निर्णय नं. ८१९३ - हक कायम चलन

निर्णय नं. ८१९३ २०६६ कात्तिक,अङ्क ७
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ
माननीय न्यायाधीश श्री प्रकाश वस्ती
संवत् २०६० सालको दे.पु.नं. ––९६२७
संवत् २०६० सालको दे.पु.नं.––९६२९
फैसला मितिः २०६६।२।१०।१
मुद्दाः हक कायम चलन ।
पुनरावेदक प्रतिवादीः जि.काठमाडौं, का.म.न.पा. वडा नं. १९ प्याफल बस्ने चन्द्रबहादुर श्रेष्ठ
विरुद्ध
प्रत्यर्थी वादीः जि.काठमाडौं, का.म.न.पा.वडा नं. १९ ढोकाटोल बस्ने शान्तलाल श्रेष्ठ
एवं
पुनरावेदक प्रतिवादीः जि.काठमाडौं, का.म.न.पा. वडा नं. १९ प्याफल बस्ने दिगम्बरलाल श्रेष्ठ
विरुद्ध
प्रत्यर्थी वादीः जि.काठमाडौं, का.म.न.पा.वडा नं. १९ ढोकाटोल वस्ने शान्तलाल श्रेष्ठ
शुरु फैसला गर्नेः
मा.जि.न्या.बेदराम पोखरेल
पुनरावेदन फैसला गर्नेः
मा.मु.न्या.श्री मीनबहादुर रायमाझी
मा.न्या. श्री बोधरीराज पाण्डे
§ सर्पट नापीको नक्सामा चार किल्ला खोलिएको मात्र नभई मौजा समेत जनाई पूर्जा दिने कार्य समेत सरकारी निकायबाटै भएको पाइन्छ । जग्गा व्यवस्थापनको यो ऐतिहासिक र आधारभूत कडीलाई लागू हुन नसकेको कारणले निरर्थक र निष्प्रयोजित मानिनु न्यायँसंगत हुंदैन । आज पनि सरकारी निकायसँगै सुरक्षित यी नाप नक्सा साविक र हालका जग्गाको स्वामित्वको कडी जोड्ने आधारभूत प्रमाणको रुपमा ग्रहण गरिनु न्यायोचित हुने ।
(प्रकरण नं.५)
§ जग्गाको हाल साविक भिडाउने खालका देवानी मुद्दामा पनि प्रमाणहरूको मालाद्वारा नै सम्पत्तिमा स्वामित्व निर्धारण गरिनु न्यायिक हुने ।
(प्रकरण नं.६)
§ आवादी जग्गा छ भने त्यसलाई खनजोत गर्ने व्यक्तिले नापी हुँदा फिल्डवुकमा सोही बेला लेखाएको व्यहोरालाई स्वामित्व निर्धारक एउटा प्रमाणका रुपमा ग्रहण गरिनु न्यायोचित हुने।
§ जग्गा खनजोत गर्ने व्यक्तिले नापीको बेलामा जग्गाको स्वामित्व आफ्नै भन्न वा अन्य जो कोहीको नाम पनि लेखाउन सक्ने भएकाले आफुलाई केवल मोही र अन्य व्यक्तिलाई स्वामी देखाई नापी क्षेत्रीय दर्ता किताब अर्थात् फिल्डबुकमा मुद्दा पर्नु भन्दा दशकौं अगाडि लेखाइएको स्थितिमा यसलाई प्रमाणिक मूल्याङ्कनमा निश्चित भार दिनुपर्ने ।
(प्रकरण नं.७)
§ आधिकारिक निकायमा मोहीले नै दिएको प्रारम्भिक निवेदन कथनलाई समेत त्यस्तो जग्गाको वास्तविक जग्गाधनी कायम गर्ने महत्तवोपूर्ण प्रमाण मान्नुपर्ने ।
§ पछि आएर कुनै एक जनामात्र जग्गाधनी हो भन्ने कथनले प्रमाण ऐन, २०३१ को दफा ३४ मा उल्लिखित विवन्धनको सिद्धान्तबमोजिम कुनै प्रामाणिक बल राख्न नसक्ने ।
(प्रकरण नं.८)
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री सतिश झा
प्रत्यर्थी वादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री विश्वकान्त मैनाली एवं विद्वान अधिवक्ता श्री सोमकान्त मैनाली
अवलम्वित नजीरः
सम्बद्ध कानूनः
§ अ.वं. १७१ नं.
फैसला
न्या.प्रकाश वस्तीः पुनरावेदन अदालत, पाटनको मिति २०५७।८।१३ को फैसलाउपर मुद्दा दोहोर्याई पाऊँ भनी प्रतिवादीहरूको तर्फबाट छुट्टाछुट्टै निवेदन परी यस अदालतबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क) बमोजिम निस्सा प्रदान भई पुनरावेदनमा दायर भएको प्रस्तुत मुद्दाको तथ्य एवं निर्णय यसप्रकार छ :–
मोठ ९।२६०२ लगत मौजा बालाजु हा.नं. ८१९ गाँको कित्ता नं. २ मोठ ९।२६०३ मौजा स्वयम्भु हा.नं. ६९६ को इखाडोल कित्ता २ समेतको जग्गा मेरो पिताजी वेखालाल श्रेष्ठका नाउँमा दर्ता भएको नापी हुँदा जग्गा मोही भैरव महर्जनले हा.नं. ८१९ को गा.वि.स.सीतापाइला वडा नं. ९ क कि.नं. ६०९ मा जग्गाधनीको महलमा वेखालाल श्रेष्ठसमेत र हा.नं. ६९६ को ऐ.ऐ.वडा नं. ९ ग कि.नं. ५६ मा जग्गाधनी वेखालाल श्रेष्ठ, वद्रीराज,राजभाई, सन्तवीर, लाखे महर्जन , दानमुनी , रत्नबहादुर समेतका नाऊँ लेखिदिएको र उक्त दुवै कित्ता विर्ता जग्गा भएकोले रैकरमा परिणत गरी आफ्नो नाउँमा दर्ता गरी जग्गाधनी प्रमाणपूर्जा पाऊँ भनी काठमाडौँ मालपोत कार्यालयमा निवेदन दिई कारवाही हुँदा म्यादमा मेरो पिताजी बेखालाल हाजिर भै सो दावीको जग्गा विर्ता होइन । खास मेरो हकभोग तिरोभित्रको रैकरमा दर्ता भै चलन गररिआएको जग्गा हुँदा अस्थायी जग्गाधनी प्रमाणपूर्जा समेत पाइसकेकोले दर्ता गरी जग्गाधनी प्रमाणपूर्जा पाऊँ भनी निवेदन दिई कारवाहीमा बस्नु भएको थियो । कारवाही चलिरहेको अबस्थामा मोही भैरब महर्जनको हकाधिकार नरहेकोले मोहीले मबाहेक अरु.जग्गाधनी भनी देखाएकोमा अन्य प्रतिवादीहरूले म्यादै गुजारी बसेको हुँदा उक्त २ कित्ता जग्गाको जग्गाधनी प्रमाणपूर्जा पाऊँ भनी २०४७।१०।१० मा मेरो पिताजीको अ.वा.भै म शान्तलालले निवेदन दिएपछि उक्त जग्गाधनी दर्ता प्रमाणपूर्जा मलाई दिनुपर्नेमा म्यादै गुजारी बस्ने प्रतिवादीहरूलाई पुनः म्याद दिई हाजिर हुन आएका राजभाई, दिगम्बरसमेतले हाम्रो हकसमेत गरिपाऊँ भन्ने दावी भएको देखिँदा कि.नं. ५६ र ६०९ को जग्गा सम्बन्धमा स्वामित्व हक हिस्सामा तेरो मेरो देखिँदा अदालतमा गै हक कायम गरी ल्याउनु भनी मिति २०५०।१।१५ मा मालपोत कार्यालय काठमाडौँ, कलंकी शाखाले सुनाई दिएकोले यो फिराद गर्न आएको छु । बद्री श्रेष्ठको छोरा दिगम्बरलाल श्रेष्ठको हकमा निजले पेश गर्नु भएको प्रमाणमा हीरालाल श्रेष्ठ का.इ.प्याफल भन्ने देखिन्छ । साविकमा के कुन कति नं.को जग्गाबाट हालको यी जग्गा कति हुन आयो र निजले के कतिमा दावी लिनु भएको हो सो उल्लेख गर्नु भएको छैन । मोहीले जग्गाधनी महलमा बद्रीको नाम लेखिदिएको कारणले मात्र झूठ्ठा दावी गर्न आउनु भएको हो । दानमुनीको नाति नरेन्द्र मुनीसमेतको हकमा निजले मेरो पिता धर्ममुनी शाक्यको नाउँमा स्वयम्भू हा.नं. ११२४ को भण्डार व्यासी ।।।१ मध्येमा नाप भएको भनी उल्लेख गरेको तर मेरो बालाजुको हा.नं. ८१९ र स्वयम्भूको हा.नं. ६९६ भएकोले यी प्रतिवादीले दावी लिएको जग्गाको नाम, र.नं. समेत फरक–फरक देखिएको हुँदा मोहीले निजको वाजेको नाम फिल्डवुकमा लेखाएको कारणले मात्र झुठा दावी गर्न आएको पुष्टि हुन्छ । राजभाई भन्ने चन्द्रबहादुरको हकमा निजले दावी लिएको मौजे काठमाडौं मरु.लगत नं. ८९० विर्ता जग्गा भनी दावी गरेको देखिन्छ । मेरो दावीको जग्गा पहिले देखिको रैकर हो । सो आधा जग्गामा जगतबहादुर श्रेष्ठले उजूर गर्न सकेको छैन । मोही भैरब महर्जनले उक्त दुवै कित्ता जग्गाको जग्गाधनी वेखालाल श्रेष्ठ मात्र हो । जग्गा निजकै नाऊँमा जग्गाधनी प्रमाणपूर्जा दिएमा राजी छु भनी मिति २०४७।१२।१३ मा निवेदन दिएको छ । मेरो पिताले कुतबाली बुझाएको भरपाईसमेत निजले पेश गरेको छ । यी प्रतिवादीहरूले मालपोत कार्यालयले दिएको म्यादै गुजारी पुनः दिएको म्यादमा उपस्थित भै जिकीर दावीसमेत लिएको जग्गा र मेरो उक्त दावीको जग्गा मिल्न भिड्न नआएको र यी जग्गा वेखालाल मात्रको हो भनी मोहीले किटानसाथ मा.पो.का.मा निवेदन दिएको निजले कुत कवुलियत गरी दिएको वेखालाल श्रेष्ठले मालपोत बुझाएको जग्गा विर्ता नभै रैकर भएकोले जग्गाको अस्थायी जग्गाधनी प्रमाणपूर्जा बेखालालले नै पाउनु भएको समेत प्रमाणबाट उक्त सीतापाइला गा.वि.स.वडा नं. ९(क) कि.नं. ६०९ को क्षे.फ. १–८–० र ऐ.ऐ.वडा नं. ९ (ग) कि.नं. ५६ को क्षे.फ. ५–१–० मेरो पिताजी बेखालाल श्रेष्ठको मात्र दर्ता हकभोग तिरोभित्रको भएकोले पिताको परलोक भएको हुँदा मेरो हक पुग्ने हुँदा उक्त दुवै कित्ता पूरै जग्गा मेरो हक कायम गरी जग्गाधनी प्रमाण पूर्जा मेरो नाऊँमा दिनु भन्ने मालपोत कार्यालय काठमाडौं लगत शाखा र कलंकीको नाऊँमा पूर्जी समेत गरिपाऊँ भन्ने समेत व्यहोराको फिराद पत्र ।
मा.पो.का.बाट २०५०।१।१५ मा सम्बन्धित निकायमा गै आफ्नो आफ्नो हक हिस्सा कायम गराई ल्याउनु भनी सुनाउनु भएकोले मेरो यस अदालतमा हक कायम गराई पाऊँ भनी २०५०।२।१७ मा फिराद दायर भै सकेको छ । मेरो फिरादमा मेरो बाजे हीरालाल श्रेष्ठको नामको साविक यट्खा २५४ नं. बाट वण्डा भै आएको हाल का.यट्खा ८८२ को लगतमा दर्ता भै साविक इखाडोल भन्ने खेत रोपनी १–८–२ को हाल का.जि.सीतापाइला गा.वि.स. वडा नं. ९ (ग) मौजाको अवल किसिमको क्षे.फ. रोपनी ५–१२–० मध्ये दानमुनीको भोग ०–४–० कटाई बाँकी रोपनी ५–८–० मध्येको आधा मेरो खेत रोपनी २–१२–० जग्गा मेरो हक कायम गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी दिगम्बरलाल श्रेष्ठको प्रतिउत्तर पत्र ।
मालपोत कार्यालय, काठमाडौँ कलंकीले अदालतबाट हक कायम गराई आउनु भनी मिति २०५०।१।१५ मा सुनाएपछि मैले यिनै वादीसमेत उपर यसै अदालतमा २०५०।२।१८ का दिन हक कायम रैकर परिणत खिचोला मेटाई दर्ता समेत गराइपाऊँ भनी फिराद पत्र दायर गरिसकेको हुनाले सो फिराद पत्रमा मैले लिएको जिकीरहरूलाई यस प्रतिउत्तर पत्रको अभिन्न अंगको रुपमा लगाई पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी चन्द्रबहादुर श्रेष्ठको प्रतिउत्तर पत्र ।
प्रतिवादी नरेन्द्रमुनी शाक्यको नाऊँको दिन ३० को इतलायनामा म्याद मिति २०५०।४।१४ मा तामेल भएकोमा प्रतिउत्तर नफिराई शुरु म्यादै गुजारी बसेको ।
यसै मुद्दाका प्रतिवादीहरूले दायर गरेको लगाउको हक कायम मुद्दाहरू साथै पेश भएको ।
वादी दावीबमोजिमको जग्गामा वादीको हक कायम हुने ठहर्छ । सो ठहर्नाले वादीका नाउँमा दर्ता गरी दिनु भन्नेसमेत व्यहोराको काठमाडौं जिल्ला अदालतको मिति २०५४।१।२४।३ को फैसला ।
प्रमाणको मूल्याङ्कन नै नगरी मेरो हक कामय हुन नसक्ने भनी शुरु काठमाडौं जिल्ला अदालतबाट भएको फैसला त्रुटिपूर्ण भएकोले उक्त फैसला बदर गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी दिगम्बरलाल श्रेष्ठको पुनरावेदन पत्र ।
घरसारमा बण्डा भएको अन्य सम्पत्तिहरूको साथै उल्लिखित जग्गासमेत मेरो अंश भागमा परेको, मिति २०१३।१२।२ को पोता रसिद भएको समेत प्रमाणहरू मौजुदा छँदाछँदै सोतर्फ विचार नै नगरी शुरु काठमाडौँ जिल्ला अदालतले मलाई हराई गरेको फैसला अ.वं. १८४ (क), १८५ र १८९ तथा प्रमाण ऐन, २०३१ को दफा ५४ समेतका आधारमा त्रुटिपूर्ण भएकोले उक्त फैसला बदर गरी मेरो प्रतिउत्तर जिकीरबमोजिम गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी चन्द्रबहादुर श्रेष्ठको पुनरावेदन पत्र ।
भैरव डँगोलका नामको लगत पुनरावेदक चन्द्रबहादुर श्रेष्ठ, दिगम्बरलाल श्रेष्ठको लगतसँग नभिडाई वादी प्रतिवादीको प्रमाण अ.वं. ७८ नं. बमोजिम एक अर्कालाई नदेखाई नसुनाई गरेको निर्णय फरक पर्न सक्ने भै विचारणीय हुँदा अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालतको मिति २०५४।८।१२ को आदेश ।
मिति २०१३।११।११ को बण्डापत्रमा सूर्यलाल श्रेष्ठसमेतको नाउँमा दर्ता भएको प्यूखा ६९६ नं. को ६।४१२ जग्गामध्ये ३–८–२ जग्गा सूर्यलालको भागमा बण्डाबाट दिँदा मोही नदेखिएको तर द्वारिकालाललाई सोही जग्गाबाट २–२–० जग्गा दिँदा सोही नं. सोही मोही भैरचा महर्जन भनी उल्लेख भएको प्रमाणित प्रतिलिपिबाट देखिन्छ । सो जग्गामा उक्त वण्डापत्रअनुसार भैरचा महर्जन मोही छँदै थिए भन्ने २०२०।४।१४ मा पुनः निजसँग मोहीसम्बन्धी कवुलियत गराई दिनुपर्ने र बेखालालबाट पेश हुनुपर्ने कारण थिएन । हा.नं. ८१९ को सम्बन्धमा मेरो सम्बन्ध नरहने हुनाले वयान गर्नु नपर्ने र दिगम्बरलालले पेश गरेको यटखा ८८२ नं. को रसिद पेश गर्नुपर्नेमा प्रतिलिपि पेश गरेको हुनाले प्रतिलिपि हेरी अ.वं. ७८ नं. अन्तर्गत बयान गर्नु परेन भन्ने समेत व्यहोराको पुनरावेदक चन्द्रबहादुर श्रेष्ठको वा. महादेव पण्डितले पुनरावेदन अदालतमा गरेको वयान ।
चन्द्रबहादुर श्रेष्ठले यस अदालतमा पेश गरेको पोता रसिद नं. ८९० मेरो वुवा वेखालाल श्रेष्ठको हा.नं. ८१९ र ६९६ मा भिड्ने होइन । उक्त विवादित २ कित्ता जग्गा ९(क) कि.नं. ६०९ र ९(ग) कि.नं. ५६ हा.नं. ८१९ र ६९६ बाट भिड्ने जग्गा हुन् । उक्त विवादित २ कित्ता जग्गा निर्विवाद किसान भैरव महर्जन, भैरुचा महर्जन भैरव डंगोल एकै व्यक्ति हो । मालपोत कार्यालयमा आफ्नो बयान दिँदा निज किसानले उक्त दुई कित्ता जग्गा ९(क) कि.नं. ६०९ र ९ ग कि.नं. ५६ हा.नं. ८१९ र ६९६ मा भिड्ने जग्गा हुन् भन्ने समेत व्यहोराको विपक्षी शान्तलाल श्रेष्ठले पुनरावेदन अदालतमा गरेको बयान ।
रसिद नं. ८१९ इखाडोलको रसिद होइन । गाँको लगत रसिद र इखाडोलको मौजाको (बालाजुको) रसिद विवादित सीतापाइलाको जग्गासँग नमिल्ने भएकोले एका गा.वि.स. एका मौजाको जग्गाबाट अर्को मौजा अर्को गा.वि.स.को जग्गा हा.नं. जालसाजी रसिद पेश भएको हो भन्ने समेत व्यहोराको पुनरावेदक दिगम्बरलाल श्रेष्ठले अ.वं. ७८ नं. बमोजिम पुनरावेदन अदालतमा गरेको बयान ।
प्रत्यर्थी शान्तलाल श्रेष्ठले प्रमाणमा दिएको हा.नं. ६९६ इखाडोलको रसिद पुनरावेदक चन्द्रबहादुर, दिगम्बरलाललाई अ.वं. ७८ नं. बमोजिम सुनाई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालतको मिति २०५५।९।३।५ को आदेश ।
शान्तलालले पेश गरेको स्वयम्भु मौजाको हा.नं. ६९६ को रसिद का.जि.सीतापाइला वडा नं. ९ (क) कि.नं. ६०९ को १–८–२ र ऐ वडा नं. ९ (ग) कि.नं. ५६ को ५–१२–० जग्गासँग भिड्ने जग्गा होइन । उल्लिखित दुवै जग्गा का.ई.मरु.८९० नं. को पोता लगतको ४–१०–३ सँग भिड्ने जग्गा हो भन्ने समेत व्यहोराको पुनरावेदक चन्द्रबहादुर श्रेष्ठको वा. महादेव पण्डितले अ.वं. ७८ नं. बमोजिम गरेको वयान ।
यो विवादित सीतापाइलाको जग्गासँग नमिल्ने भएकोले एका गा.वि.स.,एका मौजाको जग्गाबाट अर्को मौजा अर्को गा.वि.स.को जग्गा खान जालसाजी रसिद पेश गरेको हो भन्ने समेत व्यहोराको पुनरावेदक दिगम्वरलाल श्रेष्ठले अ.वं. ७८ नं. बमोजिम गरेको वयान ।
२०५५।९।७ को आदेशको सन्दर्भमा मिति २०५५।९।२० मा महादेव पण्डितले वयान गर्दा सक्कल कागज पेश नभएको भनी उल्लेख गरेको देखिँदा पूर्वआदेशानुसारको सक्कलै कागज दाखिल गराई अ.बं. ७८ नं. बमोजिम पूर्वादेशानुसार बयान गराई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालतको मिति २०५६।१।३१ को आदेश ।
२०१३ सालको पोता रसिदबाट कहाँ कुन मौजाको कति नम्वरको कति क्षेत्रफल भएको जग्गाको रसिद हो भन्ने कुरा खुल्दैन । झूठ्ठा प्रमाणको आधारमा मेरो सम्पत्तिमाथि दावी गरेको हुनाले जालसाजीमा सजाय समेत गरिपाऊँ भन्ने व्यहोराको चन्द्रबहादुर श्रेष्ठको वा. महादेव पण्डितले मिति २०५६।३।३१ मा अ.वं. ७८ नं. बमोजिम गरेको बयान ।
वादी शान्तलाल श्रेष्ठले मोठ ९।२६०२ लगत मौजा बालाजु हा.नं. ८१९ गाँको कित्ता २, मोठ ९।२६०३ मौजा स्वयम्भू हा.नं. ६९६ को इखाडोल कित्ता २ समेत मेरो पिताजी बेखालाल श्रेष्ठका नाउँमा दर्ता भएको र हाल पिताजी परलोक भएकोले सो जग्गामा आफ्नो हक पुग्ने भनी दावी गरेको पाइन्छ । यस परिप्रेक्ष्यमा प्रस्तुत विवादको जग्गा कुन लगतसँग भिड्ने हो भन्नेतर्फ प्रतिवादी चन्द्रबहादुर श्रेष्ठको लगत का.मरुको भएको र प्रतिवादी दिगम्बरलाल श्रेष्ठको लगत का. यट्खाको भएको देखिँदा सीतापाइला गा.वि.स.को प्रस्तुत जग्गासँग भिड्ने नदेखिने र वादीको लगत बालाजु र स्वयम्भूको भई सो मौजासँग सीतापाइला नजिक पर्ने भएकोले वादीको लगतसँग विवादको जग्गा भिड्ने देखियो । यो आधारबाट समेत वादी दावीको कि.नं. ६०९र ५६ को जग्गामा वादीको हक कायम हुने भनी काठमाडौं जिल्ला अदालतबाट मिति २०५४।१।२४ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत पाटनको मिति २०५७।८।१३ को फैसला ।
पुनरावेदन अदालतको फैसलामा चित्त बुझेन । पुनरावेदन अदालतले बालाजु, स्वयम्भू मौजा नजिक पर्ने भएको भन्ने आधारमा निर्णय गरेको त्रुटिपूर्ण छ । कुनै पनि पोता लगतको जग्गा सो पोता भएकै ठाउँमा हुन्छ भन्ने हुँदैन । पोताको स्थानदेखि टाढा र नजिक भन्ने आधारमा गरेको फैसला नेकाप २०३७, नि.नं. १३६४ पृष्ठ ४८ मा प्रतिपादित सिद्धान्त एवं अ.वं. १८४क. १८५ र प्रमाण ऐन, २०३१ को दफा ६(ङ) र ५४ को कानूनी व्यवस्था प्रतिकूल छ । वादीको दर्ता प्रमाणको बालाजु मौजाको हा.नं. ८१९ को ०–१२–३ र स्वयम्भु मौजाको हा.नं. ६९६ को १–५–१ समेत जम्मा २–२–० जग्गा भिडाई मोही भैरब महर्जनले २०२०।४।१४।२ मा कबुलियत गरेको समेतका आधारमा जग्गाधनी दर्ता प्रमाणपूर्जा पाऊँ भनी मालपोत कार्यालयमा दिएको निवेदनमा समेत खुलेको छ । सो कबुलियतमा यट्खा मौजा इखाडोल खेत १–५–१ र ऐ गाँमको खेत रोपनी ०–११–३ र २–२–० जग्गा मोहीमा जोत्न दिएको भन्ने उल्लेख भएबाट यट्खा मौजाको जग्गा बालाजु र स्वयम्भु मौजाको लगतसँग भिड्न सक्तैन । मालपोत कार्यालय काठमाडौँको मिति २०५३।११।२० को पत्रबाट बालाजुको हा.नं. ८१९ को जग्गा भिडाई दर्ता गराई सकेको, दर्ता गर्न बाँकी नरहेको भनी लेखी पठाएको तथा स्वयम्भू मौजाको साविक दर्ता सम्बन्धमा कुनै जवाफ नै आउन नसकेको भनी जिकीर लिइँदा लिइँदै पनि त्यसतर्फ कुनै विचार नगरी स्वेच्छिक रुपमा निर्णय गरिएको छ । तसर्थ पुनरावेदन अदालतको सो फैसलामा गम्भीर त्रुटि विद्यमान रहेकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को (क) र (ख) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिपाऊँ भन्ने समेत प्रतिवादी चन्द्रबहादुर श्रेष्ठको मिति २०५८।२।४।५ को निवेदन पत्र ।
यसै लगाउको नि.नं. ६३०७ को हक कायम चलन मुद्दामा दोहोर्याउने निस्सा प्रदान गरिएको हुँदा प्रस्तुत मुद्दामा पनि सोही आधार प्रमाणबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने यस अदालतको मिति २०६०।३।११ को आदेश ।
पुनरावेदन अदालतको फैसलामा चित्त बुझेन । विवादित कि.नं. ५६ को जग्गा सम्बन्धमा वादी शान्तलाल श्रेष्ठ र प्रतिवादी म भएको यसै लगाउको आजै दर्ता गरेको हक कायम मुद्दामा उल्लेख भएको बुँदा प्रमाण जिकीरहरूलाई नै आधार लिई प्रस्तुत मुद्दामा पनि मुद्दा दोहोर्याई हेर्ने गरी निस्सा पाऊँ भन्ने प्रतिवादी दिगम्बरलाल श्रेष्ठको मिति २०५८।१।१२ को निवेदन ।
सर्भे नापी हुँदा कि.नं. ५६ को ज.रो. ५–१२–० को कैफियत महलमा बेखालाल श्रेष्ठ, वद्री श्रेष्ठ, राजभाई श्रेष्ठलगायत अन्य व्यक्तिहरूलाई कुत बुझाएको भनी मोही भैरबमान महर्जनले लेखाई दिएपश्चात्् पछि आएर बेखालाललाई मात्रै सबै कुत बुझाएको भन्नु वा बेखालालको एकलौटी जग्गा भन्न पाउनुमा विवन्धनको सिद्धान्तबमोजिम पनि नमिल्ने एवं यस मुद्दाका पक्ष विपक्ष आपसमा भैयाद नाताका भन्ने परिप्रेक्ष्यमा दर्ताभन्दा धेरै बढी जग्गा प्रतिवादी बेखालालले एकलौटी पाउने कानूनी आधारसमेत नदेखिँदा निजको मात्र एकलौटी कायम गरेको पुनरावेदन अदालत,पाटनको निर्णयमा प्रमाण ऐन, २०३१ को दफा ६(ङ) र ५४ समेतको त्रुटि देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने यस अदालतको मिति २०६०।३।११ को आदेश ।
नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी चन्द्रबहादुर श्रेष्ठको तर्फबाट विद्वान अधिवक्ता सतिष झाले विवादको कि.नं. ६०९ र ५६ को जग्गामा वादीको हक कायम गर्दा बालाजु तथा स्वयम्भू मौजाको लगतबाट वादीको जग्गा नजिक पर्ने भई भिड्ने भनी लिइएको निर्णयाधार त्रुटिपूर्ण छ । लगत रहेको ठाउँको नाउँबाट नजिक र टाढा रहेको भन्ने आधारमा लगत भिड्ने र नभिड्ने भन्ने हुँदैन । विवादित जग्गा साविकदेखि नै रैकर भइसकेको र वादीको लगतबाट पहिले नै जग्गा दर्ता भइसकेको भन्ने कुरा बेखालालको अधिकृत वा शान्तलालले जग्गा दर्ता सम्बन्धमा मिति २०४७।१०।१० मा मालपोत कार्यालयमा दिएको निवेदनमा उल्लेख गरेको व्यहोराबाट पनि वादीको जग्गा दर्ता बाँकी छैन भन्ने पुष्टि हुन्छ । मिति २०५३।१०।७ मा काठमाडाँै जिल्ला अदालतबाट हा.नं. ८८२ तथा ८१९।६९६ बाट के कति जग्गा दर्ता भयो र कति बाँकी छ भनी दर्ता स्रेस्ताको उतार समेत झिकाउने गरी आदेश भएकोमा सो बमोजिमको दर्ता स्रेस्ता नै नझिकाई वादी दावीबमोजिम हक कायम गरेको मिलेको छैन । मालपोत कार्यालयको मिति २०५३।११।२० को पत्रबाट हा.नं. ८१९ बाट जग्गा बाँकी नदेखिएको भन्ने स्पष्ट जवाफ आएकोमा सोलाई बेवास्ता गरी भएको शुरु तथा पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी पुनरावेदकको हक कायम गरिपाऊँ भनी बहस गर्नुभयो ।
प्रत्यर्थी वादी शान्तलाल श्रेष्ठको तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता विश्वकान्त मैनाली एवं विद्वान अधिवक्ता सोमकान्त मैनालीले विवादको जग्गामा प्रतिवादीको हकको स्रोत नै छैन । फिल्डबुकमा राजभाई भन्ने लेखिदैँमा निर्विवाद हक स्थापित हुँदैन । राजभाई भन्ने मानिस चन्द्रमान नै हो भन्ने कुनै प्रमाणबाट पनि खुल्दैन । २०४२ सालमा मोही भैरबमानले रैकर परिणत गरिपाऊँ भनी निवेदन दिँदा प्रतिवादीले प्रतिवाद गर्न सकेको पनि छैन । शुरु अदालतले प्रमाणको उचित मूल्याङ्कन गरी गरेको फैसलालाई पुनरावेदन अदालतले समेत उचित ठहर गरेको र हाल यस अदालतबाट दोहोर्याई हेर्ने निस्सा प्रदान गर्दा भैयाद नाताभित्रको भन्ने आधार लिएकोमा प्रमाणबाट वादी प्रतिवादी भैयाद भन्ने खुल्दैन । मोहीले नै प्रस्तुत जग्गाको धनी वादी हो भनी खुलाई दिएकोमा मोहीको भनाई आधिकारिक हुन्छ भनी कैयौं पटक प्रतिपादित सिद्धान्तबाट पनि पुष्टि हुन्छ । तसर्थ प्रस्तुत मुद्दा दोहोर्याई हेर्ने गरी प्रदान भएको निस्सा नै तथ्यगत रुपमा त्रुटिपूर्ण रहेकोले पुनरावेदन अदालतसमेतबाट वादी दावीबमोजिम हक कायम हुने भनी भएको फैसला कानूनसम्मत हुँदा सदर हुनुपर्छ भनी बहस गर्नुभयो ।
दुवै पक्षबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता एवं विद्वान अधिवक्ताहरूले गर्नुभएको उपर्युक्त व्यहोराको बहस बुँदा समेतलाई मनन् गर्दै पुनरावेदन अदालतबाट भएको फैसला मिले नमिलेको के रहेछ ? सोही विषयमा निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा काठमाडौं जिल्ला, सीतापाइला गा.वि.स.वडा नं. ९ (क) कि.नं. ६०९ को क्षे.फ. १–८–२ र ऐ. वडा नं. ९(ग) कि.नं. ५६ को क्षे.फ. ५–१२–० को जग्गा हा.नं. ८१९ र ६९६ को लगतबाट भिड्ने भन्दै वादीले दावी गरेकोमा शुरुले वादी दावीबमोजिम हक कायम हुने ठहर गरेको फैसला पुनरावेदन अदालतसमेतबाट सदर भएकोमा सो फैसलाउपर प्रतिवादीको तर्फबाट छुट्टाछुट्टै दर्ता भएको मुद्दा दोहोर्याई पाऊँ भन्ने निवेदनमा निस्सा भै पुनरावेदन दर्ता भई निर्णयार्थ पेश भएको देखियो ।
३. विभिन्न साविक लगत देखाएर नयाँ नापीका कित्ता नम्वर आफ्ना नाउँमा दर्ता गरिपाउन दावी गरिएकोमा कुन लगत कुन कित्तासँग भिड्छ भन्ने न्यायिक आधारको निक्र्यौल गर्नु नै यस विवादको मूल विषय रहेको छ । खासगरी साविक लगत वा पोता रसीदमा जग्गाको मौजा, नाम र क्षेत्रफल उल्लेख भएको हुन्छ । अवैज्ञानिक आधारमा उल्लेख भएका क्षेत्रफल स्वाभाविक सीमासम्म घटबढ हुनु र यसलाई मान्यता दिनु न्यायसंगत नै हुन्छ । लगत वा पोता रसीद वा पूर्जामा जग्गाको चारकिल्ला लेखिएको भए एउटा निर्णायक आधार बन्न सक्दछ । तर अधिकांश लगत वा पोता रसीद वा पूर्जामा चार किल्ला जनिएको पाइँदैन । अ.वं. १७१ अनुसार नाप नक्सा गरी किल्ला यकीन गरी जग्गाको स्वामित्व निर्धारण गरिनु सर्वोत्तम न्यायिक प्रक्रिया हो । तर, चार किल्ला नलेखिएका यस्ता लिखतका कारणले हाल साविक भिडाउने कार्यका लागि अन्य प्रमाणको खोजी गरिनु आवश्यक हुन्छ । चार किल्ला लेखिएका राजीनामा तथा वकसपत्र समेतका पारित लिखतमा समेत चारकिल्ला उल्लेख हुँदा रैकर वा विर्ता भन्ने अनिश्चित किल्ला उल्लेख भएका हुन्छन् । चार किल्लामा खोला, बाटो, भीर र मठ मन्दिर जस्ता प्राय अपरिवर्तनशील किल्ला लेखिएको रहेछ भने पोता लगत वा पूर्जाको जग्गा यकीन गर्ने एउटा विश्वासिलो आधार हुन सक्दछ । सोही नामको जग्गाको पोता लगत भिडाएर साँधको जग्गा दर्ता गरिएको रहेछ भने यो पनि न्यायिक विवेचनाको एउटा आधार बन्न सक्दछ । प्रस्तुत विवादमा वादी तथा प्रतिवादीले देखाएका आफ्ना साविक पोता तथा लगतबाट विवादित जग्गाको स्वामित्व निर्धारण गर्न सकिने माथि विवेचना गरिएका आधारहरू भेटिएनन् ।
४. मुद्दाका पक्षले हकको स्रोतका रुपमा देखाएका लगतमा उल्लिखित नामलाई आधार मानी हालको ठाँउको नामसँग भिडाई जग्गाको हाल साविक भिडाउने कार्य एउटा निर्णायक आधार बन्न सक्दछ । तर, मौजाको सीमा यकीन नहुँदा यसलाई एकमात्र निर्णायक आधार बनाउन मिल्दैन । मौजा वा जग्गाको नामबाट कुन टाढा र कुन नजिक भन्ने आधारमा मात्र निष्कर्ष निकाल्न न्यायसंगत हुँदैन । काठमाडौं उपत्यकामा साविकमा प्रचलित भूमि व्यवस्थामा जग्गाको परिचय दिन त्यस जग्गालाई अमुक नाम दिइने गरिन्थ्यो । यसले गर्दा वल्लो कित्ता एउटा नामको र पल्लो कित्ता अर्को नामको हुनु पनि कुनै अस्वाभाविक हुँदैन । तसर्थ, साविकमा दिइएको जग्गाको नाम र हाल जग्गा रहेको ठाऊँको नामसँग सम्बन्ध गाँसेर निष्कर्ष निकाल्ने अवस्था पनि सहज छैन । लगत वा पोता रसीद वा पूर्जा र तिनमा उल्लिखित चार किल्ला, अदालतमा परेका मुद्दाहरू तथा तिनमा उल्लिखित व्यहोरा, नाप नक्साको आधारमा समेत साविक लगत भिडाई स्वामित्व निर्धारण गर्न सकिन्छ ।
५. यसैगरी २००१ सालपूर्व भएको सर्पट नापी नक्सा र सो सम्वद्ध पूर्जाको अबलोकन गरी एउटा न्यायिक धारणा बनाउन सकिने हुन्छ । सो नापी तथा त्यसको स्रेस्ता लागू हुन नसकेको भएतापनि कुनै व्यक्ति विशेषको हित वा अहितको लागि ती नाप नक्सा तैयार नभएबाट न्यायिक निष्कर्ष निकाल्नु पर्दा ती छुनै नहुने र हेर्नै नहुने लिखत होइनन् । बरु सरकारबाटै सार्वजनिक तवरले सम्पन्न नापीका यी स्रेस्ता जग्गाको हाल साविक भिडाउने विश्वासिला आधार हुन् । यो सर्पट नापीको नक्सामा चार किल्ला खोलिएको मात्र नभई मौजा समेत जनाई पूर्जा दिने कार्य समेत सरकारी निकायबाटै भएको पाइन्छ । हाम्रो जग्गा व्यवस्थापनको यो ऐतिहासिक र आधारभूत कडीलाई लागू हुन नसकेको कारणले निरर्थक र निष्प्रयोजित मानिनु न्यायँसंगत हुंदैन । आज पनि सरकारी निकायसँगै सुरक्षित यी नाप नक्सा साविक र हालका जग्गाको स्वामित्वको कडी जोड्ने आधारभूत प्रमाणको रुपमा ग्रहण गरिनु न्यायोचित हुन्छ ।
६. खासगरी काठमाडौँ उपत्यकाका जग्गाका सम्बन्धमा विविध आधारबाट कुन पोता लगत वा पूर्जा नयाँ नापीको कुन कित्तासँग भिड्छ भन्ने यकीन गर्न प्रमाणहरूको कडी अध्ययन गरी निष्कर्ष निकाल्न पर्ने हुन्छ । फौजदारी मुद्दामा प्रत्यक्ष प्रमाणको अभावमा परिस्थितिजन्य प्रमाणहरूको मालाका आधारमा निष्कर्ष निकालिए जस्तै जग्गाको हाल साविक भिडाउने खालका देवानी मुद्दामा पनि प्रमाणहरूको मालाद्वारा नै सम्पत्तिमा स्वामित्व निर्धारण गरिनु न्यायिक हुन्छ। वास्तवमा विभिन्न प्रमाणहरूको कडीको सहयोगले नै कुन लगत कुन जग्गासँग भिडछ् भन्ने प्रश्नको निर्धारण हुन सक्दछ । प्रस्तुत मुद्दामा यस्ता कडीहरू र प्रामाणिक सृंखलाहरू सीमित छन् । मौजाको प्रचलित नाम र दर्ता माग भएको जग्गाको स्थान निश्चितरुपले मिलेमा जग्गाको स्वामित्वको एउटा निर्धारक प्रमाण बन्न सक्दछ । तर, विवादमा संलग्न दुई वा सो भन्दा बढी पक्षले दावीका लागि प्रस्तुत गरेका पोता लगतसमेतको विश्लेषण नगरी निष्कर्षमा पुग्नु न्यायोचित हुँदैन । जग्गाको स्वामित्वको निर्धारक प्रमाणका रुपमा पारित लिखतहरूमा लेखिएको जग्गाको नामका आधारमा यो यसै ठाउँको जग्गा हो भन्ने यकीन गर्न पनि सकिन्न । समयको अन्तरालले स्थान वा जग्गा विशेषको नाम परिवर्तित भएका हुन्छन् । कतिपय अवस्थामा ती नाम नै लोप भइसकेका हुन्छन् ।
७. तसर्थ, यस्तो अवस्थामा आवादी जग्गा छ भने त्यसलाई खनजोत गर्ने व्यक्तिले नापी हुँदा फिल्डवुकमा सोही बेला लेखाएको व्यहोरालाई स्वामित्व निर्धारक एउटा प्रमाणका रुपमा ग्रहण गरिनु न्यायोचित हुन्छ । जग्गा खनजोत गर्ने व्यक्तिले नापीको बेलामा जग्गाको स्वामित्व आफ्नै भन्न वा अन्य जो कोहीको नाम पनि लेखाउन सक्ने हुन्छ । आफूलाई केवल मोही र अन्य व्यक्तिलाई स्वामी देखाई नापी क्षेत्रीय दर्ता किताब अर्थात् फिल्डबुकमा मुद्दा पर्नु भन्दा दशकौं अगाडि लेखाइएको स्थितिमा यसलाई प्रमाणिक मूल्याङ्कनमा निश्चित भार दिनुपर्ने हुन्छ। यो स्वामित्व निर्धारण गर्ने विविध प्रामाणिक सृंखलाहरू मध्ये अदालतले विश्वास गर्न सक्ने आधार हो । यसले कुनै प्रामाणिक वल राख्दैन भन्नु उचित हुँदैन । कारण, जग्गाधनी देखाइएका व्यक्तिसँग पोता लगत पनि छ र यो त्यस जग्गाको हुदै होइन भन्न सकिने आधार नभएमा फिल्डबुकको अभिव्यक्ति आधारभूत प्रमाण हो ।
८. नापीपूर्व काठमाडौं उपत्यकामा पोता लगत नै हालको जग्गाधनी प्रमाणपूर्जा सरहकै हैसियत राख्ने लिखत प्रमाण हो । २०२१ साल अर्थात् धेरैअघि भविष्यमा विवाद पर्ला भन्ने अनुमान गरी त्यसका लागि प्रमाण खडा गरिदिने अभिप्राय नापीमा लेखाइ दिने व्यक्तिको छ भन्ने अन्यथा प्रमाणित नै भएको अवस्थामा बाहेक त्यस लिखित अभिव्यक्तिलाई अन्यथा मान्न सकिँदैन । तसर्थ, प्रस्तुत विवादमा जग्गाको स्वामित्व यकीन गर्न मोहीले जग्गाधनी भनी लेखाइदिएको तथा आफूले कसलाई के कति कुत बुझाइआएको भन्ने व्यहोरालाई एउटा निश्चयात्मक प्रमाणको रुपमा ग्रहण गर्नुपर्ने हुन्छ ।
९. विवादको कि.नं. ५६ र ६०९ को नापीको क्षेत्रीय दर्ता किताब हेर्दा कि.नं. ६०९ को जग्गाधनी बेखालाल श्रेष्ठ समेत र मोही भैरब महर्जन उल्लेख भएको र कि.नं. ५६ को जग्गा नापी हुँदा जग्गाधनी बेखालाल, वद्री श्रेष्ठ, राजभाई श्रेष्ठ, अन्तवीर उदास, रत्नबहादुर, लाखे महर्जन, दानमुनी समेत उल्लेख भई मोहीमा भैरब महर्जन नै जनिएको देखिन्छ । सो फिल्ड बुकबाट कुन जग्गाधनीको के कति हक हिस्सा हो भन्ने नछुट्टिएको र हाल दावी गर्दा आ–आफ्नो पोता लगतको साविक प्रमाण समेत पेश गरी बेखालाल, दिगम्बरलाल, राजभाई भन्ने चन्द्रबहादुर श्रेष्ठ समेतको तीन जनाले अलग–अलग दावी गरेको देखिन्छ । उक्त जग्गाको मोही भैरब महर्जनले प्रस्तुत विवादको जग्गाहरू रैकर परिणत गर्नेतर्फको दावी गर्दा मिति २०४२ भदौमा दिएको निवेदनमा कि.नं. ५६ को जग्गा बेखालाल, बद्री श्रेष्ठ, राजभाई समेतको जग्गा हो भनी लेखाइदिएको देखिन्छ । कि.नं. ६०९ को फिल्डबुक एवं जग्गाधनी दर्ता स्रेस्तामा पनि जग्गाधनी बेखालालसमेत भन्ने उल्लेख भएको छ । कि.नं. ५६ को फिल्डबुकमा नै बेखालाल, वद्री र राजभाईलाई मोही भैरब महर्जनले बुझाउनु पर्ने कुतको हक हिस्सा समेत उल्लेख भएको छ । तर, कि.नं. ६०९ मा बेखालालबाहेक अन्य को–को जग्गाधनी हुन् र मोहीले सो कित्ताको के कति बाली कुन कुन जग्गाधनीलाई बुझाउने गरेको भन्ने खुल्दैन । विवादित जग्गाको मोहीले प्राप्त गरेको मोहीयानी हकको अस्थायी निस्सा समेतमा कि.नं. ५६ को जग्गामा बेखालाल समेतका ६ जना जग्गाधनीहरू रहेको तथ्य उल्लेख भएको देखिन्छ । जग्गाधनी दर्ता स्रेस्ता समेतमा पनि जग्गाधनी बेखालाल समेत भन्ने व्यहोरा उल्लेख भएको देखिन्छ । विवादित जग्गा नापी हुँदा खडा भएको फिल्डबुकमै बेखालाललाई १ मुरी, राजभाईलाई ५ पाथी एवं बद्रीलाललाई ५ पाथी कुत बुझाउनु पर्ने भन्ने व्यहोरा सो जग्गा कमाउने मोही भैरब महर्जनले लेखाएको देखिन्छ । यसरी सो फिल्डवुकको व्यहोरा एवं मोही भैरब महर्जनले आरम्भमा पटक–पटक दिएको निवेदनसमेतबाट विवादको कि.नं. ५६ र ६०९ को जग्गाधनी वादी शान्तलालका स्वर्गीय पिता बेखालाल मात्र रहेछन् भन्ने नदेखिँदा उक्त कि.नं. ५६ र ६०९ को जग्गामा निज शान्तलालको मात्र एकलौटी हक पुग्ने स्थिति देखिएन ।
१०. जहाँसम्म प्रत्यर्थी वादीका पिता बेखालाल र पुनरावेदक प्रतिवादीहरूको विवादित कि.नं. ५६ र ६०९ को जग्गामा के कति हक हिस्सा कायम हुने भन्ने प्रश्नतर्फ विचार गर्दा, दुवै कित्ता जग्गामा आ–आफ्नो हक भएको भन्दै विभिन्न व्यक्तिहरूले मालपोत कार्यालयमा निवेदन दिएकोमा मालपोत कार्यालय काठमाडौंको मिति २०५०।१।१५ को निर्णय सुनी उक्त कि.नं. ५६ र ६०९ मा जग्गाधनी भनी उल्लेख भएका जग्गाधनीहरू मध्ये बेखालालको हक खाने छोरा शान्तलाल श्रेष्ठको तर्फबाट प्रस्तुत फिराद परेको देखिन्छ भने लगाउको दे.पु.नं. ९६२८। ९६३१ मा राजभाई भन्ने चन्द्रबहादुर श्रेष्ठको फिराद दावी र दे.पु.नं. ९३३० मा बद्रीलाल श्रेष्ठको हक खाने दिगम्बरलाल श्रेष्ठको तर्फबाट छुट्टाछुट्टै फिराद परेको अवस्था देखिन्छ । प्रस्तुत मुद्दाका प्रत्यर्थी वादी शान्तलाल श्रेष्ठका बाबु बेखालाल श्रेष्ठलाई विवादित कित्ता जग्गाको सालिन्दा १ मुरी कुत बुझाउने गरेको र अन्य जग्गाधनीहरू मध्ये राजभाई भन्ने पुनरावेदक प्रतिवादी चन्द्रबहादुरलाई ५ पाथी र बद्रीलाल श्रेष्ठलाई ५ पाथी कुत बुझाउने गरेको भनी मोही भैरब महर्जनले फिल्डवुकमा उल्लेख गरेको हुँदा यी तीनै जना व्यक्तिहरूको विवादित जग्गामा बरावरी हक हिस्सा रहेको नभई घटी बढी रहेको भन्ने देखियो । उल्लिखित जग्गाधनीबाहेकका अन्य जग्गाधनीहरूले विवादित जग्गामा दावी गर्न आएको नदेखिँदा दावी गर्न नआउने अन्य जग्गाधनीहरूको हकमा प्रस्तुत मुद्दाबाट विचार गरिरहनु परेन ।
११. वादी शान्तलाल श्रेष्ठले मोठ नं. ९।२६०२ को लगतबाट मौजा बालाजुको हा.नं. ८१९ गाँको कित्ता २ र मोठ नं. ९।२६०२ कै लगतबाट मौजा स्वयम्भूको हा.नं. ६९६ बाट इखाडोल कित्ता २ समेत मेरो पिता बेखालाल श्रेष्ठका नाउँमा दर्ता भएको जग्गासँग भिड्ने भन्दै प्रस्तुत कि.नं. ६०९ र ५६ मा दावी गरेको देखिन्छ । त्यस्तै पुनरावेदक प्रतिवादी चन्द्रबहादुर श्रेष्ठले उक्त दुवै कित्ता जग्गा काठमाडौं मरु.पोता नं. ८९० बाट दाजु चन्द्रबहादुर र म समेतको नाममा दर्ता भई रु.१।६७ पोत बुझाउनु पर्ने ४।४३ खेतसँग भिड्ने भन्दै दावी गरेको अवस्था छ । त्यस्तै अर्का प्रतिवादी दिगम्बरलाल श्रेष्ठले स्व. बाजे हीरालाल श्रेष्ठका नाममा काठमाडौँ यट्खा ८८२ नं. को लगतबाट भिडी दर्ता भएको भन्दै दावी गरेको देखिन्छ । एउटै जग्गामा विभिन्न व्यक्तिहरूले आफूलाई जग्गाधनी देखाई दावी गरेको यस्तो स्थितिमा जग्गा जोतभोग गरी सम्बन्धित जग्गाधनीलाई बाली बुझाउने मोहीले आफूले कमाएको यी जग्गाको जग्गाधनी देखाई २०२१ सालको नापीको फिल्डवुक लेखाई दिएको छ । यसका अतिरिक्र्त मालपोत कार्यालयजस्तो आधिकारिक निकायमा मोहीले नै दिएको प्रारम्भिक निवेदन कथनलाई समेत त्यस्तो जग्गाको वास्तविक जग्गाधनी कायम गर्ने महत्वपूर्ण प्रमाण मान्नु पर्ने हुन्छ । पछि आएर कुनै एक जनामात्र जग्गाधनी हो भन्ने कथनले प्रमाण ऐन, २०३१ को दफा ३४ मा उल्लिखित विवन्धनको सिद्धान्तबमोजिम कुनै प्रामाणिक बल राख्दैन् । स्वाभाविक र सहज रुपमा लेखाई दिएको कथनलाई बिनाआधार र कारण परिवर्तन गर्न नपाइओस् र यसो गरियो भने त्यो कुनै पनि प्रामाणिक मूल्य नराख्ने निरर्थक र निष्प्रयोजित अभिव्यक्ति बनोस् भन्ने नै विवन्धनको सिद्धान्तको मूल मर्म हो । प्रमाण ऐन, २०३१ को दफा ३४ ले अघिल्लो अभिव्यक्तिसँग वेमेल राख्ने मोहीको पछिल्लो कथनलाई आधार लिनु पर्ने भन्ने वादी पुनरावेदकको कथनले कुनै महत्व राख्दैन् ।
१२. प्रस्तुत विवादमा मोही भैरब महर्जनले बेखालाल बाहेकका अन्य ५ जना जग्गाधनीहरूको नाम समेत उल्लेख गरी आफूले कमाएको कि.नं. ५६ को जग्गाको जग्गाधनीलाई वुझाउनु पर्ने बालीको परिमाण समेत खुलाई लेखाई दिएको फिल्डवुक व्यहोरालाई साविक दर्ता स्रेस्तालगायतका मिसिल संलग्न प्रमाणहरूबाट पुष्टि भइरहेको देखिँदा उक्त जग्गाहरूको जग्गाधनी प्रत्यर्थी वादीबाहेकका अन्य व्यक्तिहरू समेत रहे भएको पुष्टि भएको छ । यी वादीसमेतका तीन जनाले दावी गरेको अवस्था भएबाट विवादित कि.नं. ५६ को जग्गामा प्रत्यर्थी वादी शान्तलाल श्रेष्ठको एकलौटी हक पुग्ने नभई वादीको साविक पोता लगतमा जनिएको क्षेत्रफल तथा अन्य दावीकर्ताको पोता लगतमा जनिएको क्षेत्रफलका साथै मोहीले फिल्डवुकमा लेखाइदिएको कुतको आनुपातिक हिसाब समेतका आधार प्रमाणबाट तीन भागको दुई भागसम्ममा वादी शान्तलालको हक पुग्ने देखिन आयो । विवादित कि.नं. ५६ मा क्षेत्रफल ५–१२–० जग्गा रहेकोमा सोको तीन भागको दुई भाग अर्थात् क्षेत्रफल ३–१३–२–२ सम्ममा प्रत्यर्थी वादीको हक पुग्ने देखिँदा त्यति हदसम्मको जग्गामा निजको हक कायम हुने देखिन आयो । बाँकी क्षेत्रफल १–१४–२–२ जग्गामा पुनरावेदक प्रतिवादीहरू चन्द्रबहादुर श्रेष्ठ र दिगम्बरलाल श्रेष्ठको बराबरी हक कायम हुने गरी यसै लगाउको दे.पु.नं. ९६२८ र ९६३० को हक कायम मुद्दाहरूमा आजै यसै इजलासबाट फैसला भइसकेको हुँदा त्यसतर्फ यस मुद्दाबाट थप विवेचना गरिरहनु परेन ।
१३. जहाँसम्म कि.नं. ६०९ को जग्गाको प्रश्न छ , सो सम्बन्धमा विचार गर्दा लगाउको दे.पु.नं. ९६३० को हक कायम मुद्दाका वादी दिगम्बरलाल श्रेष्ठले उक्त कि.नं. ६०९ समेतमा हक कायम गरिपाऊँ भनी सो मुद्दाको शुरु फिरादमा दावी लिएको भएतापनि निजले यस अदालतमा पुनरावेदनमा परिवर्तित दोहोर्याई पाऊँ भन्ने निवेदन दर्ता गर्दा सो कित्ता जग्गामा यी प्रत्यर्थी वादी शान्तलाल श्रेष्ठको मात्रै हक कायम भएमा आफ्नो कुनै आपत्ति नभएको भनी शुरु फिरादमा दावी लिएको कुरालाई हाल आएर परित्याग गरिसकेको देखिएको छ । यस्तो अबस्थामा सो कि.नं. ६०९ मा वादी शान्तलाल र पुनरावेदक प्रतिवादी चन्द्रबहादुर श्रेष्ठको सम्बन्धमा मात्र निर्णयमा पुग्नु पर्ने देखियो । कि.नं. ६०९ को फिल्डवुकमा जग्गाधनी बेखालाल समेत भन्ने उल्लेख भई अर्को कि.नं. ५६ को फिल्डबुकमा भने विभिन्न जग्गाधनीहरूको नाम एवंम् निजहरूलाई बुझाउनु पर्ने बाली समेतको परिमाण सहितको विवरण उल्लेख भइरहेको सन्दर्भबाट समेत कि.नं. ६०९ को क्षे.फ. १–८–२ मध्ये ३ भागको २ भाग अर्थात् क्षेत्रफल १–०–२ तथा बाँकी १ भागको क्षेत्रफल ०–८–१ बाट आधा भाग अर्थात क्षेत्रफल ०–४–०–२ सम्ममा लगाउको दे.पु.नं. ९६३० को मुद्दाका वादी दिगम्बरलालले दावी छाडी सकेको अबस्था हुँदा सो क्षेत्रफल ०–४–०–२ समेत गरी कि.नं. ६०९ को जग्गामध्ये क्षे.फ. १–४–२–२ जग्गामा प्रत्यर्थी वादी शान्तलाल श्रेष्ठको हक कायम हुने देखियो । बाँकी क्षेत्रफल ०–४–०–२ जग्गामा पुनरावेदक प्रतिवादी चन्द्रबहादुर श्रेष्ठको हक कायम हुने गरी दे.पु.नं. ९६२८ समेतको मुद्दामा विवेचना भइसकेको हुँदा सो सम्बन्धमा पनि विश्लेषण गरिरहनुपरेन ।
१४. तसर्थ शुरु काठमाडौं जिल्ला अदालतले वादी दावीको कि.नं. ६०९ र ५६ को पूरै जग्गामा प्रत्यर्थी वादीको हक कायम हुने ठहर्याएको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको मिति २०५७।८।१३ को फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी भई वादी दावीको कि.नं. ६०९ को क्षे.फ. १–८–२ को जग्गा मध्ये ज.रो. १–४–२–२ र कि.नं. ५६ को क्षे.फ. ५–१२–० बाट ३ भागको २ भाग अर्थात क्षे.फ. ३–१३–२–२ सम्ममा प्रत्यर्थी वादीको हक कायम हुने ठहर्छ । अरुमा तपसिल बमोजिमगर्नू ।
तपसिल
पुनरावेदन अदालतको फैसला केही उल्टी भै वादी दावीको कि.नं. ६०९ क्षेत्रफल १–८–२ मध्ये क्षे.फ. १–४–२–२ र कि.नं. ५६ को जग्गामा ३ भागको २ भाग अर्थात् क्षेत्रफल ३–१३–२–२ सम्ममा वादीको हक कायम हुने ठहरी फैसला भएकोले सोहीबमोजिम जग्गा दर्ता गरिपाऊँ भनी ऐनका म्यादभित्र दर्खास्त दिन आए नरमगरम मिलाई वादीका नाउँमा जग्गा दर्ता गरी दिनु भनी सम्बन्धित मालपोत कार्यालयमा लेखी पठाई दिनु भनी शुरु काठमाडौँ जिल्ला अदालतमा लगत दिनू––––१
दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू–––––––२
उक्त रायमा सहमत छु ।
न्या.रामप्रसाद श्रेष्ठ
संवत् २०६६ साल जेठ १० गते रोज १ शुभम् .
इजलास अधिकृतः उ.स.विदुर कोईराला