमा खुद आय निर्धारण गरिएको आधार र करदाताको विषयमा कार्यालयमा प्राप्त भएका तथ्याङ्कलाई आधार बनाइएको भन्ने सम्मको व्यहोरा उल्लेख गरिएको देखिन्छ । करदाताले पेश गरेको लेखा बिबरणलाई अमान्य गरिएको अवस्थामा खुद आय कायम गर्ने सम्बन्धमा आयकर ऐनको दफा ३३(२) ले आधारहरू तोकिदिएको देखिन्छ । त्यसमध्येका खण्ड (ग),(घ),(च) र (छ) लाई आधार बनाइएको भन्ने कर कार्यालयको निर्णयमा देखिए तापनि खण्ड (ग) मा उल्लेख भएबमोजिम कर निरीक्षकबाट प्रतिवेदन लिएको, खण्ड (च) मा उल्लेख भएबमोजिम कर अधिकृतले आफैंले सो करदाताको विषयमा बुझेको वा खण्ड (छ) बमोजिम करदाताको विषयमा कर कार्यालयमा प्राप्त भएको कुनै तथ्यपूर्ण प्रतिवेदनलाई आधार बनाइएको भन्ने कुरा निर्णयमा खुलाइएको अवस्था देखिँदैन । जहाँसम्म खण्ड (घ) बमोजिम अन्य करदाताको यस्तै कारोबारमा आय निर्धारण गरिएको आधारको सन्दर्भ छ, अन्य करदाताको कर निर्धारणको आधारलाई निरपेक्ष रुपमा अर्को करदाताको कर निर्धारणको आधार बनाउन सकिने हुँदैन, त्यसरी आधार बनाइएका विषयहरूलाई पनि निर्णयमा सविस्तार खुलाउन सक्नु पर्छ । अन्य करदाताको कर निर्धारणको विषयलाई आधार बनाइएको भन्ने मात्र आधारमा आयकर निर्धारण जस्तो विषयलाई छाडिदिने हो भने त्यसले निर्णयकर्तालाई स्वैच्छाचारी बनाउँछ र कर निर्धारण सम्बन्धी निर्णयको आधार सँधै नै अस्पष्ट, मनोगत र अपारदर्शी बन्न जान्छ । कानूनले तोकिदिएको आधारलाई निर्णयको आधार बनाउँदा पनि त्यसको सान्दर्भिकता, औचित्य र त्यसको पुष्ट्याईंका अन्य आधारहरू देखाउनु पर्छ, जसको अभावमा निर्णयको स्वैच्छाचारिताले उन्मुक्ति पाउने अवस्था बन्दछ । त्यसैले कर कार्यालय विराटनगरले करदाताले उल्लेख गरेको बिक्री अङ्क रु.१,३७,६३,०२७।२१ लाई मान्यता नदिई रु.१,६०,००,०००।मानी त्यसका आधारमा खुद आय कायम गरेको निर्णयसँग सहमत हुन सक्ने अवस्था देखिएन ।

      ६.    तसर्थ माथि गरिएको विश्लेषण समेतका आधारमा पशुपति वायर प्रोडक्ट्सले पेश गरेको आय वर्ष २०५३।०५४ को आय बिबरण समेतका आधारमा बिक्री अङ्क रु.१,३७,६३,०२७।कायम गरी रु.१३,७६,३०२।०२ खुद आय कायम गरेको राजश्व न्यायाधिकरण विराटनगरको मिति २०५८।६।१ को फैसला मिलेकै देखिँदा त्यसलाई अन्यथा गर्नुपर्ने देखिएन, सदर हुने ठहर्छ । वादी आन्तरिक राजश्व कार्यालय विराटनगर र प्रतिवादी पशुपति वायर प्रोडक्ट्सका तर्फबाट परेको पुनरावेदन जिकीरसँग सहमत हुन   सकिएन । यो फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिई प्रस्तुत मुद्दाको दायरीको लगत कटृा गरी मिसिल नियमानुसार गरी बुझाईदिनू।

 

 

उक्त रायमा म सहमत छु ।

 

न्या. प्रेम शर्मा

 

इति संवत् २०६६ साल कात्तिक १० गते रोज ३ शुभम्

 

इजलास अधिकृत : उमेश कोइराला

 

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु