शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८४७५ - – अंश चलन

भाग: ५२ साल: २०६७ महिना: माघ अंक: १०

निर्णय नं. ८४७५ ने.का.प २०६७ अङ्क १०

 

सर्वोच्च अदालत, संयुक्त इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ

माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय

दे.पु.नं.०६६CI०४१८

फैसला मितिः २०६७।८।८।४

 

मुद्दाःअंश चलन 

      पुनरावेदक/प्रतिवादीः जिल्ला मोरङ्ग विराटनगर उपमहानगरपालिका वडा नं. १२ बस्ने   योगेन्द्रमान श्रेष्ठ समेत

विरुद्ध

      प्रत्यर्थी/वादीः जिल्ला मोरङ्ग विराटनगर उपमहानगरपालिका वडा नं. १२ घर भै हाल ऐ.       वडा     नं. १० मा डेरा गरी बस्ने रीता श्रेष्ठ     

     

शुरु फैसला गर्नेः

मा.जि.न्या.श्री भीमकुमार ओझा

पुनरावेदन फैसला गर्नेः

मा.न्या.श्री जनार्दनबहादुर खड्का

मा.न्या.श्री रामचन्द्र यादव

 

§  आफ्नै आर्जनको कमाइबाट आमाका नाममा खरीद गरेको जग्गा भए तापनि त्यसको वस्तुनिष्ठ प्रमाण पेश हुन नसकेको अवस्थामा आमाका नाममा रहेको त्यस्तो जग्गा स्वाभाविक रुपमा सन्ततिहरूका लागि पैत्रिक सम्पत्ति मानिन्छ, त्यस्तो सम्पत्तिमा छोराको मात्र हक लाग्छ भनी छोरीलाई बाहेक गर्ने गरी व्याख्या गर्न नमिल्ने 

(प्रकरण नं.६)

§  पैत्रिक सम्पत्तिको योगदान रहेको भन्ने तथ्य कहिँ कतैबाट स्थापित हुन नसकेको सम्पत्तिमा कसैले आफ्नो निजी आर्जनबाट जोडेको सम्पत्तिलाई सगोलको सम्पत्ति मान्न नसकिने 

(प्रकरण नं.८)

§  निजी आर्जनको सम्पत्तिमा सो आर्जन गर्ने अंशियारको निजी ठहरी आफूखुश गर्न पाउँछ भन्ने अंशबण्डाको १८ नं. मा स्पष्ट कानूनी व्यवस्था रहेको हुँदा त्यस्तो सम्पत्तिमा अन्यलाई अंश हक नलाग्ने 

(प्रकरण नं.९)

§  दाजु वहिनीका बीचमा अंश विवाद रहेको अवस्थामा बाबु आमाको सम्पत्तिमा जस्तो निरपेक्ष हकको स्थिति हुँदैन । बाबु आमाको नाममा रहेको सम्पत्तिको स्रोत जे जस्तो भएपनि त्यस्तो सम्पत्ति छोरा छोरीका लागि पैत्रिक मानिन्छ । तर दाजु भाउजूको स्वआर्जनको सम्पत्तिमा बहिनीले पैत्रिक सम्पत्तिसरह दावी गर्न नमिल्ने 

(प्रकरण नं.१०)

§  कुनै सम्पत्ति निजी ज्ञान, सीप र प्रयासको परिणती हो भन्ने तथ्य स्थापित भएको अवस्थामा त्यस्तो ज्ञान, सीप र प्रयासको अवमूल्यन हुने गरी व्यवहार गरिनु नहुने 

(प्रकरण नं.११)

 

पुनरावेदक/प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल तथा विद्वान अधिवक्ता श्री सतिशकृष्ण खरेल

प्रत्यर्थी/वादी तर्फबाटः विद्वान अधिवक्ताहरू हेमराज पन्त, रामकुमार राई, द्रोण दाहाल र मीरा ढुंगाना

अवलम्बित नजीरः

सम्बद्ध कानूनः

§  अंशबण्डाको १, १क, २ र १०, १८ नं.

§  प्रमाण ऐन, २०३१ को दफा ६(क)

§  लेनदेन व्यवहारको ८ नं.

 

फैसला

प्र.न्या.रामप्रसाद श्रेष्ठः पुनरावेदन अदालत, विराटनगरको मिति २०६६।३।२० को फैसला उपर यस अदालतमा निवेदन परी न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) बमोजिम दोहोर्‍याई हेर्ने निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ :

      स्व.सुरेन्द्रमान र स्व.गंगादेवी श्रेष्ठका १ छोरा विपक्षी योगेन्द्रमान श्रेष्ठ तथा छोरीहरू ४ जनामा विवाह हुन बाँकी म फिरादी कान्छी छोरी हुँ । वुवा आमाको स्वर्गे हुनुभन्दा अगाडि नै दिदीहरूको विवाह भई सकेको र म सानै भएकोले मेरो लालन पालन गर्ने र इज्जत आमदअनुसार खान लाउन, शिक्षा दिक्षा दिने जिम्मा विपक्षीको भएकोमा इज्जत आमदअनुसार खान लगाउन नदिएको, शिक्षा दिक्षा समेत नदिएको हुँदा विगत ५ वर्ष देखि दिदीको घरमा बस्न बाध्य भएकी छु । यस्तो अवस्थामा विपक्षीलाई आफ्नो कर्तव्य पूरा गर्नुहोस्, यात इज्जत हैसियतअनुसार व्यवहार गरी घरमा राख्नुहोस् यात अंश दिनुहोस् भनी भन्दा विपक्षी दाजु भाउजू समेतले घरमा पनि नराख्ने अंश पनि नदिने भनी जवाफ दिएको हुँदा अंशबण्डाको महलको १, २ र १० नं. समेतको आधारमा यो फिराद गर्न आएकी छु । यसरी हालसम्म हामी २ अंशियार विपक्षी दाजु तथा म रहेको हुँदा हामीहरूको सम्पूर्ण चल अचल सम्पत्ति अंशबण्डाको २०, २१, २२ र २३ नं. अनुसार तायदाती लिई फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति मानी २ भाग लगाई मेरो १ भाग सम्पत्ति बण्डा छुट्टयाई चलन समेत चलाई पाऊँ भन्ने समेत व्यहोराको मिति २०६२।५।१७ को फिराद पत्र 

      विपक्षीले फिराद दावीमा उल्लेख गरेको नाता सम्वन्धमा विवाद रहेको छैन । सो बाहेक अरु फिराद दावी झुठ्ठा हो । मलाई १३ वर्षको उमेरमा मावली तर्फबाट विराटनगर ल्याई पालनपोषण गर्नु भएको हो । विपक्षी वादी र मेरो अंश भाग लाग्ने सम्पूर्ण चल अचल पैत्रिक श्रीसम्पत्ति घर तथा जग्गा जमिन जलेश्वरमा पर्दछ भन्ने कुरासम्म मात्र सुनेको छु । मैले वावु वाजेको पैत्रिक सम्पत्त लिए खाएको छैन । मसँग जे जति चल अचल श्रीसम्पत्ति छ, सो मलाई केही मावलीले दिएको, केही सम्पत्ति नेपाल वैंक लिमिटेडबाट ऋण लिई खरीद गरेको निजी आर्जनको सम्पत्ति हो । उक्त सम्पत्तिबाट वढे वढाएको सम्पत्तिमात्र मसँग रहेको छ । वुवा जिवितै रहेको हुँदा उहाँले उपभोग गरी बाँकी रहन आएको पैत्रिक सम्पत्तिबाट मात्र विपक्षी वहिनीले अंश पाउनु पर्ने हो । विपक्षीलाई हामीले खान लाउन नदिई घरबाट निकाला गरेको भन्ने सरासर झुठ्ठा हो । घरबाट निकाल्न पर्ने कुनै कारण नै रहेको छैन । विपक्षी हामीसँग सरसल्लाह नगरी एक्कासी घरबाट आफै निक्ली गएकी हुन् । म र मेरी श्रीमती भएर विपक्षीलाई घरबाट निकाला गरेको होइन । जलेश्वरमा भएको श्रीसम्पत्ति र जग्गाको आफ्नो भाग जति आफ्नो नाउँमा नामसारी गर्नको लागी यो मुद्दा दिएको हुनुपर्दछ । मसँग भएको सम्पत्ति २०२८ सालदेखि नै नेपाल वैंक लिमिटेडमा जागिर खाएर कमाएको सम्पत्ति मेरो आफ्नो निजी आर्जनको सम्पत्ति हो । विपक्षीले दावी लिएका अंशबण्डाको महलको १, २ र १० नं. यस मुद्दामा आकर्षित हुनसक्ने अवस्था नै छैन । किनभने मसँग वावु वाजेको पैत्रिक सम्पत्ति रहे भएको अवस्था छैन । उल्लिखित आधारमा मसँग भएको सम्पत्ति मेरो निजी आर्जनको सम्पत्ति भएको हुँदा अंशबण्डाको १८ नं. बमोजिम बण्डा नलाग्ने सम्पत्ति हो । विपक्षीलाई मैले अंश दिनु पर्ने होइन । तसर्थ विपक्षीको फिराद दावीबाट अलग फुर्सद गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी योगेन्द्रमान श्रेष्ठको प्रतिउत्तर पत्र 

      वादीका साक्षी कृष्णबहादुर श्रेष्ठ, सुरेश दाहाल र प्रतिवादीको साक्षी डम्वरबहादुर ढकाल, राजेश यादवले गरेको वकपत्र मिसिल सामेल रहेको 

      मिति २०६२।१०।२३ मा वादीले आफ्नो जिम्मामा कुनै पनि बण्डा गर्नुपर्ने चल अचल सम्पत्ति नरहेको भनी पेश गरेको तायदाती फाँटवारी मिसिल सामेल रहेको 

       मिति २०६२।११।१० मा प्रतिवादीले आफ्नो जिम्मामा रहेको चल अचल श्रीसम्पत्तिको तायदाती फाँटवारी पेश गरी मिसिल सामेल रहेको 

      मिति २०६३।३।७ को वादी रिता श्रेष्ठको निवेदन मागबमोजिम पछि कोर्ट फि लिने गरी भएको आदेशसहितको निवेदन मिसिल सामेल रहेको 

      म २०३१ सालदेखि शिक्षकको रुपमा लगातार काम गरी आएकी छु । २०५९ सालदेखि शिक्षा सदन नि.मा.वि. सरोचियामा प्रधानाध्यापकको रुपमा कार्यरत छु । प्रस्तुत मुद्दाका प्रतिवादी मेरो पति योगेन्द्रमान श्रेष्ठले पेश गरेको तायदाती फाँटवारीमा देखाएको श्रीसम्पत्ति जग्गा हामी दुवैको जागिरबाट वचत गरी राखेको रकमले मेरा नाउँमा खरीद गरेको सम्पत्ति हो । बैंकको शेयर मेरो आफ्नै कमाईले मैले खरीद गरेकी हुं । मेरो नाउँको वैंक खातामा रहेको नगद पनि मेरो निजी कमाईको हो । जागिर बाहेक व्यवसायको रुपमा कुखुरा पालन गरेर कमाएको रुपैयाँ थपेर पनि मेरो नाउँमा उक्त जग्गाहरू खरीद गरेको हो । हामी श्रीमान् श्रीमती र छोरा छोरीबीच अंशबण्डा भएको छैन । हामी सगोलमा नै रही बसी आएका छौं भन्ने समेत व्यहोराको अ.वं. १३९ नं. बमोजिम बुझिएकी किरण श्रेष्ठले गरेको वयान 

      द.नं. २९२६ मिति २०६३।११।१ को निवेदन साथ प्रतिवादीहरूले आदेशानुसार निजी आर्जन पुष्टि हुने प्रमाण कागजहरू पेश गरी मिसिल सामेल रहेको 

      यी प्रतिवादी र निजकी श्रीमती एवं छोरा छोरीको नाउँमा रहेको शेयर बण्डा नलाग्ने ठहर्छ । यी प्रतिवादी र निजको श्रीमतीको नाउँमा विभिन्न बैंक एवं वित्तीय संस्थामा रहेको नगद मौजदात समेत पैत्रिक सम्पत्तिबाट बढे बढाएको भई बैंक मौज्दात रहेको भन्ने कुराको तथ्य मिसिलबाट नदेखिएको हुँदा उक्त नगद बण्डा नलाग्ने ठहर्छ । कि.नं. ७४ र २७ को जग्गा निजी हुँदा सो बण्डा नलाग्ने ठहर्छ । बाँकी रहेको सम्पूर्ण सम्पत्तिहरू बण्डा लाग्ने ठहर्छ । कर्मचारी सञ्चयकोष र अवकाश हुँदा प्राप्त रकम समेत बण्डा नलाग्ने ठहर्छ । अतः उपर्युक्त आधारमा बण्डा नलाग्ने भनी माथि उल्लेख गरिएका सम्पत्ति एवं नगद र शेयर बाहेक फाँटवारीमा उल्लेख भएका सम्पूर्ण सम्पत्तिलाई दुईभाग गरी एकभाग यी वादीले अंश छुट्टयाई लिन चलन समेत पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु मोरङ्ग जिल्ला अदालतको मिति २०६४।१।२३ को फैसला 

      शुरुको फैसलामा चित्त बुझेन । निजी आर्जनको ठहराई बण्डा नलाग्ने भनी शुरुले ठहराएको सम्पूर्ण सम्पत्ति हाम्रो पैत्रिक सम्पत्ति जग्गा जमिन आदिबाट भएको आम्दानी र सगोलबाटै आर्जित सम्पत्ति हुँदा त्यस्तो सम्पत्ति बण्डा नलाग्ने ठहर्‍याई शुरुबाट भएको सो हदसम्मको फैसला त्रुटिपूर्ण हुँदा सोहदसम्म शुरुको फैसला बदर गरिपाऊँ भन्ने समेत व्यहोराको वादीको पुनरावेदन जिकीर 

      म तथा मेरी श्रीमतीको वैयक्तिक ज्ञान सीप आदिको प्रयासबाट आर्जन गरेको निजी आर्जनको सम्पत्तिलाई विपक्षीले समेत अंश भाग पाउने गरी गरेको शुरुको फैसला त्रुटिपूर्ण भएकोले सो फैसला उल्टी गरी म तथा मेरो श्रीमतीको तर्फबाट निजी रुपमा आर्जन गरेको सम्पत्ति विपक्षीले अंशबण्डाको १८ नं. बमोजिम अंश नपाउने हुँदा सो फैसलाको आधारमा हाम्रो निजी सम्पत्ति मानी अंश भाग नलाग्ने फैसला गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीको पुनरावेदन जिकीर 

      यसमा वादी प्रतिवादी दुवै पक्षको पुनरावेदन परेको देखिँदा दुवै पक्षको पुनरावेदन एक अर्का पक्षलाई परस्पर सुनाई नियमानुसार गरी पेश गर्नु भन्ने पुनरावेदन अदालत विराटनगरको आदेश 

      यसमा पुनरावेदक प्रतिवादी योगेन्द्रमान श्रेष्ठले प्रतिउत्तर फिराउँदा प्रकरण नं. ३ मा बावु बाजेको पैत्रिक सम्पत्ति जलेश्वरमा छ भनी उल्लेख गर्नुको साथै तायदाती पेश गर्दा नं. १५ मा हाम्रा पूर्वजको सम्पत्ति काका बलराममान श्रेष्ठबाट स्पष्ट खुल्ने हुँदा निज काकालाई बुझी पाऊँ भनी जिकीर लिएको अवस्था समेत देखिँदा प्रस्तुत मुद्दामा मूल अंशियार को को हुन् सो कुरा पुनरावेदक वादी प्रतिवादी दुवै पक्षबाट अ.वं. १३३ नं. बमोजिम खुलाई कागज गराई कागजमा अंशियार खुलाई निजहरू र पुनरावेदक प्रतिवादीले तायदाती फाँटवारीमा उल्लेख गरेका बलराम मान श्रेष्ठ समेतलाई मुलुकी ऐन अ.वं. १३९ नं. बमोजिम झिकाई बुझी नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत विराटनगरको आदेश 

      आदेशानुसार वादी प्रतिवादी दुवैले गरेको कागज मिसिल सामेल रहेको 

      अ.वं. १३९ नं. बमोजिम बुझिएकी गंगा श्रेष्ठ र राजेन्द्रमान श्रेष्ठले गरेको वयान मिसिल सामेल रहेको 

      आदेशानुसार अ.वं. १३९ नं. बमोजिम बुझिएका बलराममान श्रेष्ठले गरेको वयान मिसिल सामेल रहेको 

      यसमा दाजु र वहिनीबीचको अंश मुद्दा भएकोले दुवै पक्षबीच मिलापत्र गर्न उपयुक्त देखिँदा पक्ष विपक्षलाई सूचिकृत मेलमिलापकर्ता रोज्न लगाई २५ दिनको समय तोकी दुवै पक्षलाई मेलमिलाप केन्द्रमा पठाई आएपछि नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत विराटनगरको आदेश 

      यसमा यी प्रतिवादीहरूको नाउँमा रहेको शेयर, बैंकमा रहेको नगद मौजदात, पैत्रिक सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्तिबाट खरीद गरेको र नगद मौज्दात गरेको भन्ने देखिने समेतका प्रमाण वादीले पेश गर्न सकेको पाईदैन । साथै कि.नं. ७४ को जग्गा र कि.नं. २७ को जग्गा समेत अर्कै व्यक्तिबाट प्रतिवादीले वकस पाएको मिसिल संलग्न प्रमाणबाट देखिन आएको अवस्थामा उक्त दुबै कित्ता जग्गाहरू प्रतिवादीको निजी आर्जनको जग्गा रहे भएको देखिँदा त्यस्तो जग्गामा वादीको समेत अंश हक लाग्छ भनी मान्न मिल्ने हुँदैन । अतः उल्लिखित आधार प्रमाणबाट शुरु मोर जिल्ला अदालतको मिति २०६४।२।८।३ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी प्रतिवादी दुबैको पुनरावेदन जिकीर पुग्न सक्दैन भन्ने समेत व्यहोराको पुनरावेदन अदालत विराटनगरको मिति २०६६।६।२० को फैसला 

      म योगेन्द्रमान श्रेष्ठले २०२८।५।२९ देखि नेपाल बैंक लिमिटेडमा सेवा प्रवेश गरी निरन्तर रुपमा कार्य गर्दै आएको र म किरण श्रेष्ठ २०३१।५।२१ देखि शिक्षक पदमा नियुक्त भई हाल माध्यमिक विद्यालयको प्रधानाध्यापक रही कार्यरत् रहेको हुँदा त्यसरी सेवामा रही आर्जन गरेको रकमबाट सम्पत्ति खरीद गरी बढे बढाएको तथ्यलाई मूल्याङ्कन नगरी भएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण रहेको छ । आफ्नो सेवा अबधिमा कर्मचारी सञ्चयकोष र बैंकको नियमानुसार विभिन्न कर्जा सुविधाहरू लिई आर्जित गरेको सम्पत्तिलाई पैत्रृक सम्पत्ति सरह मानिएको र भाउजू किरण श्रेष्ठले आर्जन गरेको स्त्री अंशधनको सम्पत्तिलाई समेत बण्डायोग्य सम्पत्ति मानी बहिनी/नन्दलाई समेत अंशबापत दिनुपर्ने गरी भएको फैसला त्रुटिपूर्ण रहेको हुँदा पुनरावेदन अदालतको फैसला दोहोर्‍याई हेरी उल्टी गरी न्याय पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी योगेन्द्रमान श्रेष्ठ  र किरण श्रेष्ठको निवेदनपत्र 

