शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८५०१ - अंश चलन

भाग: ५२ साल: २०६७ महिना: फागुन अंक: ११

निर्णय नं. ८५०१                     ने.का.प. २०६७            अङ्क ११

 

सर्वोच्च अदालत, संयुक्त इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ

माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी

संवत् २०६३ सालको दे.पु.नं.१०२२

फैसला मितिः २०६७।२।२६।४

मुद्दा :अंश चलन 

पुनरावेदक प्रतिवादीः जिल्ला सुनसरी, डुम्राहा गा.वि.स.वडा नं. ९ बस्ने सीतादेवी ठाकुर समेत

विरुद्ध

प्रत्यर्थी वादीः जिल्ला सुनसरी डुम्राहा गा.वि.स.वडा नं. ६ वस्ने बुधनी ठाकुर

 

§  विशेषज्ञको राय वा प्रतिवेदन कुनै कुरा, तथ्य वा घटना प्रमाणित गर्न एक्लो निर्णायक प्रमाण (Single Detrimental Evidence) नभए पनि त्यो एउटा महत्त्वपूर्ण प्रमाण  हो र अन्य प्रमाणसँग मिलेमा, साक्षी वकपत्र वा पक्षको भनाईसँग मिल्न भिड्न आएमा विशेषज्ञको प्रतिवेदनले ठोस र निर्णायक प्रमाणको रुप ग्रहण गर्ने 

§  विशेषज्ञको विशेषज्ञता र दक्षता विवादरहित हुनुका अतिरिक्त निजले ठीक, निश्चित, असन्दिग्ध वा द्विविधाविहीन ढंगले अदालतमा आई वकपत्र पनि गरेको हुनुपर्ने 

(प्रकरण नं.४)

§  विशेषज्ञको राय, प्रतिवेदन निश्चित, ठोस् र वैज्ञानिक तर्कहरू र रसायनिक परीक्षणबाट निकालिएको निष्कर्षहरूमा आधारित रहनुका अतिरिक्त विशेषज्ञले अदालतमा आई परीक्षण प्रक्रिया र निष्कर्ष एवं प्रतिवेदनलाई पुष्ट्याँई हुने गरी स्पष्ट एवं द्विविधारहित ढंगले वकपत्र गरी दिएको अवस्था भएमा यस्तो प्रतिवेदनलाई प्रमाणको रुपमा ग्रहण गर्नुपर्ने 

(प्रकरण नं.५)

§  मुद्दा परिसकेपश्चात् आफु अनुकूल प्रमाण सिर्जना गर्दै जाने र अदालतले पनि त्यस्ता प्रमाणलाई मान्यता दिंदै जाने हो भने न्याय निरुपणको कार्य जटिल बन्न पुग्ने 

§  विवादमा रहेको तथ्यलाई नै फरक पार्ने किसिमबाट पछि सिर्जना गरेको प्रमाणलाई न्यायको रोहमा प्रमाणिक महत्त्व दिइँदैन । कुनै पनि लिखतमा वा लिखत खडा हुने प्रक्रियाको कुनै चरणमा अर्को पक्षको स्वीकारोक्ति वा संलग्नता रहेको नदेखिएको अवस्थामा मुद्दा परेपछि एकतर्फी ढंगले सिर्जना गरिएको प्रमाणको आधारमा नाता र अंशसम्बन्धी दावीको पुष्टि नहुने 

(प्रकरण नं.६)

                                   

शुरु फैसला गर्नेः

मा.जि.न्या.श्री शेखरप्रसाद पौडेल

पुनरावेदन फैसला गर्नेः

मा.मु.न्या.श्री दामोदर पुरुष ढकाल

मा.न्या.श्री राघवलाल वैद्य

 

 

पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री महादेवप्रसाद यादव

प्रत्यर्थी वादी तर्फबाटः विद्वान अधिवक्ता श्री जगन्नाथ महतो सिंह

अवलम्बित नजीरः

सम्बद्ध कानूनः

§  प्रमाण ऐन, २०३१ को दफा २३ उपदफा (७)

 

फैसला

न्या.ताहिर अली अन्सारीः पुनरावेदन अदालत विराटनगरको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :

स्वर्गीय डोमी मेरा ससुरा, प्रतिवादी सीतादेवी ठाकुर मेरी सासू, प्रतिवादी प्रेम ठाकुर र रामसागर ठाकुर मेरा देवर र बेचन ठाकुर मेरा पति नाताका हुनुहुन्छ । म र प्रतिवादी बेचन ठाकुरको बीचमा विवाह भै एकासगोलमा वसी आएको २० वर्ष भयो । हामीबाट हाल १६ वर्ष पुगेकी छोरी सरस्वतीकुमारीको जन्म भएको छ । प्रतिवादीहरू र म वादी एकासगोलमै भएको हुँदा ४ अंश भाग लागी १ भाग अंशबाट म र पतिको अंश भाग लाग्ने हो । पति बेचन ठाकुर देव्रे हात नभएको अपाङ्ग हुनु भएको र सामान्य कुरामा देवर र सासूले कुटपीट गर्ने खान लाउन नदिने हुनाले म कहिले काही माईती गै बस्थे । २०५८।१।३० मा सासू देवरले कुटपीट गरी खान लाउन नदिई घरबाट निकाला गरेपछि अपाङ्ग पतिसँग छोरीको पनि विवाह गर्ने वेला भइसक्यो सल्लाह गरी अलग वसौं भन्दा आमा र भाईहरू भन्दा अलग कुरा गर्न सक्दिन, तिमीलाई खान लाउन दिन सक्दिन भनी पुनः सवै विपक्षीहरू मिली छोरी समेत लिएर जाहां जान्छेस् जा, खान लाउन, अंश समेत नदिने भनी २०५८।२।३ गते घरबाट निकाला गरेकोले माईतीको शरणमा आई मजदुरी गर्दै आएकी छु । प्रतिवादीहरूबाट अंशबण्डाको २०, २१,२२,२३ र २४ नं. अनुसार अंशको तायदाती फाँटवारी लिई ४ भागको १ भागबाट २ भागको १ भाग अंश लगाई छोरीको विवाह खर्च समेतको अंश दिलाई चलन समेत पाऊँ भन्ने समेत व्यहोराको फिराद पत्र 

वादीले म समेतका प्रतिवादीहरूसँग देखाएको नाता सम्बन्ध झूठा हो । वादी वुधनी मेरो पत्नी तथा अंशियार नभएकोले निजलाई अंश दिनुपर्ने होइन । वादीले फिरादमा उल्लेख गरेको सरस्वतीकुमारी मेरो छोरी नभएकोले निजलाई मैले खान लाउन, तथा विवाह खर्च दिनुपर्ने होइन । बुधनीसँग आजभन्दा २५ वर्ष पहिले विवाह भएकोमा केही बर्ष मात्र घरमा बसी म अपाङ्ग बेचनलाई मन नपराई घृणा गरी छोडी मोरङ ठोरिया दुलारी गा.वि.स.वडा नं. ९ बस्ने हरि ठाकुरलाई लोग्ने तुल्याई निजसँग बसेकीमा केही वर्ष पछि निजलाई छोडी बाहिर हिड्ने वस्ने गर्थिन । मलाई छोडी गएपछि सरस्वतीलाई जन्माएकी हुन् । वादी मेरो सतित्वमा नवसी अर्कैसँग पोईल गईसकेकी हुँदा एकासगोलमा वसेको भन्ने दावी झूठा हो । यसरी धेरै बर्ष पहिले देखि घर छोडी पोईल गै बाहिर रहने वस्ने गरेकी वादी अंश माग्न आएकी तथा हामी प्रतिवादीहरूले घरबाट निकाला गरेको भन्ने दावी अं.वं. १८० नं. बमोजिम खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको वेचन ठाकुरको प्रतिउत्तर पत्र 

वादी वुधनी ठाकुर वेचनको सतित्वमा नबसेको हुँदा निज तथा सरस्वतीकुमारीसँग हामी प्रतिवादीहरूको नाता सम्बन्धमा लिएको दावी झूठा हो । वादीको प्रतिवादी वेचनसँग आजभन्दा २५ वर्ष पहिले विवाह भएको र केही वर्षसम्म मात्र हामीहरूको सँगसाथमा रही अपाङ्ग वेचनलाई मन नपराई बाहिर वाहिर रहने वस्ने गरेको २३ वर्ष भयो । वेचनको सतित्वमा नरही मोरङ ठोरिया दुलारी गा.वि.स.वडा नं. ९ बस्ने हरी ठाकुरलाई लोग्ने तुल्याई वसी आएकीमा केही वर्ष पछि निजलाई समेत छोडी बाहिर हिड्ने वस्ने गरेकी वादी हामीहरूसँग सगोलमा वसेको वा परिवारको सदस्य रहेको भन्ने कुरा झूठा हो । वेचनको सतित्वमा नरहेको अवस्थामा जन्माएकी सरस्वती वेचनको छोरी होइनन् । यस्तो अवस्थामा निजहरूलाई खान लाउन दिने वा अंश दिने कुरा आउँदैन ।  वादी हामीहरूसँग अंश माग्न आउने अवस्था पनि नरहेको स्थितिमा निजलाई कुटपीट गरी खान लाउन नदिई घरबाट निकाला गर्ने प्रश्न आउँदैन । वादीलाई अंश माग गर्ने हकदैया नै नभएको हुँदा फिराद दावी अ.वं. १८० नं. बमोजिम खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीहरू रामसागर ठाकुर, प्रेमलाल ठाकुर र सीतादेवी ठाकुरको संयुक्त प्रतिउत्तर पत्र 

म वादी पति वेचनकै सतित्वमा रहे बसेकी छु । हरी ठाकुर को हो, मैले चिन्दिन । छोरी सरस्वती वेचनकै शारीरिक सम्पर्कबाट जन्मिएकी हुन् । निजको व्लड ग्रुप जे जाँच गर्नुपर्ने हो जाँची पाऊँ । वेचन र म वादीबीच करिव २०।२२  वर्ष अगाडि विवाह भएको भन्ने समेत व्यहोराको वादी वुधनी ठाकुरले नातामा गरेको वयान 

वादी वुधन तथा निजको छोरी सरस्वतीसँग हाम्रो कुनै नाता सम्बन्ध छैन । वादी वुधनी वेचनलाई छोडी ठोरिया गाउँ बस्ने हरी ठाकुरसँग पोईल गएकी हुन् । दाजु वेचन हामीसँग एक डेढ वर्ष पहिले अंश लिई छुट्टी भिन्न वसेका छन् भन्ने समेत व्यहोराको अ.वं. ८० नं. बमोजिम प्रतिवादी प्रेमलाल ठाकुरले नातामा गरेको वयान 

आजभन्दा २५ वर्ष पहिले मसँग विवाह भएकी वादी वुधनीले मलाई अपाङ्ग भनी २३ वर्ष अघिदेखि छोडी अन्यत्र वस्दै गरेकी र मोरङ्ग दुलारी गा.वि.स.वस्ने हरी ठाकुरलाई दोस्रो लोग्ने तुल्याई वसेकी हुँदा निजसँग मेरो लोग्नेस्वास्नीको सम्बन्ध छैन । वादीले उल्लेख गरेकी सरस्वती मेरो करणी वीर्यबाट जन्मेकी होइनन् । म आफू आमा र भाईसँग छुट्टिई भिन्न वसेको छु । निज मेरी श्रीमती नहुँदा अंश तथा खान लाउन दिनुपर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी वेचन ठाकुरले अ.वं. ८० नं. बमोजिम नातातर्फ गरेको वयान 

मसँग वादी वुधनी पोईल आएकी छैनन् । निज वादी वुधनी र प्रतिवादीहरूलाई चिन्दिन । वादीलाई नचिन्ने हुँदा सरस्वती कस्को गर्भबाट जन्मेकी हुन् थाहा छैन भन्ने समेत व्यहोराको अ.वं. १३९ नं. बमोजिम बुझिएका हरी ठाकुरले गरेको वयान 

बुझिएका प्रतिवादीका साक्षी शनिश्चर साह तेली, रघुवीर मण्डलले प्रतिउत्तर लेखलाई समर्थन हुने गरी तथा वादीका साक्षी रेणुका श्रेष्ठ र किशोर ठाकुरले वादी मिलान हुने गरी गरेको वकपत्र मिसिल सामेल रहेछ 

वादी वुधनी, प्रतिवादी वेचन ठाकुर र वादीको छोरी सरस्वती ठाकुरको इनरुवा अस्पताल तथा वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट जाँच भएको रक्त समूहको परीक्षण प्रतिवेदन मिसिल सामेल रहेको 

मिति २०५७।७।४ र.नं. १४३३ (ख) बाट प्रतिवादी सीतादेवी र वेचन बीच खडा भएको अंश भर्पाइ सम्बन्धमा वादी वुधनी ठाकुर तथा प्रतिवादी प्रेमलाल ठाकुरले गरेको वयान 

फिराद परेको अघिल्लो मितिलाई मानो छुट्टिएको मिति कायम गरी वादी प्रतिवादीबाट अंशको तायदाती फाँटवारी माग गरिएको 

वादी वुधनी ठाकुर प्रतिवादी वेचन ठाकुरको श्रीमती र वादीको छोरी सरस्वतीकुमारी प्रतिवादी वेचन ठाकुरको छोरी भएको पुष्टि हुन आएकोले वादी प्रतिवादी वेचनको श्रीमती र सरस्वती प्रतिवादी वेचनको छोरी नाता कायम हुने ठहर्छ । वादीले प्रतिवादीबाट अंश पाउने देखिँदा पेश भएको अंशको फाँटवारीमा उल्लिखित सम्पत्तिमा मूल अंश ४ भागको प्रतिवादी वेचनको भागमा पर्ने १ भागबाट प्रतिवादी वेचन, वादी वुधनी तथा निजहरूको छोरी सरस्वतीकुमारी ठाकुर समेत ३ अंश भै सो ३ भागको १ भाग वादीले प्रतिवादीबाट अंश पाउने ठहर्छ । ऋृणको हकमा साहूको नालेस परेको बखत ठहरेबमोजिम हुने नै हुँदा त्यसतर्फ केही वोली रहनु परेन । वादीले प्रतिवादीबाट उल्लिखित सम्पत्ति चलन समेत पाउने ठहर्छ भन्ने समेत व्यहोराको सुनसरी जिल्ला अदालतको २०६०।४।२८ को फैसला 

म अपाङ्ग व्यक्तिलाई धेरै वर्ष पहिले छाडी अर्को लोग्ने तुल्याई वाहिर वाहिरै रहे वसेकी वादीलाई अंश दिलाई दिने र सरस्वतीकुमारीलाई समेत छोरीको नाता कायम गरी अंशियार कायम गरेको सुनसरी जिल्ला अदालतको फैसलामा चित्त वुझेन । लोग्नेको सतित्वमा नवसेको कुराहरू सर्जमिन व्यहोरा समेतले वोलेको तथ्यलाई नहेरी मैले आमा सीतादेवीसँग अंश बुझेको भरपाई समेत जालसाजी ठहर गरेको शुरुको फैसला बदर गरी प्रतिउत्तर जिकीरबमोजिम इन्साफ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी वेचन ठाकुरको पुनरावेदन अदालत विराटनगरमा परेको पुनरावेदन पत्र 

वादी र प्रतिवादीबीच नाता सम्बन्धमा भएको सर्जमिन मुचुल्का, साक्षीको वकपत्र, स्वास्थ्य संस्थाबाट प्राप्त व्लड ग्रुप सम्बन्धी प्रतिवेदन तथा मतदाता नामावली समेतलाई प्रमाणमा नलिई हचुवा लेखका आधारमा वादीलाई प्रतिवादी वेचनको श्रीमती र सरस्वतीलाई वेचनको छोरी नाता कायम गरी वेचन छुट्टी भिन्न भैसकेको तर्फ समेत नहेरी हामीहरूको अंशबाट समेत वादीलाई अंश दिलाएको सुनसरी जिल्ला अदालतको त्रुटिपूर्ण फैसला बदर गरी प्रतिउत्तर जिकीर बमोजिम हक इन्साफ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी सीतादेवी ठाकुर, रामसागर ठाकुर र प्रेमलाल ठाकुरको पुनरावेदन अदालत विराटनगरमा परेको संयुक्त पुनरावेदन पत्र 

फिराद दर्ता हुनु अगावै २०५७।७।४ मा आफ्नो अंश भाग लिई रजिष्ट्रेशन पारीत गरी दिएको अंश भरपाईलाई जालसाजी ठहर्‍याई सोही आधार समेतबाट भएको शुरु फैसला फरक पर्न सक्ने देखिंदा छलफल निमित्त प्रत्यर्थी झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत विराटनगरको आदेश 

वादी वुधनी देवी, प्रतिवादी वेचन ठाकुर र सरस्वतीकुमारीको रक्त समूह परीक्षण सम्बन्धी वि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्राप्त भएको राय प्रतिवेदन हेर्दा वावु भनिएका वेचन ठाकुरलाई बाहेक गर्न सम्भव छैन, छोरीको वास्तविक वावु हुन पनि सक्छ नहुन पनि भन्ने राय व्यक्त भएको पाइएबाट जातक प्रतिवादीको सन्तान हैन भन्ने निश्चययात्मक अवस्था रहेन । त्यसो हुँदा जिल्ला अदालतले वादी प्रवितादी बीच कायम गरेको नाता मनासिव देखियो । वादीलाई अंश मार्ने नियोजित तारतम्यअनुरूप अंश लिनु दिनु गरी वादीको अंशमा प्रतिकूल प्रभाव पारेको अवस्था हुँदा अंश भरपाई जालसाजपूर्वक खडा गरेको देखियो । वादीले प्रतिवादीबाट अंश पाउने नै देखिंदा तायदाती फाँटवारीमा उल्लिखित सम्पत्तिमा प्रतिवादीको ४ भागमध्ये प्रतिवादी वेचनको १ भागबाट प्रतिवादी वादी वुधनी तथा छोरी सरस्वतीकुमारी समेत ३ अंशी भै ३ भागको १ भाग अंश पाउने र चलन समेत पाउने गरी भएको सुनसरी जिल्ला अदालतको २०६०।४।२८ को फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत विराटनगरको २०६२।५।२७ को फैसला 

वादीले हामीउपर २०५८।३।२१ मा प्रस्तुत अंश मुद्दाको फिराद गरेको अवस्थामा २०५७।७।४ मा भएको अंश भरपाईलाई अन्यथा भनी अंश पाउने ठहर्‍याएको फैसला अंशबण्डाको १ र १० नं. विपरीत रहेको भन्ने प्रतिवादीहरू सीतादेवी, रामसागर र प्रेमलालको निवेदन जिकीर रहेको । साथै वादीसँग २५ वर्ष अगाडि विवाह भएपनि म प्रतिवादी वेचन ठाकुर अपाङ्ग भएको कारण वादीले हिनतावोध मानी २३ वर्ष अघि देखि छाडेर अन्यत्र गै वसेकी हुन् । सरस्वती मेरो छोरी पनि हैनन् । श्रीमती समेतले छाडेको कारण एक्लो जीवन हुँदा आमासँग ०० जग्गा मात्र लिई अंश भरपाई गरी दिएको हुं । वादीको छोरी सरस्वती मेरी छोरी नभएको कुरा व्लड ग्रुप परीक्षण गर्दा निश्चयतात्मक नतिजा नआएको हुँदा DNA Test गरी इन्साफ हुनु पर्नेमा सो गरिएन । अपाङ्ग व्यक्तिको उचित प्रमाण नै नबुझी अर्कैलाई छोरी वा पत्नी स्वीकार गर्नुपर्ने भनी भएको शुरु जिल्ला अदालतको फैसला कानून तथा स्थापित सिद्धान्त विपरीत भएको हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम मुद्दा दोहोर्‍याई हेरी इन्साफ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीहरूको तर्फबाट यस अदालतमा परेको संयुक्त निवेदन पत्र 

शुरु, रेकर्ड र भए प्रमाण मिसिल समेत झिकाई आएपछि पेश गर्नु भन्ने यस अदालतको २०६३।५।१८ को आदेश 

वादी वुधनी र प्रतिवादी वेचनको सहवासबाट छोरी सरस्वतीको जन्म भएको भन्ने कुरामा प्रतिवादी वेचन ठाकुर इन्कार रहेको र DNA परीक्षण गरी वैज्ञानिक आधारबाट निष्कर्षमा पुगेको स्थिति नभई केवल रक्त समूह र सर्जमिनले भनेको भन्ने आधारमा शुरुले नाता कायम गरी अंश पाउने ठहर्‍याई गरेको फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालत विराटनगरको २०६२।५।२७ को फैसलामा प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ को त्रुटि देखिनाले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरी दिएको छ । अव पुनरावेदकले रोनाष्टमा DNA परीक्षण गर्न लाग्ने दस्तूर दाखिला गरेमा दस्तूर लिई निजको वीर्यबाट छोरी सरस्वतीको जन्म भएको हो, होइन ? भन्ने निष्कर्षमा पुग्न DNA परीक्षण गर्ने प्रयोजनको लागि सरस्वतीलाई उपस्थित गराई प्रतिवादी वेचन र सरस्वतीको DNA परीक्षण गर्न रोनाष्टमा पठाई परीक्षण गराई पेश गर्नु भन्ने २०६४।१।५ को यस अदालतको आदेश 

आदेशानुसार राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट वादी वुधनी ठाकुर, निजकी छोरी सरस्वतीकुमारी र प्रतिवादी वेचन ठाकुरको DNA परीक्षण गरी दिएको राय प्रतिवेदन मिसिल सामेल रहेको । साथै उक्त DNA परीक्षण गर्ने विशेषज्ञ वैज्ञानिक जीवनप्रसाद रिजालले गरेको वकपत्र मिसिल सामेल रहेको 

नियमबमोजिम दैनिक मुद्दा पेसी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री महादेवप्रसाद यादवले प्रस्तुत मुद्दाकी वादी वुधनी ठाकुर पति वेचनको सत्यमा वसेको अवस्था छैन । वेचन ठाकुर अपाङ्ग भएको कारण विवाह भएको थोरै समयपछि देखी वादीले लामो समयसम्म वाहिर रहंदै बस्दै आएकी र अर्कै व्यक्तिलाई दोस्रो लोग्ने तुल्याई बसेको भन्ने प्रतिवादीको जिकीर साक्षी सर्जमिन समेतले पुष्टि गरेको छ । मतदाता नामावली समेतमा आफू बसेको गाऊँ टोलमा वेचनका सवै परिवारको नाम उल्लेख भए पनि वादी वुधनीको नाम समावेश छैन । प्रतिवादीलाई छोडी अन्यत्र गै सकेपछि जन्मेकी छोरी सरस्वती वेचनको छोरी हुने अवस्था छैन । वादी प्रतिवादी एवं वादीको छोरी सरस्वती देवीको व्लड ग्रुप समेत मिलेको छैन । व्लड ग्रुप मिलेकै अवस्था भएपनि प्रस्तुत विवादमा सो जाँच प्रतिवेदन निश्चयात्मक प्रमाणमा हुन सक्दैन । यस अदालतको आदेशानुसार DNA Test गरी रोनाष्टबाट प्राप्त राय प्रतिवेदनमा वुधनीको छोरी र प्रतिवादी वेचनको DNA मिलेको छैन । वादीले धेरै वर्ष अघिदेखि पतिलाई छोडी गएको अवस्थामा जन्मेकी छोरी प्रतिवादी वेचनको छोरी नठहर्ने अवस्थामा वादीले प्रतिवादीहरूबाट अंश पाउने स्थिति नहुँदा अंश दिलाई दिने ठहर गरेको जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला मिलेको छैन भन्ने समेत व्यहोराको वहस प्रस्तुत गर्नुभयो 

प्रत्यर्थी वादी वुधनीको तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री जगन्नाथ महतो सिंहले DNA परीक्षण गरी दिएको राय प्रतिवेदन पूर्ण सत्यतामा आधारित हुन्छ भन्न सकिंदैन । अन्य प्रमाणले पुष्टि गरेको अवस्थामा यसलाई सहयोगी प्रमाणको रुपमा लिन सकिने सम्म हो । अ.वं. १३९ नं. बमोजिम बुझिएका हरि ठाकुरले वादी वुधनीसँग आफ्नो विवाह भएको होइन भनी अदालतमा आई गरेको वयान व्यहोराबाट वादीले हरी ठाकुरसँग दोस्रो विवाह गरेको भन्ने प्रतिवाद जिकीर स्वयं खण्डित भएको अवस्था छ । जन्मदर्ता प्रमाणपत्र र गा.वि.स.को सिफारिशलाई अन्यथा मान्नुपर्ने स्थिति छैन । वादी र प्रतिवादी वेचन ठाकुरबीच विवाह भएको कुरामा विवाद नभएपछि DNA परीक्षणलाई मात्र आधार लिन मिल्दैन । वादी वुधनी र प्रतिवादी वेचनबीच लोग्नेस्वास्नी र छोरी सरस्वतीकुमारी वादी प्रतिवादीको छोरी कायम गरी वादीले दावी लिएबमोजिम अंश पाउने ठहर गरेको शुरु र पुनरावेदन अदालतको फैसला सदर कायम हुनुपर्दछ भन्ने समेत व्यहोराको वहस प्रस्तुत गर्नुभयो 

विद्वान कानून व्यवसायीहरूको उपर्युक्त वहस सुनी पुनरावेदन सहितको मिसिल अध्ययन गरी हेर्दा वादी र प्रतिवादीहरू अंशियार ठहर गरी वादीले प्रतिवादीबाट अंश पाउने ठहर गरेको पुनरावेदन अदालत विराटनगरको फैसला मिले नमिलेको के रहेछ । सोही सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो 

२. निर्णयतर्फ विचार गर्दा मूलतः प्रतिवादीहरू सीतादेवी ठाकुर सासू, प्रेमबहादुर र राम सागर देवर र प्रतिवादीमध्येका वेचन ठाकुरलाई  पति नाता उल्लेख गरी वादी वुधनी ठाकुरले मूल अंशियार चार देखाई पति वेचन ठाकुरको अंश भागबाट आफ्नो अंश भाग तथा छोरी सरस्वतीकुमारीको विवाह खर्च समेत माग गरी फिरादपत्र दायर गरेको पाइयो । वादी वुधनीसँग प्रतिवादी वेचन ठाकुरको २५ वर्ष अगावै विवाह भएपनि शारीरिक रुपमा अपाङ्ग पति वेचनसँग केही वर्षसम्म मात्र वसी निजलाई छोडी अर्कै व्यक्ति हरी ठाकुरलाई दोस्रो पति तुल्याई गएकी र पछि निजलाई पनि छोडी अन्यत्र वाहिरै वसेको अवस्थामा छोरी सरस्वतीलाई जन्माएकी हुन् । प्रतिवादी वेचन ठाकुरको सतित्वमा नवसेकी वादीसँग अंशियारको नाता सम्बन्ध नरहेको हुँदा अंश दिनुपर्ने होइन भन्ने प्रतिवादीहरूको प्रतिवाद जिकीर रहेकोमा प्रतिवादी वेचन ठाकुरले २०५७।७।४ मा र.नं. १४३४ बाट अंश बुझेको भरपाई जालसाजी ठहर्‍याई मूल अंशी ४ भागमा प्रतिवादी वेचन ठाकुरको १ भागबाट ३ अंशी भै ३ भागको १ भाग वादीले प्रतिवादीहरूबाट अंश पाउने ठहरी सुनसरी जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत विराटनगरको फैसलाउपर प्रतिवादीको मुद्दा दोहोर्‍याई हेरी पाऊँ भनी परेको निवेदनमा यस अदालतबाट निस्सा प्रदान भै निर्णयार्थ पेश भएको देखियो 

३. वादीले प्रतिवादीहरूसँग अंशियार नाता देखाई अंशमा गरेको दावीलाई प्रतिवादीहरूका तर्फबाट खण्डन भएपछि प्रमाणहरूको अवलोकन, विश्लेषण र मूल्याङ्कनबाट निर्णयमा पुग्नु पर्ने हुन्छ । प्रमाणको हकमा प्रतिवादी वेचनसँगको दाम्पत्य जीवनबाट जन्मेकी १६ वर्षिया छोरी सरस्वती हुन् भन्ने वादीका साक्षीले वकपत्र गरेको देखिन्छ । यी वादीसँग विवाह भएको तथ्यसँग मात्र प्रतिवादीहरूले स्वीकार गर्दै लोग्ने वेचन शारीरिक रुपले एउटा अपाँङ्ग मानिस भएकोले विवाह भएको २ वर्षमै यी वादीले लोग्नेलाई छोडी गएकी हुन् र छोरी पनि वेचनको होइन भन्ने समेत प्रतिवादीहरूको जिकीर रहेको छ । यसको पुष्ट्याईको लागि मतदाता नामावलीलगायत कुनै पनि लिखत सरकारी श्रेस्तामा वेचनकी श्रीमती यी वादी र वेचनकी छोरी सरस्वती भन्ने नदेखिएको जिकीर गरेकोलाई वादीतर्फबाट त्यसलाई अन्यथा प्रमाणित गर्नसकेको अवस्था छैन । यस्तो अवस्थामा पुनरावेदक प्रतिवादी वेचन ठाकुरसँगको दाम्पत्य जीवनबाट छोरी सरस्वतीको जन्म भएको हो, होइन भन्ने निष्कर्षमा पुग्न वादी वुधनी, प्रतिवादी वेचन र सरस्वतीको DNA परीक्षण गर्न पठाउनु भन्ने यस अदालतको २०६४।१।५ को आदेशानुसार राष्ट्रिय विधिविज्ञान प्रयोगशालाबाट DNA परीक्षण भै प्राप्त प्रतिवेदन हेर्दा, सरस्वतीकुमारी (नमूना B को रक्तदाता) आमा वुधनी ठाकुर (नमूना A को रक्तादाता) र वेचन ठाकुर (नमूना C को रक्तदाता) को डी.एन.ए. प्रोफाईल तुलना गरी हेर्दा आमा (नमूना A को रक्तदाता) बाट जन्मेको बच्चा (नमूना B को रक्तदाता) को जैविक बावु वेचन ठाकुर (नमूना C को रक्तदाता) होइन भन्ने उल्लेख भएको देखिन्छ । विशेषज्ञबाट DNA परीक्षण भै प्राप्त प्रतिवेदनमा छोरी सरस्वतीकुमारीको जैविक वावु वेचन ठाकुर होइन भन्ने स्पष्ट रुपमा उल्लेख भएको तथ्यलाई मिसिल संलग्न कुनै पनि प्रमाण वा सहायक कुराहरूले अन्यथा प्रमणित गर्ने अवस्था छैन । विवादित तथ्यको विषयमा डी.एन.ए. परीक्षण गरी राय प्रतिवेदन दिने विशेषज्ञ वैज्ञानिक जीवनप्रसाद रिजालले अदालतलमा उपस्थित भै वकपत्र गर्दा डी.एन.ए. परीक्षण गर्दा AMPFLS TR Identifier kit प्रयोग गरी आएको डी.एन.ए.नतीजालाई टेवुल १ मा राखेर तुलना गरी Modet को सिद्धान्तअनुसार Analysis गरी राय प्रतिवेदन दिएको हो । विवादित वच्चाको एलिलहरूलाई टेवुल १ को Child को Colum मा राखेको छु । प्रत्येक डी.एन.ए. (Fragment -locus) मध्ये आमासँग मिलेको बच्चाको एलिल निलो अक्षरमा र बाबुसँग मिलेको रातो अक्षरमा दिएको छु । वावुसँग नमिलेका वच्चाका एलिलहरू कालो अक्षरमा उल्लेख गरिएको छ । परीक्षण गरेका १ देखि १५ सम्मका Locous हरूमध्ये २ वटा मात्र वावुसँग मिलेको र वाँकी १३ वटा नमिलेको देखिन्छ Modet को सिद्धान्त अनुसार प्रत्येक डी.एन.ए. बावुवाट एउटा र आमाबाट एउटा वच्चामा आएको हुनु  पर्दछ । प्रत्येक Locus मा देखिने २ वटा एलिलमध्ये आमासँग एउटा र वावुसँग एउटा मिल्नै पर्दछ । यो Case मा २ भन्दा धेरै बढी १३ वटा नमिलेको हुनाले वेचन ठाकुर वावु होइन भनेर राय दिएको हो भन्ने व्यहोरा उल्लेख गरेको देखिन्छ । प्रमाण ऐन, २०३१ को दफा २३ ले विशषज्ञको राय प्रमाणमा लिन हुन्छ भन्ने कानूनी व्यवस्था गरेको र ऐ. उपदफा (७) ले कुनै व्यक्तिले व्यक्त गरेको कुनै राय सो व्यक्ति साक्षीको रुपमा अदालतमा उपस्थित भए मात्र यस दफाबमोजिम प्रमाण लिन हुन्छ भन्ने व्यवस्था गरेको देखिन्छ 

४. विशेषज्ञको राय वा प्रतिवेदन कुनै कुरा तथ्य वा घटना प्रमाणित गर्न एक्लो निर्णायक प्रमाण (Single Detrimental Evidence) नभए पनि त्यो एउटा महत्वपूर्ण प्रमाण हो । र अन्य प्रमाणसँग मिलेमा, साक्षी वकपत्र वा पक्षको भनाईसँग मिल्न भिड्न आएमा विशेषज्ञको प्रतिवेदनले ठोस र निर्णायक प्रमाणको रुप ग्रहण गर्दछ । तर त्यसको लागि विशेषज्ञको विशेषज्ञता र दक्षता विवादरहित हुनुका अतिरिक्त निजले ठीक, निश्चित, असन्दिग्ध वा द्विविधाविहीन ढंगले अदालतमा आई वकपत्र पनि गरेको हुनुपर्दछ । अन्यथा शंकास्पद योग्यता वा दक्षता भएको विशेषज्ञ वा अनिश्चित वा अन्यौलजन्य ढंगको प्रतिवेदन वा अदालतमा आई संदिग्ध वा द्विविधाजनक किसिमको वकपत्र गर्ने विशेषज्ञको राय, प्रतिवेदन वा अन्य निश्चित र ठोस प्रमाणसँग मेल नखाने गरी आएको विशेषज्ञको प्रतिवेदनलाई अदालतले निर्णायक प्रमाणको रुपमा ग्रहण गर्दैन । यसको तात्पर्य के हो भने विशेषज्ञको राय, प्रतिवेदन र भनाई (वकपत्र) दोधारे वा थप विवाद वा भ्रम सिर्जना गर्ने खालको वा विवादित विषयमा आफ्नो एउटै ठोस राय नदिई अनेक विकल्पहरू सहितको राय प्रतिवेदनलाई विशेषज्ञको निर्णायक रायको रुपमा अदालतले मान्यता प्रदान गर्दैन 

५. प्रस्तुत मुद्दाको सन्दर्भमा Deoxyriboncli Acid (DNA) वा वंश क्रमको परीक्षण गर्ने विशेषज्ञको योग्यता वा दक्षतामा कुनै प्रश्न उठाईएको छैन । विशेषज्ञको राय, प्रतिवेदन निश्चित, ठोस् र वैज्ञानिक तर्कहरू र रासायनिक परीक्षणबाट निकालिएको निष्कर्षहरूमा आधारित रहनुका अतिरिक्त विशेषज्ञले अदालतमा आई परीक्षण प्रक्रिया र निष्कर्ष एवं प्रतिवेदनलाई पुष्ट्याँई हुने गरी स्पष्ट एवं द्विविधा रहित ढंगले वकपत्र गरी दिएको अवस्था छ । यस्तो अवस्थाको प्रतिवेदनलाई प्रमाणको रुपमा ग्रहण गर्नुपर्ने नै हुन्छ 

६. वादीले आफू पति वेचन ठाकुरको सतित्वमै रहेको कुरा उल्लेख गरी फिराद पत्र दायर गर्दा १६ वर्षकी छोरी सरस्वतीकुमारी रहेको उल्लेख गरेको परिप्रेक्ष्यमा प्रतिवादीले नातामा विवाद सिर्जना गरेको हुँदा वादी वुधनी, सरस्वतीकुमारी र प्रतिवादी वेचन ठाकुरको डी.एन.ए. परीक्षण गरी विशेषज्ञ वैज्ञानिकले राय प्रतिवेदन दिई आफ्नो राय प्रतिवेदनलाई समर्थन गर्ने गरी अदालतमा उपस्थित भै वकपत्र गरी दिएको अवस्था हुंदा वादी वुधनी र प्रतिवादी वेचन बीच लोग्नेस्वास्नीको नाता सम्बन्ध नै कायम रहेको देखिएन । नाता सम्बन्ध देखाई २०५८।३।२१ मा अंशमा प्रस्तुत अंश मुद्दाको फिराद पत्र दायर गरिसकेपश्चात् वेचन ठाकुर तथा वुधनी देवी ठाकुरको छोरी सरस्वतीकुमारी भनी २०५८।५।१३ मा डुम्राहा गा.वि.स.मा जन्म दर्ता गराएको २०५८।७।२६ मा गा.वि.स.बाट सिफारिश लिएको मिसिल संलग्न सो कागजको प्रतिलिपिबाट देखिन्छ । यसका साथै बेचन ठाकुर वावु तथा वुधनी देवी ठाकुर आमा देखाई सरस्वती कुमारीले २०६३।११।१९ मा जिल्ला प्रशासन कार्यालय सुनसरीबाट लिएको मिसिल संलग्न नागरिकता प्रमाणपत्रको प्रतिलिपि पेश गरी सरस्वतीकुमारी वेचन ठाकुरको छोरी भनी देखाउन खोजे पनि मुद्दा परेपछि सिर्जना भएको प्रमाणलाई आधार लिन मिल्ने देखिएन । मुद्दा परिसकेपश्चात् आफूअनुकूल प्रमाण सिर्जना गर्दै जाने र अदालतले पनि त्यस्ता प्रमाणलाई मान्यता दिंदै जाने हो भने न्याय निरुपणको कार्य जटिल बन्न पुग्छ । विवादमा रहेको तथ्यलाई नै फरक पार्ने किसिमबाट पछि सिर्जना गरेको प्रमाणलाई न्यायको रोहमा प्रमाणिक महत्व  दिइदैन । उक्त कुनै पनि लिखतमा वा लिखत खडा हुने प्रक्रियाको कुनै चरणमा पनि वेचन ठाकुर वा अन्य कुनै प्रतिवादीको स्वीकारोक्ति वा संलग्नता रहेको देखिएको छैन । यस्तो अवस्थामा मुद्दा परेपछि एकतर्फी ढंगले सिर्जना गरिएको प्रमाणको आधारमा वादीको नाता र अंशसम्बन्धी दावीको पुष्टि हुँदैन 

७. तसर्थ माथि उल्लेख र विवेचना गरिएको तथ्य एवं प्रमाणवाट वादी प्रतिवादीबीच अंशियार नाता नदेखिएको विद्यमान अवस्थामा वादी दावी पुग्न नसक्ने ठहर गर्नु पर्नेमा प्रतिवादी वेचन ठाकुरले २०५७।७।४ र.नं. १४३३ बाट अंश बुझेको भरपाई समेत जालसाजी ठहर गरी बेचन, वुधनी र सरस्वती कुमारीबीच लोग्नेस्वास्नी र वावुछोरीको नाता कायम गरी सोही आधारमा तीन अंशी देखाई ३ भागको १ भाग वादीले प्रतिवादीबाट अंश पाउने ठहर्‍याएको सुनसरी जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत विराटनगरको २०६२।५।२७ को फैसला मिलेको नदेखिँदा उल्टी भै वादीको दावी नपुग्ने ठहर्छ । अरु तपसीलबमोजिम गर्नू ।

 

तपसील

माथि इन्साफ खण्डमा उल्लेख भएबमोजिम सुनसरी जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत विराटनगरको फैसला उल्टी भै वादी दावी नपुग्ने ठहरेकोले सुनसरी जिल्ला अदालत तथा पुनरावेदन अदालत विराटनगरको फैसलाको तपसील खण्डमा रहेको लगत कायम नरहने हुँदा सो लगत कट्टा गर्नु भनी  सुनसरी जिल्ला अदालतमा लेखी पठाई दिनू –––

शुरु फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला उल्टी हुने ठहरेकोले प्रतिवादी वेचन ठाकुरले कोर्ट फी रु.८८०। मध्ये रु.२०० र.नं. ४४३१ मा तथा र.नं. ४४३०  मिति २०६०।११।२१ मा प्रतिवादी सीतादेवी ठाकुर समेतले राखेको देखिँदा उक्त कार्ट फी रकम फिर्ता पाऊँ भनी प्रतिवादीहरूको दर्खास्त परे केही दस्तूर नलिई फिर्ता दिनु भनी पुनरावेदन अदालत विराटनगरमा लेखी पठाई दायरीको लगत कट्टा गरी मिसिल नियमबमोजिम बुझाई दिनू–––

 

उक्त रायमा सहमत छु 

 

प्र.न्या.रामप्रसाद श्रेष्ठ

 

इति संवत २०६७ साल जेठ २६ गते रोज ४ शुभम्

इजलास अधिकृतःपुनाराम खनाल

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु