शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८२०६ - आयकर

भाग: ५१ साल: २०६६ महिना: मंसिर अंक:

निर्णय नं.८२०६      ने.का.प. २०६६      अङ्क ८

 

सर्वोच्च अदालत संयुक्त इजलास

माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ

माननीय न्यायाधीश श्री सुशीला कार्की

संवत २०६१ सालको फौ.पु.नं...३१५९

फैसला मितिः २०६६।५।२९।२

 

मुद्दाः आयकर  (२०५४।०५५) ।

 

पुनरावेदकः सीता ट्रेड सेन्टर प्रा.लि.कलंकीको अधिकार प्राप्त प्रवन्ध सञ्चालक सीताराम तिमल्सिना

विरुद्ध

प्रत्यर्थीः ४ नं. क्षेत्र कर कार्यालय, काठमाडौँ, हाल आन्तरिक राजश्व कार्यालय काठमाडौं

 

शुरु निर्णय गर्नेः

४ नं. क्षेत्र कर कार्यालय, काठमाडौँ

पुनरावेदन फैसला गर्नेः

अध्यक्ष श्री वैद्यनाथ उपाध्याय

सदस्य श्री पुष्कलप्रसाद उपाध्याय

 

§  आफ्नो कारोवारको सम्बन्धमा सवैभन्दा वढी जानकारी स्वयं करदातालाई नै हुन्छ भन्ने सिद्धान्तका आधारमा करदातालाई कानूनबमोजिमको कर निर्धारण गरी सम्बन्धित निकायमा वुझाउने दायित्व सुम्पिएको हुँदा आफ्नो आयको स्वयंलाई कर निर्धारण गर्न दिंदा आयमा पारदर्शीता समेत देखाउन सक्नु पर्ने ।

§  करदाताले पेश गरेको विवरण झुठा ठहरिन गएमा अर्थात् करदाताले झुठो विवरण दिएमा, कर छलेमा, घटी कर निर्धारण गरेमा भने सजायको भागीदार बन्नु पर्ने ।

(प्रकरण नं.४)

पुनरावेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री वद्रीबहादुर कार्की र विद्वान अधिवक्ता श्री अनिलकुमार सिन्हा

प्रत्यर्थी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री कृष्णप्रसाद पौडेल

अवलम्वित नजीरः

सम्बद्ध कानूनः

§  आयकर ऐन, २०३१ को दफा ३३(२)

 

फैसला

न्या.रामप्रसाद श्रेष्ठः राजश्व न्यायाधीकरण, काठमाडौँको मिति २०६०।२।१ गतेको फैसलाउपर राजश्व न्यायाधीकरण ऐन, २०३१ को दफा ८ (घ) बमोजिम पुनरावेदन गर्ने अनुमतिको लागि परेको निवेदनमा यस अदालतबाट पुनरावेदन गर्ने अनुमति प्रदान भई पुनरावेदनको रोहमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छः

प्रस्तुत मुद्दामा प्रस्तुत करदाताको आ.व. २०५४।०५५ मा खुद आय सालाखाला रु. ४,५२,५१५।२४ उल्लेख गरी लेखा परीक्षण प्रतिवेदन समेत साथै राखी मिति २०५५।११।३ मा कर कार्यालय काठमाडौँमा पेश गरेको स्वयंकर निर्धारण विवरण ।

स्वयंकर निर्धारण विवरण साथ पेश भएको लेखालाई आयकर ऐनको दफा ५८(क) बमोजिम अमान्य गरी सोही ऐनको दफा ३३(२) बमोजिम खुद आय कायम गर्नुपर्ने देखिएकोले सो बमोजिम हुनु नपर्ने भन्ने सम्बन्धमा कुनै कुरा भन्न वा सबुद प्रमाण पेश गर्न ऐनको दफा ३३(४) बमोजिम अन्तिम मौका प्रदान गरिएको मिति २०५६।१२।२१ को पत्र ।

पेश भएको स्वयंकर निर्धारण विवरणलाई विस्तृत छानवीन गरी आयकर ऐन, २०३१ को दफा ३३(२) बमोजिम खुद आय रु. ८,२०,७७९।४१ कायम गरी सोमा कर रु. २,०५,१९४।८५ र जरीवाना रु. ६,८५८।१५ मध्ये अग्रिम दाखेल भएको रु. १,०८,८६१। कट्टा गरी वाँकी कर तथा जरीवाना समेत यो आदेश प्राप्त भएको ३५ दिनभित्र दाखेला गर्नु होला भन्ने समेत व्यहोराको मिति २०५६।१२।२९ मा भएको आयकर निर्धारण आदेश ।

प्रा.लि.ले गरेको कारोवारको सम्पूर्ण विवरण र सोसँग सम्बन्धित आवश्यक कागजातहरू समेत प्रत्यर्थी कार्यालयमा पेश गरेको अवस्थामा सोलाई विचारै नगरी वास्तविकभन्दा वढी कारोवार देखाई हचुवाको भरमा गरिएको कर निर्धाण आदेश बदर गरी पाउंm भन्ने समेत व्यहोराको पुनरावेदकको पुनरावेदन जिकीर ।

यसमा आन्तरिक राजश्व विभागको मिति २०४२।७।१६ को परिपत्रमा आयल निगमका डिलरहरूको आय कायम गर्दा निजहरूले प्राप्त गरेको कमिशनमध्ये रु. १ लाखसम्मको कमिशनमा ५० प्रतिशत, रु.१ लाख देखि २ लाखसम्मको आयमा ४० प्रतिशत र रु. २ लाख भन्दा वढी भए जतिमा मात्र ३० प्रतिशतले खर्च मिन्हा दिने गरेको आधारबाट पनि कर निर्धारण भएको कार्यलाई मनासिवै मान्नु पर्ने देखियो । अतःएव तत्कालीन कर कार्यालय क्षेत्र नं. ४ बाट मिति २०५६।१२।२९ मा भएको खुद आयकर निर्धारण पर्चा र ऐ मा भएको कर निर्धारण आदेश मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने राजश्व न्यायाधीकरण काठमाडौँको मिति २०६०।२।१ गतेको फैसला ।

निवेदक कम्पनीले आ.व. २०५४।०५५ मा खुद आय रु. ४,५२,५१५।२४ भएको व्यहोरा लेखा परीक्षकले प्रमाणित गरी दिएको प्रतिवेदनबाट समेत प्रष्ट भएकोमा विपक्षी ४ नं. क्षेत्र कर कार्यालयले अनुमानको आधारमा खुद आय रु. ८,२०,७७९।४१ कायम गरी कर निर्धारण गरी लगाईएको कर तथा जरीवाना समेत आयकर ऐन, २०३१ को दफा ३३(२), ३३(४), प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ समेत विपरीत भएकोले राजश्व न्यायाधीकरण ऐन, २०३१ को दफा ८   (ख) (ग) र (घ) बमोजिम पुनरावेदन गर्न अनुमति प्रदान गरी राजश्व न्यायाधीकरणको फैसला बदर गरी न्यायपाऊँ भन्ने समेत व्यहोराको सिता ट्रेड सेन्टर प्रा.लि.को तर्फबाट यस अदालतमा दिएको निवेदन ।

यसमा करदाताको हिसाव किताव अमान्य गरेको अवस्थामा पनि कर निर्धारण गर्दा आयकर ऐन, २०३१ को दफा ३३(३) ले ऐनबमोजिम कट्टा गर्न पाउने खर्च कट्टा गर्नुपर्ने स्पष्ट कानूनी व्यवस्था गरेकोमा सो कानूनी व्यवस्थाको वर्खिलाप अपनाईएका सिद्धान्त भनी कर अधिकृतले मिति २०५६।१२।२९ मा गरेको कर निर्धारण आदेश त्यसलाई सदर गरेको राजश्व न्यायाधीकरण काठमाडौँको फैसलामा उक्त ऐनको त्रुटि गरेको देखिँदा राजश्व न्यायाधीकरण ऐन, २०३१ को दफा ८ को खण्ड (घ) को आधारमा पुनरावेदन गर्ने अनुमति दिएको छ । नियमबमोजिम पुनरावेदनमा दर्ता गरी पेश गर्नु भन्ने यस अदालतको मिति २०६१।४।६ को आदेश ।

      नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट उपस्थित विद्धान वरिष्ठ अधिवक्ता श्री वद्रीबहादुर कार्की एवं विद्धान अधिवक्ता श्री अनिलकुमार सिन्हाले निवेदक कम्पनीले पेट्रोलियम पदार्थ विक्री गरी नेपाल आयल निगमबाट कमिशन प्राप्त गर्ने हो । प्राप्त कमिशनबाट कम्पनीले दैनिक कार्यमा खर्च गर्ने हो र त्यस्तो खर्चलाई आयकर ऐन, २०३१ को दफा १२ ले स्वीकृति दिएको अवस्था छ । कानूनअनुसार खर्च कट्टा गर्न पाउने विभिन्न प्रशासनिक खर्च र ह«ास कट्टी समेत गर्दा हुन गएको आयको विवरण अधिकृत समक्ष पेश गरेकोमा सो सम्बन्धमा कुनै विवेचना नै नगरी शत प्रतिशत खर्च तथा लेखा समेत नै अमान्य गरी गरिएको कर निर्धारण हचुवा एवं स्वैच्छाचारी भएको प्रष्ट छ । आयकर ऐन, २०३१ को दफा ३३(२) अनुसार कर निर्धारण गर्दा न्यायोचित आधार कारण खुलाउन पर्नेमा नखुलाई भएको कर अधिकृतको निर्णय त्रुटिपूर्ण हुँदा बदर गरियोस् भन्ने व्यहोराको वहस प्रस्तुत गर्नुभयो ।

      प्रत्यर्थी कर कार्यालयको तर्फबाट उपस्थित विद्धान उपन्यायाधिवक्ता श्री कृष्णप्रसाद पौडेलले आयकर ऐन, २०३१ को दफा ३३(क)(२) बमोजिम कम्पनीको खुद आय कायम गरी कर कार्यालयबाट भएको निर्णय कानूनसम्मत रहेको छ भन्ने व्यहोराको वहस प्रस्तुत गर्नुभयो ।

      विद्धान कानून व्यवसायीहरूले गर्नु भएको वहस समेत सुनी पुनरावेदन सहितको मिसिल अध्ययन गरी हेर्दा राजश्व न्यायाधीकरण, काठमाडौँको फैसला मिलेको छ, छैन ? पुनरावेदकको पुनरावेदन जिकीर पुग्न सक्छ सक्दैन ? सो सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

      २.    निर्णयतर्फ विचार गर्दा पुनरावेदक सीता ट्रेड सेन्टर प्रा.लि.ले आ.व. २०५४।०५५       मा पेट्रोलियम पदार्थ कारोवारको आय विवरण समयमा पेश नगरेकोले ४ नं. क्षेत्र कर कार्यालय, कुलेश्वर, काठमाडौँबाट च.नं. ४०७९, मिति २०५५।१०।१८ को पत्रद्धारा १५ दिनको म्याद सहितको पत्र पठाइएकोमा पुनरावेदक कम्पनीले आ.व. २०५४।०५५ मा पेट्रोलियम पदार्थ कारोवारको आय विवरण भरी स्वयं कर निर्धारण विवरणमा खुद आय रु. ४,५२,५१५।२४ उल्लेख गरी मिति २०५५।११।३ मा कर कार्यालयमा आय विवरण पेश गरेकोमा कर निर्धारणको फारामसाथ आवश्यक विवरण पेश नगरेकोले ७ दिनको समय दिई आवश्यक कागजातहरू पेश गर्न कर कार्यालयबाट मिति २०५५।११।२५ को साथै पुनः मिति २०५६।१२।२१ मा समेत ७ दिनको अन्तिम समय दिई पत्र पठाइएकोमा कम्पनीको तर्फबाट सोही मितिमा पत्र वुझी मिति २०५६।१२।२८ मा ३० दिनको समय माग गरी कर अधिकृतसमक्ष दिएको निवेदनमा म्याद थप नहुने व्यहोरा उल्लेख भएकोमा पुनरावेदक कम्पनीको तर्फबाट आवश्यक कागजात सहितको विवरण कर कार्यालयमा पेश नगरी अटेर गरी वसेको देखिन्छ । 

      ३.    आयकर ऐन, २०३१ को दफा ३३(२) ले करदाताले आय विवरण दाखिला नगरेमा वा झूठ्ठा विवरण दाखिला गरेमा वा कारोवारको लेखा नराखेमा वा राखेको लेखालाई मान्यता दिन नमिल्ने भएमा कर अधिकृतले करदाताको दायित्व, सम्पत्ति, आयव्ययको स्रोत र विवरणहरू समेतको आधारमा खुद आय कायम गरी कर निर्धारण गर्न सक्ने कानूनी व्यवस्था गरेको पाइन्छ । पुनरावेदक कम्पनीले भरेको स्वयं कर निर्धारण फारमबाट खुद आय रु. ४,५२,५१५।२४ देखाएकोमा करदाता पुनरावेदकले सोको सम्पूर्ण यथार्थ विवरण उल्लेख नगरी हिसाव किताव पारदर्शी रुपमा नराखी हचुवाको आधारमा स्वयंकर निर्धारण फारम भरेको देखिन आउँछ ।

      ४.    करदाता स्वयंले आफूलाई लाग्ने कर आफैले निर्धारण गरी बुझाउने प्रक्रिया नै स्वयंकर निर्धारण हो । आफ्नो कारोवारको सम्बन्धमा सवै भन्दा वढी जानकारी स्वयं करदातालाई नै हुन्छ भन्ने सिद्धान्तका आधारमा करदातालाई कानूनबमोजिमको निर्धारण गरी सम्बन्धित निकायमा वुझाउने दायित्व सुम्पिएको पाइन्छ । आफ्नो आयको स्वयंलाई कर निर्धारण गर्न दिंदा आयमा पारदर्शिता समेत देखाउन सक्नु पर्दछ । करदाताले पेश गरेको विवरण झुठा ठहरिन गएमा भने करदाताले मूल्य चुकाउनु पर्छ अर्थात करदाताले झुठो विवरण दिएमा, कर छलेमा, घटी कर निर्धारण गरेमा भने सजाँयको भागीदार बन्नु पर्ने हुन्छ ।

      ५.    पुनरावेदक कम्पनी स्वयंले आय विवरण दाखिला गर्दा आफ्नो कारोवार वा आयस्रोतको किसिम, वासलात, नाफा नोक्सान, हिसाव किताव समेतको सम्पूर्ण हिसाव किताव पारदर्शी रुपमा उल्लेख नगरी हचुवाको आधारमा कम्पनीको खुद आय ४,५२,५१५।२४ भएको भनी स्वयंकर निर्धारण फारम भरी कर कार्यालयमा पेश गरेकोमा कर कार्यालयबाट स्वयंकर निर्धारण फारममा उल्लेख गरेको विवरण पुष्टि गर्ने कागज प्रमाण पेश गर्न पटक पटक सूचीत गर्दा समेत आफ्नो तर्फबाट हिसाव किताव पेश नगरी वसेको अवस्थामा आन्तरिक राजश्व विभागको मिति २०४२।७।१६ को परिपत्रबमोजिम आयल निगमका डिलरहरूको आय कायम गर्दा निजहरूले प्राप्त गरेको कमिशन मध्ये रु.१ लाख सम्मको कमिशनमा ५० प्रतिशत रु.१ लाखदेखि रु.२ लाखसम्मको आय ४० प्रतिशत र २ लाख भन्दा वढी भए जतिमा मात्र ३० प्रतिशतले खर्च मिन्हा दिने भन्ने उल्लेख भएअनुसार पुनरावेदक कम्पनीलाई ४ नं. क्षेत्र कर कार्यालयबाट उपरोक्त बमोजिम खर्च मिन्हा दिई जम्मा खूद आय रु. ८,२०,७७९।४१ कायम गर्ने गरेको आदेशलाई अन्यथा भन्न मिल्ने अवस्था देखिन आएन ।

      ६.    अतः पुनरावेदक सीता ट्रेड सेन्टर प्रा.लि.को आ.व. २०५४।०५५ को कारोवारमा खुद आय रु. ८,२०,७७९।४१ निर्धारण गर्ने गरी तत्कालीन ४ नं. क्षेत्र कर कार्यालय, कुलेश्वर, काठमाडौँबाट भएको आदेशलाई सदर गरेको राजश्व न्यायाधीकरण काठमाडौँको मिति २०६०।२।१ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकीर पुग्न सक्दैन । दायरीको लगत काटी मिसिल नियमानुसार गरी वुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।

 

न्या.सुशीला कार्की

 

इति संवत् २०६६ साल भदौ २९ गते रोज २ शुभम

 

इजलास अधिकृतः हरि कोइराला

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु