शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६८३६ - भ्रष्टाचार

भाग: ४२ साल: २०५७ महिना: बैशाख अंक:

निर्णय नं. ६८३६              ने.का.प.२०५७                   अङ्क १

 

पूर्ण इजलास

माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय

माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य

माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय

माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा

माननीय न्यायाधीश श्री ज्ञाइन्द्रबहादुर श्रेष्ठ

संवत २०५५ सालको फौ.पु.इ.नं. ..१५

फैसला मितिः २०५६।२।१४।६

 

मुद्दाः भ्रष्टाचार ।

 

पुनरावेदक

प्रतिवादीः जिल्ला चितवन गितानगर गा.पं. वडा नं. केसर वाग वस्ने रामचन्द्र देवकोटा

विरुद्ध

विपक्षी

वादीः  श्री ५ को सरकार

 

§  जिल्ला कार्यालय वाग्लुङको प्रतिवेदनले वादी श्री ५ को सरकार प्रतिवादी कुल बहादुर क्षेत्री भएको भ्रष्टाचार मुद्दामा नेपाल खाद्य संस्थान उपशाखा कार्यालय वाग्लुङको गोदामको भौत्तिक परीक्षण गर्दा चामल र खाली बोरा अपुग भएकोमा सो कार्यालयको लेखा उपसहायक कुलबहादुरले चामल र खाली वोरा नपूग भएको तथ्यलाई स्वीकारेको देखिएकोले निज जिम्माको चामल र खाली बोरा वदनियतसाथ मासेको भनी तत्काल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १३(१) र दफा २९ वमोजिम सजायको  माग दावी लिएको देखिन्छ । सो मुद्दामा भ्रष्टाचार निवारण ऐन, २०१७ को तत्काल प्रचलित दफा १३(१) को उल्लेख गर्दै सो दफा १३(१) मा भएको व्यवस्थाबाट कुनै राष्ट्रसेवकले आफ्नो जिम्मा वा नियन्त्रणमा रहेको कुनै व्यक्ति वा सरकारी मान्यता प्राप्त कुनै संस्थाको चल वा अचल सम्पत्ति वदनियतसाथ मासेमा उक्त दफा वमोजिम कारवाही र सजाय हुन सक्ने निष्कर्षमा पुगी सो चामल जिम्मा लिने लेखा उपसहायक कुल बहादुरले यस किसिमले नपूग भएको हो भनी कुनै सन्तोषजनक कारण उल्लेख गर्न नसकेकोमा निजको जिम्मा रहेको चामल तथा बोरा नपूग भै हिनामिना भएको स्थितिमा अन्यथा हो भनी निजले प्रमाणित गर्न सकेको अवस्थामा वाहेक निजले नै मासेको हिनामिना गरेको हो भन्नूपर्ने यस स्थितिमा निजको वदनियत थिएन भन्न सकिने अवस्था नरहने भनी प्रमाणको भार (Burden of proof) प्रतिवादीमा राखिएको पाइन्छ । प्रमाण ऐन, २०३१ को दफा २७(१) वमोजिम प्रतिवादीमा रहेको यो प्रमाणको भारलाई अन्यथा भन्न मिल्ने नदेखिंने ।

(प्र.नं. २२)

§  जहाँसम्म २०५० सालको फौ.पु.इ.नं. २६।२७ पुनरावेदक प्रतिवादी रामबहादुर थापा समेत विरुद्ध श्री ५ को सरकार भएको भ्रष्टाचार मुद्दाको प्रश्न छ सो मुद्दामा नेपाल नेशनल ट्रेडिङ लि. को गोदाममा गोदामकिपर विष्णुप्रसादको जिम्मामा रहेको विभिन्न नम्वर किसिमको छाता खेलौना आदि घटी हुन गै सो नेशनल ट्रेडिङ लिमिटेडलाई हानी पुग्न गएको भन्ने नेशनल ट्रेडिङ लिमिटेड केन्द्रीय कार्यालय प्रशासन व्यवस्था विभागको पत्र वमोजिम विशेष प्रहरी विभागले अनुसन्धान गरी गोदामकिपर विष्णुप्रसाद पराजूली र गार्ड रामबहादुर थापाले मिलेमतोबाट आफूलाई गैरकानुनी लाभ श्री ५ को सरकारको स्वामित्वमा रहेको संस्था नेशनल ट्रेडिङ लिमिटेडलाई गैरकानुनी हानी पूर्याएको भन्दै हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १३ अन्तर्गत सजाय र दफा २९ वमोजिम विगो रकम दावी गरी अभियोग लगाइएकोमा सो मालसामान आफू जिम्माको भन्ने र मालसामानहरु नपूग भएको भन्ने तथ्यलाई स्वीकारी तर आफूले हिनामिना गरेको होइन भनी इन्कार गरी गोदामकिपर विष्णुप्रसादले वयान गरेको देखिन्छ भने गोदामकिपरसंग मिलेमतो गरी हिनामिना गरेको होइन भनी रामबहादुर थापाले विशेष अदालतमा वयान गरेको देखिन्छ । सो मुद्दामा पूर्ण इजलासले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १३ मा भएको व्यवस्था अनुसार कुनै राष्ट्रसेवक कर्मचारीले संस्थाको चलअचल सम्पत्ति लापरवाही वा वदनियत वा जालसाजी गरी हानी नोक्सानी पूर्याएमा भ्रष्टाचार गरेको ठहर्ने तर यी तत्वहरु मध्ये कुनै एक तत्वको विद्यमानताको अभावमा यस दफा अन्तर्गतको कानून कायम गर्न नमिल्ने भ्रष्टाचारको कसुर प्रमाणित हुनको लागि मनसायतत्वको साथै वदनियतपूर्ण कृयाबाट कार्य कारण भएको भन्ने प्रष्टरुपमा देखिएको हुनुपर्ने । प्रतिवादी विष्णुप्रसादले वदनियत र मनसायपूर्वक संस्थाको सामान हिनामिना गरी निजलाई फाइदा हुने र आफू कार्यरत संस्थालाई गैर कानुनी हानी नोक्सानी हुने कार्य गरेको पूष्टि हुन आएको नदेखिने भनी कसुर प्रमाणित गर्ने भार वादी पक्षमा राखिएको देखिन्छ । सो मुद्दाको मौकाको जाहेरी नेशनल ट्रेडिङ लिमिटेड केन्द्रीय कार्यालय प्रशासन व्यवस्था विभागले २०४०।९।१९।३ मा दिएको देखिन्छ । सो जाहेरीमा सामान घटी हुन गै संस्थालाई हानी पुग्न गएको हुँदा आवश्यक छानविन गरी कारवाही समेत हुनु भन्ने उल्लेख भएको देखिन्छ । गोदामकिपर विष्णुप्रसाद पराजूलीले वदनियतपूर्वक हानी नोक्सानी गरी  संस्थालाई क्षति पूर्याएको भन्ने उल्लेख भएको देखिदैन । सो सामान घटी हुनमा गोदाम किपर विष्णुप्रसादको हात रहेको वा निजले हिनामिना गरेको हो भन्ने आभास सम्म पनि मौकाको जाहेरीबाट खूल्दैन । सो छाता र खेलौनाको जिन्सी प्रमूख अर्को व्यक्ति रहेको कुरा पनि तहकिकातको सिलसिलामा खूल्न आएको छ । गोदामको सांचो दिनभरी गोदामकिपरकै जिम्मा र कार्यालय समयपछि गोदाम व्यवस्थापक र अर्को अधिकृतको जिम्मा रहने व्यवस्था भएको भन्ने तहकिकातको सिलसिलामा खूल्न आएको छ । गोदामको सांचो चौविसै घण्टा गोदामकिपर विष्णुप्रसादको जिम्मा वा नियन्त्रणमा रहेको देखिदैन । दिनको समयमा निज विष्णुप्रसादले गोदामको सांचो जिम्मा लिंदा कुनै पनि मालसामान वा वस्तुहरु गोदाम वाहिर गएको प्रमाणित हुन सकेको देखिदैन । सामान राखिएको स्थान एवं त्यहांको भौतिक स्थिति समेतबाट समान हराउन सक्ने र हराएको परिमाण तूरुन्त थाहा नलाग्ने अवस्था पर्न जाने समेत देखिन आएको छ । तर कुलबहादुर प्रतिवादी भएको भ्रष्टाचार मुद्दामा सो  सामान निजको जिम्मा र नियन्त्रणमा रहेको देखिने ।                   

(प्र.नं. २३)

§  यसरी उल्लेखित दूवै मुद्दाको तथ्य फरक फरक रहेको देखिन गई घटनाको तथ्य एवं उत्पत्तिक्रम र नियन्त्रण समेतमा समानता रहेको देखिदैन । अतः संयुक्त इजलासले उल्लेख गरेको ने.का.प. २०४८ नि.नं. ४३५३ पृ.४७२ मा प्रकाशित वादी श्री ५ को सरकार प्रतिवादी कुलबहादुर भएको भ्रष्टाचार मुद्दामा माननीय तीन जना न्यायाधीशहरुको पूर्ण इजलासबाट कायम गरिएको प्रतिपादित सिद्धान्त र २०५० सालको फौ.पू.इ.नं. २६।२७ पुनरावेदक रामबहादुर थापा समेत विरुद्ध श्री ५ को सरकार भएको भ्रष्टाचार मुद्दामा तीन जना माननीय न्यायाधीशहरुको पूर्ण इजलासबाट निर्णय भएको प्रतिपादित सिद्धान्त वाझिएको भन्न नमिल्ने ।

(प्र.नं. २४)

 

पुनरावेदक प्रतिवादी तर्फबाटः विव्दान अधिवक्ता श्री रमणकुमार श्रेष्ठ

विपक्षी वादी श्री ५ को सरकार तर्फबाटः विव्दान नायव महान्यायाधिवक्ता श्री वलराम के.सी.

अवलम्वित नजिरः ह

 

फैसला

      न्या.केशवप्रसाद उपाध्यायः सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ को उपनियम (१) को खण्ड (घ) वमोजिम पूर्ण इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं ठहर यस प्रकार छ ।

      २.    प्रतिवादी रामचन्द्र देवकोटा सर्वोदय साझा संस्था लि. गितानगरको सा.व्य.भै काम गरेको अवस्थामा उक्त संस्थाको रु.९८,१६०।४६ हिनामिना गरि भ्रष्टाचार गरेकाले हिनामिना रकम र सो हर्जना व्याज सहित असुल उपर गराई दिन हुन भन्ने समेत व्यहोराको जि.प्र.स. साझा विकास शाखाको च.नं. ६८५ मिति २०४२।९।२२ गतेको पत्र ।

      ३.    सर्वोदय सा.स. गितानगरको ०४०।४१ मा जम्मा रु.४,५१६।९८ खाई मासेको हुँ । त्यसमध्ये रु.३४७०।१९ तलव कटृा गरी तिरी सकेको छु । सा.सं. लिपी ठूवा र जि.सा. संघमा वढ तलव खाएको वेरुजु रु.३,४७९।९९ फिर्ता गर्न परे गर्ने  छु । वेरुजु रु.३९,६४४। संस्थामा काम गर्दा खर्च भयो होला सो मध्ये रु.८७५६। वुझाई सकेको छु । पेस्की रु.१६५५०।२० मध्ये रु.२,२०१।६० तिरी सकेको छु । ढूवानी वेरुजु रु.४७१ मसलन्द रु.६१९। र विक्री छुट रु.३७८।६१ संस्था कै काममा खर्च भएकोले तिर्नू नपर्ने हो । कमप्लेक्स मल १०० क्वी. को रु.३२,५००। मध्ये रु.१२०००। वैक ऋण तिर्नू भनी सा.व्य. सूर्यप्रसादलाई वुझाएको छु र विभिन्न मितिमा गरी रु.८५००। दशैंपछि मिलाउनू भनू सूर्यप्रसादले लिएकोले उक्त रकम निजबाट असुल गराउने व्यवस्था होस रु.९५००। विभिन्न मितिमा गरी आसिराम महतो जिम्मा रहेकाले निजबाटै असुल गरी वांकी रु.२५००। म आफैले खाई मासेको छु भन्ने समेत व्यहोराको मिति २०४२।१०।१६ मा रामचन्द्र देवकोटाले गरेको वयान ।

      ४.    सा.व्य. सूर्यप्रसाद शर्माको मौखिक आदेशानूसार उक्त प्याडमा चितवन सिंचाई योजनाको नाउँमा सामानको उधारो विल काटेको हुँ । सो को रु.१०,९३०। को प्राप्त वियर र चेकको भूक्तानी लिन सा.व्य. सूर्यप्रसाद शर्मा गएका हुन । उक्त रकम संस्थामा आम्दानी भएको थिएन भन्ने समेत व्यहोराको रामचन्द्र देवकोटाले मिति २०४३।३।२ मा गरेको ततिम्वा वयान ।

      ५.    संस्थामा १०० क्वी. कमप्लेक्स मल थियो । विक्री भएको थाहा छैन र विक्रेता रामचन्द्र देवकोटासंग बैंकमा ऋण तिर्न र पछि वुझाउँला भनी कुनै किसिमको रकम लिएको छैन । अघिल्लो २०३९।४० आ.व. को विलबाट विल काट्न लागेको छैन र काटेको थाहा पनि भएन । रु.१०,९३०। को चितवन सि.यो. को उण्डको चेक रामचन्द्र देवकोटाले वुझी संस्थाको रा.वा.बैंक भरतपूरमा खाता नहुँदा मैले रमण निर्माण सेवाको खातामा जम्मा गर्न लगाई निकाली मैलै उक्त रकम वुझी चितवन सि.यो. लाई स्पेयर र डस्टर खरिद गरी जे.टि. वलराम महतोलाई वुझाएको हुँ भन्ने समेत व्यहोराको सा.व्य.सूर्यप्रसाद शर्माले गरेको वयान ।

      ६.    संस्थाको रु.१०,९३०। सा.व्य.सूर्यप्रसाद शर्माले चेकको नगद झिकी दिने व्यवस्थाको लागि अनूरोध गर्नु भएकोले साथीको हैसियतले मैले रमण निर्माण सेवा नामक फर्मको नाउँमा जम्मा गर्न लगाई संस्थाको रु.१०,९३०।१५ मा मेरै रोहवरमा सा.व्य. सूर्यप्रसाद शर्माले वुझी लिएको हो भन्ने समेत व्यहोराको जे.टि वलराम महतोको वयान ।

      ७.    रामचन्द्र देवकोटासंग कुल जम्मा रु.१,०८,९४६।३२ असुल उपर गराउनू पर्ने भनी साझा विकास शाखाबाट लेखिएको पत्र ।

      ८.    प्रतिवादी रामचन्द्र उपर भ्रष्टाचार गरेको सम्वन्धमा यस कार्यालयबाट अनुसन्धानको कार्यवाही भै संकलन हुन आएको मिसिलबाट जि.पं.स. साझा विकास शाखाको अन्तिम ०४३।४।३० को पत्रबाट निज रामचन्द्र देवकोटा जिम्मा रु.१,०८९४९।३२ मासि खाएको असुल उपर हुनु पर्ने भनी लेखि आएको देखिन्छ र प्र. राम चन्द्र देवकोटाले यस कायालयमा वयान गर्दा सम्पुर्ण रकम मासी खाएको छैन भनी भने तापनि केही रकमहरु आफूले मासी खाएको भनी सावित भै वयान गरेको र केही आसीराम महतो र सूर्य प्रसादलाई केही रकम दिएको छु भने तापनि सो को सवुद केही दिन सकेको देखिदैन । साझा संस्थाको जम्मा रु.१,०८,९४९।३२ (एकलाख आठ हजार नौ सय उनपचास वत्तिस पैसा) भ्रष्टाचार गरी खाएकोमा प्र.रामचन्द्र देवकोटा उपर भ्र.नि. ऐन, २०१७ को दफा १३ र २९(२) वमोजिम कारवाही चलाई सजाय भै निजले खाए मासेको उक्त विगो निजबाट सम्वन्धित साझा संस्थालाई दिलाई भराई दिन पर्ने समेतको दावी लिई तत्कालीन नारायणी अंचल अदालतमा दायर हुन आएको प्रहरी  प्रतिवेदन ।

      ९.    प्रतिवेदन दावी अनुसारको रु.१०,,९४९।३२ मध्ये सर्वोदय साझा संस्था लि. को हिनामिना रु.३२५००। मध्ये २५००। वाहेक अन्य रकम मैले खाई मासेको   होइन । भ्रष्टाचार गर्ने नियतले मैले काम कारवाई गरेको होइन छैन । सा.सं. लि. गीतानगरको पेस्की रु.१४९९। उक्त रकम आ.ब. ०४१।४२ मा मैले वुझाई सकेको   छु । वेरुजु रकम रु.३४०।६२ मैले आ.व. ०४१।४२ मा फछ्र्यौट गरी सकेको छु । वढ तलवको हकमा रु.२६७७।३६ संचालक समितिको निर्णय वमोजिम खांदै आएको   हुँ । प्रगतिशील साझा संस्थाको वेरुजु रु.३९,६४४। को हकमा के कुन कुन शीर्षकमा वेरुजु भएको हो शीर्षक नखुलेको म यकिन भन्न सक्दिन । उक्त संस्थाको पेस्की रु.१६,५५०।२० को हकमा मैले उक्त रकम पेश्की लिइ सरसामान खरिद गर्न गएकोमा सामान नपाइएको र घरमा विरामी भएकोले खर्च भएकोमा २०४०।८।१९ र ०४१।८।८ मा रु.२,२०१।६० र ८,७५६। फछ्र्यौट गरी सकेको छु । वांकी रकम रु.५,५९२।६० मैले तिर्न वाँकी नै छ । सर्वोदय साझा संस्था लि.को वेरुजु रु.३,३३९।२९ को हकमा कम्प्लेक्स मल १०० क्यून्टलको रु. ३२,५००। मध्ये विल नकाटी विक्री गरेको रु.२०,५००। सूर्य प्रसादले वैक दाखिला गर्न वुझी लगेको र ९५००। विक्रेता आसीराम महतोले मासी खाएको र २५००। वरावरको रकम मैले खाएकोमा पक्राउ गरी उक्त रकम वुझाउन नभ्याएको र विक्री छुट ढूवानी र मसलन्द वेरुजु मध्ये संस्थामा ढूवानी नै भएको वेरुजुको हकमा स्टोरमा समान मौजूदै रहेको हुँदा मैले तिर्न वुझाउन पर्ने होइन । विक्री छुट वेरुजु हकमा हिसाव २०४१।०४२ मा वेरुजु फछ्र्यौट भैसकेको छ भन्ेन समेत व्यहोराको प्र.रामचन्द्र देवकोटाले तत्कालीन नारायणी अंचल अदालतमा गरेको वयान ।

      १०.    यसमा वादी प्रतिवादीका साक्षी सवुद वुझी पेश गर्नु भन्ने समेत व्यहोराको ना. अंचल अदालतको मिति २०४४।६।६ को आदेश ।

      ११.    प्रतिवादी रामचन्द्र देवकोटाले भ्रष्टाचार गरको हो होइन मलाई थाहा छैन र भ्रष्टाचार गरेको जस्तो लाग्दैन भन्ने समेत व्यहोराको प्रतिवादीको साक्षी होमनाथ अधिकारीले नारायणी अंचल अदालतमा गरेको वकपत्र ।

      १२.   प्र. रामचन्द्र देवकोटाका वयानमा उल्लेख भएको जे.टि. वलराम महतोलाई ७ दिने म्याद जारी गरी पेश गर्नु भन्ने समेत व्यहोराको मिति २०४५।३।१४।३ को नारायणी अंचल अदालतको आदेश ।

      १३.   मैले संस्थाको रकम भ्रष्टाचार गर्ने उद्देश्यले रमण निर्माण सेवाको चल्ती खातामा मैले रु.१०,९३०। को चेक जम्मा गराई दिएको होइन संस्थाको खाता नभएकोले सा.व्य.सूर्यप्रसाद शर्माले संस्थाको हितको लागि अनूरोध गर्नु भएको कारणबाट मैले संस्थाको हित होस भन्ने उद्देश्यले जम्मा गर्नको लागि भनी दिएको हुँ । मैले भ्रष्टाचार गर्ने उद्देश्यले सो काम गरे गराएको होइन भन्ने समेत व्यहोराको वलराम महतोले मिति २०४५।४।१० मा नारायणी अंचल अदालतमा गरेको वयान ।

      १४.   निज प्रतिवादी रामचन्द्र देवकोटाले आफ्नो जिम्माको संस्थाको रकम हिनामिना गरी भ्रष्टाचार गरेको होइन छैन भनी ठोस सवुद प्रमाण पेश दाखिल गर्न सकेको नदेखिंदा निज रामचन्द्रले प्रहरी प्रतिवेदन दावी वमोजिम भ्रष्टाचार गरेको ठहर्छ । सो ठहर्नाले भ्र.नि. ऐनको दफा १३ अनुसार कैद वर्ष २ र सोही ऐनको दफा २९ को उपदफा २ अनुसार विगो वमोजिम जरिवाना हुने ठहर्छ । यस अदालतबाट वूझिएका अर्का जे.टि. वलराम महतोलाई निज उपर दावी नै नभएकोले यस मुद्दाबाट केही गर्नु परेन भन्ने समेत व्यहोराको तत्कालीन नारायणी अंचल अदालतबाट मिति २०४५।५।२८।३ मा भएको फैसला ।

      १५.   नारायणी अंचल अदालतबाट भएको फैसलामा चित्त वूझेन । कुनै व्यक्तिले संस्था वा संघबाट प्राप्त गरेको ऋण वा संस्था वा संघलाई तिर्नु पर्ने वाँकी वक्यौता संस्था वा संघको हिनामिना गरेको सम्पत्तिको विगो र सो रकममा लागेको व्याज समेत महानिर्देशकले निजको जाय जेथाबाट तोकिए वमोजिमको कार्यविधि अपनाई लिलाम विक्री गरी असुल उपर गर्न सक्नेछ भन्ने साझा संस्था ऐनको दफा १३ मा उल्लेख छ । यसैअनुसार हिनामिना गर्ने व्यक्ति उपर संस्थानले कानून वमोजिम नालिस गरी असुल उपर गर्नुपर्ने भ्र.नि.ऐन अन्तर्गत कारवाही गर्न मिल्ने होइन । वुझ्नु पर्ने प्रमाण नै नवुझी र मिसिल संलग्न विल भरपाइ आदि समेतका प्रमाणहरुको उपेक्षा गरी सवुद प्रमाण पेश गर्न नसकेको भनी भ्रष्टचार गरेको ठहर्याउनू कानून एवं न्यायसंगत होइन । सो ना.अं.अ. को त्रुटीपूर्ण फैसला उल्टाई वदर गरी आरोपबाट सफाइ पाउँ भन्ने समेतको व्यहोराको प्र.रामचन्द्र देवकोटाले तत्कालीन मध्यमान्चल क्षेत्रीय अदालतमा गरेको पुनरावेदन पत्र ।

      १६.    प्रतिवादी शूरु र अदालतमा समेत सर्वोदय साझा विकास संस्था गितानगरको साझा प्रवन्धक भै काम गर्दा निजले रकम आफ्नो निजी प्रयोगमा समेत लगाई मासी खाएको सावित भएको   देखियो । साथै मासेको रकम मध्ये  केही रकम निजले आफ्नो कसुर स्वीकार गरी वुझाएको समेत कटाई वांकी रकम मात्र असुल उपर गर्ने भनी ठहर गरेको देखियो । यसै लगाउको फौ.पू.नं. ६१५, ६३९ को भ्रष्टाचार मुद्दाको मिसिलबाट प्रतिवादी उपर विभागीय कारवाही भै सेबाबाट अवकाश भै सकेको देखियो । अंचल अदालतले लगाएको नजिर ०४४ सालको खाद्य संस्थाको कर्मचारी कुलबहादुरको भएतापनि भ्रष्टाचार निवारण ऐन, २०१७ वमोजिम राष्ट्रसेवकको परिभाषा भित्र पर्ने सवैलाई सो ऐन अन्तर्गत कारवाही गर्न मिल्ने भनी श्री सर्वोच्च अदालतको पूर्ण इजलासबाट सिद्धान्त प्रतिपादन भएको विषय सान्दर्भिक छैन भन्न मिल्ने देखिएन । साथै साझ संस्था ऐन वमोजिम साझाको डाइरेक्टरको लेखा परीक्षण गराउने जिम्मेवारी प्रदान गरिएको भएतापनि साधारणतः साझाको लेखा परीक्षण संचालक समितिबाट नै हुने  देखियो । तसर्थ भ्रष्टाचारको कसुरमा मुद्दा चलाउन मिल्दैन भनी कानून व्यवसायीहरुको तर्कसंग सहमत हुन मिलेन । अतः  नारायणी अंचल अदालतले प्रतिवादीलाई गरेको सजाय मिलेकै देखिंदा मनासिव ठहर्छ भन्ने समेत व्यहोराको तत्कालीन मध्यमान्चल क्षेत्रीय अदालतबाट मिति २०४७।२।१३ मा भएको फैसला ।

      १७.   भ्रष्टाचार गरेको ठहर गरी कैद र जरिवाना गर्ने गरेको नारायणी अंचल अदालतको फैसलालाई सदर गर्ने गरेको मध्यमान्चल क्षेत्रीय अदालतको फैसलामा प्रत्यक्ष कानुनी त्रुटी हुन गएकोले पुनरावेदन गर्न अनूमती पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी रामचन्द्र देवकोटाको यस अदालतमा पर्न आएको निवेदन पत्र ।

      १८.   निवेदकबाट हिनामिना भएको रकम असुल उपर गर्ने सम्वन्धमा भ्रष्टाचार निवारण ऐन, २०१७ अन्तर्गत मुद्दा चलाई मध्यमान्चल क्षेत्रीय अदालत समेतबाट भएको फैसला साझा संस्थालाई वुझाउनू पर्ने आफ्नो जिम्माको रकम असुल उपर गरी पाउँ भनी कानून वमोजिम नालिस गरी असुल उपर गर्न पाउने भन्ने ने.का.प. २०४४, अंक १०, पृष्ठ १००३ मा सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको व्याख्यात्मक त्रुटी भै न्या.प्र.सू. ऐन, २०३१ को दफा १३(५)(ग) को अवस्था विद्यमान देखिंदा पुनरावेदन गर्ने अनूमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०४९।१२।१६ को आदेश ।

      १९.    नेपाल कानून पत्रिका २०४८ भाग ३३ नि.नं ४३५३ पृष्ठ ४७२ मा प्रकाशित निवेदक वादी जिल्ला कार्यालय वाग्लुङको प्रतिवेदनले श्री ५ को सरकार विरुद्ध प्रतिवादी कुलबहादुर क्षेत्री भएको भ्रष्टाचार मुद्दामा ३ जना माननीय न्यायाधीशहरुको पूर्ण इजलासको निर्णयमा प्रतिपादित सिद्धान्त र २०५० सालको फौ.पू.इ.नं. २६।२७ पुनरावेदक प्रतिवादी रामबहादुर थापा समेत विरुद्ध श्री ५ को सरकार भएको भ्रष्टाचार मुद्दामा तीनै जना माननीय न्यायाधीशहरुको पूर्ण इजलासबाट मिति २०५४।७।२८ मा निर्णय भई प्रतिपादित सिद्धान्त हेर्दा यस अदालतको पूर्ण इजलासबाट उही कानुनी प्रश्नमा वेग्ला वेग्लै निजर सिद्धान्त प्रतिपादित भई रुलिङ वाझिन गएको देखियो । अघिल्लो निर्णयमा आफ्नो जिम्मामा रहेको चामल नपुगेकोमा प्रतिवादीले मासेको होइन अन्यथा भएको हो भनी प्रमाणित गर्नुपर्ने प्रारम्भिक भार प्रतिवादीमा हुने र त्यसरी प्रमाणित गर्न नसकेको स्थितिमा निजले मासेको होइन र त्यमसा निजको वदनियत थिएन भन्न नमिल्ने सिद्धान्त प्रतिपादन भएको देखिन्छ । यस नजिरले आफ्नो जिम्माको नगदी जिन्सी मासेकोमा सो कार्यबाटै मनसाय प्रयूक्त हुन (Actus reas) र लिने खाने वदनियतयूक्त भएको अनूमान गर्नुपर्ने देखिन्छ । तदपरान्त स्वतः प्रतिवादी उपर त्यसरी मास्ने कार्य मनसाय वा वदनियत प्रेरित नभएको र मानवीय भुल वा गल्तीबाट त्यस्तो हुन गएको भन्ने प्रमाणको भार वहन गर्नुपर्ने र सो भार वहन गर्न नसकेमा वदनियतयूक्त भएकै मान्नू पर्ने नजिर प्रतिपादन भएको देखियो । यस प्रकारको स्थापित नजिरको विरुद्ध समानस्तर र समान संख्याको न्यायाधीश रहेको पूर्ण इजलासले आफ्नो जिम्माको सम्पत्ति हानी नोक्सानी वा नपूग हुने गरेकोमा वादी पक्षबाटै मनसाय वा वदनियत प्रमाणित हुनु पर्ने वादी पक्षबाट त्यस्तो भार पुर्‍याउन नसकेमा भ्रष्टाचारको अपराध नहुने भन्ने वेल्लै प्रमाणिकरणको प्रकृया उल्लेख गरी पछिल्लो पूर्ण इजलासबाट नजिर प्रतिपादन भएको  देखियो । उपर्यूक्त दूइ पूर्ण इजलासको बीच भिन्न भिन्न नजिर प्रतिपादन भइ यस संयुक्त इजलासबाट कुन नजिर मान्ने र कुनलाई नमान्ने असामन्जस्यताको स्थिति देखिएकोले त्यसको निर्णय भै स्पष्ट नजिर प्रतिपादन भै प्रस्तुत मुद्दाको निर्णय हुनुपर्ने देखिंदा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(घ) वमोजिम ३ जना भन्दा बढी न्यायाधीशहरु भएको पूर्ण इजलासमा पेश गर्नु भन्ने संयुक्त इजलासको २०५५।३।१५।२ को आदेश ।

      २०.   नियमानूसार पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फका विव्दान अधिवक्ता श्री रमणकुमार श्रेष्ठले पुनरावेदक रामचन्द्रले वदनियत साथ रकम हिनामिना गरेको छैन । जुन रकम हिनामिना गरी भ्रष्टाचार गरेको छ भनी अभियोग लगाइएको छ सो भ्रष्टाचार हुने प्रकृतिको छैन । भ्रष्टाचार गरेको भनी दावी लिएको रकम पेस्की लिएको रकम बढ तलव, तलव वेरुजु, ढूवानी वेरुजु मसलन्द वेरुजु आदि रकमहरु छन जुन आर्थिक नियमावली वमोजिम वेरुजु  फछ्र्यौट गर्नुपर्ने रकमहरु हुन । त्यस्तो पनि असुल गर्नुपर्ने रकमको व्याज एवं हर्जना समेतको रकम पनि भ्रष्टाचारमा लिएको कानूनसंगत छैन । संस्थाको रकम हानी नोक्सानी भएको स्थितिमा पनि कानून वमोजिम नालिस गरी असुल उपर गर्नुपर्ने कतिपय सिद्धान्तहरु प्रतिपादन भएका छन् । पुनरावेदक रामबहादुर थापा समेत विरुद्ध श्री ५ को सरकार रहेको भ्रष्टाचार मुद्दामा कायम भएको सिद्धान्त अनुसार पुनरावेदकलाई सफाइ दिनु पर्नेमा कसुरदार ठहर्याएको शूरु नारायणी अंचल अदालतको फैसला र सो सदर गर्ने गरेको मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छैन उल्टी हुनु पर्छ भनी र प्रत्यर्थी श्री ५ को सरकारको तर्फबाट उपस्थित विव्दान नायव महान्यायाधिवक्ता श्री वलराम के.सी. ले प्रतिवादीले रकमहरु मासेको हिनामिना गरेको श्रेस्ताबाट प्रमाणित भइरहेको छ । आफ्नो जिम्माको सरकारी रकम मास्नू हिनामिना गर्नु भ्रष्टाचार हुने कुरा स्पष्ट छ । श्री ५ को सरकार विरुद्ध कुलबहादुर क्षेत्री भएको भ्रष्टाचार मुद्दामा आफ्नो जिम्मामा रहेको सामान नपुगेकोमा हिनामिना गरेको होइन अन्यथा भएको हो भनी प्रमाणित गर्ने प्रारम्भिक भार प्रतिवादीमा हुने भनी प्रतिपादन भएको सिद्धान्त न्यायोचित छ । रामबहादुर थापा समेत विरुद्ध श्री ५ को सरकार भएको भ्रष्टाचार मुद्दामा प्रतिपादन भएको सिद्धान्त कानूनको मर्म अनूकुल छैन । श्री ५ को सरकार विरुद्ध कुलबहादुर क्षेत्री भएको भ्रष्टाचार मुद्दामा कायम भएको सिद्धान्त नै आधिकारिक मानि कसुरदार प्रतिवादीलाई सजाय गरेको तत्कालीन नारायणी अंचल अदालत र मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ कायम हुनु पर्दछ भनी वहस गर्नु भयो ।

 

      २१.   आज निर्णय सूनाउन तारिख तोकिएको प्रस्तुत मुद्दामा नेपाल कानून पत्रिका २०४८, भाग ३३ नि.नं. ४३५३ पृष्ठ ४७२ मा प्रकाशित वादी जिल्ला कार्यालय वाग्लुङको प्रतिवेदनले श्री ५ को सरकार विरुद्ध प्रतिवादी कुलबहादुर क्षेत्री भएको भ्रष्टाचार मुद्दामा पूर्ण इजलासबाट प्रतिपादित सिद्धान्त र २०५० सालको फौ.पू.इ.नं. २६।२७ पुनरावेदक प्रतिवादी रामबहादुर थापा समेत विरुद्ध श्री ५ को सरकार भएको भ्रष्टाचार मुद्दामा पूर्ण इजलासबाट मिति २०५४।७।२८ मा निर्णय भई प्रतिपादित सिद्धान्त मध्ये कुन नजिरलाई आधिकारिक मान्ने हो ? निर्णय दिनु पर्ने देखिन आयो ।

      २२.   जिल्ला कार्यालय वाग्लुङको प्रतिवेदनले वादी श्री ५ को सरकार प्रतिवादी कुल बहादुर क्षेत्री भएको भ्रष्टाचार मुद्दामा नेपाल खाद्य संस्थान उपशाखा कार्यालय वाग्लुङको गोदामको भौतिक परीक्षण गर्दा चामल र खाली बोरा अपुग भएकोमा सो कार्यालयको लेखा उपसहायक कुलबहादुरले चामल र खाली बोरा नपूग भएको तथ्यलाई स्वीकारेको देखिएकोले निज जिम्माको चामल र खाली बोरा वदनियतसाथ मासेको भनी तत्काल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १३(१) र दफा २९ वमोजिम सजायको  माग दावी लिएको देखिन्छ । सो मुद्दामा भ्रष्टाचार निवारण ऐन, २०१७ को तत्काल प्रचलित दफा १३(१) को उल्लेख गर्दै सो दफा १३(१) मा भएको व्यवस्थाबाट कुनै राष्ट्रसेवकले आफ्नो जिम्मा वा नियन्त्रणमा रहेको कुनै व्यक्ति वा सरकारी मान्यता प्राप्त कुनै संस्थाको चल वा अचल सम्पत्ति वदनियतसाथ मासेमा उक्त दफा  वमोजिम

कारवाही र सजाय हुन सक्ने निष्कर्षमा पुगी सो चामल जिम्मा लिने लेखा उपसहायक कुल बहादुरले यस किसिमले नपूग भएको हो भनी कुनै सन्तोषजनक कारण उल्लेख गर्न नसकेकोमा निजको जिम्मा रहेको चामल तथा बोरा नपूग भै हिनामिना भएको स्थितिमा अन्यथा हो भनी निजले प्रमाणित गर्न सकेको अवस्थामा वाहेक निजले नै मासेको हिनामिना गरेको हो भन्नूपर्ने यस स्थितिमा निजको वदनियत थिएन भन्न सकिने अवस्था नरहने भनी प्रमाणको भार (Burden of proof) प्रतिवादीमा राखिएको पाइन्छ । प्रमाण ऐन, २०३१ को दफा २७(१) वमोजिम प्रतिवादीमा रहेको यो प्रमाणको भारलाई अन्यथा भन्न मिल्ने देखिदैन ।

      २३.   जहांसम्म २०५० सालको फौ.पू.इ.नं. २६।२७ पुनरावेदक प्रतिवादी रामबहादुर थापा समेत विरुद्ध श्री ५ को सरकार भएको भ्रष्टाचार मुद्दाको प्रश्न छ सो मुद्दामा नेपाल नेशनल ट्रेडिङ लि. को गोदाममा गोदामकिपर विष्णुप्रसादको जिम्मामा रहेको विभिन्न नम्वर किसिमको छाता खेलौना आदि घटी हुन गै सो नेशनल ट्रेडिङ लिमिटेडलाई हानी पुग्न गएको भन्ने नेशनल ट्रेडिङ लिमिटेड केन्द्रीय कार्यालय प्रशासन व्यवस्था विभागको पत्र वमोजिम विशेष प्रहरी विभागले अनुसन्धान गरी गोदामकिपर विष्णुप्रसाद पराजूली र गार्ड रामबहादुर थापाले मिलेमतोबाट आफूलाई गैरकानुनी लाभ श्री ५ को सरकारको स्वामित्वमा रहेको संस्था नेशनल ट्रेडिङ लिमिटेडलाई गैरकानुनी हानी पूर्याएको भन्दै हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १३ अन्तर्गत सजाय र दफा २९ वमोजिम  विगो रकम दावी गरी अभियोग लगाइएकोमा सो  मालसामान आफू जिम्माको भन्ने र मालसामानहरु नपूग भएको भन्ने तथ्यलाई स्वीकारी तर आफूले हिनामिना गरेको होइन भनी इन्कार गरी गोदामकिपर विष्णुप्रसादले वयान गरेको देखिन्छ भने गोदामकिपरसंग मिलेमतो गरी हिनामिना गरेको होइन भनी रामबहादुर थापाले विशेष अदालतमा वयान गरेको देखिन्छ । सो मुद्दामा पूर्ण इजलासले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १३ मा भएको व्यवस्था अनुसार कुनै राष्ट्रसेवक कर्मचारीले संस्थाको चलअचल सम्पत्ति लापरवाही वा वदनियत वा जालसाजी गरी हानी नोक्सानी पूर्याएमा भ्रष्टाचार गरेको ठहर्ने तर यी तत्वहरु मध्ये कुनै एक तत्वको विद्यमानताको अभावमा यस दफा अन्तर्गतको कानून कायम गर्न नमिल्ने भ्रष्टाचारको कसुर प्रमाणित हुनको लागि मनसायतत्वको साथै वदनियतपूर्ण कृयाबाट कार्य कारण भएको भन्ने प्रष्टरुपमा देखिएको हुनुपर्ने । प्रतिवादी विष्णुप्रसादले वदनियत र मनसायपूर्वक संस्थाको सामान हिनामिना गरी निजलाई फाइदा हुने र आफू कार्यरत संस्थालाई गैर कानुनी हानी नोक्सानी हुने कार्य गरेको पूष्टि हुन आएको नदेखिने भनी कसुर प्रमाणित गर्ने भार वादी पक्षमा राखिएको देखिन्छ । सो मुद्दाको मौकाको जाहेरी नेशनल ट्रेडिङ लिमिटेड केन्द्रीय कार्यालय प्रशासन व्यवस्था विभागले २०४०।९।१९।३ मा दिएको देखिन्छ । सो जाहेरीमा  सामान घटी हुन गै संस्थालाई हानी पुग्न गएको हुँदा आवश्यक छानविन गरी कारवाही समेत हुनु भन्ने उल्लेख भएको देखिन्छ । गोदामकिपर विष्णुप्रसाद पराजूलीले वदनियतपूर्वक हानी नोक्सानी  गरी संस्थालाई क्षति पूर्याएको भन्ने उल्लेख भएको देखिदैन । सो सामान घटी हुनमा गोदाम किपर विष्णुप्रसादको हात रहेको वा निजले हिनामिना गरेको हो भन्ने आभास सम्म पनि मौकाको जाहेरीबाट खूल्दैन । सो छाता र खेलौनाको जिन्सी प्रमूख अर्को व्यक्ति रहेको कुरा पनि तहकिकातको सिलसिलामा खूल्न आएको छ । गोदामको सांचो दिनभरी गोदामकिपरकै जिम्मा र कार्यालय समयपछि गोदाम व्यवस्थापक र अर्को अधिकृतको जिम्मा रहने व्यवस्था भएको भन्ने तहकिकातको सिलसिलामा खूल्न आएको छ । गोदामको सांचो चौविसै घण्टा गोदामकिपर विष्णुप्रसादको जिम्मा वा नियन्त्रणमा रहेको देखिदैन । दिनको समयमा निज विष्णुप्रसादले गोदामको सांचो जिम्मा लिंदा कुनै पनि मालसामान वा वस्तुहरु गोदाम वाहिर गएको प्रमाणित हुन सकेको देखिदैन । सामान राखिएको स्थान एवं त्यहांको भौतिक स्थिति समेतबाट सामान हराउन सक्ने र हराएको परिमाण तूरुन्त थाहा नलाग्ने अवस्था पर्न जाने समेत देखिन आएको छ । तर कुलबहादुर प्रतिवादी भएको भ्रष्टाचार मुद्दामा सो  सामान निजको जिम्मा र नियन्त्रणमा रहेको देखिन्छ ।

      २४.   यसरी उल्लेखित दूवै मुद्दाको तथ्य फरक फरक रहेको देखिन गई घटनाको तथ्य एवं उत्पत्तिक्रम र नियन्त्रण समेतमा समानता रहेको  देखिदैन । अतः संयुक्त इजलासले उल्लेख गरेको ने.का.प. २०४८ नि.नं. ४३५३ पृ.४७२ मा प्रकाशित वादी श्री ५ को सरकार प्रतिवादी कुलबहादुर भएको भ्रष्टाचार मुद्दामा माननीय तीन जना न्यायाधीशहरुको पूर्ण इजलासबाट कायम गरिएको प्रतिपादित  सिद्धान्त  र २०५० सालको फौ.पू.इ.नं. २६।२७ पुनरावेदक रामबहादुर थापा समेत विरुद्ध श्री ५ को सरकार भएको भ्रष्टाचार मुद्दामा तीन जना माननीय न्यायाधीशहरुको पूर्ण इजलासबाट निर्णय भएको प्रतिपादित सिद्धान्त वाझिएको भन्न मिलेन  । सो दूई मुद्दामा  दूई पूर्ण इजलासको बीच भिन्न भिन्न नजिर प्रतिपादन भएको भन्ने यस अदालतको संयुक्त इजलासको २०५५।३।१५।२ को आदेशसंग सहमत हुन सकिएन । तसर्थ पूर्ण इजलासको लगत कटृा गरी मुद्दाको कारवाही किनारा गर्न सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ७(क) वमोजिम प्रस्तुत मुद्दा संयुक्त इजलासमा पेश गर्नु ।

 

उक्त रायमा हामी सहमत छौं ।

 

न्या.अरविन्दनाथ आचार्य

न्या.हरिश्चन्द्रप्रसाद उपाध्याय

न्या.राजेन्द्रराज नाख्वा

न्या.ज्ञाइन्द्रबहादुर श्रेष्ठ

 

 

इति सम्वत २०५६ साल जेष्ठ १४ गते रोज ६  शूभम् ......... ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु