निर्णय नं. ८१९२ - जबरजस्ती चोरी

निर्णय नं. ८१९२ २०६६ कात्तिक,अङ्क ७
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ
माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला
सम्वत् २०६१ सालको फौ.पु.नं.–३४५६
फैसला मितिः २०६६।५।७।१
मुद्दा : जबरजस्ती चोरी ।
पुनरावेदक प्रतिवादीः जिल्ला सर्लाही, सिमरा गा.वि.स.वडा नं.२ बस्ने उमेशकुमार सिँह
विरुद्ध
प्रत्यर्थी वादीः प्रमोदकुमार सिँहको जाहेरीले नेपाल सरकार
शुरु फैसला गर्नेः–
मा.जि.न्या श्री देवराज श्रेष्ठ
पुनरावेदन फैसला गर्नेः–
मा.न्या.श्री विष्णुप्रसाद ढकाल
मा.न्या.श्री ऋषिराज मिश्र
§ जीरह गर्दा सामान्य कुरामा केही फरक व्यहोरा उल्लेख भएको भन्ने आधारबाट मात्रै वारदातमा संलग्नता रहेनछ भन्न नमिल्ने ।
§ एकै ठाउँका व्यक्तिले प्रतिवादीलाई स्पष्ट पहिचान गरी जाहेरवालाको सुनको सिक्री छिनाई भागेको भनी खुलाई दिएको मौकाको कागज र अदालतको बकपत्रको व्यहोरालाई छिद्रान्वेषण गरी सामान्य कुरामा लेखाइको एकरुपता भएन भन्दैमा प्रतिवादीको निर्दोषिता स्थापित हुन नसक्ने ।
(प्रकरण नं.३)
§ वारदातको संलग्नतालाई किटानी गरी जाहेरी दिइसकेपछि अनुसन्धान पक्ष अर्थात् सम्बन्धित प्रहरी कार्यालयले आफ्नो कानूनी कर्तव्यअन्तर्गत मौकामा अनुसन्धान गर्नुपर्नेमा नगरी ढिलो अनुसन्धान गरेको देखिंदैमा प्रचलित कानूनबमोजिम भएको अनुसन्धानबाट संकलित प्रमाणहरूको प्रामाणिक मूल्य स्वतः घट्ने होइन । त्यस्ता प्रमाणहरूले वारदातलाई सिलसिलेवार रुपमा पुष्टि गर्दछन् भने ती प्रमाणहरूको प्रामाणिक महत्त्वोमा कुनै शंका गर्न नमिल्ने ।
§ वारदातको मिति भन्दा ढिलो गरी मौकाको कागज गराइएको भन्दैमा त्यस्तो कागजको महत्वलाई नकार्न नसकिने ।
(प्रकरण नं.४)
पुनरावेदक प्रतिवादी तर्फवाटःवरिष्ठ अधिवक्ता श्री कमलनारायण दास
प्रत्यर्थी वादी तर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री प्रेमराज कार्की
अवलम्वित नजीरः
सम्बद्ध कानूनः
§ मुलुकी ऐन चोरीको महलको १२ र १४(२)
फैसला
न्या. रामप्रसाद श्रेष्ठः पुनरावेदन अदालत, जनकपुरको मिति २०६०।१२।२४ को फैसलाउपर प्रतिवादीको तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा पुनरावेदन दर्ता भएको प्रस्तुत मुद्दाको तथ्य र निर्णय यसप्रकार छ :–
मिति २०५७।७।१८ गते विहान ६ बजेको समयमा म जाहेरवाला जिल्ला सर्लाही सिमरा गा.वि.स. वडा नंं २ स्थित रामजानकी मठमन्दिरनजिक रहेको पानी पोखरीमा छठ पर्वको उपासना ब्रत गरिरहेको अवस्थामा प्रतिवादी भन्ने उमेशकुमार सिँह भूमिहारले एक्कासी आई मैले घाँटीमा लगाइराखेको मूल्य रु.१८,०००।– पर्ने २ तोलको सुनको सिक्री छिनी भाग्न लागेको अवस्थामा निजलाई पक्राउ गर्न खोज्दा निजले साथमा बोकी ल्याएको छुराले म जाहेरवालालाई प्रहार गरी घाइते तुल्याई फरार रहेको हुँदा निजलाई पक्राउ गरी कारवाही गरिपाऊँ भन्ने व्यहोराको जाहेरी दरखास्त ।
मिति २०५७।७।१८ गते ६ बजेको समयमा जाहेरवाला प्रमोदकुमार सिँह छठ पूजाको उपासना गरिरहेको अवस्थामा प्रतिवादी उमेशकुमार सिँह भूमिहारले एक्कासी आई जाहेरवालाले घाँटीमा लगाएको २ तोलाको सुनको सिक्री छिनी छुरा समेत प्रहार गरी फरार रहेको भन्ने व्यहोराको घटनास्थल मुचुल्का ।
पीडित जाहेरवाला प्रमोदकुमार सिंहको दायाँ हातको हत्केलामा विभिन्न नाप साइजको चोट रहेको भन्ने घाउ जाँच केश फाराम प्रतिवेदन ।
मिति २०५७।७।१८ गते ६ बजेको समयमा जाहेरवाला प्रमोदकुमार सिँह छठ पर्वको पूजा गरिरहेको अवस्थामा जाहेरीमा उल्लेखित प्रतिवादी बब्लु भन्ने उमेशकुमार सिँह भूमिहार उक्त सुनको सिक्री छिनी भाग्न लाग्दाको अवस्थामा जाहेरवालाले निज प्रतिवादीलाई पक्रन खोज्दा छुराले प्रहार गरी सख्त घाइते तुल्याई उमेशकुमार सिँह फरार रहेका र निजको चालचलन गाउँघरमा समेत राम्रो नरही निज व्यक्ति अपराधी प्रकृतिको हुन् भन्ने व्यहोरा उल्लेख गरी बुझिएका चन्द्रेश्वर पाण्डे भूमिहार, श्रीनन्दन पाण्डे, भूमिहार, राजेन्द्र मण्डल खत्वे समेतले गरिदिएको एकै मिलान व्यहोराको कागज ।
मिति २०५७।७।१८ गते ६ बजेको समयमा जाहेरवालाको घाँटीमा लगाएको सुनको सिक्री चोरी भएको भन्ने सुनेको हुँ । निज बब्लु भन्ने उमेशकुमार सिँह भूमिहारले लगे लगेनन् खुलाउन सक्दिन भन्ने व्यहोराको बेचन साह, विन्देश्वरप्रसाद हजारीले गरी दिएको कागज ।
संकलित सबुद प्रमाणको आधारमा प्रतिवादी बब्लु भन्ने उमेशकुमार सिँहले जाहेरवाला प्रमोदकुमार सिंहको तोला २ को सुनको सिक्री जबरजस्ती चोरी गरी लगेको वारदात प्रमाणित हुन आएकोले चोरीको महलको १ र ४ नं. अनुसारको कसूर अपराध गरेकोले सो कसूरमा सोही ऐनको सोही महलको १४(२) नं. अनुसार सजाय हुन र चोरी गरी लगेको धनमाल रु १८,०००। प्रतिवादीबाट जाहेरवालालाई ऐनको १० नं.र २१ नं. अनुसार दिलाई भराई दिने माग दावी लिई फरार प्रतिवादीका हकमा म्याद जारी हुन माग गर्दै अभियोगपत्र साथ सक्कल मिसिल प्रस्तुत गरिएको छ भन्ने व्यहोराको अभियोग दावी ।
मिति २०५७।७।९ गते काठमाडौँ गएँ । तिहार काठमाडौँमा मानी मेरो दाजु राजेशकुमार सिँह नारायणघाट, चितवन भरतपुरमा बसेको हुँदा ०५७ कार्तिक १९ गते नारायणघाट आइपुगेँ । तीन दिन त्यहीँ बसी २०५७ साल कार्तिक २२ गते साँझमात्र गाउँघरमा आएको हुँ । म उपरको पोल उजुरी सबै झुठ्ठा हो । जाहेरवालाको दाजु र जाहेरवालासँग गाउँको जवाहर रायसँग श्रम सम्बन्धी मुद्दा यस अदालतमा दर्ता भै सर्जमिन समेत गर्न अदालतबाट डोर कर्मचारी जाँदा सो सर्जमिनमा झुठ्ठा कुरा लेखाई देऊ भन्दा मैले नमानेको कारण रिसाई मसँग डोर कर्मचारी सामुन्ने ठीक पार्छु भनेका थिए । सोही रीसइवीबाट झुठ्ठा मुद्दा दायर गरेका हुन् । म राष्ट्रसेवक कर्मचारी भै आफ्नो इमानदारी र बफादारी साथ काम गरी हाल उपदान लिई घर बसेको छु । चोरी गर्ने मानिस म होइन र जाहेरवाला २ तोलाको सूनको सिक्री लगाउने मानिस पनि होइन । म उपरको जाहेरी सबै झुठ्ठा हो । के कसरी कसले सिकाई यो मुचुल्का तयार गरे मलाई थाहा छैन । सो दिन म काठमाडौँमा छु । निजलाई घाउ के कसरी बनाए ? मलाई थाहा छै्रन । मैले चोरी गरेको छैन भनी शुरु अदालतमा आई प्रतिवादी बब्लु भन्ने उमेशकुमार सिंहले गरेको बयान।
उक्त मिति समयमा आफ्नो गाउँघरमा थिएँ । उक्त मिति समयमा प्रतिवादी गाउँघरमा थिएनन् । मिति २०५७।७।९ गते निज काठमाडौँ गई सोही कार्तिक २२ गते मात्र गाउँ घरमा आएका थिए । जाहेरवाला र म सँगको जग्गा जमिनसम्बन्धी मुद्दामा निज प्रतिवादी सर्जमिन मुचुल्कामा नवसेको कारणबाट यो मुद्दा दिएको हो । वारदात भएको मैले देखिन भनी प्रतिवादीका साक्षी संजिव सिँह भूमिहारले गरेको बकपत्र ।
खुसीराजीसाथ थानामा सहिछाप गरेको हुँ । सो कागज व्यहोरा साँचो हो । प्रमोदकुमार सिँह गाउँघरको झुठ्ठा कुरागरी हिड्ने वा अरुलाई दुःख दिने व्यक्ति होइन । जाहेरी व्यहोरा साँचो हो । बब्लु भन्ने उमेशकुमार सिंहले प्रमोदको घाँटीबाट मिति २०५७।७।१८ विहान ६ बजेको समयमा सुनको सिक्री खोसी भाग्न लाग्दा उमेशले छुरी भूँडीमा प्रहार गर्न खोज्दा दाहिने हातमा छुरीले काटिएको हो । प्रतिवादीको कुरा झुठ्ठा हो । मैले आफ्नो आँखाले घटनास्थलमा देखेको हुँ। ५००/६०० भन्दा बढी व्यक्तिहरू उक्त घटना हुँदा उपस्थित थिए । अगाडिबाट देखेको हुँ भन्ने जाहेरवाला प्रमोदकुमार सिंहले गरेको बकपत्र ।
जाहेरवालाको बकपत्र र निजका साक्षीहरूको बकपत्रबाट यिनै प्रतिवादी उमेशकुमार सिंहले जाहेरवालाको सिक्री जबरजस्ती चोरी गरी लगेको हो भन्ने विश्वसनीय देखिँदैन । साथै ढिलो गरी बुझिएका कागजहरू प्रमाण ऐन, २०३१ को दफा १० बमोजिम प्रमाणमा लाग्ने अवस्था समेत नहुँदा शंकारहित प्रमाणको अभावमा प्रतिवादी उपरको आरोपित कसूर कायम गर्न न्यायसंगत नहुँदा प्रतविादी उमेशकुमार सिंहले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ भन्ने समेत व्यहोराको सर्लाही जिल्ला अदालतको मिति २०५९।२।१५ को फैसला ।
पीडित प्रमोदकुमार सिंहले प्रतिवादीले नै वारदात घटाई फरार रहेको भनी किटानी जाहेरी दरखास्त दिएका हुन् । जुन घटनास्थल प्रकृति मुचुल्का एवं घाँ जाँच केश फारामबाट प्रमाणित भएको छ । वारदातका समयमा प्रत्यक्षदर्शी राजेन्द्र मण्डल, श्रीनन्दन पाण्डे बेचन साह समेतले अनुसन्धानका क्रममा किटानी कागज गरी दिएका छन् । तर प्रतिवादी वारदात स्थलबाट घटना घटाई फरार रही १ वर्षपछि पक्राउ परेपछि वारदातमा इन्कारी बयान गरेको छ । जसमा आफू वाहिर भएको कुनै युक्तिसंगत तथ्य पेश गर्न सकेको छैन । अतः हचुवाको आधारमा प्रतिवादीले सफाइ पाउने गरी भएको शुरु फैसला बदरभागी छ । बदर गरिपाऊँ भन्ने समेत व्यहोराको पुनरावेदनपत्र ।
किटानी जाहेरी दरखास्त, जाहेरवालाको बकपत्र, चश्मदिद व्यक्तिको प्रहरीमा भएको कागज र अदालतमा भएको बकपत्र, जाहेरवालाको हातमा लागेको घाउ र प्रतिवादीको एलिवी निजको साक्षीबाट पुष्टि नभएको अवस्थामा शुरुबाट प्रतिवादीले चोरी गरेको नठहरी भएको फैसला उपरोक्त आधार प्रमाणबाट फरक पर्न सक्ने हुँदा अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थीलाई झिकाई नियमानुसार पेश गर्नु भन्ने व्यहोराको पुनरावेदन अदालतको मिति २०५९।१२।३ को आदेश ।
प्रतिवादी बब्लु भन्ने उमेशकुमार सिंहले जबरजस्ती चोरीको कसूर गरेको देखिँदा निज प्रतिवादीलाई जबरजस्ती चोरीको कसूरदार ठहर्याउनु पर्नेमा नठहर्याई सफाइ दिई गरेको फैसला नमिलेकाले सो फैसला उल्टी भई प्रतिवादी बब्लु भन्ने उमेशकुमार सिँहले आरोपित जबरजस्ती चोरीको कसूर गरेको ठहर्छ भन्ने पुनरावेदन अदालत, जनकपुरको मिति २०६०।१२।२४ को फैसला।
पुनरावेदन अदालतको फैसलामा चित्त बुझेन । जबरजस्ती चोरीको अपराध स्थापित हुने कुनै पनि प्रमाण मिसिलमा संकलित भएका छैनन् । चश्मदीत भनिएका व्यक्ति एवं जाहेरवालाको भनाई एकापसमा विरोधाभाषपूर्ण छन् । जाहेरी दरखास्त स्वयम् प्रमाण हुन सक्तैन । चोरीको वारदात मिति २०५७।७।१८ मा भएको भनिएको छ तर वारदात देख्ने व्यक्तिको कागज मिति २०५८।७।१४ मा मात्रै गराइएको छ । यस्तो कागज मौकाको कागज होइन । वारदात मितिमा म अन्यत्रै रहेको भन्ने जीकिर (Plea Of Alibi ) लाई मेरो साक्षीको बकपत्र समेतबाट पुष्टि भइरहेको हुँदा मलाई आरोपित कसूरमा सजाय गर्ने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा पुनरावेदन अदालतबाट भएको सो त्रुटिपूर्ण फैसला बदर गरी शुरुले सफाइ दिएको फैसला यथावत् कायम गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीको मिति २०६१।११।१७ को पुनरावेदन पत्र ।
जाहेरवाला र प्रत्यक्षदर्शी साक्षीहरूको बकपत्र फरक फरक भएको अवस्थामा प्रतिवादीलाई कसूरदार कायम गरी सजाय गर्ने गरेको पुनरावेदन अदालतको फैसला फरक पर्न सक्ने देखिँदा अ.बं २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई आएपछि नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०६४।५।३० को आदेश ।
नियमबमोजिम पेसी सूचीमा चढी इजलास समक्ष पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री कमलनारायण दासले प्रस्तुत मुद्दामा वारदात भएको मितिदेखि सातदिन पछि मात्र जाहेरी दरखास्त परेको छ । घटनाका प्रत्यक्षदर्शी भनिएका व्यक्तिको करीब १ वर्ष पछि कागज भएको छ । वारदातको एकवर्षपछि गराएको कागजको कुनै प्रामाणिक मूल्य रहन सक्तैन । जसको कागजको आधारमा प्रतिवादीलाई कसूरदार कायम गरिएको हो । त्यस्तो कागजको प्रामाणिक मूल्य नै नरहेको स्थितिमा त्यत्तिकै आधारमा कसूर कायम हुन सक्तैन । वारदातको समयमा प्रतिवादी काठमाडौँ भएको कुरा निजको साक्षीको बकपत्र समेतबाट पुष्टि भएको छ । तसर्थ पुनरावेदन अदालतले बिना कानूनी आधार जबरजस्ती चोरीको कसूर कायम गरी सजाय गर्ने गरेको इन्साफ त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरी शुरुले सफाइ दिने ठहर गरेको फैसला यथावत् कायम गरिपाऊँ भनी बहस गर्नुभयो ।
प्रत्यर्थी बादी नेपाल सरकारको तर्फबाट विद्वान सहन्यायाधिवक्ता श्री प्रेमराज कार्कीले जाहेरी हदम्याद भित्रै परेको छ । जाहेरवालाको घा जाँच फारामले पनि जबरजस्ती चोरी भएको पुष्टि भइरहेको छ । प्रतिवादी मौकामा फरार रही पछि अदालतमा उपस्थित भएका छन् । प्रतिवादीका साक्षी संजीव सिँह भूमिहारले वारदातको दिन प्रतिवादी काठमाडौँमा थिए भनेपनि निज साक्षी आफैं सर्लाही जिल्ला, सिमरा गा.वि.स.वडा नं. २ को आफ्नै घरमा रहेबाट निजले वारदात स्थलमा प्रतिवादी थिएन भनी गरेको बकपत्र स्वयंमा आधारहीन देखिन्छ । वारदात मिति समयमा प्रतिवादीले अन्यत्र थिएँ भनी लिएको जिकीर पत्यारलायक छैन । तसर्थ पुनरावेदन अदालतले सबुद प्रमाणको मूल्याङ्कन गरी कसूरदार कायम गरेको फैसला मिलेको हुँदा सदर हुनुपर्छ भनी बहस गर्नुभयो ।
उपर्युक्त बहस जिकीर समेत सुनी पुनरावेदन अदालतबाट भएको फैसला मिले नमिलेको के रहेछ ? सोही विषयमा निर्णय दिनु पर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा जाहेरवालाले लगाएको दुई तोला सुनको सिक्री चुँडाली यी प्रतिवादीले चोरी लगेको र समाउन खोज्दा छुराले प्रहार गरी भागेको भन्दै प्रतिवादी उपर किटानी जाहेरी परेको देखिन्छ । जाहेरवाला प्रमोदकुमार सिंहको घाउ जाँच प्रतिवेदनबाट निजको दाहिने हातको हत्केलामा धारिलो वस्तुले १”×¼”×¼ बराबरको काटेको घाउ रहेको देखिन्छ । मौकामा कागज गर्ने श्री नन्दन पाण्डे भूमिहार, चण्डेश्वर पाण्डे भूमिहार र राजेन्द्र मण्डलले प्रतिवादी उमेशकुमार सिंहले जाहेरवालाले लगाएको सुनको सिक्री चुँडाई लगेको र जाहेरवालाले पक्रन खोजेकोमा निजलाई प्रतिवादीले छुरा प्रहार गरी भागी गएको भनी मौकामा खुलाई कागज गर्नुको साथै अदालतमा उपस्थित भई बकपत्र गर्दा समेत सोही व्यहोरालाई पुष्टि गरी बकपत्र गरेको देखिन्छ । जाहेरवाला प्रमोदकुमार सिंहले समेत अदालतमा उपस्थित भई जाहेरी व्यहोरालाई समर्थन गरी बकपत्र गरेको देखिन्छ । यसरी घटनाको प्रत्यक्षदर्शी साक्षीका रुपमा रहेका व्यक्तिहरूको मौकाको कागज र बकपत्रको व्यहोराबाट जाहेरी दरखास्तको व्यहोरालाई समर्थन गरिरहेको देखिंन आयो ।
३. निज प्रत्यक्ष साक्षीहरूले मौकामा गरेको कागज र अदालतमा आई गरेको बकपत्रमा वारदात भएको भन्ने मूल तथ्यलाई स्थापित गरेको र सो वारदातमा यी पुनरावेदक प्रतिवादीकै संलग्नता रहेको भन्ने कुरालाई पनि पुष्टि गरिदिएको देखिन्छ । निजहरूको मौकाको कागजको व्यहोरा र अदालतमा भएको बकपत्रमा प्रतिवादीलाई वारदातस्थलबाट भाग्दै गर्दा अगाडि वा पछाडि कतापट्टिबाट देखेको भन्ने जस्तो कुरामा जीरह गर्दा सामान्य कुरामा केही फरक व्यहोरा उल्लेख भएको भन्ने आधारबाट मात्रै वारदातमा प्रतिवादीको संलग्नता रहेनछ भन्न मिलेन । घटनाका प्रत्यक्षदर्शी व्यक्तिहरू र प्रतिवादी एकै ठाउँका बासिन्दा भएको कुरामा कुनै विवाद छैन । एकै ठाउँका व्यक्तिले प्रतिवादीलाई स्पष्ट पहिचान गरी जाहेरवालाको सुनको सिक्री छिनाई भागेको भनी खुलाई दिएको मौकाको कागज र अदालतको बकपत्रको व्यहोरालाई छिद्रान्वेषण गरी सामान्य कुरामा लेखाईको एकरुपता भएन भन्दैमा प्रतिवादीको निर्दोषिता स्थापित हुन सक्दैन ।
४. जहाँसम्म वारदात मिति समयभन्दा एकवर्ष पछि गराएको मौकाको कागजको कुनै प्रामाणिक मूल्य रहँदैन भन्ने प्रतिवादी तर्फका विद्वान वरिष्ठ अधिवक्ताको जीकिर छ, सो तर्फ विचार गर्दा प्रस्तुत वारदातको मिति २०५७।७।१८ भन्नेमा कुनै विवाद छैन । जाहेरवालाले मिति २०५७।७।२४ मा नै किटानी जाहेरी दिई प्रतिवादी उपर पोल गरेको स्थिति छ । मौकामा प्रतिवादी फरार रही पछि अदालतमा उपस्थित भई इन्कारी बयान दिएका छन् । निज प्रतिवादी प्रहरी सेवामा काम गरी सकेका पूर्व प्रहरी कर्मचारी भन्ने तथ्य निजकै बयानबाट खुलेको छ । वारदातमा यी प्रतिवादीकै संलग्नतालाई किटानी गरी जाहेरी दिई सकेपछि अनुसन्धान पक्ष अर्थात् सम्बन्धित प्रहरी कार्यालयले आफ्नो कानूनी कर्तव्य अन्तर्गत मौकामा अनुसन्धान गर्नु पर्नेमा नगरी ढिलो अनुसन्धान गरेको देखिंदैमा प्रचलित कानूनबमोजिम भएको अनुुसन्धानबाट संकलित प्रमाणहरूको प्रामाणिक मूल्य स्वतः घट्ने पनि होइन । त्यस्ता प्रमाणहरूले वारदातलाई सिलसिलेवार रुपमा पुष्टि गर्दछन् भने ती प्रमाणहरूको प्रामाणिक महत्वमा कुनै शंका गर्न मिल्दैन। तसर्थ वारदातको मिति भन्दा ढिलो गरी मौकाको कागज गराइएको भन्दैमा त्यस्तो कागजको महत्वलाई नकार्न सकिदैन ।
५. त्यस्तै पुनरावेदक प्रतिवादीले वारदात मिति समयमा आफू अन्यत्र रहेको भनी जिकीर लिई (Plea Of Alibi ) त्यसैलाई आफ्नो निर्दोषिताको आधार देखाएकोमा सोतर्फ विचार गर्दा निजको उक्त जिकीरलाई अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि गर्न सकेको देखिंदैन । निजको साक्षी संजीवसिंह भूमिहारले अदालतमा उपस्थित भई बकपत्र गर्दा मिति २०५७।७।१८ मा प्रतिवादी काठमाडौँमा थिए भनी बकपत्र गरेको भए तापनि निज साक्षी आफैं वारदात मिति समयमा सर्लाही जिल्ला सिमरा गा.वि.स.वडा नं. २ स्थित निजको आफ्नै घरमा रहेको भन्ने निजको बकपत्रबाट खुलेको छ । तसर्थ वारदात मिति समयमा प्रतिवादी काठमाडौँमा थिए भन्ने निज साक्षीको बकपत्र पत्यारलायक देखिँदैन । यस्तो स्थितिमा प्रतिवादीले अन्यत्र थिएँ, वारदातमा संलग्न थिइन भनी लिएको जिकीर पुष्टि हुन सक्तैन ।
६. यसप्रकार मिसिल संलग्न सबूद प्रमाणहरूबाट यी पुनरावेदक प्रतिवादी बब्लु भन्ने उमेशकुमार सिंहले आरोपित कसूर गरेको प्रमाणित हुन आएकोले शूरुले सफाइ दिने ठहर गरेको फैसला उल्टी गरी जर्वजस्ती चोरीको कसूर कायम गरी प्रतिवादीलाई मुलुकी ऐन, चोरीको महलको १२ र १४(२) नंं बमोजिम १ महिना १५ दिन कैद र विगो रु.१८,०००। को डेढी रु.२७,०००।–जरिवाना गरी सो जरिवाना वापत समेत कैद हुने ठहर गरेको पुनरावेदन अदालत, जनकपुरको मिति २०६०।१२।२४ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । आरोपित कसूरबाट सफाइ पाऊँ भन्ने प्रतिवादीको पुनरावेदन जीकिर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी नियमानुसार मिसिल बुझाई दिनू ।
उक्त रायमा म सहमत छु ।
न्या. मोहनप्रकाश सिटौला
इति संवत् २०६६ साल भदौ ७ गते रोज १ शुभम...
इजलास अधिकृत : विदुर कोइराला