शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८४६३ - भ्रष्टाचार ।

भाग: ५२ साल: २०६७ महिना: पौस अंक:

निर्णय नं.८४६३ ने.का.प २०६७ अङ्क ९

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ

माननीय न्यायाधीश श्री गौरी ढकाल

संवत् २०६६ सालको स.फौ.पु.नं.३४८०

फैसला मितिः २०६६।१२।२४।३

मुद्दा : भ्रष्टाचार ।

      पुनरावेदक प्रतिवादीः रुपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिका वडा नं. ६ गल्लामण्डी   बस्ने रामजीप्रसाद रौनियार

विरुद्ध

      प्रत्यर्थी वादीः नेपाल सरकार

 

शुरु निर्णय गर्ने अदालतःविशेष अदालत, काठमाडौं

अध्यक्ष मा.न्या.श्री तपबहादुर मगर

सदस्य मा.न्या.श्री गोविन्दप्रसाद पराजुली

सदस्य मा.न्या.श्री भुपध्वज अधिकारी

 

§  लाभको पदधारण गरेका प्रतिवादी नेशनल ट्रेडिङ्ग लिमिटेडको सञ्चालक भएको र संस्थाको नीति निर्माण गर्ने गरिमामय पदमा आसीन सञ्चालकले सञ्चालक भई कामकारवाही गर्दाका अवस्थामा खराब बदनियतका साथ लिनेखाने उद्देश्यले नक्कली तथा वास्तविकभन्दा बढी रकमको बील बनाई पेश गरी भुक्तानी लिएको कार्यबाट आफ्नो पदीय हैसियत, जिम्मेवारी र ओहोदाको मर्यादाविपरीत गैरकानूनी रुपमा अख्तियारको दुरुपयोग गरी नेशनल ट्रेडिङ्ग लिमिटेडलाई आर्थिक नोक्सानी र आफुलाई गैरकानूनी आर्थिक लाभ पुर्‍याई भ्रष्टाचारको कसूर गरेको प्रमाणित भएको तथ्य स्थापित हुने ।

(प्रकरण नं.४)

पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ताद्वय कृष्णप्रसाद भण्डारी र हरिहर दाहाल, अधिवक्ताद्वय शम्भु थापा र बालमुकुन्द श्रेष्ठ

प्रत्यर्थी वादी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता शंकरबहादुर राई

अवलम्बित नजीरः

सम्बद्ध कानूनः

      भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(२)

 

फैसला

न्या.कल्याण श्रेष्ठः विशेष अदालत, काठमाडौंको मिति २०६१।५।२४ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन परी यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :

आपूर्तिमन्त्रालय अन्तर्गतको संस्थान नेशनल ट्रेडिङ्ग लिमिटेडका सञ्चालकहरूले एउटा बैठक बसेबापत रु.१० हजारसम्म लिने गरेको भन्ने संस्थानका राष्ट्रसेवकहरूले २०५२।११।२० मा आयोगसमक्ष गरेको उजूरी सम्बन्धमा, नेशनल ट्रेडिङ्ग लिमिटेडबाट सम्बन्धित खर्चको सक्कल बील भौचरहरू र सम्बन्धित होटलहरूबाट सक्कल बील मगाई तहकिकात गर्दा सञ्चालक रामजीप्रसाद रौनियार, अवध किशोरप्रसाद सिँह, डा. रविन्द्र सिँह र विश्वनाथप्रसाद सिँहले होटल माउण्ट मकालु, होटल तिरुपति, होटल न्यू आनन्द, होटल ताज र होटल भरतको मालिक एवं कर्मचारीहरूलाई मिलाई आफूले बसेको र खाना खाएको कर कार्यालयको छाप नभएको पाउनु पर्ने भन्दा बढी रकमका कीर्ते बिलहरू बनाउन लगाई उक्त बिलहरू संस्थानमा पेश गरी आफूहरूलाई गैरकानूनी लाभ पुर्‍याएको र नेशनल ट्रेडिङ्ग लिमिटेडलाई यसै अभियोगपत्र साथ संलग्न भुक्तानी विवरण फाराममा उल्लिखित रकम हानि नोक्सानी तथा सोको हुने होटल कर राजस्वसमेत हानि नोक्सानी पुर्‍याई अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार गरेको पुष्टि हुन आएको हुँदा उपरोक्त उल्लिखित सञ्चालक रामजीप्रसाद रौनियार, अवध किशोरप्रसाद सिँह, डा. रविन्द्र सिँह तथा विश्वनाथ सिँहलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(२) र यसै अभियोगपत्रको प्रतिवादी खण्डमा उल्लेख गरिएको होटलको मालिक एवं कर्मचारी भरत रत्न धाख्वा, कुमार न्यौपाने, काजी श्रेष्ठ, टिका राना, याहाया मुस्लिम, बृषा श्रेष्ठ, गीता श्रेष्ठ, सानुकुमार महर्जन, बसन्त सापकोटा र ध्रुब दाहाललाई सञ्चालकहरूलाई खुसी पार्ने निहुँमा ने. ट्रे. लि. लाई प्रत्यक्ष घाटा पुर्‍याउने कार्यमा कीर्ते बिलहरू बनाई दिई सहयोग गरेबाट भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ (क) बमोजिम कसूर गरेको देखिँदा सोही दफामा लेखिए बमोजिम बिगो र जरीवाना समेतको माग दावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३० बमोजिम पुनरावेदन अदालत ललितपुरमा अभियोगपत्र दायर गर्न मिति ०५२।१२।६ मा आयोगबाट निर्णय भएको ।

नेशनल ट्रेडिङ्ग लिमिटेडको सञ्चालक समितिमा प्रबन्धपत्र तथा नियमावलीको दफा ५.६ अनुसार ३ जनाभन्दा घटी र ५ जनाभन्दा बढी हुने छैन भन्नेमा हाल उक्त नेशनल ट्रेडिङ्ग लिमिटेडमा ११ जना सदस्य सञ्चालक समितिमा राखेको छ । त्यसैगरी नेपाल आयल निगममा पनि घटीमा २ र बढीमा ७ जनाभन्दा बढी हुने छैनन् भन्ने नियमावलीको १९(ङ) मा लेखिएकोमा हाल ११ जना सञ्चालक समिति बनाइएको छ । यसरी मनोनित भएका सञ्चालक समितिका सदस्यहरूले एउटा बैठक बसेबापत रु.१०/१० हजारसम्म भत्ता लिने गरेको बुझिएको छ भन्ने समेतको संस्थानका राष्ट्र सेवकले २०५२।११।२० मा आयोगसमक्ष गरेको उजूरी ।

म २०५२ साल माघ १३ गतेबाट नेशनल ट्रेडिङ्ग लिमिटेडको सञ्चालक समितिको सदस्यमा नियुक्ति भएको हुँ । स्थायी घर ठेगाना भएको ठाउँबाट बोर्डको मिटिङ्ग हुँदा बस्न, आतेजाते प्लेन खर्च दैनिक खर्च बापत प्रत्येक सदस्यलाई रु.२००।का दरले दिने गरेको छ । होटलमा बस्नेले होटल खर्च लिन्छन् र दैनिक रु.२००।पाउँदैनन् । होटल खर्च र आतेजाते खर्च बाहेक टेलिफोन सुविधा प्रतिमहिना रु.१८०।र प्रत्येक मिटिङ्गमा मिटिङ्ग भत्ता रु.५००।पाइन्छ। मैले नेशनल ट्रेडिङ्ग लिमिटेडको हितलाई ध्यानमा राखेर काम गरेको हुँ । होटलमा बस्दा नेशनल ट्रेडिङ्ग लिमिटेडलाई बढी भार पर्ने कारणबाट मैले होटलमा बसिन तर विदेश सिँगापुरमा नेशनल ट्रेडिङ्ग लिमिटेडको तर्फबाट जाँदा म बसेको छु किनकी त्यहाँ मेरो घर छैन र देश पनि होइन तर यहाँ मेरो घर, देश हो । यसकारण नेशनल ट्रेडिङ्ग लिमिटेडलाई घाटा गराउने मेरो लक्ष्य होइन । म सञ्चालकको हैसियतबाट म आफूमात्रको जिम्मेवार छु । सञ्चालक संख्या बढी भएर नेशनल ट्रेडिङ्ग लिमिटेडलाई घाटा हुने काम भयो भन्ने सम्बन्धमा यो मन्त्रीको काम हो । यसबारे मलाई केही भन्नु छैन भन्ने नेशनल ट्रेडिङ्ग लिमिटेडका सञ्चालक श्री ववन विहारी सिँहको अनुसन्धानको क्रममा गरेको बयान कागज ।

रामजी प्र. रौनियारको नामबाट काटिएको बील नं.३८६ मिति २०५२।११।२८, बील नं. ३७३ मिति २०५२।१०।२२, बील नं.३६४ मिति २०५२।१०।२, बील नं.३७८ मिति २०५२।११।१४, अवध किशोर प्र. को नाम गरेको बील नं.४१३ मिति २०५३।२।१०, बील नं.३९८ मिति नभएको, बील नं.३७४ मिति २०५२।१२।६, बील नं.३८८ मिति २०५२।१२।११, बील नं.३८९ मिति २०५२।१२।१८, बील नं.३९० मिति २०५२।१२।२५, बील नं.३७० मिति २०५२।१०।२१, बील नं.३६८ मिति २०५२।९।५, बील नं.३७२ मिति २०५२।१२।२२, बील नं.३७१ मिति २०५२।११।१३, बील नं.३६९ मिति २०५२।१०।२ को बिलहरू नक्कली हुन्, हाम्रो होटलमा बसेको होइन, कर कार्यालयको छाप छैन, कर कार्यालयको छाप हुनुपर्छ तर सो बिलहरूमा हाम्रो कर्मचारी कुमार न्यौपानेले दस्तखत गरेको देखिएको छ । हाम्रो अफिसमा रहेको कर कार्यालयको छाप नभएको बील चोरी गरी इसु गरेको हुनसक्छ । सञ्चालक विश्वनाथ सिँहको नामबाट कर्मचारी कुमार न्यौपानेले काटेको बील नं. ३६७ मिति २०५२।१०।२२ का बिलहरूको सम्बन्धमा विश्वनाथ हाम्रो होटलमा बसेको होइन, बील नक्कली हो । कुमार न्यौपानेले नै यस आयोगको पत्र बुझेको भोली पल्टदेखि होटलमा उपस्थित नभएकोले खोजतलास गरिएको छ । निजकै मिलेमतोबाट सञ्चालक रामजीप्रसाद रौनियार, विश्वनाथप्रसाद सिँह र अवध किशोरप्रसादले गैरकानूनी किसिमबाट सञ्चालकलाई फाइदा हुने गरी राजस्व नोक्सानी गरी होटललाई समेत बेफाइदा हुने गरी नक्कली बील बनाएको हो । कुमार न्यौपानेको मिलेमतोबाट रामजीप्रसाद रौनियारले नक्कली बिलबाट रु.२१,९८३।–, अवध किशोरप्रसादले रु.१,२७,३२६।३६ र विश्वनाथप्रसादले रु.१६,९१५।को नक्कली बील लगेको देखिन्छ। निज कुमार न्यौपाने एक रेखदेख गर्ने स्टाफ र निजबाट लेखेको बील सक्कली नभई आफैंले कतैबाट नक्कली बील छापी वा प्रेसबाट ल्याई बील लेखेको हुनुपर्छ भन्ने भरतरत्न धाख्वाले अनुसन्धानको क्रममा गरेको बयान कागज ।

मिति २०५३।६।३० गते आयोगमा उपस्थित भै गरेको सनाखत कागजमा समेत बयानमा उल्लिखित बिलहरू रिसेप्सनिष्ट कुमार न्यौपानेको हस्ताक्षरले लेखी दिएको हो । उक्त बिलको बुक नै मेरो तर्फबाट छपाई भएको नभई निज न्यौपानेले गोप्य रुपमा छपाई प्रयोगमा ल्याई गेष्टलाई दिएका रहेछन् । मैले दुई थरी बिलहरू छाप्ने र चलाउने गरेको छैन । मेरो हस्ताक्षरले ग्राहकलाई दिएको छैन भनी माउण्ट मकालुका प्रोप्राईटर मालिक भरत रत्न धाख्वाले गरेको कागज ।

बिल नं.२०५ मिति ४।७।१९९६ र बील नं.२१७ मिति १७।७।१९९६, बील नं.२०६ मिति १०।७।१९९६, सञ्चालक अवध किशोर सिँहको नामको र बील नं. २०८ मिति ११।७।१९९६ डा. रविन्द्र सिँहको जम्मा चार थान देखाइएका बिलहरू होटल आनन्दको जस्तो लाग्दछ । मलाई त्यो बील कसले तयार गरेको हो, कसले कसलाई दिएको हो भन्ने कुरा मेरो हस्ताक्षर उक्त बिलमा नभएकोले केही थाहा छैन, म २०५३ असार महिनादेखि कार्यरत् छु भन्ने होटल आनन्दका मेनेजर ध्रुब दहालले गरेको कागज ।

यो होटल २०५२ साल पुस महिना स्थापना भएको हो । हाम्रो होटलमा नेशनल ट्रेडिङ्ग लिमिटेडका सञ्चालक विश्वनाथप्रसाद सिँह, रामजीप्रसाद रौनियार, डा. रविन्द्र सिँह बस्ने र खाना खानु हुन्थ्यो । सञ्चालकहरूलाई कोठा भाडामा ५० प्रतिशत डिस्काउण्ट प्रतिकोठा ने.रु. ११५५।२० र टि.भी. र ए.सी. भएको कोठा दिइएको थियो । बील नं.१९३, १९५, १०५, ९८, १२३, १९२, १५९, १६० र १०४ मैले हेरें, तिरुपति होटलबाटै काटिएको हो । बिलहरू सञ्चालकहरूको र कर्मचारी श्रीमती टीका राणाको मिलेमतोमा काटिएको हो । हामीलाई आयोगबाट जानकारी प्राप्त भएपछि टीकारामलाई ७ दिनको निलम्बन गरी कारवाही गरेका  छौं । बील नं.१२३, १९२, १५९, ९८ र १०५ बाट जम्मा रु.८५,२४३।९८ नेशनल ट्रेडिङ्ग लिमिटेडबाट लिइएको छ जबकि होटलको बिलमा जम्मा रु.२३,१६६।मात्र हुन्छ । यसरी फरक रु.७४,२३७।८८ सञ्चालक रामजीप्रसादले स्टाफलाई प्रलोभन दिइ बील बनाएको हो, होटल अनजानमा छ । त्यस्तै डा.रविन्द्रले बील नं.१९३ बाट २३,३८९।–, सञ्चालक विश्वनाथ सिँहले बील नं.१६९ बाट रु.५३,७३८।८८ बील नं.१०४ बाट १५,२१८।३०, बील नं.१९५ बाट ३०,२२४।–, बील नं.१९७ बाट ३,३००।को बिलहरू नेशनल ट्रेडिङ्ग लिमिटेडमा पेश गरी भुक्तानी लिएको जो कर्मचारीको मिलेमतोबाट बढी बील बनाउन लगाएको हो । सञ्चालक विश्वनाथ सिँह र डा.रविन्द्र सिँहले स्टाफलाई प्रलोभन दिई गरिएको हो । हाम्रो अनजानमा सञ्चालकहरूले आफूलाई फाइदा लिने गरी राजस्व छलेको नेशनल ट्रेडिङ्ग लिमिटेडलाई नोक्सानी पुर्‍याएको कारणबाट नैतिकताको प्रश्नबाट पनि पन्छिन नसक्ने भएकोले हामी पूर्ण रुपमा जिम्मेवार छौ । गल्ती भयो आउने दिनहरूमा यस्तो गल्ती दोहोर्‍याउने छैनौं भन्ने होटल तिरुपतिका मेनेजर काजी श्रेष्ठले अनुसन्धानको क्रममा गरेको बयान ।

यो होटल २०५२ पौषदेखि सञ्चालन भएको हो । आयोगबाट देखाइएको बील २२५८ मिति ८।८।१९९६, बील नं.२२६४ मिति ८।८।१९९६, बील नं.२७९६ मिति ४।७।१९९६, बील नं. २२५१ मिति १७।७।१९९६, बील नं.२५५९ मिति ९।८।१९९६ को रामजीप्रसाद रौनियारको नामबाट काटिएको, बील नं.३०८० बि.नं.३२६२ मिति १९९६।७।५, ९।८।१९९६ डा.रविन्द्र सिँहको नामबाट पनि हाम्रै होटलबाट काटिएको हो । सञ्चालक विश्वनाथ सिँहले बील नं.२२६४ मिति १९९६।८।८, बील नं.२२६० मिति १९९६।७।४ बील नं.२२५४ मिति १९९६।७।१८ हाम्रो होटलबाट लगेको हो । सञ्चालक रामजीप्रसाद, डा. रविन्द्र सिँह र विश्वनाथ सिँहहरू हाम्रो होटलमा बसेका हुन् । यी देखाइएका बील अनुुसारको रकम होटलले लिएको होइन । होटल स्टाफ वृषा श्रेष्ठ र गीता श्रेष्ठसँगको मिलेमतोमा नक्कली बिलहरू बनाई ने. ट्रे. लि. का सञ्चालकहरूलाई दिई आर्थिक अनियमितता गर्न सहयोग पुर्‍याएको हो । निजहरूलाई हाम्रो होटलमा सक्दो सहुलियत दिएर प्रति दिन रु.४००।वा ५००।भन्दा बढी कोठाको भाडा लिइएको छैन । मेरो होटलबाट बढी रकमका बेरितका बिलहरू काटिएकोमा यसको जिम्मेवारी म हुनुपर्ने हो । हाम्रो मिलेमतो तथा सल्लाह केही छैन । स्टाफबाटै राजस्व समेत हानि पुर्‍याई कार्य भएको हो भन्ने ताज होटलका मालिक याहाया मुस्लिमले अनुसन्धानको क्रममा गरेको कागज ।

होटल मालिक र ग्राहकबीच के कस्तो कुरा हुन्थ्यो म लगायत अरु साथीहरूलाई थाहा हुदैनथ्यो । मलाई यो बील काट्न कसैले पनि आदेश दिएको होइन । ग्राहक गेष्टले हामीलाई फाइदा हुन्छ तपाईलाई केही हुँदैन भनेर भनेकोले मैले यो बील काटेको हुँ । बारम्बार आउने गेष्टहरूले बील बनाई देउ भनेकाले बील बनाई दिनुपर्छ भन्ने मनमा लागेर उनीहरूले भने जति रकमको बील बनाई दिएको हो । कुनै लिनु खानु गरेको छैन । थाहा नभएर बील काटेको हुँ । गल्ती भएकोले क्षमा पाऊ । मैले बिलहरू बनाएको भए तापनि होटलको मालिकले रुमको अधिकतम दरभित्र रहेर बील बनाई दिन माग गरेमा बनाई दिनु भनी मलाई भनेकाले बनाई दिएको हुँ । होटल मालिकले भनेअनुसार नै बील बनाएको हुँदा मउपर कुनै कारवाही हुने कारण नै छैन भन्ने ताज होटलका कर्मचारी गीता श्रेष्ठले अनुसन्धानको क्रममा गरेको बयान ।

बिल नं.२२५९, २२५१, २७९६, २२५४, २२५६ र २२५८ मैले काटेको हो, सही मेरो हो । बिलको रकम मैले भुक्तानी लिएकी छैन । ती ब्यक्तिहरू हाम्रो ताज होटलको नियमित ग्राहकहरू भएको तर सरकारी संस्थानका हुन् भन्ने थाहा नभएको, सो बिलहरूदेखि सनाखत गरे । यी ब्यक्तिहरू होटलमा आई रहने ग्राहकहरू हुन् । उनीहरूले बढी रकम बनाई दिन भनी भनेको हुँदा उल्लिखित बिलहरू बनाई दिएको हुँ । होटलको नीति अनुसार ग्राहकहरू आकर्षणको लागि र प्रायः आईरहने पाहुना भएको हुँदा सो बिलहरू बनाएकी हुँ । कहिलेकाही होटलको मालिकको आदेश भएमा बिलहरू बनाई दिने गरिन्थ्यो । होटलका मालिकले यस आयोगसमक्ष दिएको बयानअनुसार ती ब्यक्तिहरूसँग हाम्रो कुनै मिलेमतो थिएन भन्ने ताज होटलका कर्मचारी वृषा श्रेष्ठको बयान ।

बिल नं.१९२, १२३, १५९, १६० र १९३ का बिलहरू गेष्टले भनेबमोजिम यति एमाउण्टको बील बनाई देउ भनेको हुनाले एमाउण्ट फरक पर्ने गरी बनाई दिएकी हुँ । होटलमा चाही बसेबमोजिम मात्र पैसा लिएको थिएँ । ज्यादा एमाउण्टको बील बनाउँदा मैले होटल मालिकलाई जानकारी गराएको थिइन । बील बनाएबापत एक पैसा पनि लिए खाएको छैन । मैले बढी एमाउण्टको बील बनाई गल्ती गरेको हुनाले म क्षमा चाहान्छु भन्ने होटल तिरुपतिका कर्मचारी टीका रानाको अनुसन्धानको क्रममा गरेको बयान ।

यो होटल दुई तारा स्तरको हो । मलाई देखाइएको बील नं.०३५, २२, १२६, ५४, २७१, ८६, ९२, ९३, २००, ७६, २०१, ७७, २१ र ३४ का बिलहरू मेरो होटलका हुन् यी बिलहरू रिसेप्सनिष्ट बसन्त सापकोटा र जीवन श्रेष्ठले काटेका हुन् । रकम फरक पारेर काट्न मैले लगाएको होइन । मेरो होटलको बील भएको कारणले भने जिम्मेवार हुनुपर्ने हो । नेशनल ट्रेडिङ्ग लिमिटेडबाट भुक्तानी लिएको बील नं.३५, १२६, र ३४ मेरो होटलको बील हो र रिसेप्सनिष्ट बसन्त सापकोटाले काटेको हो भन्ने होटल भरतका प्रबन्ध निर्देशक सानुकुमार महर्जनले अनुसन्धानको क्रममा गरेका बयान ।

सञ्चालकहरूको होटल खर्चको रुपमा ५ तारे होटलसम्मको प्रावधान छ । होटल खर्चको रुपमा यति नै रकम भन्ने नियममा किटान भएको छैन । सञ्चालकज्यूहरूको होटल खर्चको बिलहरूमा खर्चको रकम फरक भै कती रकमसम्म होटल खर्च प्रति दिनको दिने भनी निर्देशनको लागि ब्यवस्थापनमा पेश गरेको छु । तर ब्यवस्थापनबाट यति नै रकम दिने भन्ने निर्णय भएको छैन । श्री ५ को सरकारबाट नियुक्त भएको सञ्चालकज्यूहरूबाट पेश भएका बिलहरूमा निजहरूले गरेको सहीलाई महत्व दिई बील फछ्र्यौट गर्ने गरी आएको । कर कार्यालयका छाप अनिवार्य रुपमा हुनुपर्ने ब्यहोरा ज्ञान नभएको साथै म माथिका हाकिम प्रमुख प्रबन्धक मोहनकृष्ण श्रेष्ठले पनि केही नभनेको । प्राप्त बिलहरू उहाँ कहाँ पेश गरी उहाँबाट स्वीकृत भएपछि मात्र भुक्तानी दिने कार्य गरेको भन्ने ब्यहोराको नेशनल ट्रेडिङ्ग लिमिटेडको आर्थिक ब्यवस्था विभागमा कार्यरत ९ तहका राजेन्द्रमान श्रेष्ठले अनुसन्धानको क्रममा गरेको बयान ।

नेशनल ट्रेडिङ्ग लिमिटेडको सञ्चालक समितिको बैठकमा सञ्चालक सदस्यहरूको उपस्थितिमा सही नगराएको, माइनट बुकमा सञ्चालकज्यूहरूको उपस्थितिमा सही भएको नभएको मलाई थाहा छैन । मिटिङ्ग भएको दिनमा भत्ता वितरण भरपाइको आधारमा रकम बुझाए अनुसार मिटिङ्ग भएको दिनमा नै भत्ता दिने गरेको हुँदा पछि भत्ता दिने नगरेको भन्ने समेतको नेशनल ट्रेनिङ्ग लिमिटेडका छैठौं तहका श्यामसुन्दर मिश्रले अनुसन्धानको क्रममा गरेको बयान ।

सञ्चालकहरूले पेश गरेको होटल बिलहरूमा क्रमशः वृद्धि भई आइरहेकोले रकमको अधिकतम सीमा निर्धारणको लागि ब्यवस्थापनसमक्ष पेश गरेकोमा सो कुरा सञ्चालक समितिमा लगिकन नियमानुसार गर्ने भनी आएको जबकी नियममा अधिकतम सीमा तोकिएको छैन । मैले २०५३।४।११ मा मितव्ययिताबारे वैकल्पिक सुझावहरू सहित निर्णयका लागि पठाएको थिए । कतिपय बिलहरूमा करको रकम जोडिएको भए तापनि कर कार्यालयको निस्सा नभएको तर पेश भएका बिलहरू काठमाडौंका नाम चलेका होटलको भएको र नीति निर्माण गर्ने गरिमामय पदमा आसिन सञ्चालकहरूबाट यस्तो गैरजिम्मेवारी काम होला भन्ने आशंका गर्न नसकिने भएकोले भुक्तानी दिइएको हो । सञ्चालकहरूको पदीय प्रभाव तथा नियमको नियमावलीको खुकुलोपनामा फाइदा उठाई गैरजिम्मेवारीपूर्ण काम गरी निगमलाई हानीपुर्‍याई काम गरेकोमा मातहतका कर्मचारी लगायत मेरो कुनै बदनियतपूर्ण संलग्नता नभएको भन्ने समेतको नेशनल ट्रेडिङ्ग लिमिटेडको आर्थिक प्रशासन विभागका प्रमुख मोहनकृष्ण श्रेष्ठले अनुसन्धानको क्रममा गरेको बयान ।

सञ्चालक रामजीप्रसाद रौनियार, डा.रविन्द्र सिह, विश्वनाथ सिह तथा सञ्चालक अवध किशोरप्रसाद होटल माउण्ट मकालुको कर्मचारी कुमार न्यौपाने, होटल ताजको कर्मचारी वृषा श्रेष्ठ र गीता श्रेष्ठ, होटल तिरुपतिको कर्मचारी टीका राना, होटल आनन्दको (कर्मचारी नाम थाहा हुन नसकेको) र होटल भरतको रिसेप्सनिष्ट बसन्त सापकोटा समेतको मिलेमतोमा बढी रकम उल्लेख गरी, गर्न लगाई कर कार्यालयको छाप समेत नलगाई कर समेत छलि बील बनाउन लगाई उक्त बिलहरू सञ्चालकले नेशनल ट्रेडिङ्ग लिमिटेडमा पेश गरी आफूलाई गैरकानूनी फाइदा र नेशनल ट्रेडिङ्ग लिमिटेडलाई संलग्न भुक्तानी विवरण फाराममा उल्लिखित रकम रामजीप्रसाद रौनियारले रु.१,४१,३६६।९८,डा.रविन्द्र सिँहले रु.३४,६५३।–, अवध किशोरप्रसाद सिहले रु.१,६९,०२६।३६ र विश्वनाथप्रसाद सिहले रु.१,१४,१४५।५८ हानीनोक्सानी तथा सोको हुने होटल कर राजस्व समेत हानीनोक्सानी पुर्‍याई अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार गरेको सिद्ध हुनआएको हुँदा उपरोक्त उल्लिखित सञ्चालक रामजी प्र.रौनियार, अवध किशोर प्रसाद सिँह, डा.रविन्द्र सिह तथा विश्वनाथ सिँहलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(२) र २९ बमोजिम बिगो असूल गरी बिगोबमोजिम हुँदैसम्म सजाय हुन अनुरोध छ । साथै नेशनल ट्रेडिङ्ग लिमिटेडका तत्कालीन सञ्चालक विश्वनाथ सिंह, रामजीप्रसाद रौनियार, रविन्द्र सिँह, अवध किशोर सिँह समेतका प्रतिवादीहरूलाई बिलहरू उपलव्ध गराई श्री ५ को सरकारलाई प्राप्त हुने आयकरबाट विमुख समेत गराई नेशनल ट्रेडिङ्ग लिमिटेडलाई आर्थिक हानीनोक्सानी पुर्‍याउने कार्य गर्नमा प्रत्यक्ष संलग्न भै होटलमा नतिरेको, होटलले असूल नगरेको खर्च नभएको रकम होटलमा तिरेको खर्च भएको देखाई र खर्च भएको रकमभन्दा अत्याधिक बढीको बील काट्न र काट्न लगाउनेमा माउण्ट मकालुका रिसेप्सनका कर्मचारी कुमार न्यौपाने तथा होटल मालिक भरतरत्न धाख्वा, त्यसैगरी होटल तिरुपतिका मेनेजर काजी श्रेष्ठ र सोका रिसेप्सनका कर्मचारी टीका राना, होटल ताजका मालिक याहायां मुसलमान तथा कर्मचारी गीता श्रेष्ठ र वृषा श्रेष्ठ, होटल भरतका प्रवन्ध निर्देशक सानुकुमार महर्जन र कर्मचारी बसन्त सापकोटा तथा न्यू होटल आनन्दका मैनेजर ध्रुव दाहालले नेशनल ट्रेडिङ्ग लिमिटेडलाई प्रत्यक्ष घाटा र प्रतिवादी विश्वनाथ लगायतका प्रतिवादीहरूलाई फाइदा हुने गरी गरेको कार्य भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६(क) ले उपरोक्त विश्वनाथ लगायतका प्रतिवादीहरूलाई भ्रष्टाचार गर्नमा सहयोग पुर्‍याएको र त्यस्तो कार्य भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६(क) बमोजिमको अपराध देखिँदा सोही दफामा लेखिएबमोजिम हुँदैसम्मको सजाय हुन अनुरोध छ । साथै होटल न्यू आनन्दको कर्मचारीको नाम अनुसन्धानको क्रममा थाहा हुन नसकेको हुँदा निजको हकमा पछि छुट्टै मागदावी लिईने व्यहोरा अनुरोध छ भन्ने ब्यहोराको अभियोग मागदावी ।

नेशनल ट्रेडिङ्ग लिमिटेडका सञ्चालकहरू हाम्रो होटल तिरुपतिमा बराबर बस्ने गर्नु हुन्थ्यो। सञ्चालक रामजीप्रसाद रौनियार हाम्रो होटल तिरुपतिमा बस्नु खानु भएकोले सोहीबमोजिम हामीहरूले नै उक्त बिलहरू दिएका हौ । प्रतिवादीहरू सबै नेशनल ट्रेडिङ्ग लिमिटेडका सञ्चालक सदस्यहरू भएकोले कहिले कुनै सदस्य, कहिले कुनै सदस्य आउनेजाने गर्नुहुन्थ्यो, कति रकमको बील दियौ यकीनसाथ भन्न सक्तिन । निज प्रतिवादीहरूले शुरुशुरुमा बस्दाको अवस्थामा वास्तविक बील लिने गर्नुहुन्थ्यो । पछि होटलमा बराबर आउने भएकोले होटलका कर्मचारीहरूसँग नजिकको सम्बन्ध राख्ने गर्दैआएको कारणले गर्दा बढी रकमको बील बनाई लिनु भएको हो । हाम्रो होटलबाट काटिएका बिलहरू सबै रिसेप्सनिष्ट टीका रानाले काट्नु भएको हो । हामीले अन्जानमा गरेको गल्तीको लागि क्षमा माफी चाहन्छौ । यदि हामीले गरेको कार्यमा नै सजाय हुन जान्छ भने सजाय भोग्न तयार छु भन्ने प्रतिवादी होटल तिरुपतिका मेनेजर काजी श्रेष्ठले अदालतमा गरेको बयान ।

म होटल तिरुपतिको रिसेप्सनिष्ट पदमा रहेर गर्नुपर्ने कामहरूमा गेष्टलाई इन्ट्री (प्रवेश) गर्ने, फोन उठाउने, चेक आउट गर्ने र पेमेन्ट लिने गर्दछु । बील नं.१९२, १२३, १५९, १६० र १९३ का बिलहरू म आफैले बनाएर दिएको छु । हामीले निज सञ्चालक प्रतिवादीहरूलाई बील बनाएर दिँदा फुलरेटमा बनाई दिएको थिए तर निजहरूले बील भुक्तानी गर्दा ५० प्रतिशत कम गरेर लिएको हो। हाम्रो होटलमा आउने ग्राहक अनुसार ५० प्रतिशतसम्म कम गरेर भुक्तानी लिन्छौ । बढी रकमको बिलहरू बनाउँदा कसैलाई सोधेको होइन । यी प्रतिवादीहरूले नै बढी रकमको बील बनाई दिन भनेकाले बनाएको तर बढी रकमको बील बनाए बापत कुनै केही रकम लिए खाएको छैन भन्ने टीका रानाले अदालतमा गरेको बयान ।

प्रतिवादी काजी श्रेष्ठबाट रु.२५,०००।प्रतिवादी टीका रानाबाट रु.२०,०००।नगद वा जेथा जमानत दिए पुर्पक्षको लागि तारेखमा राख्नु भन्ने पुनरावेदन अदालत पाटनको मिति २०५४।३।३ को आदेश भएकोमा निजहरूले मागबमोजिमको नगद धरौट राखी तारेखमा रहेको ।

बिल नं.३५, २२, १२६, ७७, ५४, २७१, ८६, ३९२, ९३, २००, २०१, २१ र ३४ नं. का बिलहरू देखाउँदा देखे उक्त बिलहरू हाम्रो होटलका नै हुन् भनी सनाखत गर्दछु । ती बिलहरू हाम्रो होटल भारतका रिसेप्सनिष्ट बसन्त सापकोटाले काटेका हुन् । रिसेप्सनिष्ट वसन्त सापकोटा र ग्राहकबीचको मिलेमतोमा उक्त बिलहरूको बीचको रकममा फरक पर्न गएको  हो । हाम्रो होटलको नियमानुसार बील काट्ने काम क्यासियरको हुन्छ । कम (कोठा) को रकमको लागि मात्र रिशेप्सनिष्टले बील काट्ने काम गर्दछ । रिसेप्सनिष्ट बसन्त सापकोटाले काटे्का बिलहरू कसरी किन काट्नु भयो मलाई थाहा जानकारी छैन । हाल हामीले तत्कालीन रिसेप्सनिष्ट बसन्त सापकोटालाई शेयर होल्डरको मिटिङले अवकाश दिइसकेका छौ । म भन्दा तल्लो दर्जाका कर्मचारीले मेरो जानकारी बिना गरेको कामको लागि म जिम्मेवार हुनुपर्ने होइन भन्ने समेतको प्रतिवादी सानुकुमार मर्हजनले अदालतमा गरेको बयान ।

प्रतिवादी सानुकुमार मर्हजनलाई अ.बं.४७ नं.बमोजिम पुर्पक्षको लागि तारेखमा राखी कानून बमोजिम गर्नु भन्ने पुनरावेदन अदालत पाटनको २०५४।३।६ को आदेशले तारेखमा रहेको।

देखाइएका बील नं.३८६, ३७३, ३६४, ३७८ का बिलहरू हाम्रो होटल माउण्ट मकालुका बिलहरू नभई कीर्ते बिलहरू हुन् । उक्त बिलमा उल्लिखित व्यक्ति रामजी रौनियार आफूले थाहा जानकारी पाएसम्म हाम्रो होटलमा बसेका पनि होइनन् । त्यस्तै बील नं.४१३, ३९८, ३९९, ३७४, ३८८, ३८९, ३९०, ३७०, ३६८, ३७२, ३७१ का बिलहरू माउण्ट मकालुका बिलहरू नभई कीर्ते बिलहरू हुन् । उक्त बिलहरूमा उल्लिखित व्यक्ति अवध किशोरप्रसाद हाम्रो होटलमा बसेका होइनन्, छैनन् । त्यस्तै गरी बील नं.३७६, ३९२, ३६७ का बिलहरू हाम्रो होटल माउण्ट मकालुका बिलहरू नभई कीर्ते बिलहरू हुन् । उक्त बिलमा उल्लिखित व्यक्ति विश्वनाथ सिँह हाम्रो होटलमा बसेका होइनन्, छैनन् । हाम्रो होटलमा रहने प्रत्येक बिलहरू कर कार्यालयबाट इसु भएका हुन्छन् र इसु भएको प्रमाणको लागि बिलको पछाडि कर कार्यालयको छाप लागेको हुन्छ जबकी उक्त प्रतिवादीहरूले नेशनल ट्रेडिङ्ग लिमिटेडमा पेश गरेका बिलको पछाडि करकार्यालयको छाप कुनै बिलमा पनि लागेको छैन । उल्लिखित बिलहरू अधिकारप्राप्त व्यक्तिले काटेको होइनन् र कसले काटेका हुन् मलाई थाहा जानकारी पनि छैन । उल्लिखित बिलहरू हाम्रो होटलका नामबाट काटिएका भए तापनि हाम्रो होटलको आधिकारिक बिलहरू नभएकोले त्यसको जिम्मेवारी मैले बहन गर्नुपर्ने होइन । प्रतिवादीहरूलाई भ्रष्टाचार गर्नमा मैले सहयोग नपुर्‍याएको हुँदा मलाई सजाय हुनुपर्ने होइन भन्ने प्रतिवादी भरतरत्न धाख्वाले अदालतमा गरेको बयान ।

प्रतिवादी भरतरत्न धाख्वाबाट तजवीजी रु.३०,०००।मात्र धरौट वा जमानत दिए लिई मुद्दाको पुर्पक्ष गर्नु भन्ने पुनरावेदन अदालत पाटनको २०५४।३।३० को आदेशानुसारको रु.३०,०००।नगदै दाखिल गरी निज प्रतिवादी भरतरत्न धाख्वा तारेखमा रहेको ।

देखाइएका बील नं.३५, २२, १२६, ७७, ५४, २७१, ८६, ७६, ३९२, ९३, २००, २०१, २१ र ३४ नं. का बिलहरू मैले काम गर्ने होटलका हुन् र ती बिलहरू ग्राहकको दवावमा मैले नै काटेको हो । होटल व्यवसाय सेवामूलक व्यवसाय भएको हुँदा गेष्टहरूले पटकपटक बढी बिलहरू वनाई दिन बाध्य बनाएको कारण वास्तविक बिलभन्दा बढी हुन आएको हो । गेष्टहरूले बढी रकमको बील काटेमा उहाहरू नै स्वयं जिम्मेवारी हुने आस्वासनको कारण थाहा नपाइकन बील काटेको हुँदा म आफूले जिम्मेवारी लिनुपर्ने होइन । मैले त्यस्तो बिलहरू काटेपछि तत्काल निलम्बनमा परी दुई महिनापछि पुनः आफ्नो जागिरमा बहाल भएको थिए । मैले बिलहरू बनाए बापत कुनै लोभ लालचमा फसी कुनै गैरकानूनी फाइदा लिएको छैन भन्ने समेतको प्रतिवादी बसन्त सापकोटाले अदालतमा गरेको बयान ।

प्रतिवादी बसन्त सापकोटाले रु.८,०००।नगद वा जेथाजमानी दिए पुर्पक्षका लागि तारेखमा राख्नु भन्ने पुनरावेदन अदालत पाटनको ०५४।४।१३ को आदेशानुसारको रु.८,०००।नगदै धरौट राखी तारेखमा रहेको ।

होटल ताजका बील नं.२२५९, २२५५, २२५१, २७९६ का बिलहरू मेरो होटलका बिलहरू हुन्। रामजीप्रसाद रौनियार मेरो होटलमा बस्नु भएको हो । ति बिलहरू कोठाको भाडा (रुम रेन्ट) बापत काटिएका हुन् । त्यस्तै बील नं.२२६४, २२६०, २२५४ का बिलहरू मेरो होटलका हुन् । बिलमा उल्लेख गरिएका ग्राहक विश्वनाथ सिँह मेरो होटलमा बस्नु भएको हो र उहाँ बसेबापतको कोठा भाडाको बील काटिएको हो । होटल ताजका बील नं.२२५६, र २२५८ का ग्राहक डा.रविन्द्र सिँह उल्लिखित बील मेरो होटलका हुन् । ग्राहकहरू २ जनाभन्दा बढी आएमा एक जनाको नाउँमा बील काटिने गरिन्छ । उक्त नाम गरेका व्यक्ति मेरो होटलमा आएर बसेको मलाई जानकारी छैन किनभने उक्त नामका व्यक्तिलाई मैले चिन्दिन । सञ्चालकहरू होटलमा बस्न आउँदा जम्मा गरिने रकमबापत काटिएका बील (डिपोजिट बिल) हरू पेश गरेर भुक्तानी लिएको देखिन्छ । कर कार्यालयको निस्सा नभएको बिलहरू काटिएको छैन । उल्लिखित बिलहरू मेरो होटलमा भरखरै काम शुरु गरेका रिसेप्सनिष्ट वृषा श्रेष्ठ र सुश्री गिता श्रेष्ठले काटेका हुन् । उनीहरूले यसको परिणामको बारेमा जानकारी नभएर ग्राहकको अनुरोधमा काटिदिएका हुन् । मेरो होटलको बिलहरूको जिम्मेवारी मैले बहन गर्नुपर्ने हो भन्ने समेतको याहया खा मुस्लिमले अदालतमा गरेको बयान ।

प्रतिवादी याहया मुस्लिमले रु.४००००।धरौट वा जेथा जमानत दिए तारेखमा राख्नु भन्ने पुनरावेदन अदालत पाटनको आदेशानुसारको नगदै धरौट दाखिल गरी तारेखमा रहेको ।

म २०५३ साल वैशाख जेष्ठ महिनादेखि नेशनल ट्रेडिङ्ग लिमिटडेको सञ्चालक पदमा नियुक्त भई २०५४ साल जेष्ठ महिनासम्म उक्त पदमा कार्यरत् थिए । खाना र बस्नको लागि होटलमा बस्नेसम्मको सुविधाप्राप्त थियो । नेशनल ट्रेडिङ्ग नियमावलीमा उल्लेख भए अनुसार हामी सञ्चालक समितिका सदस्यहरू ५ (पाँच) तारा स्तरसम्मको होटलमा खानबस्न सकिने सुविधाप्राप्त छ । सोही सुविधा मुताविक हामीहरू होटलमा खानेबस्ने गर्दथ्यौ । बैठकभत्ता दिनको रु.४००।थियो । म सञ्चालक सदस्यमा कार्यरत रहदा तिरुपति, ताज, मकालु र न्यू भारत होटलमा बसेको थिए । म उक्त होटलमा बस्दा १ लाख १६ हजार केही रुपैयाँ खर्च भयो । र त्यही खर्च भएको रकमअनुसारको नै बील पेश गरेको छु । म होटलमा बसेबापतको खर्च मध्ये रु.३,१००।जति रकम फछ्यौंट (नेशनल ट्रेडिङ्ग लिमिटेडबाट) हुन बाँकी नै छ । म ताज होटलमा पनि बसेको हु । उक्त होटलमा बसेबापतको नै बील लिई सोही बमोजिमको भुक्तानी समेत लिएकोमा बील बनाउने मान्छेले किन र कसरी करको छाप नभएको, सञ्चालकको नाममा नकाटिएको, बिलको रंग र साइज फरक परेको बील बनाए थाहा छैन । उक्त विभिन्न होटलका बिलहरू पेश गरेर जम्मा रु.१,१४,१४५।५८ को भुक्तानी रकम म आफैले बुझेको हँु । हामीले गल्ती गरी कीर्ते बिलहरू पेश गरी बढी रकमको भुक्तानी लिएको होइन भन्ने समेतको प्रतिवादी विश्वनाथ सिँहले अदालतमा गरेको बयान ।

प्रतिवादी विश्वनाथ सिंहबाट रु.१,२५,०००।मात्र नगद धरौट वा सो बापत जेथा जमानत दिए तारेखमा राख्नु भन्ने आदेशानुसार रु.१,२५,०००।बराबरको जेथाजमानत दिई तारेखमा रहेको।

मलाई होटलमा बसी होटलमा खाएको र होटल चार्ज समेत नेशनल ट्रेडिङ्गले बिलअनुसार व्यहोर्ने र बैठकभत्ता रु.४५०।पाउने सुविधा पाएको थिए । होटल मकालु, न्यू भारत होटलमा बसेको थिए कती खर्च भएको थियो याद छैन । बील अनुसारको चार्ज लिन्थ्यो । सो बील मैले जि.एम कहाँ पेश गरेको र जि.एम.ले लेखाशाखामा तोक लगाई दिन्थ्यो र वोर्डको निर्णय अनुसार भुक्तानी दिने गर्दथ्यो । कति रकम भुक्तानी लिए भन्ने कुरा मैले कुनै रेकर्ड राखेको मलाई कुनै याद छैन । बील अनुसारको रकम हुँदा ठीकै होला । होटलले जे जस्तो बील दिन्थ्यो त्यो बील नै पेश गरेको थिए, बील ठीक छ छैन भनी हेर्ने काम मेरो होइन । मैले त जस्तो बील होटलले दियो सो बील नै पेश गर्ने हो । बील अनुसारको रकम भुक्तानी दिने जि.एम. र लेखाशाखाले जाँचबुझ गरी भुक्तानी दिएको हो । होटलका कर्मचारी एवं मालिकसँग मिलेमतोमा कीर्ते काम गरी बील बनाउन लगाई रकम लिनेखाने गरेको भन्ने आरोप झूठा हो । मैले कसैसँग मिलेमतो गरी कीर्ते बील बनाउन लगाएको होइन । बोर्डको निर्णयको परिधिभित्र रही बील पेश गरेको हो । यदि बढी पेश गरेको भए नेशनल ट्रेडिङ्गले मलाई भुक्तानी दिने थिएन भन्ने प्रतिवादी रामजीप्रसाद रौनियारले अदालतमा गरेको बयान ।

प्रतिवादी रामजीप्रसाद रौनियारबाट रु.१,५०,५००।नगद धरौट वा सो बापत जेथा जमानत दिए तारेखमा राख्नु भन्ने आदेशानुसारको नगद धरौट राखी तारेखमा रहेको ।

प्रतिवादी रामजीप्रसाद रौनियारको चाल चलन एकदम राम्रो छ । निज प्रतिवादी भ्रष्टाचार गर्ने खालको व्यक्ति होइन । निज उपर लगाइएको आरोपित कसूर झूठा हो । प्रतिवादीले आरोपित कसूरबाट सफाई पाउनु पर्छ भन्ने प्रतिवादी रामजीप्रसाद रौनियारको साक्षी नुर महमद शाह र ओमकार नाथ दुबेले गरेको छुट्टाछुट्टै बकपत्र ।

प्रतिवादी एक प्रतिष्ठित व्यक्ति हुनुहुन्छ । उहाँ भ्रष्टाचार गर्ने खालको व्यक्ति नै होइन । उहाँको चालचलन धेरै राम्रो छ । उहाँ समाजसेवी व्यक्ति हुनुहुन्छ । उहाँ माथि लगाइएको आरोपित कसूर झूठा एवं कपोलकल्पित मात्र हो । आरोपित कसूरमा प्रतिवादीले सजाय पाउनु पर्ने होइन सफाई पाउनु पर्दछ भन्ने विश्वनाथ सिँहको साक्षी सुरेशकुमार सिँहले गरेको बकपत्र ।

प्रस्तुत भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ बमोजिम दायर भई कारवाहीयुक्त अवस्थामा रहेकोमा हालै जारी भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग (दोस्रो संशोधन) ऐन, २०५९ को दफा ३० मा यो ऐन प्रारम्भ हुँदाका बखत मूल ऐन अन्तर्गत कुनै अदालतमा दायर रहेको मुद्दा यो ऐन प्रारम्भ भएपछि सम्बन्धित अदालतमा सर्नेछभन्ने व्यवस्था रहेको र सोही संशोधनको दफा २६ अनुसार संशोधन गरिएको मूल ऐनको दफा ३४ मा रहेको मुद्दा हेर्ने अधिकारीको प्रयोजनको लागि मिति २०५९।५।६ गतेको खण्ड ५२ अतिरिक्ताङ्क ४० को नेपाल राजपत्रमा प्रकाशित गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ अन्तर्गत दायर हुने मुद्दाहरू सोही मितिको राजपत्रमा प्रकाशित सूचना अनुसार गठित विशेष अदालत मुकाम काठमाडौँले हेर्ने गरी तोकिएको अवस्था हुँदा प्रस्तुत मुद्दाको यो अदालतमा रहेको दायरी लगत कट्टा गरी हाजीर रहेका पक्षलाई तारेख तोकी विशेष अदालतमा पठाई दिनु भन्ने पुनरावेदन अदालत पाटनको मिति २०५९।५।१३।५ को आदेश ।

म नेशनल ट्रेडिङ्ग लिमिटेडको सञ्चालक सदस्य भएको र सञ्चालक समितिको बोर्ड बैठक बस्दा नियमानुसार पाउने बैठक भत्ता बैठक होटलमा बस्दा लागेको होटलवालाको बील बमोजिमको खर्च लिएको हुँ । कानूनबमोजिम लिन मिल्ने रकमभन्दा बढी कुनै रकम लिएको छैन । होटलमा नतिरेको नभएको खर्च भयो भनी बढी रकम देखाई बनाई लिएको छैन । अभियोग झूठा हो । मेरो जिम्मामा संस्थाको रकम कलमको जिम्मा हुँदैन, उक्त रकम कलमको दायित्व संस्थाको लेखाशाखामा रहन्छ । म उक्त संस्थाको स्थायी कर्मचारी पनि होइन, सञ्चालक मात्र हुँ । सञ्चालक भएको नाताले बोर्ड बैठकमा उपस्थित हुने र उक्त बैठकमा बसेबापत कानूनबमोजिम संस्थाको विनियम अनुसार पाउने कानूनी रुपैयाँ मात्र मैले लिएको छु । सो भन्दा बढी कुनै रकम मैले लिएको छैन । यस्तो अवस्थामा सरकारले पाउने आयकर मैले विमुख गराउन सक्ने होइन र गराएको पनि छैन । होटलमा बैठक बस्दा होटलमा भएको खर्चको बील होटलवालाले हामी सञ्चालकहरूलाई दिन्थ्यो । उक्त बिलअनुसारको रकम हामी सञ्चालकहरूले होटलवालालाई भुक्तानी गरी बिलको रकम जि.एम. मार्फत् दावी गरेपछि लेखाशाखाले कहिले नगदै र कहिले चेकबाट सञ्चालकलाई भुक्तानी दिने चलन थियो । न्यू होटल आनन्दबाट बील नं.२०८, होटल तिरुपतिबाट बि.नं.१९३, होटल ताजबाट बील नं.२२५८, २२५६ का बिलहरू सञ्चालकहरूको बैठक विभिन्न मितिमा होटलमा बस्दा भएको खर्चको बील हो भनी होटलवालाले दिएको र म समेत सञ्चालकहरूको बैठक बसेको होटलमा भएको खर्चको बील हुँदा होटलवालालाई भुक्तानी दिई उक्त बील बमोजिमको रकम भुक्तानी लिएको  हुँ । करको निस्सा नभएको भन्ने सम्बन्धमा होटलवालाले के कस्तो बील बनाउँछ । कर तिरेको बील हो होइन, अर्ध कट्टी राखेको छ छैन सो कुरा मलाई जानकारी हुने कुरा होइन भन्ने प्रतिवादी डा.रविन्द्र सिँहले विशेष अदालत, काठमाडौँमा गरेको बयान ।

प्रतिवादी डा.रविन्द्र सिहबाट रु.३५०००।नगद धरौट वा जेथा जमानत दिए तारेखमा राख्नु भन्ने आदेशानुसारको नगद धरौट दाखिल गरी तारेखमा रहेको ।

प्रतिवादी अवध किशोरप्रसाद सिह र कुमार न्यौपाने अदालतबाट जारी भएको म्याद गुजारी प्रतिवाद नगरी बसेको ।

मिसिल संलग्न सबूद प्रमाणबाट प्रतिवादी रामजीप्रसाद रौनियारले रु.१,३२,१५६।२८, प्रतिवादी डा.रविन्द्र सिहले रु.३४,६४३।–, प्रतिवादी अवध किशोरप्रसाद सिँहले रु.१,६७,९६५।७६ र विश्वनाथ सिंहले रु.१,०९,३४७।५८ सम्म गैरकानूनी तवरले भुक्तानी लिई नेशनल ट्रेडिङ्ग लिमिटेडलाई गैरकानूनी हानि नोक्सानी पुर्‍याई तत्काल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(२) अन्तर्गतको कसूर गरेको ठहर्छ । सो ठर्हनाले उक्त ऐनको दफा ७(२) तथा २९(२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम प्रतिवादी रामजीप्रसाद रौनियारबाट बिगो रु.१,३२,१५६।२८, प्रतिवादी डा.रविन्द्र सिंहबाट बिगो रु.३४६४३।–, प्रतिवादी अवध किशोरप्रसाद सिंहबाट बिगो रु.१,६७,९६५।७६ र प्रतिवादी विश्वनाथ सिहबाट बिगो रु.१,०९,३४७।५८ भराई निज प्रतिवादीहरूबाट भरी पाउने ठहरेको बिगोबमोजिको रकम निजहरूलाई जरिवानासमेत हुन्छ । अरु प्रतिवादीहरूको हकमा अभियोग दावीबमोजिमको कसूर गरेको नठहरी निजहरूले सफाई पाउने ठहर्छ भन्ने विशेष अदालत काठमाडौँको २०६१।५।२४ को फैसला ।

म पुनरावेदकले बील पेश गरी लिएको रुपैयाँ कुनै किसिमको भ्रष्टाचारभित्र पर्दैन । किनकि नेशनल ट्रेडिङ्ग लिमिटेडको बैठक नियमानुसारको सुविधा पाउने विषय हो । जुन सुविधा नेशनल ट्रेडिङ्ग लिमिटेडको नीतिभित्र पर्दछ । यस्तो विषय भ्रष्टाचारको परिभाषाभित्र पर्न सक्दैन । नेशनल ट्रेडिङ्ग लिमिटेडका कर्मचारीहरू राजेन्द्रमान श्रेष्ठको बयान स.ज.७ मा ५ तारे होटलसम्मको खर्चको प्रावधान छ भनी र मोहनकृष्ण श्रेष्ठको बयानको स.ज.४ होटल खर्चको सीमा नतोकेको भनी भएको बयानबाट नेशनल ट्रेडिङ्ग लिमिटेडले सञ्चालकहरूको लागि ५ तारे होटलकोसम्म सुविधाको व्यवस्था गर्न सकिने कुरा उल्लेख गरेको छ भने सुविधालाई सीमामा राखिएको छैन । यसरी अपराधजन्य कार्य मबाट नभएको हुनाले उक्त निर्णय बदरभागी छ । म पुनरावेदक बसेको होटलको दररेटअनुसार खाने र बस्नेको बढी बील प्रस्तुत हुन आएको अवस्थामा बढी बील प्रयोग गरेको भन्ने कुरा झूठा हुन् । जहाँसम्म होटलको आफ्नो बिलअनुसारको रुपैयाँ फरक परेको छ भन्ने सम्बन्धमा म पुनरावेदकले होटलको हिसाब नराख्ने र होटल व्यवस्थापनको आन्तरिक विषय भएको हुँदा होटलबाट राख्नु पर्ने दुरुस्त हिसाब नराखेको कारणले गर्दा म पुनरावेदक सजाय भागी हुने अवस्था छैन । म पुनरावेदकले सञ्चालक समितिको बैठकमा उपस्थित भै कामकारवाही गरेबापत पाएको सुविधा हुन् । मैले बैठक नहुँदाको अवस्थामा बील बनाई पेश गरेको भन्ने आरोप समेत छैन । जसले गर्दा गैरकानूनी कार्य गरेको भन्न मिल्ने अवस्था समेत छैन । वैकल्पिक जिकीर यो छ कि सम्पूर्ण बिलमा उल्लिखित रकमलाई अपराध मानेको छ जबकी म पुनरावेदक होटलमा बसेको, खाएको अवस्थामा के कती बढी रकम फरक परेको हो भन्ने सम्बन्धमा यकीन नगरी हचुवा आधारमा एकमुष्ट खाईपाई आएको सुविधामा कसूरदार ठहर गरेको प्रत्यक्ष त्रुटिपूर्ण र अ.वं.१८४(क), १८५, प्रमाण ऐन २०३१ को दफा ३, ५४ नं. को प्रतिकूल निर्णय हुन पुगेको छ । अतः विशेष अदालत, काठमाडौंबाट मिति २०६१।५।२४ मा भएको फैसला बदर गरी सफाई पाऊँ भन्ने समेतको प्रतिवादी रामजीप्रसाद रौनियारले यस अदालतमा गरेको पुनरावेदन ।

      यसमा पुनरावेदकले होटलमा बसे खाएकोमा विवाद नभएको तथा होटलले बील बनाएकोमा पनि विवाद नभै नक्कली बिलसमेत पेश नगरेको अवस्थामा बढी रकमको बील बनाई देखाई भुक्तानी लिएको भन्ने आधारमा कसूरदार ठहराएको विशेष अदालतको फैसला प्रमाण मूल्याङ्कनको दृष्टिबाट फरक पर्न सक्ने देखिँदा अ.बं.२०२ नं.बमोजिम महान्यायाधिवक्ताको कार्यालयलाई पेसीको सूचना दिई नियमानुसार पेश गर्नु भन्ने समेतको यस अदालतको मिति २०६६।११।२३ को आदेश ।

      नियमबमोजिम दैनिक मुद्दा पेसी सूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ताद्वय कृष्णप्रसाद भण्डारी र हरिहर दाहाल, अधिवक्ता द्वय शम्भु थापा र बालमुकुन्द श्रेष्ठले मेरो पक्ष नेशनल ट्रेडिङ्ग लिमिटेडको अफिसको कामको सिलसिलामा भ्रमणमा गएको बखत संस्थानको विनियमबमोजिम पाँचतारे होटलमा खानेबस्ने सम्मको सुविधा सञ्चालक सदस्यले पाउने व्यवस्था रहेको छ । सो बमोजिम मेरो पक्ष होटलमा बसेको र लागेको बील बमोजिमको खर्च रकम आफ्नो संस्था नेशनल ट्रेडिङ्ग लिमिटेडबाट सोधभर्ना लिएको हो । बील नक्कली नभएको होटलको नै भएको र बढी रकमको बील नबनाएको र मेरो पक्षलाई होटल खर्च कती दिने वा पाउने भन्ने सम्बन्धमा नतोकिएको अवस्था हुँदा होटलमा लागेको खर्चबमोजिम रकम भुक्तानी गरेको त्यस्तो रकम रुजु बेरुजु हुनुपर्ने र बेरुजु भए मेरो पक्षलाई तिराउनु पर्नेमा भ्रष्टाचार मुद्दा चलाएको कानूनीअनुरूप नहुँदा सफाई पाउनु पर्छ भनी बहस गर्नुभयो । त्यस्तै गरी विपक्षी नेपाल सरकारको तर्फबाट उपस्थित महान्याधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता शंकरबहादुर राईले पुनरावेदक विपक्षी आफ्नो घरायसी कामको सिलसिलामा जाँदा समेत होटलमा बस्ने गरेका र ती होटलका वास्तविक बील भए पनि होटलको आम्दानीमा जनाइएको रकमभन्दा बढी रकम बिलमा जनाई अनियमित गरेको र होटलमा नै नबसेका बखतका बील पनि नक्कली बनाई प्रयोग गरेको ती बिलका सम्बन्धमा आफ्नो होटलको होइन भनी माउण्ट मकालु होटलका मालिक भरतरत्न धाख्वाले अदालतमा समेत भनेबाट नक्कली भन्ने तथ्यसमेत स्थापित भएको त्यस्तो नक्कली बिलबाट भुक्तानी लिई खाएको अवस्थामा निजको रकम लिने खाने बदनियत तत्व रहेको र भ्रष्टाचार गरेको पुष्टी भइरहेको स्थितिमा निज पुनरावेदकलाई विशेष अदालतले भ्रष्टाचार ठहर गरेको फैसला मिलेकै देखिँदा सदर हुनुपर्छ भनी बहस गर्नुभयो ।

      यसरी दुबै पक्षबाट उपस्थित विद्वान कानून व्यवसायीहरूले गर्नुभएको बहस जिकीर सुनी पुनरावेदनपत्रसहितको मिसिल प्रमाण कागजातहरू अध्ययन गरी हेर्दा विशेष अदालत काठमाडौंबाट भएको फैसला मिलेको छ छैन र पुनरावेदकले सफाई पाउनु पर्ने हो होइन हेरी त्यसतर्फ निर्णय गर्नुपर्ने देखियो ।

      २. निर्णयतर्फ विचार गर्दा, नेशनल ट्रेडिङ्ग लिमिटेडको सञ्चालकहरूको लागि तोकेको नीति र सुविधाभित्र रही सञ्चालक समितिको बैठकमा उपस्थित हुन गई होटलमा बसेबापत पाउने सुविधा होटलको बील बमोजिमको रकम लिई नियमानुसार खाइपाई आएको सुविधा भ्रष्टाचारभित्र नपर्नेमा भ्रष्टाचारको कसूरदार ठहर गरेको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी सफाई पाऊँ भन्ने मुख्य पुनरावेदन जिकीर रहेको देखियो ।

      ३. पुनरावेदक प्रतिवादी रामजीप्रसाद रौनियार नेशनल ट्रेडिङ्ग लिमिटेडको सञ्चालक सदस्य रहेकोमा विवाद छैन । निज सञ्चालक सदस्य भएको कारण सञ्चालक समितिको बैठकमा निजको उपस्थित हुने र निज त्यस्तो सञ्चालक समितिको बैठकमा सहभागी हुँदा बैठकभत्ता तथा खानेबस्ने व्यवस्थाको लागि होटल खर्च पाउने र त्यस्तो होटल खर्च लागेको बिलअनुसार नेशनल ट्रेनिङ्ग लिमिटेडबाट भुक्तानी पाउने नै देखिन्छ । सञ्चालक समितिको बैठकमा उपस्थित हुँदा होटलमा बस्नु पर्ने सञ्चालक सदस्यहरूले के कस्तो होटलमा बस्न सक्ने र के कती हदसम्म रकम होटल खर्च बापत पाउने भन्ने नेशनल ट्रेडिङ्ग लिमिटेडको नियमावलीमा स्पष्ट नतोकिएको भए पनि होटलमा बस्दा लागेको वास्तविक बिलबमोजिमको रकम भुक्तानी दिने गरेको अवस्था देखियो । यी पुनरावेदक प्रतिवादी पनि सञ्चालक समितिको बैठकमा उपस्थित हुन आउँदा बस्ने गरेका होटल ताज, होटल तिरुपति, होटल माउण्ट मकालु र होटल भारतमा प्रायः बस्ने गरेका र ती होटलहरूका बिलहरूमा उल्लिखित रकम भुक्तानी गरिलिएको देखियो । यी होटलका बिलहरू आधिकारीक हुन् होइनन् र होटलमा बस्दा निज प्रतिवादीले गरेको वास्तविक खर्चका बिलहरू हुन् होइन भन्ने सम्बन्धमा हेर्दा पुनरावेदक प्रतिवादीले पेश गरेका बिलहरूमध्ये होटल आनन्दका प्रतिवादी धु्रव दाहालले आफ्ना होटलका जस्ता देखिने बील कसले तयार पारी कसलाई दिए थाहा नभएको र ती बिलहरू होटलका बील प्याडबाट नकाटेको भनी लेखाएको देखिन्छ । होटल माउण्ट मकालुका प्रतिवादी भरतरत्न धाख्वाले दावीमा उल्लिखित बील नै आफ्नो होटलको नभई नक्कली भनेको अवस्था छ भने अन्य त्यस्तो ती विवादित बील आफ्ना होटलका भए पनि निज प्रतिवादीले होटलमा तिरेको वास्तविक खर्च अर्थात् होटलको आम्दानीमा जनाइएको वास्तविक रकमभन्दा धेरै गुणा बढी रकमको बील बनाउन लगाई लिएको भन्ने लेखाएबाट प्रतिवादी रामजीप्रसाद रौनियारले नेशनल ट्रेडिङ्ग लिमिटेडमा पेश गरी भुक्तानी लिएका बिलहरू यात नक्कली रहेका यात निजले विवादित बिलबमोजिमको रकम होटलमा भुक्तानी नगरी न्यून रकममात्र भुक्तानी गरी आफूले बढी रकम नेशनल ट्रेडिङ्ग लिमिटेडबाट लिए खाएको होटलमा रहेका पेश भएका अर्धकट्टी बिलसमेतबाट देखिन आयो । यस्तो अवस्थामा निज रामजीप्रसाद रौनियारले आफूलाई फाईदा र संस्थालाई नोक्सानी पुर्‍याउने बदनियतसाथ वास्तविकभन्दा बढी रकम र नक्कली बील बनाएको तथ्य स्थापित हुन आयो ।

      ४. नेशनल ट्रेडिङ्ग लिमिटेडको सञ्चालक भई सार्वजनिक पद धारण गरेका यी पुनरावेदकले आफु पदमा वहाल रहेका बखत गैरकानूनी र अनियमित तवरबाट बदनियतकासाथ नक्कली बील बनाई र वास्तविक खर्च रकमभन्दा बढी रकमको बील बनाउन लगाई सो बील बमोजिमको रकम भुक्तानी लिई आफुलाई गैरकानूनी लाभ वा फाइदा र नेशनल ट्रेडिङ्ग लिमिटेडलाई हानि पुर्‍याउन गरेको उक्त कार्यबाट निजको बदनियत तत्व स्पष्ट रहको देखिन्छ । लाभको पदधारण गरेका प्रतिवादी रामजीप्रसाद रौनियार नेशनल ट्रेडिङ्ग लिमिटेडको सञ्चालक भएको र संस्थाको नीति निर्माण गर्ने गरिमामय पदमा आसिन निज सञ्चालकले सञ्चालक भई कामकारवाही गर्दाका अवस्थामा खराब बदनियतका साथ लिनेखाने उद्देश्यले नक्कली तथा वास्तविकभन्दा बढी रकमको बील बनाई पेश गरी भुक्तानी लिएको कार्यबाट निज पुनरावेदक प्रतिवादीले आफ्नो पदीय हैसियत, जिम्मेवारी र ओहोदाको मर्यादा विपरीत गैरकानूनी रुपमा अख्तियारको दुरुपयोग गरी नेशनल ट्रेडिङ्ग लिमिटेडलाई आर्थिक नोक्सानी र आफूलाई गैरकानूनी आर्थिक लाभ पुर्‍याई भ्रष्टाचारको कसूर गरेको प्रमाणित भएको तथ्य स्थापित हुँदा विशेष अदालत, काठमाडौंले निजलाई तत्काल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(२) अन्तर्गतको कसूर गरेको ठहराई बिगो रु.१,३२,१५६।२८ भराई बिगोबमोजिम जरीवाना समेत हुने ठहर्‍याएको फैसला मिलेकै देखिँदा सदर हुन्छ । प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू ।

 

उक्त रायमा म सहमत छु ।       

 

न्या.गौरी ढकाल

 

इति संवत् २०६६ साल चैत्र २४ गते रोज ३ शुभम्

 

इजलास अधिकृत : श्रीप्रसाद संजेल

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु