शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८९८८ - कर्तव्य ज्यान

भाग: ५५ साल: २०७० महिना: श्रावण अंक:

ने.का.प. २०७०,           अङ्क ४

निर्णय नं.८९८८

सर्वोच्च अदालत, पूर्ण इजलास

माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह

माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ

माननीय न्यायाधीश श्री कमलनारायण दास

फौ.पु.ई.नं.०६८–CF–००१६

फैसला मितिः २०६९।६।१८।५

 

मुद्दाः कर्तव्य ज्यान ।

 

पुनरावदेक प्रतिवादीः जिल्ला रूपन्देही, गा.वि.स.पर्रोहा, वडा नं. ६ बनकट्टा घर भई जिल्ला          कारागार शाखा, रूपन्देहीमा थुनामा रहेको अम्बरबहादुर पुन मगर

विरुद्ध

प्रत्यर्थी वादीः विनोद शर्मासमेतको जाहेरीले नेपाल सरकार

 

§  कुनै अमुक घटना वा व्यवहार कुनै व्यक्तिका लागि तत्कालै गम्भीर प्रकृतिको रीस उठ्ने विषय बन्न सक्दछ भने कसैका लागि सामान्य वा कसैकसैलाई रीसै नउठ्ने पनि हुन सक्दछ । त्यसैले के कस्तो आचरण वा व्यवहारबाट के कस्तो प्रकृतिको के कति मात्रामा रीस उठ्छ वा उठ्दैन भन्ने कुराको स्वीकार्य मापदण्ड बनाउन सजिलो हुँदैन । तर तत्काल उठेको रीसबाट आवेशमा आई गरिने आचरण, व्यवहार वा क्रियाकलापको न्यूनतम् स्वीकार्य मापदण्ड भने हुन सक्ने ।

(प्रकरण नं.१०)

§  घाँटी न्याकी पटकपटक टेबुलमा टाउको ठोक्काइएको कारणबाट बेहोस भई भूइँमा लडेकी महिलालाई निजकै (चुन्नी) सलले घाँटी कसेर मारिएको क्रिया मुलुकी ऐन ज्यानसम्बन्धी महलको १४ नं. ले परिकल्पना गरेको तत्काल उठेको रीस थाम्न नसकी गरेको कार्य तथा सामान्य लाठा, ढुङ्गा वा लात मुक्काले हानेको अवस्था नभै घाँटीमा सलले कसी मारेको क्रियालाई यसअन्तर्गत समावेश गर्न नमिल्ने ।

§  पटकपटक टाउको ठोक्काई पहिले नै बेहोस भई लडेको व्यक्तिको पुनः घाँटी कसी मार्नेसम्मको कार्य गरिन्छ भने त्यस्तोमा मानिस मार्ने मनसाय थियो थिएन भनी खोजी गरिरहनु पर्दैन । सो कार्य स्वयं नै मनसाय पुष्टि हुने पर्याप्त र वस्तुनिष्ठ आधार हो । यस्ता कतिपय क्रूर र अमानवीय हत्याका वारदातमा आपराधिक कार्यबाट नै मनसाय निःसृत हुने हुँदा मनसाय तत्वको निरपेक्ष खोजी गर्न आवश्यक नहुने ।

(प्रकरण नं.११)

 

पुनरावेदक प्रतिवादीतर्फबाटः विद्वान अधिवक्ता चन्द्रकान्त ज्ञवाली

प्रत्यर्थी वादीतर्फबाटः

अवलम्बित नजीरः

§  नेकाप २०६४, नि.नं.७८९१, पृष्ठ १३५१

सम्बद्ध कानूनः

§  मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३), १४ नं.

 

शुरू फैसला गर्नेः

मा.न्या.श्री हरिकुमार पोखरेल

पुनरावेदन फैसला गर्नेः

मा.मु.न्या.श्री केशरीराज पण्डित

मा.न्या.श्री एकराज आचार्य

 

 

 

फैसला

न्या.रामकुमार प्रसाद शाहः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत हेटौंडाको मिति २०६६।५।३० को फैसलाउपर प्रतिवादीको पुनरावेदन परेकोमा साधकको रोहबाट यस अदालतबाट फैसला भइसकेको कारण पुनः समानस्तरको संयुक्त इजलासले हेर्न नमिल्ने भई पूर्ण इजलासबाट हेरिनु पर्ने भन्ने संयुक्त इजलासको आदेशबमोजिम पूर्ण इजलासमा पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यस प्रकार छ :

            मिति २०६४।६।१८ गते दिउँसो अन्दाजी ५:०० बजेको समयमा एक जना अन्दाजी वर्ष ३५ को पुरुष, निजकै साथमा अन्दाजी वर्ष ३० की महिलासमेत मेरो नवदुर्गा लजमा आई अम्बर पुनको नाउँमा निज महिलाले ९ नं. कोठा बुक गरी बसेकोमा बिहानको खाना खानसमेत बाहिर आएनन् । ४ बजेसम्म पनि निजहरू कोठाबाट ननिस्केकोले हेर्न जाँदा उक्त कोठाको ढोका बाहिरबाट चुकुल लगाएको, भित्र पङ्खा चलेको आवाज सुनेकोले ढोका खोली हेर्दा कोठाभित्र भूइँमा उत्तानो अवस्थामा निज महिला मृत भेटिएको र अम्बर पुन भन्ने व्यक्ति नभएकोले निजै अम्बर पुनको कर्तव्यबाट निज महिलाको मृत्यु भएकोले पक्राउ गरी कारवाही गरिपाऊँ भन्नेसमेत व्यहोराको विनोद शर्माको जाहेरी दरखास्त ।

            जिल्ला चितवन, भरतपुर नगरपालिका वडा नंं.४ स्थित नवदुर्गा लजको कोठा नं.९ मा लेडिज ब्याग खुल्ला अवस्थामा रहेको, सो ब्यागमा अम्बरबहादुर पुन, जिल्ला रूपन्देही, पर्रोहा६ बनकट्टा उल्लेख भएको ग्लोवल कम्प्युटर कन्सल्टेन्सी सर्भिस र रोयल इन्ष्टिच्युट अफ टुरिसेन्ट बेसिक होटल म्यानेजमेन्टका फोटोसहितको २ थान परिचयपत्र रहेको, अन्दाजी वर्ष ३० की महिला मृत अवस्थामा रहेको, मृतकको निधारको बायाँतर्फ नीलडाम रहेको, मुखबाट रगत बगेको, घाँटीमा सलले गाँठो पारी कसेको भन्नेसमेत व्यहोराको घटनास्थल एवम् लाश प्रकृति मुचुल्का ।

            घटनास्थलमा फेला परेको परिचयपत्रमा भएको फोटोवाला व्यक्ति र मृतकसँग कोठामा बुक गर्न आउने व्यक्ति एकै व्यक्ति हो भन्नेसमेत व्यहोराको विनोद शर्माको सनाखत कागज ।

            म दरखास्तवालाको भाइ कुलचन्द्र पौडेल हाल वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा छन् । बुहारी निर्मला पौडेल र निजको छोरा वर्ष ८ को निकुञ्ज पौडेलसमेत जिल्ला रूपन्देही, पर्रोहा गा.वि.स.वडा नं. ६ मा डेरा गरी बस्दै आएकी थिइन् । सोही डेरा नजिक बस्ने अम्बरबहादुर पुनले निज बुहारीसँग अनुचित सम्बन्ध राखी भाइले विदेशबाट पठाएको बीसौं लाख रूपैयाँसमेत हिनामिना गरी सोही कुरामा बुहारी र निज जुल्मी अम्बरबहादुर पुनको विवाद परी उक्त रूपैयाँ खाने नियतले बुहारी निर्मलालाई जिल्ला चितवन, भरतपुर नगरपालिका, वडा नंं.४ स्थित नवदुर्गा लजमा ल्याई मिति २०६४।६।१८ गते ४:०० बजेको समयमा कर्तव्य गरी मारेको हुँदा पक्राउ गरी कारवाही गरिपाऊँ भन्नेसमेत व्यहोराको भरतमणि पौडेलको जाहेरी दरखास्त ।

            देखाइएका ५ जना व्यक्तिहरू मध्ये उत्तरबाट तेस्रो र दक्षिणबाट पनि तेस्रो व्यक्ति नै मिति २०६४।६।१८ गते बिहान मेरो लजको ९ नं.कोठा बुक गर्ने, मृतक निर्मला पौडेलसँग आउने तथा घटनास्थलमा फेला परेका परिचयपत्रमा फोटो भएको व्यक्ति नै हो । निज जिल्ला रूपन्देही, पर्रोहा गा.वि.स.वडा नं. ६ बनकट्टा बस्ने वर्ष २९ को अम्बरबहादुर पुन रहेछ भन्नेसमेत व्यहोराको विनोद शर्माको सनाखत कागज ।

            मृतकको घाँटीमा श्वास प्रश्वास बन्द भएको कारण मृत्यु भएको, यकीन कुरा भिसेरा परीक्षणको प्रतिवेदन प्राप्त भएपश्चात् खुलाउन सकिने भन्नेसमेत व्यहोराको शव परीक्षण   प्रतिवेदन ।

            मैले मृतक निर्मला पौडेलसँग पटकपटक गरी रू.२८,०००।लिएकोमा निजले रू.३ लाख लिएको भनी विवाद गरेकीले निजलाई मिति २०६४।६।१८ गते जिल्ला चितवन, भरतपुर नगरपालिका वडा नं.४ स्थित नवदुर्गा लजको कोठा नं.९ मा टाउको टेबुलमा ठोक्काई घाँटी न्याकी दिएपछि भूइँमा लम्पसार परेकीले निजकै सलले घाँटी बाँधी कर्तव्य गरी मारेको हुँ भन्नेसमेत व्यहोराको प्रतिवादी अम्बरबहादुर पुनले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

            प्रतिवादी अम्बरबहादुर पुनले निर्मलालाई हत्या गर्ने मनसायले षडयन्त्र गरी, योजना बनाई मिति २०६४।६।१८ गते जिल्ला चितवन, भरतपुर नगरपालिका वडा नं.४ स्थित विनोद शर्माले सञ्चालन गरेको नवदुर्गा लजमा ल्याई उक्त लजको ९ नं.कोठामा घाँटी न्याकी टेबुलमा ठोक्काई भूइँमा लडाई तत्पश्चात् निज निर्मलाकै सलले घाँटीमा बाँधी कर्तव्य गरी मारेको वारदात पुष्टि हुन आएकोले प्रतिवादीको सो कार्य मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं.तथा १३(३) नं. अनुसारको कसूर अपराध हुन आएकोले निज प्रतिवादी अम्बरबहादुर पुनलाई सोही महलको १३(३) नं. बमोजिम सजाय गरिपाऊँ भन्नेसमेत व्यहोराको अभियोग पत्र ।

            मैले पर्रोहा, बनकट्टामा कम्युनिकेशन सञ्चालन गरी आएको थिएँ । श्रीमान्‌लाई फोन गर्ने क्रममा निर्मला पौडेल मेरो कम्युनिकेशनमा आउने गर्नुहुन्थ्यो । सोही क्रममा निजसँग मेरो चिनजान भएको हो । निर्मलाको श्रीमान् विदेशमा हुनुहुन्थ्यो । विस्तारै निजसँग मेरो शारीरिक सम्पर्कसमेत हुन थाल्यो । निजले मसँग पैसा माग्न थाल्नुभयो, मैले दिँदै गएँ । मैले होटल मेनेजमेन्ट सिक्ने, कम्प्युटर सिक्ने क्रममा निजले डिस्टर्ब गरी मलाई विदेश जानसमेत रोक्नुभयो । निर्मलाले आफूलाई उपचार गराउन भनी मसँग धेरै पैसा लिनुभयो । निर्मलालाई उपचार गराउने क्रममा निज र म मिति २०६४।६।१८ गते नारायणगढ आई नवदुर्गा लजमा बसेका थियौं । सो समय निजले मसँग रू.३,००,०००।माग गरेकोमा मैले दिन नसक्ने बताएँ । त्यसपछि दिने भए देउ नत्र केटाहरू लगाएर पिट्छु मार्छु भनी धम्की दिइन् । निर्मलाले मलाई गाली पनि गरिन्, हात पनि छाडिन्, म प्रेसरको रोगी भएकोले रीस उठ्यो । हामीबीच धकेलाधकेल हानाहान भयो । मैले निर्मलालाई टेबुलमा ठोक्काई दिएँ, उनी बेहोस अवस्थामा भइन् । त्यसपछि निजकै कुर्ता सुरुवालसँग लगाउने चुन्नी (सल) ले घाँटीमा कसेँ र त्यसपछ म बाहिर निस्केँ । मैले २५/३० सेकेन्ड जति घाँटी कसेको हुँ । सो समयमा निजको मृत्यु भै सकेको थियो भन्नेसमेत व्यहोराको प्रतिवादी अम्बरबहादुर पुनले चितवन जिल्ला अदालतमा गरेको बयान ।

            मिति २०६४।६।१८ गते मृतक महिलाले अम्बर पुनको नाउँमा मेरो नवदुर्गा लजको कोठा नं. ९ बुक गरेकी, बिहान होटलमा खाना खान पनि नआएको र बेलुका ४:०० बजे बाहिरबाट चुकुल लगाएको, कोठाभित्र पंखा चलिरहेको सुनी पंखा बन्द गर्नको लागि चुकुल खोल्दा महिलाको मृत अवस्थामा लाश देखी प्रहरीलाई खबर गरेको हुँ । मृतक महिलाको ब्यागमा निजसँग आउने व्यक्ति अम्बर पुनको परिचयपत्र र चिठ्ठीपत्र समेत रहेछ । मृतक निर्मला पौडेललाई मार्ने व्यक्ति अम्बर पुन नै हो भन्नेसमेत व्यहोराको जाहेरवाला विनोद शर्माले शुरू जिल्ला अदालतमा गरेको बकपत्र ।

            प्रतिवादी अम्बर पुनको पि.सि.ओ.फोन भएको कारण मृतक निर्मला श्रीमान्‌लाई विदेश फोन गर्न आउने क्रममा प्रतिवादीसँग अवैध सम्बन्ध कायम भएको थाहा भएको हो । मृतकले निजको श्रीमान्‌ले विदेशबाट पठाएको पैसा प्रतिवादीलाई सापटी दिने गरेकी र सो रकम फिर्ता माग्दा प्रतिवादीले नदिई रकम तिर्नुपर्छ भन्ने ठानी निर्मलालाई ललाईफकाई नारायणगढ ल्याई कर्तव्य गरी मारेको हो भन्नेसमेत व्यहोराको जाहेरवाला भरतमणि पौडेलले शुरू जिल्ला अदालतमा गरेको बकपत्र ।

            मृतक निर्मला पौडेल मेरो घरमा डेरा गरी बस्नुहुन्थ्यो । प्रतिवादी अम्बर पुन र मृतक निर्मलाबीच २/४ महिना अगाडिदेखि लेनदेन व्यवहारमा खटपट चलिरहेको थियो । लेनदेन व्यवहार नमिलेको रीसइविको कारण प्रतिवादीले निर्मलालाई नारायणगढमा ल्याई मारेका हुन् भन्नेसमेत व्यहोराको मौकामा कागज गर्ने चिरञ्जीवी खनालले शुरू जिल्ला अदालतमा गरेको बकपत्र ।

            जाहेरवालाद्वयको किटानी जाहेरी दरखास्त र सोही मिलानको निजहरूको बकपत्र, अनुसन्धानको क्रममा कागज गर्ने चिरञ्जीवी खनालले गरेको बकपत्र तथा प्रतिवादीले अधिकारप्राप्त अधिकारी र अदालतमा गरेको साबिती बयान समेतका प्रमाणबाट प्रतिवादीउपरको अभियोग दावी पुष्टि भैरहेको देखिएकोले तत्काल उठेको रीसको आवेशमा निर्मला पौडेललाई कर्तव्य गरी मारेको भन्ने प्रतिवादीले अदालतमा गरेको बयानका आधारमा मात्र आरोपित कसूर गरेका होइनन् भनी न्यायिक निष्कर्ष निकाल्न मिलेन । अतः प्रतिवादीले आरोपित कसूर गरेको ठहरेकोले ज्यान सम्बन्धीको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैद हुन्छ भन्नेसमेत व्यहोराको शुरू चितवन जिल्ला अदालतबाट मिति २०६५।३।१५ मा भएको फैसला ।

            अधिकारप्राप्त अधिकारीसमक्षको बयान मेरो इच्छाविपरीत गराइएको हो । प्रमाण ऐन, २०३१ को दफा ९ को उपदफा (२) को खण्ड (क)(२) विपरीत भएको त्यस्तो बयानलाई मात्र आधार लिन मिल्दैन । मृतकलाई मार्नुपर्नेसम्मको मेरो कुनै पूर्व रीसइबि छैन । तत्काल उठेको रीस थाम्न नसकी धकेली दिँदा टेबुलमा ठोक्किई मृत्यु हुन पुगेको हो । मृतकलाई जवर्जस्ती कुटपीट गरी घाँटी थिची कर्तव्य गरी मार्ने उद्देश्य राखी चोट प्रहार गरेको भए मृतक आत्तिएर रुने कराउने गुहार माग्ने अवस्था हुन्थ्यो । तर त्यस्तो अवस्था नहुँदा तत्काल उठेको रीस थाम्न नसकी धकेली दिँदा टेबुलमा ठोक्किई बेहोस भएको कारण मृत्यु भएको प्रष्ट छ । घटना सुनियोजित तरिकाले मार्ने नै उद्देश्य राखी घटाएको होइन भन्ने पुष्टि भैरहेकोले यस्तै प्रकृतिको मुद्दामा श्री सर्वोच्च अदालतबाट नेकाप २०४२, नि.नं.३२५३ मा प्रतिपादित सिद्धान्तसमेत विपरीत भएको शुरू फैसला त्रुटिपूर्ण हुँदा बदर गरी सफाइ पाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादी अम्बरबहादुर पुन मगरको पुनरावेदन पत्र ।

            मिसिल संलग्न प्रतिवादीको बयानसमेतको कागजको प्रकृतिले तत्काल उठेको रीस आवेगको कारणबाट घट्ना वारदात भएको भन्ने अवस्थामा शुरूको फैसला फरक पर्न सक्ने भएकोले मुलुकी ऐन अ.बं.२०२ नं.बमोजिम पुनरावेदन सरकारी वकील कार्यालय, हेटौंडालाई सूचना दिई नियमानुसार पेश गर्नु भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, हेटौंडाको आदेश ।

मृतकको शव परीक्षण प्रतिवेदनबाट श्वास प्रश्वास बन्द भएको कारणले निजको मृत्यु भएको भन्नेसमेत उल्लेख भएको, मृतकको अनुहारमा चोटपटकहरू लागेको, अनुहारमा रगत लागेको, लाशको टाउको नजिक भूइँमा रगत जमेको देखिएको हुँदा पुनरावेदक प्रतिवादी अम्बरबहादुर पुन मगरले अधिकारप्राप्त अधिकारीसमक्ष र अदालतमा गरेको बयान, जाहेरवाला विनोद शर्मा तथा भरतमणि पौडेलको जाहेरी व्यहोरा र बकपत्रसमेतका मिसिल प्रमाणहरूबाट मृतक निर्मला पौडेलको मृत्यु पुनरावेदक प्रतिवादीकै कर्तव्यबाट भएको तथ्यमा कुनै विवाद रहेन । तसर्थ पुनरावेदक प्रतिवादी अम्बरबहादुर पुन मगरलाई ज्यान सम्बन्धीको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्म कैद गर्ने गरी शुरू चितवन जिल्ला अदालतबाट मिति २०६५।३।१५ मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, हेटौंडाको मिति २०६६।५।३० को फैसला ।

पुनरावेदन अदालतको उक्त फैसलामा चित्त बुझेन । श्रीमान् विदेश गएकी महिलालाई यौन सम्पर्क गरी पैसाको कारोबारको कारणबाट हत्या गरिएको हुनसक्छ भनी कर्तव्य ज्यान जस्तो मुद्दामा सर्वश्वसहित जन्म कैदको आधार लिइएको त्रुटिपूर्ण छ । हामीबीच प्रेम बस्दै गएपछि निजलाई औषधि उपचार गराउन चितवन लिएर आएको हो । तर एक्कासी तीन लाख रूपैयाँ दिने भए देउ नत्र केटाहरू लगाएर कुट्छु, मार्छु भनी अनेक किसिमको धम्की दिँदै मलाईसमेत पटकपटक हानेकीले उच्च रक्तचापको विरामी भएको हुनाले तत्काल उठेको रीस थाम्न नसकी टेबुलमा ठोक्किन गई बेहोस भएपछि चुन्नीले घाँटीमा बाँधी दिँदा मृत्यु भएको  हो । मैले निजलाई मार्ने मनसाय राखी, योजना बनाई मारेको होइन । मैले निजलाई पैसा दिनुपर्ने पनि थिएन । औषधि उपचार गराउन लिई हिँडेको व्यक्तिले सोही व्यक्तिलाई मार्नुपर्ने कुनै अवस्था नभएकोले शुरू र पुनरावेदन अदालतको फैसला उल्टी गरी सफाइ पाऊँ भन्नेसमेत व्यहोराको पुनरावेदक प्रतिवादीको यस अदालतसमक्षको पुनरावेदन पत्र ।

यसमा प्रस्तुत मुद्दा साधकको रोहमा पेश हुँदा यस अदालतको संयुक्त इजलासबाट साधक सदर हुने ठहरी मिति २०६७।९।३० मा फैसला भैसकेको अवस्थामा प्रस्तुत पुनरावेदन दायर हुन आएको देखिन्छ । त्यसरी समानस्तरको इजलासबाट साधकको रोहमा फैसला भैसकेको परिप्रेक्ष्य हुँदा प्रस्तुत मुद्दाको संयुक्त इजलासको लगत कट्टा गरी पूर्ण इजलाससमक्ष पेश गर्नु भन्नेसमेत व्यहोराको यस अदालतबाट मिति २०६९।१।१३ मा भएको आदेश ।

            नियमबमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री चन्द्रकान्त ज्ञवालीले पुनरावेदकको मृतकलाई मार्नुपर्ने सम्मको पूर्व रीसइबि केही देखिँदैन । औषधि उपचार गराउन लिई हिँडेकोमा मृतकले तत्काल उठाएको रीस थाम्न नसकी प्रस्तुत वारदात भएको देखिन्छ । तत्काल उठेको रीस थाम्न नसकी प्रहार गरेको कार्र्य आवेश प्रेरित हुने भनी नेकाप २०६४, नि.नं.७८९१, पृष्ठ १३५१ मा सिद्धान्तसमेत प्रतिपादन भएको हुँदा शुरू र पुनरावेदन अदालतको फैसला उल्टी गरी पुनरावेदकलाई सफाइ दिनुपर्दछ भनी गर्नु भएको बहस समेत सुनियो । 

पुनरावेदन पत्रसहितको मिसिल कागजात अध्ययन गरी हेर्दा पुनरावेदन अदालतको फैसला मिलेको छ, छैन र पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्ने हो होइन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने हुन आएको छ ।

            २. निर्णयतर्फ विचार गर्दा पुनरावेदक प्रतिवादीले निर्मला पौडेलको घाँटी न्याकी, टेबुलमा ठोक्काई, भूइँमा लडाई तत्पश्चात् सलले घाँटीमा बाँधी कर्तव्य गरी मारेको हुँदा मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय गरिपाऊँ भन्नेसमेत अभियोग माग दावी रहेको देखिन्छ । पुनरावेदक प्रतिवादी आरोपित कसूरमा सावित रहेको भन्नेसमेत आधारमा शुरूले अभियोग मागबमोजिम मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) नं. को कसूर गरेको ठहर्‍याई सर्वश्वसहित जन्मकैद सजाय गरेको फैसला पुनरावेदन अदालतबाट समेत सदर भएको र साधक निकासाका लागि पेश भएकोमा यस अदालतको संयुक्त इजलासबाट साधक सदर भएको अवस्था रहेछ । प्रस्तुत पुनरावेदन पत्र र साधक एकै साथ संलग्न नभएको कारणबाट साधकउपर फैसला भएपनि प्रतिवादीले दिएको पुनरावेदन बाँकी नै रहेको तथा संयुक्त इजलासबाट साधकको रोहबाट फैसला भैसकेको अवस्था हुँदा प्रस्तुत मुद्दा पूर्ण इजलाससमक्ष पेश भएको देखियो ।

३. पुनरावेदन गर्ने हक कानूनी हक भएकोले साधकको रोहबाट इन्साफ जाँच भइसकेको भन्ने अर्थ गर्दा पुनरावेदन गर्न पाउने व्यक्तिको सारवान् अधिकार नै सङ्कुचन हुने हुँदा साधकको रोहबाट भएको संयुक्त इजलासको फैसला स्वतः बदर भई पुनरावेदनको रोहबाट इन्साफ हुने भनी पुनरावेदक हिमा कुमारी भट्टराई विरुद्ध श्री ५ को सरकारसमेत भएको कर्तव्य ज्यान मुद्दामा यस अदालतको बृहत् पूर्ण इजलासबाट निर्णय भई सिद्धान्त प्रतिपादन (नेकाप २०५७, अङ्क १०।११, पृष्ठ ७०४) भएको देखिन्छ । उक्त प्रतिपादित सिद्धान्त र कानूनी व्यवस्था समेतको आधारमा प्रस्तुत मुद्दामा समेत प्रतिवादीको पुनरावेदनको रोहबाट इन्साफ गर्नुपर्ने भएकोले साधकको रोहबाट संयुक्त इजलासले गरेको मिति २०६७।९।३० को फैसला बदर गरिदिएको छ ।

४. अब, प्रतिवादीको तर्फबाट पर्न आएको प्रस्तुत पुनरावेदनको रोहबाट विचार गर्दा पुनरावेदक प्रतिवादीले आरोपित कसूरमा सावित हुँदै अधिकारप्राप्त अधिकारीसमक्ष बयान गरेको देखिन्छ । साथै निज प्रतिवादीले अदालतसमक्षको बयानमा समेत मृतकको हत्या गरेको भन्ने अभियोग दावीको आधारभूत तथ्यलाई स्वीकार गरेकै देखिए पनि पूर्व रीसइबि वा मनसायपूर्वक नभई तत्काल उठेको रीस थाम्न नसकी मारेको भन्ने जिकीर लिएको देखिन आउँछ । मिसिल संलग्न घटनास्थल तथा लाश प्रकृति मुचुल्काबाट मृतकको टाउको लगायतका विभिन्न भागमा चोट पटक लागेको, घाँटीमा (चुन्नी) सलले कसिएको अवस्थामा रगतपच्छे भई भूइँमा लडेको देखिएको छ । शव परीक्षण प्रतिवेदनबाट पनि मृतकको टाउको लगायतमा गम्भीर प्रकृतिका घाचोटहरू देखिनुका साथै मृत्युको कारणमा Asphyxia due to strangulation भन्ने उल्लेख भएको पाइन्छ । साथै जाहेरवाला विनोद शर्मा र भरतमणि पौडेलको मौकाको जाहेरी तथा अदालतको बकपत्र तथा बुझिएका चिरञ्जीवी खनालको मौकाको भनाई र अदालतसमक्षको बकपत्र समेतका मिसिल संलग्न सबूद प्रमाणहरूबाट पुनरावेदक प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको साबिती बयान समर्थित भैरहेको देखिन्छ ।   

५. पुनरावेदक प्रतिवादीले शुरू अदालतमा गरेको बयान र यस अदालतसमक्षको पुनरावेदन पत्रमा मनसायपूर्वक नभई तत्काल उठेको रीस थाम्न नसकी निर्मला पौडेलको हत्या गरेको भन्ने जिकीर लिएको पाइन्छ । मृतक निर्मला पौडेलको के कुन ब्यवहारबाट पुनरावेदक प्रतिवादीलाई तत्काल थाम्नै नसक्ने रीस उठेको रहेछ र प्रतिवादीले मृतकको हत्या गर्दा अपनाएको शैली वा तौरतरिका (Modus-operandi) बाट सो कुरा पुष्टि हुन्छ वा हुँदैन भन्ने कुराको विश्लेषणबाट नै यससम्बन्धी जिकीरको सही निष्कर्षमा पुग्न सकिन्छ ।

६. प्रतिवादीको अदालतसमक्षको बयान तथा यस अदालतसमक्षको पुनरावेदन जिकीर हेर्दा अन्य कुराका अतिरिक्त मुख्यतः औषधोपचारका लागि चितवन लिएर आएकी मृतक निर्मलालाई औषधि सेवन गरे नगरेको तथा निजको स्वास्थ्य अवस्थाका सम्बन्धमा सोधखोज गर्दा उल्टै तिमीलाई के मतलब भनी गाली गरेको, हात पनि छाडेको र तीन लाख रूपैयाँ दिने भए देउ नत्र केटाहरू लगाएर कुट्छु मार्छु भनी धम्की दिएकोसमेत कारणबाट त्यस्तो रीस उठेको भन्ने जिकीर लिएको देखिन आउँछ ।

७. वस्तुतः मृतकलाई औषधोपचारको लागि चितवनमा ल्याई गेष्टहाउसमा राखेको भन्ने पुनरावेदकको भनाई देखिए पनि पुनरावेदक र प्रतिवादीबीच कुनै नाता सम्बन्ध नदेखिएको तथा संरक्षकत्व ग्रहण गर्नुपर्ने विवेकसम्मत् अवस्था र स्थिति पनि देखिँदैन । मौकामा बुझिएका चिरञ्जीवी खनाल तथा मृतकका देवर नाता पर्ने जाहेरवाला भरतमणि पौडेलले मृतकको पति वैदेशिक रोजगारीमा गएको कारण प्रतिवादी र मृतकबीच अवैध सम्बन्ध रहेको, मृतकको पतिले विदेशबाट पठाएको रकमसमेत प्रतिवादीले नै मास्ने गरेको र निजको घर फर्कने अवस्था भएकोले सो रकमका सम्बन्धमा केही दिन अघिदेखि नै विवाद भएको हुँदा उक्त रकम तिर्नुपर्ला भनी प्रतिवादीले योजनाबद्ध ढङ्गबाट मृतकलाई चितवन नारायणगढसम्म पुर्‍याई मारेका हुन् भन्नेसमेत व्यहोरा लेखाएको देखिन्छ ।

८. मृतकको रकम आफूले मासेको कुरालाई पुनरावेदकले इन्कार गरेको देखिए पनि निजसँग  माया प्रेम रहेको तथ्य भने स्वीकारै गरेको पाइन्छ । त्यस्तै, तत्काल उठेको रीस थाम्न नसकी धकेलीदिँदा टाउको टेबुलमा ठोक्किन गई बेहोस भएपछि (चुन्नी) सलले घाँटीमा बाँधीदिँदा मृत्यु भएको हो भनी स्वयम् पुनरावेदक प्रतिवादीले पुनरावेदनपत्रमा उल्लेख गरेको देखिन्छ । वारदातका सम्बन्धमा पुनरावेदकले उल्लेख गरेको उक्त आधारभूत तथ्यबाट पनि देहायका दुई पूर्वावस्था देखिन आएको छ :

 

(१)    पहिलो, मृतकलाई धकेली दिएको कारण टेबुलमा टाउको ठोक्किन गई बेहोस भएको र

(२)   दोस्रो, त्यसरी बेहोस भई भूईमा लडेकी महिलालाई निजकै (चुन्नी) सलले घाँटी कसी मारेको ।

 

९. मृतक र प्रतिवादीबीच रहेको भनिएको अन्य सम्बन्ध प्रसंगवश उठेको देखिए पनि सो विषय प्रस्तुत मुद्दामा निरूपण गर्नुपर्ने र गर्न मिल्ने विषय नभई केवल वारदात घट्नुको पृष्ठभूमिमा देखाइएको विषयसम्म देखिन आउँछ । उक्त विषयमा निरपेक्ष रही मृतकको कारणबाट नै पुनरावेदकलाई थाम्नै नसक्ने गरी तत्काल रीस उठेको रहेछ भनी अनुमान गर्दा पनि प्रतिवादीबाट कसूर गर्न अवलम्बन गरिएको क्रियाले सो कुरा समर्थित हुन्छ वा हुँदैन भनी सूक्ष्म ढङ्गबाट विचार गर्नुपर्ने हुन्छ ।

१०. वस्तुतः कुनै अमुक घटना वा व्यवहार कुनै व्यक्तिका लागि तत्कालै गम्भीर प्रकृतिको रीस उठ्ने विषय बन्न सक्दछ भने कसैका लागि सामान्य वा कसैकसैलाई रीसै नउठ्ने पनि हुन सक्दछ । त्यसैले के कस्तो आचरण वा व्यवहारबाट के कस्तो प्रकृतिको के कति मात्रामा रीस उठ्छ वा उठ्दैन भन्ने कुराको स्वीकार्य मापदण्ड बनाउन सजिलो हुँदैन । तर तत्काल उठेको रीसबाट आवेशमा आई गरिने आचरण, व्यवहार वा क्रियाकलापको न्यूनतम् स्वीकार्य मापदण्ड भने हुन सक्दछ । मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं. मा आवेशप्रेरित हत्याको सम्बन्धमा गरिएको कानून व्यवस्थाबाट के कस्तो क्रियाकलापलाई तत्काल उठेको रीस थाम्न नसकी गरिएको व्यवहारका रूपमा लिनु पर्दछ भन्ने कुराको मापदण्डका रूपमा लिन सकिन्छ । उक्त १४ नं. को बनावट देहायबमोजिम रहेको देखिन्छः

 

ज्यान मार्नाको मनसाय रहेनछ, ज्यान लिनुपर्नेसम्मको इबि पनि रहेनछ, लुकी चोरीकन हानेको पनि रहेनछ, उसै मौकामा उठेको कुनै कुरामा रीस थाम्न नसकी जोखिमी हतियारले हानेको वा विष खुवाएकोमा बाहेक साधारण लाठा, ढुङ्गा, लात मुक्का इत्यादि हान्दा सोही चोट पीरले ऐनका म्यादभित्र ज्यान मरेमा दश वर्ष कैद गर्नुपर्छ ।

 

उक्त कानूनी व्यवस्थाबमोजिम आवेश प्रेरित हत्या हुनको लागि देहायका पूर्वावस्था विद्यमान हुनुपर्ने देखियोः

 

(१)    ज्यान मार्ने मनसाय (Mens-rea) को अभाव,

(२)   पूर्व रीसइबि केही नभएको,

(३)   लुकी चोरी नहानेको अर्थात् सीधै हिर्काएको,

(४)   उसै मौकामा वा तत्काल उठेको रीस थाम्न नसकेको,

(५)   जोखिमी हतियारको प्रयोग नभएको,

(६)    विष नखुवाएको,

(७)   साधारण लाठा, ढुङ्गा, लात मुक्काले मात्र हानेको,

(८)   सोही चोटको पीरबाट ऐनको म्यादभित्र मरेको ।

 

११. प्रस्तुत वारदातका सम्बन्धमा प्रतिवादीले मृतकलाई मार्ने आफ्नो मनसाय नभएको र तत्काल उठेको रीसको कारणबाट घटना घट्न पुगेको भनी जिकीर लिएको अवस्था छ । तत्काल रीस उठेको कारणबाट धकेल्ने र धकेलेको कारणबाट टेबुल वा अन्यत्र ठोक्किन गई त्यसरी धकेलिएको व्यक्ति लड्ने, चोटपटक लाग्ने, बेहोस हुने वा कतिपय अवस्थामा मर्नेसम्मको अवस्था पनि हुन सक्दछ । तर, प्रस्तुत मुद्दामा धकेलेको वा टाउको ठोक्किएको कारणबाट निर्मला पौडेलको मृत्यु भएको अवस्था छैन । पुनरावेदकको कथनबमोजिम निजले मृतकको घाँटी न्याकी पटकपटक टेबुलमा टाउको ठोक्काइएको कारणबाट बेहोस भई भूइँमा लडेकी महिलालाई निजकै (चुन्नी) सलले घाँटी कसेर मारिएको भन्ने भई घटना प्रकृति समेतबाट सो भनाई समर्थित भएको देखिन्छ । पुनरावेदकको सो क्रिया मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं. ले परिकल्पना गरेको तत्काल उठेको रीस थाम्न नसकी गरेको कार्यको परिभाषाअन्तर्गत पर्न सक्ने देखिँदैन । यसरी नै सामान्य लाठा, ढुङ्गा वा लात मुक्काले हानेको अवस्था छैन भने घाँटीमा सलले कसी मारेको क्रियालाई यस अन्तर्गत समावेश गर्न पनि मिल्दैन । पटकपटक टाउको ठोक्काई पहिले नै बेहोस भई लडेको व्यक्तिको पुनः घाँटी कसी मार्नेसम्मको कार्य गरिन्छ भने त्यस्तोमा मानिस मार्ने मनसाय थियो थिएन भनी खोजी गरिरहनु पर्दैन । पुनरावेदक प्रतिवादीको सो कार्य स्वयं नै निजको मनसाय पुष्टि हुने पर्याप्त र वस्तुनिष्ठ आधार हो । यस्ता कतिपय क्रूर र अमानवीय हत्याका वारदातमा आपराधिक कार्यबाट नै मनसाय निःसृत हुने हुँदा मनसाय तत्वको निरपेक्ष खोजी गर्न आवश्यक हुँदैन । अझ त्यसरी मारिसकेपछि पनि कोठाको ढोका बाहिरबाट बन्द गरी प्रतिवादी फरार रहेको देखिएबाट पुनरावेदक प्रतिवादीले मनसायपूर्वक नै मृतकको हत्या गरेको सिद्ध भएको हुँदा तत्काल उठेको रीसका कारणबाट हत्या गरेको भन्ने पुनरावेदन जिकीर आधारहीन देखियो । वारदातको प्रकृति र तथ्यगत अवस्था नै भिन्न रहेको पुनरावेदक प्रतिवादीका विद्वान कानून व्यवसायीले बहसको क्रममा उल्लेख गरेको नेकाप २०६४, नि.नं.७८९१, पृष्ठ १३५१ मा प्रकाशित सिद्धान्त प्रस्तुत मुद्दामा आर्कषित हुने देखिएन । 

१२. तसर्थ, उल्लिखित आधार कारणहरूबाट पुनरावेदकले मृतक निर्मला पौडेललाई मनसायपूर्वक निजको (चुन्नी) सलले घाँटी कसी मारेको र सो कुरा शव परीक्षण प्रतिवेदन समेतका मिसिल संलग्न प्रमाणहरूबाट समर्थित भएको देखिँदा निजको सो कार्य मुलुकी ऐन, ज्यान सम्बन्धीको १४ नं. बमोजिमको कसूर रहेको देखिन नआई सोही १३(३) नं.अन्तर्गतको कसूर देखिन आएको हुँदा पुनरावेदक प्रतिवादी अम्बरबहादुर पुन मगरलाई अभियोग माग दावीअनुसार कसूरदार ठहर गरी मुलुकी ऐन, ज्यान सम्बन्धीको १३(३) नं.बमोजिम कसूरदार ठहर्‍याई सर्वश्वसहित जन्मकैदको सजाय गरेको शुरू चितवन जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत हेटौंडाको मिति २०६६।५।३० को फैसला मनासिब देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू । 

 

उक्त रायमा सहमत छौं ।

 

न्या.कल्याण श्रेष्ठ

न्या.कमलनारायण दास

 

इति संवत् २०६९ साल असोज १८ गते रोज ५ शुभम्........

 

इजलासअधिकृतः नारायणप्रसाद सुवेदी 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु