निर्णय नं. ८५१० - सवारी ज्यान

निर्णय नं. ८५१० ने.का.प. २०६७ अङ्क ११
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी
माननीय न्यायाधीश श्री सुशीला कार्की
२०६४–CR–००७२
फैसला मितिः२०६७।७।१८।५
मुद्दा :–सवारी ज्यान ।
पुनरावेदक वादीः प्रहरीको प्रतिवेदनले नेपाल सरकार
विरुद्ध
प्रत्यर्थी प्रतिवादीः जिल्ला ललितपुर, ललितपुर उपमहानगरपालिका वडा नं. ३ बस्ने दीपेन्द्र शाक्य समेत
शुरु फैसला गर्नेः
मा.जि.न्या.श्री भरतप्रसाद अधिकारी
पुनरावेदन फैसला गर्नेः
मा.न्या.श्री हरिराम कोइराला
मा.न्या.श्री हरि बहादुर वस्नेत
§ सवारी दुर्घटनाबाट सवारी चल्ने सडक वा सवारी सञ्चालन वा नियमन गर्ने प्रयोजनका लागि निर्माण गरिएका वा जडान गरिएका संरचनाको क्षतिबापत सो निर्माण गर्ने सार्वजनिक वा सरकारी निकाय वा सरकारले क्षतिपूर्ति नपाउने ।
§ प्रत्यक्ष र स्पष्ट रुपले सार्वजनिक निकाय वा सरकारको अधिकार वा ती निकायहरूप्रति व्यक्तिको कर्तव्य वा दायित्वको व्यवस्था कानूनले गरेको छैन भने अप्रत्यक्ष रुपले वा कानूनको आसयबाट त्यस्तो हो भनी निष्कर्षमा पुग्नु कानून व्याख्या सम्बन्धी सिद्धान्त समेतको विपरीत हुनजाने ।
(प्रकरण नं.४)
§ क्षतिपूर्तिसम्बन्धी सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले गरेको व्यवस्था स्पष्ट रुपले सडक वा सोसँग सम्बन्धित वा जडित सार्वजनिक निर्माणका अन्य संरचनाको क्षति वा सोको क्षतिपूर्तितर्फ इंगित नगरी तेस्रो पक्षको रुपमा रहेका व्यक्ति वा व्यक्तिगत सम्पत्तिको क्षतिको क्षतिपूर्तिसम्बन्धी व्यवस्था गरेको देखिने ।
(प्रकरण नं.५)
पुनरावेदक वादी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री सरोजप्रसाद गौतम
प्रत्यर्थी प्रतिवादी तर्फबाटः
अवलम्बित नजीरः सम्बद्ध कानूनः
§ सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १५२(१), (२), १६१(३), र १६३
फैसला
न्या.ताहिर अली अन्सारीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत पाटनको मिति २०६३।९।२ को फैसलाउपर पुनरावेदक वादी नेपाल सरकारको यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर निम्नानुसार रहेको छः–
मिति २०६०।८।९ गतेका दिन राति २३:०० वजेको समयमा काठमाडौं माईती घरमा वा.४च ५१३ को गाडी दुर्घटना हुँदा सोही गाडीमा यात्रा गरिरहेका भारतीय नागरिक जोज मेक्सी भन्ने व्यक्ति सख्त घाइते भई उपचारको लागि वीर अस्पतालमा ल्याउँदा मृत्यु भएको र चालक घाइते भएकोले लास कानूनबमोजिम जे जो गर्नुपर्ने गरिपाऊँ भन्ने प्रहरीको प्रतिवेदन ।
सोलार सेट रहेको सिमेन्टको पोल समेत भत्किएको विजुलीको तार जडित तार बकस समेत सिमेन्टको पिलर भत्किएको, फुल क्यारिजको बीच भागमा रगत रहेको भन्ने व्यहोराको घटनास्थल प्रकृति मुचुल्का ।
अनुहारमा रगत लत्पतिएको, बायाँ आँखा माथि कन्चटमा एक इञ्चको गहिरो घाउ चोट लागेको, सो चोटबाट रगत बगेको, दुवै कानमा रगत आएको बायाँ घुँडामा छाला खुइलिएको भन्ने समेत व्यहोराको लास जाँच प्रकृति मुचुल्का ।
मेरो भतिजो वर्ष २२ को एन्जो मेक्सी नेपाल घुम्नको लागि आएकोमा मिति २०६०।८।९ गते बा. ४ च ५१३ नं. को गाडीमा बसी आउने क्रममा काठमाडौँ जिल्ला, माइती घरमा उक्त गाडी अचानक दुर्घटना हुँदा चालक र एन्जो मेक्सी समेत सख्त घाइते भई उपचारार्थ बीर अस्पतालमा ल्याउँदा एन्जो मेक्सीको मृत्यु भएको र भतिजाको लास कानूनबमोजिम गरी लास सतगतको लागि मेरो जिम्मामा पाऊँ भन्ने व्यहोराको एन्जी तोम्चाको जाहेरी ।
मिति २०६०।८।९ गते बा.४ च ५१३ नं. को गाडी दुर्घटना हुँदा म निवेदक एवं सशीकान्त सिंह पनि साधारण घाइते भएकोमा मेरो उपचार गाडी धनी पक्षबाट भएकोले गाडी धनी पक्षसँग मेरो लिनु दिनु केही नभएको र माग दावी समेत छैन भन्ने समेत व्यहोराको एन. सशीकान्त सिंहको निवेदन जाहेरी ।
मेरो भतिजो जोज मेक्सीको मृत्यु भएको सम्बन्धमा मृतकको नजिकको हकदारले कानूनबमोजिम पाउने क्रिया खर्च तथा क्षेतिपूर्ति ललित कृष्ण प्रधानलाई दिएमा मेरो मञ्जूरी छ भनी एन्जी तोम्चाले गरिदिएको मञ्जूरनामा कागज ।
Bount force injuries to head मृत्युको कारण भन्ने मृतक जोजे मेक्सीको शव परीक्षण प्रतिवेदन ।
माइतीघर चोकको पूर्वी कुनामा रहेको आइल्याण्डमा जडान भएका ट्राफिक बत्तीका कन्ट्रोलर समेत वा.४ च.५१३ नं. को गाडीले मिति २०६०।८।९ मा ठक्कर दिई क्षति पुर्याएको हुँदा क्षतिग्रस्त सार्वजनिक सम्पत्तिको पुनः निर्माणका लागि रु.७१,१८,६६१।– दिलाई पाऊँ भन्ने समेत सडक विभागको पत्र ।
बा.४ च ५१३ नं. को गाडीको टायर पञ्चर भएको, हेडलाइट साइडलाइट फुटेको, स्टेरिङ कडा भएको एक्सेलेटर लुज भएको भन्ने समेत व्यहोराको यान्त्रिक परीक्षण प्रतिवेदन ।
पाटन फाइनान्स कम्पनी लि. ऋणी द्रव्यरत्न शाक्य भई सगरमाथा इन्स्योरेन्स कं. लि. मा गरेको बीमाको कागजात समेत निवेदनसहित पेश गरेको ।
प्रतिवादी दीपेन्द्र शाक्यले मैले बा.४ च ५१३ नं. को गाडी हाँकी जोजे मेक्सीलाई गाडीको अगाडि पट्टीको सिटमा राखेँ, एन. शशीकान्त सिंह पछाडिको सिटमा वस्यो, सोपछि वानेश्वर हुँदै माइती घरतर्फ आउने क्रममा माइतीघर नजिक आइपुग्दा मैले हाँकिरहेको गाडीको टायरको हावा फुस्की पञ्चर भएपछि गाडी अनकन्ट्रोल भई ट्राफिक संकेत बत्तीमा ठक्कर लाग्यो, जोजे मेम्सीको टाउकोमा चोट लाग्यो । मेरो दायाँ वाँया पूरै चोट लाग्यो । सशीकान्त घाईते भयो, तीनैजना उपचारको लागि वीर अस्पतालमा भर्ना भयौं । जोजे मेक्सीको उपचार हुँदाहुँदै मृत्यु भयो, शशीकान्त र म उपचारपछि डिसचार्ज भएको हो । उक्त दुर्घटना हुँदाको अवस्थामा कुनै मादक प्रदार्थ सेवन गरेको थिइन । सो गाडीको इन्सोरेन्स समेत सगरमाथा इन्सोरेन्समा गराएको र तेस्रो पक्षको बीमा समेत गराइएको हुँदा क्षतिपूर्ति फाइनान्स र इन्सोरेन्सबाट दिलाई पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी दीपेन्द्र शाक्यको वयान ।
दुर्घटनाको नाप नक्सा सहितको सडक दुर्घटना प्रतिवेदन मिसिल संलग्न रहेको ।
चालक दीपेन्द्र शाक्यले वा.४ च ५१३ नं. को गाडी चलाई ल्याउँदाको अवस्थामा माइती घरमा आईपुग्दा गाडीको चक्का पञ्चर भई चालकले गाडी नियन्त्रणमा लिन खोज्दाखोज्दै पोलमा ठक्कर लाग्न गएको र जोजे मेक्सीको मुत्यु भएको उक्त दुर्घटना अकस्मात भएको भन्ने समेत व्यहोराको चन्द्रबहादुर गुरुङ, रमेशबहादुर भण्डारीले गरेको छुट्टाछुट्टै कागज ।
द्रव्यरत्न शाक्यको मुखबाट मादक पदार्थको गन्ध नआएको भन्ने वीर अस्पतालको प्रतिवेदन ।
प्रतिवादी दीपेन्द्र शाक्यले मिति २०६०।८।९ गते वा.४च ५१३ नं. को गाडी चलाई उक्त गाडी का.जि., का.म.न.पा. माइतीघरमा दुर्घटना भई उक्त गाडीभित्र रहेको जोजे मेक्सीको मृत्यु भई निज प्रतिवादी दीपेन्द्र शाक्यले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(३) अनुसारको कसूर अपराध गरेको देखिँदा निज प्रतिवादीलाई सोही ऐनको दफा १६१(३) अनुसार सजाय हुन अनुरोध छ । मृतक पक्षले पाउने क्रिया खर्च र क्षतिपूर्ति बुझेको भरपाई मिसिल संलग्न छ । सोतर्फ केही गरिरहन नपर्ने । माइतीघरस्थित ट्राफिक संकेत बत्तीमा सो गाडीले ठक्कर दिई क्षति भएकोले सोको क्षतिपूर्तिस्वरुप सडक विभाग काठमाडौँलाई रु.७१,१८,६६१। बुझाएको नदेखिँदा सवारी धनी पाटन फाइनान्स कं.लि. देखिएको र ऋणी द्रव्यरत्न शाक्यको मृत्यु भएको देखिएको निजको हक खाने दीपेन्द्र शाक्य देखिएको, तेस्रो पक्षको वीमा सगरमाथा इन्स्योरेन्स क. लि. मा समेत गरेको देखिँदा उक्त क्षति भएको बिगो रु.७१,१८,६६१।– निज प्रतिवादी दीपेन्द्र शाक्य, पाटन फाइनान्स कं.लि., सगरमाथा इन्स्योरेन्स क.लि. बाट सडक विभाग काठमाडौंलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १५२ तथा दफा १६३ अनुसार दिलाई भराई दिन माग दावी लिएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड, पाटन फाइनान्स कम्पनी लिमिटेडलाई अदालतबाटै म्याद जारी गरी पठाउन हुन सक्कल मिसिल, प्रतिवादी दीपेन्द्र शाक्य र सवारी चालक अनुमति पत्र यसै साथ पेश गरिएको छ भन्ने समेत व्यहोराको अभियोग दावी ।
प्रतिवादी दीपेन्द्र शाक्यले उक्त दुर्घटना हुँदा मैले लागू औषध, मदिरा सेवन गरेको थिएन, प्रहरीमा मैले गरेको वयान मैले भनेबमोजिम लेखिएको हो, ट्राफिक संकेत बत्तीको क्षतिपूर्ति रु.७१,१८,६६१।–, गाडीले गरेको क्षति र गाडीको क्षति समेत व्यहोर्ने दायित्व सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको हो भन्ने समेत व्यहोराको प्रतिवादी दीपेन्द्र शाक्यले अदालतमा गरेको वयान कागज ।
भारतीय नागरिक जोज मेक्सीको मृत्यु हुन गएको देखिँदा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(३) अनुसारको कसूर प्रतिवादी दीपेन्द्र शाक्यले गरेको ठहर्छ, निज दीपेन्द्र शाक्यले नै चलाएको उक्त वा. ४ च. ५१३ नं. को गाडीको दुर्घटना भै सोको कारणबाट क्षति हुन गएको उक्त ट्राफिक संकेत बत्तीको क्षतिपूर्ति निज प्रतिवादी दीपेन्द्र शाक्यले नै तिर्न बुझाउनु पर्ने देखिँदा अभियोग पत्र समेतमा उल्लिखित माइतीघर चोकको ट्राफिक संकेत बत्तीको क्षति भएको उल्लिखित क्षतिपूर्ति स्वरुपको रकम रु.७१,१८,६६१।– रकम सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १५२ तथा १६३ अनुसार समेत सडक विभाग काठमाडौंले निज प्रतिवादी दीपेन्द्र शाक्यबाट दिलाई भराई पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु काठमाडौँ जिल्ला अदालतको मिति २०६२।१।८ को फैसला ।
शुरु जिल्ला अदालतले मलाई कसूरदार ठहर्याई रु.२०००।– जरीवाना र क्षतिपूर्ति स्वरुपको रकम रुं ७१,१८,६६१।– मबाट सडक विभागले भरी पाउने ठहर्याएको शुरुको फैसलामा चित्त बुझेन । चालकको लापरवाहीबाट दुर्घटना नभई आकस्मिक दुर्घटना भएको भन्ने सशीकान्त सिंहले गरेको वयान कागजबाट पुष्टि भैरहेको अवस्थामा मलाई कसूरदार ठहर्याई क्षतिपूर्ति भराउने ठहर्याएको शुरुको फैसला त्रुटिपूर्ण भएको हुँदा बदर गरिपाऊँ भन्ने दीपेन्द्र शाक्यको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।
सडक बत्तीको क्षतिपूर्तिबापत सडक विभागलाई प्रतिवादी दीपेन्द्र शाक्यबाट रु.७१,१८,६६१।– भरी पाउने ठहरेकोमा निजले अदालतमा राखेको ३,६०,०००।– मध्ये रु.२०००।– कट्टी गरी वाँकी रु.३,५८,०००।– प्रतिवादी दीपेन्द्र शाक्यलाई फिर्ता दिनु भन्ने फैसलाको तपसील खण्डमा उल्लिखित व्यहोरा त्रुटिपूर्ण रहेको छ । रु.३,५८,०००।– सडक विभागलाई सोधभर्ना गरी नपुग रकम मात्र सडक विभागलाई भराई दिनु भन्नी उल्लेख गरिनुपर्नेमा सो उल्लेख नगरेको फैसलाको सो हदसम्म बदर गरी धरौटी रकम सडक विभागलाई भराई दिने गरी फैसला गरिपाऊँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।
यसमा चालकको कावु वाहिरको परिस्थितिबाट दुर्घटना भएको अवस्थामा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६७ आकर्षित हुनेमा सो नगरी ऐ को १६१(३) बमोजिम सजाय गरेको र सार्वजनिक सम्पत्तिको क्षतिपूर्ति के कुन कानूनी व्यवस्थाअनुसार प्रतिवादीबाट भराएको हो, सो पनि नखुलेको र वीमा गरिरहेको अवस्थामा वीमा कम्पनीलाई दायित्वबाट उन्मुक्ति दिने गरी भएको समेत शुरु फैसला फरक पर्नसक्ने देखिदा छलफलको निमित्त फाइनान्स क.लि. र सगरमाथा इन्सोरेन्स कम्पनीलाई झिकाई पुनरावेदन गर्ने वादी प्रतिवादीका हकमा सो पुनरावेदन दुवै पक्षलाई परस्पर सुनाई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत पाटनको आदेश ।
सडक र सडकमा जडान गरिएका बत्ती, पोल र सडकसँग सम्बन्धित पुल, पुलेसा कल्भर्ड आदि संरचनाहरू आम नागरिकले सवारी चलाउँदा वा अन्य तरिकाबाट उपयोग गर्दा त्यस्ता सार्वजनिक सम्पत्तिको क्षति हुन गएकोमा राज्यले उपलब्ध गराएको सुविधा उपभोग गर्ने सर्वसाधारण व्यक्तिबाट क्षतिपुर्ति भराई दिनुपर्छ भनी कानूनको व्याख्या गर्न मिल्ने देखिँदैन । काबु बाहिरको परिस्थिति परी दुर्घटनाबाट भएको क्षतिको क्षतिपूर्ति व्यक्तिबाट भराई दिनुपर्ने भन्ने उक्त कानूनी व्यवस्थाको आसय पनि नभएको र दुर्घटना भएको गाडीको अचानक चक्का पञ्चर भै चालकको कावु बाहिरको परिस्थतिबाट नोक्सान हुन गएको अवस्थामा चालकको लापरवाही भनी त्यस्ता परिस्थितिबाट भएको क्षतिको दायित्व चालकलाई थोपर्नु न्यायसंगत हुदैन । अतः पुनरावेदक प्रतिवादी दीपेन्द्र शाक्यको कावु बाहिरको परिस्थिति परी गाडी दुर्घटना भएको र सो दुर्घटनाबाट भएको सार्वजनिक सडकमा रहेको ट्राफिक संकेत बत्तीको कन्ट्रोल च्यानलमा भएको क्षति प्रतिवादीबाट भराई दिने ठहर गरेको हदसम्म शुरु काठमाडौं जिल्ला अदालतको मिति २०६२।१।८ को फैसला केही उल्टी भै क्षतिपूर्तितर्फको दावी पुग्न सक्दैन । अभियोग दावीबाट सफाइ पाऊँ भन्ने प्रतिवादीको र प्रतिवादीले शुरुमा राखेको धरौटीमध्ये जरीवाना भएको रु.२,०००।– कटाई अरु फिर्ता दिने भन्ने हदसम्मको फैसला उल्टी गरी बाँकी धरौटी सडक विभागलाई सोधभर्ना गरी नपुग रकम मात्र भराई पाऊँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्दैन भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति २०६३।९।२ को फैसला ।
काठमाडौं जिल्ला माइतिघरस्थित ट्राफिक संकेत बत्तीमा गाडीले ठक्कर दिई भएको क्षतिको क्षतिपूर्ति सवारी धनीमा दर्ता पाटन फाइनान्स कम्पनी, तेस्रो पक्षको वीमा गरिएको सगरमाथा इन्स्योरेन्स कम्पनी र चालक दीपेन्द्र शाक्यबाट सडक विभागलाई दिलाई भराई पाउन अभियोग पत्रमा माग दावी लिएकोमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १५२ मा सवारीको दुर्घटनाबाट कुनै तेस्रो पक्ष वा निजको कुनै किसिमले नोक्सान भएमा सो नोक्सानीको क्षतिपूर्ति दिने प्रयोजनको लागि सवारीधनी वा व्यवस्थापकले तोकिएको रकम तेस्रो पक्षको बीमा गराउनु पर्ने व्यवस्था भएको देखिँदा सो दफा तेस्रो पक्षको क्षतिको सम्बन्धमा आकर्षित नहुने भनी अदालतले लिएको आधार त्रुटिपूर्ण देखिन्छ । यसैगरी सोही ऐनको दफा १६३ ले कुनै पक्षलाई पुग्न गएको क्षतिको क्षतिपूर्ति गर्ने दायित्व सवारीधनी वा व्यवस्थापक, वीमा गरिएकोमा सो बीमा कम्पनी र क्षतिको ५ प्रतिशतसम्म सवारी चालकमाथि रहने छ भनी व्यवस्था भएको छ । प्रस्तुत मुद्दामा सवारी साधन पाटन फाइनान्सको नाममा रहेको, क्षतिपूर्तिको प्रकृति तेस्रो पक्षको बीमासँग सम्बन्धित रहेकोले तेस्रो पक्षको बीमा सगरमाथा इन्स्योरेन्स कम्पनीमा गरिएको र सवारी चालक दीपेन्द्र शाक्य भएकोले क्षतिको रकम दिनुपर्नेमा यी सवैको दायित्व रहेको निर्विवाद छ । यीमध्ये कसैले क्षतिपूर्तिको रकम व्यहोर्नु पर्ने होइन भने त्यसको दायित्व एकबाट अर्कामा सार्दै जान्छ तर सवारी धनी वा व्यवस्थापकले भने छूट पाउन सक्दैन । तेस्रो पक्षलाई भएको हानि नोक्सानीका सम्बन्धमा वीमा कम्पनीको पोलिसीअन्तर्गत सार्वजनिक सम्पत्तिको नोक्सानी नपर्ने भएकोले सोबाट बीमा कम्पनीले छूट पाउने गरी कुनै कानूनले व्यवस्था गरेको पाइदैन । व्यवस्थापकीय कार्य स्वयं चालक प्रतिवादीले नै गरेको र धनी जनिए पनि फाइनान्स कम्पनीले छूट पाउने एवं राज्यले उपलब्ध गराएको सुविधा उपभोग गरेको कारण चालकले छूट पाउने गरी कुनै कानून नभएको अवस्थामा प्रष्ट कानूनी प्रावधानलाई आत्मनिष्ट व्याख्या गरी भएको पुनरावेदन अदालत पाटनको फैसलामा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १५२ र १६३ को व्याख्यामा गम्भीर त्रुटि भएकोले उक्त फैसला सो हदसम्म बदर गरी क्षतिपूर्ति बापत अभियोग दावी बमोजिमको रकम प्रतिवादीहरूबाट दिलाई भराई पाऊँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
नियमबमोजिम पेसी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री सरोजप्रसाद गौतमले यी प्रतिवादीले चलाएको वा.४ च ५१३ नं. को गाडी मिति २०६०।८।९ गतेका दिन राति २३:०० बजेको समयमा काठमाडौंको माइतिघरमा दुर्घटना हुँदा सो गाडीमा यात्रा गरिरहेको भारतीय नागरिक जोज मेक्सीको मृत्यु भएको हो । प्रतिवादीउपर सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(३) बमोजिमको कसूर गरेको भनी लिएको माग दावीबमोजिम जिल्ला तथा पुनरावेदन अदालतले कसूर अभियोग ठहर गरेको हुँदा प्रतिवादी दीपेन्द्र शाक्यले चलाएको गाडीले माइतीघर स्थित ट्राफिक संकेत बत्तीमा क्षति भएकोले क्षतिपूर्ति रकम सडक विभागलाई रु.७१,१८,६६१।– रकम प्रतिवादी दीपेन्द्र शाक्य, सवारी धनी पाटन फाइनान्स, तेस्रो पक्षको बीमा गर्ने सगरमाथा इन्स्योरेन्स कम्पनीबाट दिलाई भराई पाउन माग दावी लिएकोमा शुरुले मागबमोजिम भराई दिने ठहराएको तर पुनरावेदन अदालतले दुर्घटनामा भएको सार्वजनिक सम्पत्तिको क्षतिको दायित्व चालकमाथि थोपर्नु न्यायोचित नहुने भनी गरिएको फैसला सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १५२ र १६३ विपरीत भएकोले उक्त फैसलालाई बदर गरी विपक्षीहरूबाट उक्त दावी गरिएको क्षतिपूर्तिको रकम रु.७१,१८,६६१।– सडक विभागलाई दिलाई भराई पाउनु पर्दछ भन्ने समेत वहस जिकीर प्रस्तुत गर्नुभयो ।
प्रस्तुत मुद्दामा पुनरावेदन पत्र सहितका मिसिल संलग्न कागजातको अध्ययन गरी विद्वान सहन्यायाधिवक्ताले प्रस्तुत गर्नु भएको वहस जिकीर समेत सुनी विचार गर्दा पुनरावेदन अदालत पाटनबाट मिति २०६३।९।२ मा भएको फैसला मिलेको छ, छैन र वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्ने हो, होइन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ बिचार गर्दा प्रतिवादी दीपेन्द्र शाक्यले चलाएको बा. ४ च ५१३ नं. को गाडी मिति २०६०।८।९ मा राति २३:०० बजेको समयमा काठमाडौं माइतीघरमा दुर्घटना भएको र सो गाडीमा रहेका भारतीय नागरिक जोज मेक्सी घाईते भई उपचारको लागि वीर अस्पतालमा लगिएको अवस्थामा निजको मृत्यु भएको तथा उक्त गाडी दुर्घटना हुँदा माइतीघर स्थित ट्राफिक संकेत बत्तीमा क्षति भएको भन्ने तथ्यहरू निर्विवाद देखिन आउँछन् । दुर्घटनामा मानिसको मृत्यु भएको सम्बन्धमा यी प्रतिवादी उपर सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(३) बमोजिमको सजाय माग दावी लिई दायर भएको अभियोग पत्रको माग दावी बमोजिम नै शुरु जिल्ला अदालत तथा पुनरावेदन अदालतले कसूर ठहर गरी सजाय गरेकोले वादी नेपाल सरकारले यस अदालतमा दायर गरेको पुनरावेदन पत्रमा क्षतिपूर्तिको विषयमा मात्र जिकीर लिएको पाइन्छ ।
३. क्षतिपूर्ति सम्बन्धमा विचार गर्दा सवारी दुर्घटना हुँदा क्षति हुन गएका ट्राफिक संकेत, बत्ती, सडक बार, पुल–पुलेसालगायत सडक र सोसँग संम्बन्धित संरचनाहरूको क्षतिपूर्ति सवारी चालक वा सवारी धनीबाट सडक विभागलाई भराउनु पर्ने हो, होइन भन्ने नै प्रस्तुत मुद्दामा निर्णय गर्नुपर्ने भएको छ । सो सम्बन्धमा प्रचलित कानूनी व्यवस्था हेर्दा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १५२ र दफा १६३ मा क्षतिपूर्तिसम्बन्धी कानूनी व्यवस्था गरिएको देखिन्छ । उक्त ऐनको दफा १५२ मा तेस्रो पक्षको बीमा सम्बन्धमा व्यवस्था गरेको पाइन्छ भने दफा १६३ मा पीडित पक्षलाई पुग्न गएको क्षतिको क्षतिपूर्ति सम्बन्धमा कानूनी व्यवस्था भएको देखिन्छ । उक्त ऐनको दफा १५२ को उपदफा (१) ले गरेको कानूनी व्यवस्थाबमोजिम तेस्रो पक्ष वा निजको कुनै सम्पत्तिको नोक्सान भएमा सो नोक्सानीको क्षतिपूर्ति गर्ने प्रयोजनको लागि सवारी धनी वा व्यवस्थापकले तोकिएको रकमको तेस्रो पक्षको बीमा गराउनुपर्ने व्यवस्था गरेको देखिन्छ । सोही दफाको उपदफा (२) मा सवारी दुर्घटनाबाट कुनै तेस्रो पक्ष वा निजको कुनै सम्पत्ति नोक्सान भएमा सो नोक्सानीको क्षतिपूर्तिबापत उपदफा (१) बमोजिमको रकम निज वा निजको हकवालाले पाउनेछ भनी व्यवस्था गरिएको देखिन्छ । उक्त कानूनी व्यवस्थामा प्रयुक्त “निज वा निजको हकवाला” भन्ने शब्दावलीले सवारी प्रयोग गरिरहेको व्यक्ति बाहेक दुर्घटनाबाट पीडित निजी व्यक्तिलाई जनाउँछ । सो व्यवस्थाले सरकार वा सवारी व्यवस्था सञ्चालन एवम् नियमन गर्ने निकायलाई जनाएको अर्थ गर्न मिल्ने देखिँदैन ।
४. सवारी दुर्घटनाबाट सवारी चल्ने सडक वा सवारी सञ्चालन वा नियमन गर्ने प्रयोजनका लागि निर्माण गरिएका वा जडान गरिएका संरचनाको क्षतिबापत सो निर्माण गर्ने सार्वजनिक वा सरकारी निकाय वा सरकारले क्षतिपूर्ति पाउने भन्ने उक्त दफा १५२ र १६३ को उद्देश्य रहे भएको देखिन आउँदैन । प्रत्यक्ष र स्पष्ट रुपले सार्वजनिक निकाय वा सरकारको अधिकार वा ती निकायहरूप्रति व्यक्तिको कर्तव्य वा दायित्वको व्यवस्था कानूनले गरेको छैन भने अप्रत्यक्ष रुपले वा कानूनको आसयबाट त्यस्तो हो भनी निष्कर्षमा पुग्नु कानून व्याख्या सम्बन्धी सिद्धान्त समेतको विपरीत हुन जाने हुन्छ ।
५. यसरी क्षतिपूर्ति सम्बन्धी सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले गरेको व्यवस्था स्पष्ट रुपले सडक वा सोसँग सम्बन्धित वा जडित सार्वजनिक निर्माणका अन्य संरचनाको क्षति वा सोको क्षतिपूर्तितर्फ इंगित नगरी तेस्रो पक्षको रुपमा रहेका व्यक्ति वा व्यक्तिगत सम्पत्तिको क्षतिको क्षतिपूर्ति सम्बन्धी व्यवस्था गरेको देखिन आउँछ । सो ऐनको दफा १६३ ले गरेको कानूनी व्यवस्थाले पीडित पक्षलाई दुर्घटनाबाट पुग्न गएको क्षतिको क्षतिपूर्ति सम्बन्धी व्यवस्था गरेको देखिएकोले उक्त दफा १६३ को क्षतिपूर्ति सम्बन्धी व्यवस्था तेस्रो पक्षको क्षतिको सम्बन्धमा प्रासङ्गिक हुने देखिन आएन ।
६. तसर्थ, उल्लिखित विवेचना र मिसिल सामेल आधार प्रमाणबाट प्रतिवादी दीपेन्द्र शाक्यको कावु बाहिरको परिस्थिति परी गाडी दुर्घटना भएको र सो दुर्घटनाबाट भएको सार्वजनिक सडकमा रहेको ट्राफिक संकेत बत्तीको कन्ट्रोल च्यानलमा भएको क्षतिबापतको क्षतिपूर्ति बिगो प्रतिवादीबाट भराई दिने ठहर गरेको हदसम्म शुरु काठमाडौं जिल्ला अदालतको मिति २०६२।१।१८ को फैसला केही उल्टी गरी क्षतिपूर्तितर्फको अभियोग दावी पुग्न नसक्ने ठहराएको पुनरावेदन अदालत पाटनको मिति २०६३।९।२ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.सुशीला कार्की
इति संवत् २०६७ साल कात्तिक १८ गते रोज ५ शुभम्
इजलास अधिकृत :– श्रीप्रकाश उप्रेती