निर्णय नं. ८५२९ - वीमा रकम व्यक्तिगत दुर्घटना ।

निर्णय नं. ८५२९ ने.का.प.२०६७ अङ्क १२
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला
माननीय न्यायाधीश श्री सुशीला कार्की
संवत् २०६३ सालको दे.पु.नं. ०६३–WO–०२२४
फैसला मितिः २०६७।५।३१।५
मुद्दा : वीमा रकम व्यक्तिगत दुर्घटना ।
पुनरावेदक प्रतिवादीः काठमाडौं महानगरपालिका वडा नं. १ हात्तिसार स्थित एभरेष्ट इन्स्योरेन्स लि. का. तर्फबाट अख्तियारप्राप्त ऐ. कम्पनीका नायब महाप्रवन्धक केवलकृष्ण श्रेष्ठ
विरुद्ध
प्रत्यर्थी वादीः काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका ठमेल बस्ने नारायणप्रसाद पराजुली समेत
शुरु मुद्दा छिन्ने निकाय वीमा समिति
अध्यक्ष माधवप्रसाद उपाध्याय
सदस्य अवरिन्द्रकुमार श्रेष्ठ
सदस्य डा. जनकलाल कर्माचार्य
सदस्य माधव पौडेल
सदस्य देवेन्द्रप्रसाद शाह
पुनरावेदन अदालत पाटनमा फैसला गर्ने :
मा.न्या. श्री ज्ञानेन्द्रबहादुर कार्की
मा.न्या. श्री लक्ष्मणमणि रिसाल
§ दुर्घटना बीमा रकम दावीको सम्बन्धमा शुरु तहमा एकपटक स्वीकार गरिसकेपछि पछि अन्यथा जिकीर लिन वीमा कम्पनी विवन्धित भएको मानिने । साथै शुरु तहमा वीमा समितिसमक्ष नउठाएको तथ्यसम्बन्धी विवाद पुनरावेदन तहमा आएर उठाउन मिल्दैन । तथ्यसम्बन्धी विवाद शुरुमै उठेको हुनुपर्ने ।
§ विवादको तथ्यको निरोपणार्थ सबूद प्रमाण शुरु तहमा सामान्यतया बुझिने हुँदा प्याराग्लाइडिङ्गको क्रममा दुर्घटना हुनुभन्दा अगाडिदेखि नै प्रतिवादी वीमा कम्पनीसँग व्यक्तिगत दुर्घटना वीमा गराएको हुँदा दुर्घटना वीमा रकम लिन वादीले नवीकरण गरी प्रमाण सिर्जना गरेको भनी मान्न नमिल्ने ।
(प्रकरण नं.४)
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री श्यामप्रसाद खरेल
प्रत्यर्थी वादी तर्फबाटः विद्वान अधिवक्ता श्री लोकभक्त राणा
अवलम्बित नजीरः
सम्बद्ध कानूनः
फैसला
न्या.मोहनप्रकाश सिटौलाः पुनरावेदन अदालत पाटनबाट भएको फैसलाउपर मुद्दा दोहोर्याई हेरी पाऊँ भनी प्रतिवादीका तर्फबाट यस अदालतमा निवेदन परी न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) अनुसार मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर निम्न प्रकार रहेको छ ।
निवेदकले का.जि.का.म.न.पा. वडा नं. १ स्थित रहेको एभरेष्ट इन्स्योरेन्स कम्पनी लि. मा वीमा लेख नं. ५६।५७ पिकेआर । पिएआई । ००५ सम्पुष्टि नं. इपीएम आइससि–३५५१ को वीमाङ्क रु.१०,००,०००।– (दश लाख रुपैयाँ) को व्यक्तिगत दुर्घटना बीमा गराएको थियो । सो वीमा लेखको अवधि सन् १०।१२।२००० देखि सन् ९।१२।२००१ सम्म रहेको थियो ।
मिति २०५७।१०।५ तदनुसार सन् १८।१।२००१ मा साराङकोटबाट प्यारा ग्लाइडिङ गर्दा म दुर्घटनामा परे । मेरो दुबै खुट्टा भाँचियो । मैले काठमाडौंस्थित जोरपाटी अस्पतालमा उपचार गराउँदै आएको छु । मेरो वायाँ खुट्टाको Talus मा Avascular necrosis भएको Ankle को joint jammed भई नचल्ने भएको र भविष्यमा पनि अवस्था नसुध्रने, बायाँ खुट्टाले हिँडडुल गर्न नसक्ने भएको हुँदा एभरेष्ट इन्स्योरेन्स कम्पनीको व्यक्तिगत दुर्घटना वीमालेखको नियम १ को खण्ड (ग) को उप खण्ड २ मा भएको व्यवस्थाअनुसार वीमाङ्क रकम रु.१०,००,०००।– को ५० प्रतिशत पाउन आवश्यक सम्पूर्ण कागजातहरू संलग्न राखी मैले एभरेष्ट इन्स्योरेन्स कम्पनीमा मौकामै पटक पटक निवेदन दिएँ । मेरो सो निवेदनहरूमा एभरेष्ट इन्स्योरेन्स कम्पनीबाट दायित्व ठहर गर्ने कार्य गर्न बिलम्ब भयो ।
यस पश्चात् विशेषज्ञ Pierre SOETE M.D को सन् ९।६।२००३ को सिफारिशको सक्कलप्रति समेत संलग्न राखी वीमा नियमावली, २०४९ को नियम ३२(३) बमोजिम दायित्व ठहर गरी पाऊन मैले मिति २०६०।३।१३ द.नं. ६६८ मा एभेरेष्ट इन्स्योरेन्स कम्पनीमा निवेदन दिएको थिएँ । बीमा नियमावली, २०४९ को नियम ३३(३) मा बीमितले वीमकसमक्ष सम्पूर्ण विवरणहरू खुलाई निवेदन दिएपश्चात् बढीमा पैंतिस दिनभित्र दायित्व ठहर गरी विमितलाई दावी भुक्तानी गर्नुपर्ने वाध्यात्मक कानूनी व्यवस्था गरिएको छ । मैले एभरेष्ट इन्स्योरेन्स कम्पनीमा आवश्यक सबै कागजातहरू राखी बीमा रकम दावी गरेको बषौं हुँदा पनि दायित्व निर्धारण नभई मलाई साह्रै अन्याय परेको छ । माथि उल्लिखित मिति २०६०।३।१३ को पत्र दिएको ३५ दिन पनि नाघिसकेको छ । एभेरेष्ट इन्स्योरेन्स कम्पनीले आफ्नो कर्तव्य निर्वाह नगरी मलाई अनावश्यक रुपमा झुल्याएको प्रष्टै छ ।
वीमा नियमावली, २०४९ को नियम ३३ मा भएको कानूनी व्यवस्थाअनुसार वीमा समितिले वीमकले प्रचलित कानूनद्वारा तोकिएको अवधिमा दायित्व निर्धारण नगरेमा वीमितले कारणसमेत खोली वीमा समितिमा उजूर गर्न सक्ने व्यवस्था गरिएको हुँदा म निवेदकले यही कानूनी व्यवस्थानुसार त्यस वीमा समितिमा उजूर गर्न आएको छु ।
ऐन नियम ३३(२) र ३३(३) बमोजिम जाँचबुझ समेत गरी एभरेष्ट इन्स्योरेन्स कम्पनीलाई अविलम्ब (दिन ताकेर) दायित्व निर्धारण गर्न आदेश जारी गरी न्याय पाऊँ भन्ने व्यहोराको नारायण पराजुली, का.जि.का.म.न.पा. २९ ठमेलस्थित रहेको आर.आर.ल. अशोशिएट्सको उजूरी निवेदन ।
बीमा दावी सम्बन्धमा के कसो भएको हो सोको लिखित जवाफका साथ तत्सम्बन्धी सम्पूर्ण कागजात तथा विवरण समेत १५ दिनभित्र पेश गर्न वीमा नियमावली, २०४९ को नियम ३३ को उपनियम (१क) को व्यवस्थाबमोजिम समितिको पत्रबाट वीमकलाई निर्देशन ।
विमित श्री नारायण पराजुलीको ०५७।१०।५ मा प्याराग्लाइडिङ गर्दा दुर्घटना परेको र कम्पनीमा मिति २०५७।११।२ मा दावी गर्न आएको ।
दावी पत्रमा विमितले दुर्घटना हुँदाखेरी दायाँ तथा वायाँ दुबै खुट्टा फ्याक्चर भएको र उपचार पछि कम्पनीलाई जानकारी गराउने भनी निवेदन दिएको ।
त्यसपछि ०५८।३।६ मा विमितले दायाँ खुट्टा निको भएको र वायाँ खुट्टाको अवस्था सुधार नभएकोले औषधोपचारको लागि समय लाग्ने तथा उपचारबाट निको भएपछि सम्बन्धित कागजात र विल पेश गर्ने भनी निवेदन दिनु भएको ।
०५८।१०।१९ मा वीमितले बायाँ खुट्टा अझै पनि राम्रोसँग निको हुन नसकेको हुँदा थप समय उपचारको लागि लाग्न सक्ने भनी नेपाल अर्थोपेडिक हस्पिटल जोरपाटीको सिफारिशसहित निवेदन दिनु भएको ।
०५९।५।११ मा वीमितले चिकित्सकको सल्लाहअनुसार वायाँ खुट्टाको गोलीगाँठो अझै राम्रोसँग निको नभएको र यदि दुख्ने क्रम बढ्दै गएमा फेरी अपरेशन गर्नुपर्ने र केही समय लाग्ने भनी निवेदन दिनु भएको ।
वीमितलाई वीमा कम्पनीको व्यक्तिगत वीमा लेख नं. ५६।५७ पिकेआर । पिएआई ००५ को लाभ (ग) को २ अन्तर्गत वीमाङ्क रकमको ५० प्रतिशत वीमितले दावी गरेअनुसार पूर्ण अशक्तताको दावी नलाग्ने भनी मौखिक रुपमा जानकारी गराइएको तर बीमा लेखको लाभ (च) अन्तर्गत अस्थाई पूर्ण अशक्तताअनुसार दावी फर्छ्यौट गर्न सकिने भनी जानकारी गराइएको ।
वीमा कम्पनीलाई अहिले पनि दावी फर्छ्यौट गर्न चिकित्सकको रिपोर्टअनुसार पनि अझै उपचार पूर्ण भई नसकेको अवस्था भएको हुँदा पूर्ण अशक्तता नै हो भन्ने कुराको यकीन नभएको देखिएको साथै चिकित्सकहरूको रिपोर्टमा उल्लेख भएका कुराहरू पनि परस्पर बाझिएको देखिएको ।
यस कम्पनीबाट दावी फर्छ्यौट गर्न आनाकानी गर्न खोजेको साथै झुल्याउने भन्ने वीमितको दावी सरासर झूठा हो भन्ने कुरा जानकारी गराउन चाहन्छौ भन्ने वीमकको मिति २०६०।५।११ को लिखित जवाफ ।
मिसिल संलग्न चिकित्सकको रिपोर्टअनुसार फेरि शल्यक्रिया (Second Surgery) गर्नुपर्ने भन्ने समेत उल्लेख भएको देखिँदा त्यस्तो शल्यक्रिया भए नभएको बारे चिकित्सकको फाइनल रिपोर्ट समेत यथाशिघ्र पेश गर्न बीमित, निवेदक नारायण पराजुलीलाई समितिको मिति २०६०।१०।२३ को पत्र बाट निर्देशन ।
शल्यक्रिया भए नभएको बारे चिकित्सकको फाइनल रिपोर्ट बुझाउने आदेश भएको हुँदा चिकित्सकसँग परामर्श लिई निवेदनको साथमा उक्त पत्र पेश गरेको छ भन्ने नारायणप्रसाद पराजुलीको पुन निवेदन ।
बीमित व्यक्ति श्री नारायण पराजुलीको दोस्रो शल्यक्रिया आवश्यक भएको भन्ने उल्लेख भएको हुँदा उपचार समाप्त नभएको र पूर्ण अशक्तताको बारेमा अझै अन्यौल रहेकोले पूर्ण असक्तता लाभ अन्तर्गत दावी नलाग्ने तर अस्थायी पूर्ण अशक्तता अन्तर्गत दावी फछ्र्यौट गर्न सकिने जानकारी गराउँदछौं भन्ने व्यहोरा बीमक एभरेष्ट इ.कं. लि. को लिखित जवाफ ।
बीमा लेखको नियम १ को खण्ड (ग) को उपखण्ड (२) अनुसार दोस्रो शल्यक्रिया आवश्यक पर्ने तर त्यस्तो शल्यक्रियाबाट समेत निजको अवस्थामा सुधार नआउने किटानी व्यहोरा उल्लेख भएको देखिँदा वीमितलाई स्थायी पूर्ण असक्तता अन्तर्गत क्षति भएको आधारमा वीमा दावी भुक्तान गर्नुपर्ने देखियो । वीमा लेखको शर्त सुविधाअनुरूप वीमाङ्क रकमको पचास प्रतिशत रकम भुक्तानी दिन वीमा ऐन तथा नियमावलीबमोजिम आदेश दिने ठहर्छ भन्ने वीमा समितिबाट मिति २०६१।२।१५ मा भएको निर्णय ।
बीमा समितिले पूर्ण अशक्तताको कारण जनाई बीमा रकम भराउने निर्णय गरेपनि उक्त पूर्ण अशक्तताको ठहर के कति आधार र कारणहरूले पुष्टि हुने हो सो खुलाउन सकेको छैन भने अर्कोतिर पुनः शल्यक्रिया गर्नुपर्ने भनी चिकित्सकको प्रतिवेदन दिएको भनिएको छ । यसरी शल्यक्रिया नै नगरी पूर्ण अशक्तता ठहर गर्नु समितिको आत्मगत ठहर बाहेक केही हुन सक्दैन । अतः समितिको उल्लिखित निर्णय प्रमाण ऐन, २०३१ को दफा ३,५४ मुलुकी ऐन, अ.वं. १८४(क) बीमा ऐन, २०४९ को दफा २७ समेत विपरीत गरी भएको फैसला उल्टाई पाऊँ भन्ने पुनरावेदन पत्र ।
वीमितको दुर्घटना भएको मिति सम्बन्धमा नै पुनरावेदकले विवाद देखाएको अवस्था हुँदा अ.वं. २०२ नं. बमोजिम छलफलको लागि प्रत्यर्थीलाई झिकाई पेश गर्नु भनी पुनरावेदन अदालत पाटनबाट मिति २०६१।९।२ मा भएको आदेश ।
मेरो निश्चित ठेगाना हुँदा हुँदै घरद्वार पत्ता नलागेको भनी मेरो नाउँमा सूचना अ.वं. ११२ नं. बमोजिम २९ वडा कार्यालयको सूचना पाटीमा टाँस गर्न मिल्ने होइन मलाई आफ्नो प्रतिरक्षा गर्ने मौकाबाट बंचित गर्ने उद्देश्यले वेरितपूर्ण एवं वेहिसाब तबरबाट तामेल गरिएको हुँदा सो तामेली समेत बदर गरी मेरो नाउँमा पुनः सूचना जारी गरी प्रस्तुत मुद्दामा आफ्नो प्रतिरक्षा गर्ने मौका पाऊँ भनी प्रत्यर्थीले दिएको निवेदनपत्र ।
शुरु तहमा दावी वा प्रतिवाद गर्दा भन्न लेख्न नसकेपछि पुनरावेदन तहमा आई नयाँ तथ्य सम्बन्धमा दावी जिकीर गर्न सिद्धान्तत नमिल्ने हुँदा बीमित नारायण पराजुलीको दुर्घटना भई चोट पटक भएको र सो चोटबाट निज अशक्त भएको कुरा चिकित्सकले प्रमाणित गरिदिएको देखिएको सो अवधिमा निजको बीमा नविकरण भएको स्पष्टै देखिँदा बीमा समितिबाट मिति २०६१।२।१५ मा भएको निर्णय मिलेकै देखिँदा सदर हुने ठहर्छ भनी पुनरावेदन अदालत पाटनबाट मिति २०६२।३।२२ मा भएको फैसला ।
वादीको दुर्घटना पश्चात् मात्र नविकरण भएको छ, वीमा रकम दावीकर्ताले नविकरण गरेको र त्यसपछि दुर्घटना परेको तथ्य स्थापित हुनुपर्दछ, पुनरावेदन अदालतको फैसलामा तथ्यहरूको विवेचना गरिएको छैन । वीमा ऐन, २०४९ को दफा २७ को विपरीत पुनरावेदन अदालत पाटनबाट भएको फैसला बदर गरी मुद्दा दोहोर्याई हेरी पाऊँ भनी यस अदालतमा प्रतिवादी निवेदकको तर्फबाट परेको निवेदन पत्र ।
यसमा सन् १९९९।९।१२ देखि सन् २०००।९।१२ सम्म इन्स्योरेन्स भएकोमा म्यादभित्र प्रिमियम नतिरी बसेकोमा सन् २००१।१।१६ मा दुर्घटना भएपछि सन् २००१।१।१७ मा प्रिमियम तिरी उक्त इन्स्योरेन्स बैधानिक भएको देखिन्छ भने सन् २००१।१।१६ मा दुर्घटना भएको कुरा वादी नारायणप्रसाद पराजुलीले दुर्घटनाबाट परेको चोट सन् २००१।१।१७ मा चिकित्सकलाई जाँच गराउँदा “हिजो १ बजे ग्याइडरको दुर्घटना भएको” भन्ने उल्लेख गरी जाँच गरेको अस्पतालको कागजलाई मिति सच्चाई सन् २००१।१।१८ मा दुर्घटना भएको देखाई सन् २००१।१।१७ मा प्रिमियम तिरेको कागजलाई बैधानिक गराई वीमा रकम लिन पाउने गरेको पुनरावेदन अदालत पाटनको मिति २०६२।३।२२ को फैसलामा प्रमाण ऐन, २०३१ को दफा ५४ एवं अ.वं.१८४(क) को व्याख्यात्मक त्रुटि भएको देखिएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) को आधारमा मुद्दा दोहोर्याउने निस्सा प्रदान गरिएको छ भन्ने यस अदालतको आदेश ।
नियमबमोजिम आजको पेसी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्यामप्रसाद खरेलले वादीको १०।१२।१९९९ देखि ९।१२।२००० सम्मको वीमा भएको हो । वादीले मिति १८।०१।२००१ अर्थात २०५७।१०।५ मा रु.५००० दाखेल गरी १ वर्षको व्यक्तिगत दुर्घटना वीमा नवीकरण गरेको हो । वादीको दुर्घटना १७–१–२००१ मा भएको अस्पतालको कागज छ । सो कागजमा Fall yesterday at 1:00 P.M उल्लेख छ । यसरी दुर्घटना भएपश्चात् वीमा नविकरण गरेको स्पष्ट देखिँदा दुर्घटना वीमा रकम दावी गर्न पाउने होइन । पुनरावेदन अदालतको फैसला बदरभागी छ भनी र प्रत्यर्थी वादीका तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता लोकभक्त राणाले वीमकले २००१–१–१७ मा वीमाको प्रिमियम तिरेको छ । रसिद २००१–१–१८ मा प्राप्त भएको हो । डिसेम्बर १० अर्थात अगाडिकै Date बाट लागू हुने भनी वीमा कम्पनीले Renew गरेको छ । वीमा नवीकरणको मिति सम्बन्धमा वीमा कम्पनीले वीमा समितिमा प्रश्न उठाएको छैन । तथ्यगत प्रश्न शुरु निकायमै उठाउनु पर्छ । शुरुमा वीमा कम्पनीले दावी फछ्र्र्यौट गर्न आपत्ती नभएको भन्ने जवाफ दिएको र निवेदकले मिति २०६१।२।२ मा वीमा समितिमा निवेदन दिँदा अस्थायी पूर्ण अशक्तताको सुविधा दिन सकिन्छ भनी वीमा कम्पनीले जवाफ दिएको छ । हाल अन्यथा जिकीर लिन पाउने होइन । पुनरावेदन अदालतको फैसला कायम राखी पाऊँ भनी बहस गर्नुभयो ।
उपरोक्त बहस जिकीर सुनी वीमा समितिबाट निवेदकलाई स्थायी पूर्ण अशक्तता अन्तर्गत वीमा लेख अन्तर्गत रही वीमाङ्क रकमको ५० प्रतिशत रकम दिने गरी वीमा समितिबाट मिति २०६१।२।१५ मा भएको निर्णय सदर गरी पुनरावेदन अदालत पाटनबाट भएको फैसला मिले नमिलेको के रहेछ सो मा निर्णय गर्नुपर्ने भएको छ ।
२. निर्णयतर्फ विचार गर्दा प्रत्यर्थी कम्पनीमा रु.१०,००,०००।– को व्यक्तिगत दुर्घटना वीमा गराएका निवेदकले मिति २०५७।१०।५ तदनुसार १८।१।२००१ मा सराङकोटबाट प्याराग्लाइडिङ गर्दा दुर्घटनामा परी दुबै खुट्टा भाँचिएको र डाक्टरलाई जचाउँदा वायाँ खुट्टाको Talus मा Avascular Necrosis भएको, Ankle को Joint jammed भई नचल्ने भएको, भविष्यमा वायाँ खुट्टाले हिँडडुल गर्न नसक्ने भएको र विशेषज्ञको सिफारिश समेत राखी वीमा नियमावली, २०४९ को नियम ३२(३) बमोजिम वीमकसमक्ष वीमा रकमको ५० प्रतिशत पाउन निवेदन दिएको ३५ दिन व्यतित भैसक्दा पनि दायित्व ठहर नगरेकाले वीमा कम्पनीलाई दायित्व निर्धारण गर्न आदेश गरी राखी पाऊँ भनी वीमा समितिसमक्ष वादीले निवेदन पेश गरेको देखिन्छ । निवेदकको उपचार समाप्त नभएको र पूर्ण अशक्तताको स्थितिको निश्चित नभएकोले अस्थाई पूर्ण अशक्तता अन्तर्गत दावी फछ्र्यौट गर्न सकिने भनी प्रतिवादी वीमा कम्पनीले वीमा समितिसमक्ष जवाफ पेश गरेको देखिन्छ र निवेदकको दावी स्वीकार गरेको देखिन्छ ।
३. निवेदकले विपक्षी वीमा कम्पनीसमक्ष वीमालेख नं. ५६।५७ पिकेआर। पि.ए.आई ०२४ को वीमा अवधि सन् १०।१२।१९९९ देखि ९।१२।२००० सम्मका लागि रु.१०,००,०००।– वीमाङ्क रकमको व्यक्तिगत दुर्घटना वीमा गरेको र सन् १८।०१।२००१ मा १ वर्षको नवीकरण वीमा शुल्क रु.५०००।– दाखिला गरेको देखिन्छ । निवेदक सराङ्गकोटमा प्यारा ग्लाइडिङ्ग गर्दा दुर्घटनामा परेको र Nepal Orthopaedic Hospital मा उपचार गराएको देखिन्छ । उक्त अस्पतालको पुनरावेदक एभरेष्ट इन्स्योरेन्स कम्पनी लि. लाई लेखेको मिति २०६०।०२।१३ को पत्रमा “निज नारायण पराजुलीको मिति जनवरी २१, २००१ मा TALUS Grade III Hawkins fracture को Med. Malleous fracture अप्रेशन भएको र निज अस्पतालबाट तोकिएको समयमा सदा पुनः परीक्षणको लागि आउने गरेका छन् । निजको खुट्टाको अवस्था राम्रो रहेको तर Permanent residal deformity सदाको लागि रहने जानकारी गराइन्छ । अस्पतालबाट तोकिएको समय समयमा उपस्थित भएमा अहिलेको भन्दा केही हदसम्म राम्रो रहेता पनि ट्रेकिङ्ग तथा पाराग्लाइडिङ्ग र धेरै समयसम्म हिड्न तथा शारीरिक कार्य गर्न नसक्ने जानकारी गराईन्छ” उल्लेख भएको देखिन्छ । निवेदक दुर्घटनामा परी उपचारका लागि सन् २००१।१।१८ मा उक्त अस्पताल भर्ना भै २००१।२।६ मा डिस्चार्ज भएको In patient Discharge Summary बाट देखिन्छ ।
४. निवेदक वीमालेख नवीकरण गर्नुभन्दा अगाडि नै दुर्घटनामा परेको हो भन्ने पुनरावेदन जिकीर रहेकोमा सो कुरा शुरु वीमा समितिसमक्ष प्रतिरक्षा गर्दा पुनरावेदक प्रतिवादीले नउठाएको र निवेदक उपचारत रहेकाले अस्थाई पूर्ण अशक्तता अन्तर्गत दावी फछ्र्यौट गर्न सकिने भनी मिति २०६१।१।२५ मा पत्राचार गरेको देखिन्छ । निवेदकको दुर्घटना बीमा रकम दावीको सम्बन्धमा शुरु तहमा एकपटक स्वीकार गरिसकेपछि हाल आएर अन्यथा जिकीर लिन वीमा कम्पनी विवन्धित पनि भएको मानिन्छ । साथै शुरु तहमा वीमा समितिसमक्ष नउठाएको तथ्यसम्बन्धी विवाद पुनरावेदन तहमा आएर उठाउन मिल्दैन । तथ्यसम्बन्धी विवाद शुरुमै उठेको हुनुपर्छ । किनकि विवादको तथ्यको निरोपणार्थ सबूद प्रमाण शुरु तहमा सामान्यतया बुझ्ने गरिन्छ । निवेदकको प्याराग्लाइडिङ्गको क्रममा दुर्घटना हुनुभन्दा अगाडि देखिनै प्रतिवादी वीमा कम्पनीसँग व्यक्तिगत दुर्घटना वीमा गराएको हुँदा दुर्घटना वीमा रकम लिन वादीले नवीकरण गरी प्रमाण सिर्जना गरेको भनी मान्न मिल्ने देखिँदैन ।
५. तसर्थ माथि विवेचित आधार कारणबाट वीमा कम्पनीसँग निवेदकले गरेको दुर्घटना वीमालेख र पुनरावेदक प्रतिवादीले निवेदकको दावीको सम्बन्धमा वीमा समितिसमक्ष गरेको स्वीकारोक्ति समेतका आधारमा यस अदालतबाट मुद्दा दोहोर्याई हेर्ने गरी भएको आदेशसँग सहमत हुन सकिएन । यिनै आधार कारणले वीमा समितिबाट भएको निर्णय सदर गरी पुनरावेदन अदालत पाटनबाट मिति २०६२।३।२२ मा गरेको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदन जिकीर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू ।
उक्त रायमा म सहमत छु ।
न्या.सुशीला कार्की
इति संवत् २०६७ साल भदौ ३१ गते रोज ५ शुभम्
इजलास अधिकृत : महेन्द्रप्रसाद पोखरेल