शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९०१४ - मानाचामल

भाग: ५५ साल: २०७० महिना: भाद्र अंक:

ने.का.प. २०७०,           अङ्क ५

निर्णय नं.९०१४

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री प्रकाश वस्ती

माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की

०६६CI०८८०

फैसला मितिः २०७०।१।३१।३

 

मुद्दा :मानाचामल ।

 

पुनरावदेक प्रतिवादीः कृष्णबहादुरको छोरा, धादिङ्ग जिल्ला, निलकण्ठ गाउँ विकास समिति वडा   नं. ५ घर भई हाल काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं. १५ बस्ने       डा.राजाराम कार्की

विरुद्ध

प्रत्यर्थी वादीः कृष्णबहादुरको बुहारी, डा.राजाराम कार्कीको श्रीमती, काठमाडौँ जिल्ला, काठमाडौँ       महानगरपालिका वडा नं. १६ बस्ने उषा कार्की

 

§  पत्नीलाई आफ्नो इज्जतआमदअनुसार खान लाउन दिनुपर्ने कानूनी दायित्व लोग्नेमानिसको हुँदा त्यस्तो दायित्व बहन नगरेमा त्यस्ता लोग्नेमानिसको आर्थिक हैसियतका आधारमा त्यस्ता पीडित महिलाले खान लाउनका लागि मानाचामल माग गर्न सक्दछन् । मानाचामल माग गर्नेले बढी रकमको दावी गर्ने र मानाचामल भराई दिनुपर्ने दायित्व भएको व्यक्तिले आफ्नो हैसियतभन्दा कम रकमका विषयमा प्रतिवाद गर्ने परिपाटी रहिआएको परिप्रेक्ष्यमा अदालतले त्यस्ता दावी र प्रतिवादको अन्तरविरोधको चिरफार गरी एउटा केन्द्रविन्दुलाई आधार लिई भरी पाउने रकमको सीमा निर्धारण गर्नुपर्ने हुन्छ, जसले न्यायिक सन्तुलन कायम गर्न सकोस् । यसको सन्तुलन कायम गर्ने माध्यम आर्थिक हैसियत भएकाले यही आर्थिक हैसियतले उचित दायित्वको सीमा निर्धारण गर्ने ।

(प्रकरण नं.३)

§  जिल्ला अदालतसमक्ष गरेको कागजमा आफ्नो दैनिक आम्दानी यति हो भनी स्वीकार गरिसकेको अवस्थामा प्रत्येक पुनरावेदनको रोहमा सोही प्रक्रियाद्वारा आम्दानी निर्धारण गर्नुपर्ने भन्ने जिकीर औचित्यहीन हुने ।

§  मानाचामलको रकम के कति निर्धारण गर्ने भन्ने कुराको कुनै गणितीय मापदण्ड हुन सक्दैन । अवस्था र हैसियत विचार गरी प्रमाणहरूका आधारमा अदालतले न्यायिक मन प्रयोग गरी सो निर्धारण गरिने हो । एउटा सक्षम अदालतले निर्धारण गरेको मानाचामलको निर्धारित रकम घटाउन वा बढाउन सम्बन्धित पक्षले समुचित आधार र प्रमाण देखाउनु पर्ने  हुन्छ । प्रतिवाद गर्दा वा बयान गर्दा नदेखाइएका आधार र प्रमाण पछि ग्राह्य हुन नसक्ने ।

(प्रकरण नं.४)

 

शुरू फैसला गर्ने :

मा.न्या.श्री विनोदमोहन आचार्य

पुनरावेदन फैसला गर्ने :

मा.मु.न्या.श्री वैद्यनाथ उपाध्याय

            मा.न्या श्री पुरूषोत्तम भण्डारी

पुनरावेदक प्रतिवादीतर्फबाटः विद्वान अधिवक्ताद्वय विनय स्थापित, आर्या श्रेष्ठ

प्रत्यर्थी वादीतर्फबाटः विद्वान अधिवक्ता डिल्लीराज तिवारी

अवलम्बित नजीरः

सम्बद्ध कानूनः

§  अ.बं.१३३ नं.

 

फैसला

            न्या.प्रकाश वस्तीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :

            मूल अंशियारहरूमा ससुरा कृष्णबहादुर कार्की क्षेत्री, सासू देवकुमारी कार्की क्षेत्री, पति डा.राजाराम कार्की क्षेत्री, देवर केशवबहादुर कार्की क्षेत्री गरी जम्मा चारजना अंशियार भएकोमा मेरो विवाह विपक्षी डा.राजाराम कार्कीसँग १३ वर्षको उमेरमा सामाजिक परम्परा तथा संस्कृतिअनुसार भएको हो । हाम्रो दाम्पत्य जीवनबाट दुईजना छोराहरूमा जेठा अमीत सिँह कार्की र कान्छा अजय सिंह कार्की तथा एकजना छोरी सुजाताको जन्म भएकोमा निज छोरी सुजाताको विवाह भैसकेको छ । छोराहरूको विवाह हुन बाँकी रहेको छ । मिति २०६३।२।५ मा पतिले घरबाट समेत निकाला गरिदिनु भएकोले फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी तायदाती फाँटवारी माग गरी सम्पूर्ण सम्पत्तिलाई चारभाग लगाई मेरो लोग्नेको भागमा पर्ने भई सो एकभागलाई पुनः चारभाग लगाई एकभाग अंश दिलाई मेरो नाउँमा दर्ता नामसारी गरी चलनसमेत चलाई पाऊँ भन्नेसमेत व्यहोराको छुट्टै फिराद पत्र दर्ता गरी हाल विचाराधीन अवस्थामा रहेको छ । मिति २०६३।२।५ गतेदेखि म छुट्टै बसी माइतीघरको सहयोग तथा साथी भाइसँग सरसापटी गरी गुजारा चलाई आइरहेकी छु । मेरो नाउँमा कुनै चल अचल सम्पत्ति नभएको तथा विपक्षी पति पेशाले डाक्टर भएकोले निजको मासिक सरदर आम्दानी रू.१,५०,०००।भएकोले अदालतमा दायर गरेको अंश मुद्दाबाट अंश पाउने ठहरी अन्तिम फैसला नभएसम्म र फैसला कार्यान्वयन भै मेरो नाउँमा अंश भागको सम्पत्ति नआएसम्मको लागि आफ्नो दैनिक जीवननिर्वाहका लागि जम्मा रू.१८,०००।प्रति महिनाका दरले मिति २०६३।२।५ देखि फिराद दर्ता मितिसम्म ६ महिनाको रू.१,०८,०००।र त्यस्तै गरी मेरा छोराहरूको लाग्ने पढाइ खर्चबापतको मिति २०६२।२।१ देखि आजसम्म १ वर्ष ६ महिना ४ दिनको प्रति महिना रू.३६,२००।का दरले हुने रू.६,५६,४२६।६६ तथा निजको पढाइ पूरा हुन अझै १ वर्ष ६ महिना लाग्ने भएकोले सो अवधिको हुने रकम समेत रू.७,६३,८२६।४० दिलाई भराई पाऊँ भन्नेसमेत व्यहोराको फिराद दावी ।

            विपक्षी वादीले लिनु भएको दावीबमोजिमको मासिक खर्च मानाचामलबापतमा भरिभराउ गर्न मेरो हैसियतले सक्ने अवस्था छैन । मैले खोलेको काठमाडौं डायग्नोस्टिक सेन्टर सञ्चालनका लागि विभिन्न बैंकबाट ऋण लिएको हुँदा विपक्षीले मिति २०६३।२।२५ मा दायर गरेको अंश मुद्दामार्फत अंश लिन चाहे कानूनबमोजिमको ऋण धन व्यहोरी एकभाग अंश दिन मञ्जुर छु भन्नेसमेत व्यहोराको प्रतिवादी डा.राजाराम कार्कीको प्रतिउत्तर पत्र ।

            मानाचामल मबाट भरिभराउ हुन सक्ने कुरा होइन । वादीले आफ्नो पतिको भागबाट अंश पाउने हुँदा कानूनबमोजिम अंश दिन म जुनसुकै बखत तयार भएकोले दावीबाट फूर्सद पाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादी कृष्णबहादुर कार्कीको प्रतिउत्तर पत्र ।

            वादी र प्रतिवादीमध्येका डा.राजाराम कार्की परस्परमा श्रीमती तथा श्रीमान् नाताका व्यक्ति भएको र लगाउको अंश मुद्दाको रोहबाट यी वादीले हालसम्म अंश नपाएको भन्ने तथा निज वादी आफूसँग साथमा नरहेको अवस्थालाई प्रतिवादीले स्वीकार गरेको देखिन्छ । आफ्नो लोग्नेको साथमा नरहेको, आफ्नो दैनिक जीवन गुजारा गर्न निज वादीको अन्य कुनै आयस्रोत भएको भन्ने पनि देखिंन नआएको अवस्थामा आफ्नो दैनिक जीवन गुजारा गर्न गराउन प्रतिवादी डा.राजाराम कार्कीबाट माना चामलबापतमा यथोचित् रकम भराई दिनु न्यायोचित देखिन आयो । माना चामल के कति भराई दिने भन्ने सम्बन्धमा प्रतिवादीको दैनिक आम्दानी ३ हजार जति छ भनी लेखाएको र डाक्टरको पेशा समाजमा प्रतिष्ठित पेशा मानिएको हुँदा साथै वादीका दुई छोराहरू हाल पढाइकै क्रममा विदेशमा रहे भएको तथ्यलाई प्रतिवादीले स्वीकार गरेको समेतका तथ्यका आधारमा प्रतिवादी राजाराम कार्कीबाट वादीलाई प्रतिमहिना रू.३०,०००।का दरले हुन आउने रकमसम्म माना चामलबापतमा भराई दिने ठहर्छ । रू.५४,२००।प्रति महिनाका दरले र अन्य रकमसमेत भराईपाऊँ भन्ने हदसम्मको वादीको फिराद दावी पुग्न सक्दैन भन्ने व्यहोराको काठमाडौं जिल्ला अदालतको मिति २०६५।३।२४ को फैसला ।

            शुरू काठमाडौं जिल्ला अदालतको फैसलामा मुख्य निर्णयाधार लिएको आयस्रोतको कागज मुख्य आम्दानी रू.९०,०००।प्रतिमहिना भए पनि रू.१,६५,४३९।५० विभिन्न संघ संस्थाबाट लिएको साँवाको व्याज रकम तिर्नेुपर्ने सो तिर्नसमेतलाई क्लिनिकबाट भएको आम्दानीमा नै भर गर्नुपर्ने अवस्था छ । सो खर्च चलाउन आवश्यक पर्ने औषधि, उपकरण, घर भाडा, स्टाफ तलब, घरखर्च मूल घरमा हेर्नुपर्ने बाध्यता भएको वस्तुनिष्ठ तथ्ययुक्त आधारलाई शुरू अदालतले मूल्याङ्कन नगरी मासिक रू.३०,०००।भराई दिने गरी भएको निर्णयले मेरो हकमा प्रतिकूल असर पर्न गएकोले मेरो आय आर्जन, रकमलगायत पारिश्रमिक सम्बन्धमा वस्तुनिष्ठ तवरले यथार्थ बुझी न्याय निरूपण गरी न्याय दिलाई पाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादी डा.राजाराम कार्कीको पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदन पत्र ।

            यसमा वादी प्रतिवादीका छोरा अंजय सिंह कार्कीले राजाराम कार्कीउपर दिएको अंश मुद्दामा अंश पाउने ठहरी फैसला भएकोमा निजको उच्च शिक्षा अध्ययनको लागि लाग्ने खर्चलाई समेत आधार मानी माना चामल भराउने गरी भएको शुरू जिल्ला अदालतको फैसला विचारणीय देखिँदा अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम छलफलको लागि प्रत्यर्थी झिकाई हाजीर भए वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत, पाटनको मिति २०६६।१।१५ को आदेश ।

            बाबुले आफूप्रति गर्नुपर्ने दायित्व पालना नगरेको अवस्थामा उपयुक्त कानूनी उपचारको बाटो अपनाई आउन पाउने कानूनी हक छोराहरूमा सुरक्षित नै रहेको देखिँदा यस्तो अवस्थामा छोराको खर्च भराई दिन मिल्ने गरी भएको शुरूको इन्साफ कानूनको रोहमा मिलेको देखिन आएन । वादी दावीभन्दा बढी कुरामा अदालतले इन्साफ दिन नमिल्ने भनी सर्वोच्च अदालतबाट नजीरसमेत कायम भएको देखिन्छ (हरिश्चन्द्रसमेत विरूद्ध कौशल्यावती, नेकाप  २०५४, पृष्ठ २०८) । उक्त प्रतिपादित सिद्धान्तसमेतलाई विचार गर्दा निर्णयकर्ताले फिराद दावीभित्र सीमित रही निर्णय गर्नुपर्ने हुन्छ, तर, फिराद दावीभन्दा बाहिर गई इन्साफतर्फ बोल्न न्यायका सर्वमान्य सिद्धान्तविपरीत हुन जाने हुन्छ । अतः फिरादीले मासिक रू.३०,०००।का दरले माना चामल भराई दिने गरी भएको शुरू काठमाडौ जिल्ला अदालतको मिति २०६५।३।२४ को फैसला सो हदसम्म मिलेको देखिन आएन । तसर्थ, यसमा फिरादीले माना चामलबापत प्रतिमहिना रू.१८,०००।का दरले भराई पाउन दावी लिएको र छोराहरूको पढाइ खर्च सम्बन्धमा साबालिगको उजूरीसमेत परेको नदेखिँदा र निजको मञ्जूरीसमेत नदेखिँदा त्यसतर्फ दावी पुग्न नसक्ने हुँदा र फिरादीको दावीअनुसार, रू.१८,०००।सम्म मानाचामलबापत भराई दिनुपर्नेमा बढी भराउने ठहर भएको सो हदसम्म शुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०६५।३।२४ मा भएको फैसला केही उल्टी हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, पाटनको मिति २०६६।५।१७ को फैसला ।

            म एक चिकित्सक भए पनि वादीले दावी गरेबमोजिम मेरो आम्दानी छैन । बैंक वित्तीय संस्था र व्यक्तिगत ऋण रू.१,२४,०३२३८।भन्दा बढी छ । ऋण तिर्नसमेत असमर्थ रहेको व्यक्तिबाट मासिक १८,०००।भरी पाउने ठहर गरेको फैसला मिलेको छैन । उक्त रकम मासिकरूपमा तिर्ने मेरो हैसियत छैन । मासिक आम्दानी रू.९०,०००।भनी अनुमान गर्न मिल्दैन । क्लिनिकबाट हुने आम्दानीमा सञ्चालन खर्च कटाई बाँकी रहने खूद आम्दानीबाट मात्र मानाचामल भराउनु पर्नेमा सोतर्फ विवेचना नगरी अनुमानका आधारमा मासिक रू.१८,०००।भराई दिने ठहर गरेको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिउत्तर जिकीरबमोजिम हुने गरी इन्साफ गरिपाऊँ भन्ने प्रतिवादीको यस अदालतमा परेको पुनरावेदन पत्र ।

            यसमा प्रतिवादीको के कति खूद आय हुन्छ भन्ने कुराको प्रमाणसङ्गतरूपले विचार नगरी मासिक रू.१८,०००।माना चामलबापत भराई दिने ठहर गरेको पुनरावेदन अदालत, पाटनको फैसला फरक पर्न सक्ने हुँदा अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०६९।२।४ को आदेश ।

            नियमबमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ताद्वय श्री विनय स्थापित, श्री आर्या श्रेष्ठ तथा प्रत्यर्थी वादीको तर्फबाट विद्वान अधिवक्ता श्री डिल्लीराज तिवारीले प्रस्तुत गर्नुभएको बहससमेत सुनी मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालतको फैसला मनासिब छ छैन सोही विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।

            यसमा मिति २०६३।२।५ मा पति राजाराम कार्कीले घरबाट समेत निकाला गरेको र निजको मासिक आम्दानी रू.१,५०,०००। भएको हुँदा मानाचामल खर्चबापत फिराद दर्ता मितिसम्म ६ महिनाको मासिक रू.१८,०००।का दरले रू.१,०८,०००।तथा छोराहरूको लाग्ने पढाइ खर्चबापतको मिति २०६२।२।१ देखि फिराद दर्ता मितिसम्मको १ वर्ष ६ महिना ४ दिनको प्रति महिना रू.३६,२००।का दरले हुने रू.६,५६,४२६।६६ समेत जम्मा रू.७,६३,८२६।४० भराई पाऊँ भन्ने वादी दावी भएकोमा वादीलाई प्रतिमहिना रू.३०,०००।सम्म मानाचामल भराई दिने ठहर गरेको शुरू काठमाडौँ जिल्ला अदालतको फैसला केही उल्टी गरी वादीले छोराहरूको अध्ययन खर्च भरिनपाउने, तर प्रतिवादीबाट प्रतिमहिना रू.१८,०००।का दरले मानाचामल भरी पाउने ठहर गरेको पुनरावेदन अदालत, पाटनको फैसलाउपर प्रतिवादीको पुनरावेदन परी निर्णयार्थ पेश हुन आएको पाइयो ।

            २. निर्णयतर्फ विचार गर्दा वादीले मासिक रु.१८,०००।मानाचामल भराउन आफ्नो हैसियत नभएकोले क्लिनिकबाट हुने आम्दानीमा सञ्चालन खर्च कटाई बाँकी रहने खूद आम्दानीबाट मात्र मानाचामल भराउनु पर्ने भनी निज प्रतिवादीले यस अदालतमा गरेको पुनरावेदनमा उक्त कुराको जिकीर लिएको देखियो । शुरूबाट वादीले प्रतिमहिना रू.३०,०००।मानाचामल भराई पाउने ठहर भए पनि उक्त फैसला केही उल्टी गरी वादीले छोराहरूको अध्ययन खर्च भरिनपाउने, तर निजले प्रतिवादीबाट प्रतिमहिना रु.१८,०००।मानाचामल भरिपाउने गरी पुनरावेदन अदालतबाट फैसला भएकोमा सोउपर वादीको तर्फबाट यस अदालतमा पुनरावेदन गरेको देखिएन । अब, प्रतिमहिना रु.१८,०००।मानाचामल भरिभराउ गर्न आफू असमर्थ रहेको भन्ने प्रतिवादीको पुनरावेदन जिकीर रहेको हुँदा सो विवादित प्रश्नको निरूपण गर्नुपर्ने आवश्यक छ ।

            ३. पत्नीलाई आफ्नो इज्जतआमदअनुसार खान लाउन दिनुपर्ने कानूनी दायित्व लोग्नेमानिसको हुँदा त्यस्तो दायित्व बहन नगरेमा त्यस्ता लोग्नेमानिसको आर्थिक हैसियतका आधारमा त्यस्ता पीडित महिलाले खान लाउनका लागि मानाचामल माग गर्न सक्दछन् । मानाचामल मांग गर्नेले बढी रकमको दावी गर्ने र मानाचामल भराई दिनुपर्ने दायित्व भएको व्यक्तिले आफ्नो हैसियतभन्दा कम रकमका विषयमा प्रतिवाद गर्ने परिपाटी रहिआएको परिप्रेक्ष्यमा अदालतले त्यस्ता दावी र प्रतिवादको अन्तर्विरोधको चिरफार गरी एउटा केन्द्रविन्दुलाई आधार लिई भरिपाउने रकमको सीमा निर्धारण गर्नुपर्ने हुन्छ, जसले  न्यायिक सन्तुलन कायम गर्न सकोस् । यसको सन्तुलन कायम गर्ने माध्यम प्रतिवादीको आर्थिक हैसियत नै हो । यही आर्थिक हैसियतले उचित दायित्वको सीमा निर्धारण गर्दछ । सो आर्थिक हैसियतका आधारमा वादीले मानाचामल भराई लिन पाउने कुरामा विवाद हुन सक्क्तैन ।

            ४. अब, प्रतिवादीबाट वादीले के कति रकम मानाचामलबापत भरिपाउने हो सो सम्बन्धमा विचार गर्दा प्रतिवादीको मासिक आम्दानी रू.१,५०,०००।रहेको भन्ने दावी छ । प्रतिवादी पेशाले डाक्टर रहेका र निजको आफ्नै पोलिक्लिनिकसमेत भई उक्त क्लिनिक सञ्चालन भई आएको तथ्यमा प्रतिवादीले इन्कार गर्न सकेका छैनन् । निजले यस अदालतमा गरेको पुनरावेदन जिकीरमा रकमका सम्बन्धमा अ.बं.१३३ नं. अनुसार कागज गराउनु पर्ने भन्ने उल्लेख गरेको देखियो । तर, यिनै प्रतिवादीका वारेस शिवकुमार श्रेष्ठले काठमाडौँ जिल्ला अदालतसमक्ष मिति २०६४।५।२४ मा अ.बं.१३३ नं अनुसार गरेको कागजमा आफ्नो दैनिक आम्दानी रू.३,०००।रहेको भनी स्वीकार गरिसकेको अवस्थामा प्रत्येक पुनरावेदनको रोहमा सोही प्रक्रियाद्वारा आम्दानी निर्धारण गर्नुपर्ने भन्ने जिकीर औचित्यहीन छ । मानाचामलको रकम के कति निर्धारण गर्ने भन्ने कुराको कुनै गणितीय मापदण्ड हुन सक्क्तैन । वादीको अवस्था र प्रतिवादीको हैसियत विचार गरी मिसिल संलग्न प्रमाणहरूका आधारमा अदालतले न्यायिक मन प्रयोग गरी सो निर्धारण गरिने हो । एउटा सक्षम अदालतले निर्धारण गरेको मानाचामलको निर्धारित रकम घटाउन वा बढाउन सम्बन्धित पक्षले समुचित आधार र प्रमाण देखाउनु पर्ने हुन्छ । प्रतिवाद गर्दा वा बयान गर्दा नदेखाइएका आधार र प्रमाण पछि ग्राह्य हुन सक्दैन । प्रतिवादीको आम्दानीको स्रोतलाई विचार गरी साबालिग छोराहरूको अध्ययन खर्चको दावी अस्वीकार गर्दै वादीले प्रतिवादीबाट मासिक रू.१८,०००।मानाचामल भराई पाउने भनी न्यायिक मन प्रयोग गरी ठहर गरेको पुनरावेदन अदालत, पाटनको फैसला अन्यथा नदेखिँदा यस अदालतले हस्तक्षेप गरिरहन पर्ने अवस्था देखिएन ।

            ५. अतः माथि विवेचित आधार र कारणबाट वादीले प्रतिवादीबाट मासिक रू.३०,०००।मानाचामल भराई पाउने ठहर गरेको शुरू काठमाडौँ जिल्ला अदालतको मिति २०६५।३।२४ को फैसला केही उल्टी गरी वादीले प्रतिवादीबाट मासिक रू.१८,०००।मानाचामल भराई पाउने ठहर गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६६।५।१७ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ।

उक्त रायमा सहमत छु ।

 

न्या.ज्ञानेन्द्रबहादुर कार्की

 

इति संवत् २०७० साल वैशाख ३१ गते रोज ३ शुभम––

 

इजलास अधिकृत :दीपक ढकाल 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु