निर्णय नं. ८७८८ - अंश चलन

ने.का.प. २०६९, अङ्क ३
निर्णय नं. ८७८८
सर्वोच्च अदालत संयुक्त इजलास
माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ
माननीय न्यायाधीश श्री प्रकाश वस्ती
मुद्दा नं.: २०६७–CI– १५९८
मुद्दा नं.: २०६८–CI– ०४२०
फैसला मितिः २०६८।१२।२२।४
मुद्दाः अंश चलन ।
पुनरावेदक प्रतिवादीः वागमती अञ्चल, ललितपुर जिल्ला, ल.पु.उ.म.न.पा वडा नं २० नटोल वस्ने सानुमाया महर्जन समेत
विरुद्ध
प्रत्यर्थी वादीः ललितपुर जिल्ला, ल.पु.उ.म.न.पा वडा नं २० नटोल वस्ने वुद्धिलाल महर्जन
पुनरावेदक प्रतिवादीः ललितपुर जिल्ला, ल.पु.उ.म.न.पा वडा नं २० नटोल वस्ने रत्नमाया महर्जन
विरुद्ध
प्रत्यर्थी वादीः ऐ ऐ बस्ने बाबुलाल महर्जन
शुरु फैसला गर्ने
मा.न्या.श्री प्रकाशचन्द्र गजुरेल
पुनरावेदन फैसला गर्नेः
मा.न्या.श्री हरिवंश त्रिपाठी
मा.न्या.श्री इश्वरप्रसाद खतिवडा
§ लिखतमा बकसपत्र शब्द प्रयोग गर्दैमा त्यसमा उल्लिखित सम्पत्ति स्वतः बण्डा नलाग्ने प्रकृतिमा पर्ने होइन । तर बकसपत्र दाता र प्राप्तकर्ताको सम्बन्ध, बकसपत्र दिनुपर्ने कारणको औचित्यको प्रामाणिक विश्लेषण गरी निष्कर्ष निकाल्न पर्ने हुन्छ । सो बकसपत्रको लिखत गर्दा राजीनामा सरह रकम लेनदेन भएको, अन्य अंशियारलाई अंश हकबाट वञ्चित गर्न मात्र बकसपत्र शब्द लेखिएको र दाताले प्राप्तकर्तालाई बकस दिनुपर्ने कुनै कारण तथा औचित्य नरहेको कुरा सो लिखतमा उल्लिखित सम्पत्ति बण्डा लागोस् भन्ने पक्षले प्रमाण दिई सो प्रमाणित भएमा बकसपत्र लेखिएको सम्पत्ति पनि बण्डा हुन सक्ने ।
§ सगोलकै सम्पत्ति लगानी गरी श्रीमतीका नाममा बकसपत्र गर्न जालसाजीयुक्त व्यवहार गरेको जिकीर प्रमाणबाट पुष्टि भएको स्थितिमा बकस पत्र शब्द लेखिँदैमा सोमा उल्लिखित सम्पत्ति बण्डा लाग्दैन भन्न नसकिने ।
(प्रकरण नं.२)
§ सगोलको अवस्थामा राजीनामा पारीत गराई लिएको उक्त घर जग्गालाई निजी ज्ञान सीपवाट आर्जन गरिएको सम्पत्ति हो भनी जिकीर मात्रको आधारमा अनुमान गर्न मिल्दैन । निजले निजी ज्ञान सीपबाट आर्जन गरी खरीद गरेको भने पनि वस्तुनिष्ठ प्रमाणको अभावमा एकासगोलमा रहेका कुनै अंशियारको नाममा रहेको तथा खरीद गरेको सम्पत्तिमा सबै अंशियारको समान हक लाग्ने ।
(प्रकरण नं.३)
§ एकासगोलमा रहे बसेको अवस्थामा कुनै अंशियारले अर्को अंशियारलाई सगोलको पैतृक सम्पत्तिको हक हस्तान्तरण गर्दैमा त्यस्तो सम्पत्तिमा अन्य अंशियारको हकाधिकार समाप्त हुन्छ भन्न नमिल्ने ।
§ एकासगोलका अन्य अंशियारको अंश हकमा असर पर्ने गरी हक हस्तान्तरण गर्दैमा सगोलका अन्य अंशियारहरूको हक अधिकारमाथि प्रतिकूल असर पर्न सक्दैन । साथै आमा वावुका नाममा जुनसुकै स्रोतवाट आएको सम्पत्ति निजहरूका सन्तान अर्थात् दोस्रो तहमा अंशियार छोरा छोरीका लागि पैतृक सम्पत्ति नै मान्नुपर्ने र त्यसमा छोरा छोरीलाई बण्डा हुने ।
(प्रकरण नं.४)
पुनरावेदक तर्फबाटः उपस्थित विद्वान अधिवक्ता तेजवहादुर राई
प्रत्यर्थी वादी तर्फबाटः
अवलम्बित नजीरः
सम्बद्ध कानूनः
§ प्रमाण ऐन, २०३१ को दफा ६, ६(क)
फैसला
न्या.प्रकाश वस्तीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत, पाटनको फैसलाउपर पुनरावेदन पत्र दायर भै पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः –
पिता राम महर्जन र आमा सानुमाया महर्जनबाट छोराहरू जेठो म फिरादी वुद्धिलाल, कान्छो सानुकाजी र छोरीहरूमा जेठी राममाया, माहिली ज्ञानीमाया महर्जन, साइली सरस्वती र कान्छी चण्डेश्वरी महर्जनको जायजन्म भएको थियो । पिता रामको २०६३।८।६ मा र भाइ सानुकाजीको समेत आ–आफ्नो कालगतिबाट परलोक भैसकेको छ । भाइ सानुकाजीको हक खाने हकदार निजको श्रीमती सक्कली महर्जन र छोराहरू राजेश महर्जन र रवीन महर्जन छन् । पिताजीको जेठो छोरी राममाया र कान्छी चण्डेश्वरी विवाह भैसकेको हुनाले विवाह हुन वाँकी रहेको ज्ञानीमाया र सरस्वती समेत गरी पाँच अंशियार रहेकोमा, मैले घर सल्लाह नगरी २०२६ सालमा प्रेम विवाह गरेको हुँदा मलाई घरमा हेला गर्न थालेकोले म २०३० साल देखि आफ्नो दुःखजिलो गरी बाहिर वस्दै आएकोमा पिताजीको मृत्युपश्चात् उहाँको काजकिरिया गरिसकेपछि मलाई आमा तथा बहिनीहरूले घरमा बस्न नदिएको हुनाले बाहिर नै बसी आएको छु । मिति २०६५ साल वैशाखमा आमा सानुमाया महर्जनसँग समेत मेरो अंश भाग दिनुहोस् भनी अनुरोध गर्दा तिमीहरूले अंश पाउँदैनौ, तिमीहरूलाई अंश दिन्न भन्नु भएको हुनाले वाध्य भै यो फिराद गर्न आएको छु । तसर्थ बण्डा गर्नुपर्ने सम्पूर्ण चल अचल श्रीसम्पत्ति प्रतिवादीहरू जिम्मा भएको हुनाले फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी अंशबण्डाको २०,२१,२२,२३,२४ नं बमोजिम तायदाती फाँटवारी लिई ५ भागको १ भाग मेरो अंश दिलाइ अड्डैबाट चलन समेत चलाई पाऊँ भन्ने मुख्य फिराद दावी ।
फिराद पत्रमा उल्लिखित पुस्तावारी ठीक भएता पनि विपक्षीको अन्य कथनहरू मिथ्या रहेका छन् । विपक्षी सगोलमा रही सम्पूर्ण व्यवहार सञ्चालन भैआएको छ । सगोलको सम्पत्तिवाट विपक्षीले आफ्नो एवं आफ्नो परिवारको नाममा समेत अचल सम्पत्ति खरीद गरेका छन् । २०३० सालदेखि बाहिर नै बसेको भनी आफ्नो नाममा जोडेको सम्पत्ति एकलौटी खानको लागि निजले हाल आएर अंश मुद्दा दायर गरेका हुन् । विपक्षीले घरव्यवहार चलाउन कहिल्यै जिम्मेवारी लिनु भएन, घरको जेठो छोरा भएता पनि बृद्ध बाबु आमालाई हेरचाह, स्याहार सुसार समेत एवं भाइ बहिनीलाई हेरविचार गर्नुपर्नेमा उल्टै निजले यो मुद्दा दायर गरी हामीलाई दुःख दिएको हो । प्रचलित कानूनबमोजिम बण्डा नलाग्ने सम्पतिबाहेक विपक्षी समेतको नाममा रहेको सम्पूर्ण सम्पत्तिहरू बण्डा लगाउनमा हाम्रो मञ्जूरी छ । हामीले विपक्षीलाई अंश दिन्नौँ भनेका होइनौँ, छैनौँ भन्ने समेत व्यहोराको प्रतिवादीहरू सानुमाया महर्जन, सक्कली महर्जन, राजेश महर्जन, ज्ञानीमाया महर्जन र सरस्वती महर्जन समेतको संयुक्त प्रतिउत्तर पत्र ।
अदालतको आदेशानुसार बुझिएका वादीका साक्षीको बकपत्र र वादी प्रतिवादीबाट माग भै आएको तायदाती फाँटवारी मिसिल सामेल रहेको ।
श्रीमान डकर्मी काम गर्ने हुँदा घर खर्च चलाउन समेत कठिनाई हुन्थ्यो, मैले भट्टी पसल खोली सो समेतबाट कमाएको रकमबाट आर्जन गरेको हुँदा कि.नं. ३५ र ३६ समेतको जग्गा मेरो निजी आर्जनको दुःखवाट आर्जेको सम्पत्ति हुदा बण्डा लाग्ने होइन भन्ने यस अदालतको आदेशानुसार अ.व १३९ नं बमोजिम बुझिएकी रत्नमाया महर्जनले गरेको बयान मिसिल सामेल रहेको र प्रतिवादी कारणी सरह देखिँदा तारिखमा राख्नु भन्ने भएको आदेशानुसार निज रत्नमाया महर्जन पनि कारणी सरह नै तारिखमा रहेकी ।
मिसिल संलग्न प्रमाणहरूवाट वादीले अंश पाउने देखिँदा तायदातीमा देखाइएका ऋणको हकमा पछि साहूले उजूर गरेका बखत ठहरेबमोजिम हुने नै हुँदा हाल ऋण बण्डा गरिरहनु परेन । तसर्थ वादी र प्रतिवादीले पेश गरेको तायदातीमा उल्लिखित सम्पूर्ण घर जग्गावाट पाँच भागको एक भाग अंश वादीले छुट्याई चलन चलाई पाउने ठहर्छ भन्ने शुरु ललितपुर जिल्ला अदालतको मिति २०६६।२।२५ को फैसला ।
ललितपुर जिल्ला ल.पु.उ.न.पा. वडा न. ४(झ) कि.नं ९१ कित्ताकाट भई कायम भएको कि.नं. २८५ को घर जग्गा र २८६ को जग्गा साथै ऐ.ऐ. कि.न. ९२ को जग्गा बण्डा लगाइएको हदसम्म हामीहरूलाई चित्त नबुझेकोले पुनरावेदन गरेका हौँ । मिति २०३२।५।२ को छोडपत्रको लिखतमा म सानुमायाको दाइजो पेवाको रकम पति राम महर्जनले मास्नु भएको हुँदा म सानुमायालाई सो दुई कित्ता घर जग्गा छोडपत्र गरिदिनु भएको देखिन्छ । तसर्थ उक्त सम्पत्ति मेरो पेवा हो । बण्डा गर्नुपर्ने सम्पत्ति होइन । नेकाप २०४८ नि.नं ४४१२ पृष्ठ संख्या ७४५ को तथ्य एवं पृष्ठभूमि र प्रस्तुत मुद्दाको तथ्य एवं पृष्ठभूमि मिलेको हुँदा सो नजीर प्रस्तुत मुद्दामा आकर्षित हुन्छ । म सानुमाया महर्जनले मिति २०३२।५।२ मा प्राप्त गरेको कि.नं ९१ मध्येवाट कित्ताकाट भई कायम रहेको कि.न. २८५ बाट ज.रो ०–६–०–१ को घर जग्गा र र.नं. ५३७२ मार्फत म राजेश महर्जनलाई सोही कि.न. ९१ कित्ताकाट भई कायम रहेको कि.न २८६, कि.नं. ९२ को जग्गा र .नं ५३७३ को राजीनामा मार्फत हामीहरू सरस्वती महर्जन र ज्ञानीमाया महर्जनलाई हक हस्तान्तरण गरिएको हो । प्रस्तुत मुद्दामा शुरु ललितपुर जिल्ला अदालतबाट भएको मिति २०६६।२।२५ को फैसला उल्लिखित हदसम्म नमिल्नुका अतिरिक्त कानूनी त्रुटिपूर्ण समेत भएको हुँदा उक्त फैसला सो हदसम्म बदर गरी हाम्रो पुनरावेदन जिकीरबमोजिम न्याय पाऊँ भनी पुनरावेदकहरू सानुमाया महर्जन, सक्कली महर्जन, राजेश महर्जन, ज्ञानीमाया महर्जन र सरस्वती महर्जनको मिति २०६६।५।४ को संयुक्त पुनरावेदन पत्र ।
मैले वुलाल महर्जनवाट हा.व. वाट पाएको ल.पु.जि.ल.पु.उप.न.पा. वडा नं २० (ख) कि.नं ६४१ को घर जग्गा मैले निज दाताको परिआएको काममा सहयोग गरेबापत खुशी भई मलाई वकसपत्र गरी दिएका हुन् । हा.व. लेखिदिन केवल नाताका मानिसले मात्र पाउँछन भन्ने होइन । त्यस्तै ऐ.ऐ. कि.न. ३५ र ३६ को जग्गा र घर मेरो ज्ञान सीपवाट आर्जन गरी लिएको हुँदा बण्डा गर्न कर नलाग्ने सम्पत्ति हो । मुलुकी ऐन, स्त्री अंशधनको १, ४, ५ तथा अंशबण्डाको १८ नं. बमोजिम मेरो निजी आर्जनको घर जग्गा भएकोले बण्डा लाग्ने गरी भएको शुरु फैसला बदरभागी छ साथै अ.व. १८४, प्रमाण ऐन, २०३१ को दफा ३, ५४ बमोजिम लिनुपर्ने प्रमाण नलिई नलिनु पर्ने प्रमाण लिई नजीर सिद्धान्त समेत प्रतिकूल हुने गरी भएको फैसला बदर गरी मेरो निजी आर्जनको एकलौटी हुने गरी फैसला गरिपाऊँ भन्ने पुनरावेदिका रत्नमाया महर्जनको मिति २०६६।७।२० को पुनरावेदन पत्र ।
कि.नं. ६४१ को घर जग्गा निजले आर्जेको बण्डा गर्न कर नलाग्ने घर जग्गा भएकोले सो घर जग्गा समेतलाई बण्डा लाग्ने ठहर्याई ल.पु.जि.अ.ले मिति २०६६।२।२५ मा गरेको फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी हुन्छ । अरु कुराको हकमा सो फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, पाटनवाट मिति २०६७।३।२८।२ को फैसला ।
ललितपुर जिल्ला, ल.पु.उ.म.न.पा.वडा नं. २०९(ख) कि.नं ६४१ को ज.रो. ०–०–३–० को घर जग्गा पुनरावेदिका प्रतिवादी रत्नमायाले वुलाल महर्जनवाट मिति २०५१।१।१९ को हालैदेखिको वकसपत्र बमोजिम प्राप्त गर्दैमा सो सम्पत्ति निजको बण्डा नलाग्ने निजी आर्जन अन्तर्गतको हुने होइन । लिखतको नामाकरणको कारणले मात्र सम्पत्तिको स्रोत यकीन हुने होइन । दिनेको के हैसियत थियो, लिने र दिनेबीचको वास्तविक के सम्बन्ध थियो आदि कुराहरू अदालतले हेर्नु पर्दछ । प्रस्तुत मुद्दामा पुनरावेदन अदालत, पाटनले शिलादेवी थरुनीको मुद्दामा प्रतिपादित कानूनी सिद्धान्तको विपरीत वकसपत्र गरिदिनेको हैसियत, दिने लिनेबीचको सम्बन्ध आदि कुनै पनि कुराको समुचित मूल्याङ्कन गरेको छैन । सम्बन्धित लिखत हालैदेखिको वकसपत्र भएको कारणले मात्र सो सम्पत्ति निज रत्नमायाको निजी कायम गरी बण्डा नलाग्ने ठहर्याइएको पुनरावेदन अदालत, पाटनवाट भएको फैसला यस सम्मानीत अदालतबाट प्रतिपादित माथि उल्लिखित कानूनी सिद्धान्तको एवं अंशबण्डाको महलको १८ नं को विपरीत फैसला हुन गएको प्रष्टै छ ।
साविक कि.नं ९१ र हालसम्म कायमै रहेको कि.नं ९२ को स्रोत भनेको दिने राम महर्जन लिने म सानुमाया महर्जन भएको मिति २०३२।५।२ को पारीत छोडपत्रको लिखत हो । सो लिखत हेरिएमा म सानुमायाको दाइजो पेवाको रकम पति राम महर्जनले मास्नु भएको हुँदा म सानुमायालाई सो दुई कित्ता घर जग्गा छोडपत्र गरिदिनु भएको देखिन्छ । मुलुकी ऐन, स्त्री अंशधनको ४ नं बमोजिम उपरोक्त उल्लिखित सम्पत्ति मेरो पेवा ठहर्दछ भन्ने ऐ ५ नं मा भएको कानूनी व्यवस्थानुसार मैले सो सम्पत्ति आफूखुश गर्न पाउँदछु । उपरोक्त उल्लिखित तथ्य एवं कानूनी स्थितिलाई समग्र रुपमा हेर्दा मिति २०३२।५।२ वाटै उक्त सम्पत्तिमाथि विपक्षीको हक टुटिसकेको छ । यस स्थितिमा सो सम्पत्ति बण्डा लाग्ने हुन्न । यस स्थितिमा ती कित्ताहरू बण्डा लाग्ने ठहर गरिएवाट मुलुकी ऐन लेनदेन व्यवहारको महलको ८ नं ऐ स्त्री अंशधनको ४, ५ नं. को त्रुटि हुनआएको हुँदा पुनरावेदन अदालत पाटनवाट भएको मिति २०६७।३।२८को फैसला सो हदसम्म त्रुटिपूर्ण भएको हुँदा सो फैसला सो हदसम्म बदर गरी प्रस्तुत मुद्दामा हामीहरूका पुनरावेदन जिकीर समेत बमोजिम गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी सानुमाया महर्जन समेत जना ५ प्रतिवादीको यस अदालतमा दायर भएको पुनरावेदन पत्र ।
पुनरावेदन अदालत, पाटनवाट फैसला गर्दा मैले वुलाल महर्जनवाट मिति २०५१।९।१९ मा हा.व. पाएको ल.पु.जि.ल.पु.उ.म.नं.पा वडा न. २०/ख कि.न. ६४१ क्षेत्रफल ०–०–३–० जग्गा र सो जग्गामा बनेको घर बण्डा नलाग्ने गरी भएको फैसलामा चित्त बुझी मैले आफ्नो परिश्रमवाट कमाएको कि.नं ३५ र ३६ को जग्गा बण्डा लाग्ने गरेको फैसलाको हदसम्म चित्त बुझेको छैन । कि.नं. ३५ र ३६ को घर जग्गा मेरो आफ्नो निजी आर्जन भई स्त्री अंशधनको १, ४, ५ र अंशबण्डाको १८ नं बमोजिम बण्डा नलाग्ने निजी आर्जनको हो भनी अदालतमा बयान गर्दा स्पष्ट उल्लेख गरेको छु । मेरो वुद्धिलाल महर्जनसँग २०३० सालमा प्रेम विवाह भएकोले घरमा नराखेकोले बाहिर वसी गलैचा बुन्ने काम गर्नुको साथै भट्टी पसल राखी स्वाआर्जन गरी कमाएको रकम र नपुग रकम माइतीले दिई ल.पु.जि.ल.पु.उ.म.न.पा वडा न. २० कि.नं. ३५ को क्षेत्रफल ०–०–२–३ श्याम महर्जनवाट र ऐ ऐ. कि.न. ३६ क्षेत्रफल ०–०–३–० जग्गा र घर मिति २०३७।१२।१ मा लानी थकुसँग लिएको घर जग्गा हो । मलाई प्रेम विवाह गरेको भनी घरमा बस्न नदिई बाहिर बसी मेरो श्रम सीपवाट कमाएको धन र माइतीले दिएको रकमवाट किनेको हो । अन्य प्रत्यर्थीहरूले उक्त घर जग्गा निजी आर्जन होइन सँगोलको आर्जनवाट खरीद गरेको भनेका पनि छैनन् । मैले आफ्नो निजी आर्जन भनी सो कुरालाई मेरो साक्षीले अदालतमा आई बकपत्र गरी पुष्टि गरी रहेको अवस्था छ । तसर्थ कि.न. ३५ र ३६ को जग्गा बण्डा लाग्ने गरी भएको फैसला मुलुकी ऐन, अ.वं. १८४क, १८५ तथा प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ बमोजिम लिनुपर्ने प्रमाण नलिई नलिनु पर्ने प्रमाण लिई मलाई हराई भएको हुनाले सो हदसम्म ललितपुर जिल्ला अदालतबाट भएको फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६७।३।२८ मा भएको फैसला सो हदसम्म बदर गरी मेरो निजी ठहराई पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी रत्नमाया महर्जनको यस अदालतमा दायर भएको पुनरावेदन पत्र ।
नियमबमोजिम पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दामा मिसिल संलग्न कागजातहरूको अध्ययन गरी पुनरावेदक रत्नमाया महर्जनका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री तेजवहादुर राईले गर्नु भएको बहस समेत सुनी वादीले पाँच भागको एक भाग अंश छुट्याई चलन चलाई लिन पाउने समेत ठहर्याई ललितपुर जिल्ला अदालतले मिति २०६६।२।२५ मा गरेको फैसला केही उल्टी गरी कि.न. ६४१ जग्गा घर बण्डा नलाग्ने अन्य सम्पत्ति बण्डा लाग्ने ठहराएको पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ छैन अर्थात् प्रतिवादीहरूको पुनरावेदन जिकीर पुग्ने हो होइन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
प्रतिवादी रत्नमायाले कि.नं. ३५,३६ का घर जग्गा निजी आर्जनका हुँदा बण्डा लाग्ने हैन भन्ने र सानुमाया महर्जन समेतले कि.नं. ६४१ को जग्गा बण्डा लाग्ने हो र कि.नं. ९१ र ९२ को घर जग्गा पेवाबापत प्राप्त स्त्री अंशधनको सम्पत्ति हुँदा बण्डा लाग्ने हैन भनी पुनरावेदन जिकीर लिएको देखिँदा तत्सम्बन्धमा पुनरावेदन अदालतको फैसला विचार गर्नुपर्ने देखियो ।
२. इन्साफतर्फ विचार गर्दा प्रतिवादी रत्नमाया महर्जनले मिति २०५१।९।१९ मा हालैको वकसपत्रवाट प्राप्त गरेको कि.नं ६४१ को ज.रो ०–०–३ र सो जग्गामा वनेको घर समेत निजी आर्जन ठहराएको हकमा सानुमाया समेतको र कि.नं. ३५ को ज.रो. ०–०–२–३ र कि.नं. ३६ को ०–०–३–० र सो जग्गाहरूमा रहेको घर समेत बण्डा लाग्ने ठहराएकोमा निजी ज्ञान, सीप र परिश्रमबाट आर्जन गरिएको घर जग्गा बण्डा गर्न कर नलाग्ने घर जग्गा भएकोले पुनरावेदन अदालतले गरेको फैसलामा पुनरावेदक रत्नमाया समेतको चित्त नबुझी प्रस्तुत पुनरावेदनहरू दायर भएको देखियो । कि.न. ६४१ को घर जग्गा मिति २०५१।९।१९ मा पुनरावेदिका रत्नमायाले वुलाल महर्जनवाट र.नं ४०३७ को हालैको बकसपत्र पारीत गराई लिएको पाइन्छ । उक्त बकसपत्रको कैफियत महल हेर्दा तपाई रत्नमाया महर्जनले मलाई परी आएको काममा सक्दो सहयोग गरी रिझाउनु भएकोले यो घर जग्गा हा.व. लेखिदिएको छु भनी दाताले वकसपत्र गरी दिनुपर्ने कारण र आधार समेत खुलाई लिखत पारीत गरी दिएको पाइन्छ । दाता र प्राप्तकर्ताबीचको उपरोक्तबमोजिमको व्यवहार र सम्बन्धको यथार्थतालाई कुनै पनि पक्षले चुनौती दिई अन्यथा प्रमाणित गर्न सकेको पाइदैन । मुलुकी ऐन, अंशबण्डाको मलहको १८ नं. अनुसार कसैबाट निजी तवरले दान वा वकस पाएको सम्पत्ति सो आर्जन गर्ने वा पाउने अंशियारको निजी ठहरी आफूखुशी गर्न पाउने र बण्डा गर्न कर नलाग्ने भन्ने स्पष्ट कानूनी व्यवस्था पाइन्छ । लिखतमा बकसपत्र शब्द प्रयोग गर्दैमा त्यसमा उल्लिखित सम्पत्ति स्वतः बण्डा नलाग्ने प्रकृतिमा पर्ने होइन तर बकसपत्र दाता र प्राप्तकर्ताको सम्बन्ध, बकसपत्र दिनुपर्ने कारणको औचित्यको प्रामाणिक विश्लेषण गरी निष्कर्ष निकाल्न पर्ने हुन्छ । सो बकसपत्रको लिखत गर्दा राजीनामा सरह रकम लेनदेन भएको, अन्य अंशियारलाई अंश हकबाट वञ्चित गर्न मात्र बकसपत्र शब्द लेखिएको र दाताले प्राप्तकर्तालाई बकस दिनुपर्ने कुनै कारण तथा औचित्य नरहेको कुरा सो लिखतमा उल्लिखित सम्पत्ति बण्डा लागोस् भन्ने पक्षले प्रमाण दिई सो प्रमाणित भएमा बकसपत्र लेखिएको सम्पत्ति पनि बण्डा हुन सक्दछ । यस सन्दर्भमा सगोलकै सम्पत्ति लगानी गरी श्रीमतीका नाममा बकसपत्र गर्न जालसाजीयुक्त व्यवहार गरेको जिकीर प्रमाणबाट पुष्टि भएको स्थितिमा बकस पत्र शब्द लेखिँदैमा सो मा उल्लिखित सम्पत्ति बण्डा लाग्दैन भन्न सकिँदैन । प्रस्तुत विवादमा प्रतिवादी पक्षबाट यस्ता कुनै जिकीर प्रमाण तथा दावी प्रस्तुत हुन सकेको पाइएन । अतः प्रतिवादी रत्नमाया महर्जनले र.नं ४०३७ को मिति २०५१।९।१८ को हालैको वकसवाट प्राप्त गरेको कि.नं ६४१ को घर जग्गा निजको निजी आर्जनको आपूmखुसी गर्न पाउने बण्डा गर्न कर नलाग्ने अवस्थाको देखिएकोले सो घर जग्गा समेतलाई बण्डा नलाग्ने ठहराएको पुनरावेदन अदालतको फैसला मुनासिव नै देखियो ।
३. कि.न.३५ र ३६ को घर जग्गा समेत प्रतिवादी रत्नमायाको निजी ज्ञान, सीप र परिश्रमवाट आर्जन गरिएकोले बण्डा गरेको मिलेको छैन भनी पुनरावेदिकाले लिएको जिकीरबारे विचार गर्दा, निजी आर्जन सम्बन्धी उक्त जिकीरलाई प्रमाणित गर्न निजले कुनै ठोस प्रमाण पेश गर्न सकेको पाइँदैन । सगोलको अवस्थामा राजीनामा पारीत गराई लिएको उक्त घर जग्गालाई निजी ज्ञान सीपवाट आर्जन गरिएको सम्पत्ति हो भनी जिकीर मात्रको आधारमा अनुमान गर्न मिल्दैन । निजले निजी ज्ञान सीपबाट आर्जन गरी खरीद गरेको भने पनि वस्तुनिष्ठ प्रमाणको अभावमा एकासगोलमा रहेका कुनै अंशियारको नाममा रहेको तथा खरीद गरेको सम्पत्तिमा सबै अंशियारको समान हक लाग्ने हुन्छ । प्रमाण ऐन, २०३१ को दफा ६(क) को कानूनी व्यवस्थाले यही मान्यतालाई आत्मसात् गरेको छ । तसर्थ कि.नं ३५ र ३६ को उपरोक्त घर जग्गालाई सगोलका सबै अंशियारको हक लाग्ने जग्गा भनी ठहर गरेको पुनरावेदन अदालतको फैसला कानूनसम्मतनै देखियो । यससम्बन्धी प्रतिवादीको पुनरावेदन जिकीर कानूनसम्मत् देखिएन ।
४. पति राम महर्जनले साविक कि.नं ९१ कित्ता काट भई कायम भएको कि.नं २८५ को घर जग्गा र कि.नं २८६ को जग्गा प्रतिवादी सानुमायाको दाइजो पेवाको रकम मिसिएको कारणले मिति २०३२।५।२ मा पारीत गरी दिएका छोडपत्रअन्तर्गतको दाइजो पेवाको सम्पत्ति भएकोले त्यस्तो घर जग्गालाई बण्डा लगाएको मिलेको छैन भनी प्रतिवादी सानुमाया महर्जन समेतले लिएको पुनरावेदन जिकीरबारे विचार गर्दा, एकासगोलमा रहे बसेको अवस्थामा कुनै अंशियारले अर्को अंशियारलाई सगोलको पैतृक सम्पत्तिको हक हस्तान्तरण गर्दैमा त्यस्तो सम्पत्तिमा अन्य अंशियारको हकाधिकार समाप्त हुन्छ भन्न मिल्ने देखिँदैन । एकासगोलका अंशियारमा भएको हक हस्तान्तरणलाई मान्यता दिदैं जाने हो भने मन नपरेको अंशियारको जो कसैले जो कसैको हक मेटाउने ध्येयले मन परेका अंशियारलाई हक हस्तान्तरण गर्दै जाने सम्भावना हुन्छ । पैतृक सम्पत्तिमा एकासगोलका सबै अंशियारको अंश हकलाई नैसर्गिक हकको रुपमा स्वीकारिएको छ । त्यसै भएर प्रमाण ऐन, २०३१ को दफा ६ ले जुनसुकै सगोलका अंशियारको नाउमा रहेको सम्पत्तिमा सवै अंशियारको समान हक लाग्छ भनी अदालतले अनुमान गर्ने गरी विधायिकाले अदालतलाई यस सम्बन्धमा न्यूनतम् मापदण्ड निर्देशित गरेको देखिन्छ । उक्त घर जग्गा त्यसरी हक छाडी दिने निजको पति राम महर्जनको स्वआर्जनको सम्पत्ति नभई पैतृक सम्पत्ति देखिन्छ । यसरी एकासगोलका अन्य अंशियारको अंश हकमा असर पर्ने गरी हक हस्तान्तरण गर्दैमा सगोलका अन्य अंशियारहरूको हक अधिकारमाथि प्रतिकूल असर पर्न सक्दैन । साथै आमा वावुका नाममा जुनसुकै स्रोतवाट आएको सम्पत्ति निजहरूका सन्तान अर्थात् दोस्रो तहमा अंशियार छोरा छोरीका लागि पैतृक सम्पत्ति नै मान्नुपर्ने र त्यसमा छोरा छोरीलाई बण्डा हुन्छ । यस परिस्थितिमा उक्त सम्पत्ति निजी ठहराइनु पर्दछ भन्ने प्रतिवादीको पुनरावेदन जिकीरसँग सहमत हुन सकिएन ।
५. तसर्थ, माथिका उल्लिखित आधार कारण तथा विवेचनाअनुसार शुरु फैसला केही उल्टी गरी प्रतिवादी रत्नमाया महर्जनले मिति २०५१।९।१९ मा हालैदेखिको वकसपत्रवाट प्राप्त गरेको कि.नं ६४१ को जग्गा रोपनी ०–०–३ र सोमा बनेको घरसम्म निजको निजी आर्जनको ठहर्याई बण्डा नलाग्ने अन्य तायदातीमा उल्लिखित सम्पत्तिवाट वादीले पाँच भागको एक भाग अंश पाउने ठहराएको पुनरावेदन अदालत पाटनको मिति २०६७।३।२८।२ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीहरूको पुनरावेदन जिकीर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू ।
उक्त रायमा म सहमत छु ।
न्या.कल्याण श्रेष्ठ
इति संवत् २०६८ साल चैत २२ गते ४ शुभम् .....
इजलास अधिकृतः बिष्णुप्रसाद उपाध्याय