निर्णय नं. ६८४५ - अंश चलन

निर्णय नं. ६८४५ ने.का.प.२०५७ अङ्क १
संयुक्त इजलास
माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी
माननीय न्यायाधीश श्री केदारनाथ आचार्य
संम्वत २०५६ सालको दे.पू.नं. .. ५६८१
फैसला मिति : २०५६।१०।१९।४
मुद्दाः अंश चलन ।
पुनरावेदक
प्रतिवादीः का.जि.का.म.न.पा. वडा नं. ३ वस्ने वर्ष ११ को नावालक अशोकराज पाण्डेको संरक्षक भई ऐ. ऐ. वस्ने वर्ष ३३ का अन्जिता पाण्डे
विरुद्ध
विपक्षी
वादीः का.जि.का.म.न.पा. वडा नं. ३ माइतिघर वस्ने वर्ष ३५ की अम्विका पाण्डे
§ प्रस्तुत मुद्दाको फिराद पर्दा भाईराजा पाण्डे समेत ४(चार) जना मात्र अंशियार देखिने तथा (दूइ) २ तह अदालतवाट किनारा हुँदासम्म तत्सम्वन्धी विचार लिन सकेको नभै ४ भागको १ भाग वादीले अंश पाउने ठहर निर्णय भइरहेको अवस्थामा अव आएर थप अंशियार कायम गर्दै जाने हो भने मुद्दाको क्रम कहिल्यै नरोकिने भन्ने सिद्धान्त विपरित हुन जाने देखिँदा वादी दावी वमोजिम ४ भागको १ भाग वादीले अंश पाउने ठहराएको जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, पाटन ललितपूरको इन्साफ मिलेकै भई मनासिव ठहर्ने ।
(प्र.नं. १७)
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री सूधानाथ पन्त तथा विद्वान अधिवक्ता श्री वावुराम गिरी
विपक्षी वादी तर्फबाटः विद्वान अधिवक्ता श्री श्यामप्रसाद पाण्डे
अवलम्वित नजिरः ने.का.प. २०४४, अंक ६, नि.नं ३११६
फैसला
न्या.केदारनाथ आचार्यः पुनरावेदन अदालत पाटनबाट भएको फैसला उपर प्रतिवादीको तर्फबाट मुद्दा दोहर्याई पाउँ भनी निवेदन परी यस अदालतबाट मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रुपमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यस प्रकार छ :
२. यसमा विपक्षी पति भाइराजा पाण्डेसँग मेरो २०३४।११।६ मा विवाह भएको थियो । यसरी हामीसंगै बसी आएकोमा विपक्षी पतिले २०४१ सालमा अंजितालाई स्वास्नी वनाइ डेरामा राखेको रहेछन् । निज सौताबाट १ छोरा अशोकराज पाण्डेको जायजन्म भएको थियो । यसरी हामी ४ अंशियार छौं । मिति २०५१।१।१ गतेका दिन मलाई खान लाउन नदिई कुटपिट गरी घरबाट निकाला गरेकोले मिति २०५१।१।१ गतेलाई मानो छुट्टिएको मिति कायम गरी अंशवण्डाको २०, २१, २२ नं. वमोजिम विपक्षीबाट तायदाती फांटवारी दाखिल गराइ ४ भागको १ भाग अंश छुट्याई मलाई दिलाई चलन समेत चलाइ पाउँ भन्ने समेतको फिराद पत्र ।
३. यसमा विपक्षी अम्विका पाण्डेसँग २०३४।११।६ मा विवाह भएको थियो । विपक्षी १६ दिनको साइत छाडी माइत गएकोमा हाल सम्म फर्कि नआएकोले २०४१ सालमा दोस्रो विवाह गरेको हो । कुटपिट गरी खान लाउन नदिई निकाला गरेको होइन विपक्षीको दाइजो पेवा सम्पत्तिबाट धापासीको जग्गा खरिद गरेको होइन । रिसइविबाट नालेश गरेको हो साविक धापासी गा.वि.स. वडा नं. ९(ख) हाल का.न.पा. वडा नं. ३ कि.नं ६४० को ०-४-० जग्गा मैले बकसपत्र पाएको र सो मा वनेको घर समेत मेरो स्व.आर्जनको सम्पत्तिबाट वनाएको हुँदा वण्डा गर्न नपर्ने भइ मैले आफूखुस गर्न पाउने सम्पत्ति हो यसमा वादीको हकदैया पुग्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी अंजिता पाण्डे, अशोकराज पाण्डे, भाइराजा पाण्डे समेत जना ३ को संयुक्त प्रतिउत्तर पत्र ।
४. यसमा वादीले धापासीको घर जग्गा समेत अंश पाउने हो भन्ने समेतको वादी साक्षी कमला अधिकरीको बकपत्र रहेछ ।
५. त्यसमा वादीलाई कुटपिट गरेको छैन । अंश पाउने हो भन्ने समेतको प्रतिवादीको साक्षी राम प्रसादको बकपत्र ।
६. आदेशानूसार वादी प्रतिवादीबाट तायदाती फांटवारी दाखिल भएको रहेछ ।
७. नपूग कोर्ट फि वादीबाट दाखिल गरेको रहेछ ।
८. तायादाती फांटवारीमा उल्लेखित जग्गाको दर्ता उतार झिकाइ आएको रहेछ ।
९. तायदाती फांटवारीमा चित्त वुझेन भनी वादीले उजुरी निवेदन दिएको रहेछ ।
१०. वादीले प्रतिवादीहरुबाट अंश पाउने देखियो कि.नं. ६४० को ०(४(० जग्गामा बनेको घरबाट अशोकराज पाण्डे र छोरी १ समेत जना २ को कानून वमोजिम विवाह खर्च परसारी ४ भाग अंश लगाई ४ भागको १ भाग अंश पाउने र अंश पाएको जग्गा घर समेत चलन समेत चलाई पाउने ठहर्छ भन्ने समेत काठमाडौं जिल्ला अदालतको मिति २०५३।१।११।३ को फैसला ।
११. खान लाउन नदिई घरबाट निकाला गरेको हो वा वादी नै माइतिघरबाट नआइ बसेकी हुन भन्ने प्रश्नको निराकरण नगरी वादीको उमेर ३५ वर्ष नपुगेको अवस्थामा मैले निजि तवरबाट बकस पाएको जग्गा निजी आर्जनबाट वनाएको घर समेत आफूखुस गर्न पाउनेमा अंशवण्डाको १८ नं. प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ अंशवण्डाको १, १०, १०(क) १८ समेतको त्रुटीपूर्ण फैसला वदर गरी पाउँ भन्ने समेत प्रतिवादीको पुनरावेदन अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
१२. यसमा यसै लगाउको फौ.पू.नं. १५३५ को जालसाजी मुद्दामा प्रत्यर्थी झिकाउने आदेश भएको हुँदा प्रस्तुत मुद्दामा पनि प्रत्यर्थी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार गरी पेश गर्नु भन्ने पुनरावेदन अदालत संयुक्त इजलासको आदेश ।
१३. लोग्नेका नाममा बकसबाट पाई दर्ता भएको जग्गामा सगोलकै अवस्था निर्माण भएको घरबाट दावी अनुसार वण्डा पाउने ठहर गरेको शुरुको फैसला मिलेकै देखिँदा पुनरावेदकको पुनरावेदन जिकिर पूग्न नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति २०५४।२।३ को फैसला ।
१४. विपक्षी वादीसँग मेरो २०३४ सालमा विवाह भए पश्चात १६ दिनको साइतमा माइत गएकोमा फर्कि नआएकोमा मैले खान लाउन नदिई घरबाट निकाला गरेको भन्ने फिराद दावी झूठ्ठा एवं काल्पनिक हो । कथंकदाचित वादीले अंश पाउने भनी मानेकै खण्डमा पनि मैले निजी तवरबाट प्राप्त गरेको आफूसूस गर्न पाउने धापासी गा.वि.स. वडा नं. ९(ख) कि.नं. ६४० को जग्गा रोपनी ०(४(० जग्गा र मैले राष्ट्र बंैकको जागिरबाट आर्जन गरेको निजी आर्जनको सम्पत्तिबाट बनाएको घर समेत वण्डा लाग्छ भनी गरिएको पुनरावेदन अदालतको फैसलामा अंशवण्डाको १८ नं. मा निर्दिष्ट कानूनी प्रावधानको सर्वथा त्रुटी विद्यमान छ । म निवेदकले पुनरावेदन अदालतमा एक थप अंशियारको रुपमा २०५३।१२।२८ मा कान्छा छोराको जायजन्म भएको भनी जन्म प्रमाण पत्र दाखिला गरेकोमा थप अंशियारको सम्वन्धमा केहि वोलिएन । साथै उक्त फैसलामा अ.वं. १८४(क) र १८५ नं. एवं प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ को समेत त्रुटी भएको छ तसर्थ पुनरावेदन अदालत पाटनको फैसला दोहोर्याई हेरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीहरुको तर्फबाट संयुक्त रुपमा प्रस्तुत गरिएको निवेदन पत्र ।
१५. यसमा मुद्दा चल्दा चल्दै कान्छो छोरा जन्मेको भनी नविदेन समेत परेको स्थितिमा सो तथ्यको कुनै विवेचना नै नगरी पुनरावेदन अदालत पाटनबाट भएको निर्णयमा ने.का.प. २०४४, नि.नं. ३११६ मा मुद्दा पर्दा पर्दैको अवस्थामा वादीहरुको जन्म भएको र अंश लिइ वेगल बसी सकेको भन्ने ठहर नभइ सकेको अवस्थामा समेत अंशवण्डाको १, २ नं. वमोजिम आफ्नो अंश भाग पाउनु पर्ने भन्ने सिद्धान्त प्रतिकूल भएको पुनरावेदन अदालत पाटनको निर्णयमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (ख) अन्तर्गत दोहोर्याउने निस्सा प्रदान गरिएको छ । विपक्षी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार गरी पेश गर्नु भन्ने यस अदालतबाट भएको आदेश ।
१६. नियम वमोजिम पेशी सूचीमा चढी निर्णयार्थ इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीहरुको तर्फबाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री सूधानाथ पन्त तथा विद्वान अधिवक्ता श्री वावुराम गिरीले पुनरावेदक भाईराजा पाण्डेले आफ्नो निजी आर्जनबाट कमाएको सम्पत्ति आफूखुस गर्न पाउने हुँदा कि.नं ६४० को घर जग्गा वण्डा लाग्ने होइन एवं मुद्दा चल्दा चल्दैको अवस्थामा कान्छो छोराको जायजन्म भइ अंशियार बढेकाले निजको अंश हकको समेत संरक्षण हुनु पर्ने हुनाले पुनरावेदन अदालतको फैसला त्रुटीपूर्ण छ । तसर्थ पुनरावेदन अदालतको फैसला वदर गरी पुनरावेदन जिकिर वमोजिम हुनु पर्छ भनी एवं वादीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री श्यामप्रसाद पाण्डेले प्रतिवादी भाइराजा पाण्डेको नाममा दर्ता रहेको भएतापनि वादी अम्विका देवीको समेत अंश हक लाग्ने घर जग्गा प्रतिवादीले वादीको मन्जुरी वेगर आफूखुस हक हस्तान्तरण गर्न पाउने होइन एवं वादीले फिराद दायर गरेको अघिल्लो दिन देखि मानो छुट्टिएको मिति कायम भइ त्यसपछिको कमाएको धन लगाएको ऋण आ आफूले व्यहोर्नू परे झै अंशियार वढेमा पनि प्रतिवादीले नै दायित्व व्यहोर्नू पर्ने हुन्छ । तसर्थ पुनरावेदन अदालतको फैसला सदर हुनु पर्छ भनी गर्नु भएको वहस समेत सुनि शुरु र रेकर्ड मिसिल एवं पुनरावेदकहरुको पुनरावेदन जिकिर समेत अध्ययन गरी निर्णयतर्फ विचार गर्दा पुनरावेदन अदालत पाटनको इन्साफ मिलेको छ छैन र प्रतिवादीहरुको पुनरावेदन जिकिर वमोजिम गर्नुपर्ने हो होइन भन्ने कुरामा निर्णय दिनु पर्ने देखिन्छ ।
१७. यसमा पुनरावेदन जिकिर एवं विद्वान कानून व्यवसायीको वहस समेतबाट अंश दिन पर्दा जन्मेको अर्को छोराको समेत अंश कायम हुनु पर्ने भन्ने एकातिर भनाइ रहेको छ भने अर्कोतर्फ अंश दिन नपर्ने जिकिरमा वादीको उमेर ३५ वर्ष नपुगेको र विवादीत जग्गा बकसपत्रबाट पाएको अंशवण्डाको १८ नं. ले आफूखुस गर्न पाउने सम्पत्ति हो भन्ने प्रतिवादी कथन छ । वादी प्रतिवादी अंशियार भएमा विवाद देखिदैन तथा वादीले अंश पाइसकेको भन्ने पनि देखिदैन । यस्तो स्थितिमा अंशवण्डाको १० तथा १०(क) र अंश नलिएका स्वास्नी छोरा वा विधवा वूहारी हुने मानिसको चल अचल सम्पत्तिका सम्वन्धमा भएको अंशवण्डाको १९ नं. को देहाय दफा २ ले प्रतिवादी जिकिर समर्थित हुन सकिरहेको नदेखिँदा वादी अंश नपाउने अवस्थाको रहेछन भन्न मिलेन । मुख्यतः प्रस्तुत निवेदन जिकिरमा प्रतिवादीले २ वटा प्रश्न उपस्थित गरेको पाइन्छ । (१) निजी तवरले प्राप्त गरेको र आफूखुस गर्न पाउने धापासी गा.वि.स. वडा नं. ९(ख) कि.न. ६४० को ०-४-० जग्गा र राष्ट्र बैंकको जागिरबाट पाएको नगदले बनेको घरमा वण्डा लाग्न सक्ने होइन भन्ने र (२) मुद्दा चल्दा चल्दैको अवस्थामा जन्मेको अर्को छोराको पनि अंश लाग्नु पर्ने अंश नलगाएको कानून सम्मत भएन भन्ने देखिन आउँछ । प्रतिवादी मध्येका भाइराजा पाण्डे वादी अम्विका पाण्डेका लोग्ने नाताका व्यक्ति र अंजीता पाण्डे सौता र अशोकराज पाण्डे सौतातर्फका छोरा भन्ने देखिन्छ । खान लाउन नदिएको आधारमा जेठी स्वास्नी अम्विका पाण्डेले ४ भागको एक भाग अंश दिलाई पाउँ भनी २०५१।१०।५ मा फिराद दायर गरेको पाइन्छ । त्यसवेलासम्म वादी प्रतिवादी सवै सगोलमा रहेको र अंशियारमा चार जना मात्र रहेको देखिन्छ । सगोलमा रहँदाको सम्पत्ति अंशियार मध्येको जसको नाममा भएपनि अन्यथा प्रमाणित नभएसम्म सवै अंशियारको अंशहकको सम्पत्ति भनेर मान्नू पर्ने कानूनी व्यवस्था छ । सगोलको र अंशवण्डा लाग्ने सम्पत्ति भनी दावी लिएको अवस्थामा सगोलको सम्पत्ति होइन अंश नलाग्ने निजी आर्जनको सम्पत्ति हो भनी प्रतिवाद गर्ने व्यक्तिले शंकारहीत तवरबाट सवूद गुजार्न पर्ने स्थापित सिद्धान्त हो । वादी समेत २ पत्नी र अर्को पत्नीबाट छोरा समेत भएको भाइराजाको आर्जनमा अंशवण्डाको १९(२) ले वादीको समेत अंश भाग हुने देखिन्छ । घर वनाएको भन्ने तर्फ अकाट्य आधार प्रमाणको अभावमा राष्ट्र वैंकको जागिरबाट बनेको भन्दैमा घर निजी आफूखुस गर्न पाउने हुन सक्दैन । आफूले लिएको जिकिरको पुष्टि हुन सक्ने प्रमाण गुजार्न सक्नूपर्दछ त्यस्तो प्रमाणको अभावमा वादी दावी खण्डित हुन सक्ने हुदैन । यस्तो अवस्थामा वादीले अंश पाउने ठहराएको शुरुको सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेकै देखियो । अव दास्रो प्रश्न मुद्दा चल्दा चल्दै जन्मेको छोराको समेत अंश कायम हुनुपर्ने भन्ने भनाइतर्फ विचार गर्दा वादीले अंशको दावी गर्दाको अवस्थामा परिवारमा चार जनामात्र अंशियार रहेको स्थिति देखिन्छ र नालेश परेको अघिल्लो दिन मानो छुट्टिएको मिति कायम हुँदा सम्ममा अर्को छोरा जन्मि सकेको पनि देखिदैन । शुरु जिल्ला अदालतवाट ०५३।२।३२ मा फैसला हुँदा अथवा शुरुको फैसला उपर चित्त नवुझी पुनरावेदन गर्दा समेत अर्को छोरो जन्मेको जिकिर लिन सकेको वा तत्सम्वन्धि जानकारी अदालतमा दिन सकेको देखिदैन । ०५४।२।३ मा शुरुको फैसला पुनरावेदन अदालतवाट सदर भएको र सोही मिति पारी अर्को छोरो जन्मेको भनि निवेदनसम्म दिएको देखिन्छ । अर्थात् पुनरावेदन अदालतवाट फैसला हुनुभन्दा अघिसम्म अर्को छोरा जन्मेको र अंश लाग्नुपर्ने जिकिर लिएको देखिदैन । शुरु जिल्ला अदालत वा पुनरावेदन अदालतवाट फैसला हुँदासम्म केहि नभनी चूप चाप बसी ०५४।२।३ मा दिएको निवेदनको आधारमा अव आएर अर्को छोरोको अंश लाग्नु पर्ने भन्ने जिकिर लिएको देखिँदा त्यसतर्फ कसो हो भनि विचार गरिनु पर्ने हुन आएको छ । शुरु जिल्ला अदालत एवं पुनरावेदन तहवाट उक्त जिकिरको अभावमा ४ भागको १ भाग अंश वादीलाई दिलाउने फैसला भएको स्थिति छ । मुद्दा दोहोर्याई पाउँ भनि यस अदालतमा अव पर्न आएको निवेदनमा अर्को छोरा जन्मेको कुराको उल्लेख भएको छ । यसै प्रसँगमा उल्लेख भएको ने.का.प. २०४४, अंक ६, नि.नं ३११६ पुनरावेदक वादी पृथ्वीराज सिग्देल विरुद्ध वैंजू शर्मा समेत भएको तायदाती फैसला वदर अंश मुद्दा एवं ने.का.प. २०४६, अंक १०, नि.नं ३९६६ पुनरावेदक प्रतिवादी उपकार धिमाल विरुध्द राजकूमारी धिमाल भएको अंश मुद्दामा कस्तो निर्णय भएको रहेछ भनि हेर्दा पुनरावेदक पृथ्वीराज सिग्देल समेत भएको मुद्दामा यस अदालतवाट मिति ०४४।४।१२।३ मा फैसला हुँदा थान कूमारीले दिएको अंश मुद्दा किनारा नहुँदै वादी विश्वराज र पृथ्वीराजको जन्म भएको भन्ने कुरा मिसिल प्रमाणवाट स्पष्ट देखिन आएको अवस्थामा मानो छुट्टिएको मितिलाई नै अंश लिई बेगल बसी सकेको भन्ने तर्कको आधारमा वादीले अंश नपाउने ठहराएको मध्यमान्चल क्ष्ँेत्रीय अदालतको राय मनासिव नदेखिने भनि फैसला भइरहेको पाइन्छ । अर्थात प्रमाण मिसिलवाटै शुरु जिल्ला अदालतवाट फैसला हुनुभन्दा पहिले नै वादीहरु जन्मिसकेको स्थिति देखिन आएको अवस्था छ भने प्रस्तुत मद्दामा शुरु जिल्ला अदालत वा पुनरावेदन अदालतबाट फैसला हुँदा सम्म मिसिल प्रमाणवाट अर्को छोरा जन्मेको जिकिर लिएको आधार प्रमाण नदेखिएको स्थितिमा प्रस्तुत नजिर प्रासांगिक देखिन आएन । पुनरावेदक प्रतिवादी उपकार धिमाल विरुध्द राजकूमारी धिमाल भएको अंश मुद्दामा यस अदालतबाट मिति ०४६।१०।२।२ मा भएको फैसला हेर्दा शुरु जिल्ला अदालतवाट ०३८।३।१४ मा भएको फैसला उपर पुनरावेदन जिकिर लिंदा समेत वादीले जिकिर लिए वाहेकका अन्य छोराहरु समेत जन्मिसकेको वा अरु अंशियारलाई समेत भाग वण्डा लगाउनु पर्ने भन्ने प्रतिवादीले उल्लेख गरेको देखिन नआई केवल शुरु जिल्ला अदालतवाट ०४१।४।२४ मा पूनः वादीले ५ भागको १ भाग अंश पाउने भनि ठहर गरे उपर प्रतिवादीको अंचल अदालतमा पुनरावेदन परेकोमा मात्र अरु छोरा जन्मेको र सो छोराहरुको भाग वण्डा लगाउनु पर्ने भन्ने उल्लेख गरेको देखिन आउँछ । अंश पाउने शुरु ठहर भैसकेपछी जन्मेका छोराहरुमा वण्डा हुनुपर्ने भन्ने पुनरावेदन जिकिर मिल्न आउने देखिदैन । यसरी पुनरावेदकले जिकिर लिए वमोजिम मुद्दा फैसला भइसकेपछिका अंशियारहरुमा पुनरावेदन तहवाट अंशियार कायम तर्फ वोल्दै लग्ने हो भने मुद्दाको क्रम कहिल्यै नरोकिने हुन जान्छ भनि बोलेको पाइन्छ तथा अंचल अदालतमा पुनरावेदन गर्दाकै अवस्था अरु छोराहरुको समेत अंश लाग्नु पर्ने भनि पुनरावेदन जिकिर लिएकोमा शुरु जिल्ला अदालतवाट अंशियार कायम भइसकेपछि पुनरावेदन तहवाट अंशियार कायम गर्दै जाने हो भने मुद्दाको क्रम कहिल्यै नरोकिने भन्ने सिद्धान्त कायम भएको पाइन्छ । प्रस्तुत मुद्दामा शुरु जिल्ला अदालतको फैसला उपर पुनरावेदन गर्दा सो अनुरुप अर्को छोरा जन्मेकोले अंश लाग्नु पर्ने भन्ने पुनरावेदन जिकिर लिन सकेको समेत देखिदैन । मिसिल प्रमाणबाट त्यस वेला सम्म त्यस्तो स्थिति देखिदैन । मुद्दा दोहोर्याइ पाउँ भनी अव यस अदालतमा पर्न आएको निवेदनवाट अर्को छोराको समेत अंश लाग्नु पर्ने जिकिर लिएको अवस्था पाइन्छ । शुरुमा फिराद गर्दा तथा शुरु जिल्ला अदालतबाट फैसला हुँदासम्म कस्तो अवस्था विद्यमान थियो भन्ने नै मुख्य प्रश्न हुने भइ त्यसतर्फ ध्यान राखी इन्साफ गर्नुपर्ने हुन्छ । प्रस्तुत मुद्दाको फिराद पर्दा भाईराजा पाण्डे समेत ४(चार) जना मात्र अंशियार देखिने तथा (दूइ) २ तह अदालतबाट किनारा हुँदासम्म तत्सम्वन्धी विचार लिन सकेको नभै ४ भागको १ भाग वादीले अंश पाउने ठहर निर्णय भइरहेको अवस्थामा अव आएर थप अंशियार कायम गर्दै जाने हो भने मुद्दाको क्रम कहिल्यै नरोकिने भन्ने सिद्धान्त विपरीत हुन जाने देखिँदा वादी दावी वमोजिम ४ भागको १ भाग वादीले अंश पाउने ठहराएको जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, पाटन ललितपूरको इन्साफ मिलेकै भई मनासिव ठहर्छ । पुनरावेदक प्रतिवादीहरुको पुनरावेदन जिकिर पूग्न सक्दैन । मिसिल नियमानुसार गरी वुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.कृष्णजंग रायमाझी
इति सम्वत् २०५६ साल माघ १९ गते रोज ४ शुभम् .... ।