      यसमा वादी प्रतिवादीका आमा गंगादेवी श्रेष्ठले निजको बाबु मानबहादुरसँग २०२१ साल भाद्र ३१ गते दाइजोको रुपैया कर्जा लिए बापत निज मानबहादुरको नामको जग्गा राजीनामा गराई लिएको र सोही जग्गा र घर यी प्रतिवादी योगेन्द्रले आमा गंगादेवीबाट मिति २०३८।७।१० मा रु.४५,१००।मा राजिनमा गराई लिएको देखिन्छ । सो घर जग्गा खरीद गर्न कर्मचारी भए बापत घरकर्जा सुविधा अन्तर्गत नेपाल बैंक लिमिटेडबाट कर्जा लिएको देखिन्छ । त्यस्तै इनरुवा तर्फको कित्ता नं. ८३१ को जग्गा खरीद गर्न यी निवेदक प्रतिवादीले नेपाल बैंकको कर्मचारीको हैसियतले कर्जा सापटी लिई किनेको देखिन्छ । सो अलावा भद्रपुर तर्फको जग्गा कर्मचारीको हैसियतले आफ्नो सञ्चयकोष सापटी लिई जग्गा राजीनामा गराई लिएको अवस्था र निवेदक किरण श्रेष्ठले नेपाल बैंकबाटै कर्जा लिई खरीद गरेका जग्गाहरू समेत बण्डा गर्ने गरेको देखिन्छ । अंशबण्डाको १८ नं. ले आफ्नो ज्ञान, सीप वा प्रयासबाट आर्जित सम्पत्तिमा बण्डा गर्न कर नलाग्ने कानूनी व्यवस्था रहँदा रहँदै आफ्नो ज्ञान, सीप वा प्रयासबाट आर्जित सम्पत्तिमा बण्डा गर्ने गरेको पुनरावेदन अदालत विराटनगरको फैसलामा अंशबण्डाको १८ नं. को गम्भीर कानूनी त्रुटि हुनाका साथै ने.का.प. २०५६, नि.नं. ६९४, पृष्ठ ७३९, ने.का.प. २०५८, नि.नं.९९९१, पृष्ठ १७८, ने.का.प. २०५८, नि.नं.६९९१, पृष्ठ १७८ मा प्रतिपादित सिद्धान्तको विपरीत निर्णय भएको देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) को आधारमा मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरी दिएको छ भन्ने समेत व्यहोराको यस अदालतबाट मिति २०६६।८।१८ को आदेश 

      नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा सगोलका दाजुले आफूलाई इजाजत आमदअनुसार खान लाउन नदिएको हुँदा अंश छुट्याई चलन समेत चलाई पाऊँ भन्ने फिराद दावी रहेकोमा प्रतिवादीका तर्फबाट पेश भएको प्रतिउत्तरपत्रमा आफ्नो तथा आफ्नो परिवारका अन्य सदस्यको नाममा रहेको सम्पूर्ण चल अचल सम्पत्ति आफ्नो निजी आर्जनको हुँदा वादी दावीबमोजिम बण्डा लाग्ने होइन भनी जिकीर लिइएको देखिन्छ । शुरु मोर जिल्ला अदालतबाट प्रतिवादी र निजकी श्रीमती तथा छोरा छोरीका नाममा रहेको शेयर, बैंक एवं वित्तीय संस्थामा रहेको नगद मौज्दात र वकसपत्रबाट प्राप्त गरेको कित्ता नं.२७ र ७४ को जग्गा बाहेक सम्पूर्ण सम्पत्तिमध्ये २ भागको १ भाग वादीले अंश छुट्याई लिई चलन समेत पाउने ठहर्‍याई भएको फैसला पुनरावेदन अदालत विराटनगरबाट समेत सदर भएको देखिन्छ । सो फैसलाउपर प्रतिवादीका तर्फबाट यस अदालतमा दोहोर्‍याई हेरी पाऊँ भन्ने निवेदन परी यस अदालतबाट दोहोर्‍याई हेर्ने निस्सा प्रदान भै प्रस्तुत मुद्दा यस इजलाससमक्ष पेश हुन आएको छ । सुनुवाइका सिलसिलामा पुनरावेदक/प्रतिवादी तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल तथा विद्वान अधिवक्ता श्री सतिशकृष्ण खरेलले प्रतिवादीहरू दुबै जना नियमित रुपमा पारिश्रमिक पाउने खालको जागिरमा रहेका र निजहरूले निजी आर्जनको कमाइबाट जोडेको सम्पत्तिलाई बण्डा लाग्ने गरी भएको शुरु एवं पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण छ । आमाको नामबाट नामसारी भएको २ कित्ता जग्गाबाहेक कुनै पनि सम्पत्ति नामसारी भएको वा पैत्रिक सम्पत्तिबाट बढे बढाएको भन्ने देखिएको छैन । प्रतिवादीहरूले पटक पटक कर्जा लिएको र हालसम्म पनि कर्जा तिर्न बाँकी नै रहेको भन्ने पनि देखिएको छ । त्यसरी आफ्नो पारिश्रमिक, सञ्चयकोष र कर्जा समेतबाट जोडेको सम्पत्तिलाई सगोलको पैत्रिक सम्पत्ति भनी गरिएको फैसला उल्टी हुनुपर्दछ भनी वहस जिकीर प्रस्तुत गर्नु भएको थियो । त्यसैगरी प्रत्यर्थी/वादीका तर्फबाट रहनु भएका विद्वान अधिवक्ताहरू श्री हेमराज पन्त, रामकुमार राई, द्रोण दाहाल र मीरा ढुंगानाले कानूनी प्रयोजनका लागि र कर्जा लिने प्रयोजनका लागि आमाका नामको जग्गा छोराले खरीद गरी लिएको देखाइएको हो, सो रकम आमाले कहाँ खर्च गर्नु भयो भन्ने देखिएको छैन, तसर्थ आमाबाट खरीद गरी लिएको जग्गालाई स्वआर्जनको भनी बाहेक गर्न मिल्ने अवस्था छैन । जग्गा खरीदका लागि भनी प्रतिवादीहरूले कर्जा लिएको भन्ने कहिँ कतै देखिँदैन, निश्चयात्मक प्रमाणको अभावमा प्रतिवादीको जिकीर निराधार भन्ने देखिन्छ भनी वहस गर्नु भएको थियो 

      आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दाको सम्पूर्ण तथ्य अध्ययन गरी वादी प्रतिवादी तर्फबाट रहनु भएका विद्वान कानून व्यवसायीको वहस जिकीर समेतलाई मध्यनजर गर्दा प्रस्तुत मुद्दामा मुख्य रुपमा देहायका प्रश्नहरूको निरुपण गरी पुनरावेदन अदालत विराटनगरको फैसला मिले नमिलेको के रहेछ भन्ने तर्फ निर्णय दिनु पर्ने देखिन आउँछ :

१. सगोलमा रहेका अंशियारहरूमध्ये कुनै एक अंशियारका नाममा रहेको सम्पत्तिमा के कस्तो सगोलको र के कस्ता सम्पत्ति निजी आर्जनको मानिने हुन्छ र त्यसरी सगोल र निजी आर्जनको भनी छुट्याउने आधारहरू के के हुन सक्छन् ?

२. सगोलमा रहेका दाजु वहिनीका बीचमा अंशमा विवाद उठेको अवस्थामा दाजुका नाममा रहेको सम्पत्तिमध्ये के कस्तो सम्पत्तिमा वहिनीको अंश हक लाग्ने हुन्छ ?

      २. माथि निर्धारण गरिएका प्रश्नहरूमा प्रवेश गर्नु अघि प्रस्तुत मुद्दामा वादी प्रतिवादी तर्फबाट लिइएका जिकीरहरू र सम्बन्धित कानूनी व्यवस्थाका सम्बन्धमा विश्लेषण गरिनु पर्ने देखिन्छ । वादीले बाबु आमाको मृत्यु भएपश्चात् आफू र दाजु एकासगोलमा रहेको र निजले इज्जत आमद अनुसार खान लाउन दिनु पर्ने कर्तव्यको पालना नगरेको भन्ने समेतको आधारमा अंशबण्डाको १,२ र १० नं. समेतका आधारमा फिराद दायर गरी दाजुको नाममा रहेको सम्पत्तिलाई २ भाग लगाई २ भागको १ भाग अंश छुट्याई पाऊँ भनी दावी लिएको देखिन्छ भने प्रतिवादी अर्थात् वादीका दाजु योगेन्द्रमानले पेश गरेको प्रतिउत्तरपत्रमा आफूहरूको पैत्रिक सम्पत्ति जलेश्वरमा रहेको र हाल आफूसँग रहेको सम्पत्ति आफ्नो निजी आर्जनको हुँदा त्यसबाट वादीले अंश पाउने होइन भनी जिकीर लिइएको छ । प्रतिवादीका तर्फबाट पेश भएको तायदातीमा कित्ता नं. ७३ को जग्गा आमाले मावलीतर्फका हजुरबुबाबाट दाइजो स्वरुप प्राप्त गरेको र सो जग्गा आफू कार्यरत नेपाल बैंक लिमिटेडबाट घर कर्जा लिई आमाबाट खरीद गरी लिएको (बैंकको नाममा दृष्टिबन्धक पारित गरी दिएको) र आफ्नै आयस्रोतबाट घर निर्माण गरेको, कित्ता नं. ७४ को जग्गा र सो मा बनेको घर समेत मावली तर्फकी हजुरआमाबाट दानबकस प्राप्त गरेको, कित्ता नं. २ र ३ को जग्गा आमाको नाममा आफ्नो आयस्रोतबाट खरीद गरेको, कित्ता नं. ८३१, ७१६, १४५९ र १४६१ का जग्गाहरू समेत निजी आर्जनको बचतबाट खरीद गरेको भनी विवरण पेश गरेको देखिन आउँछ । त्यसैगरी पत्नी किरण श्रेष्ठको नाममा रहेका कित्ता नं. ५९, २७, ७५०, ७५२ र ५६२ का जग्गाहरू आफू स्वेच्छिक अवकाश लिँदा प्राप्त भएको रकम र पत्नी किरणले शिक्षक पदमा कार्यरत रही आर्जन गरेको आयस्रोत समेतबाट खरीद गरी लिएको भनी बिबरण पेश गरिएको छ । अन्य घरायसी सामान, गरगहनाहरू र बैंक मौज्दातको विवरणका साथै आफ्नो र पत्नी किरण तथा छोरी नमिताका नाममा रहेको शेयरको विवरण समेत पेश गरिएको छ । ती सबै सम्पत्ति आफ्नो तथा पत्नी किरणको निजी आर्जनबाट बढे बढाएको हुँदा त्यसमा वादीले दावी गर्न मिल्ने होइन भन्ने प्रतिवादीको जिकीर रहेको देखिन्छ 

      ३. पेश भएको उल्लिखित विवरणका आधारमा पेश भएका प्रमाणहरूको मूल्याङ्कन गर्दा मोरङ्ग जिल्ला विराटनगर नगरपालिका वडा नं. ७ स्थित कित्ता नं. ७४ को जग्गा दाता कुलकुमारी श्रेष्ठले आफ्नै छोरीका छोरा यी प्रतिवादी योगेन्द्रमान श्रेष्ठलाई मिति २०४३।१।२२ मा हा.व.को लिखत गरी दिएको देखिन्छ । त्यसैगरी आमा गंगादेवीका नाममा रहेको ऐ.स्थित कित्ता नं. ७३ को जग्गा र.नं. ३१०, मिति २०३८।७।१० को राजीनामाको लिखतबाट यी प्रतिवादी योगेन्द्रमानले रु.४५,१००।मा खरीद गरी लिएको देखिन्छ । सो जग्गा खरीद प्रयोजनका लागि योगेन्द्रमानले सोही मितिमा नेपाल बैंकबाट रु.४५,१००।घरकर्जा लिई सुरक्षणबापत उक्त जग्गालाई नै बैंकका नाममा दृष्टिबन्धकीको लिखत गरी दिएको देखिन्छ 

      ४. प्रस्तुत मुद्दामा दाजु र बहिनीका बीचमा अंशसम्बन्धी विवाद उत्पन्न भएको र सगोलको सम्पत्तिको प्रश्न समेत उठेको अवस्था हुँदा सम्बन्धित कानूनी व्यवस्थाहरूलाई पनि हेर्नुपर्ने हुन आउँछ । प्रमाण ऐन, २०३१ को दफा ६ को खण्ड (क) अनुसार अन्यथा प्रमाणित नभएसम्म एकाघरसँगको अंशियारहरूमध्ये जुनसुकै अंशियारका नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्दछ । प्रस्तुत मुद्दामा सगोलका अंशियारमध्येका दाजुका नाममा रहेको सम्पत्तिलाई सगोलको सम्पत्ति भनी बहिनीले दावी गरेको र दाजुले आफ्नो तथा आफ्नो परिवारका अन्य सदस्यको नाममा रहेको सम्पत्ति आफूहरूको स्वआर्जनको सम्पत्ति भएकाले बण्डा लाग्ने होइन भनी प्रतिवाद गरेको हुँदा प्रमाण ऐनको दफा ६ को खण्ड (क) को निरपेक्ष अवस्था विद्यमान छैन 

      ५. अब, मुलुकी ऐन अंशबण्डाको महल अन्तर्गत १८ नं. ले मानो नछुटिृई सँग बसेका अंशियार छन् भने जुनसुकै अंशियारले सगोलको सम्पत्तिबाट वा सगोलको खेती, उद्योग, व्यापार व्यवसायबाट बढे बढाएको सगोलको आर्जन र लेनदेन व्यवहारको महलको ८ नं. बमोजिम लगाएको ऋण सबै अंशियारलाई भाग लाग्दछ भन्ने व्यवस्था गरेको छ । यस आधारमा सगोलका अंशियारसँग रहेको सगोलको सम्पत्ति, सगोलको खेती, उद्योग, व्यापार व्यवसायबाट आर्जित सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्तिमाथि सगोलका अन्य अंशियारको समेत अंश भाग लाग्ने कुरामा विवाद हुन सक्दैन । प्रस्तुत मुद्दाका वादीले दाजुसँग रहेको सम्पत्तिलाई यस्तै सम्पत्तिको रुपमा चित्रण गरी अंशमा दावी प्रस्तुत गरेको भएपनि प्रतिवादीले आफ्नो साथमा कुनै पैत्रिक सम्पत्ति नरहेको हुँदा आफ्नो स्वआर्जनको सम्पत्तिमा वादी दावी पुग्न सक्ने अवस्था नरहेको भनी त्यसको समर्थनमा केही प्रमाणहरू समेत पेश गरेको अवस्था मिसिलबाट देखिन आएको छ । अंशबण्डाकै १८ नं. को दोस्रो बाक्यमा कुनै अंशियारले आफ्नो ज्ञान वा सीप वा प्रयासबाट निजी आर्जन गरेको वा कसैबाट निजी तबरले दान वा बकस पाएको वा कसैको अपुताली परेको वा स्त्री अंशधनको महलको ५ नं बमोजिम पाएकोमा त्यस्तो आर्जन वा पाएको सम्पत्ति सो आर्जन गर्ने वा पाउने अंशियारको निजी ठहरी आफूखुशी गर्न पाउँछ, बण्डा गर्न कर लाग्दैन भन्ने व्यवस्था गरी निजी आर्जनलाई बण्डायुक्त सम्पत्तिबाट बाहेक गरेको छ । त्यसैगरी मुलुकी ऐन, स्त्री अंशधनको १ नं. ले कन्या, सधवा वा विधवा स्वास्नी मानिसले आफ्नो आर्जनको चल अचल आफ्नो खुश गर्न पाउँछन् भनी महिलाको स्वआर्जनमाथि उसको निरपेक्ष अधिकार स्थापित गरेको छ । प्रस्तुत मुद्दामा प्रतिवादी योगेन्द्रमानकी पत्नी किरण श्रेष्ठका नाममा रहेको सम्पत्तिलाई निज किरणको निजी आर्जनको सम्पत्ति हो भन्ने समेतको प्रतिवादी पक्षको जिकीर रहेको र त्यसको समर्थनमा निज किरणको आम्दानीको स्रोतलाई उद्धृत गरिएको छ । यसरी कानूनले सगोलका कुनै अंशियारका नाममा रहेको सबै सम्पत्ति बण्डायुक्त नै हुन्छ भनी निरपेक्ष ढंगले व्यवस्था नगरी त्यस्तो सम्पत्तिभित्र निजी ज्ञान, सीप वा प्रयासबाट आर्जित वा निजी तबरले दान बकस पाएको वा स्त्री अंशधनका रुपमा प्राप्त गरेको सम्पत्ति पनि हुन सक्ने र त्यस्तो सम्पत्तिलाई सगोलको मानी बण्डा गर्न नहुने गरी केही शर्तहरू तोकेको पाइन्छ 

      ६. माथि विवादको विषयसँग सम्बन्धित तथ्यगत विश्लेषण र सम्बन्धित कानूनी व्यवस्थाको विश्लेषण गरिएको हुँदा अब, यस अघि निर्धारण गरिएका प्रश्नहरूमध्ये पहिलो अर्थात् सगोलमा रहेका अंशियारहरूमध्ये कुनै एक अंशियारका नाममा रहेको सम्पत्तिमा के कस्तो सगोलको र के कस्ता सम्पत्ति निजी आर्जनको मानिने हुन्छ र त्यसरी सगोल र निजी आर्जनको भनी छुट्याउने आधारहरू के के हुन सक्छन् भन्ने सम्बन्धमा विचार गर्नु सान्दर्भिक हुन आउँछ । सो सम्बन्धमा हेर्दा वादी प्रतिवादीबीचमा नाता सम्बन्धमा विवाद रहेको छैन भने वादी प्रतिवादीबीच छुटिृभिन्न भएको भन्ने तथ्य स्थापित हुन नसकेको हुँदा निजहरू एकासगोलमा नै रहेको भन्ने कुरा पनि निर्विवाद रुपमा स्थापित हुन पुगेको छ । प्रस्तुत मुद्दाकी वादी प्रतिवादीकी बहिनी हुन्, उनी अविवाहित छन्, त्यसैले अंशबण्डाको १ नं. र १क.नं. अनुसार उनी सगोलको सम्पत्तिमा अंश हकको दावी गर्न समर्थ छिन् । तर प्रस्तुत मुद्दाका वादी प्रतिवादीको पुर्ख्यौली थलो भनेको महोत्तरी जिल्लाको जलेश्वरमा रहेको भन्ने कुरामा विवाद छैन । पुर्ख्यौली थलोमा रहेको पुर्ख्यौली सम्पत्तिमध्ये कुन कुन सम्पत्ति प्रतिवादीको नाममा नामसारी भएको वा कुन कुन सम्पत्ति बिक्री वितरण गरी दाजुले रकम लिएको भन्ने कुरालाई वादीले खुलाउन सकेको पाइदैन । प्रतिवादीले पुर्ख्यौली सम्पत्ति के कति रहेको भन्ने कुरामा नै अनभिज्ञता प्रकट गरी आफूले त्यस्तो पैत्रिक सम्पत्ति नै नलिएको हुँदा आफ्ना नाममा रहेको सम्पूर्ण सम्पत्ति आफ्नै निजी प्रयासबाट आर्जन गरी त्यसैबाट बढे बढाएको सम्पत्ति मात्र आफूसँग रहेको हुँदा त्यस्तो सम्पत्तिमा वहिनीले दावी गर्न नसक्ने भनी जिकीर लिएको परिप्रेक्ष्यमा प्रतिवादीले तायदातीमा उल्लेख गरेमध्येको के कुन सम्पत्ति सगोलको सम्पत्ति हो र के कुन सम्पत्ति निजी आर्जनको हो भन्ने सम्बन्धमा मूल्याङ्कन गरिनुपर्ने भएको छ । प्रतिवादीले तायदातीमा उल्लेख गरेको सम्पत्तिमध्ये मोरङ्ग जिल्ला लखन्तरी ७ स्थित कित्ता नं. २ र ३ को जग्गा आफूले आमाको नाममा खरीद गरिदिएको र आमाको शेषपछि आफ्ना नाममा नामसारी गराई लिएको भनी उल्लेख गरेको देखिन्छ । त्यसरी प्रतिवादीले आफ्नै आर्जनको कमाइबाट सो जग्गा आमाका नाममा खरीद गरेको भनी उल्लेख गरेको भए तापनि त्यसको वस्तुनिष्ठ प्रमाण पेश हुन सकेको छैन । आमाका नाममा रहेको त्यस्तो जग्गा स्वाभाविक रुपमा सन्ततिहरूका लागि पैत्रिक सम्पत्ति मानिन्छ, त्यस्तो सम्पत्तिमा छोराको मात्र हक लाग्छ भनी छोरीलाई बाहेक गर्ने गरी व्याख्या गर्न पनि मिल्दैन । सो जग्गा आमाको शेषपछि छोरा योगेन्द्रमानका नाममा नामसारी भएपनि सो जग्गामा यी वादीको समेत समान हक लाग्ने देखिन आयो 

      ७. जहाँसम्म अन्य घर जग्गा, शेयर, बैंक मौज्दात लगायतका चल अचल सम्पत्तिको सन्दर्भ छ, त्यस्तो सम्पत्तिमा सगोलको पैत्रिक सम्पत्तिको योगदान रहेको भन्ने वस्तुनिष्ठ आधार देखिएको छैन । घर जग्गा, शेयर तथा बैंक मौज्दात लगायतका सम्पत्ति जोड्ने खालको निजी आर्जनको सम्भावनालाई हेर्दा प्रतिवादीमध्येका योगेन्द्रमान नेपाल बैंक लिमिटेडमा मिति २०२८।५।२९ देखि सेवा प्रवेश गरी निरन्तर रुपमा सेवा गरी हाल सेवा निवृत्त कर्मचारी देखिन्छन् भने अर्का प्रतिवादी (अ.वं. १३९ नं. बमोजिम बुझी प्रतिवादी कायम भएकी) किरण श्रेष्ठ पनि मिति २०३१।५।२१ देखि शिक्षण पेशामा संलग्न भई हाल विद्यालयको प्रधानाध्यापकको रुपमा कार्यरत रहेको अवस्था देखिन्छ । निज योगेन्द्रमानको सेवाको प्रकृतिलाई हेर्दा बैंकको नियमानुसार विभिन्न खालका कर्जा सुविधाहरू पाउने र त्यस्तो सुविधा रकमको सदुपयोग गरेको खण्डमा त्यसबाट आय आर्जन गर्नसक्ने पर्याप्त सम्भावना समेत रहेको कुरालाई नकार्न सकिने स्थिति देखिँदैन । त्यसैगरी किरण श्रेष्ठ पनि निरन्तर रुपमा निश्चित पारिश्रमिक प्राप्त गर्ने खालको सेवामा संलग्न रही हाल विद्यालयको प्रधानाध्यापक जस्तो उच्चस्तरको जिम्मेवारी वहन गरेबाट निजी आर्जनका रुपमा सम्पत्ति जोड्न सक्ने सामर्थ्य निजमा पनि देखिन्छ 

      ८. प्रतिवादी योगेन्द्रमानले आफू कार्यरत बैंकबाट पटक पटक कर्जा सुविधाप्राप्त गरेको, सञ्चयकोष सापटी लिएको र स्वेच्छिक अवकाश योजना अन्तर्गत सेवा निवृत्त हुँदा रकमप्राप्त गरेको भन्ने कुरा मिसिल संलग्न कागजातहरूबाट देखिएको छ । निज र निजको पत्नी किरणका नाममा जग्गा खरीद गर्दा त्यस्तो रकमको उपयोग गरिएको भन्ने देखिने गरी कारोवार भएको पनि पाइएको छ । त्यसैले प्रतिवादीहरूका नाममा रहेको सम्पत्तिमा पैत्रिक सम्पत्तिको योगदान रहेको भन्ने तथ्य कहिँ कतैबाट स्थापित हुन नसकेको स्थितिमा कसैले आफ्नो निजी आर्जनबाट जोडेको सम्पत्तिलाई सगोलको सम्पत्ति मान्न सकिने अवस्था हुँदैन । प्रमाण ऐनले गरेको सगोलको सम्पत्तिको परिभाषालाई हेर्दा त्यसमा अन्यथा प्रमाणित नभएसम्म भन्ने बाक्यांशको प्रयोग भएकाले त्यसलाई निरपेक्ष ढंगले व्याख्या गर्न मिल्ने देखिँदैन । प्रस्तुत मुद्दाको सम्पूर्ण तथ्यगत विश्लेषणबाट प्रतिवादीका नाममा रहेको सम्पत्तिको स्रोत पैत्रिक सम्पत्ति नभै निजहरूले आफ्नो ज्ञान, सीप र प्रयासबाट निजी आर्जन गरेको भन्ने देखिएको र त्यस्तो स्रोतको वैधानिक एवं वस्तुनिष्ठ आधार समेत देखिएबाट त्यसलाई सगोलको सम्पत्तिको संज्ञा दिन मिल्ने देखिन आएन 

      ९. अब, सगोलमा रहेका दाजु वहिनीका बीचमा अंशमा विवाद उठेको अवस्थामा दाजुका नाममा रहेको सम्पत्तिमध्ये के कस्तो सम्पत्तिमा बहिनीको अंश हक लाग्ने हुन्छ भन्ने प्रश्नमा विचार गर्दा यस अघि गरिएको विश्लेषणबाट प्रतिवादीहरूका नाममा रहेको चल अचल सम्पत्तिमध्ये आमा गंगादेवीका नाममा रही निजको मृत्यु पश्चात् छोरा योगेन्द्रमानको नाममा नामसारी भएको मोरङ्ग जिल्ला लखन्तरी ७ स्थित कित्ता नं. २ र ३ को जग्गा बाहेक अन्य सम्पत्ति प्रतिवादीहरूको निजी आर्जनको सम्पत्ति हो भन्ने तथ्य स्थापित हुन आयो । त्यस्तो निजी आर्जनको सम्पत्तिमा सो आर्जन गर्ने अंशियारको निजी ठहरी आफूखुश गर्न पाउँछ भन्ने अंशबण्डाको १८ नं. मा स्पष्ट कानूनी व्यवस्था रहेको हुँदा त्यस्तो सम्पत्तिमा वादीको अंश हक लाग्ने भन्न मिलेन 

      १०. प्रस्तुत मुद्दामा दाजु वहिनीका बीचमा अंश विवाद रहेको हुँदा बाबु आमाको सम्पत्तिमा जस्तो निरपेक्ष हकको स्थिति हुँदैन । बाबु आमाको नाममा रहेको सम्पत्तिको स्रोत जे जस्तो भएपनि त्यस्तो सम्पत्ति छोरा छोरीका लागि पैत्रिक मानिन्छ । तर दाजु भाउजूको स्वआर्जनको सम्पत्तिमा बहिनीले पैत्रिक सम्पत्तिसरह दावी गर्न मिल्ने हुँदैन । पैत्रिक सम्पत्तिमा अरु अंशियार सरह हक सिर्जना हुने र स्वआर्जनको सम्पत्तिमा आफूखुश गर्न पाउने महिलाको अधिकारलाई कानूनी रुपमा नै स्थापित गरिएको छ । यस अदालतबाट भएका विभिन्न फैसलाहरूबाट पनि सम्पत्तिमाथि महिलाको अधिकारका सम्बन्धमा नवीनतम विधिशास्त्रको विकास भएको छ 

      ११. प्रस्तुत मुद्दाको सुनुवाइका सिलसिलामा वादी तर्फका कानून व्यवसायीहरूले यी वादी अविवाहित रहेको र दाजु भाउजुलाई निरन्तर रुपमा घर व्यवहारमा सहयोग गरेको कारणबाट नै निजहरूले आर्जन गर्न सम्भव भएको, पछिल्लो समयमा दाजुभाउजूबाट अपहेलित भएर रहनु परेको भन्ने समेतको तर्कका आधारमा दाजुका नाममा रहेको सम्पत्तिमा बहिनीको आधा हक रहनु पर्ने जिकीर समेत प्रस्तुत गर्नु भएको छ । सगोलको सम्पत्तिमा अविवाहित वहिनीको पनि अंश हक रहन्छ र त्यस्तो हक कहिँ कतैबाट कुण्ठित गरिनुहुँदैन भन्ने कुरामा विवाद हुनै सक्दैन । तर, दाजु भाउजूले आफ्नो निजी ज्ञान, सिप र प्रयासको लगानी गरेर कमाएको सम्पत्तिमाथि पनि बहिनीको समान हक स्थापित हुनुपर्छ भन्ने तर्कसँग भने सहमत हुन सकिँदैन । कुनै सम्पत्ति निजी ज्ञान, सीप र प्रयासको परिणती हो भन्ने तथ्य स्थापित भएको अवस्थामा त्यस्तो ज्ञान, सीप र प्रयासको अवमूल्यन हुने गरी व्यवहार गरिनु हुँदैन । वादीले दाजुका नाममा रहेको सम्पत्तिबाट आधा अंश पाउनुपर्ने भनी दावी पेश गरेपनि सो दावीलाई समर्थन गर्ने खालका प्रमाणहरू पेश गर्न सकेको देखिँदैन । देवानी मुद्दामा आफ्नो दावी प्रमाणित गर्ने भार वादी पक्षमा रहन्छ, अंशमा दावी गर्नु मात्र पर्याप्त हुँदैन, दावी गरिएको सम्पत्ति बण्डायोग्य हो भन्ने तथ्य स्थापित गर्ने जिम्मेवारी पनि वादी पक्षले वहन गर्नु पर्दछ । तर प्रस्तुत मुद्दाका वादी रिता श्रेष्ठले दाजुका नाममा रहेका सम्पत्तिमध्ये आधा सम्पत्तिमा अंश हकको दावी गरेपनि दाजुका नाममा रहेका सम्पत्ति निजको निजी आर्जनका नभै त्यसको स्रोत सगोलको पैत्रिक सम्पत्ति नै हो भन्ने पुष्टी गर्न नसकेको र प्रतिवादीले आफ्ना नाममा रहेको सम्पत्तिमध्ये मोरङ्ग जिल्ला लखन्तरी ७ स्थित कित्ता नं. २ र ३ को जग्गा बाहेकका सम्पत्ति निजी आर्जनको हो भनी त्यसलाई पुष्टी गर्ने पर्याप्त प्रमाणहरू पेश गरेबाट वादी दावी पुग्न सक्ने देखिएन 

      १२. तसर्थ माथि गरिएको विश्लेषण समेतका आधारमा शुरु मोरङ्ग जिल्ला अदालतबाट प्रतिवादी र निजकी श्रीमती तथा छोरा छोरीका नाममा रहेको शेयर, बैंक एवं वित्तीय संस्थामा रहेको नगद मौज्दात र वकसपत्रबाट प्राप्त गरेको कित्ता नं.२७ र ७४ को जग्गा बाहेक सम्पूर्ण सम्पत्तिमध्ये २ भागको १ भाग वादीले अंश छुट्याई लिई चलन समेत पाउने ठहर्‍याएको फैसला सदर गरेको पुनरावेदन अदालत विराटनगरको फैसला मिलेको नदेखिँदा केही उल्टी हुन्छ । प्रतिवादीले तायदातीमा उल्लेख गरेको सम्पत्तिमध्ये मोरङ्ग जिल्ला लखन्तरी ७ स्थित कित्ता नं. २ र ३ को जग्गा बाहेक अन्य सम्पूर्ण सम्पत्ति निजको निजी ठहरी वादीले प्रतिवादी योगेन्द्रमान श्रेष्ठका नाममा रहेको मोरङ्ग जिल्ला लखन्तरी ७ स्थित कित्ता नं. २ को क्षेत्रफल १६ र कित्ता नं. ३ को क्षेत्रफल ०१९० जग्गाबाट मात्र आधा अंश पाउने ठहर्छ । अरुमा तपसील बमोजिम गर्नू 

तपसील

माथि इन्साफ खण्डमा लेखिएबमोजिम यी वादीले प्रतिवादी योगेन्द्रमान श्रेष्ठका नाममा रहेको मोरङ्ग जिल्ला लखन्तरी ७ स्थित कित्ता नं. २ को क्षेत्रफल १६ र कित्ता नं. ३ को क्षेत्रफल ०१९० जग्गाबाट अंश बापत २ भागको १ भाग पाउने ठहरेको हुँदा आफ्नो अंश भाग छुट्याई पाउँ भनी दण्ड सजायको ४६ नं को म्यादभित्र दरखास्त दिए नियमानुसार अंश छुट्याई चलन समेत चलाई दिनु भनी शुरु मोरङ्ग जिल्ला अदालत तहसील शाखामा लगत दिनू ......          १ 

वादीले फिराद दायर गर्दा शुरु अदालतमा कोर्ट फि बापत रु.२००।दाखिल गरेको देखिएको र प्रतिवादीबाट तायदाती पेश भएपछि थप कोर्ट फि दाखिला हुनु पर्नेमा कोर्ट फि ऐन, २०१७ को दफा २३ अनुसार कोर्ट फि सुविधा लिएको देखिएको हुँदा वादीले आफ्नो अंश भाग छुट्याई पाऊँ भनी कानूनका म्यादभित्र दरखास्त दिन आएका वखत वादीले अंश बापत पाउने कित्ता नं. २ र ३ को जग्गाको मूल्याङ्कनको आधारमा नियमानुसार लाग्ने कोर्ट फि वादीबाट दाखिल गर्न लगाई सदर स्याहा गर्नु र उक्त कोर्ट फि रकम प्रतिवादीहरूबाट भराई पाऊँ भनी ऐनका म्यादभित्र वादीको दरखास्त परे कानूनबमोजिम भराई दिनु भनी शुरुमा लेखी पठाईदिनु

प्रस्तुत मुद्दाको दायरीको लगत कटृा गरी मिसिल नियमानुसार गरी बुझाईदिनू .. ३

 

उक्त रायमा म सहमत छु 

 

न्या.कृष्णप्रसाद उपाध्याय

 

इति संवत् २०६७ साल मंसिर ८ गते रोज ४ शुभम्

 

इजलास अधिकृत : उमेश कोइराला 

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु