निर्णय नं. ८३१८ - नकबजनी चोरी

निर्णय नं. ८३१८ जेठ, २०६७
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह
माननीय न्यायाधीश श्री प्रकाश वस्ती
संवत् २०६१ सालको फौ.पु. नं.–––– ३४२८
फैसला मितिः २०६६।७।१७।३
मुद्दा :— नकबजनी चोरी ।
पुनरावेदक प्रतिवादीः जिल्ला बारा, पिपरा सिमरा गा.वि.स. वडा नं. ६ मा बस्ने शेष रईस आलम
विरुद्ध
प्रत्यर्थी वादीः जिल्ला बारा, पिपरा सिमरा गा.वि.स. वडा नं. ६ मा बस्ने राजु शम्शेर ज.ब.रा.को जाहेरीले नेपाल सरकार
शुरु फैसला गर्नेः
मा.जि.न्या.श्री सहदेवप्रसाद बास्तोला
पुनरावेदन फैसला गर्नेः
मा.न्या. श्री गोविन्दकुमार उपाध्याय
मा.न्या.श्री लोकेन्द्र मल्लिक
अपराध अनुसन्धानकर्तासमक्ष भएको साविती मात्रका आधारमा न्यायिक निष्कर्ष निकाल्न मिल्दैन । तर त्यो साविती अन्य प्रमाणबाट सत्य रहेको स्थापित हुन्छ भने त्यसलाई मुद्दाको अनुसन्धानकर्ता प्रहरीसमक्ष भएको भन्ने मात्र आधारमा प्रमाण शून्य लिखतको रुपमा ग्रहण गर्न न्यायोचित हुँदैन । प्रहरी सावितीको पुष्टि गर्ने अन्य प्रमाण स्वतन्त्र हुन् वा होइनन् र ती के कसरी संकलित भए भन्ने प्रश्नमा भने अदालतले संवेदनशीलताका साथ शर्तक हुनु पर्ने ।
प्रहरीसमक्ष भएको कागजले कुनै प्रमाणिक महत्व राख्दैन भन्न सकिन्न । प्रमाणको महत्व संख्यामा होइन आफ्नो गुणवत्तामा निर्भर रहन्छ । प्रमाण भन्ने कुरा प्रकृतिले होइन, आफ्नो विश्वसनीयताका आधारमा मूल्याङ्कित हुने ।
(प्रकरण नं.३)
पुनरावेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी र विद्वान अधिवक्ता श्री मो. शेष अब्बास
प्रत्यर्थी वादी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री किरण पोखरेल
अवलम्वित नजीरः
सम्बद्ध कानूनः
फैसला
न्या. प्रकाश वस्तीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदक प्रतिवादीको यस अदालतमा पर्न आएको प्रस्तुत पुनरावेदनको तथ्य एवं ठहर निम्नानुसार रहेको छः–
जिल्ला बारा, गाउँ विकास समिति पिपरा वार्ड नं. ६ स्थित राजु शम्शेर ज.ब.रा.को घरको ढोकामा ताला लगाउने ठाउँमा काटी ढोका खुल्ला रहेको, घरभित्र रहेको दराज, बाकस समेत खुल्ला रहेको सर–सामानहरू यत्रतत्र छरिएको अवस्थामा रहेको उक्त घरबाट चोरी भएको ठीक हो भन्ने समेत व्यहोराको घटनास्थल प्रकृति मुचुल्का ।
म जाहेरवाला मिति २०५७।७।९ गतेका दिन मेरो काठमाडौँ घरमा गएको थिएँ । मेरो यस जिल्ला बारा, पिपरा सिमरा गाउँ विकास समिति वार्ड नं. ६ स्थित घरमा काम गर्ने मानिसलाई राखेको थिएँ । मिति २०५७।७।१० गते रातिको समयमा मेरो सो घरको उत्तरपट्टिको कोठाको ढोकामा लगाएको ताला तोडी घर कोठाभित्र पसी बिगो रू.३,२७,०००।– बराबरको धनमाल चोरी गरी लगेको व्यहोरा मिति २०५७।७।११ गते बिहान उठी मेरो कामदारले हेर्दा सो घर कोठाको ढोका तोडफोड भएको, घर कोठाभित्र राखेको सामान चोरी भएको व्यहोरा निज मेरो काम गर्ने फूलचन महतोले देखी सो कुरा मेरो छिमेकी तथा सहयोगी काशिम मियालाई जानकारी गराई निज काशिमले मलाई टेलिफोनद्वारा काठमाडौँमा जानकारी गराएकोले म काठमाडौँबाट आई हेर्दा मेरो घरको ढोका तोडफोड गरी चोरी जिल्ला बारा, गाउँ विकास समिति पिपरा वार्ड नं. ६ बस्ने शेष शहजादको छोरा शेया रईस, ऐ. भवानीपुर जितपुर वार्ड नं. ७ बस्ने दिनदयालको छोरा नारायण राउत थारू, जिल्ला पर्सा, मनवा बजार बस्ने जितेन्द्र चौधरीको छोरा शिकन्दर चौधरीले चोरी गरेकोले निजलाई पक्राउ गरी सजाय गरी सामान समेत असूल गरी दिलाई पाऊँ भन्ने समेत व्यहोराको जाहेरी दर्खास्त ।
म सानै उमेरदेखि हाल जोहरवाला भनिएका राजु शम्शेर ज.ब.रा. को घरमा नै काम गर्न बसेको थिएँ र सोही घरमा नै म हुर्केँ र आजभन्दा १ वर्षअगाडि निज जाहेरवालाले मलाई आफ्नो घरबाट तँ अब मेरो घरमा काम नगर्नु म अरु नै मानिस खोज्छु भनी निकाली दिएपछि म आफ्नै गाउँमा रहेको एन.वी. गार्मेन्टमा हेल्परको काम गर्न थालेँ र काम गर्ने सिलसिलामा सोही गार्मेन्टमा नै काम गर्ने जिल्ला बारा, गाउँ विकास समिति भवानीपुर जितपुर वार्ड नं.७ मा घर बताउने नारायण राउत थारू, पर्सा जिल्लाअन्तर्गत घर बताउने शिकन्दर चौधरी भन्ने मानिससँग मेरो परिचय भयो र निज नारायण राउत र शिकन्दर चौधरी समेत मसँग कहिलेकाहीँ कुरा गर्दा तँसँग हतियार छैन ? भए हामीलाई काम छ ले त भनी भन्दा मसँग हतियार नभएको हुँदा छैन भनी म उत्तर दिने गर्दथेँ, यस्तै क्रममा हाल जोहरवाला भनिएका राजु शम्शेर ज.ब.रा. को घरमा हतियार छन् भन्ने मलाई थाहा थियो र म पहिला निजकै घरमा काम गरी बसेको हुँदा यो कोठामा, यो दराजमा हतियार राख्छन् भनी मलाई जानकारी थियो र निज नारायण राउतले जसरी भए पनि मलाई हतियार उपलब्ध गराई दिनु पर्यो भनी मलाई भनेको र मिति २०५७।७।९ गते हाल जाहेरवाला भनिएको राजु शम्शेर ज.ब.रा. काठमाडौँतर्फ गएको र निजको घरमा कामदार मात्र भएको थाहा पाएको हुँदा म आफूले काम गर्ने गार्मेन्टमा काम गर्न जाँदा हतियार राजु शम्शेर ज.ब.रा को घरमा छ, हाल निजको घरमा कोही पनि छैन भनी नारायण राउत थारू समेतसँग बताउँदा उसो भए जसरी भए पनि उक्त हतियार हात लगाउनु पर्छ राति जाने भन्ने सल्लाह मिलाई मिति २०५७।७।१० गते अं राति २१:३० बजेको समयमा म तथा नारायण राउत थारू र शिकन्दर चौधरी समेत तीन जना भई निज जाहेरवालाको घरमा गर्यौं र निज जाहेरवालाको घर कोठाको पश्चिम पट्टिबाट घरभित्र प्रवेश गर्न खोज्दा ढोका लक भएको हुँदा र हामीले कुनै हतियार समेत नलगेकोले निज जाहेरवालाकै घरमा भएको औजार बाकस निकाली सोही औजार बाकसभित्र रहेको हतौडी समेत प्रयोग गरी टाँका तोडी फोडी हामी तीनै जना नै कोठाभित्र पसी निज जाहेरवालाले हतियारहरू समेत राख्ने गरेको दराज लक पनि फोडी उक्त दराजमा रहेको ३ नाल हतियारहरू र ठूलो गोली ६० वटा, सानो गोली ११० वटा, चक्कु १ वटा, क्यासेट प्लेयर एउटा र अर्को कोठामा रहेको भी.सी.आर. थान १ समेत लिई हामी तीनै जनाले उक्त घरबाट निस्की निज जाहेरवालाको घरभन्दा पूर्वतर्फ बारी नै बारी हुँदै गई अ. १ कि.मी. को दूरीमा रहेको खोल्सा जस्तो झाडीमा पुगी सामानहरू चेक गर्दा हामीले ल्याएको बन्दुकमध्ये एउटामा दूरबीन जडान भएको र अर्को पनि राम्रो खालको बन्दुक भएको हुँदा उक्त हतियारहरू नारायण चौधरीले म लुकाउँछु भनी लग्यो र एउटा बन्दुक त्यति राम्रो नभएको एयरगन चरामात्र मार्न काम लाग्ने हुँदा उक्त एयरगन र क्यासेट प्लेयर बोक्न भारी भएको हुँदा सोही खोल्सीमा नै फाली दियौं र भी.सी.आर., चक्कु तथा गोली समेत गाउँमा राख्दा प्रहरीले थाहा पाउलान् भनेर नारायण राउत थारूले आफूसँग लगे, कहाँ लगे मलाई थाहा भएन भन्ने समेत व्यहोराको प्रतिवादी शेष आलमले अधिकार प्राप्त अधिकारिसमक्ष गरेको बयान ।
जिल्ला बारा, गाउँ विकास समिति पिपरा वार्ड नं. ६ स्थित धाणी शम्शेर ज.ब.रा.को जग्गामा रहेको खोल्सा बासघारीमा नोरीका लेखिएको एयरगन थान –१ र क्यासेट प्लेयर बरामद गरिएको ठीक हो भन्ने समेत व्यहोराको बरामदी मुचुल्का ।
मिति २०५७।७।१० गते मैले जाहेरवालाको घरमा चोरी गरेको छैन हैन, प्रतिवादी शेष रईस आलम र नारायण चौधरीले चोरी गरे गरेनन् मलाई थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी शिकन्दर राय चौधरीको अधिकार प्राप्त अधिकारिसमक्ष गरेको बयान ।
प्रतिवादी शेष रईस आलमको घर खानतलासी गर्दा दसीको कुनै सामान फेला नपरेको भन्ने समेत व्यहोराको मिति २०५७।७।२२ गतेको खानतलासी मुचुल्का ।
प्रतिवादी भनिएका शेष रईस आलम पहिला पनि जाहेरवालाको घरको सरसामान चोरी गर्ने गर्दथे र जाहेरवालाले निजलाई आफ्नो घरबाट काम गर्नलाई हटाई दिएका थिए, निज प्रतिवादी शेष रईस आलमको आचरण पहिलादेखि नै खराब भएको कारण निजले जाहेरवालाको घरमा उक्त मितिको वारदातमा चोरी गरेकोमा मलाई शंका लाग्दछ भन्ने समेत व्यहोराको प्रहरीबाट बुझिएका फुलचन महतोले अधिकार प्राप्त अधिकारिसमक्ष गरेको कागज ।
बरामदी एयरगन र क्यासेट प्लेयर मेरो हो, प्रतिवादी शेष रईस आलम समेतले चोरी गरी लगेका सामान हुन, चोरी गरी लगेको बन्दुकको लाईसेन्स यसैसाथ छ भनी जाहेरवाला राजु शमशेरले गरिदिएको सनाखत कागज ।
मिति २०५७।७।१० गते जाहेरवालाको घरमा चोरी वारदात भएको हो, उक्त चोरी जाहेरीमा उल्लेख भएका मानिसहरूले चोरी गरेको हुनु पर्दछ भन्ने एकै मिलानको वस्तुस्थिति मुचुल्का ।
मिति २०५७।७।१० गते राति आफू लगायत नारायण राउत, शिकन्दर चौधरी समेत भई जाहेरवालाको घरमा चोरी गरेको र चोरी गरेको सामानहरू मध्ये एयरगन र क्यासेट प्लेयर स्थानीय खोल्सामा फाली दिएको भनी कसूरमा सावित भई प्रतिवादीमध्येका र शेष रईस आलमले मौकामा अधिकार प्राप्त अधिकारिसमक्ष बयान गरेको र निजले बयानमा खुलाएको स्थानबाट चोरी भएका सामानहरू मध्ये एयरगन र क्यासेट प्लेयर बरामद भएको र सुरज बस्नेत समेतका व्यक्तिले लेखाई दिएको कागज समेतका आधारबाट मिति २०५७।७।१० गते राति उल्लिखित प्रतिवादीहरूले जाहेरवालाको घरबाट बिगो रू.३,२७,०००।– बराबरको धनमाल नकबजनीका रीतसँग चोरी गरेको पुष्टि हुँदा निज प्रतिवादीहरू उपर मुलुकी ऐन, चोरीको १ र ३ नं. विपरीतको कसूर अपराधमा ऐ. महलको १४(१) नं. बमोजिम सजाय गरी चोरीको बिगो रू.३,२७,०००।– बाट बरामद भएको सामानको मूल्य रू.२७,०००।– घटाई हुन आउने बिगो रू.३,००,०००।– निज प्रतिवादीहरूबाट जाहेरवालालाई चोरीको १० र २१ नं. बमोजिम दिलाई भराउने समेतको मागदावी लिई मिसिल बरामद भएको एयरगन र क्यासेट प्लेयर तथा पक्राउ परेका प्रतिवादी शेष रईस आलम र शिकन्दर राय चौधरीलाई यसै अभियोगपत्र साथ पेश गरिएको छ । साथै अनुसन्धान अवधिभर फरार रहेका प्रतिवादी नारायण राउत थारूको हकमा अदालतबाट म्याद जारी गरिपाऊँ भन्ने समेत व्यहोराको अभियोग पत्र ।
मिति २०५७।७।१० गतेको समयमा म आफ्नो घरमै थिएँ, जाहेरी दर्खास्तमुताबिक जाहेरवालाको घरको ताला तोडी जाहेरीमा लेखिएअनुसारको धनमाल मैले चारी गरेको नहुँदा म उपरको जाहेरी व्यहोरा झूठ्ठा हो । को कसले सो चोरी वारदात गरे मलाई थाहा नहुँदा लेखाउन सक्दिन । जाहेरवालाले मेरो नाम किटान गरी किन जाहेरी दिएका हुन् निजै जानून । अधिकार प्राप्त अधिकारिसमक्षको बयान मैले लेखाएको होइन, बयान लेख्नेले आफ्नो मनज्ञानले सो झूठ्ठा कुरा लेखी मसँग सहिछाप जबर्जस्ती गराएका हुन्, उक्त बयान झूट्ठा हो भन्ने समेत व्यहोराको प्रतिवादी शेष रईस आलमले शुरु अदालतमा गरेको बयान ।
उक्त मिति समयमा दीपावली परेको हुँदा म आफ्नो घरमा थिएँ । मैले जाहेरवालालाको घर देखेको छैन, मैले जाहेरवालाको घरमा जाहेरीमा लेखिएअनुसार धनमाल चोरी गरेको नहुँदा मउपरको अभियोग जाहेरी समेतबाट सजाय पाउनु पर्ने होइन छैन भन्ने समेत व्यहोराको प्रतिवादी शिकन्दर राय चौधरीले शुरु अदालतमा गरेको बयान ।
म उपरको अभियोग दावी झूठ्ठा हो, मैले सो मिति २०५७।७।१० गते रातिको समयमा जाहेरवालाको घरमा गई उक्त उल्लिखित हात हतियार र सामान नगद समेत चोरी गरेको छैन । सो दिनको १२ बजे नै काठमाडौँ गएको छु र हिजो अर्थात् मिति २०५६।११।१६ गतेमात्र घरमा आएको छु । मैले अभियोग दावीअनुसार कसूर नगरेको हुँदा झूठ्ठा अभियोग दावीबाट सफाइ पाऊँ भन्ने समेत व्यहोराको नारायण राउत थारूले शुरु अदालतमा गरेको बयान ।
मिति २०५७।७।१८ गतेमा भएको बरामदी मुचुल्कामा परेको सहिछाप मेरो हो । मेरो रोहबरमा बरामदी मुचुल्का भएको हो भन्ने समेत व्यहोराको बरामदी मुचुल्काका मानिस वेदप्रसाद नेपालले शुरु अदालतमा गरेको बकपत्र ।
मिति २०५७।७।१० मा काठमाडौँमा कृष्णराज जोशीको घरमा थिएँ । बेलुका ७ बजे नारायण राउत थारूसँग भेट भयो, साहुले बोलाई गएका हुन् । निजले चोरी नगरेको हुँदा सजाय पाउनु पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी नारायण राउत थारूको साक्षी रामचन्द्र राउत थारूले शुरु अदालतमा गरेको बकपत्र ।
उक्त दिन लक्ष्मी पूजा भएकोले साँझ ६ बजेतिर गाउँ केटाहरू तथा बच्चाहरू समेत भई पटका पट्काउँदै खेल्दै रमाउँदै थिए । म र प्रतिवादी समेत आ–आफ्नो कामबाट फर्की सोही रमाइलो हेरी राति खाना खाई निज प्रतिवादी मेरै घरमा सुतेका हुन् । प्रतिवादीले चोरी गरेको होइन भन्ने समेत व्यहोराको प्रतिवादी शेष रईस आलमको साक्षी शेष सोहराबले शुरु अदालतमा गरेको बकपत्र ।
मिति २०५७।७।१० गते लक्ष्मी पूजाको दिन भएको हुँदा कामबाट फर्केपछि सँगै गाउँमा आयौंँ र बेलुका गाउँ घरमा रमाइलो गरी सँगै एकैसाथ खाना खाई सँगै राति सुतेका हौं । प्रतिवादीले चोरी गरेका होइनन् । जाहेरी झूठ्ठा हो भन्ने समेत व्यहोराको प्रतिवादी शेष रईस आलमको साक्षी शेष मुस्तफाले गरेको बकपत्र ।
मिति २०५७।७।२७ गते गरेको कागजमा जाहेरवालाको घरमा चोरी भएको व्यहोरा लेखाई कागज गरी दिएको हो । चोरी कसले गर्यो मलाई थाहा छैन । चोरी भएको व्यहोरासम्म लेखाई दिएको हुँ, सहिछाप मेरै हो भन्ने समेत व्यहोराको वस्तुस्थिति मुचुल्का मानिस फुलचन महतोले गरेको बकपत्र ।
मिति २०५७।७।१८ गतेको बरामदी मुचुल्कामा मैले सहिछाप गरेको हुँ । सहिछाप मेरै हो, धर्नी शम्शेरको तोरीबारीको छेउमा झ्याङ्ग भएको खोल्सीमा एयरगन र क्यासेट प्लेयर बरामद भएको थियो भन्ने समेत व्यहोराको बरामदी मुचुल्काका मानिस काशिम मियाँले शुरु अदालतमा गरेको बकपत्र ।
प्रतिवादी शेष रईस आलम मेरो घरमा ५।६ वर्ष जति काम गरेका थिएँ । पहिलो पटक काठमाडौँमा चोरी गरेकोले पहिलो पटकलाई भनी मैले माफी दिएँ । त्यसपछि सिमरामा आएपछि सिमराको घरबाट गहना चोरी गर्दा गाउँका भद्रभलादमीले पञ्चायती गरी प्रहरीमा कागज समेत गराई मुद्दा नचलाई छाडी दिनुहोस् भनी गाउँलेहरूको अनुरोधमा कारवाही नगरी इलाका प्रहरी कार्यालय सिमरामा प्रतिवादी शेष रईस आलमबाट कागजसम्म गराई दिए । प्रतिवादी नारायण चौधरी थारू, म शेष रईस आलम समेत एउटै गार्मेन्टमा काम गर्ने हुँदा प्रतिवादी नारायणले मेरो घरमा के के छ भनी बुझ्नु तथा चोरी गर्न प्रतिवादी शेष आलमलाई रू.२०,०००।– दिन्छु राजाको घरको हतियार खरखजाना भएको जानकारीवाला व्यक्ति भएकोले निजहरूले घरमा नभएको अवस्थामा चोरी गरेका हुन् भन्ने समेत व्यहोराको जाहेरवाला राजु शम्शेर ज.ब.रा. ले शुरु अदालतमा गरेको बकपत्र ।
बरामदी मुचुल्कामा भएको सहिछाप मेरै हो । सो चोरीको सम्बन्धमा ईलाका प्रहरी कार्यालय सिमरामा प्रहरी नायब निरीक्षक नारायण सिंह ठकुरीले काशिम मियाँ र म टिकादत्त तिवारी, राजु शम्शेरको रोहबरमा प्रतिवादी शेष रईसलाई सोधपुछ गर्दा निज शेष रईसले मैले राजा साहेबको यो सामान यहाँ छ भन्दै देखाएँ र नारायण चौधरीले सबै सामान बोरामा हाली लिएर घरबाट दक्षिण लग्यो भन्ने बयान दिएअनुसार निजहरूले नै चोरी गरेको हुनु पर्दछ भन्ने समेत व्यहोराको बरामदी मुचुल्काका मानिस टिकादत्त तिवारीले शुरु अदालतमा गरेको बकपत्र ।
म जाहेरवालाको घरमा काम गरी बस्ने भएकोले मिति २०५७।७।१० गते राति चोरहरूले जाहेरवालाको घरमा ढोका तोडी घरको हात हतियार समेत चोरी लगेको व्यहोरा छिमेकी काशिम मियालाई बिहानपख भनी घटनाको बारेमा सम्पूर्ण व्यहोरा खुलाई मिति २०५७।८।९ गते प्रहरीमा लेखाएको कागज व्यहोरा मैले भनेबमोजिम लेखिएको हो । सो व्यहोरा साँचो हो भन्ने समेत व्यहोराको वस्तुस्थिति मुचुल्काका मानिस सुरज बस्नेतले शुरु अदालतमा गरेको बकपत्र ।
उक्त दिन लक्ष्मी पूजा भएकोले म घरमै थिएँ । उक्त दिन शिकन्दर समेतसँग भेट भएको थियो । सो रातभर र बिहान ३ बजेसम्म हामी कीर्तन गाएर सँगै बसेका थियौं, जाहेरी झूठ्ठा हो भन्ने समेत व्यहोराको प्रतिवादी शिकन्दर रायको साक्षी भिखारी महतो थारूले शुरु अदालतमा गरेको बकपत्र ।
मिति २०५७।७।१० गते म आफ्नो घरमा थिएँ । दिनको १० बजेतिर निज नारायण राउत झोला बोकी आइरहेको अवस्थामा भेट भएको थियो, त्यसपछि काठमाडौँ गइसकेका थिए, निजले चोरी गरेको होइन भन्ने समेत व्यहोराको प्रतिवादी नारायण राउतको साक्षी मोहन राउत थारूको शुरु अदालतमा गरेको बकपत्र ।
मिति २०५७।७।१० गतेका दिन घरैमा थिएँ, रातभर कीर्तनमा थिएँ । साँझ, ६.३० बजेतिर शिकन्दर समेतका व्यक्तिहरूसँग भेट भएको थियो । प्रतिवादी उपरको जाहेरी व्यहोरा झूठ्ठा हो भन्ने समेत व्यहोराको प्रतिवादी शिकन्दर रायको साक्षी हरिनारायण चौधरीको शुरु अदालतमा गरेको बकपत्र ।
प्रतिवादीहरू अदालतमा आई बयान गर्दा आफू उपरको अभियोगमा इन्कारी गरी बयान गरेका र निजका साक्षीहरूले समेत सो इन्कारी बयानको पुष्टि हुने गरी बकपत्र गरेका एवं प्रतिवादीहरूबाट चोरी गरेको सामान बरामद हुन नसकेको र प्रतिवादी शिकन्दर अधिकार प्राप्त अधिकारिसमक्ष इन्कार रहेको अवस्थामा यी प्रतिवादी शेष रईस आलमलाई निजको प्रहरीमा भएको साविती बयानकै भरमा कसूरदार ठहर्याउन नमिल्ने हुँदा सफाइ पाउने ठहर्छ । साथै अन्य प्रतिवादी शिकन्दर राय र नारायण चौधरीको हकमा प्रतिवादी शेष रईस आलमले गरेको पोल अन्य स्वतन्त्र प्रमाणहरूबाट समर्थित हुन नसकेकोले निजहरूले समेत सफाइ पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु जिल्ला अदालतको फैसला ।
शुरु फैसलामा चित्त बुझेन । घटनास्थल प्रकृति मुचुल्काबाट चोरी भएको कुरा पुष्टि भएको, प्रतिवादी शेष आलमले मौकामा अधिकार प्राप्त अधिकारिसमक्ष बयान गर्दा घटनामा आफैँ संलग्न रहेको कुरा स्पष्टसँग बयान गरेका छन् । बरामदी मुचुल्काका मानिसहरू तथा जाहेरवाला एवं वस्तुस्थिति मुचुल्कामा बस्ने मानिसहरूले समेत अनुसन्धानको क्रममा लेखाएको व्यहोरालाई समर्थित हुने गरी अदालतमा समेत बकपत्र गरेको अवस्थामा प्रतिवादीहरूलाई सफाइ दिने ठहर्याएको शुरु फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरिपाऊँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारको तर्फबाट पर्न आएको पुनरावेदन पत्र ।
यसमा प्रतिवादीमध्ये शेष रईस आलम आफू जाहेरवालाको घरमा काम गर्न बसेको तथ्यलाई स्वीकार गरी सो घरमा कुन सामान कहाँ राख्छछन् भन्ने आफूलाई थाहा भएकोले आफू समेत जाहेरवालाको घरमा चोरी गर्न आएको, हतौडी समेत प्रयोग गरी जाहेरवालाको घरको ढोका फोरि, घरभित्रको दराज पनि फोरि उक्त दराजमा रहेका तीन नाल बन्दुक ठूलो गोली ६० वटा, सानो गोली ११० वटा, क्यासेट प्लेयरलगायतको सामान चोरी गरेको भनी आफू कसूरमा सावित भई सह–अभियुक्तलाई पोल गरेको र निजले चोरी गरेको एउटा बन्दुक र क्यासेट प्लेयर छोडेर भागेको भनी बयान कागजमा उल्लेख गरेको ठाउँबाटै बरामद भएकोबाट अधिकार प्राप्त अधिकारिसमक्ष प्रतिवादी शेष रईस आलमले आफू समेत चोरी गरेको भनी भएको साविती तथ्ययुक्त रुपमा पुष्टि भएको देखिएको र किटानी जाहेरी, जाहेरवाला समेतका वादी पक्षको साक्षीले अदालतमा आई बकपत्र गरेको समेतबाट अभियुक्तउपरको अभियोग पुष्टि भएको देखिएको अवस्थामा सबै प्रतिवादीलाई अभियोगबाट सफाइ दिने गरी भएको बारा जिल्ला अदालतको फैसला सबूद प्रमाण मूल्याङ्कनको रोहमा त्रुटिपूर्ण भई फरक पर्न सक्ने देखिँदा विपक्षी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार गरी पेश गर्नु भन्ने समेत व्यहोराको मिति २०५८।१०।२२ को पुनरावेदन अदालत हेटौंडाको आदेश ।
जाहेरवाला राजु शम्शेरले यी प्रतिवादी शेष रईस आलमले चोरी गरेको भनी अदालतमा समेत बकपत्र गरी दिएको पाइन्छ । बरामदी मुचुल्कामा बस्ने वेदप्रसाद नेपाल र काशिम मियाँले बरामदी मुचुल्कामा प्रहरी कार्यालयमा सही गरेको बकपत्र गरे पनि आफ्नो रोहवरमा बरामदी मुचुल्का भएको भनी अदालतमा उपस्थित भै बकपत्र गरी दिएको देखिन्छ । त्यसैगरी सो मुचुल्काका साक्षी टिकादत्त तिवारीले प्रतिवादी शेष रईस आलमले यो सामान यहाँ यहाँ छ भन्ने देखाए भनी अदालतको बकपत्रको जवाफ ७ मा उल्लेख गरिदिएको समेतको प्रमाणबाट प्रतिवादी शेष रईसको प्रहरी साविती, दशी समेतका प्रमाणहरूबाट प्रमाणित भै रहेको पाइन्छ । यस अवस्थामा सो साविती समेतका प्रमाण कृत्रिम हो भनी निज प्रतिवादीले अभियोग दावीबाट सफाइ पाउने प्रमाणहरू गुजार्नु पर्नेमा निजले सो दायित्व पूरा गर्न सकेको देखिँदैन । तसर्थ, प्रतिवादी शेष रईस आलम समेतले सफाइ पाउने ठहराएको शुरु फैसलासँग सहमत हुन सकिएन । सो बाहेकका प्रतिवादीहरू शिकन्दर राय चौधरी र नारायण राउत थारूको हकमा प्रतिवादी शेष रईस आलमको पोल बाहेक अरू शंकारहित प्रमाणहरूको अभाव रहेको पाइन्छ । सह–अभियुक्तको पोल अरु स्वतन्त्र प्रमाणबाट समर्थित नभएसम्म त्यसको आधारमा कसूरदार ठहर गर्न नमिल्ने हुँदा प्रतिवादीहरू नारायण राउत र शिकन्दर रायलाई अभियोग दावीबमोजिम सजाय हुनुपर्छ भन्ने वादी श्री ५ को सरकारको जिकीरसँग पनि सहमत हुन सकिएन । अब प्रतिवादी शेष रईसबाट जाहेरीमा उल्लिखित चोरीको बिगो दशीमध्ये रू.२०,०००।– पर्ने एयरगन तथा रू.७,०००।– पर्ने क्यासेट प्लेयरसम्म बरामद भएको र सोबाहेकका अरु दशी फेला पर्न नसकेको एवं ती सामानहरू चोरी भएको तथ्य शंकारहित तवरबाट प्रमाणित समेत हुन नसकेको हुँदा बरामद नै नभएको दशीहरू पनि चोरी भएको भनी ठहर गर्नु फौजदारी न्याय सिद्धान्तको प्रतिकूल हुने हुँदा प्रतिवादी शेष रईस आलमले रू.२७,०००।– बिगोको धनमालसम्म चोरी गरेको ठहर गर्नुपर्नेमा निजलाई पूरै सफाइ दिएको बारा जिल्ला अदालतको मिति २०५८।४।२२ को फैसला केही उल्टी भै प्रतिवादी शेष रईस आलमले रू.२७,०००।– बिगोको धनमालसम्म नकबजनी चोरी गरेको ठहर्छ । सो ठहर्नाले निज प्रतिवादीलाई मुलुकी ऐन चोरीको महलको १४ (१) नं. बमोजिम १ महिना १५ दिन कैद र रू.४०,५००।– जरीवाना समेत हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत हेटौंडाबाट मिति २०५९।९।९ मा भएको फैसला ।
म आफूले अदालतमा बयान गर्दा अनुसन्धानमा भएको बयान करकापबाट भएको भनी इन्कारी बयान गरेको छु । सो बयानलाई मेरा साक्षीले पुष्टि गरेको अवस्था छ । मलाई पहिला पक्राउ गरी मलाई साविती गराएपछि मात्र जाहेरी दिएकाले यस्तो जाहेरीलाई किटानी जाहेरी भन्न मिल्दैन । जाहेरीको आधारमा मलाई पक्राउ गरेको नभई जबर्जस्ती साविती गराई सकेपछि मात्र जाहेरी दिएकाले सो जाहेरीलाई प्रमाणमा लिन मिल्दैन । म आफूबाट बरामद नभएको बरामदी मुचुल्का सम्बन्धित स्थानमा नगरी बनावटी रुपमा प्रहरी कार्यालयमा खडा गरेको भनी मैले लिएको जिकीरलाई बरामदी मुचुल्कामा रहेका वेदप्रसाद नेपाल समेतका मानिसले अदालतमा बकपत्र गर्दा लेखाएका छन् । यसबाट बरामदी मुचुल्का कानूनबमोजिमको नभएको भन्ने मेरो जिकीर पुष्टि भएको छ । मिसिल संलग्न तथ्यबाट मबाट चोरी नभएको पुष्टि भै रहेको अवस्थामा मैले कसूर गरेको ठहर गरी जरीवाना र कैद सजाय समेत गरी भएको पुनरावेदन अदालत हेटौंडाको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी शुरु फैसलालाई कायम गरी प्रस्तुत मुद्दाबाट सफाइ पाऊँ भन्ने समेत व्यहोराको यस अदालतमा पर्न आएको पुनरावेदक शेष रईस आलमको पुनरावेदन पत्र ।
यसमा प्रतिवादी शेष रईस आलम प्रहरीमा साविती भएपनि निजको सावितीलाई अन्य स्वतन्त्र प्रमाणबाट समर्थित भएको नदेखिएको, दशीको सामान निजबाट बरामद नहुनुका साथै प्रत्यक्षदर्शी देखिनाले साक्षी प्रमाण कुनै नभएको अवस्थामा निज प्रतिवादीलाई कसूरदार ठहराई सजाय गर्ने गरेको पुनरावेदन अदालत हेटौँडाको फैसला नमिली फरक पर्ने हुँदा महान्यायाधिवक्ताको कार्यालयलाई पेसीको सूचना दिई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०६४।१२।१७ को आदेश ।
नियमबमोजिम पेसी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी र विद्वान अधिवक्ता श्री मो. शेष अब्बासले सँगै गएका भनिएका अन्य अभियुक्तलाई सफाइ दिइसकेपछि यी प्रतिवादीलाई मात्रै कसूर ठहर हुनसक्ने अवस्था हुँदैन । प्रहरीले प्रतिवादीलाई पक्राउ गरी जबर्जस्ती साविती गराई सकेपछि मात्रै जाहेरी परेको तथा बरामदी मुचुल्कामा सामान बरामद भयो भनिएको स्थानमा सो बरामदी मुचुल्का नगरी प्रहरी कार्यालयमा खडा गरिएको र सो कुरालाई बरामदी मुचुल्कामा बस्ने व्यक्तिले समेत अदालतको बकपत्रमा उल्लेख गरेको अवस्थाले यो मुद्दा नै बनावटी रुपमा खडा गरेको देखिन्छ । मुद्दा बनावटी भएको हुनाले शुरुले सफाइ दिएकोमा पुनरावेदनले शुरुको फैसलालाई उल्टाई यी प्रतिवादीलाई सजाय गरेको नमिलेको हुँदा उक्त पुनरावेदन अदालतको फैसला उल्टी गरी शुरु जिल्ला अदालतको फैसला कायम हुनु पर्दछ भनी गर्नु भएको बहस तथा प्रत्यर्थीवादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री किरण पोखरेलले बरामदी मुचुल्कामा रहेका मानिसहरू काशिम मियाँ र वेदप्रसाद नेपालले अदालतमा बकपत्र गर्दा सामान बरामद भयो भनी उल्लेख गरेका छन् । सामान बरामद भएको स्थापित भइरहेको अवस्थामा शुरुले सफाइ दिने गरी गरेको फैसलालाई केही उल्टी गरी शेष रईस आलमलाई कसूरमा ठहर गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला मिलेकै हुँदा सदर हुनु पर्दछ भनी गर्नु भएको बहस जिकीर समेत सुनी विचार गर्दा यी पुनरावेदक प्रतिवादीलाई शुरु अदालतले सफाइ दिएकोमा पुनरावेदन अदालत हेटौंडाले शुरुको फैसलालाई केही उल्टी गरी निजलाई कसूरदार ठहर गर्ने गरी मिति २०५९।९।९ मा गरेको फैसला मिलेको छ, छैन र पुनरावेदकको पुनरावेदन जिकीर पुग्न सक्छ, सक्दैन भन्ने विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा बारा जिल्ला पिपरा सिमरा गाउँ विकास समिति वडा नं. ६ स्थित मेरो घरमा काम गर्ने मानिसहरू राखेको थिएँ । मिति २०५७।७।१० गते रातिको समयमा मेरो घरको उत्तरपट्टिको कोठामा लगाएको ताला तोडी घर कोठाभित्र पसी बिगो रू.३,२७,०००।– बराबरको धनमाल चोरी गरी लगेको व्यहोरा मिति २०५७।७।११ गते बिहान उठी मेरो कामदारले हेर्दा थाहा पाई सो कुरा मेरो छिमेकी तथा सहयोगी काशिम मियाँलाई जानकारी गराई निज काशिमले मलाई टेलिफोनद्वारा काठमाडौँमा जानकारी गराएकोले काठमाडौँबाट आई हेर्दा मेरो घरको ढोका तोडफोड गरी शेष रईस आलम, नारायण राउत थारू र शिकन्दर चौधरीले चोरी गरेकाले निजहरूलाई पक्राउ गरी सजाय गरी सामान समेत दिलाई पाऊँ भन्ने समेत व्यहोराको राजु शम्शेर ज.ब.रा.ले दिएको जाहेरी दर्खास्तबाट प्रस्तुत मुद्दाको अनुसन्धान प्रारम्भ भएको देखिन्छ ।
३. यी पुनरावेदक प्रतिवादीले अनुसन्धानको क्रममा अधिकार प्राप्त अधिकारिसमक्ष बयान गर्दा निज सानै उमेरदेखि जाहेरवालाको घरमा काम गर्न बसेको, एकवर्ष अगाडि निजलाई कामबाट निकालिदिएपछि एन.बी.गार्मेण्टमा काम गर्न थालेको, काम गर्ने सिलसिलामा अन्य प्रतिवादीहरू नारायण राउत थारू र शिकन्दर चौधरिसँग परिचय भएको र निजहरूले तँसँग हतियार छैन, भए हामीलाई काम छ ले भनी भन्दा यी प्रतिवादीले छैन भनी उत्तर दिने गरेको, यी क्रममा जाहेरवालाको घरमा हतियार भएको र सो हतियार कुन स्थानमा राख्छन् भन्ने समेत थाहा भएकोले जाहेरवाला काठमाडौँ गएको मौका पारी मिति २०५७।७।१० गते राति अ.२१.०० बजेको समयमा यी प्रतिवादी समेत भई जाहेरवालाको घरमा भई जाहेरवालाको घरमा रहेको औजारको बाकसबाट हतौडा झिकी ढोका तोडी तीनै जना कोठामा पसी हतियार राख्ने दराजको लक फोडी दराजमा रहेका तीन नाल हतियारहरू र ठूलो गोली ६० वटा, सानो गोली ११० वटा, चक्कु–१, क्यासेट प्लेयर एउटा र अर्को कोठामा रहेको भी.सी. आर. थान एक समेत लिई घरबाट निस्की जाहेरवालाको घरभन्दा पूर्वतर्फ १ कि.मी. दूरीमा रहेको खोल्सो जस्तो झाडीमा पुगी सामानहरू चेक गरेको भनी उल्लेख गरेको देखिन्छ । निजले आफ्नो सो बयानमा निजहरूले ल्याएका सामानहरूमा एउटा दूरबिन जडान भएको र अर्को पनि राम्रो खालको बन्दुक रहेको, एउटा बन्दुक त्यति राम्रो नभएको चरा मार्न काम लाग्ने एयरगन मात्र भएको र क्यासेट प्लेयर बोक्न भारी भएको हुँदा सोही खोल्सीमा फालिदिएको भनी आफ्नो व्यहोरा उल्लेख गरेको देखिन्छ । निजले आफ्नो बयानमा उल्लेख गरेको स्थानमा बयानमा उल्लिखित चोरी गरिएका भनिएका सामानहरू बरामद भएको भनी मिति २०५७।७।१८ मा भएको बरामदी मुचुल्कामा उल्लेख भएको पाइन्छ । उक्त बरामदी मुचुल्कामा यी प्रतिवादी शेष रईस आलम समेत रोहवरमा रहेको मिसिल संलग्न बरामदी मुचुल्काबाट देखिएको अवस्था छ । निजले अदालतमा बयान गर्दा कसूरमा इन्कार रही बयान गरेको कुरालाई पुनरावेदनमा विशेष रूपमा उठाएको पाइन्छ । प्रहरीमा सावित हुने र अदालतमा इन्कार हुने हाम्रो फौजदारी न्याय प्रणालीको आम चरित्रको रूपमा रहेको छ, निसन्देह अपराध अनुसन्धानकर्तासमक्ष भएको साविती मात्रका आधारमा न्यायिक निष्कर्ष निकाल्न मिल्दैन । तर त्यो साविती अन्य प्रमाणबाट सत्य रहेको स्थापित हुन्छ भने त्यसलाई मुद्दाको अनुसन्धानकर्ता प्रहरीसमक्ष भएको भन्ने मात्र आधारमा प्रमाण शून्य लिखतको रुपमा ग्रहण गर्न न्यायोचित हुँदैन । प्रहरी सावितीको पुष्टि गर्ने अन्य प्रमाण स्वतन्त्र हुन वा होइन र ती के कसरी संकलित भए भन्ने प्रश्नमा भने अदालतले संवेदनशीलताका साथ शर्तक हुनै पर्दछ । प्रस्तुत विवादमा यिनै प्रतिवादी पुनरावेदकले प्रहरी समक्ष भएको कागजमा भनेकै ठाउँबाट दशीका सामान बरामद भएको छ । पुनरावेदक प्रतिवादीले प्रहरीलाई चोरी गरी सामान फालेको कुरा बताएको सुन्ने साक्षीले अदालतमा समेत आई सो कुरा पुष्टि गरिदिएको स्थिति छ । चोरी भएको वारदात स्थलभन्दा एक किलोमीटर पूर्व खोल्सो जस्तो झाडीमा दशीका सामान बरामद हुँदा यी प्रतिवादी पुनरावेदक रोहबरमा रहेको कुरा बरामदी मुचुल्कामा रहेको निजको सहीले पुष्टि गरेको छ । बरामद भएका एयरगन र क्यासेटप्लेयर चोरी भएका दशीका सामान हुन भन्ने कुरामा विवाद छैन । मिति २०५७।७।१० को वारदातमा चोरी भएका सामान मिति २०५७।७।१८ मा एउटा निर्जन स्थलमा फेला परेका छन् । दशीका सामान बरामदस्थलमा यी पुनरावेदक प्रतिवादीको उपस्थितिलाई निजले अस्वीकार गरेका छैनन् । बरु त्यो रीतपूर्वक सम्पन्न बरामदी मुचुल्काको रोहवरमा रहेको सही आफ्नो हो भनी स्वीकार गरेको पाइन्छ । यसरी पुनरावेदकको प्रहरी सावितीलाई बरामद मुचुल्काले समर्थन गरिहरेको छ । यस्तो अवस्थामा प्रहरी समक्ष भएको कागजले कुनै प्रमाणिक महत्व राख्दैन भन्न सकिन्न । प्रमाणको महत्व संख्यामा होइन आफ्नो गुणवत्तामा निर्भर रहन्छ । प्रमाण भन्ने कुरा प्रकृतिले होइन, आफ्नो विश्वसनीयताका आधारमा मूल्याङ्कित हुन्छ । यस कसीमा हेर्दा बरामदी मुचुल्कामा बस्ने वेदप्रसाद नेपाल र काशिम मियाँ समेतले बरामदी मुचुल्का आफ्नो रोहवरमा भएको भनी अदालतमा उपस्थित भई बकपत्र गरिदिएको देखिन्छ । सो मुचुल्काका साक्षी टिकादत्त तिवारीले प्रतिवादी शेष रईस आलमले यो सामान यहाँ यहाँ छ भन्दै देखाए भनी अदालतमा भएको बकपत्रमा उल्लेख गरिदिएको पनि पाइन्छ । प्रतिवादीले शेष रईसले अधिकार प्राप्त अधिकारिसमक्ष गरेको साविती बयान दशी समेतका प्रमाणहरूबाट पुष्टि भई रहेको देखिन्छ । यस अवस्थामा सो प्रहरीमा भएको साविती तथा सोलाई पुष्टि गर्ने बरामदी मुचुल्का समेतका प्रमाणहरूका विपरीत निजको अदालतमा भएको इन्कारी बयानलाई सत्य साँचो मान्न मिलेन ।
४. पुनरावेदन अदालतले शुरु जिल्ला अदालतले यी प्रतिवादी शेष रईस आलमलाई सफाइ दिएको फैसलालाई केही उल्टी गरी कसूरदार ठहर गर्दा जाहेरी दर्खास्तमा उल्लिखित चोरीको दशी बिगोमध्ये बरामद भएका दशी एयरगनको रू.२०,०००।– र क्यासेट प्लेययरको रू.७,०००।– गरी जम्मा रू.२७,०००।– मात्र बिगोको धनमाल नकबजनी चोरी गरेको ठहर गरेको देखिन्छ । तसर्थ, पुनरावेदन अदालत हेटौँडाबाट मिति २०५९।९।९ मा भएको फैसला मिलेकै देखिँदा सो फैसला सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या. रामकुमार प्रसाद शाह
इति संवत् २०६६ साल कात्तिक १७ गते रोज ३ शुभम् –
इजलास अधिकृत : श्रीप्रकाश उप्रेती