शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८३१६ - उत्प्रेषण समेत

भाग: ५२ साल: २०६७ महिना: जेष्ठ अंक:

निर्णय नं. ८३१६    जेठ, २०६७

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री बलराम के.सी.

माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय

संवत् २०५८ सालको रिट नं. ३०७५

आदेश मितिः २०६६।८।३०।२

विषय :  उत्प्रेषण समेत ।

निवेदकः  जिल्ला काठमाडौँ, काठमाडौँ म.न.पा. वडा नं. ९ बस्ने अनन्तमान जोशीको मु.स.   गरी आफ्नो हकमा समेत ऐ को छोरा ऐ. ऐ. बस्ने मनोजमान जोशी समेत

      बिरुद्ध

विपक्षीः    भूमिसुधार कार्यालय, वानेश्वर काठमाडौँ समेत

 

§  गुठीबाट व्यक्तिको हक समाप्त हुने र समूह, सम्प्रदाय वा समुदायको हक सिर्जना हुने प्रक्रिया भएकाले गुठी राख्नेले आफ्नो इच्छापत्रमार्फत् व्यक्त इच्छालाई नमासिने गरी जोगाई निरन्तरता (Perpatual continuity) प्रदान गर्नु राज्य वा राज्यको अङ्गका रुपमा रहेका सबै निकायहरूको कानूनी कर्तव्य हुने ।

(प्रकरण नं.७)

§  जग्गाको आकार र जग्गामा घरले चर्चेका कारण बाँडफाँड गर्न नमिल्ने हुँदा कानूनबमोजिम मोहीका नाममा पूरै जग्गाको स्वामित्व कायम हुन आएपनि परम्परा, धर्म, संस्कृति, प्रचलन, मान्यता र कानूनले नै गुठी प्रथालाई मान्यता प्रदान गरी गुठी नेपालको संस्कृति, धर्मको एक अभिन्न कानूनी अङ्ग भएको र त्यसलाई कानूनले नै मान्यता प्रदान गरेको अवस्थामा गुठियार नभएपनि गुठीको पूरै जग्गाको जग्गाधनी बनेपछि त्यस्तो जग्गासँग गाँसिएको र त्यस्तो जग्गाले बोकेको (Legacy) बाट उन्मुक्त हुन नसक्ने ।

(प्रकरण नं.१०)

 

निवेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता हरिहर दाहाल,

विपक्षी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता योगराज बराल विद्वान अधिवक्तात्रय श्री शम्भु थापा, श्री उमेश खकुरेल र श्री ईश्वरी भट्टराइ

अवलम्वित नजीरः नेकाप २०६४ अङ्क १०, नि.नं. ७८८५ पृष्ठ १२७५

सम्बद्ध कानूनः

·         नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११, १२, १७

·         भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(ज)

·         गुठी संस्थान ऐन, २०३३ को दफा २(ग)

 

आदेश

न्या. बलराम के.सी.: तत्कालीन नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) अन्तर्गत यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार छ :

            हाम्रो हक अधिकार भित्रको साविक काठमाडौँ जिल्ला वत्तिसपुतली गा.वि.स. ६ कि.नं. ७२ को ११४१ नयाँ नापीमा काठमाडौँ न.पा. वडा नं. ९ कि.नं. ५० को २१ कायम भएको जग्गामा जग्गाधनी रामचन्द्र निजी गुठी र मोहीमा हामीहरूका पिता ससुरा तथा हजुरबुबा बिन्दुमान जोशी कायम भै दर्ता स्रेस्ता तथा जग्गाधनी दर्ता प्रमाणपूर्जा समेत कायम भएको छ । हाम्रो मूल पुरुष विन्दुमान जोशीका २ छोराहरूमा जेठा रिट निवेदक अनन्तमान जोशी र कान्छा निवेदिका सुखदेवीका पति विश्वमान जोशी हुन् । विन्दुमानको २०२८ सालमा, वहाँकी श्रीमती तुलसी मायाको २०५०।९।४ मा विश्वमान जोशीको २०५७।८।२६ मा देहान्त भैसकेकोले उहाँहरूको हक खाने हामी निवेदकहरू हौं ।

सा.कि.नं. ७२ बाट कायम भएको कि.नं. ५० को जग्गा ११४१ मध्येबाट दक्षिणपट्टिको ०१५० जग्गा र १ तले पक्की घर विन्दुमान जीवित हुँदाकै अवस्था २०२६।१०।३ मा भूमि प्रशासन कार्यालय काठमाडौँबाट अनन्तमान जोशीका नाममा अंश छोडपत्र गरी लिनुदिनु गरेकोले उक्त ०१५० जग्गा लिई अलग बस्ने गरेको । उक्त कि.नं. ५० को २१ जग्गामध्ये
१५० जग्गाको मोही निवेदक अनन्तमान जोशी र वाँकी जग्गाको मोही अन्य रिट निवेदकहरू र जग्गाधनी रामचन्द्र निजी गुठी रहेभएकोमा विवाद छैन । उक्त जग्गाको जग्गाधनी रामचन्द्र गुठी र मोहीमा विन्दुमान जोशी कायम हुने गरी २०५० सालको दे.पु.नं. १२८ र दे.पु.नं. २९६ को निर्णय पर्चा बदर मुद्दामा पुनरावेदन अदालत पाटनबाट २०५०।१२।२१ र २०५५।२।२८ मा फैसला भएको पनि छ । त्यस्तै उक्त कि.नं. ५० को जग्गामध्ये ०१५० जग्गा अनन्तमान जोशीको मोहीहक कायम हुने र वाँकीमा विश्वमान जोशीको मोहीहक कायम हुने भनी रि.पु.नं. ४१ को रिट निवेदनमा सर्वोच्च अदालतबाट २०४०।६।७ मा निर्णय भएको छ । यसप्रकार हामी रिट निवेदकहरू उक्त कि.नं. ५० को जग्गाको मोही हौं भन्ने निर्विवाद रुपमा स्थापित तथ्य हो ।

उक्त जग्गाको मोही बाँडफाँड गरिपाऊँ भनी बलध्वज राणाले विश्वमान जोशीकै पालामा २०५६।५।१६ मा द.नं. १३१९ बाट निवेदन दर्ता गराउनु भएकोमा हामीहरू पुर्पक्षमा रही आउँदा विश्वमान जोशीको २०५७।८।२६ मा मृत्यु भएकोले मुद्दा सकार गरी कार्वाहीमा वसेका थियौं ।

उल्लिखित जग्गाको मोही बाँडफाँड हुने गरी भूमिसुधार कार्यालय काठमाडौँबाट निर्णय गर्दा उक्त जग्गामा मोहीको घर टहरा समेत निर्माण भएको र खाली जग्गा थोरै मात्र देखिने र मोहीले कम्पाउण्ड वाल समेत लगाई घरवास गरी आएको हुँदा आधा जग्गा छुट्याईदिन नमिल्ने भएकोले बाँडफाँड गर्दा पाउने आधा जग्गाको प्रचलित मूल्य मोहीबाट जग्गा धनीलाई दिलाई घर टहरा समेत कम्पाउण्ड गरी बसेको पूरै जग्गा मोहीका नाममा कायम गरिदिने गरी २०५८।५।२७ मा निर्णय गरियो । उक्त निर्णयमा जिल्ला मूल्य निर्धारण समितिको २०५७।८।२३ को निर्णयबमोजिम प्रतिआना रु.२,००,०००।– (दुई लाख) का दरले जग्गाधनीको भागको १/ जग्गाको हुने मूल्य रु.३२,३१,२५०।मृतक मोही विन्दुमान जोशीका हकदारबाट भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(ङ)(२) बमोजिम जग्गाधनी वलध्वज राणा (रामचन्द्र निजी गुठी) ले लिन पाउने भन्ने उल्लेख भएको छ ।

भूमिसुधार कार्यालयले गरेको उपरोक्त निर्णय गैरकानूनी तथा निजी गुठीसम्बन्धी अवधारणा र स्थापित सिद्धान्त विपरीत भै उक्त निर्णयले नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११, १२ र १७ द्वारा निवेदकलाई प्रदत्त मौलिक हकमा आघात पर्न गएको र सो निर्णयउपर पुनरावेदनको बैकल्पिक मार्ग अवलम्बन गर्न कानूनले सुविधा नदिएको हुँदा संविधानको धारा २३ र ८८(२) अन्तर्गत प्रस्तुत रिट निवेदन गर्न आएका छौं ।

निवेदन दावीको सा.कि.नं. ७२ हाल कि.नं. ५० को २१ जग्गाको जग्गाधनी बलध्वज राणा (रामचन्द्र निजी गुठी) भएको र मोही विन्दुमान जोशी भएकोमा विवाद छैन । उक्त जग्गाको आकृति प्रकृति हेर्दा बाटो समेत नभएको वत्तिसपुतलीको भित्री भागको जग्गाको मूल्य प्रति आना रु.२,००,०००।कायम गर्दा आधार र कारण उल्लेख गरिएको छैन भने सरकारी मूल्याङ्कन प्रतिरोपनी रु.१२,००,०००।कायम गरिएको छ । साथै निजी गुठीका गुठियारलाई उक्त रकम भराईदिन कानूनतः मिल्दैन । बलध्वज राणा जस्तै १० जना अन्य गुठियारहरू मिली २०५६।८।७ मा संस्था दर्ता गरी गुठी सञ्चालन गरेकोमा एक जनाको उजूरीको आधारमा बाँडफाँड गर्न मिल्दैन । जग्गाको मूल्याङ्कन गरी एकजना गुठियारलाई रकम बुझाउने र निजी गुठीको दायित्व हामीमाथि थोपर्ने गरी भएको उक्त निर्णय गलत, गैरकानूनी भै बदरभागी छ । मोहीसम्म भएका हामीले निजी गुठीको दायित्व बहन गर्नुपर्ने होइन । जग्गाको आयस्ता बुझाउने र बुझाएको आयस्ताबाट गुठी सञ्चालन गर्नुपर्ने अवस्था भएकोमा रैकर जग्गा जस्तो गरी गुठी राख्ने व्यक्तिलाई आधा जग्गाको मूल्य दिलाई गुठीको दायित्व मोहीलाई लगाउने गरी भएको उक्त निर्णय गैरकानूनी भै त्रुटिपूर्ण छ । उक्त निर्णयमा साविक ज.ध. बलध्वज राणा (रामचन्द्र निजी गुठी) को नाम कट्टा गरी ज.ध. विन्दुमान जोशी (रामचन्द्र निजी गुठी) भन्ने जनाई ज.ध. प्रमाणपूर्जा र स्रेस्ता कायम गरिदिने भनी अन्य व्यक्तिको दायित्व हामीलाई लगाई गरिएको उक्त निर्णयले संविधानको धारा ११(१) द्वारा प्रदत्त हकको ठाडो उल्लंघन भएको छ । कि.नं. ४० र ५० को जग्गाको मोही अलग अलग भएकोमा एउटै निवेदनको आधारमा गरिएको उक्त निर्णय नेकाप २०३३ अङ्क ९ पृष्ठ १६३, नि.नं. ३३०० पृष्ठ १२७५ मा प्रतिपादित सिद्धान्त प्रतिकूल रहेभएकोले बदरभागी छ ।

अतः भूमिसुधार कार्यालय, काठमाडौँबाट भएको मिति २०५८।५।२७ को निर्णयले नेपाल अधिराज्यको संविधान २०४७ को धारा ११, १२, १७ द्वारा हामीलाई प्रदत्त हकमा आघात पर्न गएको तथा उक्त निर्णय गैरकानूनी एवं निजी गुठीको मान्यता र सिद्धान्तविपरीत भएकोले उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी रामचन्द्र निजी गुठी सञ्चालनका लागि अक्षयकोष खडा गरी जग्गा रैकरमा परिणत गरेर मात्र जग्गा छुट्याउने कार्य गर्नु वा रामचन्द्र निजी गुठीको दायित्व मोहीमाथि लगाउने कार्य नगर्नु भनी परमादेश लगायत अन्य उपयुक्त आदेश जारी गरिपाऊँ । साथै उक्त निर्णय यो निवेदनको अन्तिम टुङ्गो नलागेसम्म कार्यान्वयन नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ४१ बमोजिम अन्तरिम आदेश जारी गरिपाऊँ भन्ने रिट निवेदकको मिति २०५८।८।५ को रिट निवेदन ।

यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? यो आदेश प्राप्त भएका मितिले बाटाका म्याद बाहेक १५ दिन भित्र सम्बन्धित मिसिल साथ राखी महान्यायाधिवक्ताको कार्यालयमार्फत् लिखित जवाफ पठाउनु भनी रिट निवेदनको एक प्रति नक्कल साथै राखी विपक्षी भूमिसुधार कार्यालय समेतलाई सूचना पठाई त्यसको बोधार्थ महान्यायाधिवक्ताको कार्यालयमा पठाइदिनु । निवेदकको मागबमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? यो आदेश प्राप्त भएका मितिले बाटाका म्याद बाहेक १५ दिनभित्र लिखित जवाफ लिई आफै वा आफ्नो प्रतिनिधिमार्फत् उपस्थित हुनु भनी निवेदनको एक प्रति नक्कल साथै राखी विपक्षी बलध्वज राणा समेतलाई सम्बन्धित जिल्ला अदालतमार्फत् सूचना पठाई लिखित जवाफ आएपछि वा अवधि नाघेपछि नियमबमोजिम पेश गर्नू । साथै निवेदन मागबमोजिम प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्मको लागि भूमिसुधार कार्यालयको २०५८।५।२७ को निर्णय निवेदकको मागबमोजिम कार्यान्वयन नगर्नु नगराउनु भनी अन्तरिम आदेश समेत जारी गरिदिएको छ भन्ने यस अदालतबाट २०५८।८।६ मा भएको आदेश ।

निवेदकले उल्लेख गरेको कि.नं. ५० को जग्गाको जग्गाधनी र मोहीमा विवाद छैन । उक्त जग्गाको मोहीले उक्त जग्गामा घर कम्पाउण्ड निर्माण गरी बसोबास गरी आएको भन्ने नक्सा ट्रेस समेत प्राप्त भएको आधारमा भूमिसम्बन्धी ऐन, २०२१ को परिधिभित्र रही मोहीका नाममा मात्र दर्ता गर्ने निर्णय गरिएको हो । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(क) को आधारमा निर्णय गर्नुपर्ने हुँदा दफा २६(ज) बमोजिम गठित मूल्य निर्धारण समितिले मूल्याङ्कन गरेको प्रतिआना मूल्य रु.२,००,०००।लाई नै मूल्य कायम गरी निर्णय गरिएको हुँदा मूल्य बढी भएको भन्ने निवेदन दावी आधारहिन छ । मूल्य निर्धारण समितिले मिति २०५७।२।२४ मा भएको स्थलगत सर्जमिनलाई आधार बनाएको छ । निजी गुठीको जग्गा बाँडफाँड गर्दा मोहीको नाममा जाने जग्गाको स्रेस्तामा निजी गुठी जनाई काम कारवाही गर्ने गरी भूमिसुधार तथा व्यवस्था मन्त्रालय (मन्त्रीस्तर) बाट निर्णय भएबमोजिम कि.नं. ५० को जग्गाको बाँडफाँड गर्दा पूरै जग्गा मोहीका नाममा दर्ता गरिदिने र आधा जग्गाको मूल्य जग्गाधनी वलध्वज राणालाई बुझाउने गरी निर्णय भएको हुँदा भएको उक्त निर्णय कानूनसम्मत हुँदा रिट खारेज गरिपाऊँ भन्ने भूमिसुधार कार्यालय काठमाडौँको लिखित जवाफ ।

भूमिसुधार कार्यालय काठमाडौँले तत्काल प्रचलित नेपाल कानूनबमोजिम गरेको निर्णय बदर गरिपाऊँ भन्ने रिट निवेदकको मुख्य दावी रहेको र यस कार्यालयको उक्त कार्यमा कुनै संलग्नता रहेभएको नहुँदा रिट खारेज गरिपाऊँ भन्ने मालपोत कार्यालय डिल्लीबजार काठमाडौँको लिखित जवाफ ।

भूमिसुधार कार्यालय काठमाडौँबाट भएको २०५८।५।२७ को निर्णय भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(ख), २६(ग), २६(घ), २६(ङ) अनुरूप भएको हुँदा उक्त निर्णयबाट निवेदकको हकमा आघात परेको भन्न मिल्दैन । निजी गुठीको स्वामित्व गुठी राख्ने र चलाउनेहरूमा निहीत रहने र रामचन्द्र गुठी निजी गुठी भएपछि भूमिसम्बन्धी ऐनबमोजिम मैले हिस्सा लिन नपाउने भन्न सकिने अवस्था छैन । अन्य गुठियार रहेपनि मेरा नाममा दर्ता भएको जग्गा भएकाले सबै गुठियारको निवेदन पर्नुपर्ने भन्ने निवेदन दावी निरर्थक छ । निवेदन दावीको जग्गामा कि.नं. ४१ को बाटो रहेको तथ्य सर्भेनक्सा र निरीक्षण प्रतिवेदनबाट देखिएको अवस्थामा निवेदक समेत रोहवरमा बसी स्थलगत सर्जमिनका आधारमा भएको मूल्याङ्कनलाई बढी भएको भन्ने निवेदन दावी पनि निराधर छ । रजिष्ट्रेशन गर्ने प्रयोजनका लागि कायम गरिएको मूल्य ५ वर्ष अघि निर्धारण गरिएको हुँदा सोलाई आधार बनाउनुपर्ने भन्ने निवेदन दावी तर्कसंगत छैन । पूरै जग्गा मोहीका नाममा दा.खा दर्ता गर्ने निर्णय गर्दा दर्ता स्रेस्ता र प्रमाणपूर्जामा निजी गुठी रामचन्द्र गुठीको नाम उल्लेख गर्नु भनी निर्णयमा उल्लेख गरिएको मन्त्रीस्तरको निर्णयको आधारमा भएको हो । मन्त्रीस्तरको निर्णय बदर नभएसम्म सो आधारमा भएको निर्णय बदर हुन सक्दैन । कानूनको त्रुटि वा प्राकृतिक न्याय सिद्धान्तको उल्लंघन भएको भनी निवेदकले देखाउन सकेको नहुँदा रिट खारेज गरिपाऊँ भन्ने बलध्वज राणाको लिखित जवाफ ।

एकतर्फी सुनुवाईको आधारमा जारी भएको मिति २०५८।८।६ को अन्तरिम आदेश रद्द गरिपाऊँ भनी बलध्वज राणाको तर्फबाट २०५८।१०।२३ मा पर्न आएको निवेदन ।

अदालतको अन्तिम फैसला समेतबाट रामचन्द्र निजी गुठी कायम भएको जग्गामा निजी गुठी लोप हुन नसक्ने र सोही फैसलाबमोजिम पनि बलध्वज राणा नै जग्गाधनी कायम भएको अवस्थामा निजले गरेको काम कारवाहीमा आपत्ति जनाउनुपर्ने कुनै आधार र कारण छैन । गुठीको जग्गामा गुठी कायम गर्ने गरी भएको कामकारवाही एवं निर्णय कानूनसम्मत र गुठीको सिद्धान्तअनुकूल हुँदा रिट खारेज गरिपाऊँ भन्ने रामचन्द्र निजी गुठी तहवील कार्यालयको लिखित जवाफ ।

यसमा सबै विपक्षीहरूको लिखित जवाफ परिसकेको देखिँदा चाँडो पेसी दिई नियमबमोजिम पेश गर्नु भन्ने यस अदालतबाट मिति २०५८।१२।२७ मा भएको आदेश ।

नियमबमोजिम पेसी सूचीमा चढी पेश हुन आएको प्रस्तुत रिट निवेदनको मिसिल अध्ययन गरियो । निवेदकको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहालले विवादित कि.नं. ५० को २१ जग्गाको मोही निवेदकहरू तथा जग्गाधनी बलध्वज राणा        (रामचन्द्र निजी गुठी) भएकोमा विवाद छैन । रामचन्द्र गुठीमा बलध्वज राणा बाहेक कृष्णध्वज राणा समेतका १० जना गुठियार भएकोमा मोही बाँडफाँडबाट बलध्वज राणाका नाममा मात्र रकम जम्मा गर्न मिल्दैन । आधा जग्गाको मूल्य तिरी सम्पूर्ण जग्गा मोहीका नाममा दा.खा. दर्ता गरीदिने निर्णय भएपछि निजी गुठीको दायित्व मोहीमाथि थोपर्न मिल्दैन । जग्गाको मूल्याङ्कन पनि वास्तविक मूल्यभन्दा बढी गरिएको छ । मोहीले जग्गाको मूल्यबापत तिरेको रकम अक्षय कोष खडा गरी गुठी सञ्चालन गरिनुपर्नेमा सो नगरी गुठियार मध्येका बलध्वज राणालाई दिलाई दिने गरी भएको भूमिसुधार कार्यालयको निर्णय कानूनी त्रुटिपूर्ण हुँदा बदर गरी मागबमोजिमको आदेश जारी हुनुपर्दछ भनी बहस गर्नुभयो । विपक्षी बलध्वज राणाको तर्फबाट उपस्थित विद्वान अधिवक्ता शम्भु थापा, उमेश खकुरेल र ईश्वरी भट्टराईले गुठीको सिद्धान्तअनुरूप गुठी राखिसकेपछि त्यसको धर्मलोप गर्न मिल्दैन र हुँदैन । निवेदन दावीको जग्गा सम्बन्धी विवादमा बलध्वज राणा नै सरिक भएका, अन्य गुठियारहरूले पनि बलध्वज राणाका नामबाट भएका कामकारवाही प्रति मञ्जूरी जनाएका छन् । स्थानीय सर्जमिन मुचुल्का समेतका आधारमा जग्गाको मूल्य निर्धारण गरिएको हुँदा मूल्य बढी भन्ने दावी पनि निराधार छ । रिट जारी हुन सक्ने अवस्था नहुँदा रिट खारेज गरिपाऊँ भनी बहस गर्नुभयो ।

विपक्षी भूमिसुधार कार्यालयको तर्फबाट उपस्थित विद्वान उपन्यायाधिवक्ता योगराज बरालले एकपटक गुठी कायम भएपछि त्यसको लोप हुन सक्दैन । अदालतको फैसला समेतबाट विवादित जग्गामा रामचन्द्र निजी गुठी कायम भएको अवस्था छ । विवादित जग्गामा मोहीले घरटहरा बनाई बसोबास गरेको आधारमा जग्गा नै बाँडफाँड गर्न नमिल्ने भएकोले जग्गाको मूल्याङ्कन गरी पूरै जग्गा मोहीलाई दिने र आधा जग्गाको हुने मूल्य बलध्वज राणा (रामचन्द्र निजी गुठी) लाई दिलाइदिने गरी फैसला भएको छ । मूल्य निर्धारण समितिले स्थानीय सर्जमिन मुचुल्कामा उल्लिखित मूल्याङ्कनलाई आधार बनाई मूल्य कायम गरेको हुँदा मूल्य बढी भएको भन्न मिल्दैन । रिट निवेदन मागअनुरूपको आदेश जारी हुन सक्ने अवस्था विद्यमान नहुँदा रिट खारेज गरिपाऊँ भनी बहस गर्नुभयो ।

दुबै पक्षका विद्वान कानून व्यवसायीहरूले गर्नुभएको बहस समेत सुनी रिट निवेदन माग अनुरूपको आदेश जारी हुनुपर्ने हो होइन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने हुन आयो ।

२. निर्णयतर्फ विचार गर्दा, जिल्ला काठमाडौँ का.म.न.पा. वडा नं. ९ कि.नं. ५० को (सा.कि.नं. ७२) को २१ जग्गाको मोही रिट निवेदकहरूका पिता, ससुरा, हजुरबुबा, विन्दुमान जोशी र जग्गाधनी बलध्वज राणा (रामचन्द्र निजी गुठी) भएको र उक्त जग्गा मोही बाँडफाँड गरिपाऊँ भनी वलध्वज राणाले दिएको निवेदनको आधारमा विपक्षी भूमिसुधार कार्यालयले पूरै जग्गा विन्दुमान जोशीका नाममा कायम हुने र जग्गाधनीको हिस्साको १/ जग्गाको प्रतिआना रु.२,००,०००।का दरले रु.३२,३१,२५०।जग्गाधनी वलध्वज राणा (रामचन्द्र निजी गुठी) ले लिन पाउने ठहर्छ भन्ने तथा मैले पाउने जग्गाधनी दर्ता प्रमाण पूर्जामा बलध्वज राणाको नाम कट्टा गरी रामचन्द्र निजी गुठी जनाउने भनी भूमिसुधार कार्यालय काठमाडौँबाट भएको मिति २०५८।५।२७ को निर्णयले नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११, १२, १७ द्वारा प्रदत्त मौलिक हकमा आघात पुग्न गएको र उक्त निर्णय निजी गुठीको कानूनी व्यवस्था, मूल्य मान्यताविपरीत भएको हुँदा उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी रामचन्द्र निजी गुठी सञ्चालनका लागि अक्षयकोष खडा गरेर मात्र जग्गा छुट्याउने कार्य गर्नु भनी परमादेशको आदेश समेत जारी गरिपाऊँ भन्ने रिट निवेदनमा दावी लिएको देखिन्छ । कि.नं. ५० को जग्गाधनी र मोहीमा विवाद नरहेको तथा विवादित जग्गामा मोहीले कम्पाउण्ड वाल समेत लगाई घर बनाई बसोबास गरिआएकोले आधा आधा जग्गा बाँडफाँड गर्न नमिल्ने भएकोले जग्गाधनीलाई आधा जग्गाको मूल्य मोहीबाट दिलाई पूरै जग्गा मोहीका नाममा दा.खा. दर्ता गरिदिने निर्णय भएको हो र मोहीले पाउने जग्गाधनी दर्ता प्रमाणपूर्जा र स्रेस्तामा रामचन्द्र निजी गुठी उल्लेख गर्ने भनी भएको निर्णय पनि भूमिसुधार तथा व्यवस्था मन्त्रालयको निर्णय एवं परिपत्र बमोजिम नै गरिएको हुँदा रिट जारी हुने होइन भन्ने भूमिसुधार कार्यालयले लिखित जवाफमा जिकीर लिएको पाइन्छ ।

३. रिट निवेदनमा उल्लिखित काठमाडौँ जिल्ला साविक वत्तिसपुतली गा.वि.स. ६ कि.नं. ७२ हाल का.म.न.पा. वडा नं. ९ कि.नं. ५० को २१ जग्गाको जग्गाधनी वलध्वज राणा (रामचन्द्र निजी गुठी) र मोहीमा रिट निवेदकहरूका पिता, ससुरा, हजुरबुबा विन्दुमान जोशी भएको भन्नेमा विवाद देखिँदैन । पुनरावेदक दिलेन्द्रबीर पाण्डे बिरुद्ध विश्वमान जोशी समेत भएको २०५० सालको दे.पु.नं. १२८ को निर्णय दर्ता बदर मुद्दामा पुनरावेदन अदालत पाटनबाट मिति २०५०।१२।२ र निजहरू बीच चलेको दे.पु.नं. २९६ को निर्णय पर्चा बदर मुद्दामा पुनरावेदन अदालत पाटनबाट मिति २०५५।२।२८ मा भएको फैसला समेतबाट दाविको कि.नं. ५० को जग्गाको जग्गाधनी बलध्वज राणा (रामचन्द्र निजी गुठी) तथा मोही विन्दुमान जोशी कायम भएको देखिन आउँछ । विन्दुमानको मृत्युपश्चात् उक्त जग्गामध्ये ०१५० जग्गा अनन्तमानको र वाँकी जग्गा विश्वमानको कायम भएको देखिन्छ । सोही फैसला समेतलाई आधार बनाई विपक्षी बलध्वज राणाले उक्त कि.नं. ५० को जग्गा आधा आधा बाँडफाँड गरी मोही लगत कट्टा गरिपाऊँ भनी भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(घ) बमोजिम भूमिसुधार कार्यालय काठमाडौँमा मिति २०५६।५।१६ मा निवेदन दिएको देखिन आयो ।

४. निजले दिएको उक्त बाँडफाँडसम्बन्धी निवेदनको आधारमा बाँडफाँडसम्बन्धी प्रक्रिया अघि बढाई बाँडफाँडको निर्णय गरेको देखिन्छ । भूमिसुधार कार्यालयको आदेश बमोजिम भएको स्थलगत निरीक्षण प्रतिवेदनबाट उक्त कि.नं. ५० को जग्गामा सम्बन्धित मोहीको घर टहरा समेत निर्माण भएको र मोहीले कम्पाउण्डवाल समेत लगाई घरवास गरिआएको भन्ने देखिन आएको भन्ने आधारमा आधा आधा जग्गा बाँडफाँड गर्न नमिलेको भनी भूमिसुधार कार्यालय, काठमाडौँको निर्णयमा उल्लेख भएको पाइन्छ । सो कुरालाई निवेदकले पनि रिट निवेदनमा खण्डन गरेको पाइदैन । आधा जग्गाको हुने मूल्य जग्गा धनीलाई दिलाई पूरै जग्गा मोहीका नाममा गर्ने गरी भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(ङ) बमोजिम निर्णय भएको कुरालाई अन्यथा मान्नुपर्ने आधार र कारण समेत देखिँदैन ।

५. जग्गाको मूल्याङ्कन बढी भएको भन्ने आधारमा निर्णय बदर गरिपाऊँ भन्ने रिट निवेदन दावी सम्बन्धमा विचार गर्दा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(ज) बमोजिम मूल्य निर्धारण समितिको गठन हुने र सोही समितिले निर्धारण गरेको मूल्यलाई कायम गरेको भन्ने विपक्षीको लिखित जवाफ रहेको पाइन्छ । मूल्य निर्धारण समितिमा गा.वि.स. तथा वडाको प्रतिनिधि, मालपोत कार्यालयको प्रतिनिधि समेत रहने र जग्गाको वास्तविक मूल्याङ्कन सो समितिबाटै निर्धारण हुने विषय भएको तथा रिट क्षेत्रबाट प्रमाण बुझी जग्गाको मूल्याङ्कन घटी बढी के हो भनी हेर्न सकिने विषयभित्र नपर्ने भएकोले सोको आधारमा उक्त निर्णय बदर हुनुपर्ने भन्ने रिट निवेदन दावी प्रयोजनहीन देखिन आयो ।

६. अव आधा जग्गाको मूल्य तिरी पूरै जग्गा आफ्ना नाममा दा.खा. दर्ता हुने भएपछि आफूले प्राप्त गर्ने जग्गाधनी दर्ता प्रमाण पूर्जा र दर्ता स्रेस्तामा रामचन्द्र निजी गुठी कायम गर्ने भनी गरिएको निर्णय त्रुटिपूर्ण छ भन्ने प्रश्नका सम्बन्धमा विचार गर्दा रिट निवेदन दावीमा उल्लिखित कि.नं. ५० को जग्गाको जग्गाधनी  बलध्वज राणा( रामचन्द्र निजी गुठी) कायम हुने ठहरी अदालतबाट समेत फैसला भै अन्तिम भएको अवस्थामा उक्त जग्गामा रामचन्द्र निजी गुठी कायम भएको भन्नेमा विवाद हुन सक्दैन ।

७. निजी गुठी कायम भएको दावीको जग्गा आफ्ना नाममा मोहीबापत पूरै प्राप्त भएपछि निजी गुठीको नाम समावेश हुन नपर्ने भनी गरेको निवेदकको दावीका सन्दर्भमा गुठीको अवधारणाका सम्बन्धमा चर्चा गर्नु सान्दर्भिक देखिन्छ । गुठी भन्नाले कुनै मठ, वा कुनै देवी देवताको पर्व, पूजा वा जात्रा चलाउन, वा कुनै धार्मिक वा परोपकारी कामको लागि कुनै मन्दिर, देवस्थल, धर्मशाला, पाटी पौवा, इनार, पोखरी, तलाउ धारा, पियाउ, बाटो घाट, पुल चौतारा, गौचरण वाग वगैचा, जङ्गल, पुस्तकालय, पाठशाला, औषधालय, चिकित्सालय, घर, इमारत वा संस्था बनाउन वा त्यसको संरक्षण गर्न कुनै दाताले आफ्नो चल अचल सम्पत्ति वा आयस्ता आउने अरु कुनै रकममा आफ्नो हक छाडी राखेको गुठी सम्झनुपर्छ भन्ने कुरा गुठी संस्थान ऐन, २०३३ को दफा २(ग) मा  परिभाषा गरिएको देखिन्छ । उपरोक्त परिभाषाबाट गुठी भनेको धार्मिक, सांस्कृतिक, परोपकारी आदि परम्परा, मान्यता, प्रचलन, प्रथालाई सञ्चालन र कायम राखी त्यसको विकास गराउने भन्ने देखिन्छ । दाताले आफ्नो चल अचल सम्पत्ति वा आयस्ता वा सम्पत्तिमा आफ्नो हक छाडी सार्वजनिक हितका लागि समर्पण गर्ने हुँदा गुठी भनेको कुनै सामाजिक वा धार्मिक कार्य निरन्तर रुपले सञ्चालन गर्न आफ्नो सम्पत्तिको हक छाडी हस्तान्तरण गर्ने कार्य पनि
हो । गुठीबाट व्यक्तिको हक समाप्त हुने र समूह, सम्प्रदाय वा समुदायको हक सिर्जना हुने प्रक्रिया भएकाले गुठी राख्नेले आफ्नो इच्छापत्रमार्फत् व्यक्त इच्छालाई नमासिने गरी जोगाई निरन्तरता (Perpetual continuity) प्रदान गर्नु राज्य वा राज्यको अंगका रुपमा रहेका सबै निकायहरूको कानूनी कर्तव्य समेत हुन आउँछ ।

८. गुठी हाम्रो सामाजिक, धार्मिक र सांस्कृतिक परम्पराको एक अभिन्न अङ्ग भएको कुरालाई आत्मसात गरी मुलुकी ऐनमा गुठीसम्बन्धी छुट्टै व्यवस्था गरी २०२१ सालमा गुठी संस्थान ऐन, र सोलाई खारेज गरी २०३३ सालमा गुठी संस्थान ऐन, २०३३ लागू भएको देखिन्छ । यसबाट गुठीको प्रभावकारी उपयोग गरिने र दुरुपयोग हुन नदिने गरी गुठी सम्पदाको जीवन्तता सुनिश्चित भएको मान्नुपर्ने हुन आउँछ ।

९. गुठीलाई निरन्तरता दिइनुपर्ने र जीवन्त राख्नुपर्ने भनी यसै अदालतबाट नेकाप २०६४, अङ्क १०, नि.नं. ७८८५ पृष्ठ १२७५ रिट निवेदक प्रकाशमणि शर्मा समेत विरुद्ध मन्त्रिपरिषद् सचिवालय समेत भएको संवत् २०५८ सालको रिट नं. ७७ मा सिद्धान्त प्रतिपादन भएको
देखिन्छ । प्रतिपादन भएको उक्त सिद्धान्त समेतका आधारमा रामचन्द्र निजी गुठी कायम भएको दावीको पूरै जग्गा मोही रिट निवेदकहरूका नाममा दा.खा. दर्ता हुने निर्णय भए तापनि जग्गाधनी दर्ता प्रमाणपूर्जामा रामचन्द्र निजी गुठी कायम राख्ने गरी भएको भूमिसुधार कार्यालय काठमाडौँको निर्णयलाई कानूनप्रतिकूल भएको वा गुठीको अवधारणा र मान्य सिद्धान्तप्रतिकूल भएको भन्न मिल्ने देखिएन ।

१०. जग्गाको आकार र जग्गामा निवेदकहरूको घरले चर्चेका कारण बाँडफाँड गर्न नमिल्ने हुँदा कानूनबमोजिम निवेदक मोहीका नाममा पूरै जग्गाको स्वामित्व कायम हुन आएपनि परम्परा, धर्म, संस्कृति, प्रचलन, मान्यता र कानूनले नै गुठी प्रथालाई मान्यता प्रदान गरी गुठी नेपालको संस्कृति, धर्मको एक अभिन्न कानूनी अङ्ग भएको र त्यसलाई कानूनले नै मान्यता प्रदान गरेको अवस्थामा निवेदन दावीको जग्गामा निवेदकहरू गुठियार नभएपनि गुठीको पूरैजग्गाको जग्गाधनी बनेपछि त्यस्तो जग्गासँग गाँसिएको र त्यस्तो जग्गाले वोकेको Legacy बाट निवेदकहरू उन्मुक्त हुन सक्दैनन् । गुठीको स्थापना, सञ्चालन र त्यसको निरन्तरता नेपालको एक परम्परा एवं संस्कृति बर्तमान नेपालको अन्तरिम संविधान, २०६३ को धारा १७ मा संस्कृतिसम्बन्धी हकको व्यवस्था भएको छ । उक्त धारामा प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृतिसम्बन्धी पालना गर्न र त्यस्तो संस्कृतिलाई निरन्तरता दिन पाउने गरी संस्कृतिसम्बन्धी हकलाई Enforcable मौलिक हकको रुपमा राखिएको छ । निवेदकहरू वर्तमान अवस्थामा निवेदन दावीको पूरै जग्गाको स्वामित्ववाला बनेका कारण आफू र आफ्ना पुर्खाले गुठी नराखेको हुँदा उक्त जग्गाको गुठीको निरन्तरता आफूले दिननपर्ने हुँदा उक्त जग्गाको जग्गाधनी दर्ता प्रमाणपूर्जामा गुठी भन्ने शब्द नरहनुपर्ने भन्ने निवेदन दावी पुग्न सक्ने देखिँदैन ।

११. अव गुठीको लागि आधा जग्गाको मूल्य बराबरको अक्षय कोष खडा गर्नुपर्नेमा नगरी बलध्वज राणालाई दिलाइदिने गरी भएको निर्णय त्रुटिपूर्ण रहेको भन्ने प्रश्नतर्फ विचार गर्दा माथि विवेचना गरिए अनुरूप गुठी मास्न नहुने गुठीलाई निरन्तरता दिई गुठीलाई जीवन्त बनाइराख्न एक प्रभावकारी माध्यम आवश्यक पर्दछ । त्यस्तो माध्यम गुठीलाई प्राप्त हुने रकम हो भन्नेमा विवाद हुन सक्दैन । रामचन्द्र निजी गुठी सञ्चालनका लागि मोहीबाट लिएको उक्त रकमलाई छुट्टै अक्षयकोष खडा गरी गुठी निरन्तर सञ्चालन गर्नु भनी विपक्षीहरूको नाममा परमादेशको आदेश जारी गरिदिएको छ ।

१२. माथि विवेचना गरिए अनुरूप रिट निवेदन मागअनुरूप उत्प्रेषणको आदेश जारी हुनुपर्ने अवस्थाको विद्यमानता नदेखिँदा प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । यस अदालतबाट जारी भएको मिति २०५८।८।६ को अन्तरिम आदेश समेत निष्कृय हुन्छ । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमबमोजिम बुझाइदिनू ।

उक्त रायमा सहमत छु ।

न्या.कृष्णप्रसाद उपाध्याय

इति संवत् २०६६ साल मंसिर ३० गते रोज २ शुभम्

इजलास अधिकृत : नारायण रेग्मी

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु