निर्णय नं. ३४५१ - कर्तव्य ज्यान

निर्णय नं. ३४५१ ने.का.प. २०४५ अङ्क ५
संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
सम्वत् २०४४ सालको फौ.पु.नं. ५९२, ६२२
सम्वत् २०४४ सालको सा.नं. १४३
आदेश भएको मिति : २०४५।३।२६।१ मा
पुनरावेदक/प्रत्यवादी : के.का. बीरगन्जमा थुनामा रहेका महेश्वर पौडेलसमेत
विरुद्ध
विपक्षी/प्रत्यवादी : ऐ.ऐ.बस्ने तुल्सी न्यौपाने समेतको जाहेरीले श्री ५ को सरकार
मुद्दा : कर्तव्य ज्यान
(१) वारदातमा संलग्न एक प्रतिवादीको साविती भएपछि प्र.को इन्कारी, प्रमाणको अभावमा साँचो मान्न नमिल्ने ।
(प्रकरण नं. २९)
(२) कर्तव्य ज्यान जस्तो संगीन फौज्दारी अभियोग संकलित सबूद प्रमाणबाट पुष्टी भएको अवस्थालाई केवल मौखिक इन्कारीले कुनै मद्दत गर्नसक्ने अवस्था र स्थिति विद्यमान हुन नसक्ने देखिँदा ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम सजायँ गर्ने गरी गरेको फैसलामा कुनै कानुनी त्रुटी नदेखिने ।
(प्रकरण नं. २९)
पुनरावेदक, प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल र विद्वान अधिवक्ता श्री शम्भु थापा
फैसला
न्या.सुरेन्द्रप्रसाद सिंह : हामी पुनरावेदक प्रत्यवादी मध्ये महेश्वर पौडेललाई ज्यानसम्बन्धीको १३(३) र म अर्जुनप्रसादलाई ऐ.को १३(४) अनुसार सजायँ गर्ने ठहराई मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको निर्णयमा चित्त नबुझेकोले पुनरावेदन गरेका छौं भनी म.क्षे.अ.को निर्णयउपर पर्न आएको प्रस्तुत मुद्दामा लिएको पुनरावेदन जिकिर तथा मुद्दाको तथ्य संक्षेपमा निम्न प्रकार छ ।
२. ०३६।११।२१ गतेको रात २१.०० बजे चितवन भरतपुर न.पं.वा.नं.९ बस्ने सरतपुर बस्ने बलभद्र न्यौपानेलाई कर्तव्य गरी मारेको खबर पाए अनुसार बुझ्न जाँदा निज बलभद्रका घरमा कोही नभएको अवस्थामा कर्तव्य गरी मारेको भन्ने बुझिएको रातको ९ बजेको समयमा बलभद्रले गुहार भनी कराएको आवाज सुनी गाउँका मानिसहरुले हेर्न जाँदा कर्तव्य गरी मारी हत्यारा भागी सकेका भन्ने बुझिएकोले कानुन बमोजिम कारवाही होस् भन्ने प्रहरीमा जमदार ढुंडीराज शर्माको २०३६।११।२२ को प्रतिवेदन ।
३. सुराकी कुकुरले बलभद्रको गोठालो अर्जुनप्रसादलाई सुंग्दै गई पक्रँदा महेश्वर र म भई बलभद्रलाई कर्तव्य गरी मारेको हो भनी मुख सावित भएको बखत सोही मौकामा अर्जुनप्रसादको जिउ खानतलाश गर्दा रु.१,७००।– बरामद भएको मिति २०३६।११।२२ को बरामदी मुचुल्का ।
४. घटनास्थलमा मृतकको लाश हेर्दा दक्षिण सिर उत्तर गोडा भएको दायाँ कान पछाडि रगत पच्छे भई हतियारले रोपेको, खोचिएको जस्तो घाउ देखिएको लाशको दाहिना कम्मरमा निलडाम देखिएको, देब्रे पट्टी करङमा दुइवटा निलडाम देखिएको, बायाँ हातको कुइनामा छाला खुइलिएको, दायाँ हातको कुइनामा छाला खुइलिएको, गुुदद्वारा माथि लिफामा दिसा लागेको, गुदद्धार बाट दिसा निस्किएको दुबै आँखा बन्द, मुख बन्द, रुद्र घण्टी निर ४ ठाउँमा घाउखत समेत निलो डाम देखिएको, दायाँ हातको बुढी औंलामा काटेको घाउ देखिएको, लिङ्गबाट सेता पानी निस्केको, भूँडीमा डाबर जस्तो देखिएको भन्ने समेत व्यहोराको २०३६।१२।२३ को लाश प्रकृति मुचुल्का ।
३. २०३६।११।२१ गते राती साढे आठ बजेको समयमा महेश्वर पौडेल म सुत्न घरनिर आई बोलाएको हुँदा किन भनी निजसंग जाँदा घरदेखि पूर्व ६०–७० गज जति पर सालको रुख मुनि लगी १ सिसि रक्सी झिकी खाउ भने, त्यसपछि गैंडा चुरोट दिई खाई बसी बलभद्रले मलाई ज्यादै दुःख दियो तिमीलाई रु.१७००।– दिन्छु भने कसरी मार्ने भनी भन्दा निज एक्लै छ तिमीले गोडा समात म घाँटी दबाई मार्छु भन्ने सल्लाह भई रु.१७००।– दिएकाले झ्यालबाट दुबैजना पसी मैले गोडा समातें महेश्वरले घाँटी दावी बलभद्रलाई मारेको हो भन्ने समेत व्यहोराको अर्जुनप्रसाद रिसालले प्रहरीमा गरेको बयान कागज ।
४. २०३६।११।२१ गते घडेरी जग्गा खरीद बिक्री सम्बन्धमा चितवन भरतपुर न.पं.वडा नं.९ सदरपुरमा वाग्लुंगे बाहुन कहाँ आई जग्गाको मोलतोल मिलाई साँझ ६।। बजेतिर संगै आएको, बुद्धि पौडेल र म साइकल चढी आफ्नो घरमा गएको, घरपुग्दा सवा सात बजेको थियो । २०३६।११।२२ गते भरतपुर आउन भनी गितानगर पुग्दा बलभद्र मरेको खबर सुनी मनमा कस्तो कस्तो लागी डर लागी मलाई पक्रन्छन् की भनी नआई बेलुकासम्म गितानगरमा बसेको हुँ । बलभद्र न्यौपाने जग्गा सम्बन्धमा अदालतमा मुद्दा परी मसंग ठूलो रिसइवी भएको व्यक्ति हो, अर्जुनप्रसाद रिसाल कसैलाई झुठ्ठा आरोप लगाई हिंड्ने जाली फटाहा व्यक्ति होइन भन्ने समेत व्यहोराको अभियुक्त महेश्वर पौडेलले प्रहरीमा गरेको बयान कागज ।
२. घांटी थिची निसासिएर मरेको सम्भव देखिएको भन्ने महेन्द्र आदर्श चिकित्सालय भरतपुरका चिकित्सकबाट भएको बलभद्र न्यौपानेको २०३६।११।२३ को पोष्टमार्टम फाराम ।
६. गौरीगन्जमा मितिनी भान्जीको विवाह भएकोले २०३६।११।२१ गते विहान ७ बजे गई नारायणगढमा किनमेल गरी गौरीगन्जमा गएको ऐ.२१ गतेको दिन रात देखि २२ सम्म सोही विवाह घर गौरीगन्जमै छु, मैले बलभद्रलाई कर्तव्य गरी मारेको होइन भन्ने समेत व्यहोराको मानभक्त सुवेदीले प्रहरीमा गरेको बयान कागज ।
७. २०३६।११।२१ गतेको रात म आफ्नै घरमा छु, बलभद्रलाई कर्तव्य गरी मारेको कुरा ऐ.२२ गते विहान थाहा पाई हेर्न आएको हुँ मैले कर्तव्य गरी मारे मराएको होइन भन्ने समेत व्यहोराको पद्मबहादुर अधिकारीले प्रहरीमा गरेको बयान ।
८. पिताजीको हत्या भयो भन्ने कुरा आ.वा. द्वारा खबर पाई, सुराकी कुकुर लिई आउने अ.स.ई. साथ आएको, सुराकी कुकुरले अर्जुनप्रसादलाई पक्रेको र निजबाट रुपैयाँ बरामद भएको निजलाई केरकापबाट महेश्वरले रुपैयाँ दिई दुबैजना भई मारेको भनी जनसमूह समक्ष भनेको हुँदा र निज महेश्वरसंग हाम्रो जग्गा सम्बन्धी रिसइवी परिरहेको समेत हुँदा महेश्वर र अर्जुनले नै पिताजीलाई कर्तव्य गरी मारेको हुन् भन्ने समेत व्यहोराको मृतककी छोरी तुल्सी न्यौपानेले २०३६।१२।१० मा दिएको जाहेरी दर्खास्त ।
९. २०३६।११।२० गते दिउँसो ४ बजेको समयमा महेश्वर र दाजु अर्जुनले घर देखि अलि पर सालको रुख मुनी बसी रक्सी र मासु खाई रहेको देखेकी थिएँ बेलुका दाजु घर आई खाना बनाई भाइलाई र मलाई खाना खुवाई हामीलाई चोटामा गई सुत म गाई गोरुलाई पराल हाल्छु भनी बाहिर गएको त्यसको केही बेरपछि बलभद्रको घरमा ढाक, ढाक, ढुक, ढुक आवाज आएको सुने त्यसैबेला बलभद्रले ३ पटक गुहार गुहार भनी कराएको र त्यसपछि गाउँका मानिसहरु आई हेरी बलभद्र मरेको कुरा थाहा पाउँ सो २१ गतेको दिनमा बलभद्रको बाख्रा महेश्वरको बारीमा गएको विषयमा दुबैजनाको भनाभन झगडा हुँदा महेश्वरले तँलाई नमारी छाड्दिन भनी हातको औंला ठड्याई गएको थियो । त्यसकारण दाजु अर्जुनप्रसाद र महेश्वरले बलभद्रलाई मारेको हुनुपर्छ भन्ने समेत व्यहोराको गिताकुमारीले प्रहरीमा गरेको कागज ।
१०. सुराकी कुकुरले अर्जुनप्रसादलाई समायो अर्जुनप्रसादलाई सोध्दा महेश्वरले रुपैयाँ दिएको र दुबैजना भई मारेको भनी भनेको सुनेको हुँदा निजहरु दुबैजनाले बलभद्रलाई मारेकोमा विश्वास लाग्छ भन्ने समेत व्यहोराको पद्यमलाल भुसाल समेत २४ जनाको करीब एकै मिलानको २०३६।१२।१६ मा भएको सरजमिन मुचुल्का ।
११. गोडा समाती मार्न संयोग पारी दिने अर्जुनप्रसाद रिसाललाई ज्यानसम्बन्धीको १३(४) नं.बमोजिम र महेश्वरले घाँटी थिची सोही थिचाइबाट बलभद्रको ज्यान मरेको देखिँदा निज महेश्वर पौडेललाई ऐ.को १३(३) नं.बमोजिम सजायँ हुन सादर अनुरोध छ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन माग दावी ।
१२. २०३६।११।२१ गते राती ९ बजे घरमै छु । सो दिन विहान १० बजे गितानगरमा आएँ, त्यहाँबाट साँढे एघार वा बाह्र बजे बुद्धि पौडेलसंग सदरपुर दिउँसो २ बजे आएँ म, शसिधर गौतम, बुद्धि पौडेल समेत ३ जना नारायणघाट गयौं । त्यहाँबाट खसीको मासु ल्याई ४।। मा आई पुगियो । सदरपुरबाट गितानगर पुग्दा ७.१५ बजेके हुँदो हो । गितानगरबाट बुद्धि पौडेल आफ्नो घरतर्फ र म आफ्नो घरतिर लाग्यौं घर गितानगरबाट ४०० गज फरकमा पर्छ । म पुग्दा रातको ७।।–८ बजेके हुँदो हो पहिले कान्छी श्रीमती पट्टी गई भात छैन भनी सोद्धा, आमाले सुती रहेकी छ, पकाउनु पर्दैन । म जेठीलाई पकाउन लगाउँछु भने भात पकाई केही मासू बाँकी राखी आधा पकाएर खाएँ सो २१ गते रातभर म घरमै थिएँ । अर्जुनलाई कान्छी न्यौपाने कहाँ गोठालो बस्दा चिनेको थिएँ । रिसइवी केही थिएन । सोही २२ गते गिरतानगरतिर आउँदा बलभद्रलाई डाँकाले मारे भन्ने सुने । गितानगरबाट ६ बजे घरतर्फ जान लाग्दा २ जना प्रहरीले तपाइको भरतपुरको मिलको साँचो लिएर हिंड्नुहोस् भनी पक्री ल्याए । पैसा मैले दिएको हैन, कहाँबाट देखायो म जान्दिन, आफू उम्किउँला भनी भन्यो होला जस्तो लाग्छ । बलभद्रको हत्या गर्न अँठ्याएर मार्न एक्लैले गाह्रो पर्छ । हत्या कसरी गरियो थाहा छैन, एकजना अर्जुन अर्को को हो थाहा छैन । मृतकसंग २०३४ साल चैत्र महीनातिर भनावैरी भएको थियो । उसले घरमा बसेको बेला थाहा पाएको हुँदा मेरो र बलभद्रको झैझगडा भएको कुरा थाहा पाएको होला । रु.१७,००।– मैले अर्जूनलाई दिएको छैन । टोपीमा र समुच्चै कपडमा लागेको रगत मेरो रगत हो । सो कपडामा सबै धोई राखेको थियो । टाँक एउटा पहिले नै चुडिँएको थियो, मलाई पक्रेपछि कहाँ चुडियो थाहा भएन । मैले बलभद्रलाई घाँटी अठ्याँएर मारेको होइन भन्ने समेत व्यहोराको प्र.महेश्वर पौडेलले अदालतमा गरेको बयान ।
१३. प्र.अर्जुनप्रसाद प्रहरी हिरासतबाट भागेको थुनामा राख्ने अदालतबाट अनुमति प्राप्त भइसकेपछि भागेको हुँदा एकपल्ट अदालतमा हाजिर भइसकेपछि भागेको ठहरे माफिक फैसला गरिदिनु पर्ने कानुनी व्यवस्था छ । जारी भएको म्यादमा उपस्थित नभई अभियोग स्वीकार गरेको भन्नु पर्ने अवस्था छ । संकलित प्रमाणहरुबाट समेत प्र.अर्जूनप्रसादले बलभद्रलाई कर्तव्य गरी मारेको ठहर्छ । प्र.महेश्वरले सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु चितवन जि.अदालतको मिति २०३९।१।३ को फैसला ।
१४. प्र.महेश्वर पौडेललाई सफाई दिने ठहर गरेको शुरुको इन्साफमा चित्त बुझेन भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकार तर्फबाट र मलाई कसूरदार ठहर्याई सजायँ गरेको फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको प्र.अर्जुन रिसालको मध्यमाञ्चल क्षेत्रीय अदालतमा परेको छुट्टाछुट्टै पुनरावेदनहरु ।
१५. प्र.अर्जुनप्रसादको हकमा शुरुले गरेको निर्णय अ.बं.१९० नं. को प्रतिकूल हुँदा सो हदसम्म बदर हुने ठहर्छ । बयान कारवाही निमित्त निजलाई जिल्ला प्रहरी कार्यालय चितवनबाट हाजिर गराउन ल्याएमा बयान गराई मुलतवी रहेको फौ.पु.नं. ९६९ को पुनरावेदन किनारा गर्न मिसिल पठाई दिनु भनी शुरुमा पठाई दिने भन्ने समेत व्यहोराको म.क्षे.अ.को २०४०।३।२२ को फैसला ।
१६. लगाउको फौ.पु.नं. ४८३ को पुनरावेदन मा अर्जुनप्रसादको हकमा निर्णय बदर भई पुनः कारवाही किनाराको लागि शुरु अदालतमा पठाउने निर्णय भएको र सो मा के ठहर हुन्छ सो समेतको आधारमा एकैपटक निर्णय गर्नुपर्ने भएबाट प्रस्तुत पुनरावेदन मूलतवीमा राखी दिने ठहर्छ भन्ने समेत व्यहोराको म.क्षे.अ.को २०४०।३।२२ को आदेश ।
१७. २०३५।११।२१ गते बेलुका ७।। बजे प्र.महेश्वरले मलाई बोलाई रक्सी खा भन्दा मैले मानिन र कर गरेकाले खाए जस्तो गरी फाली दिएँ । त्यसपछि बलभद्रलाई मारौं भने मलाई डर लागी कराई दिन्छु भन्दा तँलाई पनि मारी इनारमा फाली दिन्छु भन्दा डरले मृतकको घरमा गएँ । मलाई अर्को कोठाम छाडी महेश्वर मृतक सुुतेको कोठामा गए, गएको १–२ मिनेट पछि गुहार गुहार डाँकाले मार्यो भन्ने शब्द सुनियो त्यहाँबाट म महेश्वरको बारीको छेउमा सुकेको सालको रुखनेर आएँ, ५ मिनेट पछि महेश्वर पनि त्यही पुगे निजले मृतकसंग जग्गाको झगडा सम्बधी रिसइवी थियो, घाँटी थिचेर मारें, कसैलाई नभन्नु भनी नोटको मुठो मलाई फ्याँकी दिएर साइकल चढी गएका हुन् । म त्यहाँबाट रुपैयाँ लिई मृतकको घर तिर गएँ । यो कुरा नभन्नु, भने मार्छु भनी भनेकाले केही कुरो पनि भनिन । मलाई शंका गरी थानामा ल्याई थुने । सि.आइ.डी. कुकुर आइपुगेपछि मलाई र कुकूरलाई मृतकको घरमा लगे । कुकूर लिई जाने मानिसले मलाई देखाई इसारा गरेकाले कुकुरले मलाई समातेको हो । मैले खुट्टा समाई मारे मराएको होइन, महेश्वरले एक्लैले मारेको हुन भन्ने समेत व्यहोराको प्रतिवादी अर्जुनप्रसादको अदालतमा गरेको बयान ।
१८. प्रहरीमा भएको बयान कागजसंग मेल खाने गरी अदालतको बयानको पनि केही अंश भएको देखिएको र सरजमीनको बकपत्र समेतमा प्रमाणबाट प्र.अर्जुनप्रसादले प्रहरी प्रतिवेदन दावी अनुसार अपराध गरेको ठहर्छ । निजलाई ज्यानसम्बन्धीको १३(४) अनुसार सजायँ हुने ठहर्छ भन्ने समेत व्यहोराको चितवन जिल्ला अदालतको २०४२।२।८ को फैसला ।
१९. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको अर्जुनप्रसादले म.क्षे.अ.मा गरेको पुनरावेदन ।
२०. यस अदालतका २०४०।३।२२ का आदेश अनुसार अर्जुनप्रसाद रिसालका हकमा शुरुबाट निर्णय भई सोउपर निजको पुनरावेदन परी मिसिल समेत प्राप्त हुनआएको देखिँदा मुलतवी जनाई दिएको छ । महेश्वर पौडेल समेतलाई सूचना दिई कानुन बमोजिम गरी पेश गर्नु भन्ने समेत व्यहोराको म.क्षे.अ.को २०४२।६।१७ को आदेश ।
२१. शुरुबाट अघि फैसला हुँदाको अवस्था विचार हुन नसकेको कुरातर्फ समेत जिल्ला अदालतबाट सर्व प्रथम विचार हुनुपर्ने भएकोले शुरुबाट २०३९।१।३ मा प्र.महेश्वरका सम्बन्धमा भएको फैसला बदर हुन्छ । प्र.अर्जुनप्रसादले अदालतमा गरेको बयान समेतका सन्दर्भमा प्रतिवादीहरुलाई कानुन बमोजिम गरी राखी निर्णय ठहर गर्नु भनी मिसिल शुरु चितवन जिल्ला अदालतमा पठाई दिनु भन्ने समेत व्यहोराको म.क्षे.अ.को २०४३।३।२ को फैसला ।
२२. प्र.महेश्वरका हकमा पुनः निर्णयका लागि शुरु जि.अ.मा जाने भएकोले महेश्वरका सम्बन्धमा ठहर भई मिसिल प्राप्त भएपछि जगाउने गरी प्र.अर्जुनप्रसादका तर्फबाट परेको पुनरावेदन हाल मुलतवीमा राखी दिनु भन्ने समेत व्यहोराको २०४३।३।२ को म. क्षे.अ.को आदेश ।
२३. उक्त म.क्षे.अ.को २०४३।३।२।२ को फैसला उपर प्र.महेश्वरको यस स.अ.मा परेको पुनरावेदन ।
२४. म.क्षे.अ.ले आवश्यक सबूद प्रमाण बुझी आफैंले निर्णय गर्नुपर्नेमा शुरुको फैसला बदर गरी पुनः निर्णय गर्न पठाउन नमिल्ने हुँदा म.क्षे.अ.को २०४३।३।३।२ को फैसला बदर हुने ठहर्छ । अब जो जे बुझ्नु पर्दछ बुझी प्र.अर्जुनप्रसादको मुलतवी रहेको पुनरावेदन समेत जगाई दुबै पुनरावेदन साथै राखी निर्णय गर्नु भनी म.क्षे.अ.मा पठाई दिनु भन्ने समेत व्यहोराको यस अदालतको २०४३।९।१६ को फैसला ।
२५. प्र.महेश्वर पौडेल प्रहरी समक्ष र अदालतमा समेत कसूर गरेमा इन्कार भए तापनि मृतकसंग रिसइवी रहेको र अर्जुनले कसैलाई झूठ्ठा आरोप लगाई हिड्ने व्यक्ति होइन भनेको देखिन्छ । निजका श्रीमतीहरुको भनाई परस्पर विरोधाभास भई बाझिएको देखिँदा निजको इन्कारीमा सत्यताको आधार भएको भनी मान्न मिल्ने देखिएन, अर्जुनप्रसाद रिसाल र सरजमीनका मानिसहरुले निज महेश्वरलाई पोल गर्नुपर्ने कारण निजले देखाउन सकेको छैन । गिताकुमारीको बयान तथा लाश जाँच मुचुल्का सहितका उल्लिखित प्रतिबन्धात्मक र परिस्थितजन्य प्रमाणबाट प्र.अर्जुनप्रसादको पोललाई पुष्ट्याई तथा समर्थित गरेको देखिँदा प्रतिवेदन दावी बमोजिम प्र.अर्जुनप्रसाद रिसालले खुट्टा समाई प्र.महेश्वरले घाँटी थिची बलभद्रलाई क्र्तव्य गरी मारेको ठहर्न आएकोले शुरुले प्र.महेश्वर पौडेललाई सफाई दिने ठहर्याएको हदसम्मको इन्साफ गल्ती देखिँदा सो हदसम्म शुरुको इन्साफ उल्टी हुन्छ । प्र.महेश्वर पौडेललाई ज्यानसम्बन्धीको १३(३) बमोजिम सर्वश्वसहित जन्मकैद हुन्छ । सबूद प्रमाणको अभावमा प्र.अर्जुनप्रसाद रिसालको पुनरावेदन जिकिर पुग्न सक्तैन भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४३।११।१७ को फैसला ।
२६. म.क्षे.अ.को फैसलामा चित्त बुझेन उक्त कानुनी त्रुटिपूर्ण फैसला उल्टी गरी शुरुको फैसला सदर गरिपाउँ भन्ने समेत व्यहोराको प्र.महेश्वर पौडेलको यस अदालतमा परेको पुनरावेदनपत्र ।
२७. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन उक्त त्रुटिपूर्ण फैसला बदर गरी न्याय दिलाई पाउँ भन्ने समेत व्यहोराको प्र.अर्जुनप्रसाद रिसालको यस अदालतमा परेको पुनरावेदन ।
२८. नियम बमोजिम पेश भएकोमा पुनरावेदक प्रतिवादी महेश्वर पौडेलका तर्फबाट उपस्थित हुनुभएका वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल र अधिवक्ता श्री शम्भु थापाले गर्नुभएको बहस समेत सुनियो । मुख्यतः क्षेत्रीय अदालतले गरेको इन्साफ मनासिब, बेमनासिब के रहेछ सो कुराको निर्णय दिनपर्ने हुन आयो ।
२९. यसमा मृतक बलभद्रको मृत्यु घाँटी थिचिएर श्वास प्रसास प्रकृया बन्द हुन गई भएको कुरामा कुनै शंका देखिन आएको पाइएन साथै वारदात नै नभएको भन्ने जिकिर पनि कहीं कतै देखिँदैन । वारदात हुनु पुर्व नै प्र.महेश्वर र मृतक बलभद्र बीच कलह भएको र बलभद्रलाई मार्नु पर्छ भनी निज प्र.महेश्वरले भनेको कुरा प्र.अर्जुन रिसालकी बहिनी गिताकुमारीले देखेको सुनेको भनी अधिकारप्राप्त अधिकारी समक्ष आई कागज गरिदिएको देखिन्छ । प्र.महेश्वरले बलभद्रलाई मार्नु पर्छ भनी सहयोगको लागि प्र.अर्जुनलाई रुपैयाँ दिएको र अर्जुन रिसाल वारदातको अवस्थामा संलग्न भएको भन्ने कुरा, प्र.महेश्वरले दिएको रुपैयाँ बरामद हुनुबाट प्रमाणिक रुपले पुष्टि भएकै देखिन्छ । वारदातमा संलग्न नभए नरहेको भनी यि प्रतिवादीले प्रमाणिक पुष्टि गर्नसकेको पनि पाइएन । प्र.महेश्वरले मृतकको घाँटी अठ्याएको र मैले गोडा समाई दिएको भनी प्र.अर्जुन रिसाल सावित देखिन्छ । वारदातमा संलग्न एक प्रतिवादीको साविती भएपछि प्र.महेश्वरको इन्कारी प्रमाणको अभावमा साँचो मान्न पनि मिलेन । कर्तव्य ज्यान जस्तो संगीन फौज्दारी अभियोग संकलित सबूद प्रमाणबाट पुष्टी भएको अवस्थालाई केवल मौखिक इन्कारीले कुनै मद्दत गर्नसक्ने अवस्था र स्थिति विद्यमान हुन नसक्ने देखिँदा म.क्षे.अ.ले ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम सजायँ गर्ने गरी गरेको फैसलामा कुनै कानुनी त्रुटी नदेखिँदा इन्साफ मनासिब ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । साधकको हकमा प्रतिवादीहरुको पुनरावेदन परी आएको देखिनाले साधकको लगत कट्टा गरिदिनु पुनरावेदन जिकिर पुग्न नसके बापत अ.बं.२०३ ले थप सजायँ गर्न पर्छ कि भन्नलाई सर्वश्वसहित जन्मकैद र जन्मकैदको सजायँ भई गएको देखिँदा केही गर्न परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.गजेन्द्रकेशरी बास्तोला
इति सम्वत् २०४५ साल आषाढ २६ गते रोज १ शुभम् ।