निर्णय नं. ६७२४ - लेनदेन

निर्णय नं. ६७२४ ने.का.प. २०५६ अङ्क ५
संयुक्त इजलास
माननीय न्यायाधिश श्री कृष्णजंग रायमाझी
माननीय न्यायाधिश श्री कृष्णकुमार वर्मा
सम्वत् २०५२ सालको दे.पु.नं. .. २९३२
फैसला मितिः २०५५।८।२१।२
मुद्दाः लेनदेन ।
पुनरावेदक/वादीः मोरङ गोविन्दपुर ७ वस्ने बुद्वि प्रसाद रिजाल
विरुद्ध
प्रत्यर्थी /प्रतिवादीः मोरङ गोविन्दपुर १ वस्ने घनश्याम सिवाकोटी
§ विवादको लिखत हेर्दा सो लिखत रजिष्ट्रेशन पारित गराउनु पर्ने अचल सम्पत्ति समावेश भएको राजिनामा भोगवन्धक वा दृष्टिवन्धक प्रकृतिको नदेखिई कर्जा लिने दिने कुरामा साहु आसामी वीच भएको लिखत देखिएको र कर्जा बुझाउने सम्वन्धमा जग्गा दिने शर्त उल्लेख भएकोले समेत लेनदेन व्यवहारको २ नं. अन्तर्गतको लिखत भन्न नमिल्ने ।
(प्र.नं. १३)
पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ता श्री हर्क भटृराई
प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री तिर्थ वसौला
अवलम्वित नजिरः
फैसला
न्या.कृष्णजंग रायमाझीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ वमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः
२. केटानाको जग्गा सटृाभर्नामा लिई २-०-० जग्गा पास गरी दिनेछु सो दिन नसके गोविन्दपुर १ (ख) कि.न. २२३ र १(च) कि.नं. २७ समेतको १-१३-० जग्गा पास गरी दिनेशर्त गरी म वाट रु.१६०००। लिई मिति ०३७।८।१९ मा लिखत गरि दिइएकोमा आज सम्म जग्गा पास नगरेको र रुपैया समेत नदिएकोले लेनदेन व्यवहारको २ नं. का म्याद भित्रै फिराद गर्न आएको छु । साक्षी प्रमाण बुझी विपक्षीवाट रु.१६०००। दिलाई भराई पाउं भन्ने समेत व्यहोराको फिराद दावी ।
३. मैले जग्गाको वैना वापत रु.१६०००। लिई कागज गरि दिएकोमा सटृाभर्ना वापत केचनाको जग्गा प्राप्त नभएपछि गोविन्दपुर अन्तर्गतको लिखतमा उल्लेख भएको जग्गा पास गरि दिन्छु भनि वादीलाई भन्दा जग्गा नलिई रुपैया नै लिने भएकोले मेरो जग्गा विक्री गरी प्रमाणको साक्षीका रोहवरमा बुझाई सकेको छु । रुपैया बुझाई सकेपछि लिखत माग्दा घरमा छ, दिन्छु भनेकोले २ दिन पछि वादीको घर गै माग्दा लाटी छोरीले गोजीवाट झिकी उडाई दिईछ, भन्दा विश्वासमा परि वसेकोमा यति वर्ष पछि आई झुटृा नालेस गरेको हो र वादी दावीको लिखत जग्गा पास गरी दिने गरी भएको हुंदा करार ऐन, २०२३ को दफा १८(ग) अनुसार २ वर्ष भित्र शर्तनामामा लेखाएको रुपैया भरि पाउं भनि गर्नु पर्नेमा सो नगरी हदम्याद नघाई गरेको वादीको नालेस खारेज गरी पाउं भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र ।
४. बुद्विप्रसाद रिजाल धनी र घनश्याम सिवाकोटी ऋणि भएको मिति ०३७।८।१९ को रु. १६,०००। को सक्कल लिखत प्रतिवादीले हेरी सो लिखतमा लागेको सहिछाप मेरो बुवा घनश्याम सिवाकोटीकै हो । सो सहछिाप किर्ते होइन भनि घनश्याम कै वारेस राजकुमार शिवाकोटीले ०४७।१०।१ मा वयान गरेको रहेछ ।
५. वादी प्रतिवादीका साक्षी को वकपत्र भएको रहेछ ।
६. वादी दावी वमोजिमको रुपैया वादीलाई प्रतिवादीले बुझाएको देखिने गरि कुनै साक्षीको वकसपत्र नभएको तर प्र.ले रुपिया तिरेको छैन भनि किटानीसाथ वादीका साक्षीले वकपत्र समेत गरेको हुंदा र रुपैया बुझाई सकेको छु भनि उल्लेख गरेपनि निश्चित सबुद प्रमाण लिखित प्र. तर्फवाट पेश हुन नसकेको हुंदा वादीले प्रतिवादीवाट सांवा रु.१६,०००। भरि पाउने ठहर्छ भन्ने समेत व्यहोराको मिति ०४८।१२।१७ को मोरङ जिल्ला अदालतको फैसला ।
७. शुरुको फैसलामा चित्त बुझेन सो फैसला त्रुटिपूर्ण र वदरभागी हुंदा उल्टी गरि वादीको झुटृो दावीवाट अलग फूर्सद गरि पाउं भन्ने मिति ०४९।२।११ को प्र.घनश्याम शिवाकोटीको पुनरावेदन पत्र ।
८. यसमा शुरुको इन्साफ विचारणीय हुंदा अ.व. २०२ नं. वमोजिम छलफलको लागि विपक्षी झिकाउने ०४९।११।५ को आदेश ।
९. लेनदेन व्यवहारको २ नं. अन्तर्गत हदम्याद आकर्षित हुन नसक्नेमा सो २ नं. अंगाली ०३७।८।१९ को लिखतका सम्वन्धमा ०४७।५।७ मात्र दायर हुन आएको वादी दावी खारेज गर्नुपर्नेमा मुद्दाको तथ्य भित्र प्रवेश गरी वादी दावी वमोजिम सांवा रु.१६०००। प्रतिवादीवाट भराई पाउने ठहराएको शुरु जिल्ला अदालतको इन्साफ गल्ती हुंदा सो उल्टी भै वादी दावी खारेज हुने ठहर्छ भन्ने पुनरावेदन अदालत विराटनगरको मिति ०५१।९।१२ को फैसला ।
१०. मेरो फिराद दावीसाथ पेश भएको कर्जा लेनदेनको तमसुकले लेनदेन व्यवहारको २ को हदम्याद लाग्ने स्पष्ट हुंदाहुदै लिखतको प्रकृतितर्फ वास्ता नै नगरी हदम्याद नभएको भनि शुद्ध व्यवहारवाट कर्जा लिनु दिनु नभएको भन्ने आधार देखाई शुरु वादी दावी नै खारेज गर्ने गरी गरेको पु.वे.अ. विराटनगरको फैसला वदर गरी शुरु जिल्ला अदालतले गरेको फैसलालाई कायम गरी पाऊं भन्ने वादीको पुनरावेदन पत्र ।
११. यसमा ०३७।८।१९ को लिखतमा रु.१६,०००। कर्जा लिए वापतको लिखत गरी दिई सो वापत जग्गा राजिनामा पारित गरि दिने शर्त उल्लेख भएको स्थितिमा लेनदेनको ४० नं. लगाई खारेजगरेको पु.वे.अ. विराटनगरको निर्णय ने.का.प. २०५४ नि.नं. ६४५३ पृष्ट ५८० को सिद्धान्त प्रतिकुल भै फरक पर्ने देखिंदा अ.वं. २०२ नं. वमोजिम झगडिया झिकाउनु भन्ने ०५५।२।१२ को आदेश ।
१२. नियम वमोजिम आजको दैनिक मुद्दा पेशी सुचीमा चढी इजलास समक्ष्ँ पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल सम्लग्न सम्पुर्ण कागज प्रमाण अध्ययन गरी पुनरावेदक वादीका तर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री हर्क भटृराइले विवादित लिखत ऋणि धनीको सम्वन्ध स्थापित भएको कपाली तमसुक भएकोले लेनदेन व्यवहारको २ नं. आकर्षित हुने हुंदा पु.वे.अ. को फैसला त्रुटिपूर्ण छ भनि गर्नु भएको वहस र प्रत्यर्थी प्रतिवादीका तर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री तिर्थ वसौलाले विवादित लिखतमा जग्गा लिने र दिने शर्तको उल्लेख भएकोले जग्गा लिने र दिने वीचको सम्वन्ध छ ऋणि धनीको सम्वन्ध स्थापित भएको छैन । सो लिखत घरसारको फार्छेय नभएको हुंदा झ.झि. आदेशमा उल्लेखित नजिर प्रस्तुत मुद्दामा आकर्षित हुन नसक्ने हुंदा पु.वे.अ. कोफैसला सदर हुनुपर्दछ भनी गर्नु भएको वहस समेत सुनियो ।
१३. निर्णय तर्फ विचार गर्दा विवादको लिखतमा रु. १६०००। कर्जा लिए वापत यस रुपैयाको वोलकवोल के भने मैले सटृा भर्नाको जमिन केचना एरियामा लिएर दिने यो रुपैयाको जग्गा चैत भरमा दिने, यदि जग्गा दिन नसके चैत भरमा १६०००। फिर्ता दिने रुपैया फिर्ता दिन नसके यसै गोविन्दपुर गा.पं. वडा नं. १(ख) कि.नं. २२३ र ऐ. १(च) को कि.नं. २७ को गरी जग्गा १-१३-० तपाई साहु बुद्वि प्रसाद रिजाललाई भनेको मिति सम्ममा नभएमा सो कित्ताहरु पास गरी दिनेछु भनि प्रतिवादी घनश्याम सिवाकोटीले २०३७ साल मंसिर १९ गते विवादको लिखत गरि दिएको र हालसम्म जग्गा पास नगरेको र रुपैया पनि फिर्ता नदिएकोले लिखत वमोजिमको रुपैया फिर्ता दिलाई पाउं भनि मिति ०४७।५।७ मा वादि बुद्वि प्रसाद रिजालले अदालतमा फिराद गरेको देखिन्छ । उल्लेखित विवादको लिखत हेर्दा सो लिखत रजिष्ट्रेशन पारित गराउनु पर्ने अचल सम्पत्ति समावेश भएको राजिनामा भोगवन्धक वा दृष्टिवन्धक प्रकृतिको नदेखिई कर्जा लिने दिने कुरामा साहु असामी वीच भएको लिखत देखिएको र कर्जा बुझाउने सम्वन्धमा जग्गा दिने शर्त उल्लेख भएकोले समेत लेनदेन व्यवहारको २ नं. अन्तर्गतको लिखत भन्न मिलेन । झ. झि.को आदेशमा उल्लेखित ने.का.प. २०५४ नि.न. ६४५३ पृष्ट ५८० मा प्रकाशित नजिरमा “विवादित लिखत जग्गा पास गरि दिन थैली खुलाई रजिष्ट्रेशनको ६ नं. वमोजिम भएकोमा सो पारित हुन नसकी कपालीमा परिणत भएको हुंदा लेनदेन व्यवहारको २ नं. अनुसार १० वर्षको हदम्याद हुने हुंदा वादीको फिराद हदम्याद भित्र कै देखिन्छू भन्ने रहेवाट सो नजिर प्रस्तुत मुद्दामा सान्दर्भिक देखिदैन । यस्तो अवस्थामा लेनदेन व्यवहारको ४० नं. को हदम्याद नाघी फिराद परेको देखिंदा खारेज गर्ने गरेको पुनरावेदन अदालतको इन्साफ मनासिव ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । दायरीबाट मुद्दाको लगत कटृा गरी मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.कृष्णकुमार वर्मा
इति सम्वत २०५५ साल मंसीर २१ गते रोज २ शुभम्........... ।