शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८२०५ - भ्रष्टाचार

भाग: ५१ साल: २०६६ महिना: मंसिर अंक:

निर्णय नं. ८२०५    ने.का.प. २०६६      अङ्क ८

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ

माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला

संम्वत् २०६० सालको फौ.पु.नं ...३६०३

फैसला मितिः २०६६।५।७।१

 

मुद्दा : भ्रष्टाचार ।

 

पुनरावेदक प्रतिवादीः सिराहा जिल्ला, वेल्हा गा.वि.स वडा नं ८ वस्ने राजकुमारलाल कर्ण समेत

विरुद्ध

प्रत्यर्थी वादीः जिल्ला प्रशासन कार्यालय सिराहाको पत्रले नेपाल सरकार

 

शुरु फैसला गर्नेः

मा.जि.न्या. श्री जगदीशप्रसाद शर्मा पौडेल

पुनरावेदन फैसला गर्नेः

मा.मु.न्या.श्री शारदाप्रसाद पण्डित

मा.न्या.श्री ताहिर अलि अन्सारी

 

§  मरिसकेको व्यक्तिको नाउँमा रहेको जग्गा निजका कानूनी र वास्तविक हकदार छोरा समेतको सहमति बेगर अर्को उनाउ व्यक्तिलाई जग्गाधनी खडा गराई गैरकानूनी रुपमा मिलेमतो गरी सरकारी कर्मचारी समेतको प्रत्यक्ष संलग्नतामा वास्तविक जग्गाधनी र निजको हकदारको हक मेट्ने एवं गैरकानूनी हानि पुर्‍याउने र गैरकानूनी रुपमा लाभ पुर्‍याउने उद्देश्यबाट लिखत पारित गर्ने गरी भएको क्रियाहरू तत्काल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(१) तथा दफा ८ समेतको परिधिभित्रै पर्ने । त्यस्तो कसूरजन्य कार्यलाई व्यक्तिगत सम्पत्ति लिनुदिनु गरेको विषयभित्र सीमित गरी व्यक्तिगत रुपमा मुद्दा गरी निरुपण गर्नुपर्ने भनी अर्थ गर्दा भ्रष्टाचारजन्य क्रियाहरूको संकुचित परिभाषा हुन गई गैरकानूनी, अनाधिकृत एवं भ्रष्टाचारजन्य क्रियाहरूले नै प्रश्रय प्राप्त गर्ने ।

(प्रकरण नं. १०)

 

पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ता श्री कृष्णप्रसाद सापकोटा  श्री सुरेन्द्रकुमार श्रेष्ठ

प्रत्यर्थी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री शिवबहादुर रानाभाट

अवलम्वित नजीरः

सम्बद्ध कानूनः

§  भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(१), , १६क.

§  अ.वं १८४(क) १८५ नं

§  प्रमाण ऐन, २०३१ को दफा ७(ग), २८

 

फैसला

 

न्या. मोहनप्रकाश सिटौलाः पुनरावेदन अदालत, राजविराजको फैसलाउपर प्रतिवादीको तर्फबाट परेको मुद्दा दोहोर्‍याइ पाऊँ भन्ने निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) अनुसार यस अदालतबाट निस्सा प्रदान भै दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छ :

मालपोत कार्यालय सिराहाका कर्मचारीहरू र अन्य व्यक्तिहरूले मिलेमतोबाट मरिसकेको व्यक्तिको जग्गा कीर्ते व्यक्ति खडा गरी गराई गैरकानूनी रुपले लिएको हुँदा उक्त  व्यक्तिहरूउपर आवश्यक कारवाहीको लागि ऋणी मोसदीलाल कर्ण धनीहरू विनोदकुमार महासेठ भएको र.नं ४२१५, खसिया सुंडी भएको र.नं ४२१६, महालक्ष्मी कर्ण भएको र.नं ४२१७, र उषादेवी घिमिरे भएको र.नं ४२१८ का चार थान राजीनामा कागजहरू समेतका कागजात यसै साथ पठाइएको छ भन्ने जिल्ला प्रशासन कार्यालय, सिराहाको मिति २०४९।१०।६ को पत्र र संलग्न कागजातहरू विशेष प्रहरी विभागमा प्राप्त भई अनुसन्धान कारवाही शुरु भएको ।

मिति २०४९।९।२६ मा मालपोत कार्यालय, सिराहाबाट पारित र.नं ४२१८ को राजीनामा तमसुकमा उल्लेख भएको वेल्हा गा.वि.स वडा नं ९ को कि.नं १६१ क्षे.फ ०१६१२१२  र कि.नं १९० क्षे.फ ०१७ समेत ज.वि १९१२  को जग्गा मैले ४४,०००।मा सिराहा जिल्ला, सिराहा गा.वि.स वडा नं ४ वस्ने मोसदीलाल कर्णसँग खरिद गरिलिएको हो । उक्त जग्गा पारित गरी लिँदा म मालपोत कार्यालय गएको थिइन । मोसदीलाल कर्णलाई म चिन्दिन । निज स्वर्गे भएको भन्ने कुरा उक्त जग्गा मेरो नाउँमा पारित भैसकेपछि सुनेको हुँ । मेरा नाउँमा जग्गा पास गर्नु अघि नै स्वर्गे भैसकेका रहेछन् भन्ने कुरा पछिमात्र थाहा भयो । मैले पारित गरीलिएको राजीनामामा भएको ल्याप्चे सहिछाप र सही कसको हो ? मेरो श्रीमान् रामप्रसाद प्रेमी, जो मालपोत कार्यालय सिराहामा लेखापाल हुनुहुन्छ , उहाँ, यो जग्गा मिलाउने मुख्य मानिस राजकुमारलाल कर्ण र मालपोत कार्यालयका कर्मचारीहरलाई थाहा होला । उक्त कि.नं १६१ र १९० का जग्गा पारित गरीलिनलाई श्रीमान्लाई दिएको वारेसनामामा लागेको सहिछाप मेरो हो होइन हाल चिन्न सक्दिन । मेरो श्रीमान् रामप्रसाद प्रेमीले मेरो ल्याप्चे सहिछाप गराइ लिनु भएको थियो । कुन कागजमा ल्याप्चेछाप लगाउनु भयो ? मलार्ई थाहा छैन भन्ने समेत व्यहोराको उषादेवी घिमिरेको बयान कागज ।

र.नं ४२१७ को राजीनामामा उल्लिखित ज.वि २१५ को जग्गा मैले मोसदीलाल कर्णबाट खरिद गरेको छैन । के कसरी उक्त राजीनामाको कागजमा मेरो नाम तथा ल्याप्चे सहिछाप भयो ? सो सम्बन्धमा मेरा श्रीमान् राजकुमारलाल कर्ण र मालपोत कार्यालयका सम्बन्धित कर्मचारीहरूलाई थाहा होला । उक्त जग्गाहरू मेरो नाउँमा खरिद गरिएको छ भनी कुनै व्यक्तिले पनि मलार्ई सुनाएनन् । मेरो श्रीमान् मालपोत कार्यालयमा लेखापढीको काम गर्नुहुन्छ । राजीनामाको कागजमा भएको ल्याप्चे र मेरो यस बयानमा भएको ल्याप्चे सही मिल्छ भनी रेखा विशेषज्ञले राय किन दिए ? मलाई थाहा छैन । रेखा विशेषज्ञबाट दिएको रायअनुसार मैले नै ल्याप्चे सहिछाप लगाएको देखिन आएमा सहन बुझाउन मञ्जूर छु भन्ने समेत व्यहोराको महालक्ष्मी कर्णको बयान कागज ।

जग्गाको राजीनामा पारित गर्दा धनी ऋणीले आफैँ लेनदेन गरी वा कार्यालयको रोहवरमा लिनेदिने गरी जग्गाको विवरण मूल्य खुलाई तयार पारी ल्याएको लिखत निवेदनको साथ पेश गरेपछि लिखतमा लेखिएको जग्गा ऋणीको नाउँमा दर्ता छ , छैन स्रेस्ता भिडाई मोठ स्रेस्ता भिडेको फाँट प्रमाणित हुन्छ । त्यसपछि लिखतको जग्गा रोक्का छ वा छ्रैन रोक्का फाट प्रमाणित गरिन्छ । त्यसपछि लिखत संलग्न मालपोत तिरेको रसिद र शंका लागेमा नागरिकता समेत हेरी टोकन लगाई ससीम जग्गा भए सनाखतका साक्षीले ऋणी धनी यिनै हुन् भनी सनाखत सहिछाप गरेपछि रजिष्ट्रेशन फाँटले दस्तखत गरी लाग्ने राजश्व दस्तूरको रसिद लेखाबाट संलग्न भएपछि अन्तिम अधिकृतको दस्तखत भै रजिष्ट्रेशन लिखत पारित गरी दा.खा. भएपछि धनीलाई ज.ध.पूर्जा दिने गरिएको छ । तत्सम्बन्धमा जग्गा काँचो पाको राम्रो नराम्रोको दायित्व ऋणी धनीको हो । मूल्याङ्कननबमोजिम राजश्व नियमअनुसार लिने, दाखिल गर्ने, रोहवरमा बस्ने साक्षीको दायित्व कार्यालयको रहन्छ । लिखत पारित गर्दा ऋणी आफैं वा अधिकृत वारेसबाट र धनी आफै वा वारेसनामाबाट उपस्थित हुनुपर्छ । जग्गाधनीले मोठ स्रेस्तामा तीनपुस्ते संशोधन तथा कायम गरिगराई पाऊँ भनी निवेदन गर्दा सम्बन्धित गा.वि.स.को सिफारिश, नेपाली नागरिकताको प्रमाणपत्र समेत हेरी निवेदन सनाखत गराई आवश्यकतानुसार सूचना प्रकाशन र सर्जमिन समेत गरी थपघट संशोधन गरिन्छ । यो प्रक्रिया पूरा नभै निवेदन मात्र परेको आधारबाट गर्न नमिल्ने अनुरोध छ भन्ने व्यहोराको मालपोत कार्यालय, सिराहाबाट जवाफ प्राप्त भएको ।

यस कार्यालयमा भएको नागरिकताको रेकर्ड हेर्दा मिति २०४३।१०।८ गते ना.नं ११०००७४९ मा नाम रुखिया सुडी (पति ठकाइ साह, जन्म मिति १९९४ साल) ले र मिति २०४७।४।३१ गते ना.नं.ना.वा. १२९० बाट नाम विनोदकुमार महासेठ (बाबु जितेन्द्र महासेठ जन्म मिति २०३०।५।१५) गते किसिम वंशज भएको नागरिकता प्रमाणपत्र प्राप्त गरेको देखिन्छ । साथै मिति २०४४।१२।३ मा ना.नं.३२८३ बाट ना.प्र. वितरण नभएको रेकर्डबाट देखिन आउँदा उक्त मितिको ना.नं. स्पष्ट पठाइ दिनुभएमा भएको व्यहोरा खोली पठाउन सकिने व्यहोरा अनुरोध छ भन्ने जिल्ला प्रशासन कार्यालय, सिराहाको मिति २०४९।१०।८ को पत्र ।

सिराहा जिल्ला, वेल्हा गा.वि.स. वडा नं ३ क को कि.नं १४०, १०७, , १३९, १४३, १४२, १०४, १०६, १३८, १०५ र १४१ ऐ. गा.वि.स. वडा नं ९ को कि.नं १५७, १५८, १६६, १५६, १५५, ३२९, ३३ १३५, १५९, १६०, १६२, १६५, १७१, २४३, २७३, १६१ र १९० को फिल्डवुक उतार पाना सात यसैसाथ संलग्न राखी पठाएको व्यहोरा अनुरोध गर्दछु । साथै उल्लिखित कि.नं.हरूको जग्गा हालसम्म कित्ताकाट नभएको यहाँको स्रेस्ताबाट देखिन आएको र उक्त कि.नं हरूको क्षेत्रीय कितावको जोताहा महलमा र किसानको व्यहोरामा लेखिएको व्यहोरा सर्भे नापी हुँदा नै कायम रहेको र ज.ध.महलहरू खाली रहेको भन्ने मेन्टिनेन्स नापी शाखा, सिराहाको मिति २०४९।१०।८ को पत्र ।

मलाई देखाइएको र.नं ४२१५, ४२१६, ४२१७ र ४२१८ मिति २०४९।९।२६ को राजीनामा कागजमा साक्षी रामप्रसाद साह, गा.वि.स सितापुर२ भनी उल्लेख गरिएको दस्तखत मेरो हो । सो कागज अनुसार म निज मोसदीलाल कर्ण, विनोदकुमार महासेठ, खसिया सुडी, महालक्ष्मी कर्ण र उषादेवी घिमिरेको साक्षी बसेको हुँ । लेखनदास राजकुमारलाल कर्णको विश्वासमा परी साक्षी बसेको हुँ । उक्त राजीनामाहरू गैरकानूनी तवरबाट पारित भएको देखिन आएमा सोको जवाफदेही म समेत हुनुपर्ने कुरा स्वीकार गर्दछु । मोसदीलाल कर्णलाई म चिन्दिन । निज मरेको कुरा मलार्ई थाहा छैन । राजकुमारलाल कर्णलाई वुझेमा थाहा हुनेछ । यसमा मेरो कसैसँग मिलेमतो छै्रन भन्ने समेत व्यहोराको रामप्रसाद साहको बयान ।

मालपोत कार्यालय सिराहामा पारित हुन आउने लिखतमा ऋणीको नाम गा.वि.स अनुसार रोक्का भए नभएको प्रमाणित गर्ने, अन्य बैंक तथा विभिन्न कार्यालयबाट रोक्का राख्नु पर्ने भनी लेखिआएको पत्र अनुसार रोक्का राख्ने र फुकुवा गर्नु भन्ने पत्र आएमा फुकुवा गर्ने काम मात्र मेरो हो । र.नं ४२१५, ४२१६, ४२१७, ४२१८ को राजीनामाका कागजहरूमा रोक्का छैन भनी मैले नै सही गरेको हो । कृत्रिम व्यक्ति खडा गरी उक्त राजीनामा पारित भएको कुरा पछि तीन चार दिनपछि थाहा भयो । मोसदीलालको मृत्यु पश्चात् को व्यक्ति मोसदीलाल कर्ण बनी उक्त राजीनामाहरू पारित हुने काम भएको हो ? सनाखत (रजिष्ट्रेशन) फाँटका खरिदार खड्ग चाम्लिङ्ग, जग्गा किन्ने व्यक्तिहरू, सनाखत साक्षी तथा लेखनदासलाई थाहा होला मलाई थाहा छैन भन्ने समेत व्यहोराको रोक्का फाँटवाला खरिदार सुरेश चापागाईको बयान ।

मिति २०४९।९।२६ मा मालपोत कार्यालय, सिराहाबाट र.नं ४२१५, ४२१६, ४२१७, ४२१८ का लिखतमा साक्षी महलमा सही रामचन्द्र यादव, वेल्हा वडा नं ४ भनी उल्लेख भएको नाम दस्तखत मेरो होइन । उल्लिखित कार्यमा मेरो समेत मिलेमतो देखिन  आएमा कानूनबमोजिम कारवाही भएमा मेरो मञ्जूर छ भन्ने समेत व्यहोराको रामचन्द्र यादवको बयान ।

र.नं ४२१५, ४२१६, ४२१७ र ४२१८ मा राजीनामा कागजमा मोठ ठीक छ भनी गरेको सही मेरो हो । मोसदीलाल कर्णको तीनपुस्ते मोठ स्रेस्तामा कायम गर्ने काम मबाट भएको  होइन । उक्त कार्य ख. महेन्द्रप्रसादले गरिआएको छ । मैले गैरकानूनी तवरले कार्य गरेको देखिन आए कानूनबमोजिम सहन बुझाउन तयार छु भन्ने समेत व्यहोराको मालपोत कार्यालय सिराहाको मोठ फाँटका खरिदार देवीलाल रायको बयान ।

मिति २०४९।९।२६ को र.नं ४२१५, ४२१६, ४२१७ र ४२१८ का कागजमा उल्लिखित ऋणी, धनी तथा सनाखत साक्षी समेतले मेरै रोहवरमा सनाखत गरी सहिछाप गरेको हुँदा उक्त राजीनामाहरू हेरी पढी सनाखत समेत गरिदिएँ भनी फाँटवालाको सही गर्ने म नै हुँ । ऋणीको नागरिकता पेश नभएको र ऋणी यिनै हुन् भनी सिराहाको साक्षी रामचन्द्र यादव तथा मा.पो.का.सिराहाका लेखापाल रामप्रसाद प्रेमीले भनेकोले सोही आधारमा विश्वासमा परी ऋणीबाट नागरिकता नलिएको हो । सनाखत साक्षी पनि उपस्थित भएका थिए । मोसदीलाल कर्णको मृत्युपश्चात् को व्यक्ति मोसदीलाल कर्ण बनी उक्त राजीनामाहरू पारित हुने काम भयो ? सो सम्बन्धमा मेरो कार्यालयका लेखापाल रामप्रसाद प्रेमी, जग्गा किन्ने व्यक्तिहरू, सनाखत साक्षी रामचन्द्र यादव तथा लेखनदास राजकुमारलाल कर्णलाई नै थाहा होला भन्ने समेत व्यहोराको खरिदार खड्गबहादुर चाम्लिङको बयान ।

मिति २०४९।९।२६ को निवेदनअनुसार नै मैले बाबु बाजेको नाम कायम गरी मोठ स्रेस्तामा जनाएको थिएँ । विना आदेश यसरी बाबु बाजेको नाउँ मोठ स्रेस्तामा सम्बन्धित फाँटको कर्मचारी नभएको समयमा जनाउन नहुने हो । गल्ती भयो । गल्ती गरेवापत एक पटकलाई क्षमा पाऊँ । जग्गाधनी दर्ता स्रेस्तामा तीनपुस्ते कायम गराउने काम मैले नै गरेको हो भन्ने समेत व्यहोराको खरिदार महेन्द्र प्रधानको बयान ।

लिखतमा उल्लेख हुनुपर्ने विवरणहरू खुले नखुलेको, मोठ रोक्का बचत भिडे नभिडेको आदि हेरी जाँची ना.सु वा. खरिदारले चेकजाँच गरी टोकन लगाइन्छ । र.नं ४२१५, ४२१६, ४२१७, ४२१८ का लिखतहरू सम्बन्धित फाँटवाला खरिदारले चेकजाँच गरी पियन विष्णुदेव मण्डलले टोकन कितावमा दर्ता गरेको देखिन्छ । टोकन किताव रजिष्ट्रेशन फाँटका फाँटवालाको जिम्मा रहन्छ । पियन विष्णुदेव मण्डललाई त्यहाँ उपस्थितिका लागि पठाइएको व्यहोरा अनुरोध छ भन्ने समेत व्यहोराको मालपोत कार्यालय, सिराहाको मिति २०४९।१०।११ को पत्र ।

उक्त राजीनामाका लिखतहरू टोकन कितावमा दर्ता गरीदिनु भनी खरिदार खड्गबहादुर चाम्लिङ्गले भनेकोले टोकन कितावमा दर्ता गरेको हो । यो काम मैले पहिलादेखि नै गर्दैआएको छु भन्ने समेत व्यहोराको पियन विष्णुदेव मण्डलको बयान ।

मोसदीलाल कर्णको नाउँमा छुट जग्गा दर्तासम्बन्धी कागजातहरू, र.नं ४२१५, ४२१६, ४२१७, ४२१८ को राजीनामा पारित हुँदा दिएको ऋणी धनीको टोकन नं १०, ११, १२, र १३ को निवेदन, राजश्व बुझाएको रसिदहरू, उषादेवी घिमिरेले दिएको वारेसनामा समेतका कागजातहरू यसै पत्रसाथ पठाइदिएको छ भन्ने मालपोत कार्यालय, सिराहाको मिति २०४९।१०।९ को पत्र ।

मिति २०४९।९।२६ को र.नं ४२१५, ४२१६, ४२१७, ४२१८ का राजिष्ट्रेशन राजीनामा तथा मिति २०४९।९।२६ को द.नं १२५८० को निवेदनमा भएको दस्तखत मेरै हो । उषादेवी घिमिरेका पति रामप्रसाद प्रेमी मा.पो.का सिराहाका लेखापाल भएकोले चिन्दछु र लेखनदास राजकुमारलाल कर्णलाई चिन्दछु । अरुलाई चिन्दिन । ऋणी मोसदीलाल कर्ण मरिसकेको भन्ने २०४९।९।२९ गते सुनेको र मरिसकेको व्यक्तिको जग्गा अरु व्यक्तिका नाउँमा पारित भयो भन्ने सुनेपछि सो दिन प्र.जि.अ.सँग सम्पर्क हुन नसकी भोलिपल्ट विहान ७.०० वजे मौखिक जानकारी दिई आवश्यक कारवाहीको लागि १० वजे प्र.जि.अ. कार्यालयमा पत्र पठाएँ । मोठ स्रेस्तामा बाबु बाजेको नाउँ कायम गर्दा सम्बन्धित फाँटवाला खरदारले (ख.महेन्द्र प्रधान) नियमानुसार गा.वि.स.को सिफारिश समेत निवेदनसाथ नभएको र सो निवेदनमा सनाखत गरेको नदेखिएकोले नियमानुसार भएन भनी देखी मैले उक्त मोठ स्रेस्ताको शीरमा लेखिएको व्यहोरा र बाबु बाजेको नाउँ आफ्नो प्रशासकीय अधिकार प्रयोग गरी सो मिति २०४९।९।२६ मा काटिदिएको हुँ । आफू संलग्न भै गैरकानूनी तवरबाट उक्त राजीनामाहरू पारित भएको ठहरिन आएमा सहन बुझाउन मञ्जूर छु भन्ने समेत व्यहोराको मालपोत कार्यालय सिराहाका मालपोत अधिकृत उपेन्द्रराज शर्माले गरेको कागज ।

र.नं ४२१५,४२१६, ४२१७, र ४२१८ मिति २०४९।९।२६ मा पारित भएका जग्गाहरू मिति २०४९।९।२६ अगाडि रोक्का नरहेको र यस कार्यालयबाट मिति २०४९।१०।२ मा भएको निर्णयबमोजिम च.नं ३८१९ मिति २०४९।१०।४ मा यस कार्यालयको रोक्का फाँट समेत १९ जिल्लामा रोक्का राख्ने वारे लेखिएको र च.नं ३९०८ मिति २०४९।१०।९ मा बाँकी अधिराज्यका सबै जिल्लाहरूमा रोक्का राख्ने बारे पत्राचार गरिएको पत्र समेतको नक्कल थान३ यसैसाथ संलग्न राखी पठाइएको व्यहोरा अनुरोध छ भन्ने व्यहोरोको मा.पो.का सिराहाको मिति २०४९।१०।१५ को पत्र ।

त्यहाँ डोर मुकामको मिति २०४९।१०।६ को पत्रको सि.नं १, , , , र ९ मा उल्लिखित मानिसहरूलाई उपस्थित गराउन भनी यस कार्यालयबाट प्रहरीलाई सम्बन्धित स्थानमा खटाइ पठाउँदा सि.नं १ मा उल्लिखित विनोदकुमार महासेठ गाउँघरमा नभै भारत जि. मधुवनीमा गै बसेको र सि.नं २ मा उल्लिखित श्रीमती खसीया सुडी पनि आज भन्दा एक हप्ता अघिबाटै गाउँघर छाडी भारततर्फ नै गै बसेको भन्ने बुझिएको, सि.नं ८ मा लेखिएका देवनारायणलाल कर्ण पनि एक हप्ता अघि बाटै भारततर्फ गै बसेको भन्ने खटिएका प्रहरीको प्रतिवेदन परेको । सि.नं ९ मा उल्लेख भएको मोसदीलाल कर्णको आजभन्दा १  वर्ष पहिला मृत्यु भइसकेको भन्ने व्यहोराको मिति २०४९।१०।१२ को मुचुल्का यसैपत्र पठाइएको छ भन्ने जिल्ला प्रहरी कार्यालय, सिराहाको मिति २०४९।१०।१३ को पत्र र संलग्न कागज ।

रामचन्द्र यादवको हस्ताक्षर दस्तखतको प्राप्त नमूना अपर्याप्त भै पर्याप्त नमूनाका इन्लार्ज फोटोहरू उपलव्ध नगरी प्राप्त नमूनाबाट निजको विवादग्रस्त हस्ताक्षर सही भिडाउन नसकिने सोबाहेक विशेष प्रहरी विभागमा उषादेवी घिमिरेले गरेको दायाँ वायाँ वुढी औलाको ल्याप्चे सहिछाप नमूनासँग उषादेवी घिमिरेले राजीनामा पारितको लागि रामप्रसाद प्रेमीलाई दिएको मिति २०४९।९।२४ को वारेसनामा कागजमा परेको ल्याप्चे सहिछाप नभिड्ने । विशेष प्रहरी विभागमा महालक्ष्मी कर्णले गरेको बयानमा स.१७ को जवाफमा गरिदिएको दायाँ हातको बुँढी औलाको ल्याप्चे सहिछाप नमूनासँग राजीनामा पारित गरिपाऊँ भनी महालक्ष्मी कर्णले मिति २०४९।९।२६ मा सिराहा मालपोत कार्यालयमा दिएको निवेदनमा लगाएको विवादग्रस्त ल्याप्चे सहिछाप भिडी मिल्ने देखिन्छ भन्ने रेखा तथा हस्ताक्षर विशेषज्ञले दिएको मिति २०४९।११।२८ को प्रतिवेदन ।

लेखनदास रामचन्द्र यादवले सही गरेको सक्कल लिखत र.नं २०४३ मिति २०४९।७।२७ को ऋणी सुकदेव कुसियैत यादव, धनी सोनाइ यादव भएको सक्कल लिखत यसैसाथ पठाइएको छ भन्ने व्यहोराको मालपोत कार्यालय, सिराहाको पत्र ।

२०४९।१२।९ मा काठमाडौँ मजिष्ट्रेट अफिसबाट ना.प्र.नं १०४६ को नागरिकताको प्रमाणपत्र दिएको रेकर्डबाट नदेखिएको भन्ने व्यहोराको जिल्ला प्रशासन कार्यालय, काठमाडौँको पत्र ।

उषादेवी घिमिरेसँग रु.४४,५००।माग गरिएको धरौटीवापत जेथा जमानी राखेको, महालक्ष्मी कर्णसँग रु.९५३५०।माग गरिएको धरौटीवापत जेथा जमानी राखेको र निजहरू तारेखमा रहेको ।

मालपोत कार्यालय सिराहाका कर्मचारीहरू ख. खड्गबहादुर चाम्लिङ्ग, ख. देवीलाल राय, ख. महेन्द्र प्रधान, र साक्षीहरू रामचन्द्र यादव र रामप्रसाद साहसँग जनही रु.५०००।धरौट माग भएकोमा निजहरूले नगद धरौट राखी तारेखमा छुटेको र मालपोत कार्यालय सिराहाका मालपोत अधिकृत उपेन्द्रराज शर्मालाई प्रस्तुत केशमा विशेष प्रहरी विभाग वा अन्य अड्डा अदालतबाट खोजी भएका जुनसुकै बखत हाजिर हुने गरी तारेख टुटाइ दिएको, त्यस्तै मालपोत कार्यालय सिराहाको रोक्का फाँटमा कार्यरत ख. सुरेश चापागाईँलाई तारेखमा समेत नराखिएको ।

मालपोत कार्यालय सिराहाका लेखापाल रामप्रसाद प्रेमी लगायतका व्यक्तिहरू बुझी विभागीय सजायको कारवाही समेत हुन बाँकी नै रहेकोले उल्लिखित कर्मचारीहरूलाई सस्पेण्ड नगरी सम्बन्धित कार्यालयमा आफ्नो ओहदाको काम गर्न दिँदा भूmठ्ठा सबुद प्रमाण संकलन गर्न सक्ने र सरकारी हानि नोक्सानी पुर्‍याउन सक्ने समेत सम्भावना देखिएकाले भ्रष्टाचार निवारण ऐन, २०१७ को परिच्छेद २ अन्तर्गतको उल्लिखित कसूर गरेकोले निजामती सेवा नियमावली, २०२१ कोदफा १०.६(७) को कारवाहीको अभियोगको अनुसन्धानको सिलसिलामा भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २०(१) को अधिन, निजामती सेवा नियमावली, २०२१ को नियम १०.७ बमोजिम मालपोत कार्यालय सिराहाका निज ख. खडगबहादुर चाम्लिङ्ग, ख. देवीलाल राय र ख. महेन्द्र प्रधानलाई कारवाही नटुङ्गिएसम्मको लागि आजैका मितिदेखि सम्पेण्डमा (निलम्वन) राखिदिने भनी विशेष प्रहरी विभागबाट मिति २०४९।१२।१० मा खडा भएको पर्चा ।

विशेष प्रहरी विभागको मिति २०५०।४।१३ को निर्णय पर्चा बमोजिम मालपोत कार्यालय, सिरहाका लेखापाल रामप्रसाद प्रेमी, खरिदार महेन्द्र प्रधान, देवीलाल राय, खड्गबहादुर चाम्लिङ्ग समेतलाई भविष्यमा सरकारी नोकरीको निमित्त सामान्यतः अयोग्य ठहर्ने गरी नोकरीबाट वर्खास्त गरी विभागीय कारावाही गरिएको ।

मालपोत कार्यालय, सिराहाबाट मिति २०४९।९।२६ मा र.नं ४२१५, ४२१६, ४२१७ र ४२१८ बाट पारित भएको राजीनामा कागजमा जग्गा बेच्ने ऋणी मोसदीलाल कर्णको नाउँमा रहेको वेल्हा गा.वि.स.वडा नं३ (क) को कि.नं ७, १०४, १०५, १०६, १०७, १३८, १३९, १४०, १४२, १४३ ऐ. वडा नं ९ को कि.नं ३३, १३५, १५५, १५६, १५७,१५८, १५९, १६०, १६२, १६५, १६६, १७१, १९०, २४३, २७३ र ३५९ को जम्मा क्षेत्रफल ६  जग्गा अभियुक्त विनोदकुमार महासेठले जम्मा क्षेत्रफल ११०११, खसिया सुडीले जम्मा क्षेत्रफल १, महालक्ष्मी कर्णले जम्मा क्षेत्रफल २१५ र उषा घिमिरेले जम्मा क्षेत्रफल १ जग्गा लेखनदास राजकुमारलाल कर्ण तथा मालपोत कार्यालयका लेखापाल रामप्रसाद प्रेमी, खरिदारहरू क्रमशः महेन्द्र प्रधान, देवीलाल राय, खड्गबहादुर चाम्लिङ्ग समेतसँग एक आपसमा गैरकानूनी मिलेमतो गरी १  बर्ष अघि मरिसकेका जग्गाधनी मोसदीलाल कर्णको नाउँका जग्गाहरू आफ्नो नाउँमा गैरकानूनी तवरले पारित गरिगराई लिएकोमा निजहरूको साविती बयान, मालपोत कार्यालय सिराहाको विभिन्न मितिको पत्र, फिल्डबुक उतार, मेन्टिनेन्स नापी शाखाको पत्र, मालपोत विभागको पत्र, रेखा विशेषज्ञको प्रतिवेदन, मोसदीलालको मृत्यु भइसकेको भन्ने मुचुल्कासमेतबाट निजहरू उपरको आरोपित अभियोग प्रमाणित हुन आएको छ ।

अभियुक्तहरू लेखनदासको काम गर्ने राजकुमारलाल कर्ण भै रजिष्ट्रेशन तमसुकमा लिनेदिने मैले चिनेको नेपाली नागरिक हुन् भनी सहिछाप गर्ने साक्षीहरू रामचन्द्र यादव, देवनारायणलाल कर्ण र रामप्रसाद साहले मालपोत कार्यालयका कर्मचारीहरू तथा जग्गा लिने अभियुक्तहरू समेतसँग एक आपसमा गैरकानूनी रुपमा मिलेमतो गरी लेखनदास राजकुमारले आफ्नो श्रीमतीको नाउँमा समेत कृत्रिम तवरबाट जग्गा पारित गराई लिएको, राष्ट्रसेवक अभियुक्तहरू तत्कालीन ले.पा.रामप्रसाद प्रेमी, खरिदारहरू महेन्द्र प्रधान, देवीलाल राय, खडगबहादुर चाम्लिङ्गले गैर राष्ट्रसेवक अभियुक्तहरूसँग गैरकानूनी मिलेमतो गरी कृत्रिम तवरले पारित गरे गराएको कुरा निजहरूको साविती बयान तथा मिसिल संलग्न कागजातहरूबाट प्रमाणित हुन आएकोले आफ्नो नाउँमा अवैध तरिकाले जग्गा लिने विनोदकुमार  महासेठ, खसिया सुडी, उषा देवी, महालक्षी कर्ण तथा गैरकानूनी कार्यमा सँलग्न रही आफ्नो श्रीमतीको नाउँमा पारित गराउन सफल हुने लेखनदास राजकुमारलाल कर्ण र मरिसकेका व्यक्तिलाई जिवीतै देखाएवापत फाइदा लिने, साक्षी बस्ने रामचन्द्र यादव, देवनारायणलाल कर्ण, र रामप्रसाद साह समेत जना ८ उपर भ्रष्टाचार निवारण ऐन २०१७ को दफा ८ र १६ (क) अनुसार हदैसम्म सजाँय हुन तथा मृतक व्यक्तिलाई जिवीतै भएको देखाई मिलेमतो गरी फाइदा लिई रजिष्ट्रेशन पारित गर्ने गराउने मालपोत कार्यालय सिराहाका लेखापाल रामप्रसाद प्रेमी, खरिदार क्रमशः महेन्द्र प्रधान, देवीलाल राय, र खड्गबहादुर चाम्लिङ्ग उपर भ्र.नि.ऐन २०१७ को दफा ७ (१) अनुसार हदैसम्म सजाँय हुन र अभियुक्त महालक्ष्मी देवी कर्ण र उषादेवी घिमिरेले तारेख गुजारेको तथा फरार रहेका प्रतिवादीहरू विनोदकुमार महासेठ, खसिया सुडी, राजकुमारलाल कर्ण, रामचन्द्र यादव, देवनारायणलाल कर्ण, रामप्रसाद साह, रामप्रसाद प्रेमी, महेन्द्र प्रधान, देवीलाल राय, खड्गबहादुर चाम्लिङलाई सम्मानित अदालतबाटै समाह्वान जारी गरिपाऊँ भन्ने समेत व्यहोराको अभियोग पत्र ।

मिति २०४९।९।२६ मा म आफ्नो गाउघर नभै काठमाडौँमा थिएँ । राजीनामामा लागेको सहिछाप मेरो होइन । विशेष प्रहरीमा भएको बयान मैले भनेर गरेको होइन मलाई डर त्रास देखाइ पढी वाँची नसुनाई सही गराएका हुन् । मृतक मोसदीलाल कर्णको जग्गा मेरो नाउँमा मिति २०४९।९।२६ मा पारित भएको कुरा मलार्ई थाहा छैन । सो काम कसले गरे मलार्ई थाहा छैन । मैले मेरो श्रीमान् रामप्रसाद प्रेमीलाई कुनै अख्तियार दिई कुनै वारेसनामा गरिदिएको थिइन । मोसदीलाल कर्णलाइ चिन्दिन । मैले भ्रष्टाचार गरे गराएको छैन । अभियोग झूठा हो । सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी उषादेवी घिमिरेले शुरु अदालतमा गरेको बयान ।

जिल्ला सिराहा गा.वि.स वेल्हा वडा नं ९ कि.नं १६१ र १९० को जग्गा मेरी श्रीमती उषादेवी घिमिरेले मिति २०४९।९।२६ गतेमा रजिष्ट्रेशन पारित गरी लिएकी हुन् । श्रीमतीको वारेसनामा मैले एक महिना अगाडि नै मिर्चैयाको जग्गा पास गराउन लिएको थिएँ । सो वारेसनामा लिफा राजकुमारलाल कर्ण लेखनदासलाई दिएको थिएँ । सो जग्गा पास हुन नसेकेकोले मोसदीलाल कर्णको जग्गा सोही वारेसनामा लिफा कागज राजकुमारलाई दिएको हुँदा निजैले लेखे वा अरु कसैले लेखे सो लिफा वारेसमा मेरो नाउँमा बनाई मेरो श्रीमती नभएको हुँदा सोही वारेसनामाको आधारबाट श्रीमतीको नाउँमा उक्त जग्गा पारित भएको हो । मोसदीलाललाई मैले कहिले पनि देखेको थिएन र कहिल्यै चिनेको थिएन । लेखनदास राजकुमारलाल कर्णले नै मोसदीलाल यही हो भनी चिनाई देखाई दिएका हुन । राजकुमारलाल कर्णले मेरो श्रीमतीको नाउँमा रजिष्ट्रेशन फारम भरी सकेपछि मलार्ई ल्याइ सहिछाप गराएका हुन् । म कोहीसँग सम्मिलित छैन । जग्गा पारित भैसकेपछि मात्र मोसदीलाल कर्ण मरेका छन् भन्ने कुरा मलार्ई थाहा भयो । राजकुमारलाल कर्णले ऋणी मोसदीलाल कर्ण यही हो भनी मलार्ई देखाई सोही व्यक्तिलाई रुपैयाँ तिरी बुझाई खरिद गरी सद्दे व्यवहारबाट लिएको हो । मैले खड्ग चाम्लीङलाई केही भनेको थिइन । निजले किन त्यस्तो बयान गरे मलार्ई थाहा छैन । लिखतको धनी महलमा भएको सहिछाप मेरो हो । मोसदीलालको सही मेरो सामुन्ने नगराएको र सनाखत फाँटमै गराउने हुँदा मलार्ई थाहा भएन । मैले सुपथ मूल्य तिरेर जग्गा लिएको हुँदा कुनै भ्रष्टाचार र अनैतिक काम गरेको होइन । अभियोगबाट सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी रामप्रसाद प्रेमीले शुरु अदालतमा गरेको बयान ।

महेन्द्र प्रधानले मोसदीलाल कर्णको निवेदन लिई दर्ता गरी बाबु बाजेको नाम समेत मोठ स्रेस्तामा जनाइ दिएको हो । मैले मोठमा तीनपुस्ते भएको देखे, त्यसैले मोठ ठीक छ भनी सनाखत गरेको हुँ । निजको नाम स्रेस्तामा जनिएको हो होइन भन्ने कुरा मलार्ई त्यसवेला थाहा भएन । पछि हल्ला भएपछि सच्चिएको रहेछ भन्ने थाहा भयो । मोसदीलाललाई म चिन्दिन । रामप्रसाद प्रेमी र राजकुमारलाल कर्णले मसँग कुनै सल्लाह लिएका थिएनन् र केही भनेका पनि थिएनन् । अभियोग माग दावीअनुसार सजाय पाउनु पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी देवीलाल रायले शुरु अदालतमा गरेको बयान ।

पारित लिखतमा साक्षी वस्न भनी लेखक साक्षी राजकुमारले भनेबाट निजको भनाई र विश्वासमा सनाखत साक्षी र अन्तर साक्षी बसी सही गरेको हो । धनी ऋणीलाई मैले देखिन । रुपैयाँ लिए दिएको कुरा पनि मैले देखिन । मोसदीलाल कर्णलाई म चिन्दिन । सो अपराध लेखक साक्षी राजकुमार कर्णले गरेको हो । विशेष प्रहरीमा मैले गरेको बयान ठीकै हो । मैले कीर्ते जालसाजबाट मरेका व्यक्तिको नाउँको जग्गा पारित गराई लिएको हो भनी जानी जानी सनाखत साक्षी बसेको होइन राजकुमारको विश्वासमा सही गरेको हो । म निर्दोष छु । अपराधबाट सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी रामप्रसाद साह तेलीले शुरु अदालतमा गरेको बयान ।

धनी ऋणीले मेरै रोहवरमा सहिछाप गरेका हुन् । पारित राजीनामामा सनाखत गर्ने राजकुमारलाल कर्ण, रामप्रसाद  साह, र रामचन्द्र यादवले मोसदीलाल कर्ण यिनै हुन् भनी मलार्ई देखाइ चिनाएको हुँदा मैले देखे सो मानिस कस्तो थियो भन्ने भिडभाड भएको कारणबाट यकीन गर्न सक्दिन । जग्गा पास भएपछि मोसदीलाल कर्ण मरिसकेका रहेछन् भन्ने कुरा सुनेको हो । बाहिर सनाखत सही गराएको भनी रामप्रसादले गरेको बयान झूठा हो । मेरै रोहवरमा रामप्रसाद साह समेतका सनाखत साक्षीहरूले मलाई धनी ऋणी चिनाएका हुन् । रामप्रसाद प्रेमीले आफ्नै फाँटमा उक्त राजीनामामा सनाखत सहि गरेका हुन् । निजले गरेको बयान ठीकै हो । यस सम्बन्धामा मेरो कुनै मिलेमतो छैन मैले कुनै अपराध गरेको छैन । अपराधबाट सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी खड्गबहादुर चाम्लिङले शुरु अदालतमा गरेको बयान ।

बाबु बाजेको नाउँ समावेश गरिपाऊँ भनी मोसदीलाल कर्णले निवेदन ल्याएका थिए । निवेदनमा तोक आदेश सही भै दर्ता समेत भै आएको हुँदा जनाएको हुँ । देवीलालको फाँटमा  पर्छ । निज फाँटमा नभएको कारणबाट मैले जनाएको हुँ । मोसदीलाल कर्ण मरिसकेका थिए भन्ने कुरा मलाई त्यसवेला थाहा थिएन । जग्गा पास भै गएपछि मात्र मरिसकेको भन्ने सुनेको हुँ । म निर्दोष छु । अपराधबाट सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी महेन्द्र प्रधानले शुरु अदालतमा गरेको बयान ।

यस मुद्दामा नाम उल्लेख भएका प्रतिवादीहरूसँंग मेरो चिनजान छ । मोसदीलाल कर्णलाई चिन्दिन । २०४९।९।२६ का दिन मोसदीलालको छोराले मेरो बुबाको नाउँको जग्गा लिनुहुन्छ भनी रमानन्दलाल कर्णसँग कुराकानी हुँदा मोसदीलाल कर्णको नाउँको जग्गामा केही मेरो श्रीमती महालक्ष्मी कर्ण, केही जग्गा विनोदकुमार महासेठको नाउँमा, केही जग्गा खसिया सुडीको नाउँमा र केही जग्गा उषादेवी घिमिरेको नाउँमा उक्त मितिमा पारित भएको हो । लिखत मैले लेखेको  हो । लिनु दिनु भैसक्यो भनी मैले राजीनामा लेखेको हो । मोसदीलाल कर्णको छोरा रमानन्दलाल कर्णले मेरो बुबा यिनै हुन् । धनीहरू यिनै हुन् भनेपछि लिखत लेखेको हुँ । जग्गाको मोल छोरा मार्फत् दिएको हो । मोसदीलाल मरिसकेको भन्ने कुरा मलाई थाहा भएन । कृत्रिम मानिस खडा गरी ल्याए नल्याएको कुरा निजै रमानन्दलाई थाहा होला । मेरो श्रीमतीका नाउँमा पारित भएको जग्गा मैले नै सबैंकाम गरिसकेपछि मात्र सहिछाप गर्न आएकी हुन् । उषा घिमिरे उक्त मितिका दिन मालापोत कार्यालयमा आएकी थिइनन् । रामप्रसाद प्रेमीले वारेसनामाबाट पारित गराई लिएका हुन् । सो मितिमा मोठ सच्याउन दिएको निवेदन मैले लगेको होइन लेखन्दासको हैसियतबाट उक्त लिखत लेखेको हुँ । अन्य कार्यमा म संलग्न छैन । ऋणीको छोराको भनाईमा विश्वास गरेर सनाखत गरेको हुँ । रामप्रसाद प्रेमीले के कस्तो वारेसनामा ल्याउनु भो सो निजै जानून । मैले आफूले लेखेको ठाउँमा सनाखत साक्षीको सहिछाप गराएको हो । बाहिर गराएको होइन । किन बाहिर गराएको भनेका हुन भन्ने नै जानून् । म समेत भै मरिसकेको मानिसको ठाउमा कृत्रिम मानिस खडा गरी जग्गा पारित गराएको होइन । सुपथ मूल्य तिरी पारित गरी लिएको हो । मैले भ्रष्टाचार गरेको होइन भन्ने समेत व्यहोराको प्रतिवादी राजकुमार लाल कर्णले शुरु अदालतमा गरेको बयान ।

यस मुद्दाका प्रतिवादीहरूलाई चिनेको छु । राजकुमारलाल कर्ण मेरा पति हुन् । उक्त मिति २०४९।२।२६ मा मोसदीलाल कर्णसँग ज.वि २१५ जग्गा खरिद गरी लिएको हो । मैले एक लाखमा खरिद गरी लिएको हो । श्रीमानले सो रुपैयाँ जग्गावालालाई दिएको होला । दिएको मैले देखिन । ऋणी मोसदीलाललाई चिनेको छैन । ऋणी मोसदीलाल कर्णको सही हो होइन, मैले नदेखेको हुँदा भन्न सक्दिन । राजीनामामा भएको सहिछाप मेरै हो । विशेष प्रहरीमा भएको बयान मैले भनेबमोजिम लेखेको होइन । बयान गराउनेले त्यस्तो कुरा वनाई लेखेका हुन् । कृत्रिम मान्छे खडा गरी जग्गा लिएको होइन । मोसदीलाल मरेको कुरा मलार्ई थाहा भएन । सजायको मागदावी झूठा हो भन्ने समेत व्यहोराको प्रतिवादी महालक्ष्मी कर्णले शुरु अदालतमा गरेको बयान ।

मिति २०४९।९।२६ गतेका दिन म गाउँघरमा नभै छोरो विरामी परेकोले जँचाउन जयनगर गै साँझ आफ्नो घरमा आएको हुँ । उक्त धनी ऋणी भएको ०४९।९।२६ मा पारित लिखतमा म साक्षी र सनाखत साक्षीमा वसेको छैन । सो सही हस्ताक्षर मेरो होइन । मोसदीलाल कर्णलाई चिन्दिन । निजको नाउँको जग्गा प्रतिवादीहरूका नाउँमा पारित भएको कुरा मलाई थाहापनि छैन र सो कार्यमा मेरो मिलेमतोबाट यस्तो किसिमको अनैतिक कार्य गरेको होइन छैन । विशेष प्रहरीमा मैले गरेको बयान ठीकै हो । मैले भ्रष्टाचार नगरेको हुँदा उक्त अभियोग दावी झूठा हो । मैले सजाय पाउनुपर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी रामचन्द्र यादवले शुरु अदालतमा गरेको बयान ।

मिति २०४९।९।२६ मा भएको र.नं ४२१५, ४२१६, ४२१७ र ४२१८ का राजीनामाका लिखत रजिष्ट्रेशन पारित भएका हुन् । मोसदीलाल कर्ण ऋणी र धनी महालक्ष्मी कर्ण भएको लिखतको लेखक साक्षी र सनाखत साक्षीमा म वसी सही गरेको हो । मोसदीलाल कर्ण भन्ने मानीस मैले चिनेको थिएन । तर निजका छोरा रमानन्द लाल कर्णले मेरो बाबु यिनै हुन् भनी मोसदीलाल कर्णलाई देखाएको हुँदा ऋणी महलमा निजैले देखाइएको मानिसको सही भई विभिन्न मानिसहरूले जग्गा खरिद गरी पारित गराई लिएको ठीक साँचो हो । धनी ऋणीबाट दिनुलिनु गरेको रकम मलाई थाहा भएन । उक्त राजीनामाहरू सुपथ मूल्य तिरी पारित भएको हो । मोसदीलाल कर्णको ठाउँमा कृत्रिम मानिस खडा गरी म समेतको मिलेमतोबाट कीर्ते जालसाजीको आधारमा पारित भएको होइन । मैले कुनै अनैतिक कार्य गरेको छैन । अभियोग दावीबाट फुर्सद पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी देवनारायणलाल कर्णले शुरु अदालतमा गरेको बयान ।

प्रतिवादी उषादेवी घिमिरेसँग रु.२५,०००।रामप्रसाद प्रेमीसँग रु.२७०००। प्रतिवादी देवीलाल राय, प्रतिवादी रामप्रसाद साह, प्रतिवादी खड्गबहादुर चाम्लिङ, महेन्द्र प्रधान र देवनारायण लालकर्णसँग जनही रु.१०,०००।प्रतिवादी राजकुमारलाल कर्ण र महालक्ष्मी कर्णसँग जनही रु.२७०००।नगद वा जेथा जमानी दिए लिए तारेखमा राख्नु दिन नसके थुनामा पठाइदिनु भन्ने आदेश भएकोमा निजहरूले जेथा जमानी राखी तारेखमा रहेको । प्र. रामचन्द्र यादवलाई साधारण तारेखमा राखिएको ।

मोसदीलाल कर्णलाई चिन्दछु । निज जिवीत छन् । पहिले सिराहा वडा नं ४ मा बसेकोमा हाल भारतको मधुवनी बसेका छन् । मिति २०४९।९।२६ मा उषादेवी छोरा विरामी भएकोले काठमाडौँ थिएँ । सो मितिमा म र मोसदीलाल कर्णसमेत मालपोत कार्यालय सिराहामा थियौं । उषादेवीले मोसदीलाल कर्णको नाउँमा कुनै प्रकारले कीर्ते सहिछाप गरे गराएको छैन । उषादेवीको नाउँमा मिर्चैयाको जग्गा पास गर्न उषादेवीबाट सादा कागजमा वारेशनामाको लागि सहिछाप लगाई राखेको थिएँ । सो जग्गा पास नभएकोले सोही वारेसनामाको आधारमा उषादेवी सिराहामा नभएको अवस्थामा निजका पतिले मोसदीलाल कर्णको जग्गा मेरो सामुन्नेमा जग्गाको मूल्य लिने दिने गरी पारित गरी लिए दिएका हुन् भन्ने समेत व्यहोराको प्रतिवादी उषादेवी घिमिरेका साक्षी कुमारप्रसाद घिमिरेको वकपत्र ।

मैले मोसदीलाललाई चिनेको छैन । लिखतमा भएको मोसदीलाल कर्णको नाउँमा भएको सहिछाप को कसले गरेका हुन् लिखत पारित भएको अवस्थामा म नहुँदा थाहा छैन । २०४९।९।२६ गतेका दिन उषादेवी सिराहा नभै काठमाडौँमा भएको हुँदा निजले कीर्ते सहिछाप गरे गराएको होइन भन्ने समेत व्यहोराको प्रतिवादी उषादेवी घिमिरेको साक्षी लक्ष्मणप्रसाद घिमिरेको वकपत्र ।

म मोसदीलाललाई चिन्दछु । मोसदीलाल कर्ण आफै मा.पो.का सिराहा आई जग्गाको मूल्य रामप्रसादबाट लिई सद्दे साँचो व्यहोराबाट लिखत पास भएको हुँदा रामप्रसाद प्रेमी समेतले कुनै प्रकारले कीर्ते र भ्रष्टाचार समेत गरेका होइनन् । मिर्चैयाको जग्गा पास गर्न भनी उषादेवीको वारेसनामाको लागि सादा कागजमा उषादेवीको सहिछाप लगाई राखेकोमा सो जग्गा पास नभएपछि मोसदीलालको जग्गा पास गर्न सोही वारेसनामाको आधारमा जग्गा पास गरेको हो लेखक र अन्तरसाक्षी समेतले मोसदीलाल यही हो भनी रामप्रसादलाई भनेकाले जग्गाको मूल्य लिइ उषादेवीका नाउँमा लिखत पास भएको हो । सनाखत गराएको मैले देखिन । ऋणी र धनी आएको देखेँ भन्ने समेत व्यहोराको प्रतिवादी रामप्रसाद प्रेमीको साक्षी रमेश अधिकारीले गरेको वकपत्र ।

मोसदीलाललाई चिन्दछु निज जिवीत छन । रामप्रसादले कुनै प्रकारले कीर्ते व्यक्ति खडा गरेका छैनन् । कीर्ते सहिछाप समेत गरेका छैनन । मोसदीलाल आफैँ आई जग्गाको मूल्य लिई उषादेवीका नाउँमा आफ्नो जग्गा पास गरी दिएका हुन् । रामप्रसादले कीर्ते, भ्रष्टाचार गरेका छैनन् भन्ने समेत व्यहोराको प्रतिवादी रामप्रसाद प्रेमीका साक्षी नवराज पौडेलले गरेको वकपत्र ।

मोसदीलाल कर्णलाई चिन्दछु । निज जिवीत छन् । थैलीको लेनदेन लेखा फाँटमा भएको   हो । रामप्रसादले कीर्ते मानिस खडा गरेका छैनन् कीर्ते सहिछाप पनि गरेका छैनन । मोसदीलाल आफैँ मा.पो.का मा आई मेरो सामुन्नेमा लेनेदेन गरी जग्गा पारित गराएका हुन् । रामप्रसादले भ्रष्टाचार गरेका होइनन् भन्ने समेत व्यहोराको प्रतिवादी रामप्रसाद प्रेमीका साक्षी धनेन्द्र ढकालले गरेको वकपत्र ।

उक्त मितिमा म मालपोत बुझाउन मा.पो का. सिराहा आएको थिएँ । पारित लिखतमा रामनन्दनले ल्याएको मानिसले सहिछाप गरेका हुन् । मोसदीलालको छोरा रामानन्दनसँग जग्गा खरिद गर्नेहरूले खरिद विक्रीको कुरा मिलाएका थिए । रामनन्दनले एक वृद्ध व्यक्तिलाई आफ्नो साथमा ल्याई आफ्नो पिता मोसदीलाल भनी परिचय गराए । खरिद गरी लिनेले लेखनदास राजकुमारलाल कर्णलाई लिखत लेख्न भनेकोमा लेखिदिएका हुन । जानीजानी मरेको व्यक्तिको जग्गा आफ्ना पत्नी महालक्ष्मीको नाउँमा राजकुमारले दर्ता गराएको होइन भन्ने समेत व्यहोराको प्रतिवादी राजकुमारलाल कर्णको साक्षी वेचन गडेरीले गरेको वकपत्र ।

जग्गा दाताले सो लिखतमा सनाखत फाँटमा सहिछाप गरेको देखेको हुँ । रमानन्दलाललाई चिनेको हुँदा निजले मोसदीलाल मेरो बाबु हुन् भनेबाट  मा.पो.का सिराहामा भेट भएको हो । म त्यस दिन लालपूर्जाको नक्कल लिन गएको थिएँ । मोठ सच्याउन लगेको निवेदन राजकुमारले लगेका होइनन् । लेखनदासको हैसियतले राजकुमाराले लिखतसम्म लेखिदिएका हुन् । राजकुमारले कुनै भ्रष्टाचार गरेका होइनन् भन्ने समेत व्यहोराको प्रतिवादी राजकुमारलाल कर्णको साक्षी नागेश्वर ठाकुरको वकपत्र ।

जग्गाधनी मोसदीलाल आफै उपस्थित भई राजीनामा पारित गरी दिएको हुँदा खड्गबहादुरले कुनै प्रकारको कीर्ते हस्ताक्षर र भ्रष्टाचार गरेका छैनन् । निजउपरको अभियोग झूठा हो भन्ने समेत व्यहोराको प्रतिवादी खड्गबहादुर चाम्लिङका साक्षी शालिकराम भट्टराइले गरेको वकपत्र ।

खड्गबहादुरले कुनै प्रकारले मिलेमतो गरेको छैन । कीर्तेसमेत गरेको छैन । साँचो व्यहोरा र व्यवहारबाट लिखतहरू पारित भएको हुँदा भ्रष्टाचार समेत केही गरेको छैन । निज निर्दोष हुन् भन्ने समेत व्यहोराको प्रतिवादी खड्गबहादुर चाम्लिङका साक्षी भरतमणि भट्टराइले गरेको   वकपत्र ।

शुद्ध साँचो व्यवहारबाट मोसदीलाल कर्णबाट प्रतिवादी महालक्ष्मी कर्णले रजिष्ट्रेशन पास गराई लिएको हो । कीर्ते मानिस खडा गरी भ्रष्टाचार समेत महालक्ष्मीले गरेको होइन । अभियोगअनुसार सजाय पाउनुपर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी महालक्ष्मी कर्णको साक्षी राम लोचन ठाकुर र वलराम रायले अलग अलग गरेको वकपत्र ।

देवनारायणले कुनै कीर्ते काम नगरेकोले अभियोगबमोजिम सजाय पाउने होइन । शुद्ध साँचो व्यवहारबाट लिखत लेखी सनाखतमा बसेको हो । दाताले मा.पो.का सिराहामा बसी सही गरेका हुन् भन्ने समेत व्यहोराको प्रतिवादी देवनारायणलाल कर्णको साक्षी मोतीराम साफीले गरेको वकपत्र ।

महेन्द्र प्रधानले कसैसँग मिलेमतो गरेका छैनन् । कीर्ते काम र भ्रष्टाचार गरेका छैनन । मोसदीलाल कर्ण आफै आइ बाबु बाजेको नाउँ मोठमा समावेस गरीपाउ भनी निवेदन दिएको हुँदा कुनै प्रकारले कीर्ते र भ्रष्टाचार समेत गरेको छैन । सद्दे साँचो व्यवहारबाट नाम समावेश भएकोले निज उपरको अभियोग झूठा हो भन्ने समेत व्यहोराको प्रतिवादी महेन्द्र प्रधानका साक्षी कृष्णदेव लाल दास र रमेश अधिकारीको अलग अलग वकपत्र ।

देवीलालले कुनै प्रकारको कसैसँग मिलेमतो गरेको छैन । कीर्ते जालसाजबाट जग्गा पारित गरे गराएको छैन । मोसदीलाल आफैले आफ्नो जग्गा विक्री गरेको हुँदा सद्दे साँचो व्यवहारबाट राजीनामा पारित भएको हो भ्रष्टाचार गरेको होइन । देवीलाल अफीसमा ढिलो आएको हुँदा महेन्द्र प्रधानले नाम समावेश गरेको हो भन्ने समेत व्यहोराको प्रतिवादी देवीलालरामको साक्षी हिरालाल ठाकुरले गरेको वकपत्र ।

२०४९।९।२६ गते रामचन्द्र यादव सिराहा मालपोत कार्यालयमा गएका छैनन् । रजिष्ट्रेशन कागजहरूमा रामचन्द्र यादवले साक्षीमा सही गरेको होइन । रामचन्द्र कीर्ते गर्ने मानिस होइनन् । अभियोग झूठा हो । सो लिखत सही गर्ने रामचन्द्र यादवलाई चिन्दिन भन्ने समेत व्यहोराको प्रतिवादी रामचन्द्र यादवका साक्षी सत्यदेव यादव र धर्मनाथ यादवले अलग अलग गरेको  वकपत्र ।

प्रतिवादी विनोदकुमार महासेठका नाउँमा जारी भएको म्याद मिति २०५०।९।५ मा र प्रतिवादी खसिया सुंडीको नाउँमा जारी भएको म्याद मिति २०५०।७।२२ मा तामेल भएकोमा हाजिर नभै गुजारी बसेको देखिन्छ ।

यसै लगाउको वादी रमानन्द दास प्रतिवादी यिनै प्रतिवादी विनोदकुमार महासेठ समेत भएको फौ.नं ५९२६ को कीर्ते मुद्दामा संलग्न जाँच भई आएको मोसदीलाल कर्णको सहिछाप र हस्ताक्षर समेत भएको राजीनामा समेतका लिखत र विवादित राजीनामा लिखतमा लागेको सहिछाप र हस्ताक्षरको सही  समेत एक आपसमा मिल्न भिड्न आउँदैन भनी राय व्यक्त भएको देखिन्छ । प्रतिवादीमध्ये महालक्ष्मी कर्णले यस अदालतमा बयान गर्दा मोसदीलाल कर्णलाइ मैले चिनेको छैन । मोसदीलाल मरिसकेको भन्ने कुरा मलाई थाहा भएन, सवै मेरो श्रीमान् राजकुमार लाल कर्णकै भरबाट मेरो नाउँमा पारित भएको हो भनी बयान गरेको देखिन्छ । मिति २०४९।१०।१२ गतेमा भएको सर्जमिन मुचुल्का हेर्दा उक्त सर्जमिनमा अधिकांश व्यक्तिहरूले मोसदीलाल कर्णको आजभन्दा १  वर्ष अघि नै मृत्यु भइसकेको हो भनी लेखाइदिए समेतबाट विवादित लिखत तयार हुनुभन्दा पहिला नै मोसदीलाल कर्णको मृत्यु भइसकेको देखिदा प्रतिवादी विनोदकुमार महासेठ, खसिया सुडी, महालक्ष्मी, कर्ण, राजकुमारलाल कर्ण, उषादेवी घिमिरे, रामप्रसाद प्रेमी समेतका प्रतिवादीहरूले आफूलाई फाइदा र अरुलाई नोक्सानी पार्ने नियतले मिलेमतो गरी कीर्ते मोसदीलाल कर्ण खडा गरी विनोदकुमार महासेठ, खसिया सुडी, महालक्षी कर्ण र उषादेवी घिमिरेले आफ्नो नाउँमा क्रमशः र.नं ४२१५, ४२१६, ४२१७, २२१८ बाट मिति २०४९।९।२६ मा राजीनामा गरी लिएको र उक्त राजीनामा लिँदा प्र. रामप्रसाद प्रेमी सोही कार्यालयको लेखापाल भै आफ्नो श्रीमती प्र. उषादेवीको वारेसभै राजीनामा सहिछाप गरेको र.प्र. राजकुमार लिखत साक्षी बसी एकै मिति समयमा आफ्नो श्रीमती प्र. महालक्ष्मी कर्णको नाउँमा जग्गा राजीनामा पास गराउने कार्यमा संलग्न समेत देखिकोले वादी दावीबमोजिम प्र. रामप्रसाद प्रेमीले भ्र.नि ऐन, २०१७ को दफा ७(१) अनुसार कसूर अपराध गरेको देखिँदा निजलाई दफा ७(१) अनुसार रु.४४५००।जरीवाना हुने ठहर्छ । अन्य प्रतिवादीहरू विनोदकुमार महासेठ, खसिया सुडी, उषादेवी घिमिरे महालक्ष्मी कर्ण र राजकुमार लाल कर्णले वादीदावीबमोजिम भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ८ र १६क. अनुसार अपराध गरेको देखिँदा ऐ.दफा ८ र १६क. अनुसार अपराध कसूरको मात्राअनुसार निजहरूले पास गरी लिएको विगोको आधारमा विनोदकुमार महासेठलाइ रु.५८,५००।खसिया सुडीलाई रु.४५,९००।उषादेवी घिमिरेलाई रु.४४,५००।महालक्ष्मी कर्णलाई रु.९५२५०।र प्रतिवादी राजकुमारलाल कर्णलाइ रु.९५२५०।जरीवाना हुने ठहर्छ । अन्य प्रतिवादीहरू महेन्द्र प्रधान, खड्गबहादुर चाम्लिङ, देवीलाल रायले मोठमा र रजिष्ट्रेशन फाँटमा काम गरेको भए तापनि जानी जानी कसैलाई फाइदा पुर्‍याउने नियतले काम गरेको नदेखिएको र प्रतिवादीमध्येका रामचन्द्र यादव, देवनारायण लाल कर्ण र रामप्रसाद साह लेखक सनाखत साक्षी समेत वसेको देखिए पनि जानी जानी वदनियतपूर्ण तरिकाले काम गरेको नदेखिदा निजहरूले सफाइ पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु सिराहा जिल्ला अदालतबाट मिति २०५५।४।२७ मा भएको फैसला ।

मिति २०४९।१०।१२ को मिसिल संलग्न सर्जमिन मुचुल्काबाट विवादित लिखत तयार हुनु अगावै मोसदीलालको मृत्यु भैसकेको भन्ने देखिन्छ । मरिसकेको व्यक्तिको सट्टामा कीर्ते व्यक्ति खडा गरी गराई प्रत्यर्थीहरूले आफूलाई फाइदा र अरुलाई नोक्सानी पार्ने नियतले मिलेमतो गरी, कानूनले तोकेको निर्दिष्ट दायित्व निर्वाह नगरी भ्रष्टाचारजन्य कार्य गरेको प्रमाणित हुँदाहुँदै प्रतिवादीहरू महेन्द्र प्रधान, खड्गबहादुर चाम्लिङ यादव, देवनारायणलाल कर्ण र रामप्रसाद साहलाई सफाइ दिने गरी भएको शुरुको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी प्रत्यर्थीहरूलाई अभियोग दावीअनुसार सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको वादी श्री ५को सरकारको तर्फबाट पुनरावेदन अदालत राजविराजमा दायर भएको पुनरावेदनपत्र ।

राजीनामा पारित गराई लिएको वखत मेरो उपस्थिति छैन । मेरो विरुद्धको भ्रष्टाचारको आरोप के के बाट प्रमाणित भए ? फैसलामा देखिँदैन । वादीले आफ्नो दावी प्रमाणित गराउन सकेको छैनन् । रामानन्दलाल कर्णले म समेतउपर दिएको कीर्ते मुद्दामा हदम्याद विहिन फिरादपत्र भएको भनी कीर्ते दावी ठहर हुन नसेकपछि प्रस्तुत मुद्दाबाट भ्रष्टाचार गरेको ठहर गरी कीर्तेको उपचार प्रदान गरेको मिलेको छैन । कीर्ते व्यक्ति खडागरी लिखत पारित गराएको हो भने कीर्तेमा नै सजाय गरिनुपर्छ । मेरो लिखतमा लागेको मोसदीलालको सही सद्दे होइन कीर्ते हो भनी राय दिने विशेषज्ञलाई जिरह गर्ने मौका प्रदान गरिएको छैन । नमूना लिखतहरूको सत्यताको परीक्षण नगरी लिखत कीर्ते हो भनी ठहर गरिएको मिलेको छैन । दुनियाँ दुनियाँबीचको कार्यको परिणामस्वरुप तयार भएको लिखत भ्र.नि.ऐन २०१७ को परिधिभित्र पर्दैन । तसर्थ शुरुको फैसलामा अ.वं १८४ क र १८५ नं को त्रुटि विद्यमान रहेको र कत्तिपनि नमिलेको हुँदा बदर गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी उषादेवी घिमिरेले पुनरावेदन अदालतमा दायर गरेको पुनरावेदन पत्र ।

मेराउपर लगाइएको आरोप प्रमाणित हुने प्रमाण वादी पक्षबाट पेश हुन सकेको छैन । लिखत गर्ने व्यक्ति मोसदीलाल कर्ण हो होइन, सो जाँच गर्ने परीक्षण गर्ने कर्तव्य रजिष्ट्रेशन फाँटको कर्मचारीको र लिखत पास गर्ने अधिकार प्राप्त अधिकृतको हो । मैले मोसदीलाल कर्णलाई हानि र आफूलाई गैरकानूनी लाभ हुने कुन कार्य गरे ? सो फैसलामा वोल्न सकिएको छैन । भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७ (१) को अपराध कायम हुनका लागि मैले बदनियतपूर्ण तरिकाले कार्य गरेको हुनुपर्छ । म समेत उपर कीर्ते मुद्दाको दावी खम्वीर हुन नसकी खारेज गरिएपछि र लिखत पक्का भएको देखिएपछि भ्रष्टाचार मुद्दा दायर गरिएको छ । विशेषज्ञलाई परीक्षण गर्ने मौका दिएको छन । कीर्तेगरी जग्गा खरिद गरे भन्ने मुद्दा भ्रष्टाचारको परिधिभित्र पर्दैन । श्रीमतीको वारेस भै जग्गा पास गरेको हो । कसैलाई हानि नोक्सानी पुर्‍याएको छैन । शुरुको फैसलामा अ.वं १८४ (क)र १८५ नं को त्रुटि विद्यमान हुँदा बदर गरिपाउँ भन्ने समेत व्यहोराको प्रतिवादी रामप्रसाद प्रेमीले पु.वे.अ.मा दायर गरेको पुनरावेदन पत्र ।

खारेज भएको कीर्ते मुद्दालाई यस मुद्दामा प्रमाणमा लिन मिल्दैन । कीर्ते मुद्दामा राय दिने विशेषज्ञलाई जिरह गर्ने मौका दिइएको छैन । कीर्ते मुद्दामा पुनरावेदन नगरेबाट पनि स्वयं पीडित पक्षले नै हामीले कीर्ते नगरेको भन्ने कुरा स्वीकार गरी वसेका छन । मिति २०४९।१०।१२ को मोसदीलालको मृत्यु भैसकेको भन्ने मुचुल्का कानूनप्रतिकूल र प्रमाणमा लिन नहुने हो । सुपथ मूल्य तिरी जग्गा लिएको हुँदा कसैलाई हानि नोक्सानी पुर्‍याएको छैन । प्रस्तुत मुद्दा सरकारी मुद्दासम्बन्धी ऐनको अुनसूची (१) अन्तर्गतको नभै दुनियाँवादी फौजदारी कीर्तेमुद्दा हो । वादी पक्षले अभियुक्त उपरको कसूर प्रमाणित गर्न सकेको छैन । हाम्रा साक्षीहरूको वकपत्रलाई कुनै वास्ता गरिएको छैन । तसर्थ यी सवै आधार प्रमाणबाट शुरु अदालतले हामीलाई जरीवाना समेत गर्ने गरी गरेको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी अभियोग माग दावीबाट सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी राजकुमारलाल कर्ण र महालक्ष्मी कर्णको संयुक्त पुनरावेदन पत्र ।

यसमा एउटै कार्यालयमा मोठमा तथा रजिष्ट्रेशनमा कार्य गर्ने कर्मचारीहरू र लिखत तथा फड्के साक्षीका व्यक्तिहरू समेतलाई भ्रष्टाचारको अभियोगबाट सफाइ दिएको शुरुको फैसला फरक पर्ने देखिदा अ.वं २०२ नं बमोजिम शुरुले सफाइ दिएका प्रतिवादीहरूलाई झिकाइ निजहरू उपस्थित भए वा गुजारेमा प्रतिवादीहरूको पुनरावेदनको जानकारी सरकारी वकिल कार्यालयलाई दिइ नियमानुसार गरी लगाउको दे.पु.नं १०९७, ५६८/१६५१ फौ.पु.नं ३४६ र ३४७ को मुद्दा साथै पेश गर्नु भन्ने व्यहोरा को पु.वे.अ.राजविराजको आदेश ।

रामानन्दन दास कर्णको बाबु मोसदीलाल परलोक भइसकेकोमा विवाद छैन । २०४९।९।२६ मा लिखत गरी दिने व्यक्ति अर्कैै छ र निज जिवीतै छ भन्ने कुनै पनि प्रतिवादीहरूले मौकामा र अदालतमा बयान गर्दा भन्न नसेकेको र पुनरावेदनमा पनि जिकीर लिएको देखिँदैन । कुनै पनि लिखतमा रामानन्दलाल दासको सहिछाप नभएको, निजको स्वीकृति र सहमतिले लिखत भएको भए निजले उजूरी गर्न नपर्ने तथा निजको नाउँमा जग्गा नभएकोले पहिले नाउँसारी गरेर मात्र विक्री गर्न पाउने नै हुनाले निजले कीर्ते मानिसलाई आफ्नो बाबु भनी देखाइ जग्गा विक्री गर्ने कुनै प्रयोजन र अवस्था देखिँदैन । प्रतिवादी रामप्रसाद प्रेमी आफ्नी श्रीमती उषादेवीको वारेस भई र प्रतिवादी राजकुमारलाल कर्ण पनि आफ्नो श्रीमती महालक्ष्मी कर्णको वारेसनामा लिई जग्गा पास गराएको देखिन्छ । त्यस्तै उषादेवी र महालक्ष्मीले पनि जग्गा खरिद गर्न वारेसनामा दिएकी देखिन्छ । परलोक भइसकेका व्यक्तिको नामको जग्गा निजको सन्तानलाई जानकारी पनि नदिई छोराले नाउँसारी पनि नगराएको जग्गाको जग्गाधनी अर्कै व्यक्तिलाई खडा गरी जग्गा रजिष्ट्रेशन पारित गराई आफूलाई गैरकानूनी फाइदा तथा वास्तविक जग्गाधनी तथा निजको उत्तराधिकारीलाई हानि हुने कार्य गरी प्रतिवादीहरू राजकुमारलाल कर्ण, महालक्ष्मी कर्ण, रामप्रसाद प्रेमी, उषादेवी घिमिरे, विनोदकुमार महासेठ, र खसिया सुडीले आरोपित कसूर गरेको प्रमाणित भइसकेको छ । रामचन्द्र यादव समेत साक्षी वस्ने व्यक्तिहरू र देवीलाल समेतका अन्य कर्मचारीहरूको पनि जानाजान उक्त आपराधिक कार्यमा सहमति वा प्रयास भएको प्रमाणित भइसकेको छैन । तसर्थ रामप्रसाद प्रेमी समेतका प्रतिवादीहरूलाइ दावीअनुसार कसूर गरेको ठहर्‍याई सजाय गरेको र अन्य प्रतिवादीहरूलाई सफाइ दिने ठहर्‍याई शुरु सिराहा जिल्ला अदालतले मिति २०५५।४।२७ मा गरेको फैसला मुनासिव हुँदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत राजविराजको मिति २०५७।१०।२४ को फैसला ।

श्री ५ को सरकार मालपोत कार्यालयले पारित गरेको रजिष्ट्रेशनबाट श्री ५ को सरकारलाई आम्दानी भई कुनैपनि नोक्सान नभएको अवस्था भ्रष्टाचारको परिभाषाभित्र पर्दैन । प्रस्तुत मुद्दामा रामनन्दन दासले स्वयं सिराहा जिल्ला अदालतमा हामी निवेदक महालक्ष्मी कर्णउपर हक कायम  लिखत दर्ता बदर मुद्दा दिई विपक्षीको हक कायम हुने ठहरी भएको फैसला अन्तिम भएर बसेको छ । रामनन्दले सिराहा जिल्ला अदालतमा यही भ्रष्टाचार मुद्दामा उल्लेख भएका जग्गाको विषयमा कीर्ते मुद्दा दायर गरेको र सो कीर्ते मुद्दाहरू ०५५।४।२७ गते निर्णय भइसकेको समेत अवस्थामा दुनियाँवादी फौजदारी मुद्दामा अदालतले उपचार दिएको प्रमाण मिसिल छँदाछँदै सोको विपरीत भ्रष्टाचारमा कसूरदार ठहर्‍याई गरेको निर्णयमा गम्भीर त्रुटि र सर्वोच्च अदालतको नजीरको विपरीत भएको छ । म राजकुमार लाल कर्णले लेखनदासको हैसियतले लिखत तयार पारेको र म महालक्ष्मीले खरिद गरेको अवस्थालाई हेर्दा खुद रामानन्दले लिखत लेख्न लागेको निजले नै मेरो बाबु हो भनेको आधारमा पारित भएको राजीनामाबाट हामीलाई भ्रष्टाचार निवारण ऐन अन्तर्गत कारवाही हुनुपर्ने होइन । सो राजीनामा लिखतमा हकवालाको नाताले मञ्जूरी नगराएको भन्ने पु.वे.अ राजविराजको जिकीरको हकमा लिखत मञ्जूरी नभएको अवस्थामा सो व्यक्तिले नालेस उजूरी गर्नुपर्ने बेग्लै अवस्था छँदा सो हक बेहकको कुरा भ्रष्टाचारको विषय वन्ने होइन । तसर्थ पुनरावेदन अदालत राजविराजको फैसला न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) (क) (ख) बमोजिम दोहोर्‍याइ हेरी उक्त फैसला बदर गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीहरू राजकुमार लाल कर्ण र महालक्ष्मी कर्णको संयुक्त निवेदन ।

प्रस्तुत मुद्दा भ्रष्टाचार निवारण ऐन २०१७ को दफा ८ अन्तर्गतको कसूरमा प्रतिवादीहरू उपर मुद्दा चलाइएको देखिन्छ । व्यक्ति विशेषको कारोवारमा कसैले कीर्ते काम गर्छ भने तत्सम्बन्धमा असर पर्ने व्यक्तिले मुद्दा चलाउन सक्ने देखिएको र प्रस्तुत मुद्दामा पनि जाहेरवाला पक्षले प्रतिवादी पक्षहरू उपर हक कायम, लिखत बदर दर्ता र कीर्ते मुद्दा चलाई फैसला भैसकेको देखिन आएबाट पुनरावेदन अदालत, राजविराजको मिति २०५७।१०।२४ को फैसलामा भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ८ को व्याख्यात्मक त्रुटि देखिंदा न्याय प्रशासन ऐन २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) को आधारमा मुद्दा दोहोर्‍याउने निस्सा प्रदान गरिएको छ । वादी श्री ५ को सरकार तर्फबाट परेको दो.नि.नं ३५८१ साथै नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतबाट मिति २०६०।१०।७ मा भएको आदेश ।

नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट विद्वान अधिवक्ताहरू कृष्णप्रसाद सापकोटा र सुरेन्द्रकुमार खड्काले पुनरावेदक हाम्रो पक्ष जग्गा खरिद गर्ने व्यक्ति हुन् । जग्गाधनी मोसदीलाल यिनै हुन् भनी मोसदीलालकै छोराले उपस्थित गराएको व्यक्तिले मोसदीलाल भई जग्गा विक्री गरेको छ । त्यसरी जग्गाधनीको छोराले नै मेरो बाबु हो भनी देखाएको मानिस मोसदीलाल हो, होइन भनी जग्गा खरिद गर्ने पक्षलाई थाहा जानकारी हुने अवस्था पनि हुँदैन । त्यसमा पनि जग्गा जसका नाउँमा पास भएको हो, उनीहरू स्वयं मालपोत कार्यालयमा उपस्थित भएका छैनन् । वारेसमार्फत् जग्गा पास भएको स्थितिमा जग्गा खरिद गर्ने मानिसहरू कसूरदार हुन सक्तैनन् । भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ८ को कसूर कायम हुन सक्ने स्थिति छैन । व्यक्तिगत रुपमा लेनदेन भएको कुरा भ्रष्टाचारको कसूर भित्र पर्न पनि सक्तैन । तसर्थ पुनरावेदन अदालतले कसूर कायम गरी गरेको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी सफाइ पाउनु पर्छ भन्ने समेत बहस गर्नुभयो ।

प्रत्यर्थी वादीको तर्फबाट उपस्थित विद्वान उपन्यायाधिवक्ता शिवबहादुर रानाभाटले प्रतिवादी रामप्रसाद प्रेमी स्वयं मालपोत कार्यालयका लेखापाल कर्मचारी हुन् । उनले आफ्नो पदको दुरुपयोग गरी नक्कली मानिसलाई जग्गाधनी देखाई आफ्नो श्रीमती समेतका नाउँमा जग्गा पारित गर्ने कार्य गरेकोबाटै भ्रष्टाचारको कसूर स्थापित भई रहेको छ । त्यस्तै अन्य प्रतिवादीहरूले समेत वास्तविक जग्गाधनीलाई नोक्सानी र आफूलाई फाइदा हुने कार्य गरेको पुष्टि भइरहेको हुँदा अभियोग माग दावीबमोजिम कसूर कायम गरी सजाँय हुनुपर्छ भन्ने समेत वहस गर्नुभयो ।

उपर्युक्तबमोजिम दुबै पक्षबाट उपस्थित विद्वान अधिवक्ताहरूको बहस जिकीर समेतलाई मनन गरी पुनरावेदन अदालत, राजविराजबाट भएको फैसला मिले, नमिलेको के रहेछ ? सोही विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।

२.    निर्णयतर्फ विचार गर्दा मरेको मानिस मोसदीलाल कर्णको नाममा रहेको विभिन्न कित्ता जग्गाहरू मालपोत कार्यालय सिराहाबाट मिति २०४९।९।२६ मा र.नं. ४२१५, ४२१६,४२१७ र ४२१८ बाट क्रमशः विनोदकुमार महासेठ, खसिया सुडी, महालक्ष्मी कर्ण र उषादेवी घिमिरेका नाममा उनाउ व्यक्ति खडा गरी पास गरी भ्रष्टाचार गरेको भन्दै प्रतिवादीहरू विनोदकुमार महासेठ, खसिया सुडी, महालक्ष्मी कर्ण र उषादेवी घिमिरे तथा लिखतमा साक्षी बस्ने रामचन्द्र यादव, देवनारायणलाल कर्ण र रामप्रसाद साह समेतका प्रतिवादीहरू उपर भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ८ र १६क. बमोजिमको सजाँय मागदावी लिएको र अन्य प्रतिवादीहरू रामप्रसाद प्रेमी, महेन्द्र प्रधान, देवीलाल राय र खड्गबहादुर चाम्लिङ्ग उपर भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(१) अनुसारको सजाँय मागदावी लिई अभियोग पत्र दायर भएको प्रस्तुत मुद्दामा शुरु सिराहा जिल्ला अदालतले प्रतिवादीहरू रामप्रसाद प्रेमी, विनोदकुमार महासेठ, खसिया सुडी, उषादेवी घिमिरे, महालक्ष्मी कर्ण, राजकुमारलाल कर्णलाई कसूरदार कायम गरेको र अन्य प्रतिवादीहरू महेन्द्र प्रधान, खड्गबहादुर चामलिङ्ग, देवीलाल राय, रामचन्द्र यादव, देवनारायण लाल कर्ण र रामप्रसाद साहले सफाइ पाउने ठहर्‍याएको फैसला सदर गरेको पुनरावेदन अदालतको फैसलाउपर चित्त नवुझाई प्रतिवादीहरू लक्ष्मणलाल कर्ण र महालक्ष्मी कर्णको तर्फबाट प्रस्तुत पुनरावेदन पत्र दर्ता भई निर्णयार्थ पेश भएको देखियो ।

३.    प्रतिवादीहरू देवीलाल राय, रामप्रसाद साह, खड्गबहादुर चामलिङ्ग, महेन्द्र प्रधान, रामचन्द्र यादव र देवनारायणलाल कर्णलाई सम्म सफाइ दिने गरेको शुरु फैसला सदर गरेको पुनरावेदन अदालत राजविराजको फैसलाउपर मुद्दा दोहोर्‍याई पाऊँ भनी वादी नेपाल सरकारको तर्फबाट दर्ता भएको यसै लगाउको दो.नि.नं. ३५८१ को निवेदनमा आज यसै इजलासबाट मुद्दा दोहोर्‍याई हेर्न नमिल्ने गरी आदेश भईसकेको हुँदा निजहरूको हकमा यस मुद्दामा थप विबेचना गरिरहन परेन । अन्य प्रतिवादीहरू रामप्रसाद प्रेमी र उषादेवी घिमिरेलाई आरोपित कसूरमा सजाँय गर्ने गरी भएको शुरुको फैसला सदर गरेको पुनरावेदन अदालतको फैसलामा निजहरूले चित्त बुझाई बसेको र प्रतिवादीहरू विनोदकुमार महासेठ र खसिया सुडीले शुरु म्यादै गुजारी बसेको अवस्था  छ ।

४.    यी पुनरावेदक प्रतिवादीहरू राजकुमारलाल कर्ण र महालक्ष्मी कर्णको हकमा प्रस्तुत मुद्दाबाट न्याय निरोपण गर्नुपर्ने भएको छ । प्रतिवादीहरूले पारित गरी लिएको जग्गाको वास्तविक जग्गाधनी मोसदीलाल कर्णको विवादित लिखतहरू पारित हुनु पूर्व नै मृत्यु भएको भन्ने कुरामा कुनै विवाद छैन । मालपोत कार्यालय, सिराहाबाट मिति २०४९।९।२६ मा पारित भएका लिखतहरूमा मोसदीलाल कर्णको नामबाट सहिछाप गर्ने वास्तविक मोसदीलाल नभई उनाउ व्यक्ति नै रहेको कुरामा समेत प्रतिवादीहरूले अन्यथा भन्न सक्ने अवस्था छैन । मोसदीलालको छोरा रामनन्दलालले बाबुको नाममा रहेको जग्गा विक्री गर्छु भनी मोसदीलाल भन्ने बाबु यिनै हुन् भनी एकजना बुढो मानिस ल्याई सहिछाप गराएकोले रुपैयाँ समेत लिनुदिनु गरी जग्गा पारित गरेको भन्ने प्रतिवादीहरूको बयान रहेको देखिन्छ । यदी त्यस्तो भए सो कुराको प्रमाण पुर्‍याउने भार प्रमाण ऐन, २०३१ को दफा २८ बमोजिम प्रतिवादीहरूकै हुन्छ । अतः सोको प्रमाण गुजार्न नसकेकोले निजहरूको सो कथनसँग सहमत हुन सकिएन । यसको अतिरिक्त यी प्रतिवादीहरू राजकुमार लाल कर्ण विवादित लिखत लेख्ने लेखनदास देखिएका छन् भने अर्का प्रतिवादी रामप्रसाद प्रेमी मालपोत कार्यालय, सिराहाकै लेखापाल पदमा कार्यरत कर्मचारी रहेको देखिन्छ । यी दुवै प्रतिवादीहरूले आफ्नो आफ्नो श्रीमती क्रमशः महालक्ष्मी कर्ण र उषादेवी घिमिरेको वारेसनामा लिई मोसदीलालको नाममा रहेको जग्गाहरू निजहरूले आफ्नो श्रीमतीको नाममा पारित गराएको अवस्था देखिन्छ । मालपोत कार्यालयकै लिखतहरू लेख्ने लेखनदासको रुपमा रहेका प्रतिवादी राजकुमारलाल कर्ण तथा सोही कार्यालयका लेखापाल पदमा कार्यरत अर्का प्रतिवादी रामप्रसाद प्रेमी समेतका प्रतिवादीहरूको मिलेमतोबिना मरिसकेको व्यक्तिको नाउँमा रहेको जग्गाहरू निजहरूको श्रीमतीहरूको नाउँमा पारित हुन सक्ने सम्भव नै हुँदैन ।

५.    यसका साथै मोसदीलाल मरिसकेको स्थितिमा निजका नाममा रहेको जग्गाहरू निजका छोराले विक्री गर्न चाहेको अवस्थामा मृतक बाबुको नामबाट आफ्नो नाउँमा नामसारी समेत गरी निज स्वयंले लिखत पारित गर्न सक्ने सहज एवं स्वभाविक कानूनी मार्ग भईरहेको स्थितिमा निज रमानन्दलाल कर्णले सोहीबमोजिम प्रतिवादीहरूलाई जग्गा पारित गरिदिन कुनै वाधा रहेको पनि देखिँदैन । तर त्यस विपरीत मरिसकेको मोसदीलालको ठाउँमा अर्कै व्यक्ति खडा गरी जग्गा पारित गरिएको र त्यस उपर वास्तविक मोसदीलालको कानूनी हकदार छोराले उजूरी दिएको स्थिति देखिन्छ । पारित भएका कुनै पनि लिखतमा निज रमानन्दलाल कर्णको सहिछाप परेको वा निजलाई साक्षी राखिएको देखिँदैन । मोसदीलालको नामको जग्गा पारित गरी लिंदा निजका छोराले नै मोसदीलाल भन्ने मानिस यही हो भनी मानिस उभ्याई सहिछाप गराई लिखत पारित गरिदिएको अवस्था भए एकपटक रुपैयाँ लिनुदिनु गरी जग्गा पारित गरेपछि फेरि उही व्यक्तिले उजूरी गर्नुपर्ने अवस्था पनि पर्दैन र त्यसको औचित्य पनि प्रतिवादीहरूले देखाउन सकेको  पाईदैन । साथै मोसदीलालको कानूनी हकदार छोरा स्वयंले जग्गा नामसारी गरी आफै पारित गर्न सक्ने स्थितिमा निजले नै मरेको बाबुको ठाउँमा उनाउ मान्छे खडा गर्नुपर्ने कुनै प्रयोजन पनि देखिँदैन । कुनै घटना मानिसहरूको आचरण वा काम कारोवारको सामान्य क्रम विचार गर्दा तर्कसंगतरुपमा अनुमान गर्न सकिने अन्य कुनै कुरा अदालतले अनुमान गर्न सक्छ भन्ने प्रमाण ऐन, २०३१ को दफा ७(ग) मा प्रावधान भएको र उल्लिखित यी प्रतिवादीहरूको काम कारोवार व्यवहारलाई हेर्दा सो कार्य कसूरजन्य हो भनी तर्कसंगतरुपमा अनुमान गर्न सकिन्छ । यस्तो स्थितिमा प्रतिवादीहरू विनोदकुमार महासेठ, खसिया सुडी, महालक्ष्मी कर्ण र उषादेवी घिमिरेको नाउंमा क्रमशः र.नं. ४२१५, ४२१६, ४२१७ र ४२१८ बाट मिति २०४९।९।२६ मा पारित लिखतहरू मोसदीलाल कर्णका वास्तविक हकदारहरूलाई जानकारी नदिई गैरकानूनी तवरले उनाउ व्यक्तिलाई मोसदीलाल भनी मालपोत कार्यालयमा उपस्थित गराई पारित गरे गराएको तथ्य स्थापित हुन आई सो कार्य भ्रष्टाचारको कसूर देखिन आयो ।

६.    अब, उक्त  गैरकानूनी कार्यमा प्रतिवादीहरूको संलग्नतातर्फ हेर्दा माथि विवेचना भएबमोजिम यी पुनरावेदक प्रतिवादी राजकुमारलाल कर्ण स्वयं लिखतको लेखक भई आफ्नो श्रीमती प्रतिवादी महालक्ष्मी कर्ण समेतको नाउँमा जग्गा पारित गराएको र अर्का प्रतिवादी रामप्रसाद प्रेमी मालपोत कार्यालयकै लेखापाल पदमा कार्यरत कर्मचारी भई निजले समेत आफ्नो श्रीमती प्रतिवादी उषादेवी घिमिरेका नाउँमा जग्गा पारित गराएको स्थिति हुँदा यी प्रतिवादीहरूले मरिसकेको व्यक्ति मोसदीलालको नाउँमा रहेको जग्गाहरू गैरकानूनी तवरले साँठगाँठ एवं मिलेमतो गरी मोसदीलालको वास्तविक कानूनी हकदारलाई हानि र आफुहरूलाई गैरकानूनी लाभ पुर्‍याउने गरी उक्त लिखतहरू पारित गर्ने कार्य गरेको देखिन आउँछ ।

७.    प्रतिवादी रामप्रसाद प्रेमीउपर भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(१) को सजाँयको मागदावी लिएको अवस्था हुँदा सो दफा ७(१) मा सरकारी सेवामा रहेको कुनै राष्ट्रसेवक कर्मचारीले आफू वा अरु कुनै व्यक्तिलाई गैरकानूनी लाभ पुर्‍याउने बद्‌नियतले वा राष्ट्र वा सरकार वा सरकारी मान्यता प्राप्त कुनै संस्था वा कुनै व्यक्तिलाई गैरकानूनी हानि पुर्‍याउने बद्‌नियतले नेपाल कानूनको जानीजानी पालना नगरेमा वा सरकारी सुविधा वा अधिकारको दुरुपयोग गरेमा समेत भ्रष्टाचारजन्य कसूर मानिने कानूनी व्यवस्था भएको देखिन्छ । निज प्रतिवादी रामप्रसाद प्रेमीले मालपोत कार्यालयको लेखापाल पदको गैरकानूनी दुरुपयोग गरी मोसदीलालको नाममा रहेको जग्गा आफ्नी श्रीमतीको वारेसनामा लिई आफैले सहिछाप गरी श्रीमतीको नाममा पारित गराएको हुँदा निजको सो कार्यबाट निजको श्रीमती तथा निजलाई समेत गैरकानूनी लाभ र मोसदीलालको हकदारलाई गैरकानूनी रुपमा हानि पुग्न गएको प्रष्ट हुन आउँछ ।

८.    त्यस्तै यी पुनरावेदक प्रतिवादीहरू राजकुमारलाल कर्ण र महालक्ष्मी कर्ण समेतउपर भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ८ तथा १६ क. बमोजिम सजाँय मागदावी लिएको अवस्था हुँदा सो दफा ८ मा राष्ट्रसेवक बाहेक अरु कुनै व्यक्तिले आफू वा अरु कुनै व्यक्तिलाई गैरकानूनी लाभ पुर्‍याउने बद्‌नियतले वा राष्ट्र वा सरकार वा सरकारको पूर्ण वा आँशिक स्वामित्व भएको संगठित संस्थासँग गरेको सम्झौता समेत जानीजानी उल्लंघन हुने गरी प्रचलित कानूनविपरीत कुनै व्यवसाय गरेमा वा सरकारी संगठित संस्थाको सुविधा वा अधिकारको दुरुपयोग गरेमा वा त्यस्तो कार्य गर्ने प्रयत्न गरेमा वा मद्दत गरेमा समेत भ्रष्टाचारजन्य कसूर मानी सजाँय गर्ने व्यवस्था भएको र दफा १६क. मायस परिच्छेदअन्तर्गत सजाँय हुने कुनै कसूरको मतियारलाई त्यस्तो कसूर गर्ने व्यक्तिलाई हुने सजाँयको आधा सजाँय हुनेछ तर कसूर गर्ने व्यक्तिलाई त्यस्तो कसूर गर्न वा गरे वापत नगदी जिन्सी वा अन्य कुनै सुविधा उपलव्ध गराई दिने वा लिने मतियारलाई कसूर गर्ने व्यक्ति सरह नै सजाँय हुने कानूनी व्यवस्था रहेभएको देखिन्छ ।

९.    प्रतिवादी रामप्रसाद प्रेमी र यी पुनरावेदक प्रतिवादी राजकुमारलाल कर्ण समेतको मिलेमतोबाटै मोसदीलालका वास्तविक हकदारलाई हानि नोक्सानी एवं निजहरूको हकै जाने गरी उनाउ व्यक्ति खडा गरी आआफ्ना श्रीमतीका नाउँमा जग्गा पारित गराई आफू र आफ्ना श्रीमतीहरूलाई गैरकानूनी लाभ हुने गरी मालपोत कार्यालय जस्तो सरकारी निकायबाट कानून विपरीत तरिकाबाट लिखत पारित गराई लिएको कार्य उपर्युक्त कानूनी व्यवस्था बमोजिम भ्रष्टाचारजन्य कसूरको परिभाषा भित्रै पर्न जाने देखिन्छ । त्यस्तै प्रतिवादी उषादेवी घिमिरे एवं पुनरावेदक प्रतिवादी महालक्ष्मी कर्णका नाउँमा समेत जग्गा पारित भएको र निजहरूको आफ्ना पति क्रमशः रामप्रसाद प्रेमी र राजकुमारलाल कर्णको एकाघर सगोलका व्यक्तिहरू हुन् भन्नेमा विवाद नभएको अवस्थामा एकाघरका पतिले वारेसनामामार्फत् आफ्ना नाउँमा गैरकानूनी रुपमा अर्काको जग्गा पारित गराएको कार्यबाट निज प्रतिवादीहरू समेतलाई गैरकानूनी रुपमा लाभ प्राप्त हुन आउने तथ्यमा कुनै विवाद गर्न सकिँदैन । एकाघरसंगै वसेका श्रीमतीहरूका नाममा अनाधिकृत एवं गैरकानूनी रुपबाट जग्गा प्राप्त भएको कार्यबाट निजहरूलाई नै गैरकानूनी लाभ प्राप्त भएको स्थितिमा जग्गा पारित गर्दा निजहरू अड्डामा उपस्थित नभएको भन्ने आधारबाट मात्रै त्यस्तो कसूरको  दायित्वबाट निजहरूले उन्मुक्ति प्राप्त गर्ने अवस्था हुँदैन । मरिसकेको व्यक्तिको नाममा रहेको जग्गा आफ्नो नाममा पारित गरिलिन वारेसनामा दिएकोबाटै प्रतिवादी महालक्ष्मी कर्ण समेतको आरोपित कसूरमा संलग्नता प्रमाणित हुन आएको देखिन्छ । तसर्थ प्रतिवादी महालक्ष्मी कर्ण मालपोत कार्यालयमा उपस्थित नभएको हुँदा निज उपरको अभियोग दावी स्थापित हुन सक्दैन भन्ने निजतर्फका विद्वान अधिवक्ताहरूको वहस जीकिरसँग सहमत हुन सकिएन ।

१०.    मरिसकेको व्यक्तिको नाउंमा रहेको जग्गा निजका कानूनी र वास्तविक हकदार छोरा समेतको सहमति बेगर अर्को उनाउ व्यक्तिलाई जग्गाधनी खडा गराई गैरकानूनी रुपमा मिलेमतो गरी मालपोत कार्यालयको लेखापाल पदमा कार्यरत सरकारी कर्मचारी प्रतिवादी रामप्रसाद प्रेमी समेतको प्रत्यक्ष संलग्नतामा वास्तविक जग्गाधनी र निजको हकदारको हक मेट्ने एवं गैरकानूनी हानि पुर्‍याउने र प्रतिवादीहरूलाई गैरकानूनी रुपमा लाभ पुर्‍याउने उद्देश्यबाट लिखत पारित गर्ने गरी भएको क्रियाहरू तत्काल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(१) तथा दफा ८ समेतको परिधि भित्रै पर्ने देखिन्छ । त्यस्तो कसूरजन्य कार्यलाई व्यक्तिगत सम्पत्ति लिनुदिनु गरेको विषयभित्र सीमित गरी व्यक्तिगत रुपमा मुद्दा गरी निरुपण गर्नुपर्ने भनी अर्थ गर्दा भ्रष्टाचारजन्य क्रियाहरूको संकुचित परिभाषा हुन गई गैरकानूनी, अनाधिकृत एवं भ्रष्टाचारजन्य क्रियाहरूले नै प्रश्रय प्राप्त गर्ने स्थिति पैदा हुन जान्छ । तसर्थ प्रस्तुत विवादको विषयलाई व्यक्ति विशेषको कारोवारको संज्ञा दिई प्रस्तुत मुद्दामा दोहोर्‍याई हेर्ने गरी प्रदान भएको निस्सासँग यो इजलास सहमत हुन सकेन ।

.    मिसिल संलग्न तथ्य, संकलित प्रमाणहरू एवं माथि विवेचना गरिएको कानूनी आधार समेतबाट यी पुनरावेदक प्रतिवादीहरू राजकुमारलाल कर्ण र महालक्ष्मी कर्ण समेतलाई आरोपित अभियोगमा कसूरदार ठहर्‍याई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ८ र १६क. समेत बमोजिम कसूरको मात्रा एवं पारित लिखतको विगो बमोजिम यी दुवै जना प्रतिवादीहरूलाई जनही रु. ९५२५०। जरीवाना गर्ने गरेको शुरुको फैसला सदर गरेको पुनरावेदन अदालत, राजविराजको मिति २०५७।१०।२४ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीहरूको पुनरावेदन जिकीर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।

 

न्या. रामप्रसाद श्रेष्ठ

 

इति संवत् २०६६ साल भदौ ७ गते रोज १ शुभम्

 

इजलास अधिकृतः विदुर कोइराला

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु