निर्णय नं. ८७८७ - अंश

ने.का.प. २०६९, अङ्क ३
निर्णय नं. ८७८७
सर्वोच्च अदालत,संयुक्त इजलास
माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ
माननीय न्यायाधीश श्री प्रकाश वस्ती
२०६७–CR–०६१८
फैसला मितिः २०६८।१२।२२।४
मुद्दा : अंश ।
पुनरावेदक प्रतिवादीः जिल्ला बाँके, परसपुर गा.वि.स. वडा नं. ८ परसपुर गाउँ बस्ने स्व.दुइजी चमारको पत्नी ऐ.ऐ. बस्ने स्व. रामराजा चमार –१ समेत जना २ को मुद्दा सकार गरी तथा म राम गोपालको पत्नि ऐ.ऐ. बस्ने निर्मला चमारको वा. भै आफ्नो हकमा समेत स्व.दुइजी चमारको छोरा ऐ.ऐ. बस्ने रामगोपाल चमार
विरुद्ध
विपक्षी वादीः स्व. चोधर चमार को मु.स. गर्ने ऐ.ऐ. बस्ने कलावती चमार
शुरु फैसला गर्ने :–
मा.न्या.श्री भीमबहादुर बोहोरा
पुनरावेदन फैसला गर्र्ने:
मा.न्या.श्री सत्यमोहन जोशी थारू
मा.न्या.श्री रत्नबहादुर वागचन्द
§ अंशबण्डा नभई एकासगोलमा रहेको अवस्थामा मोहियानी कायम रहेको परिवार सदस्यको मृत्युपछि अर्को परिवार सदस्यका नाममा प्राप्त भएको जग्गा सो प्राप्त गर्ने दाजु वा भाइको वा परिवार सदस्यको निजी आर्जनको बण्डा नहुने सम्पत्ति हो भनी मान्नु न्याय तथा कानूनसम्मत् नहुने ।
§ अंशबण्डाको १८ नं. को निजी ज्ञान सीपबाट आर्जन गरेको सम्पत्ति भनेको नितान्त आफ्नो पालामा आफ्नो मात्र श्रम सीप परेको अर्थात् सोको कारण प्राप्त भएको र ज्ञानको कारणले आर्जन भएका सम्पत्ति मान्नु पर्दछ ।
§ पैतृक सम्पत्ति वा पूर्वजको कुनै योगदान नभएको सम्पत्ति मात्र निजी हो । तर पूर्वज वा अभिभावकले कर्तव्यस्वरूप कुनै परिवार सदस्यका लागि शिक्षा, स्वास्थ्य र लालन पालनमा गर्ने योगदानलाई भने पैतृक वा पूर्वजको योगदानको वर्गमा राख्न मिल्दैन । अंशबण्डाको १८ नं ले बाबु मोही रहेको, निजको देहान्तपछि एउटा छोरामा जग्गाधनीको रोजाइका कारणले मानो छुट्टिनु अघि नै आएको सम्पत्तिलाई निजी मान्न नमिल्ने ।
§ सम्पत्ति आर्जनमा सगोलका परिवार सदस्य सवैको श्रम र सीप परेको छ भने त्यसमा कसैको पनि हक नमरोस् र कुनै एक व्यक्तिको मात्र निजी ज्ञान, सीप र श्रम परेको छ भने त्यसमा अरुलाई भाग बण्डा गर्न कर नलागोस् भन्ने विधिकर्ताको मनसाय अंशबण्डाको १८ नं बाट परिलक्षित हुने ।
§ बाबुको पालादेखि नै एकासगोलका परिवारका सदस्यका नाउमा रहेको जग्गा बाबुको मृत्युपश्चात् कुनै एक सन्तानका नाउंमा मोहियानी हक प्राप्त भएकै आधारमा त्यसमा परिवारका अन्य सदस्यको हक हुँदैन भन्ने हो भने यो तर्क भूमीसम्बन्धी ऐन, २०२१ को दफा २(ख) मा उल्लिखित भावनाको प्रतिकूल हुन जान्छ र अंशबण्डाको १८ नं. को भावना अनुकूल नहुने ।
(प्रकरण नं.५)
§ भोगाधिकार बण्डा हुन सक्दैन भने स्वामित्व बण्डा हुन्छ । मोहियानीमा रहेको सम्पत्ति जग्गाधनी र मोहीबीच भूमिसम्बन्धी ऐन, २०२१ को संशोधित दफा २६ख, २६ग र २६घ बमोजिम विभाजित भए पछि सो मोहीका हैसियतले प्राप्त सम्पत्ति सगोलका अंशियारबीच अंशबण्डाको १ र १८ नं समेत बमोजिम बण्डा हुने ।
(प्रकरण नं.६)
§ आफ्नै पालामा मोहियानी प्राप्त गरेको मोहीको नाताले आफूमा स्वामित्व आएको अवस्था र बाबु बाजे समेतका पूर्वजको मोहियानी निजको मृत्युपछि जग्गाधनीले रोजिदिएका कारणले सरिआएको अवस्थालाई समान मान्न नमिल्ने ।
§ मोहियानी छोडपत्र वा जग्गाधनी र मोही बीचको बाँडफाँडका माध्यमले कसैलाई प्राप्त हुन्छ भने त्यो उसको निजी श्रम, सीप र प्रयासको आर्जन मानी सो जग्गामा समान रुपले खेती गर्ने अन्य अंशियारलाई बण्डा नहुने मान्न अंशबण्डाको १८ नं. भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ख) र २६ (१) को परिप्रेक्ष्यमा न्यायसंगत नहुने ।
(प्रकरण नं.११)
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता राजु आचार्य
विपक्षी वादी तर्फबाटः
अवलम्बित नजीरः
§ नेकाप २०५४, कात्तिक, निं.नं.६४०४, पृष्ठ.३८५
सम्बद्ध कानूनः
§ अंशबण्डाको १८ नं.
§ भूमीसम्बन्धी ऐन, २०२१ को दफा २६ख,२६ग, २६घ
फैसला
न्या.प्रकाश वस्तीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत नेपालगञ्जका मिति २०६७।१।२८।३ को फैसलाउपर प्रतिवादीबाट पुनरावेदन दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :–
म फिरादीको पुस्तावारी मूलपुर्खा स्व. जीवन चमार, निजको छोरा स्व.बदल चमार, बदल चमारको दुई छोरा दुइजी चमार प्रतिवादी र चोधर चमार वादी, दुइजी चमारको पत्नी प्रतिवादी रामराजा चमार, निजको एक छोरा प्रतिवादी रामगोपाल चमार र रामगोपालको पत्नी प्रतिवादी निर्मला चमार भएकोमा हालसम्म सगोलमा बसी आएकोमा विगत ५/६ महिनादेखि विपक्षी प्रतिवादीहरूले मेरो परिवारलाई स–साना कुरामा समेत दुःख दिने, लालनपालन समेतमा खासै ध्यान नदिने गरी आएकोले सगोलमा रही बसी काम गर्नसक्ने अवस्था नभएकोले प्रतिवादीहरू समक्ष गई मेरो अंश अलग गरिदिनुहोस्, म अलग बस्छु भन्दा तिमीलाई अंशभाग छुट्याउन तयार छैनौँ, के को अंश माग गरेको भनी ठाडो जवाफ दिएकाले फिराद गर्न आएको छु । प्रतिवादीहरूलाई तलब गरी फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी अंशबण्डाको २०,२१,२२ र २३ नं. बमोजिम फाँटवारी मगाई सम्पूर्ण सम्पत्तिलाई दुई भाग गरी एक भाग सम्पत्ति म फिरादीलाई दिलाई पाऊँ भन्ने व्यहोराको फिराद दावी ।
वादीको फिराद पत्रमा उल्लिखित पुस्तावारीसम्म ठीक हो । हाम्रो पिता पुर्खाको पालामा कुनै अचल सम्पत्ति थिएन । हामीहरूले कमाउन थालेको प्रारम्भदेखि नै आफ्नो खति उपति लेनदेन खानपीन, बेग्ला बेग्लै गरी अलग–अलग बसी आएका छौँ, सगोलमा बसेका छैनौँ । अंश दिनुपर्ने होइन । म प्रतिवादी दुइजी चमारको नामको जग्गामध्ये कि.नं. ७२,३०४ र २१७ को जग्गा र.नं. २५३३ मिति २०५१।९।२१ मा मोही छोडपत्र प्राप्त गरेको कि.नं. ४०० र ४०२ को जग्गा र.नं. ५००।५३५ मिति २०४०।६।११ मा हालैदेखिको बकसपत्रबाट प्राप्त गरेको, कि.नं. ४४६ मिति २०४४।३।८ मा र.नं. ३४३३ बाट निजी आर्जनबाट राजीनामा खरीद गरिएको हो । कि.नं. १५२० र २०८ को जग्गा २०४१।११।३० मा निजी आर्जनबाट खरीद गरिएको हो । दुइजी चमार र चोधर चमारको नाममा रहेको जग्गामध्ये आधि वादी चोधर चमारको हक हुँदा सो जग्गाको आधि वादीलाई दिन लिन म प्रतिवादी दुइजी चमार मञ्जूर नै भएकोले वादी दावी नपुग्ने गरी हक इन्साफ गरिपाऊँ भन्ने व्यहोराको प्रतिवादीहरूको संयुक्त प्रतिउत्तर जिकीर ।
आदेशानुसार बुझिएका वादी, प्रतिवादीका साक्षीको बकपत्र मिसिल संलग्न रहेको ।
फिराद परेको अघिल्लो दिन अर्थात् मिति २०६४।१।२२ गतेलाई मानो छुट्टिएको मिति कायम गरी दिएको छ । उक्त मितिसम्मको वादी प्रतिवादी जिम्मामा रहेको चलअचल सम्पत्तिको फाँटवारी लिई दर्ता बुझी नपुग कोर्टफी वादीबाट लिई नियमानुसार पेश गर्नु भन्ने शुरु अदालतको आदेश ।
प्रतिवादीबाट मिति २०६४।१०।१८ मा र वादीबाट मिति २०६४।११।३ मा पेश भएको फाँटवारी मिसिल संलग्न रहेको ।
यी वादी प्रतिवादीहरू सगोलका अंशियार भएको र नाता सम्बन्धमा विवाद रहे भएको देखिएन । यी वादी प्रतिवादीबीच रीतपूर्वकको बण्डा भएको समेत नदेखिँदा वादीले फिराद दावीबमोजिम दुई खण्डको एक खण्ड अंशबण्डा पाउने ठहर्छ । अब कुन सम्पत्तिमा बण्डा पाउने हो भनी बिचार गर्दा तायदाती फाँटवारीमा उल्लिखित प्रतिवादी दुइजी चमारका नाउँ दर्ताको जिल्ला बाँके, परसपुर गा.वि.स. वडा नं. ८ कि.नं. ७२, ३०४, २१७, ९४५ को निजी निजले मिति २०५१।९।२१ र २०५१।९।२५ मा मोही छोडपत्रबाट प्राप्त गरेको साथै निज दुइजीकै नाममा दर्ताको जिल्ला बाँके परसपुर गा.वि.स. वडा नं. ५ का कि.नं. ४००,४०२ का जग्गाहरूमा निजले मिति २०४०।६।११ मा हालैदेखिको बकसपत्रबाट प्राप्त गरेको देखिँदा सो प्रतिवादीको निजी आर्जनको र वादी चोधर चमारका नाउँ दर्ताको जिल्ला बाँके, परसपुर गा.वि.स. वडा नं. ८ कि.नं. ९४६ र कि.नं. ९४७ का जग्गाहरू निजले मिति २०५१।९।२५ मा मोही छोडपत्रबाट प्राप्त गरेको देखिँदा सो जग्गाहरू वादीले निजी आर्जनको देखिँदा बण्डा लाग्न सक्दैन, सोबाहेक तायदाती फाँटवारीमा उल्लिखित अन्य सम्पत्तिमध्येबाट दुई खण्डको एक खण्ड अंश छुट्याई लिन पाउने ठहर्छ । ऋणको हकमा साहूको उजूरी परेका बखत कानूनबमोजिम हुने नै हुँदा यसमा केही बोलिरहनु परेन भन्ने समेत व्यहोराको शुरु अदालतको मिति २०६५।९।२२ को फैसला ।
बाँके जिल्ला अदालतबाट मिति २०६५।९।२२ मा फैसला हुँदा प्रतिवादीका नाउँमा रहेको कि.नं. ७२, ३०४, २१७ र ९४५ को जग्गालाई निजी आर्जनको भनी बण्डा गर्न नपर्ने गरी फैसला गरिएको छ र सो जग्गाको स्रोत मोहीबाट प्राप्त गरेको भनी उल्लेख गरिएको छ । प्रतिवादीको आफ्नो पालाको नभै बाबुकै पालादेखिको मोहियानीबापतको जग्गालाई निजी ठहराएको शुरु फैसला त्रुटिपूर्ण हुँदा बदर गरी न्याय निरोपण गरिपाऊँ भन्ने समेत व्यहोराको पुनरावेदक वादीको पुनरावेदन जिकीर ।
एकासगोलका कुनै सदस्यको नाममा कुनै जग्गाको मोहियानी हक प्राप्त भए पनि सो जग्गा कमाउँदा सगोलको परिवारका अन्य सदस्यहरू समेतको श्रमले खेती गर्ने दायित्व मोहीमा अन्तरनिहीत हुने भएकोले एकासगोलको परिवारको सदस्यहरूलाई मोहियानी हक उपभोग गर्ने र परिवारको श्रमले खेती गरी मोहीको कर्तव्य पालना गर्ने सन्दर्भमा अलग रुपमा राखेर हेर्न मिल्ने देखिँदैन । त्यसैले मोहियानी हक छोडपत्रमार्फत् एकासगोलको परिवारका जोसुकै सदस्यका नाममा जग्गा प्राप्त भए पनि सो जग्गा उपभोग गर्ने हक पनि स्वतः सो परिवारका अंशियारहरू माझ अंशाधिकार सँगै प्राप्त भएर आउँछ ।
अंशबण्डा नभई सकेको अवस्थामा बदल चमारका दुई छोरामध्ये दुइजी चमारको नाममा मोही छोडपत्रमार्फत् निजी तवरबाट प्राप्त बाबुकै पालाको सम्पत्ति भएको देखिन्छ । अंशबण्डा नभई एकासगोलमा रहेको अवस्थामा बाबुको मृत्युपछि दुईमध्ये कुनै एक छोराको नाममा प्राप्त भएको जग्गा सो प्राप्त गर्ने दाजु वा भाइको निजी आर्जनको बण्डा नहुने सम्पत्ति हो भनी मान्न नमिल्ने हुँदा फाँटवारीमा उल्लिखित कि.नं. ७२, कि.नं. ३०४, कि.नं. २१७ र कि.नं. ९४५ का जग्गाहरू बण्डा हुने प्रकृतिका देखिँदा सो जग्गाहरू वादीले दुई खण्डको एक खण्ड भाग अंश पाउने ठहर्छ, सो ठहर्नाले मोही छोडपत्रबाट प्राप्त गरेको जग्गा बण्डा नलाग्ने ठहर गरेको हदसम्म शुरु बाँके जिल्ला अदालतको मिति २०६५।९।२२ गतेको फैसला केही उल्टी हुन्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत नेपालगञ्जको फैसला ।
पुनरावेदन अदालतबाट भएको फैसला आफ्नै प्रयासबाट मोहीमा जग्गा कमाई सो बापत नै जग्गामा हक हन आई जग्गाधनी प्रमाण पूर्जा प्राप्त गरेको अवस्थामा त्यस्तो जग्गा निजी श्रम सीपबाट नै प्राप्त गरेको मान्नुपर्ने हुँदा बण्डा लाग्दैन भनी झण्डु लोनिया समेत विरुद्ध सतराम लोनिया समेत (नेकाप २०५७ पृष्ठ.५५०) को मुद्दामा प्रतिपादित सिद्धान्तविपरीत भै बदरभागी नै छ । त्यसै गरी तुलबहादुर विरुद्ध गौरबहादुर समेत, (नेकाप २०५४ पृष्ठ.३८५) भएको मुद्दामा अंशबण्डाको १० नं. को २०३४।९।२७ को संशोधनपश्चात् २०६३।११।१० मा मोहीको नाताले प्राप्त गरेको हुँदा निजी आर्जनको सम्पत्ति देखिइ निजी आर्जनको सम्पत्तिमा बण्डा गरिरहनु पर्दैन भन्ने कानूनी सिद्धान्तको समेत प्रतिकूल छ । अतयव स्व. बाबु दुईजी चमारले मिति २०५१।९।२१ र २०५१।९।२५ मा मोही छोडपत्रबाट प्राप्त गरेको उक्त कि.नं. ७२, ३०४, २१७, ९४५ समेतको जग्गामा कुनै हालतमा पनि बण्डा गर्न नपर्ने भएबाट सम्मानीत पुनरावेदन अदालतको उक्त फैसला त्रुटिपूर्ण हुँदा बदर गरी हक इन्साफ गरी पाऔँ । यसरी सम्मानीत सर्वोच्च अदालतबाट मोहियानीको जग्गामा अंश नलाग्ने मोहियानी हक अंश र अपुताली हक होइन । मोहियानी हक अविभाजित हुने विशेष व्यवस्थामा साधारण ऐन लागू नहुने भन्ने कतिपय कानूनी सिद्धान्तहरू प्रतिपादित भै राखेका हुनाले दुइजी चमारले मोही छोडपत्रबाट पाएको उक्त जग्गा निजी आर्जनको सम्पत्ति जग्गा भएकोमा सम्मानीत पुनरावेदन अदालतबाट बण्डा हुनुपर्ने ठहर्याई फैसला भएको सर्वथा कानूनी त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरी सम्मानीत शुरु जिल्ला अदालतको फैसला सदर ठहराई पाऔँ भन्ने समेत व्यहोराको प्रतिवादीको यस अदालतमा दायर भएको पुनरावेदन पत्र ।
नियमबमोजिम दैनिक पेशी सूचीमा चढी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदकतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री राजु आचार्यले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) ले जग्गाधनीले पत्याएको व्यक्ति मात्र मोही हुने व्यवस्था गरेको र मोही छोडपत्रबाट प्राप्त हुने जग्गा मोहीको निजी आर्जन हुने भएकोले त्यस्तो मोही छोडपत्रबाट प्राप्त गरेको जग्गा बण्डा लगाउने गरेको पुनरावेदन अदालतको फैसला सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त तथा अंशबण्डाको १८ नं को प्रतिकूल हुँदा बदरभागी छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।
यसमा अंश माग्न जाँदा अंश दिन अस्वीकार गरेकाले सम्पूर्ण सम्पत्तिमा दुई भागको एक भाग अंश दिलाई भराई पाऊँ भन्ने मुख्य वादी दावी रहेकोमा प्रतिवादीमध्ये दुइजी चमारको नाममा भएका जग्गाहरू मोही छोडपत्र, बकसपत्र र राजीनामाबाट प्राप्त भएका हुन् दुइजी चमार र चोधर चमारको संयुक्त नाममा रहेको जग्गामध्ये आधा जग्गा वादीलाई दिन तयार छौं भन्ने समेत व्यहोराको संयुक्त प्रतिउत्तर जिकीर रहेको पाइयो । मोही छोडपत्र र बकसपत्रबाट प्राप्त जग्गाहरू निजी आर्जनको भएकोले बण्डा नलाग्ने र वादी प्रतिवादीको संयुक्त नाममा भएको जग्गाहरू मात्र बण्डा लाग्ने गरी शुरु फैसला भएकोमा सो फैसलाउपर वादीको पुनरावेदन पर्दा शुरु फैसला केही उल्टी भै मोही छोडपत्रबाट प्राप्त जग्गाहरू समेत बण्डा लाग्ने गरी पुनरावेदन अदालतबाट फैसला भएको पाइयो । सो फैसलाउपर प्रतिवादीबाट सर्वोच्च अदालतबाट प्रतिपादित नजीरलाई आधार लिँदै मोही छोडपत्रबाट प्राप्त जग्गा निजी ठहराउनु पर्दछ भनी यस अदालतमा पुनरावेदन दायर भएको स्थितिमा पुनरावेदन अदालतको फैसला मिलेको छ छैन अर्थात् मोही छोडपत्रबाट प्राप्त जग्गा निजी आर्जन ठहर्ने हो होइन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
२. इन्साफतर्फ विचार गर्दा प्रतिवादी दुइजी चमार नाम दर्ताका कि.नं. ७२, कि.नं. ३०४, कि.नं. २१७ र कि.नं. ९४५ का जग्गाहरूको प्राप्तिको स्रोत मिति २०५१ सालको छोडपत्र रहेको देखिन्छ । यसरी मोहीको नाताले छोडपत्रबाट प्रतिवादीलाई प्राप्त जग्गा निजी आर्जन हुने नहुने र अंशबण्डाको १८ नं ले ती बण्डा हुने नहुने भन्ने कानूनी प्रश्नको निराकरण प्रस्तुत विवादमा गर्नुपर्ने स्थिति पाइन्छ ।
३. भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ख) को मोहीसम्बन्धी परिभाषा हेर्दा मोही भन्नाले अरू जग्गावालाको जग्गा कुनै शर्तमा कमाउन पाई सो जग्गामा आफ्नो वा आफ्नो परिवारको श्रमले खेती गर्ने किसान सम्झनु पर्दछ भन्ने उल्लेख भएको देखिन्छ । यस परिभाषाबाट मोहीले कुनै जग्गामा मोहीको हैसियतले आफू स्वयंले नै वा उसका एकासगोलमा रहेका परिवारका सदस्यले पनि खेती गर्न सक्दछन् भन्ने कुरामा कुनै द्विविधा छैन ।
४. प्रस्तुत मुद्दामा अंशबण्डा भइनसकेको अवस्थामा बदल चमारका दुई छोरामध्ये दुइजी चमारको नाममा मोही छोडपत्रमार्फत् प्राप्त जग्गाहरू बाबुकै पालाको सम्पत्ति भएको देखिन्छ । मोही बाबुको मृत्युपश्चात् जग्गाधनीले पत्याएकामध्ये कुनै एक अंशियारको नाउँमा मोही नामसारी हुनु स्वाभाविक कुरा हो । २०५१ सालमा छोडपत्रद्वारा सम्पत्ति प्राप्त भएको छ । सम्पत्ति प्राप्त हुँदा वादी प्रतिवादी सगोलमै छन् । मानो छुट्टिएको अवस्था समेत छैन । २०६४।१।२२ मा मात्र मानो छुट्टिएको छ ।
५. यस्तो अवस्थामा बाबुको मृत्युपश्चात कुनै एक जना अंशियारलाई जग्गाधनीले पत्याएकै भरमा अरु अंशियारको सो सम्पत्तिबाट नाता टुट्छ भनेर अर्थ गर्न मिल्दैन । अंशबण्डा नभई एकासगोलमा रहेको अवस्थामा मोहियानी कायम रहेको परिवार सदस्यको मृत्युपछि अर्को परिवार सदस्यका नाममा प्राप्त भएको जग्गा सो प्राप्त गर्ने दाजु वा भाइको वा परिवार सदस्यको निजी आर्जनको बण्डा नहुने सम्पत्ति हो भनी मान्नु न्याय तथा कानूनसम्मत् हुँदैन । अंशबण्डाको १८ नं. को निजी ज्ञान सीपबाट आर्जन गरेको सम्पत्ति भनेको नितान्त आफ्नो पालामा आफ्नो मात्र श्रम सीप परेको अर्थात् सोको कारण प्राप्त भएको र ज्ञानको कारणले आर्जन भएका सम्पत्ति मान्नु पर्दछ । उक्त १८ नं को अर्थ, मनसाय र प्रयोजन पनि यही हो । पैतृक सम्पत्ति वा पूर्वजको कुनै योगदान नभएको सम्पत्ति मात्र निजी हो । तर पूर्वज वा अभिभावकले कर्तव्यस्वरूप कुनै परिवार सदस्यका लागि शिक्षा, स्वास्थ्य र लालन पालनमा गर्ने योगदानलाई भने पैतृक वा पूर्वजको योगदानको वर्गमा राख्न मिल्दैन । अंशबण्डाको १८ नं ले बाबु मोही रहेको, निजको देहान्त पछि एउटा छोरामा जग्गाधनीको रोजाइका कारणले मानो छुट्टिनु अघि नै आएको सम्पत्तिलाई निजी मान्न मिल्दैन । सम्पत्ति आर्जनमा सगोलका परिवार सदस्य सवैको श्रम र सीप परेको छ भने त्यसमा कसैको पनि हक नमरोस् र कुनै एक व्यक्तिको मात्र निजी ज्ञान, सीप र श्रम परेको छ भने त्यसमा अरुलाई भाग बण्डा गर्न कर नलागोस् भन्ने विधिकर्ताको मनसाय अंशबण्डाको १८ नं बाट परिलक्षित हुन्छ । बाबुको पालादेखि नै एकासगोलका परिवारका सदस्यका नाउमा रहेको जग्गा बाबुको मृत्युपश्चात् कुनै एक सन्तानका नाउमा मोहियानी हक प्राप्त भएकै आधारमा त्यसमा परिवारका अन्य सदस्यको हक हुँदैन भन्ने हो भने यो तर्क भूमीसम्बन्धी ऐन, २०२१ को दफा २(ख) मा उल्लिखित भावनाको प्रतिकूल हुन जान्छ र अंशबण्डाको १८ नं को भावना अनुकूल पनि यो हुँदैन । यी पुनरावेदकले सो जग्गा आफ्नो पालामा मोहियानी प्राप्त गरेको तथा सो जग्गामा आफ्नो मात्र श्रम परेको अरु सगोलका परिवार कसैको पनि श्रम परेको छैन भनी जिकीर लिन समेत नसकेको अवस्थामा अरुलाई बण्डा लाग्ने होइन भन्ने उनको पुनरावेदन जिकीरसँग सहमत हुन सकिएन ।
६. भूमिसम्बन्धी ऐन, २०२१ मा तेस्रो संशोधन मिति २०५३।९।२४ मा भई लागू भएको पाइन्छ । यस संशोधनपश्चात नयाँ मोही नबन्ने तथा मोहीलाई शुद्ध मोहीको रुपमा मात्र नहेरी जग्गाको हिस्सेदार अर्थात् अर्धस्वामीको रुपमा स्वीकारेको पाइन्छ । जुन कुरा सो ऐनको दफा २६ख,२६ग, २६घ समेतको कानूनी व्यवस्थाबाट अँगीकार भएको देखिन्छ । कानूनको यो संरचनाले मोहीले पनि आंशिक रुपमा जग्गाधनीकै हैसियत प्राप्त गर्ने देखिन्छ । यो मान्यता नेकाप २०६२, असोज, नि.नं.७५४९,पृष्ठ ६७० को पूर्ण इजलासको ब्याख्याबाट स्थापित भइसकेको छ । यसबाट यो संशोधनपूर्व मोहियानी केवल भोगाधिकार हो भन्ने कानूनी मान्यतालाई विधिकर्ताले परिवर्तन गरी अव सहस्वामी हो भन्ने मान्यता स्थापित गरेको छ । भोगाधिकार बण्डा हुन सक्दैन भने स्वामित्व बण्डा हुन्छ । मोहियानीमा रहेको सम्पत्ति जग्गाधनी र मोहीबीच भूमि सम्बन्धी ऐन, २०२१ को संशोधित दफा २६ख, २६ग र २६घ बमोजिम विभाजित भए पछि सो मोहीका हैसियतले प्राप्त सम्पत्ति सगोलका अंशियारबीच अंशबण्डाको १ र १८ नं समेत बमोजिम बण्डा हुन्छ ।
७. पुनरावेदन अदालतको फैसलामा प्रतिवादीले यस अदालतबाट प्रतिपादित विभिन्न नजीरको प्रतिकूल छ भनी जिकीर लिएको पाइयो । पुनरावेदन पत्रमा निम्न मुद्दाका नजीरहरूलाई उल्लेख गरेको पाइयोः–
§ झण्डु लोनिया समेत विरुद्ध सतराम लोनिया समेत (नेकाप २०५७ असोज/कात्तिक, नि.नं. ६९१९, पृष्ठ ५५०)
यस मुद्दामा मुख्य गरेर आफ्नै प्रयासबाट मोहीमा जग्गा कमाई सो बापत नै जग्गामा हक हुन आई जग्गाधनी प्रमाण पूर्जा प्राप्त गरेको अवस्थामा त्यस्तो जग्गा निजी श्रम सीपबाट नै प्राप्त गरेको मान्नुपर्ने हुँदा बण्डा लाग्दैन भनी उल्लेख गरिएको देखियो ।
८. त्यस मुद्दामा प्रतिवादी ललित लोनियाले जग्गाधनीले अरुलाई जग्गा राजीनामा गरिदिएपछि मुद्दा परी मिलापत्रबाट जग्गा प्राप्त गरको देखिन्छ । त्यहाँ प्रतिवादी ललितले आफ्नै पालामा मोहियानीमा जग्गा कमाई मोही हकबमोजिमको जग्गा जग्गाधनीसँग मुद्दा परी मिलापत्रबाट जग्गा प्राप्त गरेको देखिन्छ । आफ्ना पालामा हासिल गरेको मोहियानी हकलाई निजी आर्जन ठहराएको प्रस्तुत सिद्धान्तलाई बाबुको पालादेखि नै कायम मोहियानी हक बमोजिमको मोही छोडपत्रबाट प्राप्त जग्गामा पनि लागू भै निजी ठहर्याउनु पर्दछ भन्न उपयुक्त देखिदैंन ।
९. समान तथ्य भएका मुद्दामा समान विवादमा प्रतिपादित सिद्धान्त नै पछिका त्यस्तै मुद्दामा नजीरको रुपमा अवलम्वन गरिने हुँदा असमान तथ्य तथा भिन्न परिस्थिति देखिएको यस अवस्थामा त्यस्तो नजीर प्रस्तुत मुद्दामा आकर्षित हुने देखिन आएन ।
त्यसै गरी पुनरावेदकले तुलबहादुर विरुद्ध गौरबहादुर समेत, (नेकाप २०५४, कात्तिक, निं.नं.६४०४, पृष्ठ ३८५) को मुद्दामा प्रतिपादित सिद्धान्तलाई पनि आधार लिएको देखिन्छ ।
यस मुद्दामा मुलुकी ऐन, अंशबण्डाको १८ नं. मिति २०३४।९।२७ मा संशोधन भै सो संशोधन भएपछि २०३६।११।१० मा मोहीको नाताले प्राप्त गरेको हुँदा निजी आर्जनको सम्पत्ति देखिन आई पिता पूर्खाको पालाको भन्ने देखिन आउँदैन । यस्तो निजी आर्जनको सम्पत्तिमा बण्डा नलाग्ने भनी फैला भएको देखिन्छ ।
१०. प्रस्तुत मुद्दामा प्रतिवादी तुलबहादुरले कि.नं ६४८ र ६४९ का जग्गा आफ्नो पालाको मोहियानीमा कमाएकोमा जग्गाधनीबाट मिति २०३६।११।१० मा प्राप्त गरेको देखिन्छ । उक्त जग्गामा उनको बाबुको पालादेखि कै मोहियानी नभै आफ्नो पालाको मोहियानी हकअन्तर्गतको भएको देखिँदा तथ्यमा मेल नखाएको उल्लिखित सिद्धान्त प्रस्तुत मुद्दासँग सान्दर्भिक नहुँदा उल्लिखित नजीरको प्रतिकूल छ भन्ने पुनरावेदन जिकीरसँग सहमत हुन सकिएन ।
११. तसर्थ, आफ्नै पालामा मोहियानी प्राप्त गरेको मोहीको नाताले आफूमा स्वामित्व आएको अवस्था र बाबु बाजे समेतका पूर्वजको मोहियानी निजको मृत्युपछि जग्गाधनीले रोजिदिएका कारणले सरिआएको अवस्थालाई समान मान्न मिल्दैन । जग्गाधनीले रोजिदिएको वा छोडपत्र समेत गरिदिएको कारणले मात्र कुनै मोहियानीको सम्पत्ति अंशबण्डाको १८ नं. को प्रयोजनका लागि निजी श्रम, सीप र प्रयासको आर्जन मान्न मिल्दैन । मोहियानी छोडपत्र वा जग्गाधनी र मोही बीचको बाँडफाँडका माध्यमले कसैलाई प्राप्त हुन्छ भने त्यो उसको निजी श्रम, सीप र प्रयासको आर्जन मानी सो जग्गामा समान रुपले खेती गर्ने अन्य अंशियारलाई बण्डा नहुने मान्न अंशबण्डाको १८ नं. भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ख) र २६ (१) को परिप्रेक्ष्यमा न्यायसंगत हुँदैन ।
१२. अतः उल्लिखित आधार कारणबाट पुनरावेदक प्रतिवादीका नाउँको कि.नं. ७२, कि.नं. ३०४, कि.नं. २१७ र कि.नं. ९४५ का जग्गाहरू आफ्नो पालामा आफ्नो मात्र श्रम, सीप र ज्ञानबाट आर्जन गरेको नभै बाबुकै पालादेखि मोहियानीमा कमाई आएको जग्गा जग्गाधनीले मानो छुट्टिनु अगावै मिति २०५१।९।२१ र २०५१।९।२५ मा छोडपत्र गरी हस्तान्तरण गरेको देखिर्ई बण्डा हुने प्रकृतिको देखिँदा सो जग्गाहरू समेतबाट वादीले दुई खण्डको एक खण्ड अंश भाग पाउने ठह¥याई मोही छोडपत्रबाट प्राप्त गरेको जग्गा बण्डा नलाग्ने ठहर गरेको हदसम्म शुरु बाँके जिल्ला अदालतको मिति २०६५।९।२२ गतेको फैसला केही उल्टी हुने ठह¥याएको पुनरावेदन अदालतको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । ती सम्पत्ति निजी आर्जनको हुँदा बण्डा हुनुपर्ने होइन भन्ने प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू ।
उक्त रायमा म सहमत छु ।
न्या. कल्याण श्रेष्ठ
इति संवत् २०६८ साल चैत २२ गते रोज ४ शुभम् .
इजलास अधिकृत :– विष्णुप्रसाद उपाध्याय