निर्णय नं. ८१९९ - उत्प्रेषणयुक्त परमादेश

निर्णय नं. ८१९९ २०६६ कात्तिक,अङ्क ७
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ
माननीय न्यायाधीश श्री अवधेश कुमार यादव
संवत् २०६३ सालको रिट नं. १२२१
आदेश मितिः २०६६।३।२१।१
बिषय :– उत्प्रेषणयुक्त परमादेश ।
निवेदकः काठमाडौं महानगरपालिका वडा नं. २९ ठमेल घर भई नेपाल वायुसेवा निगममा कार्यरत सुवास बस्न्यात
विरुद्ध
विपक्षीः नेपाल वायुसेवा निगम प्रधान कार्यालय समेत
§ सेवामा प्रवेश गरेपछि उक्त सेवा समूहसँग सम्बन्धित प्रावधान मान्न सवै कर्मचारी वाध्यकारी हुने ।
§ विमान परिचालक पदलाई कायमै राखी तत्कालीन परिस्थिति र आवश्यकता अनुसार केही समयको लागि अन्यत्र काम गर्दैमा लियन पदको हक वा दायित्वबाट मुक्त हुन नसक्ने ।
§ लियन पदमा रहेसम्म सोही पदको हैसियतले पाउने हक दायित्व एवं सुविधा उपभोग गर्नुपर्ने ।
§ कुनै खास व्यक्तिको हकमा गरेको तथ्यगत विवेचना सहितको निर्णय नजीर नभै दृष्टान्त मात्र हुन्छ । खास कानूनको प्रचलनको लागि कानूनको व्यवस्थामा गरिएको ब्याख्यामार्फत प्रतिपादित हुने सिद्धान्त नजीर हुने ।
§ बिना कानूनी सिद्धान्त, कुनै कुराको दृष्टान्तलाई आधार बनाई नजीर मानी उपचार दिन नमिल्ने।
(प्रकरण नं.३)
§ नेपाल वायुसेवा निगम कर्मचारी सेवा शर्तसम्बन्धी विनियमावली, २०५८ को विनियम ६३ को प्रावधान Crew समूहमा आवद्ध सवै कर्मचारीहरू बीच आकृष्ट हुने भएबाट कानूनको प्रयोगमा भेदभाव भयो वा आफूलाई असमान व्यवहार गरियो भन्न नमिल्ने ।
§ समानहरूका बीचमा भएको समान व्यवहारले समानताको सिद्धान्त उल्लंघन हुन नसक्ने ।
(प्रकरण नं.५)
निवेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल एवं विद्वान अधिवक्ता श्री हरिप्रसाद उप्रेती
विपक्षी तर्फबाटःविद्वान अधिवक्ताहरू श्री पूर्णमान शाक्य, रमेश कार्की एवं गोविन्द वन्दी
अवलम्वित नजीरः
सम्बद्ध कानूनः
§ कर्मचारी सेवा शर्त सम्बन्धी विनियमावली, २०५८ को परिच्छेद ७, विनियम ६३
आदेश
न्या.कल्याण श्रेष्ठः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम यस अदालतसमक्ष दायर भई पेश भएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छः–
म निवेदक २०३४।१२।४ मा निगमको असिस्टेन्ट पदमा प्रवेश गरी मिति २०३६।१०।२२ देखि Operation Department अन्तर्गत Cabin Crew Section मा Steward पदमा सरुवा भई काम काज गरी आएकोमा २०४४।११।२२ मा Sr. Cabin Attendant मा बढुवा भई सो पदका अतिरिक्त Cabin Crew Division को विभिन्न Section मा कार्य गर्ने थप जिम्मेवारी समेत सम्हाल्न दिइएको आदेशबमोजिम कार्य गर्दै आएको थिए । २०५५।२।२९ मा Personnel Department को पत्रसंख्या Pd/10/41763/2207 को पत्रद्वारा आई. एफ. एस. पद अपरेसन्स डिपार्टमेन्टमा लियन हुने गरी अर्को विभाग क्वालिटी एसुरेन्स तथा फ्लाइट सेफ्टी डिपार्टमेन्टमा सुपरभाइजरको जिम्मेवारी सम्हाल्न दिएको आदेशबमोजिम हालसम्म सो जिम्मेवारी समेत सम्हाल्दै आएको छु ।
यसरी निगमको सेवामा कार्यरत रहेको वखत २०६४।४।५ मा उमेरको हदको कारणले सेवा अवधि पुरा हुने भएकोले मिति २०६४।४।६ देखि निगमको सेवाबाट अवकाश हुने भनी विपक्षीबाट मलाई पत्र दिइयो । निगमको सेवामा म प्रवेश गर्दा क्रु कर्मचारीको ५५ बर्ष र अन्य कर्मचारीको ६० बर्ष अवकाशको हद थियो । मेरो सेवा समूह उपसमूह परिवर्तन भएको नहुँदा र नियुक्ति भएको पदमा नै कार्यरत रहेकोले क्रु समूहको कर्मचारीहरूको हकमा लागू हुने उमेरको हद मेरो हकमा आकर्षित हुन सक्दैन । त्यसमाथि पनि मलाई २०५५।२।२९ को पत्रबाट Quality Assurance And Flight Safety Department अन्तर्गत Flight Safety Devision को Supervisor पदमा नियुक्ति गरिएको हुँदा सो नियुक्ति पत्रबमोजिम नगरी Cabin Crew मा भएको नियुक्ति पत्र कायम हुने भनी विपक्षीहरूले गरेको ब्याख्या स्वैच्छाचारी छ । तत्कालीन नेपाल वायू सेवा निगमको कर्मचारी सेवा नियमावली २०३१ वहाल रहेका वखत मेरो सरुवा Assistant पदबाट Steward पदमा भएको र सो Steward पदमा वहाल रहन पाउने उमेरको हद ५५ बर्ष तोकिएको भए तापनि म Steward पदमा सेवा प्रवेश नगरी Assistant पदमा सेवा प्रवेश गरेको हुनाले मेरो हकमा Steward पदको लागी तोकिएको उमेरको हद लागू हुँदैन । Cabin Crew कै पदमा नयाँ नियुक्ति भई आउने कर्मचारीको सेवा शर्त र अन्य पदमा नियुक्ति भई सेवा परिवर्तन गरी Cabin Crew मा लगिएको कर्मचारीको सेवा शर्त एउटै हुन सक्दैन ।
५० बर्षको उमेर पूरा भएपछि Cabin Attendent पदमा रहेर सेवा गर्न नमिल्ने वर्तमान कानूनी व्यवस्थालाई विचार गरेको खण्डमा पनि मलाई मेरो साविकबमोजिम Assistant पदमा नै फिर्ता हुने गरी सरुवा गरी ५८ बर्षको उमेर पूरा नभएसम्म कार्यरत रहन दिनुपर्नेमा काम चलाउने उद्देश्यले सरुवा गरिएको पदकै हैसियतले अवकाश दिने निर्णय गैरकानूनी छ । त्यसैगरी ५० बर्ष उमेर पूरा भए पछि अवकाश दिने व्यवस्था जुन मिति देखि कर्मचारी विनियमावलीमा समावेश गरियो सो मिति भन्दा पछि निगमको सेवामा प्रवेश गर्ने कर्मचारीको हकमा मात्र लागू हुन्छ । म निवेदक २०५५५।२।२९ देखि Personnel Department को आदेश मुताविक क्वालिटी एसुरेन्स तथा फ्लाइल सेफ्टीमा सुपरभाइजरको पदमा कार्यरत रहेको ५८ बर्षको उमेर पूरा नभएसम्म निगमको सेवामा रहन पाउने हुँदा ५० बर्ष उमेर पूरा भएको कारणले मलाई अवकाश दिने गरी भएको विपक्षी निगमको मिति २०६४।३।११ (सन् २००७।६।२५) को पत्र लगायत मलाई प्रतिकूल असर पार्ने गरी विपक्षीहरूबाट भए गरेका अन्य काम, कारवाही, सूचना, पत्राचार आदिलाई उत्प्रेषणको आदेशद्वारा बदर गरी म निवेदकलाई उक्त पत्रको आधारमा अवकाश दिने कार्य नगर्नु नगराउनु, ५८ बर्षको उमेरसम्म सेवामा कार्यरत रहन दिनु दिलाउनु वा ५८ बर्ष उमेर पुग्न बाँकी रहेको ८ बर्षको अवधि नोकरी अवधिमा गणना गरी कायम हुन आउने नोकरी अवधिको आधारमा नियामानुसार पाउने सेवा सुविधा प्रदान गर्नु भन्ने परमादेशको आदेश जारी गरिपाऊँ भन्ने समेत व्यहोराको रिट निवेदन ।
यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो? आदेश जारी हुनु नपर्ने कुनै कारण भए बाटाको म्याद बाहेक १५ दिनभित्र लिखित जवाफ पठाउनु भनी विपक्षीहरूका नाउँमा सूचना पठाई लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु । साथै अन्तरिम आदेशको माग सम्बन्धमा छलफल गर्न मिति २०६४।४।१० गतेको दिन तोकी छलफलमा उपस्थित हुनु भनी विपक्षीहरूलाई जानकारी दिनु र सो अन्तरिम आदेशको टुंंगो नलागेसम्म प्रत्यर्थीहरूको मिति २०६४।३।११ को पत्र अनुसार निवेदकलाई अवकाश नदिनु नदिलाउनु भनी सो अवधिसम्म अन्तरिम आदेश समेत जारी गरिदिएको छ भन्ने यस अदालत एक न्यायाधीशको इजलासको मिति २०६४।३।३२ को आदेश ।
यसमा, क्रु सेवाको कर्मचारीलाई प्रशासन तर्फ परिवर्तन गरेको देखिन आएको हुँदा निवेदनको अन्तिम निर्णय नभएसम्म २०६४।३।३२ को आदेशबमोजिमको अन्तरिम आदेशलाई निरन्तरता दिइएको छ । लिखित जवाफ प्राप्त भएपछि अग्राधिकार दिई नियमबमोजिम पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको मिति २०६४।४।१६ को आदेश ।
निवेदक २०३४।१२।४ देखि असिस्टेन्ट पदमा स्थायी नियुक्त भई काम गरेकोमा मिति २०३६।१०।२२ देखि Operations Department अन्तर्गत Cabin Crew Section मा Steward पदमा पुनः नियु भई काम गरी रहेका थिए । Cabin Crew Section मा विमान परिचालक (Cabin Attendant) पदमा काम गर्ने व्यक्तिको उमेर ५० बर्ष पूरा भएपछि स्वतः अवकाश हुने भन्ने निगमको कर्मचारीहरूको सेवा शर्त विनियमावली, २०५८ को विनियम ६३ मा भएको व्यवस्थाअनुसार विपक्षीको उमेर २०६४।४।५ मा ५० बर्ष पुरा हुने भएकोले २०६४।४।६ देखि लागू हुने गरी निजलाई अनिवार्य अवकाश दिइएको हो । विपक्षीले विनियमावलीको प्रावधान अनुसार स्वतः अवकाश पाउने हुँदा यसबाट विपक्षीको हक हनन् हुन सक्दैन । त्यसैगरी निवेदकले आफू Cabin Crew Section मा विमान परिचालक पदमा काम गर्ने कर्मचारी भएको तथ्य स्वीकारेको देखिन्छ । विपक्षी सो पदमा आउँदा आफू कार्यरत पदत्याग गरी आएको तथ्य समेत विवादरहित छ । निवेदकको क्च Assistant बाट Cabin Attendant मा सरुवा भएको होइन । निगमलाई तत्काल आवश्यक परेको Cabin Attendant पदका लागि आन्तरिक आवेदन माग भएकोमा विपक्षीले आवेदन गरी परीक्षामा सामेल भई उत्तिर्र्ण भएकाले निजलाई Cabin Attendant पदमा नयाँ नियुक्ति दिइएको हो, सरुवा गरी ल्याइएको होइन ।
कुनै पनि कर्मचारीले तत्काल लागू रहेको व्यवस्थाबमोजिमको सुविधा पाउँदछन् । निगमको कर्मचारी सेवा शर्त सम्बन्धी विनियमावली, २०५८ मा सेवा परिवर्तन गर्न नमिल्ने किटानी व्यवस्था रहेको हुँदा २०३१ सालको विनियमावलीलाई आधार वनाई दायर भएको रिट निवेदन बमोजिमको सुविधा दिन मिल्दैन । तसर्थ निवेदकलाई उमेरको हदको कारणले कानूनबमोजिम अवकाश दिने गरी भएको निर्णय एवं काम कारवाहीबाट निवदेकको मौलिक हकमाथि अनुचित वन्देज लगाएको नहुँदा रिट निवेदन खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको नेपाल वायु सेवा निगम, ऐ. को सञ्चालक समिति, ऐ. का महाप्रवन्धक, तथा कर्मचारी प्रशासन तथा साधारण सेवा विभागको तर्फबाट परेको संयुक्त लिखित जवाफ ।
निगमबाट मलाई दिन लागिएको अवकाशको विरुद्ध मैले दायर गरेको रिटमा निवेदकलाई अवकाश नदिनु, नदिलाउनु भनी अन्तरिम आदेश जारी भएको अबस्थामा निगमबाट मलाई २०६४।४।१८ देखि मात्र हाजिर गराइएको र उक्त पदमा हाजिर भई कामकाज गर्दा मैले कानूनबमोजिम पाउने तलव सुविधा पाउनु पर्नेमा सो तलव सुविधा नदिई तलव सुविधाको हकमा मुद्दाको टुङ्गो लागेपछि फैसला बमोजिम हुने कुरा भनी तलव सुविधा दिन इन्कार गरेकोले पछि फैसला बमोजिम हुने गरी निवेदकलाई उक्त पदमा मिति २०६४।४।६ देखि हाजिर गराई काममा लगाई पाउने तलव भत्ता सुविधा समेत दिनु दिलाउनु भनी विपक्षीहरूको नाउँमा अन्तरिम आदेश जारी गरिपाऊँ भन्ने व्यहोराको पुरक निवेदन परेको समेत देखिन्छ ।
यसमा, जुन बिषयमा अन्तरिम आदेश जारी भएको हो, सो कायम रही रहेको हुँदा अन्तरिम आदेशको परिधिभित्र बाहेक अन्य आदेश तर्फ विचार गर्नु नपर्ने हुँदा कानूनबमोजिम गर्नु भन्ने यस अदालतको आदेश ।
नियमबमोजिम पेश भएको प्रस्तुत मुद्दामा निवेदकका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दहाल एवं विद्वान अधिवक्ता श्री हरिप्रसाद उप्रेतीले निवेदक निगमको प्रशासन तर्फको असिस्टेन्ट पदमा शुरुमा नियुक्ति भई पछि Cabin Crew Section मा सरुवा गरिएको भए तापनि हाल निवेदकले प्रशासन तर्फको काम गरेका छन् । प्रशासन तर्फको कर्मचारीमा शुरु नियुक्त पाएका यी निवेदकलाई पछि क्रु समूहमा समूहिकृत गरेकै कारणले क्रु समूहमा कार्यरत कर्मचारी सरह ५० बर्ष उमेरको हद पुरा गरेको आधारमा निगमको सेवाबाट अवकाश दिने गरी भएको विपक्षी निगमको निर्णय समानताको सिद्धान्त विपरीत भै बदरभागी छ । त्यसैगरी यी निवेदक निगमको सेवामा नियुक्ति हुँदा क्रु समूहका कर्मचारीले अवकाश पाउने हद ५५ बर्ष र प्रशासनिक समूहका कर्मचारीले अवकाश पाउने उमेरको हद ६० बर्ष रहेकोमा Cabin Crew समूहमा सरुवा गरिएकै कारणले पछि संशोधित विनियमावली बमोजिम निवेदकलाई ५० बर्षको उमेरको हदमा अवकाश दिन मिल्दैन । विपक्षी निगमको प्रशासनिक निर्णयबाट निवेदकलाई Grounded Staff बाट Cabin Crew समूहमा सरुवा गरिएको भए तापनि निवेदक Cabin Crew समूहमा प्रवेश गरेको नहुँदा Cabin Crew समूहमा शुरु नियुक्ति हुने कर्मचारीहरूलाई मात्र आकर्षित हुने कानूनी प्रावधान निवेदकको हकमा आकर्षित हुन नसक्ने भएकोले सो कानूनी प्रावधान लगाई ५० बर्षको उमेरमा निवेदकलाई अवकाश दिने गरी भएको विपक्षी निगमको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी निवेदकलाई प्रशासन तर्फको कर्मचारी सरह ५८ बर्षको उमेरसम्म काम गर्न दिनु भनी परमादेशको आदेश जारी गरिपाऊँ भनी बहस गर्नुभयो । विपक्षीहरूको तर्फबाट उपस्थित विद्वान अधिवक्ताहरू श्री पूर्णमान शाक्य, रमेश कार्की एवं गोविन्द वन्दीले यी निवेदक २०३४ सालमा Assistant पदमा निगमको सेवामा प्रवेश गरेको भए तापनि निगममा रिक्त Cabin Crew समूहको Steward पदमा भएको विज्ञापनमा यी निवेदकले दरखास्त फाराम भरी सो पदमा उत्तिर्र्ण भई Cabin Crew समूहमा नयाँ नियुक्ति लिएका हुन् । सो पदमा लिएको नयाँ नियुक्ति पत्रमा नै ६ महिनाको परीक्षण कालको समय राखिएबाट समेत निवेदकको Cabin Crew समूहमा नयाँ नियुक्ति भएको भन्ने प्रमाणित भएको छ । निवेदक जस्तै Cabin Crew समूहमा कार्य गर्ने अन्य विमान परिचालक र परिचालिकलाई ५० बर्षको उमेरमा अवकाश दिइएकोले निवेदकको हकमा असमान व्यवहार गरिएको छ भन्न मिल्दैन । समानताको हक समानहरूको बीचमा लागू हुने र Cabin Crew समूहका सवै सदस्यहरूका बीचमा समान व्यवहार भएबाट निवेदकको हकमा असमान व्यवहार भएको छैन । त्यसका अलावा निवेदकले कानूनद्वारा नै असमान व्यवहार भएको छ भनी विनियमावली बदर गरिपाऊँ भनी जिकीर लिएको अबस्था नहुँदा सो विनियमावली बमोजिम अवकाश दिने गरी भएको निर्णयमा कुनै त्रुटि नहुँदा रिट निवेदन खारेज गरिपाऊँ भनी बहस गर्नुभयो ।
यसमा, निगमको प्रशासन तर्फ नियुक्त भएकोमा पछि Cabin Crew Section तर्फ सरुवा भएकै कारणले निगमको Crew समूहमा कार्यरत कर्मचारीहरूको हकमा लागू हुने गरी पछि संशोधित विनियमावली बमोजिम उमेरको हद ५० बर्ष पुगेपछि सेवाबाट अवकाश दिने गरी भएको निगमको निर्णय बदर गरी प्रशासन तर्फको कर्मचारी हक सरह ५८ बर्षको उमेरसम्म सेवामा वहाल गरी कामकाज गर्न दिनु भन्ने आदेश जारी गरिपाऊँ भन्ने रिट निवेदनबाट देखिन्छ । लिखित जवाफ हेर्दा निगमलाई आवश्यक परेको Cabin Attendant पदका लागि भएको विज्ञापनमा निवेदकले दरखास्त फाराम भरी परीक्षामा सामेल भई सो परीक्षा उत्तिर्र्ण गरी Cabin Crew Section मा नयाँ नियुक्ति भएकोले निवेदकको हकमा अवकाशको उमेर विनियमावलीको नियम ६३ बमोजिम आकर्षित हुने हुँदा सोहीअनुसार अवकाश दिएको भन्ने देखिन्छ ।
उपरोक्त बहस बुँदा एवं तथ्यगत सन्दर्भमा समेतलाई विचार गर्दा निम्नलिखित प्रश्नहरूको निर्णय गर्नुपर्ने देखियो ।
१) निवेदक Cabin Crew Section मा सरुवा भई सामेल भएको हो वा नयाँ नियुक्तिबाट सो समूहमा सामेल भएको हो ।
२) निवेदकको मागबमोजिमको आदेश जारी हुने हो, होइन ?
२. पहिलो प्रश्नतर्फ विचार गर्दा, यी निवेदक शुरुमा Sr. Assistant पदमा निगमको सेवामा प्रवेश गरेको कुरामा कुनै विवाद रहेको देखिँदैन । निवेदक सो पदमा वहाल रहेकै अबस्थामा निगमलाई तत्काल आवश्यक परेको Cabin Attendant पदका लागि आन्तरिम आवेदन माग भएबमोजिम निवेदकले समेत आवेदन गरी सो पदमा यी निवेदक उत्तिर्र्ण भएको भन्ने लिखित जवाफबाट देखिन्छ । सो बमोजिम Cabin Attendant पदमा निवेदकलाई दिएको नियुक्ति पत्रको व्यहोरा हेर्दा "with reference to your interview for the post of cabin attendant we take pleasure to inform that you have been selected for the post of Cabin Attendant .... on the following terms and conditions" भनी सो पत्रको शर्त नं. १ मा "That you will be on probation period for a period of 6 (six) months .... " भन्ने उल्लेख भएको पाइन्छ । उल्लिखित नियुक्ति पत्रको व्यहोरा एवं लिखित जवाफ समेतबाट यी निवेदक Sr. Assistance पदबाट Cabin Crew Section को Steward पदमा सरुवा भई आएको नभै नया नियुक्तिबाट सो समूहमा प्रवेश गरेको देखियो । नयाँ नियुक्ति र सरुवा एउटै बिषयवस्तु हुन सक्दैन । सरुवा एक विभागबाट अर्को विभागमा समान पदमा हुन सक्दछ र त्यस्तो सरुवामा परीक्षणकाल लगायतका सेवाका शर्तहरू उल्लेख गरिएका हुँदैनन् । प्रस्तुत विवादमा Cabin Crew समूहको रिक्त Steward पदमा भएको आन्तरिक विज्ञापनमा निवेदक सामेल भई सो परीक्षा उत्तिर्र्ण गरी नयाँ नियुक्ति पत्र बमोजिम सो नियुक्ति पत्रमा उल्लिखित सेवाका शर्तहरू पालना गर्न मञ्जूरी जनाई सामेल भएको अबस्थामा निवेदन जिकीरबमोजिम Cabin Crew Section मा सरुवा भएको रहेछ भनी मान्न सकिदैन । पहिले नियुक्ति भएको Sr. Assistant पद परीत्याग गरी Attendant पदमा नियुक्ति हुन परीक्षा समेत दिई सो पद स्वीकार गरी सो पदको परीक्षण काल समेत व्यतित गरी कानूनी रुपमा सोही पदमा कार्यरत रहेको समेत देखिदा निवेदकको Cabin Crew Section मा सरुवा भएको हो भन्ने निवेदक जिकीर एवं निवेदकका तर्फका कानून व्यवसायीहरूको बहस जिकीरसँग सहमत हुन सक्ने अबस्था रहेन ।
३. अव दोस्रो प्रश्नका सम्बन्धमा विचार गर्दा माथि विवेचित पहिलो प्रश्नबाट निवेदक प्रशासन तर्फको कर्मचारी नभै निगमको Crew समूहको कर्मचारी भएको भन्ने हुँदा यसरी क्रु समूहमा कार्यरत कर्मचारीहरूको अवकाशसम्बन्धी व्यवस्था के रहेछ भनी सम्बन्धित कानूनी प्रावधान हेर्दा नेपाल वायु सेवा निगमका कर्मचारीहरूको सेवा शर्त सम्बन्धी विनियमावली, २०५८ को परिच्छेद–७ विनियम ६३ मा अनिवार्य अवकाश भनी उपनियम (१) मा कर्मचारीलाई निजको उमेर ५८ बर्ष पूरा भएपछि सेवाबाट अवकाश दिइने छ तर विमान परिचालक र विमान परिचालिकाको उमेर ५० बर्ष पूरा भएपछि स्वतः अवकाश दिइने छ भन्ने प्रावधान उल्लेख भएको पाइन्छ । निवेदक विमान परिचालक भएकोमा विवाद नभएबाट विनियमावलीको अवकाशसम्बन्धी उक्त प्रावधान यी निवेदकका हकमा आकर्षित हुँदैन भन्न मिल्दैन । निगमको सेवामा प्रवेश गरेपछि उक्त सेवा समूहसँग सम्बन्धित प्रावधान मान्न निवेदक लगायतका निगमका सवै कर्मचारी वाध्यकारी हुन्छन् । यी निवेदकले अन्य प्रशासनिक पदमा काम गरेकोले नियम ६३ को प्रावधान आफ्नो हकमा आकर्षित हुन सक्दैन भन्ने जिकीर लिए तापनि Cabin Crew समूह छाडी अन्य समूहमा नियुक्त भएको भन्ने जिकीर लिएको भए पनि सो जिकीरलाई प्रमाणित गर्न सकेको पाईदैन । विमान परिचालक पदलाई कायमै राखी तत्कालीन परिस्थिति र आवश्यकता अनुसार केही समयको लागि अन्यत्र काम गर्दैमा लियन पदको हक वा दायित्वबाट मुक्त हुन सक्ने अबस्था आउँदैन । लियन पदमा निवेदक रहेसम्म सोही पदको हैसियतले पाउने हक दायित्व एवं सुविधा उपभोग गर्नुपर्ने हुन्छ । निवेदकले आफूले ग्राउण्डमा काम गर्ने गरेकोले सोही पदमा सेवा परिवर्तन गरिपाऊँ भनी माग गरेको समेत देखिँदैन । कानूनी आधारबिना अमुक कुनै व्यक्तिलाई भए सरह व्यवहार गरिपाऊँ भनी निरा महर्जन, रक्षा मलहोत्रा लगायतका कर्मचारीहरूको हवाला दिई सोही सरहको व्यवहार गरिपाऊँ भनी माग गर्दैमा ती व्यक्तिहरूको हैसियत र यी निवेदकको हैसियतमा देखिएको तथ्यगत भिन्नतालाई अनदेखा गरी निवेदकले उपचार पाउन सक्ने हुदैन । कुनै खास व्यक्तिको हकमा गरेको तथ्यगत विवेचना सहितको निर्णय नजीर नभै दृष्टान्त मात्र हुन्छ । खास कानूनको प्रचलनको लागि कानूनको व्यवस्थामा गरिएको ब्याख्या मार्फत प्रतिपादित हुने सिद्धान्त नजीर हुन्छ । सो प्रस्तुत गर्नुको छुट्टै औचित्य रहन्छ । बिना कानूनी सिद्धान्त, कुनै कुराको दृष्टान्तलाई आधार वनाई नजीर मानी उपचार दिन मिल्दैन ।
४. निवेदक कुन रुपमा सेवामा प्रवेश गरेका थिए भन्ने कुरा महत्वपूर्ण नभै सेवाबाट अवकाश लिने वेला कहाँ कुन सेवा समूहमा कार्यरत छन् र कुन नियम आकृष्ट हुन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।
५. विनियम ६३ को प्रावधान निवेदकको हकमा मात्र लागू नभै निवेदक सरहका Crew समूहमा आवद्ध सवै कर्मचारीहरू बीच आकृष्ट हुने भएबाट कानूनको प्रयोगमा भेदभाव भयो वा आफूलाई असमान व्यवहार गरियो भन्न मिल्दैन । समानहरूका वीचमा भएको समान व्यवहारले समानताको सिद्धान्त उल्लंघन हुन सक्दैन । तसर्थ निवेदकको संवैधानिक एवं कानूनी हक हनन् भयो भन्न सकिने अबस्था देखिन आउँदैन । तथापि यस अदालतबाट २०६४।३।३२ मा जारी भएको अन्तरिम आदेशबमोजिम निवेदकलाई विपक्षी निगममा हाजिर गराई काममा लगाएको देखिएकोले हाजीर अवधिको निजको मागबमोजिम पाउने तलव भत्ता सुविधा सम्बन्धमा विपक्षीको दायित्व नरहने भन्न मिलेन । सो बाहेक मागबमोजिम आदेश जारी हुने नदेखिएको अबस्थामा तलव भत्ता सुविधा समेत पाउने जिकीर गर्न मिल्न देखिन्न ।
६. निचोडमा उल्लिखित विवेचनाबाट यी निवेदक विमान परिचालकको पदमा कार्यरत रहेको अबस्थामा विमान परिचालक वा परिचालिकाको हकमा ५० बर्ष उमेर पूरा भएपछि अनिवार्य अवकाश दिने भन्ने विनियम ६३ को कानूनी प्रावधानअनुसार विपक्षी नेपाल वायूसेवा निगमले निवेदकलाई अवकाश दिने गरी भएको निर्णय एवं सो सँग सम्बन्धित सम्पूर्ण काम कारवाही त्रुटिपूर्ण नदेखिदा मागबमोजिमको आदेश जारी गर्न मिलेन । रिट निवेदन खारेज भई यस अदालतबाट जारी भएको अन्तरिम आदेश समेत निष्क्रिय हुने ठहर्छ । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाईदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.अवधेशकुमार यादव
इति संवत् २०६६ साल असार २१ गते रोज १ शुभम्
इजलास अधिकृतः रमेशप्रसाद ज्ञवाल