निर्णय नं. ८२१० - हक निखनाई पाऊँ ।

निर्णय नं.८२१० ने.का.प. २०६६ अङ्क ८
सर्वोच्च अदालत संयुक्त इजलास
माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह
माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय
संवत् २०६१ सालको दे.पु.नं.– ९७६१
फैसला मितिः २०६६।१।७।२
मुद्दा :– हक निखनाई पाऊँ ।
पुनरावेदक प्रतिवादीः नवलपरासी जिल्ला माकर गा.वि.स. वडा नं. ४ बस्ने गुमादेवी पाठक
बिरुद्ध
प्रत्यर्थी वादी ऐ.ऐ. बस्ने पुरूपोत्तम भट्टराई
शुरु फैसला गर्नेः
मा.जि.न्या. श्री गणेश पञ्जियार
पुनरावेदन फैसला गर्नेः
मा.न्या. श्री ताहिर अली अन्सारी
मा.न्या. श्री चन्द्रबहादुर कार्की
§ आफ्नो घरको वलेनीको पानी र हैण्डपाइप धाराको पानी अर्काको जग्गाबाट निकाश गराउन नपाइने भयो भन्ने आधारमा निखनाई पाऊँ भन्न कानूनी एवं व्यावहारिक दृष्टिकोणबाट नमिल्ने ।
§ सन्धिसर्पन भन्नाले साँध जोडिएको मात्र नभई सो अचल सम्पत्ति आफूलाई निकास, बाटो, सिंचाई, हावा, प्रकाश वा अन्य यस्तै कारणबाट आफूलाई नभई नहुने प्रकृतिको अचल सम्पत्ति देखिनु पर्ने
( प्रकरण नं ४)
पुनरावेदक तर्फबाटः
प्रत्यर्थी वादी तर्फबाटः
अवलम्वित नजीर
सम्बद्ध कानूनः
फैसला
न्या.रामकुमारप्रसाद शाहः पुनरावेदन अदालत वुटवलको मिति २०६०।३।२४ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) र (ख) बमोजिम मुद्दा दोहोर्याई हेरी पाउन निवेदन परी मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः–
विपक्षी मध्येका कुलानन्द भट्टराई मेरा बाबु गनपति भट्टराईका दाजुभाइ भै वहाँ मेरो सख्यात काहिला बाबु हुनुहुन्छ । वहाँ र म बीच ३ (तीन) पुस्ताभित्रको काका भतिजा नाता पर्छ । म वादीको नाउँमा दर्ता रहेको जिल्ला नवलपरासी माकर गा. वि. स. वडा नं. ४(घ) कि. नं. ३६९ र ३७० जग्गाको क्रमशः पूर्व र दक्षिण तर्फ प्रतिवादी मध्येका कुलानन्दको नाउँको कि. नं. ३७१ को जग्गा पर्दथ्यो । मेरो नाउँमा दर्ता भएको जग्गा मध्ये कि. नं. ३६९ को जग्गामा पक्की घर रहेको र उक्त घरको वलेनीको पानीको निकास कि. नं. ३७१ को जग्गाबाट भएको तथा कि. नं. ३७० को जग्गामा वनेको २ वटा कच्ची घरको पानीको निकास समेत उक्त कि. नं. ३७१ मा भई उक्त बमोजिम मेरो जग्गामा आवत जावत गर्न कि. नं. ३७१ को जग्गा प्रयोग भई आईरहेको अबस्थामा विपक्षी मध्येका कुलानन्द भट्टराईले आफ्नो नाउँको उक्त कि. नं. ३७१ को जग्गा म वादीलाई थाहा जानकारी नदिई विपक्षी कुलानन्द भट्टराई दिने गुमा देवी पाठक लिने गरी मालपोत कार्यालय नवलपरासीबाट र. नं. २३५२ मा थैली रु. एक लाख पचास हजार लिई पारित गरेको कुरा मिति २०५६।११।१२ मा नक्कल सारी लिई थाहा पाएको र उक्त जग्गा मलाई सन्धिसर्पन पर्ने हुँदा विपक्षीहरूलाई उक्त थैली र रजिष्ट्रेशन दस्तूर वुझी लिई जग्गा मलाई निखन्न माग्दा विपक्षी गुमादेवी पाठकले इन्कार गरेकोले उक्त थैली बमोजिमको रकम मालपोत कार्यालय नवलपरासीमा धरौटी राखी निखनाई पाउनको लागि निवेदन दिंदा विवाद भई सम्बन्धी जि. अ. मा जानु भनी उक्त कार्यालयबाट मिति २०५७।६।२९ मा निर्णय भएकाले साह्रै अन्यायमा परी म्याद भित्र यो फिराद लिई आएको छु । विपक्षी गुमादेवी पाठकलाई म बाट उक्त बमोजिम मालपोत कार्यालय नवलपरासीमा राखिएको थैली रजिष्ट्रेशन दस्तूर वुझ्न लगाई उक्त कि. नं. ३७१ को ज. वि. ०–०–१० जग्गा म वादीले हक निखनाई पाउने ठहर घोषित गरी विपक्षी गुमादेवी पाठकको नाउँबाट खारेज गरी मेरो नाउँमा दा. खा. नामसारी समेत गरी गराई मबाट रहेको कोर्ट फी लगायतको कानूनले भरी पाउने खर्च समेत दिलाई भराई हक इन्साफ दिलाई पाऊँ भन्ने समेत व्यहोराको वादीको मुख्य फिराद दावी ।
वादी दावी झूठा हो । साविक शोभाखर भट्टराईका नाउँको कि. नं. ३४८ मध्ये मेरो दाता कुलानन्द भट्टराईले मिति २०४७।१२।१८ मा कि. नं. ३७१ र विपक्षीको दाता सूर्यप्रसाद भण्डारीले कि. नं. ३७० खरिद गर्दा विपक्षी वादी नै साक्षी वस्नु भएको र पछि वादीले कि. नं. ३७० को जग्गा खरिद गर्नु भएको हो भने म प्रतिवादीले कि. नं. ३७१ को अलगै कित्ता खरिद गरी लिएको हुँ । साविक देखि कै एक अर्का कित्तासँग सम्बन्धित कित्ता जग्गा भै अंशियार बीच विपक्षी वादी र मेरो दाताको अंशवण्डा भै वाँकी कित्ता काटिएका जग्गा कि. नं. ३६९,३७०,३७१ होइनन्, अलग अलग विभिन्न व्यक्ति बीच खरिद विक्री भै स्वतन्त्र अस्तित्वमा रहेका कित्ता जग्गा हुन् । विपक्षीका काका मेरा दाता कुलानन्द भट्टराईले कि. नं. ३७१ खरिद गरेपछि मात्र विपक्षी वादीले कि. नं. ३७० को जग्गा खरिद गर्नु भएको हो । यसरी मेरो दाताले भन्दा पछिको मितिमा साँध जोडी जग्गा खरिद गरेकै कारण विपक्षी वादीलाई कि. नं. ३७१ को जग्गा सन्धीसर्पन पर्ने होइन । अतः विपक्षी वादीको कि. नं. ३६९, ३७० का जग्गालाई मैले खरिद गरेको कि. नं. ३७१ को जग्गा सन्धिसर्पन नपर्ने हुँदा हक निखनाई पाऊँ भन्ने म उपर वादीले दिएको झूठा फिराद दावीबाट अलग फुर्सद दिलाई अ.वं. १८० नं. बमोजिम विपक्षीको फिराद खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी मध्येका गुमादेवी पाठकको प्रतिउत्तर जिकीर ।
विपक्षी मेरो नजीकका हकदार हुन् भन्ने कुरामा विवाद छैन । मेरो नामको कि. नं. ३७१ को जग्गा सह प्रतिवादी गुमादेवीलाई विक्री गर्नु पूर्व छोरा नटराज मार्फत खवर पठाउँदा आर्थिक अभावका कारण हाल उक्त जग्गा खरिद गर्न असमर्थ छु भन्ने जवाफ पाएको र मलाई रुपैयाँको आवश्यक परेकाले दावीबमोजिमको कि. नं. ३७१ को जग्गा सह–प्रतिवादी गुमा देवी पाठकलाई विक्री गरेको हुँ । मैले उक्त जग्गा वादीको सहमति लिएर मात्र विक्री गरेको हुँदा हक निखनाई दिनु नपर्ने ठहर गरी इन्साफ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी मध्येका कुलानन्द भट्टराईको प्रतिउत्तर जिकीर ।
आदेशानुसार वादी प्रतिवादीको साक्षीको वकपत्र भई मिसील सामेल रहेछ साथै जग्गाको नापनक्सा मुचुल्का भई मिसिल सामेल रहेछ ।
यसमा कि. नं. ३६९ र ३७० को जग्गा वादीको नाउँमा दर्ता रहेको र कि. नं. ३७१ को जग्गा प्रतिवादी मध्ये कुलानन्दको नाउँमा रहेको देखिन्छ । अदालतबाट मिति २०५८।६।६ मा भै आएको नक्सा मुचुल्कामा विवादित कि. नं. ३७१ को जग्गामा वादीको घर जग्गाको पानी वगेको वादीले आवत जावत गर्ने गरेको पराल टौवा र मल समेत राखी भोग चलन गरेको देखिन्छ । सो कुरा वादी प्रतिवादीका साक्षीको वकपत्रबाट समेत पुष्टि भएको देखिन्छ । तसर्थ विवादित कि. नं. ३७१ को जग्गा पूर्व र दक्षिण तर्फ वादीको कि. नं. ३६९ र ३७० का जग्गा रही सन्धिसर्पन पर्ने देखिएको प्र. गुमादेवीका दाता प्र. कुलानन्द र यी वादी साख्यै काका भतिजा नाताका देखिदा वादी प्रतिवादी कुलानन्दको हकवाला समेत रहेकाले वादी दावीबमोजिम वादीले प्रतिवादीबाट हक निखनाई लिन पाउने र सो जग्गा वादीका नाउँमा दा. खा. नामसारी समेत हुने ठहर्छ भन्ने समेत व्यहोराको शुरु नवलपरासी जिल्ला अदालतको मिति २०५८।८।२७ को फैसला ।
मेरा दाता कुलानन्दले विवादित कि. नं. ३७१ को जग्गा खरिद गरेपछि वादीले कि. नं. ३७० को जग्गा खरिद गरी साँध सम्म जोडिन गएको देखिन्छ । वादीले विवादित कि. नं. ३७१ को जग्गा खाली रहेकाले पराल, मल राख्ने गरेको हो । अदालतबाट भएको नक्सालाई नै प्रमुख आधार मान्न मिल्ने होइन । वादीका साक्षी कृष्ण थापाले वादीका दुवै कित्ता जग्गा र विवादित कि. नं. ३७१ को जग्गा बाटोसँग जोडिएका छन् भनी प्रष्ट रुपमा वकपत्रमा लेखाएका छन् । तसर्थ उपयुक्त तथ्य तर्फ ध्यान नदिई गरेको शुरुको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी झुट्टा वादी दावीबाट फुर्सद दिलाई पाऊँ भन्ने समेतको प्रतिवादी गुमादेवी पाठकको पुनरावेदन पत्र ।
यसमा वादीको कि. नं. ३६९ र ३७० को घर जग्गा एक आपसमा सटेको र सोको पूर्वमा न. नं. १३ को सहायक बाटो रही रहेको नक्सा मुचुल्काबाट देखिएको स्थितिमा विवादित कि. नं. ३७१ को जग्गा वादीलाई सन्धिसर्पन पर्ने भनी निखनाई पाउने ठहर गरेको शुरुको फैसला फरक पर्न सक्ने देखिदा अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम छलफलको लागि विपक्षी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत वुटवलको मिति २०५९।१।३० को आदेश ।
विवादित कि. नं. ३७१ को जग्गा वादी दावीबमोजिम वादीले प्रतिवादीबाट हक निखनाई लिन पाउने र सो जग्गा वादीको नाउँमा दा. खा. नामसारी समेत हुने ठहर्याएको शुरु नवलपरासी जिल्ला अदालतको मिति २०५८।८।२७ को फैसला मिलेकै देखिदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्दैन भन्ने पुनरावेदन अदालत वुटवलको फैसला ।
मैले दाता कुलानन्द भट्टराईबाट मिति २०५६।११।३ मा खरिद गरेको कि. नं. ३७१ को क्षे. फ. वि. ०–०–१० जग्गा घडेरीको जग्गा हो । यस जग्गाको पश्चिम तर्फ विपक्षी वादीको नाउँमा रहेको कि. नं. ३६९ को जग्गा निजले घर बसोवास गरी वस्दा सो जग्गामा खनेको ट्यूवेलबाट निजले पानी प्रयोग गर्दा कि. नं. ३७१ मा आउँछ भन्ने कारणबाट विपक्षी वादीलाई कि. नं. ३७१ को जग्गा सन्धिसर्पन पर्ने भनी अर्थ गर्न मिल्दैन । विपक्षीको कि. नं. ३६९ र ३७० को जग्गामा आवात जावत गर्नको लागी मेरो कि. नं. ३७१ को अभावमा कुनै पनि बैंकल्पिक मार्ग नभएको अबस्था रहे भएमा मात्रै विपक्षीले कि. नं. ३७१ को जग्गा निखनाई पाउने मुलुकी ऐन लेनदेन व्यवहारको ११ नं. को कानूनी व्यवस्था हो । तर विपक्षीको कि. नं. ३६९ र ३७० को जग्गामा आवातजावत गर्नको लागी छुट्टै निकाश रहे भएको अबस्था विद्यमान हुँदा हुँदै मेरो कि. नं. ३७१ को जग्गामा विपक्षी वादीले परालको टौवा राखेको भन्ने आधार वुँदा ग्रहण गरी लेनदेन व्यवहारको गलत व्याख्या गरी फैसला भएको छ । सर्भे नापीको नक्शा प्रिन्टबाट नै विपक्षी वादीको नाउँमा रहेको कि. नं.३६९ को जग्गाको पश्चिम तर्फ र कि. नं. ३७० को पूर्व तर्फ कच्ची बाटो जोडिएको देखिएको छ । कि. नं. ३६९ र ३७० को जग्गामा स्वतन्त्र आवागमन र घाम, प्रकाश, हावा उक्त कित्ताहरूमा जोडीएको बाटोबाटै विपक्षीले उपभोग र उपयोग गर्न मिल्ने अबस्था छँदा छँदै पनि कि. नं. ३७१ को जग्गा विपक्षी वादीले संधियारको नाताले मात्रै सो जग्गा निखनाई लिन पाउने अबस्था देखिन आउँदैन । विपक्षी पुरुषोत्तम भट्टराई मेरा दाता कुलानन्द भट्टराईको नाताले भतिजा पर्ने कारणले मात्रै कि. नं. ३७१ को जग्गा निजले निखनाई लिन पाउने हक सृष्टि हुन सक्दैन । यसरी अदालतबाट भै आएको नक्शा मुचुल्का र सर्भे नापी नक्शाको प्रमाणलाई यथोचित रुपमा मूल्याङ्कन नगरी भएको पुनरावेदन अदालत वुटवलको फैसलामा मुलुकी ऐन अ.वं.१८४(क), १८५ नं. र प्रमाण ऐन, २०३१ को दफा ५४ को गम्भीर ब्याख्यात्मक त्रुटि विद्यमान भएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क)(ख) को अबस्था विद्यमान हुँदा उक्त फैसला दोहोर्याई हेरी बदर गरी झूठा फिराद दावीबाट अलग फुर्सद गरी मेरो प्रतिउत्तर जिकीर बमोजिम हक इन्साफ गरिपाऊँ भन्ने प्रतिवादी गुमा देवीको यस अदालतमा परेको पुनरावेदन पत्र ।
यसमा सम्बन्धित शुरु रेकर्ड र भए प्रमाण मिसिल समेत झिकाई आएपछि साथै राखी नियमानुसार गरी पेश गर्नु भन्ने सर्वोच्च अदालत संयुक्त इजलासको आदेश ।
यसमा वादीको कि. नं. ३६९ को जग्गासँग निखनाई पाऊँ भनेको प्रतिवादीको कि. नं. ३७१ को साँध जोडिएको देखिए पनि अदालतबाट भै आएको नक्शाबाट वादीको कि. नंं ३६९ को जग्गाको निकासबाटो छुट्टै न. न. १२ मा देखिएको स्थितीमा केवल पानी वग्छ भन्ने आधारमा निखनाई पाउने ठहर्याएको शुरु नवलपरासी जिल्ला अदालतको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत वुटवलको मिति २०६०।३।२४ को फैसलामा लेनदेन व्यवहारको ११ नं. र ने. का. प. ०५५ पृष्ठ ३८९ नि. नं. ६५६९, ने. का.प. ०४८ नि. नं. २९५ पृष्ठ २१५, ने. का. प. २०५२ नि. नं. ६०२९ पृष्ठ ५२९ तथा २०५८ सालको नि. प्रदान नं. ४१ मा सदागर मिया वि. महमुद्द मियाँ भएको हक वेहक दर्ता कायम मुद्दामा यस अदालतबाट प्रतिपादीत सिद्धान्त समेतको प्रतिकूल देखिदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को (क) र (ख) को आधारमा प्रस्तुत मुद्दा दोहोर्याई हेरिदिने निस्सा प्रदान गरिएको छ । विपक्षी समेत झिकाई नियमानुसार गरी पेश गर्नु भन्ने यस अदालतको आदेश ।
नियमबमोजिम पेसी सूचीमा समावेश भई इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल कागजात अध्ययन गरी पुनरावेदक प्रतिवादीको तर्फबाट विद्वान अधिवक्ता श्री कृष्ण सापकोटाले प्रतिवादीको दाता कुलानन्दले कि. नं. ३७१ को जग्गा खरिद गरेपछि वादीले कि. नं. ३७० को जग्गा खरिद गर्नु भएको र साँधसम्म जोडिन गएको छ । शुरु अदालतबाट भै आएको नक्शा मुचुल्काको न. नं. १२ र १३ मा निकाश बाटो जनिएको र उक्त निकाश बाटो वादीको कि. नं. ३६९ को पश्चिम तर्फ र कि. नं. ३७० को पूर्व तर्फ जोडिई उक्त जग्गामा आवात जावत गर्नको लागी बैंकल्पिक बाटो भएको र उक्त कि. नं. ३६९ को पूर्व दक्षिण सिमाना न. नं. ५ बाट निजको कि. नं.३७० न. नं. ४ को गोठ घर जग्गामा जान सक्ने भन्ने सो नक्शा मुचुल्काबाट स्पष्ट भएको छ । प्रतिवादीले दाताबाट खरिद गरेको कि. नं. ३७१ न. नं. ३० को जग्गामा दाताको मञ्जूरीले निजले अस्थायी टौवा राख्न दिएको र प्रतिवादीले हक हस्तान्तरण गरी लिएपछि पनि टौवा राख्न दिएको कारणले सन्धिसर्पन पर्न सक्दैन । कि. नं. ३६९ र ३७० को जग्गामा स्वतन्त्र आवागमन र घाम प्रकाश हावा उक्त जोडिएकै बाटोबाट विपक्षीले उपयोग गर्न पाउने अबस्था छंदाछंदै केवल संधियारको नाताले मात्र जग्गा निखनाई लिन नपाउने हुँदा शुरु एवं पुनरावेदन अदालतबाट भएको फैसला उल्टी हुनुपर्छ भन्ने व्यहोराको बहस प्रस्तुत गर्नुभयो । त्यसैगरी वादीको तर्फबाट उपस्थित विद्वान अधिवक्ताहरू बोधीराज पाण्डे र कृष्णप्रसाद बस्यालले वादीको कि. नं. ३६९ र ३७० को जग्गाको सन्धिसर्पन उक्त कि. नं. ३७१ को जग्गासँग पर्ने कुरा वादीले उक्त जग्गाबाट आवत जावत गर्ने गरेको उक्त जग्गामा वादीले पराल टौवा, मल समेत राख्ने गर्नुका साथै वादीको कि. नं. ३६९ को जग्गामा घरवास गरी वस्दा सो जग्गामा खनेको टुयवेलको पानी प्रयोग गर्दा कि. नं. ३७१ को जग्गा बाट नै निकाश हुने हुँदा शुरु एवं पुनरावेदन अदालतबाट भएको फैसला सदर हुनुपर्छ भन्ने व्यहोराको बहस प्रस्तुत गर्नुभयो ।
२. विद्वान कानून व्यवसायीहरूले प्रस्तुत गर्नुभएको उपर्युक्त वहस वुँदा समेतलाई अध्ययन गरी निर्णय तर्फ विचार गर्दा पुनरावेदन अदालतबाट भएको फैसला मिलेको छ, छैन ? सोही सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
३. मेरो कि. नं. ३६९ र ३७० को जग्गाको क्रमशः पूर्व, दक्षिणतर्फ मेरो काका कुलानन्दको नाम दर्ताको कि. नं. ३७१ को जग्गा रहेको र सो जग्गा मेरो कि. नं. ३६९ र ३७० सन्धिसर्पन पर्नेमा मलाई नसोधी प्रतिवादी गुमा देवीलाई राजीनामा पारीत गरी दिएकाले विपक्षी गुमादेवीलाई थैली वुझाई हक निखनाई पाऊँ भन्ने दावी गरेकोमा मेरो दाताले भन्दा पछिको मितिमा साँध जोडिएको जग्गा खरिद गरेकै कारण सन्धिसर्पन पर्ने होइन भन्ने प्रतिवादी गुमा देवीको र वादीको मौखिक सहमतिले जग्गा विक्री गरेको हुँदा हक निखन्न पाउने होइन भन्ने समेत प्रतिवादी कुलानन्दको प्रतिउत्तर जिकीर रहेको प्रस्तुत मुद्दामा वादी दावीबमोजिम हक निखनाई लिन पाउने ठहर गरेको शुरु जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला उपर निवेदन परी दोहर्याई हेर्न निस्सा प्रदान भएको प्रस्तुत मुद्दामा प्रतिउत्तर जिकीर बमोजिम गरी पुनरावेदन अदालतको फैसला उल्टी गरिपाऊँ भनी प्रतिवादीको पुनरावेदन जिकीर रहेको देखियो ।
४. निर्णय तर्फ विचार गर्दा वादीले फिराद दायर गर्दा र यस अदालतमा पुनरावेदन गर्दा समेत कि. नं. ३६९ को जग्गामा आफ्नो पक्की घर रहेको र सो घर जग्गाको उत्तर दक्षिणतर्फ अन्य व्यक्तिहरूको जग्गा पर्ने भएबाट घरको छतको वलेनी र धाराको पानीको निकास एवं हावा, प्रकाशको लागी कि. नं. ३७१ को जग्गा नै प्रयोग गर्नुपर्ने र कि. नं. ३७० को जग्गामा ठाँटी एवं कच्ची घरहरू रहेको ति घरको झ्याल, ढोका उत्तर तर्फ रहेको र दक्षिण तर्फ अन्य व्यक्तिको घर भएकोले उत्तर तर्फको ३७१ को जग्गाबाट नै प्रकाशको उपयोग, पानीको निकास एवं आवत जावत गर्नको लागी काहिला बाबु कुलानन्दका नाउँ दर्ताका सो कि. नं. ३७१ को जग्गा नै आफ्नो सन्धि सर्पन पर्ने हुँदा निजले अन्य व्यक्तिलाई विक्री गरेकोले निखनाई पाऊँ भन्ने समेत वादीले जिकीर लिएको पाइन्छ । विक्री हुनु भन्दा अघि उक्त कि. नं. ३७१ को जग्गामा आफ्नो हैण्ड पाईपको पानीको निकास र पराल राखेको टौवा वनाई भोग गरी आएकोले आफ्नो सन्धिसर्पन पर्ने भन्ने समेत निज वादीको कथन रहेको छ । अदालतबाट भै आएको मिति २०५८।६।६ को नक्शा मुचुल्का हेर्दा न. नं. १२ र १३ मा निकाश बाटो जनिएको र उक्त न. नं. १२ को निकाश बाटो प्रत्यर्थी वादीको कि. नं. ३६९ को पश्चिम तर्फ जोडिएको र. नं. नं. १३ को निकाश बाटो कि. नं. ३७० को पूर्वतर्फ जोडिएको देखिएको छ र सोही निकाश बाटोबाट नै उक्त दुवै कित्ता नम्वरमा वनेका घरहरूमा हावा, प्रकाश र निकाशको उपभोग र उपयोग गर्न सक्ने र मिल्ने अबस्था देखिन्छ । यस अवस्थामा उक्त कि. नं. ३६९ को जग्गाको उत्तर दक्षिण तर्फ र कि. नं. ३७० को जग्गाको दक्षिण तर्फ अन्य व्यक्तिहरूको घरजग्गा रहेकै आधारमा वादीको निखनाई पाउने हकको सिर्जना हुन सक्दैन । त्यस्तै प्रत्यर्थी वादी र प्रतिवादी मध्येका कुलानन्द काका भतिजा नाता पर्ने भई आपसी मिलोमतोमा दुवै पक्षले उक्त कि. नं. ३७१ को जग्गा खरिहानको रुपमा प्रयोग गर्दै आएको भन्ने फिराद लेखबाट नै देखिएको र घर गाउँमा आपसी समझदारीमा एकाको जग्गामा अर्कोले अस्थायी रुपमा प्रयोग गर्ने प्रचलन रही आएकोमा अस्थायी टौवा राखेको भन्ने मात्र आधारमा पनि कि. नं. ३७१ को जग्गा वादीको सन्धिसर्पन पर्ने भनी अर्थ गर्न सकिदैन । साथै कि. नं. ३६९ र ३७० मा रहेका घरहरूको बलेनीको पानी र धाराको पानी प्रयोग गर्दा वग्ने पानी अस्थायी प्रकृतिको नियमित वगिरहने पानी नभएको र त्यस्तो पानीको पुनरावेदक स्वयंले व्यवस्थापन गर्नुपर्ने हुन्छ । आफ्नो घरको वलेनीको पानी र हैण्डपाइप धाराको पानी अर्काको जग्गाबाट निकाश गराउन नपाइने भयो भन्ने आधारमा पनि निखनाई पाऊँ भन्न कानूनी एवं व्यावहारिक दृष्टिकोणबाट मिल्न हुन सक्दैन । मुलुकी ऐन लेनदेन व्यवहारको ११ नं. मा “कसैले आफ्नो हक पुग्ने अचल सम्पत्ति विक्री गरेकोमा यसै महलको १० नम्वर बमोजिम साक्षी वस्ने वाहेक सो विक्री भएको सम्पत्ति सन्धिसर्पन परेको निजको ऐनबमोजिमको कुनै हकवालाले निखनी लिन चाहेमा सो किने वेचेको लिखत रजिष्ट्रेशन भएको मितिले ६ महिना सम्ममा थाहा पाएको ३५ दिनभित्र निखनी लिन पाउँछ” भन्ने व्यवस्था रहेको छ । सन्धिसर्पन भन्नाले साँध जोडिएको मात्र नभई सो अचल सम्पत्ति आफूलाई निकास, बाटो, सिंचाई, हावा, प्रकाश वा अन्य यस्तै कारणबाट आफूलाई नभई नहुने प्रकृतिको अचल सम्पत्ति देखिनु पर्ने हुन्छ । तर अदालतबाट भई आएको नक्शा मुचुल्काबाट उक्त दावीको कि. नं. ३७१ को जग्गा नभई नहुने प्रकृतिको नदेखिई वादीको हक दर्ताको कि. नं. ३६९ र ३७० को जग्गामा जान न. नं. १२ र १३ को निकास बाटो उपलव्ध रहेको र हावा प्रकाश आदि पनि छुट्टै उपलव्ध रहेको देखिएबाट वादीको कि. नं. ३६९ र ३७० जग्गाको कि. नं. ३७१ को जग्गा सन्धिसर्पन पर्ने नदेखिएबाट वादीले उक्त कि. नं. ३७१ को जग्गा उक्त लेनदेन व्यवहारको ११ नं. बमोजिम निखनी लिन पाउने अबस्था देखिन आउँदैन । नन्द कुमारी नेपाल समेत विरुद्ध गणेशप्रसाद भट्टराई भएको जग्गा निखनाई पाऊँ मुद्दामा पानी झर्ने भन्ने साँध जोडिएको कारणबाट मात्र सन्धिसर्पन पर्ने भन्न मिल्ने देखिएन भन्ने (नेकाप २०४८ अङ्क ५, नि. नं. ४२९५ पृ. २१५) र वादी हरिकृष्ण वास्तोला विरुद्ध प्रतिवादी जगतमान माकाजु भएको हक सफा मुद्दामा जग्गाको साँध मिल्दैमा सन्धिसर्पन पर्ने होइन । सन्धिसर्पन पर्नलाई वादीले हक सफा नगरेको अबस्थामा वादीलाई कुलो पानी, बाटो निकास, हावा, घाम इत्यादी कुराहरूमा अवरोध पुग्ने हुनुपर्ने भन्ने (नेकाप २०५५ अङ्क ७, नि. नं. ६५६९ पृ. ३८९) मा सिद्धान्त प्रतिपादन भएको देखिन्छ । यसबाट जग्गाको साँध जोडिएको या पानी झर्ने निकास भएको भन्ने आधारले मात्र निखनाई पाउने हकको सिर्जना नभै वादीले निखनाई पाऊँ भनेको जग्गा निखनी लिन नपाएको अबस्थामा वादीलाई कुलो, पानी, बाटो निकास, हावा, घाम इत्यादी कुराको उपयोगमा अवरोध पुगेको अबस्थामा मात्र निखनाई लिन पाउने देखिन्छ । तर त्यस्तो अबस्थाको विद्यमानता मिसिल प्रमाणबाट देखिन आउँदैन । वादीका साक्षी पिताम्वर पौडेलले अदालत समक्ष वकपत्र गर्दा कि. नं. ३६९ र ३७० को दुवै कित्ता जग्गा बाटोसँग जोडिएको र एक कित्ताबाट अर्को कित्तामा जान आउन मिल्छ भनी स्पष्ट खुलाई दिएको अबस्था समेत हुँदा केवल साँध जोडीएको भन्ने र वादी र प्रतिवादीका दाता बीच काका भतिज नाता पर्ने भन्ने आधारमा मात्र प्रत्यर्थी वादीले उक्त कि. नं. ३७१ को जग्गा हक निखनाई लिन पाउने अबस्था भएन ।
५. अतः माथि उल्लिखित अवस्था प्रमाण तथा कानूनी आधार समेतबाट विवादित कि. नं. ३७१ को जग्गा वादी दावीबमोजिम निजको सन्धिसर्पन पर्ने जग्गा नदेखिदा वादीले प्रतिवादीबाट हक निखनाई लिन पाउने र सो जग्गा वादीको नाउँमा दा. खा. नामसारी समेत हुने ठहर्याएको शुरु नवलपरासी जिल्ला अदालतको फैसला सदर हुने ठहराएको पुनरावेदन अदालत वुटवलको फैसला मिलेको नदेखिदा उल्टी भै वादी दावी नपुग्ने ठहर्छ । अरुमा तपसिल बमोजिम गर्नु ।
तपसिल
माथी इन्साफ खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत वुटवलको फैसला उल्टी भई वादी दावी पुग्न नसक्ने ठहरेकोले पुनरावेदन अदालतको फैसलाको तपसिल खण्डको देहाय (१) मा राखेको लगत कायम नरहने हुँदा सो लगत कट्टा गरी दिनु भनी शुरु जिल्ला अदालतमा लेखी पठाउनु––––––१
प्रतिवादी पुनरावेदक गुमादेवी पाठक के माथि इन्साफ खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत वुटवलको फैसला उल्टी भई वादी दावी पुग्न नसक्ने ठहरेकोले निजले पुनरावेदन अदालत वुटवलमा पुनरावेदन गर्दा शुरु कोर्ट फी. रु. १००।– को १५% ले हुने रु. १५।– र यस अदालतमा पुनरावेदन गर्दा राखेको शुरु कोर्ट फी.रु. १००।– को १५% ले हुने रु. १५।– समेत जम्मा रु. ३०।– वादीबाट भराई पाउने हुँदा वादीको यसै सरहदको जेथा देखाई ऐनका म्याद भित्र भराई पाऊँ भनी दरखास्त दिन आए कुनै दस्तूर नलिई सो कोर्ट फी. निज प्रतिवादी पुनरावेदकलाई भराई दिनु भनी नवलपरासी जिल्ला अदालतमा लेखी पठाई दिनु –२
पुनरावेदक गुमादेवी पाठकके माथि इन्साफ खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत वुटवलको फैसला उल्टी भई वादी दावी पुग्न नसक्ने ठहरेकोले निज प्रतिवादी गुमादेवीले नवलपरासी जिल्ला अदालत मार्फत पुनरावेदन अदालत वुटवलमा पुनरावेदन गर्दा नवलपरासी जिल्ला अदालतमा मिति २०५८।१०।१० मा र. नं. ०६० बाट धरौट राखेको रु. ५०।– समेत निजले फिर्ता पाउने हुँदा ऐनका म्याद भित्र फिर्ता पाऊँ भनी दरखास्त दिन आए कुनै दस्तूर नलिई फिर्ता दिनु भनी नवलपरासी जिल्ला अदालतमा लेखी पठाउनु ––३
वादी पुरुषोत्तम भट्टराई के माथि इन्साफ खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत वुटवलको फैसला उल्टी भई वादी दावी पुग्न नसक्ने ठहर भई कि. नं. ३७१ को जग्गा वादी पुरुषोत्तम भट्टराईले निखनाई लिन नपाउने भएकोले निजले मालपोत कार्यालय नवलपरासीमा मिति २०५६।११।२२ मा र. नं. २०५ बाट उक्त जग्गाको थैली रु. १,५०,०००।– र रजिष्ट्रेशन दस्तूर समेत गरी रु. १,५७,५००।– धरौट राखेको देखिदा सो रकम फिर्ता पाऊँ भनी निज वादीको ऐनको म्याद भित्र दरखास्त परे सो धरौटी निजलाई फिर्ता दिनु भनी मालपोत कार्यालय परासीमा लेखाई पठाई दिनु ––४
दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनु ––५
उक्त रायमा सहमत छु ।
न्या.कृष्णप्रसाद उपाध्याय
इति सम्बत २०६६ साल बैशाख ७ गते रोज २ शुभम् –––
इजलास अधिकृत –भुवन सिंह थापा