शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८३११ - कर्तव्य ज्यान ।

भाग: ५२ साल: २०६७ महिना: जेष्ठ अंक:

निर्णय नं. ८३११     जेठ, २०६७

 

सर्वोच्च अदालत, पूर्ण इजलास

माननीय न्यायाधीश श्री प्रेम शर्मा

माननीय न्यायाधीश श्री सुशीला कार्की

माननीय न्यायाधीश श्री प्रकाश वस्ती

सम्वत् २०६५ सालको फौ.पु.ई.नं. ०६५CF०००९,००१०,००११

फैसला मितिः २०६६।४।१५।५

मुद्दाः कर्तव्य ज्यान ।

पुनरावेदक प्रतिवादीः ललितपुर जिल्ला ल.पु.उ.म.न. पा. वडा नं. १ कुपण्डोल घर भै हाल      कारागार शाखा, नख्खु ललितपुरमा कैदमा रहेको विनय मानन्धर

विरुद्ध

प्रत्यर्थी वादीः मुकुन्ददास श्रेष्ठको जाहेरीले नेपाल सरकार  

पुनरावेदक वादीः मुकुन्ददास श्रेष्ठको जाहेरीले नेपाल सरकार                                                                                    

विरुद्ध

प्रत्यर्थी प्रतिवादीः ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं. १ कुपण्डोल बस्ने विनय मानन्धर समेत

वादीः मुकुन्ददास श्रेष्ठको जाहेरीले नेपाल सरकार

विरुद्ध

प्रतिवादीः विनय मानन्धर 

 

शुरू फैसला गर्नेः

मा.जि.न्या. श्री जनार्दनबहादुर खड्का

 

पुनरावेदन फैसला गर्नेः

मा.न्या.श्री राजेन्द्रप्रसाद कोइराला

मा.न्या.श्री रणबहादुर वम

 

§  विशेषज्ञको राय प्रतिवेदन यो यति करणबाट शंकास्पद वा विरोधाभाषयुक्त छ भनी इजलाससमक्ष प्रष्टयाउनु पर्ने सम्बन्धित पक्षको दायित्व हुने हुँदा यस्तो दायित्वलाई शंकारहित तवरबाट पुष्टि गर्नुपर्ने ।

§  विशेषज्ञले दिएको प्रतिवेदन शंकास्पद, द्विविधायुक्त वा अस्पष्ट नभई फटिक झैं स्वच्छ (Crystal Clear) र अन्य स्वतन्त्र प्रमाणले समर्थित गर्दछ भने त्यस अवस्थामा अदालत स्वयंले तर्क वितर्क गरी शंका उपशंका उठाउनु समेत न्यायोचित नहुने ।

§  बिनाआधार विशेषज्ञले दिएको प्रतिवेदनलाई अन्यथा गर्दा वास्तविक न्याय प्रदान गर्ने उद्देश्यबाट दिशाभ्रमित हुने अवस्था उत्पन्न हुन जाने अवस्थाप्रति अदालत सजग हुनुपर्छ । अपराधलाई प्रमाणित गर्ने कडीको रूपमा रहने अनुसन्धानको क्रममा संकलित प्रमाणका रुपमा अभिन्न अङ्ग मानिने प्रतिवेदनलाई अस्वीकार गर्न अदालतलाई त्यति नै स्पष्ट आधार र कारणको आवश्यकता पर्दछ । यसमा वस्तुनिष्ठ व्याख्यान गरी अस्वीकार गर्नुपर्ने वैज्ञानिक आधार समेतको स्पष्ट उल्लेखन गरी विमति राखी खण्डन गर्न सक्नु पर्दछ र यो खण्डन चिकित्सा विधिशास्त्र (Medical Jurisprudence) का सर्वमान्य सिद्धान्तमा आधारित हुनुपर्ने ।

(प्रकरण नं. ४)

§  मृतकको लाश र त्यसमा विशेषज्ञले गर्ने अध्ययनले मृत्युको कारणका बारेमा धारणा बनाउन अदालतलाई सहयोग गर्दछ । यस अर्थमा विशेषज्ञको रायले पनि बलियो प्रमाणको स्थान ग्रहण गर्न सक्दछ भन्ने सन्दर्भ नै चिकित्सकीय प्रमाण (Medico-Evidence) को मूल मर्म हुने ।

(प्रकरण नं. ५)

§  वास्तविक मृत्युको कारण पत्ता लगाउने ज्ञाता विशेषज्ञ हुँदा सो रायमाथिको निर्भरता नै न्यायको लक्ष्यप्राप्तिको लागि सबैभन्दा बढी सहायक हुन्छ भन्नेमा विमति राख्न नहुने ।

(प्रकरण नं. ६)

§  कुनै नारीको मृत्युको प्रश्न सन्मूख आएकोमा पुरूष संलग्न घरायसी हिंसाकै कारण भएको हो भनी पूर्वानुमान गरी आवेशात्मक भावनामा बगेर न्यायको बलिवेदीमा कसैलाई चढाई दावी ठहर्‍याउनु न्यायोचित नहुने ।

(प्रकरण नं. १५)

§  विश्वासिलो अकाट्य प्र्रमाणको अभावमा अनुमान, आशंका र संभावना जस्ता मनोगत प्रमाणलाई मात्र आधार बनाई कर्तव्यबाटै मृतकको मृत्यु भएको भनी निष्कर्षमा पुग्नु न्यायोचित नहुने ।

(प्रकरण नं. १६)

पुनरावेदक वादी तर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री युवराज सुवेदी, प्रेमबहादुर कार्की

जाहेरवालाको तर्फबाटः विद्वान अधिवक्ताहरु डा. श्री शंकरकुमार श्रेष्ठ, डा.श्री रंजितभक्त प्रधानाङ्ग र अनिता चापागाई

प्रत्यर्थी वादी तर्फवाटः

पुनरावेदक प्रतिवादीहरु तर्फबाटः वरिष्ठ अधिवक्ता श्री वशन्तराम भण्डारी, विद्वान अधिवक्ता श्री कृष्णप्रसाद सापकोटा, श्री शम्भु थापा र सविता वराल

अवलम्वित नजीरः

सम्बद्ध कानूनः

·         प्रमाण ऐन, २०३१ को दफा २३, २३(७)

·         अ.वं. ११५

फैसला

न्या.प्रेम शर्माः सर्वोच्च अदालतको २०६५।९।८ को रायवाझी फैसलाउपर सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम पूर्ण इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :

मिति २०५८।२।५ गतेका दिन साँझ २०.०० वजेको समयमा ललितपुर जिल्ला ल.पु.उ.म.न.पा. वडा नं. १ वस्ने दीपक मानन्धरको छोरा विनय मानन्धरको श्रीमती वर्ष २३ की निरू मानन्धर आफ्नै घरको छतमा जाने भर्‍याङ्गमा झुण्डिएको र निजलाई उपचार गराउन वीर अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको भन्ने बुझिन आएकोले सो सम्वन्धमा आवश्यक अनुसन्धान कारवाही गरी पाऊँ भन्ने प्र.ज. रामचन्द्र यादवको प्रतिवेदन ।

मेरी छोरी वर्ष २३ की निरू श्रेष्ठ करीव डेढ वर्ष पहिले ललितपुर कुपण्डोल बस्ने दीपक मानन्धरको छोरा विनय मानन्धरसँग प्रेम विवाह गरी बसेकी र विवाहपश्चात् माइतीमा आएकी थिइनन् । निजले आफ्नो दिदीसँग बराबर सम्पर्क राखी आफूलाई घरपरिवारबाट बराबर शारीरिक तथा मानसिक यातना दिन शुरू गरेको भनी सो कुरा रेविका श्रेष्ठ, मनिका श्रेष्ठ समेतले हामीलाई भन्ने गरेका थिए । यसै क्रममा २०५८।२।५ गते राति म जाहेरवाला आफ्नै घरमा भएको अवस्थामा निज विनय मानन्धरले निरू झुण्डिएर मरेकी छन् , उक्त लास वीर अस्पतालमा ल्याएको छ भनी फोनबाट भनेकाले म तत्काल वीर अस्पताल आई हेर्दा छोरी निरू श्रेष्ठ (मानन्धर) को मृत लास देखें । छोरीलाई निजको घर परिवारको मान्छेले झुण्डाएर मारे मराएको शंका देखिन आएकोले तत्सम्बन्धी विषयमा उक्त वारदात एवं छरछिमेकी समेत बुझी सो व्यहोराको जाहेरी दरखास्त छुट्टै दिने नै हुँदा हाललाई मृतक छोरीको लासको लास जाँच प्रकृति मुचुल्का, पोष्टमार्टम समेत गरी पाऊँ भन्ने समेत व्यहोराको मुकुन्ददास श्रेष्ठको २०५८।२।६ को जाहेरी दरखास्त ।

छोरी निरू श्रेष्ठ विनय मानन्धरसँग मिति २०५६।५।३० मा घर परिवारको सहमतिबेगर अन्तरजातीय प्रेम विवाह गरी गएकी र माइतीमा पनि आएकी थिइनन् । प्रेम विवाह गरेकोमा ठूलो गल्ती गरेको र घर परिवारबाट भोगेका पीडा यातनाहरू आफ्नो दिदी रेनुका, रेविका तथा स्कूलका साथीहरूलाई सुनाउँदी रहिछिन् । यस्तै क्रममा २०५८।२।५ गते रातको १० बजे विपक्षी ज्वाई विनय मानन्धरले तपाईंको छोरी निरू झुण्डिएर मरेकीले बीर अस्पतालमा हेर्न आउनु भनी फोन गरेकोले वीर अस्पतालमा म तत्काल आई हेर्दा छोरी निरूको मृत्यु भैसकेको रहेछ र मृतक अवस्थामा अस्पताल ल्याएको डाक्टरले बताए । मृतक छोरीको अवस्था हेर्दा घाँटीमा यत्रतत्र नीलडाम, टाउकोमा चोट लागेको र लगाएको कपडा च्यातिएको अवस्थामा रहेको हुँदा निज छोरीको मृत्यु आत्महत्याबाट नभई परिवारका सदस्य विनय मानन्धर, दीपक मानन्धर, प्रेमदेवी मानन्धर समेतले सुनियोजित तवरबाट हत्या गरेको हुँदा निजहरूलाई पक्राउ गरी कानूनबमोजिम कारवाही तथा सजाय गरी पाऊँ भन्ने समेतको मुकुन्ददास श्रेष्ठले पुनः मिति २०५८।२।११ मा दिएको जाहेरी दरखास्त ।

पूर्व रामेश्वर श्रेष्ठको घर, पश्चिम गोपालमान श्रेष्ठको घर, उत्तर गोरेटो बाटो र दक्षिण अलवर्ड गिरीको घर यति चार किल्लाभित्र कम्पाउण्ड घेरिएको दीपक मानन्धरको घर । सो घरको भित्र प्रवेश गरी तीन तलामाथि आई पूर्वतर् लाग्दा पूर्व वरण्डामा जाने ढोका खोली वरण्डामा आई हेर्दा घरको पूर्व दक्षिण साइडमा छतमा जाने फलामको ग्रिलवाला १० वटा खुड्किला भएको धुवा कलरले पेन्ट गरेको भर्‍याङ्ग घटनास्थल भएको, उक्त घटनास्थलको वरपर साइडमा माटोको गमला, उत्तर साइडमा रहेको घटनास्थल भर्‍याङमुनि प्लाष्टिकको हरियो रङको लेडिज चप्पल वायाँ खुट्टामा लगाउने घोप्टो परेको र दायाँ चप्पल उत्तानो परेको, दुबै चप्पलको बुढि औला साइडका दुवै चप्पलको फित्ता फुस्किएको एकजोर चप्पल रहेको घुमाउरो भर्‍याङको सातौँ खुड्किलोमा निज मृतक निरू मानन्धरले रातोमा बुट्टे सुतीको साडीले घाँटीमा पासो लगाई झुण्डिएको भनिएको व्यहोराको २०५८।२।६ को घटनास्थल प्रकृति मुचुल्का ।

            वीर अस्पतालको स्टेचरमाथि रहेको मृतक निरू श्रेष्ठको लासलाई ढाकिएको च्यादर हटाई हेर्दा कपाल लामो, दुबै आँखा बन्द, नाकबाट रगत बगिरहेको, मुख बन्द, कान सामान्य, दुबै हात अर्धमुठी, पहेलो बुट्टे कुर्था सुरूवाल लगाएको । दायाँ नाडीमा चार वटा चुरा, बायाँ नाडीमा केही नभएको, कुर्था खोली हेर्दा घाटीमा प्रष्ट डाम नदेखिएको, टाउको हल्लाउँदा सोलिङ नहुने, छाती पेट सामान्य, तीघ्रादेखि पैतालासम्म सामान्य, योनी तथा मलद्वारबाट केही नआएको, लासलाई ओल्टाई पल्टाई हेर्दा नीलडाम घाउ चोट कतै नभएको भन्ने समेत व्यहोराको मृतक निरू श्रेष्ठको लास प्रकृति मुचुल्का ।

            The cause of Death is Hanging अर्थात झुण्डिएको कारणवाट मृतकको मृत्यु भएको भन्ने व्यहोराको त्रि.वि.वि. शिक्षण अस्पताल महाराजगञ्जको शव परीक्षण प्रतिवेदन ।

                        मुकुन्ददास श्रेष्ठकी छोरी निरू श्रेष्ठसँग मेरो सरस्वती मा.वि.क्षेत्रपाटीमा कक्षा १० को एउटै कक्षामा पढ्दा चिनजान भै एस.एल.सी पनि सँगै पास गरी कलेज पढ्दा पनि हाम्रो भेटघाट भै घुमफिरसँगै गर्ने गर्दा प्रेम सम्बन्ध भएकोले विवाह गर्न आमा बाबुलाई सुनाउँदा निजको आमा बाबुले अस्वीकार गरेकोले मैले मेरो बाबु आमाको स्वीकृति लिएर २०५६ साल भाद्र महिनामा निरू श्रेष्ठसँग प्रेम विवाह गरी श्रीमती बनाई राखेको हुँ । निजको बाबु आमालाई खबर गर्दा आउन अस्वीकार गरी अब बाबु आमा र छोरीबीचको नाता टुट्यो, फोन पनि नगर्नु हामी तिम्रो अनुहार हेर्न चाहन्नौँ भनी निरूको बाबु आमाले भनेकाले निज माइत जानबाट बञ्चित थिइन् । चाडवाडमा माइत जान नपाएकोमा मसँग गुनासो गर्थिन । मैले यही खाने यहीं रमाउने भनी सम्झाउँथे । म लगायतका मेरा घरका आमा बाबुसमेतले निज निरूलाई सामान्य कुराकानीबाहेक अन्य गाली गलौज मारपीट यातना कहिल्यै दिएको छैन । २०५८।२।५ गते साँझ ८.३० बजेको खाना खाई बाबु आमा आफ्नो कोठामा जानु भयो । म पनि आफ्नो कोठामा टि.भी. हेरी निदाएछु । निरू भान्सा कोठामा कुकुरलाई खाना दिदैँ थिइन् । पछि आमाले कराउँदै तिमी माथि आऊ भनेकाले म माथि गई हेर्दा श्रीमती निरू माथिल्लो तल्लाको कौसीमा बेहोस अवस्थामा लडिरहेको देखेकोले मैले भान्सा कोठामा ल्याई पेट छाती थिचथाच गर्दा बाबुले डा. रामेश्वर श्रेष्ठलाई लिई आउनु भयो । निजको सल्लाहअनुसार उपचारको लागि वीर अस्पतालमा लगी औषधि दिन लाग्दा डाक्टरले मृत्यु भै सकेको भनेकाले बल्ल थाहा भयो । निरू मानन्धर श्रेष्ठले घाँटीमा पासो लगाई झुण्डी आत्महत्या गर्न खोजी बेहोस अवस्थामा छिन तपाइहरू वीर अस्पतालमा आउनु भनी मैले जाहेरवाला समेतलाई खबर गरेको हुँ । कहिले काहीँ खाना बनाउने विषयमा सामान्य भनाभन हुने गरेको र त्यस दिन पनि सोही विषयमा विवाद भएको थियो । निरूलाई मसमेत भै झुण्डाएर कर्तव्य गरी मारे मराएको होइन भन्ने समेत व्यहोराको प्रतिवादी विनय मानन्धरले जिल्ला न्यायाधिवक्ता समक्ष गरेको बयान ।

            मेरो छोरा विनय मानन्धरले २०५६ साल भाद्रमा निरू श्रेष्ठलाई प्रेम विवाह गरी सीधै घरमा ल्याएको हो । हामीले बुहारी भए पनि छोरी सरह मानेर राखेका थियौँ । २०५८।२।५ गते साँझ खाना खाई सकेपछि म र मेरो श्रीमान दीपक मानन्धर आफ्नो कोठामा गई टि.भी हेरी बसिरहेको र छोरा विनयसमेत खाना खाई आफ्नो कोठामा आई टि.भी हेरी बसिरहेको र बुहारी भान्सामा खाना खादै धन्दा गर्दै थिइन् । पछि अ.१०:०० बजेतिर श्रीमान्‌ले तातो पानी मागेकोले पानी लिन भान्सा कोठामा जाँदा श्रीमान पनि जानु भएछ । कौसीको ढोका खुल्ला देखी किन ढोका खुल्ला छ भनी बन्द गर्न जाँदा बाहिर छतमा जाने भर्‍याङ्गमा निज निरू मानन्धर घाँटीमा पासो लगाई झुण्डिरहेको देखी छोरा समेतलाई खबर गरी झुण्डिएको साडी खोली उपचार गराउन वीर अस्पताल लगेकोमा औषधि दिन लाग्दा मृत्यु भएको भनी डाक्टरले भन्दा थाहा पाएकी हुं । बुहारी निरू मानन्धरलाई मैले कुनै किसिमको शारीरिक तथा मानसिक तनाव हुने गरी गाली गलौज गरेको छैन । निजले के कुन कारणबाट घाँटीमा पासो लगाई झुण्डिई आत्महत्या गरेकी हुन् मलाई थाहा छैन । निरू मानन्धरलाई हामी घरका परिवारले मार्नु मराउनु पर्ने कुनै कारण छैन । बुहारीलाई झुण्डिएको अवस्थामा देखी म समेतले झुण्डिएको साडी खोली भूर्इंमा लडाई छोरालाई खवर गरेका हौँ । हामीले मारे मराएको होइन भन्ने समेत व्यहोराको प्रतिवादी प्रेमदेवी मानन्धरले जिल्ला न्यायाधिवक्तासमक्ष गरेको बयान ।

            मेरो छोरा विनय मानन्धरले काठमाडौँ भोटाहिटी बस्ने निरू श्रेष्ठ मानन्धरलाई २०५६ साल भाद्र महिनामा प्रेम विवाह गरी ल्याएको हो । मिति २०५८।२।५ गते साँझ खाना खाई सकेपछि आफ्नो कोठामा टि.भी. हेरी रातको अ.१०:०० बजेतिर अब सुतौँ भनी श्रीमतीलाई तातोपानी लिन भान्सामा पठाई म समेत भान्सामा गई हेर्दा बुहारी निरू नदेखेकोले निरू कता छ भनी हेर्दा बाहिर कौसीमा जाने ढोका खुल्ला देखेकोले किन ढोका खुल्ला छ भनी कौसीतर्जाँदा कौसीबाट माथि छतमा जाने भ¥याङमा निज निरू साडीले घाँटीमा पासो लगाई झुण्डिरहेको देखी आँत्तिदै श्रीमतीलाई खबर गरी उक्त साडीको पासो खोली म डा.रामेश्वरलाई लिन गई डा. लाई देखाउँदा बेहोस रहेकाले छोरा बिनय र म भएर बीर अस्पताल लगी औषधि गर्न लाग्दा निरू श्रेष्ठ मानन्धरको मृत्यु भएको भन्ने थाहा पाएको हुँ । निरू मानन्धर के कुन कारणबाट घाँटीमा पासो लगाई झुण्डी आत्महत्या गरेको हो मलाई थाहा छैन । मृतक निरूलाई मैले शारीरिक तथा मानसिक यातना हुने गरी गाली गलौज गरेको छैन । निरू मानन्धरलाई मसमेतका घर परिवारले मार्नु मराउनु पर्ने कुनै कारण नै छैन । बुहारी भएपछि छोरी सरह मानी राखेका थियौं । मृतक निरू श्रेष्ठ मानन्धरको कुर्ता सुरूवाल च्यातिएको र घाँटीमा चोट भएको सम्बन्धमा मलाई थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी दीपक मानन्धरले जिल्ला न्यायाधिवक्तासमक्ष गरेको  बयान ।

            मृतक निरू श्रेष्ठ मेरो कान्छी बहिनी हुन् । निज निरू र विनय मानन्धर स्कूल पढ्दादेखि नै चिनजान भै सँगसँगै हिड्ने खाने गर्थे । बहिनीसँग आएको बेला मसँग पनि विनय मानन्धरको भेटघाट हुने गर्दथ्यो । बहिनी निरूले विनय मानन्धरसँग प्रेम विवाह गर्छु भनेर घरमा बाबु आमालाई भन्दा त्यो केटा राम्रो खालको छैन विवाह नगर्नु भन्नु भएको थियो । बहिनी निरूले विनय मानन्धरसँग नै विवाह गरी बस्दछु भनी मलाई भन्दा मैले कुनै विरोध गरिन र विनयसँग जाँदैछु भनी म समेतलाई भनी स्कूलबाटै २०५६ साल भाद्र महिनामा विनय मानन्धरसँग उसको घरमा आफू गई सकेको कुरा मलाई टेलिफोनबाट जानकारी गराएकी थिइन् । त्यो कुरा मैले बाबु आमालाई भन्दा बाबु आमाले ठाडै अस्वीकार गरी गाली गर्नु भयो । त्यही कुरा मैले निज बहिनीलाई सुनाएपछि बहिनी माइती घरमा आएकी थिइनन् । मसँग स्कूल जाँदा आउँदा बाटोमा भेटघाट हुन्थ्यो । घरमा सानोतिनो कुरामा गाली गर्छन् भनी गुनासो गरेकी थिइन् । निजको मृत्यु घरायसी कारणबाट भएको जस्तो शंका लाग्छ भन्ने समेत व्यहोराको मृतककी दिदी रेविका श्रेष्ठले प्रहरीमा गरेको कागज ।

            निरू श्रेष्ठ स्कूल पढ्दादेखिको साथी हुन, विनय मानन्धर र निरू श्रेष्ठबीच प्रेम विवाह भएको र विवाहपश्चात् केही महिनासम्म घरमा राम्रो छ र ठीकै छ भनी भनेकी थिइन । त्यसपछिको भेटघाटमा घरमा सासू ससुरासमेतले घर धन्दाको कुरामा गाली गलौज गर्दछन् र माइतीमा पनि जान पाइदैन भनी म सँग गुनासो गर्थिन् । २०५८।२।५ गतेका दिन निरूको मृत्यु भएको भन्ने कुरा उसको पढाउने गरेको बोर्डिङ स्कूलको शिक्षकबाट थाहा पाएको हुँ । निजको मृत्यु हुनुभन्दा अगाडि मसँग भएका कुराकानीको आधारमा निजको घरपरिवारबाटै कुनै कारणबाट हत्या भएको होला भन्ने शंका लाग्छ भन्ने समेत व्यहोराको निरू रिजालले प्रहरीमा गरेको कागज ।

            मृतक निरू श्रेष्ठ मेरी कान्छी बहिनी हुन् । निज विनय मानन्घरसँग आफ्नो बाबु आमाको मञ्जूरी बेगर प्रेमविवाह गरी गएकी हुन् । विवाहपश्चात् बाबु आमाको डरले माइतीमा आवतजावत भएन । हाम्रो तर्बाट पनि बहिनीको घरमा आवतजावत भएन । बहिनीले कहिलेकाँही फोनबाट घरमा सासू ससुराले गाली गलौज गरी मारपीट गर्नेसम्म गर्दछन् भनी दुःखका कुराहरू मलाई सुनाउने गरेकी थिइन् । निज बहिनीको मृत्यु भएको कुरा बहिनी रेविकाबाट थाहा पाएकी हुँ । निजको मृत्यु निजको श्रीमान तथा सासू ससुरा समेत भई मारेकोमा विश्वास लाग्दछ के कसरी मारे मैले देखिन भन्ने समेत व्यहोराको मृतककी दिदी मनिका श्रेष्ठले प्रहरीमा गरेको कागज ।

            मृतक निरू श्रेष्ठलाई क्याम्पस पढ्दा चिनेको हुँ । निजको विवाह विनय मानन्धरसँग भएको कुरा थाहा छ । विवाहपछि कहिलेकाँही भेटघाट हुँदा घरपरिवारबाट राम्रो व्यवहार छैन, मैले पढ्न पाइन भनी गुनासो गरेकी थिइन । निरूको मृत्यु भएको भन्ने कुरा साथीहरूबाट सुनी थाहा पाएको हो । निजलाई निजको घरपरिवारका सदस्यले कर्तव्य गरी मारेकोमा विश्वास लाग्दछ भन्ने समेत व्यहोराको सृजा वैद्यले प्रहरीमा गरेको कागज ।

            निज मृतक निरू श्रेष्ठ मानन्धर र मसँगै पढाउद आएको हौँ । त्यस बेलादेखि मात्र निज निरू श्रेष्ठलाई मैले चिनेको हुँ । निजको विनय मानन्धरसँग २०५६ साल भाद्रमा प्रेमविवाह भएको थाहा छ । घरपरिवारबाट पाउनु पर्ने माया ममता स्नेह मैले पाइन खाली गालीगलौज मात्र सुन्नु पर्छ भनेर गुनासो गर्थिन् । निजको मृत्यु भएको खबर मेरो साथीहरूले मलाई फोन गरी थाहा पाएपछि अस्पताल आई निज मृतकलाई देखेकी हुँ । निज निरू श्रेष्ठ मानन्धरलाई निजको घरपरिवारका मानिसबाट नै हत्या भएकोमा शंका लाग्दछ भन्ने समेत व्यहोरा सरिता प्रधानको प्रहरीमा भएको कागज ।

            निज मृतक निरू श्रेष्ठलाई मैले राम्ररी चिन्दछु । निजको विवाह विनय भन्नेसँग भएको भन्ने कुरासम्म मलाई थाहा छ । निजको लोग्ने तथा घरपरिवारबाट माया ममता नपाई गाली गलौज गर्ने, असहयोग गर्ने गरेको बारेमा निज निरू श्रेष्ठले वारम्वार सुनाउने गर्थिन् । मिति २०५८।२।६ गते विहान साथीहरूले फोन गरेबाट थाहा पाएको हुँ । लास वीर अस्पतालमा लगेको छ भनी भनेपछि वीर अस्पताल जाँदा वीर अस्पतालबाट शिक्षण अस्पतालमा लगेको छ भने पछि म उक्त अस्पतालमा नगई घरतर्फर्किआएँ । मैले निजको लास देखिन । के कस्तो थियो मलाई थाहा भएन । मैले सुने बुझेसम्म निजको घरपरिवारहरूले नै कर्तव्य गरी मारेकोमा शंका लाग्दछ भन्ने समेत व्यहोराको सोलोमान क्षेत्रीको प्रहरीमा भएको कागज ।

            जाहेरवाला मेरो बुबा र मृतक निरू श्रेष्ठ मानन्धर मेरो सहोदर कान्छी बैनी हुन् । निजले बाबु आमाको स्वीकृतिबिना विनय मानन्धरसँग प्रेमविवाह गरी गएकीमा पहिला पहिला घरमा राम्रै छ भनेकी र पछि गएर घरमा सासू ससुरा तथा श्रीमानसमेतले गाली गलौज तथा तनाव दिने गर्दछन् भनेर भनेकी थिइन् । २०५८।२।५ गते मेरो माइती घरबाट मेरो आमाले फोन गरी भनेबाट मात्र मैले निजको मृ्त्यु भएको कुरा थाहा पाई अस्पताल पुग्दा निज बैनी निरू श्रेष्ठ मानन्धरको मृतक लास देखेको हुँ । निजको लास हेर्दा कपाल भिजेर पुछेको जस्तो, ओठ नीलो मुख बन्द
थियो । निजले आत्महत्या गरेकोमा मलाई विश्वास छैन । निजलाई जाहेरीमा लेखिएका व्यक्तिहरूबाट झुण्डाई मारेकामा शंका लाग्दछ भन्ने समेत व्यहोराको मृतककी दिदी रेनुका प्रधानले प्रहरीमा गरेको कागज ।

            मृतक निरू श्रेष्ठ बोर्डिङ स्कूलमा पढाउने काम गर्दै आएकी र म पनि सोही बोर्डिङ स्कूलमा पढाउदैँ आएको हुँदा निजलाई राम्रोसँग चिनेकी थिएँ । निजको विनय मानन्धरसँग २०५६ साल भाद्रमा प्रेम विवाह भएको भन्ने कुरा निज निरूले भनेबाट थाहा पाएकी थिएँ । विवाह भएपछि निजको घरपरिवार निज निरूलाई असहयोग गर्दछन् भन्ने कुरा पनि निज निरूबाट मैले सुनेकी थिएंँ । यस्तैमा २०५८।२।६ गते मेरो स्कूलकी प्रिन्सीपलले मलाई फोन गरी निरू श्रेष्ठ मानन्धरको त झुण्डिएर मृत्यु भएछ , वीर अस्पतालमा छ हामी पनि जाऊँ भनेकाले हामी वीर अस्पतालमा गई हेर्दा निज निरू मृतक अवस्थामा रहेको देखेको हुँ भन्ने समेत व्यहोराको राजेश्वरी  श्रेष्ठले प्रहरीमा गरेको कागज ।

            २०५८।२।५ गते राति खाना खाई आफ्नो घरमा सुतिरहेको अवस्था अ.१०:०० बजेको समयमा मलाई दीपक मानन्धरले एक छिन घरमा जाऊँ भनेकाले म तत्काल गई हेर्दा निरू मानन्धर बेहोस् अवस्थामा भुईमा सुताई राखेको देखी उपचारको लागि अस्पताल लैजान सल्लाह दिएको हुँ । वीर अस्पतालको आकस्मिक कक्षमा उपचार हुँदाहुँदै निजको मृत्यु भएको कुरा थाहा पाऊँ । निज के कुन कारणबाट झुण्डिएकी हुन् मलाई थाहा छैन भन्ने समेत व्यहोराको डा. रामेश्वरमान श्रेष्ठले प्रहरीमा गरेको कागज ।

            विनय मानन्धरसग निरू श्रेष्ठले प्रेमविवाह गरी घरमा ल्याएपछि टीकाटालो तथा भोज भतेर समेत गरेका थिए । पछि गएर निरू मानन्धरसँग निजको सबै घरपरिवारको आपसी मेलमिलाप नभई बारम्बार झैझगडा हुने र सासू ससुराले बारम्बार गाली गलौज गर्छन् भन्ने सुनेका थियौं । यस्तैमा २०५८।२।५ गते साँझ अ.८.०० बजेको समयमा पनि निजहरूको घरमा नै झगडा भएको जस्तो हल्लाखल्ला सुनेका थियौ । निज निरू मानन्धरको आफ्नो घरमा झुण्डी मृत्यु भएको भन्ने कुरा भोलिपल्ट मात्र थाहा पाएका हौँ, के कसरी निजको मृत्यु भयो थाहा छैन भन्ने समेत व्यहोराको प्राय एकै मिलानको घटनास्थल आसपासको मानिसहरूले गरेको कागज ।

            २०५८।२।५ गते साँझ आफ्नै घरको बाहिरी कम्पाउण्डमा बसिरहेको अवस्थामा अन्दाजी १९.२० बजेको समयमा मृतकको घरका मानिसमध्ये एकजनाले निरूलाई बोलाई भान्साबाट तल आऊ भनेको सुनेको थिएँ, त्यसको जवाफमा आफै माथि आए हुन्छ नि भन्ने जवाफ आएको  थियो । त्यसको एक छिनपछि भान्सा कोठामा विवाद शुरू भई केटा मान्छेको आवाजमा बोलाउँदा तल नआउने भन्दै एक आपसमा वादविवाद हुँदा मैले पनि त माथि आउन भनेको थिएँ भन्दै निजहरूको भान्सा कोठामा निकै विवाद भयो । त्यसपछि निरू श्रेष्ठलाई विनयले आफ्नो कोठामा ल्याई तिमीले मलाई छोड्न खोजेको हैन भनी विनयले भन्दै गरेको, निरूले तिम्रो आमा यस्तो उस्तो भनी एक आपसमा झगडा भएको  र विनयले निरू श्रेष्ठको कपाल समाएकोसम्म एक पल्ट झ्यालको पर्दा यताउता हुँदा देखेको हुँ । त्यसपछि एकछिन कोठा शान्त भएको थियो । त्यसको केही समयपछि पुनः निजहरू बीच विभिन्न अपशब्दहरू बोल्दै झैझगडा भएको सुनेको हुँ., त्यसैबेला बत्ति पनि
गयो । त्यसपछि म घरबाहिर दोस्रो घरकोठामा जानलाई गेटमा आउँदा विनयको घरको गेटमा एकजना आईमाई आएको देखें । चिन्न सकिननिजहरूको मूलगेट बन्द थियो । निजहरू बीच प्रेमविवाह भएको थाहा छ । निजहरूको घरमा सधैंजसो साँझ विहान झगडा भएको हल्लाखल्ला सुनिन्थ्यो । निरूको मृत्यु के कसरी भयो थाहा छैन । भोलिपल्ट मृत्यु भएको कुरा थाहा पाएको हुँ भन्ने मेखलाल श्रेष्ठले प्रहरीमा गरेको कागज ।

            मिति २०५८।२।५ गते मृत्यु भएको भनिएका निरू श्रेष्ठको शव परीक्षण आफू र फरेन्सिक मेडिसिन विभागका अन्य दुई जना डाक्टर समेत भै संयुक्त रूपमा गरेका हौँ । त्यसैले प्रतिवेदनमा म समेत तीन जनाको दस्तखत हुन गएको हो । गृह मन्त्रालयले फरेन्सिक मेडिसिन विभागमा कार्यरत तीन जना मेडिकल विशेषज्ञहरूलाई आवश्यक परेमा वोर्ड गठन गरी पोष्टमार्टम गर्न अनुमति दिएअनुसार बोर्डद्वारा गरिएको  हो । शवमा देखिएका सबै बाह्य तथा आन्तरिक घाउ चोट पटक बारे पोष्टमार्टम रिर्पोटमा विस्तृत उल्लेख गरिएको छ । फरेन्सिक मेडिसिन विभागमा कार्यरत् विशेषज्ञहरूले मिति २०५७।८।२२ गतेदेखि नै नियमित रूपमा आवश्यक परेको खण्डमा घटनास्थल निरीक्षण गर्दै आएका हुनाले शव परीक्षणमा देखिएका लक्षणहरू विश्लेषण गर्न घटनास्थल निरीक्षण गर्नु जरूरी देखिएकोले सो गरिएको थियो । यस्तो कार्यले कानूनी प्रमाणिकता पाउने नपाउनेबारे हामी फरेन्सिक मेडिसिन विशेषज्ञहरूलाई अवगत छैन । सम्भव भएमा मृतकका परिवार तथा शव देख्ने मानिसहरूसँग जानकारी लिनु पोष्टमार्टम अर्थात् शव परीक्षणको एक अभिन्न अङ्ग भएको हुनाले मृतकको परिवार तथा अन्य मानिसहरूलाई भेटी जानकारी लिएका थियौँं । निजहरूसँग सोधिएका प्रश्न र पाइएका उत्तरहरूको आधारमा कुनै पनि ठोस निष्कर्ष निकालिएको हैन भन्ने समेत व्यहोराको डा. तुलसी कडेलले प्रहरीमा गरेको कागज ।

            मृतक छोरीको मृत्यु आत्महत्या नभई परिवारका सदस्यहरूबाटै सुनियोजित हत्या भएको हो भन्ने मुकुन्ददास श्रेष्ठको जाहेरी, प्रतिवादीहरूले गरेको वयान कागजसँग प्रहरीमा कागज गर्ने मानिसहरूको भनाई एक आपसमा फरक हुनु, शव परीक्षण प्रतिवेदनबाट झुण्डिएर मरेको व्यक्तिमा हुनुपर्ने कुनै लक्षण नदेखिनु, मृतकका स्कूलका साथी सरिता प्रधान, सोलोमान क्षेत्री, सृजा वैद्य समेतले निरू मानन्धरलाई निजकै घर परिवारका सदस्यहरूले कर्तव्य गरी मारेकोमा शंका लाग्छ भनी लेखाउनुको साथै मृतककी दिदी रेनुका श्रेष्ठले समेत प्रतिवादीहरूले बेला बखतमा यातना दिने गरेको हुँदा मृतकलाई कर्तव्य गरी मारेकोमा विश्वास लाग्छ भनी लेखाएकी, प्रहरीमा कागज गर्ने मेखालाल श्रेष्ठको भनाई समेतबाट मृतक निरूलाई निजका घरपरिवारका सासू प्रेमदेवी, ससुरा दीपक मानन्धर र श्रीमान विनय मानन्धरले नियोजित तरिकाबाट हत्या गरी त्यसलाई आत्महत्याको रूपमा परिणत गर्ने योजना बनाएको तथ्य प्रष्ट हुन आएकोले निज प्रतिवादीहरूले मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं. द्वारा निषेधित तथा सोही महलको १३(३) नं. द्वारा परिभाषित कसूर अपराध गरेको हुँदा निज प्रतिवादीहरू प्रेमदेवी मानन्धर, दीपक मानन्धर र विनय मानन्धरलाई सोही महलको १३ (३) नं. द्वारा व्यवस्थित हदैसम्मको सजाय गरी पाऊँ भन्ने अभियोग पत्र ।

            २०५८।२।५ गते साँझ खाना खाई सकेपछि म र श्रीमती कोठामा गई टि.भी हेरी बसेका
थियौँ । छोरा पनि आफ्नै कोठामा लाग्यो । बुहारी निरू श्रेष्ठ भान्सामा काम गर्दै थिइन । रातको करीब १०:०० बजेतिर अब सुत्नु पर्छ भनी श्रीमतीलाई पानी तताउन पठाई आफूचाहिँ कोठाबाहिर निस्की हेर्दा भान्सा कोठा खुल्लै रहेछ । निरू कहाँ गइन् भनी सोध्दा श्रीमतीले थाहा छैन भनेकीले मैले यताउता हेर्दा अध्यारोमा घरको घुमाउरो भर्‍याङमा बुहारी निरू श्रेष्ठ उभिएको जस्तो लाग्यो, बोलाउँदा बोलिनन् । बत्ति बाली हेर्दा भर्‍याङको पाइपमा साडीको पासो घाँटीमा लगाई झुण्डिएको अवस्थामा देखे, म अत्यासमा परी श्रीमती र छोरालाई बोलाई श्रीमतीले बुहारीलाई उचाली दिइन । मैले पासो फुकाई तल भुईमा राखे । डा. रामेश्वर श्रेष्ठलाई बोलाई निजको सल्लाहअनुसार वीर अस्पतालमा पुर्‍याई तीन पटकसम्म औषधिल्याई उपचार हुँदा हुदै बुहारीको मृत्यु  भयो । मेरो बुहारीले झुण्डिएर आत्महत्या गरेकी हुन् । म समेतले कर्तव्य गरी मारे मराएको होइन । निजलाई मार्नु पर्ने कुनै कारण छैन भन्ने समेत व्यहोराको प्रतिवादी दीपक मानन्धरले अदालतमा गरेको बयान ।

            २०५८।२।५ गते साँझ ८ बजेतिर खाना खाईसकेपछि भान्साकोठाबाट म तल आएं । छोराबुहारी खाना खादै थिएँ । छोरा पनि तल आयो । बुहारी भान्सामा थिइन् । म पानी तताउन माथि गएँ । पानी तताउँदा ढिला भएकोले मेरो श्रीमानमाथि आउँदा कोठामा ढोका नलगाएको देखी कौसीतिर जानु भयो र मलाई बोलाउनु भयो । बुहारी झुण्डिइछ भनी श्रीमानले भन्नु भएको र म गै हेर्दा झुण्डिएको अवस्थामा नै रहेको थियो । श्रीमानले पासो खोली दिनुभयो । त्यसपछि छोरालाई बोलाई डाक्टर ल्याई हस्पिटल लगेकोमा हस्पिटलमा नै मृत्यु भएको हो । मृतक निरू श्रेष्ठ मानन्धरलाई कर्तव्य गरी मारेको होइन । निजले झुण्डिएर आत्महत्या गरेको हो भन्ने समेत व्यहोराको प्रतिवादी प्रेमदेवी मानन्धरले अदालतमा गरेको बयान ।

            मृतक निरू श्रेष्ठसँग २०५६ साल दशैतिर प्रेमविवाह भएको हो । २०५८।२।५ गते बेलुका बुबाले टि.भी. कोठामा खाना खानुभयो । म चाहिँ भान्सा कोठामा गै खाना खाएँ । खाना खाई कोठामा आउँदा ९:३० बजेको थियो । त्यस बखत निरू कुकुरलाई खाना खुवाउँदै थियो । म कोठामा आई खाटमा पल्टिएको थिएँ । सो बेला मेरा आँखा लागे जस्तो भएछ । आमा एकदमै कराउनु
भयो । म माथि गएँ, र्‍याङ मुनी निरूको शरीर लडिरहेको थियो । बुबाले निरू झुण्डिएको थियो, मैले तल झारें भन्नु भयो । मैले भान्सा कोठामा लगी हातले शरीरमा थिची मुखले मुखमा सास दिन थालेँ । बुबाले डाक्टर ल्याई डाक्टरको सल्लाहअनुसार हस्पिटलमा पुर्‍याई औषधि गर्दागर्दै मृत्यु भएको हो । श्रीमती निरूले आफैंले आत्महत्या गरेको हो । हामीले हत्या गरेको होइन । आत्महत्या गर्नु पर्ने कारण केही थिएन । उक्त दिन अफीसको काम घरमा ल्याई गरेको विषयमा सामान्य झगडा भएको थियो भन्ने समेत व्यहोराको प्रतिवादी विनय मानन्धरले अदालतमा गरेको वयान ।

            शुरू ललितपुर जिल्ला अदालतले तीनै जना प्रतिवादीहरूलाई थुनामा राखी कारवाही गर्ने गरी आदेश गरेकोमा अ.वं.१७ नं.वमोजिम परेको निवेदनमा प्रतिवादीहरू प्रेमदेवी मानन्धर र दीपक मानन्धरलाई अ.वं.४७ नं. वमोजिम साधारण तारेखमा राखी कारवाही गर्नु भन्ने पुनरावेदन अदालत पाटनवाट भएको आदेश ।

            घटना भएको दिन जेष्ठ ५ गते बेलुका निरू मानन्धरको घरमा झगडा भै रहेकोसम्म सुनेको हो । के कति कारणले झगडा गरे मलाई थाहा भएन । उनीहरूको बीचमा झगडा भएको आवाज चाहिँ सुनेको हो । निरू मानन्धर मरेको भन्ने खबर भोलिपल्ट बिहान दूध किन्न जाँदा दूध पसलमा सुनेको हो भन्ने समेत व्यहोराको घटनास्थल आसपासका मानिस श्रीकृष्ण श्रेष्ठले गरेको बकपत्र ।

            निरू र मैले सँगै स्कूलमा नियुक्ति लिई काम गरेको हो । २०५६ साल दशैअगाडि उनले विनयसँग प्रेमविवाह गरेकी हुन् । विवाहपछि भेट हुँदा सासू ससुराले गाली गर्नु हुन्छ । विवाह गरेर जाँदा नोकर पनि थियो । म गएपछि निकाली दिए । काम गर्न साह्रै गाह्रो भो भन्थिन् । २०५८।२।६ गते विहान स्कूलको हेडमिसले फोन गरेर निरू मानन्धरको मृत्यु भएकाले हस्पिटल
गयौं । निरू आत्मनिर्भर खालकी केटी  थिइन् । निजले आफै आत्महत्या गरेर मर्नु पर्ने कारण थिएन भन्ने समेत व्यहोराको प्रहरीमा कागज गर्ने राजेश्वरी श्रेष्ठले गरेको बकपत्र ।

            मेरो बहिनी निरूले विवाहपछि मसँग भेट्दा आफूलाई घरमा सासू दिदी र पतिले दिने गरेको शारीरिक तथा मानसिक यातना, माइती घरमा टेलिफोन गर्न बन्देज र माइती पक्षका कुनै पनि नातेदारलाई समेत भेट्न बन्देज लगाइएको कुराले मलाई यो हत्या नै हो भन्ने पूर्ण विश्वास छ । मैले मेरी बहिनीको लास देख्दा उसको नाकबाट आलो रगत बगिरहेको थियो । शरीरभरि नीलडाम थियो । अनुहार सुनिएको र नीलडाम थियो । कपाल छुँदा रगतले भिजेर च्यापच्याप परेको थियो । लगाएको कपडा कुर्था च्यातिएको थियो । झुण्डिने व्यक्तिले आफ्नो कपडा च्यातेर झुण्डिने कुरा आउँदैन । यी आदि कारणले गर्दा मेरो बहिनीको हत्या नै भएको हो भन्ने मलाई विश्वास लाग्दछ भन्ने समेत व्यहोराको प्रहरीमा कागज गर्ने रेविका श्रेष्ठको वकपत्र ।

            प्रतिवादीको र मेरो घर एकै ठाउँमा भएकोले उनीहरूको घरमा भएको झगडा सुनिन्थ्यो । घरमा सधैं जसो कलह हुन्थ्यो । घटना भएको दिन जेष्ठ ५ गते पनि प्रतिवादीहरूको घरमा झगडा हो हल्ला भएको सुनेको हो । तर घटना घटेको भन्ने कुरा भोलिपल्ट मात्र थाहा पाएको हो । छिमेकीहरूले झुण्डिएर मरेको भनेर भने तर कहाँ झुण्डिएर मरेको भन्ने चाहिँ देखिएन । झुण्डिएर मरेको भए प्रहरीमा खबर गर्नु पर्नेमा लास झिकेर ट्याक्सीमा हालेर लगे भन्ने सुनेको हुनाले यो आत्महत्या होइन भन्ने लाग्छ भन्ने समेत व्यहोराको घटनास्थल आसपासको मानिस जया भट्टराईको वकपत्र ।

            दीपक मानन्धरको भनाइअनुसार निरू खिन्न भएर बस्छे । खिन्न हुनुपर्ने कारण माइती जान नपाएर होला भनी दीपकले भन्नु हुन्थ्यो । राम्रो शिक्षित परिवार भएको कारण निरूलाई कर्तव्य गरी मारेको भन्नेमा विश्वास लाग्दैन भन्ने समेत व्यहोराको प्रतिवादी दीपक मानन्धरको साक्षी तोयबहादुर धाख्वाले गरिदिएको बकपत्र ।

            मृतक निरू मानन्धर र म एकदमै मिल्ने साथी थियौं । हामीहरू कक्षा ९ मा पढ्दादेखि विनय र निरूसँग चिनजान भएको हो । २०५६ सालको दशैभन्दा अगाडि निजहरूको विवाह भएको हो । विवाह भएदेखि निरूलाई सासू र आमाजूले गाली गर्ने, हकार्ने गर्दथे । निरू बितेको कुरा स्कूलमा फोन गर्दा थाहा पाएँ । निरू आत्महत्या गर्ने जस्तो महिला थिइनन् । घरपरिवारबाट उसलाई शारीरिक तथा मानसिक यातना दिए पनि उसले त्यसको हाँसी हाँसी सामना गर्दथी । शुरूदेखि नै जस्तोसुकै पीर परे पनि धेरै समयसम्म उ सिरियस भएर बस्दैनथी । निरूको मृत्यु आत्महत्याबाट नभै हत्याबाट नै मृत्यु भएको जस्तो लाग्दछ भन्ने समेत व्यहोराको प्रहरीमा कागज गर्ने निरू रिजालको बकपत्र ।

            निरू मानन्धर विवाह भएपश्चात करीब दुई महिनापछि मेरो घरमा आएकी थिइन । उनलाई सासू, ससुरा,आमाजु, पति समेतले मानसिक दवाव दिने गरेको र दिदी बहिनीसँग भेट गर्दा परिवारले उसलाई यातना दिएको कुरा भन्थिन् । निरू माइती गएको थाहा भएमा तिमीलाई मार्छु भनी धम्की दिएको थियो रे । हत्या हुनु भन्दा करीब २/३ महिनाअगाडि दीपक मानन्धर समेतले निरूलाई कुटपीट गरेको थियो । विनय पनि एकदमै परिवर्तन हुदै गएको थियो भनेर निरूले समय समयमा बताएकी थिई । यस्तै जेष्ठ ५ गते करीब ११ बजेतिर म सुतिरहेको समयमा निरू बित्यो भनी आमाबाट जानकारी पाएपछि वीर अस्पताल पुगी निरूको लास हेर्दा टाउकोमा घाउ भई रगत पखालिएको थियो । ओठ नीलो र ओठमा घाउ, देब्रे पाखुरामा नीलो घाउ भएको, कपडा (कुर्था) च्यातिएको, भित्री चोलो पनि च्यातिएको थियो । नाकबाट आलो रगत बगेको, मुख अनुहार सुनिएको थियो । पहिलादेखिका क्रियाकलापबाट पनि उनको परिवारले निरूको हत्या गरेको हो भन्ने कुरा म किटेर भन्दछु भन्ने समेत व्यहोराको प्रहरीमा कागज गर्ने मृतककी दिदी रेनुका प्रधानको वकपत्र ।

प्रतिवादीका साक्षी कुमार मानन्धर, निरज शाही, सगुन मानन्धर, सजिव मानन्धरले प्रतिवादीहरूले दावीबमोजिमको कसूर गरेकोमा विश्वास लाग्दैन भनी गरेको बकपत्र मिसिल सामेल रहेछ ।

            मिति २०५८।२।५ गते बेलुकी १०/३० बजे विनय मानन्धर भन्ने केटाले म निरूको लोग्ने हुँ । निरू झुण्डिएर मरेकी हुनाले उनको लास वीर अस्पतालमा ल्याएको छ भनी फोन गरेको हुनाले अस्पतालमा गई लास हेर्दा झुण्डिएको कुनै संकेत नभएको, लासको टाउकोमा ठूलो गहिरो चोट लागेको, नाकबाट भलभली आलो रगत बगिरहेको, ओठमा चोट पटक लागेको, कम्मरमा चिथरिएको दाग भएक, कपडा च्यातिएको जस्ता साँघातिक आक्रमणबाट मात्र हुन सक्ने चोट देखिएकोले सो काण्ड आत्महत्या नभै कर्तव्य गरी ज्यान मारेकामा म विश्वस्त छु । निरूको सासू ससुरा पतिले २०५८।३।५ गते ल.पु.जि.अ.मा हत्याकाण्ड बारे पूरै झूठ्ठा बयान दिई हत्यालाई आत्महत्यामा परिणत गर्ने प्रयास गरेको मिसिलमा भएको बयानबाट स्पष्ट हुन्छ । निरूलाई विवाह गरी भित्र्याइसकेपछि करीब डेढ महिनादेखि शारीरिक र मानसिक यातना दिइने कुरा मृतकले बराबर आफ्ना साथीहरूलाई भन्ने गरेबाट पनि र झुण्डिएर मरेको भनिएको फलामको घुमाउरो भर्‍याङमा जहाँ पासो लगाए पनि पासो नअड्ने र खुट्टाले भुइमा छुने कुरा प्रष्ट देखिन्छ । जसबाट पनि सो काण्ड आत्महत्या नभै हत्या नै सावित हुन्छ । विनय मानन्धरले आफूले प्रेम गरी ल्याएकी केटीलाई सुरक्षा र संरक्षण दिन नसक्ने स्थिति दीपक मानन्धरले बुहारीलाई घरायसी इन्साफ दिन नसक्ने जस्ता कुराहरू नै हत्याका मुख्य आधारहरू हुन् । २०५८।२।६ गते वीर अस्पतालमा लिइएको सजीव तस्वीरहरू जसमा नाकबाट आलो रगत बगिरहेको, टाउकोमा ठूलो घाउचोट लागेको पेटमा चिथरिएको दाग भएकोले लगाएको कुर्था काखी मुनीदेखि तलसम्म च्यातिएको जस्ता प्रमाणको अलावा दीपक मानन्धरका छिमेकीहरूले सधै जसो उनको सासू प्रेमदेवीले निरूलाई शारीरिक तथा मानसिक यातना दिने गरेका कुराहरू र निरूको साथीहरूले प्रहरीमा तथा अदालतमा दिएका बयान कागजका आधारमा मेरी छोरीको हत्या नै भएको हो । हत्यामा समाविष्ट सबै अभियुक्तहरूलाई सजाय होस् भन्ने समेत व्यहोराको जाहेरवाला मुकुन्ददास श्रेष्ठको बकपत्र ।

            लासको प्रकृति हेर्दा कर्तव्य गरी मारेको देखिन्छ । आफ्नो आँखाले देखेको होइन । मृतकको शरीरलाई पल्टाएर हेर्दा ढाडमा नीलडाम देखिएको थियो । नाकबाट रगत बगेको, ढाडमा ससाना नीलडाम देखिएकोले सोही आधारमा कर्तव्य गरी मारेको भन्ने विश्वास गरेको हो । लास हेर्दा कसैले कर्तव्य गरी मारेकै देखिन्छ । अरू मानिसहरूको भनाई सुन्दा कर्तव्य नै जस्तो लाग्छ । नाकबाट रगत बगेको देखेको हुँ भन्ने समेत व्यहोराको लास जाँच प्रकृति मुचुल्काका मानिसहरू भुवनेश्वर श्रेष्ठ, मेनका श्रेष्ठ, महेन्द्रलाल प्रधान, प्रल्हाद भुजेल समेतले गरेको प्राय एकै मिलानको छुट्टाछुट्टै वकपत्र ।

                        निरूको मृत्यु भयो भन्ने घटना घटेको कुरा मिति २०५८।२।५ गते राति अं.१०।११ बजेतिर आमा प्रेमदेवीले फोनबाट जानकारी दिनु भएको थियो । निरूको लास देख्दा वीर अस्पतालमा दीपक मानन्धर, विनय मानन्धर र मृतकसँगै थिए । सासू प्रेमदेवी वीर अस्पतालबाहिरबाट आउँदै हुनुहुन्थ्यो । साधारणतया मृतकको शरीरमा बाहिरी चोट पटकहरू नदेखिएकोले लासको प्रकृति हेर्दा आफूले आत्महत्या नै गरेर मरेको जस्तो लाग्छ भन्ने समेत व्यहोराको लास प्रकृति मुचुल्काका मानिस सगुन मानन्धरको वकपत्र ।

                        लासमा भएका विभत्स कुटपीटका लक्षणहरू, नाकबाट भलभल्ती आलो रगत बगेको, लगाई राखेको कपडा काखी मुनीदेखि विभत्स रूपमा च्यातिएको, ओठ सुन्निएको लास परीक्षण गर्ने प्रहरीले मृतकको टाउको हल्लाउँदा गर्धन नहल्लिएको, ककरक्क परेको, टाउकोमा रौं केही भिजेको जस्तो र केही धोई पखाली गरे जस्तो शंकास्पद अवस्थामा लास भएकोले लास प्रकृति हेर्दा मृतक माथि कर्तव्यपूर्वक सांघातिक हमला गरी कुटपीट गरी गराएका प्रशस्त लक्षणहरू देखिएकोले मृतकलाई कर्तव्य गरी मारेको देखिन्छ । आत्महत्या सम्बन्धी कुनै पनि लक्षण देखिदैन भन्ने समेत व्यहोराको लास प्रकृति मुचुल्काका मानिस केशवदास श्रेष्ठले गरेको वकपत्र ।

            २०५८।२।५ गते मृतकको ससुराले अं.९।१० बजेतिर राति खबर गरेकाले म निरू श्रेष्ठको घरमा पुग्दा मृतकका सासू, ससुरा र छोरा थिए । निरू श्रेष्ठलाई घरको तेस्रो तल्लामा उतानो पारेर सुताई राखेको थियो । निजको शरीर पानीले भिजेको थियो । मैले नाडी छाम्दा
भेटिन । तुरून्त अस्पताल लैजाने सल्लाह दिएं । मृतकको परिबार र मसमेत भई अस्पताल
पुर्‍यायौं । ई.सि.जीं गरेपछि बाँचेको छैन भनेपछि म फर्किए भन्ने समेत व्यहोराको प्रहरीसमक्ष कागज गर्ने डा. रामेश्वरमान श्रेष्ठको वकपत्र ।

            मिति २०५८।२।५ गते साँझ म घरमा थिएँ । निरू श्रेष्ठको घरमा घटनाभन्दा अगाडिका दिनहरूमा साधारण झगडा भएको चाहिँ कहिलेकाहीँ सुनिने गर्थ्यो । जुन दिन घटना भयो सो दिन मलाई केही थाहा छैन र मृतक निरू श्रेष्ठ मानन्धरको मृत्युको सम्बन्धमा मलाई केही जानकारी छैन भन्ने समेत व्यहोराको अ.व.११५ नं. बमोजिम बुझिएका मानिस द्रोणविक्रम थापाको वकपत्र ।

            तक वहिनीका घरमा दिनदिनै झगडा हुन्थ्यो भन्ने कुरा मृतकले पहिला पहिला फोन गरी भन्ने गर्दथिन् । सोही कारणबाट उक्त घटना भएको हो जस्तो लाग्छ । मिति २०५८।२।२० गते मैले प्रहरीमा गरेको कागज मैले भनेबमोजिम लेखिएको हो भन्ने समेत व्यहोराको अ.वं.११५ न.बमोजिम बुझिएकी मनिका श्रेष्ठले गरेको बकपत्र ।

            दीपक मानन्धरको परिवार शिक्षित भलाद्‌मी भएकोले उनीहरूको परिवारबीच राम्रो सम्बन्ध देखेको थिएं । कर्तव्य गरी मारेको भन्ने आरोप झूठ्ठा हो । कर्तव्य गरी मारेको भनेकोमा मलाई विश्वास लाग्दैन । निरूलाई प्रतिवादीहरूले कर्तव्य गरी मारेको भन्ने कुरामा विश्वास छैन । विनयको परिवारले निरूलाई बुहारीभन्दा छोरीको दर्जामा राखी व्यवहार गर्दै आएका थिए । अभियोग झुठ्ठा हो, उहाँहरू कदापी आफ्नो बुहारीको हत्या गर्ने स्वभावको हुनुहुन्न । विनयले निरूलाई विवाह गरेर ल्याईसकेपछि सोही दिन रातमा निरूको माइती घरमा निरूको बाबुलाई जानकारी गराएको थियो । माइतीमा निरूलाई भित्र्याउने काम भएन । प्रतिवादीहरूले निरूलाई कर्तव्य गरी मारेको हुँदै होइन । कर्तव्य गरी मारेको भए शरीरमा दाग चोटपटक हुनुपर्ने थियो सो केही छैन भन्ने समेत व्यहोराको प्रतिवादीका साक्षीहरू तोयबहादुर धाख्वा, कुमार मानन्धर निरज शाही, सगुन मानन्धर, सँजिव मानन्धर समेतले गरेको प्राय एकै मिलानको छुट्टा छुट्टै बकपत्र ।

            २०५८।२।५ गते वीर अस्पतालको इमरजेन्सी कक्षमा कार्यरत थिएँ । रातिको १०:१५ बजे सुसाइड गर्नु भयो भनी मृतकलाई निजको श्रीमान विनय र पिता दीपक मानन्धरले ल्याउनु भएको, स्वास प्रश्वास नपाइएको, वी.पी. नभेटिएको, आँखाको नानी पूरै फुलेको, लाइटले हेर्दा प्रकाशमा असर नभएको Consneal Reflexes नभएको, मुख र हातहरू सुन्निएको घाँटीको अगाडिको भागमा दुबै तर्डाम भएको घाँटीमा तल्लो बंगराको कोठासम्म डाम भएको, सी.पी. आर गरिएको त्यस पछि राति ११ बजे ई.सी.जी. गरिएको र बिरामीलाई मृतक घोषित गरिएको, औषधि प्रयोग गर्न पाएका
थिएनौं । निरूलाई अस्पताल ल्याउँदा निजको शरीरमा हिंसात्मक कुनै लक्षण थिएन र कपडा पनि च्यातिएको थिएन भन्ने समेत व्यहोराको शव परीक्षण गर्ने डा. पुष्कर पोखरेलको वकपत्र ।

            लास जाँच प्रतिवेदन मसमेत भै तयार गरिएको हो । निचोडमा पुग्नको लागि मुख्य रूपमा लासमा देखिएका लक्षणहरू, वीर अस्पताल इमरजेन्सीमा रेकर्ड गरिएको अवस्था, प्रहरीको लास जाँच प्रकृति मुचुल्का मुख्य आधार हुन् । यीदेखि बाहेक घटनास्थलको अवस्थाको बारेमा प्राप्त भएका सूचनाहरू पनि सहायक आधार हुन् । मृत्यु जुनसुकै कारणले भएपनि मृत्यु भएको ८।१० घण्टापछि मृत शरीरको आन्तरिक डिकमपोजिशन हुने भएको हुँदा रगत त हैन रगत जस्तो देखिने तरल पदार्थ मृतकको नाक मुखबाट बाहिर निस्किन शुरू गर्दछ । जसलाई (Purging) भनिन्छ । तसर्थ वीर अस्पतालको इमरजेन्सीमा नदेखिएको उक्त लक्षण समय विति सकेपछिको प्रकृति मुचुल्का र लास जाँचको समयमा देखिएको हो । त्यसैले शव परीक्षण प्रतिवेदनको व्याख्यामा पोष्टमार्टममा आर्टी फ्ल्याट भनी लेखिएको छ । मृतक लासमा देखिएका चोट पटकहरू सामान्य बाहिरी चोट मात्र पाइएकोले उक्त चोटहरू मृत्युको कारक बन्न सक्ने अवस्थाका होइनन् । चिकित्सा विधिशास्त्रअनुसार लास जाँच गरिदा मृतकमा पाइएका वाह्य तथा आन्तरिक लक्षणहरू नै मृत्युको कारण पत्ता लगाउने मुख्य आधार हुन् तथापि कतिपय अवस्थामा घटनास्थल तथा लासजाँच मुचुल्काको पनि सहयोग लिनु पर्ने हुन्छ । वस्तुगत रूपमा कुनै पनि तथ्यहरू लास जाँच गर्दा पाइएका लक्षणहरूसँग कोरोवोरेट गर्दछन् भने मात्र त्यस्ता तथ्यहरू रायको सहायकको रूपमा लिइन्छन् । लास जाँच प्रतिवेदनमा मृत्युको कारण महलमा उल्लेख गरेको (Hanging) नै निजको मृत्युको कारण हो भन्ने समेत व्यहोराको शव परीक्षण गर्ने डा. हरिहर वस्तीको वकपत्र ।

            मृतक निरू श्रेष्ठको लास जाँच गर्दा निजको नाकबाट रगत आएको, मुख र घाँटी शरीरको अरू अङ्गको तुलनामा बढी 'Congested'  थियो । आँखा 'Congested' थिए । तल्लो ओठमा र माथिल्लो ओठमा केही 'Abraslons' थिए । बाँया पाखुराको भित्री भागमा २ वटा १/२ से.मी. का नीलडाम थिए । टाउको माथि छालाभित्र र खप्परबाहिर ३ से.मी.को नीलडाम थियो । खप्परमा र भित्री गिदीमा कुनै चोटहरू थिएनन् । घाँटीको छाला फर्काई हेर्दा कुनै चोट थिएन । फोक्सोमा छरिएका केही 'Petechial hemorrhages' थिए । मुटुको सतह (अगाडिपट्टिको) पनि केही केही 'Petechial hemorrhages' थिए । शरीरको अरू कुनै भित्री तथा बाहिरी भागमा कुनै चोटहरू   थिएनन । मृतक लासमा देखिएको लक्षणहरू नै मृतक निरू झुण्डिएर मरेका भन्ने लक्षणहरू हुन् । लास जाँच प्रतिवेदनमा उल्लिखित भए झैं मृत्युको कारण झुण्डिएर भएको हो भन्ने समेत व्यहोराको शव परीक्षण गर्ने डा. तुलसी कडेलले गरेको वकपत्र ।

            निरू श्रेष्ठको शव परीक्षण अघि घटनास्थलमा मेरो संलग्न थिएन । निजलाई जाँचिएको टिकट र शव परीक्षणको आधारमा प्रतिवेदन तयार पारिएको हो, प्रतिवेदन तयार गर्दा हामी तीन चिकित्सक र प्रो.च्यापमेनसँग पनि सल्लाह गरिएको थियो । शरीरमा देखिएका वाहिरी चोट पटकहरू मृत्युका लागि अपर्याप्त थिए । शव परीक्षण प्रतिवेदनमा उल्लिखित मृत्युको कारण झुण्डिएर हो भन्ने समेत व्यहोराको शव परीक्षण गर्ने डा. प्रमोदकुमार श्रेष्ठको वकपत्र ।

            मिति २०५८।२।५ का दिन रत्न कंसाकारको घरमा थिएँ । निरू श्रेष्ठको घरमा ठूला ठूला आवाज सधै आइ नै रहन्थ्यो, त्यसदिन पनि मैले आवाज मात्र सुनेको हुँ । अनुसन्धानको क्रममा २०५८।२।२९ गते लेखाएको कागजको व्यहोरा मेरो राजीखुसीले लेखिएको, लेखिसकेपछि पढिन, उक्त कागज गर्नमा कसैको धाकधम्की थिएन । उक्त मिति २०५८।२।५ गते ७.२० देखि ८.४५ वजेसम्म घरी रोकिने घरी ठूलो आवाजमा भनाभन गर्ने क्रम जारी थियो भन्ने समेत व्यहोराको अ.वं.११५ नं. वमोजिम वुझिएका मेखलाल श्रेष्ठको वकपत्र ।

            मृतक निरू श्रेष्ठको लास पोष्टमार्टम डा. तुल्सी कंडेलले गरेको र म कन्सल्टेण्ट           (सल्लाहकार) को रूपमा थिएं । सल्लाहकारको नाताले मैले मृत्युको कारण भनिन । तर लास जाँच परीक्षण प्रतिवेदनमा भएको पत्ता लगाएको तथ्यहरू पश्चात निकालिएको निष्कर्षमा सहमत
जनाएँ । मैले सल्लाह डा. कडेंललाई दिएको हुं । डा.तुल्सी कडेंलको शव परीक्षण प्रतिवेदनमा उल्लिखित  'Findings'  तथ्यहरूको आधारमा मैले सल्लाह दिएको हुँ । 'Findings' गलत भए सल्लाह पनि  गलत र 'Findings' ठीक भए सल्लाह पनि ठीक हुन्छ भन्ने समेत व्यहोराको पोष्टमार्टममा सहभागी डा. ऐ.जे. च्यापमेनले गरेको वकपत्र ।

            यसमा प्रतिवादी दीपक मानन्धर र प्रेमदेवी मानन्धरले अधिकार प्राप्त अधिकारी समक्ष र अदालतमा समेत वयान गर्दा आफूहरूले मृतक निरू मानन्धरलाई कर्तव्य गरी मारे मराएको छैन भनी कसूर गरेमा पूर्ण इन्कार भै बयान गरेको पाइन्छ । मृतक निरू मानन्धरलाई यी प्रतिवादी दीपक मानन्धर र प्रेमदेवीले चोट छोडेको वा अन्य त्यस्तो कुनै कार्य गरेको भन्ने मिसिल संलग्न प्रमाणबाट नदेखिएको, वादी नेपाल सरकार पक्षले पनि अभियोगपत्रमा यीनै प्रतिवादी दीपक मानन्धर र प्रेमदेवीले चोट छोडेको भनी उल्लेख गर्न नसकी वादी पक्षको कुनै पनि गवाहले यी प्रतिवादीहरूले कर्तव्य गरी मारेको वा प्रत्यक्ष मृतक र यी प्रतिवादीबीच झैझगडा भएको देखेको भनी भन्न नसकेको र अन्य कुनै स्वतन्त्र प्रमाणबाट यी प्रतिवादीहरूले मृतक निरू मानन्धरलाई कर्तव्य गरी मारेको भन्ने ठोस र भरपर्दो प्रमाण बादी पक्षले गुजार्न नसकेको हुँदा प्रमाणको अभावमा प्रतिवादी दीपक मानन्धर र प्रेमदेवी मानन्धरले सफाइ पाउने ठहर्छ ।

            प्रतिवादीमध्येको विनय मानन्धरले आरोपित कसूर गरेकोमा अधिकार प्राप्त अधिकारी तथा अदालत समक्ष इन्कार रही बयान गरेतापनि मृतक आफैं झुण्डी मर्नुपर्नेसम्मको उचित र पर्याप्त कारण यी प्रतिवादीले आफ्नो वयानमा खुलाउन सकेको पाइदैन । प्रतिवादीले वारदातको समयमा आफ्नो घरमा निज मृतकसँग कुनै झैझगडा नभएको भनी दावी लिएता पनि प्रतिवादीका छिमेकी मेखलाल श्रेष्ठले अधिकार प्राप्त अधिकारीसमक्ष कागज गर्दा वारदातको दिन आफ्नो घरमा बसी रहेको अवस्थामा प्रतिवादीमध्ये विनय मानन्धरले मृतक निरूलाई तल आउन भनेको र मृतकले माथि नै आऊ भनेपछि निज विनयमाथि गई भान्सा कोठामा निक्कै विवाद भएको र त्यसपछि आफ्नो कोठामा ल्याई तिमीले मलाई छोड्न खोजेको होइन भन्दै निज विनयले मृतकको कपाल समाएको देखेको हुँ, भनी लेखाई दिएको र सो कुरालाई अदालतमा आई वकपत्र गर्दा समेत लेखाई दिएको देखिन्छ । घटनास्थल भनिएको भर्‍याङ र निज झुण्डिएको भनिएको स्टिलको भर्‍याङबाट पासो लगाई झुण्डिएको अवस्थामा झुण्डिएको व्यक्तिको सामान्यतया घाँटीको हाड भाँचिएको हुनुपर्ने, मृतकको घाँटीमा झुण्डिन प्रयोग भएको बस्तुको डाम हुनु पर्ने, शव परीक्षण प्रतिवेदनबाट त्यस्तो कुनै लक्षण देखिदैन । शव परीक्षण प्रतिवेदनबाट मृतकको घाँटीमा झुण्डिएको बस्तुको कुनै डाम समेत देखिदैन । 'Autopsy Report' बाट मृतकको शरीरको बाहिरी भागमा विभिन्न ठाउँमा घा चोटपटकलागेको देखिन्छ । साथै मृतक र प्रतिवादीहरू वीचको सम्बन्ध पहिलेदेखि नै नराम्रो थियो भनी अनुसन्धानको क्रममा बुझिएका व्यक्तिहरूले अदालतसमक्ष गरेको वकपत्र समेतबाट पुष्टि भइरहेको  देखिन्छ । झुण्डिएको अवस्थामा मृतकलाई फेला पारेको थियो भने निजको शरीरमा त्यस प्रकारको घाचोट हुन सक्ने थिएन । तसर्थ माथि उल्लिखित तथ्ययुक्त कारण एवं परिस्थिती जन्य प्रमाण समेतबाट मृतक निरू मानन्धरको मृत्यु प्रतिवादी विनय मानन्धरकै कर्तव्यबाट भएको देखिएको पुष्टि हुन आएकोले मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) नं. अनुसार प्रतिवादी विनय मानन्धरलाई जन्मकैद हुने ठहर्छ भन्ने समेत व्यहोराको मिति २०५९।११।१९ को शुरू ललितपुर जिल्ला अदालतको फैसला ।

            मैले मृतकलाई यो यसरी यो चोट छाडेको वा यो यसरी ज्यान जाने कार्य गरेको वा यस्तो चोट छाडेको र त्यसबाट मृतकको मृत्यु भएको भन्ने कुरा फैसलामा एक शव्द पनि नबोली आत्मनिष्ठ विवेचना र गलत तर्क उल्लेख गरी मलाई कसूरदार ठहर गरेको फैसलामा चित्त
बुझेन । मृतकले आत्महत्या गरी मर्नु पर्ने कारण मैले वयानमा खुलाउन नसकेको भन्ने कारणले मैले मृतकलाई कर्तव्य गरी मारेको भनी जन्म कैदको सजाय गर्न मिल्दैन । मेखलाल श्रेष्ठले अधिकार प्राप्त अधिकारीसमक्ष कागज गर्दा उक्त राति मैले मृतक निरू मानन्धरको कपाल तानेको कुरो मेरो कोठाको पर्दा हल्लिदा देखे भनी उल्लेख गरेको तथ्य आफैंमा पत्यारलायक छैन भने मेखलालले कति टाढाको घरबाट देखेको हो । निज बसेको घरबाट म बस्ने कोठा देखिने नदेखिने के हो भन्ने तथ्ययुक्त आधार पनि निजको कागजमा उल्लेख छैन । निजले मैले निरू मानन्धरलाई कुटपीट गरेको एवं सांघातिक हमला गरेको देखेको भन्ने कुनै पनि प्रत्यक्ष प्रमाण रहेको छैन । निजको मृत्यु झुण्डिएर भएको भन्ने तथ्य शव परीक्षण गर्ने चिकित्सकहरूको अखण्डित रूपमा रहेको र अदालतसमक्षको वकपत्रबाट पनि झुण्डिएर मृत्यु भएको भन्ने कुरालाई स्थापित गरे भएको देखिएको अवस्थामा मलाई सजाय गर्ने गरी भए गरेको शुरू जिल्ला अदालतको फैसला मिलेको नदेखिंदा सो फैसला वदर गरी आरोपित कसूरबाट सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी विनय मानन्धरको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।

            मृतक र मृतकको सासू प्रेमदेवी बीच प्रतिवादी विनयले मृतक निरूलाई श्रीमती बनाई घरमा भित्र्याएपछि बारम्बार झगडा हुने, सानो तिनो गल्ती हुँदा पनि ठूलै गल्ती गरे जस्तो गरी घर परिवारबाट गाली गलौज कुटपीट गर्ने जस्ता कारण र अवस्थाबाट निरूको हत्या घर परिवारका सदस्यबाट भएको भन्ने बुझिएका रेविका श्रेष्ठ, मनिका श्रेष्ठ, सृजा वैद्य र जाहेरवाला समेतको कागजबाट देखिदा निरू श्रेष्ठको हत्या गर्नमा प्रेमदेवी र दीपक मानन्धरको पनि संलग्नता प्रष्ट रूपमा देखिएको छ । यी प्रतिवादीहरूको सो घटनामा प्रत्यक्ष संलग्नता देखिंदा देखिदै पनि शुरूबाट परिस्थितिजन्य प्रमाणको बस्तुपरक ढङ्गले मूल्याङ्कन नगरी प्र. दीपक मानन्धर र प्रेमदेवी मानन्धरलाई सफाइ दिएको फैसला त्रुटिपूर्ण हुँदा सो हदसम्म शुरूको फैसला वदर गरी निजहरूलाई समेत शुरू अभियोग दावीबमोजिम सजाय गरी पाऊँ भन्ने वादी नेपाल सरकारको तर्फबाट पुनरावदेन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।

            यसमा मृतक निरूको मृत्यु झुण्डिएर भएको भन्ने कुरा शव परीक्षण प्रतिवेदनबाट देखिनुका साथै प्रतिवादीहरूले प्रहरी समक्ष समेत अपराधमा सावित भएको नदेखिए पनि प्रतिवादी विनय मानन्धरलाई परिस्थितिजन्य प्रमाणका आधारमा एकातिर जन्मकैद हुने र अर्कोतिर प्रतिवादीहरू दीपक मानन्धर एवं प्रेमदेवी मानन्धरलाई सफाइ दिने ठहर्‍याएको शुरू ललितपुर जिल्ला अदालतको फैसला फरक पर्न सक्ने हुनाले अ.व.२०२ नं. तथा पु.वे.अ. नियमावली २०४८ को नियम ४७ बमोजिम प्रतिवादी विनय मानन्धर तर्फबाट परेको पुनरावेदन सम्बन्धमा पुनरावेदन सरकारी वकील कार्यालय पाटनलाई छलफलमा उपस्थित हुन सूचना दिई तथा नेपाल सरकारतर्बाट परेको पुनरावेदनका सम्बन्धमा प्रत्यर्थीहरू समेतलाई झिकाई उपस्थित भए वा अवधि व्यतीत भएपछि नियमानुसार गरी पेश गर्नु भन्ने पुनरावेदन अदालत, पाटनको आदेश ।

            यसमा आत्महत्या गर्दा पिशाब वा दिशा निस्कनु,  जीब्रो बाहिर निस्कनु आँखा बाहिर निस्कनु जस्ता लक्षण देखिनु पर्नेमा शव परीक्षण प्रतिवेदन, लास जाँच मुचुल्का आदिबाट त्यस्तो देखिँदैन । 'Hanging Suicide' मा मेरूदण्ड भाँचिएर, श्वास रोकिएर वा घाँटीको हड्डी छिनेर हुनुपर्ने जस्ता सामान्य लक्षण पनि देखिदैन । यस्तो अवस्थामा 'Cause of Death is Hanging' भनी चिकित्सकहरूले दिएको 'Autopsy Report' सँगको यो इजलास सहमत हुन सकिने अवस्था रहेन । मृतक निरू श्रेष्ठ मानन्धरको मृत शरीर  प्रस्तुत मुद्दाका प्रतिवादी दीपक मानन्धर र प्रेमदेवी मानन्धरबाहेक कुनै पनि व्यक्तिले देखेको भन्ने छैन र घटनास्थल भनिएको ठाउँमा मृतकलाई प्रतिवादीहरू भन्दा बाहेक सर्वप्रथम देख्ने डा. रामेश्वर श्रेष्ठले पनि मृतक निरू श्रेष्ठलाई कोठाभित्र सुताएको अवस्थामा देखेको भन्ने देखिन्छ । यी तथ्यहरूबाट मृतक निरू श्रेष्ठ झुण्डिई आत्महत्या गरेको भन्ने देखिन आएन । मृत र यी प्रतिवादी विनय मानन्धरबीचको सम्बन्ध राम्रो नभएको भन्ने कुरा निजका दिदीहरू रेविका श्रेष्ठ , मनिका श्रेष्ठ र रेनुका प्रधान तथा मृतककी साथी निरू रिजालले प्रहरीसमक्ष गरेको कागजलाई अदालतमा आई वकपत्र गर्दा समेत समर्थन गरेवाट पुष्टि हुन्छ ।  प्रतिवादी विनय मानन्धर र मृतक निरू श्रेष्ठका वीच झै झगडा भनाभन भएको सुन्ने र हातपात गरेको देख्ने चश्मदिद मेखलाल श्रेष्ठले अधिकार प्राप्त अधिकारी समक्ष कागज गर्दा वारदातका दिन साँझ अ. १९.०० बजेको समयमा प्रतिवादी र मृतकबीच निकै विवाद भएको र त्यसपछि आफ्नो कोठामा ल्याई तिमीले मलाई छोड्न खोजेको होइन भन्दै निज विनय मानन्धरले मृतकको कपाल समाएको झ्यालको पर्दा यताउता हुँदा देखेको हुं । त्यसपछि कोठा शान्त भै पुनः निजहरू बीच झगडा भएको र त्यसै बेला बत्ति निभेको भनी गरेको कागजलाई अदालतमा उपस्थित भई वकपत्र गर्दा स्वीकार गरेबाट पनि सो दिन मृतक निरू र आफू वीच कुनै झगडा भएको थिएन भन्ने प्रतिवादी विनय मानन्धरको भनाई विश्वसनिय देखिएन । तसर्थ माथि उल्लिखित तथ्यहरूको आधारमा निज प्रतिवादी विनय मानन्धरले निरू मानन्धरलाई सामान्य रूपमा नै कुटपीट गर्दा निजको मृत्यु हुन गएको देखिएको र त्यस्तो वारदातलाई झुण्डी आत्महत्या गरेको भन्ने बहाना बाजी गरेको संलग्न संघर्षरत स्थितिमा फिता खुस्किएका चप्पल समेतका परिस्थितिजन्य प्रमाणबाट पुष्टि हुन आएबाट प्रतिवादी विनय मानन्धरले निरू श्रेष्ठ (मानन्धर) लाई  कर्तव्य गरी मारेको देखिन आयो ।

            प्रत्यक्षदर्शी भनिएका मेखलालको भनाइबाट पनि प्रतिवादीहरू दीपक मानन्धर र प्रेमदेवी मानन्धरको मृतक निरू श्रेष्ठलाई कर्तव्य गरी मार्ने अपराधमा संलग्नता रहेको देखिदैन । मिसिल संलग्न अन्य प्रमाणबाट पनि मृतक निरू श्रेष्ठ मानन्धरलाई प्रतिवादी दीपक मानन्धर र प्रेमदेवीले कुनै चोट छोडेको वा कार्य गरेको भन्ने देखिँदैन । वादी पक्षका साक्षीहरूले पनि यी प्रतिवादीहरूले यो यस्तो कार्य गरी निरू श्रेष्ठको कर्तव्य गरी मारेको भनी किटान गर्न नसकेको स्थितिमा अभियोग दावीअनुसार प्रतिवादीहरू दीपक मानन्धर र प्रेमदेवी मानन्धरले मृतक निरू श्रेष्ठ मानन्धरलाई कर्तव्य गरी हत्या गरेको देखिएन ।

            अतः प्रतिवादीमध्येको विनय मानन्धरले आरोपित कसूर गरेको ठहर्‍याई निजलाई मुलकी ऐन ज्यान सम्बन्धी महलको १३(३) नं. बमोजिम जन्म कैद हुने र अन्य प्रतिवादीहरू दीपक मानन्धर र प्रेमदेवी मानन्धरलाई सफाइ दिने गरेको हदसम्म शुरू ललितपुर जिल्ला अदालतको ०५९।११।१९ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ ।

            प्रतिवादी विनय मानन्धरलाई उल्लेख भएअनुसार जन्मकैद हुने ठहरे पनि वारदात भएको स्थान, वारदात भएको अवस्था र प्रकृति एवं वारदातलाई पुष्टि गर्ने भनिएका चिकित्सकको अस्पष्ट राय तथा प्रतिवादीको उमेर समेतका आधारमा प्रतिवादीलाई उक्त ठहरेबमोजिमको जन्म कैदको सजाय गर्दा चर्को पर्ने देखिएकोले निजलाई पाँचवर्ष मात्र कैदको सजाय गर्न उपयुक्त देखिँदा अ.वं. १८८ नं. बमोजिम राय समेत जाहेर गरिएको छ  भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति २०६०।१०।१३ को फैसला ।

            पुनरावेदन अदालत पाटनबाट मलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) नं. अन्तर्गतको कसूरदार ठहर गर्दा मृतक निरू मानन्धरलाई कर्तव्य गरी हत्या गरेको बारेमा कुनै पनि आधारहरू उल्लेख छैन । मेरो कुन कार्यले मृतकको ज्यान गएको भनी मेरो आपराधिक कार्य नै निश्चित र यकीन नगरी मलाई कसूरदार ठहर गर्न मिल्दैन । आफ्नो पत्नीलाई कर्तव्य गरी मारेको वा ज्यान लिने सम्मको इवी अदावत राखी झै झगडा भएको भन्ने देख्ने प्रत्यक्षदर्शी कुनै पनि व्यक्ति छैन । मृतकलाई कर्तव्य गरी मारेको भन्ने प्रमाणित गर्ने कुनै पनि प्रत्यक्ष ठोस एवं वस्तुनिष्ठ प्रमाणहरूको सर्वथा अभाव छ । तथ्य र परिस्थितिहरूको नितान्त गलत र भ्रामक अर्थ गरी झुण्डिएको कारणबाट मृत्यु भएको आत्महत्याको वारदातलाई कर्तव्यद्वारा हत्या गरिएको भनी सजाय ठहर गरेको फैसला गलत छ । शव परीक्षण प्रतिवेदनमा मृतक निरू मानन्धरको घाँटीमा 'Ligature Pressure' (पासोको डाम) रहेको भन्ने प्रष्ट रूपमा उल्लेख भएको र शव परीक्षण गर्ने चिकित्सकहरूको टोलीले सो कुरालाई अदालतमा आई वकपत्र गरी पुष्टि गरिदिएको अवस्थामा निरू मानन्धरको घाँटीमा पासोको डाम नभएकोले निजको मृत्यु आत्महत्याबाट नभै कर्तव्यबाट भएको भन्ने आधार बनाई गरिएको निर्णय चिकित्सा विधीशास्त्रीय दृष्टिकोणबाट समेत त्रुटिपूर्ण छ । साथै प्रहरीमा कागज गर्ने रेनुका प्रधान समेतले अदालतमा वकपत्र गर्दा निरू मानन्धरलाई कर्तव्य गरी मारेको भन्ने विश्वास गर्न सकिने कुनै पनि तथ्यगत कुराहरू व्यक्त गर्न सकेका छैनन् । पारिवारिक सम्बन्ध सुमधुर रहन नसकेको भन्ने आधार बनाई कर्तव्य गरी मारेको हुनुपर्छ भन्ने शङ्का र अनुमानको आधारमा सजाय ठहर गर्न मिल्ने होइन । पति पत्नीबीच ज्यान लिनु पर्ने कुनै नराम्रो रिस इवी र झै झगडा भएको भन्ने कहीँबाट देखिँदैन । मेरो कुन कार्य वा चाहेको परिणामबाट मृतकको मृत्यु हुन गएको हो भन्ने स्पष्ट ठोस आधार र कारण फैसलामा उल्लेख हुन नसकेबाट दावी प्रमाणित हुन नसकेको स्पष्ट हुन आउँदछ । सामान्य चोट पटकबाट मृत्यु भएको भनिएको छ, तर मृत्युको कारण शव परीक्षण प्रतिवेदनमा झुण्डिई मरेको भन्ने उल्लेख  छ । कुटपीटबाट ज्यान जाने कुनै पनि चोट पटकहरू मृतकको शरीरमा परेको छैन । जुन चोटहरू छन् , ती पनि मृत्युको लागि अपर्याप्त छन् भनी विशेषज्ञको प्रतिवेदनबाट देखिइरहेको छ । मृत्युको कारण र मेरो क्रियाबिच कुनै अन्तरसम्बन्ध नै स्थापित हुन नसकी प्रष्ट रूपमा आत्महत्या गरी भएको मृत्युलाई कर्तव्यबाट भएको भनी गलत व्याख्या गरी मलाई कसूरदार ठहर्‍याई भए गरेको पुनरावेदन अदालत, पाटनको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरी आरोपित कसूरबाट सफाइ दिलाई पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी विनय मानन्धरको यस अदालतमा परेको पुनरावेदन पत्र ।

            मृतक निरू श्रेष्ठ र प्रतिवादी विनय मानन्धरबीच मिति २०५६।५।३० मा अन्तरजातिय प्रेमविवाह भएकोमा सासू ससुरा तथा श्रीमानले समेत शारीरिक तथा मानसिक यातना दिने गरेको र २०५८।२।५ गते राति १०:०० बजे प्रतिवादी विनय मानन्धरले तपाइकी छोरी झुण्डी मरिछन् वीर अस्पतालमा हेर्न आउनु भनी फोन गरेकोले अस्पतालमा गै हेर्दा छोरीको मृत्यु भएको रहेछ, छोरीलाई दीपक मानन्धर, प्रेमदेवी मानन्धर र विनय मानन्धरले कर्तव्य गरी मारेको भन्ने व्यहोराको मृतकका बाबु मुकुन्ददास श्रेष्ठको जाहेरी परेको, घटनास्थल एवं लास प्रकृति मुचुल्का, शव परीक्षण प्रतिवेदनबाट जाहेरीको व्यहोरा समर्थित भएको, लास प्रकृति मुचुल्का र मौकामा कागज गर्ने मानिसहरूले उल्लिखित तीनै जना प्रतिवादीहरूले मारेको भनी गरेको कागज र वकपत्रबाट सो तथ्य समर्थित भएको । वारदातको समयमा प्रतिवादीहरू दीपक मानन्धर र प्रेमदेवी मानन्धर वारदातस्थलमा रहे भएको समेतबाट निज प्रतिवादीहरू समेत तिनै जनाले कर्तव्य गरी मारेको तथ्य पुष्टि भएको छ । आफ्नै घरभित्र सासू ससुरा र पतिको साथमा रहेकी मृतकलाई कर्तव्य गरी मारेकोमा निजहरूको समेत पूर्ण संलग्नता देखिएकोमा एक जना प्रतिवादी विनय मानन्धरले मात्र मारेको अन्य प्रतिवादीहरू कसूरमा संलग्न नभएको भनी प्रतिवादीमध्येका दीपक मानन्धर र प्रेमदेवी मानन्धरलाई सफाइ दिने गरेको पुनरावेदन अदालत समेतको फैसला त्रुटिपूर्ण छ । साथै पुनरावेदन अदालतले प्रतिवादी विनय मानन्धरलाई अ.वं. १८८ नं. को सुविधा प्रदान गर्ने सम्बन्धमा ग्रहण गरेको अर्को आधार भनेको चिकित्सकको अस्पष्ट राय भनी उल्लेख गरेको तथ्य कानूनसँगत छैन । मुद्दाको बस्तुगत तथ्यसँग चिकित्सकको शव परीक्षण राय प्रतिवेदन मेल नखाई त्यसमा सहमत हुन सकिने अवस्था नभएकोले मिसिल संलग्न प्रमाणहरूबाट कर्तव्य ठहर भएको अवस्थामा सोही राय प्रतिवेदनलाई आधार मानी घटी सजाय गर्ने राय जाहेर गरेको कार्य बस्तुनिष्ट छैन । प्रतिवादी दीपक मानन्धर र प्रेमदेवी मानन्धर समेतको वारदातमा प्रत्यक्ष संलग्नता देखिदा देखिदै परिस्थितिजन्य प्रमाणको बस्तुपरक ढङ्गबाट मूल्याङ्कन नगरी निजहरूलाई सफाइ दिने र प्रतिवादी विनय मानन्धरको हकमा बिनाआधार र काणबाट अ.व. १८८ नं. प्रयोग गरी पाँच वर्ष कैद हुने राय व्यक्त गरी भएको हदसम्मको त्रुटिपूर्ण फैसला बदर गरी शुरू अभियोग माग दावी बमोजिम प्रतिवादीहरूलाई सजाय गरी पाऊँ भन्ने समेत व्यहोराको बादी नेपाल सरकारको तर्फबाट यस अदालतमा परेको पुनरावेदन पत्र ।

            यसमा प्रतिवादीहरू सबैले मृतकको मृत्यु आफैँ झुण्डिएर भएको भन्ने भनाई रहेकोमा मृतकको लास झुण्डिएको अवस्थामा देख्ने कोही नभएको, प्रतिवादी तीनजना बाहेक सर्वप्रथम मृतकलाई हेर्न भनी बोलाइएका डा. रामेश्वर श्रेष्ठले मृतकलाई भान्सा कोठामा सुताई राखेको देखेको भनी बकपत्र गरेको, झुण्डिएको भनिएको स्थानको उचाई पाँच फीट भै मृतकको उचाई पनि पाँच फीट नै रहेको, शव परीक्षण प्रतिवेदनबाट मृतकको टाउको (Scalp) को भित्री भागमा चोट तथा ओठसहित विभिन्न भागमा नीलडाम रहेको देखिएको अवस्था छ । प्र. विनय मानन्धर मात्रको संलग्नतामा उक्त वारदात हुन सक्ने प्रकृतिको नदेखिएको, मृतक र निजका घर परिवारमा पटक पटक कलह भै रहने भनी बुझिएका घटनास्थल वरपर बस्ने मानिसहरूको भनाई रहेको एवं घटनास्थलमा प्रस्तुत मुद्दामा शुरू र पुनरावेदन अदालतबाट समेत सजाय पाएका प्रतिवादी विनय मानन्धरका अलवा प्रतिवादीहरू दीपक मानन्धर र प्रेमदेवी समेत मौजुद रहेको अवस्थामा विनय मानन्धरलाई मात्र अभियोग दावीको कसूरमा सजाय गरी अन्य दुईजना प्रतिवादीहरूलाई सफाइ दिएको शुरूको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको मिति २०६०।१०।१३ को फैसला फरक पर्न सक्ने देखिँदा छलफलका लागि प्रतिवादीहरू दीपक मानन्धर र प्रेमदेवी मानन्धरलाई मुलुकी ऐन अ.व. २०२ नं. बमोजिम म्याद दिई झिकाई लगाउको फौ.पु.नं. ३७१० को पुनरावेदन तथा साधक नं. ४७० समेत साथै राखी नियमानुसार पेश गर्नु भन्ने यस अदालतको २०६२।१।९ को आदेश ।

            यसमा मृतकको Autopsy Report को Internal Examination बाट देखिएको घाउ मृत्युको कारण हुन सक्छ कि, सक्दैन ? सात जना सम्मिलित विशेषज्ञ चिकित्सकहरूको समिति गठन गरी राय पठाउन भनिएकोमा वीर अस्पतालवाट गठित समितिले समितिमा समावेश भएका चिकित्सकहरू Forensic विशेषज्ञ समावेश नभएकोले 'Forensic Expert'  समावेश भएको समिति गठन गर्न उपयुक्त हुने राय उक्त अस्पतालको समितिवाट पठाएको देखियो । उक्त समितिमा 'Forensic Expert'  समावेश नभएको भए त्रि.वि.वि. शिक्षण अस्पताल वा अन्य अस्पताल वा चिकित्सास्त्र सम्वन्धी शिक्षण संस्था जहां  छ , त्यहांवाट पूर्व राय दिने प्रक्रियामा समावेश भएका वाहेक कम्तीमा १ जना 'Forensic' चिकित्सक सम्वन्धित अस्पताल वा संस्थासँग सम्पर्क र समन्वय गरी झिकाई समितिमा समावेश गराई पूर्व आदेशमा उल्लेख भएका प्रश्नमा राय लिई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको आदेश ।

            यसमा यस अदालतवाट आदेशानुसार माग भएको राय यकीन साथ प्राप्त हुन नआएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको मिति २०६४।९।२३ समेतको पत्र ।

            मिसिल संलग्न प्रमाणसहितको आधारमा मृतक निरू मानन्धरलाई यी प्रतिवादीहरूले मारेको देख्ने कोही पनि प्रत्यक्षदर्शी साक्षी नभई अपराधका चरणहरूअन्तर्गत मनसायपश्चातको तयारी समेतका क्रियाकलापहरू नदेखिई परिस्थितिजन्य प्रमाण समेतको अभावमा ज्यान जस्तो संगीन अपराधमा शंकाको आधारमा कसूरदार ठहर्‍याउनु कानून र न्यायको रोहमा उचित एवं तर्कसँगत नहुने हुँदा शुरू ललितपुर जिल्ला अदालतले प्रतिवादीद्वय दीपक मानन्धर एवं प्रेमदेवी मानन्धरलाई सफाइ दिने ठहर्‍याएको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसला सो हदसम्म सदर भई अभियोग दावीवमोजिम कसूरदार ठहर्‍याएका प्रतिवादी विनय मानन्धरको हकमा पुनरावेदन अदालतको फैसला केही उल्टी भई निज पुनरावेदक प्रतिवादी विनय मानन्धर समेतले आरोपित कसूरवाट सफाइ पाउने ठहर्छ । तर सम्पूर्ण प्रतिवादीहरूलाई नै शुरू अभियोग दावीवमोजिम कसूर ठहर्‍याउने गरेको सहयोगी माननीय न्यायाधीश श्री ताहिर अली अन्सारीको रायसँग असहमत रहेकोले सर्बोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) वमोजिम प्रस्तुत मुद्दा पूर्ण इजलासमा पठाई सँयुक्त इजलासको लगत कट्टा गर्नु भन्ने माननीय न्यायाधीश श्री अनूपराज शर्माको २०६५।९।८ को राय ।

                        मिसिल संलग्न तथ्यगत एवं परिस्थितिजन्य प्रमाणहरू समेतको आधार र कारणवाट सम्पूर्ण प्रतिवादीहरू विनय मानन्धर, दीपक मानन्धर र प्रेमदेवी मानन्धर समेतको सामूहिक आपराधिक कार्यवाट मृतक नीरू मानन्धर श्रेष्ठको हत्या भएको देखिंदा शुरू जिल्ला अदालतले प्रतिवादी विनय मानन्धरलाई मात्र अभियोग दावीवमोजिम सजाँय गरेको सम्म मनासिव देखिई अन्य प्रतिवादीहरू दीपक मानन्धर र प्रेमदेवी मानन्धरलाई सफाइ दिने गरी गरेको शुरू जिल्ला अदालतको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसला सो हदसम्म नमिलेकोले केही उल्टी भई सम्पूर्ण प्रतिवादीहरू विनय मानन्धर, दीपक मानन्धर र प्रेमदेवी मानन्धरलाई शुरू अभियोग दावीबमोजिम ज्यानसम्वन्धी महलको १३(३) नं. वमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्छ । तर यी सवै प्रतिवादीहरूले नै आरोपित कसूरवाट सफाइ पाउने ठहराएको माननीय न्यायाधीश श्री अनूपराज शर्माको रायसँग असहमत रहेकोले सर्बोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) वमोजिम प्रस्तुत मुद्दा पूर्ण इजलासमा निर्णयार्थ पठाई सँयुक्त इजलासको लगत कट्टा गर्नु भन्ने माननीय न्यायाधीश श्री ताहिर अली अन्सारीको २०६५।९।८ को राय ।

नियमबमोजिम दैनिक मुद्दा पेसी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारतर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ताहरू श्री युवराज सुवेदी र श्री प्रेमबहादुर कार्कीले मृतक निरू श्रेष्ठ र प्रतिवादी विनय मानन्धरबीच भएको विवाहवारीमा चित्त नुबझेका कारण प्रतिवादीहरूले मृतकलाई रहस्यपूर्ण ढंगबाट कर्तव्य गरी मारेको अवस्था छ । एउटी स्वस्थ्य र शिक्षिकाको रूपमा काम गर्ने केटी आफै झुण्डिएर मर्नु पर्ने अवस्था कहीँ कतैबाट देखिएको छैन । प्रस्तुत घटना वारदातमा ठूलो होसियारीपूर्वक घरेलु हिंसाको चर्का रूप सम्पन्न गरी मृत्युलाई स्वाभाविक बनाउन खोजिएको छ । मृतकसँग सबै प्रतिवादीहरू प्रायः झगडा गर्ने गरेको विभिन्न व्यक्तिहरूको भनाईबाट पुष्टि हुनुको अतिरिक्त घटना वारदात मिति समयमा प्रत्यक्षदर्शी छिमेकी मेखलालले प्रतिवादी विनयले मृतकको कपाल समातेको झ्यालको पर्दा हल्लिँदाको अवस्था देखेको भनी लेखाई दिएको निर्विवाद तथ्यलाई अन्यथा भन्न मिल्दैन । निजको प्रहरीमा भएको कागज एवं अदालतमा गरेको बकपत्र समेतबाट प्रतिवादीहरूको मृतकसँगको सम्बन्ध राम्रो नभएको भन्ने  र मृतक र प्रतिवादीबीच झगडा भएको भन्ने पुष्टि हुन्छ । मृतकको मृत्यु प्रतिवादीहरूकै कारण भएको भन्ने कुरा किटानी जाहेरी व्यहोरा, बुझिएका विभिन्न व्यक्तिहरूको भनाई, मृतकको शरीरमा भएका कपडा यत्रतत्र च्यातिएको अवस्था, शरीरको विभिन्न भागमा भएका नीलडाम, टाउकोमा भएको 'Contusion' अस्पतालमा ल्याउँदाको अवस्था नाकबाट आलो रगत बगेको जस्ता तथ्यले आत्महत्या गरेको भन्ने देखिदैन । डाक्टरको शव परीक्षण प्रतिवेदनमा मृत्युको कारण 'Hanging' भनी उल्लेख भएपनि अपराध अनुसन्धानका विभिन्न तथ्यहरूले सो प्रतिवेदन शंकास्पद देखिएको अवस्था छ । मृतकको उचाइ र भर्‍याङमा झुण्डिएको भनिएको सिंढीको उचाइले पनि मृतक झुण्डिएर मर्न सक्ने अवस्था  देखिँदैन । आफूहरूसँग राम्रो सम्बन्ध नरहेकी आफ्नो कव्जामा रहेकी बुहारी निरूको हत्या गरी प्रतिवादीहरू आफैले विभिन्न परिस्थिति सिर्जना गरी आत्महत्या देखाउन प्रयास गरेको देखिन्छ । मृतक र निजका परिवारबीचको सम्बन्ध तथा प्रतिवादीहरूले मृतकप्रति गर्ने गरेको व्यवहार मृतकका साथीले अदालतमा समेत आई गरेको बकपत्रले प्रस्तुत वारदातमा मृतकले आत्महत्या गरेको नभई प्रतिवादीहरूकै क्रियाबाट मृत्यु भएको भन्ने पुष्टि हुने हुंदा प्रतिवादीहरू तीनै जनालाई अभियोग दावीबमोजिम सजाय गरेको माननीय न्यायाधीश श्री ताहिर अली अन्सारीको राय सदर हुनुपर्छ भन्ने समेत व्यहोराको वहस गर्नुभयो ।

त्यसैगरी जाहेरवाला मुकुन्ददास श्रेष्ठको तर्फबाट उपस्थित विद्वान अधिवक्ताहरू डा.श्री शंकरकुमार श्रेष्ठ, डा.श्री रंजितभक्त प्रधानाङ्ग, श्री अनिता चापागाईले शव परीक्षण प्रतिवेदनमा Cause of death Hanging' भनिए पनि प्रतिवेदनमा उल्लेख भएका तथ्यहरूले 'Homocidal Hanging' भन्ने देखिएको छ । मृतकको नाकबाट आलो रगत बगेको, ओंठमा घाउ देखिएको, शरीरमा प्रशस्त नीलडाम देखिएको, टाउकोमा कन्टुजन (contusion) आफैले आत्महत्या गरी झुण्डिएको अवस्था देखिने अवस्था रहंदैन । शव परीक्षण प्रतिवेदनमा उल्लिखित तथ्यहरूले हत्यालाई आत्महत्यामा परिणत गराउने कोशिस भएको मात्र देखिन्छ । मिसिल संलग्न विभिन्न तथ्यहरूले आत्महत्या हुन नसक्ने देखिएको अवस्थामा शव परीक्षण प्रतिवेदनलाई मात्र आधार लिन मिल्दैन । मृतकले आत्महत्या गर्नु पर्ने परिस्थिति के थियो प्रतिवादीहरूले शंकासम्म देखाउन सकेका छैनन् भने मृतक झुण्डिएको भनिएको गोलो आकारको भर्‍याङमा झुण्डिन सहज हुने स्थितिको देखिँदैन । मृतक झुण्डिने वित्तिकै थाहा पाई पासो खोली डाक्टर रामेश्वरलाई बोलाउन गएको भन्ने प्रतिवादीहरूको भनाई बनावटी देखिन्छ । मृतक आफै झुण्डिएको नभई प्रतिवादीहरूकै कर्तव्यबाट मृत्यु भएको भन्ने कुरा झुण्डिएको भनिएको स्थानमा भेटिएको फित्ता चुँडिएको चप्पल तथा यत्रतत्र लागेका शरीरका घाउ चोटले पुष्टि गरेको छ । झुण्डिएको भनी बनावटी परिस्थिति सिर्जना गरी मरिसकेको अवस्थामा वीर अस्पतालमा लास ल्याएको तथ्यले प्रतिवादीहरूको कर्तव्यबाट मृतकको मृत्यु भएको पुष्टि हुने हुँदा सबै प्रतिवादीहरूलाई अभियोग दावीबमोजिम सजाय हुनुपर्छ भन्ने समेत व्यहोराको वहस प्रस्तुत गर्नुभयो ।

त्यसै गरी प्रतिवादीहरू तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री वसन्तराम भण्डारी, विद्वान अधिवक्ताहरू श्रीकृष्ण सापकोटा, श्री शम्भु थापा र श्री सविता बरालले मृतक  सहज रूपमा झुण्डिएको अवस्था बचाउको लागि प्रतिवादीहरू तर्फबाट प्रयास भएको देखिन्छ । 'Cause of the Death due to Hang' भन्ने कुरा चारजना विशेषज्ञ डाक्टरले प्रतिवेदन दिई अदालतमा समेत आई बकपत्र गरेका छन् । विशेषज्ञले दिएको निष्कर्षको विषयलाई अन्यथा भन्नु पर्ने अवस्था रहंदैन । शंकाको लाभ अभियुक्तले पाउँछ भन्ने सर्वमान्य सिद्धान्त छ । मृतक निरू मानन्धरको मृत्युको सम्बन्धमा मृतकका आफन्तले अनुमान र शंकाको आधारमा बोलेका छन् । प्रस्तुत मुद्दामा प्रत्यक्षदर्शी भनिएका मेखलालले प्रतिवादी विनयले मृतकलाई समातेको पर्दा हल्लिदाको अवस्था देखेको भनी प्रहरीमा कागज गरेपनि अदालतमा उपस्थित भै मौकाको आफ्नो भनाइलाई समर्थन गर्न सकेको पाइदैन । विशेषज्ञहरूले 'Cause of the Death  Hanging' भन्ने तथ्यको निरोपण गर्ने वारदातको वास्तविक भौतिक स्वरूप अध्ययन गर्न वारदातस्थल समेत निरीक्षण गरेको अवस्था छ । मृत्युको कारणको सम्बन्धमा डाक्टरले वारदातस्थलमा पुगी घटनाको अवस्था अध्ययन गरी प्रतिवेदन गर्न पाउने विकसित प्रचलित पद्धतिबाट प्रचलनमा रहेकोमा शंका गर्ने ठाउँ छैन । मृतकको हात र टाउकोमा भएका सामान्य खोस्राई (Abrasion) मृतकलाई बचाउने प्रयासमा भर्‍याङबाट झार्दै गर्दा वा ट्याक्सीमा लिएर जाँदाको अवस्था  पर्न सक्ने अवस्थालाई नकार्न सकिन्न । विपक्षीतर्फका विद्वान कानून व्यवसायीले उठाउनु भएको 'Legature Mark' ले प्रतिवादीहरूले कर्तव्य गरी मारेको भन्ने तर्क आफैमा अमिल्दो छ । मृत्युपश्चात झुण्डाइएको अवस्थामा समेत देखिने, 'Legature Mark' ले कुनै प्रमाणको स्थान ग्रहण गर्न सक्ने अवस्था छैन । प्रतिवादीहरूको अनुसन्धान अधिकारी तथा अदालतसमक्ष भएको बयानमा शंकासम्म गर्ने अवस्था छैन । मृतकको शरीरमा देखिएका सामान्य चोटपटकको कारण मृत्यु भएको हुन सक्ने भनी अनुमान गर्ने वा विश्वासमा पर्ने अवस्था समेत
छैन । सामान्य छाला खोस्रिएको वा दवावबाट पर्ने 'Contusion' ले मानिस मर्नसक्ने अवस्था नरहने कुरालाई डाक्टरले दिएको रायलाइ चिकित्सा विधिशास्त्र (Medical Jurisprudence) ले पनि समर्थन गरेको छ । भर्‍याङको सातौं खुडकिलामा झुण्डिएको र 'Srvical vertebra'  नभाचिएको अवस्थामा पनि मृत्यु हुनसक्ने विशेषज्ञको रायलाई नमान्ने हो भने अदालतले त्यसको युक्तियुक्त आधार देखाउन सक्नुपर्छ । विशेषज्ञको राय सामान्य अवस्थामा अस्वीकार गर्न मिल्दैन । मृत्युको कारण यकीन नभएको अवस्थामा प्रतिवादीहरू उपर ज्यान सम्बन्धी महलको १३(३) नं. को दावी गर्नु कानूनसँगत मान्न मिल्दैन । कुन प्रतिवादीले के कस्तो क्रिया गरी अपराध गरे भन्ने कुरा अनुसन्धानबाट वस्तुगत रूपमा प्रमाणित नगरी नियोजित तरिकाले हत्या गरेको भन्नेसम्मको अभियोग दावी अभियोजन पक्षले गर्दैमा सो प्रमाणित हुनसक्ने अवस्था छैन । हत्याको प्रकृति र वास्तविक स्वरूप अभियोगपत्रमा देखाएको अवस्था भन्दा भिन्नता पाइन्छ । तीनै जना प्रतिवादीले मारे भनी दावी लिनु मात्र पर्याप्त हुँदैन, तीनै जनाको समान मनसाय र सो बमोजिमको कसूरजन्य कार्य भएको समेत देखिनु पर्छ । प्रतिवादी र मृतकबीचको पहिलेको क्रियाकलाप पनि ज्यान लिनेसम्मका थिए भन्ने देखाउन सक्नु पर्‍यो । शुरू दावी लिँदा दाइजो विषय नउठेको अवस्था वादी पक्षबाट बहसको क्रममा अलग अलग कहानी उठाउनु तथ्यभन्दा बाहिरको कुरा हो । मृतकको मृत्युको कारण सम्बन्धमा स्पष्ट दावी पनि छैन । दावी लिनुमात्र पर्याप्त हुँदैन, सबुद प्रमाणले पुष्टि गर्नुपर्ने
हुन्छ । हरेक प्रमाण स्वतन्त्र र विश्वसनीय हुनुपर्छ । डाक्टरले दिएको मृत्युको कारणको राय नमान्ने वादी पक्षले तीनै डाक्टरले रायमा उल्लेख गरेको 'Contusion' को वारेमा तर्क गर्न सान्दर्भिक हुँदैन । राय प्रतिवेदन तयार गर्ने डाक्टरहरूलाई शंका वा अविश्वास गर्नु पर्ने वस्तुनिष्ठ आधारको आभावमा मनोगत वा काल्पनिक भनाईलाई प्रमाणको स्थान ग्रहण गर्न डाक्टरहरू पूर्वाग्रही भएको कुरा सप्रमाण प्रमाणित नभएसम्म सोतर्फ विचार गर्न न्याय सम्पादनको मूलभुत मान्यता विपरीत पर्दछ । लास जाँच प्रतिवेदन (Post Mortom Report) लाई अमान्य गर्ने प्रमाण काल्पनिक कथामा आधारित हुन सक्दैन । परिवारको सदस्य झुण्डिएर मर्न लागेको अवस्था प्रतिवादीहरूले पासो फुकाउन बाँचेकी छिन् कि भन्ने आशयबाट उत्प्रेरित हुने हुँदा डोरी फुकाउने प्रक्रिया अन्यथा प्रमाणित नभएसम्म स्वाभाविक मान्नु पर्दछ, साथै उपचार गर्नको लागि अस्पताल पुर्‍याउनु, छिमेकी डाक्टरलाई बोलाउनु जस्ता क्रियाले प्रतिवादीहरूले अपराध गरेको पुष्टि नहुँदा तीनै जना प्रतिवादीहरूलाई सफाइ दिने ठहराई भएको माननीय न्यायाधीश श्री अनूपराज शर्माको राय सदर हुनुपर्छ भन्ने समेत व्यहोराको वहस गर्नुभयो ।

आज निर्णय सुनाउन तारेख तोकिएको प्रस्तुत मुद्दामा विद्वान कानून व्यवसायीहरूको वहस सुनी प्रेषित बहसनोट तथा संकलित सम्पूर्ण सबूद प्रमाणसहितको मिसिल अध्ययन गर्दा प्रतिवादीमध्ये दीपक मानन्धर र प्रेमदेवी मानन्धरलाई सफाइ दिने ठहर गरेको ललितपुर जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला सो हदसम्म सदर गरी अभियोग दावीबमोजिम सजायँ ठहर भएका प्रतिवादी विनय मानन्धरको हकमा पुनरावेदन अदालत पाटनको फैसला केही उल्टी गरी सफाइ पाउने ठहराई भएको माननीय न्यायाधीश श्री अनूपराज शर्माको राय तथा प्रतिवादीहरू विनय मानन्धर, दीपक मानन्धर र प्रेमदेवी मानन्धरलाई अभियोग दावीबमोजिम ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैदको सजाय हुने ठहराएको माननीय न्यायाधीश श्री ताहिर अली अन्सारीको रायमा मतैक्यता हुन नसकी सर्वच्च अदालत नियमावली, २०४९ को नियम ३(१) (क) बमोजिम यस इजलाससमक्ष निर्णयार्थ पेश भएको देखियो ।

मूलतः यसमा अनुसन्धानको क्रममा संकलित सबूद प्रमाण अदालतबाट परीक्षण गर्दा तयार पारिएका मुद्दासँग सम्वद्ध अन्य प्रमाण कागजको अध्ययन विश्लेषण तथा विवेचना गर्दा मृतक निरू मानन्धरको मृत्यु आत्महत्या नभई परिवारका सदस्यहरूबाट सुनियोजित हत्या गरिएको भन्ने मृतकका बाबु मुकुन्ददास श्रेष्ठको जाहेरी व्यहोरा, प्रतिवादीहरूले अनुसन्धान अधिकारी समक्ष बयान गर्दा कर्तव्यबाट अपराध गरेकोमा इन्कार रही मृतक आफै झुण्डिई मरेको भनी बयान गरे पनि आफै झुण्डिई मर्नु पर्नेसम्मको कारण खुलाउन नसकेका तथा प्रतिवादीका छिमेकी मेखलाल श्रेष्ठले अनुसन्धान अधिकारी समक्ष कागज गर्दा वारदातको मिति समयमा प्रतिवादीमध्येको विनयले मृतकको कपाल समाएको देखेको भन्ने व्यहोरा लेखाई दिएको, मृतक झुण्डिई मरेको भने पनि वारदातस्थलमा पुग्ने डा.रामेश्वर श्रेष्ठले झुण्डिएको आफूले प्रत्यक्ष नदेखेको एवं नाडी छाम्दा श्वास प्रश्वास चलेको थाहा नपाएको अवस्थामा पाएको भनी लेखाई दिएको तथ्यले मृतकको मृत्यु भैसकेपछि वीर अस्पताल पुर्‍याइएको, मृतक आफै झुण्डिएको भनिए पनि झुण्डिएको तथ्यलाई समर्थन गर्ने घटनास्थलबाट पुष्टयाई नहुने साथै आफैले आत्महत्या गर्नु पर्ने कुनै उल्लेखनीय कारण नभएको झुण्डिई मृत्यु भएको अवस्था देखिनु पर्ने आवश्यक लक्षणको अभाव एवं मृतक र प्रतिवादीहरू बीच सुमधुर सम्बन्ध नभएको भन्ने बुझिएका मृतककी दिदी रेनुका श्रेष्ठले गरेको कागजसमेतका तथ्य प्रमाणले मृतकका घर परिवारका सदस्य सासू प्रेमदेवी, ससुरा दीपक र श्रीमान् विनय मानन्धरले नियोजित तरिकाबाट हत्या गरी त्यसलाई आत्महत्याको रूप दिने सुनियोजित योजना बनाउन प्रयासरत् रहेको स्पष्ट हुन आएकोले तीनै जना प्रतिवादीहरूलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं.को कसूर अपराधमा ऐ.को १३(३) नं.बमोजिम सजाय गरी पाऊँ भन्ने अभियोजन पक्षले अभियोग दावी लिएको देखिन आयो ।

अब मुद्दाको उठान हेर्दा मृतक छोरी निरू श्रेष्ठ (मानन्धर) को विनय मानन्धरसँग प्रेमविवाह भए पश्चात माइतीमा नआएकी र आफूलाई परिवारबाट शारीरिक तथा मानसिक यातना दिने गरेको कुरा आफ्ना दिदीहरू समेतलाई वारम्वार फोनबाट अवगत गराउने गरेको अवस्था २०५८।२।५ गते राति विनय मानन्धरले निरू झुण्डिएर मरेकी छन्, लाश वीर अस्पतालमा छ भनी फोनबाट खवर गरेको हुँदा अस्पताल पुगी मृतक छोरीको लाश देखें । मृतक छोरीलाई परिवारका सदस्यले झुण्ड्याई मारे मराएको शंका लाग्छ, अन्य कुराहरू विस्तृत रूपमा बुझी छुट्टै अर्क जाहरी दिनेछु भनी मृतकको बाबु मुकुन्ददासले जिल्ला प्रहरी कार्यालय हनुमान ढोकामा २०५८।२।६ मा दिएको जाहेरी र आफूले मृतक छोरीको अस्पतालमा लास हेर्दा घाँटीमा यत्रतत्र नीलडाम, टाउकोमा चोट, कूर्तासुरूवाल च्यातिएको जस्ता कारणले आत्महत्या नभै परिवारका सदस्यबाट हत्या भएकोले कानूनबमोजिम कारवाही गरी पाऊँ भनी २०५८।२।८ मा जिल्ला प्रहरी कार्यालय ललितपुरमा दिएको जाहेरी दरखास्तबाट नै प्रस्तुत मुद्दाको प्रारम्भ भएको देखिन आउँछ ।

मृतक निरू मानन्धरको मृत्युको सम्बन्धमा प्रतिवादीमध्येका दीपक मानन्धर र प्रेमदेवी मानन्धरले चोट छाडी मारेको भन्ने अभियोग दावी पुष्टि हुन नसकेको हुँदा प्रतिवादी दीपक मानन्धर र प्रेमदेवी मानन्धरको हकमा अभियोग दावी पुग्न नसक्ने र प्रतिवादी विनय मानन्धर कसूरमा इन्कार रहे पनि बुझिएका व्यक्तिहरूको भनाई एवं मृतकको शरीरमा घाउचोट देखिएको, मृतक आफै झुण्डिई मर्नु पर्ने कारण समेत प्रतिवादीले बयानमा खुलाउन नसकेको अवस्था एवं परिस्थितिजन्य प्रमाण समेतबाट मृतकको मृत्यु प्रतिवादी विनय मानन्धरको कर्तव्यबाट भएको पुष्टि भएकोले निज प्रतिवादी विनय मानन्धरलाई ज्यान सम्बन्धी महलको १३(३) नं.बमोजिम जन्मकैद हुने ठहराई ललितपुर जिल्ला अदालतबाट भएको फैसला सदर हुने ठहर गरी प्रतिवादी विनय मानन्धरको हकमा अ.वं. १८८ नं. बमोजिम पाँच वर्ष कैद गर्नु मनासिब हुने राय व्यक्त गरी भएको पुनरावेदन अदालत पाटनको फैसलाउपर वादी नेपाल सरकार तथा प्रतिवादी विनय मानन्धरको यस अदालतमा पुनरावेदन परेकोमा संयुक्त इजलासका माननीय न्यायाधीशहरू बीच मतैक्य हुन नसकी सर्वच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम यस इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दामा संकलित सबूद प्रमाणहरूको मूल्याङ्कन तथा विवेचना गर्दा निम्न प्रमुख प्रश्नहरूको निरोपण हुनुपर्ने देखिन आयो ।

(क) शवपरीक्षण (Post  Mortom) गर्ने विशेषज्ञ डाक्टरको घटनास्थलको अवस्था निरीक्षण गरी दिएको प्रतिवेदन ग्राह्य हुने वा नहुने के हो ?

(ख) विशेषज्ञले मृत्युको कारणको सम्बन्धमा अदालतमा समेत उपस्थित भै बकपत्रद्वारा पुष्ट्याइ गरेपछि सो बन्धनकारी हुन्छ वा हुँदैन ?

(ग)  मृतक निरू मानन्धरको मृत्यु स्वाभाविक वा अस्वाभाविक के हो ?

(घ)  मृतकको मृत्यु प्रतिवादीहरूको कर्तव्यबाट भएको हो वा होइन ?

२. विशेषज्ञ डाक्टरको घटनास्थलको प्रत्यक्ष निरीक्षणसमेत गरी दिएको प्रतिवेदन प्रस्तुत मुद्दाको सम्बन्धमा ग्रहणयोग्य छ वा छैन भन्ने प्रथम प्रश्न तर्फ बिचार गर्दा, वादी पक्षबाट उपस्थित विद्वान सहन्यायाधिवक्ताहरू तथा जाहेरवाला तर्फबाट उपस्थित विद्वान अधिवक्ताहरूले विशेषज्ञ डाक्टरहरूको घटनास्थलको उपस्थिति प्रचलित कानूनी व्यवस्थाको विपरीत रहेको हुँदा डाक्टरको सो प्रतिवेदन शतप्रतिशत ग्रहण गर्न मिल्दैन भनी आफ्नो विद्वतापूर्ण तर्क तथा जिकिर प्रस्तुत गर्नु भएको छ । तसर्थ प्रस्तुत मुद्दामा डाक्टरद्वारा घटनास्थलको प्रत्यक्ष निरीक्षण गरी दिएको प्रतिवेदनको सिलसिलामा वादी पक्षबाट प्रतिनिधित्व गर्ने विभिन्न विद्वान कानून व्यवसायीहरूले प्रश्न उठाउनु भएको सो प्रश्नको विश्लेषण गरी डाक्टरको घटनास्थल उपस्थितिको सन्दर्भमा विवेचना गर्नु नितान्त आवश्यक हुन आएको छ । सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को कानूनी व्यवस्था बमोजिम घटनास्थलमा डाक्टर प्रत्यक्ष उपस्थित भई मृत्युको वास्तविक कारणको सम्बन्धमा अन्य अन्वेषण वा अनुसन्धान गर्न पाउने नपाउने सम्बन्धमा मौन रहेको भएतापनि प्रस्तुत मुद्दामा मृत्युको कारण सम्बन्धमा प्रतिवेदन तयार गर्ने सिलसिलामा सो प्रक्रिया अवलम्बन गरिएको देखिँदा सो विषय बहसको मुख्य केन्द्रविन्दु बन्नुलाई अस्वभाविक समेत ठान्न मिलेन । विकसित देश खास गरी अमेरिकामा घटनास्थलमा डाक्टरको उपस्थितिलाई अनिवार्यता (Must) को रूपमा ग्रहण गरिएको पाइन्छ भने छिमेकी भारतमा समेत मृत्युको कारणको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउने पेचिला प्रश्न उपस्थित भएमा डाक्टर प्रत्यक्ष रूपमा घटनास्थल उपस्थित भई घटनास्थलको अवलोकन गर्ने पद्धतिको प्रारम्भ भई सो विकसित हुदैं गइरहेको कतिपय दृष्टान्त पाइन्छ । मृतकको मृत्यु के कसरी भएको हो भनी यकीन गर्ने सन्दर्भमा विशेषज्ञ डाक्टरले मृतकको शवपरीक्षण गरी दिएको राय प्रतिवेदनबाट निकालिएको तथ्यलाई प्रमाणमा ग्रहण गर्ने गरिन्छ । घटना वारदातस्थलमा मृत्युको कारण (Cause of Death) का बारेमा तथ्य पत्ता लगाई थप पुष्टाई गर्ने सन्दर्भमा अनुसन्धान अधिकृत बाहेक विशेषज्ञ डाक्टरको उपस्थिति सम्बन्धमा हाम्रो विद्यमान कानूनी व्यवस्थाले इन्कार गरेको वा निषेधित गरेको कतै पाइदैन । व्यवहारतः तथ्य पत्ता लगाउने सन्दर्भमा यस किसिमको प्रयोग विरलै भएको पाइन्छ । यस प्रकारका फौज्दारी मुद्दामा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ ले ताकेको प्रक्रिया बमोजिम जिम्मेवार निकायले गर्ने कार्य जस्तै घटनाको प्रकृति मुचुल्का, लासजाँच मुचुल्का तयार गर्ने कार्यमा बाधा वा अवरोध सिर्जना गरी वा घटनाको स्वरूप परिवर्तन हुने गरी अन्य कार्य गर्न अन्य व्यक्ति वा निकायलाई छुट दिने अवस्था आउनु हुदैँन । तर, मृत्यु के कसरी हुन गयो वा मृत्यु यही कारणले मात्र हुनसक्छ भनी यकीन राय व्यक्त गर्नु कतिपय अवस्थामा घटनास्थलको अवलोकन र सम्बन्धित व्यक्तिहरूसँगको सोधपुछ आवश्यक हुन आउँछ । मृत्युको सम्बन्धमा बायो मेडिकल (Bio Medical) को नैतिक बन्धन (Ethics) मा रहने विशेषज्ञ डाक्टरहरूले मृत्युको यकीन तथ्य पत्ता लगाउने सन्दर्भमा आवश्यकता महसूस गरी घटनास्थल समेत निरीक्षण गरी दिएको शव परीक्षण रायलाई अन्यथा गर्न युक्तियुक्त आधार चाहिन्छ ।

अब शव परीक्षणमा सहभागी डाक्टरको घटनास्थलको उपस्थिति सम्बन्धमा के कस्तो प्रचलन र मान्यता रहेछ भनी विभिन्न विद्वानहरूद्वारा लिखित पुस्तक अध्ययन गर्दा, Forensic Medicine (Ninth Edition) KETH SIMPSON / BERNARD KNIGH पुस्तकको पृष्ठ संख्या २१९ मा Examination of Scene शीर्षकमा "A doctor is called to the scene  to make certain decisions that only a medical man can make – to ascertain the fact of death to say, if possible, when it occurred, and to decide whether there are grounds for suspicion of foul play. He is not called as a police in this search for evidence - search for evidence – rifled desks; jimmy marks, finger prints, even the more  sensational colour that marks some crimes. He should not hesitate, However to ask for any information that may be relevant to the medical Findings. It does help to know whether an overturned wardrobe has been lifted on a body when deciding the nature of a blunt wound to the head. The doctor should always know of the circumstances" भन्ने स्पष्ट उल्लेखन भएको
पाइन्छ ।

त्यस्तै H.W.V. COX को MEDICAL JURISPRUDENCE AND TOXICOLOGY, Revised by: DR. BERNARD KNIGHT, M.L. SINGHAL AND DR.V.B SAHAI (Sixth Edition 1997)  पुस्तकको पृष्ठ संख्या १४४ मा Attendence at scene of death शीर्षकमा  Though it is relatively rare in India for the doctor who is to perform and autopsy to be called by the police to the scene of a death, this is a most desirable activity where it is practicable. At the moment, neither the police nor the medical profession  realize the advantages of this visit but it is to be hoped that as the forensic  investigative service develops in India, it will be done with greater frequency, where long distance and shortage of medical staffs exists, then it is obviously impracticable but in more urban surroundings where a hospital, medical school or forensic – experienced doctor is  within  reasonable distance, the police should be encourage to ask the doctor to visit the scene of the incident, as much can be learned  there which is totally lost the body is removed to the mortuary.  

"When the doctor does attend such a scene, he should use the eyes more than any other instrument and note the position of the body, the clothing,  the surroundings objects, blood standing and anything which might be relevant to the death, as it lies before being disturb . The police should not move the body and should only take photographs before the arrival of the doctor. The doctor should not do anything which would interfere with the police investigation., but he has a responsibility to see that no trace of evidence is lost from the scene and should ensure that the body is transported to the mortuary without further deterioration or damage due to mishandling"   भन्ने उल्लेख भएको देखिन्छ ।

अब अर्का विद्वान लेखक MEDICAL JURISPRUDENCE and TOXICOLOGY (Law Practice and Procedure) By Dr. K.S. Narayan  Reddy (first Edition, 2000)  पुस्तकको पृष्ठ संख्या. २४ मा CONDUCT AND DUTIES OG THE DOCTOR AT THE SCENE OF CRIME शीर्षकअन्तर्गत It is the responsibility of the police to preserve and protect the scene of crime, complete and accurate recording of the scene as it was found is very important. This can be done by accurate diagrams, notes and photography. The scene may show evidence of a struggle and on the body vital trace evidence may be present. The examination at the scene should be limited to a search for such for such evidence which might be dislodged or possibly lost during the transfer of the body to the mortuary. If a doctor sees the dead body for the first time in the autopsy room, he may from incorrect opinions about the origin of the various injuries seeing the body at the scene of crime with the various surrounding objects, helps to avoid such mistake. The visit to the scene of death is more valuable is the body shows a patterned injury, the origin of which is in doubt. Even a restrospective visit to the scene enable the doctor tio have a true appreciation of the nature of the sorroundings, which are usually found the differ from the impression formed from the description of other persons."  भन्ने उल्लेख भएको देखिन्छ । 

३. तसर्थ माथि उल्लिखित विभिन्न विद्वानको आलेखनबाट Forensic Medicine लगायतका ग्रन्थहरूमा देखिएका दृष्टान्तहरूले परीक्षण गर्ने विशेषज्ञ डाक्टरहरू घटनास्थलमा उपस्थित भै मृत्युको  सम्बन्धमा थप जानकारी लिन सक्ने र सो बारेमा डाक्टरले पुर्‍याउनु पर्ने रीत मृत्युको सम्बन्धमा एवं कर्तव्यको बारेमा उल्लेख गरी विधिशास्त्री दृष्टिकोणको विकास भएको देखिन्छ । माथि विवेचित आधार कारण तथा आलेखन समेतबाट प्रस्तुत मुद्दामा शव परीक्षण गर्ने डाक्टरहरूले घटनास्थल समेतको अवलोकन गरी दिएको राय प्रतिवेदन कानूनमा आधारित नभएको हुँदा ग्रहणयोग्य छैन भन्ने वादी तथा जाहेरवाला पक्षका विद्वान कानून व्यवसायीहरूको तर्कसँग इजलास सहमत हुने अवस्था देखिएन ।

४. अब विशेषज्ञ डाक्टरले दिएको राय प्रतिवेदन अदालतमा स्वयं उपस्थित भई बकपत्रद्वारा समर्थन गरेको अवस्थामा सो रायको प्रमाणिक स्थिति के कस्तो हुन्छ  भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण हुँदा सो तर्फ प्रकाश पार्नु पनि आवश्यकताभित्र पर्न आएको छ । प्रस्तुत मुद्दामा शवपरीक्षणमा संलग्न डाक्टरहरूले दिएको प्रतिवेदनलाई पुष्टि गर्न डाक्टरहरू स्वयं अदालतमा उपस्थित भई आफ्नो रायको आधार र औचित्यको पुष्ट्याइ गर्दै बकपत्र समेत गरेको अवस्था मिसिलबाट देखिएको छ । प्रथमतः प्रमाण ऐन, २०३१ को दफा २३ ले विशेषज्ञको रायलाई प्रमाणमा लिन हुने  प्रावधान राखेकोमा विशेषज्ञ अदालतमा उपस्थित भई बकपत्र नगरेमा प्रमाणमा ग्रहण गर्न नमिल्ने प्रावधान समेत सोही ऐनको दफा १८ मा रहेको देखिन आउँछ । यसैअनुरूप विशेषज्ञ डाक्टरको राय प्रतिवेदनलाई आधार मानी गरेको बकपत्रमा वादी पक्षबाट जिरह गरेको अवस्थामा सो प्रतिवेदन व्यहोरालाई प्रमाण ऐन, २०३१ को दफा २३(७) अनुसार प्रमाण हुन्छ । विशेषज्ञको राय प्रतिवेदन यो यति करणबाट शंकास्पद वा विरोधाभाषयुक्त छ भनी इजलाससमक्ष प्रष्टयाउनु पर्ने सम्बन्धित पक्षको दायित्व हो । यस्तो दायित्वलाई शंकारहित तवरबाट पुष्टि गर्नुपर्नेमा वैज्ञानिक आधारबाट असमर्थता दर्शाएको अवस्थामा अन्य प्रमाणद्वारा समेत समर्थित परीक्षण प्रतिवेदनको सम्पूर्ण अस्तित्वलाई शून्यमा परिणत हुने गरी त्यसमा उल्लिखित राय तथा निष्कर्षलाई अमान्य गर्नु कानूनसँगत हुँदैन । विशेषज्ञले दिएको प्रतिवेदन शंकास्पद, द्विविधायुक्त वा अस्पष्ट नभई फटिक झैँ स्वच्छ (Crystal Clear) र अन्य स्वतन्त्र प्रमाणले समर्थित गर्दछ भने त्यस अवस्थामा अदालत स्वयंले तर्क वितर्क गरी शंका उपशंका उठाउनु समेत न्यायोचित पनि हुँदैन । बिनाआधार विशेषज्ञले दिएको प्रतिवेदनलाई अन्यथा गर्दा न्यायको वास्तविक न्याय प्रदान गर्ने उद्देश्यबाट दिशाभ्रमित हुने अवस्था उत्पन्न हुन जाने अवस्थाप्रति अदालत सजग हुनुपर्छ । अपराधलाई प्रमाणित गर्ने कडीको रूपमा रहने अनुसन्धानको क्रममा संकलित प्रमाणका रुपमा अभिन्न अङ्ग मानिने प्रतिवेदनलाई अस्वीकार गर्न अदालतलाई त्यति नै स्पष्ट आधार र कारणको आवश्यकता पर्दछ । यसमा वस्तुनिष्ठ व्याख्यान गरी अस्वीकार गर्नु पर्ने वैज्ञानिक आधार समेतको स्पष्ट उल्लेखन गरी विमति राखी खण्डन गर्न सक्नु पर्दछ र यो खण्डन चिकित्सा विधिशास्त्र (Medical Jurispredence) का सर्वमान्य सिद्धान्तमा आधारित हुनुपर्दछ ।

५. प्रस्तुत मुद्दामा मृतकको मृत्युको सम्बन्धमा मृत्यु झुण्डिएको कारणबाट ( ऋबगकभ या तजभ म्भबतज ज्बलनष्लन ) भएको भनी दिएको प्रतिवेदनलाई अदालतमा आई तीन तीन जना विशेषज्ञले बकपत्र गरी पुष्टि गरिदिएको अवस्था छ । विशेषज्ञ आफैँमा न्यायकर्ता होइन । उसको राय अदालतको सन्तुष्टिका लागि हो । तर , यसो भन्दैमा प्रमाण कानूनमा विशेषज्ञको स्थान सामान्य साक्षी सरह मात्र हुँदैन । विशेषज्ञ आफ्नो विशेष अध्ययन, तालिम वा अनुभवका कारणले कुनै विषयमा विशेष ज्ञान प्राप्त व्यक्ति हुने भएको र निजको रायमा कसैप्रति कुनै आग्रह वा कसैप्रति पूर्वाग्रह नहुने मान्यता राखिने कारणबाट निजको रायले प्रामाणिक बल राख्दछ । खास गरी त्यस्तो राय जो विशेषज्ञको विचार मात्र नभएर विभिन्न आधारको विश्लेषणका साथ निकालिएको निष्कर्ष हुन्छ, त्यसले न्यायिक निष्कर्ष निकाल्न निकै सघाउ पुग्याउँछ । विद्वान एच.डब्लु.भी. कक्सले आफ्नो माथि उल्लिखित पुस्तककै पृष्ठ ३१ म सविस्तारित रायलाई विशिष्ट प्रमाणका रुपमा चित्रित गर्दै यसलाई चिकित्सकीय प्रमाण (Medical Evidence) को नाम दिनु भएको  छ । प्रस्तुत विवादको शव परीक्षण प्रतिवेदन र त्यो परीक्षण गर्ने विशेषज्ञ डाक्टरहरूको जिरहयुक्त बकपत्रमा व्यक्त विचारलाई अन्य स्वतन्त्र प्रमाणले समेत पुष्टि गरिरहेको अवस्थामा सन्देह गर्नुपर्ने अवस्था हुँदैन । मृतकको लाश र त्यसमा विशेषज्ञले गर्ने अध्ययनले मृत्युको कारणका बारेमा धारणा बनाउन अदालतलाई सहयोग गर्दछ । यस अर्थमा विशेषज्ञको रायले पनि बलियो प्रमाणको स्थान ग्रहण गर्न सक्दछ भन्ने सन्दर्भ नै चिकित्सकीय प्रमाण (Medical Evidence) को मूल मर्म  हो । प्रस्तुत विवादलाई यही परिप्रेक्ष्यमा हेरिन आवश्यक छ ।

६.    मृतक निरू मानन्धरको मृत्यु सुनियोजित कर्तव्य वा आत्महत्या के कसरी भएको हो, लासजाँच मुचुल्का तथा प्रतिवेदनबाट स्वाभाविक अस्वाभाविक के देखिन्छ भन्ने तेस्रो प्रश्नतर्फ संकलित प्रमाण मनन गर्दा प्रस्तुत मुद्दामा मृतक निरू मानन्धरलाई निजका पति विनय मानन्धर, ससुरा दीपक मानन्धर र सासू प्रेमदेवी मानन्धरले सुनियोजित तरिकाले हत्या गरी आत्महत्याको रूप दिने योजना बनाएको भन्ने अभियोजन पक्षले मुख्य अभियोग दावी लिएको पाइन्छ । अब मृत्युको कारण लास स्वयंले प्रकट गर्दछ भन्ने सिद्धान्तअनुरूप प्रमुख कडी स्वरूप देखिएको मृतकको शारीरिक अवस्था अध्ययन गर्दा लासको दुवै आँखा बन्द, नाकबाट आलो रगत बगेको, दुवै हात अर्धमुठ्ठी अवस्थामा रहेको, वायाँ हातको नाडीमा चुरा लगाएको, घाँटीमा स्पष्ट दाग नदेखिएको, मृतकको टाउको हल्लाउँदा सोलिङ नहुने कडा रहेको, मृतकको योनी तथा मलद्वारबाट केही ननिस्केको भन्ने लास जाँच प्रकृति मुचुल्का तथा मृतकको बाबु मुकुन्ददास श्रेष्ठले छोरीले आत्महत्या गरेको नभै परिवारका सदस्यको कर्तव्यबाट हत्या भएको भन्ने जाहेरी दरखास्त, विशेषज्ञद्वारा परीक्षण गर्दा मृत्युको कारण झुण्डिनु (The Cause of Death is Hanging) भन्ने शव परीक्षण प्रतिवेदन समेतका तथ्यबाट मृतकको मृत्युको बारेमा शंकाको स्थिति देखिनु स्वाभाविक
छ । यस शंकाको स्थितिमा विशेषज्ञको राय हेरिनु पर्दछ । किनकि वास्तविक मृत्युको कारण पत्ता लगाउने ज्ञाता विशेषज्ञ हुँदा सो रायमाथिको निर्भरता नै न्यायको लक्ष्यप्राप्तिको लागि सबैभन्दा बढी सहायक हुन्छ भन्नेमा विमति राख्नु हुदैँन ।

७. साथै कतिपय अवस्थामा अस्वाभाविक लाग्ने मृत्युको कारण पनि स्वभाविकतामा परिणत हुन  आउँछ । दृष्टान्तको लागि केही वर्ष अगाडिसम्म कुनै पनि व्यक्ति खाटमा सुती सुती स्वयंले पासो लगाई आत्महत्या गर्न असम्भव मानिन्थ्यो तर चिकित्सा विधिशास्त्रमा कार्यरत विशेषज्ञले यो धारणालार्ई परिवर्तन गरी यसलाई स्वाभाविकमा परिणत गरी पुष्ट्याई गरी दिएका छन् । खुट्टाका औलाले भूंईमा छोएपछि आत्महत्या हुन नसक्ने मान्यता त्यतिनै प्रबल रूपमा व्याप्त थियो । तर मृत्युपश्चात् शरीरको वजनले डोरी तन्किन गई औलाले सतहमा छुन सक्ने भन्ने तर्कले वैज्ञानिक समर्थन प्राप्त गरेपश्चात् यस धारणालाई अस्वाभाविक भन्ने मान्यता हाल परिवर्तन भएको
पाइन्छ । प्रस्तुत मुद्दामा मृतक भर्‍याङको सातौ खुडकिलामा झुण्डिएको भन्ने भनाई रहेको
देखिन्छ । सो सातौँ खुडकिलाको उचाई ७१ इञ्च र मृतकको उचाई ६० इञ्च रहेको भन्ने देखिएको यस्तो अवस्थामा स्वयम्‌ले झुण्डिन नसक्ने अर्थात् झुण्डिएर आत्महत्या गर्न नसक्ने अवस्था रहन्छ भनी विवाद सिर्जना गरेको देखिन आउँछ । यस अवस्थामा मृत्यु हुन झुण्डिएको स्थानको उचाई एक मात्र कारक तत्व हुने नभई श्वासनलीमा उत्पन्न हुने सक्ने दबावबाट श्वास प्रश्वासमा अवरोध उत्पन्न हुँदा मृत्यु हुने भएकोले भ¥याङ्गको सातौं खुडकिलाको ७१ ईन्च उचाईबाट मृत्यु हुन सक्दैन भनी मनोगत अनुमान गर्नु पनि युक्तिसँगत हुन आउँदैन । वास्तविकतामा आकस्मिक दुर्घटना वा अस्वाभाविक घटना हुँदा कुनै पनि चिकित्साविज्ञले यो र यस्तो अवस्थामा मृत्यु हुन्छ भनी सुनिश्चितता गर्न पनि सक्दैन । यस्ता यथेष्ट घटना हेर्दा आठ तलामाथिबाट खस्दा र  टाउकोमा चार इन्च फलामको किला घुस्दा मृत्यु नभएको यथार्थता पाइन्छ भने कहिले काहीँ सधै हिडिरहेको सामान्य  बाटोमा साधारण ठेस लागेर मृत्यु भएका पर्याप्त उदाहरण पनि पाइन्छन । तसर्थ भर्‍याङको उचाइ तथा मृतकको उचाईको फरकले मृत्युको कारणमा तात्विक भिन्नता नहुने हुँदा शंका उपशंका गर्नु भन्दा श्वासप्रश्वासको अवरोधता नै मृत्युलाई पर्याप्त हुन्छ भन्ने वैज्ञानिक पृष्ट्याइलाई शिरोधार्य गरी हेर्नु तर्कसँगत हुन्छ । तसर्थ मृत्युका सम्बन्धमा तर्कपूर्ण रूपमा विशेषज्ञले दिएको रायले नै प्राथमिकता पाउनु पर्ने हुन आउँछ ।

८. अभियोग दावीबमोजिम मृतकको मृत्यु प्रतिवादीको कर्तव्यको संलग्नताबाट भएको देखिन्छ देखिदैन भन्ने मुख्य चौथो प्रश्नतर्फ बिचार गरी संकलित मिसिल प्रमाणबाट प्रतिवादीहरूको संलग्नता के रहेछ भनी हेर्नुपर्ने हुन आयो । मृतकको मृत्युको सम्बन्धमा अनुसन्धानको क्रममा पक्राउ प्रतिवादीहरूको बयान हेर्दा, मृतक र आफूबीच प्रेमविवाह भै बसेको अवस्था वारदात मिति समयमा आफ्नो कोठामा टि.भी हेरी होमवर्क गरी बसेको र आमाले माथि आउ भनी कराएपछि माथि जाँदा श्रीमती निरू माथिल्लो तलाको कौसीमा बेहोस अवस्थामा लडिरहेको देखेकोले भान्सा कोठामा ल्याई पेट छाती थिचथाच गर्दा बुबाले डाक्टर रामेश्वर श्रेष्ठलाई बोलाई आउनु भयो । निज डाक्टरको सल्लाह अनुसार वीर अस्पतालमा उपचारको लागि लगेको र औषधि दिन लाग्दा मृत्यु भैसकेको भन्ने कुरा डाक्टरबाट थाहा पाएको हुँ । खाना बनाउने विषयमा साधारण वादविवाद भएको थियो भनी प्रतिवादी विनय मानन्धरले अनुसन्धान अधिकृत समक्ष बयान गरेको र अदालतसमक्ष बयान गर्दा समेत अभियोग दावी बमोजिमको कसूरमा इन्कार रही श्रीमती निरूले आफैले आत्महत्या गरेको हो भनी लेखाई दिएको देखियो । अर्का प्रतिवादी दीपक मानन्धरले वारदात मिति समयमा तातो पानी लिन भान्सा कोठामा जांदा बुहारी निरूलाई नदेखेकोले बाहिर कौसी तर्फ हेर्दा छतमा जाने भर्‍याङमा निज निरूले साडीले घाँटीमा पासो लगाई झुण्डिएको देखि आत्तिंदै श्रीमतीलाई खवर गरी उक्त साडीको पासो खोली डा.रामेश्वरलाई लिन गई देखाउँदा वेहोस रहेकोले डाक्टरले वीर अस्पताल लानु भनेकोले अस्पताल लगी औषधि गर्न लाग्दा मत्यु भएको थाहा पाएको हुँ, के कुन कारणले झुण्डिई आत्महत्या गरिन, थाहा भएन, जाहेरी व्यहोरामा लेखिएअनुसार आफू र बुहारी बीचको सम्बन्ध नराम्रो थिएन भनी अनुसन्धान अधिकारीसमक्ष बयान गरेका र आफू र आफ्नो परिवारको सदस्यबाट बुहारीको हत्या गरेको नभै बुहारी आफै झुण्डिएर आत्महत्या गरेकी हुन् भनी अदालतसमक्ष समेत कसूरमा इन्कार रही बयान गरेको देखियो । त्यसै गरी अर्का प्रतिवादी मृतककी सासू प्रेमदेवीले अभियोग दावीबमोजिमको कसूर अपराध आफूबाट नभएको भनी अनुसन्धान अधिकारी समक्ष गरेको बयान अनुसार नै अदालतमा समेत बयान गरेको देखिई तीनै जना प्रतिवादीहरूले उक्त घटना वारदातमा आफूहरूको संलग्नता नभएको भनी करिव एकै मिलान हुने गरी घटना विवरण प्रस्तुत गरेको देखियो ।

९. प्रतिवादीहरूले अधिकार प्राप्त अधिकारीसमक्ष बयान गर्दा कसूरमा इन्कार रही मृतक आफै झुण्डिई मृत्यु भएको भन्ने जिकीर लिएपनि मृतक आफै झुण्डिई मर्नु पर्नेसम्मको कुनै कारण खुलाउन नसकेको र बुझिएका छिमेकी मेखलाल श्रेष्ठको भनाइ, झुण्डिएको भनिएको भ¥याङको वस्तुस्थिति,पहिला वारदातस्थलमा पुग्ने डा.रामेश्वर श्रेष्ठको भनाई समेतबाट मृतकलाई प्रतिवादीहरूले कर्तव्य गरी मारेको भन्ने मुख्य दावी तथा यस अदालतमा पुनरावेदन गर्दा जिकीर लिएको देखिन्छ । मृतक निरू मानन्धरको मृत्युको कारण 'The cause of Death is Hanging' भन्ने त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगंजबाट प्राप्त शव परीक्षण प्रतिवेदनमा उल्लेख गरेको देखियो । उक्त शवपरीक्षण प्रतिवेदनमा उल्लिखित मृत्युको कारण सम्बन्धमा वादी पक्षबाट अन्यथा दावी लिएको अवस्था देखिएन । प्रतिवादीहरू बाहेक घटना वारदात स्थलमा सबैभन्दा पहिले पुग्ने छिमेकी डा.रामेश्वर श्रेष्ठले बुहारी निरू श्रेष्ठ झुण्डिइछ हेरी दिनु पर्‍यो भनि मृतकको ससुरा दीपक मानन्धरले भनेकोले निजको घर जांदा भान्सा कोठामा उत्तानो अवस्थामा सुताई राखेको अवस्थामा देखी हातको नाडी छाम्दा चलेको थाहा नपाएकोले उपचार भइहाल्छ की भनी तत्काल अस्पताल लैजान सल्लाह दिई प्रतिवादीहरू रूँदै कराउंदै गरेकोले आफैले ट्याक्सी खोजी वीर अस्पताल पठाई आफू अर्क गाडिमा वीर अस्पताल पुग्दा डाक्टरले सी.पी.आर. गरेको र इ.सि.जी गरेपछि मृत्यु भैसकेको भनेकोले आफ्नो घर फर्केको हुँ । पारिवारिक झै झगडा कुटपीट सम्बन्धमा केही थाहा छैन भनी अनुसन्धान अधिकारीसमक्ष कागज गरेको र अदालतसमक्ष बकपत्र गर्दा, निरूलाई उत्तानो पारेर सुताइरहेको, शरीर पानीले भिजेको, नाडी छाम्दा नाडी नभेटेकोले तुरून्त अस्पताल लैजान सल्लाह दिएको हुँ, विनयले कृत्रिम स्वास दिइरहेको, सासू ससूरा रोइरहेको र हडवडाई रहेको कारण निजहरूको आफ्नो गाडी निकाल्न नसकेकोले आफूले ट्याक्सी खोजेर ल्याई आफू पनि अर्क गाडिमा वीर अस्पताल पुग्दा इमेर्जेन्सीका डाक्टरले इ.सी.जी गरी मृत्यु भइसकेको भनेपछि घर फर्किएको भनी उल्लेख गरेको देखियो । प्रहरीमा कागज गर्ने घटनास्थल नजिकै अवस्थित छिमेकी मेखलाल श्रेष्ठले २०५८।२।५ गते साँझ अन्दाजी १९.०० बजेको समयमा मृतकका घरका मानिसमध्ये एकजनाले निरूलाई भान्साबाट तल आउ भनेको त्यसको जवाफमा आफै माथि आए हुन्छ नि भनेको सुनें । त्यसको एकछिन पछि मैले बोलाउंदा तल नआउने भनी भान्सा कोठामा विवाद हुँदा मैले पनि माथि आउन भनेको थिएँ भन्ने आवाज सुनेको हुँ पछि निरू श्रेष्ठलाई विनय मानन्धरले आफ्नो कोठामा ल्याई तिमीले मलाई छोड्न खोजेको हैन भनी भनेको र निरूले तिम्रो आमा यस्तो उस्तो भनी एकआपसमा झगडा भई विनयले निरूको कपाल समाएकोसम्म एकपटक झ्यालको पर्दा यता उता हुँदा देखेको हुँ, त्यसको एकछिनपछि कोठा शान्त भएपछि पुनः निजहरू बीच अपशब्दहरू बोली झगडा भएको सुनेको हुँ भन्ने व्यहोरा उल्लेख गरी कागज गरेको देखिन्छ । अदालतबाट अ.वं.११५ नं. बमोजिम बुझिएका यीनै मेखलाल श्रेष्ठले अदालत समक्ष बकपत्र गर्दा, उक्त दिन ७ बजेर २० मीनेट जाँदा घरको माथिल्लो तलाको किचनमा निरू श्रेष्ठले झ्यालबाट बाहिर टाउको निकाली कसैसँग केही कुरा सोधेको जस्तो सुनेको हुँ । तर, अर्काको पारिवारिक मामिला र सधै देखिरहेने मान्छे भएकोले ध्यान दिइन, प्रायः त्यो घरको किचनमा ठूलो आवाजले भनाभन र भाडाकुँडा बजेको आवाज आउँथ्यो, त्यसदिन पनि सधै जस्तो होला भनी त्यतातिर हेरिन आवाज मात्र सुनेको हुँ, प्रहरीमा भएको कागज दोहोर्‍याएर पढिन, मैले जे भन्नु पर्ने हो अहिले भनेको कुरा नै सही हो भन्ने व्यहोरा उल्लेख गरी बकपत्र गरेबाट यी प्रतिवादीहरूको कसूर सम्बन्धमा मेखलालको भनाइ एकआपसमा विरोधाभाषयुक्त देखिन आयो ।

१०. प्रहरीमा कागज गर्दा मृतक निरू श्रेष्ठको कपाल विनयले समाउंदा पर्दा हल्लिएको अवस्था देखेको भने पनि सो तथ्यलाई अदालतमा बकपत्र गर्दा ठूलो ठूलो आवाजले भनाभन गर्दा सुनेको हुँ भन्ने भनाइले प्रहरीमा भएको निजको कागज व्यहोरा हुबहु समर्थन गरी बकपत्र गरेको पाइएन । अर्कातर्फ बुझिएका मृतक निरू श्रेष्ठको दिदीहरू मनीका श्रेष्ठ, रेनुका प्रधान, रेविका श्रेष्ठ तथा प्रहरीमा कागज गर्ने निरू रिजाल, सुजा वैद्य, सोलामान क्षेत्री, सरिता प्रधान, राजेश्वरी श्रेष्ठ समेतले मृतक निरू श्रेष्ठ मानन्धर र उनको परिवारका सदस्यहरू बीच राम्रो सम्बन्ध नरहेको कुरा आफूहरूसँग भेटघाट हुँदा तथा टेलिफोनमा कुराकानी हुँदा मृतकले भन्ने गरेका कारण प्रतिवादीहरूले नै कर्तव्य गरी मारेकोमा विश्वास लाग्छ भनी लेखाए पनि घटना वारदात मिति समयमा प्रतिवादीमध्ये कुन प्रतिवादीले के कस्तो अपराधिक क्रिया गरे भन्ने कुरा एकिन गरी लेखाई सोही अनुसार वादी पक्षबाट दावी लिन सकेको पनि देखिन आउँदैन । प्रतिवादीहरू उपर शंका र अनुमानको आधारमा लेखाई दिएको व्यहोरा अन्य कुनै तथ्ययुक्त प्रमाणबाट समर्थन नभई वस्तुगत आधारमा परिस्थितिजन्य प्रमाणले वादी दावी पुष्टि नहुँदा सो लेखाई व्यहोरा अकाट्य प्रमाण मान्न मिल्ने देखिदैंन ।

११. मृतक निरू श्रेष्ठको मृत्युको सम्बन्धमा मृतकको शव परीक्षणमा सहभागी डा.तुलसी कडेलले मृतकको नाकबाट रगत आएको, मुख र घाँटी शरीरको अरू अंगको तुलनामा बढी Congested थियो । आँखा 'Congested' थिए । तल्लो र माथिल्लो ओठमा केही 'Abrasions' थिए, वायाँ पाखुराको भित्री भागमा २ वटा १/२ से.मी.का नीलडाम थिए, टाउकोको माथि छाला भित्र र खप्पर बाहिर ३ से.मी.को नीलडाम, खप्पर र भित्री गिदीमा कुनै चोटहरू थिएनन् । घाँटीको छाला फर्काई हेर्दा कुनै चोट नभएको, फोक्सोमा छरिएका केही 'Petechial hemmorrhages' थिए । मुटुको सतह अगाडिपट्टि केही केही 'Petechial hemmorrhages' भएको र शरीरको भित्री तथा बाहिरी भागमा कुनै चोटहरू नभएका लक्षणहरू मृतक झुण्डिएर मरेको लक्षणहरू हुन् । मृतक झुण्डिई मरेको निष्कर्षमा पुग्न मृतकको लास प्रकृति मुचुल्का, अस्पतालको आकस्मिक कक्ष (Emergency) मा जाँच गर्दा मुख र हात 'Cyanoses', घाँटीमा बायाँ कान मुनीदेखि दाहिने कानसम्म अगाडि पट्टिबाट 'Ecchymosis' भएको अवस्थाले सहयोग पुगेको हो । धेरैजसो झुण्डिएको केशमा स्पष्ट देखिने 'Ligature Mark' यो केशमा नदेखिएको हुँदा डाक्टरको वोर्ड गठन गरी प्रतिवेदन तयार गरिएको हो । शरीरमा देखिएका सामान्य चोटहरू मृत्युको कारण अपर्याप्त छन् । लासजाँच गर्दा नाकमा देखिएको रगत, शव परीक्षण प्रतिवेदनमा Actefact भनी उल्लेख गरिएको, मृत्युपछि रगत निक्लनुमा मृत्युदेखि पोष्टमार्टम गर्ने बेलासम्मको समय, लास राखिएको अवस्था, 'Emergency' मा गरिएको प्रक्रिया जस्ता कारण हुनसक्दछन् भनी अदालत समक्ष बकपत्र गरेका छन् ।

१२. मृतक निरू मानन्धरको मृत्युको सम्बन्धमा दिएको शव परीक्षण प्रतिवेदनमा झुण्डिएको अवस्थामा देखिने 'Ligature Mark' नदेखिएको कारण आत्महत्या होइन भनी वादी पक्षका विद्वान अधिवक्ताहरूले वहसको क्रममा उठाएको पाइयो । प्रख्यात तथा प्रचलित पुस्तक Modi's Medical jurisprudence and Toxicology (Twenty Third Edition) Edited by Dr. K. Mathiharan and Prof.Dr. Amrit K. Patnaiak) पुस्तकको पृष्ठ १९० मा Ligature Mark नहुने सम्बन्धमा This depends on the nature and position of the ligature use and the time of suspension of the body after death. If the ligature be soft and body be cut down immediately after death, there may be no mark. Again the intervention of a thick and long beard or clothes on the neck may lead to the formation of a slight mark only भन्ने उल्लेख भएको देखिन्छ । प्रस्तुत मुद्दामा एकातर्फ मृतक झुण्डिएको अवस्थामा तत्काल प्रतिवादीहरूले झुण्डिएको पासो काटी उपचारतर्फ लागेको भन्ने देखिएको छ भने अर्कोतर्फ साडीको पासो लगाएको हुँदा नरम कपडाबाट लामो समयको अन्तरालसम्म लास झुण्डिन नपाउनु हो भनी मान्नलाई अन्यथा मान्न मिल्दैन । धेरै जसो झुण्डिएको अवस्थामा देखिने 'Ligature Mark' प्रस्तुत मुद्दामा नदेखिएकोले मृतकको मृत्युको यकीन कारण पत्ता लगाउन डाक्टरको वोर्ड गठन गरिएको भन्ने डाक्टर तुल्सी कडेलले अदालतमा आई गरेको माथि उल्लेखित बकपत्र व्यहोराले समेत यसै यथार्थतालाई पुष्ट्याई गरेको पाइन्छ । 'Ligatre Mark' देखिने वा नदेखिने भन्ने कुरा यसको पोजिशन र झुण्डिएको अवस्थाको मृतकलाई पासो काटी निकालिएको समयान्तरमा निर्भर रहने हुँदा चिकित्सा विधिशास्त्र (Medical Jurisprudence) मा उल्लिखित तथ्यले समेत समर्थन गरेको सत्यता शंकारहित हुँदा मृतकको घाटीमा 'Ligatre Mark' नदेखिएको अवस्था 'Hanging'  भन्ने शवपरीक्षण प्रतिवेदन निष्कर्ष अन्यथा हो भन्ने विद्वान अधिवक्ताहरूको बहस जिकीरसँग सहमत हुने अवस्था रहेन ।

१३. शवपरीक्षण प्रतिवेदनमा सहभागी अर्का डा. हरिहर वस्तीले अदालतसमक्ष बकपत्र गर्दा आफू समेत भै लास जाँच प्रतिवेदन तयार गर्दा मुख्य रूपमा लासमा देखिएका लक्षणहरू, वीर अस्पताल आकस्मिक कक्षमा रेकर्ड गरिएको अवस्था, लासजाँच प्रकृति मुचुल्का तथा घटनास्थलको अवस्थाका बारेमा प्राप्त भएका सूचनाहरूलाई आधार लिइएको हो । लास प्रकृति मुचुल्का र शव परीक्षण प्रतिवेदनमा मृतकको नाकबाट रगत बगेको सम्बन्धमा मृत्यु जुनसुकै कारणले भएपनि मृत्यु भएको ८१० घण्टा पछि मृत शरीरको आन्तरिक डिकम्पोजिसन हुने भएको हुँदा रगत त हैन रगत जस्तो देखिने तरल पदार्थ नाकमुखबाट बाहिर निस्कन शुरू गर्छ । जसलाई 'Purging' भनिन्छ, यसले अन्यथा अर्थ लाग्दैन । मृतक लासमा देखिएका चोटपटकहरू सामान्य बाहिरी चोटपटक मात्र पाइएकोले उक्त चोटहरू मृत्युको कारण बन्नसक्ने अवस्थाका होइनन् । चिकित्सा विधिशास्त्रअनुसार लास जाँच गर्दा मृतकमा पाइएका वाह्य तथा आन्तरिक लक्षणहरू नै मृत्युको कारण पत्ता लगाउने मुख्य आधार भएपनि कतिपय अवस्थामा घटनास्थल तथा अन्य कुराको पनि सहयोग लिन सकिने हुन्छ । लासजाँच प्रतिवेदनमा मृत्युको कारण उल्लेख भएको 'Hanging' नै हो भनी लेखाई दिएको र सोही तथ्य मिलान हुने गरी अर्का शवपरीक्षणमा सहभागी डा.प्रमोदकुमार श्रेष्ठले अदालतमा आई बकपत्र गरेको अवस्था सम्बन्धित विज्ञले दिएको रायलाई वस्तुनिष्ठ रूपमा अन्यथा प्रमाणित नभएसम्म सो रायलाई अन्यथा भन्नुपर्ने अवस्था हुन आउँदैन ।

१४. शवपरीक्षण प्रतिवेदनबाट मृतक निरू श्रेष्ठ मानन्धरको मृत्युको कारण 'Hanging' भनी उल्लेख भएको तथ्यलाई शवपरीक्षण प्रतिवेदन तयार गर्ने डाक्टरहरूले अदालतमा आई बकपत्र गर्दा सोही तथ्यलाई पुष्टि हुने गरी विवादरहित रूपमा लेखाई दिएको देखिन्छ । घटनास्थल तथा लासको प्रकृति मुचुल्कामा उल्लेख भएका सामान्य चोटपटकको कारण मृत्यु हुन नसक्ने भन्ने राय प्रतिवेदन दिने सम्बन्धित डाक्टरले लेखाई दिएको तथ्यलाई वादी पक्षबाट अन्यथा प्रमाणित गर्न सकेको समेत पाइएन । वादी पक्षबाट घटनाको प्रत्यक्षदर्शी अर्थात घटना देख्ने सुन्ने भनी उल्लेख गरेको मेखलाल श्रेष्ठको मृतक निरूको कपाल प्रतिवादीमध्ये विनयले समाएको झ्यालको पर्दा हल्लिँदा देखेकोभनी प्रहरीमा उल्लेख गरेको कथन  अदालतमा आई बकपत्र गर्दा आफ्नो सो भनाइलाई समर्थन गर्न नसकी विरोधाभाषपूर्ण रूपमा उल्लेख गरेको पाइएको अवस्था निजको त्यस्तो भनाइसम्मको आधारमा प्रतिवादीहरू उपर ज्यानजस्तो गम्भीर अपराधमा कसूर ठहर गर्नु न्यायसँगत हुन
आउँदैन । आफू खुसी प्रेमविवाह गरेर गएकी छोरीको मृत्युको सम्बन्धमा जाहेरवाला मृतकका बाबु मुकुन्ददास श्रेष्ठ तथा मृतकका दिदीहरू समेतको अनुसन्धान अधिकारी एवं अदालतसमक्ष भएको बयान समेत वस्तुपरक तथ्यमा आधारित भएको भन्ने कुरा अभियोजन पक्षबाट पुष्ट्याई गर्न सक्नुपर्नेमा सो दायित्व निर्वाह गरेको समेत पाइएन ।

१५. हाम्रो समाजमा घरेलु हिंसाका कारण कतिपय अवला तथा असहाय नारीले अकालमा ताडना तथा मृत्युको शिकार हुनु परेको यथार्थता एउटा सम्बेदनशील विषय भएकोमा दुई मत राख्नु पर्ने छैन । पुरूषको उत्पीडन तथा प्रताडनाको कारण मृत्युवरण गर्ने महिलालाई न्याय प्रदान गर्ने तथा वास्तविक आपराधिलाई सजाय गर्ने तर्फ अदालत सदा सचेष्ट तथा सजग हुनुपर्ने तर्फ दृढ हुनै पर्दछ । तर यसको अर्थ कुनै नारीको मृत्युको प्रश्न सन्मुख आएकोमा पुरूष संलग्न घरायसी हिंसाकै कारण भएको हो भनि पूर्वानुमान गरी आवेशात्मक भावनामा बगेर न्यायको बलिवेदीमा कसैलाई चढाई दावी ठहर्‍याउनु पनि न्यायोचित हुदैन । प्रमाणको पर्याप्त मुल्याङ्कन, यसका आर्दश, मान्यतालाई शिरोधार्य गरी कसूरदारलाई सजाय दिलाउनु निसन्देह अदालतको कर्तव्य हुन आउँछ भने निर्दोषलाई न्याय प्रदान गर्नु पनि उसको दायित्व भित्र नै पर्न आउँछ । तसर्थ संकलित प्रमाणको उचित मूल्याङ्कन गरी न्यायिक विवेकको सदप्रयोग गरी वास्तविक न्याय प्रदान गर्नुपर्ने पृष्ठभूमिमा, माथि उल्लिखित समग्र मिसिलको तथ्यबाट प्रतिवादीहरूले अभियोग दावी बमोजिमको कसूर अपराध गरेको देख्ने प्रत्यक्षदर्शीको अभाव, एकमात्र वारदात देख्ने भनिएका मेखलालको विरोधाभाषयूक्त बकपत्र, लास जाँच प्रतिवेदनबाट आत्महत्याको पुष्टि तथा प्रतिवादीहरूको यो यस्तो कार्यबाट मृतकको मृत्यु भएको वा मृतकलाई मार्नु पर्नेसम्मको कसूर अपराधमा यी प्रतिवादीहरू दुषित मनसायले अभिप्रेरित भई सुनियोजित षड्यन्त्र गरी कुटपीटको कारणबाट मृत्यु भई सो पश्चात् झुण्ड्याउने कार्य गरेको भन्ने तथ्य शंकारहित रूपमा अभियोजनकर्ताबाट पुष्टि गर्न सकेको समेत पाइएन ।

१६. यस स्थितिमा विश्वासिलो अकाट्य प्र्रमाणको अभावमा अनुमान, आशंका र संभावना जस्ता मनोगत प्रमाणलाई एकमात्र आधार बनाई कर्तव्यबाटै मृतकको मृत्यु भएको भनी निष्कर्षमा पुग्नु न्यायोचित हुदैन । शंका र द्विविधाको सुविधा प्रतिवादीले पाउने फौजदारी न्यायको सर्वमान्य सिद्धान्तअनुरूप पनि यी प्रतिवादीहरूलाई ज्यान जस्तो जघन्य अपराधमा दोषी ठहराउनु कानून प्रतिकूल हुने र वारदातको प्रकृतिको विश्लेषणसमेत गर्दै प्रतिवादीमध्येका दीपक मानन्धर र प्रेमदेवी मानन्धरले सफाइ पाउने ठहराई भएको इन्साफ सदर गरी विनय मानन्धरलाई अभियोग दावी बमोजिम कसूरदार ठहराएको हकमा सम्म पुनरावेदन अदालत पाटनको फैसला केही उल्टी गरी सम्पूर्ण प्रतिवादीहरूले अभियोग दावीबाट सफाइ पाउने ठहराई भएको माननीय न्यायाधीश श्री अनूपराज शर्माको राय मनासिव ठहर्छ । सम्पूर्ण प्रतिवादीहरूलाई अभियोग दावीबमोजिम ज्यान सम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्व सहित जन्मकैदको सजाय ठहर गरेको माननीय न्यायाधीश श्री ताहिर अली अन्सारीको रायसँग सहमत हुन सकिएन । अरू तपसील बमोजिम गर्नू ।

तपसील

माथि इन्साफ खण्डमा लेखिएबमोजिम अन्य प्रतिवादीको हकमा फैसला सदर भै प्रतिवादी विनय मानन्धरसम्मको हकमा पुनरावेदन अदालत पाटनको फैसला केही उल्टी भै निज प्रतिवादी विनय मानन्धरले सफाइ पाउने ठहर गरी भएको माननीय न्यायाधीश श्री अनूपराज शर्माको राय सदर हुने ठहरेकोले थुनामा रहेका प्रतिवादी विनय मानन्धरलाई आजै थुनाबाट छोडिदिनु भनी छुट्टै आदेशद्वारा लेखी पठाई सकिएकोले अन्य केही बोली रहनु  परेन ......१

प्रतिवादी विनय मानन्धर समेतले सफाइ पाउने ठहरेकोले निज विनय मानन्धरको हकमा पुनरावेदन अदालत पाटनको फैसलाको तपसील खण्डको १ नं.मा रहेको जन्मकैदको लगत कायम नरहने जानकारी ललितपुर जिल्ला अदालतमा लेखी पठाई दिनू ....... .२

प्रस्तुत फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिई मिसिल नियम बमोजिम बुझाई दिनू.. ३

उक्त रायमा सहमत छु ।

न्या.प्रकाश वस्ती

माननीय न्यायाधीश श्री सुशीला कार्कीको राय :-

उपर्युक्त विद्वान कानून व्यवसायीहरूको वहस सुनी सम्पूर्ण मिसिल कागजातहरू अध्ययन गरी हेर्दा, मृतक निरू मानन्धरलाई मृतकका ससुरा दीपक मानन्धर, सासू प्रेमदेवी मानन्धर र पति विनय मानन्धरले नियोजित तरिकाले हत्या गरी आत्महत्याको रूप दिने योजना बनाएको तथ्य स्पष्ट हुन आएकोले ज्यान सम्बन्धी महलको १ नं. विपरीतको कसूरमा ऐ.को १३(३) नं. बमोजिम तीनै जना प्रतिवादीहरूलाई सजाय गरिपाऊँ भन्ने अभियोग मागदावी लिएको प्रस्तुत मुद्दामा निम्न प्रश्नहरूको निराकरण हुनुपर्ने देखिन्छ ।

(१) मृतक निरू श्रेष्ठको मृत्यु आत्महत्या हो वा हत्या के हो ?

(२) अभियोग दावी बमोजिमको कसूर अपराध प्रतिवादीहरूबाट भएको हो होइन ?

पहिलो प्रश्न तर्फ बिचार गर्दा, मृतक निरू श्रेष्ठको मृत्यु सम्बन्धमा सबै प्रतिवादीहरू आफूहरू कसूरमा इन्कार रही जिल्ला न्यायाधिवक्ता एवं अदालत समक्ष बयान गरेका र मृत्युको सम्बन्धमा ज्बलनष्लन भनी शव परीक्षण प्रतिवेदनमा उल्लेख भएपनि त्यत्तिकै आधारमा अन्य परिस्थितिजन्य तथ्य प्रमाणहरूको अनदेखा गर्नु न्यायीक मान्यता र इन्साफको दृष्टिले समेत मिल्ने अवस्था आउंदैन । मृतक निरू श्रेष्ठ मानन्धर र प्रतिवादीबीच विद्यालयमा अध्ययनरत रहँदाकै अवस्थादेखि प्रेम सम्बन्ध रही विवाह गरेको र सो विवाहमा केटीतर्फका संरक्षक बाबु आमाको मञ्जूरी नरहेको भन्ने कुरा मिसिल कागजको प्रत्येक तथ्यको अध्ययनबाट विवाद
देखिएन । छोरीले प्रेम विवाह गरे पश्चात माइतीमा नआएकी र आफ्ना दिदीहरूसँग सम्पर्क गर्दा घर परिवारबाट शारीरिक तथा मानसिक यातना दिने गरेको कुरा भन्ने गरेको र छोरीहरू मार्फत आफूले जानकारी पाएको हुँदा छोरीको मृत्यु प्रतिवादीहरूकै कर्तव्यबाट भएको कुरामा विश्वास लाग्छ भनी मृतकका बाबु मुकुन्ददास श्रेष्ठले प्रतिवादी तीनै जना उपर किटानी जाहेरी दिएको देखिन्छ । बाबु आमाले प्रेम विवाह गर्ने कुरामा ठाडै अस्वीकार गरेको कारण बहिनी माइतीमा नआउने गरेकी र घरपरिवार सासू, ससुरा र पति समेतले घरमा सानो तिनो कुरामा गाली गर्छन् भन्ने कुरा बहिनीले आफूसँग भन्ने गरेको हुँदा मृतक बहिनीको मृत्यु घर परिवारका सदस्य प्रतिवादीहरूबाट भएकोमा विश्वास लाग्छ भनी मृतकका दिदीहरू रेविका श्रेष्ठ तथा मनिका श्रेष्ठ समेतले अनुसन्धानको क्रममा तथा अदालतमा आई बकपत्र गरेको देखिन्छ । घरको सानो तिनो काममा सासू, दिदी समेतले गाली गर्ने गरेको र श्रीमान् विनयले कुट्नु हुन्छ भनी आफूलाई फोनमा बताउने गरेकी र प्रेम विवाहलाई सासूले मन नपराएको कुरा समेत गर्ने गरेको कारण मृतकको मृत्यु परिवारबाटै भएकोमा विश्वास लाग्छ भनी प्रहरीमा कागज गर्ने मृतकको साथी निरू रिजालले अदालतमा आई बकपत्र गरेको अवस्था देखिन्छ । मृतक निरूसँगै पढाउने शिक्षक शोलोमान क्षेत्रीले कागज गर्दा विवाह भएको १२ महिना पश्चात स्कूलमा निराश देखिएकी र निरास हुनुको कारण सोद्धा घरमा सासू, ससुरा सानोतिनो कुरामा कचकच गरिरहने, श्रीमान् विनयले बाबु आमाको कुरा सुनी कुटपीट गर्ने गरेको भन्ने बताउने गरेको भनी लेखाइदिएको देखिन्छ । त्यसैगरी प्रहरीमा कागज गर्ने राजेश्वरी श्रेष्ठले विनयसँग प्रेम विवाह भएपश्चात् घरमा काम गर्ने नोकरलाई हटाएकोले सबै काम आफैले गर्नु पर्छ, सानो तिनो काममा सासू ससुराले गाली गर्ने गरेको, स्कूलका साथीभाइले बोलाउंदा पनि घरबाट बाहिर जान नदिने, पढ्न क्याम्पस जान नदिएको गुनासो समेत गर्ने गर्थिन्, आफै आत्महत्या गर्ने स्वभावकी मानिस होइन्न भनी मृतकसँग एउटै विद्यालयमा पढाउने शिक्षिका राजेश्वरी श्रेष्ठले अदालतमा आई बकपत्र गरेको र घटनास्थल वरपरका श्रीकृष्ण श्रेष्ठले घटना वारदात समयमा झगडा भैरहेको सुनेको भनी बकपत्र गरेको पाइन्छ ।

उल्लिखित तथ्यको विश्लेषण गर्दा मृतक र सासू, ससुरा एवं श्रीमान् बीच विवाह पश्चात पारिवारिक सम्बन्ध राम्रो नरहेको भन्ने कुरा देखिन आयो । विवाह पश्चात घरमा काम गर्ने व्यक्तिलाई हटाई दिएको र सबै काम आफूबाटै गराउने, क्याम्पस पढ्नमा रोक लगाएको, आमाले जे सुकै भनेपनि मान्नुपर्छ भनी विनयले भन्ने गरेको तथ्य पुष्टि भएको र प्रस्तुत तथ्यलाई प्रतिवादी दीपक मानन्धरले अनुसन्धान अधिकारी समक्ष बयान गर्दा छोरा बुहारी कहिले काँही सामान्य कुरामा रिसाउने गर्थेभनी लेखाई दिएका र घटना वारदातको दिन बेलुका खाना बनाउने विषयमा आफूहरू बीच झगडा भएको कुरा प्रतिवादी विनयले बयानको क्रममा लेखाउनुका अतिरिक्त तीनै जना घर परिवार भित्रका प्रतिवादीहरूले बुहारी निरूले झुण्डिएर आत्महत्या गर्नु पर्ने यो यस्तो कारण थियो वा हुनसक्छ भनी भन्न लेखाउन सकेको पाइदैन । यिनै सासु ससुरा र प्रतिवादी विनयको कथन अनुसार उक्त दिन मृतक झुण्डि मर्ने किसिमको लक्षण थियो भनी भन्न खुलाउन सकेको पाइदैन । निजहरूको कथनमा मृतकको  त्यस दिनको दिनचर्या सहज देखिएको छ । प्रतिवादी पक्षका कानून व्यवसायीहरूको बहसमा आएको तर्क माइत जान पाइएन भन्थिन् भन्ने कारण निजले आत्महत्या गर्ने अवस्था आउँछ भन्न सकिने अवस्था हुँदैन । घर परिवार सासू ससुराबाट मन नपरेकी बुहारी भित्र्याउनु परेको र उद्दण्ड स्वभावको छोरा विनयलाई बुहारीप्रति वितृष्णा जगाई घर झगडा गराई यत्तिकै अवस्था बुहारीलाई घर निकाला गर्न नसक्ने अवस्था भएपछि हत्या गर्नेतर्फ छोरा विनय आफू अग्रसर भएको भन्ने माथि उल्लिखित पारिवारिक वातावरणबाट देखिन आउँछ ।

मृतक आफैले आत्महत्या गरेको भन्ने प्रतिवादीहरूको सतही भनाई रहे पनि निजले आत्महत्या (sucide) गर्नु पर्ने कारणमा परिवारका सदस्य प्रतिवादीबाट अनभिज्ञता प्रकट गर्नु, मृतक आफैले आत्महत्या गर्नु पर्ने अन्य सिर्जित कारण देखिएको अवस्था भए निजले Sucidal Note केही छाडेको हुनुपर्नेमा सो केही मिसिल प्रमाणबाट देखिदैन । मृतक निरू मानन्धर श्रेष्ठ आफै आत्महत्या गर्नुपर्ने अन्य कारणमा निज कुनै मानसिक रोगी भएको र निजमा बाँच्ने अभिलाषा नभएको भन्ने तथ्यहरू अन्य कारण मिसिलको तथ्यबाट देखिदैन । Cause of Death Hanging भनी शव परीक्षण प्रतिवेदनमा डाक्टरले उल्लेख गरेको विवादास्पद तथ्य बाहेक मृतक झुण्डिई आत्महत्या गरेको भन्ने वस्तुनिष्ठ आधार कही कतैबाट देखिदैन । मृतक झुण्डिएको अवस्था प्रयोग भएको साडी समेत मौकामा नै बरामद भएको अवस्था छैन । प्रतिवादी तर्फका विद्वान कानून व्यवसायीहरूले प्रेम विवाहमा माइती पक्षबाट जातिय विवाद उठाई माइतीमा आउन जान रोक लगाएको कारण आत्महत्या गरेको हुनसक्ने भनी वहसको क्रममा व्यक्त गरेपनि प्रस्तुत तर्क कुनै तथ्यमा आधारित देखिएन । मिसिलबाट देखिएको सम्पूर्ण तथ्यबाट मृतकलाई मृत्यु पूर्व माइतीको भन्दा घर परिवारको कारण घरेलु हिंसाबाट प्रताडित बनाएको भन्ने देखिएको र मृत्यु हुनु भन्दा अगाडि माइतीमा नजानु बाहेक माइती तर्फका बाबु , आमा तथा दिदीहरूसँग कुनै विवाद भएको वा यी मृतकसँग माइती पक्षबाट कुनै निरास हुनुपर्ने वा चित्त दुखाउनु पर्ने किसिमको भेटघाट वा फोन सम्पर्क भएको भन्ने पनि देखिदैन । मिसिलबाट देखिएको यस्तो तथ्यबाट मृतकको मृत्यु आत्महत्या नभै प्रतिवादी मध्येबाटै हत्या भएको मान्नु पर्ने बाहेक अर्क विकल्प देखिदैन ।

मृतक झुण्डिएको भनिएको फलामको भर्‍याङको वस्तुस्थिति हेर्दा, सो भर्‍याङ गोलाकार रूपमा सिंडी निर्माण गरी प्रत्येक सिंडिमा उक्लनु पर्दा घुम्नु पर्ने देखिन्छ । घुमेको भर्‍याङको जुनसुकै सिंडीमा मृतकले पासो लगाएको भएपनि शरीर सोझै भर्‍याङको तल रहने सक्ने भर्‍याङको प्रकृतिबाट पनि देखिदैन । भर्‍याङको सांतौँ खुड्किलामा झुण्डिएको बयान गर्ने प्रतिवादी दीपक मानन्धरको कथन रहेपनि आत्महत्या गर्न चाहने मृतकले सहज रूपमा मर्न नसक्ने वा नचाहने अवस्था
रहन्छ । मृतक निरू श्रेष्ठको उचाई ६० इन्च तथा झुण्डिएको भनिएको भर्‍याङको सातौं खुड्किलाको उचाई ७१ इन्च रहेपनि झुण्डिन प्रयोग गरिएको भनिएको साडीको पासाको Ligature Mark  नदेखिएको अवस्थालाई विचार गर्दा समेत घुमाउरो प्रकृतिको भर्‍याङमा मृतक आफै झुण्डिएर मर्नसक्ने सम्भावना देखिदैन । त्यस्तो भर्‍याङको वस्तुस्थिति रहेको अवस्थामा मृतकले आत्महत्या गर्न झुण्डिदा प्रत्यक्ष जमिनमा खडा हुन सक्ने देखिएको अवस्थामा पनि मानिस मर्न सक्ने भनी Post Mortom गर्ने डा. हरिहर वस्ती समेतले विभिन्न आधार उल्लेख गरेपनि ती आधारहरूमा तथ्यको सही विश्लेषण गरिएको मान्न सकिने अवस्था छैन । मिसिलमा देखिएका विभिन्न तथ्यहरूले आत्महत्या गर्न सक्ने अवस्था नदेखिएको स्थिति हुँदा हुँदै मृतकको मृत्यु झुण्डिएर आत्महत्या गरेको भन्ने तर्फ उन्मुख रही घटनालाई स्वभाविक आत्महत्याको रूप दिन खोजेको देखिन्छ ।

घटना वारदातको राति ८.३० बजे घर परिवारका सदस्य प्रतिवादीहरू तीनै जनाले खाना आएर आफ्नो कोठामा टी.भि. हेरी बसेका र १०.०० बजे मात्र झुण्डिएको थाहा पाएको भन्ने कथन आफैमा अपत्यारिलो र असम्भव देखिन्छ । भान्सामा खाना तयार गरी परिवारलाई खुवाईसकेपछि मृतक कति बजे झुण्डिन् , उनको अगाडिको गतिविधि के थियो भन्ने कुरा एउटै घरभित्र बस्ने प्रतिवादीहरूलाई मौकामा जानकारी थिएन भन्न र मान्न मिल्ने अवस्था हुँदैन । घटना वारदातको दिन भएको दिउँसो र बेलुकाको गतिविधि एवं बसउठ प्रतिवादी विनयले बयानको क्रममा उल्लेख गरेका कथन र प्रतिवादी प्रेमदेवीको कथन एक आपसमा नमिली विरोधाभाषयुक्त समेत देखिएको अवस्था मृतकको मृत्युको कारण आत्महत्या हुनसक्ने अनुमान गर्ने अवस्था नभई प्रतिवादीमध्येबाट हत्या भई कसूरलाई आत्महत्याको रूप दिन अरू विभिन्न उपचारात्मक उपायको खोजी गरेको भन्ने देखिन  आउंछ ।

मृतकको तल्लो ओंठमा One-half centimiter abrasion, तथा माथिल्लो ओंठमा नीलडाम रहेको, टाउकोको माथिल्लो भागमा ३ सेन्टीमिटरको Contution रहेको, पाखुरामा खोस्रिएको भन्ने Medical Report मा उल्लेख छ । मृतकका यी चोटहरू मर्नुपूर्वका संघर्षका चोटहरू हुन् भन्ने स्वतः अनुमान गर्न सकिन्छ जुन चोट आत्महत्या गर्ने व्यक्तिमा हुदैनन् । यी चोटहरूले मर्न सक्ने अवस्था नहुने भनी डाक्टरले राय उल्लेख गरेपनि आत्महत्याको पुष्टि गर्ने अवस्था रहंदैन । वरू हत्यारा र मृतक बीच संघर्ष भएको भन्ने मृतकले लगाएको कुर्ता च्यातिएकोबाट समेत देखिन्छ । जुन कुरालाई बुझिएका छिमेकीहरूले सो समय ठूलो ठूलो आवाजमा झगडा विवाद भएको आवाज आएको भनी लेखाई दिएको तथ्यले समेत पुष्टि गर्छ ।

छिमेकी डाक्टर रामेश्वरमान श्रेष्ठको कथन अनुसार निज १० बजे राति मृतक रहेको भान्साकोठामा जाँदा भान्सामा पानी बगेको, मृतक पानीले भिजेकी थिइन् भनेबाट मृतकको नाकबाट बगेको रगत पखाल्ने र अन्य संघर्षका प्रमाण मेटाउन उक्त पानीको प्रयोग भएको पुष्टि हुन्छ । नाकबाट रगत बगेको कुरा मृतकलाई अस्पतालमा परीक्षण गर्दा वा स्थानान्तरण गर्दा भएको हुन सक्ने भन्ने डाक्टरको अदालतमा भएको कथन सत्यतामा आधारित देखिंदैन । डाक्टर रामेश्वरमानले मृतकको शरीर नाडी जाँच्ने वित्तिकै वारदात स्थलमा निजले उपचार गर्न लग्नु भन्ने जुन सल्लाह दिए भनेका छन् त्यो पत्यार लाग्दो छैन । यस अवस्थामा अपहत्यामा परेको वा झुण्डिएको व्यक्तिको वारेमा प्रहरीमा खवर गर्नु पर्ने सामान्य ज्ञान डाक्टर रामेश्वरमानलाई थिएन भन्न र मान्न सकिदैन । निजले मृतकको नाडी छाम्दा नचलेको भनेपछि डाक्टर आफूले मृतक मरेको बाँचेको तत्काल जानकारी पाएकोमा तत्काल प्रहरीमा खबर नगरी आफैले अस्पताल लान सल्लाह दिई मरी सकेको लासलाई वारदातस्थलबाट स्थान्तरण गर्ने गरी गाडिको बन्दोवस्त गरी दिएको भन्नु तथा मृतकलाई वीर अस्पतालमा पुर्‍याउँदा नै मृत्यु भइसक्यो भन्ने डाक्टर पुष्कर पोखरेलको कथन रहेको, निजले डाक्टर तुलसी कडेंललाई फोनबाट दिएको जवाफ १०.१५ मा मृतकको मृत्यु भइसकेको भन्नु र अस्पतालको प्रारम्भिक जाँचमा मृत घोषणा गरी सकेपछि पनि मृतकलाई ११.०० बजेसम्म C.P.R.E.C.G. गरी मरेको मानिसलाई निरन्तर उपचार गरियो भन्नु डाक्टरको भनाई आफैमा विवादास्पद रहेको देखिन्छ । साथै C.P.R.E.C.G. को कारण मृतकको नाकबाट रगत बगेको भन्ने कथन मृत्युपछि आलो रगत बग्न सम्भव नभएबाट पनि सो कथन पुष्टि हुन
आउँदैन ।

शव परीक्षण प्रतिवेदनमा डाक्टर तुल्सी कडेलले गरेको Investigation को सन्दर्भमा वास्तवमा भन्ने हो भने  Medical Jurisprudence  मा विभिन्न authorities मा लेखिएका कथन अनुसार वारदातको सूचना पाएपछि प्रहरीको साथमा forensic डाक्टर पनि वारदातस्थलमा जाने अध्ययन गर्ने हुन सक्दछ । तर प्रहरीले वारदातस्थलको वा घटनास्थलको मुचुल्का नबनाउदै घटनास्थललाई छेडछाड भने कसैले पनि गर्न मिल्दैन । यसरी एकतर्फी रूपमा आफैले निरीक्षण गरी डाक्टरलाई आफ्नो राय दिने हक नभएकोमा मृतकको टाउकोको चोट सिडीमा लागेको, पाखुराको चोट ससुराको आंैलाले गर्दा भएको र ओँठको चोट विनयले ओंठमा स्वास दिंदा भएको भन्ने डाक्टर तुलसी कडेंलले वारदात हुँदा आफै उपस्थित भएको र प्रत्यक्ष देखेको जस्तो गरी दिएको ठोकुवा तर्क आफैमा विवादास्पद छ । कारण विनयले मृतकलाई स्वास प्रश्वास दिएको कथन नत डाक्टर रामेश्वरमानको छ, नत प्रेमदेवी, नत दीपक मानन्धरको बयानमा त्यस्तो कथन छ , तथापी निजहरूको कथन अनुसार विनयले मृतकको पेट छातीमा थिच्यो भन्ने सम्मको कथन रहेको छ ।

प्रस्तुत मुद्दामा डाक्टरहरूले दिएको राय प्रतिवेदनको सम्बन्धमा हेर्दा, Modi को Medical Jurisprudence को 21 edition को Page 2002 मा Hanging Strangulation को भिन्नता बारे यस प्रकार उल्लेख गरेको छ “Hanging bleeding from nose, mouth and ear very rare Strangulation मा Bleeding from nose, mouth and ears may be found भनिएको छ । Modi कै पुस्तक Medical Jurisprudence को 21 edition को Strangulation को Chapter, page 196 197 मा Ligature Mark    को Strangulation  मा पनि Hanging को जस्तो System आउने र Abrasion हुनसक्छ भनेका छन् । त्यस्तै  If the victim was sitting and the assailant applied a ligature on the neck while standing behind him thus using force back and upward. Very often there are abrasion and ecohymosis in the skin adjacent to the mark. In some cases the mark in the neck may not be present at all or may be very slight of the ligature used is soil and yiedley like a stocking or scarf and if removed soon after death  भन्ने उल्लेख भएको पाइन्छ ।

आत्महत्या हो वा हत्या हो भन्ने सन्दर्भमा Modi को Medical Jurisprudence को Page No. 193 को second paragraph मा Whether the Hanging was Sucidal, Homicidal or Accidential मा भनिएको छ, Circumstancial evidence also has an important bearing,   त्यस्तै Page No. 192 को fifth paragraph मा The presence of a ligature – mark  alone is not diagonostic of death from hanging भनिएको छ, प्रस्तुत मुद्दामा नाकबाट रगत आएको र  ecchymosos घाँटीमा रहेको अवस्था देखिएको छ । यस्तो अवस्था The cause of death hanging उल्लेख भएको डाक्टरको राय प्रतिवेदन स्पष्ट रुपमा विवादास्पद देखिएको छ ।

मृतक निरू श्रेष्ठ मानन्धरले स्वभाविक रूपमा आत्महत्या गरेको भए वा कसैको कर्तव्यबाट निजको मृत्यु नभएको स्थिति भएको भए प्रतिवादीहरूले मौकैमा छरछिमेक वरपर सुनिने गरी रूने, कराउने वा गुहार्ने कार्यसम्म हुनुपर्ने थियो । त्यस्तै साडीको पासो घाँटीमा फुकाएपछि वा काटीए पछि कमसेकम त्यसको एकभाग प्रमाणको रूपमा बाँधिएको भनिएको भाग फलामको सिडीको भागमा रहनुपर्ने थियो । डाक्टर रामेश्वरमान समेतले मौकामा नै छिमेकमा सो कुरा अभिव्यक्त गरेको हुनुपर्दथ्यो, जुन कुरा कहिंकतैबाट खुल्न आएको देखिदैन । यसबाट मृतकको हत्या भएपछि लास घरबाट स्थानान्तरण गरी औषधि गर्ने  बहाना देखाई प्रमाण लोप गर्ने हेतुले वीर अस्पताल पुर्‍याएको र भान्साघरमा मृतकलाई पानी छ्याप्ने, भान्सा पखाल्ने र वारदातस्थल सफा गरी लासको वास्तविक प्रकृति र अवस्था देखिने चिन्ह समेत मेटाएको स्पष्ट हुन आउँछ । यी उल्लिखित मिसिल कागजको समग्र तथ्य प्रमाण एवं उद्धृत Medical Jurisprudence मा उल्लेखित व्याख्यानहरूबाट समेत मृतक निरु श्रेष्ठ मानन्धरको मृत्यु आत्महत्या नभै हत्या भएको भन्ने निर्विवाद रुपमा पुष्टि हुन आयो ।

अभियोग दावीबमोजिमको कसूर अपराध प्रतिवादीहरूबाट भएको हो होइन तथा मृतकलाई कर्तव्य गरी मार्नमा के कुन प्रतिवादीको के कस्तो संलग्नता रहेछ भन्ने दोस्रो तर्फ विचार गर्दा, प्रस्तुत मुद्दामा परिस्थितिजन्य प्रमाण मालाकार कडीको रूपमा (Chain of Evidence) कायम देखिएको छ । प्रेमदेवीले एकमात्र छोराको दवावमा यी मृतकलाई मन नपराएको अवस्थामा समेत बुहारीको रूपमा स्वीकार्नु परेको निजहरूको भनाई, व्यवहार र मिसिल संलग्न परिस्थितिजन्य प्रमाणहरूबाट देखिन आएको छ । निजले आफ्नो बयानमा बुहारीको दैनिक क्रियाकलाप सविस्तार देखाउँदा घरको काममा मात्र लगाएको भन्ने देखिन्छ । आफ्नो घरको दुर्व्यवहारको कारण मृतक दुई पटक घर छाडी हिडेको र घरमा गर्नु पर्ने सम्पूर्ण काम परिवार कसैले नसघाउने जस्ता बाध्यतामा पारी मृतकलाई घरपरिवारबाट पन्छाउन खोजेको र सो को वारेमा आफ्ना साथी र दिदीहरूलाई मृतकले भन्ने गरेको पुष्टि हुन आएको छ । वारदात मितिको दिन घरमा होहल्ला झगडा भएको सुनेको भनी छिमेकीहरूले अदालतमा समेत लेखाई दिनुका अतिरिक्त मृतक स्वयंले आत्महत्या गर्नु पर्ने कुनै बलियो आधार प्रमाण देखिएको अवस्था समेत छैन । घरपरिवारले आफू प्रति गरेको कचकचे व्यवहार सहन गरी विवाह पश्चात करिव एक वर्ष आठ महीनासम्म निरन्तर घरमा बसेकी पढेलेखेको महिलाले आत्महत्या गरी मर्नु पर्ने कारणको पुष्टि प्रतिवादीबाट सप्रमाण भएको
देखिदैन । वारदात मिति समयमा समेत मृतक र पति विनय बीच खाना बनाउने विषयमा विवाद भएको कुरा स्वयं प्रतिवादी विनयको कथनले स्वीकार गरेको छ । त्यस्तो विवाद विनय र मृतक बीच हुने गरेको भन्ने कुराको पुष्ट्याई हुने गरी मृतकको ससुरा दीपक मानन्धरले लेखाई दिएको बयान कथन प्रतिवादी विनय रिसाहा र उद्दण्ड प्रकृतिको भन्ने बुझिएका व्यक्तिहरूले लेखाई दिएको तथ्यले पुष्टि गरेको अवस्था छ ।

मृतकसँग प्रतिवादी विनयले प्रेम विवाह गर्नु अघि र सो पश्चात समेत मृतकका बाबु आमा समेतका परिवारसँग राम्रो सम्बन्ध नराखेको, आफूसँग मन मिली प्रेम विवाह गरी बसेकी श्रीमतीले अव बाच्नु व्यर्थ छ भनी आत्महत्यासम्म गर्नु पर्ने कारणनै आत्महत्याको कारण हो भन्ने वस्तुनिष्ट आधार विनयले आफ्नो बयानमा उल्लेख गर्न नसकी केवल माइतीसँग आवतजावत नभएको कारण होला भन्नु आफूले गरेको कसूर लुकाउने चेष्टासम्म हुनसक्छ । मृतक र प्रतिवादी विनयबीच भनाभन भएको तथा निजले मृतकको कपाल समाएको पर्दा हल्लिएको अवस्था देखेको हुँ भनी प्रहरीमा कागज गर्ने मेखलाल श्रेष्ठले अदालतमा बकपत्र गर्दा सो कुरा आफूले प्रहरीमा नभनेको भनी ठाडै इन्कार गरेको अवस्था छैन । मृतक र निजको पति प्रतिवादी विनय मानन्धरबीच प्रेम विवाह भए पश्चात निजहरू बीच देखिएको बैमनस्यता समेतको बारेमा तथ्यगत रुपमा माथि पहिलो प्रश्नमा विवेचना गरिएको छ । समग्र मिसिलको अध्यनबाट समेत मृतकले आफै आत्महत्या गर्नु पर्ने यी यस्ता परिस्थिती रहेको भनी विनयले भन्न सकेको अवस्था समेत देखिएको छैन । घर परिवारका सदस्य प्रतिवादीहरूसँगको मृतकको सम्बन्ध त्यति राम्रो नभएको अवस्था मृतक र विनय बीच विवाद झगडा मौकामा हुँदाको अवस्था विनयले सुनियोजित रुपमा नै कुटपीट गरी घाँटीमा पासो लगाई हत्या गरी सो हत्यालाई आत्महत्या गरेको भन्ने पुष्टि गर्ने प्रयाश गरी आफू अपराधबाट बच्न विभिन्न तरिका अपनाई स्वभाविक आत्महत्या तर्फ घटनालाई उन्मूख गराउन घटनास्थलको स्वरूप समेत परिवर्तन गरेको एकिन हुन आएकोले प्रतिवादीमध्येका विनय मानन्धरलाई अभियोग मागदावी बमोजिम ज्यान सम्बन्धी महलको १ नं.को कसूर अपराधमा ऐ.को १३(३) नं.बमोजिम जन्मकैद हुने ठहर्छ । अन्य प्रतिवादीहरू दीपक मानन्धर र प्रेमदेवी मानन्धरले मृतकलाई कर्तव्य गरी मारेको भन्ने अभियोग मागदावी पुष्टि हुने तथ्ययुक्त आधार प्रमाण नदेखिंदा निजहरूले अभियोग मागदावीबाट सफाइ पाउने  ठहर्छ । प्रतिवादी विनय मानन्धरलाई समेत सफाइ दिने ठहर गरेको संयुक्त इजलासका माननीय न्यायाधीश श्री अनूपराज शर्माको रायसँग सहमत हुने सहयोगी माननीय न्यायाधीश श्री प्रेम शर्मा र माननीय न्यायाधीश श्री प्रकाश वस्तीको रायसँग असहमत रहेकोले छुट्टै राय उल्लेख गरेको छु । अभियोग दावी बमोजिम सबै प्रतिवादीलाई सजाय ठहर गरेको संयुक्त इजलासका माननीय न्यायाधीश श्री ताहिर अली अन्सारीको रायसँग समेत सहमत हुन सकिएन । मिसिल नियम बमोजिम बुझाई दिनू ।

इजलास अधिकृत पुनाराम खनाल

इति संवत् २०६६ साल साउन १५ गते रोज ५ शुभम्

                                                           

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु