शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८२११ - बकसपत्र बदर

भाग: ५१ साल: २०६६ महिना: मंसिर अंक:

निर्णय नं. ८२११     ने.का.प. २०६६      अङ्क ८

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ

माननीय न्यायाधीश श्री अवधेशकुमार यादव

संवत् २०६३ सालको दे.पु.नं. ५६१, ५६२, ५६३

फैसला मितिः २०६६।२।२७।४

 

मुद्दा :वकसपत्र बदर (अंश नामसारी )

 

पुनरावेदक प्रतिवादीः वंशीको नाति शिवबसन्तको छोरा जिल्ला रुपन्देही असुरैना गा.वि.स. वडा नं. ७ वस्ने राम निवास भन्ने श्रीकृष्णप्रसाद यादव

विरुद्ध

वंशीको श्रीमती ऐ.ऐ. वस्ने तिलका अहिरनी समेत

 

पुनरावेदक प्रतिवादीः वंशीको मु.स. गर्ने शीवबसन्तको श्रीमती जिल्ला रुपन्देही असुरैना गा.वि.स.वडा नं. ७ वस्ने नाहरी यादवको वारेस भई आप्mनो हकमा समेत पुनरावेदन गर्ने वंशीको छोरा ऐ. ऐ. वस्ने शिवबसन्त यादव 

विरुद्ध

प्रत्यर्थी वादीः वंशीको श्रीमती ऐ.ऐ. वस्ने तिलका अहिरनी  

 

पुनरावेदक प्रतिवादीः रामऔतारको नाति तथा वंशी अहिरको छोरा जिल्ला रुपन्देही असुरैना गा.वि.स.वार्ड नं. ७ वस्ने ढिमली भन्ने मुरली अहिर

विरुद्ध

प्रत्यर्थी वादीः वंशीको श्रीमती ऐ.ऐ. वस्ने तिलका अहिरनी समेत

 

शुरु फैसला गर्नेः

मा.जि.न्या. श्री यज्ञराज भट्ट

पुनरावेदन फैसला गर्नेः

मा.न्या. श्री विश्वराज जोशी

मा.न्या. श्री राजेन्द्रप्रसाद राजभण्डारी

 

§  कुनै पनि व्यक्तिले आफ्नो अंशबापतको सम्पत्ति अन्य व्यक्तिलाई वैधानिक रुपमा हस्तान्तरण गरिसकेपछि त्यस्तो सम्पत्तिमा तोकिएको शर्त पूरा भएपछि दाताको हक समाप्त भै सम्पत्ति प्राप्त गर्नेको अधिकार स्वतः सिर्जना हुने ।

(प्रकरण नं.२)

§  अंशवण्डाको महलले आफ्नो हक पुग्ने सम्पत्ति मात्रै आफूखुशी गर्न पाउने प्रष्ट कानूनी व्यवस्था गरेको अवस्थामा अरु अंशियारहरूको समेत हक लाग्ने पैतृक सम्पत्ति अन्य अंशियारहरूको सहमतिबिना हक हस्तान्तरण गरी दिन नपाउने ।

(प्रकरण नं.५)

§  एक अंशियार परलोक भैसकेको भए पनि निजले आफ्नो अंश हकका सम्बन्धमा शेषपछिको वकसपत्र पारित गरी दिइसकेको देखिँदा शेषपछिको वकसपत्र प्राप्त गर्नेको हक सिर्जना हुने ।

(प्रकरण नं.६)

 

पुनरावेदक प्रतिवादी तर्फबाटः

प्रत्यर्थी वादी तर्फबाटः

अवलम्वित नजीरः

सम्बद्ध कनूनः

§  दान वकसको महलको १ नं.

§  अंशवण्डाको महलको १९(४)

 

फैसला

न्या.कल्याण श्रेष्ठः पुनरावेदन अदालत वुटवलको मिति २०६३।२।१ को फैसलाउपर न्याय प्रशासन ऐन,२०४८ को दफा ९ बमोजिम पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः-

मुल पुरुष राम औतारको छोरा विपक्षी मध्येका वंशी अहिर हुन् । निज वंशीको १ मात्र श्रीमती वादीमध्येकी म तीलका हुँ । विपक्षी वंशी र वादीमध्येकी म तीलकाबाट जन्मेका ३ छोरा क्रमशः विपक्षी मध्येका ढीमली भन्ने मुरली, शीवबसन्त र वादीमध्येको म सुन्नर यादव हौं । शीवबसन्तका छोरा राम नेवास भन्ने श्रीकृष्णप्रसाद यादव हुन् । राम औतार र निजको श्रीमतीको परलोक भैसकेको छ । बाँकी हामी वादी प्रतिवादीहरू मात्र एकाघर संगोलमा वसि आएका छौं । विपक्षीहरूले इज्जत आमदअनुसार खान लाउन समेत नदिएकोमा मिति २०५८।१।२९ गतेका दिन अंश माग गर्दा अंश नदिएको र वंशीका नाउँमा रहेको फिरादमा तपसिलमा उल्लेख भएको कृष्णप्रसाद यादवलाई २०५७।३।१२ गते पारित गरिदिएको ज. वि. २१२ को जग्गा समेत मिसाई फिराद दर्ता भएका अघिल्ला दिन सम्मको सम्पूर्ण चल अचल सम्पत्तिको तायदाती फाँटवारी लिई ५ भाग लगाई विपक्षी वंशी, मुरली, शीवबसन्तको ३ भाग पर सारी बाँकी २ भाग हामी वादीहरूलाइं अंश वापत दिलाई हाम्रो संयुक्त नाममा दर्ता नामसारी समेत गरिपाऊँ भन्ने तीलका अहिरनी तथा सुन्नर यादवको फिराद पत्र ।

वंशावली तथा वादीहरू र म समेतका परिवार एकासंगोलमा वसेको कुरामा कुनै विवाद छैन । मैले सेवा गरेको कारणले वाजे वंशी प्रभावित भै आफ्नो अंश भाग सेवा गर्ने नाति म कृष्णप्रसाद यादवलाई वकसपत्र गरिदिएकोले फिराद दावीबमोजिम वकसपत्र बदर भै तायदाती र मैले अंश दिनुपर्ने होइन भन्ने रामनेवास भन्ने श्रीकृष्णप्रसाद यादवको प्रतिउत्तर पत्र ।

वंशावली तथा एकासगोलमा बसेको कुरामा कुनै विवाद छैन म वंशीले आफ्नो हक हिस्साको जग्गा श्री कृष्णप्रसादलाई वकसपत्र गरिदिएकोमा कसैको मञ्जूरी लिनुपर्ने होइन । मैले वकसपत्र दिंदा राय सम्मति मौखिक लिएको कुरा छिपाई यो फिराद गरेको देखिँदा र आफूलाई तिर्न पर्ने ऋण तिर्न नपर्ने हुनसक्छ कि भनी संगोलको ऋणलाई लोप गरी नालेस गरेकोले मिति २०५७।३।१२ गतेको पारित हालैको वकसपत्र लिखत र त्यसबाट श्री कृष्णप्रसादका नाउँमा भएको दर्ता सदर कायम गरी वादी दावी खारेज गरिपाऊँ भन्ने वंशी यादव र शीवबसन्त यादवको प्रतिउत्तर पत्र ।

पुस्तावारीमा कुनै विवाद छैन । पैतृक र संगोल आर्जनको सम्पत्ति वादीको श्रीमती कलावती समेतको नाममा दर्ता छ । सो जग्गा सम्पूर्ण अंशियारहरूको अंश हक लाग्ने जग्गा हो । श्रीकृष्णप्रसाद यादवलाई २०५७।३।१२ गते गरिदिएको हालैको वकसपत्रमा उल्लिखित जग्गा सगोलको जग्गा हो । सगोलको कायम गरि मेरो नाउँमा दर्ता रहेको कि. नं. २४६, ४२६, २६९, ६९९ जग्गा मेरो निजी आर्जनको जग्गा हो कसैको अंशहक लाग्ने जग्गा होइन । ठर्की गा. वि. स. को जग्गा मैले ससुरालीको रकमबाट खरिद गरेको हो मेरो निजी आर्जनको जग्गा खानको लागि यो फिराद गरेको हो खारेज गरिपाऊँ भन्ने ढीमली भन्ने मुरली अहिरको प्रतिउत्तर पत्र ।

प्रतिवादी शीवबसन्त यादव समेतबाट उजूरी निवेदनमा उल्लेख भएको घर जग्गा वादी प्रतिवादीको अंशवण्डा लाग्ने घर जग्गा होइन । ज.वि. ०० जग्गा र सो मा भएको घर मेरो निजी घर जग्गा हो यसमा कसैको अंशहक लाग्ने घर जग्गा होइन भन्ने अ.वं. १३९ नं. बमोजिम वुझिएकी कलावती यादवले गरेको बयान ।

वादीको साक्षी श्यामसुन्दर कुर्मी, प्रतिवादी कृष्णप्रसाद यादवको साक्षी स्वामीनाथ भारती, प्रतिवादी मुरलीको साक्षी हरिहर गोसाई र प्रतिवादी शीवबसन्तको साक्षी चौथी लोहारको वकपत्र तथा मिति २०५९।१२।१५ मा भएको सर्जमिन मुचुल्का समेत मिसिल संलग्न रहेको ।

वादी÷प्रतिवादीका बीच अंशवण्डा हुनुपर्ने कुरामा विवाद देखिएन । घरको मुख्य व्यक्ति वृद्ध अवस्थाको वंशी अहिरले हेरचाह सेवा टहल गर्ने व्यक्ति अन्य कोही नभई नाति श्रीकृष्ण यादवलाई आफूखुस गर्न पाउने जति सम्पत्ति सेवा सुसार गरे वापत मिति २०५७।३।१२ मा वकसपत्र गरिदिएको कानून विपरीत नदेखिँदा सदर कायम हुने ठहर्छ । हर्नैया गा. वि. स. वडा नं. १ हाल परिवर्तिन वडा नं. ९ कि. नं. २१८ को ज. वि. ०१२ कलावतीले माइतीको अपुतालीबाट पाएको प्रमाण मिसिलबाट देखिन आएको, सो जग्गामा बनेको पक्की घर सगोलको सम्पत्तिबाट बनाएको भन्ने प्रतिउत्तर जिकीर प्रमाणबाट पुष्टि नभएकोले सो घरजग्गा कलावतीको निजी ठहरी वण्डा नलाग्ने ठहर्छ । पाँच अंशियार कायम गरी फिराद परेकोमा मुद्दा पर्दा पर्दैको अवस्था मिति २०५९।४।२२ मा वंशी अहिरको मृत्यु भई ४ अंशियार मात्र जिवित देखिँदा माथि उल्लिखित सम्पत्ति देखि वाहेकका अन्य वादी प्रतिवादीहरूले तायदाती फाँटवारीमा पेश दाखिल गरेको ऋणको हकमा साहुको दावी परी ठहरे बमोजिम हुने गरी सम्पूर्ण सम्पत्तिमा ४ भागको २ भाग वादीहरूले वण्डा गरिलिन पाउने र निजहरूको नाममा नामसारी समेत हुने ठहर्छ भन्ने समेत व्यहोराको रुपन्देही जिल्ला अदालतले मिति २०६०।१०।१५ मा गरेको फैसला ।

वंशीको सेवा टहल नाहरीले गरी आएकी, फैसला नहुँदै वंशीको मृत्यु भएको र निजलाई रिझाई आफ्नो अंश हकमा पर्ने सम्पत्ति शेषपछि एकलौटी खान भनी वंशीले मिति २०५८।११।६ मा वकसपत्र गरिदिनु भएको तथा त्यसमा कुनै अंशियारको दावी विरोध नरहेको अवस्थामा दावी भन्दावाहिर गई म तथा वंशी यादवको कानूनी अस्तित्व र हैसियत लोप गरी स्व. ससुराको अंशमा मेरो हक वारे नवोली ४ भागको २ भाग अंश दिलाएको त्रुटिपूर्ण हुँदा बदर गरी मलाई समेत अंशियारा कायम गरी अंश दिलाई पाऊँ भन्ने समेत व्यहोराको वंशी यादव (अहिर) को मुद्दा सकार गर्ने नाहरी यादवको पुनरावेदन अदालत वुटवलमा परेको पुनरावेदन पत्र ।

कलावतीका नामको कि. नं. २१८ को ०१२ मिन्ही जग्गा निजले एकलौटी खानु भनी निजी रुपमा पाएको नभई हामी सवै संगोलमै रहेको अवस्थामा मुद्दा मामिला तथा अन्य आर्थिक लगानी समेत गरी प्राप्त भएको र सो जग्गामा त्यसवेला घर संरचना केही नभई कलावतीका नाममा आएपछि संगोलकै सम्पत्तिबाट पक्की घर बनाएको भन्ने कुरा प्रमाणको अंश मुद्दा त्यसमा वण्डुले अहिरले पेश गरेको तायदाती फाँटवारी र साक्षीको वकपत्र समेतबाट प्रमाणित भइरहेको अवस्थामा सो घरजग्गा कलावतीको निजी ठहर गरेको अन्यायपूर्ण छ । तसर्थ सो हदसम्म फैसला उल्टी गरी कलावतीका नामको घरजग्गा समेत वण्डा लगाई पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी शीवबसन्त यादवको पुनरावेदन अदालत वुटवलमा परेको  पुनरावेदन पत्र ।

बाबु वंशी अहिरको सेवा जतन गर्ने श्रीमती छोरा भएको अवस्थामा वंशी अहिरका नामको संगोलको वण्डा लाग्ने सम्पत्ति श्रीमती छोराको मञ्जूरीवेगर नाति श्रीकृष्ण यादवलाई वकसपत्र गरिदिएको र कानूनबमोजिम दिन नपाउने सम्पत्ति अंशियारको नाममा हस्तान्तरण गरे पनि वण्डा हुनुपर्ने हो । घर व्यवहार चलाउन विक्री व्यवहार गरेको होइन । कलावतीका नामको कि. नं. २१८ को जग्गा अंश नामसारी मुद्दाबाट प्राप्त गरेको भएपनि त्यसैवेला घर नभएको र संगोलको सम्पत्तिबाट पक्की घर बनाइएको हुँदा जग्गा निजी ठहर भएपनि घर वण्डा लाग्नु पर्ने हो । घर कलावतीले निजी रुपमा बनाएको प्रमाणित भएको छैन । उल्लिखित आधारमा शुरु रुपन्देही जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी इन्साफ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी ढीमली भन्ने मुरली अहिरको पुनरावेदन अदालत वुटवलमा परेको पुनरावेदन पत्र ।

वंशीले श्रीकृष्णलाई वकसपत्र गरिदिएको सम्पत्ति पैतृक हो भन्ने कुरामा विवाद छैन । घर व्यवहार चलाउन विक्री गरेको नभै आफ्नो हक नपुग्ने हाम्रो समेत अंश हक लाग्ने सम्पत्ति हाम्रो मञ्जूरी बिना वकसपत्र गरिदिएको बदर गरी वण्डा गर्नुपर्नेमा उक्त लिखत सदर कायम गरेको हदसम्म त्रुटिपूर्ण फैसला बदर गरी फिराद दावीबमोजिम गरिपाऊँ भन्ने वादी जना २ को पुनरावेदन अदालत वुटवलमा परेको संयुक्त पुनरावेदन पत्र ।

यसमा वंशी यादवले मुद्दा चल्दा चल्दैको अवस्थामा नाहारीलाई शेषपछिको वकसपत्र गरिदिएकोमा केही नवोलिएको स्थितिमा कति भाग अंश लाग्ने हो, विवाद भएकोमा वंशीको मृत्युपश्चात् ४ भागको २ भाग अंश पाउने ठहर्‍याएको निर्णयमा ब्याख्यात्मक प्रश्न खडा भएको तथा वंशीले श्रीकृष्णलाई गरिदिएको वकसपत्र बदर नहुने भनी फैसला गरिएको तर्फ कानूनी प्रतिपादित सिद्धान्त समेत प्रतिकूल भै शुरु इन्साफ फरक पर्न सक्ने देखिँदा छलफलको लागि पुनरावेदन नगर्ने प्रतिवादीहरूलाई झिकाई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत वुटवलको २०६२।२।२३ को आदेश ।

वादी प्रतिवादी समेतका ५ अंशियार कायम गर्नुपर्नेमा ४ अंशियार कायम गरी २०५७।३।१२को हालै देखिको वकसपत्र सदर कायम गरेको शुरु रुपन्देही जिल्ला अदालतको मिति २०६०।१०।१ को फैसला सो हदसम्म मिलेको नदेखिई उल्टि भई कलावती यादवको नामको निजी ठहरिएको सम्पत्ति बाहेक २०५७।३।१२ को हालै देखिको वकसपत्र बदर भएकोले सो सम्पत्ति एवं तायदाती फाटवारीमा उल्लिखित सम्पूर्ण सम्पत्तिमा वादी दावीबमोजिम ५ भागको २ भाग अंश वादीहरूले छुट्याई लिन पाउने र निजहरूका नाममा दर्ता नामसारी समेत हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत वुटवलको मिति २०६३।२।१ को फैसला ।

कलादेवीको नामको जग्गा तथा सो मा बनेको रुपन्देही जिल्ला हर्नैया गा.वि.स. वडा नं. ७ को कि.नं. २१८ को जग्गा र सो मा बनेको घरलाई निजी ठहराएको हदसम्म शुरु फैसला सदर गरी पुनरावेदन अदालत वुटवलबाट भएको त्रुटिपूर्ण फैसला उल्टी गरी प्रतिउत्तर तथा पुनरावेदन जिकीरअनुसार इन्साफ गरिपाऊँ भन्ने समेत व्यहोराको नाहरी यादवको वारेस तथा आफ्नो हकमा समेत शीवबसन्त यादवको यस अदालतमा पर्न आएको पुनरावेदन ।

कलादेवीको नामको जग्गामा बनेको सवै अंशियारलाई भाग लाग्नु पर्ने घर निजी ठहराएको तथा बाबु वंशी यादवले अंश नछुट्टिएको अवस्थामा आफनै परिवार भित्रका व्यक्तिलाई दिएको वकसपत्र बदर हुनुपर्नेमा सो नगरी भएको पुनरावदेन अदालत वुटवलको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी पुनरावेदन जिकीर तथा प्रतिउत्तर जिकीरअनुसार इन्साफ गरिपाऊँ भन्ने समेत व्यहोराको ढीमली भन्ने मुरली अहिरका तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन ।

वकसपत्र लिने दिने व्यक्ति वाजे र नाति हुँदैमा वकसपत्र बदर हुनुपर्ने होइन, वकसपत्र कसैलाई रिझाएवापत दिएको हुँदा परिवार वाहिरका व्यक्तिलाई दिए सदर हुने परिवार भित्रका व्यक्तिलाई दिए बदर हुने भनी अर्थ गर्न मिल्ने देखिन आउदैन । साथै म वादी तथा प्रतिवादी वंशी अहिरको अंशियारा पनि होइन । म नातिले वाजेको सेवा टहल गरे वापत निजका भाग हिस्सामा पर्ने मध्येकै ज.वि. २१२ जग्गा मलाई हालैदेखिको वकसपत्र गरिदिनु भएकोमा घरमा मुख्य मालिकको हैसियतले काम गर्ने वाजेले दिनु भएको वकसपत्र अंशवण्डाको १९ नं. तथा दानवकसको १ नं. विपरीत वकसपत्र बदर गर्ने गरी भएको पुनरावेदन अदालत वुटवलको त्रुटिपूर्ण फैसला बदर गरी पुनरावेदन जिकीर तथा प्रतिउत्तर जिकीरअनुसार इन्साफ गरिपाँउ भन्ने समेत व्यहोराको रामनिवास भन्ने श्रीकृष्ण यादवको यस अदालतमा पर्न आएको पुनरावेदन । 

      नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा सक्कल मिसिल हेरी निर्णयतर्फ विचार गर्दा, पुनरावेदन अदालत वुटवलको फैसला मिले नमिलेको के रहेछ सो सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

यसमा वादी प्रतिवादीवीच अंशवण्डा नभइसकेको तथा अंश माग गर्दा अंश समेत नदिई वाजे वंशी अहिरले मिति २०५७।३।१२ मा प्रतिवादी कृष्णप्रसाद यादवलाई वकसपत्र पारित गरिदिएको ज.वि. २१२ को जग्गा समेत मिसाई फिराद दर्ता भएको अघिल्लो दिनसम्मको सम्पूर्ण चलअचल सम्पत्तिको तायदाती फाटवारी लिई ५ भाग लगाई विपक्षी वंशी, मुरली, शीवबसन्तको ३ भाग पर सारी २ भाग हामी वादीहरू तीलका र सुन्नर यादवलाई अंशवापत दिलाई पाउ भन्ने समेत व्यहोराको फिराद दावी रहेछ । वाजेको सेवा गरेवापत वाजे खुशी भै उहाको हकभोगको जग्गा मलाई वकसपत्र गरिदिनु भएको हो । तसर्थ फिराद दावीबमोजिम वकसपत्र बदर हुनुपर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी कृष्णप्रसाद यादवको प्रतिउत्तर पत्र, त्यसैगरी मैले आफ्नो हक हिस्साको जग्गा कृष्णप्रसादलाई वकसपत्र गरिदिएकोमा कसैको मञ्जूरी लिनुपर्ने होइन, मैले वकसपत्र दिंदा राय सम्मति मौखिक लिएको कुरा छिपाई यो फिराद गरेको देखिँदा र आफूलाई तिर्न पर्ने ऋण तिर्न नपर्ने हुन सक्छ कि भनी संगोलको ऋणलाई लोप गरी नालेस गरेकोले मिति २०५७।३।१२ गतेको पारित हालैको वकसपत्र लिखत र त्यसबाट श्रीकृष्णप्रसादका नाउँमा भएको दर्ता सदर कायम गरि वादी दावी खारेज गरिपाऊँ भन्ने वंशी यादव र शीवबसन्त यादवको सयुक्त प्रतिउत्तर पत्र रहेछ । पैतृक र संगोल आर्जनको सम्पत्ति वादीको श्रीमती कलावती समेतको नाममा दर्ता छ, सो जग्गा सम्पूर्ण अंशियारहरूको अंश हक लाग्ने जग्गा हो । श्रीकृष्णप्रसाद यादवलाई २०५७।३।१२ गते गरिदिएको हालैको वकसपत्रमा उल्लिखित जग्गा सगोलको जग्गा हो, सगोलको कायम गरि मेरो नाउँमा दर्ता रहेको कि. नं. २४६, ४२६, २६९, ६९९ जग्गा मेरो निजी आर्जनको जग्गा हो कसैको अंशहक लाग्ने जग्गा होइन । ठर्की गा. वि. स. को जग्गा मैले ससुरालीको रकमबाट खरिद गरेको हो मेरो निजी आर्जनको जग्गा खानको लागि यो फिराद गरेको हो खारेज गरिपाऊँ भन्ने समेत व्यहोरा उल्लेख गरी ढीमली भन्ने मुरली अहिरले प्रतिउत्तर फिराएको देखिन्छ ।

नाति श्रीकृष्ण यादवलाई दिएको २०५७।३।१२ को वकसपत्र सदर हुने , कलावतीको नामको घर जग्गा निजको निजी कायम हुने तथा मुद्दा पर्दापर्दैको अवस्थामा बाजे वंशीको मृत्यु भएको हुँदा जम्मा ४ भाग अंश लगाई वादी प्रतिवादीले वाँडी लिन पाउने ठहर्छ भनी शुरु रुपन्देही जिल्ला अदालतबाट फैसला भएकोमा सोउपर वादी, प्रतिवादीको पुनरावदेन अदालत वुटवलमा पुनरावेदन  परेकोमा शुरु रुपन्देही जिल्ला अदालतले कलावतीको निजी घर जग्गा ठहराएको हदसम्म शुरु फैसला सदर हुने तथा मिति २०५७।३।१२ को हालैदेखिको वकसपत्र बदर नगरेकोमा तथा ५ जना अंशियारा कायम गरी फैसला गर्नुपर्नेमा सो नगरेको हदसम्म शुरु फैसला उल्टी हुने ठहर्छ भन्ने पुनरावेदन अदालत वुटवलबाट फैसला भएको रहेछ ।

मुद्दा चल्दा चल्दैको अवस्थामा प्रतिवादीमध्येका बाबु वंशी अहिरको मृत्यु भएको देखिँदा देखिदै निजको समेत भाग छुट्याउने, तथा प्रतिवादीमध्येकी कलावती यादवको नाउमा जग्गा तथा घर कायम गरेको र सगोलका अंशियारको मञ्जूरी वेगर दिएको वकसपत्र सदर नहुनुपर्नेमा सो गरेको नमिलेको हुँदा पुनरावेदन अदालतको फैसला खारेज गरिपाऊँ भन्ने व्यहोराको ढीमली भन्ने मुरली अहिरको यस अदालतमा परेको पुनरावदेनत्यसैगरी वाजे वंशीले आफूले के कति जग्गा वकसपत्र दिन पाउने थिए तथा मलाई वकसपत्र दिएको जग्गा के कति वढी देखिन आयो सोतर्फ विवेचना नगरी हालै देखिको वकसपत्रको लिखत बदर गर्ने गरी भएको फैसला त्रुटिपूर्ण देखिँदा बदर गरी वकसपत्र सदर गरिपाऊँ भन्ने समेत व्यहोराको श्रीकृष्ण यादवको पुनरावेदन पत्र तथा कलावतीको नामको जग्गामा बनाएको घर निजको मात्र हक भोगको होइन घर सगोलमा बनाएको हुँदा वण्डा हुनुपर्ने हो भन्ने समेत व्यहोराको नाहरी यादव तथा आफ्नो हकमा समेत भनी शीवबसन्त यादवको सयुँक्त पुनरावेदन परेको देखिन्छ ।

माथि उल्लिखित पुनरावेदकहरूको पुनरावेदन जिकीरलाई केलाउदा निम्न लिखित प्रश्नहरूको निरोपण हुनुपर्ने देखिन आयो :

 

१) वंशी अहिरको मृत्युपश्चात् निजको नाममा अंश छुट्याउनु पर्ने हो वा होइन तथा अन्य अंशियाराहरूको मञ्जूरी बिना आफ्नो अंश हक अन्य कसैलाई लेखिदिन पाउने हो वा होइन  ?

२) कलावती यादवको नामको जग्गा तथा घर निजको निजी घर जग्गा हो वा होइन ?

३) अन्य अंशियारहरूको सहमति नलिई पैतृक सम्पत्ति हालैदेखिको वकसपत्र पारित  गरीदिन मिल्ने हो वा होइन ?

 

      २.    अव माथि उल्लिखित पहिलो प्रश्नतर्फ हेर्दा मुद्दा चल्दा चल्दै बाबु वंशी अहिर यादवको मृत्यु भएकोले निजको अंश छुट्याउन नपर्ने भनी पुनरावेदकहरू मध्ये ढीमली भन्ने मुरली यादवले जिकीर लिएकोमा यी पुनरावदेक प्रतिवादी तथा वादी÷प्रतिवादीहरू एकाघर संगोलका अंशियाराहरू रहे भएको कुरामा कुनै विवाद देखिदैन । प्रतिवादीमध्येका वंशी अहिरले आफनी वुहारी नाताकी नाहरी यादवलाई मिति २०५८।११।५ गते शेष पछिको वकसपत्रबाट आफ्नो सम्पत्ति हक हस्तान्तरण गरिदिएको  देखिन्छ । मुलुकी ऐन, अंशवण्डाको महलको १९(४) नं. मा ...आफूखुशी गर्न नपाउने अवस्थामा पनि आफ्नो हकको अंश जति भने आफूखुशी गर्न पाउछ  भन्ने व्यवस्था रहेको तथा दान वकसको महलको १ नं.मा समेत ... आफ्नो हक पुग्ने सम्पत्ति दान वा बकस गरिदिन हुन्छ । सो बमोजिम दान बकस गरिदिदा हकवालालाई बकस भनी र अरुलाई दान वा बकस जुन व्यहोराको दिए हुन्छ । आफ्नो खुश गर्न पाउने बाहेक अरुमा अंशियार र हक पुग्नेहरूको मञ्जूरीको लिखत नलिई वा साक्षी नराखी दान बकस गरिदिन हुदैन  भन्ने व्यवस्था रहेबाट निज वंशी अहिरले आफ्नो अंश भागमा पर्ने सम्पत्ति आफ्नो स्याहार सुसार गर्ने आफ्नी वुहारी नाहरी यादवलाई शेषपछिको बकसपत्रबाट सम्पत्ति हक हस्तान्तरण गरेको कुरा उक्त  वकसपत्रको लिखतबाट देखिन आएको हुँदा आफ्नो अंशहक जती आफूखुशी गर्न पाउने कानूनी व्यवस्था रहेकोले सो कार्य कानूनसम्मत देखिन आयो । कुनै पनि व्यक्तिले आफ्नो अंशवापतको सम्पत्ति अन्य व्यक्तिलाई वैधानिक रुपमा हस्तान्तरण गरिसकेपछि त्यस्तो सम्पत्तिमा तोकिएको शर्त पुरा भएपछि दाताको हक समाप्त भै सम्पत्ति प्राप्त गर्नेको अधिकार स्वतः सिर्जना हुने भएबाट शेषपछिको वकसपत्र मार्फत् हक हस्तान्तरण गरेको सम्पत्तिमा वंशी अहिरको मृत्यु पश्चात् नाहरी यादवको हक सिर्जना हुने नै देखियो । जहाँसम्म मृतक वंशी अहिरको नाममा समेत अंश छुट्टयाउने कार्य कानूनसम्मत छैन भन्ने पुनरावेदकको जिकीरतर्र्फ हेर्दा निज वंशी अहिरले आफूले पाउने अंश भाग जति  शेषपछिको वकसपत्र पारित गरी वुहारी नाहरी यादवलाई दिएको देखिँदा निज वंशी अहिरको अंशमाथि नाहरी यादवको हक स्थापित भएको हुँदा वंशी अहिरको अंश भाग नलगाउदा उक्त कार्यले नाहरी यादवको साम्पत्तिक अधिकारमाथि असर पर्न जाने देखिएकोले वंशी अहिरको समेत अंश भाग छुट्टाउने गरी पुनरावेदन अदालत वुटवलबाट भएको  फैसला मिलेको देखिन आयो ।

३.    त्यसैगरी अंशियारहरूको मञ्जूरी बिना आफ्नो अंश हक अन्य कसैलाई लेखिदिन पाउने हो वा होइन भन्ने सम्बन्धमा हेर्दा अंशवण्डाको महलको १९(४) नं. मा आफ्नो हकको अंश जति भने आफूखुशी गर्न पाउने भन्ने कानूनी व्यवस्था रहेको तथा त्यस्तो सम्पत्ति हक हस्तान्तरण गर्दा अन्य अंशियारहरूको मञ्जूरी लिनुपर्र्ने भनी वाध्यात्मक कानूनी व्यवस्था गरेको देखिन आएन । सो व्यवस्थाको अभावमा पुनरावेदकले पुनरावेदन पत्रमा उल्लेख गरे बमोजिम आफूहरूको मञ्जूरीवेगर गरिदिएको शेषपछिको वकसपत्र बदर हुनुपर्ने भन्ने जिकीर स्थापित हुन सक्ने देखिएन ।

४.    अव दोस्रो पश्न तर्फ विचार गर्दा  कलावती यादवको नामको कि.नं. २१८ को जम्मा ०१२ को जग्गा तथा सो मा बनेको पक्कि घर समेत निजको निजी होइन अंश लाग्नु पर्ने हो भन्ने पुनरावेदकहरूको जिकीर तर्फ हेर्दा उक्त घर जग्गा निज कलावतीले आफ्नो माइती पट्टिबाट अपुताली परि प्राप्त हुन आएको हो भन्ने निजको भनाई रहेको तथा मिसिल संलग्न २०४९ सालको रुपन्देही जिल्ला अदालतको दे.नं. १५७७ को अंश नामसारी मुद्दाबाट समेत देखिन आयो । उक्त जग्गा आफूहरूलाई  समेत वण्डा लाग्नुपर्ने हो भनी प्रतिवादीहरूले पुनरावेदन जिकीर लिए तापनि आफ्नो संगोलको सम्पत्ति भन्ने पुष्टि गर्ने ठोस प्रमाण देखाउन नसकेको अवस्थामा निजहरूको पुनरावेदन जिकीर पुग्न सक्ने देखिएन तर्सथ निज कलावतीको नामको जग्गा तथा घर निजको निजी ठहर गरेको शुरु रुपन्देही जिल्ला अदालत तथा सोलाई सदर गरेको पुनरावेदन अदालत वुटवलको फैसला मिलेकै देखिन आयो ।

५.    जहाँसम्म अंशियारहरूको सहमति नलिई पैतृक सम्पत्ति हालैदेखिको वकसपत्र पारित गरिदिन मिल्ने हो वा होइन भन्ने तेस्रो प्रश्नतर्फ हेर्दा वाजे वंशी अहिरले आफूलाई स्याहार सुसार गरी रिझाएवापत नाति श्रीकृष्ण यादवलाई पैतृक सम्पत्तिमध्ये कि.नं. २०१, २३७, २९८, ९२ र १९१ बाट कूल ज.वि. २१२ हालैको वकसपत्र पास गरी दिएको देखिन्छ । अंशवण्डाको महलले पनि आफ्नो हक पुग्ने सम्पत्ति मात्रै आफूखुशी गर्न पाउने प्रष्ट कानूनी व्यवस्था गरिरहेको अवस्थामा अरु अंशियारहरूको समेत हक लाग्ने पैतृक सम्पत्ति अन्य अंशियारहरूको सहमतिबिना हक हस्तान्तरण गरी दिन पाउने देखिन आएन । मिसिल संलग्न उक्त वकसपत्रको कागज हेर्दा अंशियाराहरूमध्येका शीवबसन्त यादव मात्र साक्षीको रुपमा वसेको तथा अन्य अंशियारहरू उक्त कागजमा साक्षी वसेको पनि देखिएन । साथै निजहरूले उक्त कि.नं.का जग्गाहरू हालैको वकसपत्र गरी दिएमा समेत मञ्जूरी छ भनी कागज समेत गरी दिएको मिसिल संलग्न नदेखिँदा प्रतिवादी वंशी अहिरले सवै अंशियारहरूको हक लाग्ने पैत्रिक सम्पत्ति अरु अंशियारहरूको मञ्जूरीवेगर हालैदेखिको वकसपत्र गरी दिएको कार्य कानून अनुकूल देखिएन ।

६.    अतः माथि विवेचित आधार प्रमाणहरूबाट एक अंशियार वंशी अहिर परलोक भैसकेको भए पनि निजले आफ्नो अंश हकका सम्बन्धमा शेषपछिको वकसपत्र पारित गरि दिइसकेको देखिँदा शेषपछिको वकसपत्र प्राप्त गर्नेको हक सिर्जना हुने हुँदा ५ जना अंशियार कायम गरेको, ०५७।३।१२ को हालै देखिको वकसपत्रको लिखतमा अन्य अंशियारहरू साक्षी पनि नवसेको तथा मञ्जूरी पनि दिएको नदेखिएको हुँदा उक्त वकसपत्र बदर गर्ने गरेको तथा कलावती यादवको  नामको जग्गा तथा सो मा बनेको घर निजको निजी ठहर गरेको पुनरावेदन अदालत वुटवलको मिति २०६३।२।१ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावदेकहरूको पुनरावेदन जिकीर पुग्न सक्ने देखिएन । अरु तपसिल बमोजिम गर्नु ।

 

तपसिल

 

पुनरावेदन अदालत वुटवलको फैसलाअनुसार प्रतिवादीले धरौटी राखेको ६,००५।३० र बाँकी नपुग कोर्ट फी रु. २५२०।३० र अन्य दस्तूर रु. ५० समेत प्रतिवादीहरूबाट वादीले भराई पाउने ठहर भएकोले प्रतिवादीहरू मध्ये श्री कृष्ण यादवले पुनरावेदान अदालत वुटवलमा र.नं. ३०३४ मिति २०६३।७।२७ बाट धरौट राखेको रु.७०। त्यसैगरी प्रतिवादी मुरली अहिरले र.नंं. ३०३० मिति २०६३।७।१९ बाट धरौट राखेको रु.८५६।७६ तथा प्रतिवादीहरू नाहरी यादव र शीवबसन्त यादवले र.नंं. ३०३५ र ३०३३ मिति २०६३।७।२७ बाट क्रमशः रु.४२८।९ र रु. १२८५।१५ धरौट राखेको देखिँदा ऐनका म्यादभित्र उक्त रकम भरिपाऊँ भनी वादीले दरखास्त दिएमा वादीलाई भराई दिनु भनी पु.वे.अ. वुटवलमा लेखी पठाउनु ........१

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुुसार वुझाईदिनू  ........२

 

उक्त रायमा सहमत छु ।

 

न्या.अवधेशकुमार यादव

 

इति संवत् २०६६ साल जेठ २७ गते रोज ४ शुभम्

इजलास अधिकृत   विमल पौडेल

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु