निर्णय नं. ८४५३ - अपुताली हककायम नामसारी ।

निर्णय नं.८४५३ ने.का.प. २०६७ अङ्क ९
सर्वोच्च अदालत, पूर्ण इजलास
माननीय न्यायाधीश श्री खिलराज रेग्मी
माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह
माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय
दे.पु.इ.नं. ०६६–DF–०००२
फैसला मितिः २०६७।१।३०।५
मुद्दा :– अपुताली हककायम नामसारी ।
पुनरावेदक प्रतिवादीः जि.रुपन्देही, वोगडी गा.वि.स. वडा नं. ५ वस्ने नेत्रकुमार दुवे मरी मु.स.गर्ने निजको छोरा प्रदीपकुमार दुवे
विरुद्ध
प्रत्यर्थी वादीः जिल्ला रुपन्देही, गा.वि.स.कटया वडा नं. १ हाल वोगडी गा.वि.स.वडा नं. ५ वस्ने निर्मलादेवी दुवे समेत
§ मुद्दाका पक्षहरूले विवादको विषयवस्तु वा मुद्दाको तथ्यलाई जे जस्तो तरिकाबाट प्रस्तुत गरेका हुन्छन् अदालतले सोही किसिमबाट ग्रहण गर्नु वाञ्छनीय हुन्छ । वादीको दावी वा प्रतिवादीको प्रतिउत्तर जिकीरभन्दा बाहिर गई अदालत स्वयंले पक्षको स्थान ग्रहण गर्न नसक्ने ।
§
§ कानूनको प्रयोग र व्याख्या निरपेक्ष ढंगबाट हुने नभई मुद्दाको तथ्यगत प्रस्तुति र दावीको कानूनी आधारको सापेक्षताबाटै हुने ।
(प्रकरण नं.८)
§ अंशबण्डाको ६ नं. बमोजिम अंशबण्डा गरी बसेका बावु आमाको अपुताली एकलौटी पाउन दुईवटा पूर्व शर्तहरूमा पहिलो अंशबण्डा भैसकेका स्वास्नी, छोरा बुहारीसँग अंश मिसाई बसेको हुनुपर्ने र दोस्रो यसले खानु भनी लिखत गरी दिएको भए सोही लिखतबमोजिम हुने ।
(प्रकरण नं.९)
§ निस्सा दिने इजलासले नै कारण उल्लेख गर्न नसेकेको कुरामा यस इजलासले अनुमान र तर्कका भरमा ठहर निष्कर्षमा पुग्न सम्भव नहुने ।
(प्रकरण नं.११)
§ समान पुस्ताका बाजेको सम्पत्तिबाट आधामा अपुताली हक पाउने भएपछि सोही पुस्ताकी बज्यैको सम्पत्तिमा अपुताली नपाउने भन्न नमिल्ने ।
(प्रकरण नं.१२)
यस अघि निर्णय गर्ने :
मा.जि.न्या.श्री इन्द्रमान कर्माचार्य
पुनरावेदन अदालतः
मा.मु.न्या.श्री राजेन्द्रप्रसाद कोइराला
मा.न्या.श्री विश्वनाथ जोशी
सर्वोच्च अदालत संयुक्त इजलासः
मा.न्या.श्री अनूपराज शर्मा
मा.न्या.श्री प्रेम शर्मा
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री वसन्तराम भण्डारी र विद्वान अधिवक्ता श्री शम्भु थापा
प्रत्यर्थी वादीहरूका तर्फबाटः विद्वान अधिवक्ता श्री कृष्णप्रसाद सापकोटा
अवलम्बित नजीरः नेकाप २०४५ नि.नं. ३३५२
सम्बद्ध कानूनः
§ मुलुकी ऐन अपुतालीको १ र २ नं.
§ अ.वं. ८२, १८०, १८५ क,
फैसला
न्या.खिलराज रेग्मीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत पुनरावेदन अदालत पोखराको फैसलाउपर वादी हेममोहन भट्टराईको यस अदालतमा पुनरावेदन परी यस अदालत संयुक्त इजलाससमक्ष पेश हुँदा मत्यैक्यता हुन नसकेकोले सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१) (क) बमोजिम यस पूर्ण इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :–
स्वर्गीय राम आधारे दुवेको छोरा योगेन्द्रनाथ दुवे निजको श्रीमती रामरती दुवाईन, योगेन्द्रनाथ दुवे र रामरतीको २ छोरा जेठा विपक्षी नेत्रकुमार दुवे कान्छा हामी वादीका पति एवं पिता वीरेन्द्रकुमार दुवे हुन् । वीरेन्द्रकुमार दुवे र म वादी निर्मलाबाट जन्मेका वर्ष १३ की छोरी सन्नुदेवी वर्ष ११ को छोरा दिवाकरनाथ दुवे र वर्ष ९ को छोरा प्रभाकरनाथ दुवे वर्ष ७ को छोरा सुधाकरनाथ दुवे वर्ष ५ की छोरी शीलादेवी दुवे छन् । सासू बजै रामरती दुवाईनको अघि नै मृत्यु भएको ससुरा बाजे योगेन्द्रनाथको यही २०५८।३।२१ मा मृत्यु भएको । हामीहरूको पति पिता वीरेन्द्रकुमार दुवेको २०५७।१।२० मा मृत्यु हुन गएको पति, बाबुको मृत्यु हुनपूर्व रामरती, नेत्रकुमार, वीरेन्द्रकुमार दुवे समेत भै योगेन्द्रनाथ दुवेलाई प्रतिवादी बनाई २०४५ सालमा दे.दा.नं. १४७१ को अंश नामसारी मुद्दा दायर गरी ४ भागको ३ भाग अंश वादीहरूले पाउने ठहरी २०४७।१।२ गते रुपन्देही जिल्ला अदालतबाट फैसला भई सो फैसलाअनुसार मिति २०४९।४।२४ गते बण्डा छुट्टयाई बण्डा मुचुल्काअनुसार हाम्रो पिता, पति वीरेन्द्रकुमारको भागमा परेको जग्गा म वादी निर्मलाका नाउँमा मिति २०५८।२।७ मा नामसारी दा.खा. भएकोले उपरोक्त बण्डा मुचुल्काअनुसारको साविक कित्ताहरू फोड हुँदा परिवर्तन हुन गई सासू वजै रामरतीको हक भोगमा नेत्रकुमार दुवेको दर्ताबाट रुपन्देही जिल्ला, वसौली गा.वि.स.वडा नं. २ ख को कि.नं. ५१९ को पूरै जग्गा ऐ गा.वि.स.करौता ५ ग कि.नं. ८१८ मध्ये ०–१२–२ पूर्व तर्फ ऐ. ऐ. कि.नं. ७२ मध्ये ०–६–१४½ पूर्व तर्फबाट योगेन्द्रनाथको दर्ताबाट ऐ गा.वि.स.कटया वडा नं. १ कि.नं. १३ को पूरै जग्गा ऐ. को कि.नं. १७० को पूरै जग्गा, ऐ. को कि.नं. ४८९ मध्ये १–१३–१८ पूर्वतर्फ तथा यजेन्द्रप्रसाद हाल योगेन्द्रनाथ दुवेको दर्ताबाट ऐ. वडा नं. २ कि.नं. ४३८ मध्ये १–५–१४ उत्तरतर्फ ऐ वडा नं. ३ कि.नं. ८०२ को पुरै जग्गा समेत जम्मा ज.वि.६–१०–१४ कायम भएको त्यस्तै ससुरा बाजे योगेन्द्रनाथ दुवेको हक भोगमा नेत्रकुमार दर्ताबाट जिल्ला रुपन्देही गा.वि.स.बसौली वडा नं. १(क) कि.नं. १६४, १९९, ३४४, ३८४ को पूरै जग्गा ऐ गा.वि.स.वसौली २(क) कि.नं. २४ को पुरै जग्गा ऐ गा.वि.स. रायपुर २(ग) कि.नं. ५१ को पूरै जग्गा ऐ गा.वि.स.करौत वडा नं. ५ कि.नं. ७२ मध्ये १–९–१० ½ पश्चिमतर्फ, योगेन्द्रनाथ दुवेको दर्ताबाट ऐ गा.वि.स.कटया वडा नं. १ कि.नं. ६७, १३७, ३१८, ३१९ को पुरै जग्गा ऐ कि.नं. ४८७ मध्ये ०–०–१५ पश्चिमतर्फ ऐ ऐ कि.नं. ४८९ मध्ये १–१३–१८ रामरती सो पश्चिमतर्फ, गजेन्द्रप्रसाद हाल योगेन्द्रनाथको दर्ताबाट ऐ.ऐ. वडा नं. २ कि.नं. ४३८ मध्ये १–५–१५ रामरती सो दक्षिणतर्फ ऐ.ऐ. वडा नं. ३ कि.नं. ८०१ मध्ये ०–२–८ उत्तरतर्फबाट समेत जम्मा ज.वि. ७–४–९ ½ कायम भएकोमा निज सासू वजै, ससुरा वाजेको मृत्यु पश्चात निजहरूको हकवाला छोरा वीरेन्द्रकुमारको हक खाने हामी वादीहरू तथा विपक्षी नेत्रकुमार दुवे आधीआधी भोग चलन गरी आएको उपरोक्त जग्गा आधा–आधा नामसारी गराई वसौ भनी विपक्षी जेठाजु, जेठा बाबुसँग मिति २०५८।४।१५ मा अनुरोध गर्दा सम्पूर्ण जग्गा मैले खान्छु भनी दिन इन्कार गरेकोले अपुताली परेको मिति २०५८।३।२१ ले अपुतालीको २० नं. को म्यादभित्र नालेस गर्न आएका छौं । सासू ससुरा बाजे, वजैको हक भएको उपरोक्त जग्गामध्ये आधी ज.वि. ६–१७–१२ मा हामीहरूको अपुताली हककायम गरी नामसारी समेत गरिपाऊँ भन्ने वादीहरूको मिति २०५८।५।२६ को संयुक्त फिरादपत्र ।
मिति २०४९।४।२४ मा बण्डा छुट्टयाउंदा आमा रामरतीले मेरो नाउँ दर्ताको र बाबु योगेन्द्रनाथको नाउँ दर्ताको जग्गा अंशबापत पाउनु भएको थियो, बाबुको नाउँको र मेरो नाउँको आमाले पाएको जग्गा आमा रामरती मसँग बसेको हुँदा मैले नै सगोलबाट जोतभोग गरी आएको अवस्था आमाको मिति २०५२।१०।३० मा मृत्युपश्चात् आमाको काजकिरिया मैले नै गरेको र आमाले अंशमा पाएको जग्गा हालसम्म बाबु तथा मेरै नाउँमा दर्ता कायम छ भने आमाको मृत्यु भएको लगभग ६ वर्षपछि आमाको सम्पत्तिमा अपुतालीको २० नं. लगाई दायर गरेको फिरादपत्र म्यादभित्रको नहुँदा खारेज गरी पाऊँ । सो बाहेक बाबु योगेन्द्रनाथले पाउनु पर्ने बण्डा मुचुल्काबमोजिम बाबु योगेन्द्रनाथको दर्तासम्मको जग्गामा वादीले अपुताली आधी हक पाउनु पर्ने हो सो वाहेक अरुमा अपुताली पर्यो भनी कानूनविपरीत दायर गरेको प्रस्तुत फिरादपत्र खारेज गरिपाऊँ भन्ने प्रतिवादी नेत्रकुमार दुवेको प्रतिउत्तरपत्र ।
रामरतीको अपुताली निजको लोग्ने योगेन्द्रनाथले पाउने र योगेन्द्रनाथको मृत्युपश्चात् निजको सम्पत्तिमा निजका छोरा वा छोराका छोराले अपुताली पाउने देखिन्छ । अपुतालीको २ नं. मा छोराको छोरालाई अपुताली हकबाट वन्चित गरेको नदेखिएकोले वादी दावीबमोजिम २०४९।४।२४ मा छुट्टयाएको बण्डा मुचुल्कालाई आधार मानी सो बण्डा मुचुल्कामा भएको जग्गामा मात्र रामरती तथा योगेन्द्रनाथको अंश भागमा परेको हाल दर्ता रहेको सम्पत्तिमा वादी दावीबमोजिम २ भागको १ भाग अपुताली हककायम गराई पाउने ठहर्छ । वादी निर्मलादेवीको हकमा अपुतालीको महलको २ नं. मा छोरा वुहारीले अपुताली पाउँछ भन्ने उल्लेख भएको नदेखिँदा निजको हकमा दावी १८० नं. बमोजिम खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको रुपन्देही जिल्ला अदालतको मिति २०६०।१०।१५ को फैसला ।
छुट्टी भिन्न भई अलग बसेका सासू ससुरा हजुरबुबा, हजुरआमाको सम्पत्तिमा वुहारी नातिहरूको अपुताली हक नलाग्ने हुँदा प्रस्तुत मुद्दामा अपुतालीको २ नं. आकर्षित हुन सक्दैन । आमा रामरती मेरो सँगसाथमा रही २०५२।१०।३० मा मृत्यु भएको कुरालाई विपक्षीले अन्यथा भन्न नसकेको र २०४९।३।२४ मा बण्डा छुट्याए पनि आमा रामरतीले पाएको सम्पत्ति जग्गा नछुट्टयाई दर्ता फुटाउने कार्य नगरी मेरो नाउँको जग्गा मेरै नाउँमा राखी भोग चलन गरी आएको कुरा साक्षीहरूको वकपत्र समेतबाट पुष्टि भएको छ । आमा बाबुको अपुताली छोरा भएसम्म छोरामा मात्र जाने र वुहारी नातामा जान नसक्ने भन्ने कानूनी व्यवस्थातर्फ दृष्टि नपुर्याई भएको शुरु रुपन्देही जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिउत्तर जिकीर बमोजिम गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी नेत्रकुमार दुवेको पुनरावेदन अदालतमा परेको पुनरावेदनपत्र ।
म निर्मलादेवी दुवे योगेन्द्रनाथ दुवेको छोरा वुहारी नाताकी व्यक्ति हुँ । मर्ने योगेन्द्रनाथको छोरा वीरेन्द्रकुमारको अघि नै मृत्यु भइसकेको अवस्थामा निजको अस्तित्व ममा आएको छ । विपक्षी नेत्रकुमार म एकै पिढीको समानस्तरको हकवाला भएको अवस्थामा मेरो दावीबमोजिम इन्साफ गर्नुपर्नेमा कानून र नजीरसमेतको उपेक्षा भै मेरो दावी खारेज गर्ने गरिएको छ । २०४९।४।२४ को बण्डा मुचुल्काबाट दावीको जग्गा रामरती दुवे र योगेन्द्रनाथ दुवेको अंश भागमा परी सोही वेलादेखि विपक्षी नेत्रकुमारको हक समाप्त भैसकेको हुँदा दावीको जग्गालाई विपक्षीले आफ्नो भन्न पाउने समेत होइन । दावी गरिएको जम्मा ज.वि. १३–१५–४ मध्ये आधि जग्गा विगाहा ६–१७–१२ जग्गा हाम्रो अपुताली हककायम गर्नुपर्नेमा घटी जग्गामा हककायम गर्ने र वादी निर्मलाको हक नलाग्ने गरी गरिएको शुरु रुपन्देही जिल्ला अदालतको फैसला सो हदसम्म नमिलेको हुँदा केही उल्टी गरी फिराद दावीबमोजिम इन्साफ पाऊँ भन्ने समेत व्यहोराको वादीहरूको पुनरावेदन अदालतमा परेको पुनरावेदनपत्र ।
यसमा वादी दावीबमोजिम २०४९।४।२४ मा छुट्टयाएको बण्डा मुचुल्कालाई आधार मानी सो बण्डा मुचुल्कामा भएको जग्गामा रामरती तथा योगेन्द्रनाथको अंश भागमा परेको हाल दर्ता रहेको सम्पत्तिमा वादी दावीबमोजिम २ भागको १ भाग अपुताली हककायम गराई पाउने र निर्मलादेवी दुवेको हकमा अपुताली महलको २ नं. मा छोरा वुहारीले अपुताली पाउने भनी उल्लेख गरेको नदेखिँदा अ.वं. १८० नं. बमोजिम दावी खारेज हुने ठहर्याएको शुरु रुपन्देही जिल्ला अदालतको मिति २०६०।१०।१५ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ भन्ने व्यहोराको पुनरावेदन अदालत वुटवलको २०६१।१२।३१ को फैसला ।
आमा बाबुको सम्पत्तिमा अपुताली पर्दा म प्रतिवादी नेत्रकुमार दुवे एक मात्र छोरा जीवित रहेको विपक्षीको बाबु लोग्नेको मृत्यु भैसकेको अवस्थामा अपुताली पाऊँ भन्ने माग गर्ने हक लोग्ने पिताको मृत्यु भएबाट हक टुटी सकेको अवस्थामा परलोक भैसकेका लोग्नेको अंशमा जस्तो अपुतालिमा दावा गर्न मिल्ने नहुँदा अपुताली मागिएको दावी खारेज गर्नुपर्नेमा सो नगरी नातिलाई अपुताली हक दिलाएको पुनरावेदन अदालतको फैसला तत्कालीन अपुतालीको २ नं. सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तप्रतिकूल हुँदा बदर गरी प्रतिवादी जिकीरबमोजिम हुने गरी मुद्दा दोहोर्याई हेरी पाऊँ भनी यस अदालतमा परेको निवेदनपत्र ।
यसमा पुनरावेदन अदालतले गरेको मिति २०६१।१२।३१ को फैसलामा अपुतालीको १, २ नं. को व्याख्यात्मक त्रुटि विद्यमान रहेको देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा १ को खण्ड (क) र (ख) को आधारमा मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको छ । विपक्षी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने यस अदालतको आदेश ।
नियमबमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री वसन्तराम भण्डारी र विद्वान अधिवक्ता श्री शम्भु थापाले अपुताली कानूनबमोजिम प्राप्त र समाप्त हुने हक हो । तथ्यगत भनाइले अपुताली पाउने वा नपाउने अवस्था हुँदैन । अपुतालीको १ नं. ले मर्नेको पुरुषतर्फको नजिकको हकवालाले अपुताली पाउँछ भन्ने व्यवस्था गरेको छ । रामरती मर्दा निजको पती योगेन्द्रनाथ जीवित रहेको र योगेन्द्रनाथ मर्दा वादीका पति, पिता विरेन्द्र मरिसकेको कारण पुनरावेदक प्रतिवादी नेत्रकुमार दुवे मात्र जीवित हकवाला रहेको हुँदा सो अपुताली हक पुनरावेदक प्रतिवादीले पाउने कुरा प्रष्टै छ । वण्डा मुचुल्का भए पनि अंश भागमा परेको जग्गा दा.खा. नासमारी गरिएको छैन । रामरतीलाई पुनरावेदकले नै पालनपोषण गरेको र निजको अंश भागमा परेको जग्गा पुनरावेदककै नाममा दर्ता छ । अपुतालीको २ नं. छोरीले अपुताली पाउने कानूनी व्यवस्था हो । प्रस्तुत मुद्दामा अपुतालीको ६ नं. को प्रश्न नै छैन । अतः पुनरावेदन अदालतको फैसला उल्टी गरी वादी दावी नपुग्ने ठहर्याएको मा.न्या.श्री अनूपराज शर्माको राय सदर गरिनु पर्दछ भन्ने समेत वहस प्रस्तुत गर्नुभयो ।
प्रत्यर्थी वादीहरूका तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री कृष्णप्रसाद सापकोटाले विवादमा प्रयोग हुने कानून प्रष्ट छैन भने न्याय र विवेक प्रयोग हुने अवस्था रहन्छ । बावु, आमा र छोराहरू छुट्टिभिन्न भएपछि मृत्यु भयो, अंश मिसाएको पनि छैन, कुनै लिखत पनि छैन भने त्यस्तो अवस्थामा के हुने भन्ने प्रष्ट कानूनी व्यवस्था छैन । यस्तो अवस्थामा सवै हकवालाहरूले समान रुपमा अपुताली पाउँछन् भन्नु नै न्यायोचित र विवेकसम्मत हुन्छ । योगेन्द्रनाथको सम्पत्तिमा वादीले पनि अपुताली पाउँछन् भन्ने कुरा स्वयं पुनरावेदक प्रतिवादीले स्वीकारेका छन् । रामरतीले योगन्द्रनाथ जीवित रहेकोले निजको अपुताली योगन्द्रनाथमा गै सकेको हुँदा हाल पुनरावेदकले मात्र एकलौटी पाउने हो भन्न मिल्दैन । २०४९ सालमा आमा, बावु र छोराहरू समेतका सवै अंशियार छुट्टिभिन्न भै सकेकोमा आमा रामरतीसँग अंश मिसाएर बसेको कुनै लिखत प्रमाण पुनरावेदकले दिन सकेको अवस्था छैन । अपुतालीको ६ नं. अनुसार रामरतीको अपुताली आफूले पाउने भन्ने प्रतिउत्तर भएकोमा अंश मिसाएको प्रमाण नभएकोले सो जिकीर पुग्न सक्दैन । अदालतले पक्ष विपक्षले तथ्यलाई जसरी प्रस्तुत गरेको हुन्छ त्यसैमा आधारित भएर इन्साफ गर्ने हो । वादी दावी वा प्रतिउत्तर जिकीर वाहिर गई इन्साफ गर्न मिल्दैन । तसर्थ पुनरावेदन अदालतको फैसला सदर गरेको मा.न्या.श्री प्रेम शर्माको राय सदर गरिनु पर्दछ भन्ने समेत बहस गर्नुभयो ।
पक्ष विपक्षका कानून व्यवसायीहरूले गर्नु भएको उपरोक्त बहस सुनी मिसिल कागजात अध्ययन गरी हेर्दा पुनरावेदन अदालतको फैसला उल्टी गरी अपुताली हक कायम गरी पाऊँ भन्ने वादी दावी नपुग्ने ठहर्याएको माननीय न्यायाधीश श्री अनुपराज शर्माको वा वादी दावीबमोजिम गर्ने गरेको पुनरावेदन अदालतको फैसला सदर हुने ठहर्याएको माननीय न्यायाधीश श्री प्रेम शर्माको रायमध्ये कुन राय सदर कायम हुनु पर्ने हो वा कानूनबमोजिम के हुनु पर्ने हो भन्ने सम्बन्धमा निर्णय दिनु पर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा मूल पुरुष योगेन्द्रनाथ र निजकी श्रीमती रामरतीको दुई भाई छोरा जेठा विपक्षी नेत्रकुमार र कान्छा हामीहरूका पति पिता वीरेन्द्रकुमार दुवे भएकोमा अदालतको फैसलाबमोजिम निजहरू २०४९ सालमा वण्डा मुचुल्का खडागरी छुट्टी भिन्न भैसक्नु भएको छ । बज्यै तथा सासू रामरतीको अघि नै परलोक भएको, हाम्रा पति एवं पिताको पनि २०५७ सालमा मत्यु भै सकेको छ । हजुरबुवा एवं ससुरा योगेन्द्रनाथ दुवेको २०५८।३।२१ मा मृत्यु भएको हुँदा अपुतालीको २ र २० नं. बमोजिम निजहरूको सम्पत्तिमध्ये आधिमा हाम्रो अपुताली हक कायम गरिपाऊँ भन्ने नै प्रत्यर्थी वादीहरूको मुख्य फिराद दावी रहेको देखिन्छ । प्रतिउत्तर पत्र हेर्दा आमा रामरती मेरो संगसाथमा रहे बसेको र मैले नै सेवा टहल गरी आएको अवस्थामा २०५२।१०।३० मा परलोक हुनु भएकोले काजकिरिया समेत मैले गरेको हुँदा आमाको सम्पत्तिमा वादीहरूको हक लाग्न सक्दैन । बावु योगेन्द्रनाथको दर्ताको जग्गामा सम्म वादीले आधा अपुताली हक पाउनु पर्ने हो । सो वाहेक अपुतालीका ६ नं. ले मेरो हकमा समेत असर पारी गरिएको दावी कानूनविपरीत हुँदा खारेज गरिपाऊँ भन्ने समेत जिकीर लिएको पाइन्छ ।
३. शुरुले वादीमध्येका निर्मलादेवी बुहारी नाताको देखिँदा निजले अपुताली पाउन नसक्ने भै निजको हकमासम्म फिराद खारेज गरी अन्य वादीहरूले दावीबमोजिम रामरती र योगेन्द्रनाथको अंश भागमा परेको हाल दर्ता रहेको सम्पत्तिबाट २ भागको १ भाग अपुताली हक कायम गराई लिन पाउने ठहर्याई गरेको फैसला पुनरावेदन अदालत बुटवलबाट समेत सदर भएको देखिन आउँछ । सो फैसलामा मुलुकी ऐन अ.वं. ८२, १८०, १८५ क, अपुतालीको २ नं. समेतको व्याख्यात्मक त्रुटी हुनुका साथै नेकाप २०४५ नि.नं. ३३५२ समेतको विपरीत फैसला भएकोले मुद्दा दोहोर्याई हेरी पाऊँ भनी प्रतिवादी नेत्रकुमार दुवेको निवेदन परी यस अदालतबाट मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गर्ने गरी आदेश गर्दा पुनरावेदन अदालतको फैसलामा अपुतालीको १ र २ नं. को व्याख्यात्मक त्रुटी विद्यमान रहेको भन्ने सम्म उल्लेख गरिएको पाइयो ।
४. प्रस्तुत मुद्दामा संयुक्त इजलासका माननीय न्यायाधीशहरू बीच मत्यैक्यता हुन नसकी यस इजलाससमक्ष पेश हुन आएको अवस्था छ । संयुक्त इजलासका माननीय न्यायाधीश श्री अनूपराज शर्माले योगेन्द्रनाथ र रामरतीका छोरा पुनरावेदक प्रतिवादी नेत्रकुमार जीवित छँदाछँदै वीरेन्द्रकुमारका छोरा अर्थात् नातिहरूले अपुताली पाउन नसक्ने हुँदा पुनरावेदन अदालतको फैसला उल्टी भै वादी दावी पुग्न नसक्ने भन्ने राय व्यक्त गर्नु भएको देखिन्छ । त्यसैगरी माननीय न्यायाधीश प्रेम शर्माबाट पुनरावेदक प्रतिवादीले आमा रामरतीसँग अंश मिसाई वसेको रीतपूर्वकको लिखत प्रमाणको अभावमा रामरतीको सम्पत्तिमा निजका छोराहरू नेत्रकुमार र वीरेन्द्रकुमारको समान हक रहने भै वीरेन्द्रकुमारको मृत्यु भैसकेको भन्ने सम्मको आधारमा निजका छोरा वादीहरूले अपुताली नपाउने भन्न नमिल्ने हुँदा पुनरावेदन अदालतको फैसला सदर हुने भन्ने राय व्यक्त भएको पाईयो ।
५. प्रस्तुत मुद्दामा मूल पुरुष योगेन्द्रनाथ र निजकी श्रीमती रामरती दुवाईनको सम्पत्तिबाट आधामा अपुताली हक कायम हुनु पर्ने भन्ने मुल दावी लिई मुलुकी ऐन अपुतालीको २ नं. २० नं. को कानूनी आधारमा प्रत्यर्थी वादीहरूको फिराद परेको देखिन्छ । रामरतीको मिति २०५२।१०।३० र निजका पति योगेन्द्रनाथको मिति २०५८।३।२१ मा मृत्यु भएको भन्ने तथ्य निर्विवाद छ । निजहरूका दुई भाई छोराहरू मध्ये जेठा पुनरावेदक प्रतिवादी नेत्रकुमार दुवे र कान्छा प्रत्यर्थी वादीका पति पिता विरेन्द्रकुमार दुवे भएकोमा विरेन्द्रको २०५७।१।२० मा मृत्यु भएको भन्ने कुरामा समेत पक्ष विपक्ष वीच मुख मिलेकै देखिन आउँछ । त्यसैगरी रामरती, नेत्रकुमार र वीरेन्द्रकुमार वादी भै योगेन्द्रनाथ उपर अंश नामसारी मुद्दा दिई दावीबमोजिम ४ भागको ३ भाग अंश पाउने ठहरी रुपन्देही जिल्ला अदालतबाट मिति २०४७।१।२ मा भएको फैसलाबमोजिम मिति २०४९।४।२४ मा वण्डा मुचुल्का समेत भै सकेको भन्ने पनि देखिन आएको छ ।
६. प्रत्यर्थी वादीहरूले फिरादमा उल्लेख गरेको उपरोक्त दावीमध्ये पुनरावेदक प्रतिवादीका पिता योगेन्द्रनाथ दुवेले अंश पाई वण्डा मुचुल्काबमोजिम निजका भागमा परी दर्ता रहेको सम्पत्तिमा वादीहरूले आधा अपुताली पाउने हो भनी प्रतिउत्तर पत्रको प्रकरण ४ मा स्पष्ट रुपमा स्वीकार गरेको देखिँदा योगेन्द्रनाथको अपुताली वादीले पाउने हो भनी वादी र प्रतिवादी पक्षबीच मुख मिलेको सो तथ्यगत प्रश्नमा अदालतले थप विवेचना गरी निर्णय निरोपण गरिरहनु पर्ने अवस्था विद्यमान देखिएन।
७. पुनरावेदक प्रतिवादीको असहमती केवल आमा रामरतीको निजको संगसाथमा वसेको अवस्थामा मृत्यु भएको र आमाको नाउँको जग्गा वण्डा मुचुल्का भएपनि प्रतिवादीकै नाउँमा रहेको हुँदा अपुतालीको ६ नं. बमोजिम सो सम्पत्तिबाट वादीहरूले अपुताली पाउन सक्ने होईन भन्ने नै रहेको देखिन्छ । अर्थात प्रस्तुत मुद्दामा वादी प्रतिवादीको मुख नमिली अदालतबाट निर्णय निरुपण हुनु पर्ने एक मात्र विवादित प्रश्न रामरतीको सम्पत्तिमा अपुतालीको ६ नं. बमोजिम पुनरावेदक प्रतिवादीको एकलौटी अपुताली हक हुने हो वा वादी दावीबमोजिम निजहरूको पनि आधि हककायम हुने हो भन्ने नै रहेको छ ।
८. वस्तुतः मुद्दाका पक्षहरूले विवादको विषयवस्तु वा मुद्दाको तथ्यलाई जे जस्तो तरिकाबाट प्रस्तुत गरेका हुन्छन् अदालतले सोही किसिमबाट ग्रहण गर्नु वाञ्छनीय हुन्छ । वादीको दावी वा प्रतिवादीको प्रतिउत्तर जिकीरभन्दा बाहिर गई अदालत स्वयंले पक्षको स्थान ग्रहण गर्न सक्दैन । कानूनको प्रयोग र व्याख्या पनि निरपेक्ष ढंगबाट हुने नभई मुद्दाको तथ्यगत प्रस्तुती र दावीको कानूनी आधारको सापेक्षताबाटै हुने हो ।
९. पुनरावेदक प्रतिवादीले जिकीर लिएको मुलुकी ऐन अपुतालीको ६ नं. मा तत्काल कायम रहेको कानूनी व्यवस्था हेर्दा एकै स्वास्नी पट्टी वा एक देखि बढी स्वास्नी पट्टीका सन्तान हुने बाबु आमाले आफू र सवै स्वास्नी छोरा बुहारीहरूलाई समेत ऐनबमोजिम अंश वण्डा गरी दिई लिई कोही स्वास्नी छोरा बुहारीसँग आफ्नो अंश मिसाई बसेकोमा बावु आमा मरी अपुताली पर्यो भने त्यो अपुताली संगबसेका स्वास्नी छोरा बुहारीले मात्र खान पाउँछन् । लिखत भए लिखतबमोजिम हुन्छ” भन्ने उल्लेख भएको देखिन्छ । यसप्रकार अंश वण्डा भैसकेपछि बावु वा आमा मरी अपुताली परेमा निजहरूको अपुताली कसले पाउने भन्ने सम्वन्धमा उक्त ६ नं. ले व्यवस्था गरेको देखियो । सो कानूनी व्यवस्थाले अंश वण्डा गरी बसेका बावु आमाको अपुताली एकलौटी पाउने दुईवटा पूर्व शर्तहरू निर्धारण गरेको पाइन्छ । जसमध्ये पहिलो शर्तका रुपमा अंश वण्डा भै सकेका स्वास्नी, छोरा बुहारीसँग अंश मिसाई वसेको हुनु पर्ने र दोस्रो यसले खानु भनी लिखत गरी दिएको भए सोही लिखतबमोजिम हुने भन्ने देखिन्छ ।
१०. प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको आमा रामरती, निजको पति योगेन्द्रनाथ तथा छोराहरू पुनरावेदक प्रतिवादी तथा प्रत्यर्थी वादीका पति पिताहरू परस्पर अंश मुद्दा गरी रुपन्देही जिल्ला अदालतबाट मिति २०४७।१।२ मा भएको फैसला बमोजिम मिति २०४९।४।२४ मा वण्डा मुचुल्का समेत खडा भै रीतपूर्वक छुट्टिभिन्न भएको भन्ने देखिन्छ । पुनरावेदक प्रतिवादीको नाउँमा दर्ता रहेको केही जग्गा रामरतीको अंश भागमा परेकोमा वण्डा मुचुल्का बमोजिम रामरतीले दा.खा. नामसारी नगराएको भन्नेसम्म देखिए पनि आमा रामरतीसँग पुनरावेदक प्रतिवादी आफ्नो अंश मिसाई बसेको भन्ने कुरा प्रमाणित हुने रीतपूर्वकको मानो जोडिएको लिखत प्रमाण पेश गरी पुनरावेदक प्रतिवादीले सो जिकीर पुष्टि गर्न सकेको पाईदैन । रीतपूर्वक अंश वण्डा गरी वसेका अंशियारहरू अंश मिसाई बस्नको लागि मुलुकी ऐन रजिष्ट्रेशनको महलको १ नं. बमोजिम रजिष्ट्रेशन पारित भएको लिखत अनिवार्य हुन्छ । सो को अभावमा केवल प्रतिउत्तर लेखका भरमा मात्र पुनरावेदक प्रतिवादी निजको आमा रामरती दुवाईनसँग अंश मिसाई वसेका रहेछन् भनी मान्न मिल्दैन । त्यसैगरी रामरती दुवाईनले निजको अंश भागको सम्पत्ति पुनरावेदक प्रतिवादी नेत्रकुमार दुवेले मात्र एकलौटी खानु भनी कुनै लिखत गरी दिएको छ भनी प्रमाण स्वरुप त्यस्तो लिखत पेश दाखिल हुन सकेको पनि देखिँदैन। यस स्थितिमा आमा रामरतीको अंश भागमा परेको सम्पत्तिमा अपुतालीको ६ नं. बमोजिम आफ्नो मात्र एकलौटी अपुताली हक कायम हुने हो भन्ने पुनरावेदक प्रतिवादीको प्रतिउत्तर र पुनरावेदन जिकीर स्वतः खण्डित भएको देखियो ।
११. यस अदालतबाट मुद्दा दोहोर्याई हेर्दा पुनरावेदन अदालतको फैसलामा मुलुकी ऐन अपुतालीको १ र २ नं. को व्याख्यात्मक त्रुटी विद्यमान रहेको भन्नेसम्म उल्लेख गरेको देखिन्छ । परन्तु सो फैसलामा के कुन आधारबाट उक्त कानूनी व्यवस्थाको व्याख्यात्मक त्रुटी हुन पुगेको हो भन्ने कुराको कुनै विवेकसम्मत र वस्तुपरक आधार कारण उल्लेख हुन सकेको पाईदैन । यसरी निस्सा दिने इजलासले नै कारण उल्लेख गर्न नसेकेको कुरामा यस इजलासले अनुमान र तर्कका भरमा ठहर निष्कर्षमा पुग्न सम्भव हुँदैन । त्यसमा पनि अपुतालीको १ नं. को प्रश्न वादी वा प्रतिवादी कुनै पक्षबाट पनि उठाईएको नदेखिँदा सो विषय प्रस्तुत मुद्दामा सान्दर्भिक समेत देखिन आउँदैन
१२. जहाँसम्म अपुतालीको २ नं. बमोजिम मर्नेको रामरतीको अपुताली पुनरावेदक प्रतिवादी निजको छोरा भएको कारणबाट निजले नै पाउने हो सो भन्दा पछिल्लो क्रममा रहेका छोराका छोरा प्रत्यर्थी वादीहरूले पाउने होइन भन्ने पुनरावेदन जिकीर छ सो सम्वन्धमा विचार गर्दा पिता योगेन्द्रनाथको अंश भागबाट आधा सम्पत्ति वादीहरूले पाउने हो भन्ने तथ्यलाई स्वयं पुनरावेदक प्रतिवादीले शुरु प्रतिउत्तर पत्रमा नै स्वीकार गरेको देखिन्छ । पुनरावेदककै भनाइअनुसार समान पुस्ताका बाजे योगेन्द्रनाथको सम्पत्तिबाट आधामा प्रत्यर्थी वादीहरूले अपुताली हक पाउने भएपछि सोही पुस्ताकी बज्यैको सम्पत्तिमा अपुताली नपाउने भन्न मिल्ने देखिँदैन । त्यसमा पनि रामरतीको मिति २०५२।१०।३० मा नै मृत्यु भै सकेको र सो समयमा निजका पति एवं पुनरावेदक प्रतिवादीका पिता योगेन्द्रनाथ जीवित नै रही २०५८।३।२१ मा मात्र निजको मृत्यु भएको भन्ने देखिन्छ । पुनरावेदक प्रतिवादीले जिकीर लिएको अपुतालीको २ नं. बमोजिम मर्नेको नजिकको हकवालामा अपुताली हक सर्दछ भन्ने कुरालाई स्वीकार्दा पनि त्यस समयमा रामरतीको अपुताली हक स्वतः निजको पति योगेन्द्रनाथमा जाने देखिन्छ । यसरी पनि योगेन्द्रनाथ जीवित छँदै मर्ने रामरतीको अपुताली स्वतः पति योगेन्द्रनाथमा समाहित भै आउने र योगेन्द्रनाथ मरेपछि योगेन्द्रनाथको अपुताली वादीहरूले समेत पाउने कुरा प्रतिवादीले स्वीकार गरेको अवस्था हुँदा रामरतीको अपुतालीको प्रश्न गौण हुन पुगेको स्थिति छ । तस्मात् बाबु योगेन्द्रनाथले आमा रामरतीको अपुताली पाउने होइन मैले पाउने हो भनी पुनरावेदक प्रतिवादीले मौकैमा दावी गरी अपुताली हक कायम गराउन सकेको अवस्था समेत छैन । त्यसैले पनि हाल आएर रामरतीको सम्पत्तिमा एकलौटी अपुताली पाउनु पर्छ भनी पुनरावेदक प्रतिवादीले लिएको जिकीर आधारहीन देखिन्छ ।
१३. तसर्थ माथि प्रकरणमा गरिएको तथ्य र कानूनको विवेचनाबाट योगेन्द्रनाथको सम्पत्तिबाट प्रत्यर्थी वादीहरूले आधिमा अपुताली पाउने हो भनी स्वयं पुनरावेदक प्रतिवादीले स्वीकार गरेको, रामरतीको अंश भागको सम्पत्ति एकलौटी अपुताली पाउनको लागि अपुतालीको ६ नं. बमोजिम रीतपूर्वक लिखत गरी निजसँग अंश मिसाई बसेको नदेखिएको, साथै रामरतीले निजको सम्पत्ति पुनरावेदक प्रतिवादीले मात्र खान पाउने गरी छुट्टै लिखत गरी दिएको अवस्था समेत नहुँदा निर्मला देवी बाहेकका अन्य वादीहरूले स्व.रामरती र योगेन्द्रनाथको अंश भागको निजहरूका नाउँमा दर्ता रहेको सम्पत्तिबाट आधामा अपुताली हक कायम गराई लिन पाउने ठहर्याएको शुरु रुपन्देही जिल्ला अदालतको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत वुटवलको मिति २०६१।१२।३१ को फैसला सदर हुने ठहर्याएको संयुक्त इजलासका माननीय न्यायाधीश श्री प्रेम शर्माको राय मनासिव देखिँदा कायम हुने ठहर्छ । पुनरावेदन अदालतको फैसला उल्टी गरी वादी दावी नपुग्ने ठहर्याएको माननीय न्यायाधीश श्री अनूपराज शमाएको रायसँग सहमत हुन सकिएन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू
उक्त रायमा हामी सहमत छौं ।
न्या.रामकुमारप्रसाद शाह
न्या.कृष्णप्रसाद उपाध्याय
संवत् २०६७ वैशाख ३० गते रोज ५ शुभम् ।
इजलास अधिकृतः– नारायण सुवेदी