निर्णय नं. ८३०८ - मोही प्रमाणपत्र नामसारी ।

निर्णय नं. ८३०८ जेठ, २०६७
सर्वोच्च अदालत, पूर्ण इजलास
माननीय न्यायाधीश श्री तपबहादुर मगर
माननीय न्यायाधीश श्री गौरी ढकाल
माननीय न्यायाधीश श्री प्रकाश वस्ती
संवत् २०६५ सालको दे.पु.इ.नं.०६५–DF– ०००१
फैसला मितिः २०६६।८।२५।५
मुद्दाः– मोही प्रमाणपत्र नामसारी ।
पुनरावेदक/वादीः जिल्ला सप्तरी गा.वि.स. वमनगामाकट्टी वडा नं.२ वस्ने झवर यादवको मु.स.गर्ने निजको श्रीमती फुलोवती यादव
विरुद्ध
प्रत्यर्थी/प्रतिवादीः जिल्ला सप्तरी, गा.वि.स. हनुमाननगर वडा नं. ४ वस्ने जगदिशप्रसाद दास
शुरु निर्णय गर्नेः—
भू.सु.अ.श्री रामचन्द्रप्रसाद साह
पुनरावेदक अदालत निर्णय गर्नेः
मा.न्या.श्री नन्दराज अधिकारी
मा.न्या.श्री हरिवावु भट्टराई
सर्वोच्च अदालत संयुक्त इजलासः
मा.न्या.श्री अनूपराज शर्मा
मा.न्या.श्री कल्याण श्रेष्ठ
जग्गाधनीले नै मोहीको देहान्त भएपछि निजका पत्नी तथा छोराहरूसमेतका विभिन्न हकवाला रहेको अवस्थामा कुनै एक व्यक्तिलाई मोही मान्दै बालीको दावी साधिकार निकायमा विधिसम्मत तरिकाले गर्दछ भने यसलाई पत्याउने क्रियाकैरुपमा ग्रहण गर्नुपर्ने ।
(प्रकरण नं.८)
§ कसैको हकाधिकार नै सिर्जना भइसकेको मोहियानी हक अपहरण गर्न जग्गाधनीलाई पनि अधिकार हुँदैन । कानूनले मोही पत्याउने वा रोज्ने कार्यविधि नतोकेको अवस्थामा यो कानूनी प्रश्न नभई तथ्यको प्रश्न हो । यसमा विवन्धनको सिद्धान्तको कुनै भूमिका
नहुने ।
§ जग्गाधनीले साविक मोहीको मृत्युपछि निजका हकवालाहरू मध्ये कसलाई मोही पत्याउने भन्ने तथ्यको निर्णय एकपटकमात्र गर्न पाउँछ । जग्गाधनीलाई मोही रोज्न पाउने अधिकार छ भन्दैमा आज एउटा र भोलि अर्को हकवालालाई मोही पत्याउँदै जान पाउँछ भन्ने अर्थ गर्ने हो भने कानूनले दिएको यो अधिकारको दुरुपयोग हुन गई जग्गा कमाउने वास्तविक मोहीको हक सँधै जोखिममा पर्न जाने अवस्था सिर्जना हुन पुग्ने देखिन्छ, जो भूमिसम्बन्धी ऐनको मर्म र भावना अनुकूल नहुने ।
(प्रकरण नं.१२)
पुनरावेदक/वादी तर्फबाटः विद्वान अधिवक्ता श्री महेश्वर चौधरी
प्रत्यर्थी/प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री सुनीलकुमार पोखरेल
अवलम्वित नजीरः
· नेकाप २०४५, नि.नं.३६६६, पृष्ठ १२४७
· नेकाप २०३४, निर्णय नं. ११०६, पृष्ठ २९५
सम्बद्ध कानूनः
· भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१)
फैसला
न्या.तपबहादुर मगरः पुनरावेदन अदालत राजविराजको मिति २०५७।५।२६ को फैसलाउपर वादीको तर्फबाट पर्न आएको मुद्दा दोहर्याई हेरिपाऊँ भन्ने निवेदनमा यस अदालतबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को खण्ड (क) र (ख) को आधारमा निस्सा प्रदान भै संयुक्त इजलासमा मत्यैक्यता कायम हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम यस इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः–
विपक्षी जगदीशप्रसाद दासको बाबु स्व.सीताराम दास कथबनियाको नाम दर्ताको जि.सप्तरी गा.वि.स. वमनगामाकट्टीअन्तर्गत मौजे तोपाको साविक जग्गा विगाहा ०–१६–० मेरो स्व.वावु पन्थु यादवले जोती कमाई आएकोमा भूमिसम्बन्धी ऐन लागू हुँदा १ नं. फाराम भरी २ नं.अनुसूची प्रकाशित भई ४ नं.जोताहा अस्थायी निस्सा समेत पाएको थिएँ । २०२८ सालमा नापी हुँदा कायम हुन आएको जि.स.गा.वि.स. वमनगामाकट्टी वडा नं. ३ क. कि.नं. १९ को ०–१३–३ अवल जग्गाको मोही नामसारी दर्ता गराउनुपर्नेमा त्यसबखत बुवा सिकिस्त विरामी भै विदेश भारतमा उपचार गराउन गएकाले मोही दर्ता गराउन छूट हुन गएको भए तापनि उक्त जग्गा मोहीमा जोती कमाई आएका थियौँ । २०३४ सालअघि नै आमा बुबाको परलोक भै सकेकाले अपुताली खाने म छोरा हुँदा तत्पश्चात् मोहीको हैसियतले जोती कमाई आएको छु । सो जग्गाको कुत बुझाउन नसकी निज जग्गाधनी स्वर्गे हुँदा निजको श्रीमती निरसीदेवीले मलाई मोही पत्याई म उपर २०३९ सालको कुतबाली मुद्दा दिएकी थिइन् । सोको प्रमाण मिसिल सप्तरी जिल्ला अदालतमा छ । सो जग्गा हालसम्म कमाउँदै आएको छु । निज सीतारामको धर्मपत्नी निरसी देवी स्वर्गीय हुँदा निजको हक अपुताली खाने छोरा विपक्षी जगदिशप्रसादका नाउँ दर्ता हुन आएको सो कि.नं.१९ को ज.वि.०–१३–३ जग्गाको मोही नामसारी गरी दर्ता प्रमाणपूर्जा पाऊँ भन्ने समेत व्यहोराको झवर यादवको निवेदनपत्र ।
पन्थु यादवको स्वर्गारोहणपछि निजका दुई छोराहरू झवर यादव र सरजुग यादव एकासगोलमा नै रही सो जग्गा जोत आवाद गर्दैआएका थिए । त्यसैले कुत बुझाउँदा वा नबुझाउँदा मुद्दा वा भरपाई एकासगोलका कसैलाई पनि दिनसक्ने हुँदा झवर यादवउपर कुत नबुझाएको कारण मुद्दा दायर गरेको हो । निजहरू दुई दाजुभाई छुट्टी भिन्न भएपछि सो जग्गा सरजुग यादवले खनजोत गरी कुत बुझाउँदै आएका छन् । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ बमोजिम जग्गाधनीले मोही पत्याउन सक्ने विशेषाधिकारअनुसार मेरो जग्गाको रेखदेख सुरक्षा विपक्षी झवर यादवले गर्न नसक्ने हुँदा सो जग्गाको मोही प्रमाणपत्र सरजुग यादवले प्राप्त गरेमा मेरो आपत्ति छैन भन्ने समेत व्यहोराको प्रतिवादी जगदिशप्रसाद दासको प्रतिउत्तरपत्र ।
स्व.मोही पन्थु यादवको दुई छोरा झवर यादव र सरजुग यादव सगोलमा बसी संयुक्त रुपमा जग्गा जोती भरपाई दिंदै आएकोमा भिन्न भएपछि सरजुग यादवलाई पत्याई जग्गा जोत्न दिएको भन्ने सम्बन्धमा निजले दिएको मोही नामसारी (मि.नं.२७३) मुद्दामा विस्तृत विवरण खुलाई सकिएको छ । सरजुग यादवलाई मोही पत्याइसकेको भन्ने जग्गाधनीको प्रतिउत्तर जिकीर रहेकोमा मोहीको शेषपछि मोही रोज्ने अधिकार भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) ले जग्गाधनीलाई भएको र मोही नामसारी नभएको अवस्थामा कुत पाउनको लागि भए उजूरीबाट मोही रोज्ने अवस्था सिर्जना नहुने हुँदा यस कार्यालयमा चलेको वादी सरजुग यादव प्रतिवादी यिनै बादी झवर यादव भएको मोही नामसारी मुद्दामा आजै भएको निर्णयमा मोही नामसारी हुने गरी निर्णय भएको समेतबाट वादी दावीअनुसार मोही नामसारी हुने ठहर्दैन भन्ने समेत व्यहोराको शुरु भूमिसुधार कार्यालय सप्तरीको मिति २०५५।८।२३ को निर्णय ।
२०५३ र २०५४ सालको बीचमा म झवर यादव र सरजुग यादव भिन्न भएको भन्ने जस्तो प्रतिउत्तर लेख छ । जबकि हामी दुई दाजुभाई २०२५ सालमै छुट्टी भिन्न भएका हौं । साविक जग्गाधनीदेखि लिएर हालको ज.ध.जगदिशप्रसाद दास समेतले म झवर यादवबाट सालसालको कुत बुझी २०५३ सालसम्म भरपाई दिनु भएको छ । २०५४ सालको कुत नबुझेकाले धरौट राखी दिएको छु । २०५३ सालसम्म हातहातै भरपाई दिएको आधारमा जग्गाधनीले पत्याएकै मान्नुपर्ने हुन्छ । मोही मरिसकेको भनी मोहीको जेठो छोरा पुनरावेदकसंग बालीको दावी गरी नालिस दिई बाली भरी पाउने ठहरेपछि अर्को छोरालाई मोहीमा रोज्न पाउँदैन भनी नजीर समेत प्रतिपादन भएको छ । विपक्षीको अमाले मउपर नालिस गरी कुतबाली भराई लिन पाउने ठहरी फैसला भएको छ । मोही मरिसकेपछि मोहीको कुनै छोरालाई कुनै आधार प्रमाणले नपत्याएको अवस्थामा मात्र मोही पत्याउने विशेषाधिकार हुन्छ । यसरी भिन्न भएकोलाई सगोलको भनी श्री सर्वोच्च अदालतबाट प्रतिपादित नजीर तथा ज.ध.ले दिएको भरपाई समेतको आधार नलिई गरेको शुरुको निर्णयपर्चा त्रुटिपूर्ण हुँदा उल्टी गरी मेरा नाममा मोही नामसारी दर्तागरिपाऊँ भन्ने समेत व्यहोराको वादीको पुनरावेदन अदालत राजविराजमा परेको पुनरावेदनपत्र ।
यसमा दावीको कि.नं.१९ को जग्गाको कुतबाली भराई पाऊँ भनी जग्गाधनीले झवर यादवउपर पटक–पटक मुद्दा दिएको र झवर यादवले बाली बुझाउनु पर्ने ठहरी फैसला भएको तथा वादीले मिति २०५४।४।२ मा दावी गरेकोमा त्यसपछि २०५४ साल फागुनमा सरयुग यादवले दिएको नामसारी मुद्दामा जग्गाधनीले सरयुगलाई मोही पत्याएको भन्ने आधारमा भूमिसुधार कार्यालयले पुनरावेदकको नाममा मोही नामसारी नहुने ठहर्याई गरेको फैसला फरक पर्ने देखिँदा प्रत्यर्थी झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत राजविराजको आदेश ।
यसमा जग्गाधनी जगदिशप्रसाद दासले पन्थु यादव मरिसकेको स्थितिमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम मोहीको छोरा सरयुग यादवलाई मोही पत्याएको अवस्था देखिएकोले निजका नाउँमा मोही नामसारी गर्ने गरेको शुरु भूमिसुधार कार्यालय सप्तरीको मिति २०५५।८।२३ को निर्णय मिलेकै देखिँदा सदर हुन्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत राजविराजको मिति २०५७।५।२६ को फैसला ।
ससुरा पन्थु यादव २०२५ सालभन्दा अघि नै स्वर्गीय हुँदा मेरो पति झवर यादव र देवर सरयुग यादव २०२५ सालमै छुट्टी भिन्न भएको भन्ने कुरा जिमीदारी कचहरीबाट नामसारी गराएको १ नं. फारामबाट प्रष्ट हुन्छ । ससुराको मृत्युपछि मेरो श्रीमान र सरयुग यादव भिन्न भएपश्चात् मेरो श्रीमान झवर यादवले बाली बुझाई भरपाई लिएको र लोग्नेउपर बाली सम्बन्धमा मुद्दाहरू परेको समेतबाट एकपल्ट मेरो लोग्नेलाई मोही स्वीकार गरिसकेको अवस्थामा पुनः अर्को व्यक्तिलाई स्वीकार गर्न मिल्दैन । यही दावीको जग्गाको मोही प्रमाणपत्र पाऊँ भनी सरयुग यादवले निवेदन दिई निजका नाउँमा मोही नामसारी गरी मोही हकको प्रमाणपत्र समेत पाउने ठहराई भूमिसुधार कार्यालय सप्तरीले गरेको मिति २०५५।८।२३ को फैसला बदर गरी पाउन मैले भू.सु.का. सप्तरीमा दिएको निर्णयबदर मुद्दा चलिरहेको छ । त्यसैगरी मेरो हक मेट्न विपक्षीले सरयुग यादवलाई २०५४ सालको बाली बुझेको भरपाई समेत गरिदिएको अवस्थामा शुरु र पुनरावेदन अदालतसमेतबाट भएका फैसला नेकाप २०३५, नि.नं. १२१४, पृष्ठ २४४ तथा नेकाप २०४५, नि.नं. ३६६६, पृष्ठ १२४७ मा यस अदालतबाट प्रतिपादित सिद्धान्तविपरीत भएको छ । अतः मुद्दा दोहरर्याई हेरिपाऊँ भन्ने समेत व्यहोराको वादी झवर यादव मरी मु.स.गर्ने निजको श्रीमती फुलोवती यादवको यस अदालतमा परेको निवेदनपत्र ।
यसमा वादी झवर यादवउपर बाली बिगो भराई पाऊँ भनी पटक पटक नालिस परेको र बाली भरी पाउने ठहरी फैसला समेत भएको अवस्थामा निजलाई मोही रोजेको मान्नु पर्नेमा भूमि सम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम जग्गाधनीलाई मोही रोज्ने अधिकार भएको भनी सरयुग यादवलाई मोही कायम गरी जग्गाधनीले पटक–पटक मोही रोज्ने कार्यलाई मान्यता दिएको पुनरावेदन अदालत राजविराजको फैसलामा नेकाप २०४५, नि.नं. ३६६६, पृष्ठ १२४७ मा प्रतिपादित कानूनी सिद्धान्त समेतको त्रुटि देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को खण्ड (क) र (ख) को आधारमा प्रस्तुत मुद्दा दोहोर्याउने निस्सा प्रदान गरिएको छ । प्रस्तुत मुद्दाको शुरु, रेकर्ड र भए प्रमाण मिसिलका साथै विपक्षी झिकाई आएपछि वा थाम्ने अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०५७।१२।५ को आदेश ।
भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) को कानूनी व्यवस्थानुसार मोहीसम्बन्धी हक अपुताली सरह सरी आउने नभई जग्गाधनीको इच्छामाथि पूर्णतः निर्भर रहने देखिन्छ । जग्गाधनीको मोही रोज्ने हकलाई विशेषाधिकार (Special Privilleges) कै रुपमा उक्त ऐनले कानूनी व्यवस्था गरेको देखिन्छ । विवन्धनको सिद्धान्त तथ्यमा लागू हुने भई कानूनी वुँदामा आकर्षित नहुने हुँदा साविक मोहीको मृत्युपश्चात् यी फिरादीलाई प्रतिवादी बनाई मोही बाली मुद्दा दिंदैमा निज जग्गाधनीको उपर्युक्तानुसारको कानूनी विशेषाधिकारको रुपमा रहेको मोही रोज्न पाउने कानूनी हक समाप्त भयो भन्नु उपयुक्त एवं उचित समेत देखिएन । जग्गाधनीले साविक मोहीको छोरामध्ये सरयुग यादवलाई विवादित जग्गाको मोही पत्याएको अवस्थामा पुनरावेदक वादी झवर यादवको नाममा मोही नामसारी गरी मोहियानी प्रमाणपत्र नदिने गरी शुरु भू.सु.का. सप्तरीले गरेको निर्णयलाई सदर गर्ने गरेको पुनरावेदन अदालत राजविराजको फैसला मनासिव देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकीर पुग्न सक्दैन । सहयोगी माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठको छुट्टै राय भै पुनरावेदन अदालत राजविराजको फैसला उल्टी गरी वादी दावी पुग्ने ठहर भएकोले सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम प्रस्तुत मुद्दा पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री अनूपराज शर्माको राय ।
पन्थु यादव विवादित जि.स.गा.वि.स. वमनगमाकट्टी वडा नं.३ (क) कि.नं. १९ को ज.वि. ०–१३–३ जग्गाको मोही भएको कुरामा विवाद नभई निजको दुई जना छोराहरू झवर यादव र सरयुग यादव रहेको देखिन्छ । साविक मोही स्व.पन्थु यादवको मृत्युपश्चात् विवादित जग्गाको प्रत्यर्थी प्रतिवादी जगदिशप्रसाद दासले २०३९ सालको बालीमा २०४० सालको दे.नं. २१७०।१०७० को कुतवाली मुद्दा दायर गरी वादी दावीबमोजिमको कुतवाली भराई दिने ठहर्याई मिति २०४०।६।६ मा फैसला भई अन्तिम भएर बसेको मिसिल संलग्न प्रमाणबाट देखिन्छ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ (१) को कानूनी मनसाय भनेको पटक–पटक विभिन्न व्यक्तिलाई जग्गाधनीको इच्छानुसार समय–समयमा मोही फेरवदल गर्ने होइन । अर्थात एकपटकसम्मको लागि त्यस प्रकारको मोही रोज्ने कानूनी विशेषाधिकारसम्म सो दफाले जग्गाधनीलाई प्रदान गरेको हो । यस अदालतको पूर्ण इजलासबाट निवेदक पक्ष सीताराम यादव प्रत्यर्थी विपक्षी दुःखी यादव समेत भएको २०४५ सालको रि.पु.ई.नं. ७९ विषय उत्प्रेषण (नेकाप २०४५, नि.नं. ३६६६, पृष्ठ १२४७) मा मोही मरिसकेको भनी दावी लिई मोहीको जेठो छोराउपर बाली मुद्दा दिई बाली भराई पाउने ठहरी फैसला भएको अवस्थामा पछिका मितिमा मोही मरेको भनी जग्गाधनीले अर्को छोरालाई मोही रोज्न नपाउने भनी नजीर समेत प्रतिपादन भएको
पाइन्छ । तसर्थ फिराद दावी पुग्न नसक्ने भनी शुरु भू.सु.का.सप्तरीको निर्णयलाई सदर गर्ने गरेको पुनरावेदन अदालत राजविराजको फैसला त्रुटिपूर्ण हुँदा उल्टी भई वादी दावीबमोजिम पुनरावेदक वादीको नाममा विवादित जग्गाको मोही नामसारी गरी मोहियानीको प्रमाणपत्र समेत पाउने ठहर्छ । वादी दावी पुग्न नसक्ने ठहर्याएको शुरु भू.सु.का.सप्तरीको निर्णयलाई सदर गर्ने गरेको पुनरावेदन अदालत राजविराजको फैसला मनासिव ठहर्याएको माननीय न्यायाधीश श्री अनूपराज शर्माको रायसँग असहमत रहेकोले सर्बोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम प्रस्तुत मुद्दा पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठको रायसहितको यस अदालतको सयुक्त इजलासबाट मिति २०६५।२।१० मा भएको फैसला ।
नियमबमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक बादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री महेश्वर चौधरीले विवादित जग्गाको मोही पुनरावेदक वादीको बाबु पन्थु यादव हुन भन्ने तथ्यमा विवाद छैन । निज पन्थुका पुनरावेदक झवर र सरयुग दुई भाइ छोराहरू भएपनि पन्थुको मृत्युपछि विवादित जग्गा झवर यादवले जोतकमोद गर्दै जग्गा धनीलाई सालबसाली कुत बाली बुझाउँदै आएको अवस्था छ । २०३० सालदेखि २०५३ सालसम्म पुनरावेदक झवर यादवले कुत बुझाएको देखिने मिसिल संलग्न भर्पाईहरूबाट सो तथ्य प्रमाणित भएकै छ । यसका साथै विवादित जग्गाको २०३९ सालको बाली नबुझाएको भनी प्रत्यर्थी जग्गाधनीले पुनरावेदकउपर कुतबाली मुद्दा दिई सप्तरी जिल्ला अदालतबाट कुत भरी पाउने ठहरी भएको फैसला अन्तिम रहेको अवस्था छ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) को व्यवस्थाबमोजिम जग्गाधनीले झवर यादवलाई एकपटक मोही स्वीकार गरी कुत बाली मुद्दा दिई बाली भराई लिए पछि पुनः अर्को छोरालाई मोही रोज्न पाउँदैन । सो कुरा नेकाप २०४५ पृष्ठ १२४७ मा प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल हुन्छ । अतः माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठको राय सदर गरिनु पर्दछ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।
प्रत्यर्थी प्रतिवादीका तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री सुनीलकुमार पोखरेलले साविक मोही पन्थु यादवका पुनरावेदक झवर र सरयुग दुई छोरामध्ये पन्थुको मृत्युपश्चात् कसलाई मोही पत्याउने भन्ने कुरा जग्गाधनीको विशेषाधिकार हो । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ ले जग्गाधनीलाई दिएको यो विशेष कानूनी अधिकार अघि मुद्दा चलेको भन्ने जस्ता आधारमा निष्प्रभावी हुन सक्दैन । जग्गाधनीले मोही रोज्न पाउने भन्ने कानूनमा प्रष्टरुपमा गरिएको व्यवस्थाको थप व्याख्या गरिरहनु आवश्यक छैन । त्यसमा पनि २०४० सालको कुत बाली मुद्दा प्रत्यर्थीले दिएको नभई तत्कालीन जग्गाधनी निरसीवतीले दिएकी हुन् । मुद्दा दिएको र वाली बुझेको भन्ने जस्ता तथ्यगत कुराहरूबाट मोही रोज्न पाउने भनी कानूनले गरेको विशेष अधिकारमा विवन्धन लाग्न सक्दैन । जग्गाधनीले सरयुगलाई मोहीमा पत्याई निजका नाउँमा मोही नामसारी हुने ठहरी भूमिसुधार कार्यालयबाट भएको निर्णयउपर पुनरावेदन नपरी अन्तिम भै बसेको छ । नेकाप २०४८, पृष्ठ ४५० मा प्रतिपादित सिद्धान्तसमेतको आधारमा अन्तिम निर्णयविपरीत पुनरावेदकका नाउँमा मोही नामसारी हुन सक्ने अवस्था छैन । अतः पुनरावेदन अदालतको फैसला सदर हुने गरी माननीय न्यायाधीश श्री अनूपराज शर्माबाट व्यक्त भएको राय सदर गरिनु पर्दछ भन्ने समेत बहस गर्नुभयो ।
आज निर्णय सुनाउन तारेख तोकिएको प्रस्तुत मुद्दामा पक्ष विपक्षको तर्फबाट विद्वान कानून व्यवसायीहरूले प्रस्तुत गर्नु भएको उपर्युक्त बहस जिकीरतर्फ ध्यान दिई पुनरावेदनपत्रसहितको मिसिल कागजात अध्ययन गरी हेर्दा मुख्यतः देहायका प्रश्नहरूमा केन्द्रित रही निर्णय दिनुपर्ने देखियोः—
१. भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम जग्गाधनीले मोही रोज्न पाउने कानूनी व्यवस्थाको सीमा के कति हो ? कस्तो अवस्थालाई रोजेको मान्ने ? र जग्गाधनीले एकपटक मोही रोज्ने कार्य गरिसकेपछि पटक– पटक सो कानूनी व्यवस्थाबमोजिम मोही रोज्न मिल्छ मिल्दैन ?
२. पुनरावेदन अदालत राजविराजको फैसला मिलेको छ वा छैन ? र पुनरावेदक बादीको पुनरावेदन जिकीर पुग्न सक्ने हो वा होइन ?
२. निर्णय दिनुपर्ने हुन आएको पहिलो प्रश्नका सम्बन्धमा विश्लेषण गर्नुअघि प्रस्तुत मुद्दाको तथ्यगत अवस्थाको संक्षिप्त सिँहावलोकन हुनु वाञ्छनीय देखिएको छ । त्यसतर्फ मिसिल हेर्दा, जिल्ला सप्तरी गा.वि.स. वमनगामाकट्टी वडा नं. ३(क) कि.नं.१९ को ०–१३–३ जग्गाको जग्गाधनी स्व. सीताराम दास भै मेरो स्व.वावु पन्थु यादव मोही भएकोमा पिताको मृत्युपश्चात् मैले नै सो जग्गा जोतकमोद गर्दै आई जग्गाधनीलाई सालबसाली रुपमा कुतबाली बुझाउँदै आएको थिएँ । साविक जग्गाधनी सीताराम दासको मृत्युपश्चात् विवादित जग्गा निजको श्रीमती निरिसवती र निजपछि विपक्षी जगदिश दासका नाउँमा नामसारी भएको हो । तत्कालीन जग्गाधनी निरिसवतीले २०३९ सालको बालीमा मउपर कुतबाली मुद्दा दिई वादी दावी पुग्ने ठहरी सप्तरी जिल्ला अदालतबाट फैसला भई बाली भराई लिएको अवस्था हुँदा मेरो नाउँमा मोही नामसारी गरी मोही प्रमाणपत्र पाऊँ भन्ने समेत पुनरावेदक बादीको दावी रहेको देखिन्छ । प्रत्यर्थी जगदिशप्रसाद कथवनियाको प्रतिउत्तर हेर्दा दावीको जग्गाको साविक मोही स्व.पन्थु यादवको मृत्युपश्चात् एकासगोलमा रहेका निजका दुई भाइ छोराहरू झवर र सरयुग यादव सगोलमा रहेकोले २०३९ सालको कुत बाली मुद्दा झवर यादवउपर दायर गरेको भएपनि हालसम्म विवादित जग्गा सरयुग यादवले जोती कमाई आएको हुँदा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ बमोजिम निज सरयुग यादवको नाममा मोही नामसारी गरी दिएमा मेरो आपत्ति छैन भनी लगाउको सरयुग यादवले मउपर दिएको मोही नामसारी मुद्दामा विस्तृत विवरण खुलाई प्रतिउत्तर गरेको हुँदा सोहीबमोजिम होस् भन्ने समेत जिकीर लिएको देखिन आउँछ ।
३. शुरु भूमिसुधार कार्यालय सप्तरीबाट वादी दावी नपुग्ने ठहर्याई भएको निर्णयलाई सदर गर्ने गरेको पुनरावेदन अदालत राजविराजको फैसलाउपर पुनरावेदक वादीको तर्फबाट मुद्दा दोहोर्याई हेरिपाऊँ भनी पर्न आएको निवेदनमा यस अदालतबाट निस्सा प्रदान भै संयुक्त इजलाससमक्ष पेश हुँदा मत्यैक्यता हुन नसकी प्रस्तुत मुद्दा यस इजलाससमक्ष पेश हुन आएको रहेछ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम मोही रोज्न पाउने जग्गाधनीको विशेष कानूनी अधिकार भएकोले कुत बाली मुद्दा दिएको वा बाली बुझेको भन्ने जस्ता तथ्यगत आधारमा सो कानूनी अधिकार समाप्त भएको मान्न नमिल्ने हुँदा बादी दावी नपुग्ने ठहर्याएको शुरुको निर्णय सदर गरेको पुनरावेदन अदालतको फैसला मनासिव ठहर्ने भन्ने माननीय न्यायाधीश श्री अनूपराज शर्माको एवं जग्गाधनीले मोही रोज्न पाउने सो कानूनी अधिकारको प्रयोग गरी एक–पटक पुनरावेदक बादीउपर कुतबाली मुद्दा दिई बाली भराई लिएपछि पटक–पटक मोही रोज्न नपाउने हुँदा बादी दावी नपुग्ने ठहर्याएको शुरुको निर्णय सदर गरेको पुनरावेदन अदालतको फैसला उल्टी भै बादी दावीबमोजिम मोही नामसारी हुने ठहर्छ भन्ने माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठको राय भै मत्यैक्यता हुन नसकी यस इजलाससमक्ष पेश हुन आएको देखिन्छ ।
४. संयुक्त इजलासका माननीय न्यायाधीशहरू बीच राय नमिलेको उक्त कानूनी प्रश्नको विश्लेषणबाटै प्रस्तुत मुद्दाको निरुपण हुनुपर्ने देखिएकोले प्रथमतः सोही कानूनी व्यवस्था दृष्टिगत गरौं । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ को उपदफा (१) मा चौथो संशोधनपछि हकवालाको परिधि फराकिलो भई हाल देहायबमोजिमको प्रावधान रहेको देखिन्छ :—
२६. मोहीको हक र दायित्वः (१) यस परिच्छेद्को अन्य दफाहरूको अधीनमा रही मोहीले कमाई आएको जग्गामा मोहीसम्बन्धी निजको हक निजपछि निजको एकासगोलका पति, पत्नी, छोरा, आमा, बाबु, धर्मपुत्र, पैतीस बर्ष पुगेकी अविवाहिता छोरी, छोरा बुहारी, नाति, नातिनी बुहारी वा दाजुभाईहरू मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुनेछ ।
५. भूमिसम्बन्धी ऐनको उक्त कानूनी प्रावधानको अध्ययनबाट दुईवटा महत्वपूर्ण विषयहरू सन्निहित रहेको स्पष्ट हुन्छ । पहिलो, मोहीले कमाई आएको जग्गामा निहीत निजको मोहीहक निजपछि निजका के कस्ता हकवालाहरूमा सर्दछ भन्ने कुराको उल्लेखन भएको देखिन्छ । मोही हक प्राप्त गर्ने मोहीका हकवालाहरूमा निजको पति वा पत्नीदेखि दाजुभाइहरू सम्मका व्यक्तिहरूलाई समावेश गरेको देखिन्छ । प्रस्तुत मुद्दामा सो विषयमा कुनै विवाद नभएकोले प्रासंगिक भएन । त्यसरी तोकिएका हकवालाहरूमध्ये कसलाई मोही पत्याउने भन्ने विषयलाई ऐनमा प्रयुक्त अन्तिम वाक्यांश वा दोस्रो खण्डले संबोधन गर्न खोजेको देखिन्छ । जसअनुसार उल्लिखित मोहीका हकवालाहरू मध्येबाट जग्गाधनीले रोजेका व्यक्तिलाई मात्र मोही हक प्राप्त हुन सक्ने देखिन आउँछ ।
६. यस प्रकार साविक मोहीको मृत्युपछि मोही हक प्राप्त गर्नको लागि जग्गाधनीले पत्याएको दफा २६(१) मा उल्लेख भएबमोजिमको मोहीको हकवाला हुनुपर्ने समेतका दुईवटा बाध्यात्मक पूर्वशर्त रहेको देखिन्छ । भूमिसम्बन्धी ऐनको दफा २६(१) को उक्त कानूनी व्यवस्था साविकवालाबाट हकवालामा सम्पत्तिको दाखेल खारेज गर्दा पत्याउनु वा रोज्नु नपर्ने, हकवाला मात्र भए पुग्ने प्रचलित नेपाल कानूनको व्यवस्थाभन्दा केही पृथक रहेको देखिन्छ । मोही लागेको जग्गामा मोही र जग्गाधनीको द्वैध स्वामित्व रहने भएका कारण मोही हक नामसारीका सम्बन्धमा जग्गाधनीलाई यस्तो विशेषाधिकार दिएको वोधगम्य नै देखिन्छ । मोहीको एकमात्र हकवाला रहेको अवस्थामा कसलाई पत्याउने वा रोज्ने भन्ने प्रश्न उपस्थित हुन सक्दैन । विकल्प नभएको त्यस्तो स्थितिमा जग्गाधनीलाई ऐनको दफा २६(१) ले दिएको मोही पत्याउने उक्त विशेषाधिकार क्रियाशील हुनसक्ने पनि देखिँदैन । मोहीको एकमात्र हकवाला जीवित छन् र कानूनद्वारा निर्धारित अन्य प्रक्रिया पुगेको स्थिति छ भने जग्गाधनीले नपत्याएको अवस्थामा पनि मोही हक नामसारी हुन सक्दछ । त्यस्तो अवस्थामा जग्गाधनीले पत्याउनु नपत्याउनुको कुनै अर्थ र आवश्यकता रहदैन । तर, साविक मोहीका एकभन्दा बढी उक्त ऐनको दफा २६(१) मा उल्लिखित हकवाला जीवित रहेका छन् भने मोही हक प्राप्त गर्नको लागि जग्गाधनीको छनौटलाई एकमात्र निर्धारक तत्व मानेको देखिन्छ । साविक मोहीका हकवालाहरूमध्ये कसलाई मोहीमा पत्याउने भन्ने सम्बन्धमा जग्गाधनीउपर भूमिसम्बन्धी ऐनको उक्त कानूनी व्यवस्थाले कुनै पूर्व शर्त वा बन्देज नलगाई पूर्णरुपमा स्वविवेकमा छाडेकाले त्यसको दायरा असीमित नै देखिन आउँछ । यस कानूनी व्यबस्थाले कसैलाई मोही रोज्न वा नरोज्न कारण दिनुपर्ने आवश्यकता पनि ठानेको छैन ।
७. भूमिसम्बन्धी ऐनले मोही पत्याउने सम्बन्धमा जग्गाधनीलाई दिएको यस प्रकारको विशेषाधिकारको प्रयोग गर्ने विषय असीमित छ भन्नुको अर्थ जग्गाधनीले जतिखेर जसलाई मन लाग्यो त्यसलाई पत्याउन पाइरहन्छ भन्ने होइन । एकपटक मोहीका एकजना हकवालालाई मोही पत्याइसकेपछि जग्गाधनीले सो कानूनी व्यवस्थाको आडमा पटक–पटक अरु हकवालाहरूलाई मोही पत्याउदै जान पाउने हुँदैन । पत्याउने कार्यका लागि कुनै विशेष कार्यविधि कानूनले तोकेको पाइँदैन । यसले गर्दा जग्गाधनीले मोहीको शेषपछि निजका कानूनद्वारा निर्धारित हकवालामध्येबाट पत्याउने कार्यका हकमा विविध व्याख्या हुन पुगेको पाइन्छ । बाली बुझेको रसीदलाई मोही पत्याएको आधार यस अदालतको पूर्ण इजलासले मानेको छ । तर, केही निर्णयबाट भूमिसुधार कार्यालयमै मोही नामसारीमा निवेदन दिई त्यहीँ जग्गाधनीले निवेदन वा वयानबाट रोजेपछि मात्र पत्याउने कार्य सम्पन्न भएको मान्यता पनि अघि सारिएको छ । यस्ता परस्पर दुई धारका मान्यता समानान्तररुपमा कायम रहनु समस्त न्यायिक प्रणालीकै लागि हितकर हुँदैन ।
८. जग्गाधनीले नै मोहीको देहान्त भएपछि निजका पत्नी तथा छोराहरूसमेतका विभिन्न हकवाला रहेको अवस्थामा कुनै एक व्यक्तिलाई मोही मान्दै बालीको दावी साधिकार निकायमा विधिसम्मत तरिकाले गर्दछ भने यसलाई पत्याउने क्रियाकैरुपमा ग्रहण गर्नुपर्ने हुन्छ । जिल्ला अदालत साधिकार निकाय हो । कानूनले बाली मुद्दा हेर्ने अधिकार अदालतलाई दिएको छ र अदालत प्रवेशको माध्यम फिराद लिएर अदालत प्रवेश गरेको अवस्थालाई मोही पत्याएको मान्नु पर्ने हुन्छ । अनाधिकार निकायमा प्रवेश गरी वा घरसारमा जुनसुकै मिति राखेर तैयार गर्न सकिने बाली बुझेको भरपाइ खडा गरी वास्तविक मोहीको हकमा प्रतिकूल असर पार्न खोजिएको अवस्थामा त्यस्ता कार्यले मान्यता नपाउनु बेग्लै कुरा हो । तर, प्रस्तुत विवादमा २०३० सालदेखि २०५३ सालसम्मका जग्गाधनीले कीर्ते समेत भन्न नसकेका बाली बुझेका भरपाई हुनुका अतिरिक्त सोलाई पुष्टि गर्ने अदालतमा बीचको २०३९ सालको बालीका हकमा दायर भई निर्णय भएको बाली मुद्दा नै छ भने यहाँ जग्गाधनीले मोही पत्याउने भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) को प्रयोजन पूरा भएको मान्नुको विकल्प छैन ।
९. पुनरावेदक बादीले निजका पिता पन्थु यादव र आमा समेतको २०३४ साल अगावै मृत्यु भएको र पिताको मृत्युपश्चात् निजले नै मोहीको हैसियतले विवादित जग्गा जोतकमोद गर्दै आई जग्गाधनीलाई सालबसाली कुत बुझाउँदै आएको भनी त्यसको समर्थनमा कुत बुझाएका भर्पाइ समेत पेश गरेको देखिन्छ । त्यसै गरी यसै विवादित जग्गाको २०३९ सालको कुतबाली नदिएकोले कुतबाली दिलाई पाऊँ भनी प्रत्यर्थी प्रतिवादीको आमा निरसीवती कथवनियाइनले यिनै पुनरावेदक झवर यादवउपर कुतबाली मुद्दा दिई बादी दावीबमोजिम प्रतिवादीबाट कुतबाली भराई पाउने ठहरी सप्तरी जिल्ला अदालतबाट मिति २०४०।६।६ मा फैसला भएको भनी संवत् २०४० सालको दे.नं.२१७०/१०७० को सो कुतवाली मुद्दाको फैसलाको प्रतिलिपिसमेत पेश गरेको देखिन्छ । एकपटक पुनरावेदकलाई मोही स्वीकार गरी कुतबाली मुद्दा दिई बाली भराई लिएपछि पुनः अर्को व्यक्तिलाई मोही पत्याउन मिल्दैन भन्ने पुनरावेदकका तर्फबाट उपस्थित विद्वान कानून व्यवसायीले जिकीर लिएको पाइन्छ । प्रत्यर्थीको प्रतिउत्तर हेर्दा साविक मोही पन्थुको मृत्युपछि निजका दुई भाइ छोराहरू एकासगोलमा रहेको हुँदा झवर यादवका नाउँमा कुतबाली मुद्दा दिएको हो, सो मुद्दा दिएको कारणबाट मोही पत्याएको मान्न मिल्दैन भन्ने जिकीर भै प्रत्यर्थीका तर्फबाट रहनु भएका विद्वान कानून व्यवसायीले समेत मोही पत्याउने विषय विशेष कानूनी अधिकार हुँदा विवन्धन लाग्दैन भन्ने बहस जिकीर प्रस्तुत गर्नु भएको देखिन्छ ।
१०. अन्य पैत्रिक सम्पत्तिसरह हकवाला भएको कारणबाट मात्र स्वतः मोहीहक नामसारी हुन नसक्ने कानूनी व्यवस्थाबाट मोहीहक प्राप्त गर्नको लागि कानूनद्वारा निर्धारित भएबमोजिम मोहीको दायित्व निर्वाह गर्नुपर्ने कुरा स्वाभाविक नै हुन्छ । मोहीमा कमाइआएको जग्गामा सालबसाली खेती गर्नु, जग्गाको भौतिक स्वरुप नबिगार्नु र जग्गाधनीलाई तोकिएबमोजिम कुतबाली बुझाउनु नै मोहीको मुख्य कर्तव्य हुने देखिन्छ । त्यसकारण मोही हक प्राप्त गर्नको लागि जग्गा कमाउनु र कमाएको जग्गाको कुतबाली जग्गाधनीलाई बुझाउनु जस्ता पूर्वशर्तहरू अनिवार्यरुपमा पूरा हुनुपर्ने देखिन्छ । मोही नामसारीको विवादमा साविक मोहीको मृत्यु भएपछि मोही लागेको जग्गा मोहीका हकवालाहरूमध्ये कसले जोतकमोद गरेको छ, जग्गाधनीलाई बाली बुझाउने कर्तव्य कसले निर्वाह गरेको छ र सो जग्गामा निहीत जग्गाधनीको हित संरक्षण कसले गरेको छ भन्ने जस्ता प्रश्नहरू मुख्यरुपमा उठ्न सक्ने देखिन्छ । वस्तुतः यिनै प्रश्नको सही र वस्तुनिष्ठ विश्लेषणबाट यससम्बन्धी विवादको निरुपण हुनु न्यायोचित र कानूनसम्मत हुन्छ ।
११. प्रस्तुत मुद्दामा पनि साविक मोही पन्थु यादवको मोही हक निजको शेषपछि निजका दुई छोराहरूमध्ये कसका नाउँमा नामसारी हुने भन्ने नै महत्वपूर्ण र एकमात्र प्रश्न अन्तरनिहीत रहेको देखिन्छ । एउटा छोराका पक्षमा जिल्ला अदालतमा जग्गाधनीबाटै मुद्दा परेको छ भने अर्को छोराको पक्षमा भूमिसुधार कार्यालयमा गई जग्गाधनीले मोही रोजेको छ । यस प्रश्नको निरुपणको लागि माथिको प्रकरणमा विवेचना गरिए जस्तै साविक मोही पन्थुको मृत्युपश्चात् विवादित जग्गा कसले जोतकमोद गरेको छ, जग्गाधनीलाई सालबसाली कुतबाली कसले बुझाएको छ, बाली नबुझाएको वर्षमा जग्गाधनीले कसलाई मोही पत्याई बाली दावी गरी भराई लिएको छ आदि जस्ता कुराहरूको विश्लेषणबाटै विवादको निरुपण विन्दू पत्ता लगाउनु पर्ने हुन्छ । साविक मोहीका दुई छोराहरू झवर र सरयुगले परस्पर मोही नामसारीको दावी लिई भूमिसुधार कार्यालयमा प्रवेश गरेपछि प्रत्यर्थी जग्गाधनीले औपचारिक रुपमा यी पुनरावेदकलाई नभई निजका भाइ सरयुगलाई मोही पत्याएको भन्ने व्यहोराको प्रतिउत्तर गरेको देखिन्छ । तर, २०३० सालदेखि विवादित जग्गाको बाली पुनरावेक झवर यादवले बुझाई आएको देखिन्छ । त्यतिमात्र होइन सो बीचको कुनै सालको बाली नबुझाएको अवस्थामा जग्गाधनीले पुनरावेदक झवर यादवलाई नै मोही स्वीकार गरी कुतबाली मुद्दा दिई भराई लिएको अवस्थासमेत देखिएको छ । यसबाट साविक मोही पन्थुको मृत्युपछि विवादको जग्गा निजका छोरा सरयुगले नभई पुनरावेदक झवरले कमाई आएको, निजले नै सालबसालीरुपमा जग्गाधनीलाई कुत बुझाउँदै आएको र कुत नबुझाएको सालमा जग्गाधनीले पनि निजलाई नै मोही पत्याई कुतबालीमा दावी लिई भराई लिएको समेतका मिसिल संलग्न प्रमाणहरूबाट विवादित जग्गाको वास्तविक मोही पुनरावेदक झवर यादव भै निजले नै जग्गाधनीको हित संरक्षण गरेको मान्नु पर्ने देखिन्छ ।
१२. यस प्रकार बाबु पन्थुको मृत्युपश्चात् तीसौँ वर्षसम्म मोहीमा जग्गा कमाई जग्गाधनीलाई कुत बुझाई मोहीको दायित्व निर्वाह गरी आउने पुनरावेदक झवर यादवलाई लामो समयसम्मको आचरण र व्यवहारबाट प्रत्यर्थी जग्गाधनीले मोही मानेको देखिन्छ । प्रत्यर्थी जग्गाधनीले पुनरावेदकलाई मोही स्वीकार गरी परस्पर बाली बुझी भर्पाइ लिने दिने गर्नुका अतिरिक्त कुत नपाएको अवस्थामा अदालतसमक्ष कुतबाली मुद्दा दिई मोहीको दायित्व निर्वाह गर्न लगाएको समेत देखिएको अवस्थामा भूमिसुधार कार्यालयको कारवाहीमा एकाएक सरयुग यादवलाई मोहीमा पत्याएको भन्नु निजको आफ्नै आचरण, व्यवहार, स्वीकारोक्तिको प्रतिकूल देखिन्छ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) को व्यवस्था जग्गाधनीका लागि स्वविवेकीय प्रकृतिको हो । तर व्यक्त भइसकेको स्वविवेक परिवर्तन गर्न औचित्य, आधार र कारणको आवश्यकता पर्दछ । त्यसमा पनि कसैको हकाधिकार नै सिर्जना भइसकेको मोहियानी हक अपहरण गर्न जग्गाधनीलाई पनि अधिकार हुँदैन । कानूनले मोही पत्याउने वा रोज्ने कार्यविधि नतोकेको अवस्थामा यो कानूनी प्रश्न नभई तथ्यको प्रश्न हो । यसमा विवन्धनको सिद्धान्तको कुनै भूमिका हुदैन । जग्गाधनीले साविक मोहीको मृत्युपछि निजका हकवालाहरूमध्ये कसलाई मोही पत्याउने भन्ने तथ्यको निर्णय एकपटकमात्र गर्न पाउँछ । जग्गाधनीलाई मोही रोज्न पाउने अधिकार छ भन्दैमा आज एउटा र भोलि अर्को हकवालालाई मोही पत्याउँदै जान पाउँछ भन्ने अर्थ गर्ने हो भने कानूनले दिएको यो अधिकारको दुरुपयोग हुन गई जग्गा कमाउने वास्तविक मोहीको हक सँधै जोखिममा पर्न जाने अवस्था सिर्जना हुन पुग्ने देखिन्छ , जो भूमिसम्बन्धी ऐनको मर्म र भावना अनुकूल हुने देखिँदैन ।
१३. यस अदालतको पूर्ण इजलासबाट निवेदक रत्न देसारनी विरुद्ध कृष्णमाया देसारनी समेत विपक्षी भएको संवत् २०३४ सालको रि.फु.नं.२९ को उत्प्रेषणको निवेदनमा मिति २०३४।१०।४ मा निर्णय हुँदा, जग्गावालाले मोही पत्याई बाली बुझी भरपाई गरिदिएकोबाटै जग्गा पत्याएको देखिन आउने हुनाले त्यसरी साविक मोही मरी जग्गाधनीले जग्गा पत्याएकोमा दफा ३४(१) कवुलियतको अवस्था नपर्ने भन्ने निर्णय भई सिद्धान्त (नेकाप २०३४, नि.नं.११०६, पृष्ठ २९५) प्रतिपादन भैरहेको देखिँदा साविक मोही मरेपछि मोहीका हकवालाहरूमध्ये जग्गाधनीले जसबाट बाली बुझी लिन्छ उसैलाई मोही पत्याएको मान्नुपर्ने भन्ने देखिन्छ । प्रस्तुत मुद्दामा समेत साविक मोही पन्थुको मृत्युपश्चात् प्रत्यर्थी जग्गाधनीले निजका छोरा पुनरावेदक झबर यादवबाट लामो समयदेखि कुत बुझी भर्पाई गरिदिएको देखिँदा निजैलाई मोही पत्याएको भनी मान्नुपर्ने देखियो ।
१४. यसै गरी यस अदालतको अर्को पूर्ण इजलासबाट रिट निवेदक सीताराम यादव विरुद्ध दुखी यादव समेत विपक्षी भएको संवत् २०४५ सालको रि.पु.ई.नं.७९ को उत्प्रेषणको निवेदनमा मिति २०४५।११।२६ मा निर्णय हुँदा जो मोही हुन्छ उसैसँगबाट कुतबाली भराउने हो, साविक मोही जीवित रहेको भए निजलाई मरेको भनी निजको जेठो छोरासँग कुतबाली भराई पाऊँ भनी नालिस दिनुपर्ने औचित्य रहँदैन । मोही मरिसकेको भनी दावी लिई मोहीको जेठो छोराउपर बाली मुद्दा दिई बाली भरी पाउने ठहरी फैसला भएको अवस्थामा पछिका मितिमा मोही मरेको भनी जग्गाधनीले अर्को छोरालाई मोही रोज्न नपाउने भन्ने समेत निर्णय भई सिद्धान्त (नेकाप २०४५, नि.नं.३६६६, पृष्ठ १२४७) प्रतिपादन भएको देखिन्छ । जग्गा कमाउने वास्तविक मोहीको मोही हक कायम हुनुपर्ने सिद्धान्तमा आधारित यस अदालतबाट प्रतिपादित उक्त नजीर सिद्धान्तहरूसँग असहमत हुनुपर्ने कुनै कारण देखिँदैन ।
१५. अब, बादी दावीबमोजिम मोही नामसारी नहुने ठहर्याएको शुरु भूमिसुधार कार्यालयको निर्णय सदर गरेको पुनरावेदन अदालतको फैसला मिले नमिलेको के रहेछ भन्ने निर्णय दिनुपर्ने हुन आएको दोस्रो प्रश्नका सम्बन्धमा विचार गरौँ । विवादित जग्गाको साविक मोही पुनरावेदक झवर यादवका पिता स्वर्गीय पन्थु यादव रहेको भन्ने कुरामा कुनै विवाद देखिएन । साविक मोही निज पन्थुको मृत्युपछि २०३० सालदेखि नै विवादको जग्गा पुनरावेदक बादीले जोत कमोद गर्दै प्रत्यर्थी जग्गाधनीलाई कुत बुझाउँदै आएको भन्ने कुरा पनि मिसिल संलग्न विभिन्न मितिका कुत बुझाएको भर्पाईका प्रतिलिपिबाट पुष्टि भएकै देखिन्छ ।
१६. यसका अतिरिक्त प्रत्यर्थी जग्गाधनीको आमा निरसीवती कथवनियाले पुनरावेदक बादीलाई मोही मानी २०३९ सालको कुत बालीमा निजउपर दाबी लिई कुत भराई लिएको देखिँदा आमाले नै मोही पत्याइसकेका पुनरावेदक झवर यादवलाई आमाबाट जग्गामा हक प्राप्त गरेका प्रत्यर्थी जगदिश दासले अन्यथा भनी मोही होइन भन्न मिल्ने पनि देखिँदैन । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम जग्गाधनीलाई मोही रोज्ने अधिकार एकपटक मात्र हुने देखिएको र एकपटक पुनरावेदकलाई मोही रोजिसकेको देखिएकोले पुनः अर्को व्यक्तिलाई मोही रोज्न पाउने नदेखिँदा माननीय न्यायाधीश श्री अनूपराज शर्माको रायसँग सहमत हुन सकिएन ।
१७. तसर्थ माथि प्रकरण–प्रकरणमा गरिएको तथ्यगत, कानूनी र यस अदालतबाट प्रतिपादित नजीर सिद्धान्त समेतको विश्लेषणबाट सरयुग यादवले दिएको लगाउको मोही नामसारी मुद्दामा जग्गाधनीले साविक मोहीका छोरा सरयुग यादवलाई मोही रोजेको भनी मोही नामसारी गरिपाऊँ भन्ने प्रस्तुत मुद्दाकोे बादी दावी नपुग्ने ठह¥याएको शुरु भूमिसुधार कार्यालय सप्तरीको निर्णय सदर गर्ने गरेको पुनरावेदन अदालत राजविराजको मिति २०५७।५।२६ को फैसला मिलेको नदेखिएको भनी सो फैसला उल्टी गरी विवादित कि.नं. १९ को ज. वि. ०–१३–३ जग्गाको पन्थु यादवका नाउँको मोहियानी हक निजका छोरा बादी झवर यादवको मुद्दा सकार गर्ने निजको श्रीमती पुनरावेदक फुलोदेवी यादवका नाउँमा नामसारी हुने ठह¥याएको माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठको राय मनासिव ठहर्छ । फैसला कार्यान्वयनको लागि शुरु भूमिसुधार कार्यालय सप्तरीमा लेखी पठाई दायरीको लगत कट्टा गरी मिसिल नियमबमोजिम गरी बुझाई दिनू ।
उक्त रायमा सहमत छौँ ।
न्या.गौरी ढकाल
न्या.प्रकाश वस्ती
इति संवत् २०६६ साल मंसिर २५ गते रोज ५ शुभम्
इजलास अधिकृतः नारायण सुवेदी